२० वैशाख, काठमाडौं । संयुक्त राज्य अमेरिकाले चीनबाट आयात हुने ८०० अमेरिकी डलरभन्दा कम मूल्यका सामानमा भन्सार छुटको शुक्रबारदेखि अन्त्य गरेको छ । यसले शिन र टेमुजस्ता लोकप्रिय ई–कमर्स साइटहरूलाई ठूलो धक्का पुर्याएको छ । ह्वाइट हाउसले चीनबाट संयुक्त राज्य अमेरिकामा ‘सेमीसिन्थेटिक ओपिओइड्स’ भनिने एक प्रकारको लागू पदार्थको अवैध प्रवाहका कारण उत्पन्न भइरहेको स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न महत्वपूर्ण कदम भएको बताएको छ ।
शुक्रबारदेखि व्यावसायिक रूपमा ढुवानी हुने सामानमा अब १४५ प्रतिशतको नयाँ कर लाग्नेछ, जुन चीनबाट आउने सामानमा लगाइएको करको हालको स्तर हो । अमेरिकी हुलाक सेवामार्फत पठाइने वस्तुहरूमा उनीहरूको मूल्यको १२० प्रतिशत वा १०० डलरको शुल्क लाग्नेछ, जुन अर्को महिना २०० डलरमा वृद्धि हुनेछ। न्यूनतम वस्तुसँग सम्बन्धित (डे मिनिमिस) छुटको उन्मूलनले अब कम मूल्यको आयातलाई पनि करको अधीनमा राख्नेछ,” अमेरिकी संस्था इवाईका प्रमुख अर्थशास्त्री ग्रेगरी डाकोले ग्राहकहरूका लागि जारी हालैको सूचनामा लेखेका छन् ।
विश्वका दुई ठूला अर्थतन्त्र भएका अमेरिका र चीनबीच बढ्दो व्यापार युद्धको यो पछिल्लो कदम हो । ह्वाइट हाउसले चीनबाट आउने अटोमोबाइल्स, स्टिल र आल्मुनियमलगायत विभिन्न क्षेत्रमा २५ प्रतिशत थप कर लगाएको छ । त्यसको जवाफमा बेइजिङले अमेरिकी आयातमा १२५ प्रतिशत कर लगाएको थियो । मेक्सिको र क्यानडाबाहेक अन्य अधिकांश अमेरिकी व्यापारिक साझेदारहरूले १० प्रतिशतको आधारभूत करको सामना गरिरहेका छन् । उनीहरूले हालको उत्तर अमेरिकाको स्वतन्त्र व्यापार सम्झौताले नसमेटेका सामानहरूमा उच्च २५ प्रतिशत करको सामना गर्नेर्छन्।
यस कदमले चीनबाट सस्तो सामान ढुवानी गर्ने शेन र टेमुसहित धेरै ठूला फर्महरूको व्यापार मोडेलमा प्रहार गर्ने खतरा छ । यद्यपि, न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीबद्ध प्राय चिनियाँ ई–कमर्स साइटहरूको शेयरमा शुक्रबार धेरै हदसम्म वृद्धि देखिएको थियो । सम्भवतः यसले बेइजिङ र वाशिङ्गटनबीचको व्यापार वार्ताको बारेमा आशावादलाई प्रतिबिम्बित गर्दछ । तथ्य यो पनि हो कि यी परिवर्तनहरूमध्ये धेरैको पहिले नै वित्तीय बजारमा मूल्य निर्धारण गरिएको थियो । स्थानीय समयअनुसार १४ः४० मा टेमुको मालिक पिडिडी ३.७ प्रतिशतले बढेको थियो भने अलिबाबा ४.० प्रतिशतले बढेको थियो ।
शेनले लण्डनको सार्वजनिक शेयर बजारमा सूचीकरण गर्ने लामो समयदेखिको योजनालाई स्थगित गरेको यसै साताको सुरुमा फाइनान्सियल टाइम्सले जानकारी गराएको थियो । ट्रम्पले पहिलो पटक फेब्रुअरीमा छूट रद्द गर्न आह्वान गर्नुभएको थियो तर यस कदमले व्यवस्थापकीय अवरोध उत्पन्न गरेपछि पछि हट्नुभएको थियो । त्यतिबेला बेइजिङले संयुक्त राज्य अमेरिकाले ‘व्यापार र आर्थिक मुद्दाहरूलाई राजनीतिकरण गरेको र तिनीहरूलाई औजारको रूपमा प्रयोग गरेको’ आरोप लगाएको थियो।
१९ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिसम्बन्धी अनिश्चितताका कारण गत महिना अमेरिकी उत्पादनमा आएको मन्दीले यस क्षेत्रमा तरङ्ग ल्याएको बिहीबार प्रकाशित सर्वेक्षण तथ्याङ्कले देखाएको छ । अमेरिकी राष्ट्रपतिले अप्रिलको सुरुमा अधिकांश देशहरूविरुद्ध व्यापक करहरू सार्वजनिक गरेका थिए । तर धेरै राष्ट्रहरूको सन्दर्भमा उनले कर वृद्धिको मार्ग परिवर्तन गरेका थिए । यद्यपि यो चीनका लागि भने लागु भएको छैन अर्थात् चीनले लिएको प्रतिशोधको बदलामा राष्ट्रपति ट्रम्पले कर वृद्धिलाई कुल १४५ प्रतिशतसम्म पुर्याएका छन् ।
करको अस्थायी स्थगनपछि के हुने भन्ने आगामी अनिश्चितताले वित्तीय बजारमा भ्रम सिर्जना गरेको छ, जसले विश्वव्यापी अस्थिरतालाई बढावा दिएको छ। यसको प्रभाव अमेरिकी सामानहरूमा समेत परेको छ । इन्स्टिच्युट फर सप्लाई म्यानेजमेन्ट (आईएसएम) को उत्पादन सूचकाङ्क अप्रिलमा ४८.७ प्रतिशतमा झरेको छ, जुन मार्चमा यसको स्तरभन्दा निकै तल छ र विस्तार र सङ्कुचनलाई छुट्याउने ५० अङ्कभन्दा तल छ ।
ब्रिफिङ डट कमकाअनुसार यो बजारको सहमतिभन्दा केही राम्रो थियो । आईएसएम सर्वेक्षण प्रमुख टिमोथी फियोरले एक प्रतिक्रियामा भने, “माग र उत्पादन पछि हटेको छ र अधिक कर्मचारी कटौतिको कार्य जारी छ । सम्बन्धित कम्पनीहरूले अज्ञात आर्थिक वातावरणको प्रतिक्रिया दिएका छन्। उनले भने, “करका कारण मूल्य केही बढेको छ, जसले गर्दा नयाँ माग आउने ब्याकलगहरू, आपूर्तिकर्ता डेलिभरीमा मन्दी र विनिर्माण सूची वृद्धि भएको छ।”
१८ वैशाख, काठमाडौं । सन् २०२५ को पहिलो तीन महिनामा अमेरिकी अर्थतन्त्र अप्रत्याशित रूपमा खुम्चिएको बुधबार प्रकाशित पछिल्लो तथ्याङ्कले देखाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक कर वृद्धि गर्नुअघि आयातमा भएको वृद्धिका कारण अर्थतन्त्रमा सङ्कुचन देखिएको हुनसक्ने अमेरिकी वाणिज्य मन्त्रालयको अनुमान रहेको छ । सन् २०२४ को अन्तिम महिनामा २.४ प्रतिशतले वृद्धि भएको विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन पहिलो त्रैमासिकमा वार्षिक ०.३ प्रतिशतका दरले घटेको मन्त्रालयले उल्लेख गरेको छ । ब्रिफिङ डट कमका अनुसार बुधबारको आँकडा बजारको ०.४ प्रतिशतको वृद्धिको अनुमानभन्दा कम हो ।
वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पहिलो त्रैमासिकमा वास्तविक कुल गार्हस्थ्य उत्पादनमा आएको मन्दीले आयातमा आएको वृद्धि, उपभोक्ता खर्चमा आएको कमी र सरकारी खर्चमा आएको मन्दीलाई प्रतिबिम्बित गरेको छ ।” ट्रम्प सत्तामा फर्केको जनवरी २० देखि १०१ औँ दिनका अवसरमा यो तथ्याङक सार्वजनिक गरिएको हो । यो समयमा उनले अमेरिकी व्यापार सम्बन्धलाई पुनस्र्थापित गर्न अप्रिलको सुरुदेखि शीर्ष व्यापारिक साझेदारहरूलाई व्यापक कर लगाउने योजनाहरू प्रस्तुत गर्दै मार्चमा धेरै चरणहरूमा कर वृद्धिको घोषणा गरेका छन् ।
ती शुल्कहरूको सुरुवातले वित्तीय बजारमा शेयर बिक्रीलाई बढावा दियो, जसले अस्थिरतालाई कोभिड–१९ महामारीपछिको न्यूनस्तरमा पुर्यायो र लगानीकर्ताहरूलाई तर्सायो । जर्ज वासिङ्टन युनिभर्सिटीका अर्थशास्त्रका प्राध्यापक तारा सिन्क्लेयरले एएफपीसँग भने, “विशेषगरी राष्ट्रपति भएको पहिलो १०० दिनमा सामान्यतया सरकारी नीतिमा त्यति धेरै परिवर्तन हुँदैन तर अहिले यो अवस्था फरक छ ।” “मलाई लाग्छ यो एकदम स्पष्ट छ कि नाटकीय नीतिगत परिवर्तनहरू थिए जसले अर्थव्यवस्थालाई प्रत्यक्ष रूपमा कमजोर पारिरहेको छ,” उनले भने ।
अप्रिलमा ट्रम्पको नीतिको आलोचना गर्दै भएको नाटकीय शेयर बजारको गिरावटपछि ट्रम्प प्रशासनले व्यापार वार्ताको लागि अनुमति दिन दर्जनौं देशहरूलाई उच्च कर वृद्धिको लागि ९० दिनको विरामको घोषणा गर्दै अधिकांश देशहरूको लागि आधारभूत १० प्रतिशत दर कायम गरेको थियो । यसले स्टिल, आल्मुनियम र अटोमोबाइल्स र संयुक्त राज्य अमेरिकामा नबनेका पार्टपुर्जाहरूमा क्षेत्र–विशिष्ट उपाय र चीनमाथि कुल १४५ प्रतिशत नयाँ व्यापक करहरू घोषणा गरेको छ।
त्यसको जवाफमा बेइजिङले अमेरिकी सामानमाथि कडा र लक्षित कर लगाएको थियो । वाणिज्य मन्त्रालयका अनुसार गत वर्ष अमेरिकी अर्थतन्त्र २.८ प्रतिशतले वृद्धि भएको थियो । नयाँ वर्षको सुरुवातमा विश्लेषकहरूले सन् २०२५ मा दुई प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि दर रहने अनुमान गरेका थिए । अमेरिकी राष्ट्रपतिमा ट्रम्पको पुनरागमन र नयाँ कर वृद्धिको नीति पछि धेरै विश्लेषकहरुले आफ्नो विकास दृष्टिकोणमा तीव्र कटौती गरेका छन् । आयातले वृद्धिमा नकारात्मक प्रभाव पार्छ र कुल गार्हस्थ गणनामा निर्यातको सकारात्मक प्रभावको प्रतिकार गर्दछ ।
जर्ज वासिङ्टन युनिभर्सिटीका सिनक्लेयरले भने, “आयातमा यो वृद्धि यो प्रत्यक्ष करभन्दा अगाडि बढ्न खोज्ने मानिसहरूबाट आएको हो र यो राष्ट्रपतिको नीतिहरूको प्रत्यक्ष प्रतिक्रियाबाट प्रभावित छ ।” मन्त्रालयले भनेको छ, “लगानी, उपभोक्ता खर्च र निर्यातमा भएको वृद्धिले आयातमा आएको गिरावटलाई आंशिक रूपमा पूर्ति गरेको छ ।”
