Category: फिचर

  • अष्ट्रेलियामा संक्रमित नेपाली निको भए

    अष्ट्रेलियामा संक्रमित नेपाली निको भए

    मेलवर्न । अष्ट्रेलियामा कोरोना भाइरस ९कोभिड—१९० बाट संक्रमित नेपाली निको भएका छन् । अष्ट्रेलियामा कूल ८ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको थियो ।

    दुई साता अगाडि सिड्नीका ४ र मेलबर्नका ३ नेपालीमा कोरोना देखिएको थियो । त्यसअगाडी तासमेनियामा एक जना नेपालीमा संक्रमण देखिएको थियो । कोरोना संक्रमणमा पर्ने ८ मध्ये ६ जना विद्यार्थी हुन् ।

    संक्रमणपछि उनीहरुलाई आइसोलेसन राखेर उपचार गरिएको थियो । अष्ट्रेलियास्थित नेपाली दूतावासका अनुसार उनीहरु सबै ८ जना निको भएर सामान्य जीवनमा फर्किसकेका छन् ।

    सबै निको भएका कारण अहिले अष्ट्रेलियामा कोरोना संक्रमित नेपाली नरहेको दूतावसले जनाएको छ ।

    अष्ट्रेलियामा करीव १ लाख २० हजार नेपाली रहेको अनुमान छ । त्यसमध्ये ७० हजार विद्यार्थी हुन्।

    आंशिक काम गरेर कलेज शुल्क तिर्नुपर्ने नेपाली विद्यार्थी कोरोनाका कारण भने समस्यामा परेका छन् । अहिले अष्ट्रेलियामा स्टोर र मेडिकल बाहेकका सबै क्षेत्र बन्द भएका कारण नेपालीको रोजिरोटी गुमेको छ ।

  • एक सातायता नेपालमा देखिएन थप संक्रमण

    एक सातायता नेपालमा देखिएन थप संक्रमण

    काठमाडौं । नेपालमा एक सातायता कोरोना भाइरसको थप संक्रमण नदेखिएको सरकारले जनाएको छ ।

    नेपालमा अहिलेसम्म ४ हजार ४ सय २६ जनामा कोरोनाको परिक्षण भएको छ । पछिल्लो २४ घण्टामा ८ सय ९७ जनामा नमुना परिक्षण भएको छ ।

    त्यस परिक्षणबाट कुनै पनि थप संक्रमण पुष्टी नभएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र ६ सय ९ जनाको परिक्षण भएको थियो ।

    उपत्यका बाहिरका १० वटा प्रयोगशालामा कुल २८८ वटा नमुना परिक्षण भएका थिए । ती कुनै पनि परिक्षणमा कोरोनाको पुष्टी भएन ।

    यससँगै नेपालमा अघिल्लो शनिबार यता कोरोनाको संक्रमण डरलाग्दो गरी नफैलिएको पुष्टी भएको छ । सरकारले नेपालमा कोरोना रोकथामका लागि अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ ।

    देशभित्र आवतजावत गर्न नपाउने गरी लकडाउन घोषणा गरिएको छ । नेपालमा अहिलेसम्म ९ जनामा कोरोना देखिएको छ ।

    एक जना निको भएर घर फर्किसकेका छन् । अन्य संक्रमितको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    नेपालमा अहिले देशभर क्वारेन्टानइमा ८ हजार ८२ जना मानिस रहेका छन् । आइसोलेसनमा ८२ जना रहेको मन्त्रालयको तथ्यांक छ ।

    सबै जिल्लामा परिक्षणको दायरा बढाइएको र अहिले दैनिक औसतः ८ सय नमुना परिक्षण भइरहेको मन्त्रालयको भनाई छ ।

  • कोरोना कोषमा सबै मुलुकले हाले रकम, कति उठ्यो ?

    कोरोना कोषमा सबै मुलुकले हाले रकम, कति उठ्यो ?

    काठमाडौं । दक्षिण एशियाली सहयोग संगठन (सार्क) अन्तर्गत कोभिड १९ आपतकालिन कोषमा पाकिस्तानले ३० लाख अमेरिकी डलर सहयोग गरेको छ ।

    यस कोषमा भारतले १ करोड डलर हालेको थियो । नेपालले १० लाख डलर सहयोग घोषणा गरेको थियो ।

    सार्क कोभिड १९ आपतकालिन कोषको प्रतिवद्धतामा सबै सदस्य राष्ट्रले समय, तरिका र त्यसको कार्यन्वयनका बारेमा निर्णय गर्नुपर्ने भन्दै पाकिस्तानले रकमको घोषणा गरेको हो ।

    पाकिस्तानले सबैभन्दा अन्तिममा रकमको घोषणा गरेको हो ।

    तर, पाकिस्तानले यसै साता कोरोना भाइरस संक्रमणबाट यस क्षेत्रको व्यापारमा पर्नसक्ने सम्भावित असरका बारेमा छलफल गर्नका लागि बोलाइएको सार्क राष्ट्रबिचको भिडियो सम्मेलनमा भाग लिन भने अस्वीकार गरेको थियो।

    पाकिस्तानले यस्तो काम सार्क सचिवालयले गर्नुपर्ने बताउँदै छलफलमा आउन अस्वीकार गरेको थियो।

    भारतले सचिवालयको नाममा पाकिस्तानले औपचारिक हिसाबले कोरोना सम्बन्धी छलफल दबाउन खोजेका आरोप लगाउँदै आएको छ ।

    कोरोना कोषमा भारतले श्रीलंकाले ५० लाख डलर, बंगलादेशले १५ लाख डलर, नेपाल तथा अफगानिस्तानले दश–दश लाख डलर एवं मालदिभ्स र भुटानले एक–एक लाख डलर जम्मा गर्ने घोषणा गरेका छन् ।

    यो कोष बनाउने प्रस्ताव भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका हुन् ।

  • मूख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीको भिडियो कन्फ्रेन्स

    मूख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीको भिडियो कन्फ्रेन्स

    काठमाडौं । कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामका सम्बन्धमा केन्द्र सरकार र प्रदेश सरकारबीच समन्वयलाई अझ प्रभावकारी बनाइने भएको छ ।

    शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो संवाद गरेका छन्।

    उक्त अवसरमा समन्वयलाई प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री शनिबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा आएका थिए ।

    दोस्रो पटक मिगौला प्रत्यारोपणपछि उनी शनिबार दोस्रो पटक नै आफ्नो कार्यालय पुगेका हुन् ।

    यसअघि उनले सार्क राष्ट्रका राष्ट्र प्रमुखहरुसँग भिडियो वार्ताका लागि आफ्नो कार्यालयमा पुगेका थिए ।

    पछिल्लो समय भने प्रधानमन्त्रीले आफ्नो सक्रियता बढाएका छन् । सोहीक्रममा उनले मूख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् ।

    सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    मुख्यमन्त्रीसँगको भिडियो संवादमा ओली क्याबिनेटका मन्त्री र सल्लाहकार सहभागी थिए ।

    भिडियो संवादमा कोभिड १९ को जोखिम, सुरक्षा रणनीति र दुवै तहका सरकारको तयारीबारेमा संवाद भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

  • लकडाउन खोल्ने हतार नगर्न डब्ल्यूएचओको चेतावनी

    लकडाउन खोल्ने हतार नगर्न डब्ल्यूएचओको चेतावनी

    जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाबाट बच्न घोषित लकडाउन खोल्ने विषयमा हतार नगर्न मुलुकहरुलाई सचेत गराएको छ ।

    संगठनका प्रमुख टेड्रोस अदोनम गिब्रियससले कोरोना संक्रमण रोकथाम गर्न लगाइएको लकडाउन हतारमा हटाए स्थिति झनै भयावह हुने चेतावनी दिएका हुन् ।

    लकडाउन अन्त्य गर्नेबारे संसारभरका मुलुकहरु सतर्क हुनुपर्ने उनको सुझाव छ । किनकी भाइरस सुशुप्त अवस्थामा रहेर पनि बस्ने भएकाले लकडाउन खोल्दा परिणाम झन खतरानाक हुन सक्ने चेतावनी संगठनको रहेको छ ।

    अदोनमले अहिलेकै अवस्थामा यसलाई अन्त्य गरे संक्रमणका कारण कैयौं मानिसहरुले ज्यान गुमाउने अवस्था आउनेतर्फ सचेत गराएका छन् ।

    संगठनले लकडाउनका कारण भएको समस्या कम गर्न विश्वभरका सरकारहरुसँग काम गरिरहेको समेत उनले जनाएका छन् ।

    ३१ डिसेम्बरमा चीनको वुहान शहरमा पहिलोपटक कोरोना संक्रमित भेटिएका थिए।

    हाल यो संक्रमणले महामारीको रुप लिइसकेको छ। विश्वभर भेटिएका १६,९९,६३१ जनामा संक्रमण पुष्टी भएको छ । यसबाट १ लाख २ हजार ७ सय ३४ जनाले ज्यान गुमाएका छन् ।

  • कोरोनाबाट बढी ज्यान जाने मुलुकमा अमेरिका दोस्रो

    कोरोनाबाट बढी ज्यान जाने मुलुकमा अमेरिका दोस्रो

    काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसको ज्यान गएको मुलुकमा अमेरिका दोस्रो स्थानमा आइसकेको छ ।

