Category: अमेरिका

  • अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

    अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

    वासिङ्टन, ५ भदौ (रासस–एएफपी) । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब अमेरिकी डलर नाघेको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मङ्गलबार कारोबार समाप्त हुँदा सङ्घीय सरकारको कुल ऋण ४०० खर्ब ५० अर्ब डलर पुगेको हो । बढ्दो सरकारी खर्च, ऋणको ब्याज तथा मध्यपूर्वमा जारी युद्धका कारण अमेरिकी ऋण नयाँ कीर्तिमानमा पुगेको हो ।

    यो रकम कङ्ग्रेसनल बजेट कार्यालयले आर्थिक वर्ष २०२६ को अन्त्यसम्म कुल ऋण ३९४ खर्ब डलर पुग्ने गरेको पूर्वानुमानभन्दा समेत बढी हो । ऋण तीव्र रूपमा बढेपछि मुद्रास्फीति, सरकारी खर्च र बढ्दो ब्याज लागतप्रति लगानीकर्ताको चिन्ता थपिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ को निर्वाचन अभियानका क्रममा सरकारी खर्च घटाउने प्रतिबद्धता जनाएका थिए ।

    तर सामाजिक सुरक्षा र स्वास्थ्य सेवासम्बन्धी दीर्घकालीन दायित्व, ब्याज भुक्तानी तथा रक्षा खर्च उच्च रहेकाले सरकारी ऋण घट्न सकेको छैन । मध्यपूर्वमा जारी युद्धले समेत सरकारमाथि थप आर्थिक दबाब सिर्जना गरेको छ । युद्धमा हालसम्म १८ अमेरिकी सैनिकको मृत्यु भएको र करिब तीन खर्ब ७५ अर्ब डलर सैन्य खर्च भइसकेको जनाइएको छ ।

    यसैबीच, अमेरिकी प्रतिनिधिसभाले जुलाईमा पेन्टागनका लागि ११ खर्ब ५० अर्ब डलरसम्मको रक्षा बजेट व्यवस्था गर्न सकिने वार्षिक रक्षा नीति विधेयक पारित गरेको थियो । सरकारी खर्च घटाउने उद्देश्यले ट्रम्प प्रशासनले गठन गरेको सरकारी दक्षता विभागले दुई खर्ब १५ अर्ब डलर खर्च कटौती गरेको दाबी गरेको छ । तर स्वतन्त्र पर्यवेक्षकहरूले उक्त तथ्याङ्कमाथि प्रश्न उठाएका छन् ।

    ऋण ४०० खर्ब डलर नाघेपछि दुवै प्रमुख राजनीतिक दलका सांसदले सरकारको बढ्दो खर्चप्रति चिन्ता व्यक्त गरेका छन् । रिपब्लिकन सिनेटर रिक स्कटले खर्च नियन्त्रण गरी बजेट सन्तुलित बनाउन कङ्ग्रेसलाई आग्रह गर्नुभएको छ भने डेमोक्रेटिक सांसदहरूले पनि ट्रम्प प्रशासनको आर्थिक नीतिको आलोचना गरेका छन् ।

    बढ्दो ऋण र युद्ध खर्चका कारण दीर्घकालीन अमेरिकी सरकारी ऋणपत्रको प्रतिफलसमेत बढेको छ । १० वर्षभन्दा लामो अवधिका ट्रेजरी बन्डको प्रतिफल मङ्गलबार सन् २००७ यताकै उच्च तहमा पुगेको थियो । यसले अमेरिकी सरकारले विगतको तुलनामा महँगो दरमा ऋण पुनर्वित्त गर्नुपर्ने जोखिम बढाएको छ ।

    ब्रुकिङ्स इन्स्टिच्युसनकी बजेट तथा कर विज्ञ जेसिका रिडलले अमेरिकी सरकार केही वर्षयता आर्थिक समृद्धिको अवस्थामा समेत करिब २० खर्ब डलर वार्षिक घाटामा रहेको बताइन् । उनका अनुसार कुल गार्हस्थ्य उत्पादनको तीनदेखि चार प्रतिशत आसपास रहेको बजेट घाटा अहिले छदेखि सात प्रतिशतको नजिक पुगेकाले वित्तीय बजारमा चिन्ता बढेको छ ।

    विश्लेषकहरूका अनुसार ४०० खर्ब डलरको ऋण आफैँमा आर्थिक सङ्कटको निश्चित सूचक नभए पनि यो वित्तीय बजारका लागि महत्त्वपूर्ण मनोवैज्ञानिक सीमा हो । अत्यधिक ऋणले भविष्यमा अमेरिकी सरकारसँगै उपभोक्ता र व्यवसायका लागि समेत ऋणको लागत बढाउन सक्ने तथा आर्थिक वृद्धिमा दबाब पार्न सक्ने उनीहरूको भनाइ छ ।

    अमेरिकी अर्थ मन्त्रालयले सङ्घीय बजेट घाटालाई कुल गार्हस्थ्य उत्पादनको करिब तीन प्रतिशतमा झार्ने लक्ष्य अघि सारेको छ । तर बढ्दो रक्षा खर्च, सामाजिक दायित्व र ऋणको ब्याज भुक्तानीका कारण उक्त लक्ष्य हासिल गर्नु चुनौतीपूर्ण देखिएको छ ।

  • इरानका साझेदारलाई ट्रम्पको चेतावनी

    इरानका साझेदारलाई ट्रम्पको चेतावनी

    वासिङ्टन, ५ भदौ (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार गर्ने कुनै पनि देशले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने चेतावनी दिँदै तेहरानलक्षित नयाँ आर्थिक दबाब अभियान घोषणा गरेका छन् । युद्ध छैटौँ महिनातर्फ अघि बढिरहेका बेला र हर्मुजको महत्त्वपूर्ण जलघाँटीबाट हुने आवागमन अझै प्रभावित भइरहेका बेला उहाँको घोषणाले इरानमाथिको आर्थिक दबाब थप बढाउने सङ्केत गरेको छ ।

    ट्रम्पले बुधबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत कुनै पनि देशले आफ्ना वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायलाई इरानलाई कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउन दिएमा ती देशले कडा आर्थिक परिणाम भोग्नुपर्ने बताए । उनले आफ्नो कदमलाई अहिलेसम्मकै ठूलो आर्थिक अभियानका रूपमा प्रस्तुत गर्दै अभूतपूर्व स्तरमा आर्थिक युद्ध र इरानको अलगाव अघि बढाउने घोषणा गरेका छन् । यद्यपि, इरानबाहेक कुन देश वा संस्थामाथि कस्तो कारबाही गरिनेछ भन्ने उनले बताएका छैनन् ।


    ट्रम्पले तेल तस्करी, स्वाप लाइन, नगद स्थानान्तरण, एक्सचेन्ज हाउस, जहाज दर्ता तथा इरानले प्रयोग गर्ने अगाडिका कम्पनीलगायत गतिविधि तत्काल रोक्नुपर्ने बताएका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि गत साता अमेरिकी नौसेनाको नाकाबन्दीसँगै इरानलाई आर्थिक रूपमा अलग्याउने अभियान तीव्र पारिने बताएका थिए । उनले यसलाई विश्वले यसअघि कहिल्यै नदेखेको स्तरको आर्थिक अलगावको प्रयासका रूपमा व्याख्या गरेका थिए ।


    अमेरिकी अर्थ मन्त्रालयले केही महिनादेखि ‘अपरेसन इकोनोमिक फ्युरी’ नामक अभियान सञ्चालन गर्दै लक्षित प्रतिबन्धमार्फत इरानको आर्थिक स्रोत सीमित गर्ने प्रयास गरिरहेको छ । यसैबीच, अमेरिकी सैन्य कारबाहीको महिनौँ सामना गरेपछि इरानले पनि कडा प्रतिक्रिया जनाउँदै आएको छ । अमेरिकी सञ्चारमाध्यमले युद्धका कारण अमेरिकी हतियार भण्डारमा उल्लेखनीय कमी आएको दाबी गरे पनि पेन्टागनले त्यसलाई अस्वीकार गरेको छ ।

    द्वन्द्व फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको थियो । त्यसको जवाफमा इरानले क्षेत्रका विभिन्न स्थानमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो । इरानी क्षेप्यास्त्र तथा ड्रोनको जोखिमका कारण हर्मुज जलघाँटी हुँदै हुने ढुवानीमा ठूलो कमी आएको थियो । जलघाँटी पुनः खोल्न अमेरिका र इरानबीच भएको सम्झौताको प्रयाससमेत असफल भएको छ ।

    यद्यपि, ट्रम्पले बुधबार हर्मुज हुँदै जहाज सञ्चालनमा सहयोग गर्न अमेरिकी सेनाले गरिरहेको प्रयासको बचाउ गर्दै अहिले धेरै जहाज आवतजावत गरिरहेको बताएका थिए । डिजिटल सञ्चारमाध्यम एक्सियोसका अनुसार अमेरिकी सेनाले पछिल्ला साताहरूमा दैनिक करिब १५ देखि २० वटा जहाजलाई हर्मुजभित्र र बाहिर आवतजावत गर्न सहज बनाइरहेको छ । ती जहाजले युद्धअघिको तुलनामा करिब आधा परिमाणमा तेल ढुवानी गरिरहेको जनाइएको छ ।

    अमेरिका र इरानबीच पछिल्ला दिनमा सन्देश आदानप्रदान भइरहेको बताइए पनि ट्रम्पले मङ्गलबार वार्ता रोकिएको दाबी गरेका थिए । उनले सामाजिक सञ्जालमा हर्मुज जलघाँटीलाई अमेरिकाको नयाँ क्षेत्रका रूपमा स्थापित गर्न सकिने सङ्केतसमेत गरेका थिए । यसैबीच, संयुक्त अरब इमिरेट्स (युएई) ले मङ्गलबार इरानमाथि दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै तेहरानसँगका सबै आर्थिक सम्झौता स्थगित गर्ने घोषणा गरेको थियो ।

    युएई र इरानबीच गहिरो सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहे पनि युद्धअघि युएई अमेरिकी प्रतिबन्धमा रहेको इरानको प्रमुख व्यापारिक साझेदारमध्ये एक थियो । युएईमा ठूलो इरानी समुदायसमेत बसोबास गर्दै आएको छ । ट्रम्पले इरानको खतरा अलग्याउन र पराजित गर्न अमेरिकाका सबै सहयोगीले अमेरिकाको साथ दिनुपर्ने बताएका छन् । उनको पछिल्लो घोषणाले इरानमाथि मात्र नभई उससँग आर्थिक कारोबार गर्ने देशहरूमाथि समेत अमेरिकी दबाब बढ्ने सङ्केत गरेको छ ।

  • ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वासिङ्टन, ४ भदौ (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किम जोङ–उनसँग भेटवार्ता गर्ने बताउनुभएको छ । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उहाँले किमसँग प्रत्यक्ष संवाद गर्नु महत्त्वपूर्ण रहेको बताउनुभएको हो । सम्भावित भेटको समय र स्थान भने खुलाइएको छैन ।

    वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले नोभेम्बरमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीनको शेन्जेन जाने क्रममा किमसँग भेट गर्ने सम्भावना खोजिरहनुभएको छ । ट्रम्पले पहिलो कार्यकालमा किमसँग तीनपटक भेट गर्नुभएको थियो । दुवै नेताबीचको अन्तिम भेट सन् २०१९ मा भएको थियो ।

    ट्रम्पले प्योङयाङसँग करिब ५७ वटा ‘अत्यन्त शक्तिशाली’ आणविक हतियार रहेको बताउनुभएको छ । तर दक्षिण कोरियाका रक्षामन्त्री अहन ग्यु–ब्याकले प्योङयाङसँग ८० देखि १२० वटासम्म आणविक हतियार रहेको सियोलको अनुमान रहेको बताउनुभएको छ ।

    अमेरिकाले उत्तर कोरियासँग आणविक हतियार रहेको स्वीकार गरे पनि उसलाई औपचारिक रूपमा आणविक हतियार सम्पन्न राष्ट्रको मान्यता दिएको छैन । ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्न रोक्नु आवश्यक रहेको बताउँदै उत्तर कोरियासँग भने आफूले राम्रो सम्बन्ध कायम गरेको उल्लेख गर्नुभएको छ ।

    दक्षिण कोरियाका रक्षामन्त्रीले अमेरिकाले उत्तर कोरियाको आणविक निशस्त्रीकरण प्रयासबाट पछि नहटेको बताउनुभएको छ । राष्ट्रपति ली जे म्युङले पनि उत्तर कोरियासँग शान्ति स्थापना गर्ने ट्रम्पको प्रयासमा सहयोग गर्ने बताउनुभएको छ । यसअघि ट्रम्पले किमसँगको सम्बन्धलाई सकारात्मक रूपमा प्रस्तुत गर्दै आउनुभएको थियो ।

    पहिलो कार्यकालमा किमलाई ‘रकेट म्यान’ भन्दै उत्तर कोरियामाथि ‘फायर एन्ड फ्युरी’ को चेतावनी दिनुभएका उहाँले पछि दुवैबीच सम्बन्ध सुधारिएको बताउनुभएको थियो । उच्चस्तरीय भेटले विश्वव्यापी ध्यान खिचे पनि उत्तर कोरियाको आणविक कार्यक्रमबारे ठोस प्रगति भने हुन सकेको थिएन । यसैबीच, किमकी बहिनी किम यो जोङले आफ्ना भाइ र ट्रम्पबीच हाल कुनै कुराकानी भइरहेको जानकारी आफूलाई नभएको बताउनुभएको छ ।

    उहाँले किमसँग ट्रम्पप्रति अझै राम्रो सम्झना र भावना रहेको तथा दुई नेताबीचको सम्बन्ध उत्कृष्ट रहेको उल्लेख गर्नुभएको छ । किम यो जोङको भनाइ दक्षिण कोरिया र अमेरिकाले वार्षिक उल्ची फ्रिडम सिल्ड सैन्य अभ्यास निर्धारित समयभन्दा करिब एक साताअघि समाप्त गर्ने घोषणा गरेपछि आएको हो ।

    पेन्टागनले अभ्यास अवधि घटाइए पनि सैन्य प्रशिक्षणका उद्देश्यमा कुनै कमी नआउने बताएको छ । उत्तर कोरियाले यस्ता संयुक्त सैन्य अभ्यासलाई सम्भावित आक्रमणको तयारी भन्दै लामो समयदेखि विरोध गर्दै आएको छ। दक्षिण कोरियामा अमेरिकाले करिब २८ हजार ५०० सैनिक तैनाथ गर्दै आएको अवस्थामा ट्रम्पको किमसँग पुनः भेट गर्ने तयारी र सैन्य अभ्याससम्बन्धी पछिल्ला कदमलाई अमेरिका–उत्तर कोरिया सम्बन्धमा नयाँ कूटनीतिक पहलको सङ्केतका रूपमा हेरिएको छ ।

  • युक्रेनमा युद्धकालीन चुनावको माग

    युक्रेनमा युद्धकालीन चुनावको माग

    सियोल, ४ भदौ (रासस/एपी) : रुससँग युद्ध जारी रहेका बेला युक्रेनमा शासन प्रणाली नै सङ्कटमा परेको भन्दै अपदस्थ रक्षामन्त्री मिखाइलो फेडोरोभले युद्धकालमै चुनाव गराउन आह्वान गर्नुभएको छ । हालसम्म राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका निकट सहयोगीमध्ये एक मानिनुभएका फेडोरोभको यो सार्वजनिक आह्वान युद्ध सुरु भएपछि जेलेन्स्की सरकारसामु देखिएको महत्त्वपूर्ण आन्तरिक चुनौतीका रूपमा आएको छ ।