१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री मार्क कार्नीले सोमबार क्यानाडाको चुनाव जितेका छन् । उनको लिबरल पार्टीले मतदाताहरूलाई विश्वास दिलाएपछि उनको सङ्कट व्यवस्थापनको अनुभवले उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्न तयार पारेको हो । सार्वजनिक प्रसारणकर्ता सिबिसी र अन्य आउटलेटहरूले लिबरलहरूले क्यानाडाको अर्को सरकार बनाउने अनुमान गरेका छन् । तर उनीहरूले संसद्मा बहुमत प्राप्त गर्नेछन् वा छैनन् भन्ने अझै स्पष्ट छैन । कन्जर्भेटिभ नेता पियरे पोइलिभ्रे प्रधानमन्त्री बन्न असफल भए । तर उनको पार्टी बलियो विपक्ष गठन गर्ने बाटोमा थियो ।
पहिले कहिल्यै निर्वाचित पदमा नरहेका र गत महिना मात्र जस्टिन ट्रुडोलाई प्रधानमन्त्रीका रूपमा प्रतिस्थापन गरेका कार्नीले पहिले क्यानाडा र बेलायतमा केन्द्रीय बैंकको गभर्नरका रूपमा सेवा गरेका थिए । ट्रम्पको व्यापार युद्ध र विलयको धम्कीले क्यानाडालीहरूलाई आक्रोशित बनायो र संयुक्त राज्य अमेरिकासँगको व्यवहारलाई अभियानको शीर्ष मुद्दा बनायो ।
साठ्ठी वर्षीय पूर्व लगानी बैंकर कार्नीले आफ्नो अभियान ट्रम्पविरोधी सन्देशमा आधारित संयुक्त राज्य अमेरिकामाथिको निर्भरता कम गर्न क्यानाडाको विदेशी व्यापार सम्बन्धहरू विस्तार गर्ने वाचा गरे । र भने, “अब हामी अमेरिकालाई विश्वास गर्न सक्दैनौँ ।” कार्नीले ट्रम्पको धम्कीलाई कठोर शब्दहरूमा वर्णन गरेका छन् । “डोनाल्ड ट्रम्प हामीलाई तोड्न चाहन्छन्, ताकि अमेरिकाले हामीलाई आफ्नो बनाउन सकोस्”, उनले चुनावी अभियानमा भने, “उनीहरूलाई हाम्रो स्रोत चाहिन्छ, उनीहरूलाई हाम्रो पानी चाहिन्छ, उनीहरूलाई हाम्रो जमिन चाहिन्छ, उनीहरूलाई हाम्रो देश चाहिन्छ । उनीहरूले त्यो पाउन सक्दैनन् ।”
जब सिबिसी प्रक्षेपण घोषणा गरियो, ओटावा स्थलमा उल्लासको जयजयकार भयो जहाँ लिबरल समर्थकहरूले परिणामहरू हेरिरहेका थिए । “म यस अर्थमा खुसी छु कि हामीले श्री ट्रम्पसँग उनकै स्तरमा कुरा गर्न सक्ने कोही पाएका छौँ”, ७२ वर्षीया डोरोथी गोबल्टले भने, “ट्रम्प एक व्यापारी व्यक्ति हुन्, कार्नी एक व्यापारी व्यक्ति, मलाई लाग्छ उनीहरु दुवै सम्बन्धित हुन सक्छन् ।’ ट्रुडोले राजीनामा दिनुअघि ट्रम्पले उनको उपहास गरेका थिए । प्रधानमन्त्रीलाई ‘गभर्नर’ भन्दै क्यानाडालाई ५१औँ अमेरिकी राज्य बन्न आग्रह गरेका थिए ।
१७ वैशाख, न्यूयोर्क । कोभिड–१९ महामारी सुरु भएयता अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा न्यून स्तरमा झरेको पाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर योजनाका बारेमा चिन्ता व्यक्त गरिएका बेला मङ्गलबार प्रकाशित सर्वेक्षण तथ्याङ्कअनुसार अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा न्यून स्तरमा झरेको पाइएको हो । “अमेरिकी उपभोक्ता विश्वास सूचकाङ्क अप्रिलमा ७।९ अङ्कले घटेर ८६.० मा झरेको छ,” कन्फरेन्स बोर्डले उपभोक्ता विश्वास सूचकाङ्कलाई उद्धृत गर्दै जानकारी गराएको छ । प्रतिक्रियाहरूमा उपभोक्ता विश्वास सूचकाङ्कमा आएको गिरावट ‘सर्वकालिक उच्च’ स्तरमा पुगेको छ ।
यो सन् २०२० को मे यताकै सबैभन्दा कम भएको एक प्रवक्ताले एएफपीलाई पुष्टि गरेका छन् । कन्फरेन्स बोर्डका वरिष्ठ अर्थशास्त्री स्टेफनी गुइचार्डले भने, “अप्रिलसँगै लगातार पाँचौं महिना उपभोक्ताको विश्वास घटेको पाइएको छ ।” “व्यापारको अवस्था, रोजगारीको सम्भावना र भविष्यको आयजस्ता तीन अपेक्षाका अवयवहरू तीव्र रूपमा बिग्रिएका छन्, जसले भविष्यको बारेमा व्यापक निराशावादलाई प्रतिबिम्बित गर्दछ,” उनले भने ।
अमेरिकी राष्ट्रपति ट्रम्पको कर योजनाले लगानीकर्ताहरूलाई निराश बनाएको छ, जसले बजारको अस्थिरतालाई बढावा दिएको छ र उपभोक्ताको विश्वासमा गिरावट आएको छ। गुइचार्डका अनुसार ४८.५ प्रतिशत उपभोक्ताले आगामी १२ महिना शेयरको मूल्य घट्ने अपेक्षा गरेका छन्, जुन अक्टोबर २०११ पछिको सबैभन्दा उच्च हिस्सा हो । “औसत १२ महिनाको मुद्रास्फीतिको अपेक्षा यस महिनामा सात प्रतिशत पुगेको छ जुन नोभेम्बर २०२२ पछि उच्चतम हो र यो अर्को चिन्ताजनक सङ्केत हो,” गुइचार्डले भने । मुद्रास्फीतिको सम्भावना कायम रहिरहेमा व्यवसायहरूले भविष्यमा उनीहरूको लागत अझ बढ्नेछ भन्ने प्रत्याशामा मूल्य हरू बढाउँदछन् र यसले मूल्य वृद्धिको दुष्चक्र निम्त्याउन सक्छ ।
१६ वैशाख, काठमाडौं । यमनमा हुथी विद्रोही विरुद्ध अमेरिकी सेनाले एक महिना लामो सैन्य अभियान चलाइरहेको छ । जसअन्तर्गत अहिलेसम्म आठ सयभन्दा बढी हवाई आक्रमण गरिएका छन् । अमेरिकी सेनाको केन्द्रीय कमान्डले दिएको जानकारी अनुसार, यी आक्रमणहरूमा सयौं हुथी लडाकू र नेताहरू मारिएका छन्, यद्यपि उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन ।
हुथी विद्रोहीहरू, जसलाई अन्सार अल्लाह पनि भनिन्छ । यमनमा सक्रिय शिया मुस्लिम जैदी सम्प्रदायसँग सम्बन्धित एक सशस्त्र विद्रोही समूह हो । सन् १९९० को दशकमा सादा प्रान्तबाट सुरु भएको यो समूहले शिया समुदायको अधिकार र यमनमा राजनीतिक सुधारको माग गर्दै सङ्घर्ष थालेको थियो । सन् २०१४ मा यमनको राजधानी साना कब्जा गरेपछि उनीहरू देशको प्रमुख शक्तिको रूपमा उदाएका हुन् । इरानबाट सहयोग प्राप्त गरेको आरोप लाग्दै आएको यस समूहसँग हाल साउदी अरब नेतृत्वको गठबन्धन र अमेरिका लगातार सङ्घर्षमा छन् । हुथीहरूले हाल रेड सागरमा अन्तर्राष्ट्रिय जलयातायात र इस्रायलमाथि आक्रमण गर्दै अन्तर्राष्ट्रिय स्तरमा चुनौती खडा गरिरहेका छन् ।
हुथी समूहले जनाएअनुसार, राजधानी साना नजिकैको क्षेत्रहरूमा भएको पछिल्लो रातको अमेरिकी हवाई आक्रमणमा कम्तिमा ६८ जनाको ज्यान गएको छ । यी आक्रमणहरू अमेरिकाले हुथी समूहका मिसाइल र ड्रोन कार्यक्रमका आधारहरूमा लक्षित गरी गरेको दाबी गरिएको छ । अप्रिल १८ मा भएको अमेरिकी आक्रमण रस ईसा इन्धन बन्दरगाहमा लक्षित थियो, जसमा ७४ जनाको मृत्यु र १७१ जना घाइते भएको हुथीहरूले बताएका छन् । यो अहिलेसम्मको सबैभन्दा घातक हमला मानिएको छ । अमेरिकी सेनाले बन्दरगाहमा इन्धन आपूर्ति बन्द गर्न आक्रमण गरिएको जनाउँदै यो हमला हुथीहरूको आर्जन स्रोत रोक्न गरिएको जनाएको छ ।
अमेरिका अनुसार, हुथी समूहले रेड सागरमा हुने अन्तर्राष्ट्रिय व्यापारिक जलयातायात र इस्रायलमाथि हमला गरी क्षेत्रीय सुरक्षामा खतरा पैदा गरिरहेको छ । अमेरिकाले आफ्नो ‘स्वतन्त्र नौवहन अधिकार’ कायम राख्न र हुथीहरूको आक्रमणलाई रोक्न आफूले दबाब बढाइरहेको स्पष्ट पारेको छ । अमेरिकाले स्पष्ट रूपमा इरानलाई हुथी लडाकूहरूलाई निरन्तर समर्थन गरिरहेको आरोप लगाएको छ । केन्द्रीय कमान्डको वक्तव्यमा भनिएको छ, “इरानको समर्थनबिना हुथीहरूले निरन्तर हमला गर्न सक्दैनन् ।”
हुथी समूहले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रहरूबाट बाह्य सूचना प्रवाह रोक्न कदम चालेको छ । आइतवार हुथी समूहले साटलिंक इन्टरनेट उपकरणहरू (उपग्रहमार्फत इन्टरनेट सेवा) प्रयोग नगर्न र यस्ता उपकरणहरू तुरुन्तै सुरक्षासम्बन्धी निकायलाई बुझाउन आदेश दिइएको छ । हुथीहरूले चेतावनी दिँदै भनेका छन्, “यदि कसैले यस्ता उपकरण बेचबिखन, प्रयोग, स्थापना, सञ्चालन वा नियन्त्रण गरेको पाइएमा, कडा कानुनी कारबाही हुनेछ ।”
अमेरिकाले यो सैन्य अभियान रेड सागरमा रहेका ‘यूएसएस ह्यारी एस। ट्रुम्यान’ र अरब सागरमा रहेका ‘यूएसएस कार्ल भिन्सन’ नामका दुई विमानवाहक युद्धपोतहरूबाट सञ्चालन गरिरहेको छ । सन् २०२२ मा युएईको अबुधाबी नजिक हुथीहरूले मिसाइल र ड्रोनबाट हमला गर्दा तीन जनाको मृत्यु भएको थियो । त्यसपछि हुथी र अमेरिका समर्थित गठबन्धनबीचको सङ्घर्ष अझै चर्किएको हो । युद्धले लामो समयदेखि यमनलाई मानवीय सङ्कटमा पारेको छ, जहाँ लाखौं नागरिकहरू खाद्य, पानी र स्वास्थ्य सेवाको अभावमा छन् ।
१३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका दिनमा युक्रेनका नागरिक क्षेत्रमा भएका रूसी आक्रमणप्रति चिन्ता व्यक्त गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सम्भवतः ‘युद्ध अन्त्य गर्न इच्छुक नहुन सक्ने’ बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग रोममा सम्पन्न भेटपछी ‘ट्रुथ सोसल’ मार्फत व्यक्त विचारमा ट्रम्पले पुटिनसँग व्यवहार गर्ने तरिकामा फेरबदल हुन सक्ने सङ्केत पनि गरे ।
