Category: फिचर

  • नेकपा सचिवालय बैठक चल्दाचल्दै अध्यादेश पारित, बैठकको औचित्य नभएको प्रतिक्रिया

    नेकपा सचिवालय बैठक चल्दाचल्दै अध्यादेश पारित, बैठकको औचित्य नभएको प्रतिक्रिया

    काठमाडौं । सरकारले पार्टीमा बीना छलफल दुई वटा अध्यादेश पारित गरेसँगै राजनीतिक मौहाल गर्माएको छ । यसै सन्दर्भमा नेकपा अध्यक्ष प्रचण्डको आग्रहमा सोमबार साँझ नै नेकपा सचिवालय बैठक बस्यो ।

    तर, बैठकले कुनै ठोस निर्णय भने नगरेको नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार सचिवालय बैठक बस्दाबस्दै राष्ट्रपतिबाट अध्यादेश पारित भएको जानकारी आयो ।

    त्यसपछि छलफलको कुनै औचित्य नै नरहेको उनले बताए । उनका अनुसार बैठकमा सबै नेताले गम्भीरतापूर्वक आफ्नो धारणा राखेका थिए ।

    यद्दपी यस विषयमा कसको सरकारलाई समर्थन थियो वा विरोध थियो भन्ने चाही उनले खुलाएनन् ।

    उनका अनुसार प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनुको औचित्यबारे प्रष्ट पार्ने कोसिस गरेका थिए ।

  • कोरोनाले हजारौंको मृत्‍यु हुँदै गर्दा अमेरिकामा लकडाउन बिरुद्ध धमाधम प्रदर्शन

    कोरोनाले हजारौंको मृत्‍यु हुँदै गर्दा अमेरिकामा लकडाउन बिरुद्ध धमाधम प्रदर्शन

    न्युयोर्क

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण हाल अमेरिका कोरोनाको केन्द्र बनेको छ भने ७ लाख ७५ हजार संक्रमित र ४१ हजारको मृत्‍यु भै सकेको छ । संक्रमित र मृत्‍यु हुनेको संख्या उच्च बिन्दुमा पुगेको अवस्थामा एरिजोना कोलोर्‍याडो, मन्टाना तथा वाशिङ्गटन राज्यहरुमा आईतबार लक डाउन बिरुद्ध  प्रदर्शन गरिएका थिए । त्यो भन्दा अगाडि अन्य आधा दर्जन राज्यहरूमा पनि लक डाउनका बिरुद्ध प्रदर्शन गरिएका थिए ।

    हतार गरेर अर्थतन्त्र खोल्दा कोभिड-१९ को घातक पुनरोदय हुनसक्ने त्रासका बीच अमेरिकामा त्यस्ता प्रदर्शन चर्किएका हुन्  । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यस्ता प्रदर्शनप्रति आफ्नो समर्थन दर्शाएका छन् ।

    बढी प्रभाबित राज्यहरुमा सङ्क्रमण उच्च विन्दुमा पुगेको तथा केही क्षेत्रमा नयाँ सङ्क्रमणको वृद्धि दर घटिरहेको सङ्केत पनि आएका छन् ।

    अमेरिकामा प्रारम्भिक चरणमै सङ्क्रमण फैलिएको वाशिङ्गटन राज्यमा सयौँ मानिस राजधानी ‌ओलम्पियामा भेला भएर गभर्नरलाई अर्थतन्त्रमा लागेका बन्देज खुकुलो पार्न माग गरे ।

    प्रहरीले भेलामा २५ सय जति सामेल भएको अनुमान गरेको छ। लकडाउन लागू भएपछिको त्यो सबभन्दा ठूलो त्यस्तो जमघट भएको समाचार संस्था रोयटर्सले जनाएको छ । प्रदर्शनका क्रममा कैयन प्रदर्शनकारीले सामाजिक दुरी सम्बन्धि नियम अनि मास्क लगाउनु पर्ने नियम समेत उल्लंघन गरेका थिए ।

    लकडाउन बिरुद्ध प्रदर्शन गर्ने समुह सामुन्ने स्वास्थ्यकर्मी उपस्थित भएका थिए ।  एसोसिएटेड प्रेसका अनुसार मन्टानाको हेलेनामा आयोजित र्‍यालीमा केही सय मानिस थिए ।

    कोलोराडोको डेन्भरमा पनि उत्रै र्‍याली भएको थियो ।

    प्रदर्शनकारीका गाडी सडकमा खचाखच भएपछि अस्पतालमा रहँदाकै पोशाक र मास्क लगाएका स्वास्थ्यकर्मीहरू उनीहरूको सामु उपस्थित भएका थिए ।

    यस अगाडि अमेरिकामा कोरोनाभाइरस उत्कर्षमा पुगिसकेको राष्ट्रपति ट्रम्पले दाबी गर्दै प्रतिबन्ध चाँडै फुक्का गर्ने योजना रहेको बताउदै ट्विट् गरेका थिए ।  

    एरिजोनामा पनि प्रदर्शनकारीले सयवटा जति गाडीलाई राजधानी फिनिक्सको एक चोकमा घुमाएर प्रदर्शन गरेका थिए ।

    कतिपय राज्यहरूमा गभर्नरहरूले सङ्क्रमणको दर कम हुँदै गएका सङ्केतका माझ अर्थतन्त्र खोल्नेबारे छलफल थालेका छन् ।

    क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले पहिलो पटक मार्च १९ मा राज्यभरि घरमै बस्न आदेश जारी गरेका थिए । वाशिङ्गटन तथा ओरेगन राज्यहरूले त्यही पाइला पच्छ्याए ।

    न्यूयोर्कका गभर्नर एन्ड्र्यु कुमोले न्युयोर्कको  लकडाउनलाई मे १५ सम्म लम्ब्याएका छन् ।

    उनले अहिले संक्रमणको हाफ टाईम भएको बताउदै  हतारिन नहुने भन्दै सावधानीको खाँचो भएको औँल्याएका छन्।

    तर राष्ट्रपति ट्रम्पले कडा लकडाउनको विरोधमा प्रदर्शन गरेकाहरुको  समर्थन गरिरहेका छन् । राष्ट्रपतिले गत शुक्रवार मिनिसोटा, मिचिगन  तथा भर्जिनियामा लागू आदेश धेरै कडा भएको प्रतिकृया दिएका  थिए ।

    वाशिङ्गटन राज्यका गभर्नर जे इन्सलीले राष्ट्रपतिको लक डाउन बिरुद्ध प्रदर्शन गर्ने समुहको समर्थन गर्ने कदमलाई खतरनाक भन्दै त्यसले राज्यका कानूनलाई उल्लंघन गर्न उक्साउने बताएका छन ।

    “अमेरिकी राष्ट्रपतिले मानिसहरूलाई कानून उल्लंघन गर्न उक्साएको मैले आफ्नो जीवनकालमा देखेको थिइनँ,” उनले समचार संस्था बि बि सिलाई बताएका थिए ।  

    समाचार श्रोत : बि बि नेपाली

  • राष्ट्रपतिबाट दुबै अध्यादेश जारी

    राष्ट्रपतिबाट दुबै अध्यादेश जारी

    काठमाडौं । मन्त्रीपरिषद् बैठकले सोमबार सिफारिस गरेका दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आजै जारी गरिदिएकी छिन् ।

    मन्त्रिपरिषद्ले सिफारिस गरेर शितल निवास पठाएको दुबै अध्यादेश राष्ट्रपतिबाट तत्काल जारी भएको हो ।

    राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीबाट अध्यादेश जारी भएको हो ।

    सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्‍याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था सहित पठाएको थियो ।

    संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा परिषद् बैठक बस्न प्रमुख प्रतिपक्षी दल नचाहिने गरी संशोधन भएको छ । अहिले विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा रहेका छन् ।

  • अब विपक्षी दलको नेताबीनै संवैधानिक परिषद्ले निर्णय गर्न सक्ने

    अब विपक्षी दलको नेताबीनै संवैधानिक परिषद्ले निर्णय गर्न सक्ने

    काठमाडौं । अब विपक्षी दलका नेता उपस्थित नभए पनि संवैधानिक परिषद्को बैठक बस्न र बैठकले निर्णय गर्न सक्ने भएको छ ।

    सरकारले सोमबार दुई अध्यादेश जारी गरेको छ । जसमा पहिलो अध्यादेश राजनीतिक दलको विभाजनसम्बन्धी थियो भने दोस्रो चाही संवैधानिक परिषद्सम्बन्धी थियो ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेशको प्रस्ताव गरेका हुने ।

    अध्यादेश अनुसार अब विपक्ष दलका नेता नभएपनि परिषद्को बैठक बस्न मिल्ने भएको छ । साथै उक्त बैठकले गरेका निर्णयसमेत मान्य हुनेछन् ।

    विद्यमान प्रावधान अनुसार परिषद्को बैठक बस्नु अगाडी कम्तीमा ४८ घण्टा अगाडि नै सदस्यहरूलाई एजेण्डा पठाउनुपर्छ ।

    गणपूरक संख्या पुग्न प्रधानमन्त्री र अन्य चार सदस्य उपस्थित हुनुपर्छ र निर्णय भने सर्वसम्मत हुनुपर्छ ।

    पहिलो बैठकमा सर्वसम्मत हुन नसके अर्को बैठकमा सहमति खोज्नुपर्ने र त्यसमा पनि सहमति नभए मात्र बहुमतका आधारमा निर्णय गर्न सक्ने प्रावधान अहिले रहेको छ ।

  • सरकारले गर्यो अध्यादेशबाट दल फुटाउने कानून संशोधन, चौतर्फी आलोचना

    सरकारले गर्यो अध्यादेशबाट दल फुटाउने कानून संशोधन, चौतर्फी आलोचना

    काठमाडौं । देश कोराना कहरमा छ, जनता भोक र अभावसँग जुधिरहेका छन् ।

    यस्तो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानून संशोधन गरिदिएको छ ।

