Category: फिचर

  • नेपालमा घट्दैछन् कोरोनाका गम्भीर संक्रमित, आईसीयू र भेन्टिलेटरमा ३८२ जनामात्र

    नेपालमा घट्दैछन् कोरोनाका गम्भीर संक्रमित, आईसीयू र भेन्टिलेटरमा ३८२ जनामात्र

    काठमाडौं । पछिल्लो एक सातामा नेपालमा औसतः दैनिक १५ सय हाराहारीमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । यसले सक्रिय संक्रमितको संख्यामा कमी आउनुका साथै गम्भीर प्रकृतिका बिरामीको संख्या समेत घटेको देखाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ३८२ कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार जारी छ । मन्त्रालयको तथ्यांक अनुसार ५४ जना भेन्टिलेटरमा र ३२८ संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।


    आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२२ रहेको छ । यस प्रदेशमा ३१ जना भेन्टिलेटरमा छन् । लुम्बिनी प्रदेशमा ७५ जना आईसीयू र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा २६ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा रहेको तथ्यांक छ ।

    प्रदेश २ मा ८ जना आईसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार जारी छ । सुदुरपश्चिममा ७ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८१ आईसीयू र ९ जना भेन्टिलेटरमा रहेका छन् । कर्णाली प्रदेशमा ९ आईसीयूमा रहेको मन्त्रालयको तथ्यांक छ । विज्ञहरुले भने नेपालमा अझै जोखिम नघेको भन्दै सचेत हुन आग्रह गरिरहेका छन् ।

  • त्रिवि व्यवस्थापन संकाय, स्नातकोत्तर तहको परीक्षा २ घण्टा मात्र हुने

    त्रिवि व्यवस्थापन संकाय, स्नातकोत्तर तहको परीक्षा २ घण्टा मात्र हुने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको स्नातकोत्तर तहको अन्तिम परीक्षा दुई घन्टा मात्रै हुने निर्णय गरिएको छ । त्रिविका अनुसार कोभिड१९ संक्रमण जोखिमका कारण परीक्षा समय घटाइएको हो । यसअघि स्नातकोत्तर (एमए) व्यवस्थापन संकायको परीक्षा चार घण्टासम्म सञ्चालन हुने गरेको थियो।

    कोरोना त्रास कायमै रहेकाले परीक्षा समय घटाउने निर्णय विश्वविद्यालयले गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाका कारण कक्षा १२ को परीक्षा समय पनि घटाएर डेढ घण्टा तोकेर संचालन गरिसकेको छ ।

    सोही प्रकारको व्यवस्थापन त्रिभुवन विश्वविद्यालयले समेत मिलाएको हो । नेपालमा पछिल्लो समय क्रमशः शैक्षिक गतिविधि सूचारु हुन थालेका छन् । संक्रमणको संख्यामा आइरहेको कमी र सक्रिय संक्रमित समेत घटिरहेको समयमा स्वास्थ्य सतर्कता अपनाएर अब शैक्षिक गतिविधि संचालन गर्न दिने निर्णय सरकारले गरिसकेको छ ।

  • २९ मंसिरमा कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने

    २९ मंसिरमा कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने

    काठमाडौं । कांग्रेसले संसदको अधिवेशन तत्काल बोलाउन माग गर्दै प्रदर्शन गर्ने भएको छ। नेकपा भित्रको विवादका बीच सरकारले संसदको अधिवेशन बोलाउन सकेको छैन । मंसिर २९ मा देशैभर सरकार विरुद्ध प्रदर्शन गर्ने पनि निर्णय कांग्रेसले गरेको छ ।

    शुक्रबार सभापति शेरबहादुर देउवाको निवासमा पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसेको थियो । बैठकले कांग्रेसले भ्रष्टाचार, कोरोना नियन्त्रणमा सरकार असफल रहेको भन्दै ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

    सदन अविलम्ब बोलाउनुपर्ने, सदन र सडकबाट सरकारका जनहितविपरित कामको विरोध गर्ने निर्णय कांग्रेसले गरेको छ। उक्त बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ घटनाबारे बैठकमा ब्रिफिङ गरेका थिए । उनले प्रधानमन्त्रीकै निर्देशनमा पुल उद्घाटनमा अवरोध गरिएको बताएका छन् ।

  • चीन र भारतबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलक: परराष्ट्रमन्त्री ज्ञवाली

    चीन र भारतबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलक: परराष्ट्रमन्त्री ज्ञवाली

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताएका छन्।

    प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा उनले दुवै देशबाट भएका भ्रमण द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण रहेको जानकारी दिएका हुन्। भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले मंसिर ११ र चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले मंसिर १४ गते नेपालको औपचारिक भ्रमण गरेका थिए।

    भारतीय विदेश सचिव श्रृङ्गलाको भ्रमण कोभिड-१९ को संंक्रमणपछि नेपाल र भारतबीच रोकिएका द्विपक्षीय भ्रमणको शुरुआत भएको जनाउँदै मन्त्री ज्ञवालीले भ्रमणमा दुई देशबीचको सीमा समस्या औपचरिक कार्यसूचीमा समावेश गरिएको बताए।

    भारतले नेपालका भूभाग समेटेर नयाँ नक्शा जारी र लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि तथा नेपालले पनि आफ्ना भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटी हालसालै नयाँ नक्शा जारी गरेपछि दुवै देशबीचको सम्बन्धमा केही चिसोपना आएको थियो।

    नेपाल–भारत संयुक्त समितिको बैठक चाँडै हुने र दुवै देशबीचका थाती रहेका विषय उक्त बैठकमार्फत यथाशक्य समाधान गर्न पहल गरिने उनको भनाइ थियो।

  • नेपालमा थप १२७२ जनामा कोरोना पुष्टि, १५७५ जना संक्रमणमुक्त

    नेपालमा थप १२७२ जनामा कोरोना पुष्टि, १५७५ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १२७२ जनामा कोरोना संक्रमण देखिएको हो ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३८हजार ८६१ रहेको छ । थप १५७५ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये २ लाख २१ हजार ८४७ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ रहेको छ ।

  • नेपाल एयरलाइन्स फेरि कारबाहीमा, १५ दिनका लागि हङकङ उडानमा प्रतिबन्ध

    नेपाल एयरलाइन्स फेरि कारबाहीमा, १५ दिनका लागि हङकङ उडानमा प्रतिबन्ध

    काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई हङकङले चौथो पटक उडान प्रतिबन्ध लगाएको छ । काठमाडौंबाट गत सोमबार हङकङका लागि उडेको एयरलाइन्समा सवार यात्रुमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि हङकङले एयरलाइन्समाथि १५ दिनको बन्देज लगाएको हो ।

