Category: फिचर

  • मतदान गर्न राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मान्य हुने

    मतदान गर्न राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मान्य हुने

    काठमाडौँ, १९ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ । यही फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने आयोगले बताएको छ ।

    आयोगले सार्वजनिक गरेको अन्तिम मदाता नामावलीमा नाम भएका र यही फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले निर्वाचनमा तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न पाउनेछन् ।

  • कन्चनपुरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

    कन्चनपुरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

    महेन्द्रनगर, १९ फागुनः कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभुत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो ।

    सोमबार राति खाना पकाउने क्रममा बेहोस भएका उनको आज धनगढीस्थित निशर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । राना उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित भएको पाइएको प्रवक्ता शाहीले बताए । यसैगरी मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । बेदकोट नगरपालिकामा मोटरसाइकल अनियन्त्रित हुँदा भीमदत्त नगरपालिका–१८ भगतपुरका २३ वर्षीय निरज चौधरीको मृत्यु भएको हो ।

    बेदकोट–७ गाउजीबाट सुडातर्फ आउँदै गरेका चौधरीले चलाएको म१प ८०४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    सोही मोटरसाइकलमा सवार भगतपुरका २२ वर्षीय सागर चौधरी र १९ वर्षीय प्रमोद चौधरी घाइते भएका छन् । दुवै जनाको धनगढीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो ।

  • देशभरी छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

    देशभरी छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

    काठमाडौँ, १९ फागुन : देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार सर्लाही, सुनसरी, बारा, मकवानपुर, भक्तपुर, चितवन, धादिङ, कास्की, बाँके, रूकुम पूर्व, रूपन्देही र कञ्चनपुरमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

  • रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

    रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

    काठमाडौँ, १९ फागुनः रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले राससलाई बताए । मोटरसाइकलमा सवार यात्रीलाई गएराति लुटपाट गर्न खोज्दै गर्दा सोही ठाउँका २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी पक्राउ परेका हुन् ।

    लुटपाट गर्न खोज्ने तीनमध्ये एक जना भने फरार रहेका छन् । निजको खोजी भइरहेको छ । सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा वेश सन्तपुरको ‘स्ट्राइकिङ’ टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । जिल्लाको राजदेवी नगरपालिका–८ बस्ने धमेन्द्र राय यादव र निजको श्रीमती चन्चला सवार मोटरसाइकल रोकेर गहना लुटपाट गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

  • नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

    नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौँ, १९ फागुनः काठमाडौँको नयाँ बानेश्वरमा फोहर बोक्ने टिपरको ठक्करबाट आज स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३१ मिनभवनस्थित सिभिल अस्पताल नजिक बा२क ३२२९ नम्बरको फोहर बोक्ने टिपरले ठक्कर दिँदा सुनसरीको इनरुवा स्थायी घर भई हाल भक्तपुर बस्ने ४८ वर्षीय बद्री कोइरालाको मृत्यु भएको काठमाडौँ प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

    गोरखाका विकाश थापा मगरले चलाएको प्र ३ –००१ ब ९४५ नम्बरको टिपरले सरकारी नम्बर प्लेट प्र ३ –००१ ब ९४५ को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कोइराला गम्भीर घाइते भएका थिए । उनको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । टिपर चालक थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • इरानले तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राखे सैन्य प्रतिक्रिया जनाइने : साउदी सरकार

    इरानले तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राखे सैन्य प्रतिक्रिया जनाइने : साउदी सरकार

    रियाद, साउदी अरब, १९ फागुन (रासस–एएफपी) । साउदी तेल प्रशोधन केन्द्रमा इरानले गरेको आक्रमणले साउदी अरबबाट सैन्य प्रतिक्रिया हुनसक्ने साउदी सरकार निकट स्रोतले सोमबार एएफपीलाई बताएको छ । साउदी अरबको खाडी तटमा रहेको विशाल रास तनुरा रिफाइनरीमा सोमबार दुई वटा ड्रोनद्वारा आक्रमणपछि यो आंशिक रूपमा बन्द भएको छ । स्रोतले सरकारी तेल कम्पनीलाई सङ्केत गर्दै एएफपीसँग भनेको छ, “यो इरानको नेतृत्वले अरामकोमाथि प्रत्यक्ष आक्रमण गरेको हो वा गलत लक्ष्यमा ड्रोनले आक्रमण गरेको हो भन्ने कुरामा निर्भर पर्छ ।

    स्रोतले भनेको छ, “मलाई लाग्छ कि यो चरणमा साउदी अरबले हेर्नेछ र पर्खनेछ।” यदि इरानले साउदी अरबका तेल कम्पनीहरू विरुद्ध लक्षित अभियान सुरु गरेको रूपमा हेरियो भने सैन्य प्रतिशोध एक सम्भावित विकल्प हुनेछ। साउदी अरब विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता हो । स्रोतका अनुसार यदि इरानले अरामकोमाथि आक्रमण गर्‍यो भने साउदी अरबले इरानका तेल प्रशोधन केन्द्रलाई निशाना बनाउनेछ ।

  • दुबई विमानस्थलले पुनः ‘सीमित’ उडानहरू सुरु गर्ने

    दुबई विमानस्थलले पुनः ‘सीमित’ उडानहरू सुरु गर्ने

    दुबई, १९ फागुन (रासस–एएफपी) । दुबई र अबु धाबी विमानस्थलहरूसहित खाडी क्षेत्रमा इरानले आक्रमण गर्न थालेपछि रद्द गरिएको तीन दिनपछि सोमबार साँझबाट पुनः ‘सीमित’ उडानहरू सुरु हुने आबुधावी विमानस्थल प्रशासनले जानकारी गराएको छ। “दुबईले ‘दुबई अन्तर्राष्ट्रिय विमानस्थल (डिएक्सबी)’ र ‘दुबई वल्र्ड सेन्ट्रल–अल मकतूम’ अन्तर्राष्ट्रिय विमानस्थल (डिडब्ल्यूसी)बाट उडानहरू सीमित रूपमा पुनः सुरु गर्ने घोषणा गरेको छ। ‘एमिरेट्स’ र कम लागतको विमान कम्पनी ‘फ्लाई दुबई’ दुवैले सोमबार साँझ केही उडानहरू पुनः सुरु गर्ने बताएका छन्।

    अबुधाबीबाट उडान भर्ने इहाद एयरवेजले मङ्गलबारदेखि उडान सुरु गर्ने जनाएको छ । खाडी मुलुकहरूमा इरानले व्यापक बमबारीको सहयोगमा सैन्य अखडाहरूमा प्रहार गरेको छ, साथै उसले आवासीय भवनहरू, होटलहरू, विमानस्थल र समुद्री बन्दरगाहजस्ता नागरिक पूर्वाधारहरूमा पनि प्रहार गरेको पाइएको छ। आक्रमणले लामो समयदेखि जारी मध्यपूर्व द्वन्द्वबाट सुरक्षितस्थलको रूपमा हेरिएको क्षेत्रमा तनाव सिर्जना भएको छ।

    इरानले शनिबारदेखि अभियान सुरु गरेयता दुबई, अबुधाबी, कुवेत र मनामा विमानस्थललाई निशाना बनाइएको छ । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा भएको उक्त घटनामा एक जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । संयुक्त अरब इमिरेट्स ९युएई० ले आफ्नो हवाई क्षेत्र अस्थायी र आंशिक रूपमा बन्द गरेको शनिबार घोषणा गरेको थियो ।