    हुनपर्ने प्राथमिकता एकातर्फ छाडेर सरकारले गरेको यो अलोकप्रिय निर्णयको भने चौतर्फी आलोचना भइरहेको किनकी अहिले कोरोना त्रासका कारण संसदसमेत बस्न सक्ने अवस्था छलेर सरकारले अध्यादेश जारी गरेको हो ।

    राजनीतिक दलसम्बन्धी विद्यमान ऐनमा पार्टी फुटाउन केन्द्रीय कमिटी र संसदीय दल दुबैमा ४० प्रतिशत सदस्य हुनुपर्ने प्रावधान रहेको छ ।

    प्रधानमन्त्री ओलीकै इच्छा अनुसारसोमबार क्याबिनेटमा ल्याइएको अध्यादेशले पार्टी विभाजनका लागि संसदीय दलमा मात्र ४० प्रतिशत पुर्‍याउँदा पनि विभाजनले मान्यता पाउने प्रावधान समेटिएको हो ।

    ऐन अनुसार कुनै दलको केन्द्रीय समिति र संघीय संसदको संसदीय दलमा कम्तिमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरु समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन भन्ने उल्लेख छ ।

    अध्यादेशमा भने केन्द्रीय समिति र संघीय संसदको संसदीय दलमा’ भन्ने पदावलीको सट्टामा ‘केन्द्रीय समिति वा संघीय संसदको संसदीय दलमा’ भनिएको छ । ‘र’ लाई हटाएर ‘वा’ बनाइएको हो ।

    अब भने केन्द्रीय कमिटीमा ४० प्रतिशत नपुगे पनि संसदीय दलमा ४० प्रतिशत पु¥याएर पार्टी फुटाउन सकिन्छ ।

    अध्यादेश पारित भएपछि जनतामा आक्रोस त छ नै नेकपा भित्रसमेत असन्तुष्टी शुरु भएको छ ।

    मन्त्रिपरिषद बैठकलगत्तै पूर्वमाओवादी पक्षका मन्त्री प्रचण्डनिवास खुमलटार पुगेका थिए । लगत्तै प्रचण्डले पार्टीका सबै नेतालाई उपत्यका नछाड्न निर्देशन दिएका छन् ।

  • तिमीले पाएको जति मात्र; तिम्रो भाग

    तिमीले पाएको जति मात्र; तिम्रो भाग

    योगेश आदी, न्यूयोर्क

    हामीलाई न्युज छाप्नका हेतु थुप्रै सामग्रीहरु आउँछन् । कति छापिन्छन्, कति छापिदैनन् । कतिपय पर्खाइमा पर्दछन् । हाल ३६ पेजको पत्रिका ‘विश्वसन्देश‘ जुन हप्तैपिच्छे छापिन्थ्यो, त्यो परिस्थितिजन्य कारणले केही समयको लागि रोकिएको छ । अहिले अनलाइन ‘विश्वन्यूज‘ मात्र चालु छ । जसमा हामी अलिक चुजी भएका छौं । कविता, गीत र लघुकथा सामान्यतया वाह… वाला नभै छाप्दैनौं । त्यो सामग्री छापा पत्रिकाको लागि संग्रह गरेर राख्छौं । वर्तमान अवस्थामा कोरोना सम्वन्धि सामग्री र समाचारमा बढी फोकस भएका छौं । हरेक दिन बिबिध किसिमका प्रश्नको सामना गर्नु पर्छ; ‘मैले पठाएको समाचार के भयो ? हाम्रो पनि समाचार बन्नु पर्यो नि ! हाम्रो त किन छापिन्थ्यो र ! अन्तर्वार्ता गर्नुपर्यो । हाम्रोमा किन रिपोर्टर आएन नि ? संस्थाको बारेमा केही जानु पर्यो है ?’ यस्ता खालका आग्रह, अनुरोध, घुर्की इत्यादी अनौठो लाग्दैन । घुम्ती पसलेले बाटो सोध्ने बटुवालाई झर्को मानेर साध्ये पनि चल्दैन ।

    भन्नु होला कि; ‘तँपाईको छाप्ने मापदण्ड के‘ ? त्यसो त छापिने सामग्रीको मापन सुचक हुँदैन । हाम्रो विबेक नै सबथोक हो । त्यसो त; बिबेक प्रयोग गर्ने मान्छेको नै विबेक नपुगे के गर्ने ? त्यतिबेला ठान्नुहोस् कि भगवानलाई मञ्जुर थिएन । किनकि मान्छेले दोष थाप्न रअप्रत्यासित प्राप्तीमा जस दिनको लागि भगवान थपना गरेका छन् । जुन विश्वासले सधै न्याय दिने गर्दछ ।

    यस कुरामा निश्चिन्त हुनुहोस् कि तँपाईले प्राप्त गर्ने प्रतिफल न्यायीक नै हुन्छन् । जति तँपाईको हकमा परेको छ, त्यतिनै तँपाईको भाग थियो । मानिसलाई लाग्छ कि “मेरो मुल्याङ्कन कम भयो । मेरो चर्चा यतिले पुगेन । मेरो गतिलो पनि किन छापिएन“।
    कतै सुनेको एउटा नीतिकथालाई मेरो भनाई पुष्टी गर्ने जिम्मा दिन्छु ।

    एउटा मन्दिरको सिंढीमा गोपाल र कृष्ण गफ गर्दै थिए । रमेश थपिए । ३ जना साथीहरु गफ गर्दागर्दा रात परिसकेको थियो । त्यत्तिकैमा रमेशले भन्यो; अत्यत्नै भोक लाग्यो  । गोपालले भन्यो; ‘मसँग ३ ओटा रोटी छ, १,१ ओटा खाऔंला‘ । त्यसैमा कृष्णले थप्यो; ‘मसँग पनि ५ ओटा रोटी छन्, बाँडेर खाऔं‘ । जम्मा ८ ओटा रोटी ३ जनालाई कसरी भाग लगाउने भन्ने सल्लाह भयो । कृष्णले भन्यो; ‘सबै रोटीको३/३ टुक्रा पारौं अनि २४ टुक्रा भएपछि बराबरी भाग पुग्छ‘ । सबै राजी भए । ८/८ टुक्रा खाएर त्यही सुते । अर्को दिन विहान उठेर घर जानेबेला रमेशले भन्यो; तिमीहरुले आफ्नो खानाबाट काटेर मलाई ८ टुक्रा रोटी दिएकोले मेरो भोक टर्यो । यो ८ ओटा सुनको सिक्का राख‘ । सिक्का दिएर रमेश घर हिड्यो ।

    गोपालले भन्यो; ‘८ ओटा सिक्का छ, दुबैलाई ४/४ बराबर मिल्छ‘ । कृष्णले आपत्ति जनायो; मेरो ५ ओटा रोटी थियो, म ५ ओटा सिक्का लिन्छु । तिम्रो ३ ओटा रोटी थियो, तिमी ३ ओटा लिऊ‘ । बिबाद नमिले पछि पुजारीले “अहिले सबै सिक्का मलाई छाडेर घर जाऊ । भोली बिहान दुबै आऊ अनि म बाड्दिउँला” भनें । पुजारी न्यायीक र ज्ञानी भएकोले सबै सिक्का पुजारीलाई छाडेर घर गए । पुजारी कसरी वाड्ने भनेर हैरान थिए । पुजारीको सपनामा भगवान आएर भनें; ” गोपालको रोटीको ९ टुक्रा थिए । जसमा ऊ आफैले ८ टुक्रा खाए । उसले १ टुक्रा मात्र दान गर्यो । त्यस्तै, कृष्णको रोटीको १५ टुक्रामा उसले ७ टुक्रा दान गर्यो । यसर्थ; योगदानको आधारमा गोपाललाई १ सुनको सिक्का देऊ, बाँकी ७ ओटा कृष्णलाई देऊ” । भगवानको न्याय सुनेर पुजारी चकित परे । उनको दिमागमा कहिल्यै नआएको तरिका भगवानले बताएकोले सोही अनुसार कृष्णलाई ७ सिक्का र गोपाललाई १ सिक्का दिए ।

    वास्तवमै हामीलाई लाग्छ कि; मैले गरे अनुसार मुल्याङ्कन भएन । पाउनु पर्ने बढी थियो । तर प्राप्ती र समाप्तीको निर्णय माथिबाट न्यायीक नै भई रहेको हुन्छ । दिन नआएसम्म केही हुँदैन । आएपछि कुनै दबाईले छुँदैन । स्वस्थ रहनुस् ।

  • क्यानडा गोलीकाण्ड : एक व्यक्तिले लिए १६  को ज्यान

    क्यानडा गोलीकाण्ड : एक व्यक्तिले लिए १६ को ज्यान

    नोभा स्कोसा । क्यानडामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएर १६ जनाको ज्यान लिएका छन् ।

    क्यानडाको नोभा स्कोसा प्रान्तमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १६ जनाको मृत्यु भएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    प्रहरीको बर्दी लगाएका बन्दुकधारीले ग्रामीण बजार पोर्तापिक्युमा शनिबार रातिदेखि लगातार १२ घण्टासम्म गोली काण्ड मच्याएको बताइएको छ ।

    स्थानीय प्रहरीका अनुसार ५१ वर्षका गाब्रिएल वर्टम्यान नाम गरेका व्यक्तिले गोली काण्ड मच्याएका हुन् । उनले शहरका विभिन्न स्थानमा गोली चलाउँदै हिडेका थिए ।

    उनको समेत प्रहरीले जवाफी कारवाहीमा ज्यान गएको छ । गोलीकाण्डमा कैयौं घाइते भएको र मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।

  • अमेरिकामा कोरोना कहर जारी, मर्नेको संख्या ४१ हजार नाघ्यो

    अमेरिकामा कोरोना कहर जारी, मर्नेको संख्या ४१ हजार नाघ्यो

    न्यूयोर्क । अमेरिकामा कोरोना भाइरसले मानिसको ज्यान लिने क्रम जारी छ । सोमबार बिहानसम्मको तथ्यांक अनुसार यहाँ मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ ।

