Category: फिचर

  • खुमलटार छलफलः आरोपपत्र फिर्ता लिन ओलीले गरेको आग्रह प्रचण्डद्धारा अस्वीकार

    खुमलटार छलफलः आरोपपत्र फिर्ता लिन ओलीले गरेको आग्रह प्रचण्डद्धारा अस्वीकार

    काठमाडौं । पार्टीभित्र देखिएको विवाद र प्रचण्ड–नेपाल समूहले आफूमाथि दबाब बढाएपछि पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाट र छलफल बढाएका छन्।

    शनिबार नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले शनिबार बिहान प्रचण्ड निवासमै पुगेर भेटघाट गरेका थिए ।

    भेटवार्तामा दुई अध्यक्षबीच पार्टीभित्र उत्पन्न विवाद समाधानका विषयमा कुराकानी भएको हो। प्रधानमन्त्री ओली अध्यक्ष प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पहिलो पटक पुगेका थिए।

    दुई अध्यक्षबीचको भेटवार्तामा उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका थिए। प्रचण्डलाई भेटेर सचिवालय बैठकमा पेश गरेको लिखित आरोपपत्र फिर्ता लिन आग्रह गरेका छन् ।

    जवाफमा अध्यक्ष प्रचण्डले बैठकमा प्रस्तुत भइसकेको प्रस्ताव फिर्ता नहुने भन्दै स्थायी कमिटीको बैठकमा छलफल गरेर निष्कर्षमा पुग्ने बताए स्रोतले जनाएको छ ।

    स्थायी कमिटी बैठकको पूर्व सन्ध्यामा दुई अध्यक्षबीच छलफल भएको हो । खुमलटारमा दुई अध्यक्षबीचको छलफल चलिरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए । ओली र गौतम प्रचण्डनिवासबाट बाहिरिएलगत्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पनि खुमलटार पुगेका थिए ।

    पछिल्लो समय ओली प्रचण्डबीच लिखित प्रस्तावको दोहोरी चलिरहेका बेला ओलीले संवैधानिक परिषद् सम्बन्धी विवादास्पद अध्यादेश जारी गरेपछि नेकपा भित्रको विवाद थप उत्कर्षमा पुगेको छ । त्यस लगत्तै ओलीले नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेका छन्।

    शनिबार बिहान कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका प्रधानमन्त्री ओली प्रचण्डसँगको भेटपछि सिधैँ गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुल्चोक पुगेका हुन्।

    पार्टीभित्रको आन्तरिक विवाद चरोमत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटार र थापालाई मन्त्रीनिवास पुल्चोकमा नै पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यसअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच शुक्रबार साँझ बालुवाटारमा भेटवार्ता भएको थियो।

  • अमेरिकी उपराष्ट्रपति दम्पत्तिले लगाए कोरोना खोप

    अमेरिकी उपराष्ट्रपति दम्पत्तिले लगाए कोरोना खोप

    काठमाडौं । अमेरिकी उपराष्ट्रपति र माइक पेन्स तथा उनकी श्रीमतीले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गरेका छन् । नागरिकमा खोपको प्रयोगका लागि प्रोत्साहन गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स तथा उनकी श्रीमतीले शुक्रबार कोभिड १९ विरूद्धको खोप लिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

    खोप लगाउँदा संचारमाध्यमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । उच्च सरकारी अधिकारीले खेप प्रयोग गर्दा नागरिकमा खोप प्रयोगको आत्मविश्वास र खोपको विश्वसनीयता समेत बढ्ने बताइएको छ ।

    ह्वाइट हाउसमा खोप लिएपछि अमेरिकी उपराष्ट्रपति पेन्सले कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि सर्वसाधारणमा आत्मविश्वास बढाउन आफुले शरुमै सेवा लिएको प्रतिक्रिया दिएका छन् । अमेरिका विश्वमा सबैभन्दा प्रभावित मुलुक हो ।

  • गरिब देशमा कहिलेबाट आउँछ कोरोना खोप

    गरिब देशमा कहिलेबाट आउँछ कोरोना खोप

    काठमाडौं । विकसित मुलुकहरुले कोरोना भाइरसको खोप प्रयोग थालिसकेका छन् । अमेरिका र बेलायतमा औपचारिक रुपमा खोप वितरण शुरु भएको छ । चीन र रुसले अनौपचारिक रुपमा लाखौं नागरिकलाई कोरोना खोप लगाइसकेका छन् । भारतसहित अन्य मुलुकहरुसमेत अब खोप वितरणको तयारीमा छन् ।

    यस्तो अवस्थामा आफै खोप निर्माण गर्न नसक्ने र कमजोर आउस्रोत भएका मुलुकहरु भने अहिले पनि अन्यौलमा छन् । तत्काल खोप उपलब्ध नहुने अवस्थामा कतै गरिब मुलुकका नागरिकले मात्र ज्यान गुमाउन पर्ने हो की भन्ने चिन्ता समेत छ ।

    तर, गरिब राष्ट्रले समेत सन् २०२१ को सुरूदेखि नै कोरोनाविरूद्धको खोप प्राप्त गर्ने आश्वासन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ । डब्लुएचओ र त्यसका साझेदारहरूले कोभ्याक्सलगायतका खोप शीघ्र उपलब्ध हुन सक्ने जानकारी शुक्रबार दिएका हुन् ।

    विश्वभरका नागरिकलाई सुरक्षित राख्ने उद्देश्यसहित काम भइरहेको उनीहरुको भनाई छ । विश्व समुदायका लागि झण्डै दुई अर्ब मात्रा खोप सुरक्षित गर्न लागिएको स्वास्थ्य निकायका अधिकारीहरूको भनाई छ ।

    शुक्रबार जारी एक विज्ञप्तीमा जनाइए अनुसार सबै देशले कोरोनाविरूद्धको खोप किनेर लैजान नसक्ने भएकाले ती देशमा सन् २०२१ को सुरू देखि नै खोप पठाउने तयारी भइरहेको छ ।


    अध्यारो सुरुंगपछि उज्यालो आउने आशा गर्दै महामारीका बीच गरिब मुलुकलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले उल्लेख गरेका छन् ।

  • आज प्रचण्ड निवासमा नेकपाका दुई अध्यक्षबीच छलफलको तयारी

    आज प्रचण्ड निवासमा नेकपाका दुई अध्यक्षबीच छलफलको तयारी

    काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड निवासमा नेकपाका दुई अध्यक्षबीच छलफल हुने भएको छ । यसअघिका छलफलहरुमा प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास मै जाने गर्थे । आज भने बिहान १० बजे प्रधानमन्त्री प्रचण्ड निवास जान लागेका हुन् ।