    कोरोना भाइरसबाट अमेरिकामा एकैदिन २ हजार ३७ जनाको मृत्यु भयो । यो सँगै अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ७ सय १९ पुगेको छ। अमेरिकाभन्दा माथि इटली छ ।

    इटलीमा १८ हजार ८ सय मानिसको ज्यान गएको छ । अर्थातः अब कोरोनाबाट विश्वमा सबैभन्दा ठूलो मानवीय क्षति अमरिकाले भोगिरहेको छ ।

    किनकी पछिल्ला दिनहरुमा यूरोपमा यसको संक्रमणको दर र मृत्युदर पनि निरन्तर घटिरहेको छ । तर, अमेरिकाले चालेका सबै कदम असफल भइरहेका छन् ।

    अमेरिकामा मात्र संक्रमितको संख्या ५ लाख २ हजार ८ सय ७६ रहेको छ । शुक्रबारसम्म न्युयोर्कमा सबैभन्दा धेरै संक्रमितको ज्यान गएको छ।

    त्यहाँ हालसम्म ७ हजार ८ सय ४४ जनाको मृत्यु भएको छ । यहा १ लाख ७२ हजार मानिसमा संक्रमण भएको छ ।

    न्युजर्सीमा १ हजार ९ सय ३२ जनाको मृत्यु भएको छ । विश्वभर कोरोना महामारीका कारण शनिबार बिहानसम्म १ लाख २ हजार ७ सय ३४ जनाको ज्यान गएको छ ।

    फ्रान्स र बेलायतमा पछिल्लो २४ घण्टामा झण्डै १, १ हजार जनाको मृत्यु भएको छ। फ्रान्समा अहिलेसम्म १३ हजार संक्रमितको जनाको ज्यान गएको छ ।

    बेलायतमा मृत्यु हुनेको संख्या ९ हजार पुगेको छ । स्पेन र इटलीमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्यामा कमी आएको छ ।

    स्पेनमा ६३४ र इटलीमा ५७० जनाको मृत्यु भएको छ । हालसम्म स्पेनमा मृत्यु हुनेको संख्या १६ हजार पुगेको छ।

    इटलीमा मृत्यु हुनेको संख्या १८ हजार ८ सय रहेको छ । विश्वभर संक्रमितको संख्या १७ लाख नजिक पुगेको छ । नेपालमा ९ जना संक्रमित छन् । एक जना निको भइसकेका छन् ।

  • १० एसएसपीको भयो डीआइजीमा बढुवा

    १० एसएसपीको भयो डीआइजीमा बढुवा

    काठमाडौं । शुक्रबार रातीसम्म बालुवाटारमा भएको छलफलपछि डीआइजी बढुवा प्रक्रिया टुंगो लागेको छ ।

    गृह मन्त्रायलले नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गर्न गरेको छ ।

    बढुवा गरिएका मध्ये चार जना ०४९ वैशाखमा एकै पटक प्रहरी सेवामा छिरेका हुन् । ६ जना भने ०४९ चैतमा प्रहरीमा भर्ना भएका अधिकृतहरु रहेको गृह मन्त्रालयल् जनाएको छ ।

    बढुवा सिफारिसको १ नम्बरमा घनश्याम अर्याल रहेका छन् । त्यसपछि प्रकाशजंग कार्की र वसन्तकुमार पन्तको नाम सिफारिस भएको छ ।

    इश्वरबाबु कार्की समेत बढुवाको सिफारिसमा परेका छन् ।

    शहकुल थापा, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसी पनि बढुवा सूचीमा रहेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

    डीआईजीको दरबन्दी घटेपछि लामो समयदेखि बढुवा प्रक्रिया रोकिएको थियो ।

    अन्ततः सरकारले प्रहरी अधिकृतहरुको बढुवा टुंगो लगाएको हो । अब प्राविधिकबाहेक २६ जना रहेको डीआईजीको दरबन्दी घटेर १४ कायम भएको छ ।

    प्रहरीमा ४ जना डीआईजी भने अहिले पनि कार्यरत छन् ।

  • लकडाउनका कारण संसारभर घट्यो पेट्रोलियम पदार्थ खपत, तेलको उत्पादन कटौती

    लकडाउनका कारण संसारभर घट्यो पेट्रोलियम पदार्थ खपत, तेलको उत्पादन कटौती

    मस्को । कोरोना भाइरसका कारण संसारभर हरेक जसो मुलुक लकडाउनमा छन् । जसले गर्दा आर्थिक गतिविधि र यातायात ठप्प प्राय भएका छन् । यसको असर पेट्रोलियम पदार्थको खपतमा देखिएको छ ।

    सोहीकारण पेट्रोलियम निर्यात गर्ने देश र यसमा संलग्न सहयोगी संगठन कोरोना भाइरस लकडाउनका कारण तेलको मागमा आएको गिरावटको प्रतिरोधमा उत्पादन कटौती गर्न सहमत भएका छन्।

    यो समूहले मे र जूनमा उत्पादन १० करोड ब्यारेल कटौती गर्ने सहमति गरेको छ।

    ओपेक प्लस तथा पेट्रोलियम निर्यात गर्ने देश र यसमा संलग्न सहयोगी संगठनहरुबिच बिहीबार भिडियो वार्ता भएको थियो। वार्ताले उक्त सहमति जुटाएको हो ।

    वार्ताका क्रममा रुस र साउदी अरेबीयाबिच सहमति देखिएपनि तेलको उत्पादनमा भने सहमति भएको छ । सोहीकारण एक दिनमा १० करोड ब्यारेल वा विश्वव्यापी आपूर्तिमा १० प्रतिशत कटौती गर्न सहमत भएका हुन् ।

  • नेपाल एयरलाइन्सका दुई वटै जहाज आकासमा

    नेपाल एयरलाइन्सका दुई वटै जहाज आकासमा

    काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमका दुई वटै जहाज आज दुई गन्तब्यमा उडेका छन् ।

    निगमको एक जहाज जापानका करीव २ सय नागरिकलाई बोकेर नारितातर्फ उडेको छ । अर्को जहाज भने चीनको ग्वाङ्जाओ तर्फ उडेको हो ।

    चीनबाट यो जहाजले मेडिकल सामान ल्याउने छ । यहाबाट नेपाल एयरलाइन्सले निजी क्षेत्रका व्यवसायीको अर्डरमा सामान ल्याउँदैछ ।

    शुक्रबार साँझ ८ बजे निगमको जहाज जहाज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको हो ।

    यो जहाज जापानी नागरिकलाई गन्तव्यमा पुर्‍याएर शनिबार नेपाल फर्कने छ ।

    नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवासमेत थालेको थियो । तर, शुक्रबारको उडान भने र्चार्टड हो ।

    निगमको अर्को वाइड बडी जहाज साँझ ६ बजे चीनको ग्वाङ्जाओका लागि उडेको हो । शुक्रबार त्रिभुवन विमानस्थलमा कूल ४ वटा विशेष उडान भए ।

    बेलायतको टाइटन एयरवेजले २४२ ब्रिटिश नागरिक लिएर गन्तव्यतर्फ उडेको छ । कोरियन एयरले पनि शुक्रबार कोरियाली नागरिक बोकेर काठमाडौंबाट उडान भरेको छ ।

  • कोरोना संक्रमणबारे ओली-मोदी टेलिफोनवार्ता

    कोरोना संक्रमणबारे ओली-मोदी टेलिफोनवार्ता

    काठमाडौं । कोरोना संक्रमण र यसले निम्त्याएको आर्थिक तथा सामाजिक समस्याबारे नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्ता भएको हो ।

    नेपाल र भारतबीच लकडाउनका कारण एकअर्काका देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।

    ‘आज मैले भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग टेलिफोन संवाद गरें । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

    आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्ने विषयमा समेत दुई मुलुकका प्रधानमन्त्रीबीच छलफल भएको छ ।

    भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि समेत प्रधानमन्त्रले मोदीलाई धन्यवाद दिएका छन् ।

    प्रधानमन्त्री ओलीले कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउन आफूहरु सहमत भएको बताएका छन् ।

    पछिल्ला दिनमा प्रधानमन्त्री ओलीले कोरोनाबाट प्रभावित मुलुकका समकक्षीसँग टेलिफोन वार्ता गरी त्यहाँ रहेका नेपालीको अवस्थाबारे चासो लिइरहेका छन् ।

  • चिकित्सक र सुरक्षाकर्मीको तलव नकाटिने

    चिकित्सक र सुरक्षाकर्मीको तलव नकाटिने

    काठमाडौं । सरकारले चिकित्सक र सुरक्षाकर्मीको तलव सुविधा नकाट्ने स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार नियमित प्रेस ब्रिफिंगका दौरान यस्तो स्पष्टिकरण दिएको हो ।

    मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार कोरोना कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलव नकाटिएको बताए ।

    यता, प्रहरी प्रधान कार्यालयले भने यसअघि अधिकृत तहभन्दा माथिका कर्मचारीको तलव कटौती गरी कोरोना कोषमा राख्ने निर्णय गरेको थियो ।

    प्रवक्ता देवकोटाले उच्च मनोवलका साथ सेवामा खटिन समेत सबैमा आह्वान गरेका छन् । मन्त्रालयले सेवा बाहिर रहेका र अवकाश प्राप्त स्वास्थ्यकर्मीहरुलाई समेत स्वेच्छिक रुपमा यस अभियानमा आवद्ध हुन पनि आग्रह गरेको छ ।

