Category: अमेरिका

  • खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छः कतार

    खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छः कतार


    आबुधाबी, २३ भदौ (रासस–एएफपी) । खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा अन्य अन्तरराष्ट्रिय गठबन्धनमा मात्र निर्भर रहन नसक्ने र सुरक्षा क्षेत्रमा अझ बढी आत्मनिर्भर बन्नुपर्ने कतारको विदेश मन्त्रालयका प्रवक्ताले सोमबार बताएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीमा आयोजित ‘हिली फोरम’ मा बोल्दै प्रवक्ता माजिद अल–अन्सारीले खाडी क्षेत्रमा अन्तरराष्ट्रिय सेनाको उपस्थिति र अमेरिकासँगको रणनीतिक गठबन्धन महत्वपूर्ण भए पनि त्यसले मात्र क्षेत्रको सुरक्षा सुनिश्चित गर्न नसक्ने बताए ।


    “हामीलाई हाम्रा साझेदार र सहयोगीहरूको आवश्यकता छ । तर आफ्नो सुरक्षाका लागि हामी उनीहरूमा मात्र निर्भर रहन सक्दैनौँ”, उनले भने। उनका अनुसार सुरक्षा क्षेत्रमा आत्मनिर्भरता नै अघि बढ्ने मुख्य बाटो हो । कतार अमेरिका–इरान द्वन्द्वमा प्रमुख मध्यस्थकर्ताका रूपमा सक्रिय रहँदै आएको छ । यस क्रममा उसले आफ्ना ऊर्जा पूर्वाधारलाई लक्षित गरी इरानबाट भएका आक्रमणसमेत सामना गरेको छ ।


    सानो तर धनी ग्यास उत्पादक राष्ट्र कतारले मध्यपूर्वमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य आधारमध्ये एकलाई आश्रय दिँदै आएको छ । द्वन्द्वका क्रममा इरानले अमेरिकी आक्रमणको जवाफमा अमेरिकी सैन्य आधार तथा क्षेत्रका ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण गरेको छ ।

    छ महिनादेखिको द्वन्द्वपछि अमेरिका र इरान गतिरोधमा पुगेका छन् । इरानले रणनीतिक महत्वको हर्मुज जलसन्धिमा जहाज आवतजावतमा अवरोध पु¥याइरहेको छ भने अमेरिकाले इरानी बन्दरगाहमाथि नाकाबन्दीको दबाब बढाइरहेको छ । गत महिना मध्यस्थता प्रयासस्वरूप कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी तेहरान पुगेका थिए । त्यसअघि हर्मुज जलसन्धिसँग सीमा जोडिएका इरान र ओमानले अस्थायी समुद्री मार्ग ९सिपिङ करिडोर० सञ्चालन तथा जलसन्धिमा रहेका बारुदी सुरुङ हटाउने विषयमा छलफल गरिरहेको बताएका थिए ।

  • यमनका पछिल्ला झडपमा १४० भन्दा बढीको मृत्युः सेना

    यमनका पछिल्ला झडपमा १४० भन्दा बढीको मृत्युः सेना

    दुबई, २२ भदौ (रासस–एएफपी) । दक्षिण–पश्चिम यमनमा यमनी सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीहरूबीच शनिबार दिउँसोदेखि आइतबार बिहानसम्म भएको लडाइँमा १४० भन्दा बढी सेना र विद्रोही लडाकुहरूको मृत्यु भएको सैन्य स्रोतहरूले बताएका छन् । साउदी समर्थित सरकारी सेनाका दुई सैन्य अधिकारीहरूले एएफपीलाई बताएअनुसार उनीहरूतर्फ ८४ सैनिक मारिएका छन्, जसमध्ये अधिकांश मिसाइल आक्रमणमा परेका हुन् । यसैबीच चार हुथी सैन्य स्रोतहरूले सोही अवधिमा ५७ विद्रोही लडाकुहरू मारिएको पुष्टि गरेका छन् ।

    इरानले हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि बन्द गरेसँगै विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरब बाब अल–मन्डब चेकपोइन्टको तेलको पारवहन मार्गको रूपमा महत्त्वपूर्ण बनेको छ । शनिबार एक सैन्य अधिकारीले एएफपीलाई बताएअनुसार एडेनस्थित सरकारको प्रमुख समर्थक साउदी अरबले ताइजमा हालै हुथीहरूले कब्जा गरेका स्थानहरूमाथि तीन हवाई आक्रमण गरेको थियो ।

    विद्रोहीहरूले राजधानी सानाका लागि इरानी विमानलाई प्रवेश दिएपछि र जुलाईमा हुथी विद्रोही र यमन सरकारबीच भएको युद्धविराम उल्लङ्घन भएपछि आक्रमणको श्रृङ्खला सुरु भएको थियो । इरान–समर्थित हुथीहरू र अमेरिका सहयोगी साउदी अरबद्वारा समर्थित सरकारी सेनाबीचको यो लडाईँले फराकिलो मध्यपूर्वी युद्धको नयाँ युद्ध मोर्चाको उदयलाई सङ्केत गर्छ ।

    फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानमा गरेको संयुक्त आक्रमणपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार शिविरलाई लक्षित गरी आक्रमण गर्दै आएको छ भने इरानका धेरै क्षेत्रमा अमेरिकी आक्रमणको प्रभाव परेको छ । इरानमाथि भएको अमेरिकी आक्रमणपछि यस क्षेत्रमा इरान निकट समूहहरू सक्रिय भएका छन् । इरानको समर्थनमा हुथीहरूले साउदी अरबको समुद्री नाकाबन्दी पनि घोषणा गरेका छन् र त्यसका जहाज तथा क्षेत्रमाथि आक्रमण सुरु गरेका छन् ।

  • अमेरिकी प्रतिनिधिहरू किएभमा, राष्ट्रपति जेलेन्स्कीसँग छलफल

    अमेरिकी प्रतिनिधिहरू किएभमा, राष्ट्रपति जेलेन्स्कीसँग छलफल


    किएभ, २२ भदौ (रासस–एएफपी) । अमेरिकी प्रतिनिधि जारेड कुश्नर र स्टिभ विट्कफले आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग रुससँगको युद्ध अन्त्य गर्ने सम्बनधमा वार्ता गरेका छन् । उनीहरूले शनिबार रुसका भ्लादिमिर पुटिनसँग भेटेपछि किएभको भ्रमण गरेका हुन्।

    अमेरिकीहरूले ग्रीष्मकालीन तनाव बढेपछि दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा खराब द्वन्द्व अन्त्य गर्न वार्ता पुनः सुरु गर्ने आशामा रूसबाट रेलमार्ग हुँदै युक्रेनी राजधानी किएभ पुगेका थिए । नेता जेलेन्स्कीले किएभको मध्य क्षेत्रमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ कुश्नर र व्यापारिक साझेदार विट्कफसँग भेटको भिडियो सार्वजनिक गर्दै ‘वार्ता सुरु भएको बताएका छन् ।
    विट्कफ र कुश्नरले मस्कोकोे आठ पटक भ्रमण गरेका थिए तर रुसको फेब्रुअरी २०२२ आक्रमणपछि घातक प्रहार खेपेको किएभमा यसभन्दा पहिले वार्ताका लागि पुगेका पाइदैन । वार्तामा युक्रेनका उच्च सुरक्षा अधिकारी र वार्ताकारहरूका साथै केही युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरू पनि उपस्थित थिए।

    जेलेन्स्कीले अमेरिकी प्रतिनिधिहरूलाई किएभको ऐतिहासिक सेन्ट सोफिया क्याथेड्रलको अवलोकन भ्रमणमा साथ दिनुभएको थियो, जसको अगाडि शुक्रबार रुसी ड्रोन प्रहारबाट क्षतिग्रस्त एसबीयू सुरक्षा भवन छ। मस्कोको युक्रेन आक्रमणले लाखौँ मानिसको ज्यान लिएको छ र करोडौँलाई विस्थापित बनाएको छ।

    विट्कफ र कुश्नरले शनिबार पुटिनसँग ‘रुस–युक्रेन युद्धमा शान्तिका लागि राष्ट्रपति ट्रम्पको एजेन्डा अगाडि बढाउन’ भेट गरेको ह्वाइट हाउसका एक अधिकारीले एएफपीलाई उपलब्ध गराएको वक्तव्यमा उल्लेख छ । दुवै पक्षले आगामी कदमका लागि ठोस योजनाहरूबारे छलफल गरेका छन्, जुन आउँदा हप्ताहरूमा घोषणा गरिनेछ र भोलि युक्रेनी अधिकारीसँग पनि उत्तिकै उत्पादक भेटघाटको आशा गरिएको छ।”

    क्रेमलिनका सहायक युरि उशाकोभले वार्तालाई ‘अत्यन्तै खुला’ बताउँदै अमेरिकीहरूले ‘सम्झौताका सम्भावित मार्गहरूबारे केही विचार अगाडि सारेका’ तर विस्तृत जानकारी नदिएको बताए । रुसी पक्षले अमेरिकीहरूलाई मस्कोले पूर्वी युक्रेनको बाँकी भाग कब्जा गर्ने आफ्ना सैन्य लक्ष्य हासिल गर्न ‘आत्मविश्वास’ राखेको बताएको उशाकोभले थपे ।


    रुस र युक्रेन दुवैले अमेरिकी प्रतिनिधिहरूको भ्रमण वरिपरिका तीन दिनसम्म एकअर्काको राजधानीमाथि प्रहार नगर्ने प्रतिबद्धता जनाएका छन्।
    जेलेन्स्कीले आइतबार युक्रेन ‘वार्ताका लागि तयार’ रहेको बताए । “युक्रेन सधैँ रचनात्मक रहँदै आएको छ र रहिरहनेछ,” नेता जेलेन्स्कीले अमेरिकी कुटनीतिज्ञको भ्रमणअघि सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।


    मस्कोले युद्ध सुरु गरेदेखि देशको हवाई क्षेत्र बन्द छ र भ्रमणमा आउने नेताहरू रेलबाट आइरहेका छन्। धेरै युक्रेनीहरूका लागि सफलताको आशा अझै कमजोर छ। “अहिले यसले मलाई कुनै आशा दिँदैन। पहिले नै धेरै वार्ता भइसकेका छन्,” किएभवासी २९ वर्षीय यारोस्लाभले एएफपीसँग भने ।

    –ट्रम्पलाई धन्यवाद–

    अमेरिकी प्रतिनिधिसँगको वार्ताअघि टेलिभिजनमार्फत रूसी राष्ट्रपति पुटिनले रुसले किएभमा प्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्ने बताएका थिए । “वार्ता प्रक्रिया र तपाईंहरूजस्ता मध्यस्थकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न हामीले गर्न सक्ने सबै कुरा गर्नेछौँ,” पुटिनले विट्कफ र कुश्नरसँगको भेटमा भने । शनिबार अघि राष्ट्रपति पुटिनले युद्ध अन्त्य गर्न ‘सजिलो नभए पनि’ प्रयास जारी राखेकोमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिए ।

    प्रतिनिधिहरूको किएभ यात्राबारे उनले भने, “अगाडि जे भए पनि, यस्ता सम्पर्कहरू निःसन्देह सधैं लाभदायक हुन्छन्।” ट्रम्पले शुक्रबार आफ्ना प्रतिनिधिहरू लडाइँ अन्त्य गर्ने ‘प्रस्ताव’ लिएर जाँदै गरेको बताएका थिए । “हामीसँग शान्तिका लागि एउटा विचार छ,” उनले विस्तृत जानकारी नदिई भने ।


    अमेरिकी प्रयासहरूले अहिलेसम्म युद्धमा सफलता ल्याउन सकेका छैनन् र शान्ति प्रयासहरू अवरुद्ध भएका छन्, जसको आंशिक कारण वासिङ्टनको इरानसँगको युद्ध पनि हो। रुसले पूर्वी र दक्षिणी युक्रेनका ठूला भागहरू कब्जा गरेको छ र नेता पुटिनले मस्को पूर्वी युक्रेनको बाँकी भाग कब्जा गर्न दृढ रहेकोबारे जोड दिएका छन् ।

  • अमेरिकी व्यापार घाटा वृद्धि

    अमेरिकी व्यापार घाटा वृद्धि


    वासिङ्टन, १९ भदौ (रासस–एएफपी) । जुलाईमा अमेरिकी व्यापार घाटा सन् २०२५ मार्च यताको सबैभन्दा उच्च स्तरमा पुगेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । एआई प्रविधिको तीव्र विस्तारका कारण आयात बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प गत वर्ष ह्वाइट हाउस फर्केपछि मित्र र प्रतिस्पर्धी देशहरूमा व्यापक भन्सार शुल्क लगाएर व्यापार घाटा घटाउने प्रयास गर्नुभएको थियो । त्यसयता अमेरिकी व्यापारमा ठूला उतारचढाव देखिएका छन् ।