    दुबईको मुख्य विमानस्थल (डिएक्सबी) संयुक्त राज्य अमेरिकाको एटलान्टापछि विश्वव्यापी रूपमा दोस्रो व्यस्त विमानस्थलको रूपमा रहेको ‘अन्तराष्ट्रिय विमानस्थल परिषद्’ले जनाएको छ । हवाई क्षेत्र बन्दले शहरको लागि एक महत्त्वपूर्ण क्षेत्रलाई असर गर्यो, दुबईको हवाई उद्योगले युएईको अर्थव्यवस्थाको लगभग एक तिहाई हिस्सा ओगटेको छ।

  • इरानी धर्मगुरुको शासनलाई हटाउने दिन नजिकिँदै : इजरायली प्रधानमन्त्री

    इरानी धर्मगुरुको शासनलाई हटाउने दिन नजिकिँदै : इजरायली प्रधानमन्त्री

    जेरुसलेम, १९ फागुन (रासस–एएफपी) । इरानविरुद्ध अमेरिका–इजरायलको संयुक्त अभियानको उद्देश्य इरानीहरूलाई उनीहरूको धार्मिक नेतृत्वलाई हटाउने अवस्था सिर्जना गर्नु भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार बताएका छन् । इरानी मिसाइलद्वारा प्रहार गरिएको इजरायली घटनास्थलको भ्रमण गरेपछि सञ्चारमाध्यमसँग गरेको कुराकानीमा प्रधानमन्त्री नेतन्याहुले भने, “त्यो दिन नजिकिँदै छ, र जब यो आउँछ, इरानी जनतासँग इजरायल र संयुक्त राज्य अमेरिका त्यहाँ साथमा हुनेछन् । इरानी जनता हामीसँग हुनु महत्त्वपूर्ण छ । उनीहरूले चाहेमा हामी त्यहाँ हुनेछौँ ।”

    इजरायल र संयुक्त राज्य अमेरिकाले शनिबार इरानमा आक्रमण गरेपछि पहिलोपटक इरानबारे बोल्दै नेतान्याहूले भने, “इरानीहरूले ‘निरंकुशताको खेल त्याग्ने’ समय आएको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरूलाई ‘आफ्नो देश फिर्ता लिन’ भनेका छन्।” यसैबीच तेहरानबाट प्राप्त समाचार अनुसार, इरानले अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणपछि जवाफी आक्रमण गरिरहेको बताएको छ ।

    अहिलेसम्म मध्यपूर्वमा संयुक्त राज्य अमेरिका र इजरायलसँग सम्बन्धित ५०० स्थलहरूलाई लक्षित गरी आक्रमण गरिएको रिभोलुसनरी गाड्र्सले युद्धको तेस्रो दिन सोमबार जानकारी गराएको हो । “द्वन्द्व सुरु भएयता इरानी सैनिकहरूले ६० वटा रणनीतिक लक्ष्य र ५०० अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेका छन्,” गार्ड्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ । गार्ड्सले जारी पछिल्लो द्वन्द्वमा ७०० भन्दा बढी ड्रोन र सयौँ क्षेप्यास्त्र प्रक्षेपण गरेको जनाएको छ।

  • पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

    पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

    वीरगन्ज (पर्सा), १९ फागुन । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट्रिय नाका ७२ घण्टा बन्द गरेकोे छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले पर्सा जिल्लासँग जोडिएको भारतको विहार राज्यअन्तर्गतका पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लाका सीमानाका निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बन्द गरेकोे जानकारी दिए । “फागुन १८ गते राति १२ः०० बजेदेखि फागुन २१ गते राति १२ः०० बजेसम्मको अवधिमा सीमानाका बन्द गर्ने निर्णय भएको छ”, उनले भने, “निर्वाचनको समयमा दुवै मुलुकले ७२ घण्टा सीमानाका बन्द गर्ने परम्परा छ ।”

    सहायक प्रजिअ पोखरेलले फागुन १९ गते तराई–मधेसमा मनाइने होली पर्वलाई पनि सौहार्दपूर्ण र निर्वाचनमैत्री ढङ्गले मनाउनका लागि आह्वान गरेका छन् । “होली पर्वका अवसरमा सार्वजनिकस्थलमा भीडभाड गर्ने, होहल्ला गर्ने, जबर्जस्ती रङ दल्ने, मदिरा सेवन गरी सामाजिक सद्भाव खल्बलिने गतिविधि नगर्न अनुरोध गर्दछौँ”, उनले भने, “कुनै पनि राजनीतिक दल वा उम्मेदवारको झन्डा वा चुनाव चिह्नअङ्कित कपडा लगाएर पर्व मनाउनसमेत निषेध गरिएको छ ।”

    होलीको अवसरमा मोटरसाइकल दुर्घटनामा वृद्धि देखिएकाले फागुन २० गते मोटरसाइकल प्रयोग गरी होली मनाउन निषेध गरिएको सूचनामा उल्लेख छ । फागुन १९ गतेदेखि निर्वाचन परिणाम घोषणा नभएसम्म जिल्लाभर कुनै पनि राजनीतिक दलको प्रचारप्रसार, सभाजुलुस तथा धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रममा डीजेलगायत ध्वनि प्रदूषण हुने खालका बाजा बजाउन निषेध गरिएको प्रशासनले जनाएको छ ।

  • खाडी मुलुकप्रति आफ्नो कुनै शत्रुता नरहेको इरानको दाबी

    खाडी मुलुकप्रति आफ्नो कुनै शत्रुता नरहेको इरानको दाबी

    तेहरान, १८ फागुन (रासस–एएफपी) । अमेरिका–इजरायल आक्रमणपछि मध्यपूर्वमा कारबाही सुरु गरेको इरानले खाडी मुलुकप्रति कुनै दुर्भावना नराखेको विदेशमन्त्रीले सोमबार बताएका छन् । “इरानले पर्सियाली खाडी मुलुकहरुप्रति कुनै शत्रुता राख्दैन र उनीहरुसँग राम्रो छिमेकी सम्बन्ध कायम गर्न प्रतिबद्ध छ,” विदेशमन्त्री अब्बास अराघचीले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको टेलिफोन वार्तामा भने ।

    चिनियाँ विदेश मन्त्रालयले इरानी विदेशमन्त्रीलाई उद्धृत गर्दै भनेको छ, “अमेरिकी सैन्य अखडाहरूविरुद्ध इरानको रक्षात्मक प्रतिक्रियालाई खाडी देशहरूविरुद्ध इरानको आक्रमणको रूपमा हेर्न हुँदैन।” इरानमाथि अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा इरानी सर्वोच्च नेता आयोतोल्लाह अली खामेनी, रक्षामन्त्री अमिर नसिरजादेहसहित दर्जनौँ सैन्य अधिकारी मारिएको थियो । प्रतिक्रियामा अहिलेसम्म मध्यपूर्वमा संयुक्त राज्य अमेरिका र इजरायलसँग सम्बन्धित ५०० स्थलहरूलाई लक्षित गरी आक्रमण गरेको रिभोलुसनरी गाड्र्सले युद्धको तेस्रो दिन सोमबार जानकारी गराएको छ ।

    इरानले छिमेकी मुलुकबारे पछिल्लो युद्धको धारणा स्पस्ट गर्दै आफ्नो शत्रुता खाडी मुलुकहरू नभएको बताएपनि शनिबार अमेरिका र इजरायलले अभियान सुरु गरेयता दुबई, अबुधाबी, कुवेत र मनामा विमानस्थललाई निशाना बनाइएको छ ।

  • भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य

    भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य

    भोजपुर, १९ फागुन । रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको समस्या अन्त्य भएको छ । पुस्तौँदेखि पिउने पानीको अभाव झेल्दै आएका यहाँका स्थानीय अहिले प्रत्येक घरमा धारा जडान भएपछि राहत महसुस गरिरहेका छन् । गाउँका ४६८ घरमा ‘एक घर, एक धारा’ अभियानमार्फत पिउने पानी वितरण गरिएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । घरघरमा धारा पुगेसँगै घण्टौँसम्म पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छ ।