    सरकारका विभिन्न निकायबाट आफ्नो कार्यालयका कर्मचारीको तर्फबाट तलव योगदान भइरहेको छ । कोरोना कोषमा सरकारी निकायबाटै ठूलो सहयोग आएको छ । निजी क्षेत्र भने संकटको बेला पनि मौनजस्तै रहेको छ ।

  • लगातार छैटौं दिन पनि नेपालमा भेटिएनन् थप संक्रमित

    लगातार छैटौं दिन पनि नेपालमा भेटिएनन् थप संक्रमित

    काठमाडौं । नेपालमा लगातार छैटौं दिनसम्म पनि कोरोना भाइरसका थप संक्रमित फेला परेनन् । यसअघि अघिल्लो साता शनिबार एकैपटक तीन जनामा संक्रमण पुष्टी भएको थियो ।

    तर, त्यसपछिको परिक्षणमा भने कोरोना देखिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक सातायता कोरोनाको परिक्षण तिब्र बनाइएको छ ।

    अघिल्लो सताको तुलनामा दोब्बर भन्दा बढीमा परिक्षण भएको छ । आफूलाई कारोनाको आंकका गरी अस्पतालसम्म धाउने बिरामी, संक्रमण देखिएका बिरामीका आफन्त, उनीहरुले संगत गरेका व्यक्तिलगायतमा अहिले परिक्षण भइरहेको छ ।

    मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण रिपोर्ट आएका कूल ६ सय ३० जनामा नेगेटिभ देखिएको छ ।

    यस अवधिमा उपत्यका ४ सय १ र बाहिर २ सय २९ वटा परीक्षण भएका छन् । यो पछिल्ला दिनहरुमा भएको सबैभन्दा धेरै परिक्षण हो ।

    उनका अनुसार नेपालमा अहिलेसम्म ३ हजार ५ सय २४ जनाको कोरोना परीक्षण भएको छ । अझै ८ सय भन्दा बढी नमुना परीक्षणको क्रममा छन् ।

    नतिजाबाट ९ जनामा पोजेटिभ देखिएको छ । बिहीबारबाट र्‍यापिड डाइग्नोष्टिक परीक्षण सुरु गरिएको हो ।

    सातवटै प्रदेशमा ५ हजारका दरले वितरण गरिएको परिक्षण किटको जिल्लाबाट रिपोर्ट समेत आउन सुरु गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

    चार जनामा कोरोना संक्रमण देखिएको कैलालीमा बिहीबारयता ३ सय ३९ जनामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

    यसैगरी कञ्चनपुरमा ३ सय ७६, कपिलवस्तुमा २१ र बाग्लुङमा १९ जनाको परीक्षण गरिएको छ । उनीहरु सबैको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

    उपत्यकाबाहिर १० स्थानबाट कोरोना परीक्षण भइरहेको छ ।

    कोशी अस्पतालमा शुक्रबारबाट मेसिन जडान भएसँगै उपत्यका सहित देशभरी १० स्थानबाट परीक्षण थालिएको हो ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको टोलीले डडेल्धुरा, बैतडी तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ७ सय बढी नमुना परीक्षणका लागि संकलन गरी पठाएको छ ।

  • भारतमा बढ्दो संक्रमण, नेपालमा जोखिम

    भारतमा बढ्दो संक्रमण, नेपालमा जोखिम

    काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण र मानवीय क्षति निरन्तर बढिरहेको छ ।

    बिहीबार सम्मको तथ्यांक अनुसार कोभिड–१९ बाट भारतमा २ सय २७ जनाको ज्यान गइसकेको छ ।

    भारतमा यस भाइरसबाट संक्रमित मानिसको संख्या ६ हजार ७ सय २५ रहेको छ । भारतमा पछिल्लो समय संक्रमित बढ्ने क्रम तिब्र रहेको छ ।

    २१ दिनको लकडाउन घोषणा गरेको भारतमा लकडाउन कार्यान्वयनमा चूनौति थपिएको छ । किनकी यहाँ बहुसंख्यक मानिस अति गरिबीको चपेटामा छन् ।

    निम्न वर्गिय परिवारले हरेक दिन काम गरेर पेट पाल्नु पर्ने समस्या रहेको छ । भारतमा महाराष्ट्र सबैभन्दा प्रभावित राष्ट्र हो ।

    महाराष्ट्रमा अहिलेसम्म १ हजार ३ सय ६४ संक्रमित पुष्टी भइसकेको छ । यहाँ ९८ जनाको मृत्यु भएको छ ।

    तामिलनाडुमा अहिलेसम्म ८ सय २४ जना मानिसमा संक्रमण भएको छ । यहाँ ८ जनाको ज्यान गएको छ ।

    दिल्ली र तेलंगानामा भाइरसबाट मृत्यु हुनेको संख्या १२ रहेको छ । दिल्लीमा ७ सय २० संक्रमित फेला परेका छन् ।

    तेलंगानामा संक्रमितको संख्या ४ सय ७१ रहेको छ । मध्यप्रदेशमा संक्रमितको संख्या ४ सय ११ छ । यहाँ मृत्यु हुने मानिसको संख्या ३३ पुगिसकेको छ ।

    अहिलेसम्म भारतमा ६ सय २० संक्रमित निको भएर घर फर्किएका छन् ।

    भारतमा संक्रमण फैलिरहँदा त्यसले नेपालमा भने जोखिम बढाएको छ । किनकी नेपालको दक्षिणी भेगमा खुला सिमाना रहेको छ ।

    बोर्डरहरु सिल गरिएको भए पनि मानिसहरु अनाधिकृत रुपमा छिर्न सक्ने सम्भावना भने रहेको छ ।

    सोहीकारण नेपालको केन्द्र सरकारले सशस्त्र प्रहरी बलको तैनाथी सीमा क्षेत्रमा बढाइदिएको छ ।

  • ओमानका सबै नेपाली सुरक्षित

    ओमानका सबै नेपाली सुरक्षित

    मस्कट । कोभिड १९ संसारका सबैजसो मुलुकमा फैलिएको छ । यसले सबै देशका नागरिकलाई समस्यामा पारेको छ । त्यसमा पनि संकटका बेला आप्रबासी नागरिक तथा कामदार बढी समस्यामा पर्छन् ।

    किनकी स्वाभाविक रुपमा मुलुकहरुको प्राथमिकता आफ्ना देशका नागरिकको सुरक्षा प्रमुख हुन्छ । कोभिड–१९ बाट ओमानमा रहेका नेपाली भने सुरक्षित रहेको पाइएको छ ।

    मस्कटस्थित नेपाली दूतावासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण नभेटएको भन्दै खुसीको खबर सार्वजनिक गरेको छ ।

    ओमान ठूलो संख्यामा नेपाली कामदार रहेको मुलुक मध्ये एक हो । कोरोना भाइरसबाट ओमानमा ४५७ जना सङ्क्रमित छन् ।

    दुई जनाको मृत्यु भइसकेको छ । ७१ जना निको भएका छन । कोरोनाबाट संसारका अन्य मुलुकमा भने ९ जना नेपालीको ज्यान गइसकेको ।

    विभिन्न मुलुकमा १ सय भन्दा बढी नेपालीमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

    ओमानले चैत २८ देखि आगामी वैशाख १२ गतेसम्म लकडाउनको घोषणा गरेको छ । यस समयमा अत्यावश्यकबाहेक कुनै पनि काममा घर बाहिर ननिस्कन दुतावासले सबै नेपालीमा आग्रह गरेको छ।

    ओमानमा रहेका तथा बिदामा नेपाल आएका नेपालीको भिसाको म्याद समाप्त भए अनलाइनबाट भिसा थप गर्ने व्यवस्था मिलाएको दूतावासले उल्लेख गरेको छ ।

  • कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक

    कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक

    काठमाडौं । कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या अब १ लाख हाराहारी पुगेको छ । बिहीबार सम्मको तथ्यांका अनुसार संसारभर कोरोना भाइरसले ९५ हजार ५ सय ६ जनाको ज्यान लिइसकेको छ ।

    यो भाइरसले सबैभन्दा बढी इटलीमा मानवीय क्षति भएको छ । यहाँ अहिलेसम्म १८ हजार दुई सय ७९ जनाको मृत्यु भएको तथ्यांक रहेको छ ।

    धेरै मानिस मर्ने मुलुकको सूचिको दोस्रो स्थानमा अमेरिका रहेको छ । १६ हजार ५ सय १३ जनाको ज्यान गएको छ ।

    स्पेनमा १५ हजार ४ सय ४७ जनाको ज्यान गएको तथ्यांक छ । फ्रान्समा १२ हजार दुई सय २८ जनाले ज्यान गुमाउनु परेको छ ।

    चीनबाट शुरु भएको यो भाइरसले यूरोप र अमेरिकामा ठूलो मानवीय क्षति भएको हो । तुलनात्मक रुपमा गरिब मुलुकभन्दा धनी मुलुक यस भाइरसको चपेटामा आएका छन् ।

    संसारभर कोरोना भाइरसबाट १५ लाख ९६ हजार मानिस संक्रमित भएका छन् ।

    अमेरिकामा सबैभन्दा बढी ४ लाख ५२ हजार संक्रमित भइसकेका छन् । स्पेनमा १ लाख ५३ हजार मानिसमा सक्रमण भएको छ ।

