Author: Vishwanews.com

  • मेलम्चीको काम अब नयाँ ठेकेदारमार्फत

    मेलम्चीको काम अब नयाँ ठेकेदारमार्फत

    काठमाडौं । नेपाल सरकारले अलमलमा रहेको मेलम्ची खानेपानी आयोजना अगाडी बढाउन नयाँ ठेकेदारलाई जिम्मा दिने भएको छ ।

    इटालियन कम्पनी सीएमसीले काम अधुरै छाडि भागेपछि काठमाडौं बासीको प्यास मेट्ने खानेपानी आयोजना आफै अलमलमा परेको थियो । अब भने सरकारले विभिन्न १० प्याकेजमा यस आयोजनाको कामलाई अगाडी बढाउने तयारी गरिरहेको छ ।

    आयोजनाले २ वटा प्याकेजको काम गर्न खुला बोलपत्र आह्वान गरेको छ । बाँकि ८ प्याकेजको काम पुरानै स्थानीय ठेकेदारमार्फत गराइने आयोजनाको भनाई छ ।

    सीएमसीले आयोजनामा राखेका स्थानीय ठेकेदार कम्पनीलाई सोझै ठेक्का दिएर आयोजनाको बाँकि काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्राविधिक रुपमा जटिल प्रकारको काम भने नयाँ ठेकेदारबाट गराउने आयोजनाको तयारी छ ।

    सरकारले नीति तथा कार्यक्रम र बजेटमा आगामी आव भित्रै मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेको छ । त्यसो त सरकारले यसरी घोषणा गर्न लागेकै लामो समय भइसकेको छ ।

    आयोजनामा अब पानी थुन्ने संरचना, पहुँचमार्ग, कभर ड्याम, फ्लसिङ सिस्टमलगायत थुप्रै काम गर्न बाँकि छ । उता, सुरुङमा पनि आधारभूत तहदेखिकै काम गर्न बाँकि रहेको छ ।

    सरकारले आगामी आव २०७६\७७ को बजेटमा मेलम्ची खानेपानी आयोजनालाई ७ अर्ब ३९ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

    सीएमसीले पुस २ मा ठेक्का तोकेको पत्र सरकारलाई थमाउँदै काम छाडी भागेको थियो । त्यसपछि सरकारले पनि औपचारिक रुपमा उक्त कम्पनीसँग ठेक्का तोड्ने निर्णय गरेको थियो ।

  • रंगशाला निर्माण विवादमा धुर्मुसले मागे माफि

    रंगशाला निर्माण विवादमा धुर्मुसले मागे माफि

    काठमाडौं । हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस)ले चितवनमा निर्माण हुने गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानको विषयमा भएको विवाद र त्यसपछि आफूहरुले दिएको प्रतिक्रियाप्रति माफी मागेका छन् ।

    क्रिकेट मैदानको बारमा स्थानीयले डोजर लगाएपछि विवाद उत्पन्न भएको थियो । त्यसक्रममा कुन्जना घिमिरे (सुन्तली)ले स्थानीयप्रति दिएको अभिव्यक्तिको सामाजिक संजालमा व्यापक विरोध भएको थियो ।

    धुर्मुसले आइतबार आधिकारिक फेसबुक पेजमा सार्वजनिक अपिल राख्दै अज्ञानतावश भएको भूलप्रति क्षमा मागेका हुन् ।

    रंगशालाले घेरेको क्षेत्रमा लगाइएको छेकबार स्थानीयले डोर लगाएर भत्काएपछि विवाद शुरु भएको थियो । अहिले भने स्थानीयले समेत क्षमायाचनासहित सहमति गरिसकेपछि आयोजना पुनः अगाडी बढेको छ ।

    धुर्मुसका अनुसार रंगशालाको डीपीआर नआइसकेको अवस्थामा पनि अहिले निर्माण सामग्रीको जोहो गर्न थालिएको छ ।

