Category: फिचर

  • ताइवानमा रेल दुर्घटना, कम्तिमा ५० जनाको मृत्यु

    ताइवानमा रेल दुर्घटना, कम्तिमा ५० जनाको मृत्यु

    काठमाडौं\एजेन्सी । ताइवानमा भएको एक रेल दुर्घटनामा कम्तिमा ५० जनाको मृत्यु भएको छ । ताइवानको पूर्वी क्षेत्रमा सुरुङ भित्र यात्रुबाहक रेल दुर्घटनामा परेको हो । ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको बताइएको छ ।

    उद्धारकर्ताले सुरुङभित्र च्यापिएका मानिसको उद्धार गरेका छन् । प्रहरीले कम्तीमा ५० जनाको मृत्यु भएको पुष्टी गरेको छ । अरु ७० जना रेलका डब्बाभित्र च्यापिएको बताइएको छ । उद्धारपछि ६० जनालाई अस्पताल लगिएको छ ।

    अधिकारीहरुले तटीय शहर हुलियान नजिकको सुरुङ नजिक एउटा मर्मत कार्यमा प्रयोग गरिएको सवारी साधनले तिब्र गतिमा दौडिरहेको रेललाई ठक्कर दिएको अनुमान गरेका छन् ।

    हुलियान शहरका प्रहरी प्रमुख चाई डिङ–हेसियानले निर्माण कार्यमा प्रयोग भइरहेको एउटा सवारी साधन रेलको लिकमा खसेका कारण रेल दुर्घटनामा परेको बताएका छन् । स्थानीय संचार माध्यमले रेलको नजिकै एउटा ट्रक क्षतविक्षत अवस्थामा रहेको तस्वीर छापेका छन् । उक्त दुर्घटना स्थानीय समय अनुसार बिहान साढे ९ बजे भएको हो । रेलमा ४ सय ९० यात्रु चढेका थिए ।

  • चितवनमा गैंडा गणना टोलीमाथि ध्रुबे हात्तिको आक्रमण, पाँच जना घाइते

    चितवनमा गैंडा गणना टोलीमाथि ध्रुबे हात्तिको आक्रमण, पाँच जना घाइते

    चितवन । एक सिंगे गैंडा गणना गर्न चितवन राष्ट्रिय निकुञ्जमा खटिएको टोलीमाथि जंगली हात्ती ध्रुबेले आक्रमण गर्दा पाँच कर्मचारी घाइते भएका छन् । आक्रमणमा परी राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठ गम्भीर घाइते भएको निकुन्जले जनाएको छ ।

    उनलाई उपचारका लागि साँझ हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । गैंडा गणनामा खटिएको टोली शुक्रबार निकुञ्जको पश्चिम सेक्टरको गैंडाखासा भन्ने स्थानमा पुगेपछि धु्रबेको आक्रमणमा परेको थियो । ध्रुबे जंगली हात्ती हो । उसले निकै लामो समयदेखि चितवनमा दुःख दिइरहेको छ ।

    ध्रुबेले २०६६, ६७, ६८ र ६९ सालमा गरी १३ जनाको ज्यान लिएको थियो। यो हात्तिलाई मार्ने सरकारको योजना रहेपनि ज्यान जोगाएर भाग्न सफल भएको थियो । आज जंगली हात्तिले आक्रमण गरेसँगै चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणना समेत तत्कालका लागि रोकिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा चैत ९ गतेबाट एक सिंगे गैंडाको गणना थालिएको थियो ।

  • अन्ततः कांग्रेसले माग्ने भयो प्रधानमन्त्रीको राजिनामा, नयाँ सरकार बनाउन पहल गर्ने

    अन्ततः कांग्रेसले माग्ने भयो प्रधानमन्त्रीको राजिनामा, नयाँ सरकार बनाउन पहल गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्ने भएको छ । कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने गरी शीर्ष तहमा सहमति जुटाएको छ ।

    पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक रोकेर सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतबीच छलफल भएको थियो ।

    यो छलफलपछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र कांग्रेसकै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने सहमति जुटेको कांग्रेस नेताहरुलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।

    सहमति जुटेपछि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा समेत सोही प्रस्ताव पेश भएको छ । बैठकबाट निर्णय भएसँगै कांग्रेसले प्रधानमन्त्री ओलीको राजिनामा माग्ने भएको छ ।

  • नेपालमा थप १७९ जनामा कोरोना पुष्टि, १११ जना डिस्चार्ज

    नेपालमा थप १७९ जनामा कोरोना पुष्टि, १११ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप १७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षण गर्दा १७९ जनामा संक्रमण पुष्टि भएको हो।

    यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७७ हजार ६४० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १११ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ९६२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रिय संक्रमितको संख्या १ हजार ६ सय ४७ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३१ पुगेको छ ।

  • कोरोना खोप किन्न विश्व बैंकले दियो ७५ मिलियन अमेरिकी डलर ऋण

    कोरोना खोप किन्न विश्व बैंकले दियो ७५ मिलियन अमेरिकी डलर ऋण

    काठमाडौं । कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंक र नेपाल सरकारबीच शुक्रबार ७ करोड ५० लाख अमेरिकी डलर (करिब ८.७ अर्ब नेपाली रूपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशीर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक श्री फारिस हदाद-जर्भोसले हस्ताक्षर गरेका छन् ।

    ‘कम्तिमा पनि ७२% नेपाली जनसंख्यालाई खोप दिने सरकारको बृहत योजनाका लागि यस अतिरिक्त वित्तिय सहयोगले महत्वपूर्ण र समय-सान्दर्भिक सहयोग पुर्‍याउनेछ,’ अर्थ सचिव ​ ढुंगानाले भने,’कोभिड-१९ महामारीको स्वास्थ्य सम्बन्धी प्रतिकार्यका लागि कोभिड-१९ विरूद्धको खोपहरूको खरिदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरुपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्न यो अतिरिक्त वित्तिय सहयोग उपयोगी हुनेछ ।’

