Author: Vishwanews.com

  • किसानको वक्यौता नतिर्ने उद्योगको बैंक खाता रोक्का

    किसानको वक्यौता नतिर्ने उद्योगको बैंक खाता रोक्का

    काठमाडौं । सरकारले उखु किसानको पैसा नतिर्ने चिनी मिलको बैक खाता रोक्का गर्ने भएको छ ।

    अन्नपुर्ण सुगर एण्ड जनरल प्रालि, इन्दिरा सुगर एण्ड एग्रो प्रालि र लुम्बिनी चिनी उद्योग प्रालिको बैंक खाता रोक्का गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार अन्नपूर्ण र इन्दिरा उद्योगका सञ्चालक राकेश अग्रवाल हुन् । लुम्बिनी चिनी उद्योगका संचालक भने मनिष अग्रवाल हुन् ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव दिनेश भट्टराईले बताए ।

    उनका अनुसार महालक्ष्मी सुगर मिल्सबाट किसानले २१ करोड ४० लाख पाउनुपर्ने थियो । तर, उसले ११ करोड ५० लाखमात्र भुक्तानी दिएको छ ।

    अन्नपूर्ण सुगर मिलले ४२ करोड वक्यौता राखेकोमा ३ करोड ९० लाख मात्र बुझायो । इन्दिराले ७४ लाख रूपैयाँ मात्र भुक्तानी गरेको छ।

    श्री राम सुगर मिल्सबाट किसानलाई २६ करोड ७७ लाख रूपैयाँ पाउनुपर्नेछ ।

    खाता रोक्का बाहेक उखु किसानको बक्यौता नतिर्ने उद्योगको सबै आर्थिक कारोबार समेत रोक्का गर्न आन्तरिक राजश्व विभागमा पत्राचार गर्ने तयारी सहसचिव भट्टराईले उल्लेख गरे ।

    बाबा बैजुनाथ चिनी उद्योग र बाग्मती खाँडसारी, महाकाली र लुम्बिनी चिनी उद्योग भने सम्पर्कर्म आएका छैनन् ।

    अब गृह मन्त्रालयले ति उद्योगका संचालकलाई खोज्नेछ ।

    हिमालयन, इन्दुशंकर इष्टर्न, रिलायान्स र र भागेश्वर चिनी मिलले भने उखु किसानको सबै पैसा तिरेका छन् । त्यसो त सरकारले उखु किसानलाई दिने कति अनुदानसमेत कृषकसम्म पुग्न सकेको छैन ।

  • धादिङमा ग्याङ फाइट, एकको मृत्यु

    धादिङमा ग्याङ फाइट, एकको मृत्यु

    धादिङ । धादिङमा ग्याङ फाइट भएको छ । युवाको दुई समूहबीच भएको फाइटमा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    खनियाँवास गाउँपालिका–४ का २५ वर्षीय सन्तबहादुर तामाङको फाइटमा परी मृत्यु भएको हो ।

    उनी कर्तव्य ज्यान मुद्दामा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनामा केही युवा घाइते छन् ।

    त्यसमध्ये रविन तामाङलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

    मंगलबार राती भएको घटनाबाट ती युवाको मृत्यु भएको बताइएको छ । गाउँपालिकाको दार्खाभन्ने स्थानमा गुराँस युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताका दौरान विवादले उग्र रुप लिएपछि घटना भएको बताइएको छ ।

    प्रहरीले घटनामा संलग्न रोशन तामाङ र उनका भाइ रामलाई पक्राउ गरेको बताएको छ ।

  • नेपाली खेलाडी सावित्रा र अनित आइलीग खेल्न भारततर्फ

    नेपाली खेलाडी सावित्रा र अनित आइलीग खेल्न भारततर्फ

    काठमाडौं । नेपाली खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत भारतको सबैभन्दा ठूलो फुटबल  प्रतियोगिता आइलीग खेल्न भारततर्फ प्रस्तान गरेका छन् ।

    उनीहरु मंगलबार भारततर्फ लागेका हुन् । यी दुई खेलाडी नेपालको राष्ट्रिय टोलीमा जमेका खेलाडी हुन् ।

    उनीहरुलाई भारतीय क्लवले आवद्ध गरेको छन् । गतवर्ष दुबै खेलाडी सेथु क्लवबाट खेलेका थिए । यसपटक भने उनीहरुको टोली छुट्टिएको छ । यस पटक सावित्राले गोकुलम केरला एफसीबाट खेल्नेछिन् ।

    अनिता भने पुरानै क्लब सेथु एफसीबाट खेल्दैछिन् । अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक व्यावसायिक रुपमा खेल्ने साम्बा र अनिता पहिलो नेपाली महिला खेलाडी हुन् ।

    उनीहरुले यसअघि माल्दिभ्सको फुटसल लिग समेत खेलिसकेका छन् । गतवर्ष सावित्रले आइलीगमा विश्वसनीय प्रदर्शन गरेकी छिन् ।

    उनले ६ खेलका लागि मैदानमा उत्रदा ३ ह्याट्रिकसहित १५ गोल गरेकी थिइन । आई लिग बिहीबारबाट सुरु हुँदैछ।

  • अमेरिकामा समेत भेटियो कोरोना भाइरस

    अमेरिकामा समेत भेटियो कोरोना भाइरस

    काठमाडौं । कोरोना भाइरसले चीनमा ६ जनाको निधन भइसकेको छ । यो रोग अब अमेरिकासम्म पुगेको पाइएको छ ।

    संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेको संचारमाध्यमले उल्लेख गरेका छन् ।

    जनवरी १५ मा चीनबाट फर्किएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पाइएको छ ।

    रोग नियन्त्रण केन्द्र अमेरिकाका अनुसार ती व्यक्तिको परिचय गोप्य राखिएको छ ।

    भाइरस चीनको बुहानबाट फैलिएको भनिएको अनुमान छ । चीनमा मात्र ३ सय भन्दा बढीमा यसको संक्रमण फैलिसकेको छ ।

    खासगरी सामान्य रुघाखोकीजस्तै लक्षण देखिने र अन्त्यमा मृत्युसमेत हुने यो डरलाग्दो भाइरसले संसारभर संक्रमण लिन सक्ने सम्भावना छ ।

