न्युयोर्क
लाखौं संक्रमित बनाएर हजारौंको ज्यान लिने कोरोना संक्रमणको बिरुद्ध दिनहुँ नयाँ नयाँ शुभकामना समाचार आउन थालेका छन् । यस्तै समाचार बीच अब कोरोना संक्रमण कै कारण ज्यान गुमाउनु पर्ने अवस्थामा पुगेका बिरामीलाई बचाउने औषधी पत्ता लागेको छ । सस्तो मुल्य र सर्वसुलभ ‘डेक्जामेथाजोन’ ले कोरोना संक्रमणबाट झण्डै मृत्यु सैय्यामा पुग्न लागेका बिरामीलाई बचाउने नयाँ तथ्य पत्ता लागेको छ । बेलायतस्थित बिज्ञहरुका अनुसार ‘डेक्जामेथाजोन’ को थोरै प्रयोगले पनि यो खतरनाक भाईरसबाट बच्न्न सकिने कुरा बिबिसि न्युजले लेखेको छ । बिबिसि न्युजका अनुसार महामारी सुरु भएयता यो औषधीको प्रयोगले बेलायतमा भेण्टिलेटरमा पुगेका करिब ५ हजार बिरामीको ज्यान बचाई सकेको छ । अक्स्फोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताले करिब २ हजार बिरामीमा यो औषधीको प्रयोग गरेका थिए र उनिहरुले ‘डेक्जामेथाजोन’ डोज नपाएका अन्य ४ हजार बिरामीसँग तुलना गरेका थिए । अनुसन्धानकर्ताका अनुसार यो औषधीले भेण्टिलेटरमा पुगेका करिब ४० प्रतिशत बिरामी र अक्सिजन लेभल कम भएका करिब २५ प्रतिशत बिरामीलाई बचाउने उनिहरुको दाबी छ । मुख्य अनुसन्धानकर्ता पिटर हर्बीले औषधीको बारेमा भनेका छन्; “कोरोना संक्रमणको महामारी पछि विश्वभर अनुसन्धानको रुपमा प्रयोग गरिएका औषधी मध्ये मृत्युदर घटाऊने यो औषधी नै मुख्य साबित भएको छ” ।
डेक्जामेथाजोन सन् १९६० देखि आर्थ्राईटिज र आज्मा जस्ता रोगहरुको उपचारमा प्रयोग गरिदै आएको औषधी हो ।