Category: फिचर

  • एमालेको जिल्ला अधिवेशन आज

    एमालेको जिल्ला अधिवेशन आज

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जिल्ला अधिवेशन आज हुने भएको छ । यसअघि विभिन्न कारणले स्थगित गरिएका बाहेकका जिल्लामा अधिवेशन हुन लागेको हो । अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट भर्चुअल रुपमा जिल्ला अधिवेशनको एकसाथ उदघाटन गर्ने भएका छन् । काठमाडौं जिल्ला अधिवेशनको उदघाटन समारोह मूलपानीस्थित क्रिकेट रंगशालामा आयोजना गरिएको छ । त्यहाँ एक लाख मानिस उतार्ने तयारी गरेको सार्वजनिक भएपछि कोरोना संक्रमण बढ्ने भन्दै आलोचना भएको छ ।

    एमालेले जिल्ला अधिवेशनका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्जहरू जिल्ला-जिल्लमा केही दिनदेखि नै खटिएका छन् । यसअघि नेकपा एमालेले पालिका अधिवेशन पनि एकसाथ सम्पन्न गरेको थियो । जिल्ला अधिवेशन सकिएलगत्तै प्रदेश अधिवेशनको तयारीमा जुट्ने एमालेले जनाएको छ । प्रदेश अधिवेशन माघ ८ गते तय गरिएको छ ।

  • ललिता निवास प्रकरणमा सिआईबीले सरकारी वकिलको कार्यालयलाई बुझायो प्रतिवेदन

    ललिता निवास प्रकरणमा सिआईबीले सरकारी वकिलको कार्यालयलाई बुझायो प्रतिवेदन

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणको किर्ते लिखतका सम्बन्धमा आफ्नो अनुसन्धान सम्पन्न गरी सरकारी वकिलको कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको छ । राससका अनुसार विगत दुई वर्षदेखिको अनुसन्धान सकेर बिहीबार छुट्टाछुट्टै चारवटा मुद्दाको प्रतिवेदन बुझाइएको हो । सिआइवीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले यस्तो जानकारी गराएका हुन् ।

    सरकारी लिखत किर्ते फैजदारी कसुर हुने भएकाले यसअघि सिआइवीले ३०० भन्दा बढीलाई अभियुक्त बनाएर अदालतबाट पक्राउ पुुर्जीको अनुमति लिइ अनुसन्धान थालेको थियो । सोही अनुसन्धान प्रतिवेदन बिहीबार बुझाइएको हा । उक्त जग्गा प्रकरणमा उच्च पदस्थ व्यक्तिको संलग्नता रहेको विभिन्न छानविन प्रतिवेदनले देखाएको छ ।

    सिआइवीको प्रतिवेदनमा कति जना आरोपित छन् र ती कोको हुन् भनेर खुलाइएको छैन । आधार, प्रणाण सरकारी वकिलको कार्यालयले हेर्ने र मागदावी पुग्ने, नपुग्ने प्रमाण हेरेर अभियोगपत्र दर्ता हुने बताईको छ । सरकारी वकिलले बिहीबार नै प्रतिवेदन दर्ता गरेर आवश्यक प्रक्रिया अघि बढेको जनाएको छ ।

    उक्त मुद्दाको हद म्याद दुई वर्षको हुन्छ । त्यसैले यही पुस २७ गते भित्रमा अदालतमा अभियोगपत्र दर्ता गर्नै पर्ने प्रावधान रहेको छ । हदम्याद नजिक आइसकेकाले प्रहरीले प्रतिवेदन बुझाइएको हो । सिआइवीले दुईवर्ष अघिदेखि उक्त घटनाको अनुसन्धान थालेको र चार वटा फरकफरक मुद्दा अघि बढाएको छ । त्यसअघि सिआइवीका प्रहरी उपरीक्षकको नेतृत्वमा गठित छानबिन समितिको आधारमा उसले अनुसन्धान थालेको हो । उक्त समितिले जग्गामा सरकारी लिखित किर्ते भएको निष्कर्षसहितको प्रतिवेदन दिएको थियो ।

    उक्त घटनामा जम्मा दुई जनालाई मात्रै पक्राउ गरिएको छ । ब्यूरोले पुसको पहिलो साता काठमाडौँबाट रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । यसअघिका प्रतिवेदनले विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको १४३ रोपनी जग्गासम्बन्धी लिखत किर्ते गरी हिनामिना भएको उल्लेख गरेको थियो ।

    उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा १७५ जना विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरिसकेको छ । विसं २०७५ को मन्त्रिपरिषद् बेठकको निर्णयअनुसार उक्त मुद्दा सिआइवी र अख्तियारले हेरिरहेका छन् ।

  • नारायणहिटी भित्र क्याफे खोल्न लागिएकोबारे छानविन गर्न समिति गठन

    नारायणहिटी भित्र क्याफे खोल्न लागिएकोबारे छानविन गर्न समिति गठन

    काठमाडौं । सरकारले नारायणहिटी संग्रहालय भित्र क्याफे खोल्न लागिएको बारे छानविन गर्न समिति गठन गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाका बारेमा छानबिन गर्न समिति गठन गरेको छ ।

    समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणि गौतम, सदस्यमा कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा तथा समितिको सदस्यसचिवमा शाखा अधिकृत टङ्कबहादुर नेगी तोकिएका छन् । दरबार सङ्ग्रहालयभित्र निर्माण गर्न लागिएको रेष्टुरेन्टका बारेमा तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिइएको मन्त्री आलेले जानकारी दिए ।

    मन्त्री आलेले नारायणहिटी सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई गत सोमबार निर्देशन दिएका थिए । नारायणहिटीमा पूर्वमन्त्री योगेश भट्टराईको पालामा क्याफे खोल्न अनुमति दिइएको दावि समितिले गरेको छ । योगेशले भने यो खबरको खण्डन गरेका थिए ।

  • कोभिड संक्रमण बढेपछि प्रचण्डले कार्यकर्तासँगको भेटघाट रोके

    कोभिड संक्रमण बढेपछि प्रचण्डले कार्यकर्तासँगको भेटघाट रोके

    काठमाडौं । पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टी भएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नियमित भेटघाट स्थगित गरेका छन् । उनको सचिवालयका अनुसार केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई समेत कोभिड– १९ सङ्क्रमणको पुष्टि भएकाले तत्कालका लागि भेटघाटका कार्यक्रम स्थगित गरिएको हो ।