    विश्वको सबैभन्दा विशाल अर्थतन्त्रको व्यापार घाटा जुलाईमा ८८.६ अर्ब डलर पुगेको छ । यो अघिल्लो महिनाको तुलनामा २४.४ प्रतिशतको वृद्धि हो । कच्चा तेल र सुनको निर्यात घटेको छ भने प्रविधि उत्पादनको आयात बढेको छ । अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार निर्यात २.१ प्रतिशत घटेर तीन खर्ब १० अर्ब ७० करोड डलर पुगेको छ । आयात २.८ प्रतिशत बढेर तीन खर्ब ९९ अर्ब ३० करोड डलर पुगेको छ । कम्प्युटर, कम्प्युटर सहायक सामग्री र सेमिकन्डक्टरको आयातले यसलाई बढाएको हो।

    चिप्सको प्रमुख उत्पादक ताइवानसँगको अमेरिकी घाटा त्यो महिनाको लागि उच्च २०.७ अर्ब डलर पुगेको छ । मेक्सिको, भियतनाम, थाइल्याण्ड, दक्षिण कोरिया र मलेसियासँगको व्यापार घाटा पनि उच्च स्तरमा पुगेको छ। राष्ट्रपति ट्रम्पका भन्सार शुल्कले अमेरिकी व्यापारको अधिकांश हिस्सा ओगट्ने अर्थतन्त्रहरूलाई असर गरेको भए पनि अमेरिकी अधिकारीहरूले चिप्स, स्मार्टफोन र अन्य इलेक्ट्रोनिक्स जस्ता उत्पादनहरूलाई छुट दिएका छन् ।

    वाणिज्यमन्त्री होवर्ड लटनिकले बुधबार सीएनबीसीलाई बताए अनुसार वासिङ्टन सेमिकन्डक्टरमा नयाँ भन्सार शुल्क लगाउने योजना बनाइरहेको छ। गत एक वर्षमा व्यवसायहरूले नयाँ अमेरिकी शुल्क लागू हुनुअघि आयात बढाउन हतार गरेका थिए। केही कम्पनीहरूले ट्रम्पको नीति व्यवस्थापन गर्न थप चुनौतीको अपेक्षा गरेका छन्। यसले व्यवसायिक लागत बढाएको छ, ‘इन्स्टिच्युट फर सप्लाई म्यानेजमेन्ट’को सेवा क्षेत्र सर्वेक्षण अनुसार अगस्टमा यो क्षेत्रको गतिविधि बढेको छ।

    अमेरिकी सर्वोच्च अदालतले फेब्रुअरीमा ट्रम्पका धेरै विश्वव्यापी भन्सार शुल्क खारेज गरेको थियो। तर अधिकारीहरूले जुलाईमा ६० व्यापार साझेदारहरूलाई लक्षित नयाँ शुल्क लगाएका थिए । चीन, युरोपेली सङ्घ र ताइवानसहित १६ साझेदारहरूलाई लक्षित छुट्टै व्यापार अनुसन्धानले थप भन्सार शुल्क लगाउने निर्णय गर्नसक्ने मन्त्रालयले बताएको छ।

    अमेरिका छिमेकी क्यानडासँग व्यापार युद्धमा छ । जुलाईमा त्यससँगको घाटा घटेको छ । गत महिना ट्रम्पले अर्बौं डलरको क्यानडाली वस्तुमा ५० प्रतिशत शुल्क लगाए, जसले ओटावाको जवाफी कारबाहीको योजना निम्त्यायो। मध्यपूर्व युद्धको असरले पनि व्यापार प्रवाहमा प्रभाव पारिरहेको छ । इरानले विश्वव्यापी ऊर्जा र मल यातायातको प्रमुख मार्ग हर्मुज जलमार्ग लगभग अवरुद्ध गरेको छ ।

  • एनभिडियाका प्रमुख ह्वाङद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ अर्ब सहयोग

    एनभिडियाका प्रमुख ह्वाङद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ अर्ब सहयोग


    काठमाडौँ, १९ भदौः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अमेरिकी एआइ कम्पनीका संस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेन्सेन ह्वाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब डेढ अर्ब (१० मिलियन अमेरिकी डलर) सहयोग गरेको जानकारी दिएका छन् । अर्थमन्त्री डा वाग्लेले नेपाल सरकारका तर्फबाट ह्वाङप्रति धन्यवाद व्यक्त गर्दै उक्त सहयोग रसुवा–भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारमा महत्वपूर्ण हुने बताए ।

    “नेपाल सरकारका तर्फबाट एनभिडियाका संस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेन्सेन ह्वाङलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रसुवा–भोटेकोशी बाढीपीडितका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्नुभएकामा हार्दिक आभार व्यक्त गर्दछु”, उनले भनेका छन् । अर्थमन्त्री डा वाग्लेले ह्वाङको योगदान परोपकारी दृष्टिले महत्वपूर्ण रहेको उल्लेख गर्दै यसबाट अन्य व्यक्ति तथा संस्थालाई पनि विपद् प्रभावितको सहयोगमा योगदान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरकोछन् । उनले उक्त सहयोगले विपद्का कारण प्रभावित भएका नागरिकको राहत तथा पुनःस्थापनाका लागि थप सहयोग पुग्ने बताए ।

  • रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ्न सक्ने

    रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ्न सक्ने


    किएभ, युक्रेन, १८ भदौ (रासस–एएफपी) । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध जारी रहेसम्म युक्रेनी ड्रोन गतिविधिका कारण रूसको हवाई क्षेत्र नागरिक उड्डयनका लागि असुरक्षित बन्न सक्ने बताएका छन् । मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै जेलेन्स्कीले रूसको हवाई क्षेत्र प्रयोग गर्ने एयरलाइन्स, बीमा कम्पनी तथा प्रमुख विमानस्थल सञ्चालनसँग सम्बन्धित पक्षहरूलाई सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरे । उनले युक्रेनले नागरिक विमानलाई लक्षित नगर्ने स्पष्ट पार्दै रुसी आकाशमा ड्रोन गतिविधि बढ्न सक्ने भएकाले नागरिक उड्डयनमा त्यसको प्रभाव पर्न सक्ने बताए ।

    पछिल्ला महिनाहरूमा युक्रेनी ड्रोनको गतिविधिका कारण रूसका विभिन्न विमानस्थलमा हवाई सेवा पटक–पटक प्रभावित हुँदै आएको छ । जेलेन्स्कीले युद्ध जारी रहेसम्म यस्तो जोखिम कायम रहन सक्ने बताए । जेलेन्स्कीको भनाइप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आपत्ति जनाउँदै त्यसलाई ‘राज्य आतंकवादको घोषणा’का रूपमा व्याख्या गरे । उनले युक्रेनसँग वार्ताका लागि प्रयास भइरहे पनि यस्तो परिस्थितिमा वार्ता अघि बढाउन कठिन हुने संकेत गरे ।


    यसैबीच, रूस र युक्रेनबीच पछिल्ला महिनाहरूमा लामो दूरीका क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र भएका छन् । पछिल्लो रुसी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा किभ र आसपासका क्षेत्रमा कम्तीमा १२ जनाको मृत्यु भएको बताइएको छ । रुसले ब्यालिस्टिक क्षेप्यास्त्रको प्रयोग बढाउँदै आएको छ भने युक्रेनले हवाई प्रतिरक्षाका लागि आवश्यक सामग्रीको अभाव सामना गरिरहेको जनाएको छ । त्यसको प्रतिक्रियास्वरूप युक्रेनले रूसभित्रका पूर्वाधार, बन्दरगाह तथा अन्य संरचनालाई लक्षित गर्दै ड्रोन आक्रमण बढाएको छ ।


    राष्ट्रपति पुटिनले युक्रेनी आक्रमणका कारण रूसका केही नागरिक पूर्वाधार तथा तेल प्रशोधन केन्द्रमा क्षति पुगेको स्वीकार गरे । यद्यपि, उनले रुसी सेनाले युद्धको अग्रभागमा आफ्नो सैन्य गतिविधिको गति बढाइरहेको दाबी गरेका छन् । यता, जेलेन्स्कीले कूटनीतिक पहललाई सहयोग पु¥याउन आवश्यक परे निश्चित समय र क्षेत्रमा ड्रोन गतिविधि रोक्न सकिने संकेत गरे । रूस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाको मध्यस्थतामा भइरहेका कूटनीतिक प्रयास भने हालसम्म ठोस निष्कर्षमा पुग्न सकेका छैनन् ।

  • अमेरिकी आक्रमणपछि इरान आक्रामक, ‘कडा प्रहार’ गर्ने चेतावनी

    अमेरिकी आक्रमणपछि इरान आक्रामक, ‘कडा प्रहार’ गर्ने चेतावनी


    तेहरान, १८ भदौ (रासस–सिन्ह्वा–एएफपी) । इरानको इस्लामिक ‘रिभोलुसन गाड्र्स’ ले अमेरिकाले इरानका सैन्य लक्ष्यमाथि गरेको हमलाको जवाफमा प्रतिकार सुरु गरिसकेको जनाएको छ । इरानी सैन्य नेतृत्वले अमेरिकाविरुद्ध ‘कुचल्ने र चकनाचुर पार्ने’ गरी कडा प्रहार गर्ने चेतावनी दिएको छ । इरानी सैन्य सङ्गठनका अनुसार, उसको वायु रक्षा प्रणालीले अमेरिकी मानवरहित विमान खसालेको छ । त्यसैगरी, इरानी हवाई तथा अन्तरिक्ष सेनाले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार तथा अन्य सैन्य संरचनामाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।
    इरानले अमेरिकाले मंगलबार दक्षिणी क्षेत्रमा गरेको हवाई हमलापछि प्रतिकार सुरु गरिएको जनाएको हो । इरानी पक्षका अनुसार उक्त अमेरिकी हमलामा ५४ जनाभन्दा बढी मानिस मारिएका तथा घाइते भएका छन् । अर्धसरकारी समाचार संस्थाले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै होर्मोजगान प्रान्तको सिरिक जिल्लामा भइरहेको विवाह समारोहलाई लक्षित गरी गरिएको अमेरिकी हमलामा कम्तीमा चार जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा एक बालक र एक महिला रहेको तथा ५० भन्दा बढी मानिस घाइते भएको बताइएको छ ।


    अमेरिकी सेनाको मध्यपूर्व कमाण्डले इरानी सैन्य लक्ष्यमाथि हमला सुरु गरेको घोषणा गरेपछि मंगलबार साँझ दक्षिणी इरानका विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । होर्मोजगान, सिस्तान तथा बलुचिस्तान, केरमान र बुशेहर प्रान्तका विभिन्न स्थानमा विस्फोट भएको खबर आएको छ । कोनाराक तथा क्युशम द्वीप आसपास पनि धेरै विस्फोट भएको बताइएको छ । यद्यपि, ती विस्फोटको वास्तविक स्थान र कारणबारे तत्काल स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन ।

    इरानको मुख्य सैन्य कमाण्डले अमेरिकी ‘हवाई आक्रमण’ को जवाफमा आफ्ना सशस्त्र सेनाले अमेरिकाविरुद्ध निर्णायक र कडा प्रहार गर्ने जनाएको छ ।
    यसैबीच, अमेरिकी सेनाको मध्यपूर्व कमाण्डले सामाजिक सञ्जालमार्फत इरानी सैन्य लक्ष्यमाथि हमला सुरु गरिएको पुष्टि गरेको छ । उसका अनुसार, हालै इरानी सैन्य संगठनले होर्मुज जलडमरूमध्यमा व्यावसायिक पानीजहाज तथा मध्यपूर्व क्षेत्रमा तैनाथ अमेरिकी सैनिकमाथि आक्रमणको प्रयास गरेपछि पछिल्लो सैन्य कारबाही गरिएको हो ।

  • प्रदूषण गराएको भन्दै हर्मुजमा एक कार्गो जहाज इरानको नियन्त्रणमा

    प्रदूषण गराएको भन्दै हर्मुजमा एक कार्गो जहाज इरानको नियन्त्रणमा


    तेहरान, १६ भदौ (रासस–एएफपी) । इरानी अधिकारीहरूले हर्मुज जलमार्गमा तेल र अर्ध ठोस अवस्थाको इन्धनजन्य फोहोर फालेको भन्दै एक कार्गो जहाजलाई कब्जा गरेको इरानी सञ्चार माध्यमले सोमबार जनाएका छन् । “समुद्रमा तेल फालेका तस्बिर प्रकाशित भएपछि विशेषज्ञ र सफाइ टोली स्थलमा पठाइयो र प्रदूषण गराउने जहाज कब्जा गरियो,” दक्षिणी हर्मोज्गान प्रान्तका बन्दरगाह तथा समुद्री विभागका उपप्रमुख इस्माइल माकिजादेहले इरानी सरकारी समाचार संस्थालाई बताए ।