    गत वर्ष चैतमा विश्व बैंकद्वारा स्विकृत गरिएको २.९ करोड अमेरिकी डलर ( ३.३ अर्ब नेपाली रूपैँया) बराबरको कोभिड-१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी आयोजना मै यस अतिरिक्त वित्त सहयोग प्राप्त भएको हो । स्वास्थ्य र जनसंख्या मन्त्रालयको नेतृत्वमा यस आयोजनाको कार्यान्वयन स्वास्थ्य सेवा विभाग र अन्य सम्बद्ध संस्थागत निकायले गर्नेछन् ।

    यस अतिरिक्त वित्त सहयोगको ९० प्रतिशत हिस्साले कोभिड-१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको खरिद, आपुर्ति र वितरणलाई सघाउने छ ।

    बाँकी रकमले कोभिड-१९ संक्रमणको परिक्षण, पहिचान र उपचारका लागि विद्यमान जनस्वास्थ्यका उपायहरूलाई टेवा दिनेछ; कोभिड-१९ विरूद्धका खोपहरूको माग र स्विकार्यताको सुधार गर्न सामुदायिक संलग्नता र जोखिम संचारलाई प्रवर्द्धन गर्नेछ ; र आयोजनाको कार्यान्वयन, अनुगमन र मूल्यांकन, र सिकाईलाई पनि बढावा दिने बताइएको छ ।

    ‘कोभिड-१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामुलक र द्रुत पहुँच विस्तार गर्नु नेपालमा महामारीबाट जिवन रक्षा गर्न र उत्थानशील पुनर्लाभ प्राप्त गर्न निकै महत्वपूर्ण छ,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले भने,’विश्व बैंक नेपालमा जीवन रक्षा, सार्वजनिक स्वास्थ्य तयारी प्रणालीको सुदृढिकरण, र नेपालको आर्थिक पुनर्लाभलाई उत्प्रेरित गर्न सरकारको महामारी प्रतिकार्यलाई सहयोग गर्न प्रतिबद्ध छ ।’

    विकासशिल देशहरूका लागि आर्थिक कोष र ज्ञानको ठूलो स्रोतका रूपमा रहेको विश्व बैंकले विकासशिल देशहरूलाई यस महामारीका स्वास्थ्य सम्बन्धी, सामाजिक र आर्थिक असरहरू विरुद्धको प्रतिकार्यमा सघाउन विस्तृत तथा द्रुत कार्यक्रम अगाडि बढाएको छ।

    यस अन्तर्गत कम तथा मध्यम आय भएका देशहरूमा कोभिड-१९का खोपहरूको खरिद, वितरण, परिक्षण र उपचारमा सहयोग गर्नका साथै खोप प्रणालीको सुदृढीकरणका लागि बैंकले स्थापना गरेको १२ अर्व डलरको प्याकेज अन्तरगत यो सहायता प्राप्त भएको हो ।

    यस वित्तिय सहयोग विश्व बैंक समुह स्तरिय बृहत कोभिड-१९ प्रतिकार्य अन्तर्गत पर्दछ जसले संसारभरका १०० भन्दा बढी देशहरूमा स्वास्थ्य प्रणाली सुदृढीकरण गर्न, अति विपन्न घरधुरीलाई सहयोग गर्न र सबैभन्दा मारमा परेका मानिसहरूका लागि जिविकोपार्जन तथा रोजगारीका अवसरहरू कायम राख्नका लागि सहयोगी वातावरणको सिर्जना गर्न सहयोग गरिरहेको छ ।

  • विज्ञापन बोर्डमा हुमागाईं र चुरे-मधेश संरक्षण विकास समितिको अध्यक्षमा पौडेल नियुक्त

    विज्ञापन बोर्डमा हुमागाईं र चुरे-मधेश संरक्षण विकास समितिको अध्यक्षमा पौडेल नियुक्त

    काठमाडौं । विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त भएका छन् । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि खुला प्रतिस्पर्धाबाट हुमागाईलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    हुमागाईं यसअघि नेपाल टेलिभिजनको महाप्रवन्धकमा पनि खुला प्रतियोगिताबाट प्रवेश गरेका थिए । उनी अहिले ईमेज च्यानल प्रालिको कार्यकारी प्रमुखको रुपमा कार्यरत रहेका छन् ।

    अध्यक्षका लागि तीन जनाको आवेदन परेको थियो । जसमा हुमागाईंसँगै लेखनाथ शर्मा (पंगेनी) र रमेशकुमार खड्का थिए ।

    सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले फागुन २० गते मात्रै सूचना जारी गर्दै विज्ञापन बोर्डको अध्यक्ष बन्न इच्छुक व्यक्तिहरुलाई आवेदन माग गरेको थियो ।

    त्यस्तै बैठकले समितिको अध्यक्षमा डा। किरण पौडेललाई नियुक्त गरेको छ । डा। पौडेल वन क्षेत्रका विज्ञसमेत हुन् ।

    त्यस्तै विकास समितिका सदस्यहरुमा अवकाश प्राप्त सहायकरथी बाबुकृष्ण कार्की, डा। सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुण नियुक्त भएका छन् ।

    सरकारले चुरे क्षेत्रमा समस्या समाधानका लागि २०७१ असार २ गते राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति गठन गरेको थियो ।

  • राष्ट्रपतिद्वारा ढुंगेधाराको टुटी खोलेर मेलम्चीको पानी वितरणको उद्घाटन

    राष्ट्रपतिद्वारा ढुंगेधाराको टुटी खोलेर मेलम्चीको पानी वितरणको उद्घाटन

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन गरेकी छन्। काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा पानी खसालेर उनले दिउँसो बजे उद्घाटन गरेकी हुन्।

    उदघाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री तथा विभिन्न‍ विशिष्ट पदाधिकारीहरूको समेत उपस्थिति छ।

    मेलम्चीको पानी गत आइतबारदेखि नै वितरण गरिए पनि शुक्रबार मात्र औपचारिक उद्घाटन गरिएको हो। भृकुटीमण्डपमा बनाएका ढुंगेधारामा रहेको ३ वटा धारा खोलेर उद्घाटन गरिएको हो। मेलम्चीबाट आएको पानी २४ सैं घण्टा वितरण हुने गरी धारा बनाइएको छ।

    सार्वजनिक उपभोगका लागि यहाँ सधैं पानी छाडिने बताइएको छ। काठमाडौंमा पानी संकट टार्न सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पानी ल्याइएको छ। मेलम्ची आयोजनाबाट ल्याइएको पानी काठमाडौं र ललितपुरका विभिन्न स्थानमा केही दिनदेखि वितरण गरिराखिएको छ।

    हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन बिराएर पानी वितरण गरिँदै छ। अनामनगरको ८०० घरमा भने २४सै घण्टा पानी वितरण भइरहेको छ। आज बिहानदेखि बालाजु‚ सोह्रखुट्टे लगायतका स्थानमा पनि पानी वितरण थालिएको छ।

  • पर्वतारोहणमा अनुमति लिने संख्या उत्साहजनक, २० समुहका १५१ ले पाए परमिट

    पर्वतारोहणमा अनुमति लिने संख्या उत्साहजनक, २० समुहका १५१ ले पाए परमिट

    काठमाडौं । नेपालमा बसन्त ऋतुमा पर्वतारोहणमा जाने पर्यटक तथा नेपालीको संख्या उत्साहजनक रुपमा वृद्धि भइरहेको छ । कोरोना भाइरसको महामारीपछि पहिलो पटक पर्वतारोहण हुन लागेको हो । पर्यटन विभागका अनुसार बिहीबार साँझसम्म २० समूहका १ सय ५१ जनाले हिमाल आरोहण अनुमति लिएका छन् ।

    अहिलेसम्म सगरमाथा, अन्नपूर्ण, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल जान अनुमति लिएका छन् । सगरमाथा चढ्न सबैभन्दा बढी सात आरोही समूहले अनुमति लिएका छन् । यो सिजन नेपालमा हिमाल आरोहण सहज मानिन्छ । सोहीकारण बसन्त ऋतुमा हजारौं पर्यटक तथा उनीहरुका सहयोगी नेपाल आउने गर्छन् । तर, कोरोनाको महामारीले हिमाल आरोहण अभियानमा समेत नकारात्मक प्रभाव पारेको छ ।

  • मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन आज, राष्ट्रपतिले भृकुण्टीमण्डपबाट शुभारम्भ गर्दै

    मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन आज, राष्ट्रपतिले भृकुण्टीमण्डपबाट शुभारम्भ गर्दै

    काठमाडौं । काठमाण्डौमा मेलम्चीको पानीको वितरण आंशिक रुपमा शुरु भएको छ । पानी वितरणको शुरुवात भइसकेको छ । तर, यसलाई पुनः राष्ट्रपतिको हातबाट उद्घाटन गराइने भएको छ । पानी वितरणको उद्घाटन गर्न काठमाडौंको भृकुटीमण्डपमा ढुंगे धारा बनाइएको छ ।

    सोही धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । आज दिउँसो २ बजे राष्ट्रपति भण्डारीले मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजनाले जनाएको छ ।

    कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत जाने छन् । अहिले काठमाडौंको महाङ्काल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट पानी वितरण सुरु भइसकेको छ । बालाजु पोखरीमा समेत बिहीबारबाट पानी पठाउन थालिएको छ । आजबाट नयाँबजार, सोह्रखुट्टेलगायतका ठाउँमा पनि मेलम्चीको पानी वितरण गर्ने तयारी छ ।

  • वर्षापछि देशका अधिकांश स्थानका आकास खुल्यो

    वर्षापछि देशका अधिकांश स्थानका आकास खुल्यो

    काठमाडौं । बुधबारबाट परेको वर्षापछि देशका अधिकांश स्थानको आकास खुलेको छ । काठमाडौंमा तुवाँलो हट्ने क्रम शुरु भएको छ । यस भेगमा धेरैजसो स्थानमा आज घाम लागेको छ । वर्षाले घुलो र धुँवासहितको तुवाँलो हटाएपछि हावामा मडारिएको प्रदूषण समेत कम भएको हो । यद्दपी पूर्णरुपमा प्रदूषण हट्न अझै केही दिन लाग्ने बताइएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसोपछि पहाडी क्षेत्रको मौसम बद्ली भई केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ । अन्य ठाउँमा भने मौसम सफा हुने छ । पानी नपरेको र सुख्खापन बढि भएका कारण देशका धेरैजसो क्षेत्रका लागेको आगोले हावामा धुँवाको मात्र बढी भएको हो ।

  • भारतपछि अमेरिकाबाट नेपालमा धेरै पर्यटक आए

    भारतपछि अमेरिकाबाट नेपालमा धेरै पर्यटक आए

    काठमाडौं । नेपालमा पर्यटक आगमनको मूख्य स्रोत बजार भारत हो । त्यसपछि दोस्रो स्थानमा चीन रहने गरेको छ । तर, चीनले कोरोना महामारीका बीचमा आफ्ना नागरिकलाई यात्रामा प्रतिवन्ध लगाएको छ । यसले अन्य मुलुकबाट नेपालमा पर्यटक आगमन बढेको छ । मार्च महिनामा भारतपछि अमेरिकाबाट सर्वाधिक संख्यामा पर्यटक आएको तथ्यांकमा देखिएको छ ।

    अध्यागमन विभागका अनुसार मार्च २०२१ मा १४ हजार ९ सय ७७ जना पर्यटक नेपाल आए । एक महिनाको अविधिमा भारतबाट मात्र ७६५८ जना पर्यटक नेपाल आएका छन् । यसअघि जनवरी र फेब्रुअरी महिनामा भारतबाट ८७९१ जना पर्यटक नेपाल आएका थिए । भारतपछि अमेरिकाबाट दोस्रो बढी संख्यामा पर्यटक आएका छन् । अमेरिकाबाट मार्च महिनामा मात्र १७०३ जना पर्यटक आएका छन् । तेस्रो स्थानमा चीन रहेको छ ।

    चीनबाट १२०७ जना पर्यटक नेपाल आएको तथ्यांकमा उल्लेख छ । चौथो स्थानमा बेलायत रहेको छ । यहाँबाट ६६५ जना नेपाल आएको तथ्यांक छ । यस महिनामा बंगलादेशबाट भने ५६८ जना पर्यटक आएका छन् ।


    मार्च महिनामा पछिल्लो एक वर्ष यताकै बढी संख्यामा पर्यटक नेपाल आएका छन् । सरकारले ११ चैत २०७६ देखि लकडाउन सुरु गरेको हो । विभागका अनुसार मार्चमा ११ हजार २ पुरुष, ३ हजार ३ सय ६३ महिला र १२ अन्य लिङ्गी पर्यटक नेपाल आएका छन् । सन् २०२१ को पहिलो तीन महिनामा कुल ३२ हजार ९ सय ९७ जना पर्यटक नेपाल आएका छन् ।


    कुन महिनामा कुल कति पर्यटक नेपाल आए ?

