Category: फिचर

  • ‘प्रचण्ड रोल्पा, सिराहा, कीर्तिपुर हुँदै चितवन जानुभयो, जुल्फी कोरेर अब जाने ठाउँ छैन’

    ‘प्रचण्ड रोल्पा, सिराहा, कीर्तिपुर हुँदै चितवन जानुभयो, जुल्फी कोरेर अब जाने ठाउँ छैन’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्प कमल दाहाल प्रचण्डलाई चितवनबाट आफूहरूले जिताएको बताएका छन् ।

    ट्रेड युनियन महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनतालाई प्रणाम गरेर आफुहरुले प्रचण्डलाई जिताएको बताएका हुन् ।

    ‘७४ सालमा प्रचण्डलाई जनतालाई प्रणाम गरेर चितवनमा हामीले जिताएको । ७० मा बत्ती निभाएर बाकस साटेर जितेका हुन् ।

    त्यो भन्दा अगाडि कीर्तिपुर हारिसक्नु भएको थियो,’ उनले भने, ‘उहाँ त यस्तो ‘फ्लोटिङ’ हुनुहुन्छ नी कहिले रोल्पा, कहिले सिराहा, कहिले कीर्तिपुर जानुभयो अब जाने ठाउँ कतैपनि छैन ।’

    जनयुद्धको बेला प्रचण्ड जेलवाला तेल लाएर जुल्फी कोरेर दिल्ली बसेको उनको टिप्पणी छ । प्रधानमन्त्री ओलीले जनयुद्धमा प्रचण्ड जंगल नबसेको र दिल्लीमा बसेर कार्यकर्तालाई जंगलमा बसाएको बताए ।

    ‘जनयुद्धमा उहाँ जंगल बसेको होइन । त्यसबेला दिल्ली हुनुहुन्थ्यो हामीलाई थाहा छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कार्यकर्ता जंगल बसाउनुभयो । जेलवाला तेलले जुल्फी कोरेर उहाँ दिल्ली बस्नुहुन्थ्यो ।’

    त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो पहिलो सरकार ढाल्नेमा नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम रहेको दाबी गरेका छन् ।

    ओलीले २०७२ सालमा आफ्नो नेतृत्वमा बनेको सरकार माधव नेपालसहितका नेताले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उकासेर ढालेको दाबी गरेका हुन् ।

    प्रचण्ड–नेपालसँग पार्टी चलाउने दम र खुबी दुवै नरहेको भन्दै उनले तीन महिनापछि प्रचण्ड, माधव नेपालसहितका नेताहरू नागरिक समाजमा रूपान्तरण हुने पनि बताए ।

  • प्रधानमन्त्रीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

    प्रधानमन्त्रीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री शर्मा ओली सहित चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

    बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले अदालत अवहेलना मुद्दामा लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

    इजलासले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीलाई आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

    पूर्व प्रधाननन्यायाधीशहरु अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतमा विचाराधीन मुद्दामा प्रभावित पार्ने गरि बोलेको भन्दै अलग अलग निवेदन दर्ता भएका थिए।

    यस्तै पूर्व सभामुख ढुंगानाले पनि अदालतमा विचाराधीन मुद्दामा प्रभावित पार्ने गरि बोलेको भन्दै अलग अलग निवेदन दर्ता भएका थियो।

  • विपी राजमार्गको पुनःनिर्माणपछि नेपाललाई हस्तान्तरण

    विपी राजमार्गको पुनःनिर्माणपछि नेपाललाई हस्तान्तरण

    काठमाडौं । जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

    बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो।

    पुनःनिर्माण गरिएको विपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए।

    उनले नेपालको उर्जा, यातायात, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना र कृषि क्षेत्रमा जापान सरकारको योगदान अतुलनीय रहेको बताए।

    ‘नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मेरो व्यक्तिगत तर्फबाट जापानको यो साथ र सहयोगको हृदयदेखि नै प्रशंसा गर्न चाहान्छु,’ उनले भने।

    कार्यक्रममा जापनी राजदुत मासामिची साइगोले नेपाल र जापानबीच गहिरो मित्रता रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारको साथ सधैं निरन्तर रहने बताइन्।

    राजधानीलाई पूर्वी तराईसँग जोड्ने १ सय ६० किलोमिटर लामो विपी राजमार्ग जापानले १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो।

    हस्तान्तरण गरेको दुई महिना नबित्दै २०७२ वैशाख १२ गतेको महाभुकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो। भूकम्पपछिको पुनःनिर्माण पनि जापानले नै जिम्मा लिएको थियो।

    जापानीज निर्माण कम्पनी हाजमा अण्डो करर्पोरेशनले सन् २०१९ जुलाई ३ मा सुरु गरेको पुनःनिर्माण करिब १८ महिनामा निर्माण सम्पन्न गरेको थियो।

    पुनःनिर्माणमा गिट्टी, बालुवा बाहेक अधिकांश निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो।

  • दोहोरो अंकले घट्यो नेप्से,कारोबार इतिहासकै सर्वाधिक

    दोहोरो अंकले घट्यो नेप्से,कारोबार इतिहासकै सर्वाधिक

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको कारोबार हुने अन्तिम दिन बिहिबार नेप्से १६.५५ अंकले घटेर २४२५.२९ विन्दुमा कायम भएको हो ।

    यसदिन २०९ कम्पनीको २ करोड २१ लाख ५३ हजार ९ सय ८१ कित्ता सेयर किनबेच भएको छ ।

    ९ अर्ब ९८ करोड ८४ लाख ५६ हजार १ सय २७ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १२ वटा समूह मध्ये ३ वटाको परिसूचक ओरालो लागेका छन् ।

    बिहिबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यस अघि २०७७ साल माघ ११ गते आइतबार नेप्सेमा ९ अर्ब ३७ करोड ६० लाख बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १२ वटा समूहमध्ये ३ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ९ वटा समूहको परिसूचक राताम्मे भएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ४१०.३९ अंकले बढेको छ भने विकास बैंक समूह ४३.२५ अंकले घटेको छ ।

