Category: अमेरिका

  • बीबीसीको खुलासा : अफगानिस्तानबाट ५ लाख हतियार गायब

    बीबीसीको खुलासा : अफगानिस्तानबाट ५ लाख हतियार गायब

    काठमाडौं । अफगानिस्तानबाट पाँच लाख थान अमेरिकी हतियार गायब भएको बीबीसीले एक विशेष खुलासा गरेको छ । सूत्रलाई उद्धृत गर्दै बीबीसीले भनेको छ– ती हतियार बिक्री वा तस्करी भएको छ । संयुक्त राष्ट्रसंघका केही अधिकारीका अनुसार गायब भएकामध्ये केही हतियार अलकायदासँग सम्बन्धित चरमपन्थी संगठनसम्म पुगेको आशंका छ ।

    तालिबानले सन् २०२१ मा अफगानिस्तानलाई फेरि नियन्त्रणमा लिँदा करिब १० लाख थान सैन्य हतियार र सामग्रीहरुको भण्डार थियो । त्यसमा धेरैजसो अमेरिकाको वित्तीय सहायतामा खरिद गरिएको थियो । त्यसमा अमेरिकामा निर्मित एम फोर र एम सिक्सटिन राइफलसहित अफगानिस्तानका पुराना हतियारहरु पनि सामेल थिए ।

    तालिबानले सन् २०२१ मा अफगानिस्तान कब्जा गर्दा अफगान सैनिकहरुले आफ्ना हतियार र बाहनहरु सहित आत्मसमर्पण गरेका थिए । अमेरिकी सैनिकहरुले पनि आफ्ना केही हतियार र सैन्य उपकरणहरु छाडेर फर्किएका थिए । बीबीसीका अनुसार दोहामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको प्रतिबन्ध समितिको बैठकमा तालिबान नेताले आधा हतियार र सैन्य उपकरण गायब भएको स्वीकार गरेका छन् । जुन करिब पाँच लाख हाराहारी हो ।

  • अमेरिकामा ट्रम्पविरुद्ध किन हुँदैछ विशाल प्रदर्शन ?

    अमेरिकामा ट्रम्पविरुद्ध किन हुँदैछ विशाल प्रदर्शन ?

    काठमाडौं । अमेरिकामा राष्ट्रपति ट्रम्प विरुद्ध विशाल प्रदर्शनहरु सुरु भएका छन् । यस्तो प्रदर्शन देशैभर भइरहेको बीबीसीले जनाएको छ । राष्ट्रपति पद सम्हालेयता ट्रम्पले यति ठूलो विरोध प्रदर्शनको सामना गरेका हुन् । प्रदर्शन ५० राज्यका १२ सय भन्दा बढी स्थानमा भइरहेको छ । प्रदर्शनकारीले सामाजिक तथा आर्थिक मुद्दामा ट्रम्पले लिएको नीतिको आलोचना गरिरहेका छन् ।

    खासगरी ट्रम्पले विश्प व्यापार नै प्रभावित हुने गरी लिएका कर नीतिको बढी आलोचना भइरहेको छ । अमेरिकासँगै विदेशमा समेत ट्रम्पको विरोधमा प्रदर्शन भएका छन् । जसमा लण्डन, पेरिस र बर्लिनमा समेत विरोध प्रदर्शन भएको खबर छ । आप्रवासन नीतिसँग सम्बन्धित विषयमा समेत ट्रम्पको आलोचना तथा विरोध भइरहेको छ । प्रदर्शनका दौरान इलन मस्कको समेत व्यापक विरोध भइरहेको छ ।

  • ट्रम्पले नयाँ महसुल घोषणा गर्दै के भने ? यी हुन सम्बोधनका मूख्य ६ बुँदा

    ट्रम्पले नयाँ महसुल घोषणा गर्दै के भने ? यी हुन सम्बोधनका मूख्य ६ बुँदा

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार व्यापक नयाँ भन्सार महसुल घोषणा गरे । यसलाई उनले ‘मुक्ति दिवस’ भनेका छन् । नयाँ भन्सार महसुलहरूले विश्वव्यापी व्यापार युद्ध निम्त्याउन सक्ने भन्दै विश्वव्यापी बहस सुरु भएको छ । अमेरिकाले नेपालमाथि १०) प्रतिशत मात्र महसुल लगाउने भएको छ । यस क्रममा उनले गरेको सम्बोधनका मूख्य ६ बुँदा

