Category: विज्ञान प्रविधि

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    २७ भदौ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । विभागका अनुसार आज देशभर साधारणतया बदली रहनेछ । आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागलगायत लुम्बिनी र सूदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भू–भागका थोेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र गण्डकी प्रदेशको पहाडी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र मधेस प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

  • देशभर मौसम बदली, अधिकांश स्थानमा वर्षा

    देशभर मौसम बदली, अधिकांश स्थानमा वर्षा

    २६ भदौ, काठमाडौं । देशभर आज साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी तराईका भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    मधेश प्रदेशलगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाड र मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका भु–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

  • त्रिभुवन विमानस्थल खुल्यो

    त्रिभुवन विमानस्थल खुल्यो

    २५ भदौ, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान पुनः सञ्चालनमा आएको छ । विषम परिस्थितिका कारण मङ्गलबारदेखि बन्द रहेको अन्तरराष्ट्रिय विमानस्थल तत्काल लागू हुनेगरी खुलाइएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलले सार्वजनिक सूचना जारी गर्दै विषम परिस्थितिका कारण मङ्गलबारबाट बन्द गरिएका हवाई उडानलाई आज बसेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा समितिको निर्णयानुसार पुनः सञ्चालन गर्ने निर्णय भएको जनाएको हो ।

    हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउन अनुरोध गरेको छ । साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनसमेत अनुरोध गरिएको छ । यसैबीच निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बिहीबार बिहानदेखि उडान सञ्चालन हुने जानकारी गराएको छ । यती एयरलाइन्सले समेत सोही आह्वान गरेको छ ।

  • यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो

    यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो

    २३ भदौ, काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास ९पूरै ढाकिने० चन्द्रग्रहण लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतबार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको थियो । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य, राति ०१ः४१ बजे ग्रहण सकिएको थियो ।
    समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिएको जानकारी दिए ।

    नेपालमा पूर्व र आग्नेयका बीचबाट चन्द्रग्रहणले १०ः११ बजे स्पर्श गरेको र नैऋत्य र पश्चिमबाट राति ०१ः४१ बजे अन्त्य भएको पनि उनले बताए । पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो । यो ग्रहण नेपालबाट देखिने विसं २०८२ को पहिलो ग्रहण हो । यसैवर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

  • भीपीएनसँग समेत किन तर्सिएको छ सरकार ?

    भीपीएनसँग समेत किन तर्सिएको छ सरकार ?

    २३ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनाधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग नगर्न तथा नगराउन भनेको छ । सूचीकरण नभएका सामाजिक सञ्जाल ‘प्लेटफर्म’ नेपाल भित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकमार्फत पहुँच निषेध भइसकेकाले त्यस्ता सामाजिक सञ्जालको पहुँच प्राप्त गर्न अनधिकृत उपाय नअपनाउन मन्त्रालयले अनुरोध गरेको हो ।

    मन्त्रालयले हालसम्म हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भइ सक्रिय गराइसकेको जनाएको छ । मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार मन्त्रालयले औपचारिक रुपमा सामाजिक सञ्जाल निष्क्रिय बनाइसकेपछि सामाजिक सञ्जाल एक्स (ट्वीटर) र वीच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकामा सो विवरण उपलब्ध गराइ सकिएको छ ।

    नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियम परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन पुनः आह्वान गरेको छ ।

    सूचीकरणका लागि कुनै पनि शुल्क दस्तुर नलाग्ने र सूचीकरण गरे पश्चात सोही क्षणदेखि पुनः सक्रिय गराइने मन्त्रालयका प्रवक्ता ठाकुरले दावि गरे ।
    नागरिकले प्रयोग गर्ने कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्महरुलाई निषेध, नियन्त्रण वा संकुचित गर्ने नभई स्वनियमको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही रुपमा प्रयोग गर्ने वातावरण निर्माण गर्न, सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।


    सरकारले यही भदौ २२ गतदेखि सूचीकरण नभएका सामाजिक सञ्जाललाई देशभित्र निष्क्रय गराएको छ । सञ्चार मन्त्रालयले यही भदौ १२ गते सार्वजनिक सूचनामार्फत सात दिनको समय दिई सामाजिक सञ्जाललाई सूचीकरणका लागि आग्रह गरेको थियो । सो समयसीमा भित्र सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रय गराएको हो । यसको देशव्यापी आलोचना भइरहेको छ ।

  • लाल सागरमा अन्डरसी केबल काटिँदा एसिया र मध्यपूर्वमा इन्टरनेट अवरुद्ध

    लाल सागरमा अन्डरसी केबल काटिँदा एसिया र मध्यपूर्वमा इन्टरनेट अवरुद्ध

    एजेन्सी
    २३ भदौ, काठमाडौं । लाल सागरमा अन्डरसी केबल काटिएपछि एसिया र मध्यपूर्वका केही भागहरूमा इन्टरनेट पहुँच अवरुद्ध भएको विज्ञहरूले आइतबार जनाएका छन् । तर घटनाका कारण भने तुरुन्त स्पष्ट भएको छैन । यमनका हुथी विद्रोहीहरूले लाल सागरमा सञ्चालन गर्ने अभियानअन्तर्गत केबलहरूलाई लक्षित गरेको आशङ्का गरिएको छ । उनीहरूले यसलाई गाजा पट्टीमा हमासविरुद्धको युद्ध अन्त्य गर्न इजरायलमाथि दबाब दिने प्रयासको रूपमा व्याख्या गरेका छन् । यद्यपि हुथीहरूले विगतमा यस्ता लाइनहरूमा आक्रमण गरेको कुरा अस्वीकार गरेका थिए ।

    स्याटेलाइट जडान र भूमिगत केबलहरूसँगै अन्डरसी केबलहरू इन्टरनेटको मेरुदण्ड मानिन्छन् । सामान्यतया, इन्टरनेट सेवा प्रदायकहरूसँग धेरै पहुँच विन्दु हुन्छन्, जसले कुनै एक असफल भएमा ट्राफिकलाई अर्को बाटोमार्फत सार्न सक्छ । तर यसले प्रयोगकर्ताहरूका लागि इन्टरनेट गति सुस्त पार्ने सम्भावना हुन्छ । माइक्रोसफ्टले आफ्नो स्थिति वेबसाइटमार्फत घोषणा गर्दै मध्यपूर्वले ‘लाल सागरमा अन्डरसी फाइबर कटका कारण बढेको विलम्बता अनुभव गर्नसक्ने बताएको छ । वासिङ्टनस्थित कम्पनीले विस्तृत जानकारी नदिए पनि मध्यपूर्व बाहेकको ट्राफिक प्रभावित नभएको स्पष्ट पारेको छ ।

    इन्टरनेट पहुँच अनुगमन गर्ने नेटब्लक्सले ‘लाल सागरमा सबसी केबल आउटेजको शृङ्खलाले भारत र पाकिस्तानसहित धेरै देशहरूमा इन्टरनेट कनेक्टिभिटी बिगारेको बताएको छ । संस्थाले यसका लागि ‘साउदी अरबको जेद्दानजिकै एसएमडब्लु४ र आइएमइडब्लुई केबल प्रणालीमा देखिएका विफलताहरू’ लाई जिम्मेवार ठहराएको छ ।

    दक्षिणपूर्वी एसिया–मध्यपूर्व–पश्चिमी युरोप ४ केबल भारतीय समूह टाटा कम्युनिकेसनले सञ्चालन गर्छ । भारत–मध्यपूर्व–पश्चिमी युरोप केबल भने अल्काटेल–लुसेन्टको निरीक्षणमा अर्को कन्सोर्टियमद्वारा सञ्चालित छ । तर दुवै कम्पनीले यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् । पाकिस्तान टेलिकम्युनिकेसन कम्पनी लिमिटेड (पिटिसिएल) ले शनिबार नै विज्ञप्ति जारी गर्दै कटौती भएको पुष्टि गरिसकेको छ । तर साउदी अरेबियाले अहिलेसम्म आधिकारिक रूपमा अवरोधलाई स्वीकार गरेको छैन ।