    यसअघि यस्तै घटनामा नेपाल एयरलाइन्स तीन पटक हङकङबाट प्रतिबन्धमा परिसकेको छ । यो चौथो घटना हो । पहिलो पटक अक्टोबर ३ मा काठमाडौँबाट हङकङ उडेको नेपाल एयरलाइन्सको विमानमा ६ जनामा कोरोनाभाइरस पोजेटिभ देखिएपछि हङकङले एयरलाइन्सलाई अक्टोबर ४ देखि १७ सम्म प्रतिबन्ध लगाएको थियो ।

    त्यसलगत्तै हङकङ उडान भरेको एयरलाइन्समा पुनः दोस्रो पटक ९ जना यात्रुमा पोजेटिभ देखिएपछि फेरि अक्टोबर २२ नोभेम्बर ४ सम्म प्रतिबन्ध लगाएको थियो ।

    त्यसपछि भने करिब एक साताको अन्तरालमा भएको काठमाडौं–हङकङ उडान गरेको एयरलाइन्समा पुनः १४ जनामा संक्रमण पुष्टि भएपछि हङकङले नोभेम्बर १२ देखि २५ सम्म उडानमा प्रतिबन्ध लगाएको थियो ।

    पटक–पटकको आफ्ना यात्रुमा कोभिड–१९ संक्रमण पुष्टि र प्रतिवन्ध लाग्दै आएपछि एयरलाइन्सले निजी ल्याबको कैफितका कारण समस्यामा परेको निश्कर्ष निकाल्दै यात्रुहरुलाई सरकारी ल्याबबाट मात्र टेस्ट गर्न र रिपोर्ट वुझाउन भनेको थियो ।

  • गाँजालाई लागु औषधको सूचिबाट हटाउने प्रस्तावमा नेपालको मतदान

    गाँजालाई लागु औषधको सूचिबाट हटाउने प्रस्तावमा नेपालको मतदान

    काठमाडौं । नेपाल गाँजालाई कडा प्रकृतिको लागु औषधीको सूचिबाट हटाउनु पक्षमा देखिएको छ । नेपालले संयुक्त राष्ट्रसंघमा गाँजालाई लागु औषधको सूचिबाट हटाउनु पर्ने पक्षमा मतदान गरेको हो । नेपालसहित तीन दर्जन मुलुक यस्तो पक्षमा देखिएका छन् । नेपालमा अहिले गाँजामाथिको प्रतिवन्ध हटाउनु पर्ने वहस तिब्र बनेको छ ।

    राष्ट्रसंघको लागु औषधसम्बन्धी एक सेसनमा मतदान भएको थियो । जसमा नेपालसहित तीन दर्जन मुलुकले यसको पक्षमा मतदान गरेका छन् । गाँजा औषधीका रुपमा प्रयोग हुने भन्दै यसलाई लागुऔषध मान्न नहुने तर्क अभियन्ताहरुको छ । यसले अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने उनीहरुको तर्क छ । नेपालमा गाँजा सेवन वा यसको कारोबार प्रतिबन्धित रहेको छ ।

  • कोभिड खोप विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ : प्रधानमन्त्री

    कोभिड खोप विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभरका मानिसहरुको ज्यान जोखिममा परेको यस समय निर्माण हुने खोप विश्वव्यापी सर्वसुलभ उपलब्धताको वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् । कोभिड १९ का कारण सम्पूर्ण मानव समुदाय नै संकटमा परेको समय जीवन रक्षाका खोप अधिकतम नाफाका माध्यम हुन नसक्ने समेत उनले बताए ।

    कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई भिडियो सम्बोधन गरेका प्रधानमन्त्रीले यस्तो खोप गरिबी र अतिकमविकसित मुलुकमा समेत सहजै उपलब्ध हुनुपर्ने विषयलाई महत्वका साथ उठाएका छन् ।

    प्रधानमन्त्री ओलीले कोभिड–१९ सम्बन्धी खोपहरु वास्तविक रुपमा नै विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्ने भन्दै जसमा सबै मुलुक र जनताको लागि सहज पहुँच र उपलब्धतामा जोड दिए । प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुने उल्लेख गरे

    अहिले विश्वमा सबैको पहुँचमा खोप पुर्याउन भइरहेको प्रयास सह्रानिय रहेको समेत उनको भनाई छ । कोरोना भाइरस र यसले पारेको प्रभाव साथै त्यसको न्यूनिकरणका उपाय सम्बन्धमा संयुक्त राष्ट्रसंघले विशेष महासभा बोलाएको हो ।

  • अर्थ मन्त्रालयको दोस्रो निर्देशन, ‘कोरोना बीमा रकम तीन दिनमै भुक्तानी दिनु’

    अर्थ मन्त्रालयको दोस्रो निर्देशन, ‘कोरोना बीमा रकम तीन दिनमै भुक्तानी दिनु’

    काठमाडौं । अर्थ मन्त्रालयले कोराना बीमाको दाबी रकम तीन दिनभित्रै भुक्तानी गर्न अर्को निर्देशन जारी गरेको छ । यसअघि अर्थ मन्त्रालयले एक महिना अगाडी कोरोना बीमाको भुक्तानी एक साता भित्रै गरिसक्नु निर्देशन दिएको थियो । तर, अर्थको निर्देशन पालना नभएपछि अर्को निर्देशन जारी भएको हो ।

    अर्थ मन्त्रालयले बीमा समितिलाई पत्र लेखेर मन्त्रालयले यसअघि सात दिनभित्रै दाबी रकम भुक्तानीको लागि निर्देशन दिए पनि यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै अब तीन दिनभित्रै रकम भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

    सोही प्रयोजनका लागि बुधबार र बिहीवार अर्थ मन्त्रालयमा मन्त्री र सचिवस्तरीय बैठक बसेको बताइएको छ ।

    मन्त्रालयले कागजात पुगेका दाबीलाई तीन दिनभित्र भुक्तानी दिन, यसको दैनिक विवरण मन्त्रालयमा पठाउन, कुन बीमा कम्पनीमा कति दाबी परे, कतिको भुक्तानी भयो र के समस्या छन् भन्ने जानकारी पनि नियमित रूपमा मन्त्रालयलाई दिन बीमा समितिलाई निर्देशन दिएको हो । हजारौं दावि पुगेपनि भुक्तानीको अवस्था भने कमजोर रहेको छ ।

  • नेकपा अध्यक्षद्धयबीचको विवाद मिलाउन राष्ट्रपति सक्रिय

    नेकपा अध्यक्षद्धयबीचको विवाद मिलाउन राष्ट्रपति सक्रिय

    काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन पुनः राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ । बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेकी राष्ट्रपतिले साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छिन् । भेट राष्ट्रपति निवासमा भएको हो ।

    दुबै भेटमा पार्टीभित्र देखिएको विवाद र यसको समाधानबारे छलफल भएको नेताहरुले बताएका छन् । पार्टीको आन्तरिक मामलामा राष्ट्रपतिको सक्रियतालाई भने धेरैले संशयका साथ हेर्ने गर्छन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै खाले बैठकलाई बहिष्कार गर्ने रणनीति ल्याएका छन् ।