    किनकी संसारमा सबैभन्दा बढी घुमघाममा निस्कने मानिस चिनियाँ नै हुन् ।

    एजेन्सी

  • रिसोर्टमा ८ भारतीय पर्यटकको मृत्युबारे छानविन समिति गठन

    रिसोर्टमा ८ भारतीय पर्यटकको मृत्युबारे छानविन समिति गठन

    काठमाडौं । सरकारले मकवानपुरको दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा एउटै कोठामा ८ जना भारतीय पर्यटकको मृत्युबारे छानविन गर्न समिति गठन गरेको छ ।

    मंगलबार यस्तो घटना भएको हो । उनीहरुको मृत्युको कारण हिटर बालेर झ्याल ढोका थुनेका कारण निसास्सिएर भएको बताइएको छ ।

    घटनामा रिसोर्टको तर्फबाट के कस्तो कमजोरी भएको हो या होइन ?, रिसोर्टमा मापदण्ड पुगेको वा नपुगेको, सुरक्षात्मक प्रवन्ध भए या नभएको ?

    व्यवस्थापकीय कमजोरी भएको वा अन्य के कारणले यो घटना भएको हो भन्नेबारे छानविन गर्न सरकारले समिति गठन गरेको पर्यटन विभागले उल्लेख गरेको छ ।

    छानविन समितिको संयोजकको भूमिका पर्यटन विभाग होटेल शाखाका निर्देशकलाई दिइएको छ । समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि, प्रहरी, होटेल संघ नेपालका प्रतिनिधि तोकिएका छन् ।

    विभागका होटेल शाखाका अधिकृतले सदस्यसचिवको भूमिका निर्वाह गर्नेछन् ।

    समितिले आगामी दिनमा यस्ता दूर्घटना नदोहोरिन के गर्नुपर्छ भन्ने बारे पनि सिफारिस गर्नेछ । यस घटनाले अन्तरराष्ट्रिय पर्यटन बजारमा समेत नकारात्मक प्रभाव पार्ने सम्भावना रहेको छ ।

  • कोरोनाभाइरसले चीनमा लियो ६ ज्यान, महामारी फैलन सक्ने आंशका

    कोरोनाभाइरसले चीनमा लियो ६ ज्यान, महामारी फैलन सक्ने आंशका

    काठमाडौं । चीनमा हालै देखिएको कोरोनाभाइरस नामक रोगले चीनमा ६ जनाको ज्यान लिएको छ ।

    यो रोगलाई एक अज्ञात रोग मानिएको छ । चिनियाँ अधिकारीलेहरुका अनुसार चीनमा यस रोगले महामारीको रुप लिने सम्भावना बढेको छ ।

    चीनको मध्य क्षेत्र वुहान शहरमा केही हप्ता पहिले मात्र यस रोगका लक्षण देखिन थालेका थिए ।

    वुहानका नगरप्रमुख झाओ सिआनवाङका अनुसार उक्त रोगबाट प्रभावितको संख्या २९१ पुगेको छ । सोमबार र मंगलबार थप ८० जना बिरामी उपचारको खोजीमा अस्पताल पुगेका छन् ।

    त्यसमध्ये २ जनाको मंगलबार निधन भएको हो । यो रोगका किटाणू चिनियाँ नागरिक हुँदै अन्य मुलुकमा समेत फैलन सक्ने भन्दै एशियाली मुलुकले विमानस्थलमा चिनियाँ नागरिकमाथि परिक्षण बढाएका छन ।

    सुरूमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने र टाउको, जीउ दुख्ने जस्ता साधारण चिसो, फ्लु वा न्यूमोनियासँग मिल्दाजुल्दा लक्षण यस रोगमा देखिनेछन् । तर, केही समय गाँजेपछि यस रोगले ज्यानै लिन थालेको हो ।

    एजेन्सी

  • दिपक मनाङेले गरे एन्फा कास्कीका अध्यक्षमाथि हातपात

    दिपक मनाङेले गरे एन्फा कास्कीका अध्यक्षमाथि हातपात

    पोखरा । गण्डकी प्रदेश सांसद राजिब गुरुङ ‘दीपक मनाङे’ले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका छन्।

    पोखराको लेखनाथस्थित भण्डारढिकमा मंगलबारदेखि शुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिता उद्घाटनपूर्व विवाद उत्पन्न भएका थियो । सोहीक्रममा मनाङेले गुरुङमाथि हातपात गरेका हुन्।

    मनाङेले मुक्का र लात्ती हानेको गुरुङले बताएका छन् । गुरुङका अनुसार प्रतियोगितामा मनाङबाट एक टोली सहभागी भएको छ ।

    उक्त टोलीलाई ५ दिनदेखिको होटल खर्च मनाङेले मागेका थिए। खर्च दिन नमिल्ने बताएपछि आफूमाथि हातपात भएको उनको भनाई रहेको छ ।

    उनले बुधबार प्रहरीमा उजुरी दिने बताएका छन् । स्थानीय संचारमाध्यमहरुका अनुसार मनाङेले समेत झापड हानेको स्वीकार गरेका छन् ।

  • धादिङमा मिनी ट्रक दूर्घटना, ७ ले गुमाए ज्यान

    धादिङमा मिनी ट्रक दूर्घटना, ७ ले गुमाए ज्यान

    धादिङ । धादिङको निलकण्ठ नगरपालिका, ८ मा मिनी ट्रक दुर्घटना हुँदा ७ जनाको निधन भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

    घाइतेलाई हलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । ट्रकमा २५ जना सवार रहेको बताइएको छ ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा सेते गुरुङ, प्रेमबहादुर गुरुङ, बलवहादुर गुरुङ, नारायण श्रेष्ठ, विदुर गुरुङ, तिलकबहादुर गुरुङ र नजबहादुर गुरुङ रहेका छन्।

    उनीहरु सबैजना नीलकण्ठ नगरपालिका वडा नम्बर २ भुलभुले टोलका वासिन्दा रहेको बताइएको छ ।

    धादिङको ज्वालामुखी गाउँपालिका, ४ स्थित ढोला मण्डलीमाई दर्शन गरी घर फर्कने क्रममा मिनी ट्रक दूर्घटनामा परेको हो ।

