समानुपातिको सूची तयार पार्न एमाले र कांग्रेस पार्टी कमिटीका बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बैठक बस्न लागेको हो । शनिबार साँझ बसेको बैठकले उम्मेदवारको सूची तयार गर्न नसकेपछि पुनः आज बैठक बस्न लागेको हो । आजको बैठकले उम्मेदवारको सूची तयार गर्ने नेताहरूले बताएका छन् । शनिबारको बैठकमा सङ्घीयतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको थियो । आजको बैठक ११ बजेपछि बोलाइएको छ ।


उता, समानुपातिक तर्फका उम्मेदवारहरुको बन्द सूची तय गर्न नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ । बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । पदाधिकारीमा नेता रामचन्द्र पौडेललाई पनि थपिएको संसदीय समितिको बैठक हिजो पनि बसेको थियो । कांग्रेसले क्लस्टर अनुसारको सूची बनाउन आठ सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ । सहमहामन्त्रीहरुले तयार गरेको सूचीमा थप छलफल गरी टुंगो लगाइने छ । निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूची बुझाउने समय आज र भोलिको लागि निर्धारण गरेको छ ।