    फेडोरोभले जुलाईमा रक्षामन्त्रीको पद गुमाउनुभएको थियो । उहाँले युट्युबमा सार्वजनिक गर्नुभएको भिडियो सन्देशमार्फत लामो युद्धका बीच पनि युक्रेनमा लोकतान्त्रिक प्रक्रिया पुनःस्थापित गर्न कानूनी, सुरक्षित र व्यावहारिक उपाय खोज्नुपर्ने बताउनुभएको छ । युक्रेनी कानूनअनुसार देशमा मार्सल ल लागू रहेसम्म चुनाव गराउन रोक लगाइएको छ । रुसले पूर्ण रूपमा आक्रमण सुरु गरेको दिन अर्थात् फेब्रुअरी २४, २०२२ देखि युक्रेनमा मार्सल ल लागू छ ।

    फेडोरोभले वर्तमान शासन प्रणाली आत्मरक्षा र परिवर्तनको प्रतिरोधमा केन्द्रित भएको आरोप लगाउँदै देशले शासन सञ्चालनकै विषयमा प्रणालीगत सङ्कट सामना गरिरहेको बताउनुभयो । उहाँले कुनै अधिकारीको नाम नलिई सरकारी निकायमा व्याप्त भ्रष्टाचारको समेत आलोचना गर्नुभयो । युद्धका बेला हुने भ्रष्टाचारले युक्रेनको युद्ध लड्ने क्षमतालाई कमजोर बनाउने उहाँको भनाइ छ ।

    “युद्धका बेला भ्रष्टाचार आर्थिक विषय मात्र होइन, यो हाम्रो बाँच्ने र जित्ने क्षमतासँग जोडिएको विषय हो”, फेडोरोभले भन्नुभयो । रक्षाका लागि छुट्याइएको प्रत्येक रिभ्निया देशको सुरक्षामै खर्च हुनुपर्ने र निजी स्वार्थमा प्रयोग हुन नहुने उहाँले बताउनुभयो । फेडोरोभले आफूलाई पदबाट हटाइनुको एउटा कारण रक्षा मन्त्रालयको खरिद प्रणालीमा आफूले नेतृत्व गरेको भूमिका पनि भएको बताउनुभयो ।

    उक्त प्रणालीमार्फत सैन्य उपकरण खरिदमा खर्च हुने अर्बौँ डलरको निगरानी हुँदै आएको थियो । फेडोरोभको सम्बोधन युक्रेनी संसद्ले नयाँ रक्षामन्त्रीका रूपमा येभहेनी ख्मारालाई मनोनयन गरेको केही घन्टापछि आएको हो । संसद्का अध्यक्ष रुस्लान स्टेफानचुकले मङ्गलबार सामाजिक सञ्जालमार्फत नयाँ रक्षामन्त्रीको मनोनयनबारे जानकारी दिनुभएको थियो । फेडोरोभको सम्बोधनप्रति जेलेन्स्कीको कार्यालयले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

    फेडोरोभलाई अचानक पदबाट हटाइएपछि गत महिनादेखि राजधानी किएभमा सरकारविरुद्ध प्रदर्शन हुँदै आएका छन् । प्रदर्शनको सुरुआती भीड केही घटे पनि सप्ताहन्तमा अझै हजारौँ मानिस सडकमा उत्रिने गरेका छन् । प्रदर्शनकारीहरूले फेडोरोभलाई पुनः पदमा फर्काउन माग गर्दै जेलेन्स्कीविरुद्ध नाराबाजी तथा हस्तनिर्मित प्लेकार्ड प्रदर्शन गर्दै आएका छन् ।

    युद्ध जारी रहेका बेला चुनाव गराउने विषय भने युक्रेनका लागि सुरक्षा, कानूनी र राजनीतिक रूपमा जटिल मानिन्छ । फेडोरोभको पछिल्लो आह्वानले युद्ध सञ्चालनसँगै लोकतान्त्रिक प्रक्रिया र शासन प्रणालीबारे युक्रेनभित्र बढिरहेको बहसलाई थप सतहमा ल्याएको छ ।

  • युएईले इरानसँग कारोबार रोक्यो

    युएईले इरानसँग कारोबार रोक्यो

    दुबई, ४ भदौ (रासस/एएफपी) :
    संयुक्त अरब इमिरेट्स (युएई) ले इरानतर्फबाट क्षेप्यास्त्र आक्रमण भएको आरोप लगाएपछि तेहरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को सूचना नभएसम्मका लागि रोक्ने घोषणा गरेको छ । पछिल्ला केही महिनादेखि तुलनात्मक रूपमा शान्त रहेको युएईमा पुनः सुरक्षा तनाव बढेपछि अबु धाबीले इरानविरुद्ध यस्तो कडा कदम चालेको हो ।

    युएईको विदेश मन्त्रालयकी सञ्चार निर्देशक अफ्रा अल हमेलीले क्षेत्रीय तनाव बढेको भन्दै इरानसँगको सबै व्यापार, व्यापारिक आदानप्रदान तथा वित्तीय कारोबार स्थगित गरिएको बताउनुभयो । अबु धाबीले पछिल्ला केही सातामा इरानले समुद्रमा आफ्ना ट्याङ्करहरूलाई पटक–पटक निशाना बनाएको आरोप लगाउँदै आएको छ ।

    युएईको पछिल्लो निर्णय दुई देशबीचको लामो समयदेखिको व्यापारिक तथा सामाजिक सम्बन्धका बीच आएको हो । युएईमा ठूलो इरानी समुदायको बसोबास छ र युद्धअघि अमेरिकी प्रतिबन्धमा रहेको इरानका लागि युएई प्रमुख व्यापारिक साझेदारमध्ये एक थियो ।

    समुद्री तटीय समुदाय, व्यापारिक मार्ग र पारिवारिक सम्बन्धका कारण दुई देशबीच शताब्दीयौँ पुरानो सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धसमेत रहँदै आएको छ । मङ्गलबारको घोषणा इरानविरुद्ध युएईले चालेको पछिल्लो कदम हो । द्वन्द्व सुरु भएपछि युएईले आफ्ना राजदूत फिर्ता बोलाउनुका साथै इरानसँग सम्बन्धित केही विद्यालय र अस्पताल बन्द गरेको थियो । मार्चमा युद्ध चर्किएका बेला दुबईस्थित इरानी राज्यसँग सम्बन्धित अस्पताल बन्द गर्न अधिकारीहरूले आदेश दिएका थिए । विद्यालय तथा सामुदायिक केन्द्र पनि बन्द गरिएका थिए ।

    त्यसबेला युएईका एक अधिकारीले इरानी सरकार र इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजीसी) सँग प्रत्यक्ष सम्बन्ध भएका तथा युएईको कानून उल्लङ्घन गरेको पाइएका केही संस्थालाई लक्षित उपायअन्तर्गत बन्द गरिएको बताएका थिए । यसैबीच, अबु धाबीले मङ्गलबार इरानले युएईतर्फ दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाएको छ ।

    युएईका अनुसार मेयता देशतर्फ लक्षित भएको यो पहिलो क्षेप्यास्त्र आक्रमण हो । पछि युएईले ती क्षेप्यास्त्र समुद्री क्षेत्रमा रहेका जहाज वा समुद्री नेभिगेसनलाई लक्षित गरिएको जनाएको थियो । तर तेहरानले युएईतर्फ क्षेप्यास्त्र प्रहार गरेको आरोप अस्वीकार गरेको छ ।

    युएईको हवाई सुरक्षा प्रणालीले इरानबाट प्रहार गरिएका दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र पत्ता लगाएको र तीमध्ये एउटा आफ्नो क्षेत्रीय जलक्षेत्रबाहिर तथा अर्को क्षेत्रीय जलक्षेत्रभित्र खसेको युएई मन्त्रालयले सामाजिक सञ्जालमार्फत जनाएको छ । त्यसपछि जारी अर्को विज्ञप्तिमा क्षेप्यास्त्र समुद्री नेभिगेसनलाई लक्षित गर्दै समुद्रमा खसेको उल्लेख गरिएको थियो ।

    इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले युएईले इरानमाथि लगाएको क्षेप्यास्त्र प्रहारको आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्नुभयो । उहाँले यस्तो दाबीले क्षेत्रीय विश्वास र सुरक्षा कायम गर्ने प्रयासमा नकारात्मक असर पार्ने बताउनुभयो । युएईको पहिलो आधिकारिक बयान आउनुभन्दा करिब दुई घन्टा अघि त्यहाँका बासिन्दालाई मोबाइल फोनमार्फत ‘सम्भावित क्षेप्यास्त्र खतरा’ बारे चेतावनी दिइएको थियो ।

    जुनमा जारी भएको गलत चेतावनी र जुलाईमा आक्रमणको सम्भावनासम्बन्धी सूचनापछि यो पहिलो यस्तो चेतावनी थियो । यद्यपि त्यसपटक क्षेप्यास्त्र युएईको भूभागमा प्रवेश गरेको थिएन । त्यसअघि पछिल्लो क्षेप्यास्त्र चेतावनी मेको सुरुआतमा जारी गरिएको थियो । यद्यपि पछिल्ला केही सातामा युएईको सरकारी स्वामित्वको तेल कम्पनी एडनोकसँग सम्बन्धित ट्याङ्करहरूलाई समुद्रमा पटक–पटक निशाना बनाइएको अबु धाबीले आरोप लगाउँदै आएको छ ।

    समुद्री मार्ग र ऊर्जा पूर्वाधारसँग सम्बन्धित यस्ता घटनाले युएईको सुरक्षा चिन्ता बढाएको छ । मध्यपूर्वमा युद्ध सुरु हुँदा युएईले इरानी आक्रमणको ठूलो दबाब सामना गरेको थियो । फेब्रुअरी २८ मा युद्ध सुरु भएयता करिब तीन हजार क्षेप्यास्त्र तथा ड्रोन युएईतर्फ लक्षित गरिएको बताइएको छ । यो क्षेत्रका अन्य मुलुकको तुलनामा बढी थियो ।

    तर जुनमा इरान र अमेरिकाबीच समझदारी ज्ञापनपत्र कार्यान्वयनमा आएपछि युएईले अन्य खाडी मुलुकको तुलनामा प्रत्यक्ष आक्रमणको खबर कमै मात्र सामना गरेको थियो । उक्त समझदारी पछि भत्किए पनि युएईमा लामो समयसम्म तुलनात्मक शान्ति कायम रहेको थियो । इरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार रोक्ने पछिल्लो निर्णयले भने दुई देशबीचको व्यापारिक सम्बन्धमा प्रत्यक्ष असर पार्ने भएको छ । साथै, समुद्री सुरक्षा र क्षेत्रीय तनाव थप बढ्ने चिन्ता पनि उत्पन्न भएको छ ।

  • इरानसँग तत्काल वार्ताको कुनै योजना नभएको ट्रम्पको खुलासा

    इरानसँग तत्काल वार्ताको कुनै योजना नभएको ट्रम्पको खुलासा

    वासिङ्टन, ४ भदौ (रासस/क्युएनए) :

    संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानसँग कुनै वार्ता वा छलफलको ठोस योजना नभएको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा इरानसँग कुनै वार्ता वा कुराकानी नभइरहेको तथा तत्काल निर्धारित वार्ता योजना नहरेको उल्लेख गर्नुभएको छ । यसैबीच ट्रम्पले होमुर्जको जलमार्गमा अमेरिकी नौसैनिक नाकाबन्दी पूर्ण शक्ति र प्रभावमा रहेको तथा होर्मुज पुर्ण रुपमा खुला र निर्वाद रुपमा सञ्चालनमा रहेको पनि बताउनुभएको छ ।

    ट्रम्पका टिप्पणी विशेष दूत जारेड कुशनरले ‘फक्स न्यूज’सँग अमेरिकी सरकार र इरानी सरकारका विभिन्न निकायबीचको वार्ता अहिले पहिलेभन्दा बढी सक्रिय रहेको बताएपछि आएका हुन् । यद्यपि, उहाँले वार्ताबाट अहिलेसम्म कुनै सहमति भइनसकेको सङ्केत गर्नुभएको छ । होर्मुज जलमार्गमा तनाव कायमै रहेका बेला इरान र अमेरिकाबीच परस्पर विरोधी धारणा सार्वजनिक भएका छन् । इरानले अमेरिकी नौसैनिक नाकाबन्दी र प्रतिबन्ध हटाउनेलगायत समझदारीपत्रमा उल्लेखित प्रतिबद्धता पूरा नभएसम्म जलमार्ग खुला नगर्ने अडान दोहोर्‍याएको छ । यसैबीच कुशनरले भने अमेरिकी सरकार र इरानी सरकार भित्रका विभिन्न पक्षहरू र विभिन्न तहमा भएको वार्तालाई वर्णन गर्नुभएको छ ।

  • गाजाका चर्चित दुई घटनामा इजरायली सेनाद्वारा आपराधिक अनुसन्धान सुरु

    गाजाका चर्चित दुई घटनामा इजरायली सेनाद्वारा आपराधिक अनुसन्धान सुरु

    इजरायली सेनाले गाजा युद्धका क्रममा पाँच वर्षीया हिन्द रजाब र १५ जना प्यालेस्टिनी स्वास्थ्यकर्मीको मृत्यु भएको घटनाबारे आपराधिक अनुसन्धान सुरु गर्ने घोषणा गरेको छ । सेनाले बुधबार गाजामा आफ्ना सैनिकको आचरणसम्बन्धी १५० घटनाको समीक्षा पूरा गरेको र पाँचवटा घटनामा थप अनुसन्धान आवश्यक देखिएको जनाएको छ । हिन्द रजाब र उनका परिवार तथा स्वास्थ्यकर्मीको मृत्युका घटना अनुसन्धानमा समेटिएका छन् ।

    सन् २०२४ को फेब्रुअरीमा गाजा सहरबाट भाग्ने क्रममा हिन्द आफ्ना आफन्तसहित सवार गाडीमाथि गोली प्रहार भएको थियो । हिन्दबाहेक गाडीमा रहेका सबैको मृत्यु भएको थियो । उद्धारका लागि प्रयास भइरहेका बेला उनीसँग सम्पर्क टुटेको र १२ दिनपछि हिन्दसहित उनका आफन्त तथा दुई स्वास्थ्यकर्मीको शव फेला परेको थियो ।

    त्यस्तै, सन् २०२५ को मेमा दक्षिणी गाजाको राफाहमा घाइते तथा मृतकलाई उद्धार गर्न गएका १५ जना प्यालेस्टिनी स्वास्थ्यकर्मीको इजरायली सेनाको गोली प्रहारबाट मृत्यु भएको थियो । उनीहरूलाई पछि सामूहिक रूपमा गाडिएको थियो । इजरायली सेनाले सुरुमा स्वास्थ्यकर्मीहरूका सवारीसाधनले बत्ती वा आपत्कालीन सङ्केत नदिई सैनिकतर्फ अघि बढेको दाबी गरेको थियो । तर घटनाको भिडियो सार्वजनिक भएपछि उक्त दाबीमाथि प्रश्न उठेको थियो ।