    अटो मोवाइलमा २५ प्रतिशत महसुल : अमेरिकाले विदेशमा बनेका गाडीमा २५ प्रतिशत भन्सार महसुल लगाउनेछ। यसअघि अमेरिका अन्य देशहरूबाट आयात हुने मोटरसाइकलमा मात्र २.४ प्रतिशत भन्सार महसुल लिन्थ्यो । भारतले ६० प्रतिशत, भियतनामले ७० प्रतिशत र अन्य देशहरूले अझ बढी भन्सार महसुल लिने गरेका छन् ।
    अमेरिका सबैभन्दा धनी देश बन्छ : ट्रम्पले नयाँ भन्सार महसुल दर सार्वजनिक समारोहमा यो निर्णयले अमेरिकालाई फाइदा हुने बताए । ‘अब अमेरिका संसारको कुनै पनि देशभन्दा धनी हुनेछ। आज हामी अमेरिकी कामदारहरूको पक्षमा उभिएका छौँ। अन्ततः हामी ‘अमेरिका फर्स्ट’ नीति लागू गर्दैछौँ,’ उनले भने ।

    भन्सार महसुलबाट बच्न अमेरिका मै उत्पादन गर्नुपर्ने : अब अमेरिका भन्सार महसुलको मामलामा बराबरीको जवाफ दिने ट्रम्पले बताए । ‘जुन देशहरूले अमेरिकी बजारसम्म पहुँच चाहन्छन्, तिनीहरूले यसको मूल्य चुकाउनुपर्नेछ’ उनले भने, ‘जो कोही भन्सार महसुलबाट छुट चाहन्छ, उसले अमेरिका मै उत्पादन गर्नुपर्नेछ।’

    रोजगारी र उद्योगहरू अमेरिका फर्किनेछन् : ट्रम्पका अनुसार धेरै देशहरूले अमेरिकी बजारको फाइदा उठाएर आफूलाई समृद्ध बनाए, तर अमेरिकी सामानका लागि आफ्ना बजार बन्द गरे। ‘अब अमेरिका पनि आफ्नै फाइदाबारे सोच्नेछ। रोजगारी र उद्योगहरू अमेरिका फर्कनेछन्,’ उनले भने ।

    क्यानाडाको डेरी भन्सार महसुल अन्यायपूर्ण : क्यानाडाले डेरी उत्पादनहरूमा अत्यधिक भन्सार महसुल लगाएको ट्रम्पले गुनासो गरे ।’यो अमेरिकी किसानहरूका लागि अन्यायपूर्ण छ,’ उनले भने । उनले अगाडि थपे, ‘अमेरिका क्यानाडा र मेक्सिको जस्ता देशहरूलाई आफ्ना उद्योग जोगाउन अनुदान दिंदै आएको छ। अब हामी आफ्ना किसान र पशुपालकहरूको हकका लागि उभिनेछौँ।’

    अमेरिकी आर्थिक स्वतन्त्रताको दिन : ट्रम्पले नयाँ भन्सार महसुल घोषणा भएको दिनलाई अमेरिकाको मुक्ति दिवसको रूपमा चित्रित गरे । ‘आजको दिन अमेरिका आर्थिक रूपमा स्वतन्त्र हुने दिन हो। हामी ‘जस्तालाई तस्तै भन्सार महसुल’ घोषणा गर्दैछौँ, जसअनुसार कुनै देशले अमेरिकामाथि जति शुल्क लगाउँछ, अमेरिका पनि उसैमाथि त्यति नै शुल्क लगाउनेछ ।’