    प्रचण्ड र अन्य नेताहरु भने सबै विवाद पार्टी भित्र छलफल गरी टुंगोमा पुग्नु पर्ने पक्षमा रहेका छन् । यसै सन्दर्भमा दुई अध्यक्षसँग राष्ट्रपतिले गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

  • चार वटा राष्ट्रिय निकुन्जमा गैंडा गणनाको तयारी

    चार वटा राष्ट्रिय निकुन्जमा गैंडा गणनाको तयारी

    काठमाडौं । यो वर्ष नेपालमा गैंडा गणना हुने भएको छ । पछिल्लो दुई वर्षयता गैंडा गणना हुन सकेको छैन । चालु हिँउद मै गैंडा गणनाको तयारी रहेको राष्ट्रिय समाचार समितिले लेखेको छ । नेपालमा गैंडा रहेका चार वटा राष्ट्रिय निकुञ्जमा गणना गर्न लागिएको हो ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गणना गर्न ८० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । विसं २०७४ मा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा बगाएपछि त्यसको पछिल्लो वर्ष सन् २०१९ मा गैँडा गणना गर्ने तयारी थियो ।

    त्यतिबेला नेपाल सरकारले बजेट विनियोजन नगरेको र दाताको भर पर्दा बजेटको अभावमा गणना हुन नसकेको राससमा उल्लेख छ । गत वर्ष गणनाको तयारी भएको भए पनि कोभिड –१९ को कारण अन्तिम समयमा गएर रोकिएको थियो ।

    सूचना अधिकारी आचार्यका अनुसार यस वर्ष गणनाको तयारी गरिएको हो । गणकको तालीमलगायत काम पुनः गर्नुपर्ने भएको छ । जाडोयाम सकेर घाँस सुकेपछि जङ्गल उजाड भएको समयमा गणनाका लागि उपयुक्त मानिन्छ । सूचना अधिकारी आचार्यका अनुसार फागुनदेखि वैशाखसम्मको समयलाई गणनाको लागि उपयुक्त हुन्छ ।

    नेपालका चार राष्ट्रिय निकुञ्ज चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटामा गैँडा छन् । सन् २०१५ मा गैँडा गणना गरिएको थियो । चितवनमा गैँडा गणना गर्न एक महिना लाग्ने निकुञ्जले जनाएको छ ।

    अन्य निकुञ्जमा एक सातादेखि १० दिनसम्म लाग्ने भएको छ । नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो ।

  • नेपालभर थप १३४३ जनामा कोरोना पुष्टि, २१११ जना संक्रमणमुक्त

    नेपालभर थप १३४३ जनामा कोरोना पुष्टि, २१११ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १३४३ जनामा कोरोना संक्रमण देखिएको हो ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३७ हजार ५८९ रहेको छ । थप २१११ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये २ लाख २० हजार २७२ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १५८३ पुगेको छ ।

  • प्रयोगशालामा उत्पादित ‘कुखुराको मासु’ बेच्न सिङ्गापुरको अनुमति

    प्रयोगशालामा उत्पादित ‘कुखुराको मासु’ बेच्न सिङ्गापुरको अनुमति

    एजेन्सी । सिङ्गापुरले जनावर नमारीकन उत्पादन हुने ‘सफा मासु’ उपभोगका निम्ति स्वीकृति दिएको छ। उसको निर्णयसँगै अमेरिकाको स्यान फ्रान्सिस्कोस्थित इट जस्ट नामक कम्पनीलाई प्रयोगशालामा उत्पादित कुखुराको मासु बेच्न बाटो खुलेको छ।

    शुरुमा यो मासु केवल नगेटका मात्र प्रयोग गरिनेछ तर कम्पनीले कहिलेदेखि त्यो बजारमा उपलब्ध हुन्छ भनेको छैन। स्वास्थ्य, पशु कल्याण तथा वातावरणसम्बन्धी चिन्ताका कारण सामान्य मासुको विकल्पको माग बढिरहेका छन्।

    बार्क्लेजका अनुसार यस्ता वैकल्पिक मासुको बजार आगामी दशकमा १४० अर्ब डलरसम्म पुग्न सक्छ जुन हालको विश्वव्यापी मासु उद्योगको कुल कारोबारको १० प्रतिशत हुन आउँछ।

    वनस्पतिमा आधारित मासुका विकल्पहरू अहिले पनि सुपरमार्केटहरू तथा रेस्टुराँका मेनुहरूमा बियन्ड मिट वा इम्पसिबल फुडका नाममा उपलब्ध छन्।तर इट जस्टको उत्पादन भने नितान्त भिन्न छ।

    यो वनस्पतिमा आधारित होइन बरु प्रयोगशालामा जनावरको कोषहरूको कृत्रिम वृद्धि गराएर उत्पादित हो।

    ठूलो फड्को

    कम्पनीले पछिल्लो निर्णयलाई विश्वव्यापी खाद्य उद्योगको निम्ति ठूलो फड्को भन्दै अरू देशले पनि यसै गर्ने आशा व्यक्त गरेको छ। पछिल्लो दशकमा दर्जनौँ कम्पनीहरूले यस्ता मासु उत्पादनको प्रयास गरे।

    एउटा ‘नैतिकरूपमा असल’ उत्पादनको विकल्प दिएर उपभोक्ताहरूलाई आकर्षित गर्ने उनीहरूको प्रयास रह्यो।ती कम्पनीमध्ये सबभन्दा ठूला दुई इजरेलस्थित फ्युचर मिट टेक्नोलोजिज तथा बिल गेट्सद्वारा समर्थित मेम्फिस मिट्स हुन्।

    दुवैले प्रयोगशालामा उत्पादित सस्तो र स्वादिलो मासु बजारमा ल्याउने कोशिश गरिरहेका छन्।कैयौँले यस्ता उत्पादनले वातावरणलाई फाइदा पुग्ने भनेका छन् भने केही वैज्ञानिकले चाहिँ कुनै परिस्थितिमा वातावरणका लागि यो झन् खराब हुनसक्ने पनि बताएका छन्।

    प्रयोगशालामा उत्पादित मासुले थुप्रै चुनौती बेहोर्न बाँकी नै रहेको बताइएको छ । एक त यसको मूल्य महँगो नै छ भने अर्कोतिर आम उपभोक्ताले यसलाई रुचाउने छन् वा छैनन् भन्ने हेर्न बाँकी छ।

    सुरक्षित नौलो खाना

    सिङ्गापुर फुड एजेन्सीले एउटा विज्ञ समूहले इट जस्टका उत्पादन नियन्त्रण एवम् सुरक्षा परीक्षणबारे आँकडा अध्ययन गरेको बताएको छ।‘यो तोकिएको परिमाणमा उपभोगको निम्ति सुरक्षित पाइएको छ,’ उसले भनेको छ।