    अमेरिकामा यस भाइरसबाट ४१ हजार ३ सय ७९ जनाको ज्यान गएको छ । यस मुलुकमा ७ लाख ६९ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    संसारमा बढी मानिस मर्ने र संक्रमित हुने देश अमेरिका हो । यसपछि इटली र स्पेन रहेका छन् ।

    राष्ट्रपति डोनाल्ड ट्रम्प अनुसार अमेरिकामा अहिलेसम्म ४१ लाख ८० हजार अमेरिकी नागरिकमा कोरोना भाइरस टेष्ट गरिएको छ ।

    उनले कोरोनाविरुद्ध लड्न आवश्यक आर्थिक सहयोगका लागि डेमोक्रेट पार्टीका नेताहरुसँग छलफल गर्ने तयारी समेत गरेका छन् ।

    अमेरिका भित्र कोरोनाको इपिसेन्टर बनेको न्यूर्याेकमा पछिल्ला दिनमा संक्रमण नियन्त्रण उन्मुख रहेको त्यहाका अधिकारीहरुले जनाएका छन् ।

  • सीमा पारी आमाको किरिया बसेका भट्टलाई नेपाल ल्याइयो

    सीमा पारी आमाको किरिया बसेका भट्टलाई नेपाल ल्याइयो

    काठमाडौं । नेपालमा लकडाउन भएपछि सीमा पारी रोकिएका नेपालीमध्ये एक बासुदेव भट्टलाई दोहोरो पिडा आइपर्यो ।

    घरमा आमाको निधन भएपछि किरिया गर्न घरमा आउन हिँडेका उनी सीमा नाकामै रोकिएपछि क्वारेन्टाइन स्थलमै किरिया बसेका थिए ।

    संचारमाध्यमबाट यो खबर सार्वजनिक भएसँगै गृह मन्त्रालयले उनलाई घर फर्काउन निर्देशन दिएको थियो ।

    सोहीकारण उनलाई स्थानीय प्रशासनको पहलमा नेपाल फर्काइएको छ । भारतीय क्वारेन्टाइनमै आमाको किरिया बस्न बाध्य दार्चुला शैल्यशिखर नगरपालिका–१, भलाँचका वासुदेव भट्टलाई आज नेपाल ल्याइएको हो ।

    यस काममा जिल्ला प्रशासन कार्यालय, दार्चुलाले विशेष पहल गरेको थियो । भट्टलाई धार्चुलास्थित भारतीय क्वारेन्टाइन स्थलबाट आइतबार दिउँसो १ः३० बजे नेपाल ल्याइएको थियो ।

    भट्टलाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल दार्चुला लगिएको थियो ।

    स्वास्थ्य परीक्षणको नतिजा आएसँगै उनलाई घर पठाउने कि अस्पतालमा भन्ने निश्चित हुने भएको छ । जिल्ला अस्पतालमा भट्टको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिएको हो । रिपोर्ट नेगेटिभ आएमा भने उनलाई घर पठाइने भएको छ ।

  • उद्योगका श्रमिकले लकडाउन अवधिभरको तलव पाउने

    उद्योगका श्रमिकले लकडाउन अवधिभरको तलव पाउने

    काठमाडौं । नेपालका औद्योगिक प्रतिष्ठानमा कार्यरत श्रमिकले लकडाउन अवधिको पारिश्रमिक पाउने भएका छन् ।

    निजी क्षेत्र, श्रमिकहरुको छाता संगठन र सरकारबीच यस सम्बन्धमा त्रिपक्षीय सहमति जुटेको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा आईतबार भएको छलफलमा यो सहमति जुटेको हो ।

    मन्त्रालयका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका प्रतिनिधि लकडाउन अवधिको तलव श्रमिकलाई दिन सहमत भएका हुन् ।

    नेपालमा ११ चैतमा घोषणा भएको लकडाउनपछि उद्योग प्रतिष्ठान बन्द छन् । जसले गर्दा उद्योगहरुले कमाउने वातावरण पाएका छैनन् ।

    सोहीकारण चैत महिनाको श्रमिको तलव दिइएको छैन ।

    आइतबार भएको बैठकले कोभिड १९ का कारण विदेशबाट रोजगारी गुमाएर फर्केका युवालाई उत्पादनशील र उद्यमशिलतामा सहभागी गराउनेबारे अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको छ ।

    मन्त्रालयको औद्योगिक लगानी तथा प्रर्वद्धन महाशाखा प्रमुख सहसचिव पुष्पराज शाहीको संयोजकत्वमा कृषि तथा पशुपंक्षी, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि र उद्योगका छाता संगठनका प्रतिनिधि सहितको कार्यदल गठन गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

    कार्यदललाई १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न समय दिइएको छ ।

    वैठकले लकडाउनका कारण बन्द भएका उद्योगहरु सञ्चालनका लागि सम्पूर्ण उद्योगहरुलाई ३ चरणमा वर्गीकरण गरी उद्योग सञ्चालन गर्न उच्च स्तरीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

  • नेपालका चौथो संक्रमित पनि निको भएर घर फर्किए

    नेपालका चौथो संक्रमित पनि निको भएर घर फर्किए

    धनगढी । नेपालमा कूल ३१ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसरी संक्रमण पुष्टी भएका ३१ जनामध्ये १२ जना भारतीय रहेका छन् ।

    नेपाल भित्रका नागरिकमध्ये पनि ४ जना भने निको भएर घर फर्किएका छन् ।

    आइतबार धनगढीस्थित सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भएर घर फर्किएका हुन् ।

    कैलाली लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो पटकको कोरोनामा नतिजा नेगेटिभ आएसँगै उनलाई आइतबार डिस्चार्ज गरिएको हो ।

    पहिलो रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी चैत २२ मा अस्पताल भर्ना भएका हुन् । उनको शनिबार र आइतबार नेगेटिभ रिपोर्ट आएसँगै डिस्चार्ज गरिएको छ ।

    घर फर्किएपछि पनि बिरामीले एक सातासम्म भने सामाजिक दुरी कायम गर्नुपर्छ । भारतबाट चैत ११ मा घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना देखिएको थियो ।

    यसअघि शनिबार नै काठमाडौं र बागलुंगमा एक एक जना महिला कोरोनालाई जित्दै घर फकिएका थिए ।

    नेपालका पहिलो संक्रमित युवक भने ३ महिना अगाडी नै घर फर्किएका हुन् । अब नेपालका विभिन्न अस्पतालमा २८ जना संक्रमित उपचारार्थ रहेका छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको छ ।

  • विश्वभर कोरोनाका कारण २८ गैरआवासीय नेपालीको मृत्यु

    विश्वभर कोरोनाका कारण २८ गैरआवासीय नेपालीको मृत्यु

    काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसले २८ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघले उपलब्ध गराएको तथ्यांक अनुसार शनिबार साँझसम्म उक्त संख्यामा एनआरएनको मृत्यु भएको हो ।

    एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको ज्यान गएको छ ।

    स्वास्थ्य उपसमितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, नेपालबाहेक विश्वभर एक हजार १६६ गैरआवासीय नेपाली अहिले कोरोनाबाट संक्रमित छन् ।

    विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको आकडानुसार २१ देशमा रहेका नेपाली कोभिड –१९ बाट संक्रमित छन् ।

    नेपालमा १९ हजार ५५४ जनामा परीक्षण गरिएकामा ३१ जनामा कोरोना संक्रमण देखिएको छ । तीन जना कोरोनामुक्त भई घर फर्किसकेका छन् ।

    संक्रमित हुने विदेशमा बसेका नेपालीमा अमेरिकामा करिब सात सय, बेलायतमा दुई सय, संयुक्त युएईमा ७१, आयरल्याण्ड र पोर्तुगलमा २२–२२, कुवेतमा २१, अष्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा पाँच, जर्मनी, बेल्जियम र साउदी अरबमा चारचार, क्यानडा र मलेसियामा तीनतीन, माल्टामा दुई तथा फ्रान्स, जापान, म्यान्मा र हङकङमा एकएक जना छन् ।

    विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक र कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर सो आँकडा तयार पारिएको स्वास्थ्य उपसमितिले जनाएको छ ।

    विदेशमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको परिवारको सहयोगार्थ एनआरएनले आफ्ना शाखाहरुलाई परिचालन गरेको जनाइएको छ ।

    एनआरएनका अध्यक्ष पन्तका अनुसार बिहीबार साँझसम्म दुई दर्जनभन्दा बढी देशमा १० हजारभन्दा बढी कोरोना पीडितका लागि राहत वितरण गरिएको छ ।

    यसैबीच एनआरएन कोभिड १९ उच्चस्तरीय समितिको बैठक आज बस्ने भएको छ । संघका महासचिब डा हेमराज शर्माका अनुसार बैठकले कोरोना पीडितका लागि राहत वितरणको नयाँ नीति तय गर्ने छ ।

  • कोरोनाले जापानको स्वास्थ्य प्रणाली नै जोखिममा जाने चेतावनी

    कोरोनाले जापानको स्वास्थ्य प्रणाली नै जोखिममा जाने चेतावनी

    टोकियो । कोरोना भाइरसले संसारका विकसित मुलुकलाई हायलकायल पारेको छ । किनकी उनीहरुलाई चूनौति गिर्दो साँख जोजाउनु पनि रहेको छ ।

    गरिब त यसै गरिब, उसलाई खासै गुमाउनु केही छैन ।

    तर, विकसित मुलुकलाई आफ्ना नागरिकको जीवन बचाउनु एकातर्फ छ भने आफ्नो मुलुकको स्वास्थ्य प्रणालीबार् विश्वभर उठिरहेको प्रश्नको जवाफ दिनु र त्यो साँखा गिरेको छैन भन्ने मान्यता कायम राखिराख्नु चूनौतिपूर्ण अवस्था सिर्जना भएको छ ।

    अहिले यस्तै प्रश्नको सामना गरिरहेको छ, जापान । यहाँ कोरोनाका नयाँ नयाँ बिरामी आउने क्रम जारी रहिको छ ।