  • ट्रम्पले सार्वजनिक गरे रेसिप्रोकल महसुल, नेपाललाई १० प्रतिशत मात्र

    ट्रम्पले सार्वजनिक गरे रेसिप्रोकल महसुल, नेपाललाई १० प्रतिशत मात्र

    २१ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल, भारतसहित कैयौं मुलुकका लागि रेसिप्रोकल महसुलको घोषणा गरेका छन् । नेपालका लागि अमेरिकाले १० प्रतिशत महसुल घोषणा गरेको छ । जुन धेरै विकसित मुलुकको तुलनामा कम हो । विज्ञहरुले नेपालले यस नीतिबाट लाभ लिन सक्ने बताएका छन् । ह्वाइट हाउसले १ सय देशको सूची सार्वजनिक गरेको छ । जसमा रेसिप्रोकल ट्यारिफ घोषणा गरिएको छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘आज स्वतन्त्रता दिन हो, जसको अमेरिकाले लामो समयदेखि प्रतिक्षा गरिरहेको थियो ।’ आजको दिन अमेरिकाका पुर्नजन्म भएको समेत उनको भनाई छ । अमेरिकी नीतिको फाइदा उठाउँदै विदेशी नागरिकले कमाइरहेको आरोप समेत उनले लगाए । अमेरिक ५० सालदेखि ठगिँदै आएको समेत उनको भनाई छ । अमेरिकाले भारतका लागि २५ प्रतिशत, बेलायतलाई १० र यूरोपेली संघलाई २० प्रतिशत महसुल घोषणा गरेको छ ।

    कतिपय देशमा ५० प्रतिशत महसुल घोषणा गरिएको छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भनेका छन्, ‘तिमी मेरो साथि हौ, तर हाम्रो लागि तिमीले ठिक गरिरहेका छैनौं ।’ किनकी भारतले अमेरिकी सामानमा ५२ प्रतिशत महसुस लगाउँछ । घोषित महसुलमध्ये कतिपय आजै रातीबाट लागू हुने समेत बताइएको छ ।

  • नेपाल आउने पर्यटकको तेस्रो स्थानमा अमेरिकी, पहिलो स्थानमा भारतीय

    नेपाल आउने पर्यटकको तेस्रो स्थानमा अमेरिकी, पहिलो स्थानमा भारतीय

    काठमाडौं । नेपालमा घुमफिरमा आउने पर्यटकमध्ये तेस्रो स्थानमा अमेरिकी नागरिक छन् । नेपाल पर्यटन बोर्डले मंगलबार मार्च २०२५ को पर्यटक आगमनको संख्या सार्वजनिक गरेको छ । जसमा पहिलो स्थानमा भारतीय छन् । दोस्रो स्थानमा चिनियाँ नागरिक रहेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२५ मा १ लाख २१ हजार ६ सय ८७ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो २०२४ को तुलनामा ५.१ प्रतिशत कम हो । अघिल्लो वर्ष मार्चमा १ लाख २८ हजार १ य ७१ पर्यटक आएको बोर्डको तथ्यांक छ ।

    २०१९ को तुलनामा समेत यस वर्ष पर्यटक आगमन खस्किएको छ । त्यो बेला १ लाख २७ हजार ३ सय ५१ पर्यटक नेपाल आएको देखिएको थिए । भारत सहित दक्षिण एसियाली भेगकै पर्यटक आगमन खस्किएपछि त्यसको असर पर्यटक आगमनमा देखिएको हो । मार्चमा दक्षिण एसियाली देशबाट अघिल्लो वर्ष ४० हजार ७ सय २७ र यस वर्ष ३५ हजार २ सय ८७ पर्यटक आएका छन् । जुन १३।४ प्रतिशत कम हो ।

    उता, युरोपबाट हुने आगमन समेत यस महिना १०.५ प्रतिशतले खस्किएको छ । मध्यपूर्वबाट आउने पर्यटक संख्यामा भने ७९ प्रतिशतको बढोत्तरी देखिएको छ । अमेरिकी पर्यटक आगमनमा समेत सामान्य सुधार देखिएको छ । यस्तै प्रवृत्ति फेब्रुअरी २०२५ मा समेत देखिएको थियो । मार्च २०२५ मा सबैभन्दा धेरै भारतीय पर्यटक आउँदा दोस्रो नम्बरमा चिनियाँ छन् ।

    यस महिना ११ हजार ४ सय ४३ चिनियाँ आएका छन् । अमेरिकी पर्यटक तेस्रो स्थानमा छन् । यस महिनामा ११ हजार ९२ जना अमेरिकी आएका छन् । चौथोमा श्रीलंकन देखिएका छन् । श्रीलंकाबाट ८ हजार ८ सय ८६ पर्यटक नेपाल आएका छन् । पाँचौं स्थानमा बेलायत छ । त्यहाँबाट ५ हजार ९ सय ९५ जना आएका छन् ।