    पार्टीको नियमित कामलाई केन्द्रीय कार्यालयमार्फत नै व्यवस्थित गर्ने प्रयास गरिएको समेत अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गङ्गा दाहालले जनाएकी छिन् । उनका अनुसार अब कतिपय संवाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजीकरण गरिने भएको छ । उनले तत्कालका लागि पार्टी केन्द्रीय कार्यालयमा समेत भिडभाड नगर्न र सतर्कता अपनाउन आग्रह गरेकी छिन् ।

  • परराष्ट्र मन्त्री र भारतीय समकक्षीबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

    परराष्ट्र मन्त्री र भारतीय समकक्षीबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

    काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच बिहीवार टेलिफोन वार्ता भएको छ । जयशंकरले ट्वीट गर्दै यसबारे जानकारी गराएका छन् । उनका अनुसार टेलिफोन कुराकानीमा उहाँहरूबीच प्रधानमन्त्री शेरबहादुर देउवाको स्थगित भारत भ्रमण र द्विपक्षीय सम्बन्धका विषयमा चर्चा भएको छ ।

    ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएपछि प्रधानमन्त्रीको भारत भ्रमण तत्कालका लागि स्थगित भएको छ । भारतका विदेशमन्त्री जयशंकरले आफूले नेपालका परराष्ट्रमन्त्री खड्कासँग नयाँ वर्षको अवसरमा टेलिफोनमा कुराकानी गरेको बताएका छन् । दुई देशबीचको विकास साझेदारी र कोभिड सहकार्य उल्लेखनीय रहेको भन्दै उनले सहयोगको दृश्यलाई फराकिलो बनाउन सहमत भएको समेत उल्लेख गरेका छन् ।

  • नेपालमा कोरोना संक्रमण बढ्यो, एकैदिन थपिए ५४० जना संक्रमित

    नेपालमा कोरोना संक्रमण बढ्यो, एकैदिन थपिए ५४० जना संक्रमित

    काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ५४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार ३२६ जना र मंगलबार ३९३, बुधबार ४३५ संक्रमित थपिएका थिए ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जना र ४ हजार ८९० जनाको एन्टिजेन परीक्षण गर्दा ६२ गरी ५४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३० हजार ४८० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २७१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १३ हजार ४४७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ४३१रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ ।

  • ‘काठमाडौं सहरको नयाँ भर्सन चाहियो’- अर्थमन्त्री

    ‘काठमाडौं सहरको नयाँ भर्सन चाहियो’- अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौं सहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन् ।

    बिहीबार लगानी बोर्डको बैठकमा बोल्दैै उनले विकास काठमाडौं केन्द्रित भएकाले अर्को सहरको आवश्यकता रहेको बताएका हुन् ।

    उनले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्ने पनि बताए । उनले वर्तमान परिप्रेक्ष्यमा कम्तिमा तीन वटा ठूला सहरको निर्माण गर्नुपर्ने औँल्याए ।

    ‘काठमाडौं सहरको नयाँ भर्सन चाहियो । दूर–दराजका ठाउँमा नयाँ काम गर्यो भने त्यहाँ सहर बन्दो रहेछ’, उनले भने, ‘नेपालका यस्ता तीन वटा ठाउँ खोजेर अगाडि बढायौँ भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्नेछ ।’

    मन्त्री शर्माले विकासमा सन्तुलन पनि आवश्यक रहेकाले ठूला आयोजना तथा उद्योगहरू लागानी बोर्डले क्षेत्रगत विशिष्टिकरण गरेर गर्नुपर्नेमा जोड दिए । पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजनाहरू निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

    उनले पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजनाहरू अघि सार्न लगानी बोर्डलाई भने । त्यस्तै जलविद्युत क्षेत्रमा तीन वटा ठूला जलविद्युत आयोजनाहरू विशेष प्राथमिकतामा राख्न पनि निर्देशन दिए । ‘बूढीगण्डकी, अपर–अरुण र कर्णाली चिसापानी जस्ता ठूला आयोजनामा तपाईँहरूले ध्यान दिनुहोस्’, उनले भने ।

    त्यस्तै उनले काठमाडौं–पोखरा–लुम्बिनीका लागि तीव्र गतिको यायाता पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याए । यसका लागि अध्ययन गर्न समेत उनले निर्देशन दिए । ‘काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्र्याक वा लिक (रेलको) बनाए पनि भयो । तर द्रूत गतिमा पुग्ने हुनुपर्यो’, उनले भने, ‘यो योजना तपाईँहरूको विशिष्टिकृत योजनामा हुनुपर्यो ।’

  • नेपाली शेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    नेपाली शेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं। साताको कारोबार अन्तिम दिन शेयर बजारमा हरियाली छाएको छ ।

    बिहीवार शेयर बजार मापक सूचक (नेप्से) ४३.२९ अंकले बढेर २६९२.४७ विन्दुमा पुगेको हो । बुधबार ३० अंकले घटेको शेयर बजारमा आजभने कमब्याक भएको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २३८ कम्पनीको ४ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैयाँ बराबरको ७३ लाख ३६ हजार ३३४ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ११ वटामा बढेको छ भने २ वटा राताम्मे भएको छ । उच्च अंकले बढेको बजारमा बैंकिङ ३५ , होटल तथा पर्यटन ८८, निर्जीवन बीमा २४३, माइक्रोफाइनान्स ५३, जलविद्युत ७२ अंकले बढेको छ ।

    विकास बैंक ८८, फाइनान्स २७ , लगानी १ अंक, र अन्य उपसमूह २० अंकले उत्पादन समूह ५ र लगानी समूह १९ अंकले घटेको छ ।

    नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । नेपाल फाइनान्स, तेह्रथुम पावर कम्पनी र मध्यभोटेकोशी जलविद्युत कम्पनी मूल्य १० प्रतिशतले बढेको छ ।

    त्यसैगरी, राष्ट्रिय बीमा कम्पनी र मैलुङ खोला जलविद्युत्को सेयर मूल्य साढ ५ प्रतिशतले बढेको छ । त्यस्तै, स्वरोजगार लघुवित्त, सेञ्चुरी कमर्शियल बैंक, एनआइसी एशिया बैंक र माउन्टेन इनर्जीको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    चन्द्रागिरि हिल्स, युनाइटेड इदी मार्दी, साहस ऊर्जा, फर्स्ट माइक्रोफाइनान्स, हिमालयन पावर, सिनर्जी पावर र नेपाल एसबीआइ बैंकको मूल्य पनि साढे ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आज अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड ३७ करोड बढीको शेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैकको १३ करोड ५२ लाखको कारोबार भएको छ । नेशनल माइक्रोफाइनान्सको १० करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