    पुष्प कमल दाहाल प्रचण्डको निवास खुमलटारमा पार्टी विवादका सम्बन्धमा छलफल हुने भएको छ । यसअघि शुक्रबार दाहाल र ओलीबिच बालुवाटारमा भेटवार्ता भएको थियो। प्रधानमन्त्री कोरोना महामारी शुरु भएपछि वालुवाटार छाडेर टाढा जान बन्द गरेका छन् ।

    उनी सरकारी कार्यालय समेत आउँदैनन् । प्रधानमन्त्री ओलीले पार्टीमा विवाद कायमै रहेका बेला संवैधानिक परिषद सम्बन्धी विधयेक ल्याएपछि पार्टीमा चर्को विवाद भइरहेको छ । यसमा आइसब्रेक हुने अपेक्षा कार्यक्रताले लामो समयदेखि गरेपनि नतिजा भने देखिएको छैन ।


    यसअघि पार्टीभित्र उनीदेखि असन्तुष्ट रहँदै आएको माधवकुमार नेपाल तथा दाहाल समूहले सचिवालयमा अल्पमतमा पारेपछि वामदेव गौतमलाई आफ्नो पक्षमा मनाउन साउनमा गौतम निवास भैंसेपाटी पुगेका थिए।

  • आन्तरिक भ्रमण बढाउन दुई दिन बिदा आवश्यक : पर्यटन मन्त्री

    आन्तरिक भ्रमण बढाउन दुई दिन बिदा आवश्यक : पर्यटन मन्त्री

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा मनाउने क्रममा नेपालमा दुई दिन बिदाको अवधारणा आएको बताएका छन् ।
    निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले शुक्रबार आयोजना गरेको ‘पर्यटनमा कोभिड १९ को प्रभाव र भावी कार्यदिशा’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सन् २०२१ नेपालका लागि आन्तरिक भ्रमण वर्ष भएको बताए ।

    आन्तरिक पर्यटनमा टेवा दिन मन्त्रालयले सातामा दुई दिन सार्वजनिक बिदाको अवधारणा ल्याएको उनले जानकारी दिए । नेपालको अर्थतन्त्रमा वार्षिक ८० अर्ब रुपैयाँ विदेशी मुद्रा आर्जनमा योगदान गर्दै आएको पर्यटन क्षेत्रमा कोभिड १९ को महामारीको सबैभन्दा ठूलो मार परेको भन्दै उनले तत्काल ठूलो मात्रामा पर्यटक नआउने अवस्थामा आन्तरिक घुमफिरलाई प्रवर्द्धन गर्न लागिएको समेत उनले जनाएका छन् ।


    ‘अब बल्ल कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आउन सुरु भएको छ, खोप सुरु भए पनि अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन,’ उनले भने, ‘यो समयमा नेपालको पर्यटन बजारलाई मर्न नदिन आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुपर्छ ।’

    दुई दिने बिदाको अवधारणामा विज्ञहरुसँग अझै छलफल र परामर्श जारी रहेको उनले बताए । यो निर्णय भइसकेको विषय नभएको र छलफल जारी रहेको उनको भनाइ छ । सबै पक्षको राय लिएर मात्र सरकारले निर्णय गर्ने उनको भनाइ छ ।

    तर, कुनै पनि अवधारणा हिजो असफल भयो भनेकै आधारमा आज पनि असफल हुन्छ भन्ने नसोच्न समेत उनले आग्रह गरे । ‘हिजो असफल भयो होला तर त्यहि कुरा समय र परिस्थिति बदलिदै जाँदा सफल पनि हुन्छ,’ उनले भने ।

    महामारीका कारण एक वर्ष सम्म वन्दावन्दीको अवस्थामा रहँदा मानिसमा उकुसमुकुस भएकाले अर्को वर्ष नेपालमा पर्यटनको बाँध फुट्न सक्ने उनको अपेक्षा छ ।

    कोभिड १९ को महामारीका सन्दर्भमा सरकारले केहि गरेन भनेर बाहिर सरकारको आलोचना हुने गरेको सन्दर्भ उल्लेख गर्दै मन्त्री भट्टराईले कुनै पनि देशको साधन, स्रोत कति थियो र त्यसको परिचालन कति भयो भन्ने कोणबाट परिणाम खोज्नु पर्ने बताए ।

  • ओली-देउवाबीच हिमचिम बढेपछि प्रचण्ड र नेपालले भेटे रामचन्द्र पौडेललाई

    ओली-देउवाबीच हिमचिम बढेपछि प्रचण्ड र नेपालले भेटे रामचन्द्र पौडेललाई

    काठमाडौं । सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादमा अब नेपाली कांग्रेसका नेतासमेत सतहमा देखिन थालेका छन् । पछिल्ला दिनमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको हिमचिम बढेको छ ।

    यसबाट नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल भने सशंकित बनेका छन् । उनीहरुले आज नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दै प्रतिपक्षी कांग्रेसले आफ्नो भूमिकामा अडिग रहनु पर्ने सुझाव दिएको स्रोतले जनाएको छ ।

    प्रधानमन्त्री ओलीले देउवालाई फकाउन सक्ने आंशकासहित नेकपाका नेताहरु रामचन्द्र पौडेलसमक्ष पुगेका हुन् । भेटमा अध्यादेश प्रकरण र समसामयिक विषयमा छलफल भएको बताइएको छ । यद्दपी पार्टी विवादमा शेर बहादुर देउवाको साथ लिएर प्रधानमन्त्रीले चाल्न सक्ने सम्भावित कदमबारे नेता त्रयबीच छलफल भएको स्रोतको भनाई छ ।

  • नेपालमा थप ७८२ जनामा कोरोना पुष्टि, १०२९ जना संक्रमण मुक्त

    नेपालमा थप ७८२ जनामा कोरोना पुष्टि, १०२९ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७८२ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ५२हजार ४७४ पुगेको पुगेको छ । थप १०२९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त मुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ जना रहेका छन् ।

  • औषधि खरिद प्रक्रियामा अनियमितता भएको लेखा समितिको निष्कर्ष

    औषधि खरिद प्रक्रियामा अनियमितता भएको लेखा समितिको निष्कर्ष

    काठमाडौं । संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको निष्कर्ष निकालेको छ।

