रास्वपाको नाराबाजीका बीच तीन घण्टासम्म चलाइयो संसद

तस्बिर किरणराज विष्ट\रासस

१ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नाराबाजी गरेका छन् । बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरूले बेलघेराउ गर्दै नाराबाजी गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले उठेर विरोध जनाए । ‘भिजिट भिसा’ र अध्यागमनको विषयलाई लिएर रास्वपाले विगत केहीदिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

रास्वपाले भिजिट भिसा र अध्यागमनका विषय उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको हो । उता, सरकार भने विपक्षीलाई पेलेर अगाडी बढेको छ । खासगरी माओवादी केन्द्र सहमतीमा आएसँगै साना दललाई पेल्ने रणनीतिमा सरकार पुगेको हो । संसदमा सभामुखले आजबाट बजेटसँग सम्बन्धित विषय छलफलमा अगाडी बढाएका छन् ।