म्यानचेस्टर
न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको ‘समिट एनएचएनसी कप–२०२४’ को उपाधि एनएचएनसी फूटबल टिमले हात पारेको छ । न्यूह्यामसर राज्यको म्यान्चेष्टर शहरस्थित रकरिमन फूटबल मैदानमा शनिबार आयोजित फाईनल खेलमा एनएचएनसी फूटबल टिमले भरमण्ट फूटबल क्लबलाई पराजित गर्दै उपाधि जितेको हो ।

विजेता एनएचएनसी फूटबल टिमले नगद पाँच हजार डलरसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता भरमण्ट फूटबल टिमले नगद तिनहजार डलरसहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।

विजेता तथा उपविजेता टिमहरुलाई न्यूह्यामसर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पा, समिट न्यूह्यामसर एलएलसीका अध्यक्ष रविन थापा, नेपाली राष्ट्रिय फूटबल टिमका पूर्व कप्तान दिपक अमात्य, गैर आवशीय नेपाली संघ अमेरिका न्यूह्यामसर च्याप्टरका अध्यक्ष कमल ढुंगाना र न्यूह्यामसर नेपाली समाजका पूर्वअध्यक्ष सोम गुरुङले संयुक्त रुपमा पुरस्कार, ट्रफी तथा मेडल वितरण गरेका थिए ।

यसबर्षको प्रतियोगिताको मुख्य प्रायोजन समिट न्यूह्यामसरले गरेको थियो भने अन्य विभिन्न स्थानीय व्यबसायीहरुले सह–प्रायोजन गरेका थिए ।

न्यूईङ्ल्याण्ड क्षेत्रकै प्रतिष्ठित र ठूलो धनराशी रहेको प्रतियोगितामा न्यूयोर्क, मासाचुसेट्स, कनेक्टिकट, भरमण्ट र न्यूह्यामसर राज्यका गरि १२ टिमले सहभागिता रहेको थियो ।

‘खेलको माध्यमबाट न्यूईङ्ल्याण्ड क्षेत्रमा बसोबास गर्ने नेपालीभाषीहरुबीच भाइचारा र भातृत्वको विकास गर्ने हाम्रो निरन्तर प्रयास हो’ आयोजक न्यूह्यामसर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पाले भने ‘आगामी बर्षहरुमा फूटबलका अलवा अन्य खेलहरु पनि थप्दै जानेछौं ।’

यसैगरी प्रतियोगिताको मुख्य प्रायोजक समिट न्यूह्यामसरका अध्यक्ष रविन थापाले खेलकुद नेपालीभाषी युवापुस्तालाई जोड्ने माध्यम भएको बताए । ‘न्यूईङ्ल्याण्ड क्षेत्रमा बसोबास गर्ने उत्कृष्ठ खेलाडीहरुको टिम बनाएर प्रतियोगिता वा मैत्रीपूर्ण खेलका लागि नेपालसम्मै लाने हाम्रो जमर्को रहनेछ’ उनको भनाइ थियो । थापाले खेलाडीहरुलाई नेपालसम्म लैजानको लागि ब्यबस्थापकीय काममा समिट न्यूह्यामसरले सक्दो सहयोग गर्ने बचन दिए।