    समितिको शुक्रबार बसेको बैठकले अनियमितता भएको ठहरसहित खरिद प्रक्रियामा संलग्नहरुलाई कारबाही गर्न निर्देशन दिएको हो ।

    समितिले सामाग्री खरिदमा प्रचलित कानुन र प्रक्रिया मिचेको भनेको छ। समितिले बजारमा तोकिएको भन्दा बढी मूल्यमा खरिद गरी भ्रष्टाचार भएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप अनुसन्धान गरि मुद्दा चलाउन पनि निर्देशन दिएको छ।

    लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियाका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँग छलफल गरेको थियो। छलफलमा ढकालले ओम्नीलाई एक पैसा नदिइएको र ओम्नीको धरौटीसमेत जफत गरी राज्यकोषमा दाखिला गरेको ढकालले बताएका छन् ।

    मन्त्री ढकालले सार्वजनिक खरिदको अनुगमन कार्यालयले स्वास्थ्य सामाग्री खरिदमा औंल्याएको कमजोरीबारे आफूलाई थाहा नभएको पनि बताए ।

    कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिदका लागि स्वास्थ्य सेवा विभागले ओम्नी बिजेनस कर्पोरेट इन्टरनेसनल (ओम्नी समूह) सँग गत चैत १२ गते सम्झौता गरेको थियो। सम्झौता अनुसार ओम्नी समूहले पहिलो चरणमा चैत १६ गते स्वास्थ्य सामग्री नेपाल ल्याएको थियो।

    तर, बजार मूल्यभन्दा धेरै महँगोमा स्वास्थ्य सामग्री खरिद गरेको भन्दै चौतर्फी विरोध भएपछि स्वास्थ्य सेवा विभागले ओम्नीसँगको सम्झौता रद्द गर्नुका साथै धरौटीसमेत जफत गर्ने निर्णय गरेको थियो।

  • सभामुख सापकोटा र संवैधानिक परिषद सम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा

    सभामुख सापकोटा र संवैधानिक परिषद सम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा

    काठमाडौं । सभामुख अग्नी प्रसाद सापकोटाविरुद्धको मुद्दामा आज सुनुवाई नहुने भएको छ ।
    उक्त मुद्दाको पेशी प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको थियो ।

    रोलक्रमअनुसार आज उनको मुद्दा हेर्न नभ्याइने बताउँदै मुद्दा सारिएको हो । यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो ।

    काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको भन्दै उनकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।

    त्यस्तै संवैधानिक परिषद सम्बन्धी मुद्दा पनि हेर्न नभ्याइनेमा परेको छ । संवैधानिक इजलासमा रहेका उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।

    संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेजीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका थिए ।

  • अमेरिकाले दियो कोरोनाविरुद्धको दोस्रो खोपलाई समेत मान्यता

    अमेरिकाले दियो कोरोनाविरुद्धको दोस्रो खोपलाई समेत मान्यता

    काठमाडौं । अमेरिकाले कोरोना भाइरसविरुद्धको दोस्रो खोपलाई समेत प्रयोगको अनुमति दिएको छ। कोरोना खोप अध्ययन गर्न बनेको विज्ञहरुको टोलीले मोडर्ना खोपलाई तत्काल प्रयोग गर्न सकिने गरी खाद्य तथा औषधि प्रशासन एफडीएलाई अनुमति प्रदान गरेको हो।

    मोर्डना खोपलाई विज्ञहरुको समूहले अनुमति दिएपछि अमेरिकाले अब एक साता पछि दोस्रो खेप समेत प्रयोगमा ल्याउन पाउने भएको छ । यसअघि बेलायती कम्पनी फाइजर बायोएनटेकले अमेरिकामा बनाएको खोपले अनुमति पाई प्रयोग भइरहेको छ ।

    कोरोना भाइरसविरुद्ध मोर्डनाले तयार गरेको खोपलाई अनुमति दिने नदिनेबारे विज्ञहरुको टोलीमा मतदान भएको थियो । जसमा दिने पक्षमा अधिकांश सदस्यको राय थियो । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार मोडर्नाको खोप १८ वर्ष माथिका व्यक्तिलाई मात्र दिइने छ । मोडर्ना खोप यसअघिका परीक्षणमा ९४ प्रतिशत प्रभावकारी पाइएको छ।

    विज्ञको टोलीले अनुमति दिनासाथ अमेरिकाले २० करोड डोज खरिद गर्ने तयारी गरेको छ। मोडर्नाले तयार गरेको ६० लाख डोज आयातका लागि पानी जहाजमा लोड गरिसकिएको बीबीसीले उल्लेख गरेको छ । अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक हो । यहाँ कोरोना भाइरसबाट ३ लाख १७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पौने २ करोड मानिसमा संक्रमण भएको छ।

  • सांसद रेशम चौधरीसहित ८ जनामाथि जन्मकैदको फैसला

    सांसद रेशम चौधरीसहित ८ जनामाथि जन्मकैदको फैसला

    दिपायल । ६ वर्ष अगाडी कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा संलग्न प्रतिनिधिसभातर्फका प्रत्यक्ष निर्वाचित सांसद रेशमलाल चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलबाट जन्मकैदको फैसला सुनाइएको छ । वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले बिहीबार यस्तो फैसला सुनाएको हो ।

    २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको नरसंहार भएको थियो । यो घटनाको योजना बनाएर नेतृत्व गरेको आरोप चौधरीमाथि रहेको छ । यसअघि ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।

    उच्च अदालतले ७ जनाको सजाय सदर गर्दै चार जनाको सजाय घटाइदिएको छ । उता, तीन वर्ष जेल सजाय तोकिएका लक्ष्मण थारूलाई भने उच्च अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

    जन्मकैदको सजाय सुनाइएकामा लक्ष्मण, रेशम, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी रहेका छन् । रेशम चौधरीका तर्फबाट अधिवक्ता शान्ता भण्डारी र सरोज बुढाथोकीले बहस गरेका थिए ।

  • लेवान्डवस्की पहिलो पटक बने फिफा वर्ष खेलाडी

    लेवान्डवस्की पहिलो पटक बने फिफा वर्ष खेलाडी

    स्वीट्जरल्याण्ड । जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोवर्ट लेवान्डवस्कीले पहिलो पटक फिफा वर्ष खेलाडीको उपाधी जित्न सफल भएका छन् । विश्वको उत्कृष्ट खेलाडीको दौडमा रहेका लियानल मेसी र क्रिस्टियानो रोनाल्डोलाई जित्दै उनी पहिलो बन्न सफल भएका हुन् । विश्व फुटलको सर्वोच्च संस्था फिफाले हरेक वर्ष यस्तो अवार्ड प्रदान गर्छन । मेसी गत वर्षका विजेता हुन ।

