न्युयोर्क
गत सोमबार मिनियापोलिसमा प्रहरीले जर्ज फ्लोएड नामका एक अश्वेत मानिसलाई हतकडी लगाई भुँईमा सुताएर घुँडाले गर्दन थिच्दा मृत्यु भएपछि उनको परिवारले २४ घण्टा भन्दा कम समयमा ५ लाख अमेरिकी डलर सहयोग संकलन गरेका छन् । फ्लोएडका आफ्नै भाइ फिलोनिस फ्लोएडले मेई २७ तारिख बुधबार दिउसो ‘गो फण्ड मि’ मा जिवित परिवारको सहयोगको लागि खाता खोलेका थिए ।
सोमबार मृतक जर्ज फ्लोएडलाई ४ जना प्रहरी अधिकारीहरु मिलेर चोरिको आरोपमा पक्राऊ गरेका थिए । पक्राऊ पछि फ्लोएडलाई हतकडी लगाएर घोप्टो पारेर भुईमा सुताई उनको गर्दनमा एक प्रहरीले घुँडाले थिचि राखेको एक भिडियो सार्बजनिक भएको थियो ।
सार्वजनिक भिडियोमा मृतक फ्लोएडले ‘मैले सास फेर्न सकिन’ भन्दै छटपट गरेको देखिएको थियो । पटक पटक सास फेर्न गाह्रो भएको भन्दै कराई रहेका फ्लोएडलाई अचेत अवस्थामा अस्पातल पुर्याए पछि ४६ बर्षीय उनलाई मृत घोषित गरिएको थियो ।