    जनवरी : ८८७४
    फेब्रुअरी : ९१४६
    मार्च : १४९७७

  • सुन आयातको कोटा बढ्यो, दैनिक २० किलो आयात हुने

    सुन आयातको कोटा बढ्यो, दैनिक २० किलो आयात हुने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले दैनिक आयात गर्ने सुनको कोटा बढाएको छ । अब दैनिक २० किलोसम्म सुन आयात हुन सक्ने छ । सुन आयात गर्न अनुमति प्राप्त वाणिज्य बैंकहरुलाई बिहीबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको छ ।


    कोरोना महामारीमा विदेशी मुद्रा संचिती बढाउनु पर्ने भन्दै गत वर्ष सरकारले प्रतिदिन सुन आयातको परिमाण १० किलोमा झारेको थियो ।

    सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि २०६८ लाई संशोधन गरेर इजाजतपत्र प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुले आयात गर्ने सुनको दैनिक कोटा २० किलो पुर्‍याइएको नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले उल्लेख गरेको छ ।

    यसअघि धेरै माग हुने समयमा दैनिक २५ र सुख्खा सिजनमा प्रतिदिन २० किलो सुन आयात गर्न पाइन्थ्यो । सुनचाँदी व्यवसायीहरुले भने दैनिक ३० किलो सुन आयात गर्नुपर्ने माग सरकारसमक्ष राखेका थिए ।

  • नेपालमा थप १५२ जनामा कोरोना पुष्टि, ६५ जना डिस्चार्ज

    नेपालमा थप १५२ जनामा कोरोना पुष्टि, ६५ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप १५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो।

    यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ६५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ८५१ जना पुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रिय संक्रमितको संख्या १ हजार ५ सय ७९ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ जना रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३१ पुगेको छ ।

  • एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला पुनरावलोकन नगर्ने सर्वोच्चको आदेश

    एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला पुनरावलोकन नगर्ने सर्वोच्चको आदेश

    काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन नहुने भएको छ।

    प्रधानन्याायधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाश ढुंगानाको पूर्ण इजलासले नेकपा ब्यूँताउने विषयमा पुनरावलोकन नहुने फैसला गरेको हो ।

    गत फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा बदर गरेको थियो । त्यसविरुद्धमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पुनरावलोकनको निवेदन दिएका थिए।

  • घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पार्टी सदस्यबाट ६ महिना निलम्बित

    घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पार्टी सदस्यबाट ६ महिना निलम्बित

    काठमाडौं । नेकपा एमालेले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।

    स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पनि ६ महिना निलम्बन गरेका हुन् ।

    स्पष्टिकरण समयमा नदिएको, आत्मआलोचना नगरेको, स्पष्टिकरण पत्रमा अहंकार देखाएको, आफ्नो स्वार्थका लागि जनता र पार्टीको हितलाई क्षति पुर्याउन तयार रहेको, आपराधिक मनोवृति देखिाएको, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतीको बाटोमा पार्टीलाई समाहित हुने, पुराना गल्तीलाई स्वीकार गर्नुको साटो उल्टै स्पष्टिकरण सोध्ने काम गरेकाले निलम्बन गरिएको उल्लेख छ ।

    पत्रमा भनिएको छ, ‘यस्तै गतिविधिहरु कायम रहेमा तपाईलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ समेत गराउँदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सहि बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नुभन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु(प्रतिनिधिसभा सदस्य पद बाहेक) तथा पार्टी सदस्यताबाटै पार्टीको विधान २०४९ (शंशोधन २०७१ समेत)को धारा ४९ (ख) बमोजिम हाललाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।’

    यसअघि एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको थियो ।

  • संक्रमण बढेपछि काठमाडौं प्रवेश गर्नेहरुको ज्वरो नाप्न शुरु

    संक्रमण बढेपछि काठमाडौं प्रवेश गर्नेहरुको ज्वरो नाप्न शुरु

    काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै काठमाडौं उपत्यका प्रवेशमा पुनः कडाई शुरु भएको छ । काठमाडौं उपत्यका छिर्ने व्यक्तिमाथि नाकामा ज्वरो नाप्ने काम शुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले नाकामा ज्वरो आएको वा कोरोनाको लक्षण शंका देखिएका मानिस माथि ज्वरो नाप्ने काम शुरु भएको जानकारी नेपाली संचारमाध्यमलाई गराएका छन् ।

    उनका अनुसार चार दिन अघि देखि नाकामा रहेका हेल्थ डेस्कमा जनस्वास्थ्य कार्यालयबाट खटिएकाले कर्मचारीले ज्वरो नाप्ने काम थालेका छन् ।

    आगामी दिनमा स्वास्थ्य मापदण्ड पालनामा अझै कडाई गरिने उनको भनाई छ । नेपालमा पनि कोरोना भाइरसको दोस्रो लहर भित्रन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले कडाई थालेको हो ।

  • आज बिमस्टेकको मन्त्रीस्तरीय बैठक बस्दै

    आज बिमस्टेकको मन्त्रीस्तरीय बैठक बस्दै

    काठमाडौं । बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक आज बस्दैछ । यो बैठक श्रीलङ्काले आयोजना गरेको हो । बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्दैछन् । बैठक अपराह्न ३ बजे भर्चुअल रूपमा बस्ने तय भएको मन्त्रालयले जनाएको छ ।

    बुधबार भर्चुअल रूपमै आजको बैठकबारे तयारी बैठक बसेको थियो । सो बैठकमा भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका थिए । बैठकले बिहीबार भर्चुअल रूपमा बस्ने मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा संयुक्त वक्तव्यमा सम्बोधन हुने विषयवस्तु तय गरेको छ ।