    त्यसैले सिङ्गापुरमा यसलाई इट जस्टको चिकन नगेटको रूपमा विक्री गर्न अनुमति दिइएको बताइएको छ।यो मासु उत्पादन गर्ने प्रक्रियामा एन्टीबायोटिक्सको प्रयोग नगरिएको कम्पनीले बताएको छ।

    उसले अब सिङ्गापुरमा शुरुमा सानो स्तरमा उत्पादन उद्योग खडा गरेर अघि बढ्ने जनाएको छ। -बीबीसी

  • नेप्से १५.५७ अंकले घट्यो, कारोबारमा पुनर्बीमा कम्पनीको नयाँ कीर्तिमान

    नेप्से १५.५७ अंकले घट्यो, कारोबारमा पुनर्बीमा कम्पनीको नयाँ कीर्तिमान

    काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । पछिल्लो दुई साता समय निरन्तर उकालो लागेको बजारमा आज दोहोरो अंकको करेक्शन आएको हो ।

    दिनभर तीव्र उतरभढाव देखिएको बजार अन्तिममा करिब १६ अंकले घटेर बन्द भएको हो । सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से १५.५७ अंकले घटेर २०५५.४६ विन्दुमा आइपुगेको छ । यसदिन २०० कम्पनीको १ करोड ५८ लाख ८९ हजार ५६० कित्ता सेयर ८ अर्ब २ करोड ६० लाख २३ हजार ७९७ रुपैयाँमा कारोबार भएको छ ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये जलविद्युत र लघुवित्त बाहेक अन्य सबै समूहको परिसूचक राताम्मे भएका छन् । आज लघुवित्त समूहको सबैभन्दा धेरै ३०.०८ अंकले बढेको छ भने जीवन बीमा समूह २५८.२६ अंकले घटेको छ ।

    आज कारोबार भएका कुल २०० कम्पनी मध्ये जम्मा ३९ कम्पनीको मूल्य बढेको छ भने १५२ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

    पुनर्बीमा कम्पनीले बनायो कारोबारमा नयाँ कीर्तिमान

    आज लगानीकर्ता नेपाल पुनर्बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । कुल ८ अर्बको कारोबार मध्ये यस कम्पनीको मात्रै १ अर्ब ११ करोड बढीको कारोबार भएको छ । नेपाली सेयर बजार इतिहासमा कुनै पनि कम्पनीको साधरण सेयर एकै दिनमा १ अर्ब बढीको कारोबार भएको यो पहिलो पटक हो । यसकोे ६ लाख ३५ हजार ७३२ कित्ता सेयर किनबेच भएको छ ।

    कारोबार रकमकै आधारमा नेपाल टेलिकम ४२ करोड र नेपाल लाइफ इन्स्योरेन्स ३० करोडसहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।

    घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूलयमा पोजेटिभ सर्किट लागेको छ । एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर र माथिल्लो तामाकोशीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    आज विशाल बजार कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ६.९७ प्रतिशत गुमाएका छन् ।

  • चालक अनुमति पत्रका लागि अनलाइन आवेदन खुला

    चालक अनुमति पत्रका लागि अनलाइन आवेदन खुला

    काठमाडौं । सरकारले चाल अनुमति पत्रका लागि अनलाइन आवेदन खुला गरेको छ । यस्तो आवेदन सातै प्रदेशका लागि खुला भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागका अनुसार अब अनलाइनबाटै लाइसेन्सका लागि आवेदन दिन सकिने छ ।

    विभागका अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका कार्यालयको माग बमोजिम खुल्ला गरिने भएको छ । आवेदन दिन इच्छुक व्यक्तिले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सम्पर्क गरी आवेदन दिन सक्नेछन् ।

    त्यसका लागि विभागले ७ वटै प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकृत तथा सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर समेत उपलब्ध गराइएको छ । ९ महिनादेखि चालक अनुमति पत्रको प्रक्रिया बन्द हुँदा हजारौं सेवाग्राही प्रभावित भएका छन् ।

  • हुम्ला विमानस्थलमा आगलागी, पानी जमेपछि निभाउन समस्या

    हुम्ला विमानस्थलमा आगलागी, पानी जमेपछि निभाउन समस्या

    सिमकोट । हुम्लास्थित सिमकोट विमानस्थलमा आगोलागी भएको छ । विमानस्थल प्रमुख बस्ने क्वाटरको भवनमा आज बिहान एक्कासी आगालागी भएको स्थानीय प्रहरीले जनाएको छ । तर, कसैमाथि पनि क्षति भने भएन ।

    बिहीबार विहानदेखि लागेको आगो प्रहरी, सेना र स्थानीयले निभाउने प्रयास गरिरहेको बताइएको छ । तर, हुम्लामा अधिक चिसोका कारण पानी जमेको छ । जमेको पानीका कारण आगो निभाउन समेत समस्या भएको बताइएको छ । आगोलागीको कारण नखुलेको बताइएको छ ।

  • स्टार्टअप विजनेश गर्न चाहनेले दुई प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण पाउने

    स्टार्टअप विजनेश गर्न चाहनेले दुई प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण पाउने

    काठमाडौं । सरकारले नवीनतम ज्ञान, सीप र क्षमताका आधारमा व्यापार अगाडी बढाउन चाहने युवालाई प्रोत्साहन गर्न कार्यविधि ल्याएको छ । अब त्यस्ता युवालाई पूँजी जुटाउन सहयोग पुगोस भनेर मात्र २ प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण दिइने भएको छ ।

    मन्त्रीपरिषद् बैठकले नवप्रवर्तन सुरुवाती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७७ जारी गरेको छ । नवआविस्कारकर्ता, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उद्यम तथा व्यवसाय सञ्चालनका लागि सुरुवाती पूँजी उपलब्ध गराउन यस्तो कार्यविधि ल्याइएको हो ।

    कर्जा प्रवाह सम्बन्धी कार्यलाई व्यवस्थित गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षले तोकेको सदस्य संयोजक रहेको निर्देशक समिति गठन हुने भएको छ । उद्योग, कृषि, उर्जा, स्वास्थ्य, पर्यटन, शिक्षा, सूचना प्रविधिलगायत क्षेत्रमा आवश्यक लगानीयोग्य पूँजी जुटाउन नसकेका लघु, घरेलु, साना तथा मझौला, उद्यमी, व्यवसायी वा आविस्कारकर्तालाई कर्जा प्रदान गरिने भएको छ ।

    समितिलाई कर्जा प्रदान गर्ने प्रस्तावको छनौट, कर्जा रकमको सीमा, किस्ता, कर्जा प्रदान गर्न छनौट गरिने प्रस्तावको संख्याको मापदण्ड तयार गर्ने, कर्जा प्राप्त गर्ने आविस्कारकर्ता, उद्यमी वा व्यावसायीले त्यस्तो कर्जाको सही तरिकाले उपयोग गरे वा नगरेको अनुगमन गर्ने गराउने कार्यको समेत जिम्मेवारी दिइएको छ ।