    इटालीमा १ लाख ४३ हजार मानिसलाई यसको संक्रमण पुष्टी भएको छ । विश्वभर ३ लाख ५४ हजार संक्रमित भने निको भएका छन् ।

    निको हुनेहरु धेरैजसो चीनमा छन् । चीनमा ७७ हजारभन्दा बढी संक्रमित निको भएका छन् । स्पेनमा पनि ५२ हजारभन्दा धेरै संक्रमित निको भएका छन् ।

    जर्मनीमा निको हुने संक्रमितको संख्या ५२ हजार नाघेको छ । नेपालमा संक्रमितको ९ रहेको छ । त्यसमध्ये एक जना निको भइसकेका छन् ।

  • नेपाल-भारत सीमानामा बढाइयो प्रहरी बल

    नेपाल-भारत सीमानामा बढाइयो प्रहरी बल

    काठमाडौं । सरकारले नेपाल र भारतको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा दस्ता बढाएको छ । भारतमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएसँगै सरकारले नेपाल-भारत सीमानामा कडाई थालेको हो ।

    भारतसँग सिमाना जोडिएका जिल्लामा थप २२ सय ८० जना जनशक्ति थपिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रले जनशक्तिसँगै सीमा नाकामा चेकपोस्टको संख्या समेत बढाएको छ ।

    भारतीय सीमामा सशस्त्रका १ सय २० वटा चेकपोस्ट रहेका थिए । अहिले ८ सय ५ वटा अस्थायी चेकपोस्ट थपिएको छ ।

    काठमाडौंबाट थप जनशक्ति पठाएर सीमानामा खटाइएको छ । अहिले सीमानामा करिब साढे पाँच हजार सशस्त्र प्रहरी खटिएका छन्।

    उनीहरुको काम भारतबाट कुनै पनि व्यक्तिलाई नेपालतर्फ छिर्न नदिने हुने छ । किनकी भारतमा कोरोनाको संक्रमण बढ्दा अनाधिकृत रुपमा नेपाल आउन सक्ने जोखिम हुन्छ ।

    नेपाल र भारतमा खुला सीमाना रहेको छ । सरकारले काठमाडौंका तालिमकेन्द्र, बाहिनी र तालिम सकेर बसेको टोलीलाई सीमा सुरक्षामा खटाएको छ

  • भाइरस संक्रमण र बेरोजगारी चुलिँदै जाँदा ट्रम्पप्रति निराश अमेरिकीको संख्या बढ्दो

    भाइरस संक्रमण र बेरोजगारी चुलिँदै जाँदा ट्रम्पप्रति निराश अमेरिकीको संख्या बढ्दो

    न्यूयोर्क /

    कोरोना भाइरसबाट अमेरिकामा लाखौँ संक्रमित एवं हजारौँले ज्यान गुमाइसक्दा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प भने ट्विटरमा उत्सव मनाउँदै थिए । कारण थियो, भाइरस सम्बोधनका लागि उनले चालेका कदमप्रति जनताको समर्थन ।

    मार्च दोस्रो साता कोरोनाका कारण उत्पन्न परिस्थितीसँग जुध्न राष्ट्रिय संकटकालको घोषणा, सामाजीक दूरी कायम गर्ने एवं परिक्षणलाई तीब्रता दिने निर्णय र दिनहुँ ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्न थालेपछि जनताले उनको कामलाई सकारात्मक नम्बर दिएका थिए।यतिसम्म की समग्र कामको मूल्यांकन ऋणात्मक रहे पनि कोरोना भाइरसप्रति उनले चालेका कदमप्रति जनता सकारात्मक थिए।त्यसले ट्रम्पलाई उत्साहित मात्र बनाएन चर्चित टिभी सोहरुभन्दा पनि धेरैले आफ्नो पत्रकार सम्मेलन हेरेको भन्दै ट्विट नै गर्न भ्याए ।

    तर, उनको यो खुसीयाली लामो समय टिक्न नसक्ने देखिएको छ । एकातिर बेरोजगारको संख्यामा तीब्र बृद्धि एवं अर्कोतिर अमेरिका संसारमै सबैभन्दा धेरै संक्रमित भएको मुलुक मात्र होइन मृतकको संख्यामा पनि सबैलाई उछिन्ने लक्षण देखिएसँगै उनीप्रति निराश जनतम बढ्न थालेको हो ।

    ५० प्रतिशत नजिक पुगेको उनको ‘जब एप्रुभल (कामप्रति जनताको सन्तुष्टि)’ फेरि ४० प्रतिशत बिन्दुतर्फ ओर्लिन थालेको छ । पछिल्लो एक सातायता सार्वजनिक भएका कुन्निपियाक विश्वविद्यालय, रोयटर्स, सिएनएन लगायत सबैको सर्भेमा ट्रम्पप्रतिको जन समर्थन घट्दो देखिएको छ ।

    आफ्ना प्रतिबद्ध समर्थकको साथ कहिल्यै नगुमाए पनि ट्रम्पले निर्वाचित भएयता एक पटक पनि बहुमत जनताको भरोसा जित्न सकेका छैनन् । कोरोना भाइरस संक्रमण सुरु हुँदा उनको समर्थन केही बढ्ने संकेत देखिएको भए पनि एप्रुभल रेटिङ ५० प्रतिशत छुन नपाइ खस्किन थालेको हो । कोरोना भाइरस नियन्त्रणका लागि ह्वाइट हाउस टास्कफोर्समै रहेका बिज्ञ, डाक्टर एवं राज्यका गभर्नरहरुले चालेको कदमप्रति भने जनताले ठूलो भरोसा देखाएका छन् ।

    अप्रिल एक तारिखमा रियल क्लियर पोलिटिक्सको औषत आंकडामा उनको एप्रुभल रेटिङ ४७.४ प्रतिशतसम्म पुगेको थियो । अहिले त्यो ४५.२ प्रतिशतमा खस्कि सकेको छ । ट्रम्पले आफुलाई लगातार युद्धकालिन राष्ट्रपतिको रुपमा दावी गर्दै आएका छन् । ह्वाइट हाउसबाट हुने दैनिक ब्रिफिङमा आफ्नै प्रसंसा बढि गर्ने र विपक्षीहरुमाथि राजनीतिक आवेग साँध्ने क्रम बढेसँगै उनले आर्जेको केही समर्थन फेरि पुरानै बिन्दुतर्फ ओर्लिएको हो । जनस्वास्थ्य विज्ञहरुका साथमा उभिएर चिकित्सकीय रुपले पुष्टि नभएका औषधी समेत उनले दावी गर्दै आएका छन् । कति पटक उनकै सामुन्ने उनको अभिव्यक्ति कोरोना भाइरस टास्कफोर्स अधिकारीले सच्याउनु परेको छ ।

    पटक पटक अडान बिहिन र द्विविधायुक्त कुरा गरेपछि उनकै चरण चरणका अभिव्यक्ति समेटेर डेमेक्रेटहरुले देशब्यापी रुपमा टेलीभिजन विज्ञापन बजाइ रहेका छन् । डेमोक्रेटिक पार्टीबाट ट्रम्पका प्रत्यासी एवं पूर्व उपराष्ट्रपति जो बाइडेनले लगातार भाइरस संक्रमणमा ट्रम्पको दोष नभएपनि यसले अन्दाधुन्द विस्तारको मौका पाउनुमा ट्रम्पकै गैर जिम्मेवारीको मुख्य हात रहेको बताइ रहेका छन् । विहीबार सार्वजनिक मनमाउथ विश्वविद्यालयको सर्वेक्षण अनुसार मार्च यता ट्रम्पप्रति सकारात्मक अमेरिकीको संख्या चार प्रतिशत बिन्दुले घटेर ४२ प्रतिशतमा झरेको छ । ५० प्रतिशत उनीप्रति रुष्ट छन् ।

    अप्रिल ६ र ७ मा रोयटर्सले ९५९ जना अमेरिकी माझ गरेको सर्भेक्षण अनुसार ४२ प्रतिशतले ट्रम्पको काम समर्थन गरेका छन् भने ५५ प्रतिशतले असन्तुष्टि जनाएका छन् । यस्तै अप्रिल २ देखि ६ सम्म दुई हजार ७७ अमेरिकी मतदाता माझ कुन्निपियाक विश्वविद्यालयले गरेको सर्भेक्षणमा ४५ प्रतिशत अमेरिकीले ट्रम्पको कामलाई रुचाएका छन् भने ५१ प्रतिशतले उनलाई पास मार्क्स दिन मानेका छैनन् ।

  • शनिबार यता नेपालमा थपिएनन् कोरोना संक्रमित, सुदुरपश्चिमबाट आउन थाल्यो रिपोर्ट

    शनिबार यता नेपालमा थपिएनन् कोरोना संक्रमित, सुदुरपश्चिमबाट आउन थाल्यो रिपोर्ट

    काठमाडौं । शनिबार यता नेपालमा कोरोना संक्रमित फेला परेनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना अतिप्रभावित क्षेत्रबाट प्राप्त कूल ६६ वटा नतिजा परिक्षण भएको थियो ।

    तर, सबै परिक्षण नेगेटिभ आएको छ । सरकारले सातवटै प्रदेशमा र्‍यापिड डाइगोनिस्टिक किटबाट कोरोनाको परीक्षणको तयारी समेत गरेको छ ।

    लकडाउन गरिरहेको सरकारले परिक्षण समेत सँगै बढाउँदै कोरोना संक्रमणविरुद्ध लड्ने योजना बनाएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