    नेपाल बंगलादेश बैंकका डिबेञ्चरधनीले सबैभन्दा धेरै ३.५३ प्रतिशत गुमाएका छन् ।

  • देउवा सहभागी हुने ‘दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित

    देउवा सहभागी हुने ‘दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भाग लिने भनिएको दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित भएको छ ।

    समाचार संस्था एएनआइका अनुसार गुजरात सरकारले ओमिक्रोन ओमिक्रोन भेरियन्टको त्रासको कारण सम्मेलनलाई स्थगित भएको जनाएको छ ।

    यो समिटमा भाग लिन जनवरी पुस २५ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम तय भएको थियो ।

    जनवरी १० देखि जनवरी १२ सम्म सम्मेलन २० सदस्यीय प्रतिनिधिमण्डलसहित जाने कार्यक्रम तय भएको थियो ।

    गुजरात सरकारले ओमिक्रोन भेरियन्टको त्रासको कारण सम्मेलनलाई स्थगित भएको जनाएको छ ।

    गुजरातमा आज २०४ वटा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ ।

  • उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ

    उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ

    काठमाडौं । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ समर्थन मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मूल्य तोक्ने निर्णय गरेको हो । यसमा सरकारले दिने अनुदान प्रतिक्विन्टल ७० रुपियाँसमेत जोडिएको छ । यो मूल्यमा चिनी उद्योगीले किसानलाई दिने मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ हो । यसमा उखुको न्यूनतम लागत ३८२ रुपैयाँ, ढुवानी खर्च ६२ रुपैयाँ र मुनाफा ७६ रुपैयाँ देखिएको छ ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार उखुको मूल्य निर्धारण गर्नु अगाडी किसान र चिनी उद्योगीसँग छलफल गरिएको थियो । उद्योगीले उखुको मूल्य प्रतिक्विन्टल ५८० र किसानले ६५० रुपैयाँ हुनुपर्ने माग गरेका थिए । उद्योग मन्त्रालयले मूल्य निर्धारणको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको हो । सरकारले गत वर्ष उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५४४ रुपैयाँ ३३ पैसा तोकेको थियो । अअिले पनि किसान यो मूल्यबाट भने सन्तुष्ट छैनन् ।

  • टेनिस स्टार नोभाक जोकोभिचलाई अष्ट्रेलियाले किन प्रवेशमा रोक्यो ?

    टेनिस स्टार नोभाक जोकोभिचलाई अष्ट्रेलियाले किन प्रवेशमा रोक्यो ?

    मेलवर्न । टेनिसका विश्व चर्चित खेलाडी स्टार खेलाडी नोभाक जोकोभिचलाई अष्ट्रेलियाले आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएको विषयले सर्विया र अष्ट्रेलियामा बहस सिर्जना गरेको छ । अष्ट्रेलिया प्रवेश गर्न चाहिने आवश्यक मापदण्ड नपुगेको भन्दै अष्ट्रेलियाको अध्यागमनले उनको भिसा रद्द गरिदिएको खबर छ । उनी नौ पटकका अस्ट्रेलियन ओपन विजेता हुन् ।

    जोकोभिच बुधबार राति मेलबर्न पुगेका थिए। मेलर्वन विमानस्थलमा उनलाई रोकियो । त्यहाँ उनलाई सुरक्षाकर्मीले भिसा रद्दको जानकारी गराए । अष्ट्रेलियन बोर्डर फोर्स एबिएफका अनुसार जोकोभिचले प्रवेश मापदण्ड पूरा गरेको प्रमाण पुगेन । उनले कोरोनाको खोप लगाएको प्रमाण समेत साथमा बोकेका थिएनन् । जसको वैद्य भिसा नभएको वा भिसा रद्द भएको अवस्थामा उनीहरूलाई हिरासतमा लिइने र फिर्ता पठाउने नियम रहेको एबिएफले उल्लेख गरेको छ ।

    उता, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सर्बियाली खेलाडीले सङ्घीय सरकारलाई भिसाका मामलामा सन्तुष्ट पार्नुपर्ने प्रतिक्रिया दिएका छन् । उनले नियम भन्दा माथि कोही नरहेको भन्दै यसको पालना गर्न भनेका छन् । जोकोभिच अष्ट्रेलियन ओपन खेल्न बुधबार मेलवर्न विमानस्थल पुगेका थिए। सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले एक विज्ञप्ति जारी गर्दै अष्ट्रेलियासमक्ष टेनिस च्याम्पियनलाई सहयोगको प्रस्ताव गरेको समेत खबर छ ।

  • नरेन्द्र मोदीको सवारीलाई प्रदर्शनकारीले छेकेपछि…

    नरेन्द्र मोदीको सवारीलाई प्रदर्शनकारीले छेकेपछि…

    पञ्जाव । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीलाई प्रदर्शनकारीले विफल पारेको घटनाले यतिबेला भारतमा ठूलो वहस सिर्जना गरेको छ । बुधबार एक कार्यक्रममा जाने बाटो नपाएपछि उनी बीच बाटो बाटै फर्कनु परेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार मोदी बुधबार पन्जाब राज्यमा यसरी फसेका हुन् । यहाँ निर्वाचनको प्रचार प्रसार शुरु भएको छ । सोही सिलसिलामा उनी त्यहाँ पुगेका थिए । मोदी बुधबार बिहान बाथिन्डा विमानस्थलमा पुगेका थिए।

    त्यहाँबाट उनी हेलिकप्टरमा राष्ट्रिय शहिद मेमोरियल जाने कार्यक्रम थियो। मौसम खराब भएपछि हेलिकप्टर उड्न सकेन। मौसम खुल्ने आशमा मोदी २० मिनेट जति कुरेका थिए । मौसममा सुधार नभएपछि उनले झन्डै दुई घन्टा सडक मार्गबाट जाने निर्णय लिएका थिए । गन्तब्यमा पुग्न झन्डै ३० किलोमिटर बाँकी रहँदा भने मोदीको सवारी रोकियो ।