    ग१ख ८०१२ नम्बरको मिनी ट्रकले ठूलो संख्यामा यात्रु बोकेको पाइएको छ ।

    सामान्यतया प्रयोजन विपरित सवारी साधनले यात्रु वा सामान बोक्न पाउँदैन । पछिल्लो समय दूर्घटनामा परी ज्यान गुमाउनेको संख्या निरन्तर बढ्दो क्रममा रहेको छ ।

  • दामनको एभरेष्ट पानारोमा रिसोर्टमा ८ जना भारतीयको मृत्यु

    दामनको एभरेष्ट पानारोमा रिसोर्टमा ८ जना भारतीयको मृत्यु

    काठमाडौं । भारतको केरेलाबाट नेपाल भ्रमणमा आएका ८ पर्यटकको दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा निधन भएको छ ।

    उनीहरु भारतको केरलाबाट १५ जनाको समूहमा आएका थिए । पोखरा, काठमाडौं हुँदै दामनमा बसेर उनीहरु स्वदेश फर्कने क्रममा रहेको बेला यस्तो घटना भएको हो ।

    प्रहरीका अनुसार मंगलबार राती सुतेका उनीहरु एउटै कोठामा थिए । दुई परिवारका बाबु, आमा र छोराछोरीको हिटरका कारण निसास्सिएर निधन भएको हो ।

    उनीहरु बिहान ८ बजेसम्म पनि नउठेपछि रिसार्टका कर्मचारी उठाउन पुगेका थिए । तर, ढोका नखोलेपछि कर्मचारीले ढोका खोलेका थिए ।

    ढोका खोल्दा ८ जना नै अचेत अवस्थामा थिए । त्यसपछि कर्मचारीले प्रहरीलाई बोलाएका थिए ।

    प्रहरी पुगेपछि काठमाडौंबाट हेलिकोप्टर बोलाइएको थियो । त्यतिन्जेल निकै ढिला भइसकेको थियो ।

    काठमाडौं पुर्याउनासाथ उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका थिए । दामन अत्यधिक चिसो स्थान हो ।

    राती हिटर बालेर सबै झ्याल ढोका थुनेर सुतेका कारण अक्सिजनको कमीले निस्सासिएर उनीहरुको ज्यान गएको बताइएको छ ।

    घटनामा ४ पुरुष र ४ महिला छन् । उनीहरुमध्ये पनि ४ जना भने बालबालिका हुन् ।

    मृत्यु हुनेमा ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया श्री सरीया, ५ वर्षीय बालक अभि, ७ वर्षीया अर्चना, ५ वर्षीया बालक बैष्णव र ९ वर्षीया बद्रा रहेका छन् ।

  • किसानको वक्यौता तिर्न उद्योगीलाई दिएको समयसीमा आज सकिदै, आधा उद्योगले तिरेनन्

    किसानको वक्यौता तिर्न उद्योगीलाई दिएको समयसीमा आज सकिदै, आधा उद्योगले तिरेनन्

    काठमाडौं । सरकारले उखु किसानलाई बक्यौता रकम तिर्न चिनी उद्योगीलाई दिएको समयसीमाको आज अन्तिम दिन हो । तर, सोमबार सम्म आधा उद्योगले किसानको पैसा दिएका छैनन् ।

    १८ पुसमा चिनी उद्योग र सरकारबीच भएको वार्तामा उखु किसानको वक्यौता रकम ७ माघसम्म उपलब्ध गराउने सहमति भएको थियो ।

    सो समयसीमा बितिसक्दा समेत किसानको भुक्तानी भने यथावत नै रहेको छ ।

    उद्योग विभागको तथ्यांक अनुसार चिनी उद्योगीले उखु किसानको ५९ करोड १६ लाख ५४ हजार ७५२ रुपैयाँ भुक्तानी दिनु बाँकि छ ।

    तर, १४ वटा चिनी उद्योगमध्ये आधाले मात्र उखु किसानको बाँकी बक्यौता तिरेको छन् ।

    अरुको भने केही रकम आएको छ भने केही रकम बाँकि छ । नवलपरासीको लुम्बिनी सुगर मिलका सञ्चालकको दुई वर्ष अगाडी नै मृत्यु भएको थियो ।

    सोहीकारण उनका परिवार सम्पर्कमा नआएका कारण उत्त उद्योगले कति तिर्न बाँकि रहेको छ भन्ने खुलेको छैन ।

    रौटहतको श्रीराम सुगर मिलले पुरै रकम तिर्न सकेको छैन । उसले तिर्ने पैसा नभएको भन्दै जग्गा बेच्ने प्रस्ताव गरेको छ ।

    सर्लाहीको अन्नपूर्ण सुगर मिल जम्मा ३ करोड ९० लाख भुक्तानी गरेपनि अरु बाँकि छ । उसको ४२ करोड रकम बक्यौता छ ।

  • नेपाल र ओमानसँगको सिरिजका लागि अमेरिकी टोली घोषणा

    नेपाल र ओमानसँगको सिरिजका लागि अमेरिकी टोली घोषणा

    काठमाडौं । विश्वकप क्रिकेट लिग २ अन्तर्गत हुने सिरिजमा खेल्न अमेरिकाले राष्ट्रिय टोली घोषणा गरेको छ । सिरिज नेपालमा माघ अन्तिम साता संचालन हुँदैछ ।

    त्रिकोणात्मक एकदिवसीय सिरिजमा भाग लिन आउनु अगाडी अमेरिकाले भारतको मुम्बईमा अभ्यास गर्ने जनाएको छ ।

    अमेरिकाले शौरभ नेत्रभाल्करको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको युएसए क्रिकेट एशोसिएशनले जनाएको छ ।

    नेपाल, अमेरिका र ओमानले भाग लिने यो सिरिज माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा संचालनको तयारी छ ।

    यता, नेपालको टोली सोही प्रतियोगिताका लागि अहिले पोखरामा बन्द प्रशिक्षणमा रहेको छ ।

    अमेरिकी टीमले भने भारतमा अभ्यास खेलसमेत खेलेर नेपाल आउनेछ । टोली २४ जनवरीमा २४ मा मुम्बई आइपुग्ने कार्यक्रम रहेको अमेरिकाले जनाएको छ ।

