न्यायाधीश राजकुमार कोइरालाको लेनदेनको अडियो सार्वजनिक भएपछि छानविन गर्न बन्यो समिति

काठमाडौं । न्यायपरिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न समिति गठन गरेको छ । न्यायपरिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिमा उच्च अदालत पाटनका न्यायाधीश महेश पुडासैनी र महेश शर्मा पौडेल सदस्य रहनेछन् ।
समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

न्यायाधीश कोइरालाले अधिवक्ता रुद्र पोखरेलसँग घुस लेनदेनको विषयमा कुराकानी गरेको अडियो सार्वजनिक भएपछि त्यस विषयमा छलफल गर्न बुधबार न्याय परिषदको बैठक बसेको थियो । बैठकले न्यायाधीश कोइरालालाई न्याय सम्पादनमा पनि रोक लगाएको छ । सिभिल वचत तथा ऋण सहकारी संस्थाका तत्कालिन अध्यक्ष इच्छाराज तामाङको मुद्दाको विषयमा अधिवक्ता पोखरेल र न्यायाधीश कोइरालाबीच घुस लेनदेनको विषयमा भएको संवाद अडियो सार्वजनिक भएको छ ।