Author: Vishwanews.com

  • नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित

    नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित

    काठमाडौँ, २४ असोजः नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भए । छ हजार ५८४ मतका साथ उनी विजयी भए । निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । निर्वाचनमा सात हजार १३ जनाले मतदान गरेका थिए ।

  • भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

    भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

    म्याग्दी, २४ असोज स्। दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगेका छन् । प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा उनीहरुको यात्रा निकै कष्टपूर्ण बन्यो । लामो यात्रा गरेर बजारसम्म आइपुग्दा पनि समयमै बिक्री गर्न नपाइने चिन्ताले सताएको छ ।

    मुगुको छायानाथ रारा नगरपालिका–६ का बिकको टोलीले दुई सय भेडाच्याङ्ग्रा खेदाएर ल्याएको हो । त्यसमध्ये एक सय आफ्नै घरमा पालेका र एक सय छिमेकीबाट खरिद गरेका हुन् । दसैँका लागि पोखरामा बिक्री गर्ने उद्देश्यले उहाँहरू गत भदौ १८ गते घरबाट हिँडेका थिए । “यसपालि प्रतिकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध हुँदा धेरै दुःख पाइयो,” बिकले भने, “डोल्पाको छार्कामा हिमपात भएपछि एक हप्ता रोकियौँ । घरबाट हिँडेको ३६ दिनमा बल्ल गलेश्वर आइपुगेका छौँ ।”

    शनिबार गलेश्वरबाट भेडाच्याङ्ग्रा गाडीमा राखेर पोखरा लैजाने उनीहरूको योजना छ । तर, दसैँ नजिकिँदै गर्दा बजारमा माग र बिक्री कस्तो होला भन्ने चिन्ता छ । “ढिला भइसकेको छ। अब बजारमा बिक्री हुने हो कि होइन भन्ने चिन्ता लागेको छ,” बिकले भने । डोल्पाको काइके गाउँपालिका–२ का मानप्रसाद रोकायासहित सात जना किसान पनि सात सय भेडाच्याङ्ग्रा लिएर पोखरातर्फ लागेका छन् । उनीहरु शुक्रबार म्याग्दीको घोडेपानी हुँदै कास्कीको पोखरातर्फ गएका हुन् ।


    रोकायाको टोली घरबाट हिँडेको २२ दिन भइसकेको छ । भेडाच्याङ्ग्रापालन नै मुख्य पेसा भएकाले उहाँहरू हरेक वर्ष बिक्रीका लागि विभिन्न बजार पुग्ने गर्नुहुन्छ । तर, यसपालि बाढीपहिरोले यात्रामा थप सास्ती दिएको छ । यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनायो । यसले भेडाच्याङ्ग्रा खेदाएर ल्याउने र सवारीसाधनमा ढुवानी गर्ने दुवै काम प्रभावित भए । कतिपय किसानले लामो दूरी पैदल हिँड्नुप¥यो । सडकको अवस्थाका कारण बजारसम्म पुग्न ढिलाइ भएको हो ।

    डोल्पाको काइके गाउँपालिका–२ सहरताराका सञ्जय बुढा पनि २५ दिन पैदल हिँडेर एक सय ६० च्याङ्ग्रा बिक्री गर्न पोखरातर्फ लागेका छन् । समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिका क्षेत्रमा पालिएका च्याङ्ग्रा खेदाएर ल्याउन सहज छैन । “भिर, खोल्सा र साँघुरो बाटोमा च्याङ्ग्रालाई हिँडाएर बजार पु¥याई बिक्री गर्नु हाम्रो परम्परादेखिकै पेसा हो,” उनले भने ।
    सडक अवरुद्ध हुँदा किसानलाई सास्ती

    दसैँ नजिकिएसँगै हिमाली क्षेत्रका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । तर, प्रतिकूल मौसम र सडक अवरोधले यसपालि किसान तथा व्यापारीलाई समस्या भएको छ । डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट भेडाच्याङ्ग्रा लिएर आएका किसान तथा व्यापारीको जोमसोमदेखि बेनीसम्म चहलपहल छ । मुस्ताङबाट बेनी–जोमसोम सडक हुँदै गलेश्वर ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत सहरमा पठाउन थालिएको छ ।

    यद्यपि, डोल्पाबाट मुस्ताङ आउने बाटो हिउँले ढाकिँदा त्यहाँका सबै किसानले भेडाच्याङ्ग्रा बजारसम्म ल्याउन नसकेको कृषि तथा पशुपन्छी विकास कार्यालय मुस्ताङका प्रमुख लालमणि अर्यालले बताए । तातोपानी र रसुवा नाका बन्द भएकाले यसपालि ठूला सहरमा भेडाच्याङ्ग्रा आपूर्तिको मुख्य मार्ग मुस्ताङ बनेको छ । जोमसोममा भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिने व्यवस्था मिलाइएको छ ।

    कार्यालय प्रमुख अर्यालका अनुसार हालसम्म १० हजार भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर निकासी अनुमति दिइएको छ । गत वर्ष १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए ।

    लागत बढ्यो

    यात्रा लामो हुँदा किसान र ब्यापारीको खर्च बढेको छ । मुस्ताङमा सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा किसानसँग सम्पर्क गर्नसमेत कठिन भएको व्यापारीको भनाइ छ । बेनी नगरपालिका–९ का डेकबहादुर चोखालका अनुसार मुस्ताङमा असोज दोस्रो सातादेखि सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा भेडाच्याङ्ग्रा खरिदमा समस्या भयो । “किसानसँग सम्पर्क हुन नसकेपछि भनेजस्तो भेडाच्याङ्ग्रा ल्याउन पाइएन,” उनले भने ।

    मुस्ताङमा आकार अनुसार भेडा प्रतिगोटा रु. ३२ हजारदेखि रु. ३५ हजार र च्याङग्रा प्रतिगोटा रु. ४० हजारको हाराहारीमा खरिदबिक्री भइरहेको ब्यापारीहरुले बताएका छन् । बेनीमा भने भेडा प्रतिगोटा करिब रु. ३६ हजार र च्याङ्ग्रा रु. ४५ हजार पर्ने बेनी नगरपालिका–९ तोरीपानीका यामबहादुर बानियाले बताउनुभयो ।

    “पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपयुक्त मानिन्छन्,” उनले भने, “महाँगो परेपनि दसैँमा हिमाली क्षेत्रमा जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु खाने चलन छ ।” मुस्ताङी भेडाच्याङ्ग्राको ठूलो बजार पोखरा र काठमाडौँ हुन् । म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङमा पनि यसको माग हुने गरेको धवलागिरि गाउँपालिका–७ का खसी व्यापारी प्रेम छन्त्यालले बताए ।

    च्याङ्ग्रापालनमै निर्भर हिमाली किसान
    मुस्ताङको नामग्यालका किसान तेन्जिङ गुरुङले मुख्य आयस्रोत च्याङ्ग्रापालन भएको बताए । मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन् । उपल्लो मुस्ताङका किसानको मुख्य आयस्रोत च्याङ्ग्रापालन हो । च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पस्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ ।

    तर, च्याङ्ग्रापालनमा पनि अनेक चुनौती छन् । हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट पशु जोगाउन किसानलाई कठिन हुन्छ । पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिने र आहारको अभाव हुने समस्या छ । हिउँदमा अत्यधिक हिमपात हुँदा पनि आहार नपाएर भेडाबाख्रा मर्ने गरेका छन् । दसैँको बजारबाट वर्षभरिको आम्दानी जुटाउने आशामा किसानले हिमालबाट भेडाच्याङ्ग्रा खेदाएर ल्याउँछन् । तर, यसपालि प्रतिकूल मौसम र सडक अवरोधले उनीहरूको यात्रा लम्बिएको छ । लामो दूरीको पैदल यात्रा, थप खर्च र बिक्रीमा भएको ढिलाइले किसानको आम्दानी प्रभावित हुने चिन्ता बढाएको छ ।

  • आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

    आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

    काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो ।

    आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने आइतबार गरिन्छ । पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ ।

    पितृ पक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश अड्किएर आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् ।


    यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्प समेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईले बताए ।

    त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् वैदिक मन्त्रले दैनिक १०८ जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले जानकारी गराए । यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध गर्नेको भीड लाग्छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ सुरु हुन्छ । असोज २५ गते घटस्थापना गरेसँगै दुर्गा पक्ष सुरु हुन्छ ।

  • वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

    वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

    काठमाडौँ, २३ असोजः काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको तिलहरी लुटपाट गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने २९ वर्षीय सुनिल सुनार रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुनारले आफ्नै घर अगाडि उभिरहेकी वृद्ध महिलाको घाँटीमा लगाएको सुनको तिलहरी लुटेर फरार भएका थिए । प्रहरीका अनुसार करिब चार आना तौलको उक्त तिलहरीको मूल्य ७५ हजार रुपैयाँ रहेको छ ।

    घटनापछि खोजतलासमा खटिएको प्रहरी वृत्त बौद्धको टोलीले सुनारलाई लुटिएको तिलहरीसहित फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । पक्राउ परेका सुनारविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट आज सात दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ

    व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ

    काठमाडौँ, २३ असोजः गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी नियन्त्रण तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग आज छलफल गर्दै उनले चोरी पैठारी नियन्त्रण तथा सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ‘डिजिटल बोर्डर’ को अवधारणा अघि बढाइने बताए ।


    गृहमन्त्रीले नेपाली उत्पादनको गुणस्तर प्रमाणीकरण तथा अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई सहज बनाउन भारत गुणस्तर र नेपाल गुणस्तरबीच मान्यता तथा प्रमाणीकरणसम्बन्धी सहकार्य अघि बढाउने विषय द्विपक्षीय वार्तामा उठाउने प्रतिबद्धता गरे । उनले लगानीमैत्री वातावरण तयार गर्न व्यवसायीले राजनीतिनै गर्नुपर्ने बाध्यता अबको सरकारले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । “लगानीमैत्री वातावरण तयार गर्न सरकारले सबै क्षेत्रमा सुधारको प्रभावकारी पहलकदमी गर्छ, तर स्वच्छ र प्रतिष्पर्धी बजार अनुशासनविरुद्ध हुने व्यवसायीका सबै गतिविधिलाई कानूनी दायरामा ल्याइनेछ”, गृहमन्त्रीले भने ।


    छलफलमा उद्योगी, व्यवसायीले व्यवसाय सञ्चालनका क्रममा भोग्नु परेका समस्या, चुनौती तथा तिनको समाधानका लागि क्षेत्रीय सहकार्य र बिम्स्टेक मञ्चमार्फत अघि बढाउन सकिने पहलबारे सुझाव प्रस्तुत गरेका थिए ।

  • राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

    राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

    काठमाडौँ, २३ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

  • सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

    सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

    काठमाडौँ, २३ असोजः सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट हटाएको छ । एआइजी दाहालले अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत सङ्गठनको मान, प्रतिष्ठा र छविमा आँच पुर्‍याएको कसुरमा आजदेखि लागू हुनेगरी सशस्त्र प्रहरी सेवाबाट हटाउनेगरी विभागीय कारबाही गरिएको गृह मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा एआइजी दाहालले आचरणसम्बन्धी प्रावधान बारम्बार उल्लङ्घन गरेको उल्लेख छ । गृह मन्त्रालयले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको भन्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहाललाई यही असोज १९ गते निलम्बन गरेको थियो ।

    दाहालले पदीय आचरणविपरीतको कार्य गरेको भनी सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीको सिफारिस प्राप्त भएपछि उनलाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको थियो । मन्त्रालयले सोही दिन दाहाललाई निलम्बन गरी छानबिन गर्ने निर्णय गरेको थियो । उनी पूर्व न्यायाधीश चोलेन्द्र शमशेर राणासँग जोडिएपछि सरकारले केरकार थालेको हो ।

  • लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

    लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

    महोत्तरी, २३ असोजः राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध गायक पशुपति शर्मालाई अध्यक्ष निर्वाचित गरेको छ । शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष थिए । महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भए । प्रतिष्ठानको नवौँ महाधिवेसनका निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले जानकारी दिए ।


    बिहीबार बर्दिबास–३ गौरीडाँडामा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले उद्घाटन गरेको नवौँ महाधिवेसनमा उद्घाटनसत्र समापनसँगै निर्वाचन कार्यक्रम सुरु भएको थियो । प्रतिष्ठानमा ३८ पदाधिकारी र ३७ सदस्यसहित ७५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ ।

    सर्वसम्मत भएका र आज शुक्रबार विद्युतीय मेसिनबाट भएको मतदानको परिणाम भोलि शनिबार समापन कार्यक्रममा घोषणा गरिने प्रतिष्ठानको निर्वाचन समितिले जनाएको छ । सातै प्रदेश, ७० जिल्ला र विदेशस्थित शाखासहित १०० वटा समितिबाट एक हजार ५०० प्रतिनिधि महाधिवेसनमा सहभागी छन् । महाधिवेशन नयाँ नेतृत्वको घोषणासँगै शनिबार समापन हुने जनाइएको छ ।

  • कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

    कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

    काठमाडौँ, २३ असोजः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–उन्जाले शिष्टाचार भेट गरेकी छिन् । मन्त्री गौतमसँग आज सिंहदरबारमा भएको भेटमा राजदूत इन्जाले भोटेकोशी बाढीबाट भएको क्षतिले मृत्यु भएका व्यक्तिहरूप्रति समवेदना व्यक्त गरिन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पारस्परिक कानुनी सहायताको केन्द्र निकाय भएको हुँदा यस विषयमा दुई देशबीचको सहमति गर्नका लागि प्रक्रिया सक्दो चाँडो गर्न दुवै पक्षबीच छलफल भयो ।

    त्यस्तै, सरकारले नेपालको हवाई सेवालाई अन्तरराष्ट्रिय मापदण्डअनुसार सेवा प्रदायक र नियामक निकायका रूपमा दुई संरचना परिकल्पना गरी विधेयक दर्ता गरेको विषयमा छलफल भयो । राजदूत उन्जाले यसमार्फत हवाई सुरक्षा कालोसूचीबाट हट्नका लागि नेपाल सरकारबाट भइरहेका प्रयासको प्रशंसा गरिन् । भेटमा दुवै पक्षले द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउँदै आवश्यकताअनुसार समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । भेटमा कानुन र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति थियो ।

  • यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

    यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

    दाङ, २३ असोजः लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१३ चौधेरा निवासी चेतबहादुर केसीको सो दुर्घनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । नेपालगन्जबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्रदेश१–०१–००१ख ४१४८ नम्बरको यात्रुवाहक बसले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश एए८५९८ नम्बरको सरकारी मोटरसाइकललाई आज साँझ करिब ६ः३० बजे लमही नगरपालिका–१ सुनडबरीमा ठक्कर दिँदा मोटरसाइकल चालक केसी गम्भीर घाइते भएका थिए ।


    घटनालगत्तै वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रमेश तिमल्सिना नेतृत्वमा खटिएको टोलीले घाइते केसीको उद्धार गरी उपचारका लागि लमही अस्पताल पुर्‍याएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ । मृतक केसीको शव लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । मृतक केसी लुम्बिनी प्रदेश कृषि मन्त्रालयमा कार्यरत वरिष्ठ लेखा अधिकृत रहेको प्रहरीले जनाएको छ ।

  • नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर

    नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर

    काठमाडौँ, २३ असोजः अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख सुमनप्रसाद तिवारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्ति लिएको र बढुवा भएको आरोपमा विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार स्वास्थ्य निर्देशनालय, धनकुटामा खोप अधिकृतका रूपमा कार्यरत तथा हाल जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख रहेका तिवारीले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो ।

