Category: विज्ञान प्रविधि

  • मनकामना केवलकार ६ दिन बन्द हुने

    मनकामना केवलकार ६ दिन बन्द हुने

    चितवन । मनकामना केबुलकार ६ दिनसम्म बन्द हुने भएको छ । यो केवलकार परियोजनालाई अत्याधुनिक प्रविधिमा स्तरोन्नति गर्ने कामका लागि २५ चैतबाट ३० गतेसम्म बन्द हुन लागेको हो । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको काम अनुसार बुल ह्विल बेरिङ नयाँ फेरिने भएको छ ।

    बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । ३१ चैतबाट भने केवलकार पुनः संचालनमा आउने भएको छ । उक्त अवधिभर चितवनको इच्छाकामना–४ चेरेसस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्ट भने यथावत् सञ्चालनमा रहने भएको छ ।

    २३ वर्षअघि स्थापना भएको नेपालको पहिलो केबुलकार एनालगबाट डिजिटल प्रविधिमा लैजाने तयारी छ । गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना दर्शन प्रालिले २०५५ साल मङ्सिरबाट सञ्चालनमा ल्याएको मनकामना केबुलकार तीन चरणमा स्तरोन्नति गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

    पहिलो चरणमा तत्काल अत्यावश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जा फेरिने छ । दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा अन्य थप पार्टपुर्जा फेरिनेछ । अन्तिम चरणमा हालको एनालग प्रविधिबाट डिजिटलमा स्तरोन्नति गरिने भएको छ ।

  • अमेरिकाको फ्लोरिडामा विषाक्त पानी चुहियो, सयौं परिवार प्रभावित

    अमेरिकाको फ्लोरिडामा विषाक्त पानी चुहियो, सयौं परिवार प्रभावित

    फ्लोरिडा । अमेरिकाको फ्लोरिडामा विषाक्त पानी चुहावट भएसँगै सयौं घर परिवार प्रभावित बनेका छन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार विषाक्त पानी रहेको बाँधबाट पानी चुहावट भएको हो । यसले कम्तीमा तीन सय घरपरिवार प्रभावित बनेका छन् ।

    स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्दै उनीहरुलाई सुरक्षितस्थानमा सारेको छ । सीएनएनका अनुसार फ्लोरिडाको टाम्पा बे क्षेत्रमा आपतकालीन अवस्था जारी गरिएको छ ।


    विषाक्त पानी रहेको पोखरी पिनी पोइन्ट बाँध क्षेत्रलाई सुरक्षित गर्ने प्रयास जारी रहेको समेत प्रशासनले जनाएको छ । यो बाँध ३१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो बाँधको पानीमा फस्फोरस र नाइट्रोजन मिसिएका कारण मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

  • २५ चैतबाट लगाइने भयो चिनियाँ खोप, को छन् प्राथमिकतामा ?

    २५ चैतबाट लगाइने भयो चिनियाँ खोप, को छन् प्राथमिकतामा ?

    काठमाडौं । नेपालमा अहिलेसम्म भारतमा उत्पादित कोरोना विरुद्धको खोपको प्रयोग भइरहेकोमा २५ चैतबाट भने चिनियाँ खोप लगाउन शुरु हुने भएको छ । चीन सरकारले अनुदानमा दिएका ८ लाख डोज खोप लगाउने अभियान उक्त मितिबाट शुरु गर्ने निर्णय सरकारले गरेको हो ।

    चीनले ‘भेरोसेल’ नामक खोप नेपाललाई अनुदानमा दिएको छ । यो दुई साता अगाडी नै नेपाल आएको हो । यो खोप अत्यावश्यक सेवामा संलग्न व्यक्ति, हिमालय सीमापार व्यापार गर्ने र चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्ने वा अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थीले पहिलो प्राथमिकतामा पाउने भएका छन् ।

    चीन सरकारले चिनियाँ खोप लगाएका व्यक्तिलाई मात्र प्रवेशमा प्राथमिकता दिने निर्णय यसअघि नै गरेको छ । नेपाल भित्र अत्यावश्यक सेवामा अन्तर्गत स्वास्थ्य, खानेपानी, दुग्ध पदार्थ वितरणलाई राखिएको छ ।

  • वायु प्रदुषणपछि बन्द देशभरका विद्यालय आजबाट खुल्ने

    वायु प्रदुषणपछि बन्द देशभरका विद्यालय आजबाट खुल्ने

    काठमाडौं । वायु प्रदूषणका कारण बन्द गरिएका देशभरका विद्यालय आजबाट सूचारु हुँदैछन् । हावामा प्रदूषणको मात्रा अत्यधिक बढेसँगै सरकारले चार दिनका लागि देशभरका विद्यालय बन्द गरेको हो । केन्द्र सरकारको निर्णय स्थानीय तहमा भने आशिंक रुपमा मात्र कार्यान्वयनमा आएको छ ।

    स्थानीय सरकारले आफ्नो भेगका वायु सफा भएको भन्दै विद्यालय खुला राख्ने निर्णय समेत गरेका थिए । सरकारकै जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले वातावरणमा केही सुधार आएको छ ।

    तर, पूर्णतया आकास खुल्न भने अझै केही समय लाग्ने छ । विद्यालय भने पूर्ववतः अवस्थामा सञ्चालन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।

  • गोकर्णेश्वर नगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने योजना

    गोकर्णेश्वर नगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने योजना

    काठमाडौँ /गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेल स्थित ओसिस पार्टी प्यालेसमा गोकर्ण महिला सञ्जालकाको आयोजनामा उधोग व्यवसायबाट समाजमा पर्न सक्ने प्रभाव र वातावरणीय असर सम्बन्धी चेतनामूलक तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न भयो । पाँच दिने चेतनामूलक तथा अभिमूखिकरण कार्यक्रमको समापन नगर प्रमुख सन्तोष चालिसेले शुक्रबार गरे ।

