हर्क साम्पाङ सुनसरी–१ बाट विजयी, प्रधानमन्त्री बालेन हुन नहुने अभिव्यक्ति सार्वजनिक

प्रतिनिधिसभा सदस्य–२०८२ को निर्वाचनमा सुनसरी क्षेत्र नं १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई निर्वाचितपश्चात् आइतबार निर्वाचन अधिकृत दिव्यराज घिमिरेबाट प्रमाणपत्र ग्रहण गर्नुहुँदै । तस्बिरः सङ्गीता राईरासस

धरान (सुनसरी) २४ फागुनः सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उनले ३५ हजार ७४१ मत प्राप्त गरे । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का टीकाराम लिम्बुले छ हजार ४६३ मत प्राप्त गरे ।

यस क्षेत्रमा विभिन्न दल १९ र स्वतन्त्रका ७ जनासहित २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । धरान उपमहानगरपालिका, बराहक्षेत्र, राधुनी गरी जम्मा २७ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८ सय ६५ मत खसेको थियो । निर्वाचित भएसँगै हर्कले प्रधानमन्त्री बालेन हुन नहुने आसयको स्टाटस लेखेका छन् । संसदमा उठ्ने प्रश्नको जवाफ बालेनले दिन नसक्ने उनको तर्क छ ।