    संयुक्त अरब इमिरेट्स (युएई) मा दुबई र अबुधाबीका प्रयोगकर्ताहरूले राज्य स्वामित्वका डु र एतिसालात नेटवर्कमार्फत इन्टरनेट सुस्त भएको गुनासो गरेका छन् । तर सरकारले तत्काल यसबारे कुनै प्रतिक्रिया दिएको छैन । सबसी केबलहरू जहाजका लङ्गर खस्दा काटिन सक्ने भए पनि यस्ता घटनामा लक्षित आक्रमणको सम्भावना पनि रहन्छ । क्षतिग्रस्त केबल मर्मत गर्न प्रायः हप्तौँ लाग्छ र जहाजले समुद्रको पिँधमा काटिएको स्थान पहिचान गर्नुपर्छ ।
    गाजा पट्टीमा इजरायल–हमास युद्धलाई लिएर यमनका हुथी विद्रोहीहरूले हालै शृङ्खलाबद्ध आक्रमण चालेका थिए । इजरायलले यसलाई हवाई आक्रमणमार्फत जवाफ दिएको थियो, जसमा विद्रोही नेताहरू मारिएका थिए ।

    सन् २०२४ को प्रारम्भमै निर्वासनमा रहेको यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले हुथीहरूले लाल सागरका समुद्री केबलहरूमा आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको थियो । त्यतिबेला पनि केही केबल काटिएका थिए, तर विद्रोहीहरूले जिम्मेवारी लिएका थिएनन् । आइतबार बिहान हुथीहरूको अल–मासिराह स्याटेलाइट समाचार च्यानलले नेटब्लक्सलाई उद्धृत गर्दै कटौती भएको स्वीकार गरेको छ ।

    सन् २०२३ नोभेम्बरदेखि सन् २०२४ डिसेम्बरसम्म हुथीहरूले गाजा युद्धसँगै एक सयभन्दा बढी जहाजहरूलाई मिसाइल र ड्रोनमार्फत निशाना बनाएका थिए । ती आक्रमणमा अहिलेसम्म चारवटा जहाज डुबाइएका छन् र कम्तीमा आठ नाविकको मृत्यु भएको छ । इरान समर्थित हुथीहरूले छोटो युद्धविराम अवधिमा आक्रमण रोकेका थिए । तर त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा एक सातासम्म तीव्र हवाई आक्रमण चलाइएको थियो । त्यसक्रममा हुथीहरूले दुई जहाज डुबाएका थिए, जसमा चार जनाको मृत्यु भएको थियो भने अन्य केही नाविकलाई विद्रोहीहरूले कब्जा गरेको विश्वास गरिन्छ ।

    हुथीहरूको नयाँ आक्रमणबीच इजरायल–हमास युद्धमा सम्भावित नयाँ युद्धविरामबारे छलफल भइरहेका छ । त्यस्तै, इजरायलले हालै १२ दिन लामो युद्ध सञ्चालन गर्दै अमेरिकी सहयोगमा इरानका तीनवटा आणविक साइटमा बम प्रहार गरेपछि तेहरानको आणविक कार्यक्रमबारे वासिङ्टन–तेहरान वार्ताको भविष्य पनि अनिश्चित बनेको छ ।

  • सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन सरकारको पुनः आग्रह, भिपिएन प्रयोग नगर्न चेतावनी

    सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन सरकारको पुनः आग्रह, भिपिएन प्रयोग नगर्न चेतावनी

    २२ भदौ, काठमाडौं । सरकारले सबै सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन पुनः आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै व्यवस्थित र जवाफदेही ‘डिजिटल’ वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै प्रक्रियामा आउन सबैलाई आग्रह गरेको हो ।

    सञ्चार मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गजेन्द्र ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम नेपालभित्र सम्पर्कविन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियम परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन सम्बद्ध सबै सरोकार भएकाहरूमा पुनः आग्रह गर्दछ । सूचीकरणका लागि कुनै पनि शुल्क दस्तुर नलाग्ने र सूचीकरण गरेपश्चात् सोही क्षणदेखि पुनः सक्रिय गराइने व्यहोरा पुनः जानकारी गराइन्छ ।”

    सम्मानित सर्वोच्च अदालतको आदेश परिपालनाका लागि समेत लागि यही भदौ ९ मा नेपाल सरकार (मन्त्रिपरिषद्)बाट भएको निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्देशिकाबमोजिम सात दिनको म्याद दिई सूचीकरणका लागि यही भदौ १२ मा सार्वजनिक सूचना प्रकाशन गरेको थियो । तोकिएको समय सीमाभित्र सूचीकरणका लागि सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउने प्रक्रिया सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा सञ्चालित सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र जवाफदेही बनाउन सरकारले सूचीकरण हुन पटक पटक आह्वान गरेको पनि मन्त्रालयले स्मरण गराएको छ । “यसै सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दा (मुद्दा नं ०८०–सिएफ–००१२) मा स्वदेशी वा विदेशी उत्पत्तिका ‘अनलाइन’ तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालनपूर्व अनिवार्य रूपमा सम्बन्धित साधिकार निकायबाट सूचीकरण गरी अनिच्छित सामग्रीहरुको मूल्याङ्कन र अनुगमन गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी भएको पनि अवगत नै छ”, विज्ञप्तिमा उल्लेख छ, “मन्त्रालयले औपचारिक रूपमा सामाजिक सञ्जाललाई निष्क्रिय गराइसकेपछि यही भदौ २२ सम्ममा ‘स्मार्ट आइडिया प्राइभेट लिमिटेड’ (हाम्रो पात्रो) र ‘ग्लोबल डायरी प्राइभेट लिमिटेड’ दर्ता भई सक्रिय भइसकेका छन् । यसैगरी, सामाजिक सञ्जालहरू ट्विटर ९एक्स० र विच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकामा सो विवरण उपलब्ध गराई सकिएको छ ।”

    प्रवक्ता ठाकुरले नेपाल सरकारको निर्णयबमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायकमार्फत ती सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको र त्यस्ता सञ्जालको पहुँच प्राप्त गर्न असुरक्षित, अनधिकृत, जोखिमयुक्त ‘भर्चुअल प्राइभेट नेटवर्क’ (भिपिएन) प्रयोग नगर्न÷नगराउनसमेत अनुरोध गरे । मन्त्रालयले सरकारको निर्णय सामाजिक सञ्जाल प्लेटफर्मलाई निषेध, नियन्त्रण वा सङ्कुचित गर्ने नभई स्वनियमनको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही रूपमा प्रयोग गर्ने वातावरण निर्माण गर्नु रहेको जनाउँदै यसमा सहयोग गर्न आमनागरिक र सम्बन्धित सबैमा अपिलसमेत गरेको छ ।

  • सरकारले सामाजिक सञ्जाल बन्द गरेकोमा कांग्रेस असन्तुष्ट

    सरकारले सामाजिक सञ्जाल बन्द गरेकोमा कांग्रेस असन्तुष्ट

    २२ भदौ, काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरकारको निर्णयमा असन्तुष्टी जनाएको छ । यसबारे छलफल गर्ने तयारीमा पार्टी रहेको छ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले सो सम्बन्धमा सरकारसँग छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

    सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सरकारसँग सोबारेमा छलफल गरेपछि पार्टीको धारणा सार्वजनिक गर्ने निष्कर्ष निकालेको उनले बताए । एमाले बाहेकका सबै पार्टीले सरकारको सो निर्णयको चर्को विरोध गरिरहेका छन् ।

  • खग्रास चन्द्रग्रहण सुरु, शतभिषा र पूर्वभाद्रपदा नक्षत्र एवं कुम्भ राशिलाई अति कष्ट

    खग्रास चन्द्रग्रहण सुरु, शतभिषा र पूर्वभाद्रपदा नक्षत्र एवं कुम्भ राशिलाई अति कष्ट

    २२ भदौ, काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आज राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको हो । समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भए अनुसार आज राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति १ः४१ बजे ग्रहण सकिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए । साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिने पनि उनले बताए ।


    नेपालमा पूर्व र आग्नेयका बीचबाट चन्द्रग्रहणले १०ः११ बजे स्पर्श गर्ने र नैऋत्य र पश्चिमबाट राति १ः४१ बजे अन्त्य हुने अध्यक्ष ढकालले बताए । पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो ।

    यो ग्रहण नेपालबाट देखिने विसं २०८२ को पहिलो ग्रहण हो । यसैवर्ष आगामी फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा र नसके नजिकैको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

    ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् ।
    सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् नेपालले बताए । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामी बाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध गरिएको पनि उनले बताए । भदौ २२ गते आइतबार दिउँसो १३ः११ बजेपछि बाल, वृद्ध र आतुर बाहेकले भोजन गर्नुहुँदैन ।

    आज रातिको चन्द्रग्रहण हेर्दा मेष राशिलाई लाभ मिल्छ । वृष राशिलाई सुख, मिथुन राशिलाई माननाश हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । यसैगरी कर्कटलाई कष्ट, सिंहलाई स्त्रीपीडा, कन्यालाई सुख, तुलालाई चिन्ता, वृश्चिकलाई खर्च हुने योग देखिएको छ । धनु राशिलाई श्रीप्राप्ति, मकरलाई क्षति, कुम्भलाई घात र मीनलाई खर्चको योग रहेको पनि समितिले जनाएको छ । शतभिषा र पूर्वभाद्रपदा नक्षत्र एवं कुम्भ राशि भएका व्यक्तिलाई आज रातिको चन्द्रग्रहण अतिकष्टदायक रहेको पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

    नेपाल एष्ट्रोनोमिकल सोसाइटीले मौसमले साथ दिएमा नेपालका सबै भागबाट पृथ्वीको छायाँ चन्द्रमामा आंशिक रुपमा परी ग्रहण लागेको देख्न सकिने जनाएको छ । ग्रेगोरियन पात्रो अनुसार ग्रहण सेप्टेम्बर ७ तारिकको राति र नेपाली पात्रो अनुसार भदौ २२ गते राति पर्छ । नेपाली पात्रोअनुसार सूर्योदयदेखि सूर्योदयसम्मको समयलाई एक दिन गणना गरिन्छ । ग्रेगोरियन पात्रोले मध्यरातदेखि मध्यरातसम्मको समयलाई एक दिन गणना गर्ने भएकाले समय फरक पर्न गएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए ।


    चन्द्रग्रहण अवलोकन गर्न चाहनेले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्ने पनि सोसाइटीले जनाएको छ । टेलिस्कोप वा दुरविनको माध्यमले हेरेमा विस्तृतरुपमा देख्न सकिन्छ । वैज्ञानिक मान्यताअनुसार चन्द्रग्रहण हेर्दा कुनै हानीनोक्सानी नहुने अध्यक्ष भट्टराईले बताए ।
    आज राति ११ः१५ बजेदेखि बिहान ००ः३७ बजेसम्म चन्द्रमा पृथ्वीको सघन छायाँमा रहन्छ जसलाई खग्रास समय भनिन्छ । यो बेला चन्द्रमा रातो देखिन्छ । इन्टरनेटमा भनेजस्तो र राखिएको तस्बिर जस्तो नहुने उहाँले बताउनुभयो । बाँकी समय पृथ्वीको छायाँले चन्द्रमालाई ढाक्दै र छोड्दै जानेछ जुन समय खण्डग्रास समय हो । आफैं हेरेर सही र गलत छुट्याउन सोसाइटीले सबैमा आह्वान गरेको छ ।

    एक्काइसौँ शताब्दीमा पर्ने ८५ वटा चन्द्रग्रहणमध्ये यो एक भएको उनले बताए । “तान्त्रिकहरु तन्त्रको साधना तथा अघोरीमन्त्रहरुको साधना ग्रहणका बेलामा गर्दा सिद्घिहुने कुरामा विश्वास गरी यस्तो समयको उपयोग गर्छन्”, उनले भने । सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणलाई आँखाभित्र पस्न नदिन विभिन्न सावधानी अपनाइन्छ । चन्द्रग्रहण जो कोहीले पनि नाङ्गो आँखाले सजिलै हेर्न सक्छन् । चन्द्रग्रहण टेलिस्कोप, वाइनाकुलर, क्यामरा वा अरु कुनै सामग्रीले हेर्दा केही असर गर्दैन । चन्द्रग्रहणमा आँखालाई हानीनोक्सानी पु¥याउने खालका किरण आएका हुँदैनन् । वैज्ञानिकले समेत ग्रहणका समयमा साधना गरेको उदाहरण छ । विश्वप्रसिद्घ वैज्ञानिक आइन्स्टाइनले आफ्नो प्रकाशसम्बन्धी सिद्घान्तको प्रयोग तथा पुष्टि खग्रास सूर्यग्रहण लागेको बेलामा गरेका थिए भनिन्छ ।

    खगोलविद् तथा वैज्ञानिकहरुका लागि भने ग्रहण एउटा प्रयोगात्मक प्रक्रियाको पुष्टि गर्ने सुनौलो अवसर मानिन्छ । ग्रहणको प्रभाव केवल मानवजातिमा मात्र नभइ पशुपक्षीमा पनि प्रत्यक्ष असर परेको अनुभव गर्न सकिने वाल्मीकि विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्य बताउँछन् । यो खग्रास चन्द्रग्रहण नेपालको सबै भागबाट देखिने बिपी कोइराला मेमोरियल प्लानेटेरियम अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ । नेपालका साथै यूरोप, अफ्रिका, र एसिया र अष्ट्रेलियाबाटसमेत आज रातिको चन्द्रग्रहण देखिने समितिका कार्यकारी निर्देशक डा सनतकुमार शर्माले जानकारी दिए ।


    यो चन्द्रग्रहण उत्तर तथा दक्षिण अमेरिकाबाट भने नदेखिने पनि उनले सुनाए । ग्रहणको समयमा यो रातो देखिने हुनाले यसलाई रक्तिमचन्द्र पनि भनिन्छ । आज राति ९ः१३ बजेदेखि नै विरल छायाँले ढाक्न सुरु गर्ने समितिले जनाएको छ । राति ११ः१५ बजेदेखि खग्रास ग्रहण अर्थात् सघन छायाँले ढाक्नेछ । राति ११ः५६ बजे खग्रास ग्रहणको मध्य समय हुनेछ । राति १२ः३७ बजेदेखि खग्रास ग्रहण अर्थात् सघन छायाँले ढाक्न छोड्ने समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राति ०२ः४० बजे विरल छायाँले ढाक्न छोड्नेछ । चन्द्र ग्रहण खाली आँखाले अवलोकन गर्न सकिने र वैज्ञानिक रूपमा हालसम्म मानव जीवनमा ग्रहणको कुनै पनि नकारात्मक प्रभाव रहेको तथ्याङ्क प्राप्त नभएको समितिले जनाएको छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    २२ भदौ, काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ । सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तगा बाँकी भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भागका केही स्थान र बाँकी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र बाँकी भागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी पहाड र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

  • अन्तरिक्ष केन्द्रमा नयाँ आपूर्ति अभियानः नासाले सेप्टेम्बरमा मिशन प्रक्षेपण गर्ने

    अन्तरिक्ष केन्द्रमा नयाँ आपूर्ति अभियानः नासाले सेप्टेम्बरमा मिशन प्रक्षेपण गर्ने

    एजेन्सी
    २१ भदौ, काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था ‘नासा’ र निजी एयरोस्पेस कम्पनी ‘नर्थरप ग्रुमन’ ले आउँदो मध्य सेप्टेम्बरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)तर्फ कार्गो मिसन पठाउने तयारी गरिरहेका छन् । नर्थरप ग्रुमनको यो २३औं पुनःआपूर्ति सेवा उडान हुनेछ, जुन फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट स्पेसएक्सको फाल्कन ९ रकेटमार्फत प्रक्षेपण गरिनेछ ।

    नासाका अनुसार, यो मिसनमा प्रयोग हुने साइग्नस अन्तरिक्ष यानमा पठाइने अनुसन्धान सामग्रीहरू मुख्य रूपमा नयाँ पुस्ताका प्रविधिका लागि अर्धचालक (सेमिकन्डक्टर) क्रिस्टलको गुणस्तर सुधार गर्ने, हानिकारक सूक्ष्मजीवहरूको सङ्ख्या घटाउने, औषधि उत्पादन प्रक्रियामा सुधार ल्याउने र अन्तरिक्षमा इन्धनको दबाब व्यवस्थापनसम्बन्धी परीक्षण गर्ने उद्देश्य राखिएको छ । नासाले यस मिसनमार्फत वैज्ञानिक अनुसन्धान र प्रविधिमा थप प्रगति हुने अपेक्षा व्यक्त गरेको छ ।

  • दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    १९ भदौ, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पारेका छन् । नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् । नेपाल टेलिकमले एक सूचनामार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले सोही निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको जनाएको छ ।

    प्राधिकरणको पत्र र सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम टेलिकमले उक्त निर्णय गरिएको टेलिकमले जनाएको छ । एनसेलले पनि सरकारको निर्देशनअनुसार आफ्नो नेटवर्कमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिएको जनाएको छ । प्राधिकरणले बिहीबार पत्राचार गर्दै विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन आग्रह गरेको थियो । त्यसमा फेसबुक, म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाटसएपलगायत सामाजिक सञ्जाल छन् ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    २० भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका लगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर साधारणतथा बदली हुनेछ ।

    कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुनेछ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

  • सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल निष्कृय बनाउन प्राधिकरणको निर्देशन

    सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल निष्कृय बनाउन प्राधिकरणको निर्देशन

    १९ भदौ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा सूचीकरण नभएका विभिन्न २६ वटा सामाजिक सञ्जाललाई नेपालमा निष्किृय गराउन मोबाइल तथा इन्टरनेट सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ । प्राधिकरणले आज सबै सेवा प्रदायकलाई परिपत्र गर्दै सो निर्देशन दिएको हो ।

    प्राधिरकणले फेसबुक, फेसबुक म्यासेन्जर, इन्टाग्राम, युट्युव, ह्वाटएप, टिव्टर (एक्स), लिङ्क्डिन, स्यापच्याट, वीच्याटलगायत विभिन्न सामाजिक सञ्जाललाई नेपालमा निष्किृय बनाउन निर्देशन दिएको हो । प्राधिकरणको निर्देशनसँगै सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले सूचीकृत नभएको सामाजिक सञ्जाल बन्द गरिएको स्पष्ट पारेका छन् ।

  • सूचीकृत हुन नआएका सामाजिक सञ्जाल आजबाटै निष्क्रिय : मन्त्री गुरुङ

    सूचीकृत हुन नआएका सामाजिक सञ्जाल आजबाटै निष्क्रिय : मन्त्री गुरुङ

    १९ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आजसम्म सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय हुने बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज पत्रकारहरुसँग कुरा गर्दै मन्त्री गुरुङले सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको बताए ।

    सर्वोच्च अदालतले प्रधानन्यायाधीशसहितको बृहत पूर्ण इजलासले अदालतको अवहेनासम्बन्धी मुद्दामा २०८० वैशाख १२ मा स्वदेशी तथा विदेशी उत्पतिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सञ्चालन पूर्व अनिवार्य सम्बन्धित निकायमा सूचीकरण गर्न नेपाल सरकारको नाममा आदेश दिएको थियो ।

    उक्त आदेश पालना गर्दै मन्त्रिपरिषद्को यही भदौ ९ गतेको बैठकले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्ने इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले सूचीकृत हुन आव्हान गरेको थियो । नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्न बनेको निर्देशिका–२०८० बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो प्लेटफर्मको सूचीकरणका लागि सोही निर्देशिकाका अनुसूची १ बमोजिमको ढाचाँमा तोकिएको कागजातहरु संलग्न गरी ७ दिनभित्र निवेदन दिन भनेको थियो ।

    मन्त्रालयले निवेदन दिँदा इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी, स्वनियम परिपालनको निगरानी अधिकारीसमेत तोक्ने सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । मन्त्री गुरुङले भने, “तोकिएको समयभित्र सूचीकृत गर्न नआउने सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेको क्षणदेखि पुनःसक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ ।”

    मन्त्री गुरुङले करिब २५ वटा सामाजिक सञ्जाल सूचीकृत हुन आउनुपर्ने र सूचीकृत गर्नका लागि कुनै पनि खर्च नलाग्ने बताए । उनले सिधा कुरा डटकमको मुद्दामा अदालतले फैसला गर्दा सबै सामाजिक सञ्जालहरु सञ्चार मन्त्रालयमा दर्ता हुनुपर्ने र दर्ता भएर सञ्चालन दर्ता हुन नआएमा गैरकानुनीरुपमा सञ्चालन हुन नदिन भनेको छ ।

    “सात दिनभित्र दर्ता गर्न आउनु भनेका थियौँ, त्यो मिति आजसम्म थियो, आजकै मितिदेखि सामाजिक सञ्जाल निष्क्रिय गराउँछौं, मन्त्री गुरुङले भने, “मुलुकमा कर तिरेको छ कि छैन भनेर सूचीकृत गर्न खोजेको होइन, सामाजिक सञ्जालका कारण भएको अपराधीकरण, सामाजिक सांस्कृतिक क्षेत्रमा खलल पार्ने खालको काम गरेको छ, पैसा तिर्ने कुरा आएको छैन ।”

  • ‘हाम्रो पात्रो’ले दर्ताका लागि दियो निवेदन

    ‘हाम्रो पात्रो’ले दर्ताका लागि दियो निवेदन

    १९ भदौ, काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको निर्णयपछि ‘हाम्रो पात्रो’ले दर्ताका लागि निवेदन दिएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले सरकारले दर्ता नभएका सामाजिक सञ्जाल नेपालमा बन्द गर्ने निर्णयपछि आजै हाम्रो पात्राले सूचीकृत हुने प्रक्रियामा आउन निवेदन दिएको जानकारी दिए ।

    सर्वोच्च अदालतले प्रधानन्यायाधीशसहितको बृहत् पूर्ण इजलासले अदालतको अवहेनासम्बन्धी मुद्दामा २०८० वैशाख १२ मा स्वदेशी तथा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्मलाई सञ्चालन पूर्व अनिवार्य सम्बन्धित निकायमा सूचीकरण गर्न नेपाल सरकारको नाममा आदेश दिएको थियो ।

    उक्त आदेश पालना गर्दै मन्त्रिपरिषद्को यही भदौ ९ गतेको बैठकले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्ने इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले सूचीकृत हुन आह्वान गरेको थियो । नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्न बनेको निर्देशिका–२०८० बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो प्लेटफर्मको सूचीकरणका लागि सोही निर्देशिकाका अनुसूची १ बमोजिमको ढाचाँमा तोकिएको कागजातहरु संलग्न गरी ७ दिनभित्र निवेदन दिन भनेको थियो ।

    मन्त्रालयले निवेदन दिँदा इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी, स्वनियम परिपालनको निगरानी अधिकारीसमेत तोक्ने सार्वजनिक सूचना प्रकाशन गरिएको थियो ।

  • सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन

    सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन

    १९ भदौ, काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले मन्त्रालयमा सूचीकृत भएकाबाहेक सम्पूर्ण समाजिक सञ्जाल प्लेटफर्महरु क्रमशः निष्क्रिय गर्ने प्रक्रिया सुरु गर्ने भएको छ । यसका लागि मन्त्रालयले दूरसञ्चार तथा इन्टरनेट सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको जनाएको छ ।

    आज मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले गरेको निर्णयानुसार नेपालमा सूचीकरण हुन नआएका सामाजिक सञ्जाल प्लेटफर्मलाई तत्काल निष्क्रिय बनाउने निर्णय गरेको हो । सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को यही भदौ ९ गते निर्णय कार्यान्वयन गर्न मन्त्रालयले सो प्रक्रिया थालेको हो ।

    सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार सरकारले पटक–पटक सूचना जारी गरी जानकारी गराउँदा पनि प्लेटफर्मले अटेरी गरेको हुँदा यस्तो बाध्यात्मक अवस्था आएको हो । “हाम्रो उद्देश्य सधैँलाई बन्द गर्न खोजिएको होइन, उनीहरु सम्पर्कमा आउना साथ पुनः सुचारु हुनेछ”, उनले भने , “सूचीकृत भइसकेका र प्रक्रियामा रहेकालाई बन्द गरिएको छैन ।”

    मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले हालसम्म टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेका तथा टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा रहेको जानकारी दिए । “मन्त्रालयले गरेको एक अध्ययनअनुसार नेपालमा हाल २५ वटा जति सामाजिक सञ्जाल प्लेटफर्म बढी सक्रिय रुपमा प्रयोग भएका छन्”, उनले भने, “तर, कति वटा बन्द हुन्छन् यकिन छैन ।”

