१७ साउन, काठमाडौं । वैदिकविधि अनुसार विदेशीमा रहेकाको ग्रहदशा कटाउन ज्योतिषीको सल्लाह अनुसार नेपालमा दैनिक यज्ञ सञ्चालन भइरहेको छ । दक्षिणकाली नगरपालिका–१ बोसनस्थित ब्रह्मानन्द सरस्वती ग्राममा एक दशकअघिदेखि यस्तो यज्ञ भइरहेको हो । नेपाल महर्षि फाउन्डेसन फर वैदिक कल्चरले विदेशबाट अनलाइन माध्यमबाट आउने अनुरोधको यज्ञ गराउँदै आइएको आज यहाँ आयोजित धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन)सँगको अन्तरक्रियामा जानकारी गराइएको हो ।
फाउन्डेसनको कार्यालय सिफलमा हुँदादेखि यस्तो यज्ञ आयोजना हुँदै आएकामा चम्पादेवीमा आफ्नै भवन निर्माण गरी सरेपछि पनि यसलाई निरन्तरता दिइएको संस्थाका अध्यक्ष एवं पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले जानकारी दिए । उनका अनुसार दुई महिनादेखि जर्मनीको शान्तिको सङ्कल्पले ५१ जना वैदिक पण्डितबाट यज्ञ गराइरहेको हो ।
आद्य शङ्कराचार्यले स्थापना गर्नुभएका चार मठमध्ये ज्योर्तिमठका शङ्कराचार्य ब्रह्मानन्द सरस्वतीका चेला महर्षि महेश योगीका जर्मनस्थित भक्तको सहयोगमा त्यहाँको शान्तिको सङ्कल्प गर्दै यज्ञ भइरहेको बाँस्कोटाले उल्लेख गरे । “यज्ञमा ५१ जना पण्डित दुई महिनादेखि पूजापाठ, जपलगायत कर्म गरिरहेका छन् भने अन्य विदेशीको पनि यज्ञ भइरहेको छ । ब्रह्मानन्द सरस्वती ग्राममा हाल १८१ पण्डितले यज्ञ गरिरहेका हुन्”, उनले भने ।
युरोप र अमेरिकाका महर्षिका अन्य भक्तले ज्योतिषीले दिएको सल्लाहअनुसार नेपाली पण्डितबाट यज्ञ हुँदै आएको जनाउँदै उहाँले यहाँ यज्ञ गर्ने पण्डितले बिहान नित्य कर्म सकेर भावातित् ध्यानपश्चात् यज्ञ गर्ने भएकाले यस्तो यज्ञ प्रभावकारी हुने वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको बताए । महर्षि महेश योगीले भावातित् ध्यान र यज्ञमा उच्चारण हुने वैदिक मन्त्रले कसरी प्रभाव पार्छ भनी वैज्ञानिक अनुसन्धान गराउनुभएको थियो । ब्रह्मानन्द सरस्वती ग्राम २६ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
यहाँ बनाइएका भवन एवं यज्ञशाला स्थापत्यवेदको वास्तुशास्त्रका ग्रन्थमा उल्लेख गरिएको नियम पालना गरी बनाएका वास्तुशास्त्री शिवप्रसाद पोखरेलले बताए । उनका अनुसार भौगोलिक वास्तु अनुसार पनि पूर्व र उत्तर भिरालो रहेको, पश्चिम र दक्षिणतर्फ अग्लो रहेको यो भूभाग पवित्र मानिने र यस्ता स्थलमा गरिएको यज्ञलगायत कर्म सफल हुने वास्तुशास्त्रीय ग्रन्थहरूमा वर्णन गरिएको छ ।
ग्राममा गौशाला पनि स्थापना गरी तीन वटा गाई पालिएको छ । यज्ञका लागि गाईको दूध, दही, घ्यू, गहुँत र गोबर यहाँ पालिएका गाईबाट प्राप्त हुने गरेको संस्थाका अध्यक्ष बाँस्कोटाले जानकारी दिए । उनका अनुसार गौशालासँगै फाउन्डेसनले १५ रोपनी जग्गा भाडामा लिएर वैदिक खेती पनि गरिरहेको छ । “जहाँ विषादी प्रयोग गरिँदैन । गाईको मल हाल्ने गरिएको छ । यहाँ उत्पादित तरकारी विषादीरहित हुन्छन्”, उनले भने ।
अन्तरक्रियामा फाउन्डेसनका अध्यक्ष बाँस्कोटाले धर्म, संस्कृतिलगायत सकारात्मक विषयको पत्रकारिता कम भइरहेका बेला स्थापना भएको विधागत पत्रकारको संस्था धार्मिक, सांस्कृतिक पत्रकार समाजले उदाहरणीय काम गरेर देखाउनुपर्नेमा जोड दिए । धार्मिक, सांस्कृतिक पत्रकारले शुद्धीकरण आफैँबाट गर्न नियमित बिहान, बेलुका ध्यान गर्नुपर्ने उनले सुझाव दिए । नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उमीद बागचन्दले अहिले समाजमा सकारात्मक पत्रकारिता आवश्कता रहेको बताउँदै त्यसको नेतृत्व धार्मिक, सांस्कृतिक विधाका पत्रकारले गर्नसक्ने धारणा राखे । यसका लागि ठूला सञ्चार गृहमा धार्मिक, सांस्कृतिक पत्रकारको संस्था पुग्नुपर्ने उनले सुझाव दिए ।