    स्थानीय कल्पना भट्टराईका अनुसार घरमै धारा जडान भएपछि वर्षौँदेखिको समस्या समाधान भएको छ । पहिले घरमा धारा नहुँदा निकै सास्ती थियो, टाढाबाट बोकेर पानी ल्याउनुपथ्र्यो । अहिले घरमै पानी आउँदा धेरै सहज भएको छ । अर्की स्थानीय सरस्वती भट्टराईले पनि विगत सम्झिँदै भनिन्, “घरभन्दा परका तीनवटा धाराबाट डोको बोकेर पानी ल्याउनुपथ्र्यो, अहिले आँगनमै धारा जडान भएपछि सरसफाइमा सहज भएको छ । खेर जाने पानी करेसाबारीमा प्रयोग गरिरहेका छौँ ।”

    वडाध्यक्ष रामु थापामगरका अनुसार वडाभरिका सबै ४६८ घरमा धारा जडान सम्पन्न गरिएको छ । एक घर, एक धारा अभियान सफल भएको छ । अब स्थानीयले वर्षौँदेखिको पानीको समस्या भोग्नुपर्दैन । धारा जडानसँगै स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै वडाले ‘एक घर, एक फिल्टर’ अभियान पनि सञ्चालन गरेको जनाएको छ । पानीजन्य रोगबाट बच्न प्रत्येक घरमा पानी फिल्टरसमेत वितरण गरिएको छ ।

  • तराईका जिल्लामा आज होली मनाइँदै

    तराईका जिल्लामा आज होली मनाइँदै

    रासस
    मध्यविन्दु (नवलपरासी), १९ फागुनः रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदैछ ।

    मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई विशेष महत्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेद्भावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ । सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको पण्डित त्रिलोचन भुर्तेलले बताए । “असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ”, उनले भने, “धार्मिक महत्त्वसँगसँगै सामाजिक सद्भाव र उमङ्ग प्रदान गर्न होलीको विशेष भूमिका रहेको छ ।”

    प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको भुर्तेलले बताए । रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङ्गमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु , मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ ।

    पहाडी जिल्लामा होलीको सोमबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूृर्व)मा होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउनका लागि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताए । “अनुमतिबिना रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्ने, अभद्र व्यवहारलगायत गतिविधि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनेछौँ”, उनले भने ।


    अपरिचित मानिससँग होली नखेल्न, आत्मीय र आफन्तसँग मात्र हाली खेल्न, कसैको पनि इच्छाविपरीत रङ नदल्न, लोला हान्ने काम नगर्न, छाला तथा आँखामा असर पर्ने केमिकल रङको प्रयोग नगर्न, मादक पदार्थ एवं लागुपदार्थ सेवन गरेर सवारी नचलाउन, ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्न र कुनै आपराधिक घटना हुन लागेको थाहा पाएमा तुरुन्त प्रहरीको हटलाइन १०० नम्बरमा सम्पर्क गर्न उनले अनुरोध गरे ।

  • आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    काठमाडौँ, १९ फागुनः प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न आग्रह गरेको छ । काउन्सिसले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम नगर्न नगराउनेसम्बन्धी निर्वाचन आचारसंहिताको प्रावधान स्मरण गराएको हो । मौन अवधिमा आचारसंहिता उल्लङ्घन भएमा पत्रकार आचारसंहिता, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ को व्यवस्थाबमोजिम तत्कालै कारबाही प्रक्रिया अवलम्बन गरिने काउन्सिलले उल्लेख गरेको छ ।

    आचारसंहिता उल्लङ्घनका विषयलाई सञ्चारमाध्यमको मूल्याङ्कन, वर्गीकरण एवं लोककल्याणकारीसहितका अन्य विज्ञापनको भुक्तानीका लागि समेत आधारका रूपमा अभिलेखीकरण गरिने काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले जानकारी दिए । निर्वाचनको मौन अवधिमा आचारसंहिता पालनामा थप संवेदनशील, सजग एवं सचेत रहन सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा काउन्सिलले आग्रह गरेको छ ।

  • गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    रासस
    गण्डकी, १९ फागुनः आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन गण्डकी प्रदेशका ११ वटै जिल्लामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । प्रदेश निर्वाचन सुरक्षा कमाण्ड पोष्टका संयोजक एवं गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले निर्वाचन लक्षित सुरक्षा तयारी पूरा भएको बताए । “शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ”, उनले भने, “निर्धक्क भएर मतदानमा सहभागी हुन सबै मतदाताहरूमा आह्वान गर्दछौँ ।” सोमबार सबै मतदानस्थलमा सुरक्षाकर्मी पुगिसकेको उनले बताए ।


    मतदानको दिन नजिकिँदै गर्दा सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन सुरक्षा निकाय लागिपरेको संयोजक घिमिरेले बताए । एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ ।

    जिल्ला कमाण्ड पोष्टसँगको समन्वयमा मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी सुरक्षा विश्लेषणसहित आवश्यक रणनीति तयार गरिएको उनले बताए । “गण्डकी प्रदेशमा ठूलो सुरक्षा चुनौती छैन, सुरक्षा विश्लेषण र निगरानीको काम नियमित भइरहेको छ”, संयोजक घिमिरे भने, “सोमबारदेखि मतदानस्थल केन्द्रित सुरक्षा तयारी सुरु भएको छ ।”

    गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले सोमबार सबै मतदानस्थलमा प्रहरीको सुरक्षा टोली परिचालन भएका जानकारी दिए । एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत प्रदेशभर सात हजारभन्दा बढी नेपाल प्रहरी परिचालित भएको उनले बताए । “मतदानस्थलमा गर्नुपर्ने सुरक्षाको पूर्वतयारीमा नेपाल प्रहरी जुटेको छ, निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातवारणमा सम्पन्न गराउन नेपाल प्रहरी तयार छ”, प्रवउ कार्कीले भने । उनले निर्वाचनका बेला शङ्कास्पद गतिविधि गर्ने व्यक्ति र समूहलाई निगरानीमा राखिएको बताए । सुरक्षा व्यवस्था चुस्त पारिएकाले निर्वाचन शान्तिपूर्ण र भयरहित हुनेमा कुनै आशङ्का गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

    कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले मतदानस्थलको अनुगमन र सुरक्षा विश्लेषणका आधारमा सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याइएको बताए । नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति निर्वाचनको सुरक्षामा खटिएको उनको भनाइ छ ।

    नेपाली सेना र सशत्र प्रहरी बलले प्रदेशका हरेक निर्वाचन क्षेत्रमा सुरक्षा बेस स्थापना गरी सुरक्षा निगरानी बढाएको छ । प्रदेशभर एक महिनाअघि नै निर्वाचन केन्द्रित सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको थियो । निर्वाचन सुरक्षालाई दृष्टिगत गरी सुरक्षा निकायले नियमित गस्ती र सुरक्षा निगरानी बढाइरहेका छन् ।

    एकीकृत निर्वाचन सुरक्षा योजनाबमोजिम नेपाल प्रहरी मतदानस्थलको भित्री घेराको सुरक्षामा खटिने जनाइएको छ । नेपाली प्रहरीसँगै निर्वाचन प्रहरी पनि पहिलो तहको सुरक्षा घेरामा परिचालित हुनेछ । दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र सुरक्षा घेराको बाहिरी तहबाट नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ । मतदानको दिन आउन दुई दिन बाँकी रहँदा प्रदेशभर निर्वाचन सुरक्षादेखि अन्य व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

    निर्वाचन सम्पन्न गर्न झण्डै २१ हजार कर्मचारी र स्वयंसेवक परिचालन गरिएको छ । अठार निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा ३० स्वतन्त्र उम्मेदवारसहित २३४ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेशभर कुल १८ लाख ७० हजार ६५ मतदाता, एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र रहेका छन् ।

  • निर्वाचनका लागि मौन अवधि सुरु, कसले केके गर्न पाइँदैन ?