  • माइतिघरमा राजा चाहियो भन्दै उत्रिएका अमेरिकी नागरिक पक्राउ

    माइतिघरमा राजा चाहियो भन्दै उत्रिएका अमेरिकी नागरिक पक्राउ

    काठमाडौं । राजा चाहियो भन्दै आन्दोलनमा उत्रिएका अमेरिकी नागरिक पक्राउ परेका छन् । माइतीघरमा केही नेपाली नागरिकहरूसहित राजसंस्थाका पक्षमा नारा लगाइरहेका बेला अमेरिकी नागरिक जुलियन किर्पाल ब्लिसलाई प्रहरीले पक्राउ गरेको हो । उनी नेपालमा भने आफूलाई जयानन्द कृपाका रूपमा चिनाउने गरेको पाइएको छ । उनलाई प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका सुचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराका अनुसार राजनीतिक विषयमा समेत विरोध जनाई आक्रामक भएपछि उनलाई नियन्त्रणमा लिइएको हो । ब्लिस ‘कृपया शुद्ध शाकाहारी भोजन खानुहोस्, प्लास्टिक जलाउने र फ्याँक्ने कार्य अपराध हो । त्यसैले सधैं प्लास्टिकलाई अस्वीकार गर्न बोतल र कन्टेनर प्रयोग गर्नुहोस्’ ब्यानरसहित माइतीघरमा माइकिङ गर्दै बसेका थिए । एक्कासि उनले राजसंस्थाका बारेमा नारा लगाउँदै सरकारको विरोध गरेका थिए ।

    ‘भ्रष्ट सरकार खारेज गरौँ’ लेखिएको प्लेकार्डसमेत उनले बोकेका थिए । ब्लिसले ‘टेन मिलियन काउज’ नामक अभियानसमेत चलाउँदै आएका छन् । यही नामबाट चलाइएको फेसबुक पेजमा उनी नेपालमा विभिन्न ठाउँमा गई शाकाहारी अभियान चलाएका तस्बिर पनि पोस्ट भएका छन् । त्यस्तै विभिन्न जिल्लाका विद्यालय र प्रहरी अधिकारीहरूसँगको तस्बिर पनि सामाजिक सञ्जालमा छ ।

  • अमेरिका आयात हुने कार र पार्टपूर्जामा ट्रम्पले लगाए २५ प्रतिशत महसुल, ट्रेडवार अझ बढ्ने आशंका

    अमेरिका आयात हुने कार र पार्टपूर्जामा ट्रम्पले लगाए २५ प्रतिशत महसुल, ट्रेडवार अझ बढ्ने आशंका

    १४ चैत, काठमाडौं । अमेरिका आयात हुने कार र पार्टपूर्जामा राष्ट्रपति डोनाल्ड ट्रम्पले २५ प्रतिशत कर घोषणा गरेका छन् । यसले ट्रेडवार बढ्ने आशंका गरिएको छ । बीबीसीका अनुसार विश्वभरबाट अमेरिका भित्रिने कार र पार्टपूर्जामा सो कर लाग्ने छ । यो २ अप्रिलबाट लागु हुने गरी घोषणा गरिएको छ । यस कदमबाट अमेरिकी कार बजारमा बढोत्तर हुने ट्रम्पको अपेक्षा छ । यसले अमेरिकामा लगानी र रोजगार बढाउने समेत अपेक्षा गरिएको छ ।

    यस कदमबाट कतिपय कार उद्योगमा प्रभाव पर्ने आंकलन गरिएको छ । यसले सहयोगी मुलुकबीच तनाव बढ्न सक्ने आशंका गरिएको छ । अमेरिकाले गत वर्ष मात्र ८० लाख कार आयात गरेको थियो । जुन २४० बिलियन डलर बराबरको व्यापार आयतन हो । अमेरिकामा सबैभन्दा धेरै मेक्सिकोबाट कार आयात हुन्छ । यसबाहेक कोरिया, जापान, क्यानडा, जर्मनीलगायत मुलुकबाट कार आायत हुने गरेको छ ।

