काठमाडौं । तीनकुने हिंसात्मक घटनामा संलग्न भएको आरोपमा पक्राउ ४२ जनालाई आगामी मंगलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनामा संलग्न भएको हुनसक्ने आरोपमा पक्राउ परेकालाई आगामी मंगलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । शुक्रबार पक्राउ परेकाहरूको हकमा ५ दिन र शनिवार पक्राउ परेकाहरुलाई ४ दिन हिरासतमा राख्न अनुमति भएको हो । अनुमतिको अवधि पक्राउ परेको दिनदेखि नै गणना हुनेछ ।
जिल्ला सरकारी वकिलको कार्यालयले १० दिन थुनमा राख्न अनुमति मागेकोमा धवलशमशेर जबरा क्यान्सरको बिरामी भनी कागजात पेस भएको थियो । रवीन्द्र मिश्रको हकमा प्रेसरको बिरामी भई इजलासमा फाइल पेस भएकाले अदालतले ५ दिनको अनुमति मात्रै सञ्चारमाध्यले लेखेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले तीनकुने घटनामा संलग्न भएको आरोप लागेकाहरूलाई बेलुकी ५ बजेतिर जिल्ला अदालतमा पेस गरेको थियो । अदालतमा गोला छनौटका क्रममा आइतबार न्यायाधीश तारादेवी महर्जनलाई थुनाको अनुमतिसम्बन्धी निवेदन हेर्ने जिम्मेवारी तोकिएको थियो ।