    कारोबारमा आएका २०९ कम्पनीमध्ये ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने ११९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज पनि लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । यससाता सर्वाधिक कारोबार हुँदै आएको यसको आज सबैभन्दा धेरै ५७ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा हिमालय डिस्ट्रिलरी र पुनर्बीमा कम्पनी समान ३२÷३२ करोड हुँदै शीर्ष तीनमा रहे ।

    आज ९ प्रतिशत भन्दा बढीले बढ्ने कम्पनीहरुमा सुर्योदय लघुवित्त वित्तिय संस्था, प्रभु लाईफ इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, सारथी नेपाल लघुवित्त, एभरेष्ट इनस्योरेन्स कम्पनी, गरिमा विकास बैंक, शिखर इन्स्योरेन्स, हिमालयन डिस्ट्रिलरी र सपोर्ट माइक्रोफाइनान्स रहेका छन् ।

  • निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई बोलायो

    निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई बोलायो

    काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली र पुष्पलकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहलाई बोलाएको छ ।

    सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिरहेका बेला आयोगले दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले पार्टीको नाम र चुनाव चिन्हमा दुवै समूहले आ–आफ्नै दाबी गर्दै आइरहेकाले छलफलका लागि शुक्रबार बिहान करिब ११ बजेका लागि बोलाइएको जानकारी दिए ।

    आयोगले यसअघि नेकपा विभाजनका लागि कानूनी रुपमा स्वीकृति नदिने निर्णय गरिसकेको छ । सरकारले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेर सोही अनुसार तयारी गरिरहेको छ ।

    त्यस्तै आयोगले पनि नामवली प्रकाशन गर्ने, राजनीतिक दल दर्ता गर्नेलगायतका कार्यहरु गरिरहेको छ । ७७ वटै जिल्लामा मतदान केन्द्र र मतदान स्थलको निर्धारणलगायतको तयारी भइरहेको छ ।

    त्यस्तै आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ ।

  • नेपालमा झनै बढ्यो भ्रष्टाचार, भ्रष्टाचार हुने मुलुकको ११७ औं स्थानमा

    नेपालमा झनै बढ्यो भ्रष्टाचार, भ्रष्टाचार हुने मुलुकको ११७ औं स्थानमा

    काठमाडौं । नेपालमा भ्रष्टाचार झनै बढेको तथ्यांक सार्वजनिक भएको छ ।

    भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सूचकांक नेपाल गत वर्षभन्दा पनि खस्किएको छ ।

    नेपाल ३३ अंकसहित गत वर्षभन्दा ४ स्थान तल झरेको छ । गत वर्ष ३४ अंकसहित नेपाल ११३औं स्थानमा थियो ।

    यो वर्ष ३३ अंक पाउदा अरु ४ मुलुकले उछिनेर नेपाल ११७औं स्थानमा पुगेको हो । १ सय ८० वटा देश समेटिएको उक्त प्रतिवेदनले विश्वभर भ्रष्टाचार नियन्त्रणका लागि एकदमै न्यूनस्तरमा कदम चाल्ने गरिएको भन्दै चिन्ता जनाएको छ। यस्तै, नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको देखाएको छ।

    राजनीति, न्यायमा पहुँच, वित्तीय अनुशासनसहित ६ वटा मापदण्डमा गरिएका अनुसन्धानका आधारमा प्राप्त अंकहरूको औसत निकालेर उक्त सूचकांक तयार पारिने जननाइको छ।

    ट्रान्सपरेन्सी इन्टरनेशनलले ४० भन्दा कम अंक ल्याउने देशलाई एकदमै भ्रष्ट देशको सूचीमा राख्ने गर्छ।

    यस्ताे छ दक्षिण एशियाली मुलुकहरूकाे अवस्था

    सीपीआई २०२० मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान ६८ अङ्क प्राप्त गरी २४ औं स्थान, मालदिभ्स ४३ अङ्क प्राप्त गरी ७५ औं स्थान, भारत ४० अङ्क प्राप्त गरी ८६ औं स्थान, श्रीलङ्का ३८ अङ्क प्राप्त गरी ९४ औं स्थान, नेपाल ३३ अङ्क प्राप्त गरी ११७ औं स्थान, पाकिस्तान ३१ अङ्क प्राप्त गरी १२४ औं स्थान, बङ्गलादेश २६ अङ्क प्राप्त गरी १४६ औं स्थान र अफगानिस्तान १९ अङ्क प्राप्त गरी १६५ औं स्थानमा रहेका छन् । छिमेकी मुलुक चीन ४२ अङ्क प्राप्त गरी ७८ औं स्थानमा रहेको छ ।

    सीपीआई २०२० ले १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणा मापन गरेको छ । यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउँछ । विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा सम्पन्न गरिएका विभिन्न सर्वेक्षणको आधारमा टीआईद्वारा यो सूची तयार पारिएको हो । टीआईले यो सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दैआएको छ भने यस सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको छ ।

    कम र बढी भ्रष्ट मुलुक कुन ?

    यस वर्षको सूचकाङ्कमा समावेश १८० देशमध्ये डेनमार्क र न्युजील्याण्डले कुल १०० मा ८८ अङ्क प्राप्त गरी सबै भन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने साउथ सुडान र सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएका छन् ।

    सीपीआई २०२० मा दुईतिहाई मुलुकले ५० भन्दा कम अंक (स्कोर) पाएका छन् र यस वर्षको औसत स्कोर ४३ रहेको छ । आधाजति मुलुक एक दशकदेखि सूचीमा लगभग उस्तै स्थानमा रहनुले सरकारको भ्रष्टाचार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेको देखाएको छ ।

  • विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

    विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

    काठमाडौं । डिसेम्बर २०१९ मा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर १० करोड मानिसमा पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बिहीबार बिहानसम्मको आंकडा अनुसार १० करोड नौ लाखभन्दा धेरै मानिसले यो भाइरसको सामना गरेका छन् ।