    मोदी भ्रमणको विरोध गरिरहेका किसानले आन्दोलन गरेर सडक बन्द गराएका थिए । मोदीको सवारी १५\२० मिनेट त्यहाँ रोकिएको थियो । विशाल प्रदर्शनका कारण बाटो खुल्ने अवस्था नभएपछि उनी कार्यक्रम रद्द गरेर फर्किएको समाचारमा उल्लेख छ । भातको केन्द्रीय सरकारले भने मोदीको सुरक्षामा पन्जाब प्रदेश सरकारले हेलचक्र्याइँ गरेको आरोप लगाएको छ ।

  • भारतमा ओमिक्रानका कारण एक जनाको मृत्यु भएको पुष्टी

    भारतमा ओमिक्रानका कारण एक जनाको मृत्यु भएको पुष्टी

    नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र बनेको छ । यसैबीच, भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु भएको पुष्टी भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो । मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक वृद्धको मृत्यु हो ।

    मन्त्रालयका सचिव लव अग्रवालका अनुसार उनमा डायबिटिज लगायतका स्वास्थ्य समस्या थियो । भारतमा ओमिक्रोनको पहिलो केस १२ डिसेम्बरमा केरलामा पुष्टि भएको थियो । त्यसअघि विश्वमा सबैभन्दा पहिले २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा ओमिक्रोन पुष्टि भएको थियो । हाल ओमिक्रोनबाट संक्रमित हुनेहरुको संख्या तीव्ररुपमा वृद्धि भएपछि विभिन्न देशहरुले चिन्ता व्यक्त गरेका छन् ।

  • पाँचथरको फालेफुङमा आगलागी, तीन वटा घर जले

    पाँचथरको फालेफुङमा आगलागी, तीन वटा घर जले

    पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा आगलागी भएको छ । बुधबार राति भएको आगलागीमा तीनवटा घर घर जलेको प्रहरीले जनाएको छ । 

    स्थानीय जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागीमा मेयोङवासहित रामजीत राई र मनबहादुर राईका घर जलेका छन् । तीनवटा घर जल्दा त्यहाँ रहेका आईएमईको शाखा काउन्टरसहित छ वटा पसल जलेको प्रहरीले जनाएको छ ।

    आगो स्थानीय, प्रहरी र फिदिमबाट गएका दमकलको सहायताले निभाइएको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । सुख्खायाम भएको कारण नेपालमा अब आगलागी का घटना बढ्ने गर्छन् ।

  • पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

    पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

    काठमाडौं । पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित यूनिवर्ल्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालिका सञ्चालक र व्यवस्थापक गरी दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा ट्राभल्सका सञ्चालक काठमाडौं मैतिदेवी बस्ने बाग्लुङ गल्कोट नगरपालिका–६ घर भएका २८ वर्षीय अमृत सोती मगर र व्यवस्थापक ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने सर्लाही बागमती नगरपालिका–१ घर भएका २४ वर्षीय समिर कार्की छन् ।

    वर्किङ भिषामा पोर्चुगल जानप्रति व्यक्ति १४ लाख रुपियाँ लाग्छ र पोर्चुगल पुगेपछि होटल तथा कम्पनीमा काममा लगाइ दिने र मासिक एक लाख रुपियाँभन्दा बढी कमाई हुन्छ भनेर प्रलोभनमा पारी चार जना व्यक्तिबाट प्रतिव्यक्ति १० लाखका दरले ४० लाख लिइ ठगी गरेको पाइएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकालाइ थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

  • काममा तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

    काममा तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काममा तीव्रता दिन मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् ।

    बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा संयुक्त बैठक बोलाएका प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन । उनले  मुलुक र जनताले अपेक्षा गरे अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिए ।
    उनले  विकास-निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराए । प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै चनाखो भएर लाग्न मन्त्री तथा सचिवहरुलाई सचेत गराएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराए ।

    मुलुकको विकास र सरकारले जनतालाई दिनुपर्ने सेवा, सुविधालाई तीव्रताका साथ अगाडि बढाउने र जनताको जीवन रक्षाका निमित्त सरकार चनाखो हुने र विकास निर्माणलाई पनि तीव्रताका साथ अगाडि बढाउन सबै मन्त्री, सबै सचिवहरुलाई निर्देशन दिएको समेत कार्कीले जानकारी दिए । बैठकमा अर्थतन्त्रको अवस्थाका बारेमा अर्थमन्त्रीले जानकारी गराएका थिए ।

  • प्रधानमन्त्री देउवा आगामी आइतबार भारत भ्रमणमा जाने

    प्रधानमन्त्री देउवा आगामी आइतबार भारत भ्रमणमा जाने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतबार भारत भ्रमणमा जाने निश्चित भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको स्थानीय संचारमाध्यमले लेखेका छन् ।

    प्रधानमन्त्री देउवाको साथमा  २५ सदस्यीय टोली रहने छ । सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन भारत जान लागेको हो । चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता समेत गर्ने कार्यक्रम रहेको बताइएको छ । पछिल्लो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवा पहिलोपटक भारत जान लागेका हुन् ।

  • नेपाल कोरोनाको तेस्रो लहरको जोखिममा, एकैदिन थपिए ४३५ जना संक्रमित

    नेपाल कोरोनाको तेस्रो लहरको जोखिममा, एकैदिन थपिए ४३५ जना संक्रमित

    काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ४३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार ३२६ जना र मंगलबार ३९३ संक्रमित थपिएका थिए ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनाको पीसीआर परीक्षण गर्दा ३७० जना र ३ हजार ५५२ जनाको एन्टिजेन परीक्षण गर्दा ६५ गरी ४३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३० हजार २ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २३९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १३ हजार १६७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ ।

  • लकडाउनको असर: जहाँ सामान अभाव भएपछि चुरोटसँग तरकारी साटियो

    लकडाउनको असर: जहाँ सामान अभाव भएपछि चुरोटसँग तरकारी साटियो

    काठमाडौं । चीनको शीआन सहरमा लकडाउनका बेला खाद्यपदार्थको अभाव हुँदा नगरवासीहरू आफूसँग भएको सामान साटफेर गर्न थालेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीहरूमा त्यहाँका बासिन्दाले खाद्यपदार्थ लिन आफूसँग भएको खाद्यान्न वा विद्युतीय उपकरण दिइरहेको देखिन्छ।

    कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फैलिएसँगै शीआनमा झन्डै एक करोड ३० लाख मानिस घरभित्र बस्न बाध्य छन्। उनीहरू खाद्यान्न किन्न पनि बाहिर निस्किन पाउँदैनन्। केही समययता मानिसहरूले यसबारे सामाजिक सञ्जालमार्फत् गुनासो पोख्न थालेका छन्।

    अधिकारी निकायले स्थानीय परिवारहरूलाई निःशुल्क खाना उपलब्ध गराउँदै आएको छ। तर केहीले सरकारबाट प्राप्त खाना पर्याप्त नभएको बताएका छन् भने केहीले अझै पनि सहायता पाउन नसकेको जनाएका छन्।

    चीनको सामाजिक सञ्जाल वेबोमा मानिसहरूले बन्दा र चुरोट, स्याउ र भाँडा माझ्ने तरल पदार्थ तथा तरकारी र स्यानिनटरी प्याड आदानप्रदान गरेको भिडिओ तथा तस्बिर सार्वजनिक गरेका छन्।

    एउटा भिडिओमा एक व्यक्ति आफ्नो भिडिओ गेम उपकरण ुनिन्टेन्डो स्विचु एक पुरिया तयारी चाउचाउ र दुई पुरिया पाउरोटीसँग साट्न तत्पर भएको देखिन्छन्। ‘मानिसहरूले एउटै भवनमा बस्ने अन्य बासिन्दासँग सामानहरू साटासाट गरिरहेका छन्। किनकि उनीहरूसँग पर्याप्त खाना छैन,’ वाङ उपनाम भएका एक व्यक्तिले रेडिओ फ्री एशियालाई भनेका छन्। समाचारका अनुसार एक मानिसले चामलका लागि स्मार्टफोन र ट्याब्लेट समेत दिन खोजेका थिए।

    ‘बेसहारा नागरिकहरू वस्तु साटफेरको युगमा आइपुगेका छन्। आलुको लागि कपासको कान सफा गर्ने सामान दिन्छन्,’ एक वेबो प्रयोगकर्ताले भने। उनले यस अवस्थालाई ‘आदीम समाजमा फर्किनु’को सङ्ज्ञा दिएका छन्।

    कोही मानिस निकै आशावादी सुनिन्छन्। उनीहरूले आफ्ना छिमेकीहरूले दयाका साथ सामान आदानप्रदान गर्दा आफ्नो मन छोएको बताएका छन्।त्यहाँका स्थानीय निकायहरूले सङ्क्रमण नियन्त्रणका लागि कडा नियमहरू लागु गरेका छन् जुन सामाजिक सञ्जालमा आलोचनाको विषय बनेको छ।

    सहरको दक्षिण भेगमा रहेको मिङ्दे ८ यिङ्ली हाउजिङ कम्पाउन्डका बासिन्दाहरूलाई ज्यानुअरीको १ को मध्यरातपछि घर छोडेर क्वारन्टीनमा बस्न जानुपर्ने बताइएको थियो।

    इन्टरनेट प्रयोगकर्ताहरू सोमवार भाइरल भएको एक अपुष्ट सामग्रीका कारण छक्क परेका छन्। एक शीआनवासीले आफ्ना बुबाको हृदयाघातपछि मृत्यु भएको र सहरमा कोभिड(१९ सङ्क्रमणको अवस्था जटिल भएका कारण अस्पतालबाट टाढा लगिएको बताएका छन्।

    यस सहरमा फैलिएको सङ्क्रमण चीनले महिनौँपछि भोगेको सबैभन्दा खराब अवस्था हो। त्यहाँ शून्य सङ्क्रमणको रणनीति छ तथा सङ्क्रमण पूर्ण रूपमा हटाउने प्रयास भइरहेको छ।मङ्गलबार तीन लक्षणविहीन मानिसमा सङ्क्रमण पुष्टि भएपछि अधिकारीहरूले दोस्रो सहरमा पनि पूर्ण लकडाउन गराएका छन्।

    शीआनबाट ५०० किलोमिटर टाढा रहेको सहर युझाउका करिब ११ लाख मानिसलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। सोमबार साँझसम्ममा लगभग सबै सवारीसाधनलाई सडकमा जान प्रतिबन्ध लगाइएको छ।

    साथै अत्यावश्यक सामान आपूर्ति गर्ने सुपरमार्केटबाहेक अन्य पसल तथा व्यवसायहरू बन्द गर्न निर्देशन दिइएको छ। यी कडा नियमहरू चिनियाँ नयाँ वर्ष र अर्को महिना बेइजिङमा हुने हिउँदे ओलिम्पिक्सको पूर्वसन्ध्यामा जारी गरिएका हुन्।बीबीसी

  • एप्पल भारतको अर्थतन्त्रभन्दा ठूलो बजार मूल्य हुने विश्वकै पहिलो कम्पनी

    एप्पल भारतको अर्थतन्त्रभन्दा ठूलो बजार मूल्य हुने विश्वकै पहिलो कम्पनी

    काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पल ३० खर्ब अमेरिकी डलर बजार मूल्य भएको विश्वकै पहिलो कम्पनी बनेको छ । एप्पलको सेयर मूल्य बढेर बजार मूल्य ३० खर्ब डलर पुगेसँगै नयाँ रेकर्ड राखेको हो ।

    अमेरिकी स्टक एक्सेन्चको तथ्यांक अनुसार नयाँ वर्षको पहिलो दिन एप्पलको सेयर ३ प्रतिशतले बढी १८९.८८ अमेरिकी डलर पुगेको थियो । यो हालसम्मको सबैभन्दा उच्च स्तर हो । यद्यपि, मार्केट बन्द हुनु अघि यसमा थोरै गिरावट आयो ।

    तीन वर्ष अघि कम्पनीको बजार मूल्य १० खर्ब थियो । पछिल्लो दुई वर्षमै कम्पनीको बजार मूल्य तेब्बरले बढेको हो । अर्थात्, २ वर्षमा एप्पलको बजार मूल्य २० खर्ब डलर थपिएको हो ।