    अनुसन्धानका क्रममा तिवारीले खोप सुपरभाइजर, राजपत्र अनङ्कित प्रथम श्रेणीको पदमा नियुक्ति लिन बिहार मध्यवर्ती शिक्षा परिषद्, पटनाबाट जारी भएको भनिएको ‘आइए’ तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पाइएको आयोगले जनाएको छ । उक्त प्रमाणपत्रकै आधारमा तिवारीले माथिल्लो तहका विभिन्न पद तथा श्रेणीमा बढुवा हुनसमेत पटकपटक सोही प्रमाणपत्र पेस गरेको र त्यसबाट राष्ट्रसेवक कर्मचारीका रूपमा पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको देखिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।


    तिवारीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कारबाही गर्न माग गरिएको छ । आयोगले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको मागदाबीसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

  • आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

    आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

    काठमाडौँ, २३ असोजः ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले आइतबारदेखि उपत्यकाका छ स्थानमा विभिन्न १३ वटा कम्पनीका ग्यास साटफेर गर्न सक्ने भएका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घले नेपाल आयल निगमको समन्वय र ग्यास बिक्रेता महासङ्घको सहकार्यमा उक्त व्यवस्था मिलाएको हो । आइतबारदेखि शनिबारसम्म बिहान ९ः३० देखि अपराह्न ४ः३० सम्म ग्यासको बिक्री वितरण हुनेछ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले फरक ग्यासको सिलिन्डर भएर चिन्तित भएको उपभोक्तालाई चाडपर्वमा ग्यासको सहज आपूर्तिका लागि सिलिन्डर साटफेर गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए । सङ्घका अनुसार उपभोक्ताले काठमाडौँको सिफलस्थित ग्यास एन्ड अक्सिजन टे«डर्सबाट एभरेष्ट र सुगम, पेप्सीकोलाबाट सगर, बालाजु औद्योगिक क्षेत्रबाट नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी, सुकेधाराबाट बाबा र श्री, कलङ्कीबाट साइबाबा र श्रीकृष्ण तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास लिन सक्नेछन् । सङ्घका अध्यक्ष दिवान चन्दले ती स्थानमा काठमाडौँ उपत्यकामा बिक्री वितरण हुने सदस्य उद्योगको ग्यासको सिलिन्डरमात्रै साटफेर हुने जानकारी दिए ।

  • भेनेजुएलाका पूर्व नेता मादुरो र मादुरोकी पत्नीविरुद्ध नयाँ यातना आरोप दर्ता

    भेनेजुएलाका पूर्व नेता मादुरो र मादुरोकी पत्नीविरुद्ध नयाँ यातना आरोप दर्ता

    न्यूयोर्क, २३ असोज (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकाले बिहीबार भेनेजुएलाका पदच्युत राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसविरुद्ध नयाँ यातना आरोप दर्ता गरेको छ । यसले अमेरिकी हिरासतमा रहेका यी दुईविरुद्ध बढ्दो आपराधिक मुद्दालाई थप बलियो बनाएको छ । मादुरो र फ्लोरेसले जनवरीमा काराकासको आफ्नो परिसरबाट असाधारण अमेरिकी सैन्य छापामार्फत पक्राउ परेपछि पहिले नै संयुक्त राज्य अमेरिकामा लागूऔषध तस्करी र हातहतियारसम्बन्धी आरोपहरू सामना गरिरहेका छन्।

    बिहीबार सार्वजनिक भएको अदालती कागजातले दुवैलाई अब यातनाको षड्यन्त्रको अतिरिक्त आरोप लगाइएको छ । कागजातमा भनिएको छ, “उनीहरूले ‘गम्भीर शारीरिक र मानसिक पीडा तथा कष्ट’ पु¥याएका थिए।” आरोपमा भनिएको छ, “मादुरोको कथित उद्देश्य ‘राजनीतिक विपक्षीलाई दमन र सजाय दिनु, असहमति र कथित असहमतिलाई मौन पार्नु, सरकारका सदस्यहरूको शक्ति र अधिकार संरक्षण तथा रक्षा गर्नु, तथा अपहरणमार्फत आफ्ना विरोधीहरूलाई डरत्रास, उत्पीडन र निष्क्रिय पार्नु’ थियो।”

    अभियोजकहरूले अमेरिकी नागरिकसमेत अज्ञात पीडितहरूलाई भेनेजुएली हिरासतमा विद्युतीय झट्का दिने, ‘वाटरबोर्डिङ’ गर्ने र कुटपिट गर्ने जस्ता घटनाहरूको विवरण दिएका छन् । मादुरो र फ्लोरेसविरूद्धको मुद्दाको सुनुवाई आगामी जुन महिनामा न्यूयोर्कमा हुने योजना छ । उनीहरू हाल ब्रुकलिन जेलमा थुनामा छन्।

  • डब्ल्यूटीओले एआई उछालका कारण सन् २०२६ को व्यापार वृद्धि प्रक्षेपणमा वृद्धि

    डब्ल्यूटीओले एआई उछालका कारण सन् २०२६ को व्यापार वृद्धि प्रक्षेपणमा वृद्धि

    जेनेभा, २३ असोज (रासस–एएफपी) । विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले बिहीबार सन् २०२६ को लागि विश्वव्यापी व्यापार वृद्धि प्रक्षेपण तीव्र रूपमा बढाएको छ । मध्यपूर्व सङ्कटका बीच पनि वस्तु व्यापार एआई उछालका कारण अपेक्षाभन्दा बढी लचिलो साबित भएको छ । सङ्गठनले अर्को वर्ष ४.१ प्रतिशत व्यापार वृद्धि हुने प्रक्षेपण गरेको छ, जुन सात महिनाअघिको २.६ प्रतिशतबाट बढेको हो। आपूर्ति श्रृङ्खला अनुकूलन र कृत्रिम बुद्धिमत्ता (एआई) लगानीको उछालका कारण डब्ल्यूटीओले यस वर्ष वस्तु व्यापारको परिमाणमा ३.९ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ, जुन मार्चमा अनुमान गरिएको १.९ प्रतिशतबाट बढेको हो ।

    विश्वव्यापी कुल गार्हस्थ्य (जीडीपी) यस वर्ष २.६ प्रतिशत र सन् २०२७ मा २.९ प्रतिशतले बढ्ने अपेक्षा गरिएको सङ्गठनले जनाएको छ । “यी अङ्कहरूले व्यापारको लचिलोपनलाई कार्यमा झल्काउँछन्,” डब्ल्यूटीओ प्रमुख एनगोजी ओकोन्जो–इवेआलाले भने । “जब अवरोधहरू आउँछन्, एकीकृत विश्व अर्थतन्त्र र नियममा आधारित व्यापार प्रणालीले अर्थव्यवस्थाहरूलाई आवश्यक वस्तुहरू व्यवसाय र घरपरिवारसम्म पु¥याउन लचिलोपन प्रदान गर्छ,” उनले भने । “कतिपय मुलुकले बढी झट्का महसुस गरेका छन्, र सबैले एआईजस्ता उदीयमान अवसरहरू पहुँच गर्न सक्दैनन्।”

    डब्ल्यूटीओका अनुसार हर्मुज जलमार्ग हुँदै ढुवानीमा अवरोधले ऊर्जा आपूर्ति घटाएको र मुख्य ऊर्जा उत्पादन तथा मलको मूल्य बढाएको छ, तर क्षेत्रबाहिरका अधिकांश अर्थव्यवस्थाहरू लचिलो रहेका छन् । सङ्गठनले भन्यो, “इरान युद्धका कारण ऊर्जा, मल र यातायात बजारमा आएका अवरोधहरूसँग आपूर्ति श्रृङ्खला सफलतापूर्वक अनुकूलित भएका छन्।”

    सन् २०२६ को पहिलो छ महिनामा वस्तुको व्यापार ३.५ प्रतिशतले बढेको थियो, जुन डब्ल्यूटीओको अपेक्षाभन्दा बढी हो। विश्वव्यापी कच्चा तेल निर्यात करिब छ प्रतिशत मात्र घटेको छ भने तरल प्राकृतिक ग्यास निर्यात एक प्रतिशतले घटेको छ । यसैबीच, सन् २०२६ का पहिला सात महिनामा विश्वव्यापी कन्टेनर ट्राफिक वास्तवमा ३.९ प्रतिशतले बढेको छ ।