“नागरिक क्षेत्रमा, शहर र गाउँहरूमा क्षेप्यास्त्र आक्रमण गर्नुको कुनै जायज कारण देखिँदैन । यसले मलाई यस्तो अनुभूति दिएको छ कि पुटिन सम्भवतः युद्ध अन्त्य गर्न गम्भीर हुनुहुन्न,” ट्रम्पले उल्लेख गरे । “उहाँले मलाई केवल समय कटाइरहनु भएको जस्तो लाग्छ र अब उहाँप्रति फरक रणनीति अपनाउनुपर्ने हुनसक्छ ? अहिले धेरै निर्दोष मानिसहरू मारिइरहेका छन् ।” यसैबीच, क्रेमलिनले जनाएको अनुसार, रूसी राष्ट्रपति पुटिनले शुक्रबार मस्कोमा अमेरिकी प्रतिनिधि स्टिभ विटकोफसँगको भेटमा युक्रेनसँग बिना पूर्वशर्त वार्ता गर्न तयार रहेको बताएका छन् ।
१३ वैशाख, भ्याटिकन । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसको अन्त्येष्टिका लागि शनिबार ‘सेन्ट पिटर्स स्क्वायर’मा दशौँ हजार शोकसन्तप्त मानिस भेला भएका छन् । भेला हुनेमा भारतीय राष्ट्रपति द्रौपदी मुुर्मु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीलगायत विश्वका क्रिश्चियन तथा हजारौँको सङ्ख्यामा अन्य धर्मावलम्बीहरू रहेका छन् । सोमबार ८८ वर्षको उमेरमा निधन भएका अर्जेन्टिनाका धर्मगुरुले आफ्नो १२ वर्षे शासनकालमा सदियौं पुरानो चर्चलाई अझ समावेशी दिशामा डोरÞ्याउने प्रयास गरेका थिए ।
सेन्ट पिटर्स बेसिलिकामा तीन दिनसम्म राखिएको उनको शवदाहगृहमा करिब दुई लाख ५० हजार मानिसहरूले श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनको अन्तिम बिदाइमा भाग लिन शुक्रबार बिहानैदेखि भ्याटिकन सिटीमा ठूलो सङ्ख्यामा मानिसहरू भेला हुन थालेका थिए । लस एन्जलसबाट शनिबारको प्रार्थनासभामा भाग लिन आएकी ३९ वर्षीया एन्ड्रिया उगाल्डेले भनिन्, “उहाँ पोप मात्र हुनुहुन्न, उहाँ मानव हुनुको परिभाषा हो ।”
स्थानीय समयअनुसार बिहान १० :०० बजे सुरु उक्त समारोहमा करिब दुई लाख मानिस सहभागी भएको अपेक्षा छ । करिब ५० राष्ट्रप्रमुखहरू अतिथिको सूचीमा रहेको शोक समारोहलाई व्यवस्थित गर्न इटालियाली र भ्याटिकन अधिकारीहरूले ठूलो सुरक्षा अभियान चलाएका छन् । उक्त क्षेत्रलाई नो फ्लाई जोन राखिएको छ, लडाकु विमानहरूलाई तयारी अवस्थामा राखिएको छ भने सुरक्षाकर्मीहरूलाई भ्याटिकन सिटीका भवनहरूका छतछतमा तैनाथ गरिएको छ ।
In this photo provided by the Ukrainian Presidential Press Office, Ukraine’s President Volodymyr Zelenskyy, right, and President Donald Trump, talk as they attend the funeral of Pope Francis in Vatican, Saturday, April 26, 2025.(Ukrainian Presidential Press Office via AP)
सन् २०१३ मा पोप बेनेडिक्ट सोह्रौंले राजीनामा दिएपछि पदभार ग्रहण गरेका फ्रान्सिसको मृत्यु भएको भ्याटिकनको आधिकारिक शोकको नौ दिनमध्ये पहिलो दिन उनको अन्त्येष्टि गरिनेछ । शोकपछि कार्डिनलहरू सम्मेलनका लागि भेला हुनेछन् र विश्वभरिका क्याथोलिक धर्मालम्बीहरूको नेतृत्व गर्न नयाँ पोप चयन गर्नेछन् ।
फ्रान्सिसका धेरै सुधारहरूले परम्परावादी क्रिश्चियन नेतृत्वलाई चिढाएको भएपनि उनको क्रिश्चियन इतर पक्षधरबाट पनि प्रशैसा हुने गरेको छ । आप्रवासीहरूमाथिको न्यायिक व्यवहारदेखि विश्व तापमान वृद्धिका बिषयमा उनले दिएका प्रतिक्रिया कतिपय राजनीतिक नेतृत्वका लागि आलोचनाको बिषय बनेका थिए । तैपनि ब्यूनस आयर्सका पूर्व आर्कबिशपको करुणा र करिश्माले उनलाई विश्वव्यापी स्नेह र सम्मान दिलाएको छ ।
ट्रम्प प्रशासनले आप्रवासीहरूलाई सामूहिक रूपमा देश निकाला गरेकोमा पोपले आलोचना गरेका थिए । राष्ट्रपति ट्रम्प आफ्नी पत्नी मेलानियासँग ‘विश्वलाई माया गर्ने’ ‘एक असल व्यक्ति’ लाई श्रद्धाञ्जली दिन शुक्रबार अबेर रोम हुँदै भ्याटिकन सिटी पुगेका छन् । आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणका क्रममा ट्रम्पले अन्य मुलुकका दर्जनौं नेतासँग भेट्ने सम्भावना छ । ट्रम्पले आफूले सुरु गरेको कर वृद्धिका विषयमा वार्ता गर्न इच्छुक छन् ।
जेलेन्स्कीले फेब्रुअरीमा ह्वाइट हाउसमा भएको प्रदर्शनपछि पहिलो पटक बैठक हुने आशा व्यक्त गरेका छन् । अन्त्येष्टिमा भारतीय राष्ट्रपति द्रोपदी मुर्मु ,अर्जेन्टिनाका राष्ट्रपति जाभियर माइली, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा, फ्रान्सका इमानुएल म्याक्रोँ र लेबनानका जोसेफ औन पनि सहभागी छन् । समारोहमा बेलायतका राजकुमार विलियमसहित एक दर्जनभन्दा बढी राजपरिवारको पनि उपस्थिति रहने छ ।
फ्रान्सिसले गाजामा इजरायली कदमको विरोध गरेका कारण आक्रोशित इजरायलले आफ्ना राजदूतलाई मात्र पठाउने भएको छ । पाँच हप्तासम्म निमोनियासँग जुधेपछि सुधार भई निवास फर्केका फ्रान्सिसको अस्पताल छोडेको एक महिना नबित्दै मस्तिष्कघातसँगै हृदयाघातका कारण निधन भएको थियो ।
A missionary man from Belize records a video after the funeral of Pope Francis in St. Peter’s Square at the Vatican, Saturday, April 26, 2025. (AP Photo/Andreea Alexandru)
उनको अन्तिम सार्वजनिक कार्य, उनको मृत्युको अघिल्लो दिन, सम्पूर्ण विश्वको ईस्टर सन्डे आशीर्वाद थियो जसमा उनले ‘कमजोर, सीमान्तकृत र आप्रवासीहरू’ को रक्षा गर्न अपील गर्दै आफ्नो पोपको पदवीबाट विश्रामको घोषणा गरेका थिए । जेसुइटले असीसीका सेन्ट फ्रान्सिसको नामबाट आफ्नो नामकरण गर्न रोजेका उनले ‘गरिबहरूको लागि एक चर्च’ स्थापना गर्न चाहेका थिए । उनमा महङ्गो लुगा र पोप महलको लालसा थिएन । चर्चका २६६ औँ पोप भ्याटिकन गेस्टहाउसमा बस्थे । आफ्नो मनपर्ने रोम चर्च, सान्टा मारिया म्यागियोरमा भएका वेथितिविरूद्ध हस्तक्षेप गर्न चाहन्थे । उहाँ एक शताब्दीभन्दा बढी समयपछि भ्याटिकनको पर्खालबाहिर गाडिने पहिलो पादरी बनेका छन् ।
उनको अन्तिम बिदाइ समारोहमा २२४ जना कार्डिनल, ७५० जना बिशप र पादरीका साथै विश्वका विशिष्ट व्यक्तिहरू सहभागी हुनेछन् । विश्वभरिका क्याथोलिकहरूले ब्यूनस आयर्सलगायत अन्य स्थानहरूमा पनि यस कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिरहेका छन्। नम्र पोपले आफ्नो मृत शरीरलाई एउटा साधारण संगमरमरको चिहानमा काठको एउटा कफिनभित्र राख्न आग्रह गरेका थिए । अन्त्येष्टिपछि कफिनलाई रोमको प्राचीन मन्दिर रहेको फोरी इम्पेरियली र कोलोसियम हुँदै सान्टा मारिया म्यागियोर बेसिलिकामा लगिनेछ ।
भ्याटिकनले भनेको छ, “‘गरिब र सामान्य जनजीवनका बाँच्ने आवश्यकताका लागि सङ्घर्षशील’ मानिसहरूको एक समूहले शववाहन चिहानमा आइपुग्दा स्वागत गर्नेछ । फ्रान्सिसका प्रशंसकहरूले उनलाई चर्चको धारणा परिवर्तन गर्न र दशकौंको लिपिकीय यौन दुव्र्यवहार काण्डपछि विश्वासलाई पुनर्जीवित गर्न मद्दत पुर्याएको श्रेय दिन्छन्।
सम्बन्धविच्छेद भएका विश्वासीहरूलाई सान्त्वना प्राप्त गर्न अनुमति दिने, तेस्रोलिङ्गी विश्वासीहरूको बप्तिस्मालाई अनुमोदन गर्ने र समलिङ्गी दम्पतीहरूका लागि आशिष दिने र समलिङ्गी क्याथोलिकहरूको न्याय गर्न इन्कार गर्ने कतिपयले उहाँलाई कट्टरपन्थी ठानेका थिए। उनले चर्चले गर्भपतनको विरोध गरेकोमा अडिग रहेका थिए ।
फ्रान्सिसको १२ वर्षे पोपको पहिलो यात्रा इटालियन टापु लाम्पेडुसामा भएको थियो जुन प्रायः भूमध्यसागर पार गर्ने आप्रवासीहरूको लागि कलको पहिलो बन्दरगाह हो । उनले ग्रीसको लेस्बोस टापुको भ्रमण गरेका थिए । अलपत्र शरणार्थीहरूलाई घरसम्म पुग्ने वातावरण बनाउन पहल गरेका थिए । तीमध्ये केही शरणार्थीहरू उनको अन्त्येष्टिमा उपस्थित हुने बताइएको छ । राससबाट
१३ वैशाख, काठमाडौं । पोप फ्रान्सिसको अन्तिम संस्कारको अवसरमा भएको छोटो कुराकानीमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डेर लेयेन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच औपचारिक भेट गर्ने सहमति भएको आयोगकी प्रवक्ता पाउला पिन्हाले जानकारी दिएकी छिन् सो अवसरमा विभिन्न विश्व नेताहरूबीच कूटनीतिक संवादहरू भएका थिए । “छोटो कुराकानीमा राष्ट्रपति भन डेर लेयेन र राष्ट्रपति ट्रम्पले भेट गर्ने सहमति जनाए,” आयोगकी प्रवक्ता पाउला पिन्हाले बताइन्, यद्यपि मिति भने खुलाइएको छैन । अर्जेन्टिनी पोपको अन्तिम संस्कारको क्रममा विश्व नेताहरूले कूटनीतिक भेटघाटको अवसर लिएका थिए ।