    यसमध्ये २१ लाख ६९ हजार मानिस भने यो भाइरससँग पराजित भई मृत्युवरण गर्न बाध्य भएका छन् । सात करोड २९ लाखभन्दा धेरै मानिस भने यो लडाईमा सफल बनेका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका हो । यहाँ २ करोड ६० लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।

    कोरोनाका कारण अमेरिकामा मात्र ४ लाख ३५ हजारभन्दा धेरैको ज्यान गएको छ । कोरोनाबाट प्रभावित दोस्रो मुलुक भारत हो । यहाँ १ करोड ६९ लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।

    कोरोनाका कारण भारतमा १ लाख ५३ हजारभन्दा धेरैको ज्यान गएको छ । भारतमा मृत्युदर भने कम रह्यो । ब्राजिलमा अहिलेसम्म ९ लाख ३६ हजारभन्दा धेरैमा कोरोना भाइरस सङ्क्रमण भएको छ । यहाँ २ लाख १८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

  • अन्नपूर्ण उखु मिलका संचालक पक्राउ, किसानलाई भुक्तानी नदिएको आरोप

    अन्नपूर्ण उखु मिलका संचालक पक्राउ, किसानलाई भुक्तानी नदिएको आरोप

    काठमाडौं । उखु किसानको रकम लामो समयसम्म भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन्। प्रहरीका अनुसार उनलाई गतराती काठमाडौंको त्रिपुरेश्वरस्थित घरबाट पक्राउ गरिएको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अग्रवालविरुद्ध ठगी सम्बन्धी कसूरमा किटानी परेको थियो । उखु मिलहरुबाट किसानले लामो समयदेखिको वक्यौता भुक्तानी पाएका छैनन् । उनीहरुले भुक्तानी माग्दै काठमाडौंको माइतीघरमा पटक पटक आन्दोलन गर्दै आएका छन् ।

    सरकारले उखु किसानको भुक्तानी दिलाइदिने आश्वासन दिएपछि उनीहरु आन्दोलन स्थगित गरेर घर फर्किएका थिए। तर, सरकारको आश्वासन फेरी पनि कागजमै सिमित भएका बेला अग्रवाल पक्राउ परेका हुन् ।

  • आजबाट श्रीस्वस्थानी व्रत आरम्भ, शालीनदीमा एक महिने मेला

    आजबाट श्रीस्वस्थानी व्रत आरम्भ, शालीनदीमा एक महिने मेला

    काठमाडौं । आजबाट हिन्दु धर्मावलम्बीको एक उत्सव श्रीस्वस्थानी व्रत आरम्भ भएको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा शुरु भएको हो । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत गर्ने प्रचलन रहेको छ ।

    आज बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गर्ने गरिन्छ । बेलुका स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा रहेको छ ।

    प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।


    आजबाट एक महिनासम्म काठमाडौंको शालीनदीमा स्वस्थानी मेला सुरु हुन्छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथा स्वस्थानीमा रहेको छ ।

    सोही धार्मिक विश्वासका साथ साँखुस्थित शालीनदीमा स्वस्थानीको मेला लाग्ने गरेको हो । यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण शालीनदी मेलामा व्रत बस्ने व्रतालुका लागि भने कडा नियम बनाइएको छ । निमोनिया नभएको प्रमाण माग्ने गरिन्छ ।

    निश्चित उमेर तोकेर मापदण्ड तयार पारिएको छ । यस वर्ष बढीमा ५० जनालाई मात्र शालीनदी क्षेत्रमा व्रत बस्न अनुमति दिइएको छ । १५ जना पुरुष र ३५ जना महिलालाई मात्रै यस वर्ष शालीनदीमा व्रत बस्न मिल्ने गरी व्यवस्थापन मिलाइएको छ । व्रतालु २० देखि ५० वर्षसम्म उमेर समूहको हुनुपर्ने उमेरहद तोकिएको छ । पीसीआर वा एन्टिजिन टेस्ट अनिवार्य गरिएको छ ।

  • क्यामरुनमा यात्रुवाहक बसमा आगलागी, कम्तिमा ५३ जनाको मृत्यु

    क्यामरुनमा यात्रुवाहक बसमा आगलागी, कम्तिमा ५३ जनाको मृत्यु

    क्यामरुन । क्यामरुनमा एक यात्रुवाहक बसमा भएको आगलागीमा परी कम्तिमा ५३ जनाको ज्यान गएको छ । २९ जना गम्भीर घाइते रहेको र उनीहरुको अवस्था समेत चिन्ताजनक रहेको अधिकारीहरुले जनाएका छन् । पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग बस ठोक्किँदा बसमा आगो लागेको बताइएको छ ।

    दुर्घटनामा परेका सबैको शव जलेको र पहिचानमा समेत कठिनाई आएको स्थानीय अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने स्थानमा स्थानीय समयअनुसार बुधबार दिउँसो ३ः३० बजे दुर्घटना भएको थिया । यो ७० सीटे बस थियो । दुर्घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

  • नेपालमा पहिलो दिन ९०८४ जनाले कोरोना खोप लगाए

    नेपालमा पहिलो दिन ९०८४ जनाले कोरोना खोप लगाए

    काठमाडौं । नेपालमा बुधबारबाट कोरोना भाइरसको खोप लगाउन शुरु भएको छ । यो अभियानको पहिलो दिन देशभर ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् ।

    ६४ जिल्लाका ९३ खोप केन्द्रबाट ९०८४ जना स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीले कोरोना खोप लगाएका हुन् । मन्त्रालयको आंकडा अनुसार प्रदेश १ मा १ हजार २५५, प्रदेश २ मा ७२६, बागमतीमा २ हजार ६९४, गण्डकीमा १ हजार ८४३, लुम्बिनमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १ हजार ८२ जनाले खोप लगाए ।

    खोप लगाएका व्यक्तिहरुमा अहिलेसम्म समस्या समेत नदेखिाएको मन्त्रालयको भनाई छ । अभियानको पहिलो दिन खोप लगाउन आउने व्यक्तिको सहभागिता उल्लेख्य रहेको मन्त्रालयको भनाई छ ।