    नगरपालिकाको आर्थिक सहयोगमा चैत १६ गते देखि चैत २० गते सम्म लगातार सञ्चालन गरिएको कार्यक्रममा करिव ५० जनाको सहभागिता थियो। महिला सञ्जालकी अध्यक्ष लक्ष्मी गिरिको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ति नेपाल,प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, गो न पा वडा ९ का अध्यक्ष राजिब थापा, गो न पा वडा नं. ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिका न्यायिक समितिको सदस्य सत्यभामा श्रेष्ठ, गोनपा ४ का वडा सदस्य जयराम महत , नेपाल मेडिकल कलेज ट्रेड युनियनका अध्यक्ष किरण के सी, समाजसेवी किरण बिष्ट, महिला सञ्जालकी सचिव अम्बिका पौडेल निरौला, गोकर्णेश्वर नगरपालिकाका विभिन्न संघ संस्थाका प्रतिनिधि,जनप्रतिनिधि साथै नगरवासीहरुको कार्यक्रममा उपस्थिती रहेको थियोे ।
    कार्यक्रममा गुणस्तर तथा नापतौल विभाग बालाजुका केनिष्ट(अधिकृत)भवानी प्रसाद अघिकारीले उधोग व्यवसायले वातावरणमा पारेका नराम्रा मात्र होइन राम्रा कुराहरूको बारे बिस्तृत रुपमै बताउदै हामिले प्रयोग गर्ने सामान वातावरण मैत्री भयो भने वातावरण असर हुनुबाट जोगाउन मदत पुग्ने कुराको जानकारी दिए ।

    कार्यक्रममा आफ्नो भनाइ राख्दै नगर उप प्रमुख साथै नगर प्रमुखले प्लास्टिकबाट धेरै नै फोहोर हुने गल्दा नि नगल्ने, बाल्दा पनि प्रदुषण हुने भएकोले नेपालमा वातावरणीय असर कम गर्न आफ्नै कार्यकालमा नगरलाई प्लास्टिक जन्य वस्तुहरुमा रोक लगाई प्लास्टिक मुक्त नगरपालिका बनाउन सबैलाई हातेमालो गर्न आग्रह गरेका थिए।

  • चितवनमा गैंडा गणना टोलीमाथि ध्रुबे हात्तिको आक्रमण, पाँच जना घाइते

    चितवनमा गैंडा गणना टोलीमाथि ध्रुबे हात्तिको आक्रमण, पाँच जना घाइते

    चितवन । एक सिंगे गैंडा गणना गर्न चितवन राष्ट्रिय निकुञ्जमा खटिएको टोलीमाथि जंगली हात्ती ध्रुबेले आक्रमण गर्दा पाँच कर्मचारी घाइते भएका छन् । आक्रमणमा परी राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठ गम्भीर घाइते भएको निकुन्जले जनाएको छ ।

    उनलाई उपचारका लागि साँझ हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । गैंडा गणनामा खटिएको टोली शुक्रबार निकुञ्जको पश्चिम सेक्टरको गैंडाखासा भन्ने स्थानमा पुगेपछि धु्रबेको आक्रमणमा परेको थियो । ध्रुबे जंगली हात्ती हो । उसले निकै लामो समयदेखि चितवनमा दुःख दिइरहेको छ ।

    ध्रुबेले २०६६, ६७, ६८ र ६९ सालमा गरी १३ जनाको ज्यान लिएको थियो। यो हात्तिलाई मार्ने सरकारको योजना रहेपनि ज्यान जोगाएर भाग्न सफल भएको थियो । आज जंगली हात्तिले आक्रमण गरेसँगै चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणना समेत तत्कालका लागि रोकिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा चैत ९ गतेबाट एक सिंगे गैंडाको गणना थालिएको थियो ।

  • वर्षापछि देशका अधिकांश स्थानका आकास खुल्यो

    वर्षापछि देशका अधिकांश स्थानका आकास खुल्यो

    काठमाडौं । बुधबारबाट परेको वर्षापछि देशका अधिकांश स्थानको आकास खुलेको छ । काठमाडौंमा तुवाँलो हट्ने क्रम शुरु भएको छ । यस भेगमा धेरैजसो स्थानमा आज घाम लागेको छ । वर्षाले घुलो र धुँवासहितको तुवाँलो हटाएपछि हावामा मडारिएको प्रदूषण समेत कम भएको हो । यद्दपी पूर्णरुपमा प्रदूषण हट्न अझै केही दिन लाग्ने बताइएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसोपछि पहाडी क्षेत्रको मौसम बद्ली भई केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ । अन्य ठाउँमा भने मौसम सफा हुने छ । पानी नपरेको र सुख्खापन बढि भएका कारण देशका धेरैजसो क्षेत्रका लागेको आगोले हावामा धुँवाको मात्र बढी भएको हो ।

  • संक्रमण बढेपछि काठमाडौं प्रवेश गर्नेहरुको ज्वरो नाप्न शुरु

    संक्रमण बढेपछि काठमाडौं प्रवेश गर्नेहरुको ज्वरो नाप्न शुरु

    काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै काठमाडौं उपत्यका प्रवेशमा पुनः कडाई शुरु भएको छ । काठमाडौं उपत्यका छिर्ने व्यक्तिमाथि नाकामा ज्वरो नाप्ने काम शुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले नाकामा ज्वरो आएको वा कोरोनाको लक्षण शंका देखिएका मानिस माथि ज्वरो नाप्ने काम शुरु भएको जानकारी नेपाली संचारमाध्यमलाई गराएका छन् ।

    उनका अनुसार चार दिन अघि देखि नाकामा रहेका हेल्थ डेस्कमा जनस्वास्थ्य कार्यालयबाट खटिएकाले कर्मचारीले ज्वरो नाप्ने काम थालेका छन् ।

    आगामी दिनमा स्वास्थ्य मापदण्ड पालनामा अझै कडाई गरिने उनको भनाई छ । नेपालमा पनि कोरोना भाइरसको दोस्रो लहर भित्रन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले कडाई थालेको हो ।