दुई नेताबीचको आगामी बैठक हाल अमेरिका र युरोपेली सङ्घबीचका व्यापारिक तनावको पृष्ठभूमिमा हुँदैछ । शुक्रबार वासिङ्टन भ्रमणमा रहेका युरोपेली सङ्घका अर्थ आयुक्त वाल्दिस डोम्ब्रोभ्स्किसले, सम्झौता गर्न अझ काम गर्न बाँकी रहेको बताएका थिए । राष्ट्रपति ट्रम्पले विगतमा बारम्बार ईयूप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
१३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको आणविक कार्यक्रमबारे भएको वार्ताबाट नयाँ सम्झौता हुन नसके अमेरिकाले इरानमाथि आक्रमण गर्ने ‘समूह’ को नेतृत्व गर्ने बताएका छन् । शुक्रबार प्रकाशित अन्तरवार्तामा अमेरिकी राष्ट्रपतिट्रम्पले इरानका सर्वोच्च नेता वा राष्ट्रपतिलाई प्रत्यक्ष भेट्न आफू तयार रहेको बताउँदै सम्झौता हुन सक्ने आशा व्यक्त गरे । ट्रम्पले भने, “यदि आणविक हतियार नियन्त्रणका लागि सम्झौता भएन भने इरानविरूद्धको आक्रमण सम्भव छ । हामीले आक्रमण गर्नु पर्नेछ किनभने इरानसँग आणविक हतियार हुनु विश्व सुरक्षाका लागि खतरा हो ।”
वासिङ्टन र तेहरानबीच ओमानमा शनिबार तेस्रो चरणको आणविक कार्यक्रमबारे वार्ता जारी रहेका बेला ट्रम्पको यो भनाइ आउनुले युद्धको नयाँ जोखिम उत्पन्न भएको छ । दुवै पक्षले आणविक सम्झौताका लागि रोममा भएको अन्तिम बैठकको अन्त्यमा आशावादी रहेको बताएका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको टेलिफोन वार्तापछि ट्रम्पले मङ्गलबार भने, “हामी हरेक मुद्दामा एउटै पक्षमा छौँ ।” इजरायललाई इरानविरुद्ध एकतर्फी आक्रमण गर्नबाट ट्रम्पले रोकेको समाचारबारे उनलाईटाइमले सोधेको प्रश्नमा उनले भने, “यो सही होइन ।”
उनले भने, “मैले उनीहरूलाई रोकेको थिइनँ र मलाई लाग्छ कि हामी आक्रमण बिना सम्झौता गर्न सक्छौँ त्यसैले मैले उनीहरूका लागि सहज वातावरण बनाउन कोशिस गरेको हो ।” “म त्यो अन्तिम विकल्प उनीहरूलाई दिएको छु किनकि म बम खसाल्नुभन्दा सम्झौतालाई प्राथमिकता दिन्छु,”उनले भने । नेतन्याहूले अमेरिकालाई इरानसँगको युद्धमा तानेकोमा आफू चिन्तित रहेको कुराको खण्डन गर्दै ट्रम्पले भने, “उनी युद्धमा जान सक्छन् । तर हामी तानिएका छैनौं। यदि हामीले सम्झौता गर्न सकेनौं भने म युद्धमा जान सक्छु।सम्झौता भएन भने म इरानविरूद्धको लडाइको नेतृत्व गर्नेछु,” ट्रम्पले टाइमसँग भने ।
ट्रम्पले सन् २०१८ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको पालामा इरानसँग भएको आणविक सम्झौता तोडेका थिए । मध्यपूर्वको एक मात्र आणविक शक्ति सम्पन्न राष्ट्र मानिने इरानविरूद्ध इजरायल र पश्चिमा शक्तिले लामो समयदेखि आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन् । इरानले आफ्नो आणविक कार्यक्रम नागरिक प्रयोजनका लागि मात्र भएको बताउँदै आएको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी वा राष्ट्रपति मसूद पेजेशकियानसँग भेट गर्न चाहनुहुन्छ कि भनेर सोधिएको प्रश्नमा ट्रम्पले भने, “अवश्य भेट्नेछु ।”
१० वैशाख, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू–कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याएका छन् । उनी भारत फर्किएका छन् । यो आक्रमण २२ अप्रिल सन् २०२५ मा बैसरान भन्ने स्थानमा भएको हो, जहाँ आतंककारीहरूले पर्यटक, स्थानिय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।
घटनामा कम्तीमा २८ जनाले ज्यान गुमाएका छन्, जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानिय नागरिक र दुई जना विदेशी नागरिक (एक नेपाली र एक युएईका नागरिक) रहेका छन्। थप ३६ जना घाइते भएका छन्। यस आतङ्कवादी हमलाको जिम्मेवारी लश्कर(ए(तैयबा नामक पाकिस्तानस्थित आतङ्कवादी समूहको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको छ।
प्रधानमन्त्री मोदीले घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै, दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने र आतंकवादविरुद्ध सरकारको अडान अझ कडा हुने स्पष्ट सन्देश दिएका छन् । यस घटनापछि गृहमन्त्री अमित शाहले सुरक्षा स्थिति मूल्याङ्कन गर्न श्रीनगर पुगेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू(कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणप्रति गहिरो दुःख प्रकट गर्नुभएको छ। सो आक्रमणमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा कुराकानी गर्ने तयारी गरिरहनुभएको ह्वाइट हाउसको प्रेस सचिव क्यारोलिन लेभिटले जानकारी दिए ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा लेभिटले भन्नुभयो, “पाहलगामको लोकप्रिय पर्यटक स्थलमा भएको आक्रमणबारे राष्ट्रपति ट्रम्पलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमार्फत जानकारी गराइएको छ। प्रारम्भिक जानकारीअनुसार घटनामा दर्जनौं व्यक्तिको मृत्यु भएको छ र धेरै जना घाइते भएका छन्। राष्ट्रपति ट्रम्प यथासिघ्र प्रधानमन्त्री मोदीसँग वार्ता गर्ने छन् र भारतको यस कठिन घडीमा अमेरिकाको पूर्ण समर्थन व्यक्त गर्ने छन्।”
राष्ट्रपति ट्रम्पले आफ्नो आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशल मा समेत प्रतिक्रिया जनाउँदै लेखेका छन्, “कश्मीरबाट प्राप्त भएको यो अत्यन्त पीडादायी समाचारले गहिरो पीडा पुर्याएको छ। अमेरिकाले आतंकवादविरुद्धको संघर्षमा भारतसँग दृढता पूर्वक साथ दिनेछ। हामी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।”
९ वैशाख, काठमाडौं । पोप फ्रान्सिसको सोमबार भ्याटिकनमा ८८ वर्षको उमेरमा स्ट्रोकबाट निधन भएको छ । उनको अन्त्येष्टि यस हप्ताको अन्त्यतिर उपासक र गणमान्य व्यक्तिहरूको उपस्थितिमा हुने भएको छ । त्यसपछि उत्तराधिकारी चुन्न कार्डिनलहरूको सम्मेलन बोलाइनेछ । जर्ज बर्गोग्लियोको निधनको वरपरका परिस्थितिहरू र पछि के हुनेछ भन्नेबारे यहाँ चर्चा गरिएको छ ।
– घातक स्ट्रोक –
पोप फ्रान्सिसलाई फेब्रुअरी १४ मा ब्रोन्काइटिसका कारण रोमको अस्पतालमा भर्ना गरिएको थियो । यो पछि दोहोरो निमोनियामा परिणत भयो र यसले उनलाई दुई पटक मृत्युको मुखमा पुर्यायो । उनी मार्च २३ मा अस्पतालबाट बाहिरिएका थिए । दुई महिनाको कडा स्वास्थ्यलाभ अवधिबाट गुज्रिरहेका थिए । तर अर्जेन्टिनी पोपले क्रमशः कमजोर देखिँदै अचानक कैयौँ सार्वजनिक उपस्थिति देखाए । भ्याटिकनले सोमबार बिहान उनको निधनको घोषणा गर्यो । भ्याटिकनद्वारा जारी मृत्यु प्रमाणपत्र अनुसार फ्रान्सिसको निधन ‘मस्तिष्क स्ट्रोक, कोमा, अपरिवर्तनीय कार्डियोसर्कुलेटरी कोल्याप्स’ का कारण भएको थियो ।
– शवको अन्तिम दर्शन –
सोमबार साँझ उहाँको शरीरलाई सान्ता मार्ता आवासको चर्चमा एक कफिनमा राखिएको थियो । यो बुधबारदेखि अन्तिम दर्शनका लागि सेन्ट पिटर्स बेसिलिकामा सारिने अपेक्षा गरिएको छ ।
– अन्त्येष्टि –
अन्त्येष्टिका लागि कुनै निश्चित मिति तोकिएको छैन तर यो पोपको निधनको चौथो र छैठौँ दिनबीच – अर्थात शुक्रबार र आइतबारबीच हुनेछ । कार्डिनलहरूको पहिलो सभाले मङ्गलबार नै यो कुरा निर्णय गर्ने अपेक्षा गरिएको छ । अन्त्येष्टि मिसा भ्याटिकनको सेन्ट पिटर्स बेसिलिकामा हुनेछ । त्यहाँ फ्रान्सिसका तत्काल पूर्ववर्तीहरूलाई गाडिएको थियो । तर उनले रोमको सान्ता मारिया म्याग्जोरे बेसिलिकामा गाडिने इच्छा व्यक्त गरेका थिए । विश्वभरका विश्व नेताहरू र विश्वासीहरूले यस समारोहमा भाग लिन र विश्वको एक अर्ब ४० करोड क्याथोलिकहरूका नेतालाई सम्मान गर्न सहरमा भेला हुने अपेक्षा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो उपस्थितिको घोषणा गर्ने पहिलो व्यक्ति छन् । – सम्मेलन –
सम्मेलनको सुरु मिति अझै थाहा छैन । सम्मेलनमा तथाकथित एक सय ३५ ‘कार्डिनल निर्वाचकहरू’ ले फ्रान्सिसको उत्तराधिकारी छान्नेछन् । तर यो पोपको निधनपछि कम्तीमा १५ र बढीमा २० दिनभित्र सुरु हुनुपर्छ । कार्डिनलहरू सिस्टिन च्यापलमा भेला हुनेछन् । यो माइकलएन्जेलोका प्रसिद्ध भित्तेचित्रहरूले सजिएको रेनेसाँ कालीन अद्भुत स्थल हो । कुनै एक उम्मेदवारले मतको दुई–तिहाई प्राप्त नगरेसम्म दिनको चार मतदान, बिहान दुई र दिउँसो दुई पटक गर्नेछन् ।
प्रत्येक सत्रको अन्त्यमा मतपत्रहरू च्यापलको एक स्टोभमा जलाइन्छ । स्टोभमा जलाइँदा अपोस्टोलिक दरबार माथि धुवाँ निकाल्छ जसलाई विश्वले हेर्छ । यदि सेन्ट पिटर स्क्वायरलाई हेरेको चिमनीबाट कालो धुवाँ निस्कन्छ भने मतदान असफल भएको हुन्छ । सेतो धुवाँले नयाँ पोप निर्वाचित भएको सङ्केत गर्दछ ।