    उसले भारतमा मुम्बई क्रिकेट एसोशिएसन ११ सँग ३ वटा अभ्यास खेल खेल्नेछ ।

    यस्तो छ अमेरिकाको टीम
    शौरभ नेत्रभाल्कर (कप्तान), स्टेभन टेलर, करिमा गोरे, आयन हल्याण्ड, अक्ष होमराज, एलमोर हचिनसन, आरोन जोन्स, नोथुस केन्जिगे, ज्याभिएर मार्सल, मोनाक पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरुन स्टेभेन्सन, रस्ती थोरन

  • ओली र मोदी आज भिडियो कन्फ्रेन्समा जोडिदै

    ओली र मोदी आज भिडियो कन्फ्रेन्समा जोडिदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी आज भिडियो कन्फ्रेन्समा जोडिने भएका छन् ।

    भारतको नयाँ दिल्लीबाट मोदी र सिंह्दरबारबाट जोडिने ओलीले आज खासगरी दुई परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    भारतीय सहयोगमा विराटनगरमा निर्माण भएको एकिकृत भन्सार जाँच चौकी (आइसीपी) आज भारतले नेपाललाई हस्तान्तरण गर्दैछ ।

    करीव ३ वर्ष अगाडी निर्माण थालिएको यो परियोजना निर्माणमा भारतले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो ।

    आजै, गोरखामा भारतीय आर्थिक सहयोगमा बनेका भूकम्पपिडितका घर पनि आजै हस्तान्तरणको कार्यक्रम राखिएको छ ।

    भारतले करीव ५० हजार घर निर्माणमा सहयोग गरेको हो । भारतले नुवाकोट र गोरखामा घर निर्माणका लागि सहयोग गरेको थियो ।

  • प्रहरीकै गाडीमा ट्राफिकले ह्वीललक (बुट) लगाएपछि

    प्रहरीकै गाडीमा ट्राफिकले ह्वीललक (बुट) लगाएपछि

    काठमाडौं । काठमाडौंको अनामनगरमा प्रहरीको गाडी ट्राफिक कारवाहीमा परेको छ । सोमबार ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको हो ।

    महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक गरेको हो ।

    सडक नै ढाकेर रोकेर राखिएको उक्त गाडीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको भनाई छ ।

    उक्त गाडीलाई सर्वसाधारणलाई लाग्ने नियमसरह चिट काटेर कारबाहीको दायरामा ल्याइएको हो ।

    नेपालमा पछिल्लो समय ट्राफिक प्रहरीले गल्ती गर्ने सबै प्रकारका सवारी साधनलाई कारवाही गर्न थालेको छ ।

    यसअघि भौतिक मन्त्री र गृह मन्त्रालयका सहसचिवको सवारीमा समेत ट्राफिक प्रहरीले ह्वील लक लगाइसकेको छ ।

  • १२ माघमा सभामुख निर्वाचन, उपभामुखले दिइन् राजिनामा

    १२ माघमा सभामुख निर्वाचन, उपभामुखले दिइन् राजिनामा

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख चयनको मिति १२ माघमा राखिएको छ ।

    सोमबार प्रतिनिधिसभाको बैठकले उक्त दिनका लागि निर्वाचनको मिति तय गरेको हो । सोमबार जेष्ठ सदस्य महन्थ ठाकुरले बैठक संचालन गरेका थिए ।

    ठाकुरले मिति तोकेलगत्तै संसद सचिवालयले सभामुख निर्वाचनको तालिका सार्वजनिक गरेको हो ।

    सभामुखको उम्मेदवारी दर्ताको समय मंगलबार राखिएको छ । नेकपाले अग्नी सापकोटालाई आफ्नो उमेद्वार बनाएको छ ।

    उनी निर्वाचित हुने पक्का छ । १५ असोजयता सभामुख पद खाली थियो । तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको आरोप लागेपछि उनले राजिनामा गरेका हुन् ।

    यसैबीच, उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सोमबार नै राजीनामा गरेकी छिन् ।

    उनको राजिनामा सँगै सापकोटालाई सभामुख हुने बाटो समेत खुलेको हो ।

    संविधान अनुसार एउटै पार्टीबाट सभामुख र उपसभामुख हुन पाइदैन । अर्कोतर्फ महिला र पुरुष फरक फरक पदमा हुनुपर्छ ।

  • श्रीले थाल्यो जनकपुर उडान, पोखरामा पनि उड्ने

    श्रीले थाल्यो जनकपुर उडान, पोखरामा पनि उड्ने

    काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी श्री एयरलाइन्सले जनकपुरमा नियमित उडान थालेको छ । दैनिक एक उडान गर्ने गरी जनकपुरमा श्रीले सेवा थालेको हो ।

    कम्पनीका अनुसार अब जनकपुरमा २ हजारमै श्रीले उडान सेवा दिने भएको छ ।

    यसअघि बुद्धले करीव ४ हजार रुपैयाँ भाडा लिइरहेको थियो ।

    प्रवद्र्धनात्मक भाडा २ हजार राखेको र पछि पनि अधिकतम ३५ सय भन्दा माथि भाडा नजाने कम्पनीको भनाई छ ।

    यसैबीच श्रीले सोमबार नै पोखरामा परीक्षण उडान गरेको छ । उडान सफल भएको कम्पनीले जनाएको छ ।

    अब निकट भविश्यमा श्रीले पोखरामा समेत उडान गर्ने भएको छ । श्रीको उडानपछि पोखरामा समेत हवाई भाडामा निकै प्रतिस्पर्धा हुनेछ । किनकी यहाँ पनि श्रीले ठूलो क्षमताको जहाज उडाउँदैछ ।

  • नेकपाको आचार संहिता : तँ उच्चारण निषेध

    नेकपाको आचार संहिता : तँ उच्चारण निषेध

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना नेता, कार्यक्रता र सदस्यका लागि ११ बुँदे जारी आचार संहिता सार्वजनिक गरेको छ ।