  • प्रधानमन्त्री मोदीद्वारा सेमिकन इन्डिया २०२५ को उद्घाटन, भारतको सेमिकन्डक्टर यात्रा सशक्त

    प्रधानमन्त्री मोदीद्वारा सेमिकन इन्डिया २०२५ को उद्घाटन, भारतको सेमिकन्डक्टर यात्रा सशक्त

    १८ भदौ, काठमाडौं । भारतको सेमिकन्डक्टर उद्योगको वृद्धिको महत्त्वपूर्ण मोडमा प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार नयाँदिल्लीको यशोभूमि (भारत अन्तर्राष्ट्रिय सम्मेलन र एक्सपो सेन्टर) मा सेमिकन इन्डिया २०२५ को उद्घाटन गरेका छन् । जापान र चीन भ्रमणबाट फर्किएपछि उनले भने, “त्यो दिन टाढा छैन जब विश्वले भन्नेछ—भारतमा डिजाइन, भारतमा निर्मित, विश्वद्वारा विश्वास गरिएको ।” उहाँले सेमिकन्डक्टरलाई ‘डिजिटल हीरा’ भन्दै यसको महत्त्व उजागर गरे ।

    देशको सबैभन्दा ठूलो सेमिकन्डक्टर र इलेक्ट्रोनिक्स शोमा २० हजारभन्दा बढी सहभागी, ४८ देशका प्रतिनिधि, ५० भन्दा बढी ग्लोबल सिएक्सओ र एक हजार दुई सय ७५ बुथहरू प्रस्तुत थिए । प्रधानमन्त्री मोदीले उद्योगमा भारतको नवप्रवर्तन र युवा शक्ति स्पष्ट रूपमा उपस्थित रहेकोमा जोड दिए । केन्द्रीय मन्त्री अश्विनी वैष्णवले भने, “सेप्टेम्बर २ मा प्रधानमन्त्रीलाई पहिलो मेड–इन–इन्डिया चिप प्रस्तुत गरियो । आगामी केही महिनामा थप पाइलट लाइनहरू पूरा हुने क्रममा छन् । विद्यार्थीहरूले डिजाइन गरेका २० वटा चिप पनि प्रदर्शन गरियो ।”

    एसइएमआइका अध्यक्ष अजित मनोचाले भने, “भारतीय सेमिकन्डक्टर उद्योगले प्रधानमन्त्रीको दृष्टिकोणअनुसार तीव्र वृद्धि अनुभव गरिरहेको छ । एआई र टेक्नोलोजीमा प्रगतिसँगै हामी विश्वव्यापी स्तरमा मान्यता प्राप्त गर्दैछौँ ।” एसइएमआइ इन्डिया र आइइएसएका अध्यक्ष अशोक चन्दकले १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको घोषणा गर्दै भारतलाई सेमिकन्डक्टर डिजाइन, निर्माण र प्रविधि विकासको विश्वव्यापी केन्द्र बनाउन सरकारको प्रतिबद्धता स्पष्ट भए बताए ।


    सेमिकन इन्डिया २०२५ ले ४८ देशका प्रतिनिधिहरूसँग एक हजार दुई सय ७५ बुथ र २० हजारभन्दा बढी सहभागीलाई एकै स्थानमा ल्याइदिएको छ । कार्यक्रमले उद्योगका नेताहरू, नवप्रवर्तक, नीति निर्माता, स्टार्टअप र शिक्षाविद्हरूलाई अर्धचालक क्षेत्रमा नवीनतम प्रवृत्ति, अवसर र चुनौतीहरूमा छलफल गर्न, विश्वव्यापी सहयोग प्रवद्र्धन गर्न र स्वदेशी नवप्रवर्तन समर्थन गर्न अवसर दिएको छ ।

    कार्यक्रममा एप्लाइड मटेरियल्स, एएसएमएल, आइबिएम, इन्फिनियन, केएलए, लाम रिसर्च, मर्क, माइक्रोन, पिएसएमसी, र्‍यापिडस, स्यान्डिस्क, सिमेन्स, एसके हाइनिक्स, टाटा इलेक्ट्रोनिक्स, टोकियो इलेक्ट्रोन लगायत विश्वका प्रमुख कम्पनीहरूले सहभागिता जनाएका थिए । प्रधानमन्त्री मोदीको उद्घाटनले भारतको सेमिकन्डक्टर उद्योगमा नवप्रवर्तन, विश्वसनीयता र विश्वसामु प्रतिस्पर्धी क्षमता सुदृढ गर्ने महत्त्वपूर्ण सन्देश पठाएको छ ।

  • कोशी, तराई र वाग्मतीका पहाडी भागमा भारी वर्षाको पूर्वानुमान

    कोशी, तराई र वाग्मतीका पहाडी भागमा भारी वर्षाको पूर्वानुमान

    १८ भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी प्रदेशलगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने हुनेछ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, तराई र वाग्मती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

  • सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग

    सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग

    १८ भदौ, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ । नेपालको पर्यटनमा सबैभन्दा महत्वपूर्ण योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, पर्यटन र आर्थिक सबै हिसाबले खास छ । तर पछिल्ला वर्षमा पर्यटक र आरोहीहरूको बढ्दो चापसँगै सगरमाथामा फोहर थुप्रिँदै जाँदा समस्या सृजना भएको छ । जसले वातावरणीय सन्तुलन र हिमाली पारिस्थितिकीय तन्त्रमा गम्भीर चुनौती खडा गरिरहेको छ ।

    हिमाललाई जलवायु परिवर्तनको असरबाट बचाउने उद्देश्यका साथ सगरमाथामा भएको फोहर ढुवानीमा पछिल्लो समय ड्रोन प्रविधिको प्रयोग गरिएको छ । विद्युतीय सवारी बिवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमक्स इंकले नेपालको ड्रोन कम्पनी एयरलिफ्ट टेक्नोलोजीसँगको समन्वयमा ड्रोनमार्फत फोहर सङ्कलन गरिरहेको जनाएको छ ।

    साइमक्स इङ्कका अनुसार कम्पनीले सगरमाथा क्षेत्रबाट एक हजार केजी फोहर सङ्कलनको लक्ष्यसहित काम गरिरहेको छ । बिवाइडीले विश्वव्यापी रुपमा ‘कूल द अर्थ वाइ वान डिग्री’ नाराका साथ जलवायु परिवर्तन विरुद्ध सुरु गरेको अभियानअन्तर्गत नै नेपालमा सगरमाथा क्षेत्रमा फोहर सङ्कलन अभियान सुरु गरेको हो ।

    उक्त अभियान स्वच्छ ऊर्जाको प्रवर्द्धन र शून्य कार्बन उत्सर्जनमार्फत पृथ्वीको तापक्रम वृद्धिलाई नियन्त्रणमा राख्ने उद्देश्यले विश्वव्यापी रुपमा सुरु गरिएको हो र साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) साहिल श्रेष्ठले आफूहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक र प्राविधिक रुपमा यस अभियानमा जोडिएको बताए ।


    आफूहरुले सगरमाथालाई बचाउन र जलवायु परिवर्तनको न्यूनीकरणका लागि सहयोग पुगोस भन्ने उद्देश्यले आफूहरुले उक्त अभियान सुरु गरेको उनको भनाइ छ । उनले भने, “सगरमाथा हाम्रो राष्ट्रिय गौरव हो, यसको संरक्षणमा प्रविधिको उपयोग गर्दै सकारात्मक प्रभाव पार्न हामी क्रियाशील छौँ, हामी सधैँ दिगो विकास र स्वच्छ वातावरणका पक्षमा छौँ र यो अभियान त्यसकै निरन्तरता हो ।” एयरलिफ्ट टेक्नोलोजीका निर्देशक मिलन पाण्डेका अनुसार फोहर सङ्कलनमा प्रयोग हुने ड्रोनहरूले झण्डै १५ मिटर प्रतिसेकेन्डको गति र १५ डिग्री सेल्सियसको चिसोमा काम गर्न सक्छन् । यसले सगरमाथा क्षेत्रमा सफाइका लागि परम्परागत जोखिम घटाउने गरी काम गर्ने अपेक्षा गरिएको छ ।