    “कब्जा गरिएको जहाज चिनी बोकेको विशाल जहाज रहेको र यसले जलेको तेल, प्रदुषित पानी र औद्योगिक फोहोरको मिश्रण सिधै समुद्रमा फालेको थियो,” उनले भने । उनले जहाज कुन देशको हो र त्यसमा रहेका चालक दलको राष्ट्रियता उल्लेख गरेनन् । पानीबाट फोहोर सफा गरिसकिएको र जहाज न्यायपालिकामा पठाइएको उनले बताए । इरानले पछिल्ला हप्ताहरूमा भएका धेरै तेल चुहावटपछि क्षतिपूर्तिको माग गरेको छ, जसमा केश्म टापु नजिकको घटना पनि समावेश छ।

    अगस्टको सुरुमा छिमेकी ओमान नजिक एउटा ट्याङ्कर रोकिएपछि तेलको दाग देखिएको थियो। एएफपीको अनुसन्धानले उक्त जहाज विस्फोटबाट क्षतिग्रस्त भएपछि ओमानको अल–काब्लिय–याह टापु नजिक एक हप्ताजति अलपत्र भएको पत्ता लगाएको थियो। फेब्रुअरीमा मध्यपूर्व युद्ध सुरु भएदेखि इरानले हर्मुज जलमार्गमा नियन्त्रण कायम राखेको छ । यसले पारवहन गर्ने जहाजहरूबाट शुल्क उठाएर वातावरण संरक्षणलगायत सेवाहरूको लागि रकम जुटाउने योजना बनाएको छ । अमेरिकाले जलमार्गमा कुनै पनि शुल्कको उठाउने कुराको कडा विरोध गर्छ ।

  • इजरायली नेता नेतान्याहूले अमेरिकालाई युद्धमा फसाएको इरानी विदेशमन्त्रीको दावी

    इजरायली नेता नेतान्याहूले अमेरिकालाई युद्धमा फसाएको इरानी विदेशमन्त्रीको दावी


    तेहरान, १६ भदौ (रासस–एएफपी) । इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले सोमबार इजरायली प्रधानमन्त्रीले वासिङ्टनलाई इस्लामिक गणतन्त्र इरानसँग युद्धमा फसाएको आरोप लगाउँदै बेन्जामिन नेतान्याहूलाई ‘विषालु सर्प’ को संज्ञा दिएका छन् । इरानी विदेशमन्त्री अराघचीले भने, “नेतान्याहूले हिब्रु भाषामा खुलेर गर्व गर्नुहुन्छ, उहाँले इजरायलको तर्फबाट इरानसँग युद्ध गर्न अमेरिकी प्रशासनलाई फसाउनुभएको छ ।”

    फेब्रुअरी २८ मा अमेरिका–इजरायली हमलाबाट इरानका सर्वोच्च नेता अली खामेनी र वरिष्ठ सैन्य अधिकारीहरूको मृत्यु भएपछि इरान र अमेरिकाबीच युद्ध सुरु भएको थियो । इरानले खाडी क्षेत्रभरि आक्रमण गरेर अमेरिका–इजरायली हमलाको जवाफ दियो र द्वन्द्व फैलिँदै गयो ।

    अप्रिलको युद्धविरामले सबैभन्दा तीव्र लडाइँ अन्त्य ग¥यो, तर हर्मुज जलमार्ग नजिक मुख्य रूपमा हुने छिटपुट आक्रमणले अन्तिम शान्ति सम्झौताको सम्भावना कमजोर बनाएको छ । अमेरिका हालै इरानको ‘आर्थिक सङ्कट’ निम्त्याएर दवाव दिने अभियानतर्फ लागेको छ । अमेरिकाले आइतबार राति इरानी टापु लारकमा आक्रमण गरेको थियो । यो एक महिनामा पहिलो ठूलो आक्रमण हो । जवाफमा इरानले जोर्डन र यूएईका अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरेको दाबी गरेको छ ।

    “इरानका नेताहरूलाई ‘जङ्गली’ जन्तुको संज्ञा दिँदै गत साता नेतान्याहूले भनेका थिए, “इरान–अमेरिका सम्झौताको कुनै सम्भावना छैन ।” नेतान्याहू लामो समयदेखि इरानसँग कूटनीति गर्नु गलत हुने धारणा राख्छन् । उनले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको सन् २०१५ को आणविक सम्झौताको खुलेर विरोध गरेका थिए । तर ट्रम्पले वार्तामार्फत समाधान खोज्दा सार्वजनिक रूपमा आलोचना गर्ने कुरामा सावधान बनेका थिए ।

  • कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    चितवन, १६ भदौः पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा लैजाने भएका हुन्। नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ ।

    उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका उद्योगसँग समन्वय गरी ग्यास भर्ने भएका छन् । उपत्यका र छिमेकी जिल्लामा मात्रै कुल खपतको ४० प्रतिशत बढी ग्यास आवश्यक रहेको उनी बताउँछन् ।


    सङ्घका सदस्यसमेत रहेका बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको बाटो नखुलेसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक बाटोबाट काठमाडौँ लगिने जानकारी दिए । यी जिल्लाका उद्योगमा भरेका ग्यास त्रिभुवन राजपथसहितका सडकबाट काठमाडौँ लगिने उनले बताए । बाहिरका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले उपत्यका र छिमेकी जिल्लामा अभाव नहुने भन्दै उनले जगेडा नराख्न सुझाव दिए ।


    श्री ग्यासले बाबा, श्रीकृष्णले साइबाबा, श्रीरामले जानकी, नेपाल ग्यासले नेपाल गण्डकी, एभरेष्ट र सुगमले साहारा उद्योगमा ग्यास भर्न सुरु गरिसकेको कालाखेतीले जानकारी दिए । अन्य उद्योगले पनि राजधानी बाहिरका उद्योग वा अन्य उद्योगसँग समन्वय गरेर भर्न सुरु गरेको उनको भनाइ छ।

  • बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता

    बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता


    वासिङ्टन, १५ भदौ (रासस–एएफपी) । नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको विपत्तिमा परी करिब ८५ अमेरिकी अझै बेपत्ता रहेका अमेरिकी विदेश मन्त्रालयले आइतबार जनाएको छ । विपद्पछि दुई हजार ५०० भन्दा बढी व्यक्तिहरू बेपत्ता रहेका छन् भने ७८१ जनाको मृत्यु भएको नेपाल सरकारका अधिकारीहरूले पुष्टि गरेका छन् ।

    गत बुधबार बिहान हिलोसहित आएको वाढीले नेपालको रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा वस्तीहरूमा व्यापक भौतिक क्षति पनि पुगेको थियो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले एबीसीको टक शो ‘दिस विक’ लाई बताएअनुसार नौ जना अमेरिकीलाई उद्धार गरिएको छ र कुनै अमेरिकी नागरिकको मृत्यु भएको जानकारी उहाँसँग छैन।

    उनले भने, “प्रकृतिक विपत्तिले क्षति पु¥याएको स्थानको दुर्गम अवस्थाले भरपर्दो जानकारी प्राप्त गर्न कठिन छ, तर हाम्रो समर्पण र प्रतिबद्धता यथावत छ ।” संयुक्त राज्य अमेरिका र क्यानडा दुवैले राहत तथा उद्धारमा सघाउन ३६ लाख डलर सहायता दिने जनाएका छन् भने बेलायतले ६८ लाख डलर प्रस्ताव गरेको छ। संयुक्त राष्ट्रसङ्घले आपतकालीन कोषबाट २५ लाख डलर सहायता जारी गरेको छ ।

    अमेरिकी सहयोगको केही भाग सडक मर्मत र दुर्गम क्षेत्रमा खाना तथा अन्य सहायता पु¥याउन ‘विशेष यातायात विकल्प परिचालन’ मा प्रयोग हुने पिगटले बताए । यो विनाश हिमताल भासिएका कारण भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । चिनियाँ विज्ञहरूले नेपालको लिरुङ शिखरको दक्षिणी ढलानमा रहेको ‘हिमताल फुटेको’ बताएका छन्।

  • लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै

    लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै


    बाटम, १५ भदौ (रासस–एपी) । मध्यपूर्वमा लामो तैनाथी पूरा गरी घर फर्किरहेको अमेरिकी विमानवाहक युएसएस अब्राहम लिङ्कन आइतबार बिहान सिङ्गापुर जलमार्गहुँदै अघि बढेको छ । उक्त युद्धपोत बन्दरगाह भ्रमणका लागि थाइल्यान्डमा रोकिने अपेक्षा गरिएको छ । अमेरिकी नौसेनाका ठूला युद्धपोतमध्ये एक लिङ्कनलेइरानविरुद्धको अमेरिकी सैन्य अभियानलाई समर्थन गर्दै आएको थियो । यसको पछिल्लो तैनाथीमा लगातार २५० दिनभन्दा बढी समुद्रमा बिताएको रेकर्ड बनेको थियो ।

    लामो समयको तैनाथीका क्रममा चालक दलका सदस्यहरूको मानसिक स्वास्थ्यमा असर परेको तथा खाना र सरसफाइका सामग्रीलगायत आवश्यक आपूर्तिको अभाव भएको रिपोर्ट सार्वजनिक भएपछि लिङ्कनको तैनाथीबारे चिन्ता व्यक्त गरिएको थियो । थाई अधिकारीहरूका अनुसार लिङ्कन अमेरिकी सैन्य आधारमा फर्कनुअघि चालक दलका सदस्यलाई आराम तथा स्वास्थ्यलाभको अवसर दिन थाइल्यान्डमा रोकिनेछ ।

  • अमेरिका–भेनेजुएलाबीच ६५ अर्ब ब्यारेल तेल भण्डार विकासको सम्झौता

    अमेरिका–भेनेजुएलाबीच ६५ अर्ब ब्यारेल तेल भण्डार विकासको सम्झौता

    वासिङ्टन, १४ भदौ (रासस–एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो प्रशासनले भेनेजुएलासँग बृहत् तेल सम्झौता गरेको बताएका छन् । सम्झौता कार्यान्वयन भएमा अमेरिकाले भेनेजुएलाका विशाल अप्रयुक्त तेल भण्डारमा लागत मूल्यमा पहुँच पाउनेछ । सामाजिक सञ्जालमार्फत सम्झौताको घोषणा गर्दै ट्रम्पले विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ र भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजबीच भएको वार्तापछि सम्झौता भएको बताए ।


    “संयुक्त राज्य अमेरिकाले भर्खरै भेनेजुएला राष्ट्रसँग विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौता गरेको छ”, ट्रम्पले लेखेका छन् । रोड्रिगेज नेतृत्वको सरकारले जारी गरेको विज्ञप्तिअनुसार सम्झौतामा ६५ अर्ब ब्यारेल प्रमाणित क्षमता भएका १७ वटा तेल क्षेत्रको विकास समावेश छ । यसबाट भेनेजुएलाको तेल उद्योगमा १०० अर्ब डलरसम्म लगानी भित्र्याउन तथा सरकारलाई २०९ अर्ब डलरभन्दा बढी कर राजस्व प्राप्त हुन सक्ने अनुमान गरिएको छ । रोड्रिगेजले टेलिग्राममा सम्झौताले “राष्ट्रको पुनरुत्थानमा महत्वपूर्ण प्रभाव पार्ने”, बताए ।


    सम्झौताबारे जानकार एक अमेरिकी अधिकारीका अनुसार अमेरिकाले भेनेजुएलाको एक अज्ञात निजी सञ्चालकसँग मिलेर तेल क्षेत्रको विकास र व्यवस्थापनका लागि नयाँ निजी कम्पनी स्थापना गर्न सक्नेछ । सार्वजनिक रूपमा टिप्पणी गर्ने अधिकार नभएकाले नाम नखुलाउने सर्तमा ती अधिकारीले रोड्रिगेजले उक्त कम्पनीलाई तेल क्षेत्र विकासका लागि १०० वर्षको अधिकार दिएको बताए ।
    ती अधिकारीका अनुसार नयाँ कम्पनीमा अमेरिकाले प्रभावकारी रूपमा ५५ प्रतिशत उत्पादन हिस्सा पाउनेछ । यसमा स्वामित्वको हिस्सा र लागत मूल्यमा तेल खरिद गर्ने अधिकारसमेत समावेश हुनेछ । उक्त कम्पनी साउदी आरामको पछि प्रमाणित तेल भण्डारको स्वामित्व राख्ने विश्वकै दोस्रो ठूलो कर्पोरेट संस्था बन्न सक्ने उनको दाबी छ ।

    तेलको मूल्य घटाउन दबाब
    ट्रम्पको घोषणापछि अमेरिकामा इन्धनको मूल्य घट्ने अपेक्षा गरिएको भए पनि भेनेजुएलाको तेल उत्पादन तत्काल बढ्न नसक्ने विज्ञहरूले बताएका छन् । देशको जीर्ण तेल पूर्वाधारको मर्मत तथा विस्तार गर्न वर्षौं लाग्ने र अर्बौं डलर आवश्यक पर्ने उनीहरूको भनाइ छ । अमेरिकामा इन्धनको मूल्य घटाउन ट्रम्पमाथि दबाब बढिरहेका बेला सम्झौता भएको हो । इरानविरुद्ध जारी अमेरिका–इजरायल द्वन्द्वका कारण होर्मुज जलसन्धिबाट हुने खाडी क्षेत्रको तेल ढुवानीमा ठूलो कमी आएको छ । द्वन्द्वअघि विश्वको करिब २० प्रतिशत पेट्रोलियम यही जलमार्गबाट ओसारपसार हुने गरेको थियो ।