    बुधबारको उच्चस्तरीय बैठकले सङ्गठनको विभिन्न सम्बन्धित विषयका बारेमा छलफल गर्दै मूल्य मान्यताको स्थापना, संस्थागत समृद्धि, बिमस्टेक अन्तर्गत सहयोगी क्षेत्र र त्यसलाई सुलभ बनाउने उपाय, बिमस्टेकको बडापत्र, बिमस्टेकको बृहत् योजनालगायतका कानुनी कागजातलाई अन्तिम रूप दिने कामलाई अगाडि बढाउन आवश्यक तयारी गरेको मन्त्रालयले जनाएको छ ।

    सम्पर्क सञ्जालको गठन, बिमस्टेक सचिवालयका लागि सन् २०२० को आर्थिक बजेट तथा सन् २०२१ का लागि अनुमानित बजेटका विषयलगायतका बारेमा पनि बैठकमा छलफल भएको थियो । बैठकमा १७औँ मन्त्रीस्तरीय बैठकको तयारीका बारेमा पनि बृहत् छलफल गरेको थियो ।


    बुधबारको बैठकमा अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्चाधिकारीको सहभागिता रहेको थियो । बिमस्टेकका सदस्य राष्ट्रहरूमा नेपालसहित बङ्गलादेश, भुटान, भारत, श्रीलङ्का, म्यानमार र थाइल्यान्ड रहेका छन् ।

  • मेलम्चीपछि सर्वसाधारणमा सेयर जारी गर्ने तयारीमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड

    मेलम्चीपछि सर्वसाधारणमा सेयर जारी गर्ने तयारीमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड

    काठमाडौं । काठमाडौंमा मेलम्ची खानेपानी आयोजना कार्यान्वयनमा आएसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । नेपाली संचारमाध्यमहरुका अनुसार मेलम्चीको पानी वितरणले पूर्णता पाएपछि कम्पनीको आर्थिक अवस्थामा सुधार हुनेछ ।

    त्यसपछि कम्पनीले सर्वसाधारणका लागि आइपिओ निकाल्ने भएको छ । कम्पनीप्रति आम मानिसको अपनत्व बढाउन र नाफा वृद्धिका लागि यो योजना सफल हुने अपेक्षा लिइएको छ । नेपालमा लगातार तीन वर्ष नाफामा देखिएको कम्पनीले सेयर जारी गर्न पाइने व्यवस्था छ ।

    केयूकेएलले अहिले दैनिक आठ करोड लिटर पानी वितरण गर्छ । मेलम्चिको पानी आएपछि दैनिक १७ करोड लिटर क्षमता थप भएको छ । मेलम्चीको दोस्रो आयोजनाअन्तर्गत याङ्ग्री र लार्के खोलाको १७\१७ करोड लिटर पानी थप भएपछि केयूकेएलको क्षमता दैनिक ५१ करोड लिटर पानी वितरण गर्ने पुग्नेछ ।

    केयूकेएलमा काठमाडौँ महानगरपालिकाको २४ प्रतिशत, ललितपुर महानगरपालिकाको ८ प्रतिशत, काठमाडौँ उपत्यकाभित्रका १६ वटा नगरपालिकाको ८ प्रतिशत गरी ४० प्रतिशत सेयर हिस्सा स्थानीय तहहरूको रहेको छ ।

  • रोजगारीमा विदेश जाँदा बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने

    रोजगारीमा विदेश जाँदा बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने

    काठमाडौं । वैदेशिक रोजगारी जाने श्रमिकको अब अभिमुखीकरण तालिम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी मिल्नु पर्ने भएको छ । त्यसरी नमिलेको पाइएमा भने विमानस्थल बाटै फर्काइने भएको छ ।

    वैदेशिक रोजगार विभागले बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकले विदेश जानुपूर्व अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिन गरेको वा नक्कली बायोमेट्रिक लिएको अवस्था भए उनीहरु विमानस्थलबाटै फर्कनुपर्ने स्पष्ट पारेको छ ।

    यो व्यवस्था १ वैशाखबाटै लागु हुने भएको छ । पछिल्लो समयमा विभागले गरेको अनुगमनका क्रममा वैदेशिक रोजगारीका लागि अनिवार्य गरिएको अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिने, दिने गरिएको पाइएको छ ।

    तोकिएको समयभित्र तालिम नलिएको तथा अर्कै व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम गराइएको भेटिएको भन्दै विभागले अब कडाई गर्न लागेको छ । विमानस्थलको श्रम कक्षबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेट्रिक हाजिरी विवरण व्यक्ति स्वयंको उपस्थितिमा मिलान गराउँदा आधिकारिक नभएको पाइएपछि यस्तो नियम ल्याइएको हो ।


    नक्कली बायोमेट्रिकको प्रयोग गरी विदेश जाँदा श्रमिक स्वयमले असुविधा भोग्नुपर्ने
    भन्दै यस्तो जोखिम नलिन समेत आह्वान गरेको छ । नक्कली बायोमेट्रिक प्रयोग गर्दा बीमा तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट वञ्चित हुन्छ ।

    बायोमेट्रिक नमिल्दा विदेशबाट पुनः श्रम स्वीकति प्राप्त गर्न नसक्ने तथा गन्तव्य मुलुकसम्बन्धी जानकारी, वैदेशिक रोजगारसम्बन्धी कानून तथा अन्य आवश्यक कानुनसम्बन्धी जानकारी, सुरक्षित रोजगारी तथा अन्य हकअधिकारका विषयबाट वञ्चित हुने विभागले स्पष्ट पारेको छ ।

    अभिमुखीकरण तालिम प्रदायक संस्थाले सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई हाजिरी विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीमा उपलब्ध गराउनुपर्ने भएको छ ।

  • उपत्यकामा वर्षा, तुवाँलो हट्ने सम्भावना

    उपत्यकामा वर्षा, तुवाँलो हट्ने सम्भावना

    काठमाडौं । काठमाडौं उपत्यकासहित पूर्वी र मध्य पहाडी भेगमा बुधबार साँझबाट हल्का वर्षा शुरु भएको छ । यो वर्षापछि एक सातादेखि आकासमा लागेको तुवाँलो हट्ने अपेक्षा गरिएको छ । आज कोठमाडौंमा भिजिविलिटी समेत केही बढेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार काठमाडौं उपत्यका, गण्डकी प्रदेश र प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ ।