    सेनाले ‘वल्र्ड सेन्ट्रल किचन’ र ‘डाक्टर्स विदाउट बोर्डर्स’का सहायताकर्मीको मृत्यु भएका तीन घटनामा भने आपराधिक अनुसन्धान नगर्ने जनाएको छ । सन् २०२३ अक्टोबरमा हमासको आक्रमणपछि सुरु भएको युद्धमा गाजामा ७३ हजारभन्दा बढी मानिसको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार युद्धविराम लागू भएयता पनि एक हजार दुई सयभन्दा बढी मानिस मारिएका छन् ।

  • ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक


    वासिङ्टन, ३ भदौ (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा सार्वजनिक गर्दै रणनीतिक जलमार्गमाथि अमेरिकी नियन्त्रणको सङकेत गरेका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल खातामा उक्त नक्सा पोस्ट गरेका छन् । ‘स्ट्रेट अफ होर्मुज’ विश्वको महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक हो, जहाँबाट सामान्य अवस्थामा विश्वको करिब पाँचौँ भाग तेल ओसारपसार हुने गर्छ ।

    इरानले फेब्रुअरीको अन्त्यमा अमेरिकासँग युद्ध सुरु भएपछि ‘स्ट्रेट अफ होर्मुज’मा पानीजहाजको आवागमन प्रभावकारी रूपमा रोकेको छ । अमेरिकाले इजरायलसँग मिलेर इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि तेहरानले जलमार्ग बन्द गरेको हो । ट्रम्पले शुक्रबार पहिलोपटक ‘स्ट्रेट अफ होर्मुज’माथि अमेरिकी नियन्त्रणको सम्भावना उल्लेख गरेका थिए । उनले त्यसलाई अमेरिकी क्षेत्र घोषणा गर्ने बताएका छन् । इरानले भने उक्त मार्ग ‘इरानी नै रहने’ प्रतिक्रिया दिएको थियो ।

    ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उक्त विचार दोहोर्‍याउँदै ‘स्ट्रेट अफ होर्मुज’ माथि अमेरिकी नियन्त्रण कायम गर्नु राम्रो हुने बताए । विदेश नीतिमा विवादास्पद कदम चाल्दै आएका ट्रम्पले यसअघि पनि विदेशी भू–भागमाथि अमेरिकी नियन्त्रणको प्रस्ताव अघि सारेका थिए । सन् २०२५ मा राष्ट्रपतिका रूपमा पुनः कार्यभार सम्हालेयता उनले क्यानडालाई अमेरिकी राज्यका रूपमा समेट्ने, ग्रीनल्यान्डमाथि नियन्त्रण कायम गर्ने तथा गाजा पट्टीको नियन्त्रण लिने प्रस्ताव गरेका छन् । यद्यपि, तीमध्ये कुनै पनि योजना कार्यान्वयन भएको छैन।

    फेब्रुअरी २८ मा इरानविरुद्ध युद्ध सुरु हुनुअघि ‘स्ट्रेट अफ होर्मुज’ खुला अन्तरराष्ट्रिय जलमार्गका रूपमा सञ्चालनमा थियो। इरानले भने अमेरिका र इरानबीचको वार्ता तथा जलमार्ग पुनः खोल्नुअघि आफ्ना विभिन्न माग पूरा गर्नुपर्ने अडान राख्दै आएको छ। ती मागमा इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, तेलसम्बन्धी प्रतिबन्ध अन्त्य गर्नुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने तथा युद्धबाट भएको क्षतिबापत क्षतिपूर्ति दिनुपर्ने विषय समावेश छन्।

  • इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

    इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

    वाशिङ्टन, संयुक्त राज्य अमेरिका, २ भदौ (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार होर्मुज जलमार्गबारे इरानसँगको अमेरिकी सम्झौतामा ‘बाधा पु¥याए’े ओमानमाथि बमबारी गर्ने चेतावनी दिएका छन् । उनले इरानलाई आत्मसमर्पण गर्न आग्रह गरे । “यदि ओमानले बाधा पु¥यायो भने हामी उनीहरूमाथि व्यापक बमबारी गर्नेछौँ,” ट्रम्पले फक्स न्यूजका पत्रकार ट्रे यिङ्स्टसँग भने । यिङ्स्टले ओमान र इरानबीच जलमार्गको नियन्त्रणबारे चलिरहेको वार्तालाई उल्लेख गर्दा वासिङ्टनले पनि ओमानसँग छुट्टै वार्ता अघि बढाइरहेको छ ।

    इरानी र ओमानी अधिकारीहरू हप्ताौंदेखि समुद्री मार्गको भविष्यको नौवहन व्यवस्थाबारे कुराकानी गरिरहेका छन्। तेहरानको विदेश मन्त्रालयले सोमबार बिहान दुवै पक्ष संयुक्त घोषणापत्रमा काम गरिरहेको बताएको थियो। राष्ट्रपति ट्रम्पले बारम्बार जोड दिएका छन् । “हर्मुज जलमार्गलाई तेहरानले मध्यपूर्व युद्ध सुरु भएको दिन फेब्रुअरी २८ देखि प्रभावकारी रूपमा बन्द गरेको थियो । अमेरिकाले यसलाई आफ्नो नियन्त्रणमा रहेको बताएको छ तर यहाँ यहाँबाट स्वतन्त्ररूपमा यातायात सेवा अझै अवरुद्ध छ।

    शुक्रबार ट्रम्पले हर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने दाबी गरेका थिए भने इरानले यो महत्त्वपूर्ण ऊर्जा मार्ग ‘इरानी नै रहने’ जवाफ दिएको थियो।
    अमेरिकी–इजरायली इरान युद्ध सुरु हुनुअघि हर्मुज जलमार्ग खुला अन्तर्राष्ट्रिय जलमार्ग मानिन्थ्यो। यसबाट विश्वको ऊर्जा ढुवानीको ठूलो हिस्सा र अन्य वस्तुहरू निर्यात हुन्छन् ।

    तेहरानले जलमार्गको प्रभावकारी नियन्त्रणलाई अमेरिकी नेतृत्वको सैन्य शक्ति नष्ट गर्ने र विवादास्पद परमाणु ऊर्जा कार्यक्रम त्याग्न बाध्य पार्ने प्रयासविरुद्धको दबावका रूपमा प्रयोग गरेको छ । इरानको तट हर्मुजको उत्तरतिर छ भने ओमान दक्षिणतिर छ।

    ट्रम्पले इरानले ‘आत्मसमर्पणको सेतो झण्डा उठाउनुपर्छ’ भनेको राष्ट्रपतिसँगको अन्तर्वार्ताबारे यिङ्स्टले एक्समा पोस्ट गरेका छन् । राष्ट्रपति ट्रम्पले नोभेम्बरको अमेरिकी मध्यावधि चुनावअघि युद्ध अमेरिकीहरूबीच अत्यन्त अलोकप्रिय भए पनि सम्झौता गर्न हतार नभएको बताए । विपक्षी डेमोक्र्याट्हरूले ट्रम्पका रिपब्लिकनहरूबाट काङ्ग्रेस (संसद्) मा नियन्त्रण लिन खोजिरहेका छन्। ट्रम्पले यिङ्स्टलाई आफ्नो प्रशासन र इरानको रिभोल्युशनरी गार्डका अधिकारीहरूबीच प्रत्यक्ष ‘ब्याक–च्यानल’ रहेको बताए । “उनीहरू राम्रा पोकर खेलाडी हुन्, तर उनीहरू मरिरहेका छन्,” उनले भनेको भनाईलाई उद्धृत गरिएको छ।

  • सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

    सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

    संयुक्त राष्ट्रसङ्घ, संयुक्त राज्य अमेरिका, २ भदौ (रासस–एएफपी) । सन् २०२५ मा विश्वभर ३५० सहायताकर्मी मारिएका छन् संयुक्त राष्ट्र मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ । ओसीएचएका अनुसार विश्वभर ३५० सहायताकर्मी मारिएका र सबैभन्दा बढी गाजा र सुडानमा मारिएका छन्। संयुक्त राष्ट्रसङ्घले सोमबार मानवतावादीमाथिको आक्रमणलाई ‘अस्वीकार्य’ बताएको छ ।

    यो मृत्यु सङ्ख्या भने सन् २०२४ को ३७७ भन्दा केही कम हो। संयुक्त राष्ट्र मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए)ले विश्व मानवतावादी दिवसको अवसरमा अनुसन्धान र सल्लाहकार समूह ह्युम्यानिटेरियन आउटकम्सका तथ्यांक उल्लेख गर्दै यो विवरण दिएको छ। गत बर्ष सबैभन्दा धेरै गाजामा १८६ सहायताकर्मी मारिएका छन् । यो सहायताकर्मीका लागि लगातार तेस्रो वर्ष सबैभन्दा घातक ठाउँ बनेको छ । त्यसपछि सुडानमा ७१ जना सहायताकर्मीको मृत्यु भएको छ ।

    “केवल तीन वर्षमा एक हजारभन्दा बढी सहायताकर्मी मारिएका छन् र यो पूर्ण रूपमा अस्वीकार्य छ,” मानवीय मामिलाका उपमहासचिव टम फ्लेचरले वक्तव्यमा भनेका छन् । उनले भने, “यसलाई औँल्याउँदैमा अर्को सहायताकर्मीको सुरक्षा हुँदैन। राज्यहरूले अन्तर्राष्ट्रिय मानवीय कानून पालना गर्नुपर्छ र नागरिक तथा हाम्रा सहकर्मीहरूको सुरक्षाका लागि हरेक साधन प्रयोग गर्नुपर्छ । नियम तोड्नेहरूले वास्तविक कानुनी भागिदार हुनुपर्छ।”

    सन् २०२६ को सुरुदेखि विश्वभर थप ८२ सहायताकर्मी मारिएका, ९७ घाइते र ३९ अपहरण गरिएका छन् । ओसीएचएले सशस्त्र ड्रोनको व्यापक प्रयोगप्रति विशेष चिन्ता व्यक्त गरेको छ । ड्रोनले ‘घातक शक्ति अझ धेरै हातमा पु¥याउँदै शहर र नगरमा विस्फोटक हतियार पठाइरहेको छ।’

    सुडानमा सन् २०२६ का पहिला चार महिनामा सशस्त्र ड्रोनले नागरिक मृत्युको ८० प्रतिशत हिस्सा ओगटेको छ जसले बजार र स्वास्थ्य सुविधामा आक्रमण गरेको वक्तव्यमा उल्लेख छ । रूस–युक्रेन युद्धमा पनि ड्रोन आक्रमणबाट हताहत भएको उल्लेख गरिएको छ। “हतियारयुक्त ड्रोन नागरिक जीवनको जानाजान वा लापरवाहीपूर्ण विनाश बनेका छन् अर्थात् खतराको नयाँ रूप बनेका छन्,” फ्लेचरले भने ।

  • हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी

    हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी

    जेरुसेलम, १ भदौ, (रासस–एएफपी) । इजरायलले खतरा महसुस भएमा हिजबुल्लाहमाथि पुनः आक्रमण गर्ने चेतावनी दिएको छ । यसैबीच, इजरायली सेनाले शनिबार दक्षिणी लेबनानमा भएको आक्रमणमा मारिएका अर्का व्यक्तिलाई हिजबुल्लाहका वरिष्ठ कमाण्डरका रूपमा पहिचान गरेको छ । उक्त आक्रमणमा बालबालिकासहित ११ जनाको मृत्यु भएको लेबनानी अधिकारीहरूले बताएका छन् ।
    इजरायली अधिकारीहरूका अनुसार शनिबार दक्षिणी लेबनानमा गरिएको आक्रमण जुनमा युद्धविरामसम्बन्धी समझदारी भएयताकै सबैभन्दा घातक हो । इजरायलले उक्त कारबाही हिजबुल्लाहले दक्षिणी लेबनानको तथाकथित ‘सुरक्षा क्षेत्र’ मा विस्फोटक ड्रोन प्रहार गरेपछि गरिएको जनाएको छ । ड्रोन आक्रमणमा एक अधिकृतसहित तीन इजरायली सैनिक गम्भीर घाइते भएका थिए ।


    “कुनै पनि क्षेत्रमा हिसाबकिताब बाँकी राखिने छैन । हामी हाम्रा सैनिक र नागरिकको पूर्ण शक्तिका साथ रक्षा गर्नेछौँ”, इजरायली रक्षामन्त्री इजरायल काट्जले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन् । इजरायली सेनाले शनिबार मारिएका व्यक्तिमध्ये अबु हसन अलाको पहिचान गर्दै उनी हिजबुल्लाहको ‘बद्र’ एकाइका वरिष्ठ कमाण्डर रहेको जनाएको छ । सेनाका अनुसार उनी इजरायली सैनिकमाथि ड्रोन आक्रमण गर्ने योजनामा सङ्लग्न थिए ।


    यसअघि इजरायलले उक्त आक्रमणमा हिजबुल्लाहको विशेष ‘रडवान फोर्स’का कमाण्डर अली समीर अल–हाज हसन पनि मारिएको जनाएको थियो ।
    इजरायली सेनाले हसनका परिवारका सदस्यहरू घटनास्थलमा उपस्थित रहेको स्वीकार गरे पनि उनीहरू आक्रमणको लक्ष्य नभएको भन्दै कारबाहीको बचाउ गरेको छ । लेबनानका राष्ट्रपति जोसेफ आउनले अन्सार गाउँमा भएको आक्रमणमा पूरै परिवार मारिएको बताएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये तीन बालबालिका र दुई महिला छन् ।


    लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय संयोजक इमरान रिजाले आक्रमणको निन्दा गर्दै नागरिक र बालबालिकाको सुरक्षा गर्नुपर्ने बताए । यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले हिजबुल्लाहले नागरिकलाई जानाजानी जोखिममा पारेको आरोप लगाएको छ । हिजबुल्लाहले उक्त आरोप अस्वीकार गर्दै आक्रमणका लागि नेतान्याहुलाई जिम्मेवार ठहर गरेको छ ।


    इजरायल र हिजबुल्लाहबीचको तनाव अमेरिकी मध्यस्थतामा भएको समझदारीपछि केही घटेको भए पनि दक्षिणी लेबनानमा बेलाबेलामा हिंसात्मक घटना भइरहेका छन् । समझदारीअनुसार इजरायली नियन्त्रणमा रहेका दक्षिणी क्षेत्रको सुरक्षाको जिम्मेवारी लेबनानी सेनाले क्रमशः सम्हाल्ने व्यवस्था गरिएको छ । तर हिजबुल्लाहले निः शस्त्रीकरण गर्न अस्वीकार गर्दै आएको छ ।

  • अफगानिस्तानः तालिबान सत्ता पुनरागमनका पाँच बर्ष

    अफगानिस्तानः तालिबान सत्ता पुनरागमनका पाँच बर्ष

    काबुल, ३१ साउन (रासस–सिन्ह्वा) । अफगानिस्तानको तालिबान समूहले देशमा अमेरिकी नेतृत्वको गठबन्धन सेनाको कहिर्गमनपछि सत्तामा फर्किएको पाँचौं वार्षिकोत्सव कडा सुरक्षा व्यवस्थाबीच मनाएको छ। अफगानिस्तानी तालिवान समूहले यो दिनलाई ‘विजय दिवस’ का रूपमा मनाएको छ । सत्तामा पुनरागमनको पाँच बर्षमा भएका प्रदर्शनमा नागरिक, कर्मचारी तथा सुरक्षाकर्मीहरूका समूहले सेता झण्डा हातमा लिएर काबुलका सडकहरूमा प्रदर्शन गरेका छन् ।