    एप्पलको बजार मूल्य भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आकारभन्दा पनि ठूलो हो । हाल भारतीय अर्थतन्त्रको आकार २६ खर्ब डलर रहेको छ । एप्पलको समग्र बजार मूल्य विश्वका प्रमुख १० ठूला अर्थतन्त्र भएका मुलकमध्ये ६ वटा देश बेलायत, भारत, फ्रान्स, इटाली क्यानडा र दक्षिण कोरियाको भन्दा ठूलो हो ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार कम्पनीका भर्चुअल रियालिटी तथा स्वचालित कारलगायत सबैभन्दा बढी बिक्री हुने उत्पादनका कारण लगानीकर्ताहरु आकर्षित भएका हुन् ।

    एप्पल कोभिड तथा लकडाउनमा सबैभन्दा बढी कमाउनेमध्ये एप्पल परेको छ । लकडाउनमा विशेषगरी मानिसहरु स्मार्टफोन, ट्याबलेट तथा ल्याउपटमा निर्भर रहेकोले यस्ता उत्पादनको माग बढेको थियो ।

    एप्पलको विशेषगरी आइफोनले विक्रीको आधा हिस्सा ओगटेको छ । जबकी यसको आइप्याड, म्याक तथा ट्यावलेटको कारण बढी चर्चामा छ ।

  • नेपाली शेयर बजारमा दोहोरो अंकको करेक्शन

    नेपाली शेयर बजारमा दोहोरो अंकको करेक्शन

    काठमाडौं । केही दिन लगातार बढेको शेयर बजार साताको कारोबारको चौथोदिन घटेको छ ।

    तीनदिन १५५.४५ अंकले बढेको शेयर बजार मापक सूचक नेप्से ३०.७५ अंकले घटेर २६४९.२० विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३६ कम्पनीको ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५२८ रुपैयाँ बराबरको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर किनबेच भएका छन् ।

    सूचकमा गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ३० करोडले बढेर साढे ४ अर्ब रुपैयाँ नाघेको छ ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ११ वटामा बढेको छ भने २ वटा राताम्मे भएको छ । धेरै गुमाउने होटल तथा पर्यटनका लगानीकर्ता रहेका छन् ।

    दोहोरो अंकले घटेको बजारमा बैंकिङ २७, होटल तथा पर्यटन ६९, निर्जीवन बीमा २२८, माइक्रोफाइनान्स ११०, व्यापार समूह ५० अंकले घटेको छ ।

    त्यस्तै विकास बैंक ७९, लगानी १ अंकले ,अन्य उपसमूह ३ अंकले र उत्पादन समूह ११० अंकले घटेको छ । जलविद्युत १४ अंकले र फाइनान्स २ अंकले बढेको छ ।

    दोहोरो अंकले घटेको बजारमा मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

    घट्दो बजारमा आज विजय लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ४.५५ प्रतिशत गुमाएका छन् । त्यसैगरी, फर्स्ट माइक्रोफाइनान्स, किसान लघुवित्त र सिभिल लघुवित्तको शेयर मूल्य ४ प्रतिशतले घटेको छ ।

    त्यस्तै, प्राइम् लाइफ, नेरुडे लघुवित्त, सपोर्ट लघुवित्त, गणपति लघुवित्त, लक्ष्मी इक्वीटी म्युचुअल फण्ड, आरएसडीसी लघुवित्त, महालक्ष्मी विकास बैंक, आशा लघुवित्तसहित डेढ दर्जन कम्प्नीको शेयर मूल्य ३ प्रतिशले घटेको छ ।

    आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे १८ करोड बढीको शेयर किनबेच भएको छ ।

    त्यस्तै, अपी पावर १६ करोड र माथिल्लो तामाकोशी १४ करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

  • यस्तो छ आजदेखी हुने हिउदे वर्षाको संभावना

    यस्तो छ आजदेखी हुने हिउदे वर्षाको संभावना

    काठमाडौं ।  आजबाट देशभर पुनः हिउँदे वर्षा हुने भएको छ । मङ्गलबार रातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण यो हप्ताको करिब चार दिन मौसम प्रतिकुल रहने भएको हो ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार यो मौसमी प्रणालीले बुधबारदेखि शनिबारसम्म देशका विभिन्न भेगमा वर्षा र हिमपात गराउने छ ।

    विभागले  हिउँदे वर्षाले पु-याउने असरबाट जोगिन आह्वान गरेको छ । बुधबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । बिहीबारदेखि देशव्यापी रूपमा हिउँदे वर्षाको मौसमी प्रणाली फैलनेछ । सो क्रममा बिहीबार र शुक्रबार सुदूरपश्चिमदेखि पश्चिमको लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा मध्य नेपालको बागमती प्रदेशसम्म हिउँदे वर्षाको विशेष प्रभाव रहनेछ ।

    यी क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भएर हल्कादेखि मध्यम वर्षा गराउनेछ । उच्च हिमाली र पहाडी भेगमा हिमपात हुनेछ । केही भेगमा भारी हिमपात हुने भएकाले ती हिमाली क्षेत्रमा पर्यटकीय यात्रा र दैनिक यात्रा नगर्न विभागले अपिल गरेको छ । प्रदेश १ र २ मा अन्य प्रदेशको तुलनामा हिउँदे वर्षाको प्रभाव कम पर्ने भएको छ । ती भेगमा आंशिकदेखि सामान्य बदली र असर रहनेछ । वर्षा हुँदा तराई भेगमा शीतलहर र कुहिरोको असर कम हुनेछ ।

    यस पटक दोहोरिन थालेको हिउँदे वर्षाका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात तथा दैनिक जनजीवनमा बढी असर पर्ने भएकाले सचेत रहन र गराउन सरोकारवाला निकायलाई अनुरोध गरिएको छ ।

  • तनहुँमा नवजात शिशुसहित दुई जनाको शव भेटियो

    तनहुँमा नवजात शिशुसहित दुई जनाको शव भेटियो

    तनहुँ । तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जनाको शव भेटिएको छ ।  राससका अनुसार व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी गराएका छन ।  स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले  बताए ।  शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    उता, आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ । मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन ।

  • चिसोमा कठ्याङ्ग्रिएर धनुषा र सप्तरीमा दुई जनाको मृत्युु

    चिसोमा कठ्याङ्ग्रिएर धनुषा र सप्तरीमा दुई जनाको मृत्युु

    जनकपुर । पछिल्लो सातायता बढेको चिसो र शीतलहरले  धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।

    मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका-४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेको स्थानीय संचारमाध्यमले लेखेका छन् ।

    यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उता चिसोले कठ्याङ्ग्रिएका सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको हो ।

    अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालय बन्द गरिएको जनाएका छन् ।

  • अमेरिकामा एकै दिन १० लाख माथि कोरोना पुष्टि

    अमेरिकामा एकै दिन १० लाख माथि कोरोना पुष्टि

    वासिङ्टन डिसि । अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा मानिसमा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक आएको छ ।
    जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको यो आङ्कडा अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका हुन् । यो कुनै पनि मुलुकमा देखिएको हालसम्म कै सबैभन्दा ठूलो सङ्ख्यामा सङ्क्रमण हो । 
    संक्रमण बढ्दो क्रममा रहे पनि राष्ट्रपति जो बाइडनले स्कुलहरु खुला राख्न निर्देशन दिएका छन् । जुन निर्णयको यहाँ आलोचना भएको छ ।

    कोरोनाको लहर बढिरहेको बेला अमेरिकी अधिकारीहरुले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण उच्च विन्दुमा पुग्न बाँकी रहेको बताएका छन् । प्रमुख स्वास्थ्य सल्लाहकार एन्थोनी फाउचीले अमेरिकामा कोरोनाको ग्राफ तीव्ररुपमा बढिरहेको र महामारी उच्चविन्दुमा पुग्न अझै बाँकी रहेको बताएका छन् ।

    अहिले कोरोनाविरुद्धको खोप नलगाएकाहरु अस्पतालमा भर्ना हुने र मृत्यु हुने क्रम जारी रहेको भन्दै उनले सबैलाई खोप लगाउन आह्वान गरेका छन् ।

  • राष्ट्रियसभा निर्वाचन: १९ सिटका लागि ४३ जनाले दिए उम्मेदवारी, कुन प्रदेशमा को ? (सूचीसहित)

    राष्ट्रियसभा निर्वाचन: १९ सिटका लागि ४३ जनाले दिए उम्मेदवारी, कुन प्रदेशमा को ? (सूचीसहित)

    काठमाडौ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ।

    आगामी माघ १२ गते हुने राष्ट्रिय सभाका १९ सदस्य चुन्न हुने चुनावका लागि ४३ जनाले मनोनयन दर्ता गराएका छन्।

    जसमध्ये नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाको उम्मेदवारी परेको छ ।

    उम्मेदवारको नाममा दावी विरोधका लागि पुस २१ गते बिहान १० बजेदेखि ४ बजेसम्मको समय छुट्याइएको छ । २२ र २३ गते उजुरीउपर छानविन हुने, २३ गते नै उम्मेदवारको नाम प्रकाशन हुनेछ भने २४ गते उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिनको लागि समय दिइएको छ ।

    २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ ।

    राष्ट्रियसभा निर्वाचनका लागि एमालेले सत्तारुढ गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्दैछ । अधिकांश सिटमा ५ दलीय गठबन्धनले नै जित्ने निश्चित जस्तै छ ।

    यी हुन उम्मेदवारी दिनेहरु:

    कुन दलबाट को उम्मेदवार

    नेकपा एमाले

    नेकपा एमालेका तर्फबाट प्रदेश १ मा गुरु बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दिएका छन्। प्रदेश २ मा उसमान अन्सारी र विना र साह, बागमतीमा गोपाल शाक्य र निरकुमारी कुँवर उम्मेदवार बनेका छन्।

    यस्तै गण्डकीमा अर्जुनकुमार सुनाम, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेल, लुम्बिनीमा कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ताले उम्मेदवारी दिएका छन्। कर्णालीमा पदमबहादुर माझी, गंगा थापा र चूडामणि शर्मा तथा सुदूरपश्चिममा सन्तोषकुमारी शर्मा थापा, नरेश विक र डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका छन्।

    नेपाली कांग्रेस

    सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आफ्नो मागमा परेको प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिममा नारायणदत्त मिश्रलाई उम्मेदवार बनाएको छ।

    नेकपा माओवादी केन्द्र

    नेकपा माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर र भरत सुनार, कर्णालीमा नरबहादुर विष्ट र सुदूरपश्चिममा जगत पार्कीलाई उम्मेदवार बनाएको छ।

    नेकपा (एकीकृत समाजवादी)

    सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले प्रदेश १ मा जयन्ती राई, बागमतीबाट गोमा तिमिल्सिना, लुम्बिनीमा राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहरा र सुदूरपश्चिममा मदनकुमारी साह (गरिमा)लाई उम्मेदवार बनाएको छ।

    यस्तै जसपाले प्रदेश १ मा हेमराज राई र प्रदेशमा खालिद सिद्दिकीलाई उम्मेदवार बनाएको निर्वाचन आयोगले जनाएको छ।

    लोसपाले प्रदेश २ मा श्याम सरदार र रुपाकुमारी यादवलाई उम्मेदवार बनाएको छ। यस्तै राष्ट्रिय जनमोर्चाले लुम्बिनीमा राजेश विश्वकर्मालाई उम्मेदवार बनाएको छ।

    नेपाल मजदुर किसान पार्टीले बागमतीमा गीता काफ्ले र कृष्ण तामाङलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश १ मा अमरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ।

  • धरानमा खुल्यो फोहोरमैला प्रशोधन केन्द्र, प्रधानमन्त्रीद्वारा उदघाटन

    धरानमा खुल्यो फोहोरमैला प्रशोधन केन्द्र, प्रधानमन्त्रीद्वारा उदघाटन

    धरान । धरानमा फोहोरमैला प्रशोधन केन्द्र स्थापना भएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले धरान उपमहानगरपालिका–६ मा रहेको फोहोरमैला प्रशोधन केन्द्रको मङ्गलबार उदघाटन गरेका हुन् । फोहोरमैला प्रशोधन गरि उत्पादन गरिएको ग्यासबाट सञ्चालित टेम्पोमा चढेर प्रधानमन्त्री देउवाले टेम्पोको शुभारम्भ समेत गरे ।

    गत वैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोना महामारीका कारण केही काम हुन बाँकी थियो । सम्पूर्ण काम पूरा भएपछि मंगलबार सो केन्द्रको उद्घाटन गरिएको हो ।

    भेन्चर वेष्ट टू इनर्जीले धरान उपमहानगरपालिका–६ स्थित पानवारीमा प्रशोधन केन्द्र बनाएको हो । धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य लिएर उक्त केन्द्र निर्माण गरिएको परियोजनाका इन्जिनियर विवेक अग्रवालले बताएका छन् ।