    अमेरिकाले इन्धनको आपूर्ति व्यवस्थापन गर्न रणनीतिक पेट्रोलियम भण्डारसमेत प्रयोग गरेको छ । अगस्तको सुरुवातमा उक्त भण्डार ३० करोड ब्यारेलभन्दा तल झरेको थियो, जुन सन् २०२६ को सुरुआतयता १० करोड ब्यारेलभन्दा बढीको कमी हो ।

    एएएका अनुसार शुक्रबार अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन करिब चार दशमदव ०९ डलर थियो । गत वर्ष सोही समयमा औसत मूल्य तीन दशमलव २१ डलर रहेको थियो ।
    लगानीका चुनौती

    भेनेजुएलामा अमेरिकी तेल कम्पनीहरूलाई पुनः लगानीका लागि आकर्षित गर्न भने राजनीतिक अनिश्चितता र दशकौँदेखि कमजोर बनेको पूर्वाधार चुनौती बन्न सक्ने देखिएको छ । मादुरोलाई पदच्युत गरेपछि ट्रम्पले ह्वाइट हाउसमा तेल उद्योगका कार्यकारीहरूलाई बोलाएर भेनेजुएलामा पुनः लगानी गर्न आग्रह गर्नुभएको थियो । उनीहरूले त्यहाँको सम्भावनाप्रति चासो देखाए पनि विगतको अनुभवका कारण सावधानी अपनाउनुपर्ने बताएका थिए ।

    अमेरिकी सबैभन्दा ठूलो तेल कम्पनी एक्सनमोबिलका प्रमुख कार्यकारी अधिकृत ड्यारेन वुड्सले त्यतिबेला भेनेजुएलालाई लगानी गर्न नसकिने देशका रूपमा हेरेका थिए । ट्रम्पले भने आफ्नो प्रशासनले भेनेजुएलामा स्थिरता ल्याएको दाबी गरेका छन् । उनले पूर्वराष्ट्रपति ह्युगो चाभेजको सरकारले दशकौँअघि अमेरिकी तेल कम्पनीहरूको स्वामित्वमा रहेका सयौँ सम्पत्ति राष्ट्रियकरण गरेको भन्दै भेनेजुएलाले अमेरिकी तेल चोरेको आरोप लगाउँदै आएका छन् ।


    रोड्रिगेजले सत्ता सम्हालेपछि तेल क्षेत्रलाई निजी लगानीका लागि खुला गर्ने कानुनमा हस्ताक्षर गरेका थिए । यसले दुई दशकभन्दा लामो समयदेखि देशमा शासन गर्दै आएको समाजवादी आन्दोलनको नीतिमा ठूलो परिवर्तन ल्याएको छ । रुबियोले सम्झौताले भेनेजुएलामा अर्बौं डलर निजी लगानी भित्र्याउने र अमेरिकामा ग्यासको मूल्य घटाउने दाबी गरेका थिए ।


    अमेरिकी अधिकारीका अनुसार नयाँ कम्पनीबाट खरिद गरिने तेल अमेरिकी रणनीतिक पेट्रोलियम भण्डार पुनः भर्न तथा सैन्य प्रयोजनमा प्रयोग गरिनेछ । भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डारमध्ये एक रहेको छ । अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार त्यहाँ करिब ३०३ अर्ब ब्यारेल कच्चा तेलको भण्डार छ, जुन विश्वको कूल आपूर्तिको करिब १७ प्रतिशत हो । तर कमजोर पूर्वाधारका कारण भेनेजुएलाले विश्वको करिब एक प्रतिशत मात्र तेल उत्पादन गर्दै आएको छ । मादुरो हाल अमेरिकामा जेलमा छन् । उनले आफूविरुद्धका आरोपमा दोषी नभएको स्वीकार गरेका छन् ।

  • अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

    अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

    वाशिङ्टन डिसी, १४ भदौः अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घडीमा अमेरिकाले साथ दिँदै ३६ लाख डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने जनाइएको छ । विज्ञप्तिअनुसार तीन महिनाका लागि १० हजार बाढीपीडितलाई खाद्य सामग्री उपलब्ध गराइने छ ।

  • राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

    राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

    वाशिङटन, डिसी, १२ भदौः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अमेरिकी समाचार संस्था एनबिसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजना भएको समारोहपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन् । “नेपाललााई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ,” राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै एनबिसीले भनेको छ । उनले भोटेकोशी बाढीबाट भएको क्षतिबारे नेपालका अधिकारीहरूसँग जानकारी लिएपछि उनीहरूलाई सहयोग गर्न अमेरिका तत्पर आफूले जानकारी गराएको बताए ।

  • गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ

    गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ


    जेनेभा, १० भदौ (रासस–एएफपी) । संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइने क्षेत्रबाट बासिन्दालाई हटाउने इजरायलको धम्कीको कडा आलोचना गर्दै यसलाई ‘अत्यन्त आपत्तिजनक’ भनेको छ । राष्ट्रसङ्घको मानवअधिकार कार्यालयकी प्रवक्ता रविना शमदासानीले मङ्गलबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बालबालिकाले चङ्गा उडाएको आधारमा उनीहरूलाई धपाउने धम्की अस्वीकार्य भएको बताइन् । “बालबालिकाले चङ्गा उडाएको कारण धपाउने धम्कीको सन्दर्भमा, यो अत्यन्त आपत्तिजनक कुरा हो भन्नेमा हामी सबै सहमत हुन सक्छौँ,” उनले भनिन् ।


    इजरायलले आइतबार गाजाबाट इजरायली क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउने क्रम जारी रहेमा सैन्य कारबाही तीव्र पार्ने चेतावनी हमासलाई दिएको थियो । पछिल्ला दिनमा यस्ता घटना बढेका छन् । हमासले भने यसको जिम्मेवारी अस्वीकार गरेको छ । इजरायली सञ्चारमाध्यमका अनुसार शनिबार गाजा सीमावर्ती बस्तीमा चारवटा चङ्गा फेला परेका थिए भने आइतबार इजरायली सेनाले एउटा चङ्गा खसालेको थियो । पछिल्ला केही दिनमा फेला परेका चङ्गाको सङ्ख्या करिब १० पुगेको बताइएको छ ।

    यी घटनाले विगतमा गाजाबाट इजरायलतर्फ उडाइएका आगो लगाउने चङ्गा र बेलुनको घटनालाई पुनः स्मरण गराएको छ । त्यस्ता चङ्गा र बेलुनका कारण दक्षिणी इजरायलका कृषि क्षेत्रमा आगलागी भएका थियो । इजरायली अधिकारीका अनुसार पछिल्ला चङ्गा उडाउने घटनामा हमासको सङ्लग्नता हुन सक्ने आशङ्का गरिएको छ । ती चङ्गामा विस्फोटक पदार्थ भने नभएको र सम्भवतः इजरायलको प्रतिक्रिया परीक्षण गर्न त्यसो गरिएको हुन सक्ने इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै चङ्गा, ड्रोन र बेलुन उडाउनेकार्य तत्काल नरोके त्यसमा सङ्लग्न व्यक्तिविरुद्ध सैन्य कारबाही तीव्र पार्ने चेतावनी दिएका थिए । उहाँहरूले त्यस्ता गतिविधि हुने क्षेत्रबाट बासिन्दालाई हटाउनेसमेत बताएका थिए । हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नाइमले ‘भग्नावशेषबीच आफ्नो निर्दोष बाल्यकाल खोजिरहेका बालबालिकाले’चङ्गा उडाएको दाबी गरे ।


    हमासले छुट्टै विज्ञप्तिमार्फत आइतबार मध्य गाजामा भएको इजरायली हवाई आक्रमणलाई चङ्गा उडाइएको घटनासँग जोडेको आरोप लगाएको छ । गाजाको नागरिक सुरक्षा उद्धार सेवाका अनुसार उक्त आक्रमणमा तीन जनाको मृत्यु भएको थियो । राष्ट्रसङ्घकी प्रवक्ता शमदासानीले इजरायलको पछिल्लो चेतावनी अधिकारीको उच्च तहबाट आएका आपत्तिजनक अभिव्यक्तिको शृङ्खलामध्येको पछिल्लो भएको बताइन् । उनले त्यस्ता अभिव्यक्तिले अन्तरराष्ट्रिय मानव अधिकार तथा मानवीय कानुनप्रति पूर्ण अनादर देखाएको र गम्भीर हिंसालाई प्रोत्साहन गर्ने जोखिम रहेको बताइन् ।

  • वासिङ्टन पोस्टलाई स्तम्भकार पुनर्बहाली गर्न आदेश

    वासिङ्टन पोस्टलाई स्तम्भकार पुनर्बहाली गर्न आदेश

    वासिङ्टन, १० भदौ (रासस–एएफपी) । अमेरिकी सञ्चारमाध्यम वासिङ्टन पोस्टलाई स्तम्भकार करेन अतियालाई पुनर्बहाली गरी बर्खास्त अवधिको पारिश्रमिक भुक्तानी गर्न मध्यस्थता अधिकारीले आदेश दिएका छन् । दक्षिणपन्थी प्रभावशाली व्यक्ति चार्ली किर्कको हत्यापछि सामाजिक सञ्जालमा गरेको टिप्पणीका कारण अतियालाई बर्खास्त गरिएको थियो । मध्यस्थता अधिकारीले सोमबार दिएको निर्णयमा अतियालाई बर्खास्त गर्न वासिङ्टन पोस्टसँग पर्याप्त कारण नरहेको उल्लेख गरेका छने । पोस्टले मध्यस्थता प्रक्रियाको सम्मान गर्ने जनाएको छ भने अतियाले निर्णयप्रति खुसी व्यक्त गर्दै आफूलाई ‘सत्य बोलेको’ कारण बर्खास्त गरिएको बताएका छन् ।


    अतियाले वासिङ्टन पोस्टमा ११ वर्ष काम गरेका थिए । किर्कको हत्यापछि उनले सामाजिक सञ्जालमा उनको मृत्युमा दुःख व्यक्त नगर्ने बताउँदै अश्वेत महिलाबारे किर्कका विगतका विवादास्पद टिप्पणी साझा गरेका थिए । पोस्टले ती अभिव्यक्तिलाई आफ्नो सामाजिक सञ्जाल नीतिको उल्लङ्घन र ‘घोर दुव्र्यवहार’ भन्दै बर्खास्त गरेको थियो ।

    मानव अधिकार र स्वतन्त्र अभिव्यक्तिका विषयमा लेख्दै आउनुभएकी अतिया सन् २०१८ मा हत्या भएका साउदी मूलका अमेरिकी पत्रकार जमाल खशोग्जीलाई वासिङ्टन पोस्टमा लेख्न ल्याउने सम्पादकमध्ये एक थिए । उनको मृत्युपछि खशोग्जीको अन्तिम स्तम्भसमेत प्रकाशित गरिएको थियो ।

    सन् २०१३ मा जेफ बेजोसले वासिङ्टन पोस्ट खरिद गरेपछि पत्रिकाको विचार खण्डले व्यक्तिगत स्वतन्त्रता र स्वतन्त्र बजारमा बढी जोड दिने नीति अघि बढाएको थियो । अतियाको पुनर्बहालीको निर्णयले अमेरिकी सञ्चारमाध्यममा अभिव्यक्ति स्वतन्त्रता, सम्पादकीय नीति र पत्रकारको सामाजिक सञ्जाल आचरणसम्बन्धी बहसलाई पुनः चर्चामा ल्याएको छ ।

  • युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

    युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

    मस्को, १० भदौ (रासस–सिन्ह्वा) । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक तैनाथ गर्नु रुसका लागि अस्वीकार्य रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मङ्गलबार बताएका छन् । “युक्रेनमा नेटो सदस्य राष्ट्रका विदेशी सैन्य टुकडी तैनाथ गर्नु हाम्रा लागि अस्वीकार्य रहेको अडान हामीले विभिन्न तहमा पटक–पटक स्पष्ट पार्दै आएका छौँ,” उनले भने ।


    सोमबार ‘कोएलिसन अफ द विलिङ’का नेताले युक्रेनको स्वतन्त्रताको ३५औँ वार्षिकोत्सवका अवसरमा किएभमा भर्चुअल बैठक गरेका थिए । बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर फ्रेडरिक मर्ज र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बैठकको अध्यक्षता गरेका थिए ।


    गठबन्धनले जारी गरेको विज्ञप्तिमा रुस र युक्रेनबीच विश्वसनीय युद्धविराम भएपछि युक्रेनमा तैनाथ गर्न ‘मल्टिनेसनल फोर्स युक्रेन’ (बहुराष्ट्रिय युक्रेन बल)को तयारीलाई निरन्तरता दिने उल्लेख छ । पेस्कोभले रुस आफ्नो विजयप्रति विश्वस्त रहेको बताए । शान्तिपूर्ण समाधानका लागि आवश्यक परिस्थिति नबनेसम्म रुसले सैन्य कारबाही जारी राख्ने उनको भनाइ थियो । “हामी विजयको आशा मात्र गरिरहेका छैनौँ, यो अवश्यम्भावी छ भन्नेमा विश्वस्त छौँ,” उनले भने ।