    उनका अनुसार प्रत्येक प्रदेशमा ५ हजारको दरले किट पठाइ सकिएको छ । सरकारले यो किटबाट सुदूरपश्चिमको कैलालीमा परीक्षण गर्न सुरू गरेको छ ।

    किटले १५ मिनेटमै परीक्षणको नतिजा दिने बताएको छ । यसरी संकलन भएको किटको गुणस्तर जाँच्न कैलाली र कञ्चनपुरबाट २ सय नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको छ।

    त्यसमध्ये ६६ नमुना परिक्षण गरिएको हो । नेपालमा करीव २४ सय परिक्षण भइसकेको छ । जसमा ९ जनामा मात्र कोरोनाको संक्रमण देखिएको छ ।

    त्यसमा पनि १ जना निको भइसकेका छन् । कोरोना पोजेटिभ बिरामीको समेत कोरोनाको लक्षण नदेखिएको र स्वस्थ रहेको बताइएको छ ।

  • अवकास प्राप्त चिकित्सकलाई पनि सेवामा खटाउने तयारी

    अवकास प्राप्त चिकित्सकलाई पनि सेवामा खटाउने तयारी

    काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त चिकित्सकलाई समेत सेवामा खटाउने भएको छ ।

    यसबाहेक सरकारी छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालनको योजना बनाएको छ ।

    सरकारले पारिश्रमिक लिएर वा स्वयंसेवी रुपमा केही अवधिका लागि उनीहरुको सेवा लिने तयारी गरिएको हो । यसका लागि सार्वजनिक आह्वान गर्न लागिएको  छ ।

    सरकारले निजी स्वास्थ्य संस्थाका चिकित्सकलाई पनि सरकारी सेवामा आउन चाहेमा कार्यरत पदमै मिलान गरी ल्याउने निर्णय गरिसकेको छ ।

    यसका लागि निजीका डाक्टरले पनि सरकारी डाक्टरसरह सुविधा पाउने भएका छन् । यस्ता जनशक्ति कम्तीमा तीन महिनाका लागि खटाइने भएको छ ।

    अवकाश प्राप्तलाई सेवामा लिँदा उमेरको कुनै हद नहुने र अनुभवी तथा पाका चिकित्सकलाई अझ बढी सुविधा र सम्मान आवश्यक परे राष्ट्रलाई आवश्यक परेका बेला उनीहरुको दक्षता उपयोग गर्ने तयारीमा सरकार रहेको हो ।

    नेपालको राष्ट्रिय समाचार संस्था रासससँग कुरा गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यस्तो जानकारी दिए ।

    मन्त्री ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न स्वास्थ्यकर्मीको अभाव हुन नदिन सबै उपाय अवलम्बन गरिएको समेत बताएका छन् ।

    अहिलेकै स्वास्थ्य क्षेत्रमा भएकै जनशक्तिको पनि उचित परिचालन नभएको र स्वास्थ्य सुरक्षा सामग्रीको अभावमा लकडाउनको सुरुका अवधिमा सीमित सङ्ख्यामा भएको परीक्षणलाई प्रदेश र जिल्लास्तरमा विस्तार गरिएको उनले बताएका छन् ।

    अहिले काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र काठमाडौ‌ं बाहिरका १० स्थानमा कोरोनाको भाइरसको परीक्षण भइरहेको छ ।

  • कांग्रेसका १० नेताको सुझाव, सांसद विकास कोषको रकम कोरोना रोकथाममा लगाउ

    कांग्रेसका १० नेताको सुझाव, सांसद विकास कोषको रकम कोरोना रोकथाममा लगाउ

    काठमाडौं । नेपाली कांग्रेसका १० नेताले सांसद विकास कोष र पूर्वपदाधिकारीको सुविधा कटौती गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लगाउन सुझाव दिएका छन् ।

    उनीहरुले बिहीबार एक विज्ञप्ति जारी गरी यस्तो सुझाव दिएका हुन् । अहिले सरकारले खर्च कटौती गरी रकमको जोहो गर्न खोजिरहेको छ ।

    संकटको समयमा खर्च कटौतीका लागि सांसद विकास कोषको रकम उपयुक्त हुने उनीहरुको सुझाव रहेको छ ।

    कोरोना रोकथाम तथा नियन्त्रणमा पूर्व पदाधिकारीले पाउने सुविधा र सुरक्षा कटौती गरेर जनताको हितमा लगाउन समेत उनीहरुले माग गरेका छन् ।

    संघीय सरकारले प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत प्रतिसांसद ६ करोड रुपैयाँ विनियोजन गर्ने गरेको छ ।

    कांग्रेस नेताहरुले सुरक्षाकर्मीको तलब समेत नकाट्न सुझाव दिएका छन् ।

    नेताहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले विज्ञप्ति जारी गरेका हुन् ।

    सरकारले कोरोनाको संक्रमण पत्ता लगाउन परिक्षणको दायरा बढाउनु पर्ने उनीहरुको सुझाव रहेको छ ।

    उनीहरुले कोरोना भाइरसबाट संक्रमित ब्यक्तिको पहिचानका लागि आबश्यक पर्ने परीक्षणका लागि चाहिने परीक्षण किट, पिपिइ लगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको बन्दोबस्त गर्न पनि सरकारसँग माग गरेका छन् ।

    नेताहरुले बिदेशबाट नेपाल आउन चाहने नेपालीलाई सहजै आउन दिने ब्यवस्थाको माग गरेका छन् ।

  • सरकारको आलोकाँचो निर्णयले जनता अन्यौलमा, यातायात खुलाउने निर्णय डेढ घण्टामै फिर्ता

    सरकारको आलोकाँचो निर्णयले जनता अन्यौलमा, यातायात खुलाउने निर्णय डेढ घण्टामै फिर्ता

    काठमाडौं । बिहीबार अपरान्ह सरकारले एक निर्णय गर्यो । निर्णय अनुसार काठमाडौंबाट उपत्यका छाड्ने चाहनेका लागि शुक्रबार र शनिबार सार्वजनिक यातायात खुला गर्ने ।

    काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णय कोभिड १९ सम्बन्धी उच्चस्तरीय संयन्त्रबाट भयो ।

    तर, यो निर्णय करीव डेढ घण्टा मात्र टिक्यो । सरकारको यो निर्णयलाई प्रदेश सरकारहरुले विरोध गरे ।

    यातायात व्यवसायीले पनि सरकारको यस निर्णयमा साथ नदिने बताए । त्यसपछि संघीय सरकार आफ्नो निर्णयबाट फिर्ता भयो । त्यति सम्म त ठिकै छ ।

    निर्णय फिर्ता भएसँगै उपप्रधानमन्त्री इश्वर पोखरेलको नाममा एक विज्ञप्ती सार्वजनिक गरियो ।

    जहाँ संचारमाध्यमले हुँदै नभएको निर्णयलाई अफवाह फिजाएको उल्लेख छ । तर, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सामाजिक संजालबाट यथार्थ सार्वजनिक गरेको छ ।

    जसअनुसार सरकारले यातायात खुलाउने निर्णय गरेको थियो । तर, प्रदेश सरकारहरुको विरोध पछि निर्णय फिर्ता लिइएको अपडेट गरिएको छ ।

    तर, इश्वर पोखरेलले निर्णय गरेर पनि होइन भन्दै गरेको प्रचारको भने आलोचना भइरहेको छ ।

    कोरोना भाइरस (कोभिड १९) को सक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लकडाउन गरेको छ ।

    लकडाउन वैशाख ३ सम्म लम्बिएपछि मानिसहरु हिँडेर समेत घर जान थालेका थिए । सोहीकारण संघीय सरकारले दुई दिन यातायात खुलाउने तयारी गरेको थियो ।

  • बहराइनमा नेपालीमाथि बढ्दो संक्रमण, २२ जनामा पुग्यो कोरोना संक्रमण

    बहराइनमा नेपालीमाथि बढ्दो संक्रमण, २२ जनामा पुग्यो कोरोना संक्रमण

    मनामा । बहराइनमा रहेक नेपालीमाथि कोरोनाको संक्रमण बढेको छ । यस मुलुकमा मात्र कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको हो ।

    बुधबार थप १० जनामा संक्रमण पुष्टि भएको मनामास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

    यसअघि सल्माबादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत चार सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

    सोही क्याम्पबाट १० जना नेपालीमा समेत कोरोना संक्रमण पुष्टि भएको दूतावासले उल्लेख गरेको छ ।

    दूतावासका अनुसार बुधबार दिउँसो दुई बजेसम्म बहराइनमा ५२ हजार ३ सय ५१ जनामा कोरोना संक्रमणको परिक्षण गरिएको थियो ।

    जसमध्ये २२ जना नेपालीमा पुष्टी भएको छ । बहराइनमा कूल संक्रमितको संख्या ३ सय ४९ रहेको छ । यहाँ अहिलेसम्म ५ जनाको ज्यान गएको छ ।

    संक्रमितमध्ये तीन जनाको अवस्था गम्भीर रहेको दुतावासले उल्लेख गरेको छ । ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

    बहराइनले अवैधानिक रुपमा विना कागजात कार्यरत कामदारहरुका लागि वैधानिक हुन वा बहराइन छाड्न ३१ डिसेम्बर २०२० सम्मको समय समेत दिएको छ । यहा ठूलो संख्यामा नेपाली कामदार रहेका छन् ।