    यो दिनको महत्व उजागर गर्न अधिकारीहरूको ठूलो भेला आयोजना गरिएको छ भने सरकारले काबुल शहरका केही भागमा हेलिकोप्टरमार्फत पुष्पवृष्टि गरेको थियो भने देशभर विविध कार्यक्रम गरिएको थियो । अफगान तालिबानले अमेरिकी नेतृत्वको गठबन्धन सेनाविरुद्ध वर्षौंको युद्धपछि सन् २०२१ १५ अगस्टमा सत्ता हातमा लिएको थियो। अन्तिम अमेरिकी सैनिक सन् २०२१ अगस्टको अन्त्यमा देश छाडेर गएका थिए।

    यो दिन अफगानिस्तानमा सार्वजनिक बिदा दिने गरिएको छ । यसैबीच, विजय दिवसको उपलक्ष्यमा काबुल र अन्य शहरहरूमा खेल प्रतियोगितालगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका छन्।

  • लेबनानमा इजरायली आक्रमण, सात जनाको मृत्यु

    लेबनानमा इजरायली आक्रमण, सात जनाको मृत्यु

    बेरुत (लेबनान), ३१ साउनः (रासस–एएफपी) । दक्षिणी लेबनानमा शनिबार भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु भएको लेबनानी मिडियाले जनाएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले शनिबार अन्सार गाउँको बाहिरी भागमा इजरायली लडाकु विमानले आवासीय घरमा गरेको आक्रमणमा सात जनाको मृत्यु हुनुका सथै अन्य तीन जना घाइते भएको रिपोर्ट गर्दै इजरायलले दक्षिणमा आफ्नो आक्रमण बढाएको बताएको छ ।

    आक्रमणले एउटा घर ध्वस्त पारेको र आपतकालीन उद्धारकर्ताहरूले भग्नावशेषबाट निकालेर घाइतेहरूलाई अस्पताल लगिरहेको एजेन्सीले रिपोर्ट गरेको छ । यस अघि हेजबुल्लाहले लेबनानलाई आफ्नो समर्थक इरानको समर्थनमा इजरायलमा रकेट प्रहार गरेर मार्चमा मध्य पूर्व युद्धमा तानेको थियो । जसको इजरायलले भारी हवाई तथा मिसाएल आक्रमणको साथ प्रतिक्रिया दिँदा चार हजार ३०० भन्दा बढी मानिसहको मृत्यु भएको लेबनानी अधिकारीहरूले बताएका छन् ।

    मध्यपूर्व युद्धमा गत जुनमा अमेरिका–इरान समझदारी पत्रमा हस्ताक्षर भएसँगै लेबनान र इजरायलबीच अमेरिकी मध्यस्थतामा सम्झौता सफल भएपछि द्वन्द्व उल्लेखनीय रूपमा घटेको जनाइएको छ । यद्यपि लेबनानले अझै पनि इजरायली आक्रमणले कहिलेकाहीँ हताहत हुने गरेको र दक्षिणी गाउँ र सहरहरूमा नागरिक सम्पतीकोको व्यापक विध्वंसको रिपोर्ट गरिरहेको छ ।

    एनएनएले अन्सार र जरारियाह बीचको उपत्यकामा पनि आक्रमण भएको जनाएको छ । इजरायली लडाकु विमानहरूले नबातीह क्षेत्रलाई रणनीतिक पाहाड अली अल–ताहेर रिजलाई लक्षित गरी शृङ्खलाबद्ध हवाई आक्रमण गरेको रिपोर्ट गरिएको छ । इजरायली सेनाले सीमा नजिकैको बिन्ट जेबिल सहरका घरहरूमा विस्फोट गरेको समाचार एजेन्सीले जनाएको छ ।

    इजरायल–लेबनान सम्झौतामा हेजबुल्लाहको निः शस्त्रीकरण, दक्षिण लेबनानबाट इजरायली सेनाको क्रमिक फिर्ती लगायतका विषय समावेश गरिएको छ । हिजबुल्लाहका प्रमुख नईम कासिमले शुक्रबार लेबनानी अधिकारीहरूलाई सम्झौता कार्यान्वयन गरेर देशको सशस्त्र सेनालाई अनावश्यक दबाबमा पारेको आरोप लगाएको जनाइएको छ । मानवअधिकार बादीहरुले संयुक्त राष्ट्रसङ्घलाई लेबनानको शान्ति रक्षकहरूको जनादेश यस वर्षका लागि समाप्त भएपछि अन्तरराष्ट्रिय नेतृत्व कायम राख्न आग्रह गरेका छन् ।

  • स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

    स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

    गार्डेन सिटी, ३० साउन (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘पूर्ण रूपमा पराजित’ गर्ने दाबी गर्दै ‘स्ट्रेट अफ होर्मुज’लाई चाँडै अमेरिकी भ–ूभागको हिस्सा घोषणा गर्ने बताएका छन् । ट्रम्पले मध्यपूर्वमा युद्ध सुरु भएयता तेहरानले प्रभावकारी रूपमा बन्द गरेको महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमाथि अमेरिकाको नियन्त्रण रहेको दाबी गर्दै आएका छन् । इरानले भने उनको दाबी अस्वीकार गर्दै आएको छ ।

    न्युयोर्क राज्यको एक प्रहरी एकेडेमीमा आयोजित राजनीतिक सभामा ट्रम्पले मुस्कुराउँदै भने, “इरानलाई पूर्ण रूपमा पराजित गरिसकेपछि म चाँडै नै ‘स्ट्रेट अफ होर्मुज’ संयुक्त राज्य अमेरिकाको भू–भाग घोषणा गर्नेछु । यो सत्य हो ।” वाल स्ट्रिट जर्नलका अनुसार, ह्वाइट हाउसका एक अधिकारीले पछि ट्रम्पले उक्त टिप्पणी ठट्टाका रूपमा गरेको स्पष्ट पारेका छन् ।

    इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले शनिबार सामाजिक सञ्जाल ‘एक्स’ मा ट्रम्पको भनाइको जवाफ दिँदै ‘स्टे«ट अफ हर्मुजइरानी थियो, इरानी हो र इरानी नै रहनेछ ।’ उनले स्ट्रेट अफ होर्मुज इरानको निर्णयअनुसार मात्र बन्द वा खुल्ने दाबी पनि गरे । ट्रम्पले इजरायलसँग मिलेर फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए । त्यसको जवाफमा तेहरानले ‘स्ट्रेट अफ होर्मुज’को अधिकांश क्षेत्रमा व्यावहारिक नियन्त्रण कायम गरेको दाबी गरिएको छ ।

    विश्वको महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक ‘स्ट्रेट अफ होर्मुज’ लाई लिएर अमेरिका र इरानबीच तनाव कायम छ । इरानले अधिकांश नागरिक जहाजको आवागमनमा रोक लगाएको छ भने अमेरिकी नौ सेनाले इरानमाथि दबाब बढाउन जलमार्गमा नाकाबन्दी गरेको छ । समर्थक र प्रहरीको भीडलाई सम्बोधन गर्दै ट्रम्पले भने, “हामीले नाकाबन्दी गरेका छौँ । हाम्रो इच्छाबिना कुनै पनि जहाज त्यहाँबाट जान सक्दैनन् ।”

  • व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध

    व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध

    वासिङ्टन, ३० साउन (रासस–एएफपी । अमेरिकी ट्रम्प प्रशासनले शुक्रबार सर्वोच्च अदालतलाई सङ्केत गर्दै व्हाइट हाउसमा निर्माणाधिन ‘विशाल बलरुम परियोजना’ पूरा गर्न अनुमति दिन अनुरोध गरेको छ । सोलिसिटर जनरल जोन साउअरले डेमोक्र्याट् बहुल सर्वोच्च अदालतमा आपतकालीन अपीलमार्फत यो अनुरोध गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष व्हाइट हाउसको ऐतिहासिक ‘इस्ट विङ’ भत्काउन आदेश दिएका थिए । त्यसपछि बलरुमको निर्माण गर्न चाहे पनि अदालती अवरोधका कारण परियोजना अघि बढ्नबाट रोकिएको थियो ।

  • फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ

    फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ

    वासिङ्टन, २७ साउन (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउने प्रयास भए त्यो ‘ठूलो गल्ती’ हुने बताएका छन् । विश्वकपको केही हिस्सा निजी लगानीकर्तालाई सहभागी गराउने योजनाका कारण इन्फान्टिनोमाथि आलोचना भइरहेका बेला ट्रम्पले उनको बचाउ गरेका हुन् ।


    युरोपेली फुटबल महासङ्घ (युइएफए), उत्तर तथा मध्य अमेरिकी फुटबल महासङ्घ (कोन्काकाफ) र एसियाली फुटबल महासङ्घ (एएफसी)का प्रमुखले संयुक्त रूपमा जारी गरेको खुला पत्रमा इन्फान्टिनोमाथि विश्वासघात गरेको आरोप लगाइएको छ । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इन्फान्टिनोको पक्षमा धारणा सार्वजनिक गरेका छन् । उनले इन्फान्टिनोलाई ‘असाधारण’ व्यक्तिको सङ्ज्ञा दिँदै अहिलेसम्मकै सफल विश्वकप आयोजना गरेको दाबी गरे ।


    “कुनै पनि कारणले अध्यक्ष जियानी इन्फान्टिनोलाई हटाउनेबारे विचार गरिए पनि फिफाले ठूलो गल्ती गर्नेछ,” ट्रम्पले लेखेका छन् । गत महिना ट्रम्पले इन्फान्टिनोसँगै विश्वकपको फाइनल खेल हेरेका थिए । इन्फान्टिनोले गत वर्ष विश्वकपको खेल तालिका सार्वजनिक गर्ने समारोहमा ट्रम्पलाई ‘फिफा शान्ति पुरस्कार’ प्रदान गरेका थिए । ट्रम्पको समर्थन अमेरिकी फुटबल महासङ्घको अडानभन्दा फरक देखिएको छ । अमेरिकी फुटबल महासङ्घ इन्फान्टिनोको नेतृत्वको आलोचना गर्ने पक्षमा सामेल भएको छ ।

    इन्फान्टिनोले विश्वकपलगायत फिफाका प्रतियोगितामा निजी लगानी भित्र्याउने योजना अघि सारेका थिए । तर युरोपेली फुटबल महासङ्घसहित विभिन्न निकायको तीव्र विरोधपछि उनले उक्त योजना फिर्ता लिएका थिए । युइएफए, कोन्काकाफ र एएफसीले सोमबार जारी गरेको संयुक्त पत्रमा फुटबलको नेतृत्व कुनै व्यक्तिको निजी सम्पत्ति नभएको उल्लेख गर्दै इन्फान्टिनोको नेतृत्वशैलीप्रति प्रश्न उठाइएको छ । उनीहरूले विश्वास तोडिएको अवस्थामा नेतृत्वले आफ्नो जिम्मेवारी त्याग्नुपर्ने उल्लेख गर्दै फिफा अध्यक्षमाथि निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको अभाव रहेको आरोप लगाएका छन् ।

    इन्फान्टिनोको चौथो कार्यकालको तयारी
    कोन्काकाफका अध्यक्ष भिक्टर मोन्टाग्लियानीलाई इन्फान्टिनोका सम्भावित प्रतिस्पर्धीका रूपमा हेरिएको छ । इन्फान्टिनो सन् २०२७ मार्चमा हुने फिफा कङ्गे्रसबाट चौथो तथा अन्तिम कार्यकालका लागि पुनः निर्वाचित हुने तयारीमा छन् । उम्मेदवारको नामावली आगामी नोभेम्बर १८ सम्ममा घोषणा गरिसक्नुपर्नेछ । अमेरिका, मेक्सिको र क्यानडामा भएको विश्वकप सफलतापूर्वक आयोजना गरेपछि इन्फान्टिनो निर्विरोध निर्वाचित हुने सम्भावना बलियो देखिएको थियो । तर निजी लगानीसम्बन्धी योजनाले विवाद चर्काएपछि उनीमाथि दबाब बढेको हो ।

    दश वर्षदेखि फिफाको नेतृत्वमा रहेका ५६ वर्षीय स्विस नागरिक इन्फान्टिनोले अफ्रिकी फुटबल महासङ्घ (सीएएफ) को समर्थन पाएका छन् । दक्षिण अमेरिकी फुटबल महासङ्घ (कोन्मेबोल)ले पनि उनलाई समर्थन गर्ने सङ्केत गरेको छ । फिफाको निर्वाचनमा महादेशीय महासङ्घले नभई सदस्य राष्ट्रका फुटबल सङ्घले मतदान गर्छन् । इन्फान्टिनोले कोन्काकाफअन्तर्गतको मेक्सिको तथा एएफसीका सदस्य कुवेत र कतारबाट पनि समर्थन पाएका छन् ।

    निजी लगानीको योजनामा विवाद
    युइएफएले निजी लगानीको योजना अघिबढे विश्वकप बहिष्कार गर्ने चेतावनी दिएपछि इन्फान्टिनोले उक्त योजना फिर्ता लिएका थिए । यूइएफएले यसअघि योजनालाई ‘अपारदर्शी र गोप्य सम्झौता’ भन्दै आलोचना गरेको थियो । सोमबार पनि युइएफएले इन्फान्टिनोको निर्णय क्षमतामाथि प्रश्न उठाएको छ । गत साता मोरक्कोमा भएको आकस्मिक बैठकमा इन्फान्टिनोले फिफाका वरिष्ठ अधिकारीको समर्थन प्राप्त गरेका थिए । तर युइएफए, कोन्काकाफ र एएफसीले उक्त समर्थनलाई पर्याप्त नभएको बताएका छन् ।

    उनीहरूले फिफा व्यवस्थापन समितिका सीमित सदस्य मात्र सहभागी भएको बैठकले समस्या समाधान गर्न नसक्ने दाबी गरेका छन् । इन्फान्टिनोको नेतृत्वमा विश्वकपमा टोलीको सङ्ख्या बढाएर ४८ पुर्याइएको छ । महासङ्घले विगत एक दशकमा फुटबलमा भएको प्रगतिलाई स्वीकार गरे पनि त्यसलाई कुनै एक व्यक्तिको उपलब्धिका रूपमा लिन नहुने बताएका छन् ।

    उनीहरूले फुटबलको विकास फिफा, महादेशीय महासङ्घ, सदस्य सङ्घ तथा खेलमा सङ्गलग्न हजारौँ व्यक्तिको संयुक्त प्रयासको परिणाम भएको उल्लेख गरेका छन् । साथै, फिफाको नेतृत्वमा जवाफदेहिता र पारदर्शिता कमजोर हुँदै गएको आरोप लगाउँदै आफूहरू फुटबलको एकता र संस्थागत उत्तरदायित्वका पक्षमा एकजुट भएको बताएका छन् ।

  • पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड

    पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड

    दमास्कस, २६ साउन (रासस–एएफपी) । सिरियाली अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले मङ्गलबार असदको अनुपस्थितिमा सुनुवाइ गर्दै करिब १४ वर्ष लामो गृहयुद्धका क्रममा भएका अत्याचारमा दोषी ठहर गरेको हो। डिसेम्बर २०२४ मा उहाँ सत्ताच्युत भएपछि गठन भएको अन्तरिम सरकारअन्तर्गत असद शासनकालमा भएका अपराधका लागि सुनाइएको यो पहिलो ठूलो फैसला हो। अन्तरिम नेतृत्वले ती अपराधमा न्याय र जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै आएको छ।