  • रोजगारीमा विदेश जाँदा बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने

    रोजगारीमा विदेश जाँदा बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने

    काठमाडौं । वैदेशिक रोजगारी जाने श्रमिकको अब अभिमुखीकरण तालिम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी मिल्नु पर्ने भएको छ । त्यसरी नमिलेको पाइएमा भने विमानस्थल बाटै फर्काइने भएको छ ।

    वैदेशिक रोजगार विभागले बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकले विदेश जानुपूर्व अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिन गरेको वा नक्कली बायोमेट्रिक लिएको अवस्था भए उनीहरु विमानस्थलबाटै फर्कनुपर्ने स्पष्ट पारेको छ ।

    यो व्यवस्था १ वैशाखबाटै लागु हुने भएको छ । पछिल्लो समयमा विभागले गरेको अनुगमनका क्रममा वैदेशिक रोजगारीका लागि अनिवार्य गरिएको अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिने, दिने गरिएको पाइएको छ ।

    तोकिएको समयभित्र तालिम नलिएको तथा अर्कै व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम गराइएको भेटिएको भन्दै विभागले अब कडाई गर्न लागेको छ । विमानस्थलको श्रम कक्षबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेट्रिक हाजिरी विवरण व्यक्ति स्वयंको उपस्थितिमा मिलान गराउँदा आधिकारिक नभएको पाइएपछि यस्तो नियम ल्याइएको हो ।


    नक्कली बायोमेट्रिकको प्रयोग गरी विदेश जाँदा श्रमिक स्वयमले असुविधा भोग्नुपर्ने
    भन्दै यस्तो जोखिम नलिन समेत आह्वान गरेको छ । नक्कली बायोमेट्रिक प्रयोग गर्दा बीमा तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट वञ्चित हुन्छ ।

    बायोमेट्रिक नमिल्दा विदेशबाट पुनः श्रम स्वीकति प्राप्त गर्न नसक्ने तथा गन्तव्य मुलुकसम्बन्धी जानकारी, वैदेशिक रोजगारसम्बन्धी कानून तथा अन्य आवश्यक कानुनसम्बन्धी जानकारी, सुरक्षित रोजगारी तथा अन्य हकअधिकारका विषयबाट वञ्चित हुने विभागले स्पष्ट पारेको छ ।

    अभिमुखीकरण तालिम प्रदायक संस्थाले सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई हाजिरी विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीमा उपलब्ध गराउनुपर्ने भएको छ ।

  • उपत्यकामा वर्षा, तुवाँलो हट्ने सम्भावना

    उपत्यकामा वर्षा, तुवाँलो हट्ने सम्भावना

    काठमाडौं । काठमाडौं उपत्यकासहित पूर्वी र मध्य पहाडी भेगमा बुधबार साँझबाट हल्का वर्षा शुरु भएको छ । यो वर्षापछि एक सातादेखि आकासमा लागेको तुवाँलो हट्ने अपेक्षा गरिएको छ । आज कोठमाडौंमा भिजिविलिटी समेत केही बढेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार काठमाडौं उपत्यका, गण्डकी प्रदेश र प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ ।

    वर्षाले अहिले देखिएको वायु प्रदुषण र तुवाँलो घटाउने भएको हो । यद्दपी तुवाँलो पुरै हट्न समेत केही समय अझै लाग्नेछ । हल्का वर्षा भएपनि ठूलो वर्षाको सम्भावना तत्काल नभएका कारण वायु प्रदुषण कम नहुने देखिएको हो ।

  • खुल्दैछ काठमाडौंको आकास, तुवाँलो भने अझै रहने

    खुल्दैछ काठमाडौंको आकास, तुवाँलो भने अझै रहने

    काठमाडौं । राजधानी काठमाडौंमा घाम देखिन थालेको छ । यसले भिजिविलिटीमा सुधार आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा आज बिहान दुई हजार मिटरसम्म भिजिविलिटी रहेको छ । यो चार हजार मिटरसम्म पुग्ने अनुमान छ । यो हेलिकोप्टर उडान सम्मलाई पुग्ने भिजिविलिटी हो । हवाईजहाज भने १५ सय मिटरको भिजिविलिटीमै उड्न सक्छन् ।

    आज देशको पहाडी भू–भागहरुमा मौसम आंशिक बदली रहेको विभागले जनाएको छ । बाँकी भू–भागमा बदली नरहे पनि तुवाँलो भने लागिरहेको छ । देशका विभिन्न भेगका वनमा लागेको डढेलो नियन्त्रणमा नआएकाले तुवाँलो अझै केही दिन कायम नै रहने विभागको भनाई छ ।

    अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

    प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक, दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ । रातमा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले उल्लेख गरेको छ ।

  • ललितपुरमा बर्डफ्लू पुष्टी

    ललितपुरमा बर्डफ्लू पुष्टी

    ललितपुर । ललितपुरमा बर्डफ्लू पुष्टी भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खुमा कृषकले पालेका पन्क्षीमा बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ । नख्खुमा हाँस, कुखुरा तथा बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टी भएको हो । भारतमा बढ्दो यो रोगको संक्रमण नेपालमा समेत फाट्टफुट्ट देखिएको छ ।

    नेपालमा यस वर्ष बर्ड फ्लु देखिएको यो छैटौँ पटक हो। सुर्खेत, जाजरकोट र काठमाडौँको तारकेश्वरमा यसअघि बर्डफ्लु पुष्टी भएको थियो । ती स्थानका बर्ड फ्लू भने नियन्त्रणमा रहेको छ ।

    बर्ड फ्लु पुष्टि भएको क्षेत्रबाट अरु स्थानमा फैलिन नदिन त्यहाँ रहेका पक्षीलाई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश र स्थानीय तहबाट दक्ष जनशक्ति परिचालन गरिएको र त्यस क्षेत्रलाई पूर्ण निसंक्रमण समेत गरिसकेको विभागले जनाएको छ ।