  • कोरोना संक्रमित १५ लाख नाघे, अमेरिकामा एकै दिन १९ सयको मृत्यु

    कोरोना संक्रमित १५ लाख नाघे, अमेरिकामा एकै दिन १९ सयको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको इपिसेन्टर अमेरिकामा यस भाइरसको कहर जारी रहेको छ ।

    विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणकै कारण १९ सय मानिसले ज्यान गएको छ ।

    २४ घण्टामा अमेरिकामा १८ सय ९७ मानिसको ज्यान गएको बताइएको छ । यहाँ एक दिनमै थप २९ हजार ९ सय ३६ नयाँ संक्रमित फेला परेका छन् ।

    अब अमेरिकामा कूल संक्रमितको संख्या ४ लाख ३० हजार पुगेको छ। अमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ३८ रहेको तथ्यांक छ ।

    अमेरिका पछि स्पेनमा मृतकको संख्या बढेको छ। पछिल्लो समय इटलीमा भने मृत्युदर घटेको छ । चीनले भने कोरोनाबाट मुक्त भई मूख्य प्रभावित शहर वुहान नै लकडाउनबाट खुला गरेको छ ।

    स्पेनमा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ९२ पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा ७ सय ४७ जनाको मृत्यु भएको छ ।

    यस मुलुकमा संक्रमितको संख्या १ लाख ४८ हजार रहेको छ । इटालीमा १ लाख ३९ हजार ४ सय २२ मा कोरोना संक्रमण भएको छ ।

    इटालीमा सर्वाधिक १७ हजार ६ सय ६९ ले ज्यान गुमाइसकेका छन्। २६ हजार ४ सय ९१ जना उपचारपछि निको भई घर फर्किएको इटलीले जनाएको छ ।

    फ्रान्समा पनि कोरोना संक्रमितको संख्या १ लाख १३ हजार ९ सय ५९ पुगेको छ । १० हजार ८ सय ६९ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्।

    देश जर्मनीमा पनि संक्रमितको संख्या १ लाख १३ हजार २ सय ९६ जना पुगेको छ । यहाँ २ हजार सय ४९ जनाको ज्यान गइसकेको छ ।

    विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ४ सय ५ पुगेको छ।

    बिहीबार बिहानसम्मको तथ्यांक अनुसार १५ लाख १३ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    त्यस्तै, ३ लाख २९ हजार ७ सय ३१ जना उपचारपछि निको भएका छन् । नेपालमा कूल ९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १ जना निको भएर घर फर्किएका छन् ।

  • विश्व स्वास्थ्य संगठनको ट्रम्पलाई जवाफ, महामारीलाई राजनीतिकरण नगर

    विश्व स्वास्थ्य संगठनको ट्रम्पलाई जवाफ, महामारीलाई राजनीतिकरण नगर

    काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) को महामारीका विषयर्ला लिएर राजनीतिकरण नगर्न विश्वका नेताहरुसँग आह्वान गरेको छ ।

    बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले नियमित पत्रकार सम्मेलनका दौरान यस्तो आग्रह गरेका हुन ।

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संगठन चीनको मात्र समर्थनमा रहेको र अमेरिकालाई गलत सुझाव दिएको आरोप लगाएका थिए ।

    घेब्रेससले महामारीमा कुशल नेतृत्व लिन चीन र अमेरिकासँग आग्रहसमेत गरे ।

    उनले यो महामारीलाई राजनीतिकरण गरे अझै धेरै मानिसको ज्यान जाने चेतावनी समेत दिए ।

    डब्ल्यूएचओले विश्वभरका सबै दलहरुले आफ्नो ध्यान नागरिकहरुलाई बचाउनमा केन्द्रित गर्नुपर्ने उल्लेख गरे । उनले धेरै मानिसलाई मृत्युबाट बचाउने हो भने यो विषयमा राजनीति गर्न नहुने सुझाव दिए ।

    जनवरीको मध्यमा डब्ल्यूएचओले कोरोना भाइरसबारे विश्व समुदायलाई सचेत गराएको थियो ।

    जनवरी ३० मा डब्ल्यूएचओले यस विषयलाई लिएर स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

    जतिबेला यो भाइरस १८ मुलुकमा फैलिएको थियो र संक्रमितको संख्या पनि केवल आठ हजार दुई सय मात्र थियो ।

    अहिले यो भाइरसका संक्रमितको संख्या १५ लाख नाघिसकेको छ भने ८८ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

  • अवैतनिक वाणिज्यदूतको कूटनीतिक सुविधा खोसियो

    अवैतनिक वाणिज्यदूतको कूटनीतिक सुविधा खोसियो

    काठमाडौं । अवैतनिक वाणिज्यदूतले कुटनीतिक सुविधाअन्तर्गत सवारीमा नीलो नम्बर प्लेट लगाउन पाउने सुविधा खोसिएको छ ।

    यसअघि सुलभ अग्रवालले कालोबजारीको काममा कुटनीतिक सुविधाको सवारी साधन प्रयोग गरेका थिए । उनी पक्राउ परेका छन् ।

    यस काण्डपछि परराष्ट्र मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो । मन्त्रालयका अनुसार कुनै पनि अवैतनिक वाणिज्यदूतहरुले आफ्नो सवारीमा निलो नम्बर प्लेट र अफिसियल झण्डा प्रयोग गर्न पाउने छैनन् ।

    सरकारले अर्को सूचना नआउँदासम्मका लागि ती सुविधा खोस्ने निर्णण गरेको हो ।

    ब्यापारी शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक वाणिज्य दूत हुन् । चीनमा निर्मित थर्मल गनको कालोबजारी गरेको आरोपमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

  • न्यूयोर्कबाट देखेको कोरोना र अमेरिका

    न्यूयोर्कबाट देखेको कोरोना र अमेरिका

    योगेश आदी, न्यूयोर्क

    अहिलेलाई संयोग मात्रै ठानौं कि अमेरिकाको सबैभन्दा कोरोना प्रभावित राज्य न्यूयोर्क सहरको एउटा बस्ती – जसको नाम पनि “कोरोना” हो, जुन हाल कोरोना भाइरसको एपिसेण्टर बनेको छ । जहाँ म परिवारका साथ बस्दछु । यही ठाउँबाट म, मेरो कोरोना अनुभव लेख्दैछु । मेरो अनुमान गलत होस् तर सत्य साबित के हुनेवाला छ भने; अबको १ हप्तामा अमेरिकाले मृतकको संख्यामा पनि अन्य देशलाई जित्नेछ । न्यूयोर्क राज्य एक्लैले १० हजार लासको जिम्मा लिनेछ । यदि मैले भनेको जति मात्र क्षति १ हप्तामा हुने हो भने अमेरिकाले कोरोनालाई जितेको हुनेछ । कारण म चौंथौं प्याराग्राफमा बताउँछु ।

    ११ वर्षे अमेरिकी जीवनमा मैले अमेरिकालाई धेरथोर बुझें । ग्रेट पाएँ । अपबाद बाहेक अधिकांस युरोपियन, कनेडियन, जापानिज र अष्ट्रेलियनले पनि अमेरिकाको कागजात पाउने हो भने भोली बसाई सर्ने सयौंसँगको कुराकानीबाट थाहा पाएँ । जुन किन भनिएको रहेछ ? भन्ने आज यो कोरोना संकटको बेला टड्कारो भयो । यो म तेश्रो प्याराग्राफमा लेख्नेछु । त्यो भन्दा अगाडि केही मेरो कुरा; यो अवस्थामा मेरो चुनौति भनेको ६४ वर्षकी डायलासिस गर्नै पर्ने आमा र ६७ वर्षका औषधिप्रेमी बुवालाई जोगाउनु भएकोले थप चिन्ता बोकेर बस्तुस्थिति बुझ्दै, जानेको सावधानी अपनाएर घरको वातावरण सामान्य बनाउने कोशिस गरिनै रहें । मलाई ज्वरो आयो ।कसैलाई भनिन । दिनको ३/३ पटक औषधि लिएँ । घाँटी दुखेर गालामा ४ दिन टेप लगाएँ । सामान्य हो भनेर टार्दिएँ । साथीभाईसँगको भिडियो कल र लाइभमा रमाउन छाडिन किनकि बलियो मानसिकता आधा औषधि हो भनेर मेरी आमाले प्रमाणीत गरिसकेको दृष्टान्त सामुन्ने छ । अहिले ४ दिनदेखि श्रीमतीले औषधि खाइरहेकी छिन् । उनलाई भुलाउन म्यारिज खेल्न सिकाएँ, खेलाएँ, पोख्त बनाएँ ।उनको रुची मनन गर्दै तासले नै निको पार्दिएँ । यो सबै लेख्नुको तात्पर्य के हो भने परिवारलाई जीवन्त राख्न आफू जीवन्त बनेर देखाउनुपर्ने रहेछ । सामाजिक सहभागिता र परिवारको महत्व यो कालखण्डले बेस्सरी सिकायो ।