८ वैशाख, नयाँ दिल्ली । अमेरिका र भारतले आर्थिक अवसरहरू खोल्न र द्विपक्षीय व्यापार सम्झौताका लागि वार्ता गर्न खोजिरहेका बेला अमेरिकी उपराष्ट्रपति जेडी भान्स सोमबार भारत आउँदैछन् । उनी चार दिने भ्रमणका लागि भारत आउन लागेका हु्न् । भान्सले नयाँदिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग अर्थव्यवस्था, व्यापार र भूराजनीतिक सम्बन्धबारे छलफल गर्ने बताइएको छ ।
भान्सको भ्रमणलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एक महत्त्वपूर्ण कूटनीतिक मिसनको रूपमा हेरेको छ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । यो वासिङ्टन र बेइजिङबीच द्रुत गतिमा बढेको व्यापार युद्धसँग मेल खान्छ । बेइजिङ यस क्षेत्रमा नयाँदिल्लीको मुख्य प्रतिद्वन्द्वी हो ।
भारत र अमेरिकाबीच व्यापार सम्झौताले दुई देशबीचको आर्थिक सम्बन्धलाई उल्लेखनीय रूपमा बढाउन सक्छ र सम्भावित रूपमा कूटनीतिक सम्बन्धलाई बलियो बनाउन सक्छ । हालै एक खर्ब ९० अर्ब डलरको द्विपक्षीय व्यापारका साथ अमेरिका भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार पनि हो । भारतको विदेश मन्त्रालयले यो भ्रमणले ‘दुवै पक्षलाई द्विपक्षीय सम्बन्धमा भएको प्रगतिको समीक्षा गर्ने अवसर प्रदान गर्नेछ’ र दुई नेताले ‘आपसी हितको क्षेत्रीय र विश्वव्यापी घटनाक्रममा विचार आदानप्रदान गर्नुहुनेछ’ भनेको छ ।
राष्ट्रिय गुप्तचरकी निर्देशक तुलसी गबार्ड भू–राजनीतिक सम्मेलनका लागि भारत आएको केही हप्तापछि र मोदीले वासिङ्टनमा ट्रम्पलाई भेटेको दुई महिनापछि भान्सको भारत आगमन हुने भएको हो । ह्वाइट हाउसमा फर्केपछि ट्रम्पसँग वार्ता गर्न र भेट गर्न अमेरिका जाने मोदी पहिलो नेताहरूमध्ये एक थिए । आफ्नो भ्रमणका क्रममा मोदीले अमेरिकासँग ‘मेगा साझेदारी’ को प्रशंसा गरेका थिए ।
अमेरिकी वस्तुहरूको विस्तृत शृङ्खलामा पहिले नै भन्सार दर कटौती गरिसकेपछि ट्रम्पको भन्सार दरको सम्भावित प्रभावलाई कम गर्न वार्ता प्रक्रिया सुरु गरेका छन् । यद्यपि ट्रम्पले आफ्नो अहिले रोकिएको भन्सार दर कार्यक्रमको हिस्साको रूपमा भारतलाई २६ प्रतिशत लेभीको लक्ष्य बनाए । यसले भारतीय निर्यातकर्ताहरूलाई अस्थायी राहत प्रदान गरेको छ।
आफ्नो भ्रमणका क्रममा मोदीले आफू अमेरिकी वस्तुहरूमा थप भन्सार दर कटौती गर्न, कागजातविहीन भारतीय नागरिकहरूलाई फिर्ता पठाउन र सैन्य उपकरण खरिद गर्न तयार रहेको भन्दै आउँदै गरेका व्यापार अवरोधहरूलाई नरम पार्ने प्रयास गरेका थिए । दुई देश द्विपक्षीय व्यापार सम्झौता प्राप्त गर्ने तर्फ वार्ता सुरु गर्न पनि सहमत भए ।
मोदीले शुक्रबार एलन मस्कसँग कुरा गरेको र स्पेसएक्स सिइओसँग ‘प्रविधि र नवप्रवर्तनका क्षेत्रहरूमा सहकार्यको अपार सम्भावनाबारे छलफल गरेको’ र ‘भारत यी क्षेत्रहरूमा अमेरिकासँगको साझेदारी अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका थिए । भारत द्विपक्षीय व्यापार, प्रत्यक्ष विदेशी लगानी, रक्षा सहयोगका लागि अमेरिकाको नजिकको साझेदार हो भने इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभाव विरुद्ध लड्न एक महत्त्वपूर्ण रणनीतिक मित्र हो ।
यो संयुक्त राज्य अमेरिका, भारत, जापान र अस्ट्रेलियाबाट बनेको क्वाडको पनि एक हिस्सा हो । क्वाडलाई यस क्षेत्रमा चीनको विस्तार विरुद्ध सन्तुलनका रूपमा हेरिन्छ । एप्पल इङ्क र गुगल जस्ता प्रमुख अमेरिकी कम्पनीहरूले हालका वर्षहरूमा भारतमा आफ्नो सञ्चालन विस्तार गरेका छन् । गत महिना मस्कको स्टारलिङ्कले भारतका दुई शीर्ष टेलिकम अपरेटरहरूसँग उपग्रह–आधारित इन्टरनेट सेवाहरू प्रदान गर्न सम्झौता गरेको थियो ।
व्यापार सम्बन्धलाई थप बढावा दिन अमेरिका र भारतले अपेक्षित व्यापार सम्झौता अन्तर्गत सन् २०३० सम्ममा उनीहरूको द्विपक्षीय व्यापारलाई पाँच खर्ब डलरभन्दा बढी गरी दोब्बर बनाउने महत्त्वाकांक्षी लक्ष्य राखेका छन् । देशको अर्थतन्त्रलाई सुधार्ने र निर्यात–नेतृत्व पुनप्र्राप्तिका साथ रोजगारी सिर्जना गर्ने आशा गरेको मोदी सरकारका लागि यसले उल्लेखनीय चुनौती पेश गर्दछ । राससको सहयोगमा
८ वैशाख, काठमाडौं । गाजाको नागरिक सुरक्षा निकायका अनुसार आइतबार बिहानदेखि भएका इजरायली हवाई आक्रमणमा परी गाजा पट्टीमा कम्तीमा २५ जनाको ज्यान गएको छ, जसमा महिला र बालबालिका पनि परेका छन् । इजरायलले मार्च १८ देखि गाजामा फेरि हवाई र स्थल आक्रमण सुरु गरेको हो । त्यसअघि दुई महिनासम्म युद्धविराम कायम थियो । नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बास्सालले एएफपीलाई भने, “आज बिहानदेखि भएका आक्रमणमा २० जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन्, जसमा महिला र बालबालिका छन् ।”
यसपछि निकायले अर्को वक्तव्य जारी गर्दै राफाहको पूर्वी क्षेत्रमा सर्वसाधारणको समूहमाथि ड्रोन आक्रमण हुँदा थप पाँच जनाको मृत्यु भएको जनाएको छ । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले शनिबार युद्ध जारी राख्ने प्रतिबद्धता जनाउँदै बाँकी बन्धकहरूलाई उद्धार गर्ने बताएका छन् । “हामी युद्धको निर्णायक चरणमा छौं, अहिले धैर्य र दृढता आवश्यक छ,” उनले भने ।
गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलले आक्रमण पुनः सुरु गरेदेखि अहिलेसम्म गाजामा कम्तीमा एक हजार ८२७ जनाको ज्यान गएको छ । अहिलेसम्मको युद्धमा गाजामा कुल ५१ हजार २०१ जनाको मृत्यु भइसकेको छ, जसमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले विश्वसनीय मानेको छ ।
यो युद्ध अक्टोबर सन् २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको थियो। उक्त आक्रमणमा एक हजार २१८ जना इजरायली नागरिकको ज्यान गएको थियो । त्यतिबेला २५१ जना अपहरणमा परेका थिए, जसमा हालसम्म ५८ जना गाजामा बन्दी छन् भने ३४ जनाको मृत्यु भइसकेको इजरायली सेनाको भनाइ छ ।
७ वैशाख, काठमाडौं । रुस र युक्रेनले आइतबार एकअर्कामाथि युद्धविराम उल्लङ्घन (तोडेको) गरेको आरोप लगाएका छन् । यो युद्धविराम रूसी राष्ट्रपति पुटिनले धार्मिक पर्वको अवसरमा शनिबार साँझदेखि आइतबार रातिसम्मका लागि घोषणा गरेका थिए । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसी सेनाले युद्धविरामको समयमा पनि आक्रमण र गोलाबारी जारी राखेको बताए । उनका अनुसार, सुरु भएको ६ घण्टामै ३८७ पटक गोलाबारी र १९ पटक आक्रमण भएको , साथै २९० पटक ड्रोन प्रयोग गरिएको छ ।
रूसको रक्षा मन्त्रालयले युक्रेनले डोनेत्स्क क्षेत्रमा आक्रमण गरेको र रूसी सेनाले त्यसलाई रोकिदिएको दाबी गरेको छ । मन्त्रालयले युक्रेनबाट धेरै पटक गोलाबारी र ड्रोन आक्रमण भएको बताएको छ । पुटिनले यो युद्धविराम ’मानवीय कारण’ले घोषणा गर्नुभएको थियो, भने जेलेन्स्कीले पनि समर्थन जनाउँदै यसलाई ३० दिनसम्म लम्ब्याउने प्रस्ताव गरेका छन् । तर किभका केही बासिन्दाले रुसमाथि विश्वास गर्न नसकिने बताएका छन्। उनीहरूले शान्तिका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन् । (((
५ वैशाख, काठमाडौं । अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शुक्रबार गरेको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु भएको हुथी समूह निकट अल मसिराह टिभीले जनाएको छ । आक्रमणमा कम्तीमा १२५ जना घाइते भएका छन् । आक्रमणपछि दिइएको प्रारम्भिक जानकारीमा आक्रमणबाट हुथी समूहको नियन्त्रणमा रहेको इन्धन बन्दरगाह ध्वस्त भएको र कम्तीमा २० जनाको मृत्यु भएको बताइएको थियो । रास इसा इन्धन बन्दरगाहमा भएको आक्रमणको उद्देश्य इरान समर्थित हुथी विद्रोहीका लागि आपूर्ति र कोषको स्रोत बन्द गर्नु रहेको अमेरिकी सेनाले जनाएको छ ।