    २० वर्षपछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी ५० मेट्रिन टन क्षमताको प्रशोधन केन्द्र निर्माण भएको छ । यसमा उपमहानगरको भने लगानी छैन ।

    प्रशोधनका लागि प्लान्ट एउटै भए पनि चेम्बर फरक फरक छन् । १० टनमा तीनवटा चेम्बर छ । जम्मा १५ वटा चेम्बर छन् । प्रशोधन केन्द्रबाट उत्पादन भएको ग्यास धरानमा चलिरहेका टेम्पोहरुमा प्रयोग हुने बताइएको छ । प्रशोधन केन्द्रले दैनिक दुई हजार केजी ग्यास उत्पादन गर्ने क्षमता रहेको सञ्चालकले जनाएका छन् । दैनिकजसो ४०० देखि ५०० टेम्पोलाई ग्यास उपलब्ध गराउन सक्ने क्षमता रहेको छ ।

  • बुधबारबाट मौसम प्रतिकुल हुने, वर्षा र हिमपातको सम्भावना

    बुधबारबाट मौसम प्रतिकुल हुने, वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । नेपालमा बुधबारबाट मौसम प्रतिकुल बन्ने भएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएसङ्गै मौसम प्रतिकुल बन्ने भएको हो । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण यो साताभर  वर्षा तथा हिमपातको सम्भावना रहेको  मौसमविदले अनुमान गरेका छन् ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यो प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

    सुदूरपश्चिम क्षेत्रमा अहिले यसको सामान्य प्रभाव देखिइसकेको छ । अहिले सो क्षेत्रमा बादल लागेको छ । सुदूरपश्चिममा बुधबारदेखि पानी पर्न सुरु गर्ने छ ।

    आइतबारदेखि भने यो प्रणाली कमजोर हुने र मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ । मंगलबार रातिबाट नेपाल भित्रिने यो प्रणालीको प्रभाव देशभर पर्ने छ । विशेष गरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बढी प्रभाव देखिने छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

    साथै बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरूमा पनि हल्का हिमपातको सम्भावना छ । काठमाडौं उपत्यकामा मंगलबार र बुधबार कम तथा बिहीबार, शुक्रबार र शनिबार बढी प्रभाव पर्नेछ । अन्य प्रदेशहरुको तुलनामा यसको प्रभाव प्रदेश १ र २ मा कम पर्ने अनुमान छ ।

  • लक्षित समूहलाई दिने कोरोना खोपको ‘बुस्टर डोज’ अभियान स्थगित

    लक्षित समूहलाई दिने कोरोना खोपको ‘बुस्टर डोज’ अभियान स्थगित

    काठमाडौं । सरकारले रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई दिने कोरोना विरुद्धको खोपको अतिरिक्त मात्रा दिने अभियान स्थगित गरेको छ ।

    प्रवक्ता संगीता कौशल मिश्राले विज्ञप्ति जारी कोभिड–१९ विरुद्धको ‘अतिरिक्त मात्रा’ खोप दिने कार्य स्थगित भएको जनाएकी छिन् ।

    थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै विभिन्न पाँच प्रकारका बिरामी र ६० वर्षभन्दा माथिल्लो उमेरका नागरिकलाई‘अतिरिक्त मात्रा’ दिने निर्णय गरेको थियो ।

    लक्षित समूहमा मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी र उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि प्रयोग गरिरहेका बिरामीहरुलाई राखिएको थिए ।

    सरकारले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई मंगलबारदेखि थप एक मात्रा खोप दिने भनी सोमबार सूचना जारी गरेको थियो । तर त्यसै सूचनाअनुसार खोप केन्द्रमा पुगेका जेष्ठ नागरिक र दीर्घरोगीले खोप पाएका थिएनन् ।

  • बंगलादेश ‘स्वर्ण वर्ष सम्मान–२०२२’ डा भोला रिजाललाई

    बंगलादेश ‘स्वर्ण वर्ष सम्मान–२०२२’ डा भोला रिजाललाई

    काठमाडौं । बंगलादेशदेशस्थित ‘वल्र्ड फ्रेन्डसिप फाउन्डेशन’ले वरिष्ठ चिकित्सक डा भोला रिजाल र नेपाल बंगलादेश मैत्री सङ्घका अध्यक्ष दीनदया रिजाललाई ‘स्वर्ण वर्ष सम्मान–२०२२’ प्रदान गरेको छ।

    बंगलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशताब्दी तथा त्यहाँको स्वतन्त्रता र विजय दिवसको स्वर्ण वर्षका अवसरमा बङ्गलादेश र अन्य देशका विद्वान् एवं सामाजिक अभियानकर्मीसँगै रिजालद्वयलाई शनिबार राजनीतिक–सामाजिक सेवावापत सो सम्मान दिइएको हो।

    बंगलादेशका मुक्तियुद्धसम्बन्धी मन्त्री एकेएम मोजाम हकले उहाँहरूलाई सो सम्मान प्रदान गर्दै डा रिजालले त्यहाँ अध्ययनका क्रममा ११ वर्ष रहँदा रेडियोमा काम गरी स्वतन्त्रताका लागि योगदान गरेको तथा अध्यक्ष रिजालले दुई देशबीच सम्बन्ध बढाउन पुलका रूपमा काम गरेको बताए।

    फाउन्डेशनका संयोजक सदी–उज जमान, सचिव मदुल हक तैयब, चौधरी नेजारुल हक, विशाल जैन, पाञ्चाली देव वर्मा ९भारत०लगायतले समाजको शान्ति, एकता, संस्कृति, अनुशासन, सम्बन्ध विस्तार र शोषणको अन्त्य जोड दिँदै विश्वमा विवादको समाधान शान्तिपूर्ण वार्ताका माध्यमबाट हुनुपर्नेमा जोड दिए।

    सो अवसरमा डा रिजालले ‘हाम्रो बङ्गलादेश…’ बोलको गीत तथा अन्य कलाकारले बङ्गलादेशी गीतसङ्गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपालबाट अधिवक्ता दीपक दाहाल, सरला रिजाल, निशिषकुमार रेग्मी, डा करिष्मा पाण्डे, डा रेशिस श्रेष्ठलगायत बङ्गलादेश र भारतका प्रबुद्ध व्यक्तित्वको सहभागिता थियो।