    वर्षाले अहिले देखिएको वायु प्रदुषण र तुवाँलो घटाउने भएको हो । यद्दपी तुवाँलो पुरै हट्न समेत केही समय अझै लाग्नेछ । हल्का वर्षा भएपनि ठूलो वर्षाको सम्भावना तत्काल नभएका कारण वायु प्रदुषण कम नहुने देखिएको हो ।

  • नेपालमा थप १६२ जनामा कोरोना पुष्टि, ५९ जना डिस्चार्ज

    नेपालमा थप १६२ जनामा कोरोना पुष्टि, ५९ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षण गर्दा १६२ जनामा संक्रमण पुष्टि भएको हो।

    थपिएका मध्ये काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाहरूमा ६७ जना रहेका छन् । भक्तपुरमा ४ जना, ललितपुरमा १३ जना र काठमाडौंमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ५९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ७८६ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ४ सय ९३ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३० पुगेको छ ।

  • नेपाली सेयर बजारमा उछाल, नेप्से फेरि २६०० माथि

    नेपाली सेयर बजारमा उछाल, नेप्से फेरि २६०० माथि

    काठमाडौं । सेयर बजारमा उछाल आएको छ । मंगलबार दोहोरो अंकले बढेको बजार आज लगातार दोस्रो दिन दोहोरो अंकले बढेको हो ।पछिल्ला दुई दिनमा नेप्से करिब ७४ अंकले बढेको छ ।

    सूचकसँगै कारोबार रकममा पनि उत्साहजनक रहेको छ । अद्धिल्लो साता औसतमा दैनिक ४ अर्ब हाराहारीमा रहेको कारोबार रकम यससाता दैनिक ६ अर्ब माथि पुगेको हो ।

    आज सेयर बजार मापक सूचक नेप्से ४३.३६ अंकले बढेर २६१९.०२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०९ कम्पनीको ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार ५३८ रुपैयाँ बराबरको १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता सेयर किनबेच भएका छन् ।

    बुधबार कारोबारमा आएका १३ वटा समूहमध्ये व्यापार बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । निर्जीवन बीमा समूहको परिसूचक ३४९.६८ अंकले बढेको छ भने व्यापार समूह ९८.९९ अंकले घटेको छ ।

    कारोबारमा आएका २०९ कम्पनीमध्ये १२९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको मूल्यमा गिरावट आएको छ । २४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज एचआडीसीएलको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ३६ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपर तामाकोशी ३१ करोड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक ३० करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

    उच्च अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । महिला लघुवित्त, वोमी लघुवित्त, अजोड इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    बढ्दो बजारमा आज रैराङ हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ३.२९ प्रतिशत गुमाएका छन् ।

  • नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत पुग्ने विश्व बैंकको संशोधित प्रक्षेपण

    नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत पुग्ने विश्व बैंकको संशोधित प्रक्षेपण

    काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

    विश्व बैंकले ‘साउथ एसिया इकोनोमिक फोकसः साउथ एसिया भ्याक्सिनेट्स’ रिपोर्ट सार्वजनिक गर्दै उक्त प्रक्षेपण गरेको हो। विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको जनाएको छ ।

    कोभिड–१९ विरुद्धको खोपको वितरण र यसले सिर्जना गरेको सहज गतिविधिका कारण अर्थतन्त्रमा तीव्र सुधारको संकेत देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    त्यस्तै प्रतिवेदनले आगामी आवमा भने मुलुकमा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने उल्लेख गरेको छ । यसअघि विश्व बैंकले गत जनवरीमा २.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको थियो ।

    उक्त अनुमानलाई संशोधन गरी विश्व बैंकले नयाँ प्रक्षेपण गरेको हो । नेपालसँगै बंगलादेश, पाकिस्तानको समेत आर्थिक वृद्धिदर बैंकले यसअघि गरेको प्रक्षेपणभन्दा बढी हुने संशोधित अनुमान रहेको छ ।

    यसअघि सन् २०२० को अक्टोबरमा पनि बैंकले १.४ प्रतिशत नै आर्थिक वृद्धिदर हासिल हुने जनाएको थियो । यसबाहेक दक्षिण एसियामा सन् २०२१ मा आर्थिक वृद्धिदर ७.२ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । त्यस्तै सन् २०२२ मा ४.४ प्रतिशत वृद्धि हासिल हुने समेत उसले उल्लेख गरेको छ ।

    बंगलादेश, नेपाल र पाकिस्तान सबैको आर्थिक वृद्धिदर बैंकले यसअघि गरेको प्रक्षेपणभन्दा बढी हुने संशोधित अनुमान गरेको छ।

  • संसदलाई बिजनेश बिहीन बनाउँदै पुनः संसद विघटनको खेल हुँदैछ- देव गुरुङ

    संसदलाई बिजनेश बिहीन बनाउँदै पुनः संसद विघटनको खेल हुँदैछ- देव गुरुङ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकार संविधान समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् ।

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुरुङले संसदलाई बिजनेश बिहीन बनाउँदै पुनः संसद विघटनको खेलमा लागेको आरोप लगाएका हुन् । उनले सरकार निर्वाचन गराउन भन्दा पनि संविधान सिध्याउन उद्दत देखिएको बताएका छन् ।

    ‘नेता गुरुङले ताजा जनादेशको कुरा उठाइरहेको छ । ताजा जनादेश भनेको के हो ? संविधानले नचिन्ने ताजा जनादेश हुन सक्छ कि सक्दैन । संविधानले ५ वर्षको निर्वाचनको सेड्युल तोकेको छ । संविधानले तोकेको समय भन्दा अगाडि हुने निर्वाचनहरु गैरसंवैधानिक निर्वाचन ताजा जनादेश र निर्वाचन हुन सक्दैन । सरकार निर्वाचन गर्नभन्दा पनि संविधान सिध्याउन उद्दत देखिन्छ’, उनले भने, ‘सरकारले सदनलाई बिजेनश बिहीन बनाइरहेको छ । सदनलाई विजनेश दिनुपर्ने सरकारको दायित्व हो । विभिन्न विषयगत समितिहरुबाट आएका विधेयकहरु अघि बढ्न सकेको छैन् । सरकारको मनस्थिति पुस ५ गतेको मनस्थितिमा छ । फेरि पनि संसद भंग गर्ने र मध्यावधी निर्वाचनमा जाने दिशामा उद्धत रहेको देखिन्छ । यदी सदन विघटन र अवरुद्ध भयो भने संविधानका झण्डै ५० प्रतिशत धारा, दफाहरु निष्कृय हुन्छ । यो हुनु भनेको प्रकारान्तरले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान विफल हुनु हो । संविधानलाई विफल तुल्याउने दिशामा सरकार उद्दत भएर लागेको देखिन्छ ।’