    पोल्याण्डका लेवान्डवस्कीले गत सिजन कुल ४७ खेलबाट ५५ गोल गरेका थिए । उनी आवद्ध क्लव बायर्नले युरोपियन च्याम्पियन्स, लिग बुण्डेसलिगा, जर्मन कपसहित पाँच उपाधि उचालेको थियो । महिलातर्फ इंग्ल्याण्डकी लुसी ब्राउण्जले पहिलो पटक फिफा बेस्ट अवार्ड जितिन ।

    वर्षको उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले जिते । महिलातर्फ नेदरल्याण्ड्स महिला टिमका प्रशिक्षक सारिना विगमन विजयी भईन् । बायर्नका गोलकिपर मानुएल नोएले बेस्ट फिफा गोलकिपरको अवार्ड जिते ।

    महिलातर्फ लिइनका सारा बाउहाड्डी विजयी भईन् । प्रिमियर लिग क्लब टोटनहम हट्सपरका हेउन मिन सनले उत्कृष्ट गोल गर्ने खेलाडीले पाउने फिफा पुस्कार अवार्ड जिते । फिफा टिम अफ दि इअरमा बायर्न र लिभरपुलका खेलाडीको बाहुल्य रह्यो । स्ट्राइकरहरु भने लेवान्डवस्कीसहित मेसी र रोनाल्डो नै रहन सफल भए ।

  • विदेशबाट आएर क्वारेन्टिनमा बस्नु पर्ने अवधि घट्यो

    विदेशबाट आएर क्वारेन्टिनमा बस्नु पर्ने अवधि घट्यो

    काठमाडौं । नेपालमा विदेशबाट आउने व्यक्तिहरुले क्वारेन्टिनमा बस्नु पर्ने अवधि घटेको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार अब विदेशबाट आउने व्यक्तिले अनिवार्य १० दिन मात्र क्वारेन्टिन बसे पुग्ने भएको छ । यसअघि यस्तो अवधि दुई साताको थियो ।

    स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले यस्तो निर्णय गरेको हो । संक्रमण क्रमशः कम हुँदै गएको र विदेशमा खोप समेत लगाउन शुरु गरिएको सन्दर्भमा सरकारले यस्तो नियम ल्याएको हो ।

    उता, संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिले समेत अब १० दिन मात्र क्वारेन्टिन बसे पुग्ने भएको छ । यस्तो नियम यसअघि दुई साता थियो । यो व्यवस्थापनको अनुगमन भने स्थानीय तहबाट हुने गरी तोकिएको छ । संक्रमण पुष्टि भएका व्यक्ति समेत अनिवार्य १० दिन आइसोलेसनमा बस्नुपर्छ ।

  • नेपालमा दैनिक कोरोना संक्रमण ८ सय भन्दा कम

    नेपालमा दैनिक कोरोना संक्रमण ८ सय भन्दा कम

    काठमाडौं । पछिल्ला केही सातायता नेपालमा कोरोना भाइरसको संक्रमणको दर तिब्र गतिमा घटिरहेको छ । त्यसो त परीक्षणको दायरा समेत सोही अनुपातमा खुम्चिएको छ । अहिले नेपालमा अत्यावश्यक पर्ने बिरामी, शंका लागेर आफैले गर्नुपर्ने परीक्षण र विदेश जाने यात्रुको मात्र परीक्षण भइरहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो संख्या ६५८८ जनामा गरिएको परीक्षणबाट आएको छ । तर, परीक्षणको तुलनामा संक्रमणदर समेत उल्लेख्य घटेका कारण यसले सकारात्मक संकेत भने गरेको छ ।

    अब नेपालमा संक्रमित हुनेको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ। पछिल्लो २४ घण्टामा ९ सय ४७ जना निको भएर फर्किएको मन्त्रालयको तथ्यांक छ ।

    नेपालमा कोरोना जित्नेको संख्या २ लाख ४० हजार ३ सय ३६ पुगेको छ। आज संक्रमणपछि ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४९ पुगेको छ।

  • नेपाल र बंगलादेशबीच मल खरीद सम्झौता, तीन महिना भित्र आउने

    नेपाल र बंगलादेशबीच मल खरीद सम्झौता, तीन महिना भित्र आउने

    काठमाडौं । नेपाल र बंगलादेशबीच रासायनिक मल खरीद गर्ने सम्बन्धमा सम्झौता भएको छ । ५० हजार मेट्रिक टन युरिया मल खरिद गर्न नेपाल र बंगालदेशबीच सम्झौता भएको हो । अबको तीन महिना भित्र मल डेलिभरी गरिसक्ने गरी सम्झौता भएको छ ।

    कृषि सामग्री कम्पनी लिमिटेड र बंगालादेशी केमिकल इन्डष्ट्रिज कम्पनीबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।

    यसअघि सरकारले बंगलादेशबाट मल पैचौ ल्याएर तिर्ने सम्झौता गरेको भएपनि बंगलादेश सम्झौताबाट पछि हटेको थियो । त्यसपछि खरीद प्रक्रिया अगाडी बढेको हो ।

  • नेपाली क्रिकेट टीमको मूख्य प्रशिक्षकमा अष्ट्रेलियाका वाटमोर नियुक्त

    नेपाली क्रिकेट टीमको मूख्य प्रशिक्षकमा अष्ट्रेलियाका वाटमोर नियुक्त

    काठमाडौं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ वाटमोर नियुक्त भएका छन् । उनी प्रशिक्षण करियरका सफल व्यक्ति मानिन्छन् । यसअघि उनले पाकिस्तान र श्रीलंकाको राष्ट्रिय टोलीलाई सम्हालिसकेका छन् ।

    नेपाल क्रिकेट संघ (क्यानले बिहिबार वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । प्रशिक्षकका लागि वाटमोरसहित १२ जनाबीच प्रतिस्पर्धा भएको थियो । उनको मासिक पारिश्रमिक करीव १० हजार डलर आसपास हुने भएको छ ।

    क्यानले महाप्रवन्धकमा रौनक मल्ल र क्रिकेट म्यानेजरमा विनोद दास नियुक्त भएको जनाएको छ । नेपालका पूर्व कप्तान एवं प्रशिक्षक समेत रहेका दासको जिम्मेवारी क्रिकेटसम्बन्धी सम्पूर्ण गतिविधि हेर्ने भएका हुन् । उनीहरुको नियुक्ति जनवरी १, २०२१ बाट लागू हुने भएको छ ।