    अमेरिकाभन्दा राम्रो सामाजिक सुरक्षा र स्वास्थ्य सुविधा अन्य देशमा भएता पनि अमेरिका सबैको आकर्षण बन्नुको मुख्य कारण स्वतन्त्रता रहेछ । संसारमै सस्तो खाना र सर्वसुलव स्कुलपद्दति त छँदैछ । कोरोनालाई संकटकाल घोषणा गरेर अधिकाँश देशले लकडाउन गरे । अमेरिकाले गरेन । मैले पनि गरोस् भन्ने चाँहे तर म पनि गलत रहेछु । अमेरिकाको आकार, जनसँख्या, सैन्य मोबिलिटी, गैंग, पुलिस प्रेजेन्स, अध्यागमन, हेल्थकेयर कम्युटिङ्को कारण अमेरिका चलि नै राख्नु पर्ने रहेछ । राज्यले आम्दानी रोके सुविधा दिन नसक्ने रहेछ । अमेरिकामा बस्ने कसैले पनि यो अवस्थामा खाने सामानको अभावमा भोकै बस्नु परेन किनकि सबै ठुला खाद्य पसल निर्वाध खुले । ट्रक डेलिभरी रोकिएन । कालो बजार भएन । घरैमै सामान पुर्याउने अनलाईन साइटहरु थप एक्टिभ बनें । उबर, लिफ्ट, एब्बुलेट्टे, कार सर्भिस सबै, सबैको संकट मोचनका साथी बनें । म हप्ताको ३ पटक आमालाई डायलासिस लैजान्छु । गाडी लिन आउँछ, समयमै घर पुर्याउँछ । ५ लाख मानिसले अमेरिका डायलासिस गर्दछन् । म एउटा प्रतिनिधि उदाहरण मात्र ठान्नुहोस्;  म र मेरो श्रीमती मेरो परिवारको केवल आम्दानीको श्रोत हो । हामीले फेब्रेवरीमा हवाई घुम्न गएदेखि राम्ररी काम गरेका छैनौं । मार्च ८ तारिखमा कोष्टारिका गएदेखि त बिल्कुलै कमाई छैन । तर पनि हामीलाई अफ्ठेरो छैन किनकि अमेरिकाले मलाई र मेरो श्रीमतीलाई गरी ६० हजार डलरको उधारो किन्न मिल्ने क्रेडिट् कार्ड दिएको छ । त्यो माथि अमेरिकामा खाना, गाडी, पेट्रोल अति नै सस्तो भएकोले हरेक परिवार हुनेको धेरथोर बचत हुन्छ नै । जुन क्रेडिट् कार्डलाई अहिले २ महिनासम्म थप शुल्क नलाग्ने बनाई दिएको छ । गाडिको किस्ता, बीमा रोक्दिएको छ । राज्य धनी भएपछि जनतालाई सजिलो हुँदो रहेछ । काम छुटेका सबैलाई बेरोजगार भत्ताको पैसा हप्तैपिच्छे आउने व्यवस्था मिलाएको छ । सबैभन्दा ठुलो कुरो त वार्षिक परिवारको कर दर्ता गर्नेलाई २४०० डलर उपहार, एकललाई १२०० डलर र १७ वर्षसम्मको बच्चा हुनेलाई प्रति बच्चा थप ५०० डलर दिने निर्णयमा तोक नै लागिसकेको छ । अहिले पो बुझ्दैछु किन अमेरिका आकर्षण रहेछ भनेर !

    अमेरिकालाई हार्न आउँदैन । डलरलाई चलनचल्तिमा चीन, रुस, जापान लगायतले विश्वव्यापार कारोवारमा स्वीकार गरेको दोश्रो विश्वयुद्ध पछि हो, अब उनीहरुलाई नाफा डलरमै गर्ने बानी परिसकेको छ । डलर चलुञ्जेल अमेरिका हार्दैन । राष्ट्रपतिलाई कोरोनाले ५० हजार प्लस मान्छे मार्ने थाहा भएर नै डाक्टरलाई पोडियमबाट लाखको प्रोजेक्सन गर्न दिएको हो । हामीले जानेको उनले नजानेको भ्रम पाल्न छाड्नुहोस् । एउटा खेलकुद भइरहेको स्टेडियममा १ लाख अडियन्सलाई अमेरिकाले अनुमति दिन्छ । त्यसको अर्थ त्यो स्टेडियम कुनै कारणले भत्किएर १ लाख मानिस मर्यो भनेपनि तिर्ने बीमा र क्षतिपूर्तिको लागि उ तयार रहेको हुन्छ । ९११ को घटनामा मर्नेको कुरा छाडौं, किलोमिटर पर पर्नेलाई समेत यो देशले अहिले १९ वर्षपछि पनि निशुल्क उपचार गर्दैछ । ३२ करोड जनसँख्या भएको अमेरिकामा त्यसै पनि हरेक दिन ७५०० हाराहारीमा मानिस मर्ने गर्दछन् । राज्य संयन्त्र कसरी चल्दा सन्तुलित रहन्छ भन्ने अमेरिकी प्रशासकलाई थाहा रहेछ । मान्छे मर्ने अवस्था पनि; कति मर्दासम्म सामान्य र कति मर्ने अवस्था आएमा असामान्य भन्ने यिनलाई भलेभाँती थाहा छ । अमेरिकाको आकारको प्रजातान्त्रिक देश भावनाले मात्र चल्दैन । अवस्थालाई व्यवस्थासँग सन्तुलित पारेर चल्नुपर्छ । मेरो लागि म र मेरो परिवार बाँचेर यो जंग छेड्नु ठुलो कुरा होला तर अमेरिकालाई अमेरिकै रहेर यो जंग जित्नु पनि छ । अमेरिकाले चाहेको थियो भने गत जेनेवरीमै अन्तराष्ट्रिय उडान रोक्न सक्थ्यो तर अमेरिकाले रोके संसार रोकिन्छ भन्ने पनि बुझेको छ ।

    मैले र मेरो पुस्ताले यो अवधिमा मृत्युलाई बिस्तारै मुसार्ने अवसर पाएकोले थप मानवीय सदभावको पाठ सिक्यौं । मृत्युको भय र बाँच्नुको चुनौतिमा जीवन कसरी अस्तित्वमा रहन सक्दो रहेछ, भन्ने पनि जान्यौं । कोरोना अब १५ दिनमा ठीकठिकै अवस्थामा आइपुग्दासम्म यसको हाउगुजी सन्त्रास कम भइसकेको हुनेछ । औषधिमुलोले एउटा लाइन समात्ने नै छ । बाँच्नुको लालसा बढाएकोमा धन्यबाद कोरोना ।

  • सिनेटर बर्नी स्यान्डर्स राष्ट्रपतिय होडबाट बाहिरिए, पूर्व उपराष्ट्रपति बाइडेन र ट्रम्पको प्रतिश्पर्धा निश्चित

    सिनेटर बर्नी स्यान्डर्स राष्ट्रपतिय होडबाट बाहिरिए, पूर्व उपराष्ट्रपति बाइडेन र ट्रम्पको प्रतिश्पर्धा निश्चित

    न्यूयोर्क

    सिनेटर बर्नी स्यान्डर्सले आफ्नो राष्ट्रपतिय होड अन्त्य गरेका छन् । बुधबार ट्विटर लाइभबाट आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै स्यान्डर्सले उम्मेद्वारी प्रकृयाबाट बाहिरिएको जनाएका हुन् ।

    पहिलो डेमोक्रेटिक ककस भएको आईवामा सर्वाधिक लोकप्रिय मत एवं न्यूह्यामसर प्राइमरी र नेभादा ककस जितेपछि स्यान्डर्स डेमोक्रेटिक पार्टीको सम्भावित उम्मेद्वारकै रुपमा उदाएका थिए । तर, साउथ क्यारोलिनामा पूर्व उपराष्ट्रपति जो बाइडेनको सानदार जित लगत्तै प्रतिश्पर्धी उम्मेद्वारहरु सिनेटर एमी क्लोबुचार र मेयर पिट बुट्टिजजले आ-आफ्नो क्याम्पेन स्थगित गर्दै बाइडेनलाई समर्थनको घोषणा गरे । त्यसको नतिजा स्वरुप मार्च ३ मा (पहिलो सुपर ट्युज्डे) प्राइमरी निर्वाचन भएका १४ मध्ये १० राज्य बाइडेनको पक्षमा गए ।

    त्यही बेला स्यान्डर्स पार्टीको टिकट हत्याउन आवश्यक पर्ने डेलिगेट्स गणनामा पछि परे । चार बर्ष अघि हिलारी क्लिन्टनसँगको प्राइमरी प्रतिश्पर्धामा सहज जित हात पारेका मासाचुसेट्स, मेन, वासिंटन, मिनिसोटा जस्ता राज्यमा स्यान्डर्स ठूलो मतान्तरले पराजित भए ।  सन् २०१६ मा चामत्कारिक जित हासिल गरेको मिसिगनमा पनि उनलाई बाइडेनले दोहोरो अंकको मतान्तरले हराए । अघिल्लो पटक उनले सहज जित हासिल गरेको विसकनसनमा पनि दोहोरो अंकले नि बाइडेन अगाडि रहेको आँकडा मत सर्भेक्षणहरुले देखाइ रहेका थिए । विसकनसनका मतदाताले कोरोना संक्रमणको त्रासबीच मंगलबार मतदान गरेका छन् । नजिता भने सोमबार सार्वजनिक हुनेछ ।