    एआई लगानीसँग जोडिएको बलियो मागले द्वन्द्वका नकारात्मक प्रभावलाई ‘अधिक रूपमा सन्तुलन गरेको’ छ । सेमिकन्डक्टर, डाटा सेन्टर र डिजिटल पूर्वाधारमा बढेको खर्चले एआई सक्षम बनाउने आयातित वस्तुहरूको माग बढाएको छ, जसले विश्वव्यापी वस्तु व्यापारलाई महत्वपूर्ण प्रोत्साहन दिएको छ ।

    एआईका लागि आवश्यक सेमिकन्डक्टर, सर्भर र अन्य उपकरणहरूको व्यापारमा सन् २०२६ को पहिलो आधा वर्षमा अघिल्लो बर्षको सोही अवधिको तुलनामा ६७ प्रतिशतले उछाल आएको छ । “यसले मात्र विश्वव्यापी वस्तु व्यापार वृद्धिको ४७ प्रतिशत हिस्सा ओगटेको छ, जसले सन् २०२४ र सन् २०२५ मा पहिले नै बलियो रहेको विस्तार प्रवृत्तिलाई अझ तीव्र बनाएको छ,” डब्ल्यूटीओले भन्यो।

    डब्ल्यूटीओका मुख्य अर्थशास्त्री रोबर्ट स्टाइगरले सञ्चारमाध्यमलाई बताउनुभयो, “सङ्गठन ‘आश्चर्यचकित’ थियो कि मध्यपूर्व द्वन्द्वले आशङ्का गरिएजति व्यापार घटाएन र यसलाई एआई लगानी उछालको बलले आश्चर्यचकित सन्तुलन गरेको थियो । “एआईको लगानीमा कुनै मन्दी आएमा व्यापारमा पनि मन्दी आउन सक्छ,” उनले चेतावनी दिए ।


    एआई पूर्वाधारमा विश्वव्यापी खर्च यस वर्ष कम्तीमा ३० प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ, र हालका बजार प्रक्षेपणअनुसार सन् २०२७ मा एआई पूँजीगत खर्च थप १० देखि २० प्रतिशतले बढ्नेछ । “एआई सक्षम बनाउने वस्तुहरूको व्यापार दुई वर्षमा वस्तु व्यापारको एउटा अंशबाट यसको मुख्य चालक बन्न पुगेको छ,” डब्ल्यूटीओले भनेको छ । “यो विस्तार द्रुत, निरन्तर र अत्यन्त केन्द्रित छः केही पूर्वी र दक्षिणपूर्वी एसियाली अर्थव्यवस्थाहरूले यी वस्तुहरू आपूर्ति गर्छन् भने उत्तर अमेरिकाले माग बढाइरहेको छ।”

    – मध्यपूर्व निर्यात प्रभावित–

    संगठनले भनेको छ, “व्यापारको लचिलोपन समान छैन, सेवा व्यापार र केही क्षेत्रहरू द्वन्द्वका प्रभावप्रति बढी संवेदनशील छन्।” सन् २०२६ मा एसियाले सबैभन्दा तीव्र वस्तु निर्यात वृद्धि ९.९ प्रतिशत दर्ता गर्ने अपेक्षा गरिएको छ, त्यसपछि उत्तर अमेरिकाले ५.७ प्रतिशत गर्ने प्रक्षेपण गरिएको छ। युरोपमा निर्यात प्रदर्शन ०.१ प्रतिशतले घट्ने कमजोर रहने प्रक्षेपण छ र मध्यपूर्वमा १७.२ प्रतिशतले घट्दै तीव्र रूपमा सङ्कुचन हुने देखिएको छ । डब्ल्यूटीओका अर्थशास्त्रीहरूले सेवा व्यापारको प्रक्षेपण घटाएका छन्, यद्यपि वृद्धि सकारात्मक नै रहने अपेक्षा गरिएको छ ।

  • कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै

    कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै

    दमौली (तनहुँ), २३ असोजः अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकी नदीमाथिको पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण गरिने भएको छ । यही असोज ११ को बाढीले पहुँच सडक क्षतिग्रस्त भएपछि पुलबाट सवारीसाधन सञ्चालन हुन नसक्दा तनहुँ हुँदै नवलपुर जाने तथा नवलपुरबाट तनहुँ हुँदै पोखरा आउने सवारीसाधनको आवागमन प्रभावित हुँदै आएको छ ।

    कालीगण्डकीको बाढीका कारण क्षतिग्रस्त नवलपुरतर्फको पहुँच सडक निर्माण भइसके पनि तनहुँतर्फको निर्माणकार्य भने बल्ल सुरु गर्न लागिएको हो । त्यसका लागि आवश्यक उपकरण बिहीबार नै कार्यस्थलमा पुगिसकेको छ । घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले सडक डिभिजन दमौलीको समन्वयमा पहुँच सडक निर्माण सुरु गर्न लागिएको जानकारी दिए ।

    कालीगण्डकी पुल सञ्चालनमा नआउँदा स्थानीयवासीसँगै लामो दूरीका यात्रु तथा व्यवसायी प्रत्यक्ष प्रभावित भएको बताए । अध्यक्ष थापाले पहुँच सडक निर्माणकार्य छिटो सम्पन्न गरी पुल सञ्चालनमा ल्याइने बताए । पुलको नवलपुरतर्फ डेढगाउँको पहुँच सडक निर्माणकार्य भने यसअघि नै सम्पन्न भइसकेको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले जानकारी दिए । उनले नवलपुरतर्फको पहुँच सडक निर्माणका लागि स्थानीयवासीले श्रमदान गरेको बताए ।

  • पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

    पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

    म्याग्दी, २३ असोजः बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि पुनः जोडिएको छ । बाढीले अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको करिब २० मिटर पहुँचमार्ग बगाएको थियो ।

    बगाएको पक्की पहुँचमार्गको विकल्पमा जगमा ग्यावीयन पर्खाल निर्माण गरी ढुङ्गामाटो भरेर बिहीबार साँझ सडक जोडिएको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिए । पहुँचमार्ग जोडिएपछि बिहीबार साँझदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका सवारीसाधन सञ्चालनमा ल्याइएको छ । सडकलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन सतह मिलाउनेलगायत बाँकी काम शनिबारसम्म सम्पन्न गर्ने लक्ष्य रहेको शर्माले बताए ।

  • नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू

    नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू

    काठमाडौँ, २३ असोज: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज अपराह्न ३ः०० बजेसम्म मतदान हुनेछ । महाधिवेशनमा सात हजार ३१७ प्रतिनिधिले मतदान गर्नेछन् ।

    अहिले राष्ट्रियसभा गृह, मतदान केन्द्र ‘क’ बागमती प्रदेशको मतदान भइरहेको छ भने खुलामञ्च, मतदान केन्द्र ‘ख’ मा कोशी, गण्डकी, मधेस लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिको मतदान भइरहेको छ । मतदान सकिएपछि आजै मतगणना गरिने छ ।

  • नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङ खुला

    नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङ खुला

    काठमाडौँ, २३ असोजः आजदेखि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा बिहानैदेखि टिकट लिने यात्रीको घुइँचो लागेको छ । लामो तथा मध्यम दूरीका सवारीसाधनको टिकट लिने यात्रीको त्यहाँ घुइँचो लागेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुन्यप्रसाद सिटौलाका अनुुसार देशभरका सबै क्षेत्रमा जाने लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

    यसैबीच, प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख शङ्कर श्रेष्ठले चाडपर्वमा आपराधिक गतिविधि हुने सम्भावना अधिक भएकाले बसपार्क क्षेत्रका साथै अन्यत्र पनि शान्तिसुरक्षाको सुदृढ प्रबन्ध मिलाइएको राससलाई जानकारी दिनुभयो । त्यसनिम्ति सादा पोशाकमा प्रहरी परिचालन भएका छन् । यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच गत मङ्गलबार चाडपर्वलक्षित यातायात सेवाका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो ।

  • पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

    पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

    गण्डकी, २३ असोजः पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् । कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार तीन जना बालिका, एक बालक र एक स्थानीयको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ । हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनाको उपचार जारी छ । दुर्घटनाग्रस्त बसमा १७ जना बालबालिका र एक स्थानीय सवार थिए ।

  • माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन

    माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन

    राँझा (बाँके), २३ असोजः बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा नेपालगन्जका गल्लीमा भौतारिन थालेको धेरै वर्ष भइसक्यो । सहरमा कुनै काम नपाउँदा उहाँको मन सधैँ खिन्न र निरास हुन्छ । “मागेर खाने भएकाले हाम्रा पुर्खा र सिङ्गो समुदायलाई नै मगन्ता भनिन्थ्यो । मागेर खाने पुख्र्यौली पेसा छाडेसँगै अहिले नयाँ पेसा र पहिचानका लागि निकै कष्टकर जीवनयापन गर्नुपरेको छ”, केलारामले भने, “माहुत समुदाय अहिले चरम गरिबी, अभाव र सङ्कटबाट गुज्रिएको छ । पेसा र स्पष्ट पहिचानबिना दैनिक जीवन चलाउनै धौधौ परेको छ ।”

    बाँकेको हिरमिनिया, नेपालगन्ज उपमहानगरपालिका–१९ वसुदेवपुरलगायतका विभिन्न बस्तीमा यो समुदायका करिब २०० घरपरिवार र एक हजारको हाराहारीमा जनसङ्ख्या छ । एक पुस्ता अगाडिसम्म नागरिकतामा नामको पछाडि मगन्ता थर लेख्ने गरिए पनि अहिलेका युवा पुस्तालाई उक्त शब्दले आत्मसम्मानमा ठेस पुर्याउँछ । त्यसैले अहिले उनीहरूले आफ्नो नामको पछाडि माहुत लेख्न थालेका छन् । नाम फेरिएर केही हदसम्म आत्मसम्मान मिले पनि उनीहरूको जीवनस्तरमा भने कुनै परिवर्तन आउन सकेको छैन ।

    माहुत समुदायका अधिकांश बालबालिका आज पनि शिक्षाको उज्यालोबाट वञ्चित छन् । स्वास्थ्य सुविधाको पहुँच नहुँदा महिलाको स्वास्थ्य अवस्था नाजुक छ । नेपालगन्ज–१९ सुइयागाउँ निवासी ललवा माहुतका अनुसार खेतीपातीका लागि आफ्नो नाममा एक धुर जग्गा जमिन छैन, न त रोजगारीका लागि कुनै सीप र व्यापार–व्यवसाय गर्ने पुँजी नै छ । उनी भन्छन्, “गाउँमा शुद्ध पिउने पानीको व्यवस्था छैन, बस्तीसम्म पुग्ने सडक बनेको छैन । स्थानीय सरकारले हाम्रो विकासका लागि भनेर छुट्याएको बजेट कहाँ, कसरी र कसले खर्चिन्छ, हामीले कहिल्यै थाहा पाउन सकेनौँ । सीमान्तकृत समुदाय राजनीतिक पहुँचका लागि लडिरहँदा हामी भने आफ्नो सामान्य पहिचानसम्म पनि कायम गर्न सकेका छैनौँ ।”

    माहुत समुदायको नयाँ पुस्तामा भने ठूलो सोचगत परिवर्तन आएको छ । अब मागेर होइन, श्रम र मजदुरी गरेर आत्मसम्मानका साथ बाँच्नुपर्छ भन्ने चेतना युवाहरूमा जागेको छ । माहुत समुदायकी अगुवा एवं डुडुवा गाउँपालिका कार्यपालिका सदस्य जवन्ती माहुतका अनुसार यो समुदायले अहिले माग्ने काम प्रायः छाडिसकेको छ । “अहिले खेतीकिसानी र ज्यालामजदुरी गरेर जसोतसो जीविकोपार्जन गर्दै आए पनि माहुत समुदाय राज्यका हरेक क्षेत्र र अवसरबाट पछाडि पारिएको छ”, उनले भने, “नयाँ पिँढीमा आएको यो सकारात्मक परिवर्तनलाई राज्यले आत्मसात् गरी उनीहरूका लागि रोजगारी र अवसर सृजना गरिदिनुपर्छ ।”

    माहुत अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय भए पनि हालसम्म राज्यको आधिकारिक निकायमा सूचीकृत हुनसकेको छैन । जसका कारण राज्यले अल्पसङ्ख्यक तथा लोपोन्मुख जातिलाई दिने विशेष सुविधा र सामाजिक सुरक्षाबाट यो समुदाय पूर्ण रूपमा वञ्चित छ । डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहनराम मिश्र पनि माहुत समुदाय चरम अभावमा रहेको स्वीकार्छन् ।

    “यो समुदायले आफ्नो पुख्र्यौली पेसा छाडेर आफूलाई रूपान्तरण गर्ने प्रयास गरिरहेको छ”, वडाध्यक्ष मिश्रले भने, “अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका रूपमा सरकारीस्तरमा सूचीकृत नभएकाले उनीहरूले पाउनुपर्ने विशेष सेवासुविधा पुर्याउन सकिएको छैन ।” पुख्र्यौली पेसा छाडेर श्रम र पसिनाको जगमा उभिन खोजिरहेको माहुत समुदाय अहिले आफूहरूलाई अल्पसङ्ख्यकका रूपमा सूचीकृत गराउन राज्यको ढोका घच्घच्याइरहेका उनको भनाइ छ।

  • बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

    बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

    बागलुङ, २३ असोजः चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक भरिभराउ हुन्थे । आर्थिक गतिविधि बढ्थ्यो । रोजगारी विस्तार भएको थियो । यस वर्ष पनि त्यस्तै अपेक्षामा रहेका व्यवसायी भने निरास र खिन्न छन् । मुख्य सडक सम्पर्कविच्छेद हुँदा पर्यटन र व्यापार व्यवसाय प्रभावित भएको छ ।

    दसैँको समयमा कालिका मन्दिर, पञ्चकोट हुँदै ढोरपाटनसम्म घुम्न आउने पर्यटकले बागलुङका होटल भरिभराउ हुने गरे पनि यस वर्ष बजार तथा होटलमा अपेक्षित चहलपहल देखिएको छैन । बागलुङ प्रवेश गर्ने मुख्य नाका मालढुङ्गा पुलको पहुँचमार्ग बाढीले बगाएपछि १२ दिनदेखि सिधा यातायात ठप्प भएको छ । त्यसको प्रत्यक्ष असर पर्यटन, व्यापार र सर्वसाधारणको जीवनमा पर्न गएको छ ।

    यही असोज ११ गतेको कालीगण्डकीको बाढीले पर्वततर्फको पुलको पहुँचमार्ग बगाएपछि बागलुङ र पर्वतबीचको नियमित सडक सम्पर्कविच्छेद भएको छ । मालढुङ्गा हुँदै म्याग्दी र मुस्ताङ जाने मुख्य सडक अवरुद्ध हुँदा त्यसको प्रभाव बागलुङको पर्यटन व्यवसायमा परेको छ ।

    पर्यटकीय गन्तव्यमा जाने पर्यटकका लागि बागलुङ प्रवेशद्वारका रूपमा रहेको छ । होटल व्यवसायी एन्जील शाक्यले दसैँको मुखमा होटलमा पर्यटकको चाप बढ्नुपर्ने भए पनि सुनसान रहेको बताए । “मुख्य सडक नै छैन, पर्यटक कसरी आउँछन् ? मुस्ताङसँग सडक सम्पर्क नै विच्छेद भएको छ । मुस्ताङको प्रभावले बागलुङको होटल व्यवसाय चलायमान हुन्थ्यो”, उनले भने, “पुल सञ्चालनमा आउन जति ढिला हुन्छ, होटल व्यवसायी त्यति नै मारमा पर्छन् । वैकल्पिक बाटोबाट पर्यटक कमै आउने गरेका छन् । मुस्ताङ जाने सडक र मालढुङ्गा पुल नखुल्दासम्म होटल व्यवसायमा ठूलो नोक्सानी हुने देखिन्छ ।”

    भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर तथा पहाडी क्षेत्र हुँदै गएको मध्यपहाडी लोकमार्गको महत्त्वपूर्ण सङ्गमस्थल मालढुङ्गा भएकाले यहाँको सडक अवरोधले बागलुङसँगै पश्चिम क्षेत्रको आवागमनमा असर पारेको छ ।

    वैकल्पिक मार्गले बढायो ढुवानी खर्च

    मुख्य सडक अवरुद्ध भएपछि अहिले फलेवास–बलेवा हुँदै बागलुङ तथा मालढुङ्गा–बेनी हुँदै बागलुङसम्म वैकल्पिक मार्गबाट यात्रुवाहक बस र साना मालवाहक सवारी सञ्चालन भइरहेका छन् । लामो र घुमाउरो वैकल्पिक बाटो प्रयोग गर्नुपर्दा ढुवानीमा समय र खर्च दुवै बढेको व्यवसायीको भनाइ छ । यसको प्रत्यक्ष प्रभाव दैनिक उपभोग्य वस्तुको मूल्यमा पर्न थालेको छ । ग्यास ढुवानीमा वैकल्पिक मार्ग प्रयोग गर्दा प्रतिसिलिन्डर रु १५० देखि रु १७० सम्म अतिरिक्त ढुवानी खर्च लाग्न थालेको ग्यास विक्रेता हरि आचार्यले बताए । ढुवानी खर्च बढेपछि बजारमा ग्यासको मूल्य रु १०० ले बढाउनु परेको उनको भनाइ छ ।

    सडक अवरुद्ध हुँदा समयमै आपूर्ति हुन नसकेपछि बागलुङमा तरकारीलगायत खाद्यवस्तुको आपूर्तिमा समस्या देखिन थालेको छ । पेट्रोलियम पदार्थ, खाद्यान्न, लत्ताकपडा र अन्य उपभोग्य वस्तुको आपूर्ति नियमित हुनसकेको छैन । मुख्य सडक अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जीवनसँगै स्वास्थ्य सेवामा असर परेको छ । गम्भीर बिरामी तथा नियमित उपचारका लागि पोखरा जानैपर्ने सर्वसाधारणले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने वा केही दूरी पैदल हिँड्नुपर्ने अवस्था आएको छ ।

    दसैँअघि पुल सञ्चालनको तयारी

    सडक डिभिजन कार्यालय पोखराले दसैँअघि नै मालढुङ्गा पुलको पहुँचमार्ग सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको छ । पुलको पहुँचमार्गमा करिब ३० मिटर सडक बाढीले क्षति पुर्याएपछि मर्मत तथा पुनःस्थापनाको काम भइरहेको छ । सडक डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले चाडपर्व नजिकिँदै गएको र बागलुङमा खाद्यान्न, ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा असर पर्न थालेकाले चौबीसै घण्टा काम गरेर पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।


    कुल ११४ मिटर लामो मालढुङ्गा पुलको पहुँचमार्गमा क्षति पुगेपछि दुई जिल्लाबीचको नियमित सडक सम्पर्कविच्छेद भएको हो । यही मार्ग हुँदै मध्यपहाडी लोकमार्गमा जोडिएर बागलुङसँगै पूर्वीरुकुम र रोल्पातर्फ जाने यातायात प्रभावित भएको छ । पुल सञ्चालनमा आएपछि लामो समयदेखि प्रभावित व्यापार, पर्यटन र दैनिक उपभोग्य वस्तुको आपूर्ति क्रमशः सहज हुने अपेक्षा गरिएको छ ।

  • तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

    तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

    कञ्चनपुर, २३ असोजः महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवर सुरक्षित भएको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर हरेक वर्ष जोगबुढा नदी र महाकाली नदीको बाढीबाट प्रभावित हुँदै आएको थियो । बाढीको त्रासमा रहेको कुतियाकवर तटबन्ध निर्माणपछि सुरक्षित बनेको भन्दै स्थानीयवासी खुसी भएका छन् ।

    “बाढी र कटानले बस्ती नै जोखिममा परेपछि यहाँबाट धेरै परिवार अन्यत्र बसाइँ सरेका थिए”, स्थानीय टेकबहादुर सुनारले भने, “अहिले तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित बनेको छ अब बस्तीमा बाढी पस्ने डर छैन ।” नदीको कटानले बस्ती नै जोखिममा परेपछि यहाँका स्थानीयवासी पलायन हुन थालेका थिए । अहिले दुवैै नदीमा पक्की तटबन्ध निर्माण भएपछि बाढी र कटानबाट बस्ती सुरक्षित बनेको सुनार बताउँछन् । गत आर्थिक वर्षमा महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि यहाँका स्थानीयले सुरक्षित महसुस गरेको उनको भनाइ छ ।

    “पक्की तटबन्ध निर्माण भएपछि हामी ढुक्क छौँ, अब सरकारले जोगबुढा नदीमा पक्की पुल बनाइदिए राम्रो हुन्थ्यो”, स्थानीय मोतिराम सुनारले भने, “अहिले भएको झोलुङ्गे पुलबाट आवतजावत गर्न सहज भए पनि ट्याक्टर नआउँदा खेतीपातीमा समस्या भएको छ ।” बस्तीमा दुईवटा सेफहाउस बनेका छन् । सेफहाउसले बाढीबाट मानिसको ज्यान जोगाए पनि अन्न, लत्ताकपडा, पशुचौपाया क्षति हुन्थ्यो । नदीमा पक्की तटबन्ध बनेपछि विगतजस्तो बाढी बस्ती पस्ने खतरा कम भएको स्थानीय सुक्कादेवी सुनार बताउँछन् ।


    “विगतमा बाढीले हाम्रो घरको अन्न, लत्ताकपडा सबै नोक्सान गथ्र्यो”, उनले भने, “तटबन्ध बनेपछि हामी ढुक्क छौँ ।” कुतियाकवरमा महाकाली नदीको बाढीबाट बर्सेनि खेतीयोग्य जमिन कटान हुँदै आएको थियो । कटानका कारण बस्ती नै जोखिममा परेपछि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा महाकाली नदी र जोगबुढा नदीमा ८१६ मिटर पक्की तटबन्ध निर्माण गरेको हो । त्यसको कुल लागत रु पाँच करोड १६ लाख ६७ हजार रहेको थियो ।

    “तटबन्ध निर्माण भएपछि स्थानीयवासीमा बाढीको त्रास हटेको छ”, आयोजनाका प्रमुख रञ्जनराज भट्टराईले भने, “चालु आर्थिक वर्षमा पनि कुतियाकवरमा जोखिम देखिएका स्थानमा काम गर्ने हाम्रो योजना छ ।” उनले स्थानीयको मागबमोजिम बस्ती संरक्षणका लागि अन्य संरचना निर्माण हुने बताए ।

  • देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    काठमाडौँ, २३ असोजः पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भाग तथा कोशी प्रदेशका तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    हाल देशका पहाडी र हिमाली भाग, मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लागेको छ । अन्य क्षेत्रमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशका हिमाली तथा पहाडी भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधारणतया बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।

    हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । मधेससहित कोशी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।

    त्यसैगरी, आज राति देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशको हिमाली तथा पहाडी भागका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

    राति कोशी प्रदेशको तराईका केही स्थान, मधेस प्रदेशका स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी प्रदेशको पहाडी तथा तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाले देशभर तापक्रम हल्का घट्ने सम्भावना रहेको जनाउँदै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भाग तथा कोशी प्रदेशको तराईका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने बताएको छ । साथै महाशाखाले कृषिमा संलग्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई पछिल्लो मौसमी सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिइ आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

  • डोको बुन्दै, सीप सिकाउँदै


    भोजपुर, २३ असोजः भोजपुर नगरपालिका–५ का किसान कृतिमान विष्ट परम्परागत डोको बुन्ने पेसाको संरक्षणमा जुटेका छन् । खेतीपातीको कामबाट बचेको समय सदुपयोग गर्दै उहाँले पुस्तौँदेखि चलिआएको बाँसको चोयाबाट डोको बुन्ने सीपलाई निरन्तरता दिँदै आएका छन् । गाउँघरमा कृषि तथा घरायसी काममा प्रयोग हुने डोको पछिल्लो समय बजारमा पाइने आधुनिक सामग्रीका कारण निकै कम मात्रामा प्रयोग हुन थालेको छ । ग्रामीण क्षेत्रमा यसको आवश्यकता भने अझै रहेको स्थानीयवासीको भनाइ छ । ग्रामीण आवश्यकतालाई ध्यानमा राख्दै विष्टले स्थानीयस्तरमै पाइने बाँसको प्रयोग गरेर विभिन्न आकारमा डोको तयार पार्दै आएका छन् ।