    यहाँ ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ वटा अण्डा, ३३५ केजी दाना नष्ट गरिएको छ। विभागले हरेक स्थानमा सोही विधि अपनाएर कृषकलाई क्षतिपूर्ति दिने गर्छ ।

  • ‘मौसममा तत्काल सुधारको सम्भावना छैन’

    ‘मौसममा तत्काल सुधारको सम्भावना छैन’

    काठमाडौं । काठमाडौंसहित देशका अधिकांश स्थानको आकास धुलाम्य छ । तुवाँलोले आकाश ढाकेको छ । तर, यो प्रदुषणसहितको तुवाँलो तत्काल नहट्ने भएको छ । जल तथा मौसम विभागले आगामी तीन दिनको मौसमी विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । वायुमण्डल स्थिर अवस्थामा रहिरहने छ, जसले गर्दा तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको विभागको भनाई छ ।

    मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भएको भन्दै विभागले चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको बताएको छ । वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कण छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको विभागले जानकारी दिएको छ ।

    देशका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गएको समेत विभागले जनाएको छ । तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले पुनः अुनरोध गरेको छ ।

  • भारतीय सेनाद्धारा नेपाली सेनालाई १ लाख डोज खोप प्रदान

    भारतीय सेनाद्धारा नेपाली सेनालाई १ लाख डोज खोप प्रदान

    काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई कोरोनाभाइरस विरूद्धको एक लाख डोज खोप दिएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार खोप आइतबार काठमाडौं आएको हो । सेनाले कोभिड १९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यसहित भारतीय सेनाबाट नेपाली सेनालाई भ्याक्सिन प्राप्त भएको जनाएको छ ।

    भ्याक्सिनको ‍औपचारिक हस्तान्तरण भने केही दिनपछि हुने छ । भारत सरकारले नेपाल सरकारलाई यसअघि नै १० लाख डोजखोप अनुदानमा दिइसकेको छ । नेपाल र भारतका सेनाबीच सुमधुर सम्बन्ध रहेको छ । दुबै मुलुकले एक अर्का मुलुकका सेनापतिलाई मानार्थ सेनापतिको उपाधी दिने प्रचलन रहेको छ ।

  • कहिले हट्छ काठमाडौंको आकासमा लागेको तुवाँलो ?

    कहिले हट्छ काठमाडौंको आकासमा लागेको तुवाँलो ?

    काठमाडौं । शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाश छोपिएको छ । बाक्लो तुवाँलोका कारण भिजिविलिटी कम भएको छ । यसले हवाई उडानमा प्रभाव पारेको छ । मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर देखिएको छ । बाक्लो धुँवासहितको यो तुवाँलोले मानिसहरुलाई अत्याएको बेला जल तथा मौसम विज्ञान विभागले तुवाँलो हट्न अझै केही दिन लाग्ने बताएको छ ।

    नेपालका धेरैजसो जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी परेका कारण हावा समेत चल्न पाएको छैन । यसले उत्पन्न भएको प्रदूषणका कण वायुमण्डलमा जम्मा भएसँगै आकासमा तुवाँलो देखिएको हो । स्थिर रहेको वायुमण्डल आगामी दुई–तीन दिनसम्म सुधार हुने सम्भावना कम रहेको विभागको भनाई छ ।

    विभागका अनुसार प्रदूषित वायुमण्डल सफा हुन वर्षा हुनुपर्छ वा हावा चल्नुपर्छ । सरकारले यसअघि नै अत्यावश्यक काम नपरेसम्म घर बाहिर नजान आह्वान गरिसकेको छ ।

  • भागरथी हत्याका आरोपी दिनेशको डीएनए भजाइनल स्वावसँग मिल्यो

    भागरथी हत्याका आरोपी दिनेशको डीएनए भजाइनल स्वावसँग मिल्यो

    काठमाडौं । भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतक भागरथीको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ । यससँगै यो घटनाको अनुसन्धानमा थप प्रमाण प्राप्त भएको प्रहरीको भनाई छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको प्रहरीले जनाएको छ ।

    नेपाली संचारमाध्यमले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहका उदृत गर्दै जनाएअनुसार शवको पोष्टमार्टमका दौरान डीएनए परीक्षण गर्न भजाइनल स्वाब निकालिएको थियो । स्वाबबाट प्राप्त नमूना र आरोपितको डीएनए मिलेको हो । प्रहरीले दिनेशलाई ४ फागुनमा पक्राउ गरेको हो ।

    उनले प्रहरी, परिवार र सरकारी वकिलसँग अभियोग स्वीकार गरेका थिए । तर, पछि उनको परिवारले भने अरुले हत्या गरेको र धम्की दिएर दिनेशलाई आरोप स्वीकार गर्न लगाइएको आरोप लगाएका थिए ।

    दिनेशलाई २६ फागुनमा जिल्ला अदालत, बैतडीले पुर्पक्षका लागि दिपायलस्थित सुधार गृह पठाउन आदेश दिएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चुडेपानीकी भागरथीको २२ माघमा बलात्कारपछि हत्या भएको हो । भागरथी दिनेशको नाताले दिदी पर्छिन् ।

  • भारतले रोक्ने भयो कोरोना खोपको निर्यात, नेपालमा हुन सक्छ संकट

    भारतले रोक्ने भयो कोरोना खोपको निर्यात, नेपालमा हुन सक्छ संकट

    काठमाडौं । भारत सरकारले कोरोना खोपको निर्यात रोक्ने निर्णय गरेको छ । भारतमा बढ्दो संक्रमण र ठूलो जनसंख्यार्मा एक साथ खोप वितरण गर्नुपर्ने भएसँगै भारतले केही समयका लागि खोपको निर्यात रोक्ने निर्णय लिएको हो । यसबाट नेपालमा खोपको आपूर्ति प्रभावित हुने भएको छ । नेपालले भारतसँग खरीद गरेको १० लाख डोज खोप अझै नेपाल आएको छैन । यसबाट नेपालमा खोप अभियान रोकिएको छ ।