    निर्वाचनका लागि मौन अवधि सुरु, कसले केके गर्न पाइँदैन ?

    काठमाडौँ, १९ फागुनः बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ः०० बजेसम्म प्रचारप्रसारको समय दिएको थियो ।

    मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्नेगरी कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ । मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्नेगरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ ।

    मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजीमात्रै नभई छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने आयोगले स्पष्ट पारेको छ । मौन अवधिले स्वच्छ र स्वतन्त्र वातावरणमा विवकेपूर्ण ढङ्गले मतदान गर्न मतदातालाई अवसर सृजना गर्ने अपेक्षा गरिएको छ । निर्वाचन व्यवस्थापन गर्ने निकायलाई सबै किसिमको बन्दोबस्त गरेर शान्ति, सुरक्षा र सुव्यवस्थासहित भयरहित वातावरणमा निर्वाचन गर्न मौन अवधि महत्त्वपूर्ण रहन्छ ।

    निर्वाचन प्रचारप्रसार अभियानका क्रममा मतदातालाई विभिन्न किसिमका तनाव, दबाब र आश्वासन निरन्तर प्राप्त भइरहने अवस्थामा सबैको कुरालाई मन्थन गरेर उपयुक्त व्यक्तिलाई मतदान गर्नका निम्ति ‘फ्रेस’ भएर जानसक्ने अवस्था सृजना गर्न मौन अवधिको परिकल्पना गरिएको हो । आआफ्नो दृष्टिकोण, योजना र कार्यक्रम लिएर मतदातासम्म पुगेका उम्मेदवार र राजनीतिक दललाई आफ्नो प्रचारप्रसारको ठण्डा दिमागले समीक्षा गरेर आनन्दले मतदान गर्न जाने र मतपरिणाम कुर्ने समयका रूपमा लिइने गरिएको छ ।

    मौन अवधिको समय निर्वाचन व्यवस्थापकीय हिसाबले पनि अत्यन्त महत्त्वपूर्ण हुनेछ । मौन अवधिले निर्वाचन गराउने जनशक्ति र सुरक्षा फौजलाई सबैखाले कामबाट मुक्त गरेर शान्तपूर्ण वातावरणमा निर्वाचनको व्यवस्थापन गर्ने अवसर प्रदान गर्छ । यस अवधिमा मतदान केन्द्र बनाउने, मतदाता लाइनको व्यवस्थापन गर्ने, शान्ति सुरक्षाको अवस्था मूल्याङ्कन गर्ने गरिन्छ । विश्वका कतिपय मुलुकमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्न चलन छ । भयरहित वातावरणमा प्रभावकारी ढङ्गले निर्वाचन सम्पन्न गर्ने र मतदातालाई सुसूचित भई सचेततापूर्वक खुला दिमागले ‘योग्य र रोजेको’ उम्मेदवारलाई मतदान गर्नका निम्ति निर्णयमा पुग्न प्रदान गरिएको समयका रूपमा मौन अवधिलाई लिइन्छ ।

    उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले मौन अवधिमा विशेष आचारण पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

    सो अवधिमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।

  • चुनावमा पनि इन्धन नियमित : आयल निगम

    चुनावमा पनि इन्धन नियमित : आयल निगम

    काठमाडौँ, १९ फागुनः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिए । उनले सोमबार एक सूचनामार्फत भन्नुभएको छ, “पेट्रोलियम पदार्थको आयात पाइप लाइनमार्फत नियमित रूपमा भइरहेको र आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहनेछ ।”

    उनले पेट्रोलियम पदार्थको अनावश्यक रूपमा जेरी क्यान, ड्रममा स्टोर गर्दा हुनसक्ने सम्भावित आगजन्य दुर्घटनाको जोखिमलाई मध्यनजर गरी जेरी क्यान, ड्रममा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको पनि जानकारी गराए । सम्भावित आगजनीजन्य दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गरी सहयोग गर्न पनि नियमले सम्पूर्ण उपभोक्ता वर्गमा अनुरोध गरेको छ ।

  • सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा

    सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा

    सुदूरपश्चिम, १९ फागुनः यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका जिल्लामा तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सोमबारदेखि सबै मतदानस्थलमा खटाइएको बताए ।

    उनका अनुसार मतदानस्थलमा पुगेका मतदान अधिकृतको टोलीले सोमबार निर्वाचनसम्बन्धी सूचना टाँस गरेको छ । प्रदेशका नौ जिल्लाका प्रतिनिधिसभाका १६ वटा निर्वाचन क्षेत्रमा १७ लाख १६ हजार ६६० मतदाता रहेका भट्टले जानकारी दिए । उनका अनुसार प्रदेशभरि एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

    कञ्चनपुरमा निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा निर्वाचन सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रमा पुगेका छन् । जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा खटिएका कर्मचारीले निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र, मतपेटिका, छाप, मतदाता नामावलीलगायत आवश्यक सामग्री बुझेर आआफ्नो मतदान केन्द्रमा पुगेका हुन् ।

    मतदान केन्द्रमा पुगेपछि कर्मचारीहरूले केन्द्र व्यवस्थापन, मतदानकक्ष तयारी, मतदाता सहायता डेस्क स्थापना तथा सुरक्षा समन्वयको कार्य अघि बढाएका छन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरिशचन्द्र जोशीका अनुसार सबै मतदान केन्द्रमा आवश्यक सामग्री सुरक्षित रूपमा पुर्याइएको छ भने मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित बनाउन आवश्यक तयारी पूरा भएको छ । निर्वाचन लक्षित सुरक्षा योजनाअनुरूप नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी मतदान केन्द्रमा खटिएका छन् भने संयुक्त तथा एकल गस्तीसमेत सञ्चालनमा ल्याइएको छ ।

  • निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    काठमाडौँ, १९ फागुनः निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरकफरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।

    निर्वाचन आचारसंहितामा समावेश भएका व्यवस्थाअनुसार आजदेखि फागुन २१ गतेसम्म आचारसंहिताले तोकेका सबै पक्षले पालना गर्नुपर्ने आचरणको प्रभावकारी परिपालनाको अनुगमन गर्न आयोगले निर्देश गरेको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणका सम्बन्धमा आयोगले स्मरण गराएको छ । मतदानको दिन पालना गर्नुपर्ने आचरण परिपालनाको सम्बन्धमा अनुगमन गरी उक्त व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाउन आफ्नो जिल्लाभित्र सुक्ष्म अनुगमन गर्न निर्देश गरिएको छ ।

    निर्वाचन आचारसंहिता तथा निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ विपरीतका कार्य गरेको पाइएमा सोही ऐनको अधिनमा रही जिल्ला आचारसंहिता अनुगमन समितिसमेतको सहकार्यमा प्रभावकारी कार्यान्वयन गर्न गराउन निर्देशन गरिएको छ । सोहीबमोजिम प्रचारप्रसार निषेध अवधिमा प्रचलित कानुन र निर्वाचन आचारसंहिताबमोजिम गर्न नहुने भनी तोकिएका कार्यहरू नगर्न र गराउनुहुन आयोग हार्दिक अनुरोध गरेको छ ।

  • दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

    दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

    प्रतीक्षा आले–रासस
    गोरखा, १९ फागुन । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस चामबहादुर र पवित्राको एकमात्र छोरा हुन् । दिवस गत वर्षको दशैँमा घर आएका थिए ।

    गाउँकै सरस्वती माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण श्रेष्ठले काठमाडौँबाट ‘ओभरसियर’को अध्ययन पूरा गरेका थिए । देशमै रोजगारी नपाएपछि विदेशिनुभएका उहाँले आगामी दशैँमा भने घर फर्केर विवाह गर्ने योजना सुनाएका थिए । श्रेष्ठ दम्पतीको पनि बुहारी भित्र्याउने सपना थियो । तर त्यो सपना सदाका लागि अधुरो मात्रै भएन छोरानै गुमाएपछि अहिले निशब्द छन् उनीहरु ।

    अघिल्लो दिन अर्थात् शनिबार साँझसम्म ‘भिडियो कल’ मा कुराकानी गरेको छोरा भोलिपल्टै सदाका लागि अस्ताउँलान् भन्ने बुबाआमालाई थाहा हुने कुरै भएन । तर आइतबार संयुक्त अरब इमिरेट्समा इरानको ड्रोन आक्रमणमा परी श्रेष्ठको निधन भयो । मृतक दिवसका काका प्रदीप श्रेष्ठका अनुसार दिवस मिडल इस्ट कम्पनीमार्फत सेक्युरिटी गार्डका रुपमा दुबई पुगेका थिए । “अस्तिको दिन बेलुकीमात्र घरपरिवारसँग भिडियोमा कुराकानी भएको रहेछ । त्यहाँको अवस्था सामान्य भए पनि आकाशमा मिसाइल पड्किरहेको छ भनेर बुबालाई भनेको थियो रे”, काका प्रदीपले भने, “त्यसपछि फोन सम्पर्क नभएको रहेछ । उसका साथीभाइसँग बुझ्दा भागदौड भएर मोबाइल हराएको र खुट्टामा चोट लागेको भन्ने खबर पाएका रहेछन् ।”

    युएईस्थित नेपाली दूतावासबाट आज मात्रै छोराको मृत्यु भएको खबर औपचारिक रुपमा उनीहरुले प्राप्त गरे । दिवसको मृत्युको खबरले अहिले ठाँटी गाउँ शोकमा डुबेको छ । प्रदीप भन्नुहुन्छ, “गाउँको युवा, सबैसँग मिल्ने, अत्यन्त इमान्दार, मिजासिलो थियो । उसको आमाबुबाको कोखै रित्तियो ।” हाल गाउँमा बुबा चामबहादुर र दिवसका हजुरआमा छन् । आमा पवित्रा भने छोरी भेट्न काठमाडौँ गएको बोर्लाङका वडाध्यक्ष नारायण श्रेष्ठले बताए । “घरमा बेहाल छ । आमा र दिदी पनि यतै आउने कि बाबुको शव लिएर आउने भन्ने सल्लाह हुँदैछ । उताबाट शव कहिले आउँछ त्यसको पनि ठेगान छैन”, उनले भने ।

    अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार एक सूचना जारी गर्दै अबुधाबीस्थित जायद अन्तरराष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको पुष्टि गरिसकेको छ । उनको मृत्युबारे युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको राजदूतावासले जनाएको छ ।

  • होलीमा गुञ्जिरहेका छन् पुरानै गीत

    होलीमा गुञ्जिरहेका छन् पुरानै गीत

    रासस
    काठमाडौँ, १८ फागुनः फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होली पर्व मनाइने गरिएको आम विश्वास छ ।

    यो पर्वमा गीत–सङ्गीतको आफ्नै महत्व छ । ख्याली, टप्पा, जोगिरा र वसन्त राग गाउँदै अबिर लगाएर शुभकामना आदानप्रदान गरिने भएता पनि नेपाली चलचित्रका केही कालजयी गीत छन्, जसले होली आएको आभाष दिलाउने गरेका छन् । ती गीतहरू गाउँ होस् या सहर उत्तिकै गुञ्जिन रहेका छन् । चाडपर्व जतिसुकै आधुनिक परम्पाराले मनाएता पनि पुरानै गीत गुञ्जिने गरेको पाइन्छ ।

    होली रङको मात्रै पर्व होइन, यो सङ्गीतको पर्व पनि हो । होलीमा रङ जस्तै गीतसङ्गीतको स्थान पनि महत्वपूर्ण छ । त्यसो त हाम्रा हरेक पर्वमा गीतसङ्गीतको विशेष स्थान छ । तीज, दसैँ, तिहारलगायतका पर्वमा जस्तै होलीमा पनि सङ्गीतको विशेष महत्व छ । सङ्गीतविना हाम्रा पर्व अधुरा छन् । हरेक होलीमा धेरै प्राथमिकता पर्ने गीत हो ‘होलीले रङ्गायो मेरो चोली’ ।

    सन् १९९३ मा निर्माण भएको चलचित्र ‘अधिकार’ मा समावेश उक्त गीतले पर्व आएको आभाष दिलाउने गर्छ । आज आयोजना हुने कार्यक्रममा यो गीत नगुञ्जिने सम्भावना न्यून हुन्छ । अभिनेता राजेश हमाल, मिथिला शर्मा, कृष्टी मैनाली, प्रकाश थापा, राजाराम पौडेल, बसुन्धरा भुसाल, नीर शाहलगायतका कलाकारले नृत्य गर्नुभएको गीत अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छ ।

    चलचित्र ‘वसन्ती’ एक ऐतिहासिक विषयमा निर्माण भएको चलचित्रका रूपमा चिनिएता पनि यसमा समावेश ‘फागु हो फागु हो’ बोलको गीत होलीमा धेरै गुन्जिने गीतमा पर्छ । राणाकालीन समयमा दरबारभित्र होलीलाई कसरी मनाइन्थ्यो भन्ने कुरा उक्त गीतमा देखाएको छ । गीतमा राजेश हमाल, करिश्मा मानन्धर, निरुता सिंहलगायतका कलाकार देख्न सकिन्छ ।

    नेपालका प्रख्यात उपन्यासकार डायमण्डशमशेर राणाले लेख्नुभएको उपन्यास ‘वसन्ती’ मा आधारित रहेर निर्माण भएको उक्त चलचित्र नीर शाहले निर्देशन गरेका थिए । नीर शाहकै शब्द रहेको गीतमा शम्भुजित बाँस्कोटाको सङ्गीत र ज्ञानु राणा तथा लोचन भट्टराईको स्वर छ । नेपाली चलचित्र ‘सीता’ मा समावेश गीत ‘आज जनकपुरमे होली है’ अझै पनि उत्तिकै लोकप्रिय छ । अभिनेता श्रीकृष्ण श्रेष्ठ, सारङ्गा श्रेष्ठ, राजाराम पौडेल, किरण केसी अभिनित उक्त चलचित्रको प्रदर्शन विसं २०५१ सालमा भएको थियो । उक्त गीतमा जनकपुर क्षेत्रमा कसरी होली मनाइन्छ भन्ने कुरा देखाइएको छ ।

    यस्तै, चलचित्र ‘बटरफ्लाई’मा समावेश ‘होली रे’, चलचित्र ‘फागु’मा समावेश ‘आऊ न आऊ खेलौँ होली’, चलचित्र ‘गाजलु’मा समावेश ‘रङ रङ्गा’ होलीमा आज गुञ्जिरहेका छन् । निर्देशक पुर्णेन्द्र झा निर्देशित चलचित्र ‘संरक्षण’ मा समावेश ‘होरीमे गोरी’ बोलको होली गीत तराई क्षेत्रमा होलीको समय धेरै बज्ने गीतमध्येको एक हो । भोजपुरीमा शब्द रहेको यो गीत छायाङ्कन गर्न होलीको आयोजना नै गरिएको निर्देशक झाले बताए ।


