नतिजा सार्वजनिक नहुँदै सुरु भयो स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आज (शुक्रबार)बाट औपचारिक रुपमा सुरु भएको छ । यसअघिका जनप्रतिनिधिको ५ वर्षे कार्यकालको अन्तिम दिन बिहीबार सम्म थियो । तर, स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक नहुँदै नयाँ जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल प्रारम्भ भएको हो । शुक्रबार बिहानसम्म ६ सय भन्दा धेरै स्थानमा नतिजा आर्वजनिक भइसकेको छ । चुनावको अन्तिम नतिजा नआए पनि जनप्रतिनिधिको कार्यकाल आजैदेखि सुरु भएको मानिने निर्वाचन आयोगको भनाई छ ।

संविधानतः पालिकामा जनप्रतिनिधिविहीन हुन नहुने र पद रिक्त हुँदा सेवाग्राहीका काम प्रभावित भएमा के गर्ने भन्ने अन्योल देखिए पनि जेठ ५ गते अगावै चुनाव भइसकेकाले कानुनीरूपमा खास समस्या नपर्ने र व्यावहारिक पक्षमा सरकारले आवश्यक सहजीकरण गर्ने पनि निर्वाचन आयोगको भनाई छ ।

निर्वाचित जनप्रतिनिधिमध्ये नगरका मेयर र गाउँपालिकाका अध्यक्षले कार्यभार सम्हाल्नु अगावै निर्वाचित भएको सात दिनभित्र जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको सपथ लिनुपर्ने हुन्छ । मेयर र अध्यक्षले शपथ लिएको सात दिनभित्र गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपमेयर, वडा अध्यक्ष, गाउँ तथा नगर सभाका सदस्यले शपथ लिनु पर्ने कानुनी व्यवस्था छ ।