    सांसद गुरुङले सरकार काम चलाउ भएको बताएका छन् । उनले सर्वोच्च अदालतको गत फागुन ११ गतेको फैसलाले संसदको मात्रै पुर्नस्थापना गरेको भन्दै सरकारको पुर्नस्थापना नगरेको स्पष्ट पारेका छन् ।

    ‘संसद विघटन भएको अवस्थामा काम चलाउमा परिणत भएको देखिन्छ । र काम चलाउ सरकार भएको अवस्थामा सर्वोच्च अदातले पुनःस्थापना गर्दा होस् या विघटनलाई सदर गर्दा होस् । दुवै अवस्थामा सरकारको पुनःस्थापना गरेको छैन् । २०४७, ०६३ र फागुन ११ गतेको फैसलामा पनि संसदको पुनःस्थापना गरेको छ’, उनले भने, ‘सरकारको पुनःस्थापना गरेको छैन् । त्यसकारण सरकार स्वतः काम चलाउ सरकारको अवस्थामा परिणत भयो । तर, यो काम चलाउ सरकारको रुपमा अझै पनि स्वीकार गरिरहेको छैन् । त्यसकारण संविधानलाई मिच्ने संविधानलाई निशेध गर्ने र संविधानको सर्वोच्चतालार्य निषेध गर्ने प्रवृति देखिरहेको छ । यो प्रवृतिलाई सच्याउनुपर्छ ।’

    उनले सर्वोच्च अदालतले दल विभाजनको फैसला गरेकोले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताएका छन् । उनले २३ गते एक महिना पुग्ने भन्दै विश्वासको मत नलिए के हुने भन्ने अवस्था आएको बताएका छन् ।

    ‘आज १८ गते भइसक्यो । २३ गते ३० दिन पुग्दैछ । ३० दिनभित्र विश्वासको मत लियो भने वैधानिकता हासिल हुनसक्छ । अन्यथा सरकारको संवैधानिक हैसियत के हुने हो भन्ने प्रश्‍न उठ्ने देखिन्छ,’ उनले भने ।

  • भारतबाट सम्पर्कमा आए महोत्तरीबाट हराइरहेका सात किशोरी

    भारतबाट सम्पर्कमा आए महोत्तरीबाट हराइरहेका सात किशोरी

    काठमाडौं । मंगलबार साँझबाट हराइरहेका सात जना किशोरी सम्पर्कमा आएका छन् । उनीहरुलाई भारतबाट उद्धार गरिएको हो । मंगलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिकारकिशोरी अपहरणमा परेको अनुमान थियो।

    भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई बिहारको सितामढीबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    उद्धार गरिएकाहरुमा स्थानीय १८ वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १८ वर्षीया नगिना पासवान, १० वर्षीया रंजना पासवान र १० वर्षीया सीमा पासवान रहेका छन्।

    उनीहरु समूहमै घाँस काट्न घर नजिकैको चौरमा दिउँसो गएको र साँझसम्म घर नफर्किएपछि स्थानीय त्रसित भएका थिए ।

  • गैरआवासीय नेपालीको लगानी रहने कम्पनी दर्ता सम्पन्न, अब आइपीओ जारी गर्ने तयारी

    गैरआवासीय नेपालीको लगानी रहने कम्पनी दर्ता सम्पन्न, अब आइपीओ जारी गर्ने तयारी

    काठमाडौं । विदेशमा परिश्रम गरी कमाएको रकमले मातृभुमी नेपालमा लगानी गर्ने उद्देश्यले खोलिएको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड नामक कम्पनी औपचारिक रुपमा दर्ता भएको छ ।

    गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को नेतृत्वमा लगानी कम्पनी दर्ता भएको हो । यो कम्पनीमा नेपाल सरकारको ५ प्रतिशत शेयर रहने भएका छ । बाँकि लगानी भने विदेशमा बस्ने गैरआवासीय नेपालीको रहने भएको छ ।

    सङ्घले मङ्गलबार कम्पनी रजिष्ट्रारको कार्यालयबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको छ । सङ्घका अध्यक्ष कुमार पन्तका अनुसार अहिलेसम्म उक्त कम्पनीमा दुई अर्ब रुपियाँ लगानी प्रतिबद्धता प्राप्त भइसकेको छ । यसै हप्ताबाट उक्त रकम प्राप्त हुन थाल्नेछ ।
    सङ्घले उक्त कम्पनीमार्फत नेपालका उद्यम, पूर्वाधार र व्यवसायका क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । प्रारम्भिक चरणमा दस अर्ब रुपियाँ लगानी गर्ने योजना बनाएको कम्पनीका लागि ८५ प्रतिशत रकम प्राथमिक सेयर (आईपीओ)मार्फत जुटाउने तयारी छ ।

    उक्त प्रक्रिया पनि छिटै सुरु गरिने अध्यक्ष पन्तले जानकारी दिए । उनका अनुसार कम्पनीको आईपीओमा गैरआवासीय नेपालीले आवेदन दिन सक्ने छन् । आईपीओमा तोकिएकोभन्दा अधिक रकम प्राप्त भएको अवस्थामा उक्त रकमलाई पनि लगानी गर्ने सुविधासमेत सङ्घलाई उपलब्ध हुने छ ।

    सङ्घका अनुसार अहिलेसम्म लगानीका लागि १७० वटा परियोजनाको प्रस्ताव आएको छ । त्यसमध्ये दुई दर्जन परियोजना छनोट गरेर सम्भाव्य क्षेत्रमा लगानी गर्ने सङ्घले जनाएको छ । सम्भाव्यता अध्ययनका लागि सङ्घले बैङ्कर अनलराज भट्टराईको संयोजकत्वमा विज्ञ टोली पनि गठन गरेको छ ।