रेड सी र एडेनको खाडीमा रहेका असैन्य पानीजहाज र सैन्य जहाजमाथिको आक्रमणलाई अन्त्य गर्न सकियोस् भनी वासिङ्टनले मार्च १५ देखि हुथी विद्रोहीमाथि दैनिकजसो हवाई आक्रमण गर्दै आएको छ । विद्रोहीहरूले सन् २०२३ को अन्त्यतिर गाजामा प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउँदै आक्रमण सुरु गरेका थिए । इजरायली सेनाले अमेरिकी आक्रमणपछि यमनबाट आउँदै गरेको क्षेप्यास्त्रलाई रोकेको शुक्रबार जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सेनाले इरान समर्थित हुथी ‘आतङ्ककारी’का लागि इन्धनको यो स्रोतलाई समाप्त गर्न र उनीहरूलाई अवैध राजस्वबाट बञ्चित गर्न कदम चालेको छ । दश वर्षभन्दा बढी समयदेखि जहाजहरूलाई आतङ्कित पार्ने हुथी प्रयासविरूद्ध आर्थिक सहयोग गरेको छ ।” “यी आक्रमणको उद्देश्य हुथीको शक्तिको आर्थिक स्रोतलाई कमजोर पार्नु रहेको छ । हुथीले यमनमो शोषण जारी राखेका छन् र आफ्नो विरोधी यमनी नागरिकहरूलाई समेत ठूलो पीडा दिइरहेका छन्।”
वासिङटनले यस वर्षको सुरुमा विद्रोहीलाई विदेशी आतङ्कवादी सङ्गठन घोषणा गरे पनि अमेरिकी लगानीका जहाजहरूले ‘रास इसा’ बन्दरगाहमार्फत इन्धन आपूर्ति जारी राखेका छन्,” सैन्य कमान्डले इन्धनको स्रोत निर्दिष्ट नगरीकन उल्लेख गरेको छ । हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अलासबाहीले पाँच जना प्यारामेडिक्ससहित २० जनाको मृत्यु भएको पुष्टि भएपनि मृतकको सङ्ख्या यो भन्दा निकै बढी भएको बताए ।
“अमेरिकी आक्रमणपछि रास इसा तेल बन्दरगाह आक्रमणमा कम्तीमा ५० जना कामदार र कर्मचारीहरू घाइते भएका छन्,” उनले सामाजिक सञ्जाल एक्समा जारी सन्देशमा उल्लेख छ । उनले भने, “केही मृत शरीरका अंगहरुको पहिचान हुन बाँकी छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ।”
२ वैशाख, काठमाडौं । चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापार युद्ध गहिरो हुँदै जाँदा बेइजिङले आफ्ना एयरलाइन्सलाई अमेरिकी उड्डयन जायन्ट बोइङबाट जेटहरू डेलिभरी गर्न रोक्न भनेको मङ्गलबार एउटा रिपोर्टले जनाएको छ । जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेदेखि विश्वका दुई ठूला अर्थतन्त्र प्रतिक्रियात्मक भन्सार युद्धमा फसेका छन् ।
अमेरिकाले अब चीनबाट आयातमा १४५ प्रतिशतसम्म कर लगाएको छ । बेइजिङले वासिङ्टनको गैरकानूनी ‘धम्की’ भनेको कुरामा क्रोधित प्रतिक्रिया दिएको छ र थप वृद्धिलाई अर्थहीन भन्दै अमेरिकी आयातमा १२५ प्रतिशतको प्रतिशोधात्मक भन्सार शुल्क लगाएको छ । चीनले यस मामिलासँग परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै बोइङ विमानहरूको डेलिभरी रोक्न एयरलाइन्सलाई आदेश दिएको ब्लुमबर्ग न्युजले मङ्गलबार रिपोर्ट गरेको छ ।
बेइजिङले आफ्ना वाहकहरूलाई अमेरिकी कम्पनीहरूबाट विमानसम्बन्धी उपकरण र पुर्जाहरू खरिद गर्न निलम्बन गर्न पनि भनेको वित्तीय समाचार आउटलेटले मानिसहरूलाई रिपोर्ट गरेको छ । एएफपीले टिप्पणीका लागि बोइङ र चीनको विदेश मन्त्रालयलाई सम्पर्क गरेको छ । अमेरिकी आयातमा बेइजिङको प्रतिशोधात्मक भन्सार शुल्कले सम्भवतः विमान र घटकहरू ल्याउने लागतमा उल्लेखनीय वृद्धि गर्नेछ । ब्लुमबर्गले चिनियाँ सरकारले बोइङ जेट भाडामा लिने र उच्च लागतको सामना गर्ने क्यारियरहरूलाई सहयोग गर्ने विचार गरिरहेको बताएको छ ।
ट्रम्पको भन्सार शुल्कको आक्रमणले विश्व बजारहरूलाई हल्लाउनुका साथै मित्रराष्ट्र र विरोधीहरूसँगको कूटनीतिलाई उलटपुलट पारेको छ । अस्थिर अमेरिकी नेताले गत हप्ता थप वृद्धिमा अचानक रोकको घोषणा गरे तर बेइजिङलाई तत्काल कुनै राहत दिएनन् । अमेरिकी अधिकारीहरूले शुक्रबार स्मार्टफोन, सेमीकन्डक्टर र कम्प्युटर जस्ता उच्च–टेक सामानहरूका लागि चीन र अन्य विरुद्धको नयाँ भन्सार शुल्कबाट छुटको घोषणा गरेका छन् ।
२ वैशाश, काठमाडौं । यूक्रेनले अमेरिका समक्ष खनिज सम्बन्धी सम्भावित सम्झौताका लागि तयार पारिएका आफ्ना प्रस्तावहरू औपचारिक रूपमा प्रस्तुत गरेको छ। युक्रइन्फोर्म समाचार एजेन्सीका अनुसार, यो जानकारी यूक्रेनको पहिलो उपप्रधानमन्त्री तथा अर्थमन्त्री युलिया स्विरिडेन्कोले दिए । ‘हामीले किएभमा तयार गरेका सबै प्रस्तावहरू अमेरिकी पक्ष समक्ष स्पष्ट रूपमा राख्ने अवसर पाएका छौं, स्विरिडेन्कोले बताए ।
उनले केही कुरामा आपसी समझदारी भएको जानकारी दिँदै, आगामी दिनमा वाशिङ्टनसँगको संवाद निरन्तर चलिरहने विश्वास व्यक्त गरे । ‘यो अन्तिम चरण होइन, छलफल अझै अगाडि बढ्नेछ,’ उनले भने । यसबाहेक, इंटरफ्याक्स(यूक्रेन समाचार एजेन्सीका अनुसार, गत साता यूक्रेनबाट एक प्राविधिक टोली अमेरिका गएको थियो। उक्त टोलीले सम्भावित खनिज सम्झौतासम्बन्धी विषयहरूमा अमेरिकी पक्षसँग विस्तृत रूपमा विचार(विमर्श गर्ने अवसर पाएको थियो, जसले दुवै देशबीचको सहकार्यलाई अझ मजबुत बनाउने आशा गरिएको छ।
काठमाडौं । ६ महिलाको एक समूह ११ मिनेट लामो अन्तरिक्ष यात्राबाट सुरक्षित फर्किएको छ । टोलीमा पप गायिका, पत्रकार, वैज्ञानिक र फिल्म निर्माता सहित विभिन्न क्षेत्रका ६ महिला थिए । १४ अप्रिल अर्थात् वैशाख १ गते जेफ बेशोजको कम्पनी ब्लु ओरिजिनले पप गायिका केटी पेरी, पत्रकार गेल किङ, नागरिक अधिकारकर्मी एवम् वकिल अमान्डा इन्गुएन, नासाकी पूर्वरकेट वैज्ञानिक आइशा बोवे, फिल्म निर्माता क्यारियन फ्लिन र लरेन सान्चेजलाई अन्तरिक्ष यात्रा गराएको छ । बीबीसीका अनुसार अन्तरिक्षमा पुग्दा पप गायिका केटी पेरीले गीत गाएकी थिइन् ।
महिलाहरूको समूहले मात्र अन्तरिक्ष यात्रा गरेको यो पहिलोपटक हो । यसअघि सन् १९६३ मा रुसी अन्तरिक्ष यात्री भेलेन्टिना टेरेश्कोभाले एक्लै अन्तरिक्ष यात्रा गरेकी थिइन् । महिला टोलीलाई जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले ‘न्यु शेपर्ड–३१’ नामको रकेट मार्फत अन्तरिक्षमा पठाएको थियो । सो रकेटलाई अमेरिकाको पश्चिम टेक्सासस्थित ब्लु ओरिजिन कम्पनीको प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो ।
यो अन्तरिक्ष यान पूर्णरूपमा स्वचालित थियो । यसको अर्थ, अन्तरिक्ष यानभित्र यसलाई सञ्चालन गर्ने कोही चालक आवश्यक परेन । सो अन्तरिक्ष यानको अधिकतम गति २ हजार ३०० माइल प्रतिघण्टा थियो । यो ध्वनिको गतिभन्दा तीन गुणा बढी हो । महिलाहरुको समूह कार्मन रेखा पार गरेर पृथ्वीमा फर्किएका थिए । कार्मन रेखा एउटा काल्पनिक सीमा रेखा हो । यसलाई पृथ्वीको समुद्री सतहबाट १०० किलोमिटर माथिको बिन्दुको रूपमा परिभाषित गरिएको छ ।
यही बिन्दुबाट पृथ्वी छाडेर अन्तरिक्षको यात्रा सुरु हुन्छ । अर्थात्, यो बिन्दुलाई पृथ्वीको वायुमण्डलको अन्त्य र अन्तरिक्षको सुरुआत मानिन्छ । जो व्यक्ति यो सीमाभन्दा माथि यात्रा गर्छन्, उनीहरूलाई ‘अन्तरिक्ष यात्री’को दर्जा दिइन्छ । कार्मन रेखाको निर्धारण फेडेरेसन एरोनोटिक इन्टरनेशनलले गरेको हो । यो उचाइसम्म पुग्नुलाई अन्तरिक्ष सम्बन्धी अनुसन्धानको एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ ।
महिला टोलीले कार्मन सीमामा केही मिनेटसम्म गुरुत्वाकर्षण नहुने अवस्थाको अनुभव गर्नुका साथै अन्तरिक्षबाट पृथ्वीको अदभूत दृश्यको मजा लिएका थिए । यो यात्रा कुल ११ मिनेटको थियो । उनीहरू ७ मिनेटसम्म रकेटमा यात्रा गरेका थिए । ब्लु ओरिजिन कम्पनीका अनुसार यो मिसनको उद्देश्य मानिसहरुलाई अन्तरिक्ष पर्यटनप्रति आकर्षित गर्नु र त्यसमार्फत नयाँ पर्यटन उद्योग निर्माण गर्नु हो । साथै, यो प्रयासले ‘महिलाको विकास’मा केन्द्रित हुने र भावी पुस्तालाई प्रेरणा दिने बताइएको छ ।
३१ चैत, काठमाडौं । युक्रेनको उत्तरपूर्वी सहर सुमीमा आइतबार भएको रूसी मिसाइल आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना बालबालिकासमेत रहेको छ भने ८४ जना घाइते भएका छन् । सुमी सहर पछिल्ला केही सातादेखि लगातार रूसी आक्रमणको सामना गरिरहेको छ । स्थानीय अधिकारीहरूले घाइतेहरूमा १० जना बालबालिका पनि रहेका जनाएका छन् । घटनास्थलमा उद्धारकर्मीहरूले भग्नावशेष हटाउने काम गरिरहेका छन् । केही सवारी साधनमा आगलागी भएको र सडकमा लासहरू देखिएको भिडियो सार्वजनिक गरिएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमण ‘पाम सन्डे’ को दिन भएको भन्दै दुःख व्यक्त गरे । उनले युद्ध अन्त्यका लागि रुसमाथि अन्तर्राष्ट्रिय दबाब आवश्यक रहेको बताए । फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रों र अन्य युरोपेली नेताहरूले पनि यस आक्रमणको आलोचना गर्दै रुसले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको बताएका छन् । यसअघि अप्रिलको सुरुमा पनि युक्रेनको क्रिभी रिह सहरमा भएको आक्रमणमा १८ जनाको मृत्यु भएको थियो ।