    चोया तयार गर्ने, चोयालाई आवश्यक आकारमा मिलाउने र हातैले बुनेर डोको तयार गर्ने उनको नियमित काम हो । उनका अनुसार आकारका आधारमा एउटा डोको रु ३०० देखि ७०० सम्ममा बिक्री हुने गरेको छ । ठूलो आकारको डोको बनाउन पाँचदेखि छ घण्टासम्म समय लाग्ने उनले जानकारी दिए । “आफ्नै गाउँमा पाइने बाँसबाट चोया तयार गरेर डोको बुनिन्छ । फुर्सदको समयमा बुन्दा सीप पनि जोगिन्छ भने केही आम्दानी हुन्छ”, विष्टले भने ।


    कृषि कार्यमा प्रयोग हुने डोको, नाङ्लो, डालोलगायतका सामग्री ग्रामीण जीवनका अपरिहार्य साधन हुन् । खेतबारीबाट उत्पादित मकै, धान, कोदो, आलुलगायतका कृषि उपज ओसारपसार गर्न तथा घाँस, दाउरा र घरायसी सामान बोक्न डोको प्रयोग हुने गरेको छ । स्थानीयस्तरमा सहजै पाइने बाँसको उपयोग गरी तयार गरिने यस्ता सामग्री वातावरणमैत्री हुनुका साथै स्थानीय सीप र स्रोतसाधनको उपयोगको उदाहरण बनेको छ ।

    पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको डोका बुन्ने सीप पछिल्लो पुस्तामा हस्तान्तरण हुन नसक्दा हराउँदै जाने अवस्था रहेकाले आफूले जानेको सीपलाई निरन्तरता दिएको उनले बताए । नयाँ पुस्ताले सीप सिकेर व्यावसायिक रूपमा अघि बढ्न सके यसलाई आम्दानीको महत्त्वपूर्ण स्रोत बनाउन सकिने उनको भनाइ छ।

  • काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

    काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

    काठमाडौँ, २३ असोज । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते शनिबार आयोजना हुने ‘काठमाडौँ म्याराथन’ लाई सुरक्षित, व्यवस्थित र भव्य बनाउन विशेष ट्राफिक सचेतना तथा सडक सुरक्षा योजना अघि सारेको छ । म्याराथनमा ठूलो सङ्ख्यामा धावक, दर्शक तथा सर्वसाधारणको सहभागिता हुने भएकाले प्रतियोगिता हुने सडकमा सवारी आवागमन प्रभावित हुनसक्ने भन्दै ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले म्याराथनका क्रममा तोकिएका सडक तथा मार्गमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाइने जानकारी दिए । “काठमाडौँ म्याराथनलाई सुरक्षित, व्यवस्थित र भव्य बनाउन हामीले विशेष ट्राफिक सचेतना तथा सडक सुरक्षा योजना अघि सारेका छौँ”, उनले भने, “बृहत् नागरिक सचेतना अभियानअन्तर्गत ट्राफिक प्रहरीले जनचेतनामूलक सन्देशसहित म्याराथनमा विषेश सहभागिता जनाउने छ ।”

    म्याराथन धावकको टिसर्ट पछाडिको भागमा ट्राफिक प्रहरीको लोगो र ‘फलो ट्राफिक रुल्स, सेभ लाइफ’ भन्ने नारा राखिएको ट्राफिक प्रहरी प्रमुख काफ्लेले बताए । ट्राफिक प्रहरी प्रवक्ता नरेशराज सुवेदीका अनुसार म्याराथनको रुटमा आवश्यक ट्राफिक सुरक्षा व्यवस्थापनको तयारी पूरा भएको छ । उनले धावकलाई निर्धारित मार्ग र लेनको प्रयोग गर्न तथा ट्राफिक प्रहरी र स्वयंसेवकले दिएको निर्देशन पालना गर्न आग्रह गरे ।


    उनले भने, “दर्शक तथा सर्वसाधारणलाई सडकमा जथाभावी नउभिन, धावकको मार्ग अवरुद्ध नगर्न तथा सडक पार गर्दा तोकिएको स्थान र जेब्राक्रसिङको प्रयोग गर्न अनुरोध गरेका छौँ । सवारी चालकलाई प्रतियोगिताका क्रममा धैर्य र संयमता अपनाएर सवारी सञ्चालन गर्न हाम्रो आग्रह छ ।” म्याराथनका कारण केही स्थानमा सवारी चाप बढ्नसक्ने भएकाले अत्यावश्यक कामबाहेक वैकल्पिक मार्ग प्रयोग गर्न र गन्तव्यमा पुग्नुपर्ने यात्रुलाई केही समयअगावै घरबाट निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

    सडकको सही प्रयोग, ट्राफिक नियमको पालना तथा धावक, दर्शक, सवारी चालक र सर्वसाधारणको सहयोगबाट म्याराथनलाई सुरक्षित र व्यवस्थित बनाउन सकिने भएकाले सडक सुरक्षा अभियानमा सहयोग गर्न ट्राफिक प्रहरी प्रमुख काफ्लेले आग्रह गरेका छन् । सन् २००७ देखि निरन्तर आयोजना हुँदै आएको उक्त प्रतियोगितालाई नेपालकै ठूलो सिटी म्याराथनका रूपमा लिइन्छ । प्रतियोगिताको व्यवस्थापन एनआरएस स्पोट्र्स फाउन्डेसनले गरिरहेको छ ।

  • विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    म्याग्दी, २३ असोजः कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे पनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा चुनौती देखिएको छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरलानाका जोड्ने २०२ किलोमिटर लामो बेनी–जोमसोम–कोरला सडक यही असोज ८ देखि ११ गतेसम्मको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको थियो ।

    विभिन्न ५० ठाउँमा पहिरो खसेको, भासिएको र १० ठाउँमा कालीगण्डकी नदीको कटानले बगाएको सडक मर्मतकार्य अन्तिम चरणमा पुगेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटा भिर र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरस्थित सडक पुलको पहुँचमार्ग तयार भएर बिहीबार साँझ अत्यावश्यक सवारीसाधन वारपार गरेका छन् । कालीगण्डकीको बाढीले बगाएको कुनौटाको सडक र पोखरेबगर पुलको पहुँचमार्ग निर्माणमा चुनौती देखिएको थियो ।

    इन्धन, एम्बुलेन्स, सडक, विद्युत् र सञ्चार सेवा सञ्चालन गराउन आवश्यक उपकरण र राहत सामग्री ढुवानी गर्ने सवारीसाधनमात्र एकतर्फी रूपमा सञ्चालन गर्न सकिने अवस्थामा रहेको सडकमा थप मर्मतकार्य बाँकी रहेको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले बताए । “प्रारम्भिक चरणको मर्मत भए पनि पूर्ण रूपमा पहिरो पन्छाउने, भासिएको र कटान गरेको ठाउँमा फिलिङ, लेवल मिलाउने, क्रसिङ बनाउन बाँकी छ”, उनले भने, “अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्दा अस्तव्यस्त र दुर्घटनाको जोखिम हुने भएकाले आइतबारसम्म मर्मतकार्यलाई पूर्णता दिने र आगामी सोमबारदेखि यातायात सञ्चालन गर्ने कार्ययोजना बनाएका छौँ ।”

    केराबारी, लामाबगर, तिल्केनीचौर, राहुपारे, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, तातोपानी, सुकेबगर, खामभित्ता, खहरेखोला क्षेत्रमा कालीगण्डकीले कटान र पहिरोले सबैभन्दा बढी क्षति गरेको छ । हालै कालोपत्र सकिएको र पहिरो प्रभावित क्षेत्रमा ढलानको काम भइरहेको म्याग्दी खण्डको ३३ किलोमिटरमध्ये २० किलोमिटर बढी स्थानमा सडक क्षतविक्षत भएको सङ्घीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए ।