    वाटमोर श्रीलंकामा जन्मिएका हुन् । सन् १९६२ मा परिवार बसाई सरेपछि अष्ट्रेलिया पुगेका उनले त्यहाँको राष्ट्रिय टिमबाट खेल्ने अवसर पाएका थिए । एक दशक खेलाडी बनेका उनले १९८८, ८९ को सिजनबाट सन्यास लिएका थिए । त्यसपछि प्रशिक्षणमा लागेका उनी सफल प्रशिक्षकका रुपमा गनिन्छन् । श्रीलंकाका लागि उनले १९९६ मा प्रशिक्षकका रुपमा विश्वकप जिताएका थिए ।

    श्रीलंकालाई विश्वच्याम्पियन बनाएपछि उनी इंग्लिस काउन्टी क्रिकेट टिम लंकाशायर पुगेका थिए । उनले टीमलाई दुई राष्ट्रिय लिग र नेटवेस्ट ट्रफी जिताएका थिए । त्यसपछि उनी पुनः श्रीलंका फर्किए ।

    त्यसपछि उनको नेतृत्वमा श्रीलंकाले पुनः १९९९ को विश्वकपमा भाग लियो । २००३ को विश्वकप समेत श्रीलंकाले उनकै प्रशिक्षणमा खेलेको थियो । त्यसपछि उनी बंगलादेशको प्रशिक्षक बने । २००५ मा बंगलादेशले जिम्बाब्वेविरुद्ध पहिलो टेष्ट म्याच जित्दा उनी नै प्रशिक्षक थिए ।

    सोही वर्ष एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै बंगलादेशले इतिहास रचेको थियो । २००७ को विश्वकप बंगलादेश उनकै नेतृत्वमा खेलेको थियो ।


    २०१० र २०११ मा उनी आईपीएल टिम कोलकाता नाइट राइडर्सको प्रशिक्षक बनेका थिए । २०१२ मा उनी पाकिस्तान टिमको प्रशिक्षक बनेका थिए ।

    त्यसपछि उनी जिम्बाब्वेको राष्ट्रिय प्रशिक्षक बनेका थिए । २०२० फेब्रअरीयता सिंगापुर क्रिकेट टिमको मुख्य प्रशिक्षक बनेका उनी अब नेपाली टीम सम्हाल्न आएका हुन् ।

  • संवैधानिक परिषदको बैठक स्थगित

    संवैधानिक परिषदको बैठक स्थगित

    काठमाडौं । संवैधानिक परिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि बैठक बोलाएका थिए ।

    नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपा नेताहरुले आपत्ति जनाएपछि परिषदको बैठक स्थगित भएको बताइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने आफु बैठकमा सहभागी नहुने बताएका थिए ।

    यसअघि आजै प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार बालुवाटार पुगेका थिए । यसअघि बुधबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । तर ओलीले उक्त अध्यादेश फिर्ता नहुँदै संवैधानिक परिषदको बैठक बोलाएका थिए ।

  • शेयर बजार राताम्मै : नेप्से २२.७० अंकले घट्दा ६ अर्ब ७६ करोड बढीको कारोबार

    शेयर बजार राताम्मै : नेप्से २२.७० अंकले घट्दा ६ अर्ब ७६ करोड बढीको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार राताम्मै भएको छ । आज नेप्से परिसूचक २२.७० अंकले घटेर २ हजार ३२.५१ अंकमा झरेको छ ।

    आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स १.०४ अंकले घटेर ३ सय ८५.९४ अंकमा झरेको छ ।

    बिहिवार लघुवित्त बाहेक अन्य सबै समुहको सूचक घट्यो । आज सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । ट्रेडिङको सूचक २.७९ प्रतिशत घट्यो । त्यस्तै, जीवन बिमा समुहको २.०३ प्रतिशत, अन्य समुहको १.९१ प्रतिशत घट्यो भने अरु समुहको पनि घट्यो ।

    बुधवारको तुलनामा आज कारोबार रकममा भने केही सुधार भएको छ । आज १ सय ९५ कम्पनीको १ करोड ४१ लाख १४ हजार ६ सय ६० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भयो ।

    आज सबैभन्दा धेरै माहुली सामुदायीक लघुवित्तका शेयर धनीले कमाए । माहुलीको शेयर मूल्य ९.९३ प्रतिशत बढ्यो । त्यस्तै, माउन्टेन इनर्जीको ९.७९ प्रतिशत, च्याङ्दी हाइड्रोपावरको ९.६६ प्रतिशत बढ्यो ।

    सबैभन्दा धेरै गुमाउनेमा नारायणी विकास बैंकका शेयर धनी छन् । बैंकको शेयर मूल्य ७.५१ प्रतिशत घट्यो । त्यस्तै, नेपाल बैंकको ६.२५ प्रतिशत, खानीखोला हाइड्रोपारवको ५.९३ प्रतिशत घट्यो ।

    बिहिबार पुनर्बीमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९२ रुपैयाँ घट्यो । यो मूल्य कारोबार भएको अघिल्लो दिनको चुलनामा ५.८१ प्रतिशत कम हो ।

    आज सबैभन्दा धेरै कारोबार पुनर्बीमा कम्पनीले गर्यो । कम्पनीले ८० करोड २५ लाख ८३ हजार रुपैयाँको कारोबार गर्यो । त्यस्तै, नेपाल लाईफ इन्स्योरेन्सले ५५ करोड ४० लाख ३३ हजार रुपैयाँको कारोबार गर्यो ।

  • शुक्रबारदेखि जोर-बिजोर प्रणाली हटने, यस्तो छ अब नयाँ व्यवस्था

    शुक्रबारदेखि जोर-बिजोर प्रणाली हटने, यस्तो छ अब नयाँ व्यवस्था

    काठमाडौं । उपत्यकाका सवारीसाधनमा लगाइएको जोर-बिजोर प्रणाली भोलि (शुक्रबार) बाट हटाउने निर्णय भएको छ ।

    काठमाडौं जिल्ला प्रशासनले विहिबार विज्ञप्ती जारीगदैृ तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयपछि उपत्यकाको जोर बिजोर प्रणाली हटाउने निर्णय भएको जनाएको छ ।

