काठमाडौँ, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच विभिन्न विषयमा सात बुँदे सहमति हुँदा कुलमान घिसिङ भने छुटेका छन् । यसबारे प्रतिक्रिया दिँदै रास्वपा सभापति रवि लामिछानेले सहमति नेताको चाहना अनुसार नभई जनताको चाहना अनुसार भएको बताएका छन् । सहमतिमा सभापति लामिछाने र प्रमुख शाहले मात्र हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागको यथोचित सम्बोधन गर्ने उल्लेख छ । पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ ।
त्यसैगरी, सहमतिपछि स्थापित हुने राजनीतिक दल, चुनाव चिह्न र पार्टी कार्यालय नाम राष्ट्रिय स्वतन्त्र पार्टीको नै हुनेछ । पार्टीको सङ्गठनात्मक संरचनामा युवालाई सहभागी गराउनेलगायतका विषय समावेश गरिएका छन् । यस सहमतिमा कुलमानलाई समेत सहभागी गराउने बालेनको प्रयास रास्वपाका कारण सम्भव भएन ।