    स्वतस्फूर्त सहभागिताका लागि मन्त्रालयले धन्यवाद ज्ञापन गरेको छ । छोटो समयमा खोप तालिम, ढुवानी तथा वितरण, सञ्चार र खोप केन्द्रहरुको व्यवस्थापन गरी यो अभियान सफल बनाउन भूमिका खेलेकोमा सबैप्रति मन्त्रालयले धन्यवाद ज्ञापन गरेको छ । भारतबाट अनुदानमा प्राप्त १० लाख डोज खोपको अहिले नेपालमा वितरण शुरु गरिएको हो ।

  • नेपालमा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि, २४६ जना डिस्चार्ज

    नेपालमा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि, २४६ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९ पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८६ रहेको छ ।

  • ‘ओली बाहेक सबै पार्टी एकताको पक्षमा छन्, फुटेर बहुमत ल्याउने कुरामा सपना मात्र’

    ‘ओली बाहेक सबै पार्टी एकताको पक्षमा छन्, फुटेर बहुमत ल्याउने कुरामा सपना मात्र’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले ओली समूहका अध्यक्ष केपी शर्मा ओली बाहेक सबै पार्टी एकताको पक्षमा रहेको बताएका छन्।

    ललितपुरमा बुधबार पार्टी एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले नेकपा व्यवहारिक र राजनीतिक रुपमा फुटिसकेपनि ओल िबाहेकका सबै पार्टी एकताको पक्षमा रहेको बताएका हुन् ।

    उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा रहेकाहरु पनि धेरै जसो पार्टी एताको पक्षमा रहेको बताए ।

    गौतमले आफूलाई पछि एक समूहमा लाग्ने आंशका भइरहेको भन्दै आफू दुवै समूहमा नलाग्ने घोषणा गरे । उनले पार्टी एकतामा नै जुट्ने बताए ।

    निर्वाचनबाट झण्डै दुईतिहाइ बहुमत ल्याएर सरकार बनाउने ठाउँमा पुगेको यो पार्टीको गौरव एकतामै बढ्ने थियो भन्दै उनले देशको नयाँ विशेषतामा आधारित समाजवाद हेर्न संसारका मान्छे आउने भनेर खुसी भइरहेको अवस्थामा पार्टी फुटेको बताए।

    यद्यपि फुटेर निर्वाचनमा जाँदा नेकपा पराजित हुने निश्चित रहेको गौतमले दाबी गरे।

    गौतमले अघिल्लो चुनावी नतिजाको आँकडा प्रस्तुत गर्दै विभाजित नेकपाको प्रधानमन्त्री ओली पक्ष र प्रचण्ड–माधव पक्षले अलग–अलग चुनावमा जाँदा चुनाव जित्न नसक्ने बताए।

    फुटेर बहुमत ल्याउने कुरामा सपना मात्र भएको गौतमले बताए। ‘गत चुनावमा हामी पार्टी एकता गरेर गएका थियौं। त्यतिबेला नेकपाको पक्षमा लहर आएको थियो,’ गौतमले भने, ‘त्यस्तो अवस्थामा दुई पार्टी मिलेर ल्याएको मत जम्मा ४३ लाख हो।’

    त्यतिबेला नेपाली कांग्रेसले ३० लाख मत ल्याएको बताउँदै गौतमले विभाजित अवस्थामा आफ्नो पक्षमा लहर नआउने तर्क गरे। उनले भने, ‘अहिलेसम्म ५-७ लाख मतदाता बढे होलान्। त्यसैले दुईतर्फ भोट बाँडिदा २१–२१ लाख हुन्छ। २२ लाख मात्रै अर्को पार्टीले मत प्राप्त गर्यो भने हामीलाई पछार्छ। कांग्रेसले पहिल्यै ३० लाख ल्याएकोमा अब झन् बढ्छ।’

    त्यसैले अलग–अलग गरेर चुनाव लड्दा नेकपा पराजित हुने गौतमको बुझाई छ। ‘सर्वोच्च अदालतले के निर्णय गर्ला ? दुईमध्ये एक निर्णय गर्छ । वैशाख १७ र २७ गते चुनाव भए पनि एकता अभियान चलाइरहनुपर्छ’, उनले भने, ‘केपी ओली कहिल्यै पनि एकताको पक्षमा हुनुहुन्न । उहाँहरु एकता प्रक्रियामा आउनुभएन भने सेनापति त हुनुहुन्छ पछि सेना हुनुहुन्छ ।’

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए इज्जत बढ्ने बताए ।

  • तीन महिना भित्र सबै नेपालीलाई निःशुल्क कोरोना खोप -प्रधानमन्त्री

    तीन महिना भित्र सबै नेपालीलाई निःशुल्क कोरोना खोप -प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तीन महिना भित्र सम्पूर्ण नागरिकलाई निःशुल्क रुपमा खोप उपलब्ध गराउने बताएका छन् ।

    कोरोना विरुद्धको खोप अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले तीन महिनाभित्र सबै नेपालीमा खोप पुर्याउने आश्वासन दिएका हुन्।

    ओलीले भारत सरकारले सहयोग स्बरुप उपलब्ध गराएको खोप संगै सरकारले थप खरिदको तयारी गरेको पनि जानकारी दिए ।

    खरिदका लागि सरकारले बजेटको ब्यबस्था गरिसकेको जानकारी गराउदै प्रधानमन्त्री ओलीले अभियनका लागि सबैको साथ र सहयोग र सग्लनता आबश्यकता रहेको बताए ।

    उनले भने, ‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिन्छ, कुनै भेदभावविना नै सबै नेपालीलाई निःशुल्क रूपमा खोप लगाइन्छ।’