    यस आचार संहितामा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् ।

    जसअनुसार पारिवारिक महत्वलाई मूख्य स्थानमा राख्न भनिएको छ ।

    सबै सदस्य जुटेर पारिवारिक बैठक गर्नुपर्ने, दिनभर गर्नुपर्ने घरको कामको कार्यविभाजन गर्नुपर्ने, अप्ठ्यारो कामको जिम्मा आफूले लिनुपर्ने भनी आचारसंहितामा बनाइएको छ ।

    नेकपामा परिवारका सदस्य र अरुसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण हुनुपर्ने समेत आचार संहितामा उल्लेख गरिएको छ ।

    अब कुनै पनि कार्यक्रताले हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्ण रुपमा बन्द गर्नुपर्ने गरी आचार संहिता ल्याइएको छ ।

    नेकपाले महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनबीच वनभोज वा सहभोज गर्नुपर्ने समेत आचार संहितामा राखेको छ ।

    यी कार्यक्रममा मद्यपान, धुमपान वा छाडा व्यवहारमा भने प्रतिबन्ध लगाइएको छ ।

    मनोरञ्जनका निम्ति शुभकामना आदानप्रदान, मेलमिलाप, सार्वजनिक महत्वका विषयमा छलफल, नाचगान, नाटक, प्रवचन आदि सञ्चालन गर्न भने छूट दिइएको छ ।

    छुवाछुत र महिला हिंसा वर्जित गरिएको छ ।

    आचार संहिता पालना नगरेमा वा पटकपटक सचेत गराउँदा पनि नसुध्रिए कानूनसँग सवालमा कानून बमोजिम र पार्टी अनुशासनसँग सम्बन्धित विषयमा पार्टी विधान, नियमावली र निर्णय अनुसार कारबाही गरिने सर्कुलर जारी भएको छ ।

  • २ मार्चदेखि नारिता उड्ने भयो नेपाल एयरलाइन्स

    २ मार्चदेखि नारिता उड्ने भयो नेपाल एयरलाइन्स

    काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको नारितामा उडानको मिति सार्वजनिक गरेको छ ।

    निगमका अनुसार २ मार्च २०२० बाट निगमको नारिता उडान निश्चित भएको हो । यसअघि निगमले जापानकै ओशाका शहरमा उडान गरिरहेको थियो ।

    अब ओशाका बन्द गरेर निगमले नारितामा उडान बिस्तारको तयारी गरेको छ । यस रुटमा साताको तीन उडान गर्ने निगमको तयारी छ ।

    जापानको राजधानी टोकियो नजिकैको यस विमानस्थलबाट धेरै नेपालीले सेवा प्राप्त गर्नेछन् ।

    यसबाहेक जापानी पर्यटक आकर्षित गर्न समेत यो गन्तब्य महत्वपूर्ण सावित हुने कम्पनीको विश्वास रहेको छ ।

    निगमले यस रुटमा एयरबस ३३० वाइडबडी जहाजबाट उडान गर्नेछ । यो निगमको आठौ गन्तब्य हो ।

  • यमनमा ड्रोन हमला, १ सय भन्दा बढी सैनिक मारिए

    यमनमा ड्रोन हमला, १ सय भन्दा बढी सैनिक मारिए

    काठमाडौं । यमनमा सैन्य शिविरस्थित एक मस्जिदमा मिसाइल तथा ड्रोन आक्रमण भएको छ ।

    यसबाट १ सय भन्दा बढी सैनिकको ज्यान गएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । अन्य सयौं यमनी सैनिक घाइते भएको समाचारमा जनाएको छ ।

    आइतबार भएको यस आक्रमणमा हूती विद्रोहिको हात रहेको बताईएको छ ।

    ईरान समर्थित हूती विद्रोही र साउदी अरब नेतृत्वको सैन्य गठबन्धनबीच यमनमा युद्ध भइरहेको छ ।

    केही महिनायता शान्त रहेको यमनमा पुनः डरलाग्दो आक्रमण भएको हो ।

    सैन्य सूत्रका अनुसार हूती विद्रोहिका सेनाले १७० किलोमीटर दूरीबाट आइतबार साँझको नमाज हुने समयमा आक्रमण गरेका थिए ।

    हमलामा १ सय ५० भन्दा बढी सैनिक घाइते रहेको र उनीहरुको उपचार भइरहेको बताइएको छ ।

    यस हमलाको एक दिन पहिला सरकारी सैनिकले उत्तरी यमनमा विद्रोहीविरुद्ध सर्च अभियान चलाएका थिए ।

    एजेन्सी

  • आजबाट नयाँ सभामुख चयन प्रक्रिया शुरु

    आजबाट नयाँ सभामुख चयन प्रक्रिया शुरु

    काठमाडौं । यसअघि तीन पटकसम्म सूचना टाँस गरी स्थगित भएको प्रतिनिभिसभाको बैठक आज बस्दैछ ।

    आजको बैठकले सभामुख चयन प्रक्रिया थाल्ने बताइएको छ । त्यसक्रममा उपसभामुखको राजिनामा समेत आउने छ ।

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले शनिबार मात्र सभामुखका उम्मेदवारको टुंगो लगाएको थियो । अब सभामुख अग्नी सापकोटा बन्दैछन् ।

    पुस ११, १६ र २७ गतेका लाई डाकिएको बैठक भने नेकपाबाट सभामुखका उम्मेदवार आउन ढिलाई भएका कारण स्थगित गरिएको थियो ।

    बैठक आइतबार १ बजेका लागि बोलाइएको छ । आजको बैठकले सभामुख निर्वाचनको कार्यतालिका बनाउने छ । सभामुख चयन ३ दिनभित्र पुरा हुने छ ।

  • काठमाडौंमा विजुली बसको नाटक, बागमती प्रदेश सरकारले चलाउने

    काठमाडौंमा विजुली बसको नाटक, बागमती प्रदेश सरकारले चलाउने

    काठमाडौं । काठमाडौं उपत्यकामा भएको ट्रली बस राजनीतिक खिचातानीका कारण अस्ताएको करीव एक दशक पुग्न लागिसक्यो ।