    “चीनसँग हाल सञ्चालनमा रहेको एकमात्र कोरलानाकाका कारणले पनि सरकारले उच्च प्राथमिकतामा राखेर अवरुद्ध भएको दुई साताभित्रै यातायात सञ्चालनको तयारी गरेको भए पनि पहिलेकै अवस्थामा फर्काउन धेरै लगानी र पूर्वाधार आवश्यक पर्छ”, उनले भने, “रु ९० करोडबराबरको क्षति भएको यो सडकलाई नयाँ डिजाइनमा पुनर्निर्माण गर्न थप रु तीन अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेका छौँ ।”

    बेनी–जोमसोम–कोरला सडक योजनाका संस्थापक प्रमुखसमेत रहेका सुवेदीका अनुसार योजना सुरु भएयताकै ठूलो क्षति यसपालिको बाढीले गरेको छ । अत्यधिक वर्षाका साथै सहायक सडक भत्किएका, जलविद्युत् आयोजनाले नदी किनारमा फालेका मकिङ, कमजोर भूगोल, नयाँ पहिरो सृजना हुनु, सहायक नदीमा बाढीको सतह बढ्नुलगायतका कारण कालीगण्डकीमा बाढीको आयतन बढेर अकल्पनीय क्षति गरेको सुवेदीको भनाइ छ ।

    कोरलानाकामा जानेआउने मालवाहक, मुस्ताङको स्याउ र आलु निकासी, पर्यटकीय याम र दसैँतिहारलगायत ठूला चाडपर्वमा बढ्ने आन्तरिक यातायात साधनको चापले सृजना हुने चुनौतीको व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए । भन्सार जाँचपास गरेर कोरलानाकाबाट दसैँलाई लक्षित गरेर आयात गरिएका सामान बोकेका ५०० भन्दा बढी कन्टेनर गन्तव्यमा पुग्ने प्रतीक्षामा मुस्ताङ र म्याग्दीका विभिन्न ठाउँमा रोकिएका छन् ।

    “अत्यावश्यक, ढुवानी, आन्तरिक यातायात र पर्यटक सवारीसाधनलाई प्राथमिकता निर्धारण गरेर ट्राफिक व्यवस्थापन गर्न जनप्रतिनिधि, प्रदेशस्तरका सुरक्षा अधिकारीसहितको टोलीले बिहीबार स्थलगत निरीक्षण गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी गैरेले भने, “सवारीसाधनको जाम हुन नदिनका लागि साँघुरा र जोखिमयुक्त ठाउँमा सुरक्षाकर्मी खटाउने विषयमा पनि छलफल भएको छ ।”

    अत्यावश्यक सेवा, आन्तरिक यातायात, कन्टेनर, स्याउ, आलु बजार पठाउने सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने भएकाले सडकको अवस्था सहज नहुँदासम्मको लागि घुमघामका लागि आउनेलाई केही दिन योजना पछि सार्न प्रजिअ गैरेले अनुरोध गरे ।

    गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, जिससका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, प्रजिअ गैरे, सङ्घीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख सुवेदी, नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापा, गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दीपेन्द्र घर्ती क्षेत्री र सशस्त्र प्रहरी बल नं ४ मुक्तिनाथ बाहिनीका बाहिनीपति दीपेन्द्र शाह, म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीसहित जिल्ला तहका सुरक्षा अधिकारीले सडकमा यातायात सञ्चालनको तयारीका लागि अनुगमन गरेका थिए ।


    सरोकारवालाको सुझावअनुसार शुक्रबार बिहान म्याग्दी र मुस्ताङको जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेर बेनी–जोमसोम–कोरला सडकमा यातायात सञ्चालन व्यवस्थित बनाउन छलफल र कार्ययोजना तयार गरिने प्रजिअ गैरेले जानकारी दिए ।

  • साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    काठमाडौँ, २२ असोजः साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) मार्फत सरकारलाई मानवीय सहायता सामग्री उपलब्ध गराएको छ । उक्त संस्थाले प्रदान गरेका मानवीय तथा राहत सामग्री नेपालका लागि नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन म्नैखिरले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरे ।


    मन्त्री पुनले उक्त सहयोगका लागि साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्दै यसले दुई मित्रवत् मुलुकबीचको गहिरो मित्रता प्रतिबिम्बित गरेको बताए । केएस रिलिफको विशेषज्ञ टोलीले सम्बन्धित नेपाली निकायसँग समन्वय गरी उक्त मानवीय सहायता सामग्री भोटेकोशी बाढीपीडितलाई वितरण गर्ने यहाँस्थित साउदी राजदूतावासले जनाएको छ ।

  • विश्व वरियतामा नेपाल १६औँ स्थानमा

    विश्व वरियतामा नेपाल १६औँ स्थानमा

    काठमाडौँ, २२ असोजः अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको आइसिसी एकदिवसीय विश्व वरियतामा नेपाल १६ स्थानमा उक्लिएको छ । पुरुष एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको हो । नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ ।

    नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ । एकदिवसीय विश्व वरियतामा भारत शीर्ष स्थानमा रहँदा न्यूजील्याण्ड दोस्रो स्थानमा छ । त्यसैगरी दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ भने अष्ट्रेलिया चौथो तथा पाकिस्तान पाँचौँ स्थानमा छन् ।

  • चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन

    चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन

    काठमाडौँ, २२ असोजः श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा ‘चाडपर्व खर्च’ उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ । विभागले आज विज्ञप्ति जारी गर्दै उक्त ध्यानाकर्षण गराइएको हो । ‘श्रम ऐन, २०७४ को दफा ३७’ बमोजिम प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाइ आएको ‘एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम’ प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने कानुनी व्यवस्था रहेको छ ।

    विभागका उप–महानिर्देशक विपिन राजभण्डारीद्वारा जारी विज्ञप्तिमा यदि रोजगारदाता वा प्रतिष्ठानले उक्त सुविधा उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने ‘श्रम तथा रोजगार कार्यालय’ वा ‘श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग’ मा उजुरी तथा निवेदन दिन सक्ने पनि उल्लेख गरिएको छ ।

  • कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि

    कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि

    काठमाडौँ, २२ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहानदेखि मात्रै सुरु हुने भएको छ । खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान सुरु गर्दा रातिमा मतदातालाई कठिन हुने भएकाले शुक्रबार बिहान ७ः०० बजेदेखि मात्रै मतदान थालिने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए । महाधिवेशनको उद्घाटन यही असोज १८ गते भएको थियो ।

    उनले उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाइ भएकाले शुक्रबार बिहान ७ः०० देखि दिउँसो ३ः०० बजेसम्म मतदान हुने बताए । महाधिवेशन प्रतिनिधिको सङ्ख्या सात हजार ३१७ रहेको पनि सदस्यसचिव कटुवालले बताए । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आवश्यक तयारी सबै सकिएको तर साँझमा मतदान सुरु गर्दा रातभर मतदातालाई अप्ठेरो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै शुक्रबार बिहानदेखि थालिने जानकारी दिए । उनले मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताले मतपत्रमा हस्ताक्षर गरिरहेको बताए ।

    कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ?

    निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ । प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशको मतदान हुनेछ । खुलामञ्च, मतदान केन्द्र ‘ख’ मा कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका साथै नेपाली जनसम्पर्क समितिको मतदानको व्यवस्था गरिएको छ । निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन् ।

    परिचयपत्र र मतदाता नामावली रुजु गरिने

    निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ । मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ । रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ । निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ । प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन् ।

    यसैगरी कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको सदस्यसचिव कटुवालले जानकारी दिनुभयो । सो प्रक्रिया सम्पन्न भएपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ । अब मतदानमार्फत सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

    मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढाइनेछ । मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । त्यससँगै कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ ।

    पार्टीको १५औँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ । नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन् ।