    बन्दै गरेका संरचना तथा निर्माण सामग्रीको सुरक्षाका लागि रंगशाला निर्माण स्थलको तीन तर्फ छेकबार गरिएको र एकतर्फ स्थानीयकै भावनालाई मध्यनजर गरी छेकबार नगरिएको धुर्मुसले उल्लेख गरेका छन् ।

    यस्तो छ धुर्मुसले सार्वजनिक गरेको अपिल

    नमस्कार, जे नहुनु थियो, त्यो भयो । यो समयमा हामीलाई साथ दिने, सहयोग गर्नुहुने, सहानुभूति प्रकट गर्नुहुने, हौसला प्रदान गर्नुहुने सम्पूर्ण अग्रज ब्यक्तित्वहरु, सहयोगी मनहरु सहित सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी तथा नेपालीभाषीहरुमा हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहन्छौं ।
    धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भई भरतपुरको चितवनमा निमार्णाधीन अवस्थामा रहेको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’का सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका समाचार साथै ती समाचारमाथिका क्रिया प्रतिक्रियाका बारेमा ध्यानाकर्षण गराउन चाहन्छौं । केही व्यक्तिहरूको अगुवाइमा रंगशालाको घेराबारामा डोजर लगाई गरिएको भौतिक क्षतिप्रति हामी पुनः दुःख व्यक्त गर्दछौँ ।
    रंगशालाको डीपीआर आइनसकेको अवस्थामा निर्माण सामग्री सुरक्षा तथा ग्राउण्डको काम साथै केही भौतिक संरचना बनिरहेको अवस्थामा निर्माण स्थल सुरक्षाका लागि ४ महिना अगाडि नै तीनतिर जस्ताले बेरबार गरे पनि सो साइडतिर स्थानीयकै भावनालाई नै मध्यनजर राखेर बेरबार हुन सकिरहेको थिएन । र निर्माण स्थलमा भएका सामाग्रीको सुरक्षाका लागि स्थानीय टोल विकास संस्थाका अगुवा ब्यक्तिहरुको सल्लाह अनुसार र सहमतिअनुसार नै घेराबारा गरिएको थियो । र स्मरण गराउन चाहन्छौं, कृषि तथा वन विज्ञान विश्वविद्यालयले सो ठाउँमा पहिलेनै काँडेतारको बार लगाएको थियो ।
    सो भन्दा १ मिटरभित्रबाटै हामीले महानगर र वडालाई समेत जानकारी गराई र महानगरपालिकाले डीपीआर आइसकेपछि मात्रै कुन बाटो फराकिलो बनाउने, कुन बाटो प्रयोगमा ल्याउने निर्णय गरिनेछ र निर्माणस्थल सुरक्षित राख्न, अगाडि बढ्न पत्राचार गरेकै आधारमा स्थानीयको सल्लाह बमोजिम नै जस्ताको बार लगाउन सुरु गरेका थियौं ।
    बारको छेउमा कुनै चल्तीको बाटो पनि नरहेको र महानगरपालिका र वडाले यति मिटर बाटो हुनुपर्ने भनेर कुनै पनि निर्देशन नगरिरहेको अवस्थामा भ्रममा परी केही व्यक्तिले उचालेको कारणले जुन क्षति पुग्न गएको छ त्यसप्रति हामी अत्यन्त दुखी भएका छौँ । देश विदेशमा बसेर अघाउँजी नखाइ पसिना बगाइरहेका श्रमशील दाताबाट प्राप्त रकमले निर्माण गरिएको उक्त भौतिक संरचनामा प्रहार गर्दा आज कसैको जीत नभएको र दाताको पसिनाको अपमान भएको हामीले महसुस गरेका छौँ । खेलप्रेमी व्यक्ति एवम् खेलाडीहरूका मनमा चोट लागेको कुरा अनुभव गरेका छौँ ।
    हाम्रो कसैप्रति कुनै पूर्वाग्रह पनि छैन र रहने पनि छैन । मानिसबाट कहिलेकाहीँ कमजोरी हुन्छन् हामी स्वीकार गछौँ । कमजोरी भए सच्याएर अगाडि बढ्ने कुरामा पनि प्रतिबद्ध छौँ । अहोरात्र खटिरहँदा सहयोगी मनहरुको रगत र पसिनामाथी डोजर चल्दा जो पनि आक्रोशित हुनु स्वभाविक हुन्छ ।