    निर्देशक पाण्डेका अनुसार सगरमाथाको माथिल्लो क्षेत्रमा भएको फोहर ढुवानीमा छ देखि सात घण्टा लाग्ने गरेकामा अब प्रविधिको प्रयोगले भने एकदेखि दुई मिनेटमा सम्भव भएको उनको भनाइ छ । “विगतका वर्षमा खुम्बु आइफसलमा फोहर थुप्रिँदा ‘रोप फिक्सिङ’ र सामान ढुवानी गर्दा धेरैले ज्यान गुमाएको अवस्था थियो, तर अहिले प्रविधिको प्रयोगले फोहरलगायतका सामान ढुवानी सहज मात्रै भएको छैन कैयौँ मानिसहरुको ज्यान पनि जोगिएको छ”, उनले भने । उनका अनुसार सगरमाथाको छ हजार एक सय ३० मिटरको उचाइमा रहेको फोहर ड्रोनको प्रयोग गरी आधारशिविरमा ल्याउने काम भइरहेको छ ।

    सगरमाथा प्रदूषण नियन्त्रण समिति र खुम्बु पासाङल्हामु गाउँपालिकाको सहकार्यमा फोहर व्यवस्थापन पनि भइरहेको उनको भनाइ छ । “हामीले यसअघि सन् २०२४ मा सगरमाथाको क्याम्प–१ बाट २३४ केजी र अमादब्लम हिमालबाट ६४१ केजी फोहर सङ्कलन गरेका थियौँ, यसपटक साइमेक्स इङ्कको सहकार्यमा सगरमाथा क्षेत्रबाट दुई सय ८६ केजी फोहर सङ्कलन भइरहेको छ, अब अमादब्लम र मनास्लुबाट फोहर सङ्कलनको योजना छ”, उनले भने । एयरलिफ्ट टेक्नोलोजीले सगरमाथामा फोहर सङ्कलनपछि यो अभियानलाई अन्य हिमाली क्षेत्र र राष्ट्रिय निकुञ्जमा विस्तार गर्ने योजना बनाएको छ ।

    साइमेक्स इङ्कका बजार प्रमुख समिर श्रेष्ठका अनुसार गत याममा सगरमाथाको क्याम्प–१ बाट ड्रोनको प्रयोग गरी दुई सय ८६ केजी फोहर सङ्कलन भइसकेको छ भने यस याममा थप फोहर सङ्कलन जारी छ । “एयरलिफ्ट कम्पनीले यसअघि सगरमाथा क्षेत्रमा रहेको फोहर सङ्कलन गरेको थियो”, उनले भने, “यसपटक साइमेक्स इङ्क र एयरलिफ्ट टेक्नोलोजी मिलेर एक हजार केजी फोहर सङ्कलन सुरु गरेका छौँ ।”

    जलवायु परिवर्तनविरुद्धको अभियानमा प्रविधिको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै बिवाइडीका बजार प्रमुख श्रेष्ठले फोहर सङ्कलनमा ड्रोनको प्रयोगले सहज भएको बताए । “रोप फिक्सिङमा पनि ड्रोनको सफल प्रयोग भएपछि फोहर सङ्कलनमा ड्रोनको प्रयोग गरेका हौँ”, उनले भने । नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्ष तथा आरोही मिङ्मा डेभिड शेर्पाले आरोहीहरुले सगरमाथामै फोहर छाड्ने गरेकाले समस्या भएको बताउँछन् ।

    उनले सगरमाथाबाट फोहर सङ्कलनमा ठूलो खर्च र जोखिम हुने उल्लेख गर्दै प्रविधिको प्रयोगले निकै सहज भएको बताए । उनले भने, “आरोहीहरुसँग प्रत्येक पटक फोहरका शीर्षकमा सरकारले केही शुल्क धरौटीका रुपमा राख्छ तर पछि फिर्ता पनि दिन्छ, तर पनि सगरमाथा क्षेत्रमा फोहर बढ्ने क्रम रोकिएको छैन, यसले समस्या थपिएको छ ।” उनका अनुसार अब आरोहीसँग शुल्क नै लिएर फोहर व्यवस्थापन गर्नुपर्छ ।

  • सिन्धुपाल्चोकमा भूकम्पको धक्का

    सिन्धुपाल्चोकमा भूकम्पको धक्का

    १८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मङ्गलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका जिल्लाहरुमासमेत अनुभव गरिएको थियो ।

    मङ्गलबार बिहान ६ः१५ मा पनि गोरखाको अजिकोट–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको थियो भने दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

  • नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न आयोगको आग्रह

    नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न आयोगको आग्रह

    १८ भदौ, काठमाडौं । भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै आयोगले सवारी साधनको नम्बर प्लेट अग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको । संविधानले नचिनेको भाषा र लिपीमा नभई नेपाली भाषामा नै इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसलाको समेत आयोगले जानकारी गराएको छ ।

    सर्वोच्च अदालतले २०८१ असार ९ मा गरेको नेपाली भाषाको वर्णविन्याससम्बन्धी फैसलामा नेपालको संविधानको धारा ७ को उपधारा ३ ले भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ भनी स्पष्ट गरेको पाइन्छ भन्ने प्रावधान बमोजिम सबै तहका सरकारलाई सोही बमोजिम गर्न गराउन स्पष्ट व्याख्या भएको छ । भाषा आयोगले आफ्नो संवैधानिक दायित्व समेत बोध गर्दै देवनागरी लिपीमा विद्युतीय सङ्केत सङ्ख्या राख्न आयोगको यही भदौ १ को निर्णयानुसार नेपाल सरकारको पुनः ध्यानाकर्षण गराइएको आयोगका अध्यक्ष डा गोपाल ठाकुरले जानकारी दिए ।

  • दैलेखको पेट्रोलियम अन्वेषण : नमूनाको विस्तृत प्रतिवेदनका पर्खाइमा

    दैलेखको पेट्रोलियम अन्वेषण : नमूनाको विस्तृत प्रतिवेदनका पर्खाइमा

    अशोक घिमिरे / रासस

    १७ भदौ, जलजले । पेट्रोलियम अन्वेषणका क्रममा चिनियाँ र नेपाली प्राविधिकको निकै चहलपहल रहेको दैलेखको भैरवी गाउँपालिका–१ को जलजले क्षेत्र आजकल सुनसान छ । पेट्रोलियम ड्रिलिङ गरिएको क्षेत्रलाई सशस्त्र प्रहरी बल नेपालले सुरक्षा दिइरहेका छन् । दैलेखमा पेट्रोलियम पदार्थको ठूलो भण्डारण पुष्टि भएको खबरबाट सिङ्गो मुलुक उत्साहित छ ।

    खानी तथा भूगर्भ विभागको नेतृत्वमा चीनको जिओलोजिकल सर्भे कम्पनीले थालेको अन्वेषणबाट जलजले क्षेत्रमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको विशाल भण्डारणस्थल रहेको पुष्टि भइसकेको छ । विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पुर्याइएको थियो । यसबाट सङ्कलन गरिएका नमूनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पाइएको छ ।

    यो जम्मा चारवटा सम्भावित कुवामध्ये पहिलो कुवाको मात्र प्रारम्भिक नतिजा हो । बाँकी तीन कुवाको प्रारम्भिक अनुमानअनुसार जलजले क्षेत्रमै कुल चार सय ३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ । यसले करिब ५० वर्षसम्म नेपालको ग्यास आवश्यकतालाई पूरा गर्न सक्ने सम्भावना देखिएको छ ।

    नेपालमै यति ठूलो पेट्रोलियम भण्डारण भेटिएपछि त्यसको उत्खनन र व्यावासयिक उत्पादनको काम कहाँ पुगेको छ भनेर सर्वत्र चासो व्यक्त भइरहेको छ । पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी एवं भूगर्भविद् प्रकाश लुइँटेल पेट्रोलियम नमूनाको विस्तृत प्रतिवेदनको पर्खाइमा नेपाल रहेको बताउँछन् । चिनियाँ टोलीले अहिले नमूनाको विश्लेषण र अन्तिम प्रतिवेदनको तयारी गरिरहेको छ ।