    “तराईको कथावस्तुमा निर्मित चलचित्र भएकाले हामीले होलीको सन्दर्भ पारेर गीत तयार गरेका थियौँ । अन्य समयमा गीतको खासै चर्चा नभएता पनि होलीमा भने यो धेरै सुनिने गीतमा पर्छ । हामीले यसमा मिथिला क्षेत्रमा मनाइने होलीलाई देखाएका छौँ । अन्य सामान्य गीत भन्दा केही खर्चिलो भएता पनि यो गीतले संस्कृति महत्व बोकेको छ”, निर्देशक झाले भने ।


    होली बाहेकको समयमा छायाङ्कन गरिएकाले उक्त अवधिभर होलीको माहोल सिर्जना गरिएको उनले बताए । होली पर्वलाई लक्षित गर्दै नयाँ गीत नबनेका होइनन् तर पुरानै गीतमा आकर्षण रहिरहेका सङ्गीतकार अर्जुन पोखरेलले स्वाभाविक रूपमा लिएका छन् । उनले पुराना गीतमा चाडपर्वको प्रसङ्ग र सोही वातावरणमा गीतसङ्गीतको दृश्याङ्कन गरिएकाले ती गीत कालजयी हुन् सफल भएको बताए ।

    “हामीले उल्लेख गरिरहेको गीतहरू चलचित्रमै प्रसङ्गसहित आएका थिएँ । त्यही भएर दर्शकको रोजाइमा पर्न सफल भए । चलचित्रमा भएका गीतसङ्गीतले गीतिसङग्रहको तुलनामा बढी प्रचार पाउँछन्, सोही कारण पनि अहिले उक्त गीतहरू हामीले सुन्छौँ र उत्तिकै मन पर्छ”, सङ्गीतकार पोखरेलले भने ।


    सङ्गीतकार पोखरेल झैँ गायक कर्णराज गिरी पनि पुरानै गीतमा नाचगान गर्दै होली मनाउनु हुन्छ । नयाँ गीत आइरहेता पनि उनलाई स्मरण छैन । “म कार्यक्रममा होस् या मेला, महोत्सवमा होलीको सन्दर्भमा पुरानै लोकप्रिय गीत गाउने गरेको छु । उक्त गीतको बारेमा सबैलाई थाहा भएकाले त्यसमा सबैले रमाइलो गर्नुहुन्छ”, गायक गिरीले भने । आज पहाडी भेगमा होली पर्व मनाइए पनि तराईमा भने भोलि मनाइने छ ।

  • सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, एक गम्भीर घाइते

    सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, एक गम्भीर घाइते

    सिरहा, १८ फागुन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका–८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन राय रहेका छन् ।

    गोलबजारबाट पूर्वतर्फ जाँदै गरेको स५प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु२ख १०८५ नम्बरको बस ठोक्किँदा गम्भीर घाइते भएका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुधन केसीले जानकारी दिए । दुर्घटनामा परी १७ वर्षीय धिरज मण्डल सख्त घाइते भएका छन् ।

    प्रहरीको अनुसार मृतक र घाइते तीनै जना एउटै मोटरसाइकलमा सवार थिए । घाइते मण्डलको हाल विराटनगरमा उपचार भइरहेको छ भने मृतकहरूको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • सबै मतदातालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान

    सबै मतदातालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान

    काठमाडौँ, १८ फागुनः प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदातालाई प्रतिनिधिसभा निर्वाचनमा सरिक आह्वान गरेकी छिन् । प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर निर्णय लिन आह्वान गरेकी छिन् । प्रधानमन्त्रीले भनेकी छिन्, “भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन, यो त तपाईंले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो ।”

    यही फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दै भनेकी छिन्, “निर्वाचनको सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु, शान्ति नै नेपालको असली पहिचान हो ।” प्रधानमन्त्री कार्कीले एउटा विशेष घडीमा आफूले मनका केही कुरा राख्न चाहेको उल्लेख गर्दै देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको र यही फागुन २१ गतेका दिन आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्ने बताएकी छिन् ।


    “इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई मैले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएकी छु,” प्रधानमन्त्री कार्कीले भनिन्, “मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ। अब केही दिनमा यो देशको बागडोर तपाईंहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ, आउनुहोस्, होलीको खुसी साटौँ, फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔँ ।”

    प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको त्यो परिस्थिति जटिल, संवेदनशील र चुनौतीपूर्ण थियो । सडकमा युवाको आक्रोश, डर भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भनेकी छिन्, “त्यो कठिन सङ्क्रमणलाई व्यवस्थापन गर्दै, हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डो¥याउनु र संविधानको बाटोमा फर्काउनु हाम्रो पहिलो कर्तव्य थियो ।” प्रधानमन्त्री कार्कीले चुनावी मैदानमा रहनुभएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवारीका लागि धन्यवाद दिँदै भनेकी छिन्, “तपाईंहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो, चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनु हुँदैन ।”

    मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र त्यसअघिको बाँकी समयमा संयमित ढङ्गले, एक–अर्कालाई सम्मान गर्दै उहाँले निर्वाचन प्रचार–प्रसार गर्न म सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई आग्रह गरेकी छिन् । “यस महान् कार्यमा खटिनुभएका निर्वाचन आयोग, सुरक्षा निकायका साथीहरू र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई म विशेष धन्यवाद दिन चाहन्छु,” प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा भनेकी छिन्, “तपाईंहरूको निष्पक्षता र मेहनतले नै यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनेछ ।”

    प्रधानमन्त्री कार्कीले सांस्कृतिक पर्व होली अर्थात् फागु पूर्णिका अवसरमा रङहरूको यो उत्सव र निर्वाचनको यो तयारी दुवै हाम्रा लागि उत्तिकै अर्थपूर्ण रहेको बताएकी छिन् । “आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन सङ्क्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ । विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएका छौँ,” प्रधानमन्त्रीले कार्कीले भनेकी छिन्, “यो उपलब्धि तपाईं–हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो ।”

    प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले छोटो र कठिन समयमा कार्यतालिका बमोजिम सबै तयारी पूरा गरेको उल्लेख गर्दै निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध रहेको बताएकी छिन् । “प्रदेश र स्थानीय सरकारले आफ्नो सीमाभित्र रही निर्वाचन तयारीमा महत्वपूर्ण सहयोग पुर्‍याएका छन्, नेपाल सरकारका चारवटै सुरक्षा संयन्त्रले निर्वाचन सुरक्षामा कुनै कमी हुन नदिन आफ्ना सबै स्रोत–साधन परिचालन गरेका छन्,” प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा भनेकी छिन्, “राष्ट्रपतिले गर्नुभएको अभिभावकीय सहयोगप्रति व्यक्तिगत रूपमा म र वर्तमान सरकार हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ ।”

    छोटो समयमा नेपालले निर्वाचन व्यवस्थापन गर्न सकेकामा मित्रराष्ट्रहरू तथा अन्तरराष्ट्रिय संस्थाहरूबाट पनि उत्साहजनक साथ र प्रतिक्रिया प्राप्त गरेको र निर्वाचन व्यवस्थापनमा वस्तुगत, नगद तथा प्राविधिक सहयोग प्रदान गर्ने मित्रराष्ट्रहरूलाई सबैलाई प्रधानमन्त्री कार्कीले धन्यवाद दिन दिएकी छिन् ।
    साथै, उनले संयुक्त राष्ट्र सङ्घीय निकायहरूबाट प्राप्त सहयोगका लागि पनि आभारी व्यक्त गरेकी छिन् ।