    हामीले आक्रोशमा आएर अन्जानमा केही गलत बोलेको भए वा कसैमाथि ठेस पुगेको भएमा हामी क्षमाप्रार्थी छौं । जसले घटना घटायो, हाम्रो अभिब्यक्ति उसमा मात्र लक्षित हो । स्थानीय प्रति हाम्रो केही गुनासो छैन । साथै काम गर्दै जाने क्रममा हामीबाट पनि कुनै त्रुटि भएका हुन सक्छन् । उद्देश्य पवित्र राख्दाराख्दै पनि कसैको मनमा चोट लागेको हुनसक्छ । अज्ञानतावश भएका त्यस्ता भुलप्रति हामी क्षमाप्रार्थी छौँ । मानिस हरेकको विचार भिन्न रहने भएकाले हामीसँग कसैको फरक मत पनि हुन सक्छ ।
    हामी त्यसको पनि सम्मान गर्दछौँ । कुनै विमति भए वार्ता र छलफलबाट निराकरण गर्न सकिन्छ । विध्वंस कुनै पनि कुराको निकास हैन हामी यसमा विस्वस्त छौँ । विनास र विध्वंसमा लाग्ने ऊर्जालाई विकासमा लगाउन अनुरोध पनि गर्दछौं ।
    हामीले निजी स्वार्थ राखेर यो काम गरेका हैनौ । यदि कसैमा यसको बुझाइ फरक परेको भए यो देशको गौरव र धेरै नेपालीको भविष्यसँग गाँसिएको विषय हो भन्ने कुरा बुझाउन चाहन्छौँ ।
    हामीले त्यति धेरै गरीवका घर, पीडितका बस्ती बनाईरहँदा केही भूमिहीनहरुलाई जग्गा खरिद गरेर समेत एकीकृत नमुना बस्ती बनाएर आएका अभियन्ता भएको हुनाले कसैको घर ध्वस्त पार्ने, जग्गा रित्याउने र कसैलाई सुकुम्वासी बनाउने बिल्कुलै मनसाय होईन् । कसैको घर जग्गा बाटोमा जान्थ्यो भने पहिलो आवाज उठाउने ब्यक्तिनै हामी हुन्थ्यौं ।
    सो ठाउँमा रङ्गशालाकै कारणले कसैको जग्गा जाने, कसैको घर उठिवास हुने अवस्था पनि छैन । र हाम्रो संकल्प कसैलाई सुकुम्बासी बनाउन, नकारात्मक प्रभाव पार्ने उद्देश्यले नभएर सबैको हितलाई केन्द्रमा राखेर यो काम आँटेका हौं । काममा बाधा व्यवधान नआउने हो भने हामी भनेकै मितिमा पूरा गर्न सक्नेछौं । ज्ञानबस वा अज्ञानतावश जसले यो गल्ती गरेको भए पनि आगामी दिनमा नगरिदिनुहुन अनुरोध गर्दछौं । रंगशालाको पक्ष र विपक्ष भएर एउटै परिवारका हामी सबै नेपाली विभाजन नभइदिन र अनावश्यक झैझगडामा नलागीदिन हामी सबैमा आग्रह गर्दछौं ।
    अन्त्यमा, जे नहुनु थियो त्यो भयो । अब त्यसमा पछुतो, वादविवाद र टिकाटिप्पणी गरेर घटनालाई गिजोल्ने गरेर समय व्यतित गर्नुभन्दा आगामी दिनमा यस्तरी कसैको पसिनाको अपमान हुने र अरु कसैको नोक्सानी हुने काममा नलागीदिन र अभियानको अभियान्ता बनिदिनुहुन पनि हामी सम्पूर्णमा आह्वान गर्दछौँ ।
    साथै स्थानीय महानुभावहरुले हामीलाई बार लगाइदिने र काम सुचारु गर्न वातावरण तयार गर्ने प्रतिबद्धता जनाइसक्नु भएकाले गर्दा स्थानीय महानुभावहरु, भरतपुर महानगरपालिका साथै नेपाल सरकारलाई छिटो भन्दा छिटो रङ्गशालाको काम अगाडि बढाउन अनुकुल बातावरण सिर्जना गरिदिनुहुन अनुरोध गर्दछौं । सो भएमा हामी चाँडै पहिले जस्तै काममा फर्किने पनि जानकारी गराउन चाहन्छौं ।