रुसले हालै सुमी क्षेत्रको एउटा गाउँ कब्जा गरेको दाबी गरेको छ । युद्धको सुरुआतमा पनि रुसले यही क्षेत्रबाट आक्रमण थालेको थियो तर पछि युक्रेनी सेनाले केही भागहरू फिर्ता लिएको थियो । अहिलेसम्म रुसले सुमीमा भएको यो आक्रमणबारे आधिकारिक प्रतिक्रिया दिएको छैन ।
३० चैत, काठमाडौं । ट्रम्प प्रशासनले स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स सामानलाई ‘पारस्परिक’ करबाट छुट दिएको छ । यसले लोकप्रिय उच्च प्रविधियुक्त उत्पादनका लागि अमेरिकी उपभोक्तामा पर्ने लागत प्रभावलाई कम गरेको छ । अमेरिकी भन्सार तथा सीमा सुरक्षा कार्यालयले शुक्रबार राति जारी गरेको सूचनामा चीनबाट अमेरिका भित्रिने स्मार्टफोन र कम्पोनेन्टलगायत विभिन्न इलेक्ट्रोनिक सामानमा १४५ प्रतिशत थप कर लगाइएको थियो ।
सेमीकन्डक्टरहरूलाई अधिकांश अमेरिकी व्यापारिक साझेदारहरूमा ‘आधारभूत’ १० प्रतिशत कर र चीनमा थपिएको १२५ प्रतिशत करबाट पनि बाहिर राखिएको छ । यो प्रतिबन्धले राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिनाको सुरुमा घोषणा गरेको १० प्रतिशत र चीनबाट सामानमा दण्डित अतिरिक्त दर करको दायरालाई सङ्कुचित गरेको छ ।
ट्रम्पले विशेष गरी आफ्नो ‘पारस्परिक कर’ ले विशेष गरी चीनलाई लक्षित गरेको देखिएको छ र यो वाशिङ्गटनले अनुचित ठानेका अभ्यासहरूलाई सम्बोधन गर्नको लागि जारी गरिएको कर हो । हालै विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था (चीन) ले अमेरिकाबाट चीन आयात हुने सामानहरूमा यसै हप्तादेखि लागू हुनेगरी १२५ प्रतिशतको नयाँ कर शुरू गरेको छ ।
फेन्टानिल आपूर्ति श्रृङ्खलामा चीनको कथित भूमिका र अघिल्लो प्रशासनबाट अन्य विद्यमान करहरू माथि ट्रम्पले पहिले लगाएको २० प्रतिशत करको तुलनामा यो दर निकै माथि पुगेको छ । धेरै उत्पादनहरूको लागि पूर्ण आँकडा कम्तिमा १४५ प्रतिशतसम्म पुगेको छ । ‘हार्ड ड्राइभ’ र ‘कम्प्युटर प्रोसेसर’सहित धेरै छूट भएका उत्पादनहरू सामान्यतया अमेरिकामा बनेका छैनन् । ट्रम्पले कर लगाइएका ती सामानलाई अमेरिकामा उत्पादन गर्ने एक तरिकाको रूपमा करहरू जारी गर्नुभएको हो तर विकल्पमा घरेलु उत्पादन बढाउन सम्भवतः वर्षौं लाग्नेछ।
काठमाडौं । अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस एपी)का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन बालबालिका र तीन जना वयस्कको ज्यान गएको छ। उनीहरूको शव निकालिएको छ। हाम्रो समवेदना पीडित परिवारप्रति छ।’ घटनास्थलमै चार जनाको मृत्यु पुष्टि भएको र दुई जनालाई अस्पताल लगिएपछि मृत्यु प्रहरीले जनाएको छ ।
न्युयोर्क प्रहरीले सामाजिक सञ्जाल एक्समा दुर्घटनाबारे जानकारी दिँदै लेखेको छ, ‘वेस्ट साइड हाईवे र स्प्रिङ स्ट्रिट आसपासको क्षेत्रमा हेलिकोप्टर दुर्घटनाका कारण आपतकालीन सवारीसाधन र ट्राफिकमा ढिलाइको सम्भावना छ।’ न्युयोर्क सिटी फायर डिपार्टमेन्टका अनुसार दिउँसो करीब ३ः१५ बजे वेस्ट ह्युस्टन स्ट्रिट र वेस्ट स्ट्रिट नजिक पियर ४० को आसपास हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा बेल २०६ मोडेलको हेलिकोप्टर दुर्घटनापछि पल्टिएको देखिन्छ, र केहीबेरमा पूरै पानीमा डुबेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन्, ‘हडसन नदीमा भएको हेलिकोप्टर दुर्घटना निकै भयावह छ। पाइलट, दुई वयस्क र तीन बालबालिकासहित ६ जनाको ज्यान गएको देखिन्छ। दुर्घटनाको भिडियो निकै पीडादायक छ। पीडित परिवारप्रति हाम्रो प्रार्थना छ।’ उनले अमेरिकाका यातायात सचिव सीन डफी र उनकी टिम यस विषयमा सक्रिय रहेको जानकारी पनि दिए।
२९ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा वासिङ्टनको थप दर १४५ प्रतिशत पुगेको ह्वाइट हाउसले पुष्टि गरेको छ । ट्रम्पको एक आदेशअनुसार ह्वाइट दर्जनौं देशका लागि ९० दिनका लागि थप कर वृद्धिको योजनालाई थाति राखेपनि चीनविरूद्ध लगातार कर वृद्धिको घोषणा गरेको छ । उनलेचिनियाँ आयातमा नयाँ करको घोषणा गर्दै कुल कर दर १२५ प्रतिशत पु¥याएका हुन् । यो आँकडा फेन्टानिल आपूर्ति श्रृङ्खलामा चीनको कथित भूमिकालाई लिएर यस वर्षको सुरुमा २० प्रतिशत अतिरिक्त शुल्क लगाएमाथि थपिएको हो ।
यससँगै ट्रम्पले यस वर्ष चिनियाँ उत्पादनमा लगाएको कुल कर १४५ प्रतिशत पुगेको छ । तर वासिङ्टनले अनुचित ठानेका अभ्यासलाई सम्बोधन गर्ने उद्देश्यले चीनबारे पछिल्लो १२५ प्रतिशतको आँकडामा उल्लेखनीय बहिष्करणहरू समावेश छन्। यसमा स्टिल र आल्मुनियमको आयात साथै सवारी साधनजस्ता उत्पादनहरू समावेश गरिएको छैन । ट्रम्पले आफ्नो फरक फरक कार्यकालमा अलग–अलग गरी २५ प्रतिशत कर लगाएका थिए । यो सङ्ख्या तामा, फार्मास्युटिकल्स, सेमीकन्डक्टर, काठ र ऊर्जा उत्पादनजस्ता सामानहरूमा पनि लागू हुँदैन ।
यी सबै कुराले वासिङ्टन र बेइजिङबीच तनाव बढिरहेका बेला पनि करको स्तरको जटिल चित्र प्रस्तुत गरेको छ । राष्ट्रपति ट्रम्पले चिनियाँ सामानको आयातमा बुधवार ९ एप्रिलदेखि १०० प्रतिशतभन्दा बढी कर लगाउने चेतावनी दिएसँगै दुई देशबीच पूर्ण स्तरको ‘व्यापार युद्ध’ हुने सम्भावना देखिएको छ। चीनले अमेरिकासँग नझुक्ने र ‘अन्तिमसम्म लड्ने’ बताएको छ। अमेरिकी निर्णयको जबाफ दिँदै चीनले पनि अमेरिकी सामानको आयातमा कडाइ गरेको छ।
अमेरिका र चीनबीच विश्वका शीर्षस्थ अर्थतन्त्र हुन्। गत वर्ष करिब ती दुई देशबीच ५८५ अर्ब अमेरिकी डलरको सामान व्यापार भएको थियो। अमेरिकाले चीनबाट धेरै आयात गरेको थियो। अमेरिकाले ४४० अर्ब अमेरिकी डलरको आयात गर्दा चीनले अमेरिकाबाट केबल १४५ अर्ब अमेरिकी डलरको सामान मात्रै आयात गरेको थियो।
ट्रम्पले आफू पहिलो पटक राष्ट्रपति हुँदा पनि चीनबाट हुने आयातमा उल्लेखनीय कर लगाएका थिए । यसलाई उना उत्तराधिकारी जो बाइडेनले पनि निरन्तरता दिए । ती दुवै ‘व्यापार अवरोध’ले अमेरिकामा चीनबाट हुने आयात कम गर्न सघाए। परिणामस्वरूप सन् २०१६ मा कुल अमेरिकी आयातको १६ प्रतिशत हिस्सा ओगटेको चिनियाँ आयात गत वर्ष १३ प्रतिशतमा सीमित रह्यो।
काठमाडौं । इजरायली हवाई आक्रमणले गाजा सिटीको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ र ५० भन्दा बढी घाइते भएका छन् । यसैगरी, मलबामा केही मानिसहरू फसेका गाजा सिभिल डिफेन्सले जनाएको छ । गाजा सिभिल डिफेन्सका प्रवक्ता महमूद बसलले उद्धार टोलीहरूले मलबामा फसेका जीवित र मृतकहरूलाई निकाल्ने काम गरिरहेका बताए ।
फिलिस्तीनी सुरक्षा स्रोतहरूले आक्रमणले आठ वटा घरलाई निशाना बनायो, जसले पुरै क्षेत्रलाई नष्ट गरेको छ । इजरायली सेनाले यस बारेमा केही बोलेको छैन । गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार चौबिस घण्टामा ३६ शव र ४१ घाइते व्यक्तिहरू अस्पतालमा ल्याइएका छन् । गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार इजरायलले १८ मार्चमा सैन्य कारबाही सुरु गरेपछि एक हजार ४८२ प्यालेस्टिनीको मृत्यु भएको छ भने तीन हजार ६८८ घाइते भएका छन् ।
साथै, इजरायली आक्रमणले नुसेइरात शहरमा दुई जनाको मृत्यु भएको र एक जनालाई घाइते बनाएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा कम्तीमा ५० हजार ८४६ प्यालेस्टिनीको मृत्यु भएको छ । मन्त्रालयले मृतकमध्ये कति नागरिक वा लडाकूहरू थिए भनेर बताउँदैन । इजरायली आक्रमणमा थप एक लाख १५ हजार सात सय २९ जना घाइते भएको मन्त्रालयले बताएको छ । इजरायलले कुनै प्रमाण नदिई करिब २० हजार लडाकू मारिएको बताएको छ ।
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार संयुक्त राज्य अमेरिकाले इरानसँग उसको आणविक कार्यक्रमलाई लिएर प्रत्यक्ष, उच्चस्तरीय वार्ता सुरु गर्न गइरहेको घोषणा गरेका छन् । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको ह्वाइट हाउस बैठकमा यो आश्चर्यजनक घोषणा गरेका हुन् । सोमबार ओभल अफिसमा बोल्दै ट्रम्पले तेहरानसँग सम्झौतामा पुग्ने आशावादी रहेको तर वार्ता असफल भएमा इरान ‘ठूलो खतरामा’ पर्ने चेतावनी दिए ।