    तश्वीर: युएसए टुडे

    पछिल्लो समय स्यान्डर्स डेलिगेट्स गणनामा बाइडेनभन्दा ३०० सयले पछि थिए । पार्टीको टिकट हत्याउन आवश्यक पर्ने १९९१ जना डेलिगेट्स पुर्याउन प्राइमरी निर्वाचन हुन बाँकी सबै राज्यमा स्यान्डर्सले ६० प्रतिशत बढि मत ल्याउन आवश्यक हुन्थ्यो, जुन संभव थिएन । त्यही असम्भवलाई स्वीकार्दै उनले आफ्नो क्याम्पेन अन्त्यको घोषणा गरेका हुन् । समर्थकहरुलाई ट्विटर लाइभबाट गरिएको सम्बोधनमा उनले पूर्व उपराष्ट्रपति बाइडेनलाई बधाई दिँदै डोनाल्ड ट्रम्पलाई पराजित गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

    सन् २०१६ को प्राइमरीमा स्यान्डर्सले २३ राज्य एवं अमेरिकी टापुहरुको चुनाव जितेका थिए । उनी क्लिन्टन बिरुद्ध अन्तिमसम्म प्रतिश्पर्धा गरेका थिए । अहिले ३० राज्य एवं अमेरिकी टापुहरुमा प्राइमरी चुनाव सम्पन्न हुँदा स्यान्डर्सले नौ वटामा मात्र जित हासिल गरेका छन् भने बाँकी कुनै पनि जित्ने सम्भावना देखिएको छैन । त्यसमाथि कोरोना भाइरस संक्रमणका कारण प्राइमरी निर्वाचन प्रभावित भइ रहेको छ ।

    जुलाई दोस्रो सातालाई तय डेमोक्रिटक राष्ट्रिय सम्मेलन पनि भाइरसको कारण एक महिना पछि सारिएको छ । सम्मेलनले बाइडेनलाई पार्टीको तर्फबाट उम्मेद्वार मनोनयनको औपचारिकता पुरा गर्नेछ । बाइडेन पार्टीको उम्मेद्वार बन्ने बाटो तय भएसँगै उपराष्ट्रपतिको उम्मेद्वारको खोजीमा लागि सकेका छन् । उनले महिलालाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने घोषणा यसअघि नै गरि सकेका कारण सिनेटरहरु कमला ह्यारिस या एमी क्लोबुचारमध्ये एक जना उनको ‘रनिङमेट’ बन्ने अपेक्षा गरिएको छ ।

    डेमोक्रेटिक मतदाताहरु ट्रम्पको नेतृत्वप्रति अत्यधिक क्रुद्ध रहेका छन् । सोही कारण उनीहरु जसरी पनि ट्रम्पलाई ह्वाइटहाउसबाट हटाउन चाहन्छन् । त्यसका लागि आफ्नो राजनीतिक एजेन्डाभन्दा पनि नोभेम्बरमा जित्न सक्ने उम्मेद्वारलाई चयन गरेको बताउने डेमोक्रेटिक मतादाता लगातार बढि रहेका थिए । सर्वाधिक चन्दा संकलन एवं युवा पिँढीको बलियो साथ हुँदा पनि स्यान्डर्सले बाइडेनलाई हराउन नसक्नुको कारण त्यही हो । पार्टीको उम्मेद्वारी हासिल नगरे पनि स्यान्डर्सले मेडिकेयर फर अल, कामदारको न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर, बिद्यार्थीको अध्ययन कर्जा मिनाहा, धेरै नाफा कमाउने कम्पनी माथि कर बृद्धि जस्ता सुधारबादी एजेन्डामा डेमोक्रेटिक पार्टीलाई केहीहदसम्म भए पनि ढल्काउन सफल भएका छन् । र, उनी उम्मेद्वार नभए पनि यी मुद्दामा डेमोक्रेटिक पार्टी भित्र नयाँ चरणको बहस सुरु हुने निश्चित छ ।

  • कोरोनाका कारण विदेशमा ८ नेपालीको गयो ज्यान

    कोरोनाका कारण विदेशमा ८ नेपालीको गयो ज्यान

    काठमाडौं । तुलनात्मक रुपमा नेपाल भित्र कोरोनाको संक्रमण नियन्त्रण मै छ । संसारभर करीव ८० हजार मानिसको ज्यान जाँदा नेपाल भित्र मात्र ९ जनामा संक्रमण देखिएको छ ।

    संक्रमितको अवस्था पनि सामान्य छ । तर, नेपाल बाहिर संक्रमण भएका नेपालीलाई भने यस भाइरसले पनि नराम्रोसँग सताएको छ ।

    नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिका अनुसार विदेशमा अहिलेसम्म ८ जना नेपालीको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ ।

    अमेरिकामा पाँच, बेलायतमा दुई र संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्यान गएको संस्थाले जनाएको छ ।

    विदेशमा १ सय भन्दा बढी नेपाली यस भाइरसको संक्रमणमा परेका छन् ।

    नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा हालसम्म चार नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । बहराइन, पोर्चुगल, स्पेन, यूएईमा बढी नेपाली प्रभावित भएका छन् ।

  • वुहानमा खुल्यो लकडाउन, रेल र एयरलाइन्स सुचारु

    वुहानमा खुल्यो लकडाउन, रेल र एयरलाइन्स सुचारु

    वुहान । कोरोनाको उद्गमस्थल चीनको हुबेई प्रान्तको राजधानी वुहानमा लकडाउन खुलेको छ । यससँगै चीनबाट यो रोगको संक्रमण उन्मुलन भएको छ ।

    बुधबारदेखि यहाँ यातायात सेवा सूचारु भएको चिनियाँ संचारमाध्यमले उल्लेख गरेका छन् । यहाँ लगातार ७६ दिन लकडाउन भयो ।

    सरकारले यसबीचमा व्यापक स्वास्थ्य अभियान संचालन गरेको थियो । यो शहरले करीव ३ हजार मानिस गुमायो । तर, बुधबारबाट अवस्था सामान्य भएको छ ।

    बुधबार बिहानबाटै बुहानमा बस, रेल र विमान फेरि सञ्चालनमा आए । सेवा सूचारु भएसँगै यात्रु साविकझै यात्रा गरेका थिए ।

    विमान तथा रेल चल्ने भएपछि मंगलबार राति विमानस्थल तथा रेल्वे स्टेसनबाहिर मान्छेको लाइन लागेको थियो।

    संचारमाध्यमहरुका अनुसार बुधबारमात्रै २७६ वटा रेल बुहानबाट छुटेका छन् । ती रेल ग्वाङडोङ, सिचुवानलगायत प्रान्तका शहरमा गएका हुन् ।

    एकै दिन रेलमा ५५ हजार बढी यात्रुले यात्रा गरेका छन् । यहाँ तीव्र गतिको बुलेट ट्रेन जी ४३१ पनि बुधबारदेखि सञ्चालनमा आएको छ।

    उक्त बुलेट ट्रेन बिहान ७ बजे नानिङ शहरका लागि छुटेको थियो। बुहानको अन्तर्राष्ट्रिय विमानस्थलले पनि बुधबारबाट नै संचालनमा आयो ।

    यहाँ बुधबार करीव २ सय उडान अवतरण भएका छन् । एक महिना अगाडीसम्म निकै दर्दनाक रहेको बुहान अब भने सामान्य बनेको हो ।

  • प्रधानमन्त्रीलाई गगन थापाका प्रश्नै-प्रश्न

    प्रधानमन्त्रीलाई गगन थापाका प्रश्नै-प्रश्न

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेका करीव एक दर्जन प्रश्न सामाजिक संजालबाट सार्वजनिक गरेका छन् ।

    संसद स्थगित भएको अवस्थामा प्रधानमन्त्रीलाई सोध्नु पर्ने प्रश्नहरु आफुले सामाजिक संजालबाटै सोधेको उनको भनाई छ । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्रमा उनले कूल ११ प्रश्न सोधेका छन् ।

    प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए । प्रधानमन्त्रीकै सम्बोधनको सेरोफेरोमा रहेर सांसद थापाले बुधबार यी प्रश्न सार्वजनिक गरेका हुन् ।

    संसद स्थगित भएको अवस्थामा आफूले प्रधानमन्त्रीलाई पत्रबाट नै प्रश्न राख्नुपरेको उनको भनाई रहेको छ । उनले कोरोनाभाइरस संक्रमण जोखिमसँग जुध्न सरकारको तयारी फितलो रहेको प्रतिक्रिया समेत दिएका छन् ।

    परीक्षण किट गुणस्तरहीन भएको भन्दै उनले परीक्षणका लागि आवश्यक जनशक्ति, तालिम र सुरक्षाको तयारी के छ भनेर सोधेका छन् ।

    दार्चुलापारि धार्चुलास्थित भारतीय भूमिमा नेपाली असुरक्षित रहेको भन्दै थापाले उनीहरुलाई नेपाल ल्याएर अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने उल्लेख गरेका छन् ।

    प्रधानमन्त्रीले सम्बोधनका क्रममा के सोचेर जीवन या वैयक्तिक स्वतन्त्रतामध्ये एक रोज्न आग्रह गरेको हो भन्नेबारे पनि थापाले प्रश्न गरेका छन्।

    ‘के वैयक्तिक स्वतन्त्रताविनाको जीवन कल्पना गर्न सकिएला ?,’ थापाको प्रश्न रहेको छ ।

    थापाले विदेशमा रहेका नेपालीको अवस्थाबारे के भइरहेको छ भन्नेबारे पनि प्रश्न राखेका छ । कृषिको काममा भएका व्यवस्था, सुरक्षाकर्मीको सुरक्षाजस्ता विषयलाई समेत सांसद थापाले चासो दिएका छन् ।