    भारतको केन्द्रीय सरकारले मंगलबार ४५ वर्षमाथिका सबै नागरिकलाई अप्रिल १ देखि भ्याक्सिन दिने निर्णय गरेसँगै निर्यात रोक्ने निर्णय भएको भारतीय संचारमाध्यमले जनाएका छन् । द वायरका अनुसार यसअघि अर्डर लिएको डेलिभरी गर्ने तर नयाँ भने नलिने निर्णय भएको बताइएको छ ।

    सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित कोभिसिल्ड खोप नेपालमा चलिरहेको छ । नेपालमा चीनले दिएको अनुदानको खोप आगामी साता भित्रिएपछि भने पुनः खोप अभियान सूचारु हुने छ । सेरमको खोपको ब्राजिल, साउदीसहित विश्वका धेरैजसो देशमा उच्च माग रहेको छ ।

  • नेपालले पनि अब इ-पासपोर्ट बाड्ने

    नेपालले पनि अब इ-पासपोर्ट बाड्ने

    काठमाडौं । नेपालले अब इ-पासपोर्ट वितरण गर्ने भएको छ । अहिले नेपालमा मेसिन रिडएबल पासपोर्ट (एमआरपी) प्रचलनमा रहेको छ । एमआरपीलाई समेत विस्थापित गरी अब इ-पासपोर्टमा जान लागेको राहदानी विभागले जनाएको छ , विभागले अतिआवश्यक नपरेसम्म एमआरपी नबनाउन समेत आग्रह गरेको छ । आगामी सेप्टेम्बरबाट नेपालमा इपासपोर्ट प्रचलनमा आउने भएको हो ।

    विभागले इ-पासपोर्ट छाप्ने तयारी पूरा गरिकसेको समेत जनाएको छ । इ-पासपोर्ट छाप्ने ठेक्का फ्रान्सको आइडेमिया कम्पनीले पाएको छ। यो कम्पनीले त्रिपुरेश्वरमै पासपोर्ट छाप्ने भएको हो ।

    संचारमाध्यमहरुका अनुसार कम्पनीसँग २० लाख प्रति पासपोर्ट छाप्ने सम्झौता भएको छ । नयाँ पासपोर्टमा फिंगर प्रिन्ट, फेसियल रिकग्निसनसहितको चिप्स हुनेछ । यो पासपोर्ट बोकेपछि प्रयोगकर्ताले विदेशमा झन्झट झेल्नु नपर्ने विभागको भनाई छ ।

    संसारका १२० मुलुकमा इपासपोर्ट प्रचलनमा रहेको छ । इ-पासपोर्ट र एमआरपीको मूल्यमा समेत फरक नहुने भएको छ । नेपालले सन् २०१० मा हस्तलिखित पासपोर्ट विस्थापित गर्दै मेसिन रिडएबल पासपोर्ट प्रचलनमा ल्याएको हो । इपासपोर्ट आए पनि अहिले जारी भएका एमआरपी म्याद नसकिउन्जेल प्रयोगमै रहने भएका छन् ।

  • समातेको बाघ भागेपछि बाँके राष्ट्रिय निकुञ्जमा बढ्यो जोखिम

    समातेको बाघ भागेपछि बाँके राष्ट्रिय निकुञ्जमा बढ्यो जोखिम

    बाँके । मान्छे माथि आक्रमण गरी आतंक फैलाएको बाघ समातेको केही दिनमै खोरबाट भागेपछि बाँके राष्ट्रिय निकुन्जमा जोखिम बढेको छ । खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि निकुन्जमा उच्च सतर्कता अपनाइएको निकुन्ज प्रशासनलाई उदृत गर्दै राससले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षितरूपले खोरमा राखिएको बाघ आफैँ निस्केपछि निकुञ्जअन्तर्गत पर्ने राजमार्ग र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन सूचित गरिएको हो ।


    मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक जङ्गलभित्र प्रवेश नगर्न समेत आग्रह गरिएको छ । निकुञ्ज कार्यालयले पूर्वपश्चिम राजमार्गको शिवखोलादेखि प्रगतिनगरसम्मको क्षेत्रमा रातको समयमा पैदल, साइकल र मोटरसाइकलबाट आवतजावत नगर्न सूचना जारी गरेको छ । बर्दियाको खाता जैविक मार्गबाट यही चैत ५ गते नियन्त्रणमा लिइएको बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्जसमक्ष बुझाएको थियो ।

    बाँके निकुञ्जको खैरी पोष्ट क्षेत्रमा राखिएको खोरबाट मङ्गलबार बिहान ६ बजेतिर बाघ भागेपछि निकुञ्जअन्तर्गत पर्ने पूर्वपश्चिम र रत्न राजमार्ग तथा मध्यवर्ती क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ ।

  • काठमाडौं उपत्यकामा मास्क अनिवार्य, होली घरमै मनाउन आह्वान

    काठमाडौं उपत्यकामा मास्क अनिवार्य, होली घरमै मनाउन आह्वान

    काठमाडौं । प्रशासनले काठमाडौं उपत्यकामा मास्क अनिवार्य गरेको छ । कोरोना भाइरसको बढ्दो महामारीलाई ख्याल गर्दै मास्क अनिवार्य रुपमा लगाउन उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले निर्देशन जारी गरेका छन् । प्रशासनले भिडभाड नगर्न र होली पर्व समेत घरमा मात्र मनाउन समेत भनेको छ ।

    बुधबार काठमाडौं, ललितपुर र भक्तपुरमा छुट्टाछुट्टै बसेको डिस्ट्रिक कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी)को बैठकले यस्तो निर्णय गरेको हो । ‍आउँदो चैत १५ र १६ गते हुने होली पर्वलाई घरमै मनाउन विशेष रुपले प्रशासनले आह्वान गरेको छ ।

    सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, जात्रा, पर्व, संस्कृतिहरूमा हुने भेला जमघट नगर्न प्रशासन कार्यालयले निर्देशन दिएको हो। काठमाडौं प्रशासनका अनुसार सार्वजनिक स्थलमा मास्कको प्रयोग नगरे संक्रामक ऐन अनुसार कारबाही हुने भएको छ । ललितपुर जिल्ला भित्र ११ बजेपछि सञ्चालन हुने रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाइने छैन ।

  • चीनले दिएको अनुदानको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने

    चीनले दिएको अनुदानको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने

    काठमाडौं । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप लिन नेपाल वायुसेवा निगमको जहाज बेइजिङजाने भएको छ । निगमको वाइड बडी ए ३३० जहाज १५ चैतमा चीन जान लागेको हो ।


    बेइजिङबाट कोरोना खोप लिएर निगमको जहाज भोलिपल्ट राति (सोमबार) काठमाडौँ अवतरण गर्ने भएको छ । सरकारले १ चैतको मन्त्रिपरिषद्को बैठकबाट मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत कोरोना खोप स्वीकार गर्ने निर्णय गरेको हो ।

  • पुनर्निर्माण भएका घरमा थप संरचना बनाउन पाइने

    पुनर्निर्माण भएका घरमा थप संरचना बनाउन पाइने

    काठमाडौं । भूकम्पपछि सरकारी अनुदानमा पुनर्निर्माण भएका निजी आवासमा अब थप संरचना बनाउन पाइने भएको छ । अहिलेको मुल संरचनालाई आधार मानेर घरको दायाँ–बायाँ वा अगाडि–पछाडि भूकम्प प्रतिरोधी संरचना थप गर्न सकिने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यविधि बनाएको छ ।

    कार्यविधि प्राधिकरणको कार्यकारी समितिबाट पारित भएपछि कार्यान्वयनमा जाने प्राधिकरणका सिइओ सुशील ज्ञवालीले जनाएका छन् । प्राधिकरणका अनुसार प्राधिकरणको समय सकिएपछि स्थानीय सरकार र शहरी विकास तथा भवन निर्माण विभाग यसको मुख्य कार्यान्वयनकर्ता हुनेछन् ।

    कार्यविधि निर्माण गरी सोमबार प्राधिकरणले यसबारे विस्तृत छलफल गरेको छ । कार्यविधि अनुसार ढुंगामाटो तथा सिमेन्टको जोडाइ भएका घरहरुमा दायाँ–बायाँ वा अगाडि–पछाडि भूकम्प प्रतिरोधी ढंगले संरचना विस्तार गर्न सकिने भएको छ । तला थप गर्न भने यसअघि तयार भइसकेको ‘हाइव्रिड स्ट्रक्चर म्यानुअल’को उपयोग गर्नुपर्ने भएको छ ।

    ज्ञवालीका अनुसार कार्यविधि कार्यान्वयनको केन्द्रबिन्दु स्थानीय तह हुने छ । माउघरको क्रमशः विस्तार मुलतः ग्रामीण क्षेत्रमा संस्कृति नै रहेको भन्दै उनले थपिएको हिस्सा समेत भूकम्प प्रतिरोधी होस् भन्ने उद्देश्यले कार्यविधि बनाइएको जानकारी दिए ।

    इन्जिनियर एवं निर्माण प्राविधिकलाई उपयोगी हुनेगरी विस्तृत इन्जिनियरिङ ड्रइङ र डिजाइनसहित कार्यविधिको मस्यौदा तयार गरिएको उनको भनाइ छ । कार्यविधि घरधनी एवं निर्माणकर्मीले बुझ्नेगरी नेपाली भाषामा लेखिएको कार्यक्रममा जानकारी दिइयो ।

    शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले आगामी दिनमा बन्ने घर विस्तारका लागि पनि यो कार्यविधि उपयोगी हुने विश्वास व्यक्त गरे । कार्यविधिलाई छिट्टै अन्तिम रुप दिने गरी काम भइरहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९भवन० का आयोजना निर्देशक श्यामकिशोर सिंहले जानकारी दिए ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं प्रवक्ता गोपाल प्रसाद अर्यालले सम्भव भएसम्म पालिका नभए जिल्लास्तरमा एक–एकवटा घरहरुमा नमुना विस्तार गरी कार्यान्वयनमा लैजाँदा प्रभावकारी हुनसक्ने राय व्यक्त गरेका छन् । अमेरिकी सहायता नियोग (यूएसएड) का सन्तोष ज्ञवालीले कार्यविधि पुनर्निर्माण भएका घरका लागि मात्र नभएर आगामी दिनमा बन्ने घरहरुका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गरे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले माउघर अर्थात् ‘कोर हाउजिङ युनिट’ पुनर्निर्माण गर्न तीन लाख रुपैयाँ अनुदान तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएको छ ।

  • नेपालमा कोरोना खोप ल्याउन निजी कम्पनीले पायो अनुमति

    नेपालमा कोरोना खोप ल्याउन निजी कम्पनीले पायो अनुमति

    काठमाडौं । नेपालमा कोरोना खोप ल्याउन निजी कम्पनीले अनुमति पाएको छ । अघिल्लो शुक्रबार नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको कोरोना भाइरसविरुद्धको खोप कोभ्याक्सिन नेपाल ल्याउन निजी कम्पनीले अनुमति पाएको हो । भारत बायोटेकको नेपालस्थित आधिकारिक एजेन्ट इमराल्ड फर्मा काठमाडौँले खोप आयात गर्न औषधि व्यवस्था विभागबाट अनुमति पाएको हो ।

    अनुमति पाएसँगै करीव दुई सातामा यो कम्पनीले खोप ल्याउन सक्ने भएको छ । यद्दपी निजी क्षेत्रले ल्याएको खोप सरकारले खरिद गर्ने वा निजी क्षेत्रलाई नै प्रयोग गर्न दिने भन्ने विषय भने निर्धारण भएको छैन । अहिले नेपालमा सरकारी स्तरबाट मात्र खोप आइरहेको छ ।