तेहरानले ओमानमा शनिबारका लागि छलफल तय भएको पुष्टि गरेको छ तर ती ‘अप्रत्यक्ष’ वार्ता थिए । इरानी समाचार एजेन्सी तस्निमका अनुसार विदेशमन्त्री अब्बास अराघची र मध्यपूर्वका लागि शीर्ष अमेरिकी दूत स्टिभ विटकफले वार्तामा भाग लिनेछन् । “यो जति एउटा परीक्षा हो त्यति नै एउटा अवसर पनि हो”, अराघचीले एक्समा लेखेका छन्, बल अमेरिकाको कोर्टमा छ ।”
अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१८ मा आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा अघिल्लो सम्झौताबाट हात झिकेका थिए । कुनै नयाँ सम्झौता हुन नसकेमा सम्भवतः अमेरिकी सहयोगमा इजरायलले इरानी सुविधाहरूमा आक्रमण गर्न सक्ने व्यापक अनुमान छ । यसैबीच अधिकारीहरूले रुस, चीन र इरान मङ्गलबार मस्कोमा इरानी आणविक मुद्दामा परामर्श गर्न तयार रहेको बताएका छन् । नेतन्याहु व्यक्तिगत रूपमा विश्वलाई हल्लाउने अमेरिकी करबाट मुक्तिका लागि अनुरोध गर्ने पहिलो विदेशी नेता बनेपछि ट्रम्पको यस्तो खुलासा भएको हो ।
२६ चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आज आयोजित जनसङ्ख्या तथा विकास आयोगको ५८औँ सत्रलाई सम्बोधन गरेका छन् । त्यस अवसरमा मन्त्री पौडेलले पछिल्ला तीन दशकमा नेपालले मातृ तथा सुत्केरीसँग सम्बन्धित मृत्युमा महत्वपूर्ण प्रगति हासिल गरेको बताए । दक्षता तथा परिवार नियोजनका साधनको प्रयोगमा वृद्धि तथा प्रजनन क्षमता र किशोरावस्थाको जन्मदरमा कमी तथा बालविवाह घटाउनसमेत नेपालले सफलता पाएको मन्त्री पौडेलले बताए ।
“नेपाल आफ्नो स्वास्थ्य प्रणाली सबल बनाएर हरेक नागरिकलाई स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिबद्ध छ”, मन्त्री पौडेलले भने, “तर, यो हामी एक्लैले मात्र गर्न सम्भव छैन ।” उनले अन्तरराष्ट्रिय सहकार्य र ऐक्यबद्धताबाट मात्र सम्भव रहेकामा जोड दिए । स्वास्थ्य क्षेत्रमा बजेटको सीमितता तथा प्रतिव्यक्ति स्वास्थ्य खर्च विश्वव्यापी दरका तुलनामा कम भएका कारण ग्रामीण क्षेत्रमा पर्याप्त पूर्वाधार विकास तथा स्वास्थ्य संस्थाको कमी हुनाले स्वास्थ्य पहुँचमा कठिनाइ भोग्नु परेको मन्त्री पौडेलको भनाइ थियो ।
जलवायु परिवर्तनका कारण नेपालको स्वास्थ्य क्षेत्रले कठिनाइ बेहोर्नु परेको बताए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको निजी सचिवालयका अनुसार विकास सहायतामा कमीका कारण नेपालजस्ता देशले चुनौतीको सामना गर्नुपरिरहेको उनले बताए । “यो समस्या सम्बोधन गर्न हामी नेपाललाई विकास सहायता वृद्धिका लागि विशेष जोड दिन्छौँ”, मन्त्री पौडेलले भने, निजी क्षेत्रको पनि स्वस्थ्य क्षेत्रमा लगानी वृद्धि जरुरी रहेकामा मन्त्री पौडेलले जोड दिए । रासस
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई नयाँ चेतावनी दिएका छन् । उनले चीनलाई थप ५० प्रतिशत महसुल थप गर्ने चेतावनी दिएका हुन् । चीनले ३४ प्रतिशत ट्यारिफ अमेरिकामाथि लगाएको छ । यो फिर्ता नलिए अमेरिकाले ५० प्रतिशत ट्यारिफ लगाउने उनको चेतावनी छ ।
अमेरिकी राष्ट्रपति कार्यालयले जनाए अनुसार ९ अप्रिलबाट चीनदेखि आउने सामानमा ३४ प्रतिशत महसुल लाग्ने छ । चीनले शुक्रबार अमेरिकामाथि समेत सोही दरमा महसुल लगाउने निर्णय गरेको छ । त्यस निर्णयप्रति ट्रम्प आक्रोसित बनेका हुन् । ट्रम्पले आफ्नै सामाजिक संजाल ट्रुथ सोशलमा लेख्दै आफ्ना नीतिको बचाउ गरेका छन् ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ । अमेरिकाले १ सय भन्दा बढी देशमा रेसिप्रोकल महसुल घोषणा गरेको थियो । यसको असर सेयर बजारमा देखिएको छ । यसबारे राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘म कुनै पनि क्षेत्रमा गिरावट चाहँदिन, तर केही चिज ठिक गर्न औषधिको आवश्यकता पर्छ ।’
अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार व्यापार साझेदार मुलुकसँग अमेरिकाले चर्को महसुल लगाउन थालेसँगै त्यसको असर सेयर बजारमा देखिएको छ । तर, यसले अमेरिकामा रोजगार बढेको र लगानी थपिएको दावि राष्ट्रपति ट्रम्पको छ । अब विश्व छिट्टै अमेरिकासँग नराम्रो व्यवहार गर्न छाड्ने उनको भनाई छ ।
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५८ सभामा भाग लिन आइतबार न्युयोर्क पुगेका छन् । मन्त्री पौडेललाई संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत दूतावासका कर्मचारीले स्वागत गरे ।
मन्त्री पौडेलको स्वागतका लागि जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट तथा महासचिव मुनेन्द्र नेमवाङ विमानस्थल पुगेका थिए । मन्त्री पौडेलले सोमबार र मङ्गलबार हुने उच्चस्तरीय बैठकमा भाग लिने संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नियोगले जनाएको छ ।
काठमाडौं । संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार राष्ट्रिय मौसम सेवाले शनिबार आँधीको चेतावनी जारी गरेको थियो । अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधीबेहरीले भवनहरूमा क्षति पुर्याएको छ । सडकहरू बाढीमय भएको र हालैका दिनहरूमा दर्जनौँ चक्रवात उत्पन्न भएका छन् । टेनेसी राज्यको पश्चिमी भागमा १० जनाको मृत्यु भएको राज्यका अधिकारीहरूले बताएका छन् । केन्टुकी राज्यका गभर्नर एन्डी बेशियरका अनुसार बाढीका कारण एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
सामाजिक तथा स्थानीय सञ्चारमाध्यममा शेयर गरिएका तस्वीरमा आँधीका कारण कैयौँ राज्यमा व्यापक क्षति पुगेको, घरहरू भत्किएको, रुखहरु ढलेको, बिजुलीको तार ढलेको र कारहरु पल्टिएको देखिएको छ । राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) ले मध्य–पूर्वी क्षेत्रका केही भागहरूमा आइतबारसम्म ‘व्यापक रूपमा आकस्मिक बाढी” आउन सक्ने चेतावनी दिँदै ‘जनजीवन र भौतिक संरचनामा क्षति हुने ठुलो खतरा रहेको’ चेतावनी दिएको छ ।
आँधीका कारण मिसौरीमा दुई र इन्डियानामा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले जनाएका छन् । अर्कान्सास राज्यको लिटिल रकस्थित एक घरमा पाँचवर्षीय एक बालक मृत अवस्थामा फेला परेको राज्यको आपतकालीन व्यवस्थापन निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अर्कान्सास र टेनेसीमा आइतबार बिहानसम्म एक लाखभन्दा बढी ग्राहक विद्युतविहीन रहेको ट्र्याकिङ वेबसाइट पावर आउटेज डट कमले जनाएको छ ।
एनडब्लुएसले टेनेसी भ्याली र लोअर मिसिसिपी भ्यालीका केही भागमा आइतबार मध्यमदेखि गम्भीर आँधीबेहरी आउन सक्ने जनाएको छ । वैज्ञानिकहरूका अनुसार ग्लोबल वार्मिङले जलवायु परिवर्तन र पानीको चक्रलाई बिथोलिरहेको छ, जसले चरम मौसमलाई बारम्बार अधिक क्रूर बनाइरहेको छ । गत वर्ष संयुक्त राज्य अमेरिकामा उच्च तापमानको अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको थियो भने चक्रवात र विनाशकारी आँधीबेहरीको असरले प्रभावित तुल्याएको थियो । राससरएएफपीसंयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रिय मौसम सेवाले शनिबार आँधीको चेतावनी जारी गरेको थियो ।
अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधीबेहरीले भवनहरूमा क्षति पुर्याएको, सडकहरू बाढीमय भएको र हालैका दिनहरूमा दर्जनौँ चक्रवात उत्पन्न भएका छन् । टेनेसी राज्यको पश्चिमी भागमा १० जनाको मृत्यु भएको राज्यका अधिकारीहरूले बताएका छन् । केन्टुकी राज्यका गभर्नर एन्डी बेशियरका अनुसार बाढीका कारण एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
सामाजिक तथा स्थानीय सञ्चारमाध्यममा शेयर गरिएका तस्वीरमा आँधीका कारण कैयौँ राज्यमा व्यापक क्षति पुगेको, घरहरू भत्किएको, रुखहरु ढलेको, बिजुलीको तार ढलेको र कारहरु पल्टिएको देखिएको छ । राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) ले मध्य–पूर्वी क्षेत्रका केही भागहरूमा आइतबारसम्म ‘व्यापक रूपमा आकस्मिक बाढी” आउन सक्ने चेतावनी दिँदै ‘जनजीवन र भौतिक संरचनामा क्षति हुने ठुलो खतरा रहेको’ चेतावनी दिएको छ ।
आँधीका कारण मिसौरीमा दुई र इन्डियानामा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले जनाएका छन् । अर्कान्सास राज्यको लिटिल रकस्थित एक घरमा पाँचवर्षीय एक बालक मृत अवस्थामा फेला परेको राज्यको आपतकालीन व्यवस्थापन निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।