    “सामाजिक सञ्जाल र आमसञ्चारका केही माध्यमबाट तथ्यहीन र कृत्रिम सामग्री तथा भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई सरकारले निगरानीमा राखी कानुनको दायरामा ल्याइरहेको पनि तपाईंहरूलाई जानकारी गराउँदछु,” प्रधानमन्त्री कार्कीले आफ्नो अपिलमा भनेकी छिन्, “साथै त्यस्ता भ्रममा नपर्न, त्यस्ता तत्त्वको पछि नलाग्न र मुलुकसामु आएको ऐतिहासिक दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्न म सबै देशवासीलाई विनम्र आग्रह गर्दछु ।”

    प्रधानमन्त्री कार्कीले मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम सरकारबाट नहुने उल्लेख गर्दै कानुनबमोजिम गर्नुपर्ने जुनसुकै तहको कारबाहीमा सरकार पछि नहट्ने बताएकी छिन् । “यो रङहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिन्छ । हाम्रो समाजमा रहेको विविधतालाई मजबुत बनाउँछ, निर्वाचनको रङ र होलीको रङ मिलेर देशमा नयाँ उत्साह छाओस्,” उनले भने, “तर, म आग्रह गर्छु– होली मनाउँदा संयम अपनाऔँ, कसैको इच्छाविपरीत रङ नलगाइदिऊँ ।”

    प्रधानमन्त्री कार्कीले मध्यपूर्वी क्षेत्रमा युद्धको सङ्कट गहिरिएको उल्लेख गर्दै इरान र वरपरको तनावले चिन्तित बनाएको उल्लेख गर्र्दै विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको र त्यहाँ रहेका नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय बताइन् । उनले भनेकी छिन्, “त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगलाई सुरक्षासहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको छ, परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ, हामी हरदम तपाईंहरूको साथमा छौँ, नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ ।”

  • मध्यरातबाट सुरु हुने ‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

    मध्यरातबाट सुरु हुने ‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

    रासस
    काठमाडौँ, १६ फागुनः आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ । मतदान हुनु ४८ घण्टाअघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन । मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ ।

    मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजी मात्रै नभई छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने आयोगले स्पष्ट पारेको छ । मौन अवधिले स्वच्छ र स्वतन्त्र वातावरणमा विवकेपूर्ण ढङ्गले मतदान गर्न मतदातालाई अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । निर्वाचन व्यवस्थापन गर्ने निकायलाई सबै किसिमको बन्दोबस्त गरेर शान्ति, सुरक्षा र सुव्यवस्थासहित भयसहित वातावरणमा निर्वाचन गर्न मौन अवधि महत्वपूर्ण रहन्छ ।

    निर्वाचन प्रचारप्रसार अभियान क्रममा मतदातालाई विभिन्न किसिमका तनाव, दबाब र आश्वासन निरन्तर प्राप्त भइरहने अवस्थामा सबैको कुरालाई मन्थन गरेर उपयुक्त व्यक्तिलाई मतदान गर्नका निम्ति ‘फ्रेस’ भएर जानसक्ने अवस्था सिर्जना गर्न मौन अवधिको परिकल्पना गरिएको हो । आ–आफ्नो दृष्टिकोण, योजना र कार्यक्रम लिएर मतदातासम्म पुगेका उम्मेदवार र राजनीतिक दललाई आफ्नो प्रचारप्रसारको ठण्डा दिमागले समीक्षा गरेर आनन्दले मतदान गर्न जाने र मतपरिणाम कुर्ने समयका रूपमा लिइने गरिएको छ ।

    मौन अवधिको समय निर्वाचन व्यवस्थापकीय हिसाबले पनि अत्यन्त महत्वपूर्ण हुनेछ । मौन अवधिले निर्वाचन गराउने जनशक्ति र सुरक्षा फौजलाई सबैखाले कामबाट मुक्त गरेर शान्तपूर्ण वातावरणमा निर्वाचनको व्यवस्थापन गर्ने अवसर प्रदान गर्छ । यस अवधिमा मतदान केन्द्र बनाउने, मतदाता लाइनको व्यवस्थापन गर्ने, शान्तिसुरक्षाको अवस्था मूल्याङ्कन गर्ने गरिन्छ । विश्वका कतिपय मुलुकमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्न चलन छ ।

    भयरहित वातावरणमा प्रभावकारी ढङ्गले निर्वाचन सम्पन्न गर्ने र मतदातालाई सुसूचित भई सचेततापूर्वक खुला दिमागले ‘योग्य र रोजेको’ उम्मेदवारलाई मतदान गर्नका निम्ति निर्णयमा पुग्न प्रदान गरिएको समयका रूपमा मौन अवधिलाई लिइने पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बताउँछन् । उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले मौन अवधिमा विशेष आचारण पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

    सो अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन । आउँदो बिहीबार हुने निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

    त्यस्तै सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ । यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजचार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यस्तै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ ।

    निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । १४३ अस्थायी मतदानस्थल तय गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन् । निर्वाचन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कूल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरिसकेको छ । यसपटकको निर्वाचनमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन् ।

  • राष्ट्रपतिबाट राष्ट्रका नाममा सम्बोधनः निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता

    राष्ट्रपतिबाट राष्ट्रका नाममा सम्बोधनः निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता

    रासस
    काठमाडौँ, १८ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्दै नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता भएको उल्लेख गरे ।

    राष्ट्रपति पौडेलले भने, “निर्वाचन हाम्रो राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रूपमा हुन गइरहेको छ । यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर हो । त्यसैले यो निर्वाचनलाई सफल बनाउनु हाम्रो साझा काम र ऐतिहासिक दायित्व हो ।”

    उनले निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई अझ विश्वस्त र परिपक्व बनाउने विश्वास व्यक्त गरे । “देशले विगतका केही वर्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । लामो सङ्घर्ष र त्यागपछि हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौँ । सबैलाई थाहा छ, आज नयाँ संविधानमार्फत समावेशी राज्य संरचना सुनिश्चित भएको छ”, राष्ट्रपति पौडेलले भने, “यस निर्वाचनले निरङ्कुशताविरुद्ध लामो सङ्घर्ष र बलिदान गरेको अघिल्ला पुस्ता र त्यसमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सपना, नवयुवाहरूको सुशासनको माग, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा पूरा गर्नेछ ।”

    सङ्घीय शासन प्रणालीलाई संस्थागत गर्दै प्रदेश र स्थानीय तहसम्म अधिकार प्रत्यायोजन गरिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्दै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, दलित, महिला तथा विपन्न समुदायको अधिकारलाई मजबुत बनाउने प्रयास सुरु भएको बताए । “पछिल्लो दशकमा शिक्षा, स्वास्थ्य, सडक, ऊर्जा र सञ्चार पूर्वाधारमा उल्लेख्य प्रगतिका साथ देश अगाडि बढिरहेको छ । यी उपलब्धि सहजै प्राप्त भएका होइनन्, यी जनताको बलिदान र अटुट विश्वासका साथै उनीहरूको सक्रिय सहभागिताको परिणाम हुन्”, सम्बोधनमा उनलले भने ।


    सुशासन, सामाजिक न्याय, उत्तरदायी शासन र सेवा प्रवाहका क्षेत्रमा अझ धेरै काम गनुपर्ने आश्यकता औँल्याउँदै राष्ट्रपति पौडेलले आगामी निर्वाचनले त्यही भावधारालाई संस्थागत गर्दै लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारमाध्यम र सम्बन्धित निकायलाई निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पूर्ण प्रतिबद्ध रहन आग्रह गरेका छन् ।