    नेपाल विद्यूत प्राधिकरण भन्छ, नेपाल अब विद्यूतमा आत्मभिर्नर भयो, खपत बढाइदिनुस । तर, विद्यूत खपत बढाउने गरी अगाडी बढेका धेरै योजना भने अलपत्र अवस्थामा छन् । त्यस्तै भएको छ विजुली बसमा समेत ।

    साझा यातायातले ३ सय वटा विजुली बस चलाउने गरी सरकारबाट हतार हतार ३ अर्ब रुपैयाँ बजेट लियो ।

    अर्थमन्त्रीलाई पनि गत आवको विकास खर्च धेरै देखाउनु थियो, हतारमै निर्णय गराइदिए । तर, अहिलेसम्म पनि विजुली बस किन्नु त कहाँ हो कहाँ प्रक्रिया पनि थालिएको छैन ।

    यसमा साझा, केन्द्र सरकार सँगै स्थानीय र प्रदेश सरकारले समेत सहकार्य गरेका थिए ।

    तर, अब यो सम्झौताबाट बागमती प्रदेश सरकार पछि हटेको छ ।

    अब प्रदेश सरकार आफैले विजुली बस चलाउने निर्णय गरेको छ । बागमती प्रदेश सरकारले ३० करोड दिने सम्झौत गरेकोमा त्यसबाट सरकार पछि हट्दै आफै चलाउने निर्णयमा पुगेको हो ।

    काठमाडौं महानगरपालिकाले १० तथा ललितपुर महानगरपालिकाले साढे २ करोड दिने र साझा यातायातले साढे २ करोड लगानी गर्ने गरी कूल ३ अर्ब ४५ करोडको योजना अगाडी बढेको थियो ।

    तर, त्यो सफल हुने नदेखिएपछि प्रदेश सरकार आफै सक्रिय बन्न निष्कर्षमा पुगेको छ । प्रदेश सरकारले चलाउने साझा बस भने उपत्यकामा मात्र सिमित हुने छैन । यसले प्रदेशभर सेवा दिने लक्ष्य राखेको बताईएको छ ।

  • यूएईमा १ वर्षमै गयो १०३ नेपालीको ज्यान

    यूएईमा १ वर्षमै गयो १०३ नेपालीको ज्यान

    यूएई । पछिल्लो एक वर्षमा यूइएमा मात्र १ सय ३ जना नेपालीको ज्यान गएको छ ।

    यूएईस्थित नेपाली दूतावासको तथ्यांक अनुसार यसरी ज्यान जानेमा ९९ जना पुरुष छन् भने ४ जना महिला छन् ।

    यस मुलुकमा दूर्घटनाका कारण धेरैले ज्यान गुमाउँछन् । खासगरी तिबै गतिमा सवारी साधन चल्ने भएकाले सानो गल्तीको सजाय नि यहाँ मृत्यु हुने भएको छ । नेपाली युवाका लागि यूएईमूख्य श्रम बजार हो ।

    दूतावासका अनुसार सन् २०१९ मा यति मानिसको ज्यान गएको हो । सन् २०१९ मा सडक दुर्घटनाले २३ जना नेपालीको ज्यान लिएको छ । १ महिला र ५६ जना पुरुषको भने प्राकृतिक मृत्यु भएको बताइएको छ ।

    १ महिला र १७ पुरुषले भने आत्महत्या गरेका हुन् । कामको अधिक चाप र घरबाट आउने अपेक्षाकृत दवावका अनुसार धेरै नेपाली आत्महत्या गर्न बाध्य हुन्छन् ।

    पछिल्ला वर्षहरुमा निरन्तर यस मुलुकमा नेपालीले ज्यान गुमाइरहेका छन् ।

    सन् २०१८ मा ९८ को ज्यान गएको तथ्यांक थियो । यस मुलुकले करीव साढे २ लाख नेपालीलाई रोजगार दिइरहेको छ ।

    अहिले वर्षेनी करीव १ हजारको संख्यामा नेपालीहरुले विदेशमा ज्यान गुमाउँछन् । रोजगारीको सिलसिलामा करीव ४५ लाख नेपाली विदेशमा रहेको अनुमान रहेको छ ।

  • अन्नपूर्णमा हराएका ७ जनाको पत्ता लागेन, सोमबार खोजी जारी रहने

    अन्नपूर्णमा हराएका ७ जनाको पत्ता लागेन, सोमबार खोजी जारी रहने

    पोखरा । अन्नपूर्ण पदयात्राका क्रममा हराइरहेका ७ जना (४ कोरियाली र ३ नेपाली)को खोजी कार्य आइतबारसमेत जारी रह्यो ।

    तर, बाक्लो हिउँ जमेका कारण उनीहरुका सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको कास्की प्रहरी जनाएको छ ।

    अन्नपूर्ण आधार शिविर जाने बाटोको देउराली आसपास गएको हिमपहिरोमा उनीहरु परेको बताइएको छ ।

    पहिरोले उनीहरुलाई पुरेका कारण जिवित फेला पार्ने सम्भावना भने छैन ।

    शुक्रबारदेखि उनीहरु हराइरहेका छन् । शनिबार अपरान्हदेखि मौसम सफा भएपनि उच्च पहाडी र हिमाली भेगमा जमेको बाक्लो हिँउले समस्या सिर्जना गरेको हो ।

  • गायिका आस्था राउतलाई पक्रन अनुमति

    गायिका आस्था राउतलाई पक्रन अनुमति

    काठमाडौं । ड्यूटीमा खटिएको प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको कसुरमा गायिका आस्था राउतमाथि कारवाही हुने भएको छ ।

    उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

    प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउको अनुमति दिएको हो ।

    अब उनी प्रहरीको फरार सूचीमा परेकी छिन् । आस्थ अहिले सिक्किममा छिन् ।

    बुधबार काठमाडौंबाट भद्रपुर जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै उनले फेसबुकबाट भिडियो सन्देश जारी गरेकी थिइन् ।

    उक्त सन्देशमा उनले प्रहरी संगठनमाथि अमर्यादित भाषा बोलेकी छिन् भने तल्लो तहको कर्मचारीलाई होच्याएर बोलेकी छिन् ।

    त्यसपछि त्रिभुवन विमानस्थलको सीसीटीभी क्यामराले खिचेको भिडियो सार्वजनिक गरेको थियो ।