    प्रशासनले मापदण्ड पालना नगरी सवारी साधन सञ्चालन गरेमा अनुगमन गरी संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने विज्ञप्तीमा जनाइएको छ ।

    ‘जोर विजोर प्रणलीअनुसार सञ्चालन हुने गरी निर्णय भएकोमा विभिन्न व्यावसायिक प्रतिष्ठान, उद्योग कारखानाहरुले जोर विजोर प्रणलीमा सवारी सञ्चालन गर्दा आर्थिक गतिविधिमा असर पुगेको भन्ने गुनासो प्राप्त भएको साथै जोर विजोर प्रणलीमा सार्वजनिक सवारी यातायात सञ्चालन गर्दा सार्वजनिक सवारी साधनको संख्या कम भई यात्रीहरुको चाप बढी भएकाले सर्वसाधारण यात्रीहरुको सुविधाका बढी संख्यामा सार्वजनिक यातायात सञ्चालन गर्दा कोभिड संक्रमण जोखिमसमेत कम हुने हुँदा कोभिड संक्रमण अवधिभर सार्वजनिक सञ्चालन निर्देशिका २०७७ पालना गर्ने गरी पुस ३ गतेबाट काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाएको व्यहोरा सबै नागरिकहरुमा अनुरोध छ’, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    कोरोना न्यूनीकरणका लागि भन्दै लकडाउन हटे पनि उपत्यकामा भने भदौ २५ गतेबाट सबै सवारीसाधनमा जोर९बिजोर प्रणाली लागु थियो ।

    सरकारी पक्षले जोर- बिजोर माध्यमबाट कोरोना महामारी न्यूनीकरण हुने दाबी गर्दै आए पनि उपत्यकामा संक्रमणको दर निरन्तर बढ्दै गएको थियो ।

  • नेपालमा विवादमा परेको एमसीसी श्रीलंकाबाट फिर्ता

    नेपालमा विवादमा परेको एमसीसी श्रीलंकाबाट फिर्ता

    काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) श्रीलंकाबाट फिर्ता लिएको छ । नेपालमा जस्तै श्रीलंकामा पनि विवादित बनेपछि अमेरिकाले एमसीसी श्रीलंकाबाट फिर्ता गरेको हो ।

    अमेरिकाले श्रीलंकाबाट ४८ करोड अमेरिकी डलर बराबरको परियोजना रद्ध गर्ने निर्णय गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    एमसीसी सम्झौता अन्तर्गत ४८ करोड अमेरिकी डलर अनुदानको यातायात पूर्वाधारको स्तरोन्नति गर्न र सम्पूर्ण देशलाई समेट्ने भूमिसुधार सुधार गर्नका लागि उपयोग गर्न प्रस्ताव गरिएको थियो ।

    एमसीसीले सन् २०१९ अप्रिलमा श्रीलंकालाई पाँचवर्षे कार्यक्रमअन्तर्गत ४८ करोड अमेरिकी डलर दिने जनाए पनि श्रीलंकाली सरकारले त्यसमा हस्ताक्षर गरेको थिएन । परियोजना सन् २०१६ मै छनोट भएको थियो तर अघि बढ्न सकेको थिएन ।

    गएको एक बर्षमा एमसीसीबारेमा गहिरो राजनीतिकरण भएको बताइएको छ । सरकारलेएमसीसी प्रोजेक्टको विस्तृत अध्ययन गर्न र सरकारलाई सिफारिस गर्न एक समिति गठन गरेको थियो ।

    कोलम्बो विश्वविद्यालयका प्राध्यापक ललिथसिरी गुणारुवानको नेतृत्वमा विशेष समितिको सिफारिस पछि सरकारले उक्त सम्झौतालाई ‘बिना शर्त अस्वीकृत’ गर्ने निर्णय गरेको थियो । एमसीसी नेपालमा पनि विवादमा परेको छ । सरकारले एमसीसी परियोजनाबारे अध्ययन गर्न एक कार्यदल गठन गरेको थियो ।

  • बैंकका ऋणीलाई राहत, असारसम्म कालोसूचीमा राख्न नपाउने

    बैंकका ऋणीलाई राहत, असारसम्म कालोसूचीमा राख्न नपाउने

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेका ऋणीले आगामी असार मसान्तसम्म छूट पाएका छन् । कोरोनाबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको अवस्थामा अब बैंक तथा वित्तीय संस्थाले असार मसान्तसम्म त्यस्ता ऋणीलाई कालोसूचीमा राख्न पाउने छैनन् ।

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । कोभिड– १९ बाट प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेमा आगामी असार मसान्तसम्म कालोसूचीमा पर्ने छैनन् ।

    केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा गरेको नयाँ व्यवस्थाअनुसार एकीकृत निर्देशिका जारी गर्दै उक्त व्यवस्था गरेको छ । कोरोनाबाट प्रभावित ऋणीको हकमा छ महिना वा सोभन्दा कम अवधिको ब्याज बक्यौता रहेको अवस्थामा कालोसूचीमा समावेश गर्ने प्रक्रियाको समयसीमा बढाइएको राष्ट्र बैंकले जनाएको छ ।

    केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको नयाँ निर्देशिका अनुसार कम्तीमा दुई सय ५० दिनको कारोबार मूल्य नभएका कम्पनीलाई शेयर धितोमा कर्जा नदिने व्यवस्था समेत गरेको छ ।

    पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेका संस्था, व्यावसायिकरुपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्था, विगत तीन वर्षदेखि साधारणसभा नगरेका संस्था र कम्तीमा दुई सय ५० दिनको कारोवार मूल्य नभएका संस्थाको शेयर धितो राखेर कर्जा लिन नपाइने भएको छ ।

    प्रयोजन नखुलेका कूल व्यक्तिगत अधिविकर्ष कर्जा अधिकतम प्रतिव्यक्ति ५० लाख रुपैयाँसम्म मात्र प्रवाह गर्न सकिने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।

  • आजबाट नेपाल-भारत हवाई उडान सूचारु

    आजबाट नेपाल-भारत हवाई उडान सूचारु

    काठमाडौं । नेपाल र भारतबीच ९ महिनापछि आजबाट हवाई उडान सुचारु भएको छ । नेपाल एयरलाइन्सको जहाज आज काठमाडौंबाट भारतको नयाँ दिल्ली उड्दैछ । कोरोना भाइरसको महामारीपछि ११ चैतदेखि सबै प्रकारका उडान अवतरणमा प्रतिबन्ध लागेको थियो ।