    ‘हामी खोपमा मात्रै भर पर्ने होइन।’ प्रधानमन्त्रीले भने, ‘यो शतप्रतिशत विश्वसनीय नहुन सक्छ। हामीले भौतिक दुरी काय गर्ने, मास्क लगाउने, सरसफाई र खानपिन जस्ता स्वास्थ्यमापदण्ड अपनाईराख्नु पर्छ।’

    ‘पहिले जता पनि मान्छे देख्यो कि कोभिडको संवाहक जस्तो लाग्थ्यो।’ प्रधानमन्त्रीले भने, ‘अहिलेको अवस्था हिजो जस्तो भयावह छैन। मान्छे भयवित भएको देखिदैन। मानिसले सावधानि अपनाएको छ। हिजो साबधानी भन्दा बढी त्रास थियो।’

    प्रधानमन्त्रीले खोप अभियानको आरम्भ गरेपछि देशभरका १२० खोप केन्द्रहरुमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी, चालक, एम्बुलेन्स चालक लगायतलाई खोप दिइएको छ ।

    आज एकै दिन १२ हजार जनाले खोप लगाउने शुभारम्भ समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

    नेपाल दक्षिण एशियामा कोराेनाविरुद्ध खोप अभियान चलाउने भारतपछि दोस्रो मुलुक भएको छ । भारतले अनुदानमा दिएको खोप पहिलो चरणमा लगाउन थालिएको हो ।

  • कोरोना विरुद्धको खोप अभियान शुरु, टेकु अस्पतालका निर्देशकले लगाए पहिलो खोप

    कोरोना विरुद्धको खोप अभियान शुरु, टेकु अस्पतालका निर्देशकले लगाए पहिलो खोप

    काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरिएको छ। बिहान १० बजेबाट सुरु भएको खोप अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत खोप अभियानको उद्घाटन गरेका हुन् ।

    कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायत मन्त्री पनि सहभागी छन्। कोरोना खोप अभियानमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पहिलो खोप लगाएका छन् ।

    त्यसपछि दोस्रो नम्बरमा प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
    उनीहरुले कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएका हुन् । यस अस्पतालमा आज ४०० जनालाई खोप लगाइने जनाइएको छ ।

    पहिलो चरणमा फोहर संकलक, चालक, एम्बुलेन्स चालक, शव वाहान चालक, प्रत्यक्ष खोप दिने स्वास्थ्य संस्थाका स्वाथ्यमर्की, स्वयमसेवक र सुरक्षाकर्मी, महिला स्वयम सेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा खटिने कर्मचारी, वृद्धाश्रममा खटिने कर्मचारी, र जेलमा रहेका कैदीलाई खोप दिइने छ।

  • जुम्लामा आगलागी हुँदा ३० घर जले, क्षतिको विवरण आउँदै

    जुम्लामा आगलागी हुँदा ३० घर जले, क्षतिको विवरण आउँदै

    काठमाडौं । जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा आगलागी भएको छ । मंगलबार साँझबाट शुरु भएको आगोलागीले ३० वटा घर जलेर नष्ट भइसकेको प्रहरीले जनाएको छ । साँझको समयमा भएका कारण मानवीय क्षति भने हुन नपाएको बताइएको छ ।

    पानीको समस्या हुने यस स्थानमा आगो नियन्त्रणमा समेत समस्या आएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पानीको समस्याका कारण आगो पुर्ण नियन्त्रणमा लिन सकिएको छैन ।

    यो स्थान सदरमुकाम खलंगाबाट ३५ किलोमिटर दूरीमा पर्छ । आगलागी नियन्त्रण गर्न आज समेत स्थानिय र प्रहरी बिहानैदेखि खटिएको कार्यालयले जनाएको छ । यी घरमा पालिएका ठूलो संख्यामा पशु चौपायाको ज्यान गएको छ । आगोलागीको कारण भने नखुलेको प्रहरीको भनाई छ ।

  • कांग्रेसले एक दर्जन जनवर्गिय संगठनको म्याद ६ महिना लम्ब्यायो

    कांग्रेसले एक दर्जन जनवर्गिय संगठनको म्याद ६ महिना लम्ब्यायो

    काठमाडौं । नेपाली कांग्रेसले आफ्ना एक दर्जन भन्दा बढी भ्रातृ संगठनको म्याद ६ महिना लम्ब्याएको छ । मंगलबार राजधानीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय लिएको हो । नेपाली कांग्रेसले नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघको म्याद बढाउने निर्णय लिएको छ ।

    यसैगरी नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिना म्याद थप हुने निर्णय समेत भएको छ ।

    मगलबारको बैठकले नेपाली जनसम्पर्क समिति कतार, वहराइन, मलेसिया र साउदी अरबबाट प्राप्त क्रियाशील सदस्यतालाई स्वीकृत गर्ने निर्णय समेत लिएको छ । उता, नेपाली जनसम्पर्क तदर्थ समिति माल्टालाई आवद्धता प्रदान गरेको छ ।

    जनसम्पर्क समिति युएईको विधान स्वीकृत गरेको समेत नेपाली कांग्रेसले जनाएको छ । ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी नेपाली जनसम्पर्क समिति इजरायलको कार्यकाल थप गर्ने निर्णय भएको बताइएको छ ।

  • बामदेवले नेकपा एकता अभियान थाल्ने

    बामदेवले नेकपा एकता अभियान थाल्ने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कुनै पनि खेमामा लागेका छैनन् । यसबीचमा निर्वाचन आयोगको नतिजा कुरिरहेका उनले अब भने औपचारिक रुपमा सक्रियता बढाउने भएका छन् ।

    उपाध्यक्ष गौतमले आज औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्न लागेको बताइएको छ । उनले ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम आयोजना गरेका छन् । जहाँ प्रचण्ड र केपी शर्मा ओलीलाई समेत आमन्त्रण गरिएको छ ।

    सोही भेलाबाट गौतमले नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गर्न लागेका हुन् । त्यसो त प्रचण्ड र ओली भेलामा सहभागी हुने वा नहुने खुलेको छैन । सरकारको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ मा संसद विघटन भएपछि नेकपा दुई खेमामा पुगेको छ । यद्दपी यो फूटलाई निर्वाचन आयोगले भने मान्यता दिएको छैन ।