    नेपालमा अहिलेसम्म अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरी भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप प्रयोग भएको छ । भारतले अनुदानमा दिएको, नेपालले खरिद गरेको र विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअनुसार पाएको गरी हालसम्म २३ लाख ४८ हजार डोज खोप नेपाल भित्रिसकेको छ । नेपालले किनेको १० लाख डोज खोप भने नेपाल आउन बाँकी छ ।

  • फेरि बढ्यो कोरोना त्रास:सभा,जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

    फेरि बढ्यो कोरोना त्रास:सभा,जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि कोरोना संक्रमणको जोखिम बढेको हुनाले भीडभाड नगर्न अनुरोध गरेको छ ।

    मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गदै कोरोना त्रास बढेकाले सभा, जुलस, भेला, र्‍याली, बैठक, सेमिनार तथा जमघटमा नर्गन अनुरोध गरेको हो ।

    पछिल्लो समय भारत लगायतका देशमा कोरोना संक्रमण दर बढ्न थालेपछि नेपालमा समेत संक्रमण फैलिने अवस्थालाई मध्यजनर गर्दै उक्त निर्णय गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

    मन्त्रालयले हात धुन, मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्ने जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैमा अपिल गरेको छ।

  • ललितपुर महानगरभित्र पम्प्लेट र पोष्टर टाँस्न नपाइने

    ललितपुर महानगरभित्र पम्प्लेट र पोष्टर टाँस्न नपाइने

    ललितपुर । ललितपुर महानगरपालिका भित्र अब पम्प्लेट तथा पोस्टरहरु टास्न नपाइने भएको छ । सहरलाई सुन्दर र सफा बनाउन यस्तो अभियान चलाइएको महानगरपालिकाले जनाएको छ । घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बामा पम्प्लेट र पोष्टर टाँस्न पाइने छैन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले खम्बामा टाँसिएका पम्प्लेट, पोष्टर उप्काएर शुक्रबार यस अभियानको प्रारम्भ गरेका हुन् ।

    महानगरले सडकपेटीमा रोपिएको रुखमा ६ फिटसम्म हरियो रङ लगाउने भएको छ । यस्तो अभियान आइतबारबाट प्रारम्भ गरिने भएको हो । यसरी रंग लगाएको स्थानमा जथाभावी पम्प्लेट टाँस्न आउनेमाथि भने कारवाही हुने भएको छ ।

    महानगरले तत्काल यो काम बाग्मती पुलबाट जावलाखेल लगनखेलहुँदै सातदोबाटोसम्म, हिमालय होटेल, पाटनढोका, अशोक हल, क्वाल्खुहुँदै मंगलबजार, लगनखेलसम्म र पुल्चोक महानगरपालिका कार्यालयबाट मंगलबजार हुँदै ग्वार्कोसम्म गर्ने उल्लेख गरेको छ ।

    कसैले पोस्टर टाँस्दै गरेको भेटिए तत्कालै नियन्त्रणमा लिएर कारवाही अघि बढाइने भएको छ । महानगरले यसअघि महानगरपालिकाभित्र अव्यवस्थित मोटरसाइकल वर्कसप हटाएको छ । सडक पेटी व्यवस्थित बनाउने अभियान समेत जारी रहेको छ ।

  • भारत बायोटेकको खोपलाई नेपालमा प्रयोगको अनुमति

    भारत बायोटेकको खोपलाई नेपालमा प्रयोगको अनुमति

    काठमाडौं । भारत बायोटेकले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप कोभ्याक्सिनलाई नेपालमा प्रयोग अनुमति मिलेको छ । यो खोपलाई नेपालमा आकस्मिक प्रयोगको अनुमति दिइएको हो । आइतबार बसेको औषधी व्यवस्था विभागको बैठकले कोभ्याक्सिन खोपलाई आकस्मिक प्रयोगको अनुमति दिएको हो ।

    कम्पनीले सबै प्रक्रिया पूरा गरेपछि औषधि सल्लाहकार समितिको सिफारिस र मन्त्रिपरिषदले विगतमा गरेको निर्णयको आधारमा विभागले खोपको प्रयोगको अनुमति दिएको हो । यसअघि नेपालमा भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड र चिनियाँ कम्पनीले उत्पादन गरेको सिनोफार्म नामक खोपले मात्र आकस्मिक अनुमति पाएका हुन् । अहिले नेपालमा करिब १७ लाख खोप कोभिशिल्डको प्रयोग भइसकेको छ ।

  • नेपालमा अवैध भित्रिएका मोवाइल सेट नचल्ने प्रणाली जोडिँदै

    नेपालमा अवैध भित्रिएका मोवाइल सेट नचल्ने प्रणाली जोडिँदै

    काठमाडौं । नेपालमा अब अवैध रुपमा भित्रिएका मोवाइल सेटले काम नगर्ने भएको छ । नेपाल दूरसञ्‍चार प्राधिकरणले आगामी जेठबाट अवैध मोवाइलको सेट लक गर्ने प्रणाली कार्यान्वयनमा ल्याउँदैछ । प्राधिकरणले यो प्रणाली कार्यान्वयन गराउन आवश्यक यन्‍त्र उपकरण नेपाल ल्याइसकेको र जडानको काम भइरहेको जनाएको छ। यो सिस्टम प्रयोगमा आएसँगै नेपालमा दर्ता नभई अवैध रुपमा भित्रिएका मोवाइल सेटले काम गर्ने छैन ।

    विदेशबाट व्यक्तिगत रुपमा ल्याएका मोवाइल सेटलाई पनि बैध गराउन दर्ता गर्नु पर्ने भएको छ । प्रणालीको डेटाबेसमा नभएका डिभाइस ब्लक भएसँगै नेटवर्कले काम गर्ने छैन । आधिकारिक आयातकर्ताले भने डिभाइसको युनिक नम्बर दर्ता गराउने छन् । यसरी दर्ता भएका मोवाइल भने चल्नेछन् । सिस्टममा दर्ता भएका डिभाइसको डेटाबेस सेवा प्रदायकको नेटवर्कसँग जोडिएपछि काम गर्नेछ ।

