न्युयोर्क
न्युयोर्कमा कोरोनाभाइरस संक्रमण सम्बद्ध एउटा नयाँ आँकडा सार्वजनिक भएको छ ।आकस्मिक स्वास्थ जाँचको लागि चर्चित सिटिएमडिद्वारा सार्वजनिक आँकडाका अनुसार मार्चमा सुरु भएको महामारीले सबै भन्दा धेरै प्रभाबित क्वीन्स बोरोमा बसोबास गर्नेहरुको ठुलो संख्यामा एण्टिबडी पोजेटिभ देखिएको छ । तर त्यो आँकडाले जोसँग एन्टीबडी छ तिनीहरुको प्रतिरक्षा प्रणाली मजबुत नै भन्ने ग्यारेन्टि भने गरेको होईन ।
गत बिहिबार न्युयोर्क टाईम्सले पहिलो पटक सार्वजनिक गरेको आँकडा अनुसार कुईन्समा जाँच गरिएका मध्ये ६८ प्रतिशत कुईन्सस्थित कोरोनाबासीमा एण्टीबडी पोजेटिभ भेटिएको छ भने केही पर ज्याक्सन हाईट्सको क्लिनिकमा जाँच गरिएका मध्ये ५६ प्रतिशतमा एन्टिबडी पोजेटिभ भेटिएको छ । सिटिएमडि न्युयोर्क भरी संचालित बिना अप्वाईन्टमेन्ट बिरामी जाँच्ने क्लिनिक हो ।
काम गरी खानु पर्ने बर्गको बाहुल्यता रहेको कोरोना र ज्याक्सन हाईट्सको क्लिनिकमा यति ठुलो अनुपातमा एन्टीबडी पोजेटिभ भेटिदा ब्रुकलिनस्थित गोरा जाती र धनीहरुको बाहुल्यता रहेको कबल हिलको क्लिनिकमा भने जम्मा १३ प्रतिशतमा मात्र एन्टिबडी भेटिएको छ । ब्रुकलिनस्थित फ्ल्याटबुस क्षेत्रमा ४५ प्रतिशतमा एण्टीबडी भेटिएको छ । त्यसैगरी ठुलो संख्यामा हिस्प्यानिक समुदायको बसोबास रहेको र मध्यम प्रकृतिको आम्दानी भएको ब्रुकलिनस्थित बुस्विकमा ३५ प्रतिशतमा एण्टीबडी भेटिएको छ । त्यसैगरी महामारीको अर्को केन्द्र बिन्दु ब्रोंक्समा ३७ प्रतिशतमा एण्टीबडी भेटिएको सिटीएमडिले जनाएको छ । यो आँकडाले जनाउँदछ कि अल्पसंख्यक र काम गरी खानु पर्ने बर्गको बसोबास रहेको समुदाय जो नराम्रोसँग कोरोना महामारीको प्रभाबमा परे त्यति बेला उनीहरुमा प्रतिरक्षा प्रणालीको बिकास भै सकेको हुन सक्दछ । जुन २६ सम्म सिटीएमडिले न्युयोर्क शहर भित्र ३ लाख १४ हजार मानिसमा एन्टीबडी जाँच गरी सकेको छ, जसमध्ये २६ प्रतिशतमा एन्टीबडी पोजेटिभ भेटिएको छ ।
सिटीएमडिका मेडिकल अपरेसनका सिनियर भाईस प्रेसिडेन्ट डा डेनियल फ्रोजेलले न्युयोर्क टाईम्सलाई भनेका छन्; “जब जनसंख्याको ठुलो हिस्सालाई जाँच गरिन्छ र त्यो जनसंख्या मध्येको ठुलो हिस्सामा प्राबिधिक रुपमा भाईरस बिरुद्ध प्रतिरक्षा प्रणाली भेटिन्छ तब हामीले सोच्न थाल्नु पर्छ कि, के ती मानिसमा अब भाईरस प्रबेश गर्छ ? र ती मानिस कोरोनाको कारण अब बिरामी हुन्छन् ? भन्ने कुरा लगभग असम्भब नै हो” ।