    यसले छिट्टै जापानको चिकित्सा प्रणाली नै बिग्रन सक्ने चेतावनी त्यहाँका चिकित्सकहरुको रहेको छ ।

    संक्रमित बिरामीको भार र उनीहरुको उपचारमा केन्द्रित हुँदा आपतकालिनरुपमा आएका केही गम्भिर बिरामीलाई समेत अस्पतालले उपचार गर्न नपाएको गुनासो जापानमा आएको छ ।

    यसले त्यहाको स्वास्थ्य प्रणालीलाई चूनौति पेश गरेको छ । खासगरी चीनको कोरोनाको उपचारका लागि छुट्टै अस्पताल निकै तिब्र गतिमा बनायो जसले गर्दा अन्य रोगको उपचार पनि रोकिएन ।

    तर, विश्वका ठूलो र विकसित मुलुक नै कोरोनाको संक्रमणबाट बच्न र लड्न चुक्दै आइरहेका छन् ।

    कोरोना लक्षण भएका एक विरामीलाई ८० वटा अस्पतालले भर्ना लिन नमानेको विवरण सार्वजनिक भएका छन् ।

    जापानका दुई चिकित्सक संघहरूले कोरोनाका कारण गम्भिर र आपतकालिन स्थितिमा उपचार गराउन आउने अन्य विरामीहरूको उपचार गर्ने अस्पतालको क्षमता कम भइरहेको उल्लेख गर्दै सरकारलाई सचेत गराएका छन् ।

    चिकित्सकहरूले कोरोना उपचारका लागि आवश्यक सुरक्षात्मक पोसाक तथा उपकरण लगायत सामग्रीको समेत अभाव भएको भन्दै जापान कोरोनाविरुद्ध लड्न तयारी अवस्थामा नरहेको प्रतिक्रिया दिएका छन् ।

    शनिबारसम्म जापानमा १० हजार जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ। यहाँ अहिलेसम्म २ सय जनाको ज्यान गएको छ ।

  • स्पेनमा थामिदैछ कोरोना कहर, लकडाउन खुकुलो बनाइने

    स्पेनमा थामिदैछ कोरोना कहर, लकडाउन खुकुलो बनाइने

    स्पेन । यूरोपमा इटलीपछि कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित स्पेनमा अब कोरोनाको उच्चतम गति घट्न थालेको छ ।

    यसलाई त्यहाको सरकारको कोरोना नियन्त्रणउन्मुख रहेको विश्लेषण समेत गरेको छ ।

    सोहीकारण कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाँच हप्तादेखि जारी लकडाउनका कारण घरभित्रै बसिरहन बाध्य स्पेनका बालबालिका घर बाहिर निस्किन पाउने गरी निर्णय भएको छ ।

    स्पेन सरकारले २७ अप्रिलदेखि बालबालिकाहरुलाई बाहिर निस्किन दिने गरी घोषणा गरेको छ ।

    प्रधानमन्त्री पेद्रो सान्चेजले २७ अप्रिलदेखि लकडाउन केही खुकुलो बनाउने र बालबालिकाहरुलाई घरबाहिरको ताजा हावा लिन दिने उल्लेख गरे ।

    प्रधानमन्त्री सान्चेजले बालबालिकाहरुलाई बाहिर निस्कन दिने उल्लेख गरेपनि अन्य विवरण भने अझै सार्वजनिक गरेका छैनन् ।

    स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २० हजारभन्दा माथि छ । यहाँ करीव २ लाख मानिसमा संक्रमण भएको छ ।

    तर, केही दिनयता मृत्युदर र नयाँ संक्रमण समेत निकै घटिसकेको छ ।

  • सामाजिक अगुवाहरुद्वारा न्यूयोर्क निवासीहरुलाई संघीय सहयोग रकम जोखिममा परेका समुदायलाई सहयोग गर्न आह्वान

    सामाजिक अगुवाहरुद्वारा न्यूयोर्क निवासीहरुलाई संघीय सहयोग रकम जोखिममा परेका समुदायलाई सहयोग गर्न आह्वान

    (यो आर्टिकल यसअघि अंग्रेजी भाषाको डिजिटल अनलाइन ‘द सिटी’ मा अप्रिल १४ तारिखका दिन प्रकाशित भएको थियो)

    कृष्टिन चुन, न्यूयोर्क 

    गोमाले म्यानह्याटन शहरको एक नेल्स सलनमा काम गर्न थालेको झण्डै दुई दशक भयो । उनी मिड-टाउन म्यानह्याटनमा काम गर्न आफ्नो एल्महर्ष्टस्थित अपार्टमेन्टबाट हरेक दिन जसो गइरहेकी थिइन् भने उनको श्रीमान उबर चलाउँछन् ।

    अहिले कारोना भाइरसका कारण दुबै जनाको काम छैन र भएको संचित रकम बिस्तारै सकिरहेको छ । गोमा, जो आफ्नो थर खुलाउन चाहँदिनन्, उनी ‘क्यास’मा काम गर्थिन् । त्यही भएर अहिले उनले बेरोजगारी भत्ताको फर्म भर्न पाउँदिनन् । त्यसमाथि संघीय सरकारबाट दिइने रकम पाउन पनि उनी योग्य छैनन् ।

    ‘मलाई लाग्छ सरकारले हाम्रो कामलाई पनि कदर गर्नुपर्छ, अझ यतिबेला झन्, किनभने यस महामारीले सबैलाई असर गरिरहेको छ’, उनले अनुवादकको सहयोगमा भनिन् ।

    ‘यतिखेर केहीलाई सहयोग दिने र केहीलाई नदिने गर्न मिल्दैन । यतिखेर सबैले समान सहयोगको अपेक्षा गरेका छन्’ उनले थपिन् । न्युयोर्क शहरमा काम गरिरहेका धेरै सामाजिक समुहहरुले संघीय सरकारबाट पाएको रकम त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्न आग्रह गरिरहेका छन्, जो सरकारी सहयोग पाउनबाट कानूनी रुपमा वञ्चित छन् ।

    ‘यही बेला हो हामी अग्रसर भएर ती न्युयोर्कवासीलाई सहयोग गर्ने जो यस्ता सहयोगबाट वञ्चित छन्’ स्ट्रिट भेन्डर प्राजेक्टकी डेपुटी डिरेक्टर करिना कोफमान गुटेरिजले भनिन् ।

    राहत प्याकेजबाट छुटेकाहरु:

     संघीय सरकारले भर्खरै ल्याएको २ ट्रिलियन डलरको राहत प्याकेजले सोसियल सेक्युरिटी भएका ती व्यक्तिहरु जसले वार्षिक ७५ हजार डलरभन्दा कम कमाउँछन्, उनीहरुलाई एक पटकको लागि १२०० डलर दिंदै छ । त्यस्तै, वार्षिक ९९ हजार डलरसम्म कमाउनेले पनि केही रकम पाउँदैछन् ।

    उक्त परिवारमा रहेका १७ वर्षमुनिका प्रत्येक बच्चाको भाग ५०० डलर भने छुट्याइएको छ । ट्रेजरी सेक्रेटरी स्टिभन मनुसिनका अनुसार जसले ट्याक्स फाइल गर्दा बैंकको जानकारी दिएका छन्, उनीहको खातामा पहिलो रकम अप्रिल १७ तारिखतिर आउँदैछ । सन् २०१८ वा २०१९ मा ट्याक्स फाइल गरेकाहरुले अरु केही गर्नु पर्दैन । आइ. आर. एस. ले अन्यका लागि भने अनलाईन पोर्टल बनाएको छ ।

    यता १०औं लाख व्यक्तिहरु जसको आफ्नो बैंक खाता छैन, कानूनी रुपमा अनडकुमेन्टेड छन् र अरुमाथि डिपेन्डेन्ट छन्, उनीहरु यो सहयोग पाउन योग्य हुंदैनन् । न्यू अमेरिकन एकोनोमिले सन् २०१८ मा गरेका रिसर्च अनुसार लगभग १ करोड आप्रवासीहरु ‘अनडकुमेन्टेड’ छन् ।

    ‘आप्रवासीहरु जो संघीय सरकार र राज्य सरकार दुबैलाई कर तिर्छन् तर उनीहरुसंग सोसियल सेक्युरिटी कार्ड छैन भने उनीहरु राहत प्याकेज पाउन हकदार हुंदैनन्,’ न्यूयोर्क इमिग्रेशन कोलिसनका उपाध्यक्ष अनु जोशीले बताइन् ।

    द डेली न्युजका अनुसार कम्तीमा १ लाख १२ हजार न्युयोर्कवासीसंग व्यक्तिगत कर नम्बर छ तर सोसल सेक्युरिटी छैन । ‘अनडकुमेन्टेड आप्रवासीहरु यतिखेर सबैभन्दा बढी प्रभावित छन् र उनीहरु आफ्नो ज्यानलाई जोखिममा पारेर काम गरिरहका छन् ताकि हामी सुरक्षित रहौं,’ जोशीले बताइन् । ‘उनीहरुलाई जानीजानी राहत प्याकेजबाट वञ्चित गराइएको हो । यसको अर्थ कि घरमा बस वा बाहिर गएर काम गरेर आफ्नो परिवारलाई पाल भन्न खाजिएको हो,’ जोशीले बताइन् ।

     सामाजिक समुहहरु जस्तै मेक द रोड न्युयोर्क, द स्ट्रिट भेन्डर प्रोजेक्ट, अनलोकल , न्यूयोर्क नेल सलन वर्कर्स संघ लगायतले मानिसहरुलाई डोनेशन गर्न प्रोत्साहन गरिरहेका छन् । ‘यसरी पैसा उठाएर सहयोग गर्नु ती प्रभावितहरुको लागि अस्थायी रुपमै भएपनि एकदमै महत्वपूर्ण काम होे,’ न्यूयोर्क नेल सलन वर्कस संघका अर्गनाइजिङ डिरेक्टर लुइस गोमेजले बताए ।

