२१ पुस, दुबई । युनाइटेड अरब इमिरेट्स (यूएई)मा नेपाली मासिक पत्रिका ‘विश्व सन्देश’ को औपचारिक प्रकाशन शुभारम्भ भएको छ । यूएईमा आइतबार आयोजित एक कार्यक्रममा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले रिबन काटेर पत्रिकाको उद्घाटन गरे । उद्घाटन समारोहमा राजदूत क्षेत्रीले नेपाली समुदायलाई पत्रिका पढ्न, प्रवर्द्धन र संरक्षण गर्न आग्रह गर्दै ‘विश्व सन्देश’ नेपाली इतिहास, संस्कार र पहिचानको दस्तावेज भएको बताए । उनले नेपाली भाषा र सभ्यताको प्रवर्द्धनमा योगदान गर्ने यस्ता प्रयासमा कूटनीतिक नियोगको सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।
कार्यक्रममा विश्व सन्देशका ग्लोबल अध्यक्ष विजयराम पौडेल र पत्रिकाका ग्लोबल कार्यकारी प्रमुख योगेश आदीसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । ग्लोबल कार्यकारी प्रमुख आदीले न्यूयोर्कबाट प्रकाशित हुँदै आएको विश्व सन्देश पत्रिकालाई अब मध्यपूर्व, एसिया तथा अन्य महादेशहरूमा समेत क्रमशः प्रकाशन गर्दै लैजाने योजना रहेको जानकारी दिए ।
त्यसैगरी विश्व सन्देशका ग्लोबल अध्यक्ष पौडेलले प्रिन्ट मिडियाको महत्व प्रकाश पार्दै प्रवासमा रहेका लाखौं नेपालीहरूको इतिहास, संघर्ष र सफलताको कथालाई लिपिबद्ध गर्ने उद्देश्यका साथ विश्व सन्देश प्रकाशनमा आएको बताए । पौडेलले पत्रिकामार्फत नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण तथा संवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष मेघराज सापकोटाले यूएईमा रहेका नेपाली समुदायका सफलताको कथा, व्यवसाय प्रवर्द्धन तथा जनचेतना अभिवृद्धिमा विश्व सन्देशले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा यूएईस्थित विभिन्न संघसंस्था, कलाकार, एनआरएनए तथा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । झण्डै ८ लाख नेपाली बसोवास रहेको यूएईमा विश्व सन्देश नेपाली भाषाको मासिक म्यागाजिनका रूपमा सार्वजनिक भएको हो ।