काठमाडौं । नारायणहिटी राजदरबार हत्याकाण्डको २३औं स्मृतिमा पूर्वराजपरिवारका सदस्यहरुले दीप प्रज्वलन गरेका छन् । कमलादी गणेश मन्दिरमा हिमानी ट्रष्टले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पूर्व राजपरिवारका सदस्यहरू पुगेका हुन् । मन्दिरमा दीप प्रज्वलनका लागि पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयेन्द्र शाह पनि पुगेका हुन् । हिमानी ट्रष्टको अध्यक्ष पूर्वराजा ज्ञानेन्द्र शाहकी पत्नी कोमल र उपाध्यक्ष उनीहरूकी बुहारी हिमानी शाह छिन् ।
हिमानी ट्रष्टले २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र मारिएका तत्कालीन राजपरिवारका सदस्यहरूको स्मृतिमा नारायणहिटी दरबारभित्रै दीप प्रज्वलनको कार्यक्रम गर्ने तयारी गरेको थियो । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारभित्र कार्यक्रम गर्न अनुमति नदिएकाले कमलादीको गणेश मन्दिरमा कार्यक्रम गर्न लागिएको ट्रष्टले जनाएको छ । आज कमलादीमा वाइसीएल नेपालको समेत कार्यक्रम थियो । नजिकै राजावादी पुग्दा दुबै पक्षबीच नारावाजी भएको थियो । प्रहरीको बाक्लो उपस्थितिका कारण अप्रिय घटना भने हुन पाएन ।