मुस्ताङ, ५, फागुन । रसुवा जिल्ला उत्तरगंगा गाउँपालिका—५ स्थायी घर भई मुस्ताङको घरपझोङ—२ मार्फा स्थित डेरामा शंकास्पद अवस्थामा मृत भेटिएकी शान्ति गुरुङको हत्या उनकै श्रीमानले गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा शान्तिका श्रीमान २३ वर्षीय अश्विन थापामगरलाई नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान गरेको थियो ।
सो अनुसन्धानका क्रममा सोमबार दिउँसो करिब २ बजेको समयमा घरायसी झगडाका कारण मादक पदार्थ सेवन गरी दाउराले श्रीमतिको टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले आज विज्ञप्ति जारी गरी जनाएको छ । हत्या अभियोगमा पक्राउ परेका थापामगरलाई आजै जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरीका सूचना अधिकारी नवराज न्यौपानेले जानकारी दिए ।