  • इरानसँग सम्बन्धमा चार भारतीय कम्पनीमाथि प्रतिबन्ध

    इरानसँग सम्बन्धमा चार भारतीय कम्पनीमाथि प्रतिबन्ध

    वासिङ्टन, १० भदौ (रासस–एएनआई) । संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापार र खरिद सञ्जालसँग सम्बन्ध रहेको आरोपमा भारतमा आधारित चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा पेट्रोलियम कारोबारलाई लक्षित गर्दै ती कम्पनीमाथि कारबाही गरिएको हो ।

    प्रतिबन्धमा पोर्टेज पार्टनर एलएलपी, सदाशिव ओभरसिज लिमिटेड, पिपि सफ्टटेक प्राइभेट लिमिटेड र प्राक्रुटिस इन्फ्रा इम्पेक्स इन्डिया प्राइभेट लिमिटेड परेका छन् । पोर्टेज पार्टनरले भारतमा इरानी पेट्रोकेमिकल उत्पादनका विभिन्न ढुवानी आयात गर्न सहजीकरण गरेको अमेरिकी विदेश मन्त्रालयको दाबी छ । कम्पनीका साझेदार भारतीय नागरिक इन्ड्रिस्मिया आशारफ्मिया सेख र हरिश रामचन्द्र रङ्गीलाई समेत प्रतिबन्ध लगाइएको छ ।

    सदाशिव ओभरसिजले सन् २०२४ को फेब्रुअरीदेखि २०२५ को जुनसम्म अमेरिकी प्रतिबन्धमा परेको बोन्जोर कमोडिटी एफजेडईसहित विभिन्न कम्पनीबाट करिब छ करोड ९० लाख अमेरिकी डलर मूल्यका इरानी मूलका पेट्रोलियम उत्पादन आयात गरेको अमेरिकी दाबी छ । इरानी पेट्रोलियम खरिद, बिक्री, ढुवानी वा बजारीकरणमा महत्त्वपूर्ण कारोबार गरेको आरोपमा उक्त कम्पनीमाथि कार्यकारी आदेश १३८४६ अन्तर्गत प्रतिबन्ध लगाइएको हो ।

    पिपि सफ्टटेकले सन् २०२४ को जनवरीदेखि २०२५ को जुनसम्म करिब दुई करोड ५० लाख अमेरिकी डलर मूल्यका इरानी मूलका पेट्रोलियम उत्पादन आयात गरेको मन्त्रालयले जनाएको छ । कम्पनीका निर्देशक भारतीय नागरिक प्रशान्त गर्गलाई पनि प्रतिबन्ध सूचीमा राखिएको छ ।

    यसैगरी, प्राक्रुटिस इन्फ्रा इम्पेक्सले सन् २०२३ को मेदेखि २०२६ को फेब्रुअरीसम्म बोन्जोर कमोडिटी एफजेडईसहित विभिन्न कम्पनीबाट करिब दुई करोड ५० लाख अमेरिकी डलर मूल्यका इरानी मूलका पेट्रोलियम उत्पादन आयात गरेको अमेरिकी दाबी छ ।

    अमेरिकाले पछिल्लो प्रतिबन्ध इरानको पेट्रोलियम आम्दानी रोक्ने तथा इरानी सैन्य र खरिद गतिविधिलाई सहयोग गरेको आरोप लागेका अन्तर्राष्ट्रिय सञ्जाल कमजोर बनाउने अभियानको हिस्सा भएको जनाएको छ । सम्बन्धित भारतीय कम्पनी तथा व्यक्तिबाट प्रतिबन्धबारे तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

  • दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

    दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

    सियोल, ९ भदौ (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र पानी (समुद्र) मा अवतरण गर्ने तय भएको विशाल संयुक्त अभ्यास रद्द गरेको दक्षिण कोरियाले सोमबार जनाएको छ । इरानसँगको युद्धका कारण सैन्य बल उपलब्धतामा बाधा पुगेकाले यो निर्णय भएको हो । द्विवार्षिक स्याङयोङ अभ्यासमा दक्षिण कोरिया र अमेरिकाका नौसैनिक बल सहभागी हुने प्रचलन छ । यो अभ्यास संयुक्त कारबाहीलाई सुदृढ बनाउन तयार गरिएको हो र सामान्यतया युद्धपोत, विमान र स्थल सेनाहरूले जमिन तथा समुद्रमा अवतरणको अभ्यास गर्छन् ।

    यो रद्द हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता छुट्टै वार्षिक ‘उल्ची फ्रिडम शिल्ड’ अभ्यासलाई छोट्ट्याउने आदेश दिएपछि उक्त संयुक्त अभ्यासलाई पनि ११ दिनबाट घटाएर पाँच दिनमा झारिएको थियो । राष्ट्रपति ट्रम्पले त्यसबेला यसको उच्च लागत औँल्याउँदै यसले उत्तर कोरियालाई ‘अनुपयुक्त र शत्रुतापूर्ण’ सन्देश पठाउने बताएका थिए । उत्तर कोरियाली नेता किम जोङ उनसँगको आफ्नो सम्बन्धलाई जोड दिएका थिए ।


    “अमेरिकी ‘मेरिन कोप्र्स’ले जुन महिनामा मध्यपूर्वको अवस्थाको कारण देखाउँदै हाम्रा फोर्सलाई औपचारिक रूपमा सूचित गर्दै यस वर्षको स्याङयोङ अभ्यासमा फोर्स तैनाथ गर्ने क्षमता सीमित हुनेछ भनेको थियो,” दक्षिण कोरियाली ‘मेरिन कोप्र्स’का प्रवक्ता हान सेउङ–जेओनले पत्रकार सम्मेलनमा भने ।

    उनले भने, “सियोल र वाशिङटनले जमिन र समुद्रमा अवतरण गर्ने सैन्य अभ्यास पुनः कहिले सुरु गर्नेबारे परामर्श जारी राखिरहेका छन् तर यो कहिले हुने अहिले भन्न सकिँदैन ।” पेन्टागनले सियोलको घोषणाबारे टिप्पणी मागिएकोमा तत्काल प्रतिक्रिया दिएन।

    गत साता ‘उल्ची फ्रिडम शिल्ड’ अभ्यास घटाउने आदेश राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा किम जोङ उनसँग विकसित सम्बन्ध पुनः जीवित पार्ने प्रयासका बीच आएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार किम जोङ उनसँग ‘मिल्नु’ महत्त्वपूर्ण भएको बताए । उनले थपे, “प्योङयाङसँग अहिले ५७ वटा ‘अत्यन्त शक्तिशाली’ परमाणु हतियार छन् ।

    सियोलको अनुमानअनुसार उत्तर कोरियासँग करिब ८० देखि १२० वटा यस्ता हतियार छन् । राष्ट्रपति ट्रम्प र नेता किमले ट्रम्पको पहिलो कार्यकालमा तीन पटक भेट गरेका थिए । तर उनीहरूको सन् २०१९ को दोस्रो हनोई शिखर सम्मेलन उत्तर कोरियाको परमाणु निःशस्त्रीकरणमा सहमति नजुटेपछि सफल हुन नसकेपछि प्योङयाङले आफ्नो परमाणु कार्यक्रम तीव्र बनाएको थियो ।

  • इरान धराशायी बनेको राष्ट्रपति ट्रम्पको दावी, व्यापक ‘आर्थिक प्रतिबन्ध’को चेतावनी

    इरान धराशायी बनेको राष्ट्रपति ट्रम्पको दावी, व्यापक ‘आर्थिक प्रतिबन्ध’को चेतावनी

    वाशिङ्टन, ९ भदौ (रासस–एएफपी) । इरान आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा ‘धराशायी’ भइरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन् । वाशिङटनले तेहरानविरुद्ध नयाँ आर्थिक दबाब अभियानका विवरण घोषणा गर्न तयार हुँदै गर्दा तेहरानले यसलाई अमेरिकाले हार स्वीकार गरेको रूपमा उपहास गरेको छ ।

    लगभग छ महिना लामो युद्धपछि दुवै पक्ष गतिरोधमा फसेका छन् । शान्ति वार्ता ठप्प छ, इरानले महत्त्वपूर्ण हर्मुज जलसन्धि बन्द राखेको छ भने वाशिङ्टनले इरानविरूद्धको नौसैनिक प्रतिबन्ध कायम राखेको छ । घरेलु राजनीतिमा युद्धका आर्थिक असरबारे दबाब खेपिरहेका ट्रम्पले सैन्य कारबाहीबाट आर्थिक उपायतर्फ मोडिएका छन् । “इरान पूर्ण रूपमा ‘धराशायीे’ भएको छ,” राष्ट्रपति ट्रम्पले सोमबार निजी लगानीको सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आफ्नै शैलीमा ठूला अक्षरमा गरेको पोष्टमा भनिएको छ ।

    उनका टिप्पणी अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले फाइनान्सियल टाइम्सका लागि लेखेको स्तम्भमा तेहरानविरुद्ध ‘आर्थिक सङ्कट’ सुरु भएको घोषणा गरेको केही घण्टापछि आएका हुन् । उनले इस्लामिक गणतन्त्रलाई सहयोग जारी राख्ने कुनै पनि देश ‘विश्वव्यापी बहिष्कृत’ बन्ने चेतावनी दिएका थिए । बेसेन्टले एक्समा दाबी गरे । “अमेरिकाले ‘इरानको सैन्य क्षमता ध्वस्त पारेको छ, करिब शतप्रतिशत सैन्य कारखाना नष्ट गरेको छ र यसको परमाणु कार्यक्रम विफल पारिसकेको छ।”

    इरानले चुनौतीपूर्ण शैलीमा प्रतिक्रिया दिँदै भनेको थियो, “अमेरिकी पछिल्ला उपायहरू सैन्य हार स्वीकार गरेको प्रमाण हो ।” तेहरानले वाशिङ्टनलाई सहयोग नगर्न देशहरूलाई चेतावनीसमेत दिएको छ। उपपरराष्ट्रमन्त्री काजेम गरीबाबादीले एक्समा पोस्ट गर्दै भने, “वित्तीय युद्धतर्फ अमेरिकी मोडले बेसेन्टका दाबी झूटा साबित गर्छ।”

    “तपाईंको कथा मिलेको छैन”, गरीबाबादीले भने, “यदि वाशिङ्टनले आफ्ना लक्ष्य हासिल गरिसकेको हो भने ‘इतिहासकै सबैभन्दा ठूलो वित्तीय आक्रमण’ र संयुक्त राज्य अमेरिकाका ‘सबै संस्था र शक्ति’ परिचालन गर्नुपर्ने आवश्यकता किन, “के यो विजय हो वा अमेरिकाको हार स्वीकार ”

    अमेरिका र इजरायलले फेब्रुअरीमा युद्ध सुरु गर्दा इरानको परमाणु कार्यक्रमलाई जोडेका थिए तर लडाइँका सुरुवाती दिनदेखि नै ध्यान विश्वव्यापी तेल र ग्यास आपूर्ति मार्ग हर्मुज जलमार्गमा केन्द्रित भएको छ । तेहरानले अझै पनि जलमार्गमा नाकाबन्दी जारी राखेको छ। युद्धअघि यसले कुनै प्रतिबन्ध लगाएको थिएन। यसले विश्वव्यापी मुद्रास्फीति बढाएको छ र नोभेम्बरमा हुने मध्यावधि चुनावअघि ट्रम्पमाथि घरेलु दबाब बढाएको छ।

    –तेल निर्यातमा तीव्र गिरावट–

    बेसेन्टले सोमबार अमेरिकी योजनाका विवरण प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो तर वाशिङ्टनले तेहरानमाथि अझ कति आर्थिक दबाब दिन सक्छ भन्ने स्पष्ट छैन। अमेरिकी नौसैनिक नाकाबन्दीका कारण हर्मुज जलमार्गसम्म इरानको तेल निर्यात युद्धअघिको दैनिक २० लाख ब्यारेलबाट अगस्टको मध्यसम्म घटेर मात्र चार लाख ब्यारेलमा झरेको समुद्री आवागमन निरिक्षण गर्ने संस्था केप्लरले जनाएको छ ।

    यसैबीच देश दशकौँदेखि कडा अन्तर्राष्ट्रिय प्रतिबन्धमा छ । सन् २०१५ को परमाणु सम्झौताअन्तर्गत छोटो समयका लागि केही खुकुलो भएको उक्त प्रतिबन्धलाई राष्ट्रपति ट्रम्पले पछि ‘अधिकतम दबाब’ अभियानअन्तर्गत तोडेका थिए । इस्लामिक गणतन्त्रले ती प्रयासहरू सामना गर्दै आएको छ र युद्धअघि पनि मुख्यतया चीनलाई लाखौँ ब्यारेल तेल निर्यात गर्दै र जटिल अन्तर्राष्ट्रिय वित्तीय सञ्जालमार्फत प्रतिबन्ध छल्दै आएको थियो ।