एन्टिबडी पोजेटिभ देखिनुको मतलब के वास्तवमा नै यो समुदायको प्रतिरक्षा क्षमता बिकास भएको हो त ? भन्दै डा फ्रोजेलले भनेका छन्; “के उनिहरु सुरक्षित छन् ? यो कति लामो समयको लागि हुने हो ? हामीले कस्तो किसिमको सुझाव यस्ता मानिसलाई दिईरहेका छौ ? त्यो कुरामा हामी धेरै सचेत हुनु पर्दछ” । डा फ्रोजेलले थप प्रस्ट पार्दै भनें; ‘हामीले यस्ता मानिसलाई हात धुनु पर्दैन? मास्क लगाउनु पर्दैन? तिमीहरुले आफुलाई सुरक्षित राख्नु पर्दैन? भनेर भन्न मिल्दैन र भन्न सक्दैनौ’ ।
न्युयोर्कमा सम्भबित दोश्रो लहरको कोरोना संक्रमणको त्रास रहेको बेला सरुवा रोग बिशेषज्ञ किटो डिमिसीले टाईम्सलाई भनेका छन्; ‘भबिष्यमा कोरोना संक्रमणको खतरा अल्पसंख्यक समुदायमा भने निकै कम हुने छ’।
न्युयोर्क सहरमा कन्ट्याक ट्रेसिङ प्रोग्रामका कार्यकारी निर्देशक डा टेड लङले पनि प्रतिरक्षा प्रणाली कति शक्तिशाली र कति लामो समयसम्म रहन्छ भन्ने कुरा प्रष्ट नभए पनि उनले आशा ब्यक्त गर्दै भनेका छन्; “महामारीको चपेटामा परिसकेका क्वीन्सको कोरोना जस्तो समुदाय जहाँ बसोबास गर्नेहरुको ठुलो संख्यामा देखिएको एण्टीबडीले समुदायलाई केही न केही कोणको रक्षा भने गर्दछ”।
यता क्युनी स्कुल अफ पब्लिक हेल्थका सरुवारोग बिषयमा प्रोफेशर डेनिस न्यासले भनेका छन्; “गत महामारीमा कम प्रभाबित समुदाय भित्र अर्को पटक आउने महामारी ब्यापक हुने देखिन्छ” ।
क्लिनिक अवस्थित क्षेत्र आसपासका समुदायका मानिसले मात्र आएर त्यो क्लिनिकमा एण्टीबडी जाँच नगर्ने र अन्य ठाउँबाट पनि आएर जाँच गराउने हुँदा ठ्याकै कति जना त्यो समुदायका मानिसमा एन्टीबडी छ, यकिन आँकडा नआए पनि अधिकतम संख्या भने देखिने क्लिनिकले बताएको छ । अमेरिकामा सार्वजनिक भएका राष्ट्रियस्तरको आँकडाले देशभर अश्वेत र गँहु गोरो समुदाय कोरोनाबाट ज्यादा प्रभाबित भएको प्रष्ट भै सकेको छ । यही समुदायका मानिस अधिक मात्रामा अस्पताल भर्ना हुने र मृत्यु हुनेमा पर्दछन् । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार जुलाई १२ सम्म अमेरिकामा गोरा जाती भन्दा ५ दोब्बर धेरैको अनुपातमा अश्वेत ,अमेरिकन ईन्डियन र अलास्का नेटिभ अस्पताल भर्ना भएका छन् । गोरा जाती भन्दा हिस्प्यानिक र ल्याटिनो ४ दोब्बर धेरैको अनुपातमा अस्पताल भर्ना भएका छन् ।
न्युयोर्कमा मार्चदेखि सुरु भएको महामारीमा धनी समुदायका मानिस महामारी लगत्तै कोही सुरक्षित क्षेत्रमा छुट्टी मनाउन गएका थिए भने अधिकांश घरमा नै बसेर काम गर्दै सामाजिक दुरीलाई कायम गर्न सफल भएका कारण संक्रमणबाट सुरक्षित भएका थिए । काम गरी खानु पर्ने बर्ग भने अधिकांश सार्वजनिक यातायात प्रयोग गर्दै काममा जाने र गुजारा चलाऊने गरेको थियो ।
(यो सामाग्री हामीले न्युयोर्क टाईम्सबाट लिएका हौं)