    काठमाडौ–नयाँदिल्ली गन्तव्यमा नेपाल–भारत दुवै देशका एक\एक वायुसेवा कम्पनीले दैनिक दुई वटा उडान गर्ने गरी तालिका तय भएको छ । जसमा नेपाल एयरलाइन्सले आजबाट उडान शुरु गर्दैछ ।

    निगमको एयरबस ए ३२० विमान काठमाडौं एयरपोर्टबाट दिउँसो साढे ११ बजे दिल्ली जानेछ । पहिलो उडानमा ८० प्रतिशतभन्दा बढी अक्कुपेन्सीमा यात्रु लिएर जहाज दिल्ली जाने भएको छ । भारतले एयर बबल स्कीम ल्याएपछि त्यहा रहेका विदेशीहरु धमाधम आफ्नो मुलुक फर्किरहेका छन् । नेपाल समेत यही स्कीममा सहभागी भएको हो ।

  • काठमाडौं महानगरपालिका भित्र तत्काल विद्यालय नखुल्ने

    काठमाडौं महानगरपालिका भित्र तत्काल विद्यालय नखुल्ने

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्र तत्काल विद्यालय संचालनमा नआउने भएका छन् । कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेका काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने महानगरपालिकाले जनाएको छ ।

    महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखसँग छलफल गरेको थियो । विदेशका धेरै सहरमा पनि कोभिडका कारण विद्यालय बन्द रहेको भन्दै काठमाडौंमा समेत तत्काल स्कुल नखोल्ने निष्कर्ष निकालेको हो ।

    काठमाडौंमा कोभिड अझै नियन्त्रणमा नआइसकेको अवस्थामा विद्यालय खोल्दा जोखिम हुन सक्ने आंकलन गरिएको छ । अर्कोतर्फ अहिले जाडोको मौसम समेत रहेका कारण अनलाइन कक्षालाई नै प्रभावकारी बनाउने निर्णय गरिएको हो ।

    बालबालिकाले स्वास्थ्य मापदण्ड आफैं पालना गर्न समस्या हुने भन्दै एउटै मापदण्ड बनाउने र खोलेका विद्यालयको पनि अनुगमन गर्ने, स्वास्थ्य मापदण्ड पुरा नभए बन्द गर्नेसम्मको तयारी समेत गर्नुपर्ने निर्णय समितिले गरेको छ ।

  • नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज मार्चमा

    नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज मार्चमा

    काठमाडौं । विश्वकप क्रिकेट २०२३ को छनोट अन्तर्गत नेपालले दोस्रो सिरिज आगामी मार्च २०२१ मा खेल्ने भएको छ । यस सिरिजमा नेपाल, अमेरिका र ओमान भिड्नेछन् । विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज २०२१ मार्च १९ देखि २८ सम्म ओमानको अल अमरितमा हुने गरी आइसीसीले खेल तालीका सार्वजनिक गरेको छ ।

    यो सिरिज सन् २०२० मै हुनुपर्ने थियो । तर, कोरोना भाइरसको महामारीका कारण स्थगित भएको हो । विश्वकप लिग २ अन्तर्गत विभिन्न सिरिजका खेल तालीका आईसीसीले सार्वजनिक गरेको छ । जसअनुसार नेपालले २०२१ जुलाईमा स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज खेल्ने भएको छ ।

    नेपालले गत फेब्रुअरीमा घरेलु मैदानमा ओमान र अमेरिकासहित पहिलो लिग २ सिरिज खेलेको हो । यस सिरिजमा नेपालले दुई खेल जित्दा दुई खेलमा हार बेहोरेको हो । आगामी सिरिजमा सन् २०२२ फेब्रुअरीमा नेपालले घरेलु मैदानमा पपुवा न्यु गिनी र युएईसँग सिरिज खेल्ने भएको छ ।

    त्यसपछि नेपाल सन् २०२२ मार्चमा नामिविया भ्रमणमा जानेछ । यस सिरिजमा स्कटल्याण्ड समेत सहभागी हुनेछ । सन् २०२२ को जुलाईमा नेपाल र ओमानले अमेरिकामा सिरिज खेल्ने भएका छन् । सन् २०२२ सेप्टेम्बर २२ देखि अक्टोबर २ सम्म नेपालले पीएनजीमा सिरिज खेल्न नेपाल जानेछ ।

    सन् २०२३ मा नेपालले नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज घरेलु मैदानमा खेल्ने भएको छ । लिग २ अन्तर्गत अन्तिम सिरिज नेपालले सन् २०२३ को फेब्रुअरीमा युएईमा खेल्ने गरी तालीका तय भएको छ ।

    यस सिरिजमा नेपालले पीएनजी र युएईसँग खेल्ने भएको छ । लिग २ का सिरिजहरूबाट शीर्ष ३ स्थानमा रहने राष्ट्रले आईसीसी क्रिकेट विश्वकपको मुख्य छनोटका लागि स्थान बनाउने भएका छन् ।

    विश्वकपको लागि अन्तिम छनोट २०२३ जुन १८ देखि जुलाइ ९ सम्म जिम्बावेमा हुनेछ । यस प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । यो प्रतियोगिताको शीर्ष दुईमा रहने टोली विश्वकप खेल्नेछन् ।

  • अब पुनः श्रम स्वीकृत अनलाइनबाटै लिन सकिने, नेपाल आउनै पर्ने बाध्यता हट्यो

    अब पुनः श्रम स्वीकृत अनलाइनबाटै लिन सकिने, नेपाल आउनै पर्ने बाध्यता हट्यो

    काठमाडौं । अब श्रमिकका लागि जारी हुने पुनः श्रमस्वीकृति अनलाइनबाटै लिन सकिने भएको छ । यसले संसारभर कामको सिलसिलामा पुगेका नेपाली कामदार लाभान्वित हुने भएका छन् । यस्तो व्यवस्था आगामी साताबाट कार्यान्वयनमा ल्याउने तयारी छ ।

    श्रमिकले पुनः श्रम स्वीकृति (रि इन्ट्री) सुविधा अनलाइनबाटै लिन सकिने गरी व्यवस्था मिलाउन लागिएको हो । अहिले श्रम स्वीकृतिका संसारको जुन मुलुकमा भएपनि नेपाल नै आउनु पर्ने बाध्यता रहेको छ । अब भने त्यो बाध्यता हट्ने छ ।