    बेसेन्ट र ट्रम्प दुवैले इरानलाई सहयोग नगर्न देशहरूलाई चेतावनी दिएका छन् । यसले उनीहरूको ध्यान परिवर्तन भएको सङ्केत गर्छ । अर्थमन्त्रीको ‘एफटी’ स्तम्भमा इरानलाई ‘तुष्ट’ र ‘सक्षम’ बनाउने राष्ट्रहरूमा जोड दिइएको थियो। तेहरानले सोमबार देशहरूलाई अमेरिकी प्रयासमा सहकार्य नगर्न चेतावनी दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सहभागिताले निश्चित रूपमा ‘आफ्नै परिणाम’ ल्याउने बताए ।
    सामान्य इरानीहरूका लागि यो गतिरोध वर्षौंको उच्च मुद्रास्फीतिपछि अझ आर्थिक पीडा मात्र ल्याउने सम्भावना छ । डिसेम्बर र जनवरीमा यसले ठूलो सरकारविरोधी प्रदर्शन निम्त्याएको थियो । तेहरानकी ३२ वर्षीया फार्मासिस्ट सारा हसनबेगीले सरल शब्दमा भनिन्, “यो साँच्चै धेरै कठिन छ। मानिसहरूले यति लामो समयसम्म सहन सक्छन् जस्तो मलाई लाग्दैन।”

    आइतबार इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इरानी समाजमा “व्यापक समस्या’ रहेको स्वीकार गरेका थिए । “हामी मुद्रास्फीति, जीविकोपार्जन तथा बेरोजगारीका समस्या पार गर्न र जनताको भविष्य सुनिश्चित गर्न हृदयदेखि प्रयासरत छौँ, ताकि उनीहरू मर्यादा र गर्वका साथ बाँच्न सकून्,” पेजेस्कियानले भने ।

    –पाकिस्तानी प्रतिनिधिमण्डल तेहरानमा–

    गत साता अपेक्षाकृत नरमपन्थी मानिएका इरानी राष्ट्रपतिले भनेका थिए, “हामी शक्ति र मर्यादाको स्थितिमा छौँ, अहिले नै युद्ध अन्त्य गर्नुपर्छ ।”
    त्यसपछि सर्वोच्च नेता मोज्ताबा खामेनीले मुख्य सुरक्षा पदहरूमा कट्टरपन्थी नेताहरूलाई नियुक्त गरेका थिए । हसनबेगीले इरानीहरू शान्ति चाहेको बताए । नले भने, “स्वाभाविक रूपमा वार्ता भनेको दुवै पक्षले सम्झौता गर्नुपर्छ। मेरो व्यक्तिगत धारणा के छ भने इरानले अहिले सम्झौता गर्नुपर्छ।”

    युद्धभर मध्यस्थकर्ताहरूको दबाबमा कूटनीतिक प्रयासहरूले द्वन्द्वको वार्तामार्फत अन्त्य खोज्दै आएका छन्। सोमबार पाकिस्तानका सेना प्रमुख इरान आउने अपेक्षा गरिएको थियो। इस्लामाबाद अप्रिलको युद्धविराम हासिल गर्न सहयोगी मध्यस्थकर्ता हो । ओमानी परराष्ट्रमन्त्री बद्र अल–बुसाईदी पनि मङ्गलबार इरान आउने अपेक्षा गरिएको छ । मस्कट र तेहरान हर्मुजबाट आवागमन नियमन गर्ने सम्झौता खोजिरहेका छन्।

  • टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’रोबोट्याक्सी सार्वजनिक गर्ने

    टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’रोबोट्याक्सी सार्वजनिक गर्ने

    सान फ्रान्सिस्को, ८ भदौ (रासस–सिन्ह्वा) । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको अस्टिनमा आफ्नो ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने तयारी गरेको मिडिया रिपोर्टहरूले जनाएका छन् । टेस्लाकेन्द्रित समाचार संस्था ‘टेस्लाराटी’का अनुसार उक्त कार्यक्रम कम्पनीको मुख्यालय रहेको अस्टिनमा आयोजना हुनेछ । संस्थाले कार्यक्रमको निमन्त्रणा प्राप्त भएको दाबी गरेको छ । यद्यपि, टेस्लाले कार्यक्रमको मिति आधिकारिक रूपमा पुष्टि गरेको छैन ।

    साइबरक्याब विशेष रूपमा स्वायत्त सञ्चालनका लागि डिजाइन गरिएको सवारी साधन हो । यसमा स्टेयरिङ ह्वील र पेडल राखिएको छैन र पूर्ण रूपमा स्वचालित सञ्चालनका लागि टेस्लाको ‘सेल्फ ड्राइभिङ’ सफ्टवेयरमा निर्भर रहनेछ । टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले यसअघि साइबरक्याब निजी ग्राहकलाई प्रतिएकाइ ३० हजार अमेरिकी डलरभन्दा कम मूल्यमा बिक्री गर्ने योजना रहेको बताउनुभएको थियो ।

    सन् २०२४ को अक्टोबरमा पहिलो पटक सार्वजनिक गरिएको साइबरक्याब टेस्लाको रोबोट्याक्सीसम्बन्धी योजनाको प्रमुख हिस्सा हो । कम्पनीले यसलाई ‘मोडल वाई’ सवारीसँगै स्वायत्त यात्रु सेवामा प्रयोग गर्ने योजना बनाएको छ । मोडल वाईका केही सवारी एक वर्षभन्दा बढी समयदेखि वास्तविक सडकमा स्वायत्त यात्रु सेवा परीक्षणमा प्रयोग हुँदै आएका छन् ।

    प्रविधि प्रकाशन ‘द इन्फर्मेसन’का अनुसार टेस्लाले व्यावसायिक रोबोट्याक्सी सेवा सुरु गर्नुअघि साइबरक्याबमार्फत आफ्ना कर्मचारीलाई सार्वजनिक सडकमा सेवा उपलब्ध गराउने योजना बनाएको छ । रोबोट्याक्सी सेवा टेस्लाको भविष्यको राजस्व तथा कृत्रिम बुद्धिमत्ता (एआई) रणनीतिको महत्त्वपूर्ण हिस्सा हुने अपेक्षा गरिएको छ ।

  • अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

    अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

    तेहरान, ८ भदौ (रासस–सिन्ह्वा) । इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई इरानविरुद्धको अमेरिकी ‘आर्थिक दबाब अभियान’मा सहभागी नहुन चेतावनी दिएका छन् । उनले अमेरिकी अभियानमा साथ दिने मुलुकलाई तेहरानले ‘शत्रु’का रूपमा व्यवहार गर्ने बताए ।

    इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले सरकारी प्रसारक आईआरआईबी टिभीसँगको अन्तर्वार्तामा इरानले सुरुमा सम्बन्धित मुलुकसँग वार्ता गरी अमेरिकाले सञ्चालन गरेको भनिएको ‘आर्थिक युद्ध’मा सहभागी नहुन आग्रह गर्ने बताए ।


    ती मुलुकले अमेरिकी अभियानलाई समर्थन गरिरहेमा इरानले उनीहरूको हितविरुद्ध कारबाही गर्ने उनले बताए । क्षेत्रीय मुलुकले अमेरिकी दबाब अभियानलाई समर्थन गरेमा होर्मुज जलसन्धि र फारसी खाडी हुँदै हुने तेल निर्यात रोक्ने उनले बताए । रेजाईले जुनमा तेहरान र वासिङ्टनबीच भएको समझदारीपत्र (एमओयू) अन्तर्गत अमेरिकाले आफ्ना प्रतिबद्धता पूरा नगरेसम्म होर्मुज जलसन्धि बन्द रहने दाबीसमेत गरे ।


    उनको भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानलाई सहयोग गर्ने कुनै पनि मुलुकविरुद्ध ‘हालसम्मकै कठोर आर्थिक कारबाही’ गर्ने घोषणा गरेपछि आएको हो । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा यस्तो कारबाही ‘अभूतपूर्व स्तरको आर्थिक युद्ध र एक्ल्याउने प्रयास’ हुने बताएका थिए ।

  • हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

    हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

    मर्टल बिच, (साउथ क्यारोलिना), ७ भदौ (रासस–एएनआई) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न दिन नहुने बताउनुभएको छ । उहाँले वाशिङ्टन र तेहरानबीच बढ्दो तनावका बीच हर्मुज जलमार्गको नाम ‘अमेरिकी क्षेत्र’ भनेर वर्णन गरेको अल जजिराले जनाएको छ ।

    साउथ क्यारोलिनाको मर्टल बिचमा आयोजित एक सभामा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हामी उनीहरू (इरान) लाई आणविक हतियार राख्न दिन सक्दैनौँ । त्यसो भएमा तपाईंहरूले धेरै खराब परिणामहरू देख्नुपर्नेछ ।” उहाँले भन्नुभयो, “हामी गएर उनीहरूलाई रोकेका छौँ । उनीहरूसँग केही गरी आणविक हतियार हुने छैन।” राष्ट्रपति ट्रम्पले भन्नुभयो, “इरान सम्झौता गर्न चाहन्छ तर वाशिङ्टनले त्यो सम्झौता स्वीकार नगर्न पनि सक्नेछ ।”

    उहाँले रणनीतिक जलमार्गमाथि अमेरिकी नियन्त्रण रहेको दाबी गर्नुभयो । अरबी समाचार संस्था अल जजिराले राष्ट्रपति ट्रम्पलाई उद्धृत गरी लेखेको छ, “उनीहरू कति धेरै सम्झौता गर्न चाहन्छन् हामीलाई थाहा छ । हामी पनि सम्झौता चाहन्छौँ तर इरानका पक्षमा मात्र सर्तहरू स्विकार गर्नेछैनौँँ । म हर्मुज जलमार्गलाई अहिले अमेरिकी क्षेत्रको रूपमा हेर्छु, यो अमेरिकी क्षेत्र हो।” मर्टलबिच जानुअघि संयुक्त आधार शिविर एन्ड्रयुजमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभएको थियो,“अमेरिकाको हर्मुज जलमार्गमाथि ‘पूर्ण नियन्त्रण’ छ ।”

    उहाँले रणनीतिक जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने धारणालाई व्याख्या गर्नुभएको थियो । उहाँले भन्नुभयो, “वाशिङ्टनको इरानविरुद्धको नाकाबन्दीका बीच हर्मुज जलमार्गसँग जोडिएको क्षेत्रमाथि हाम्रो नियन्त्रण छ ।” राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हामी के हुन्छ भनेर हेरिरहेका छौँ । तपाईंहरूलाई थाहा छ, हामीसँग सीमामाथि पूर्ण नियन्त्रण छ । तपाईं नाकाबन्दीबारे जानकार हुनुहुन्छ र यो पनि तपाईलाई जानकारी छ कि हर्मुज जलमार्गसँग सम्बन्धित सम्पूर्ण क्षेत्र हाम्रो पूर्ण नियन्त्रणमा छ ।” उहाँले भन्नुभयो, “इरान सम्झौता चाहन्छ तर मेरो विचारमा ‘सही सम्झौता’ गर्न तयार छैन।”

    यी टिप्पणीहरू रणनीतिक जलमार्गमाथि वाशिङ्टन र तेहरानबीच जारी तनावका बीच आएका हुन्, जसबाट विश्वव्यापी ऊर्जा आपूर्तिहरूको ठूलो हिस्सा बाहिरिन्छ । यसअघि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा रणनीतिक जलमार्गलाई ‘नयाँ अमेरिकी क्षेत्र’ भनेर चित्रण गर्ने एआई–जेनेरेटेड तस्बिर सेयर गर्नुभएको थियो । उक्त क्षेत्रमाथि संयुक्त राज्य अमेरिकाको नियन्त्रण रहेको दाबी उहाँले जारी राख्नुभएको छ।

    इरानले ट्रम्पको दाबी अस्वीकार गरेको छ । इरानी उपपरराष्ट्रमन्त्री काजेम गरीबाबादीले हर्मुज जलमार्गमाथि अमेरिकी राष्ट्रपतिको दाबी परिस्थितिले वा इरानले ‘सच्याइदिने’ बताउनुभयो । “जसरी ट्रम्पले सदाबहार पर्सियन खाडीको नाम सही लेख्नुभएको छ, त्यसैगरी चाँडै हर्मुज जलमार्गबारे उहाँको भ्रम सच्याइनेछ वा हामी यसमा भ्रमित मानिसको भ्रम सच्याउनेछौँ,” गरीबाबादीले एक्समा आफ्नो दावी पोस्ट गर्नुभएको छ।

    इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रजाईले पनि ट्रम्पका टिप्पणीहरूको आलोचना गर्दै भन्नुभयो, “हर्मुज जलमार्ग पुनः खोल्न अमेरिकाको असमर्थता र यसलाई आफ्नो स्वामित्वको दाबी गर्ने बीचको खाडल वाशिङ्टन र जलमार्गबीचको सात हजार माइल (एघार हजार किलोमिटरभन्दा बढी) दूरीभन्दा बढी छ ।

    राष्ट्रपति ट्रम्पले हालै इरानविरुद्ध ‘कहिल्यै नलिएको सबैभन्दा कडा आर्थिक कारबाही’ घोषणा गर्नुभएको थियो र तेहरानलाई वित्तीय, व्यावसायिक वा सरकारी सहयोग गर्ने देशहरूलाई ‘अत्यधिक आर्थिक परिणाम’ को चेतावनी दिनुभएको थियो । यसबीच, इरानी सभामुख मोहम्मद बागेर गालिबाफले भन्नुभएको थियो, “अमेरिकाले नाकाबन्दी हटाउने, जम्मा भएका इरानी सम्पत्तिहरू मुक्त गर्ने र तेल प्रतिबन्धहरू कम गर्ने लगायतका कुराहरू समावेश १४ बुँदे समझदारीपत्रका प्रतिबद्धताहरू पूरा नगरेसम्म तेहरानले हर्मुज जलमार्ग पुनः खोल्ने छैन ।

  • अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटक ४० करोड डलर तिर्न सहमत

    अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटक ४० करोड डलर तिर्न सहमत

    सान फ्रान्सिस्को, संयुक्त राज्य अमेरिका, ७ भदौ (रासस–एएफपी) । भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी कानुन उल्लङ्घन गरेको दाबीसहित अमेरिकी न्याय मन्त्रालयसँगको मुद्दा मिलाउन ४० करोड अमेरिकी डलर तिर्न सहमत भएको मन्त्रालयले जानकारी गराएको छ । विश्वभरका नियामक निकायहरूले बालबालिकाको तथ्याङ्क, गोपनीयता र सुरक्षा संरक्षणसम्बन्धी कानुन उल्लङ्घन गर्ने सामाजिक सञ्जाल कम्पनीहरूविरुद्ध कारबाही तीव्र बनाएका छन्।

    चिनियाँ कम्पनी बाइटडान्सले ट्रम्प प्रशासनको प्रतिबन्धबाट बच्न यस वर्षको सुरुमा आफ्नो अमेरिकी एकाईको बहुमत सेयर बिक्री गरेको थियो । यो जरिवानाका लागि टिकटकको अमेरिकी एकाई ‘टिकटक युएस’ पनि बाध्य हुनेछ । अमेरिकी सञ्चारमाध्यमका अनुसार टिकटक युएसको टिकटकमा १९.९ प्रतिशत स्वामित्व सेयर छ । “सम्झौताअनुसार, टिकटकले ३० करोड अमेरिकी डलर तुरुन्तै तिर्नेछ र टिकटकको पूर्ववर्ती म्युजिकल.लीविरुद्ध प्रविष्ट गरिएको अघिल्लो सहमति आदेश खारेज गर्ने आदेश जारी भएपछि थप १० करोड डलर तिर्नेछ,” मन्त्रालयले एक वक्तव्यमा भनेको छ ।

    “यो बाल अनलाइन गोपनीयता संरक्षण ऐन (सीओपीपीए) सम्बन्धी मुद्दाबाट प्राप्त ‘अहिलेसम्मकै सबैभन्दा ठूला क्षतिपूर्तिमध्ये एक’ हो,” वक्तव्यमा थपिएको छ। सीओपीपीएले वेबसाइटहरूलाई अभिभावकको अनुमतिबिना १३ वर्षमुनिका बालबालिकाको व्यक्तिगत जानकारी सङ्कलन गर्न प्रतिबन्ध लगाउँछ । न्याय मन्त्रालय र संघीय व्यापार आयोगले सन् २०२४ मा संयुक्त रूपमा टिकटकविरुद्ध मुद्दा दायर गरेका थिए, जसमा कम्पनीले अभिभावकको अनुमतिबिना उनीहरूको व्यक्तिगत तथ्याङ्क सङ्कलन गरेर लाखौँ बालबालिकाको सुरक्षालाई जोखिममा पारेको आरोप लगाइएको थियो।

    उनीहरूले दाबी गरेका थिए, “टिकटकले बालबालिकालाई एप प्रयोग गर्न दिएको थियो र युवा प्रयोगकर्ताहरूबाट व्यक्तिगत तथ्याङ्क सङ्कलन तथा प्रयोग गर्दा उनीहरूका अभिभावकलाई जानकारी दिएको थिएन।” टिकटकको १३ वर्षमुनिका प्रयोगकर्ताका लागि बनाइएको ‘किड्स मोड’ मा सिर्जना गरिएका अकाउन्टहरूले पनि इमेल ठेगाना र अन्य व्यक्तिगत जानकारी सङ्कलन गरेको मुद्दामा दाबी गरिएको थियो ।

    सन् २०१९ मा अमेरिकाले म्युजिकल.ली नामक एपविरुद्ध सीओपीपीए मुद्दा दायर गरेको थियो, जसलाई बाइटडान्सले सन् २०१७ मा खरिद गरी पछि टिकटकमा विलय गराएको थियो। टिकटकले टिप्पणीका लागि गरिएको अनुरोधमा तुरुन्तै प्रतिक्रिया दिएन। मे महिनाको एबीसी न्यूजको रिपोर्टअनुसार, ट्रम्प प्रशासनले यी रकमलाई लिङ्कन मेमोरियल रिफ्लेक्टिङ पूलको सतह सुधार, ह्वाइट हाउसको बलरुमको नवीकरण र एउटा आर्च निर्माण लगायतका जारी ‘सुन्दरता’ परियोजनाहरूका लागि प्रयोग गर्ने विचार गरिरहेको बताएको थियो । सम्झौताबाट प्राप्त रकम केमा प्रयोग गरिनेछ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।

    विश्वव्यापी कारबाही

    भिडियो एपविरुद्ध बढ्दो विश्वव्यापी कारबाहीका बीच टिकटकसँगको अमेरिकी सम्झौता आएको हो । ब्रसेल्सले सन् २०२४ मा डिजिटल सेवा ऐन (डीएसए) अन्तर्गत टिकटकमाथि अनुसन्धान सुरु गरेको थियो । यो ऐन सामग्रीसम्बन्धी कानुन र युरोपेली सङ्घको ठूला प्रविधि कम्पनीहरूलाई नियन्त्रण गर्न प्रयोग गर्ने प्रमुख कानूनी हतियार हो। जुलाईमा युरोपेली सङ्घले टिकटकलाई ‘साइबरबुलिङ’ र आक्रामक व्यवहारजस्ता जोखिमहरूमा बालबालिकालाई उजागर गर्न सक्ने खाता सेटिङमार्फत बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप लगाएको थियो, जसले कम्पनीलाई ठूलो जरिवानाको जोखिममा पार्न सक्छ ।

    युरोपेली सङ्घले भनेको छ, “तेह्र वर्ष र माथिका बालबालिकाले टिकटक प्रयोग गर्न सक्छन् तर नाबालिगहरूका अकाउन्टहरू उनीहरूले अनुमति दिएका व्यक्तिहरूलाई मात्र देखिनुपर्छ । १३ वर्ष र माथिका बालबालिकाले टिकटक प्रयोग गर्न सक्छन्। “उच्च स्तरको सुरक्षा वैकल्पिक हुनु हुँदैन; यो पूर्वनिर्धारित हुनुपर्छ,” युरोपेली सङ्घका प्रविधि प्रमुख हेन्ना भिरक्कुनेनले त्यतिबेला वक्तव्यमा भन्नुभएको थियो, “डीएसएअन्तर्गत, बालबालिकाका अकाउन्ट सेटिङहरू पूर्वनिर्धारित रूपमा सबैभन्दा बलियो सुरक्षाको घेरामा हुन्छन्।”

    “टिकटकका खाता सेटिङहरू यो मापदण्ड पूरा गर्न असफल छन्, किनकि तिनीहरूले नाबालिगहरूका खाता र सामग्रीलाई अत्यधिक व्यापक रूपमा उजागर गर्छन्,” युरोपेली सङ्घले आफ्नो प्रारम्भिक दृष्टिकोणमा भनेको छ। बेलायतको सञ्चार नियामकले पनि जुलाईमा टिकटकमाथि अनुसन्धान सुरु गरेको थियो।

    बेलायती अनुसन्धानले टिकटकले हानिकारक सामग्रीबाट बालबालिकालाई जोगाउन बेलायती कानुनअन्तर्गत पर्याप्त काम गरिरहेको छ कि छैन भनेर हेर्नेछ। “यो अनुसन्धानले टिकटकले आफ्ना कानूनी दायित्वहरू पूरा गर्न असफल भएको छ भन्ने विश्वास गर्ने उचित आधार छ कि छैन भनेर स्थापित गर्नेछ,” अफकमले वक्तव्यमा उल्लेख गरेको छ । यसले विशेष गरी टिकटकको उमेर–प्रमाणीकरण मोडेललाई हेर्ने जिम्मेवारी थपिएको छ।

  • हमासद्वारा व्यवस्थापकीय चुनावप्रति प्रतिबद्धता, फताह प्रतिनिधिमण्डल कायरो प्रस्थान गर्दै

    हमासद्वारा व्यवस्थापकीय चुनावप्रति प्रतिबद्धता, फताह प्रतिनिधिमण्डल कायरो प्रस्थान गर्दै

    गाजा, ७ भदौ (रासस–सिन्ह्वा) । प्यालेस्टिनी राष्ट्रिय मुक्ति आन्दोलन (फताह) को एक प्रतिनिधिमण्डल शनिबार कायरो प्रस्थान गरेको छ । प्यालेस्टिनी इस्लामी प्रतिरोध आन्दोलन (हमास) ले नोभेम्बरमा हुने व्यवस्थापकीय चुनावमा सम्भव भएसम्म व्यापक राष्ट्रिय गठबन्धनअन्तर्गत सहभागी हुने प्रतिबद्धता जनाएपछि फताहको प्रतिनिधिमण्डल कायरो गएको हो ।

    “प्रतिनिधिमण्डलले चुनावको तयारी र सफलता सुनिश्चित गर्न, प्यालेस्टिनी राष्ट्रिय एकता सुदृढ गर्न तथा अर्को चरणको मार्ग प्रशस्त गर्नका लागि प्यालेस्टिनी गुटका प्रतिनिधिहरूसँग पनि भेट गर्नेछ,” अल–हायेकले भन्नुभयो । नाम नखुलाउन अनुरोध गर्ने एक फताह स्रोतले सिन्ह्वालाई बताएअनुसार आगामी व्यवस्थापकीय चुनाव र प्यालेस्टिनी मुद्दाले सामना गरिरहेका चुनौतीहरूबारे छलफल गर्न हमाससँग बैठकको तयारी भइरहेको छ।

    फताहको क्रान्तिकारी परिषद्का सदस्य तथा आन्दोलनका प्रवक्ता मुन्थर अल–हायेकले संक्षिप्त वक्तव्यमा भन्नुभयो, “प्यालेस्टिनी उपराष्ट्रपति हुसेन अल–शेखको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल इजिप्टका अधिकारीहरूसँग भेट गर्न कायरो प्रस्थान गरेको छ।”

    यसैबीच, हमासका प्रवक्ता हाजेम कासेमले वक्तव्यमा भन्नुभएको छ, “हमास आगामी व्यवस्थापकीय चुनावमा सम्भव भएसम्म व्यापक राष्ट्रिय गठबन्धनभित्र सहभागी हुन प्रतिबद्ध छ।” कासेमले भन्नुभयो, “यो कदमले चुनावलाई सबै प्यालेस्टिनी समूहहरूलाई स्वीकार्य सहमतीय राजनीतिक प्रणाली स्थापना गर्ने अवसर बनाउने र प्यालेस्टिनी जनता तथा उनीहरूको मुद्दाले सामना गरिरहेका चुनौतीहरूका बीच राष्ट्रिय मुद्दाहरूलाई संयुक्त रूपमा सम्बोधन गर्न एकीकृत राष्ट्रिय नेतृत्वको बाटो खोल्ने हमासको चाहनालाई प्रतिबिम्बित गर्छ।

    फताहको कायरो भ्रमण हमास, इस्लामिक जिहाद, प्यालेस्टाइन जनमुक्ति मोर्चा, प्यालेस्टाइन प्रजातान्त्रिक मुक्ति मोर्चा र प्रजातान्त्रिक सुधारवादी धारालगायतका समूहहरू समावेश भएको चुनावी गठबन्धन गठन गर्ने प्रयासका रिपोर्टहरूका बीच आएको हो। कायरोले हालैका दिनहरूमा गुटहरूबीचका आन्तरिक प्यालेस्टिनी बैठकहरूका साथै गाजा पट्टीमा युद्धविराम सम्झौताबारे इजिप्टका अधिकारी र मध्यस्थकर्ताहरूसँग वार्ताहरू आयोजना गरेको छ।