    विदेशबाट फर्कदा समेत एउटा व्यक्तिले एक वर्षमा निश्चित डिभाइस मात्र दर्ता गर्न पाउने गरी नियम बन्ने छ । यद्दपी पहिलो ६ महिना भने यो प्रणाली परीक्षणका रुपमा संचालनमा ल्याउने तयारी प्राधिकरणको रहेको छ । नेपाली संचारमाध्यमहरुका अनुसार यसबीचमा प्राधिकरणले जनचेतनाको काम समेत गर्नेछ । ६ महिनापछि पनि बाध्यकारी बनाउने छ ।

  • अक्सफर्ड-आस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी छ : इएमए

    अक्सफर्ड-आस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी छ : इएमए

    लण्डन । युरोपेली सङ्घ ईयूको औषधी नियामक (ईएमए)ले कोरोना भाइरसको खोप अक्सफर्ड आस्ट्राजेनेका सुरक्षित रहेको बताएको छ । बीबीसीका अनुसार इएमएले गरेको एक समिक्षामा यो खोप सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष निकालिएको हो । यूरोपका १३ मुलुकले यो खोपको प्रयोग रोकेका छन् ।

    खोप लगाएमा रगत जम्ने समस्या भएको भन्दै खोप वितरण रोकिएको थियो । त्यसपछि इएमएले अध्ययन थालेको हो । इटली, स्पेन र जर्मनी सहितका केही देशले उक्त खोपको प्रयोगलाई शुक्रवारबाट पुनः सुरु गर्ने घोषणा समेत गरिसकेका छन् ।

    स्वीडेनले निर्णय लिन आफूलाई अझै केही दिन चाहिने उल्लेख गरेको छ । ईएमएकी कार्यकारी निर्देशक ईमिर कोकीले बिहीवार अनलाइन पत्रकार सम्मेलनमा यस्तो निष्कर्ष सुनाएको बीबीसीले लेखेको छ ।


    ईएमएकी कार्यकारी निर्देशक ईमिर कोकीले भनिन्, ‘यसले अस्पताल भर्ना हुनुपर्ने वा ज्यान नै गुमाउनसक्ने जोखिम भएका मानिसहरूलाई जोगाउन सघाउँछ जुन सम्भावित जोखिमभन्दा निकै महत्त्वपूर्ण कुरा हो।’

    आफ्ना खोप कार्यक्रममा आस्ट्राजेनेका प्रयोग गर्ने नगर्ने विषयमा ईयू देशहरूले एक्लाएक्लै निर्णय गर्न सक्नेछन्। यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बिहीवार देशहरूलाई उक्त खोपको प्रयोग जारी राख्न आग्रह गरेको थियो। उक्त खोपको सुरक्षाका सम्बन्धमा शुक्रवार उसले आफ्नो समीक्षाका नतिजा सार्वजनिक गर्दैछ।

  • खरीद गरेको थप खोप नआएपछि रोकियो खोप  अभियान

    खरीद गरेको थप खोप नआएपछि रोकियो खोप अभियान

    काठमाडौं । नेपालले भारतको सेरम इन्स्टिच्युटसँग किनेको खोप नआएपछि खोप अभियान नै प्रभावित बनेको छ । सरकारले तत्कालका लागि कोरोना खोप अभियान नै स्थगित गरेको छ । सेरम इन्स्टिच्युटलाई अग्रिम भुक्तानी दिएर खरीद गरेको २० लाख डोजमध्ये १० लाख डोज मात्र नेपाल आएको छ । बाँकि १० लाख डोज खोप नआएपछि अभियान स्थगित गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

    यसअघि भारतले १० लाख कोरोना खोप अनुदानमा दिएको थियो । त्यससँगै १४ माघबाट खोप अभियान सुरु भएको हो । प्रारम्भमा पहिलो प्राथमिकतामा रहेकालाई खोप दिइएको हो । सरकारले किनेको १० लाख डोज नेपाल आएपछि फागुन २३ देखि ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई खोप लगाउन थालिएको हो । बुधबारसम्म नेपालमा १६ लाख ७३ हजार २२७ जनाले कोरोना खोप लगाएका छन् । पहिलो डोज लगाएकालाई भने वैशाख ७ गतेदेखि दोस्रो डोज दिइने छ ।

  • बर्दियामा मान्छे खाने बाघलाई नियन्त्रणमा लिइयो

    बर्दियामा मान्छे खाने बाघलाई नियन्त्रणमा लिइयो

    बर्दिया । बर्दियामा मान्छे खाने बाघलाई नियन्त्रणमा लिइएको छ । बर्दियामा पछिल्लो समय बाघको आक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ । मानिसमाथि आक्रमण गरी आतंक फैलाएको एउटा बाघलाई आज बर्दियाको गेरुवा क्षेत्रबाट नियन्त्रणमा लिएको राष्ट्रिय निकुन्जले जनाएको छ ।

    बर्दिया राष्ट्रिय निकुञ्ज र एकरनियाघाटको खाता जैविक मार्गमा स्थानीयमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको वन्यजन्तु विज्ञ एवं राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।


    मंगलबार पनि उक्त बाघको आक्रमणमा परी बर्दिया राष्ट्रिय निकुञ्जको जंगलभित्र निगुरो टिप्न गएकी ६५ वर्षीया डल्लु राउतको ज्यान गएको थियो ।

    राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, सेना र निकुञ्जका कर्मचारीहरुको संयुक्त प्रयासमा उक्त बाघलाई बर्दियाको गेरुवा गाउँपालिका–४ राजीपुरबाट नियन्त्रणमा लिइएको हो । बाघलाई नियन्त्रणमा लिँदा लठ्याउने ओषधि प्रयोग गरिएको छ । नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जभित्र खोरमा राखिने भएको छ ।