    इस्लामवादी नेतृत्वको विद्रोही समूहले तीव्र आक्रमण गर्दै दमास्कसतर्फ अघि बढेपछि असद सिरियाबाट भागेर रुस पुग्नुभएको थियो। दमास्कसस्थित अदालतका न्यायाधीश फखर अल–दिन अल–आर्यनको इजलासले असदलाई विभिन्न अपराधमा दोषी ठहर गरेको हो। ती अपराधमा पूर्वनियोजित हत्या, एकभन्दा बढी व्यक्तिको जानाजान हत्या, १५ वर्षमुनिका बालबालिकाको हत्या, यातना, यातनाका कारण मृत्यु तथा गैरकानुनी रूपमा पटक–पटक स्वतन्त्रताबाट वञ्चित गर्ने कार्य छन्।

    अदालतले यीकार्यलाई मानवताविरुद्धको अपराध तथा युद्ध अपराधका रूपमा वर्गीकरण गरेको छ। “तसर्थ, असदलाई मृत्युदण्डको सजाय सुनाइन्छ,” न्यायाधीश आर्यनले फैसला सुनाउँदै भन्नुभयो । सिरियाले गत अप्रिलमा असदसहित पूर्वसत्ताका अधिकारीविरुद्ध कानुनी कारबाही अघि बढाएको थियो। सन् २०११ मा प्रजातन्त्र पक्षधर प्रदर्शनकारीमाथि तत्कालीन सरकारले गरेको दमनपछि सिरियामा गृहयुद्ध सुरु भएको थियो।

    संयुक्त राष्ट्रसङ्घ तथा अन्य निकायका अनुमानअनुसार उक्त द्वन्द्वमा पाँच लाखभन्दा बढी मानिसको मृत्यु भएको छ। लाखौँ मानिस विस्थापित भएका छन् भने हजारौँ बेपत्ता भएका छन्। तीमध्ये धेरैजसो सरकारी हिरासत तथा जेलमा बेपत्ता भएको बताइन्छ। अदालतले असदका भाइट माहेर अल–असदसहित अन्य छ पूर्वसैन्य तथा सुरक्षा अधिकारीलाई पनि अनुपस्थितिमा मृत्युदण्ड सुनाएको छ। माहेरले सिरियाली सेनाको शक्तिशाली चौथो डिभिजनको नेतृत्व गर्नुभएको थियो । उहाँ पनि भागेर देशबाहिर पुग्नुभएको छ ।

    दोषी ठहर हुने अन्यमा पूर्वरक्षामन्त्री फहद अल–फ्रेज र सन् २०११ मा दारा प्रान्तको सैन्य गुप्तचर निकायका प्रमुख रहेका लुए अल–अली हुनुहुन्छ । अदालतले उहाँहरूलाई हत्या, हत्याका लागि उक्साउने, मृत्यु हुने गरी यातना दिने तथा पटक–पटक गैरकानुनी रूपमा स्वतन्त्रताबाट वञ्चित गर्ने अपराधमा दोषी ठहर गरेको छ। यी कार्यलाई पनि मानवताविरुद्धको अपराध तथा युद्ध अपराधका रूपमा वर्गीकरण गरिएको छ।

    पूर्वसुरक्षा अधिकारी आतिफ नजिबलाई पनि मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाइएको छ। सन् २०११ मा जनविद्रोह सुरु भएको दारा प्रान्तमा राजनीतिक सुरक्षा प्रमुख रहेका नजिबलाई गत वर्ष जनवरीमा पक्राउ गरिएको थियो। नजिब असदका नातेदारसमेत हुनुहुन्छ। अदालतले उहाँलाई हत्या, १५ वर्षमुनिका बालबालिकाको जानाजान हत्या तथा मृत्यु हुने गरी यातना दिएको अभियोगमा दोषी ठहर गरेको हो।

    सन् २०११ को मार्चमा दारामा १५ जना विद्यार्थीलाई सरकारविरोधी नारा लेखेको आरोपमा पक्राउ गरेपछि सिरियामा जनविद्रोह सुरु भएको थियो। स्थानीय बासिन्दाका अनुसार विद्यार्थीलाई यातना दिइएपछि उनीहरूको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको थियो। सुरक्षाकर्मीले प्रदर्शन दबाउन बल प्रयोग गरेपछि आन्दोलन देशका अन्य भागमा पनि फैलिएको थियो। त्यसपछि नजिबलाई पदबाट हटाइएको थियो।

    न्यायाधीश आर्यनका अनुसार नजिबले आफूमाथिका आरोप अस्वीकार गर्नुभएको थियो । उहाँले आफ्नाकार्यप्रति कुनै पश्चात्तापसमेत व्यक्त गर्नुभएको थिएन् । असदले आफ्ना पिता हाफेज अल–असदको निधनपछि सन् २००० मा सिरियाको राष्ट्रपतिको पद सम्हाल्नुभएको थियो ।

  • अमेरिकी विदेश मन्त्रालयद्वारा एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

    अमेरिकी विदेश मन्त्रालयद्वारा एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

    वासिङ्टन, २६ साउन (रासस–क्युएनए) । अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक अभियान अनुरूप राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि विदेशी नागरिकहरूका लागि जारी गरिएका एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ । विज्ञप्ति जारी गर्दै मन्त्रालयले अमेरिकी भिसा सर्तहरू उल्लङ्घन गर्ने, अपराध गर्ने, अमेरिकी नागरिकहरू विरुद्ध हिंसाको आह्वान गर्ने, अमेरिकीहरूलाई धोका दिने, आप्रवासन प्रणालीको दुरुपयोग गर्ने वा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने विदेशी नागरिकहरूलाई लक्षित गरी भिसा रद्द गरेको बताएको छ ।

    कानुन प्रवर्तन अधिकारीहरूसँगको अन्तरक्रियामा मन्त्रालयले आक्रमण, मध्यपान वा लागुऔषधको प्रयोग गरी गाडी चलाउनु, चोरी र लागुऔषधसँग सम्बन्धित विभिन्न अपराधहरू लगायतका मुख्य कारणहरूले अधिकांश भिसा रद्द गरिएको बताएको छ । अमेरिकी विदेश मन्त्रालयले यसअघि जनवरीमा एक लाखभन्दा बढी भिसा रद्द गरेको घोषणा गरेको थियो । यो गत वर्ष ट्रम्पको ह्वाइट हाउस पुनरागमनपछि ट्रम्प प्रशासनले सुरु गरेको आप्रवासन नियन्त्रण नीतिको कार्यन्वयन भएको जनाइएको छ ।

  • एआई डेटा सेन्टरका लागि अमेजनको विशाल ग्यास प्लान्ट निर्माण हुने

    एआई डेटा सेन्टरका लागि अमेजनको विशाल ग्यास प्लान्ट निर्माण हुने

    वासिङ्टन, २४ साउन (रासस–एएफपी) । अमेरिकी प्रविधि कम्पनी अमेजनले टेक्सासमा विशाल ग्यास विद्युत् प्लान्ट निर्माणका लागि लगानी गरिरहेको जनाएको छ । उक्त प्लान्ट कम्पनीका नयाँ डेटा सेन्टर सञ्चालनका लागि प्रयोग हुनेछ । पेकोस काउन्टीमा निर्माण हुने उक्त प्लान्टबाट सात दशमलव ६५ गिगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । यसमा ३५ वटा टर्बाइन रहनेछन् । यो हाल संयुक्त राज्य अमेरिकामा सञ्चालनमा रहेका ग्यासबाट विद्युत् उत्पादन गर्ने प्लान्टमध्ये सबैभन्दा ठूलो हुनेछ ।

    प्लान्टबाट वार्षिक तीन करोड मेट्रिक टनभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्न अनुमति दिइएको छ । यो अमेरिकामा कुनै एकल स्रोतबाट हुने सबैभन्दा ठूलो उत्सर्जन हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, वास्तविक उत्सर्जन अनुमति दिइएको सीमाभन्दा कम हुने गर्छ । बजार अनुसन्धान कम्पनी क्लीनभ्यूले अमेजनले हालै दायर गरेका तीनवटा डेटा सेन्टर निर्माण अनुमतिपत्रको अध्ययन गर्दै प्लान्ट र डेटा सेन्टरबीचको सम्बन्ध सार्वजनिक गरेको थियो । प्लान्ट प्यासिफिको इनर्जीले निर्माण गरिरहेको छ र यसलाई ‘जीडब्ल्यू रान्च’ नाम दिइएको छ ।


    अमेजनका अनुसार आफ्नै विद्युत् उत्पादन गर्दा डेटा सेन्टरका लागि आवश्यक पूर्वाधारको लागत सामान्य उपभोक्तामाथि पर्नेछैन । कम्पनीले डेटा सेन्टर सञ्चालनका लागि विद्युत्को पूर्ण लागत आफैँले बेहोर्ने जनाएको छ । “अमेजनले हाम्रो सञ्चालनका लागि आवश्यक विद्युत्को पूर्ण लागत तिर्नुपर्छ भन्ने विश्वास गर्छ,” कम्पनीका प्रवक्ताले भन्नुभयो । कम्पनीका अनुसार पेकोस काउन्टीमा प्रस्तावित डेटा सेन्टर परिसर नयाँ स्थलगत विद्युत् उत्पादनबाट सञ्चालन हुनेछ । विद्युत् प्रसारण प्रणालीसँग जोडिने समयरेखाअनुसार पछि राष्ट्रिय विद्युत् ग्रिडसँग जोडिने गरी परियोजना डिजाइन गरिएको छ ।

    अमेजनले उक्त क्षेत्रमा सौर्य ऊर्जा तथा ब्याट्री भण्डारण प्रणाली प्रयोग गर्ने सम्भावनाको अध्ययन गरिरहेको जनाएको छ । डेटा सेन्टरका लागि गैरपेयजलयोग्य खारा भूमिगत पानी प्रयोग गरिने र यसबाट स्थानीय जलस्रोतमा पर्ने दबाब कम हुने कम्पनीको दाबी छ । अमेजनले सन् २०४० सम्ममा आफ्नो कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ ।

    कम्पनीका अनुसार टेक्सासमा करिब १० गिगावाट क्षमताका ४० वटा कार्बनरहित ऊर्जा परियोजनालाई समेत सहयोग गरिएको छ । डेटा सेन्टरका लागि विद्युत् उत्पादन गर्ने यस्तो ‘मिटरपछाडि’ प्रणाली पछिल्लो समय प्रविधि कम्पनीहरूमा बढ्दै गएको छ । एआई प्रविधिको तीव्र विस्तारसँगै डेटा सेन्टरका लागि ठूलो मात्रामा तत्काल विद्युत् आवश्यक पर्न थालेपछि कम्पनीहरूले राष्ट्रिय ग्रिडमा निर्भरता घटाउने उपाय खोजिरहेका छन् ।

    बजार अनुसन्धान कम्पनी क्लीनभ्यूका अनुसार मेटा, माइक्रोसफ्ट र ओरेकललगायत ठूला प्रविधि कम्पनीहरूले समेत करिब ९७ गिगावाट क्षमताका यस्ता परियोजना अघि बढाउने योजना बनाएका छन् । विश्लेषकहरूका अनुसार यस्ता परियोजनाबाट हुने कार्बन उत्सर्जन उल्लेखनीय हुनसक्छ । परियोजनाको सङ्ख्या, टर्बाइनको दक्षता र सञ्चालनको अवधिअनुसार वार्षिक कार्बन डाइअक्साइड उत्सर्जन २० करोड मेट्रिक टनभन्दा बढी पुग्नसक्ने अनुमान गरिएको छ ।

    युनियन अफ कन्सन्र्ड साइन्टिस्ट्सका ऊर्जा विश्लेषक जोन रोजर्सले प्राकृतिक ग्यासको प्रयोगबाट विद्युत् उत्पादन गर्ने अझ प्रभावकारी उपायहरू रहेको बताउनुभएको छ । उहाँका अनुसार प्रस्तावित प्लान्टहरूले त्यस्ता विकल्प प्रयोग नगरेकाले वातावरणीय तथा स्थानीय प्रदूषणको जोखिम बढ्न सक्छ । कोइलाभन्दा प्राकृतिक ग्यासबाट हुने प्रदूषण कम भए पनि ग्यास प्लान्टहरू हरितगृह ग्यास उत्सर्जनका महत्वपूर्ण स्रोत हुन् । प्राकृतिक ग्यासको मुख्य घटक मिथेन उत्पादन, प्रशोधन र ढुवानीका क्रममा चुहावट हुनसक्ने भएकाले यसले जलवायु परिवर्तनमा थप असर पार्ने विज्ञहरूको भनाइ छ ।

    ग्यास प्लान्टबाट कार्बन उत्सर्जनका अतिरिक्त सूक्ष्म कण, नाइट्रोजन अक्साइड तथा पारा, फर्माल्डिहाइड र बेन्जिनजस्ता हानिकारक वायु प्रदूषकसमेत उत्सर्जन हुने गर्छन् । यस्ता प्रदूषक मुटु तथा फोक्सोसम्बन्धी समस्या र श्वासप्रश्वाससम्बन्धी रोगसँग जोडिएका छन् ।

  • अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

    अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

    तेहरान, २४ साउन (रासस,एएनआई) । राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य अमेरिकाले पर्सियाली खाडीका राष्ट्रहरूलाई तेहरानको विरुद्ध ‘लगाउन’ खोजिरहेको आरोप लगाउनुभएको छ। पश्चिम एसिया द्वन्द्वका बीच यी दुई मित्र राष्ट्रहरूले इरानका ‘आन्तरिक चुनौतीहरू’ को फाइदा उठाइरहेका उहाँले दावी गर्नुभएको छ । अमेरिका र इजरायलसँग इरान संलग्न सैन्य द्वन्द्व जारी छ र हर्मुज जलमार्ग हुँदै व्यावसायिक समुद्री यातायात पुनः सुरु गर्नु मुख्य विवादको विषय बनेको छ ।

    पेजेस्कियानले इरानी राज्य टेलिभिजनसँगको अन्तर्वार्तामा भन्नुभयो, “इजरायल र संयुक्त राज्य अमेरिका पर्सियाली खाडी राष्ट्रहरूलाई हाम्रो विरुद्ध लगाउन खोजिरहेका छन्। हामी यसलाई रोक्न प्रयास गरिरहेका छौँ। अवश्य नै हामीसँग आन्तरिक चुनौतीहरू पनि छन्, किनकि दृष्टिकोण फरक–फरक छन् र स्वाभाविक रूपमा अमेरिका र इजरायल यस स्थितिको फाइदा उठाइरहेका छन्।”

    छिमेकी खाडी राष्ट्रहरूप्रति सद्भाव देखाउँदै इरानी नेताले उक्त अन्तवार्तामा इस्लामी एकतामा जोड दिनुभएको छ । पेजेस्कियानले इरानी राष्ट्रिय टेलिभिजनमा प्रसारित अन्तवार्तामा अगाडि भन्नुभयो, “सबै मुस्लिमहरू दाजुभाइ हुन् । मैले पहिले पनि भनेको छु र यो देखावटी कुरा होइन कि यो मेरो बुझाइ हो । यो अल्लाहका रसूलले सिकाएको कुरा हो र पवित्र किताबमा लेखिएको छ। दाजुभाइको अर्थ हो सबै मुस्लिमहरू चाहे उनीहरू शिया हुन् वा सुन्नी एकजुट छन् । उनीहरू हरेक मुस्लिम दाजुभाइ हुन् ।”