    प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले जुलाई ९ मा व्यवस्थापकीय चुनावको मिति नोभेम्बर २८ का लागि तोक्ने राष्ट्रपतीय आदेश जारी गर्नुभएको थियो भने राष्ट्रपतीय चुनाव अर्को वर्षको पहिलो त्रैमासिकसम्म गर्नेगरी तयारी भएको छ । प्यालेस्टिनी व्यवस्थापकीय चुनाव पछिल्लो पटक सन् २००६ मा भएको थियो । फताह र हमासबीचको राजनीतिक विभाजनका कारण त्यसपछिका चुनावहरू स्थगित गरिएका थिए ।

  • अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    एक अमेरिकी सङ्घीय न्यायाधीशले ७५ देशका नागरिकहरूलाई लक्षित गरी देशमा स्थायी रूपमा बसोबास गर्न चाहनेहरूका लागि भिसा प्रतिबन्ध खारेज गरिदिएका छन् । यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन दमन अभियानलाई झट्का दिएको छ । न्युयोर्कको दक्षिणी जिल्लामा शुक्रबार जारी आदेशमा न्यायाधीश जीनेट भर्गासले यस नीतिलाई ‘कानुनविपरीत’ भएको बताएका छन् ।

    विदेशमन्त्री मार्को रुबियोले यसलाई जारी गर्दा आफ्नो ‘कानूनी अधिकार’ नाघेको बताए । जनवरीमा लागू भएको यस नीतिले अफगानिस्तान, ब्राजिल, इजिप्ट, इरान, इराक, नाइजेरिया, सोमालिया, थाइल्याण्ड र यमनलगायत ७५ देशका नागरिकहरूका लागि आप्रवासी भिसा प्रक्रिया निलम्बन गरेको थियो ।

    विदेश मन्त्रालयले भिसा प्रक्रिया निलम्बनको घोषणा गर्दै भनेको थियो, “यो निर्णय ‘उच्च जोखिमयुक्त देशबाट आउने आप्रवासीहरूले अमेरिकामा गैरकानूनी रूपमा कल्याणकारी सुविधा प्रयोग नगरून् वा सार्वजनिक भार नबनून् भनेर सुनिश्चित गर्न’ गरिएको हो।” भर्गासले आदेशमा भनेका छन् । “कन्सुलर अधिकारीहरूलाई आवेदक अन्यथा योग्य ठहरिए पनि केवल आवेदकको मूल देशका आधारमा आप्रवासी भिसा अस्वीकार गर्न गलत रूपमा आदेश दिइएको थियो ।”

    शुक्रबारको फैसलाले केवल यस नीतिमा आधारित कुनै पनि भिसाको लागि अस्वीकृतिलाई खारेज गर्छ। सरकारले यस फैसलालाई पुनरावेदन गर्न सक्नेछ । ट्रम्पले लाखौँ अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने वाचासहित राष्ट्रपतीय निर्वाचनका लागि अभियान चलाउनुभएको थियो र ह्वाइट हाउसमा पुनः फर्केपछि निर्वासनलाई तीव्र बनाउने तथा सीमापार आवागमन घटाउने उद्देश्यले विभिन्न कदम चालेका थिए ।

  • राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

    राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

    वासिङ्टन, ६ भदौ (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म ‘ग्राउन्ड बीफ’ (गाईको पेलिएको मासु) लाई भन्साररहित अवस्थामा आयात गर्न अनुमति दिने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव नजिकिँदै गर्दा अमेरिकी उपभोक्ताका लागि गाईको मासुको मूल्य घटाउने प्रयास गरिरहेको देखिन्छ । “हामी हाम्रा पशुपालकहरूलाई सहयोग गर्न काम गरिरहेको भएपनि आगामी ९० दिनसम्म संयुक्त राज्य अमेरिकाले ‘ग्राउन्ड बीफ’ का लागि तीन लाख मेट्रिक टनसम्मको उत्पादनलाई कोटाबाहिरको भन्साररहित आयात गर्न अनुमति दिनेछ,” राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन् ।


    अमेरिकी राष्ट्रपतिले कुन–कुन देशले यो बीफ निर्यात गर्ने भन्ने कुरा उल्लेख गर्नुभएको छैन तर ‘ग्राउन्ड बीफ’ लाई बजार मूल्यभन्दा २५ प्रतिशत कममा बेच्ने प्रतिबद्धता जनाएका छन् । “यो सम्झौताले अमेरिकीहरूका लागि मूल्य घटाउनेछ र हाम्रा महान् किसानहरूलाई ठाउँ दिनेछ,” राष्ट्रपति ट्रम्पले लेखेका छन् । अमेरिकी उपभोक्ताहरू उच्च खाद्य मूल्यको निरन्तर दबाबमा छन्, जसमा इरान युद्धसँग जोडिएको ऊर्जा सङ्कटले इन्धन र यातायात खर्च बढाएर थप प्रभाव पारेको छ ।

  • इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

    इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

    अङ्कारा, ६ भदौ (रासस–एएफपी) । टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका गाडीहरू रोकेको घटना र ‘नरसंहार’ को आरोप लगाउँदै अन्तर्राष्ट्रिय पक्राउ पूर्जीको माग गरेको टर्कीका न्यायमन्त्रीले शुक्रबार जानकारी दिनुभएको छ। टर्की सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणबाट सुरु भएको इजरायलको गाजासँगको युद्धको कडा आलोचक बनेको छ ।

    राष्ट्रपति रेसेप तैयप एर्दोगानले बारम्बार नेतन्याहुलाई ‘नरसंहार’ को आरोप लगाउँदै आउनुभएको छ । मे महिनामा करिब ४३० मानवीय सहायता अभियानकर्मी बोकेको समूहलाई इजरायलले रोकेको घटनाले अन्तर्राष्ट्रिय आक्रोश निम्त्याएको थियो । यसबारे फ्रान्स, इटाली र अस्ट्रेलियाले पनि न्यायिक प्रक्रिया सुरु गरेका छन् ।

    टर्कीका न्यायमन्त्री आकिन गुर्लेकले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “टर्कीको न्याय मन्त्रालयले गृहमन्त्रालयलाई नेतन्याहु र अर्का इजरायली अफेक मोस्कोभिचविरुद्ध ‘इन्टरपोल रेड नोटिस अलर्ट’ जारी गर्न आग्रह गरेको छ। “अन्तर्राष्ट्रिय जलक्षेत्रमा मानवीय सहायताकर्मीमाथि भएको आक्रमणसम्बन्धी न्यायिक कारबाहीको भागका रूपमा र सन् २०२६ जुलाई १४ मा बेन्जामिन नेतन्याहु र अफेक मोस्कोभिचविरुद्ध ‘नरसंहार’ का लागि जारी गरिएका पक्राउ पूर्जीअनुसार न्याय मन्त्रालयले गृहमन्त्रालयलाई उनीहरूको अन्तर्राष्ट्रिय पक्राउका लागि ‘रेड कर्नर नोटिस’ जारी गर्न अनुरोध गरेको छ,” उहाँल भन्नुभयो ।

    नेतन्याहु र मोस्कोभिचमाथि ‘मानवताविरुद्धका अपराध, नरसंहार, गम्भीर स्वतन्त्रता हनन, ‘जानीजानी आक्रमण र कुटपिट,’ यातना, सम्पत्ति विनाश, गम्भीर लुटपाट र यातायात साधन अपहरण’ का अभियोगमा मुद्दा चलाइएको मन्त्रालयले बताएको छ। मे महिनामा घेराबन्दीमा परेको प्यालेस्टिनी क्षेत्रतर्फ प्रस्थान गरेको ‘ग्लोबल सुमुद फ्लोटिला’मा करिब ५० वटा जहाज थिए।

    टर्कीबाट आएका मानवीय सहायताकर्मीलाई भूमध्यसागरमा इजरायली सेनाले हिरासतमा लिई इजरायली जेल लगिएको थियो र त्यसपछि देश निकाला गरिएको थियो। इजरायलका दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामर बेन गिभरले घुँडा टेकेर हात पछाडि बाँधिएका केही मानवीय सहायताकर्मीहरूलाई आफैँले गिज्याएको भिडियो सार्वजनिक गरेर आफ्नै आक्रोश निम्त्याउनुभएको थियो ।

  • खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

    खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका


    वासिङ्टन, ५ भदौ (रासस–एएनआई) । इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले पर्सियन खाडीमा दशकौँदेखि कायम अमेरिकी सैन्य उपस्थितिको पुनर्मूल्याङ्कन थालेको छ । द वासिङ्टन पोस्टका अनुसार युद्धपछि अमेरिकी सैन्य संरचना कस्तो बनाउने भन्ने विषयमा विभिन्न विकल्पमाथि प्रारम्भिक छलफल भइरहेको छ । पेन्टागनको नीति शाखा, ज्वाइन्ट स्टाफ र अमेरिकी सेन्ट्रल कमान्डले क्षतिग्रस्त सैन्य आधार पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने वा अमेरिकी सैन्य उपस्थितिको स्वरूप परिवर्तन गर्नेबारे अध्ययन गरिरहेका छन् । यो अध्ययन औपचारिक समीक्षा भने होइन ।

    अमेरिकाले जोर्डनदेखि ओमानसम्म करिब २० सैन्य प्रतिष्ठानमा ४० हजार सैनिक तथा अन्य कर्मचारी तैनाथ गर्दै आएको छ । बहराइनमा अमेरिकी पाँचौँ बेडाको मुख्यालय छ भने कुवेत, कतारलगायत खाडी मुलुकमा अमेरिकी सेना र वायुसेनाका महत्त्वपूर्ण संरचना छन् । इरानी क्षेप्यास्त्र र ड्रोन आक्रमणले भने यी सैन्य आधारको जोखिम बढाएको छ ।

    द वासिङ्टन पोस्टका अनुसार मार्चमा कुवेतस्थित अमेरिकी सैन्य स्थलमा भएको आक्रमणमा छ अमेरिकी सैनिक मारिएका थिए । युद्धका क्रममा २०० भन्दा बढी अमेरिकी सैन्य प्रतिष्ठानमा क्षति पुगेको वा ती नष्ट भएको जनाइएको छ । पेन्टागनले इरानी आक्रमण रोक्न एक हजारभन्दा बढी हवाई प्रतिरक्षा इन्टरसेप्टर प्रयोग गर्दा प्याट्रियट र टर्मिनल हाई अल्टिट्युड एरिया डिफेन्स प्रणालीको भण्डारमा समेत दबाब बढेको छ ।

    युद्धबाट भएको क्षतिलाई अमेरिकी सैन्य तैनाथीको स्वरूप पुनर्विचार गर्ने अवसरका रूपमा लिइएको छ । एउटा प्रस्तावमा जोर्डन, इजरायल वा साउदी अरेबियाको लालसागर आसपासतर्फ केही सैनिक र सैन्य उपकरण सार्ने तथा इरानी क्षेप्यास्त्र र ड्रोनको पहुँचमा रहेका कुवेतजस्ता केही आधार बन्द गर्ने विकल्प अघि सारिएको छ ।

    अमेरिकी सैन्य उपस्थितिबारेको बहसले ट्रम्प प्रशासनभित्रको मतभेदसमेत देखाएको छ । एक पक्षले अमेरिकी भूमिको सुरक्षा र चीनलाई रोक्न प्राथमिकता दिँदै मध्यपूर्वमा सुरक्षा प्रतिबद्धता घटाउनुपर्ने धारणा राखेको छ भने अर्को पक्षले इजरायललगायत क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति थप बलियो बनाउनुपर्ने बताएको छ । इजरायलमा सैन्य क्षमता बढाउँदा गुप्तचर जोखिम बढ्न सक्ने भन्दै त्यसको विरोधसमेत भइरहेको छ ।

    अमेरिकी सैन्य उपस्थिति घटे खाडी मुलुकमा त्यसको रणनीतिक प्रभाव पर्नेछ । ती देशहरू दशकौँदेखि क्षेत्रीय सुरक्षाका लागि अमेरिकी सेनामा निर्भर छन् । यद्यपि सेना घट्दैमा सुरक्षा सम्बन्ध अन्त्य हुने छैन र हतियार खरिद, गुप्तचर सहकार्य तथा अन्य रक्षा सम्झौतामार्फत साझेदारी कायम रहन सक्नेछ ।

    पेन्टागनको अनुमानअनुसार सेप्टेम्बरको अन्त्यसम्म इरानसँगको युद्धको लागत करिब ३७ अर्ब ५० करोड अमेरिकी डलर पुग्नेछ । यसमा ध्वस्त पूर्वाधार पुनर्निर्माणको खर्च समावेश छैन । त्यसैले क्षतिग्रस्त आधार पुनर्निर्माण गर्ने वा अमेरिकी सैन्य उपस्थितिको स्वरूप नै परिवर्तन गर्ने निर्णय वासिङ्टनका लागि महत्त्वपूर्ण रणनीतिक विषय बनेको छ । स्थायी परिवर्तनका लागि वरिष्ठ प्रशासनिक नेतृत्वको स्वीकृति आवश्यक पर्नेछ ।