    ती समुहहरुले यसको स्थायी समाधानका लागि लडिरहँदा ती प्रभावितहरुका लागि यस्ता सहयोग गर्न अघि बढ्नु एकदमै सराहनीय कदम भएका गोमेजले ठम्याए ।

    ऋणको चिन्ता :

    इस्ट हार्लममा चुरोज र आइसक्रिम बेच्ने मेक्सिकन मुलकी ५० वर्षीया फ्रान्सिस्काले १ महिनादेखि काम गर्न पाएकी छैनन् । उनलाई अर्को महिनाको घरभाडा कसरी तिर्ने भन्ने चिन्ता छ । उनकी कलेज पढ्ने १९ वर्षिया छोरी र उनले फुड बैंकबाट प्राप्त गरेका खाना खाएर बांचिरहेका छन् । आफुसंग भएका चामल र गेडागुडी खटाइ–खटाइ खाइरहेका छन् । ‘मलाई चिन्ता छ यो कोराना भाइरसको असर सिद्धिएपछि म ऋणमा चुर्लुम्म डुबेको हुनेछु,’ स्पेनिस भाषामा उनले बताइन् । ‘हामी जस्तालाई सरकारले सहयोग नगरेको देखेर एकदमै नरमाइलो लागि रहेको छ । यो अन्याय नै हो,’ उनले भनिन् । ‘यदि त्यो चेक पाएको भए ग्रोसरी र अन्य बिल तिर्न पुग्थ्यो जुन अहिलेको प्रमुख आवश्यक्ता हो,’ उनले थपिन् ।

     स्टेटन आइल्याण्डमा ६ बेरोजगार साथीहरुसंग बस्ने २७ वर्षीया बेरेनिश एगुले केही सहयोग पाए आफुले खाना किन्ने बताइन् । मेक्सिकोबाट आएकी बेरेनिस पनि उनको इमिग्रेसन स्ट्याटसका कारण राहत पाउनबाट वञ्चित छिन् । ‘मलाई थाहा छैन विना काम हामी कतिन्जेल टिक्न सक्छौं भनेर,’ स्पेनिस भाषामा बेरेनिशले बताइन् । ‘हामी पनि मान्छे हौं नि,’ उनले भनिन् । ‘हामी यहाँको नागरिक नभएपनि हामीले कामदारले पाउने अधिकार त पाउनुपर्छ,’ उनले भनिन् ।

    यो आर्टिकल तयार पार्न स्ट्रिट भेन्डर प्रोजेक्टकी एमेलि रोजन्जिग, वर्कस युनाइटेडकी लियन टोरी मर्फी र अधिकारकी प्रार्थना गुरुङले अनुवादमा सहयोग गरेका थिए ।

     (यो रिपोर्ट ‘द सिटी डट न्युयोर्क’ को अनुरोधमा नेपालीमा उल्था गरी प्रकाशित गरिएको हो)

  • सडकमा पैसा फ्याक्दै हिड्ने महिलामा आरडिटी रिपोर्ट पोजेटिभ

    सडकमा पैसा फ्याक्दै हिड्ने महिलामा आरडिटी रिपोर्ट पोजेटिभ

    जनकपुरधाम । जनकपुरको महावीर चोकमा पैसा फालेर फरार दुई महिना पक्राउ परेका छन् । पक्राउ लगत्तै उनीहरुको आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

    जसमा एक महिनामा आरडीटी रिपोर्ट पोजेटिभ आएको प्रादेशिक अस्पताल जनकपुरले जानकारी दिएको छ ।

    कोरोना भाइरस संक्रमणको संत्रास फैलिरहेका बेला शुक्रबार जनकपुरमा दुई जना महिलाले सडकमा पैसा फ्याँक्दै हिँडेका थिए ।

    त्यसपछि फरार भएको भनिएको महिलालाई प्रहरीले नियन्त्रणमा लिई प्रादेशिक अस्पताल जनकपुरमा परिक्षणका लागि पुरयाएको थियो ।

    उनीहरु दुबैजनाको अहिले पिसिआर टेस्ट भइरहको छ । उक्त विधिबाट पनि पोजेटिभ आएमा भने कोरोना पुष्टी हुनेछ ।

    शुक्रवार दिउँसो महावीर चोकमा पैसा फालेर फरार भएको सिसिटिभी फुटेजको आधारमा जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरकी आमुना खातुन र अलिना खातुनलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरु नन्द भाउजु भएको प्रहरीले जनाएको ।

  • शनिबार नेपालमा थपिए एक संक्रमित, अब कुल ३१ जनामा संक्रमण

    शनिबार नेपालमा थपिए एक संक्रमित, अब कुल ३१ जनामा संक्रमण

    काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै संक्रमितको संख्या नेपालमा ३१ पुगेको छ ।

    मन्त्रालय स्रोतका अनुसार रौटहतमा १२ जनामा कोरोना देखिएकै समूहका थप एक जनामा कोरोना पुष्टी भएको हो ।

    नयाँ संक्रमित ३१ वर्षिय पुरुष भएको मन्त्रालयले जनाएको छ । उनी पनि भारतीय नागरिक रहेको बताइएको छ ।

    भारतबाट लुकिछिपी नेपाल छिरेका व्यक्तिहरुलाई धमाधम कोरोना देखिएको छ ।

    शनिबार नै टेकु अस्पतालबाट एक जना र बागलुङको धौलागिरी अस्पतालबाट एक जना कोरोना संक्रमित विरामी निको भएर डिस्चार्ज भएका छन् । नयाँ संक्रमितसहित २९ जना अस्पतालमा छन् ।

  • बेलायतमा कोरोनाका कारण १६ नेपालीको गयो ज्यान

    बेलायतमा कोरोनाका कारण १६ नेपालीको गयो ज्यान

    लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा मात्र १६ जना नेपालीको मृत्यु भएको छ ।

    लन्डनस्थित नेपाली दूतावासका अनुसार शुक्रबारसम्म १६ जना नेपालीको मृत्यु भएको पुष्टी भएको छ । कोरोनाका कारण ज्यान गुमाउनेमा धेरैजसो पूर्वगोर्खा सैनिक र दीर्घरोगी रहेका छन् ।

    बेलायतमा १५ जना नेपाली भने कोरोनाको संक्रमणलाई जित्दै निको भइसकेका छन् । अहिले विभिन्न अस्पतालमा ७ जनाको उपचार भइरहेको छ ।

    कोरोनाको संक्रमणको आशंकामा करीव ४० जना नेपाली भने आइसोलेनमा घरमै रहेको दूतावासले जनाएको छ ।

    दूतावासले संकटको बेला सबैलाई सतर्क रहन र अत्यावश्यक काम बाहेक अरु बेला घरैमा बसेर संक्रमण नियन्त्रणमा सघाउन आह्वान गरेको छ ।

  • कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज

    कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज

    पोखरा । कोरोना सम्बन्धी शनिबार नेपालमा दुई उत्साहजनक खबर सार्वजनिक भएका छन् ।

    कोरोनाबाट दोस्रो संक्रमित युवती अस्पतालबाट डिस्चार्ज भएकै दिन बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज भएकी छिन् ।

    यससँगै नेपालमा तीन जनाले कोरोना रोगलाई जित्दै घर फर्कन सफल भएका छन् । नेपालमा कूल ३० जनामा संक्रमण पुष्टी भएको छ ।

    त्यसमध्ये एक जना पुरुष शूरुवाती दिनमै निको भएर घर फर्केका थिए । आज दुई जना घर फर्किएका छन् ।

    बागलुङकी ६५ वर्षीया महिला नेपालमा कोरोना संक्रमित छैटौं बिरामी हुन्। उनको धौलागिरि अञ्‍चल अस्पतालको आइसोलेसनमा उपचार भइरहेको थियो ।

    चौथोपटक गरिएको थ्रोट स्वाव परीक्षणमा नतिजा नेगेटिभ आएपछि उनलाई अस्पतालले शनिबार डिस्चार्ज गरेको छ ।

    बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनलाई चैत २० मा कोरोना संक्रमण पुष्टि भएको थियो।

  • उदयरपुरमा कोरोना संक्रमितलाई विराटनगर लगियो, सबैको अवस्था सामान्य

    उदयरपुरमा कोरोना संक्रमितलाई विराटनगर लगियो, सबैको अवस्था सामान्य

    विराटनगर । उदयपुरमा कोरोना संक्रमण पुष्टी भएका १२ सहित कूल १६ जनालाई विराटनगर लगिएको छ ।

    एउटै मस्जिदमा बसेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ४ जनामा भने नेगेटिभ देखिएको छ । तर , उनीहरु पनि अब क्वारेन्टाइनमा भने बस्नु पर्नेछ ।

    १२ जनालाई भने कोरोना अस्पतालमा भर्ना गरिएको छ । संक्रमण नदेखिएका चार जनालाई मोरङस्थित टाँडीमा बनाइएको क्वारेन्टाइनस्थलमा पठाइएको छ ।

    कोसी अस्पताल विराटनगरले कोरोना अस्पतालमा भर्ना भएका बिरामीको उपचारका लागि ५ जना चिकित्सक खटाएको छ ।

    त्यहा नर्स र सहयोगी कर्मचारी समेत खटिनेछन् । ४ चिकित्सकले दैनिक ६, ६ घण्टाका दरले ड्युटी गर्ने र एक जनाले चौबिसै घण्टा ड्युटी गर्ने गरी सेड्यूल मिलाइएको अस्पतालले जनाएको छ ।

    उनीहरुलाई सात दिनपछि भने होम क्वारेन्टाइनमा पठाइने छ । १२ जनामा शुक्रबार कोरोना पुष्टी भएको हो । उनीहरुमध्ये अधिकांश भारतीय नागरिक हुन् ।

  • सुदुरपश्चिमका एक कोरोना संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ

    सुदुरपश्चिमका एक कोरोना संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ

    धनगढी । सुदुरपश्चिममा कोरोना सक्रमण पुष्टी भएका ५ जनामध्ये एक जना पुरुषको दोस्रो रिपोर्ट निगेटिभ आएको छ ।

    यसको मतलव उनमा समेत कोरोनाको भाइरस अब निष्क्रिय बनेको छ । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित ५ जनामध्ये एक जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको हो ।

    भारतबाट फर्किएका लम्की चुहा नगरपालिका १ का २१ वर्षका युवकमा दोस्रो रिपोर्ट नेगेटिभ आएको हो ।

    अस्पतालका अनुसार भारतबाट आएर कैलालीस्थित प्रतापपुर क्वारेन्टाइनमा बसेका उनको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    त्यसपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको थियो । सेती प्रादेशिक अस्पतालमा उपचाररत अन्य चार जना कोरोना संक्रमितको भने दोस्रो रिपोर्ट पनि पोजेटिभ नै आएको छ ।

    धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका १ कि ६५ वर्षीया महिलाको कोरोना रिपोर्ट पोजेटिभ नै आएको छ ।

    दुई पटकसम्म पोजेटिभ आएको धनगढी ५ का ३४ बर्षीय अर्का युवकको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

    काठमाडौंमा दोस्रो संक्रमित भने अस्पतालबाट डिस्चार्ज भएकी छिन् । नेपालमा कुल ३० जनामा संक्रमण देखिए पनि सबैको अवस्था सामान्य रहेको छ ।

  • नेपालकी दोस्रो संक्रमित निको भएर घर फर्किइन्

    नेपालकी दोस्रो संक्रमित निको भएर घर फर्किइन्

    काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएकी छिन् । उनी १० चैतमा अस्पताल भर्ना भएकी थिइन् ।

    शनिबार घर फर्किएकी हुन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

    निको भएपछि उनीले संचारमाध्यमलाई प्रतिक्रिया दिँदै आफू ठिक भएको बताइन् । आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको उनको प्रतिक्रिया छ ।

    उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो । शनिबारको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

    काठमाडौं घर भएकी युवती चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

    फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामी साथीमा कोरोना सं‌क्रमण पुष्टि भएपछि उनी आफै स्वास्थ्य जाँच गराउन टेकु पुगेकी थिइन । उनको नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

    उनीसँगै आएका अन्य दुई जनामा समेत कोरोना पुष्टी भएको हो । नेपामा अब कोरोना संक्रमित मध्ये २ जना निको भएर घर फर्किएका छन् ।

    नेपालमा कूल ३० जनामा संक्रमण पुष्टी भएको छ । २८ जना भने अस्पतालमा छन् ।

  • भारतमा कोरोना नियन्त्रण उन्मुख

    भारतमा कोरोना नियन्त्रण उन्मुख

    नयाँ दिल्ली । अप्रिल पहिलो साता भारतीय राज्यहरुबाट निकै डरलग्दो तथ्यांकहरु आइरहेका थिए । जहाँ कोरोनाको संक्रमण हरेक तीन दिनमा दोब्बरले बढिरहेको थियो ।

    तर, अप्रिल दोस्रो साता सकिँदासम्म भारतमा नयाँ संक्रमणको दर निकै घटेको छ । संक्रमणको तुलनामा मानिसको मृत्युदर समेत नगन्य रहेको छ ।

    भारतीय स्वास्थ्य मन्त्रालयले यसलाई शुभसंकेत भनेको छ । जसले भारतमा कोरोना अब नियन्त्रण उन्मुख रहेको देखाउने भारतीय अधिकारीहरुको दावि छ ।

    भारतमा १ अर्ब ३० करोड मानिस छन् । यहाँ लकडाउन छ । यति ठूलो जनसंख्यालाई घर भित्र थुनेर राख्दै एक महामारीको नियन्त्रण भारतजस्तो मुलकमा निकै चूनौतिपूर्ण काम हो ।

    तर, खासगरी स्थानीय सरकारहरुको सक्रियतामा भारतले सफलता पाइरहेको छ । दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसको मृत्यु भएको देश भारत हो।

    यस मुलुकमा अहिसम्म ४ सय ५२ जना संक्रमितको ज्यान गएको छ । भारतभर १३ हजार ८ सय ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

    सोहीकारण संक्रमितको तुलनामा मर्ने मानिस ज्यादै कम छन् । यहाँ १ हजार ७ सय ६७ जना उपचारपछि निको भइसकेका छन् । भारत युरोप र अमेरिकाको तुलनामा यो भाइरसको नियन्त्रणको युद्धमा धरै हदसम्म सफल देखिएको छ ।

    भारतका कतिपय प्रदेश र जिल्लामा एक जना मानिसको पनि कोरोना संक्रमणका कारण ज्यान नगएको तथ्यांक छ ।

    भारतले २५ मार्चबाट देशभर लकडाउन घोषणा गरेको हो ।

    यस २१ दिनको अवधिमा संक्रमण धेरै हदसम्म काबुमा राख्न सफल भएको भारतीय स्वास्थ्य मन्त्रालयको भनाई छ । भारतमा कोरोना संक्रमणको फैलने दर कम भएको छ ।

    केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अप्रिल पहिला साता हरेक तीन दिनमा कोरोना संक्रमण दर दोब्बरको हिसाबले बढेको थियो । तर हाल यो दर हरेक ६ दशमलव २ दिनमा झरेको छ । भारतका १९ राज्यमा कोरोना संक्रमित कम छन् ।

  • वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिवन्ध लगाउ : विश्व स्वास्थ्य संगठन

    वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिवन्ध लगाउ : विश्व स्वास्थ्य संगठन

    जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले वन्यजन्तुको मासुका कारण नयाँ भाइरसको उत्पत्ति भएको भन्दै यसको व्यापारमा कडा प्रतिवन्ध लगाउन सुझाव दिएको छ ।

    संसारका सबै मुलुकले यसमा कदम चाल्नु पर्ने संगठनको भनाई छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडहनामका अनुसार अध्ययनबाट ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको पुष्टी भएको छ ।

    सोहीकारण वन्यजन्तुको मासुको व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउनुपर्ने उनको भनाई छ ।

    चीनको वुहान शहरस्थित जंगली जनावर र पंक्षीहरुको खरिदबिक्री हुने बजारबाट कोरोना भाइरस उत्पत्ति भएको बताइएको छ ।

    डब्ल्यूएचओका प्रमुख टेड्रोसले जीवित जनावरको बिक्री हुने बजारलाई प्रतिवन्ध लगाउन र मानिसको स्वास्थ्य दृष्टिकोणबाट तोकिएका मापदण्ड पुरा भएपछि मात्र खोल्न अनुमति दिनुपर्ने उनको सुझाव छ ।

    टेड्रोसले पशुपंक्षी बजार लाखौं जनताको भोजनको एक महत्वपूर्ण स्रोत भए पनि अधिकांश क्षेत्रमा स्वच्छताको अभाव रहेकोमा सचेत गराएका छन् ।

    डब्लुएचओले जनावरबाट मानिसमा सर्ने भाइरस रोकथामका लागि एक उपयुक्त उपायको खोजी गरिरहेको बताएको छ । यसमा अध्ययनकर्ता लागिपरेका छन् ।

  • अमेरिकामा संक्रमित ७ लाख नाघे, ३७ हजारको मृत्यु

    अमेरिकामा संक्रमित ७ लाख नाघे, ३७ हजारको मृत्यु

    काठमाडौं । कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको शक्तिशाली मुलुक अमेरिकामा यस भाइरसबाट संक्रमण हुने मानिसको संख्या ७ लाख नाघेको छ ।

    शनिबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा ७ लाख २ सय ८२ जना मानिसमा संक्रमण पुष्टी भइसकेको छ ।

    यो कुनै पनि मुलुकमा भएको सर्वाधिक संक्रमण हो । संक्रमणसँगै मृत्यु हुने मानिसको संख्यामा पनि अमेरिका निकै अगाडी पुगेको छ ।

    अमेरिकामा अहिलेसम्म यस भाइरसको संक्रमणका कारण ३७ हजार मानिसले ज्यान गुमाएका छन् । चीनको वुहानबाट उत्पत्ति भएको यो भाइरसको औषधी अहिलेसम्म पत्ता लागेको छैन ।

    संसारभरका सबैजसो मानिसलाई यसले त्राहीमाम बनाएको छ । अमेरिकाको न्युयोर्कमा मात्र अहिलेसम्म २ लाख ३० हजारभन्दा धेरै मानिसमा संक्रमण फैलिएको छ ।

    यहाँ मृत्यु हुनेको संख्या १७ हजार १ सय ३१ पुगेको छ । न्यु जर्सीमा पनि ७८ हजारभन्दा धेरै मानिस संक्रमित छन् । यहाँ कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ४० रहेको छ ।

    अमेरिकामा अहिलेसम्म ५८ हजार पाँच सय ८७ जना संक्रमित भने निको भएका छन् ।

    कोरोना भाइरसको कारण विश्वभर संक्रमित हुनेको संख्या २२ लाख ४२ हजार नाघेको छ । अहिलेसम्म १ लाख ५४ हजारभन्दा धेरै मानिसले संसारभर ज्यान गुमाएका छन् ।

    नेपालमा संक्रमितको संख्या ३० पुगेको छ । त्यसमध्ये पनि १५ जना भारतीय नागरिकमा संक्रमण भएको छ ।

    १ जना नेपाल भित्रै रहेका नागरिकमा फैलिएका यो संक्रमण अन्य व्यक्ति भने विदेशबाट नेपाल फर्किएका हुन् । नेपालमा संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

  • कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट

    कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट

    न्युयोर्क

    सानो होस् या ठुलो अनि निर्बलदेखि शक्तिसालीसम्म र धनीदेखि गरिबसम्म  सबैलाई त्रासमा बाँच्न वाध्य पार्ने एउटै नाम छ, कोरोना भाइरस । बाहिरी आँखाले देख्न नसकिने यो भाइरस संक्रमणको त्रासले संसारभरका दुई सय राष्ट्रहरु यसको नियन्त्रयको लागि क्षमताले भ्याएसम्म पौंठेजोरी खेल्दै छन् । बिसौं लाख संक्रमित भइसकेका छन् । डेढ लाख भन्दा बढी मानिसले कोरोना कै कारण जीवन गुमाई सकेका छन् । प्रवासमा बसोबास गर्ने नेपाली जनसंख्याको ठुलो हिस्सा पनि यही महामारीका कारण त्रास र पिडादायी अवस्थामा बाँच्न वाध्य छन् । पछिल्लो समय कोरोना केन्द्र बिन्दुको रुपमा उदाएको न्युयोर्क सहरमा बसोबास गर्दै आएको नेपालीको ठुलो हिस्सा पनि त्यतिकै प्रभावित हुन पुगेको छ । 

    महामारीको समयमा भाईरस संक्रमित हुनु एवम् रोग लाग्नुलाई अस्वाभाविक मानिदैन तर रोग लागेर पनि अन्धविश्वासी भई रहनु चाँहि अहिले प्रबासमा ठुलो चुनौती बनेको छ । अधिकांश संक्रमित सुरुमा देखिने कोरोनाको लक्षण ज्वरो आउनु, खोकी लाग्नु, घाँटी दुख्नु, टाउको दुख्नुलाई कोरोना भनेर सहस्र स्विकार गर्दैनन् । धेरै चिसो खाएको कारणले खोकी लागेको, राती निन्द्रा नपुगेर टाऊको दुखेको, चिल्लो पिरो खाएर घाँटी दुखेको, टाईफाईडको ज्वरो आएको आदी भन्दै संक्रमणको लक्षण देखिएको १० औं दिनसम्म पनि अधिकांश नेपालीहरु त्यतिकै घरमा बस्ने समस्या देखिएको दृष्टान्त न्युयोर्कमा लामो समयदेखि नर्सिङ पेसामा आबद्ध निमा शेर्पा आफ्नो अनुभव सुनाउँछिन् । नेपालमा सोलुखुम्बु घर भएकी निमा स्वयम् कोरोना संक्रमणलाई जितेर स्वस्थ भएकी हुन् । कोरोना संक्रमणबाट सिंगो परिवार संक्रमित भएर स्वस्थ भए यता निमा न्युयोर्कस्थित नेपाली समुदायमा संक्रमित ब्यक्तिहरुलाई कोरोनासँग जितेर फर्काउनको लागि लगातार खटिरहेकी छिन् ।  

    निमा आफु मात्र होईन आफ्नो पति र दुई बच्चा समेत संक्रमित भई दुई हप्ता कोरोनासँगको युद्ध जितेर आएपछि आफू झनै शक्तिशाली भएको महसुस गर्छिन् । तर अहिले एपिसेन्टर न्युयोर्कमा हरेक दिन आउने नेपालीको मृत्‍युको खबरले भने उनलाई निकै बिचलित बनाएको छ । निमाले आफू सञ्चो भएर न्युयोर्कको नेपाली समुदायका बिरामीहरुलाई उपचार, सल्लाह र सहयोग गर्न थालेको झन्डै २ हप्ता हुन लाग्यो । तर दुई दिन अगाडि मात्र न्युयोर्कमा मृत्‍यु भएका पवन मल्लको खबरले त झनै बिचलित बनाएको बताउँदै निमा भन्छिन् “त्यो मल्ल भाई यही उड साईडमा बस्ने मान्छे रहेछन् म पनि यँही उड साईडमा बस्छु । उनी बिरामी भएको समयमा यदि राम्रो चिकित्सकको उपचार नपाए पनि मसँग मात्र संपर्कमा आएको भए मैले धेरै नै मद्दत गर्न सक्ने थिए तर अब समय बितिसक्यो पश्चाताप गर्नुको बिकल्प छैन । तर पनि यो घटनाले निकै दिक्क लागेको छ” । १४ बर्षदेखि अमेरिकास्थित नर्सिङ पेसामा सेवारत निमा बिगत ४ बर्षदेखि प्रख्यात माउन्ट साइनाई हेल्थ सिस्टम न्युयोर्कमा कार्यरत छिन् । निमा आफु भित्र कोरोना संक्रमित नेपालीलाई रोगबाट उन्मुक्तीको लागि सहयोग गर्ने हुटहुटी बढेको बताउँदै भन्छिन् “महामारीको समय छ चिकित्सकहरु धेरै ब्यस्त छन् ।  अस्पातलहरु भरिभराउ छन् । बिरामीहरु आत्तिने गर्दछन् । कोसँग सल्लाह लिने ?कस्लाई सोध्ने ? भन्ने कुराको आन्योल छ त्यसैले यस्तो समयमा मलाई २४ घण्टा नै संपर्क गरेपनि मैले जानेको बुझेको सहयोग गर्ने थिए” ।

    हाल न्युयोर्कमा ५ सय भन्दा धेरै नेपाली कोरोना संक्रमित भएर आफ्नो निवासमा स्वास्थ लाभ गरिरहेको र झन्डै ५० जना अस्पातलमा उपचार गरिरहेको अनुमानित आँकडा छ । जुन आँकडाको अधिकारिक पुष्टि भने छैन ।  

    कोरोना संक्रमणले मान्छेको शरिर मात्र कमजोर नबनाई यस्ले आत्मबल समेत कमजोर बनाउने हुँदा यस्तो अवस्थामा बिरामीसँग स्वास्थ क्षेत्रको अलिकति  अनुभवी ब्यक्तीको सुझाबले निकै आत्मबल बढ्ने र बिरामीको ज्यान नै जोगिने निमाको अनुभव छ । सही काउन्सेलिङ नहुँदा थुप्रै नेपाली बिरामीले अहिले नेपालबाट ल्याएको औषधी र अमेरिकाकै फार्मेसीको काउन्टरमा किनेको औषधी दुईवटा नै खाने गरेको आफूले भेटेको निमा सुनाउँदै भन्छिन् – “थुप्रै नेपाली दाजूभाईले नेपालबाट ल्याएको औषधी र अमेरिकामा किनेको औषधी दुई थरी नै खाने गरेका छन् । उनीहरुले नेपालको औषधी र अमेरिकाको औषधीको नाम फरक देखेको कारण दुई वटा नै खान्छन् तर औषधीमा भएको केमिकल एउटै भएर डलब डोज औषधी खाएर थप बिरामी हुँदै गएको अवस्था छ” ।  

    अन्त्यमा निमा भन्छिन्; “अरु समय कम्युनिटीको साथ आवस्यक नहुन सक्छ तर यस्तो अवस्थामा नेपाली समुदाय एक भएर कानूनी कागजात भएका/नभएका, जात धर्म र समुदाय मतलब नगरि कोरोनासँग बिजय प्राप्त गर्नु महत्वपूर्ण कुरा हो । त्यसैले खानु पर्ने औषधी नखाएर नखानु पर्ने औषधी खाएर थुप्रै मान्छे थप रोगी हुनबाट र मृत्‍यु हुनबाट  जोगाउने लगायत बिरामीलाई आत्मबल दिने काम महत्वपूर्ण भएको छ । यसर्थ मलाई जुनसुकै बेला इमेल मार्फत सम्पर्क गरि आफ्नो समस्या र फोन नम्बर छोडेमा फेसटाईम र भिडियो कलबाट समेत म सहयोग गर्दछु । संकोच नमान्नु होला । मेरो इमेल : [email protected] हो” ।

    (विश्वन्युज र विश्व सन्देश साप्ताहिकको लागि बिजय राम पौडेलसँगको कुराकानीमा आधारित )

  • कोरोना कहर चर्किँदै जाँदा ट्रम्पको पुनर्निर्वाचन सपनामा लाग्दैछ धक्का

    कोरोना कहर चर्किँदै जाँदा ट्रम्पको पुनर्निर्वाचन सपनामा लाग्दैछ धक्का

    न्यूयोर्क/

    कोरोना कहरबीच अमेरिकी चुनावको मिति नजिकिँदै जाँदा राष्ट्रप्रति डोनाल्ड ट्रम्पको पुनर्निवार्चन सपनामा चुनौती देखिन थालेको छ । सन् २०१६ मा तीन राज्यमा ७७ हजार मतान्तरको जीतका कारण ह्वाइट हाउस छिरेका ट्रम्पलाई यसपाली सबै स्विङ राज्यहरु चुनौती पूर्ण देखिएका हुन् ।

    अघिल्लो पटक ट्रम्पले साढे तीन प्रतिशत बिन्दुको जितेको एरिजोनामा सम्पन्न पछिल्ला १३ सर्भेक्षणमध्ये एउटामा मात्र डेमोक्रेटिक जो बाइडेनभन्दा अगाडी छन् । २०१६ को राष्ट्रपतिय चुनाव पछि २०१८ को सिनेट निर्वाचनमा एरिजोनामा डेमोक्रेटिक उम्मेद्वारले विजय हासिल गरेका थिए । राज्यमा बढ्दो ल्याटिनो जनसंख्या ट्रम्पका लागि चुनौती बनि रहेको छ ।