    वैदेशिक रोजगार विभागले तोकेका पेमेन्ट गेट वेमार्फत बीमा र वैदेशिक रोजागर कल्याणकारी कोषको रकम तिर्न सकिने गरी व्यवस्था गर्न लागिएको हो । विभागका अनुसार यस प्रयोजनका लागि विभागले विभिन्न बिमा कम्पनी र पेमेन्ट गेट वेसँग सम्झौता समेत भइसकेको छ ।

    आईएमई पे, ई सेवा जस्ता गेटवेबाट श्रमिकले तोकिए बराबरको शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । शुल्क भुक्तानी भएपछि प्रणालीबाटै श्रमिकको इमेलमा श्रम स्वीकृति नवीकरणको प्रमाणसहितको इमेल प्राप्त हुने भएको छ ।

    विदेशमा श्रम अवधि सकिएर वैधानिकताका लागि पुनः श्रम स्वीकृति लिनुपर्छ । श्रमिकले दुई पटकसम्म विदेशबाबाटै श्रम रि इन्ट्रीको सुविधा पाउने गरी व्यवस्था गरिएको छ ।

  • कांग्रेसले भन्यो : तत्काल संसद अधिवेशन बोलाउ

    कांग्रेसले भन्यो : तत्काल संसद अधिवेशन बोलाउ

    काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले तत्काल संसदको हिँउदे अधिवेशन बोलाउन माग गरेको छ । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेसको पदाधिकारी बैठक आज बसेको थियो । उक्त बैठकले तत्काल संसद बोलाउनु पर्ने निचोड निकालेको हो ।

    सरकारले ल्याएको अध्यादेश संविधानको मर्म विपरीत भएको ठहर गर्दै संसदको अधिवेशन छलेर अध्यादेश जारी गर्नु अलोकतान्त्रिक र सर्वसत्तावादी कदम भएको समेत निष्कर्ष कांग्रेसले निकालेको छ ।

    आजको बैठकले पुस ३ गतेका लागि संसदीय दलका कार्यसमितिको बैठक समेत बोलाउने निर्णय गरेको छ । पार्टीले २९ मंसिरमा गरेको प्रदर्शनको समिक्षा समेत आजको बैठकमा भएको छ । यता, सरकारले भने अध्यादेश फिर्ता गर्न पार्टीमा सहमति गरेको छ ।

  • पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेका छन् ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ४७ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ३८ हजार ५ सय ६९जना कोरोना संक्रमित निको भएका छन् ।

    हालसम्म १८ लाख ४९ हजार १ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय ४३ जना पुगेका छन् ।

  • अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत, संसदको विशेष अधिवेशनको मागसमेत फिर्ता

    अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत, संसदको विशेष अधिवेशनको मागसमेत फिर्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् ।

    स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँगको दुई पटक छलफल ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन् ।

    यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको स्रोतले जनाएको छ । उक्त सहमतिसँगै बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी थिइन् ।

    संवैधानिक परिषद्मा ३ जना मात्रै उपस्थित भए पनि बैठक सञ्चालन गर्न मिल्ने व्यवस्था गरिएको छ । नयाँ अध्यादेशमा अध्यक्षसहित तत्काल बहालमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने उल्लेख छ ।

    बैठकमा पेस भएको प्रत्येक विषयमा सर्वसम्मत निर्णय हुने अध्यादेशमा उल्लेख छ । पहिलो बैठकमा निर्णय नभए तत्काल बहाल सदस्यको बहुमत सदस्यका आधारमा निर्णय हुने भन्ने उल्लेख छ । अब सभामुख र प्रमुख विपक्षी दलको नेता अनुपस्थित भए पनि बैठक बस्नेछ भने तीन जनाको सहमति भएमा निर्णय हुनेछ ।

    तर त्यसअघि संसद् बैठक बोलाउन माग गर्दै निवेदन लिएर राष्ट्रपति पुगेका नेताहरुले आफ्नो प्रस्ताव फिर्ता लिनुपर्ने उनको अडान रहेको स्रोतले बताएको छ ।

  • नेकपा स्थायी कमिटी बैठक सुरु, ओली पनि सहभागी

    नेकपा स्थायी कमिटी बैठक सुरु, ओली पनि सहभागी

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ । अन्योलपूर्ण अवस्थाकाबीच दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ घण्टा ढिलो गरी प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

    सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी नहुने भनेपछि बैठक सुरु हुन सकेको थिएन ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पटक–पटकको प्रयासपछि प्रधानमन्त्री बैठकमा बस्न राजी भएका हुन् । दुई चरणमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपछि बैठक अघि बढेको हो।

    मंसिर २१ गते देखि सुरु भएको स्थायी कमिटीको बैठकमा पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सचिवालय बैठकमा पेश गरेको प्रस्ताव माथि छलफल हुने बताइए पनि ठोस रुपमा छलफलमा प्रवेश पाइसकेको छैन।

    आज बस्ने बैठकमा सरकारले मंगलवार मात्र जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश माथि छलफल हुने बताइएको छ। प्रचण्ड- नेपाल पक्षले सरकारले जारी गरेको अध्यादेशलाई असंवैधानिक भन्दै खारेजीको माग गरेका छन्।

  • विशेष अधिवेशनको माग गर्दै नेकपा सांसदहरु शीतलनिवासमा

    विशेष अधिवेशनको माग गर्दै नेकपा सांसदहरु शीतलनिवासमा

    काठमाडौ । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन । नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोलीले सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै निवेदन लिएर शितल निवास गएका हुन ।

    प्रधानमन्त्री केपी ओलीले संबैधानिक परिषद सम्वन्धि अध्यादेश ल्याएपछि असन्तुष्ट नेकपा सांसद राष्ट्रपति कार्यालय पुगेका हुन । निवेदन भने दर्ता भैसकेको छैन । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन बोलाउने कानुनी व्यवस्था छ ।

    विशेष अधिवेशन माग गर्ने अधिकार संविधानले सांसदहरूलाई दिएको छ । विशेष अधिवेशन माग गर्न एक चौथाइ सांसद भए पुग्ने संवैधानिक व्यवस्था छ । संसद अधिवेशन माग गर्नका लागि चाहिने सांसदको संख्या नेकपाका अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेता माधब नेपाल पक्षभित्रैबाट जुटेको छ ।

    प्रधानमन्त्रीको कदमप्रति असन्तुष्टि जनाउदै विभिन्न दलका नेता र सांसदले पनि संसद अधिवेशन बोलाउन माग गरेका छन् । केहीले प्रधानमन्त्री ओलीलाई महा अभियोग लगाउनुपर्ने पनि बताएका छन् ।