काठमाडौं । निर्वाचन आयोगले असार १ गतेदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्ने भएको छ । मङ्गलबार आयोगले पत्रकार सम्मेलत गर्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी असार १ गते बुधबारदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्ने जनाएको हो । मतदाता नामावली सङ्कलन सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवम् ७३ वटा ईलाका प्रशासन कार्यालयबाट हुने आयोगले जनाएको छ ।
यसैगरी, पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने पनि आयोगले जनाएको छ । मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति, लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी ९निर्वाचन अधिकारी० ले आवश्यक निर्णय गरी त्रुटि सच्याइने छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कुनै मतदाताले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावलीबाट हटाउनको लागि कुनै पनि व्यक्तिले प्रमाणसहित उजुरी दिएमा नाम दर्ता अधिकारीले छानविन गरी त्यस्तो नाम हटाउने सम्बन्धमा निर्णय गरिने छ । कुनै मतदाताले विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने ।
निवेदन दर्ता भएको कार्यालयले प्राप्त निवेदन उपर आवश्यक निर्णय गरी अर्को जिल्लासँग सम्बन्धित भए सम्बन्धित जिल्लामा आवश्यक प्रमाण समेत स्क्यान गरी पठाउने र कुनै मतदाताले आफ्नो नाम रहेको मतदान स्थलवाट पायक पर्ने सोही वडाको अर्को मतदान स्थलमा नाम सार्न निवेदन दिएमा सोही बमोजिम स्थानान्तरण गरिने छ ।
आयोगका अनुसार दोहोरो दर्ता नहुनेतर्फ सचेत हुदै नाम दर्ता गर्ने व्यवस्था मिलाइने भएको छ । कुनै मतदाताले दोहोरो नाम परेको भनी हटाउन निवेदन दिएमा जिल्लाभित्रको दोहोरो नाम नाम दर्ता अधिकारीले रूजू गरी अघिल्लो दर्तालाई हटाइ पछिल्लो पटक दर्ता भएको नाम मतदाता नामावलीमा कायम गरिदिने तथा फरक जिल्लाको हकमा आयोगमा लेखी पठाइने छ ।
फोटो सहितको मतदाता नामावली सङ्कलन भए बमोजिम आयोगबाट वितरण भएको मतदाता परिचय पत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको भए त्यस्तो व्यक्तिको नाम दर्ता गरिने छ ।