    कार्यविधि अनुसार कर्जा प्राप्त गर्न चाहने आविस्कारकर्ता, उद्यमी वा व्यावसायीले आफूले गर्न खोजेको नवप्रवर्तनकारी आविस्कार, उद्यम वा व्यवसाय, त्यसको जोखिम, सम्भावित प्रतिफल, आवश्यक पर्ने रकम, सरकारबाट अपेक्षा गरिएको कर्जा रकम, त्यसबाट सामाजिक आर्थिक क्षेत्रमा पर्न सक्ने प्रभाव प्रस्तावमा उल्लेख गर्नु पर्छ ।

    प्रस्ताव छनौटका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्य संयोजक रहेको प्रस्ताव मूल्याङ्कन उप समिति रहने व्यवस्था गरिएको छ ।

    छनौट भएका प्रस्तावक आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई सरकारले नवप्रवर्तन सुरुवाती पूँजीका लागि प्रदान गर्ने भनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विनियोजन गरेको रकम समितिले तोकेको वाणिज्य बैंकमार्फत दुई प्रतिशत व्याजदरमा कर्जा स्वरुप उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ ।

    कर्जा प्रदान गर्दा प्रस्ताव लागत तथा त्यसबाट पर्ने प्रभावको आधारमा कुल लागतको बढीमा पचास प्रतिशतमा नबढ्ने गरी अधिकतम पचास लाख रुपैयाँ रकम नव प्रवर्तन सुरुवाती पूँजीको रुपमा कर्जा उपलब्ध गराइने भएको हो ।

    कर्जा स्वीकृत गर्दा बैंकले आविस्कारकर्ता, उद्यमी वा व्यवसायीको जमानी, व्यावसायिक कार्ययोजना, सम्झौता तथा परियोजनालाई कर्जा धितोको रुपमा लिन सक्नेछन् ।

    कार्यविधिमा कर्जाको अन्तिम किस्तावापतको रकम प्राप्त गरेको एक वर्षभित्र कर्जा सम्झौतामा उल्लेख भए बमोजिम साँवा भुक्तानीको किस्ता बुझाउने अवधि सुरु हुने भएको छ ।

    साँवा चुक्ताको किस्ता बुझाउने अवधि प्रारम्भ भएको चार वर्षभित्र कर्जा साँवाको सम्पूर्ण किस्ता र व्याज समेत चुक्ता गरिसक्नु पर्ने गरी कार्यविधि बनेको छ ।

  • प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघीय कोभिड विशेष महासभालाई सम्बोधन गर्ने

    प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघीय कोभिड विशेष महासभालाई सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ सम्बन्धी संयुक्त राष्ट्रसंघी विशेष महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उनको सम्बोधनको भिडियो रेकर्ड संयुक्त राष्ट्रसंघ पुगेको हो । प्रधानमन्त्रीको सम्बोधनको कार्यक्रम बिहीबार रहेको छ ।

    महासभा बिहीबार शुरु हुनेछ । उद्घाटनकै दिन नेपालको सम्बोधनको कार्यक्रम राखिएको छ । विशेष सभालाई विश्वका नेता, राष्ट्रसंघका उच्च अधिकारी र कोरोना विरुद्धको खोप बनाइरहेका कम्पनीका प्रमूखहरुबाट सम्बोधन हुने कार्यक्रम राखिएको छ ।

    कोभिड–१९ को महामारी र यसले पारेका प्रभावलाई न्यूनिकरणका उपाय खोज्न महासंभा आयोजना भएको हो । महासभामा कुल १४१ वक्ता छन् । जसमा एक वक्ता प्रधानमन्त्री ओली हुन् । ५३ राज्यप्रमुख, ३९ सरकार प्रमुख र ४ उप्रधानमन्त्री र ३८ जना मन्त्रीले बोल्ने कार्यक्रम तय भएको छ ।

    नेपालका तर्फबाट बैठकमा कोभिड–१९ को खोपको विकास भएपछि सबै मुलुकको समान पहुँचको माग उठाउने तयारी छ । अहिले संसारका विकसित मुलुकले कोरोना विरुद्धको खोप निर्माणलाई अन्तिम रुप दिइरहेका छन् ।

  • ३ घण्टा नियन्त्रणमा राखेर पौडेललाई प्रहरीले छाड्यो, कांग्रेस आक्रोसित

    ३ घण्टा नियन्त्रणमा राखेर पौडेललाई प्रहरीले छाड्यो, कांग्रेस आक्रोसित

    दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तीन घण्टा प्रहरी नियन्त्रणपछि रिहा भएका छन् । उनलाई तनहुँमा निषेधाज्ञा तोडेको आरोपमा पक्राउ गरिएको हो । गृहजिल्ला ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न पुगेका उनीमाथि स्थानीय प्रशासनले निषेधाज्ञा तोडेको आरोप लगाएको छ ।

    उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आलेसमेतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पौडेललाई प्रहरीले नियन्त्रणमा लिएसँगै कांग्रेस भने आक्रोसित बनेको छ ।

    सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई फोन गरी पौडेलको रिहाईको माग गरेका थिए । उनले पक्राउ गर्नुको कारणबारे समेत प्रधानमन्त्रीसँग जिज्ञासा राखेका छन् । कांग्रेस नेता गगन थापाले यो गिरफ्तारी प्रधानमन्त्रीका लागि महंगो पर्ने चेतावनी दिएका छन् ।

    उनको रिहाईको माग गर्दै कांग्रेसले जिल्ला प्रहरी कार्यालय तनहुँमा प्रदर्शन गरेको छ । सरकारको विरोध र टायर बाल्दै रिहाई मागमा प्रदर्शन गर्दै केही समय पृथ्वी राजमार्गसमेत अवरुद्ध गरिएको छ ।

  • नेपालमा थप १४९० जनामा कोरोना पुष्टि, १५६७ जना संक्रमणमुक्त

    नेपालमा थप १४९० जनामा कोरोना पुष्टि, १५६७ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १४९० जनामा कोरोना संक्रमण देखिएको हो ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३६ हजार २४६ रहेको छ । थप १५६७ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये २ लाख १८ हजार १६१ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १६ हजार ५सय ४७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १५८३ पुगेको छ ।

  • कोभिड फाइजर खोप स्वीकृत गर्ने बेलायत विश्वकै पहिलो देश, कस्तो हो फाइजर खोप ?

    कोभिड फाइजर खोप स्वीकृत गर्ने बेलायत विश्वकै पहिलो देश, कस्तो हो फाइजर खोप ?