    खाडीको वर्तमान् अवस्था र वासिङ्गटन र बेइजिङबीचको जटिल भूराजनीतिक सम्बन्धसँग समानता देखाउँदै पेजेस्कियानले राष्ट्रिय अस्तित्वका लागि रणनीतिक ध्यान र कहिले ‘आफ्नो काममा ध्यान दिनुपर्छ’ भन्ने कुरा थाहा हुनुपर्ने तर्क गर्नुभयो । उहाँले इरानी टेलिभिजनसँगकोृ अन्तवार्तामा भन्नुभयो, “अस्तित्व जोगाउन हामीले थाहा पाउनुपर्छ कि हामी के गरिरहेका छौँ । कहिले लड्ने, कहिले शान्ति गर्ने र कहिले उनीहरूले आफ्नो काम गर्दा हामीले आफ्नो काम गर्ने। के चीन र संयुक्त राज्य अमेरिका मित्र हुन्ररु चीन अमेरिकाको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी हुन्, तर किन उनीहरू लड्दैनन् रु चीन आफ्नो काममा ध्यान दिन्छ र हरेक दिन बलियो बन्दै गएको छ। युद्धले कसैलाई भलो गर्दैन र मुस्लिम दाजुभाईबीच एकता आजको आवश्यकता हो ।”

    रणनीतिक समुद्री मार्गमा भइरहेका गतिविधिबारे बोल्दै पेजेस्कियानले जलसन्धिमा गरिएका कारबाहीहरू नियम उल्लंघन गर्ने जहाजहरूविरुद्ध मात्र लक्षित भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “जलमार्गका केही भागमा उनीहरूले हामीले पालना नगरेको दाबी गर्छन्, त्यसैले हामीले कारबाही गर्यौं। जलसन्धिमा हामीले नियम उल्लङ्घन गर्ने जहाजहरूसँग सैन्य झडप सुरु गर्यौं। तर केही मानिसहरू बाहिर आएर हामीलाई गद्दार भन्छन् वा हामीले सम्झौता पूरा नगरेको भन्छन्। हामीले हस्ताक्षर गरेको समझदारी पत्रको हामी दृढतापूर्वक रक्षा गर्छौँ ।”

    इरानी राष्ट्रपतिले आफ्नो देश आफ्ना हितहरूको रक्षा गर्न तयार रहेको दाबी गर्दै उहाँले तेल अभिभले निरन्तर शत्रुता बढाइरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “मलाई एउटा पनि धारा देखाउनुहोस् जहाँ हामीले आत्मसमर्पण गरेका छाँैं। केही मानिसहरू युद्धको जोड दिइरहेका छन्, जुन ठ्याक्कै इजरायलले चाहेको कुरा हो। यदि उनीहरूले हामीलाई झुकाउन खोजे भने हामी लड्नेछौँ। हामी पछि हट्ने छैनौँ र टाउको निहुराउने छैनौँ। तर जब हामी आफ्ना अधिकार सुरक्षित गर्न सक्छाँैं, किन द्वन्द्व जारी राख्नेरु त्यो इजरायलले चाहेको कुरा हो।”

    पेजेस्कियानले नागरिक प्रशासन र इस्लामी क्रान्तिकारी गार्ड कोर (आईआरजीसी) बीच आन्तरिक मतभेद रहेको अफवाहलाई पनि खारेज गर्दै तेहरान ‘एकजुट’ र ‘समन्वित’ रहेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “सरकार र सशस्त्र बलबीच कुनै दरार छैन। इरान एकजुट र समन्वित छ, र विभाजन सिर्जना गर्नु देशका शत्रुहरूले चाहेको कुरा हो। हाम्रा लडाकुहरूले संसारलाई चकित पारेका छन्।”

  • जन्म पर्यटनविरुद्ध ट्रम्पको नयाँ आदेश

    जन्म पर्यटनविरुद्ध ट्रम्पको नयाँ आदेश

    वासिङ्टन, २२ साउन (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको दायरालाई थप सीमित गर्ने आफ्नो अभियानलाई अघि बढाउँदै पर्यटनको उद्देश्यमा अमेरिका प्रवेश गरी सन्तान जन्माएर नागरिकता प्राप्त गर्ने अभ्यास (जन्म पर्यटन)लाई लक्षित गरिएको नयाँ कार्यकारी आदेशमा बिहीबार हस्ताक्षर गरेका छन् । अमेरिकी सर्वोच्च अदालतले यसअघि उहाँको जन्मसिद्ध नागरिकतासम्बन्धी आदेशलाई असंवैधानिक ठहर गर्दै कार्यान्वयनमा रोक लगाएपछि ट्रम्प प्रशासनले नयाँ स्वरूपमा नीति अघि सारेको हो ।

    ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले जन्मसिद्ध नागरिकताको व्यवस्थाको दुरुपयोग भइरहेको दाबी गरे । उनले यस व्यवस्थालाई धेरै व्यक्तिले मजाकको विषय बनाएको उल्लेख गर्दै सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई ‘धेरै दुर्भाग्यपूर्ण’ भएको टिप्पणी गरे । अदालतको निर्णयपछि प्रशासनले कानूनी सीमाभित्र रहेर नीति समायोजन गरिरहेको उनको भनाइ थियो ।

    राष्ट्रपति ट्रम्पका वरिष्ठ सल्लाहकार स्टिफन मिलरका अनुसार नयाँ आदेशको उद्देश्य जन्मसिद्ध नागरिकताको अधिकारलाई थप सीमित गर्नु हो । उनले विदेशी आतङ्कवादी सङ्गठनसँग आबद्ध व्यक्तिका सन्तान, विदेशी सरकारको तर्फबाट लबिङ गर्ने वा काम गर्ने व्यक्तिका सन्तानलगायत केही श्रेणीका व्यक्तिलाई यस व्यवस्थाबाट बाहिर राख्ने लक्ष्य रहेको बताए । यसबाट हालसम्म गलत रूपमा जन्मसिद्ध नागरिकताको सुविधा पाउँदै आएका ठूलो सङ्ख्याका व्यक्तिहरू भविष्यमा त्यसका लागि योग्य नहुने उनको दाबी छ ।

    यसअघि ट्रम्प प्रशासनले जारी गरेको अर्को कार्यकारी आदेशमा अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका वा अस्थायी भिसामा रहेका अभिभावकबाट जन्मिएका बालबालिकाले स्वतः अमेरिकी नागरिकता नपाउने व्यवस्था गर्न खोजिएको थियो । तर तल्लो अदालतले अमेरिकी संविधानको १४औँ संशोधनको नागरिकतासम्बन्धी व्यवस्थाको आधारमा उक्त आदेश कार्यान्वयनमा रोक लगाएको थियो । अदालतले अमेरिकी भूमिमा जन्मिएका अधिकांश व्यक्तिले जन्मसिद्ध रूपमा नागरिकता पाउने संवैधानिक अधिकार रहेको स्पष्ट पारेको थियो ।

    त्यसपछि सर्वोच्च अदालतले पनि तल्लो अदालतको निर्णयलाई सदर गरेको थियो । प्रधानन्यायाधीश जोन रोबट्र्सले लेख्नुभएको बहुमतको रायमा दुई जना रूढीवादी र तीन जना उदारवादी न्यायाधीशले समर्थन जनाएका थिए । अमेरिकी संविधानको १४औँ संशोधनमा “संयुक्त राज्य अमेरिकामा जन्मेका वा कानूनी रूपमा प्राकृतिककरण भएका तथा अमेरिकी क्षेत्राधिकारअन्तर्गत रहेका सबै व्यक्ति संयुक्त राज्यका नागरिक हुनेछन्” भन्ने व्यवस्था छ ।

    यद्यपि उक्त व्यवस्था विदेशी कूटनीतिज्ञका सन्तानजस्ता अमेरिकी क्षेत्राधिकारअन्तर्गत नपर्ने व्यक्तिमा लागू नहुने कानूनी प्रावधान छ । साथै अमेरिकी अध्यागमन कानूनअनुसार कुनै व्यक्तिले मुख्य उद्देश्य सन्तान जन्माएर नागरिकता दिलाउने नियतले अमेरिका यात्रा गर्न लागेको ठहरिएमा कन्सुलर अधिकारीले भिसा अस्वीकार गर्न सक्ने व्यवस्था पनि विद्यमान छ ।

    ट्रम्प प्रशासनले १४औँ संशोधन सन् १८६१–१८६५ को गृहयुद्धपछि पूर्वदासहरूको नागरिकताको अधिकार सुनिश्चित गर्न ल्याइएको तर्क गर्दै त्यसको उद्देश्य कागजातविहीन आप्रवासी वा अस्थायी आगन्तुकका सन्तानलाई जन्मसिद्ध नागरिकता प्रदान गर्नु नभएको जिकिर गर्दै आएको छ । प्रशासनले अमेरिकामा अवैध रूपमा रहेका वा अस्थायी भिसामा प्रवेश गरेका व्यक्तिहरू अमेरिकी संविधानले उल्लेख गरेको ‘क्षेत्राधिकारको अधीनमा’ नपर्ने व्याख्या गर्दै आएको छ ।

    जन्मसिद्ध नागरिकतामाथि नियन्त्रण गर्ने ट्रम्प प्रशासनको पछिल्लो प्रयासलाई उनको कडा आप्रवासन नीतिको निरन्तरता मानिएको छ । उक्त अभियानअन्तर्गत लाखौँ कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने, विभिन्न देशका नागरिकलाई दिइँदै आएको निर्वासन सुरक्षा हटाउने तथा आप्रवासन प्रणालीलाई थप कडा बनाउने नीति अघि बढाइएको छ ।

  • क्यारोलिनामा अन्धाधुन्ध गोली चल्दा केही व्यक्तिको मृत्यु, केही घाइते

    क्यारोलिनामा अन्धाधुन्ध गोली चल्दा केही व्यक्तिको मृत्यु, केही घाइते

    नर्थ क्यारोलिना, संयुक्त राज्य अमेरिका, २१ साउन (रासस–एएफपी) । अमेरिकाको नर्थ क्यारोलिना राज्यको क्यासवेल काउन्टीमा बुधबार बिहान एउटा घरमा भएको अन्धाधुन्ध गोली चल्दा केही व्यक्तिको मृत्यु भएको छ । घटनापछि पूरै क्षेत्रमा कोलाहल मच्चिएको थियो । प्रहरी र अनुसन्धान निकायहरू घटनास्थलमा पुगेर उक्त घटनाबारे अनुसन्धान शुरू गरिसकेका छन् ।

    नर्थ क्यारोलिना राज्य अनुसन्धान विभागका अनुसार स्थानीय समय बुधबार बिहान करिब ८ बजे प्रहरीलाई एउटा घरमा गोली चलेको सूचना मिल्यो । सूचना मिल्ने बित्तिकै प्रहरी र अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुग्यो । त्यहाँ थुप्रै मानिस गोली लागेर घाइते भएका भेटिए । सख्त घाइतेहरूमध्ये एक व्यक्तिलाई तुरुन्त अस्पताल लगियो भने थुप्रै अन्य मानिसको घटनास्थलमै मृत्यु भएको थियो ।

    –पारिवारिक विवादको आशङ्का–

    क्यासवेल काउन्टीका अनुसन्धान अधिकारी टोनी डर्डनलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन्, “घटनामा कूल तीन परिवारका सदस्यको मृत्यु भएको छ भने मृतकहरूमध्ये एक संदिग्ध हमलाकारी रहेको बुझिएको छ । आक्रमणमा संलग्न अर्को एक आफन्तलाई घाइते भएर अस्पतालमा भर्ना गरिएको छ । गोली चल्नुको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन।”

    अमेरिकामा बन्दुक हिंसा लामो समयदेखि गम्भीर समस्या बनेको छ । हरेक वर्ष देशमा सयौँ व्यक्तिले सामूहिक रूपमा गोली चल्दा ज्यान जाने गरेको छ । हालैका दिनहरूमा पनि यस्ता थुप्रै घटनाहरू भएका छन् । ओरेगनको पोर्टल्यान्डमा एउटा आवासीय क्षेत्रमा अगस्ट २ मा भएको गोली काण्डमा एक व्यक्तिको मृत्यु भएको थियो र पाँच अन्य घाइते भएका थिए । घाइतेहरूमध्ये एक किशोर पनि रहेका बताइएको छ ।

    आइडाहोको ट्विन फल्स शहरस्थित एउटा ‘इन–एन–आउट बर्गर रेस्टुराँ’मा अगस्ट १ मा भएको गोलीबारीमा तीन जनाको मृत्यु भएको थियो भने सात अन्य घाइते भएका थिए । यी निरन्तर भइरहेका घटनाहरूले अमेरिकामा बन्दुक नियन्त्रण कानुन र सार्वजनिक सुरक्षाबारे बहसलाई फेरि तीव्र बनाएको छ । अहिले प्रहरी घटनास्थलबाट प्रमाण जुटाइरहेको छ र आसपासका मानिसहरूसँग सोधपुछ गरिरहेको छ । अधिकारीहरूले भनेका छन् अनुसन्धान पूरा भएपछि मात्र घटनाका कारणहरू खुलासा गरिनेछ ।

  • रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु

    रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु

    किएभ (मस्को), २१ साउन (रासस–सिन्ह्वा) । युक्रेनी अधिकारीले रातभर किएभ र आसपासका क्षेत्रमा रुसले गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा परी कम्तीमा १७ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको बुधबार बताएका छन्। युक्रेनको राज्य आपतकालीन सेवा विभागका अनुसार आक्रमणबाट गोदाम, रसद केन्द्र, व्यावसायिक भवन तथा औद्योगिक संरचनामा क्षति पुगेको छ। सबैभन्दा बढी क्षति किएभ क्षेत्रमा भएको र त्यहाँ १६ जनाको मृत्यु तथा ३० जना घाइते भएको विभागले जनाएको छ।

    किएभ क्षेत्रीय सैन्य प्रशासनका अनुसार ब्रोभरी जिल्लामा मात्रै नौ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। यता, किएभका मेयर भिताली क्लिट्स्कोले राजधानीमा एक जनाको मृत्यु र २६ जना घाइते भएको जानकारी दिए । युक्रेनी वायुसेनाका अनुसार रुसले रातभर ११५ वटा ड्रोन, २४ वटा इस्कान्डर–एम÷एस–४०० ब्यालिस्टिक क्षेप्यास्त्र तथा चारवटा जिरकोन÷ओनिक्स जहाजविरोधी क्षेप्यास्त्र प्रहार गरेको थियो।

    रुसको रक्षा मन्त्रालयले भने किएभ र आसपासका क्षेत्रमा रहेका यातायात तथा रसद पूर्वाधारलाई लक्षित गरी ठूलो स्तरको आक्रमण गरिएको जनाएको छ। मन्त्रालयका अनुसार आक्रमणमा ड्रोनका पार्टपुर्जा, रोबोटिक प्रणाली, विद्युतीय युद्ध उपकरण तथा अन्य सैन्य सामग्री भण्डारण र वितरण गर्ने केन्द्रलाई निशाना बनाइएको थियो।