    भिडियोमा प्रहरी भन्दा आस्थाले प्रहरीलाई दूब्र्यवहार भएको देखिएपछि उनीमाथि कारवाहीको पक्रिया अगाडी बढाइएको हो ।

    उनको भिडियो भाइरल भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो ।

    त्यसपछि रानीपोखरीबाट विमानस्थलमा भएको घटनाबारे छानबिन सुरु भएको हो ।

    सीसीटीभी फुटेजबाट आस्थामाथि दुर्व्यवहार नभइ, उनले महिला प्रहरी रमिला श्रेष्ठलाई अभद्र व्यवहार गरेको देखिएपछि प्रहरीले कारवाही अगाडी बढाउन लागेको हो श्रेष्ठले पनि अभद्र व्यवहार सम्बन्धी कसुरमा कारबाहीको माग गर्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा किटानी जोहरी दिएकी छन् ।

    सीसीटीभी क्यामरा बाहिरीएपछि भने आस्थाले सार्वजनिक रुपमा माफि मागेकी थिइन् ।

  • नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष खरेलले राजिनामा दिए

    नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष खरेलले राजिनामा दिए

    काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा गरेका छन् ।

    आइतबार बिहान पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा पत्र बुझाएर गएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

    उनी प्रधानमन्त्री केपी शर्मा ओलीको बलमा दोस्रो पटक कार्यकारी भूमिकामा नेपाल एयरलाइन्स पुगेका हुन् ।

    तर, दुई पटक नै उनी असफल भई राजिनामा दिन बाध्य भए । यसअघि उनी २०७० सालमा महाप्रवन्धक बनेर मात्र १ वर्ष भित्रै राजिनामा गरी भागेका थिए ।

    अहिले पनि भदौ ३१- २०७५ को मन्त्रीपरिषद् बैठकबाट निगमको नेतृत्वमा आएका उनी सरकारको अपेक्षा अनुसार काम गर्न नसकेपछि आफै पाखा लागेका छन् ।

    त्यसो त मन्त्रालयले समेत उनलाई सहयोग गरेका थिएनन् । मन्त्री भट्टराईले पटक पटक पद छाड्न उनलाई दवाव दिएका थिए ।

    उनी कार्यकारी अध्यक्षको भूमिकामा नियुक्त हुँदा महाप्रवन्धक सुगतरत्न कंसकार थिए ।

    उनले भित्राएका दुई वाइडबडी जहाजसमेत खरेलले पुरै क्षमतामा भित्राउन सकेनन् । भएका जहाजसमेत थन्किएर बसेका छन् ।

  • अग्नी सापकोटा बन्ने भए नयाँ सभामुख

    अग्नी सापकोटा बन्ने भए नयाँ सभामुख

    काठमाडौं । अग्नी सापकोटा नयाँ सभामुख बन्ने भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उनको नाम सिफारिस गरेको हो ।

    यसअघि नेकपाका शीर्ष नेतृत्वले सापकोटाको नाममा सहमति जुटाएको थियो । त्यसपछि सचिवालयले बैठकले औपचारिक रुपमा उनको नाम अनुमोदन गरेको हो ।

    अब सोमबार हुने निर्वाचन प्रक्रियाबाट उनी सभामुख बन्ने भएका छन् । सोमबार नै नेकपाको संसदीय दलको बैठक समेत बस्ने भएको छ ।

    सभामुख उमेदवार बन्ने सापकोटा नेकपा स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य हुन् ।

    उनी नेकपाको पार्टी एकताअघि माओवादी खेमामा रहेका थिए । उनी जनयुद्धमा सक्रिय भूमिकामा थिए भने जनआन्दोलनमा समेत माओवादीको उपत्यका ब्यूरो सम्हालेका थिए ।

    उनी सांसदका रुपमा तीन पटकसम्म निर्वाचित भइसकेका छन् । उनी सिन्धुपाल्चोकका स्थायी बासिन्दा हुन् ।

    उनी नेकपा अध्यक्ष प्रचण्डका विश्वासपात्र हुन् । प्रचण्डकै सिफारिसमा उनी सभामुख बन्न सफल भएका हुन् । ०५१ सालयता उनी अनवरत रुपमा प्रचण्डको सहयोगीका रुपमा रहिआएका छन् ।

    पूर्वसभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको आरोप लागेपछि उनले राजिनामा दिएका थिए । त्यसपछि यो पद रिक्त थियो ।

    नेकपामा निकै विवाद र वहसका बीच नयाँ सभामुखको टुंगो लागेको हो ।

  • भारतमा ४ बलात्कारीलाई १ फेब्रुअरी बिहान ६ बजे फाँसी

    भारतमा ४ बलात्कारीलाई १ फेब्रुअरी बिहान ६ बजे फाँसी

    नयाँ दिल्ली । निर्भया काण्डका दोषिमध्ये ४ जनालाई आगामी १ फेब्रुअरीमा फाँसी दिइने भएको छ ।

    भारतको नयाँ दिल्लीमा गुड्दै गरेको बसमा निर्भयाको बलत्कार भएको थियो । बलात्कारपछि हत्यासमेत गरेको आरोपमा दोषि देखिएका ४ जना अहिले मृत्यु कुरिरहेका छन् ।

    दिल्लीको पाटियाला कोर्टमा उनीहरुलाई एक फेब्रुअरी बिहान ६ बजे फाँसी दिइने भएको छ ।

    यसअघि २२ जनवरीमा मिति तोकिएको थियो । तर, दोषिमध्ये एक जनाले राष्ट्रपतिसमक्ष जीवन रक्षाको याचना गर्दै निवेदन दिएका थिए ।

    राष्ट्रपतिबाट याचना खारेज भएपछि फाँसी दिने तय भएको हो । यस काण्डमा ६ जना दोषि सावित भएका थिए ।

    त्यसमध्ये एक जनाले आत्महत्या गरिसकेका छन् ।

    १ जना घटना घट्ने समयमा नावालिग रहेको भन्दै सुधारगृहमा पठाइउको छ भने ४ जनालाई फाँसीमा झुण्डयाउन लागिएको हो । करीव ६ वर्ष अगाडीको यो घटनाले भारत स्तभ्द भएको थियो ।