    अघिल्लो चुनावमा डेमोक्र्याटका लागि धेरै महंगो सावित भएको फ्लोरिडा पनि रिपब्लिकनको हातबाट चिप्लिने लक्षण देखिन थालेका छन् । कोरोना भाइरसले राष्ट्रपतिय होडमा गहिरो असर पारि सकेको छ र अहिलेको सम्मका संकेतले ट्रम्पको पुनर्निर्वाचनका लागि यो धेरै घातक हुन सक्ने देखिन्छ । विश्लेषकहले ट्रम्पलाई थप चार बर्ष ह्वाइट बस्ने गरि २७० इलेक्टोरल मत पुग्ने संभनाव दिनहुँ साँघुरो बनि रहेको बताउन थालेका छन् । २०१६ मा पेन्सिलभेनिया, मिसिगन र विसकनसनमा चामत्कारिक जित निकाल्दै ट्रम्प राष्ट्रपति निर्वाचित भएका थिए । हिलारी क्लिन्टनका लागि सहज ठानिएका यी राज्य कुल ७७ हजार मतअन्तर सहित ट्रम्पले हत्याए । यी तीन राज्यमा कुल १३ करोड ६० लाख मत खसको थियो भने यी राज्यसँग ४६ इलेक्टोरल कलेज रहेको छ । हिलारी भन्दा ३० लाख कम मत ल्याए पनि ट्रम्प ३०४ इलेक्टोरल कलेज सहित राष्ट्रपति निर्वाचित भएका थिए । यदि यी तीन राज्य डेमोक्रेटले नगुमाएको भए ट्रम्पको इलेक्टोरल कलेज २६० मा सिमित हुन्थ्यो भने २७८ इलेक्टोरल कलेज सहित हिलारी राष्ट्रपति निर्वाचित हुने थिइन् ।

    अहिले पनि यी तीन राज्य फर्काउन सके डेमोक्रेटिक उम्मेद्वारलाई ह्वाइट हाउस छिर्न पर्याप्त हुन्छ । तीन राज्यमध्ये विसकनसनमा स्वेत अमेरिकीको बाक्लो वस्ती रहेको कारण ट्रम्पलाई केही सहज हुने अनुमान छ । तर, अघिल्लो साता सम्पन्न राज्यको सर्वोच्च अदालतको एक न्यायाधिशका लागि भएको निर्वाचनले ट्रम्प सपनामा राम्रै धक्का पुर्याएको छ ।

    निर्दलीय चुनाव हुने विसकनसन सर्बोच्च अदालतका लागि ट्रम्प एवं रिपब्लकिन समर्थनमा बहालवाला न्यायाधीश डेनियल केली र डेमोक्रेटिक समर्थनमा काउन्टी न्यायाधिश जील जे कारोफस्काइ उम्मेद्वार थिए । केलीलाई भोट अपिल गर्दै ट्रम्पले पटक पटक ट्विट गरेका थिए । अप्रिल ७ का लागि तोकिएको चुनाव कोरोना संक्रमण सार्न डेमोक्रेटिक गभर्नर टोरी एभर्सले गरेको प्रस्ताव रिपब्लिकन बहुल हाउस र सिनेटले अश्विकार गरेको थियो । अन्नतः रिपब्लिकन बहुल राज्यको सर्बोच्च अदालतले गभर्नरको निर्णय खारेज गरिदियो ।

    सहज अवस्थामा मतदान गर्न दिँदा धेरै डेमोक्रेटले भोट हाल्ने र आफ्नो उम्मेद्वार हार्ने रिपब्लिकन बुझाइ थियो । सर्वसाधारणले बाध्य भएर छ फिट दूरी कायम गर्दै दुई घण्टासम्म लाइन बसेर भोट हाले । नतिजा रिपब्लकिनका लागि चक्मा दिने खालेको आयो । साढे १५ लाख भोट खसेकोमा केली डेढ लाख बढि मतान्तरले पराजित भए । शहर आसपासको वस्तीमा रहेको पकड रिपब्लकिनले गुमाइ सकेका छन् भने ट्रम्पले खोसेका साना टाउनहरु फेरि डेमोक्रेटिक कित्तामा फिर्ता हुन थालेका छन् ।

    साथै कडा मेहनत मार्फत विसकनसनमा केही राम्रो गर्न सके पनि निर्वाचन जित्नका लागि ट्रम्पले अघिल्लो पटक जितेका सबै राज्य हत्याउनु पर्ने हुन्छ । जुन अहिलेको अवस्थामा भने असंभव प्रायः देखिएको छ ।

    सूर्योदयको राज्य भनेर चिनिने फ्लोरिडाका २९ इलेक्टोरल कलेज ट्रम्पको पुनर्निर्वाचनका लागि अपरिहार्य छन् । सन् २००८ र २०१२ मा ओबामाले जितेको फ्लोरिडा २०१६ मा ट्रम्पले खोसेका थिए । सन् २०१८ को मध्यावधि चुनावसम्म पनि फ्लोरिडा रिपब्लिकन खातामै थियो । डेमोक्र्याटले देशब्यापी रुपमा शसक्त प्रदर्शन गरेको उक्त चुनावमा फ्लोरिडाको सिनेट र गभर्नर दुबै सिट झिनो मतान्तरका साथ रिपब्लकिनले हत्याएका थिए । त्यही जित निरन्तरताको अपेक्षा सहित केही समय अघि मात्रै फ्लोरिडालाई ट्रम्पले नयाँ गृहराज्यको रुपमा चुनेका थिए । तर, कोरोना भाइरसप्रतिको सुस्त सम्बोधनले रिपब्लकिन ब्राण्डमै गम्भीर धक्का लागि सकेको छ ।

    भाइरसबाट राज्यको पर्यटनमा आधारित अर्थतन्त्र अन्य राज्यभन्दा धेरै प्रताडित भइ सकेको छ । सोही कारण हालैसम्पन्न आई- ९५ को सर्भेक्षण अनुसार फ्लोरिडामा बाइडेनले ट्रम्पलाई छ प्रतिशतले उछिनेका छन् । देशब्यापी मत सर्भेक्षणमा पनि ट्रम्पको कामप्रति जनताको सन्तुष्टि ओरालो लागि सकेको छ । ग्यालप न्युजको सर्भेमा अघिल्लो महिना ट्रम्पको कामप्रति सकारात्मक धारणा राख्ने अमेरिकी ४९ प्रतिशत पुगेका थिए । अहिले त्यो संख्या ४३ प्रतिशतमा झरेको छ ।

    (डेली न्यूजको सहयोगमा)

  • नेपालको ७५ जिल्लामा शुरु भयो कोरोना परीक्षण

    नेपालको ७५ जिल्लामा शुरु भयो कोरोना परीक्षण

    काठमाडौं । नेपालको ७७ जिल्लामध्ये ७५ वटा जिल्लामा कोरोनाको परीक्षण शुरु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार र्‍यापिड डायग्नोस्टिक विधिबाट ७५ जिल्लामा परीक्षण शुरु भएको छ ।

    अब सोलुखुम्बु र डोल्पा जिल्लामा मात्र यस्तो परिक्षण शुरु हुन बाँकि रहेको छ ।

    र्‍यापिड डायग्नोस्टिक विधिबाट पोजेटिभ आएको व्यक्तिको स्वाव संकलन गरी थप परीक्ष्णका लागि काठमाडौंसहित देशभर रहेका एक दर्जन ल्यावमध्ये पायक पर्ने ल्यावमा पठाउने गरिन्छ ।

    मन्त्रालयका अनुसार प्रदेशहरुमा थप ३० हजार यापिड डायग्नोस्टिक किट पठाइएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार र्‍यापिड टेष्ट सोलखुम्बु र डोल्पामा समेत शुरु गर्ने तयारी छ ।

    नेपालमा अहिलेसम्म भएका परीक्षणबाट ३० जनामा कोरोना पुष्टी भएको छ । शुक्रबार मात्र १४ जना थप संक्रमित भेटिएका हुन् ।

  • राष्ट्रपति कार्यालयको उदाहरणीय प्रयास, खर्च कटौती गरी साढे ९ करोड फिर्ता

    राष्ट्रपति कार्यालयको उदाहरणीय प्रयास, खर्च कटौती गरी साढे ९ करोड फिर्ता

    काठमाडौं । राष्ट्रपति कार्यालयले कोरोना संकटका बीच एक उदाहरणीय कार्य गरेको छ । कार्यालयले आफ्नो खर्च कटौती गरी साढे ९ करोड रुपैयाँ सरकारलाई नै फिर्ता गरेको छ ।

    कार्यालयका नाममा विनियोजन भएको वार्षिक बजेटबाट साढे ९ करोड रुपैयाँ सरकारको संघीय सञ्‍चित कोषमा जम्मा गरेको कार्यालयले जनाएको छ ।

    राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले चालु आर्थिक वर्ष २०७६\०७७ का लागि छुट्याइएको बजेटमध्ये उक्त रकम फिर्ता भएको जानकारी दिएका छन् ।

    कोरोना भाइरस (कोभिड १९) का कारण विशेष परिस्थिति उत्पन्‍न भएकाले कार्यालयको विभिन्‍न शीर्षक अन्तर्गत विनियोजित बजेटबाट यो रकम सञ्‍चित कोषमा जम्मा गरिएको उनको भनाई छ ।

    सरकारले २० चैतसम्म पनि ठेक्का नलागेका विभिन्न १४ शीर्षकको बजेट सबै निकायमा रोक्का गरिसकेको छ ।

  • बहराइनमा नेपालीमा कोरोना संक्रमण बढ्दो, थप २७ मा पुष्टी

    बहराइनमा नेपालीमा कोरोना संक्रमण बढ्दो, थप २७ मा पुष्टी

    काठमाडौं । बहराइनमा थप २७ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टी भएको छ ।

    अब यस मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या ४९ पुगेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार शुक्रबार २७ जना नेपालीमा संक्रमण पुष्टि भएको हो ।

    बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु भइसकेको छ । तीन जनाको अवस्था गम्भीर छ । ७ सय ३ जना भने निको भइसकेका छन् ।

    दूतावासका अनुसार बहराइनमा ५ जनाभन्दा बढी मानिस भेला हुन रोक लगाएको भन्दै नियमको पालना गर्न दूतावासले नेपाली नागरिकलाई सचेत गराएको छ ।

    यसका साथै बहराइनमा गैरकानूनी रुपमा बसेका सबै नागरिकले सन् २०२० भित्रै बैधानिक कागजपत्र देखाएर बैधानिक हुन समेत सक्ने जानकारी दूतावासले जनाएको छ ।

    बहराइनमा क्वारेन्टाइनसम्बन्धी नियमको उल्लंघन गरेमा तीन महिनासम्म जेल सजायसमेत हुने भन्दै सचेत रहन दूतावासले आह्वान गरेको हो ।