    सन् २०२५ को डिसेम्बरसम्म पेट्रोलियम अन्वेषणको अन्तिम प्रतिवेदन प्राप्त हुने उनको भनाइ छ । अन्तिम प्रतिवेदनबाट पेट्रोलियम पदार्थको परिणामसहित विभिन्न तथ्य तथ्याङ्क प्राप्त हुनेछ । “जियोफिजिकल र जियोलोजिकल अध्ययनको विस्तृत तथ्याङ्कसहित अन्तिम प्रतिवेदनको पर्खाइमा छौँ”, विभागका भूगर्भविद् लुइँटेलले भने, “अन्तिम प्रतिवेदन प्राप्त भएपछि मात्रै अन्य काम अघि बढ्छ ।”

    सरकारले पनि उक्त स्थानमा पेट्रोलियम अन्वेषणको कामलाई तीव्रगतिमा अघि बढाउने दृढता व्यक्त गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उक्त पेट्रोलियम परियोजनाबाट व्यावसायिक उत्पादन प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । सरकारले पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययन र पूर्वतयारी गर्न नेपाल आयल निगमका निर्देशक विनितमणी उपाध्यायको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको मन्त्रिस्तरीय निर्णयबाट गठित समितिमा खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिष्ट धर्मराज खड्का, परियोजनाका मनिष कर्ण र निगमका सहायक प्रबन्धक दिप्ती पौडेल छन् ।


    निगमकै पहलमा मन्त्रालयले उक्त समिति निर्माण गरेको हो । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट प्राकृतिक ग्यासको सदुपयोगको सम्भाव्यताबारे उक्त समितिले अध्ययन गर्ने बताउँछन् । “जलजले क्षेत्रमा देखिएको ग्यास कुनकुन प्रयोजनमा प्रयोग गर्न सकिन्छ, त्यसलाई सदुपयोग कसरी गर्ने भन्नेलगायत विषयमा समितिले अध्ययन गरिरहेको छ”, उनले भने । निगम अध्ययन प्रतिवेदनका आधारमा सरकारले दिने निर्देशनको पर्खाइमा छ ।

    समितिले पेट्रोलियम अन्वेषण क्षेत्रको स्थलगत अवलोकन सम्पन्न गरिसकेको छ । “मन्त्रालयले दिएको क्षेत्राधिकारभित्र रहेर समितिले अध्ययन थालेको छ, ‘साइट भिजिट’का सिलसिलामा समितिका सम्पूर्ण सदस्य दैलेख पुगेका हौँ”, समिति संयोजक उपाध्यायले रासससँग भने। समितिले दैलेखसँगै सुर्खेतमा रासायनिक मल कारखाना स्थापनाको सम्भावनाबारे पनि अध्ययन गरेको छ ।

    “कतिपय विषय पूर्ण प्राविधिक भएका कारणले पनि धेरै कुरा पछि थाहा हुनेछ”, उनले भने, “तर प्रारम्भिक रूपमा हामीलाई दिएको जिम्मेवारीको सिलसिलामा केके गर्न सकिन्छ भनेर अध्ययन गर्दैछौँ ।” समितिले प्राकृतिक ग्यासको व्यावसायिक उत्पादनको सम्भाव्यताबारे पेट्रोलियम विज्ञ, अध्येतालगायतसँग पनि छलफल गर्ने तयारी गरेको छ । समितिलाई ग्यासको सदुपयोग, व्यावसायिक उत्पादन, आवश्यक पूर्वाधारको आवश्यकता र लागतलगायत बारेमा अध्ययन गर्ने जिम्मेवारी दिइएको छ ।

    नेपाल र चीनबीच सन् २०१९ मा भएको सरकार–सरकारबीचको सम्झौतापछि पेट्रोलियम अन्वेषणको काम सुरु भएको थियो । जलजले क्षेत्रमा ४५ रोपनी जग्गा अन्वेषण प्रयोजनका लागि छुट्याएर परियोजना सञ्चालन गरिएको हो । यो नेपालमा अहिलेसम्मकै सबैभन्दा गहिरो र वैज्ञानिक रूपमा सम्पन्न गरिएको अन्वेषण परियोजना हो ।

    स्थानीयका लागि जमिनबाट आफँै बल्ने ग्यास र तेलजस्तै पदार्थ चुहिने विषय नौलो भने होइन । दैलेखका विभिन्न स्थानमा पेट्रोलियम पदार्थ रहेको अनुमान पहिलेदेखि नै भए पनि वैज्ञानिक रूपमा यसको पुष्टि गर्न २०३६ सालदेखि प्रयास हुँदै आएको हो । विसं २०७२ मा भारतीय अघोषित नाकाबन्दीले मुलुकभर इन्धन सङ्कट भएपछि सरकारले स्वदेशकै ऊर्जा स्रोतको उत्खननको प्रक्रिया अघि बढाएको हो ।

    विसं २०७५ माघमा नेपाल–चीनबीच पेट्रोलियम अन्वेषणका लागि सम्झौता भएको थियो । प्रारम्भिक अन्वेषणमा नेपाली तथा चिनियाँ प्राविधिकले दैलेखको शिरस्थान र नाभिस्थान क्षेत्रमा निरन्तर बगिरहेको ग्यास पेट्रोलियम पदार्थ नै भएको पुष्टि गरेका थिए । दैलेखका छसात ठाउँमा पेट्रोल तथा ग्यास खानी रहेको प्राविधिकहरूको अनुमान छ ।

    धेरै पहिला गरिएको सर्भेबाट पनि यहाँ पेट्रोलियम पदार्थ वा ग्यास हुनसक्ने सम्भावना पाइएको थियो । अहिलेको परियोजना चीनको पूर्ण अनुदानमा सञ्चालित नमूना ९पाइलट० परियोजना हो । यो चिनियाँ सरकारको जियोलोजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित छ । त्यसको प्रारम्भिक लागत अनुमानित रु दुई अर्ब ५० करोड रहेको थियो । कोभिड–१९ महामारीलगायत विविध कारणले कार्यान्वयनमा ढिलाइ हुँदा लागत पनि बढेको थियो ।

    खानी तथा भूगर्भ विभागले ‘पेट्रोलियम अन्वेषण प्रवर्द्धन परियोजना’ स्थापना गरी जग्गा अधिग्रहण, सडक र विद्युत् पहुँच विस्तार तथा प्रशासनिक समन्वयको काम सहजीकरण गरेको थियो । पेट्रोलियम अन्वेषणको प्रक्रियामा स्थानीय जनप्रतिनिधि, प्रशासनिक संयन्त्र र आमनागरिकको पूर्ण सहयोग र समर्थन रहेको थियो । परियोजनाले सफलता पाउँदै गएपछि दैलेखवासी मात्र नभई सिङ्गो मुलुक नै उत्साहित बनेको छ । उत्खनन, प्रशोधन, आपूर्ति शृङ्खला तथा प्राविधिक काममा संलग्न जनशक्तिका कारण स्थानीयस्तरमा रोजगारीको अवसर वृद्धि हुने र उद्योगमैत्री वातावरण बन्ने अपेक्षा गरिएको छ ।

  • गोरखाको हंशपुर केन्द्रबिन्दु भएर गयो भूकम्प

    गोरखाको हंशपुर केन्द्रबिन्दु भएर गयो भूकम्प

    १७ भदौ, काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।

    यसअघि यही भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय ससना रेक्टरस्केलका भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएका कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।

  • एन्टीबायोटिक’रहित अण्डा उत्पादन बढ्यो

    एन्टीबायोटिक’रहित अण्डा उत्पादन बढ्यो

    १६ भदौ, चितवन । पछिल्ला वर्षहरुमा नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिकरहित हुने गरेको छ । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोग गर्न रोक लगाएपछि अन्य विधिबाट रोग नियन्त्रण गरेर अण्डा उत्पादन गरिएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालले नेपालका अधिकांश पोल्ट्री फार्महरुमा एन्टीबायोटिक प्रयोग गर्न छाडिएको बताए । आफूले अतिरिक्त समयमा परामर्श एवं पोषण हेर्दै आएको नवलपरासीको दाउन्ने एग्रो फार्ममा एन्टीबायोटिक पूर्णरुपमा निषेध गरिएको उनले बताए । उनले भने, “सरकारले एन्टीबायोटिक प्रयोगमा रोक लगाएसँगै यो फर्ममा हामीले पूर्णरुपमा बन्देज गरेका छौँ ।”