  • आजबाट नेपालमा कोरोना खोप अभियान शुरु, गम्भीर असर गरे सरकार जिम्मेवार नहुने

    आजबाट नेपालमा कोरोना खोप अभियान शुरु, गम्भीर असर गरे सरकार जिम्मेवार नहुने

    काठमाडौं । नेपालमा आजबाट कोरोना भाइरसविरुद्धको खोप अभियान प्रारम्भ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बावुवाटारबाट भच्र्यूअल रुपमा अभियानको थालनी गर्नेछन् । तर, उनले खोप भने लगाउने छैनन् । संसारमा धेरैजसो मुलुकमा सरकार प्रमुखले खोप लगाएर अभियान थालेका थिए ।

    यसले जनतामा आत्मविश्वास बढाउँछ । नेपालमा भने खोप लगाउनु अगाडी नै यसले गम्भीर असर गरेमा सरकार जिम्मेवार नहुने व्यहोराको शर्तनामामा हस्ताक्षर गर्नुपर्ने भएको छ । नेपालमा कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप दिइने भएको छ ।

    काठमाडौंमा एक दर्जन अस्पतालमा खोप लगाइने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीमा आज स्वास्थ्यकर्मीका लागि खोप दिइने भएको छ ।


    भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप नेपालमा लगाइनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्धको खोप लगाएपछि कुनै गम्भीर स्वास्थ्य समस्या भए, अंगभंग भए या मृत्यु भएमा खोप दिने निकाय वा संस्थाले क्षतिपूर्ति दिने छैन ।

    खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने, रिंगाटा लाग्ने, आलस्य हुने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता साइडइफेक्ट हुन सक्ने भने बताइएको छ । यो खोप १८ वर्षमाथिका सबैले लगाउन मिल्छ ।

    कोरोसँग मिल्दोजुल्दो लक्षण भएका, ज्वरो आएका, सुत्केरी, गर्भवतीले भने खोप लगाउनु हुँदैन । पहिलो डोज लगाउँदा स्वास्थ्यमा गम्भीर समस्या आएकाहरुलाई दोस्रो डोज दिइने छैन ।

  • माउण्ट केटु चढेर फर्किएको कीर्तिमानी टिमलाई विमानस्थलदेखि वालुवाटारसम्म भब्य स्वागत

    माउण्ट केटु चढेर फर्किएको कीर्तिमानी टिमलाई विमानस्थलदेखि वालुवाटारसम्म भब्य स्वागत

    काठमाडौं । हिउँदे सिजनमा पहिलो पटक विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरी विश्व कीर्तिमान राखेको नेपाली टोली आज स्वदेश फर्किएको छ । टोलीको नेतृत्व विश्वविख्यात आरोही निर्मल पुर्जाले गरेका थिए । टोलीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

    विमानस्थलबाट उनीहरुलाई गाडीमा राखेर शहर परिक्रममा गराइएको थियो । त्रिभुवन विमानस्थलबाट ठमेल पुगेको टोलीलाई त्यहाँबाट पर्यटन बोर्डमा ल्याएर बोर्ड तथा पर्यटन मन्त्रालयको तर्फबाट स्वगत गरिएको छ । त्यसपछि यो टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास वालुवाटारमा स्वागत गरे ।

    नेपालका १० जना आरोहीले माघ ३ मा पाकिस्तानको माउन्ट केटु हिमालको सफल आरोहण गरेका हुन् । किलर माउण्टेनका रुपमा चिनिने यो हिमाल चढ्ने प्रत्येक ४ जना आरोहीमध्ये एक जनाको दुर्घटनामा परी निधन भएको इतिहास छ ।

    यस्तोमा टोलीका सबै सदस्य सकुसल फर्किएर जोखिमपूर्ण कीर्तिमान नेपाली आरोहीले आफ्नो नाममा लेखाएका छन् ।

    नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले स्थानीय समयअनुसार शनिबार बिहान ५ः४५ मा ८ हजार ६११ मिटर अग्लो माउन्ट केटु चढेका थिए ।

    नेपाली आरोहीलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले आफ्नै निवासमा बोलाएर बधाई समेत दिएका थिए । सम्मान ग्रहण गर्दै टोली नेता पूर्जाले यो आरोहण आगामी पुस्ताको हौसलाका लागि महत्वपूर्ण सावित हुने धारणा राखे ।

  • प्रतिनिधिसभा विघटन विरोधमा कांग्रेसद्वारा थप आन्दोलनको घोषणा, ३० गते देशभर प्रदर्शन

    प्रतिनिधिसभा विघटन विरोधमा कांग्रेसद्वारा थप आन्दोलनको घोषणा, ३० गते देशभर प्रदर्शन

    काठमाडौं । प्रप्रतिनिधिसभा विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

    पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

    सार्वजनिक कार्यक्रम अनुसार माघ १९ गते भातृ संगठन, २४ गते शुभेच्छुक सस्था र ३० गते जिल्लामा आन्दोलन गर्ने निर्णय गरेकोछ ।

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रभावकारी रुपमा विरोधका कार्यक्रम गर्न सकेको छैन।

    सभापति अदालतको निर्णय मान्य हुने भन्दै चुप झैं देखिएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल संघर्षका कार्यक्रम सहित आन्दोलित हुनुपर्ने पक्षमा देखिएका छन्।

  • नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण, २८५ जना डिस्चार्ज

    नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण, २८५ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २८५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६४ हजार ८ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ३ हजार २ सय ५२ रहेको छ ।

  • ‘बाजे वकिल’ को अभिव्यक्ति दिएका प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता

    ‘बाजे वकिल’ को अभिव्यक्ति दिएका प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । वरिष्ठ अधिवक्ताद्वय कञ्चन कृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले अदालतको अवहेलना गरेको भन्दै कारबाही लागि निवेदन दिएका थिए ।

    उनले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा प्रधानमन्त्री ओलीले संवैधानिक इजलाशमा बहस गर्ने वरिष्ठ वकिल कृष्णप्रसाद भण्डारीमाथि दिएको अभिव्यक्तिले अदालत र इजलासको अवहेलना भएको ठहर गर्दै मुद्दा दर्ताका लागि निवेदन दिएका छन् ।

    वरिष्ठ अधिवक्ता भण्डारीले संसद पुनःस्थापनाको पक्षमा बहस गरेको भन्दै प्रधानमन्त्री ओलीले ‘बाजे वकिल’ भन्ने अभिव्यक्ति दिएका थिए ।

  • नेपालमा कोरोना भाइरसविरुद्धको पहिलो खोप कसलाई लगाइन्छ ?