  • ह्यारी र मेघनको शाही उपाधी खारेज

    ह्यारी र मेघनको शाही उपाधी खारेज

    लण्डन । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेघनको शाही उपाधी खारेज भएको छ ।

    अब उनीहरुले हिज–हर रोयल हाइनेस उपाधि प्रयोग गर्न पाउने छैनन् । यसका साथै पब्लिक फन्डका रुपमा प्राप्त हुने रकमको भोगाचलन समेत रोकिएको छ ।

    बेलायती राजदरबारले शनिबार यस्तो घोषणा गरेको हो। राजकुमार दम्पतीले राजखानदानबाट अगल बस्ने निर्णय गर्दै त्यसको जानकारी महारानीलाई गराएका थिए ।

    अब यो दम्पतीले बेलायतकी महारानीलाई औपचारिक रुपमा प्रतिनिधित्व गर्न सक्ने छैनन् ।

    ड्युक एण्ड डचेस अफ ससेक्स (ह्यारी दम्पती)को लागि करदाताबाट प्राप्त भएको २ दशमलब ४ मिलियन पाउण्ड रकममा अब यो दम्पनीको हक नरहने दरवारले उल्लेख गरेको छ ।

    सोमबार राजपरिवारका वरिष्ठ सदस्यहरुबीच बैठक बसेको थियो । बैठकका निर्णय शनिबार मात्र सार्वजनिक गरिएको हो ।

    बेलायती महारानी एलिजावेथका उनीहरु नाती पुस्ता हुन् । महारानीले परिवारको बारेमा रचनात्मक र सहयोगी बाटो पहिल्याउने काम भएकोमा खुसी व्यक्त गरेकी छिन् ।

  • मोटरसाइकललाई ठक्कर दिएको कारभित्र पेस्तोल

    मोटरसाइकललाई ठक्कर दिएको कारभित्र पेस्तोल

    जनकपुर । प्रहरीले दुई चाइनिज पेस्तोलसहित जनकपुरबाट दुई जनालाई पक्राउ गरेको छ । शनिबार मोटरसाइकललाई ठक्कर दिएर दूर्घटनामा परेको कारमा जाँच गर्दा चाइनिज पेस्तोल फेला परेको हो ।

    प्रहरीका अनुसार बा १४ च ७४५९ नम्बरको कारले ज ९ प ५८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ दूर्घटना भएको थियो ।

    त्यसपछि घटनास्थल पुगेर प्रहरीले जाँच थाल्यो । त्यसक्रममा कारको डिक्की भित्र ठूलो चाइनिज पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ६ राउण्ड र म्याग्जिन १ थान भेटिएको छ ।

    धनुषा प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा धनुषा जिल्ला, क्षिरेश्वरनाथ नगरपालिका वडा नं, १ रम्दैया का ४२ वर्षीय जितेन्द्र कुमार यादव र वडा नं, ५ का ३० वर्षीय कुमोद नारायण झा रहेका छन् ।

    तराईमा अवैध हतियारको विगविग िरहेको छ । खासगरी खुला सिमानाका कारण यसरी हतियार भित्रने गर्छन् ।

  • विकासमा अवरोध, सोलुमा हवाइ फायर

    विकासमा अवरोध, सोलुमा हवाइ फायर

    सोलुखुम्बु । सोलुखुम्बुको तिङ्लामा तनाव भएको छ । शनिबार तिङ्लाबासीले राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्ने कार्यक्रम विथोलेपछि प्रहरीले हवाई फायर गर्नु परेको छ ।

    प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरी भीड नियन्त्रणमा लिनु परेको थियो ।

    तर, प्रदर्शनकाीले भने दर्जनभन्दा बढी मोटरसाइकल र एउटा गाडीलाई जलाएर ध्वस्त बनाएका छन् ।

    तिङ्लामा निर्माण भएको  लाम्मानेमा ३३ केभी प्रसारण लाइनको सबस्टेशनबाट जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार पत्तालेमा कार्यक्रम राखिएको थियो ।

    तर तिङ्लाबासी त्यस कार्यको विरोधमा उत्रिएका हुन् ।

    आयोजनाबाट मुख्य प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका, ११, तिङ्लामा विद्युतीकरण नै नभएको अवस्थामा केन्द्रिय प्रसारण लाइनमा जोडिएको विरुद्धमा आन्दोलन गर्नु परेको स्थानीयको गुनासो रहेको छ ।

  • अन्नपूर्ण आधार शिविर जाने बाटोमा आधा दर्जन हिमपहिरो, दर्जनौं व्यक्ति परेको आशंका

    अन्नपूर्ण आधार शिविर जाने बाटोमा आधा दर्जन हिमपहिरो, दर्जनौं व्यक्ति परेको आशंका

    पोखरा । अन्नपूर्ण आधार शिविर एबिसी) पदमार्गमामा शुक्रबार गएको हिउँपहिरोमा दर्जनौं व्यक्ति परेको आशंकामा शनिबार पनि खोज तथा उद्दार जारी रहेको छ ।

    प्रहरीका अनुसार शनिबार मात्र करीव २ सय पर्यटक तथा नेपालीलाई सुरक्षित स्थानमा ल्याइएको छ । ६० जना भन्दा बढी पर्यटक तथा नेपाली गाइड र भरिया हराइरहेको आंशका छ ।

    यद्दपी र्संख्या यकिन भइसकेको छैन । ७ जना भने हिँउ पहिरोल बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसमध्ये ४ जना कोरियाली र ३ जना नेपाली रहेका छन् ।

    बिहीबार बाट बिग्रिएको मौसमले उच्च हिमाली भेगमा भारी हिमपात भएको थियो । सोही हिमपातले पहिरो ल्याएको हो ।

    शनिबार दिनभर हेलिकोप्टर परिचालन गरी २ सय भन्दा बढीलाई सुरक्षित स्थानमा ल्याइरहेको छ ।

    अन्नपूर्ण आधार शिविर पदमार्ग अन्तर्गत एबिसी, माछापुच्छ्रे आधार शिविर लगायत स्थानबाट पर्यटक तथा सहयोगीका उद्दार भएको हो । यहाँ संचार सम्पर्क विच्छेद भएको छ ।