    रुसी रक्षा मन्त्रालयले ओडेसाको दक्षिणी क्षेत्रमा कालो सागरमा रहेका सैन्य सामग्री बोकेका युक्रेनका तीनवटा सुक्खा मालवाहक जहाजमा प्रहार गरिएको तथा ओचाकिभको दक्षिणपूर्वी क्षेत्रमा दुईवटा मानवरहित जलयान नष्ट गरिएको पनि दाबी गरेको छ।

  • अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार

    अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार

    कायरो, १९ साउन (रासस–एपी) । ‘स्ट्रेट अफ होर्मुज’मा ओमानको तट नजिकै एउटा कार्गो जहाजमा अज्ञात वस्तुले प्रहार गरेको बेलायती समुद्री निगरानी निकायले जनाएको छ । यो घटना अमेरिका र इरानबीच वार्ता भइरहेको विषयमा दुवै पक्षबाट परस्परविरोधी दाबी आइरहेका बेला भएको हो ।

    युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ)का अनुसार स्थानीय समयअनुसार बिहान करिब २ बजे ओमानको अल–खासाबबाट ३७ किलोमिटर उत्तरपूर्वमा रहेको कार्गो जहाजमा अज्ञात वस्तुले प्रहार गरेको सूचना प्राप्त भएको हो । यूकेएमटीओले जहाजको झण्डा, कार्गो वा अन्य विवरण सार्वजनिक गरेको छैन । बेलायती समुद्री सुरक्षा कम्पनी एम्ब्रेले जहाजमा क्षति पुगेको जनाए पनि थप विवरण खुलाएको छैन ।

    ‘स्ट्रेट अफ होर्मुज’ विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक हो । युद्धअघि विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास यही मार्ग हुँदै ओसारपसार हुने गरेको थियो । फेब्रुअरीयता इरानसँगको द्वन्द्वका कारण यस क्षेत्रमा समुद्री सुरक्षा चुनौतीपूर्ण बनेको छ ।

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यले पुनः वार्ता सुरु भएको बताउनुभएको छ । तर इरानले अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता नभएको स्पष्ट गर्दै आफूले ओमानसँग मात्र ‘स्ट्रेट अफ होर्मुज’मा सुरक्षित जलयात्रासम्बन्धी विषयमा छलफल गरिरहेको जनाएको छ ।

    इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेइले अमेरिकासँग वार्ता भइरहेको दाबी अस्वीकार गरे । ट्रम्पले भने इरानले वार्ताको प्रस्ताव गरेको दाबी गर्दै तेहरानको सार्वजनिक अभिव्यक्तिप्रति असन्तुष्टि जनाए । कतारका विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले सबै पक्षसँग कूटनीतिक मध्यस्थताको प्रयास जारी रहेको बताए । उनले समाधानका लागि संवादलाई प्राथमिकता दिइएको उल्लेख गरे पनि वार्तासम्बन्धी थप विवरण खुलाएनन् ।

    यसैबीच, इरान समर्थित यमनका हुथी विद्रोहीले साउदी अरबको नज्रान विमानस्थलस्थित एक ‘संवेदनशील लक्ष्य’मा ड्रोन आक्रमण गरेको दाबी गरेका छन् । साउदी अरबले उक्त दाबीबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । उता गाजामा सन् २०२३ को इजरायली हवाई आक्रमणमा मारिएकामध्ये भग्नावशेषमुनि पुरिएका ११२ प्यालेस्टिनीको शव निकालिएपछि सामूहिक अन्त्येष्टि गरिएको छ । उद्धार टोलीले १३६ घण्टासम्म खोजी गरेपछि शव फेला पारेको गाजाको सिभिल डिफेन्सले जनाएको छ ।

    यस्तै, लेबनानको बेरुत बन्दरगाह विस्फोटको पाँचौँ वर्षमा पीडित परिवारजनले घटनास्थलमा श्रद्धाञ्जलि अर्पण गरेका छन् । सन् २०२० मा भएको उक्त विस्फोटमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । अनुसन्धान अझै टुङ्गोमा नपुगे पनि यस वर्षभित्र अभियोगपत्र दर्ता गर्ने प्रतिबद्धता लेबनान सरकारले जनाएको छ ।

  • अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

    अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

    सियोल, १९ साउन (रासस–एपी) । अमेरिकी सैन्य आधार शिविरमा गैरकानुनी रूपमा प्रवेश गरेको आरोपमा मङ्गलबार आठ जना दक्षिण कोरियाली विद्यार्थीलाई पक्राउ गरिएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् । पक्राउ पर्ने क्रममा उनीहरूले अमेरिका विरोधी नारा लगाएको जनाइएको छ । राजधानी सियोल नजिकै रहेको ओसान एयर बेसमा प्रवेश गरेको आरोपमा अमेरिकी सैन्य कर्मचारीले चार पुरुष र चार महिला विद्यार्थीलाई नियन्त्रणमा लिएका थिए । पछि उनीहरूलाई दक्षिण कोरियाली प्रहरीको जिम्मा लगाइएको थियो ।

    प्रहरीका अनुसार दक्षिण कोरियाको सैन्य संरचनाको सुरक्षा कानुनअन्तर्गत उनीहरूमाथि अनुसन्धान भइरहेको छ । सोधपुछका क्रममा सबै विद्यार्थीले आफ्नो कानुनी अधिकार प्रयोग गर्दै बयान दिन अस्वीकार गरेका छन् । प्रहरीका अनुसार विद्यार्थीहरूले घटनास्थलमा “अमेरिकी सातौँ वायुसेनालाई ध्वस्त पारौँ”लगायतका नारा लगाएको जनाएको छ ।

    अमेरिकी सेनाले जारी गरेको विज्ञप्तिमा उक्त समूहले आधार शिविरको मुख्य प्रवेशद्वारबाट अनधिकृत रूपमा प्रवेश गर्ने प्रयास गरेको उल्लेख गर्दै अमेरिकी सैन्य संरचनामा गैरकानुनी प्रवेशको प्रयासलाई गम्भीर रूपमा लिइने बताएको छ । घटनालाई लागू हुने अमेरिकी र दक्षिण कोरियाली कानुनअनुसार सम्बोधन गरिने सेनाले जनाएको छ ।

    ‘कोरियन प्रोग्रेसिभ युनिभर्सिटी स्टुडेन्ट युनियन’ले सामाजिक सञ्जालमार्फत पक्राउ परेका विद्यार्थी आफ्ना सदस्य रहेको जनाएको छ । उक्त समूहका अनुसार उनीहरूले दक्षिण कोरियाको सेमीकन्डक्टर क्लस्टर परियोजनासम्बन्धी अमेरिकी सेनाको भूमिकाको विरोधमा प्रदर्शन गर्ने तयारी गरेका थिए ।

    दक्षिण कोरियाली प्रहरीले उक्त समूहको दाबीबारे टिप्पणी गर्न अस्वीकार गरेको छ भने अमेरिकी सेनाले पनि यसबारे प्रतिक्रिया दिएको छैन ।

    दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापका अनुसार, अमेरिकाले सेमीकन्डक्टर परियोजनाका कारण स्थानान्तरण गर्न लागिएको सैन्य विमानस्थलमा आफ्नो महत्त्वपूर्ण चासो रहेको जनाएको छ । उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणलाई रोक्न सहयोग गर्ने उद्देश्यले दक्षिण कोरियामा करिब २८ हजार ५०० अमेरिकी सैनिक तैनाथ छन् ।

    सन् १९५०–५३ को कोरियाली युद्ध युद्धविराममा टुङ्गिएपछि दक्षिण कोरियामा अमेरिकी सैन्य उपस्थिति कायम रहँदै आएको छ । दक्षिण कोरियामा अधिकांश नागरिकले अमेरिका–दक्षिण कोरिया सैन्य गठबन्धनको समर्थन गर्ने सर्वेक्षणले देखाए पनि अमेरिकी सैन्य उपस्थिति र दुई देशबीचका केही मुद्दाले समय–समयमा अमेरिका विरोधी भावना उत्पन्न गराउँदै आएका छन् । सन् २०१९ मा पनि अमेरिकी सैन्य खर्चसम्बन्धी विवादको विरोध गर्दै अमेरिकी राजदूतको निवासमा प्रवेश गरेका चार दक्षिण कोरियाली विद्यार्थी पक्राउ परेका थिए ।

  • इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्गबारे सम्झौताका लागि छलफल अन्तिम चरणमा

    इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्गबारे सम्झौताका लागि छलफल अन्तिम चरणमा

    वासिङ्टन\तेहरान, १९ साउन (रासस–सिन्ह्वा) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकी समय अनुसार सोमबार दिउँसो वार्ता पुनः सुरु हुने बताएका छन् । तेहरानले ओमानसँग हर्मुज जलमार्गमार्फत नयाँ ढुवानी मार्गबारे सम्झौता अन्तिम चरणमा पुगेको बताएको छ ।

    राष्ट्रपति ट्रम्पले भने, “इरानी प्रतिनिधिहरूसँग सोमबार दिउँसो वार्ता सुरु हुनेछ ।” उनले वार्ता कहाँ हुने वा कसको सहभागिता रहने भन्ने कुरा भने बताएका छैनन् । यो घोषणा केही दिनखेखि बढेको आक्रामक बयानबाजी र पछिल्लो कूटनीतिक प्रयासपछि आएको हो ।

    ट्रम्पले वार्ताका लागि थप समय दिन सहमत हुनुअघि इरानविरुद्ध थप सैन्य कारबाहीको चेतावनी दिएका थिए । साउदी अरबसहित खाडी देशहरूले क्षेत्रमा थप तनाव रोक्न संवादको माग गरेका थिए। सामाजिक सञ्जालमा गरिएको पोस्टमा ट्रम्पले प्रस्तावित सम्झौतामा हर्मुज जलमार्ग तत्काल र पूर्ण रूपमा पुनः खोल्ने तथा इरानको आणविक कार्यक्रमसम्बन्धी चिन्ताहरूलाई सम्बोधन गर्ने कुरा समावेश हुने बताए ।
    तेहरानले संयुक्त राज्य अमेरिकासँग वार्ता आसन्न भएको पुष्टि गरेको छैन। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सोमबार आफ्नो देश हाल वासिङ्टनसँग वार्तामा संलग्न भइनसकेको बताएका छन् । यसअघि इरानी अधिकारीहरूले ट्रम्पको यो दाबी अस्वीकार गरेका थिए र संयुक्त राज्य अमेरिकालाई योजनाबद्ध आक्रमण रद्द गर्न अनुरोध गरेका थिए ।

    इरानी राष्ट्रपति मौसुद पेजेश्कियानले आइतबार भनेका थिए, “संयुक्त राज्य अमेरिकासँगको प्रस्तावित विद्यमान सम्झौताले वासिङ्टनसँग भविष्यको वार्तामा संलग्नताका लागि आधार प्रदान गर्न सक्छ।” धेरै पर्यवेक्षकहरूले पछिल्लो कूटनीतिक प्रयासले दिगो सम्झौता उत्पादन गर्ने हो कि होइन भन्ने प्रश्न गरेका छन्।

    जोन्स हकिन्स विश्वविद्यालयका इरान विशेषज्ञ वाली नस्रले ट्रम्पका लक्ष्य हासिल गर्न ‘कुनै स्पष्ट बाटो’ नभएको बताए । नस्रले भने, “उहाँ (ट्रम्प) अहिले सैन्य तनाव बढाउनबाट बच्न कूटनीतिक समाधानमा हात हालिरहेका छन् । तर कूटनीतिक वा सैन्य दुवै रूपमा ट्रम्पलाई विजय घोषणा गर्न सकिने ठाउँमा पु¥याउने स्पष्ट बाटो छैन ।”

    यो घोषणा राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच कुनै फोन वार्ता नभएको अवस्थामा आएको हो। नेतन्याहु इरानमाथि दबाब कायम राख्ने सबैभन्दा बलियो पक्षधरहरूमध्ये एक हुन् । इजरायलले कुनै पनि सम्झौताले इरानलाई आणविक कार्यक्रम र ब्यालिस्टिक मिसाइल क्षमता अगाडि बढाउनबाट रोक्नुपर्ने जोड दिँदै आएको छ। इजरायली ऊर्जा मन्त्री एली कोहेनले ‘सम्झौतासहित वा बिना’ इरानले यस्ता प्रयास अगाडि बढाउन खोजेमा इजरायलले कारबाही गर्ने बताए ।
    –हर्मुज मार्गबारे वार्ता–

    यसैबीच इरान र ओमान हर्मुज जलडमरुमार्फत नयाँ मार्ग खुलाउनेबारे सम्झौता नजिक पुगेका छन्। इरानी विदेशमन्त्री अब्बास अराघचीले ओमानसँग जहाजहरूलाई जलमार्ग पार गर्न दिने संयन्त्रबारे वार्ता ‘अन्तिम चरणमा पुगेको र पूरा हुन लागेको’ बताएका सञ्चारमाध्यमले जनाएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता बाघाईले इरान र ओमान दुवै पक्षलाई स्वीकार्य मार्गबारे समझदारीतर्फ काम गरिरहेको बताए । यसले सार्वभौमिकताको सम्मान गर्ने र राष्ट्रिय हित तथा सुरक्षाको रक्षा गर्नेछ। उनले भने, “यो व्यवस्था हर्मुज जलडमरु तुरुन्तै पुनः खोल्ने अर्थमा हुनेछैन, जहाँ जहाज आवागमनको व्यवस्थालाई लिएर विवाद अझै समाधान भएका छैनन्।”

    यो जलमार्ग द्वन्द्वको केन्द्रमा रहेको छ। वासिङ्टनले अन्तर्राष्ट्रिय स्वतन्त्र आवागमनको माग गर्दै आएको छ भने तेहरानले रणनीतिक मार्गमार्फत पारवहन व्यवस्थापनमा आफ्नो भूमिका कायम राख्ने अडान लिएको छ। ओमान, कतार र साउदी अरबसहित क्षेत्रीय देशहरूले तनाव घटाउन र वासिङ्टन तथा तेहरानबीच सम्झौता सहज बनाउन प्रयास जारी राखेका छन्।

  • अमेरिका र इजरायलबीच इरानमा आक्रमण रोक्ने सहमति

    अमेरिका र इजरायलबीच इरानमा आक्रमण रोक्ने सहमति

    १७ साउन, वाशिङ्टन । संयुक्त राज्य अमेरिका र इजरायलले महिनौंदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्ने सम्झौता छिट्टै हुनुपर्ने शर्तसहित इरानमा नयाँ आक्रमण रोक्न सहमति जनाएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानलाई ‘धेरै कडा’ प्रहार गर्ने धम्की दिएपछि र ऊर्जा पूर्वाधारसहित नयाँ भारी आक्रमणको विचार गरिरहेको रिपोर्ट आएपछि लडाइँ फेरि बढ्न सक्ने डर बढेको थियो । साउदी अरबका युवराजसँग कुराकानी गरेपछि र तेहरानले पनि रियाद तथा मध्यस्थ कर्ता पाकिस्तान र टर्कीसँग कुरा गरेपछि अमेरिकी नेताको धारणा परिवर्तन भएको देखिन्छ ।