    नेपालमा कोरोना भाइरसविरुद्धको पहिलो खोप कसलाई लगाइन्छ ?

    काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप अभियान माघ १४ बाट शुरु हुँदैछ ।

    भारत सरकारले बिहीबार अनुदानमा दिएको १० लाख डोज कोभिड–१९ विरुद्धको खोप माघ १४ देखि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मीहरूलाई कोरोना खोप लगाउने सरकारको तयारी छ।

    बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियानको घोषणा गर्नेछन्।

    माघ १८ गतेसम्म देशका ७७ वटै जिल्लाका ३ सय खोप केन्द्रबाट खोप दिइने छ। खोप अभियानको पहिलो चरण १० दिनसम्म जारी रहने छ।

    बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप बिहीबार काठमाडौँ आइपुगेको थियो ।

    यो खोप आइपुगेसँगै यसबारे सर्वसाधारणको मात्रै नभई स्वास्थ्यकर्मीहरूको पनि चासो बढेको छ ।

    पहिलो चरणमा फोहर संकलक, चालक, एम्बुलेन्स चालक, शव वाहान चालक, प्रत्यक्ष खोप दिने स्वास्थ्य संस्थाका स्वाथ्यमर्की, स्वयमसेवक र सुरक्षाकर्मी, महिला स्वयम सेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा खटिने कर्मचारी, वृद्धाश्रममा खटिने कर्मचारी, र जेलमा रहेका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ।

    प्रधानमन्त्री ओलीको घोषणासँगै काठमाडौंमा कोरोना भाइरसविरूद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले लगाउने भएका छन्।

    उनले आफूसहित टेकु अस्पतालका सबै स्वास्थ्यकर्मीले खोप लगाउने बताए।

    भारतमा यो खोप लगाएपछि करिब ५ सय जनालाई साइड इफेक्ट देखिएको छ। केही मानिसहरुको मृत्युसमेत भएको छ। तर, भारतीय अधिकारीहरुले खोपका कारण मृत्यु नभएको बताइरहेका छन्।

    स्वास्थ्य मन्त्री त्रिपाठीले खोपबारेको भ्रममा नपरी अभियानमा सहभागी हुन अपीलसमेत गरेका छन्।

    सरकारले निर्धक्क भएर कोरोना विरुद्धको खोप लगाउन आग्रह गरिहेका बेला कोरोना भाइरस विरुद्धको खोपबाट उत्पन्न नकारात्मक असरको जिम्मेवार को हुने रु भन्ने विषय अहिलेको मुख्य विषय बनेको छ ।

    भारतको खोप उपत्पादक कम्पनी सेरमले समेत स्वास्थ्यमा विभिन्न किसिमका समस्या भएका व्यक्तिहरुले खोप नलगाउन आग्रह गरिसकेको छ । यता सरकारले भने कोभिड–१९ विरुद्धको खोप लगाउन चाहनेहरूले खोपका कारणले भविष्यमा कुनै समस्या आएमा आफु स्वयम जिम्मेवार हुनुपर्ने व्यवस्था गरेको छ ।

  • ‘हिमाल आरोहण कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो’

    ‘हिमाल आरोहण कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको माउन्ट केटु आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई सम्मान गरेका छन्।

    पाकिस्तान र चीनको सीमानामा रहेको माउन्ट केटु हिउँदे सिजनमा आरोहण गरी नयाँ रेकर्ड कायम गरी फर्केका १० नेपाली आरोहीहरुलाई मंगलबार सम्मान कार्यक्रममा प्रधानमन्त्री ठट्यौली गरेका हुन् ।

    उनले हिमाल आरोहण जोखिमपूर्ण हुने भन्दै सहज भएको भए माउन्ट केटु आरोहणमा आफू पनि जान सक्ने बताएका छन् ।

    ‘हिमाल आरोहण कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो,’ उनले ठट्यौली गर्दै भने, ‘अझ बढी धुमधाम हुन्थ्यो । तर त्यो दुस्साहस आफूले गरेको भए फर्केर आउँदिन थिएँ होला ।’

    साथै, उनले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यको तर्फबाट सहयोग गर्ने आश्वासनसमेत दिएका छन्।

    नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए।

  • प्रधानमन्त्रीको भनाईप्रति कांग्रेसको कडा आपत्ति

    प्रधानमन्त्रीको भनाईप्रति कांग्रेसको कडा आपत्ति

    काठमाडौं । ‘संसद विघटनको विरोध गर्नेहरु देशविरोधी हुन’ भनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘अलोकतान्त्रिक’ र ‘अधिनायक आकाङ्क्षालाई थप उजागर’ गर्ने संज्ञा दिएका छन् ।

    प्रधानमन्त्रीले सर्वोच्च अदालतको बहसलाई ‘तमासा’ भन्नु ‘अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न’ र आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नु प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति’ रहेको समेत कांग्रेसले जनाएको छ । प्रधानमन्त्रीका पछिल्ला कैयौँ अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई ‘धूलिसात’ बनाउँदै लगेको समेत काङ्ग्रेसले उल्लेख गरेको छ ।

    आफ्नो कदमविरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने काम गरेर आफ्नै जिम्मेवारीको प्रधानमन्त्रीबाट अपमान भइरहेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीको यो प्रवृत्ति दुःखद मात्र नभई लज्जास्पद समेत भएको कांग्रेसको ठहर छ ।

