गर्मीले भारतमा बिजुली खपतको कीर्तिमान

A worker removes dead fish from the Sanjay Lake, which partially dried up amid a heatwave in New Delhi on May 22, 2026. Workers on May 22 scooped up dead fish floating on the surface of the Sanjay city park lake in Delhi, which died as the water shrank after days of relentless summer sun. (Photo by Arun SANKAR / AFP)

नयाँदिल्ली, ८ जेठ (रासस–एएफपी) । भारतमा बढ्दो गर्मीका कारण शीतलन उपकरणको प्रयोग तीव्र रूपमा बढेपछि देशको बिजुली मागले लगातार नयाँ कीर्तिमान बनाएको छ । भीषण गर्मीबीच ऊर्जा उत्पादकहरूले रेकर्ड स्तरमा विद्युत् उत्पादन गर्दै देशको अहिलेसम्मकै उच्च माग पूरा गरेका छन् । भारतको ऊर्जा मन्त्रालयका अनुसार बिहीबार लगातार चौथो दिन देशको चरम बिजुली मागले नयाँ सर्वकालिक उच्च रेकर्ड कायम गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बिहीबार दिउँसो ३ः४५ बजे भारतको चरम बिजुली माग २७०.८२ गिगावाट पुगेको थियो, जुन सफलतापूर्वक आपूर्ति गरिएको बताइएको छ ।

उक्त समयमा राजधानी नयाँदिल्लीको तापक्रम ४५.३ डिग्री सेल्सियस पुगेको थियो । मन्त्रालयले यो स्तरलाई भारतको इतिहासकै सबैभन्दा उच्च चरम बिजुली मागको रूपमा वर्णन गरेको छ । यसअघि बुधवार २६५.४४ गिगावाटको रेकर्ड कायम भएको थियो, जसलाई एक दिनमै उछिन्दै नयाँ कीर्तिमान बनेको हो ।ऊर्जा मन्त्रालयले बढ्दो तापक्रमका कारण एयर कन्डिसनर, कुलर तथा अन्य शीतलन उपकरणहरूको प्रयोग अत्यधिक बढेकाले बिजुलीको माग अस्वाभाविक रूपमा चुलिएको जनाएको छ ।

मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणमा माग वृद्धिको मुख्य कारण यही भएको उल्लेख गरिएको छ । भारतको कुल विद्युत् उत्पादनमा अझै पनि थर्मल पावर, विशेषगरी कोइलामा आधारित उत्पादनको प्रभुत्व रहेको छ । हाल देशको कुल बिजुली उत्पादनमध्ये ६२ प्रतिशत हिस्सा कोइलाजन्य थर्मल पावरबाट प्राप्त भइरहेको मन्त्रालयले जनाएको छ । सौर्य ऊर्जाबाट २२ प्रतिशत, हावा र जलविद्युत्बाट पाँच प्रतिशत तथा बाँकी अन्य स्रोतहरूबाट उत्पादन भइरहेको छ ।

विश्वकै तेस्रो ठूलो हरितगृह ग्यास उत्सर्जक भारतले सन् २०७० सम्म ‘शुद्ध–शून्य उत्सर्जन’ हासिल गर्ने प्रतिबद्धता जनाएको भए पनि ऊर्जा सुरक्षाका लागि अझै कोइलामाथि ठूलो निर्भरता कायम रहेको देखिएको छ । रेकर्ड स्तरमा बिजुली उत्पादन भइरहेको सरकारी दाबीबीच सामाजिक सञ्जाल एक्समा धेरै प्रयोगकर्ताले भने आफ्ना क्षेत्रमा अझै पनि विद्युत् कटौती भइरहेको गुनासो गरेका छन् । अत्यधिक गर्मीका कारण पुराना विद्युत् तार र ट्रान्सफर्मरहरूमा अत्यधिक चाप परेर स्थानीय स्तरमा ब्ल्याकआउट हुने जोखिम बढिरहेको बताइएको छ ।

दक्षिण एसियाको एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतमा अप्रिलदेखि जुनसम्म तीव्र गर्मी सामान्य मानिए पनि पछिल्ला वर्षहरूमा तापक्रमको तीव्रता र अवधि दुवै बढ्दै गएको छ । वैज्ञानिक अनुसन्धानहरूले जलवायु परिवर्तनका कारण तातो हावाका लहरहरू अझ लामो, बारम्बार र खतरनाक बन्दै गएको निष्कर्ष निकालेका छन् । भारतको मौसम विभागका अनुसार बिहीबार उत्तर प्रदेश राज्यको बान्दा सहरमा अधिकतम तापक्रम ४७.६ डिग्री सेल्सियस मापन गरिएको थियो । यो हप्ताको सुरुआतमा त्यही क्षेत्रमा पुगेको ४८.२ डिग्री सेल्सियसभन्दा केही कम भए पनि अवस्था अझै अत्यन्त गर्मीपूर्ण रहेको विभागले जनाएको छ ।

भारतमा हालसम्म आधिकारिक रूपमा मापन गरिएको सबैभन्दा उच्च तापक्रम राजस्थानको फलोदीमा सन् २०१६ मा रेकर्ड गरिएको ५१ डिग्री सेल्सियस हो । यसैबीच, अन्तर्राष्ट्रिय वायु गुणस्तर अनुगमन प्लेटफर्म ‘एक्युआई’ ले अप्रिलमा सार्वजनिक गरेको प्रतिवेदनमा विश्वका सबैभन्दा तातो ५० सहरमध्ये सबै भारतमै रहेको उल्लेख गरेको थियो । तापक्रम, सौर्य विकिरण, हावाको अवस्था, वर्षा र आद्र्रतासहितका विभिन्न सूचकलाई आधार बनाएर तयार गरिएको दैनिक ‘गर्मी सूचकाङ्क’ मा भारतीय सहरहरू अत्यधिक तापको चपेटामा परेको देखाइएको थियो ।