  • कोरोना महामारीका बीच ब्राजिलमा राजनीतिक संकट, सेना प्रमुखहरुको सामुहिक राजिनामा

    कोरोना महामारीका बीच ब्राजिलमा राजनीतिक संकट, सेना प्रमुखहरुको सामुहिक राजिनामा

    काठमाडौं\एजेन्सी । कोरोना भाइरसको उच्च संक्रमण दर र व्यापक मानवीय क्षति भोगेको ब्राजिल राजनीतिक संकटमा समेत फसेको हो । राष्ट्रपति जइर बोल्सोनारुमाथि एक पछि अर्को राजनीतिक सङ्कट थपिएका छन् । सोमवार विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएका थिए ।

    मंगलबार ब्राजिलका तीन वटै तहका सेनाका प्रमुखले सामुहिक राजिनामा दिएका छन् । सेना, नौसैनिक तथा हवाई सेनाका प्रमुखले सामुहिक राजिनामा बुझाएको बीबीसीले लेखेको छ । राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको उनीहरुको आरोप छ ।

    कोरोनाभाइरसले गरेको क्षति र यसको नियन्त्रणमा सरकारको उदासिनतालाई लिएर यहाँ राष्ट्रपतिमाथि आलोचना बढेको छ । राष्ट्रिपति बोल्सोनारुले कोरोना भाइरसलाई मामुली बताउने गर्थे । उनी दुई वर्षअघि सत्तामा आएका हुन् । कोरोना महामारीमा क्वारेन्टीनसम्बन्धी नियमको आलोचना गरेका उनकै कारण ब्राजिलमा मानिसहरुले अकालमा ज्यान गुमाउन परेको धेरैको धारणा छ।

    उनी भने जनस्वास्थ्य सम्बन्धी नियमले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने बताउँदै आएका छन् । कोरोनाभाइरसका कारण उत्पन्न स्थितिबारे धेरै हल्ला भएको उनको तर्क छ । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ३ लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छ । यो अमेरिका भन्दा दोस्रो बढी मानवीय क्षति हो । यहाँ १ करोड २५ लाखमा सङ्क्रमण पुष्टि भइसकेको छ ।

  • खुल्दैछ काठमाडौंको आकास, तुवाँलो भने अझै रहने

    खुल्दैछ काठमाडौंको आकास, तुवाँलो भने अझै रहने

    काठमाडौं । राजधानी काठमाडौंमा घाम देखिन थालेको छ । यसले भिजिविलिटीमा सुधार आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा आज बिहान दुई हजार मिटरसम्म भिजिविलिटी रहेको छ । यो चार हजार मिटरसम्म पुग्ने अनुमान छ । यो हेलिकोप्टर उडान सम्मलाई पुग्ने भिजिविलिटी हो । हवाईजहाज भने १५ सय मिटरको भिजिविलिटीमै उड्न सक्छन् ।

    आज देशको पहाडी भू–भागहरुमा मौसम आंशिक बदली रहेको विभागले जनाएको छ । बाँकी भू–भागमा बदली नरहे पनि तुवाँलो भने लागिरहेको छ । देशका विभिन्न भेगका वनमा लागेको डढेलो नियन्त्रणमा नआएकाले तुवाँलो अझै केही दिन कायम नै रहने विभागको भनाई छ ।

    अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

    प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक, दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ । रातमा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले उल्लेख गरेको छ ।

  • महोत्तरीमा घाँस काट्न निस्केका ७ किशोरी वेपत्ता

    महोत्तरीमा घाँस काट्न निस्केका ७ किशोरी वेपत्ता

    महोत्तरी । महोत्तरीमा मंगलबार घरबाट घाँस काट्न निस्किएका ७ जना किशोरी वेपत्ता भएका छन् । स्थानीय संचारमाध्यमहरुका अनुसार भंगहा नगरपालिका वडा नम्बर ८ स्थित धर्मपुर टोलका ७ जना किशोरी एकै पटक वेपत्ता भएका छन् । उनीहरूको उमेर १० वर्षदेखि १८ वर्षको बीचमा रहेको छ ।

    परिवारलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार वेपत्ता हुनेमा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान छन्।

    मंगलबार ४ बजेतिर घाँस काट्न निस्केका उनीहरु राती अबेरसम्म घर नफर्केपछि परिवारले सोधखोज थालेका थिए ।

    प्रहरीले खबर पाएलगत्तै खोजी थालेको बताएको छ । किशोरीहरु यसअघि पनि यसरी नै सामुहिक रुपमा घाँस काट्न जाने गरेका थिए । सधै समयमा घर आउने उनीहरु नआएपछि परिवारमा भने चिन्ता बढेको छ ।

  • थ्री नेसन्स कप जित्ने फुटबलरले जनही एक लाख पाउने

    थ्री नेसन्स कप जित्ने फुटबलरले जनही एक लाख पाउने

    काठमाडौं । थ्री नेसन्स कप फुटबलको उपाधी जित्ने फुटबलरले जनही एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेशन्स कप जित्ने टोलीका प्रत्येक सदस्यलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । टोलीका प्रत्येक सदस्यले एन्फाबाट एक\एक लाख रुपैयाँ प्राप्त गर्ने भएका हुन् ।

    थ्री नेशन्स कपको उपाधि जित्दा नेपालले पुरस्कारबाट प्राप्त गरेको पाँच हजार अमेरिकी डलर समेत टोलीका सदस्यलाई नै वितरण गरिने भएकोछ । सोमबार नेपालले बङ्गलादेशलाई २–१ ले हराउँदै यो उपाधि जितेको हो ।

    उपाधिसँगै नेपालले ट्रफी र पाँच हजार अमेरिकी डलर पाएको हो । टोलीका २३ जना खेलाडीमा पाँच हजार अमेरिकी डलर वितरण गरिने भएको हो । त्यसैगरी घरेलु मैदानमा ऐतिहासिक जित हात पारेकोमा प्रत्येक खेलाडीलाई प्रोत्साहनस्वरुप थप एक एक लाख प्रदान गरिने एन्फाको भनाई छ ।