    राष्ट्रपति ट्रम्पले भने, “अमेरिका ‘इरानविरुद्ध लड्न तयार छ र हतियारले सुसज्जित छ । हामीलाई इरान र अन्य मध्य पूर्वी देशले कुनै पनि आक्रमण रोक्न अनुरोध गरेका र मध्यपूर्वको शान्तिका लागि आक्रमण रोक्ने सहमति भएको छ ।” “यस अनुरोधका आधारमा विश्वको भविष्यको हित र सफल तथा समृद्ध इरानको अस्तित्वका लागि मैले आक्रमण रद्द गर्न सहमत भएको छु, तर यसका लागि छिट्टै सम्झौता हुन सक्ने शर्त राखिएको छ,” ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गर्दै भनेका छन् ।


    इरानको मेहर समाचार एजेन्सीले सैन्य अधिकारीहरूको हवाला दिँदै ट्रम्पको दाबीलाई ‘नयाँ झुट मात्र’ भनेको छ र इरानको सेना ‘उच्च सतर्कतामा छ र कुनै पनि परिस्थितिका लागि तयार छ’ भनेको छ । इरानी राष्ट्रिय सञ्चार माध्यमले साउदी र इरानी विदेश मन्त्रीबीच फोनवार्ता भएको र तेहरानले पाकिस्तान तथा टर्कीसँग पनि ‘क्षेत्रमा तनाव र असुरक्षा बढ्ने जोखिम’ बारे कुरा गरेको बताएको छ ।

    साउदी अरबको आधिकारिक प्रेस एजेन्सी (एसपीए)ले युवराज मोहम्मद बिन सलमानले ट्रम्पसँग फोनवार्ता गर्दा ‘तनाव घटाउन संवादलाई प्राथमिकता दिनुपर्ने आवश्यकता र कूटनीतिक समाधानका लागि बाटो खोल्ने युद्धविराम हासिल गर्न सबै सम्भव प्रयास गर्नुपर्ने महत्व’ मा जोड दिएको बताएको छ । अमेरिकी राष्ट्रपतिले सम्झौतामा ‘हर्मुज जलमार्गको आवागमन पूर्ण रूपमा तत्काल खोल्ने’ र ‘इरानको आणविक खतरा अन्त्य गर्ने’ कुरा समावेश हुनुपर्छ ।

    “इजरायल पनि यस प्रतिबद्धतामा मसँग सामेल छ,” उहाँले थप्नुभयो । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले तेहरानमा आक्रमण गरेपछि सुरु भएको पाँच महिनाभन्दा बढीको युद्धपछि द्वन्द्वको अन्त्य हुन सकेको छैन । हर्मुज जलमार्ग खोल्नेसहित समान शर्तसहितको अघिल्लो युद्धविराम सम्झौता असफल भएको थियो र पछिल्ला हप्तामा दुई देशबिच आक्रमण पुनः सुरु भएपछि इरानले महत्वपूर्ण जलमार्गमाथि आफ्नो नियन्त्रण कडा बनाएको छ ।

    इरानको फार्स समाचार एजेन्सीले इरानी वार्ताकार नजिकको स्रोतको हवाला दिँदै भनेको छ, “अमेरिकाले आफ्नो शत्रुतापूर्ण कार्य जारी राखेसम्म हर्मुज बन्द रहनेछ ।” शत्रुता पुनः सुरु भएपछि प्रारम्भिक युद्धविरामका बेला घटेका विश्वव्यापी तेलको मूल्य फेरि बढेको छ । यो सहमतिको आदानप्रदान अमेरिकामा मध्यावधि चुनाव हुनुभन्दा तीन महिनाअघि मात्र भइरहेको छ, जसले ट्रम्पको रिपब्लिकन पार्टीका लागि चुनौती हुन सक्छ ।

    सम्झौता गर्न उत्सुक

    मध्य पूर्वका राजधानीमा रहेका अमेरिकी दूतावासले शनिबार आफ्ना नागरिकलाई क्षेत्रीय द्वन्द्वमा ‘अप्रत्याशित वृद्धि’बाट सतर्क रहन र ती देश छोड्न तयार रहन चेतावनी दिएका थिए । इरान र अमेरिकाबिच गत महिना केही दिनको शान्तिपछि गोलीबारी पुनः सुरु भएको थियो, यद्यपि शुक्रबारदेखि आइतबारसम्म कुनै आक्रमणको रिपोर्ट आएको छैन ।

    बुधबार इजिप्टको बन्दरगाहमा रहेको अमेरिकी स्वामित्वको ग्यास जहाजमा ड्रोनद्वारा भएको आक्रमणले जहाजमा आगो लागेको थियो । इजिप्टले अनुसन्धान गरिरहेको छ तर अहिलेसम्म कुनै समूहलाई आरोप लगाएको छैन । यसैबिच, ओमानको तट नजिकै ट्याङ्करमा ‘अज्ञात प्रक्षेप्य’ ले प्रहार गरेको बेलायती समुद्रीमामिला हेर्ने निकायले शनिबार बताएको छ ।

    युद्ध सुरु भएदेखि नै इरानले हर्मुजमार्फत नौ वहनमा प्रभावकारी नियन्त्रण कायम गरेको छ र जहाजलाई अनुमति लिन तथा पारवहन शुल्क तिर्न बाध्य बनाएको छ । समुद्री व्यापार ट्र्याकिङ फर्म केप्लरले शुक्रबार भनेको छ, “हर्मुज जलमार्गमार्फत हुने ट्राफिक तीव्ररूपमा घटेको छ ।”

    साउदी अरबको तेलका लागि वैकल्पिक मार्गका रूपमा महत्वपूर्ण बाब एल(मन्देब जलमार्गमा यमनका इरान समर्थित हुथी विद्रोहीले शनिबार यसबाट जहाजसँग शुल्क उठाउने प्रयास नगरेको दावी गरेको छ । यो साँघुरो जलमार्गले रेड सीलाई हिन्द महासागरसँग र सुएज नहरमार्फत भूमध्यसागरसँग जोड्छ । राससरएएफपी

  • अमेरिकी भिसा पाउन नेपालसहित ५० देशका नागरिकले ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

    अमेरिकी भिसा पाउन नेपालसहित ५० देशका नागरिकले ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

    १७ साउन, काठमाडौं । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि लागू गरेको पर्यटकीय तथा व्यापारिक भिसासम्बन्धी ‘भिसा धरौटी’ प्रणालीलाई स्थायी बनाउने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले एक वर्षसम्म सञ्चालन गरिएको परीक्षण कार्यक्रम सफल भएको निष्कर्ष निकाल्दै उक्त व्यवस्थालाई स्थायी नियमका रूपमा लागू गर्ने निर्णय गरेको हो ।

    नयाँ व्यवस्थाअनुसार अमेरिका भ्रमण वा व्यापारिक प्रयोजनका लागि बी–१ र बी–२ भिसाका लागि आवेदन दिने नेपाली नागरिकले भिसा प्राप्त गर्नुअघि अनिवार्य रूपमा कम्तीमा १० हजारदेखि अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ । नेपाली रुपैयाँमा यो रकम करिब ३० लाख रुपैयाँसम्म पुग्न सक्छ ।

    यसअघि परीक्षण कार्यक्रम सञ्चालनका क्रममा कन्सुलर अधिकारीको विवेकमा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तोक्ने व्यवस्था थियो । तर नयाँ नियम लागू भएपछि ५ हजार डलरको विकल्प हटाइएको छ । अब १० हजार र २० हजार अमेरिकी डलर गरी दुईवटा विकल्प मात्र कायम गरिएको छ ।

    यो रकम भिसा अन्तर्वार्ताअघि नै जम्मा गर्नुपर्नेछ । भिसा अस्वीकृत भएमा वा अमेरिका प्रवेश गरेपछि भिसाको अवधि समाप्त हुनुअघि नियमअनुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

    यो व्यवस्था मुख्य रूपमा अमेरिका भ्रमण, पर्यटन तथा व्यापारिक प्रयोजनका लागि बी–१ र बी–२ भिसा आवेदन दिने नागरिकका लागि लागू हुनेछ । दक्षिण एसियाबाट नेपाल, बंगलादेश र भुटान यस सूचीमा परेका छन् । त्यस्तै, अफ्रिकाका अधिकांश मुलुकसहित विश्वका ५० देशका नागरिकलाई यो व्यवस्थाको दायरामा राखिएको छ ।

    अमेरिकाले भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बस्ने अर्थात् ‘भिसा ओभरस्टे’ गर्ने प्रवृत्ति नियन्त्रण गर्न यो व्यवस्था लागू गरेको जनाएको छ । अमेरिकी सरकारी तथ्यांकअनुसार भिसाको अवधि नाघेर बसेका व्यक्तिलाई पक्राउ गरी स्वदेश फिर्ता गर्न प्रतिव्यक्ति करिब १८ हजार अमेरिकी डलर खर्च हुने भएकाले यस्तो व्यवस्था गरिएको हो ।

  • ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै

    ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै

    १३ साउन, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग मङ्गलबार ह्वाइट हाउसमा छुट्टाछुट्टै उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । युक्रेन युद्ध, इरानसँगको तनाव तथा पश्चिम एसियाको सुरक्षा अवस्था यी भेटवार्ताका मुख्य एजेन्डा रहने अपेक्षा गरिएको छ । ह्वाइट हाउसका एक अधिकारीका अनुसार ट्रम्प–जेलेन्स्की भेटवार्ता मुख्य रूपमा रुस–युक्रेनबिच जारी शान्ति प्रक्रियामा केन्द्रित हुनेछ । अधिकारीले अब युद्ध अन्त्य गर्ने समय आएको धारणा व्यक्त गरेका छन् ।


    उता, ट्रम्प र नेतान्याहुबिचको वार्तामा इरानसँगको द्वन्द्व, इजरायल–लेबनान वार्ताको प्रगति तथा अब्राहम सम्झौता विस्तारका विषय प्राथमिकतामा रहनेछन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानका केही विषयमा नेतान्याहुसँग सामान्य मतभेद भए पनि दुवै देशबीचको गठबन्धन अत्यन्त निकट रहेको बताएका छन् । यसअघि सोमबार नेतान्याहु उच्चस्तरीय वार्ताका लागि वासिङ्टन पुग्नुभएको थियो । प्रस्थानअघि उहाँले इरानबाट उत्पन्न सुरक्षा चुनौती नै आफ्नो भ्रमणको प्रमुख विषय हुने स्पष्ट पार्दै इजरायलको सुरक्षा सुदृढ गर्नु र क्षेत्रीय शान्तिको दायरा विस्तार गर्नु भ्रमणको उद्देश्य रहेको बताएका थिए ।

    यो भेट ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि उनी र नेतान्याहुबिच हुने आठौँ आमनेसामने द्विपक्षीय बैठक हो र यो भेटले वासिङ्टन र जेरुसेलमबीचको घनिष्ठ समन्वयलाई थप पुष्टि गर्ने अपेक्षा गरिएको छ । यसैबिच, ट्रम्पले जेलेन्स्कीले लगाएको रुसले इरानलाई अमेरिकी सैन्य अड्डामाथि आक्रमण गर्न खुफिया सूचना उपलब्ध गराएको आरोपलाई तत्काल स्वीकार गर्न अस्वीकार गरेका छन् । उनले त्यस्तो गतिविधि उच्च तहबाट भएको आफूलाई नलागेको बताउँदै आवश्यक परे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यसबारे प्रत्यक्ष सोध्ने जानकारी दिए ।


    जेलेन्स्कीले मस्कोले इरानलाई अमेरिकी सैन्य चौकी तथा खाडी क्षेत्रका पूर्वाधारमाथि आक्रमण गर्न स्याटेलाइटमार्फत खुफिया सूचना उपलब्ध गराएको आरोप लगाएका थिए । उनले रुसले आफ्नो सैन्य क्षमता सुदृढ बनाउन उत्तर कोरियाबाट ३० हजार सैनिक परिचालन गर्ने तयारी गरिरहेको दाबी पनि गरे ।

    एयर फोर्स वनमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले इरानको सैन्य क्षमता कमजोर बनाएको दाबी दोहोर्‍याउँदै रुसबाट सहयोग प्राप्त भए पनि त्यसले तेहरानलाई निर्णायक लाभ नदिएको टिप्पणी गरे । उनले जेलेन्स्कीको आरोप सत्य भए–नभएको विषयमा आवश्यक जानकारी सङ्कलन गरिने पनि बताए । ह्वाइट हाउसको भेटवार्तापछि ट्रम्प, जेलेन्स्की र नेतान्याहु वासिङ्टनमा आयोजित अमेरिकी सिनेटर स्वर्गीय लिन्डसे ग्राहमको अन्त्येष्टि कार्यक्रममा पनि सहभागी हुने अपेक्षा गरिएको छ । राससएएनआई

  • नेतान्याहुलाई पक्राउ गर्ने अधिकार छैन : न्युयोर्क मेयर

    नेतान्याहुलाई पक्राउ गर्ने अधिकार छैन : न्युयोर्क मेयर

    न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले जारी गरेको पक्राउ पुर्जी कार्यान्वयन गर्ने स्वतन्त्र कानूनी अधिकार न्युयोर्क सहरसँग नरहेको स्पष्ट पार्दै त्यसका लागि अमेरिकी सङ्घीय सरकारले आवश्यक कदम चाल्नुपर्ने बताउनुभएको छ ।

    सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको भिडियो सन्देशमा मेयर ममदानीले नेतान्याहु न्युयोर्क आएमा आइसिसीको पक्राउ पुर्जी कार्यान्वयन गर्न सकिने वा नसकिने विषयमा आफ्नो प्रशासनले लागू कानूनका सबै पक्षको समीक्षा गरेको जानकारी दिनुभयो । त्यसक्रममा न्युयोर्क सहरसँग उक्त पक्राउ पुर्जी कार्यान्वयन गर्ने स्वतन्त्र कानूनी अधिकार नभएको निष्कर्षमा पुगेको उहाँले बताउनुभयो । उहाँले सङ्घीय सरकारसँग भने यस्तो अधिकार रहेको उल्लेख गर्दै संयुक्त राज्य अमेरिकालाई आइसिसीसँग सहकार्य गरी पक्राउ पुर्जी कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

    हेगस्थित आइसिसीले सन् २०२४ मा गाजा युद्धसँग सम्बन्धित कथित युद्ध अपराध तथा मानवताविरुद्धका अपराधमा नेतान्याहु जिम्मेवार रहेको विश्वास गर्ने पर्याप्त आधार रहेको भन्दै उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यो मुद्दा सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीसँग सम्बन्धित छ ।

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार नेतान्याहु आगामी सेप्टेम्बरमा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भए पक्राउको सामना गर्नुपर्ने अवस्था नआउने आश्वासन दिनुभएको थियो । मेयर ममदानीले भिडियो सन्देशमा गाजामा भएको विनाशलाई विश्वले गम्भीर रूपमा हेर्नुपर्ने बताउँदै आफू आइसिसीको धारणा अनुसार नेतान्याहुलाई पक्राउ गरी आरोपबमोजिम कानूनी प्रक्रिया अघि बढाइनुपर्ने पक्षमा रहेको उल्लेख गर्नुभयो ।

    उहाँले आइसिसीले आरोप लगाएका अन्य सबै व्यक्तिको हकमा पनि समान कानूनी मापदण्ड लागू हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । यता, नेतान्याहुको कार्यालयले भने मेयर ममदानीको अभिव्यक्तिलाई अस्वीकार गर्दै आइसिसीलाई ‘कङ्गारु अदालत’ को संज्ञा दिएको छ ।