    देशका अन्य फार्महरुमा पोषण हेर्ने चिकित्सकले ती फर्ममा एन्टीबायोटिक प्रयोग नगरेकाले अधिकांश फार्मबाट उत्पादन भएका अण्डा एन्टीबायोटिकरहित भएको उनको भनाइ छ । यसअघि दाना र पानीमा एन्टीबायोटिक प्रयोग गरिन्थ्यो । जसलाई एन्टीबायोटिक ग्रोथ प्रमोटर (एजीपि) भनिन्थ्यो । यो रोक लगाएसँगै आफूहरुले कुखुरालाई खोप प्रयोग गर्ने गरेको उनले बताए ।
    दानामा जडिबुटीजन्य (हर्वल) खुराकहरु खुवाउने गरेको उनी बताउँछन् । पहिले सामान्य किसिमका ब्याक्टेरियल रोगहरु देखापर्दा एन्टीबायोटिक प्रयोग हुन्थ्यो । एन्टीबायोटिक प्रयोग गरेर उत्पादन भएको अण्डामा केही हिस्सा मानिससम्म पुग्ने उनी बताउँछन् । उनले भने, “कुखुरालाई एन्टीबायोटिक प्रयोग गरेर पारेको अण्डामा रहलपहल एन्टीबायोटिक आउथ्यो, जसले मानव स्वास्थ्यमा असर गथ्र्यो ।”

    कुखुरामा अहिले प्रयोग भएको भ्याक्सिनले मानव स्वास्थ्यका लागि असर नगर्ने उनी बताउँछन् । “यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र कुखुराको स्वास्थ्य राम्रो बनाउन मद्दत गर्दछ । जुन रोगको विरुद्धमा भ्याक्सिन दिइएको हुन्छ, यसले सो रोग नियन्त्रणमा आउँछ र असर अण्डासम्म पुग्दैन”, उनले भने । नियन्त्रणमा नै नआउने कुनै कुनै रोगको प्रयोगशालामा परीक्षण गरेर कुन प्रकारको ब्याक्टिरिया हो पत्ता लगाई त्यसलाई नियन्त्रण गर्न सीमित मात्रामा संवेदनशील खालको एन्टीबायोटिक पानीको माध्यमबाट प्रयोग गर्ने गरेको उनले बताए ।


    नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले सङ्घभित्रका फार्महरुमा एन्टीबायोटिकको प्रयोग नभएको बताए । सरकारका नीति निर्देशन अनुसार गुणस्तरीय अण्डा उत्पादनमा आफूहरु लागेको उनी बताउँछन् । उनले भने, “हाम्रा फार्म हेर्ने चिकित्सकहरुले मानव स्वास्थ्य असर नहुने गरी भ्याक्सिन र हर्वलहरुको प्रयोग गर्नुहुन्छ ।” जोखिम र खर्च बढे पनि मानव स्वास्थ्यलाई ख्याल गर्दै एन्टीबायोटिकरहित अण्डा उत्पादनमा जोड दिइएको उनको भनाइ छ ।

    नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय पूर्वअध्यक्ष त्रिलोचन कँडेलले कुखुराको रोग प्रतिरोधी क्षमता बढाउन वैकल्पिक उपायहरु अव लम्बन गरिएको बताए । नेपालमा उत्पादन भएको अण्डा एन्टीबायोटिकरहित भएको भन्दै उहाँले सीमा क्षेत्रमा बाहिरबाट छिरेका अण्डाको गुणस्तर भने भन्न नसकिने बताए । फिजिसियन डा भोजराज अधिकारी कुखुरामा भएका रोगहरु अण्डामा नहुने बताउँछन् । एन्टीबायोटिक प्रयोग नहुँदा अण्डा थप स्वस्थकर बन्ने उनले बताए । मानव स्वास्थ्यका लागि अण्डा उपयोगी भएको उनको भनाइ छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    १४ भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । सबै प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

  • आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस

    आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस

    १३ भदौ, काठमाडौं । आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ गरिएको हो । आणविक हातहतियारले निम्त्याउने विनाश, त्यसविरुद्धका विविध गतिविधि, सम्मेलन, सञ्चारमाध्यमबाट विभिन्न चेतनामूलक सामग्रीको प्रचारप्रसार गरेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ ।

    यो दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिया गुटरेसले आज सङ्क्षिप्त सन्देश दिँदै आणविक परीक्षणको ८० औँ वार्षिकोत्सव मनाइरहँदा विगतमा गरिएका दुई हजारभन्दा बढी आणविक हतियारको परीक्षणलाई विर्सन नहुने र अब उप्रान्त त्यस्ता गतिविधि नदोहोर्याउने प्रण गर्नुपर्नेमा जोड दिएका छन् ।

  • जलवाष्पयुक्त हावाको प्रभावका कारण मनसुन सक्रिय

    जलवाष्पयुक्त हावाको प्रभावका कारण मनसुन सक्रिय

    १३ भदौ, काठमाडौं । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मुलुकका केही भागमा मनसुन केही सक्रिय भएको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल मनसुन न्यूनचापीय रेखाको सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । आज दिउँसो देशभर बदली हुने छ भने सबै प्रदेशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

  • बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव, आज अधिकांश स्थानमा वर्षा

    बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव, आज अधिकांश स्थानमा वर्षा

    १२ भदौ, काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको बताएको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशभर साधारणतया बदली हुनेछ । देशका पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका साथै लुम्बिनी र कोशी प्रदेशका तराई भगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

  • खराब मौसमका कारण स्पेसएक्सको ‘स्टारशिप’ उडान स्थगित

    खराब मौसमका कारण स्पेसएक्सको ‘स्टारशिप’ उडान स्थगित

    एजेन्सी
    ११ भदौ, काठमाडौं । अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ ले आफ्नो स्टारशिप रकेटको दशौं उडान परीक्षण खराब मौसमका कारण स्थगित गरेको छ ।
    स्पेसएक्सको ‘स्टारशिप’ एउटा अत्याधुनिक पुनः प्रयोगयोग्य अन्तरिक्षयान हो, जसले मानिस र मालसामानलाई पृथ्वीको कक्ष, चन्द्रमा, मंगलग्रह र अन्य अन्तरिक्ष गन्तव्यहरूमा लैजान सक्षम छ । स्टारशिपले अन्तरिक्ष अनुसन्धान, उपग्रह प्रक्षेपण, अन्तरिक्ष पर्यटन र दीर्घकालीन अन्तरिक्ष अन्वेषणका लागि नयाँ सम्भावनाहरू खोल्दैछ ।

    स्पेसएक्सले टेक्सासस्थित आफ्नो स्टारबेस सुविधाबाट भएको यो प्रक्षेपण सुरुमा आइतबार गर्ने योजना थियो, तर भूमिगत प्रणालीमा देखिएको समस्या र प्रक्षेपण पुनः तालिका मिलाउनुपर्ने कारणले एक दिन पछि सारिएको थियो । सोमबारको प्रक्षेपण प्रयासमा, प्रक्षेपण ४० सेकेन्डअघि रोकिएको थियो र स्पेसएक्सले सामाजिक संजाल प्लेटफर्म एक्समा खराब मौसमका कारण यो उडान रद्द गरिएको जानकारी दिएको छ ।

    कम्पनीले भनेको छ,“हामी अहिले अर्को उपयुक्त समय खोज्दैछौं र छिट्टै नयाँ प्रक्षेपण मिति तय गर्नेछौं ।” दशौं उडान परीक्षणमा अघिल्ला मिशनहरूजस्तै स्टारशिपको पहिलो पेलोड पठाउने र पुनः प्रवेश गर्ने विभिन्न प्रयोगहरू गरिने अपेक्षा गरिएको छ । यी प्रयोगहरू प्रक्षेपण स्थलमा माथिल्लो चरणको सुरक्षित फिर्ता सुनिश्चित गर्न केन्द्रित छन् ।

    स्पेसएक्सको स्टारशिप अन्तरिक्षयान र सुपर हेभी रकेटलाई संयुक्त रूपमा स्टारशिप भनिन्छ, जुन पृथ्वीको कक्ष, चन्द्रमा, मार्स र त्यसभन्दा पर रहेका गन्तव्यहरूमा चालक दल र मालसामान बोक्न सक्ने पूर्ण रूपमा पुनः प्रयोगयोग्य यातायात प्रणाली हो ।