विश्वकप : स्पेनसँग बराबरी खेल्दा जर्मनीलाई अगाडी बढ्न कठिन

काठमाडौं । फिफा विश्वकप २०२२ मा पूर्व विजेताद्वयको भिडन्तमा जर्मनी र स्पेनले एक एक गोलको बराबरी खेलेका छन् । बराबरीसँगै जर्मनीको अन्तिम १६ को आशा जीवित बने पनि कठिन भएको छ । स्पेन भने सहज अवस्थामा छ। समूह ‘ई’ को यो खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ६२ मिनेटमा स्पेनले मोराटाको गोलबाट अग्रता लियो। उनलाई जोर्डी अल्बाले पास उपलब्ध गराए ।

त्यसपछि दबाबमा परेको जर्मनीले ८३ मिनेटमा बराबरी गोल फर्कायो । उसका लागि फुलक्रुगले गोल गरे । बराबरीसँगै समूहको शीर्षमा स्थानमा रहेको स्पेनको चार अंक भएको छ। दोस्रो स्थानको जापान र तेस्रो स्थानको कोस्टारिकाको तीन तीन अंक छ। जर्मनी एक अंक जोडेर पुछारमा छ। अब अन्तिम चरणमा जर्मनी र कोस्टारिका तथा जापान र स्पेनबीच खेल हुनेछ। स्पेनबाहेक अरु तीन टिमलाई अन्तिम १६ मा पुग्न अनिवार्य जित चाहिन्छ ।