सडकबत्ती जडानका क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

भक्तपुर । भक्तपुरमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो सवा १ बजे भक्तपुर नगरपालिका २ इतापाकोमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेका दोलखा मेलुङ गाउँपालिका ५ का २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् । करेन्ट लागेर एक जना व्यक्ति तारमै अड्किएको र अर्को पछारिएको खबर स्थानीयले प्रहरीलाई गरेका थिए ।


त्यसपछि सो टोलको लाइन काट्न लगाएर प्रहरी एम्बुलेन्स लिएर घटनास्थलमा खटिएको थियो । घटनामा दुबै जना गम्भीर घाइते भएका थिए । भक्तपुर अस्पतालमा बुढाथोकीको मृत्यु भएको हो । घाइते सिन्धुली कमलामाई नगरपालिका ११ का २७ वर्षीय विक्रम मोक्तानको कीर्तिपुर अस्पताल उपचार जारी रहेको छ । टप्सन इनर्जी सानोभर्‍याङ, काठमाडौंबाट खटिएका कामदारले सिमेन्टको पोलमा सडकबत्ती जडान राख्ने क्रममा करेन्ट लागेको बताइएको छ ।