महेन्द्रनगर (धनुषा), २२ पुसः मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पछिल्ला दिनहरूमा केही स्थानमा देखिएका अस्वाभाविक गतिविधि र असमझदारीप्रति चिन्ता व्यक्त गर्दै समाजमा शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबैमा अपिल गरेका छन् ।
उनले आज एक सन्देश जारी गर्दै मधेस विभिन्न भाषा, धर्म, संस्कृति र परम्पराको सुन्दर सङ्गमस्थल भएको उल्लेख गर्दै परापूर्वकालदेखि नै आपसी सम्मान, सहिष्णुता र भाइचाराको संस्कारलाई आत्मसात् गर्दै आएको बताए । प्रदेश प्रमुख कर्णले ‘अतिथि देवो भवः’ र ‘वसुधैव कुटुम्बकम्’ जस्ता मूल्य–मान्यताले मधेसी समाजलाई एकताबद्ध बनाउँदै आएकाले त्यसलाई आत्मसात् गर्न आग्रह गरे ।
उनले समाजलाई विभाजन गर्ने तत्वहरूबाट सचेत रहन आग्रह गर्दै कुनै पनि किसिमको उत्तेजना वा आवेगमा नआई धैर्य अपनाउन सबै नागरिकलाई अनुरोध गरे ।
विचार र आस्था फरक हुन सक्ने भए पनि मानवीय पहिचान र सामाजिक एकता साझा भएको प्रदेश प्रमुख कर्णको भनाइ छ । उनले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कसैको भावनामा चोट पुग्ने खालका गतिविधि नगर्न आग्रह गर्दै समाजमा अमनचयन कायम राख्न सबै एकजुट हुनुपर्नेमा जोड दिए । संवाद र सहकार्य नै हरेक समस्याको समाधान भएको उल्लेख गर्दै प्रदेश प्रमुख कर्णले मधेस केवल विविधताको भूमि मात्र नभई अटुट एकता र प्रेमको भूमि भएको पुनः प्रमाणित गर्न सबैलाई आह्वान गरेका छन् ।