न्यूयोर्कको उबर/लिफ्ट ड्राईभर होसियार : ग्राहकको रुपमा चोरले हज्जारौं चोरे

न्यूयोर्क पुलिस डिपार्टमेण्टले ३ दर्जनभन्दा बढी उबर र लिफ्ट ड्राईभर चोरिएको घट्नाको छानबिन गरिरहेको छ । 

पुलिसका अनुसार अप्रिलदेखि यता मात्रै ३ जना १६ देखि २५ बर्षका चतुर चोरहरुले न्यूयोर्कको ब्रोन्क्स, ब्रक्लिन, क्वीन्स र म्यानह्याटनमा करिब ४० भन्दा बढी ड्राईभरमाथि उस्तै किसिमको तरिका अपनाई लुटिसकेका छन् । जति प्रबिधिले सुबिधा दिएको छ, त्यति नै सावधान रहनुपर्ने अवस्था आएको छ । कतिपय घटनामा त ड्राईभरले आफू लुटिएको खबरसम्म पनि तत्काल थाहा नपाउने गरेका छन् । 

ती चोरहरु अन्य पेसेन्जर जस्तै सामान्य तरिकाले कारमा चढ्छन् र केही बेरमा आफ्नो गन्तब्य परिवर्तन गर्नुपर्यो भनी भन्छन् । रेगुलर उबर राईडमा पेसेन्जरले कुनैपनि बेला गन्तब्य  परिवर्तन गर्न पाउँछन् । त्यसपछि आफ्नो फोन नचलेको नाटक गर्छन् र ड्राईभरको बिश्वास जितेर गन्तव्य परिवर्तन गर्नको लागि ड्राईभरको फोन माग्छन् र उबर/लिफ्टको ड्राईभरले तुरुन्त पैसा निकाल्न मिल्ने सिस्टम “क्यास आउट” मार्फत आफ्नो खातामा वा कार्डमा तुरुन्तै पैसा पठाउँछन् । 

ड्राईभर चार्ली एडवार्ड भन्छन् अत्याधुनिक प्रबिधिले झन जोखिम बढाएको छ । त्यस्तै अर्का अनुभवी ड्राईभर ब्रिन्टो रसिद, जसले पहिले पहेलो ट्याक्सी चलाई सकेका थिए, भन्छन्; “पहेलो ट्याक्सीमा गाली बेईजती र हातपातको घटना पनि घट्थ्यो, अहिले क्यामारा लगाएको छु, राईडरको पूर्व जानकारी हुन्छ, बढ्ता हुनेलाई ओराल्दिन्छु” । उनी भने आफूले सुरक्षित महसुस गरेको बताउँछन् ।

यतिबेला उबर र लिफ्ट कम्पनीले गाडी गतिमा भएको समयमा पैसा ट्रान्सफर गर्न नमिल्ने गराउने भएका छन् । ड्राईभरलाई ग्राहकले प्रबिधि मार्फत लुट्ने अर्को प्रकृतीको घटना पनि प्रचलनमा रहेको छ । ड्राईभरलाई कामको अनुरोध आएपछि ग्राहक लिन जाँदैगर्दा तुरून्त फोन आउँछ; “म उबरको कार्यालयबाट बोल्दैछु, तँपाईले अहिले यो ठाउँमा लिन जाँदै गरेको फलानो व्यक्तीलाई अर्कै ड्राईभर पठाईदिनेछु । तँपाई  सुरक्षित ठाउँमा गाडी रोकेर फलानो ब्यक्तीको राईड क्यान्सिल गर्नुस्, तँपाईको एकाउण्टको खाता नम्बरमा समस्या आएको छ । सच्याउनु पर्नेछ”। ग्राहकको समेत सबै जानकारी भनेकोले सोझा ड्राईभरले पत्याउँछन् र बैंक सम्वन्धि जानकारी अफिसलाई दिएको ठानेर दिन्छन् । वास्तवमा त्यो फोन उबरको कार्यालयले गरेको नभै त्यो ठग ग्राहकले नै कर्मचारी बनेर गरेको हुन्छ । यस्तो अवस्थामा जानकारी बिल्कुलै दिन हुँदैन । समस्यामा परे एनवाईपिडीको क्राईम स्टपर्स हटलाईन 800 577 8477 र 888 577 4782 मा खबर गर्न अनुरोध गरिएको छ ।

श्रोत : सिबिएस न्युयोर्क ।