    काठमाडौं । बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग अनुमति दिएको छ ।

    बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी(एमएचआरए) ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो ।

    एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो खोप आगामी सातादेखि लगाउन शुरु हुनेछ । खोप लगाउन केही दिनमै सर्वाधिक जोखिममा रहेका मानिसबाट शुरु हुने अपेक्षा गरिएको छ।

    यससँगै कोरोनाविरुद्धको खोपको प्रयोग अनुमति प्रदान गर्ने बेलायत विश्वकै पहिलो देश भएको छ । सो खोपको चार करोड मात्रा किनिसकेको छ जुन दुई करोड मानिसलाई पर्याप्त हुनेछ। तीमध्ये एक करोड मात्रा तुरुन्तै उपलब्ध हुने र आठ लाख मात्रा केही दिनमा आइपुग्ने बताइएको छ।

    बीबीसीका अनुसार खोपको इतिहासमा यो सबैभन्दा छिटो स्वीकृति पाउने खोप बनेको छ। दश महिनाको अवधिमा यो खोप योजनाबाट अनुमतिसम्म आइपुगेको हो।

    कतिपय खोपका लागि यो अवधि एक दशकभन्दा लामो भएका थिए। तर, यसलाई भण्डारण गर्न एकदम न्यून तापक्रम (–७० डिग्री सेन्टिग्रेड) आवश्यक पर्ने बताइएकाले भण्डारण र ओसारपसारमा चुनौती रहेको स्वास्थ्यविद्हरूको धारणा छ ।

    बेलायत सरकारले अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड र मोडेर्नाको ५० लाख डोज यसअघि नै ‘अर्डर’ गरिसकेको छ ।

    कोरोना खोप सुरुमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारीलाई र त्यसपछि केयर होममा रहेका र ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई दिइनेछ । सरकारले यसअघि कोभिड संक्रमणको उच्च जोखिममा पर्ने ‘केयर होम’ मा रहेकाहरू र ८० वर्षभन्दा माथिकालाई खोपमा पहिलो प्राथमिकता दिने बताएको थियो ।

    दी जोइन्ट कमिटी अन भ्याक्सिनेसन एन्ड इमुनाइजेसनले सुरुमा ‘केयर होम’ बसेकाहरू र त्यहाँका कर्मचारी अनि त्यसपछि ८० वर्ष उमेर कटेका र सामान्य स्वास्थ्य कर्मचारीहरूलाई खोप लगाउन सुझाएको छ ।

    यसले सम्पूर्ण रूपमा प्रयोगात्मक प्रकृया अपनाएको छ जुन प्रकृयामा मानव शरिरको रोग प्रतिरोधी क्षमतालाई कोरोनाभाइरस विरूद्ध लड्न अभ्यस्त तुल्याउन उक्त भाइरसको जेनेटिक कोडको एक भागलाई सुई मार्फत शरिरमा प्रवेश गराउने विधि स‌ंलग्न छ।

    पहिलेका परिक्षणहरूले उक्त खोपले शरिरलाई कोरोनभाइरससँग लड्न उक्त भाइरस विरोधी एन्टिबडि निर्माण गर्न र टि-सेल भनिने शरिरको रोध प्रतिरोधी क्षमताको अर्को भाग तयार पार्न अभ्यस्त तुल्याउने देखाएका थिए। तीन हप्ताको अन्तरालमा उक्त खोपको दुई मात्रा आवश्यक पर्दछ।

    अमेरिका, जर्मनी, ब्रजिल,आर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परिक्षणहरूमा उक्त खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकाहरू मध्ये ९० प्रतिशतलाई कोरोनाभाइरस सङ्क्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो।

    औषधी निर्माण कम्पनी फाइजरको विश्वासमा उसले यो वर्षको अन्त्यसम्ममा पाँच करोड मात्रा खोप आपूर्ति गर्न सक्नेछ। र सन् २०२१ को अन्त्य सम्ममा उक्त कम्पनीले १ अर्ब तीस करोड मात्रा आपूर्ति गर्न सक्ने सो कम्पनीले बताएको छ। बीबीसी

  • एकैदिन ७१ अंकले बढेर नेप्सेले बनायो उच्च विन्दुको रेकर्ड, लगानीकर्ताको रोजाईमा लघुवित्त

    एकैदिन ७१ अंकले बढेर नेप्सेले बनायो उच्च विन्दुको रेकर्ड, लगानीकर्ताको रोजाईमा लघुवित्त

    काठमाडौं । सेयर बजारमा उछाल आएको छ । पछिल्लो समय निरन्तर उकालो लागेको बजारमा आज उच्च अंकले वृद्धि भएको छ ।

    बुधरबार नेप्से एकैदिन करिब ७१ अंकले बढेर २०७१ विन्दु पारे गर्दै हालसम्मकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से ७०.६२ अंकले बढेर २०७१.०३ विन्दुमा पुगेको छ । यसदिन २०१ कम्पनीको १ करोड ५५ लाख ६४ हजार ४२७ कित्ता सेयर ७ अर्ब ४६ करोड ३४ लाख ८२ हजार ९७२ रुपैयाँमा कारोबार भएको छ ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार बाहेक सबै समूहको परिसूचक उकालो लागेका छन् । आज जीवन बीमा समूहको सबैभन्दा धेरै ६०८.७३ अंकले बढेको छ भने व्यापार समूह १६.६३ अंकले घटेको छ ।

    आज लगानीकर्ता नेपाल टेलिकमको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ४० करोड ७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स ३० करोड र नबिल बैंक २२ करोडसहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।

    आज कारोबार भएका कुल २०१ कम्पनी मध्ये १३४ कम्पनीको मूल्य बढेको छ भने ४७ कम्पनीको मूल्य घटेको छ । २० कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

    आज लगानीकर्ता माइक्रो फाइनान्स र जीवन बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । यस अघि जलविद्युत, व्यापार लगायत क्षेत्रका कम्पनीमा प्रफिट बुक गरेका लगानीकर्ता आज यी क्षेत्रमा डाइभर्ट भएका हुन् ।

    आज करिब साढे दुई दर्जन कम्पनीको सेयर मूल्यमा पाजेटिभ सर्किट लागेको छ । सर्किट लाग्नेका अधिकांश माइक्रोफाइनान्स कम्पनी रहेका छन् ।

    नेरुडे, जनउत्थान, छिमेक, एनएमबी, लक्ष्मी, मिथिला, विजय लघुवित्त, साञ्जेन जलविद्युत् र हिमालय डिस्ट्रीलरीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    यस्तै, सानाकिसान, एनआरएन लघुवित्त, उन्नति सहकार्य, साधना, नाडेप, डेप्रोक्स लघुवित्त, शिवमु सिमेन्ट, पुनर्बीमा कम्पनी, नेपाल टेलिकम, विशाल बजार, नेको इन्स्योरेन्स लगायत डेढ दर्जन कम्प्नीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

    यस्तै, माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत्, सपोर्ट माइक्रोफाइनान्स, निर्धन उत्थान, मेरो माइक्रोफाइनान्स, सामुदायिक, गणपति, सिभल, आरएसडीसी लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

    बढ्दो बजारमा पनि सबैभन्दा महँगो सेयर मूल्य रहेको युनिलभर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ५.१९ प्रतिशतले घटेको छ ।

