काठमाडौं । थपिएका नयाँ मतदाताहरूले आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि मतदाता परिचयपत्र नपाउने भएका छन्। केही प्राविधिक कारणले यसपालि मतदाता परिचयपत्र नदिने निर्णय गरिएको आयोगले जनाएको छ । तर परिचयपत्र नपाएका र पहिला पाइसकेर पनि हराएको वा च्यातिएको खण्डमा परिचय खुलाउने सरकारी कागजातका आधारमा मतदान गर्न दिने तयारी गरिएको छ । आयोगका अनुसार मङ्सिर ४ गते हुने चुनावका लागि करिब एक करोड ८० लाख व्यक्ति मतदान गर्न योग्य छन्।
तीमध्ये करिब साढे दुई लाख मतदाता नयाँ छन् । तर यसपालि नयाँ मतदाताहरूलाई मतदाता परिचयपत्र वितरण गर्ने कार्यक्रम छैन । परिचयपत्र नपाउने थपिएका मतदातासँगै पुरानो परिचयपत्र हराएका वा च्यातिएका अवस्थामा त्यस्ता मतदाताले पहिचान खुलाउने अन्य सरकारी कागजात देखाएर मतदान गर्न दिने आयोगले मङ्गलवार निर्णय गरेको छ।
मौजुदा परिचयपत्रबाहेक अन्य सरकारी कागजातहरू नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, लालपुर्जा अथवा सवारीचालक अनुमतिपत्रका आधारमा समेत मत हाल्न पाउने छन्। तर त्यसका लागि मतदाता नामावलीमा नाम हुन जरुरी रहेको आयोगको भनाइ छ।