  • अमेरिकी राजदूतले कूटनीतिक सिद्धान्त ख्याल गर्नुपर्छ : मन्त्री ज्ञवाली

    अमेरिकी राजदूतले कूटनीतिक सिद्धान्त ख्याल गर्नुपर्छ : मन्त्री ज्ञवाली

    काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालका लागि अमेरिकी राजदूतलाई कूटनीतिका बहुआयामिक सिद्धान्तलाई नबिर्सन आग्रह गरेका छन् । नेपालमा अमेरिकी राजदूत र्याण्डी बेरीले “अमेरिकी राजदूतसँग गफगाफ” नामक कार्यक्रम शुरु गरेपछि उनको आलोचना भएको छ ।

    राजदूतको यस कदमप्रति नेपाल सरकारले समेत असहमति राखेको छ । आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले कूटनीतिका अन्तरराष्ट्रिय बहुआयामिक सिद्धान्त नबिर्सन राजदूत बेरीलाई आग्रह गरे ।

    कूटनीतिमा कतिपय सवाल द्धिपक्षीय मात्र नभएर बहुपक्षीय सिद्धान्त आकर्षित हुने भन्दै मन्त्री ज्ञवालीले ति सिद्धान्तमा रहेर गतिविधि संचालन गर्नुपर्ने बताए ।

    मन्त्री ज्ञवालीले अमेरिका र नेपालबीच राम्रो सम्बन्ध रहेको भन्दै यसलाई अझ बढावा दिने प्रतिवद्धता समेत व्यक्त गरे ।

    तर, उनले विवादित बनेको कार्यक्रम “अमेरिकी राजदूतसँग गफगाफ” बन्द हुन्छ या निरन्तर प्रसारण हुन्छ भन्नेबारे चाँहि बोल्न चाहेनन् ।

  • प्रधानमन्त्री ओली यूरोप भ्रमणमा निस्कदै

    प्रधानमन्त्री ओली यूरोप भ्रमणमा निस्कदै

    १९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यूरोप भ्रमणमा निस्कने भएका छन् । प्रधानमन्त्री ओलीले आगामी जुन ८ देखि १९ सम्म यूरोपका विभिन्न मुलुकको भ्रमण गर्ने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

    आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले प्रधानमन्त्रीको यूरोप भ्रमणको सम्पूर्ण तयारी पुरा भएको समेत जानकारी दिए । परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार प्रधानमन्त्री अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकीका अवसरमा आयोजना हुने समारोहमा भाग लिन जु ९ देखि १० सम्म स्वीट्जरल्याण्डमा रहनेछन् ।

    उक्त समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको बताइएको छ । जेनेभामा रहँदा प्रधानमन्त्रीले विभिन्न मुलुकका राष्ट्राध्यक्षसँग भेटवार्ता गर्ने तय भएको मन्त्रालयले उल्लेख गरेको छ ।

    त्यसपछि प्रधानमन्त्री ओली बेलायत भ्रमणमा जानेछन् । बेलायतमा १० देखि १२ जुनसम्म रहने परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए । बेलायत भ्रमणमा रहँदा प्रधानमन्त्रीले थेरेसा मेसँग भेट वार्ता गर्नेछन् । अक्स्फोर्ड विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा १० जुनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

    १२ देखि १४ जुनसम्म भने प्रधानमन्त्री फ्रान्स जाने कार्यक्रम तय भएको छ । फ्रान्समा रहँदा प्रधानमन्त्री ओलीले समकक्षी एडवार्ड फिलिपसँग भेटवार्ता गर्नेछन् ।