  • राष्ट्रिय गौरवका आयोजनामा कोरोना प्रभावबारे संसदीय समितिले अध्ययन गर्ने

    राष्ट्रिय गौरवका आयोजनामा कोरोना प्रभावबारे संसदीय समितिले अध्ययन गर्ने

    काठमाडौं । संसदीय समितिले राष्ट्रिय गौरवका २२ वटा आयोजनाका कोरोना भाइरसले पारेको प्रभावबारे अध्ययन गर्ने भएको छ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले यस प्रयोजनका लागि उपसमिति गठन गरेको छ ।

    नेपालमा २२ वटा राष्ट्रिय गौरवका आयोजना छन् । त्यसमध्ये केही आयोजना गत आवमै सम्पन्न हुनु पर्ने थियो । तर, कोरोना भाइरसको महामारी र यसको नियन्त्रणका लागि गरिएका रोकथामका उपायका कारण काम प्रभावित भएको छ ।

    उपसमितिले आयोजनामा कोरोनाले पारेको प्रभाव अध्ययन गर्ने र त्यसको न्यूनीकरणका लागि आवश्यक उपायहरुबारे सुझाव पेश गर्ने भएको छ ।


    राष्ट्रिय सरोकार तथा समन्वनय समितिको मंगलबारको बैठकले राष्ट्रिय गौरवका आयोजनामा कोरोनाले पारेको प्रभाव अध्ययन गर्न तीन उपसमिति गठन गरेको छ । कुल १४ सदस्यीय समितिलाई तीन समूहमा विभाजन गरि उपसमुह बनाइएको छ ।

    दुई समूहलाई सात\ सात राष्ट्रिय गौरवका आयोजना हेर्ने जिम्मा दिइएको छ । एउटा समूहले आठ आयोजना हेर्ने भएको छ । प्रत्येक समुहमा चार जना सदस्य छन् । सबै उपसमितिले संयोजक आफैं चयन गर्ने भएका छन् ।

    आयोजनाका अधिकारी, विज्ञ र सरोकारवालासँग छलफल गरी प्रतिवेदन बनाइएको भनएको छ । आवश्यकता अनुसार फिल्डमा समेत पुग्ने गरी उपसमितिले अनुमति पाएका छन् ।

  • पोखराबाट बाल यौन दुराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ

    पोखराबाट बाल यौन दुराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ

    पोखरा । एक फ्रान्सेली नागरिक बाल यौन दुराचारको आरोपमा पक्राउ परेका छन् । गैर पर्यटकीय भिसामा नेपाल आएर पोखरामा बसिरहेका फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौन दुराचार गरेको आरोप उनीमाथि लागेको छ । उनलाई मंगलबार सार्वजनिक गरिएको छ ।

    ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार पोखरा महानगरपालिका–१७ बिरौटा पावर हाउसस्थित फुर्सेखोला बगर किनारामा यौन दुराचार गरिरहेका अवस्थामा नौगारेट पक्राउ परेका हुन् ।

    प्रहरीले यौन दुराचारमा परेका तीन नाबालकलाई उद्धार समेत गरी अभिभावकको जिम्मा लगाइएको छ । उनीविरुद्ध अब बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुनको कसुरमा कारवाही अगाडी बढ्ने भएको छ ।

  • किम जोङ–उनले कोरोनाविरुद्ध चाइनिज खोप लगाएका हुन् ?

    किम जोङ–उनले कोरोनाविरुद्ध चाइनिज खोप लगाएका हुन् ?

    काठमाडौं । अमेरिकी सुरक्षा विज्ञहरुले उत्तर कोरियाली नेता किम जोङ–उनले कोभिड–१९ विरुद्ध चीनले निर्माण गरेको खोप लगाएको दावि गरेका छन् । जापानी जासुसी स्रोतलाई हवाला दिएर यस्तो दावि गरिएको हो । किमले केही दिन अगाडी मात्र चिनियाँ खोप लिएको बताइएको छ ।

    त्यसो त चीनले अघोषित रुपमै खोप निर्माण गरि लाखौं मानिसमा लगाइसकेको समाचार यसअघि नै सार्वजनिक भएको थियो । चीनले भने औपचारिक रुपमा यसको घोषणा गरिसकेको छैन ।

    अमेरिकी विज्ञ ह्यारी काजियानियासले एक लेखमार्फत उत्तर कोरियाली नेता किम, वरिष्ठ सरकारी अधिकारीहरु र उनका परिवारका सदस्यहरुले चीनमा निर्माण गरिएको खोप लगाएको सार्वजनिक गरेका हुन् ।

    लेखक वासिङ्टनस्थित सेन्टर फर नेसनल इन्ट्रेस्ट संस्थाको कोरिया अध्ययन केन्द्रका वरिष्ठ निर्देशकका रुपमा कार्यरत रहेका छन् । चीनले सार्वजनिक रुपमा भने तीन खोपको परीक्षण जारी रहेको बताइरहेको छ ।

    उता, उत्तर कोरियाले भने कोरोना सम्बन्धी कुनै पनि सूचना सार्वजनिक गरेको छैन । यस मुलुकमा कति संक्रमित छन् र कतिको ज्यान गयो भन्ने खुलेको छैन । यद्दपी उत्तर कोरियाले सीमा नाका भने गत जनवरीबाटै कडाइ गरेको हो ।

  • अब ट्राफिक लाइट मिच्नेलाई समेत ट्राफिक कक्षा अनिवार्य

    अब ट्राफिक लाइट मिच्नेलाई समेत ट्राफिक कक्षा अनिवार्य

    काठमाडौं । अब सडकमा सवारी साधन चलाउँदा रातो बत्ति बलेको समयमा पनि वेवास्ता गर्नेलाई प्रहरीले कक्षा लिने भएको छ । यसअघि मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकहरूलाई मात्र ट्राफिक कक्षा लिँदै आएको थियो।

    ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि ट्राफिक लाइट उल्लंघन गर्ने चालकलाई समेत ट्राफिक सचेतना कक्षा लिन थालेको हो । यस्तो कक्षाका लागि बग्गीखाना भने जानुपर्ने छैन । अनलाइनबाट प्रहरीले लिने कक्षा अनिवार्य गरिएको छ ।

    लकडाउनअघि ट्राफिक कारबाहीमा परेका चालक स्वयम् बग्गीखाना गएर आफैं ट्राफिक कक्षामा सहभागी हुनुपर्ने नियम थियो । अब भने ट्राफिक सचेतना कक्षालाई प्रविधिमार्फत निरन्तरता दिइने भएको छ ।

    कोरोना संक्रमणको महामारीका बीचमा अनलाइनमार्फत सचेतना कक्षा सुरू गरिएको महाशाखाले उल्लेख गरेको छ ।