  • नेपालमा बुधबारदेखि लगाइने भयो कोरोना खोप, उपत्यकाका १२ अस्पतालमा सेवा

    नेपालमा बुधबारदेखि लगाइने भयो कोरोना खोप, उपत्यकाका १२ अस्पतालमा सेवा

    काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप बुधबारबाट लगाउन शुरु गरिने भएको छ । पहिलो चरणमा चिकित्सक तथा फ्रन्टलाइनमा रहेर काम गर्नेहरुमा कोरोना खोप लगाइने भएको छ । यसका लागि ७ वटै प्रदेशमा खोप पठाइ सकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १२ सरकारी तथा निजी अस्पतालबाट खोप सेवा उपलब्ध हुने भएको छ । पहिलो चरणमा १४ माघबाट खोप वितरण शुरु हुने गरी तयारी पुरा भएको मन्त्रालयको भनाई छ । काठमाडौंमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल, गंगालाल अस्पताल, नेपाल मेडिकल कलेज र वीर अस्पतालबाट सेवा दिइने भएको छ । यसैगरी प्रसूति गृह थापाथली, टेकु अस्पताल, सिभिल अस्पताल, के एमसी सिनामंगल, नेपाल आर्मी अस्पताल, सशस्त्र प्रहरी अस्पताल र आयुर्वेदिक ट्रेनिङ सेन्टर कीर्तिपुरमा खोप लगाइने भएको छ । चार साताको फरकमा दुई पटक खोप लगाउनु पर्छ । अघिल्लो बिहीबार भारतबाट १० लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आएको छ । भारतीय कम्पनी सिरम इन्स्टिच्युटले बनाएको कोभिसिल्ड खोप नेपाल आएको छ । यो खोप भारतले नेपाललाई अनुदानमा दिएको हो ।

  • दैनिक नयाँ इतिहास रच्दै गएको नेपाली सेयर बजारले फेरि बनायो ऐतिहासिक रेकर्ड

    दैनिक नयाँ इतिहास रच्दै गएको नेपाली सेयर बजारले फेरि बनायो ऐतिहासिक रेकर्ड

    काठमाडौं । सेयर बजारले फेरि ऐतिहासिक रेकर्ड बनाएको छ । पछिल्लो समय दैनिक नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

    आइतबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको नयाँ कीर्तिमान बनाएको हो ।

    नेप्सेले २४४० विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २४४० विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि आइतबार नेप्सेले इतिहासकै उच्च २४२४ विन्दु पार गरेको थियो ।

    आज सेयर बजार मापक सूचक नेप्से १६.०४ अंकले बढेर २४४०.८८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०८ कम्पनीको ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ रुपैयाँ बराबरको १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ वटा समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ९०.७७ अंकले बढेको छ भने जीवन बीमा समूह ८८.५८ अंकले घटेको छ ।

    कारोबारमा आएका २०८ कम्पनीमध्ये ७३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२० कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज पनि लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । यससाता सर्वाधिक कारोबार हुँदै आएको यसको आज सबैभन्दा धेरै ६० करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नबिल बैंक ३३ करोड र एनसीसी बैंक ३१ करोड सहित शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले बढेको बजारमा ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नागरिक लगानी कोष, गुराँस लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी र नेशनल हाइड्रोका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    बढ्दो बजारमा आज श्री इन्भेष्टमेन्ट फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ६.९८ प्रतिशत गुमाएका छन् ।

  • नेपालमा थप ३३९ जनामा कोरोना संक्रमण, ४०१ डिस्चार्ज

    नेपालमा थप ३३९ जनामा कोरोना संक्रमण, ४०१ डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४०१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ३ हजार २ सय ४० रहेको छ ।

  • माघ २३ गते रत्नपार्कमा ओली पक्षको शक्ति प्रदर्शन, २ लाख जनता उतार्ने

    माघ २३ गते रत्नपार्कमा ओली पक्षको शक्ति प्रदर्शन, २ लाख जनता उतार्ने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले माघ २३ गते रत्नपार्कमा जनसभा गर्ने भएको छ । ओली समूहको वाग्मती प्रदेश कमिटीले पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो।

    ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धि मार्फत राजनीतिक स्थायित्वको लागि ताजा जनादेश’ भन्ने मुल नाराका साथ रत्नपार्कमा जनसभा गर्न लागेको जनाएको छ ।

    त्यस्तै, कमिटीले प्रचण्ड९माधव नेपाल समूहले अराजनीतिक क्रियाकलाप गरेको ठहर गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा बागमति प्रदेश संगठन कमिटीले पत्रकार सम्मेलन गरी दुई लाख जनता सहभागी गराउने बताएको छ ।

    नेकपाले सकेसम्म सभास्थललाई फोहोर नबनाउन अपिल समेत गरेको छ । फोहोर भईहालेमा कार्यक्रमको समापनपछि स्वयमसेवकले त्यसलाई सफा गर्ने विज्ञप्तिमा जनाइएको छ ।

    पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले पनि २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

    शक्ति प्रदर्शनमा नेकपाका दुई समूहबीच प्रतिस्पर्धा देखिएको छ । प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव नेपाल समूहले काठमाडौंमा शुक्रबार गरेको शक्ति प्रर्दशनलाई साँघुरा गल्लीमा अलिअलि जम्मा गर्दैमा आमसभा हुँदैन भनेर व्यंग्य गरेका थिए ।

    ओलीले रत्नपार्कमा ८ , १० हजार मान्छे देखेर भुइँमा खुट्टै नभएको आरोप लगाउँदै आमसभा कस्तो हुन्छ भन्ने कुरा आफूले माघ २३ गते देखाइदिने बताएका थिए । प्रचण्ड पक्षले सोमबार तेस्रो चरणको आन्दोलन घोषण गर्दै काठमाडौंमा २८ गतेको प्रदर्शनमा २५ हजार मान्छे उतार्ने बताएको छ ।