    राष्ट्रपति पौडेलले मतभिन्नता स्वाभाविक भए पनि सहिष्णुता, मर्यादा र विधिको शासनप्रति सम्मान हाम्रो साझा मूल्य हुनुपर्नेमा जोड दिए । उनले भने, “आउनुहोस्, हामी सबै मिलेर लोकतन्त्रको रक्षा, सामाजिक न्यायको प्रवर्द्धन र विकासको यात्रालाई अझ सुदृढ बनाउने सङ्कल्पका साथ यस ऐतिहासिक निर्वाचनमा सहभागी बनौँ ।”

  • इरानको आक्रमणबाट मारिएका नेपाली गोरखा बोर्लाङका दिवस श्रेष्ठ रहेको पुष्टी

    इरानको आक्रमणबाट मारिएका नेपाली गोरखा बोर्लाङका दिवस श्रेष्ठ रहेको पुष्टी

    गोरखा, १८ फागुन । संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु भएको हो । उनी मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेको बताइएको छ । अबुधाविस्थित जायद अन्तरराष्ट्रिय विमानस्थलामा ड्रोन निष्क्रिय पार्ने क्रममा उनको निधन भएको खुलाइएको छ । राजदूतावासले मृतक श्रेष्ठको पार्थिव शरीर स्वदेश फर्काउन सहजीकरण गर्ने बताएको छ ।

  • युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त

    युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त

    काठमाडौँ, १८ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पछिल्लो आक्रमणमा परी एक नेपाली श्रमिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले आज शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । सभापति थापाले उक्त क्षेत्रमा रहेका सम्पूर्ण नेपालीलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन् ।

    सभापति थापाले द्वन्द्वग्रस्त र असुरक्षित क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि आवश्यक सतर्कता र समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कूटनीतिक पहललाई थप तीव्र, प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्दै विदेशमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर तत्काल पहल गर्न सरकारसँग माग गरेका छन् ।

    सभापति थापाले जनसम्पर्क समिति, गैरआवासीय नेपाली सङ्घ तथा समग्र नेपाली समुदायलाई अप्ठ्यारोमा परेका नेपाली नागरिकको पहिचान, सहयोग र आवश्यक समन्वयका लागि सक्रिय भूमिका निर्वाह गर्न अनुरोधसमेत गरेका छन् ।

  • रामेछापमा निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

    रामेछापमा निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

    मन्थली (रामेछाप), १८ फागुनः रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको गाडी दुर्घटना भएको छ । जिल्लाको साघुटारमा ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको र छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोला भट्टले जानकारी दिए । प्रहरी र स्थानीयद्वारा उद्धार कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।

  • दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

    दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

    काठमाडौँ, १८ फागुनः विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारसम्बन्धी सामग्री आज मध्यरातिदेखि हटाउन सञ्चारमाध्यमलाई अनुरोध गरेको छ । बोर्डले आज सूचना जारी गर्दै अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा राखिएका मतदाता शिक्षासम्बन्धी निर्वाचन आयोग नेपाल र विज्ञापन बोर्डले प्रदान गरेका विज्ञापनबाहेकका अन्य विज्ञापन राति १२ः०० बजेदेखि हटाउन आग्रह गरेको हो ।

    बोर्डले पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम, तथा सामाजिक सञ्जालमा दल तथा उम्मेदवारको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न पनि अनुरोध गरेको छ । निर्वाचन आचारसंहिताविपरीत दल तथा उम्मेदवारको प्रचारप्रसार गरिएको पाइएमा कानुनबमोजिम कारबाही हुने बोर्डले जनाएको छ ।


    बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डेद्वारा जारी सूचनामा भनिएको छ, “मौनअवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन नहुने भएकाले त्यस्ता सामग्री प्रकाशन तथा प्रसारण नगर्न नगराउन अनुरोध गरिन्छ ।”

  • आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध

    आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध

    पाटन (ललितपुर), १८ फागुनः नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले आम मतदातालाई निर्वाचनमा सहभागी हुन अनुरोध गरेका छन् । उनले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सबै राजनीतिक दलको सहयोग अपरिहार्य हुने बताएका छन् । आज अपराह्न पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले त्यस निम्ति सरकार र निर्वाचन आयोग पनि जिम्मेवार हुनुपर्नेमा जोड दिए । “निर्वाचन आयोग र सरकारलाई सहजरूपमा मतदान गर्न पाउने वातावरण बनाउन आग्रह छ, आवेगमा मतदान नगर्न मतदातामा पनि विनम्र अनुरोध छ ।”

    नवयुवाको परिवर्तनको चाहनालाई मूर्तरुप दिन सबै तहबाट प्राप्त समर्थनले ‘बदलिएको कांग्रेस, बदल्छौँ देश’ नारा सफल भएको उनले बताए । नेपाली कांग्रेसको प्रतिबद्धताले नागरिक तहमा पलाएको विश्वास र प्राप्त समर्थनले ‘यो देश हामी बनाउन सक्छौँ, हामीले नै बनाउने हो’ भन्ने आधार सिर्जना गरेको बताए ।

    “लोकतन्त्रको अभिन्न अङ्ग सञ्चारमाध्यमले मौनअवधिमा भ्रम र प्रभाव चिर्न सक्रिय भूमिका निर्वाह गरोस् छ, साथै सामाजिक सञ्जालका प्रयोगकर्तालाई द्वेष नफैलाउन आग्रह छ”, उनले भने । खाडी मुलुकमा रहेका नेपालीहरूको सुरक्षाप्रति सरकारको ध्यानाकर्षण गराउँदै उहाँले त्यहाँस्थित नेपाली दूतावासहरू नेपाली जनताको हित र सुरक्षामा क्रियाशील रहन अनुरोध गरेका छन् ।

  • अमेरिका–इरान द्वन्द्वमा मध्यस्थता गर्न इन्डोनेसियाको प्रस्तावको इरानद्वारा स्वागत

    अमेरिका–इरान द्वन्द्वमा मध्यस्थता गर्न इन्डोनेसियाको प्रस्तावको इरानद्वारा स्वागत

    जकार्ता, १८ फागुन (रासस–एएफपी) । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि वासिङ्टन र तेहरानबीच मध्यस्थता गर्न इन्डोनेसियाको प्रस्तावको तेहरानले स्वागत गरेको जकार्तास्थित इरानी दूतावासले आइतबार जनाएको छ। इन्डोनेसियाको विदेश मन्त्रालयले शनिबार राष्ट्रपति प्रबोवो सुविआन्तो दुवै पक्षको सहमतिमा मध्यस्थता गर्न तेहरान जान इच्छुक रहेको बताएको छ । इरानी दूतावासले ‘यस द्वन्द्वमा मध्यस्थता गर्न गणतन्त्र इन्डोनेसियाका राष्ट्रपतिको तत्परता’ को स्वागत गर्दछ, इन्डोनेसियास्थित इरानी नियोगले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ।

    दूतावासले ‘संयुक्त राज्य अमेरिका र इजरायलको यहुदी शासनको आक्रामकता र अपराधको निन्दा गर्न इन्डोनेसियाली अधिकारीहरूको कडा अडान लिनुपर्ने महत्त्वमा पनि जोड दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या भएको यसअघि नै पुष्टि गरेका थिए ।

    संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानी लक्ष्यहरूमा हवाई आक्रमणको श्रृङ्खला सुरु गरेपछि इरानले पनि मध्यपूर्वमा रहेका उसका ‘विरोधी’को सैन्य शिविर र अन्य भौतिक संरचनामा आक्रमण गरिरहेको छ। इरानले अमेरिका र इजरायली आक्रमणको बदला लियो भने वासिङ्टनले इरानमाथि यसअघि कहिल्यै नदेखिएको शक्तिशाली प्रहार गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् ।