  • सचिवालय बैठकमा फेरी बिच्किए ओली, बैठकको औचित्य नभएको भन्दै झगडा

    सचिवालय बैठकमा फेरी बिच्किए ओली, बैठकको औचित्य नभएको भन्दै झगडा

    काठमाडौं । मंगलबार सत्तारुढ नेकपाका महासचिव तथा अर्थमन्त्री विण्णु पौडेलको जन्मदिन । यसै दिन नेकपाको सचिवालय बैठक समेत प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजना भयो । यसअघि बैठक नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको थियो । तर पार्टी कार्यालयमा आफुमाथि सुरक्षा थ्रेट रहेको भन्दै प्रधानमन्त्रीले नजाने अडान लिए । त्यसपछि सबै नेताहरु वालुवाटारतर्फ लागे ।

    वालुवाटारमा विण्णु पौडेलको जन्मदिनको केक काटियो । नेताहरुले बाँडिचुडी खाए र बैठकको शुरुवात भयो । नेकपा सचिवालय स्रोतका अनुसार बैठक कार्यकारी अध्यक्ष प्रचण्डले शुरुवात गरेका थिए । उनले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई आफ्ना धारणा भए राख्न अनुमति दिए ।

    ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव लाञ्छनापत्र मात्रै भएको भन्दै उक्त पत्रबारे आज पनि आलोचना शुरु गरेका थिए । यो पत्रले पार्टीको शाख गिराउने काम गरेको उनको आरोप थियो । यो पत्रमाथि पार्टीमा छलफल हुन नसक्ने भन्दै ओलीले प्रस्ताव फिर्ता लिनु पर्ने र प्रचण्डले माफी माग्नुपर्ने बताए ।

    आजको बैठकमा प्रधानमन्त्रीको पक्षमा विष्णु पौडेलमात्र देखिएका थिए । ओली पक्षीय भनि चिनिएका इश्वर पोखरेल र रामबहादुर थापाले समेत बैठकको पक्षमा बोलेका थिए ।

    प्रधानमन्त्री ओलीले पार्टीमा बहुमत–अल्पमतका आधारमा नभई सहमतिबाट मात्र निर्णय हुने भन्दै त्यसरी अगाडी नबढ्ने भए पार्टी एकता नै धरापमा पर्ने चेतावनी दिएको नेताहरुले सार्वजनिक गरेका छन् । प्रधानमन्त्रीले अन्तरिम कमिटीमा बहुमत–अल्पमत नमान्ने भन्दै बैठक नै चलाउन नदिने अडान लिएका थिए । त्यसपछि भने माहोल बिग्रिएको बताइएको छ ।

    ओलीले प्रचण्डमाथि आक्रोसित बन्दै कडा शब्दहरु प्रहार गरेपछि कार्यकारी अध्यक्ष प्रचण्डले बोलेका थिए । अध्यक्ष ओलीले उत्तेजित बनाउने गरी बोलेको तर आफूहरु उत्तेजित नभई शान्तपूर्वक छलफल गरी निष्कर्षमा पुग्न चाहेको प्रचण्डले उल्लेख गरे । त्यसपछि सबै नेताहरुले बोल्न थालेका थिए ।

    बैठकमा अरु नेतालाई बोल्नै नदिने गरी प्रधानमन्त्री प्रस्तुत भएपछि सचिवालयका अन्य सदस्यले प्रतिवाद गरेको स्रोतलाई उल्लेख गरी नेपाली संचारमाध्यमले जनाएका छन् । आजको बैठकमा प्रधानमन्त्रीको पक्षमा विष्णु पौडेलमात्र देखिएका थिए । ओली पक्षीय भनि चिनिएका इश्वर पोखरेल र रामबहादुर थापाले समेत बैठकको पक्षमा बोलेका थिए ।

    वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठले समेत बैठकमा अरुका कुरा राख्न नपाउने र बोल्नै नदिने ओलीको प्रवृत्तिको आज चर्को विरोध गरेका छन् । यसबाट बैठकमा बाझाबाझको अवस्था आएको छ ।

    बैठकबाट भाग्दै माहौल बिगार्न खोज्ने ओली प्रवृत्तिको आज सबै नेताहरुले चर्को आलोचना गरेका छन् । प्रचण्डले सचिवालयको अर्को बैठक बुधबार १ बजे बस्ने गरी आह्वान गरेका छन् ।

  • ‘सभा, जुलुस र प्रदर्शनजस्ता भिडभाडजन्य गतिविधि नगर्नू, कारबाही गर्छौ’- काठमाडौं प्रशासन

    ‘सभा, जुलुस र प्रदर्शनजस्ता भिडभाडजन्य गतिविधि नगर्नू, कारबाही गर्छौ’- काठमाडौं प्रशासन

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शनजस्ता भिडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ ।

    केहिदिनदेखि राजावादीहरुको समूहले उपत्यकामा आन्दोलन गर्दै आएकाले कोरोनाभाइरस महामारी अझै रहेको हुनाले भिडभाडजन्य गतिविधि नगर्नरनगराउन प्रशासनले विज्ञप्ति निकालेर जानकारी गराएको हो।

    ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधी जस्तैः सभा, जुलुस, प्रर्दशन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरु संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रमक रोग ऐन, २०२० को विपरित हुने भएकाले त्यस्ता भिडिभाडजन्य गतिविधिहरु नगर्नरनगराउन साथै महामारी रोकथाममा सहयोग पुर्याउनुहुन सबैमा हुन अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

    प्रशासनले सभा, जुलुस र प्रर्दशन गरेको पाइए स्थानीय प्रशासन ऐन, २०२८ र संक्रमक रोग ऐन, २०२० बमोजिम कारबाही हुने बताएको छ ।

  • नेपालमा थप १३०४ जनामा कोरोना पुष्टि, २०७३ जना संक्रमणमुक्त

    नेपालमा थप १३०४ जनामा कोरोना पुष्टि, २०७३ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ५ सय ८३ जनाको परीक्षणमा गर्दा थप १३०४ जनामा कोरोना संक्रमण देखिएको हो ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३४ हजार ७५६ रहेको छ । थप २०७४ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये २ लाख १६ हजार ५ सय ९४ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १५२९ पुगेको छ ।

  • झिनो अंकले बढ्यो सेयर बजारः नेप्से २ हजार अंक माथि, ७ अर्ब ४० करोडको कारोबार

    झिनो अंकले बढ्यो सेयर बजारः नेप्से २ हजार अंक माथि, ७ अर्ब ४० करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अंकले बढेको छ । केहि दिनदेखि दैनिक नयाँ रेकर्ड राखेको नेप्से मंगलबार ३.३५ अंकले बढेर २०००.४० विन्दुमा कायम भएको हो ।

    यसदिन १९७ कम्पनीको ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    १ करोड ८५ लाख ७६ हजार ७ सय ८ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ७ समूहको परिसूचक ओरालो लागेका छन् ।

    आज कारोबार भएका कुल १९६ कम्पनी मध्ये ४१ कम्पनीको मूल्य बढेको छ भने १४५ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

    आज ५ वटा कम्पनीहरुको से यर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर, अपर तामाकोशी हाइड्रोपावर, सान्जेन जलविद्युत कम्पनी लिमिटेड र नेपाल टेलिकमको से यर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।