  • गोप्य जानकारी चुहावटमा अमेरिकी सुरक्षा सल्लाहकारले लिए जिम्मेवारी

    गोप्य जानकारी चुहावटमा अमेरिकी सुरक्षा सल्लाहकारले लिए जिम्मेवारी

    काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले सैन्य आक्रमणबारे गोप्य सूचना चुहावटमा जिम्मेवारी लिएका छन् । उनले यमनमा सैन्य आक्रमणको योजनाबारे छलफल गरिएको ‘च्याट ग्रुप’ मा एक पत्रकारलाई जोडेकोमा आफू जिम्मेवार रहेको स्वीकार गरेका हुन् । सामाजिक सञ्जाल सिग्नलमा बनाइएको उक्त ‘च्याट ग्रुप’ मा अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससहितका उच्च पदस्थ अधिकारीहरू थिए । च्याट ग्रुपमा एट्लान्टिक पत्रिकाका प्रमुख सम्पादक जेफ्री गोल्डबर्गलाई पनि जोडिएको थियो ।

    गोल्डबर्गले गल्तिले माइक वाल्ट्ज नामक प्रयोगकर्ताले सिग्नल च्याटमा आफूलाई पनि थपेको बताएका थिए । ‘म पूर्ण जिम्मेवारी लिन्छु । मैले समूह बनाएको थिएँ,’ वाल्ट्जले मंगलबार फक्स न्युजसँग भने, ‘यो लज्जास्पद हो ।’अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र गुप्तचर प्रमुखहरूले च्याट ग्रुपमा सार्वजनिक सूचनाले सुरक्षा जोखिम नभएको र कुनै पनि वर्गीकृत सामग्री साझा नगरिएको बताएका छन् । तर विपक्षी दल डेमोक्रेटिकका साथै केही रिपब्लिकन दलका नेता तथा सांसदले यो विषय गम्भीर रहेको भन्दै अनुसन्धानका लागि आह्वान गरेका छन् ।


    यसअघि गोल्डबर्गले एक लेख लेख्दै यमनमा हवाई आक्रमण हुनुभन्दा दुई घण्टा अघिसम्म हातहतियार, बम आक्रमण तथा लक्ष्यसम्बन्धी गोप्य योजनामा आफूले पहुँच पाएको बताएका थिए । तर उनले उक्त सूचना भने लेखमा खुलाएका थिएनन् । वाल्ट्जले फक्स न्यूजसँगको अन्तर्वार्तामा गोल्डबर्ग कसरी च्याटमा आए भनेर व्याख्या गर्न सकेनन् । तर उनले आफु मातहतका कुनै कर्मचारी जिम्मेवार नभएको बताए । उक्त ग्रुप च्याटमा अर्को एक अधिकारी हुनुपर्नेमा गोल्डबर्ग जोडिन पुगेको उनको दाबी छ ।

    ‘हामीसँग यो कसरी भयो भनेर हेर्ने उत्कृष्ट प्राविधिक छन्,’ वाल्ट्जले भनेका छन् । आफ्नो फोनमा गोल्डबर्गको नम्बर नभएको उनको दाबी छ । ‘म तपाईंलाई शत प्रतिशत भन्न सक्छु म यो मान्छेलाई चिन्दिन,’ वाल्ट्जले भने । वाल्ट्जले कसरी त्यस्तो भयो भनेर पत्ता लगाउन मद्दतका लागि इलन मस्कसँग पनि कुरा गरेको बताएका छन् ।

  • चीनलाई लक्षित गर्दै अमेरिकाले घोषणा गर्यो थप प्रतिवन्ध

    चीनलाई लक्षित गर्दै अमेरिकाले घोषणा गर्यो थप प्रतिवन्ध

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्तिम बौद्धिकता (एआई)र उन्नत गणना क्षमतामा खलल पुर्याउने उद्देश्यले मङ्गलबार दर्जनौँ संस्थालाई व्यापार कालोसूचीमा राखेको वाणिज्य विभागले जनाएको छ । यो कारबाहीले चीन, संयुक्त अरब इमिरेट्स र इरानलगायत देशका ८० संस्थालाई प्रभावित पारेको छ र विभागले उनीहरूको ‘अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीति विपरीतका गतिविधिहरू’ भनेको छ । ‘प्रतिबनध सूची’ मा थपिएकाहरूलाई सरकारी अनुमति बिना अमेरिकी वस्तुहरू र प्रविधिहरू प्राप्त गर्न प्रतिबन्ध लगाइएको छ ।

    अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले भन्नुभयो, “हामी विरोधीहरूलाई अमेरिकी प्रविधिको दुरुपयोग गरेर आफ्नो सेनालाई बलियो बनाउन र अमेरिकी जीवनलाई खतरामा पार्न अनुमति दिनेछैनौँ ।” चीनस्थित प्रयोगकर्ताहरूका लागि उन्नत एआई, सुपर कम्प्युटर र उच्च प्रदर्शन एआई चिप्सको विकासमा संलग्न भएको आरोप लगाई चीनमा रहेका ११ र ताइवानमा रहेको एक संस्थालाई लक्षित गरी प्रतिबन्ध लगाइएको हो ।

    यसमा ‘बेइजिङ एकेडेमी अफ आर्टिफिसियल इन्टेलिजेन्स’ र विशाल प्रविधि फर्म ‘इन्सपुर ग्रुप’का सहायक कम्पनीहरू सामेल छन् । अन्यलाई ‘असुरक्षित आणविक गतिविधिहरूमा योगदान’ वा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमहरूको लागि दोषी करार गरिएको छ । उद्योग तथा सुरक्षाका लागि वाणिज्य उपमन्त्री जेफरी केसलरले अमेरिकी प्रविधि र सामानलाई उच्च कार्यसम्पादन कम्प्युटिङ, हाइपरसोनिक क्षेप्यास्त्र र सैन्य विमान प्रशिक्षणजस्ता गतिविधिका लागि दुरुपयोग हुनबाट रोक्नु यसको उद्देश्य रहेको बताए ।

    इरानको रक्षा उद्योग र ड्रोन कार्यक्रमका लागि अमेरिकी सामान खरिद गर्न खोज्ने इरान र चीनका दुई संस्थालाई पनि सूचीमा समावेश गरिएको वाणिज्य विभागले जनाएको छ । बेइजिङले आफ्ना कम्पनीहरूलाई कालोसूचीमा राख्ने निर्णयको निन्दा गर्दै वासिङ्टनले व्यापार र प्रविधिलाई ‘आधिपत्यवादको विशिष्ट कार्य’मा ‘हतियार’ बनाएको आरोप लगाएको छ ।

    “हामी अमेरिकी पक्षलाई राष्ट्रिय सुरक्षाको अवधारणालाई सामान्यीकरण नगर्न आग्रह गर्दछौँ”, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार भेटमा भने, “चिनियाँ उद्यमहरूलाई अनुचित रूपमा दबाउन सबै प्रकारका प्रतिबन्ध सूचीहरूको दुरुपयोग बन्द गर्नुहोस् ।” गुओले चीनले आफ्ना कम्पनीहरूको अधिकार रक्षाका लागि आवश्यक कदम चाल्ने बताए । कालोसूचीमा परेका केही कम्पनीहरुले एएफपीको प्रतिक्रियाको लागि बुधबार गरेको अनुरोधमा तत्काल प्रतिक्रिया जनाउन चाहेनन् । रासस\एएफपी

  • ब्राजिलको पोष्टमा अर्जेण्टिनाको चार गोल, विश्वकपमा छनोट

    ब्राजिलको पोष्टमा अर्जेण्टिनाको चार गोल, विश्वकपमा छनोट

    काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिलमाथि ४–१ को सानदार जित निकालेको छ । बोलिभियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोकेपछि यसअघि नै अर्को वर्ष नर्थ अमेरिकामा हुने फिफा विश्वकपमा स्थान पक्का गरिसकेको अर्जेन्टिनाले लिओनल मेसीविनै ब्राजिललाई हराएको हो । अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जिउलियानो सिमीओनीले गोल गरे । ब्राजिलका लागि माथिउस कुन्हाले एक गोल फर्काए ।

    अल्भारेजले खेलको चौथो मिनेटमै थियागोल अल्माडाको पासमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । एन्जो फर्नान्डेजले १२औं मिनेटमा नाहुल मोलिनाको पासमा गोल गरी अग्रता दोब्बर पारे । कुन्हाले २६औं मिनेटमा गोल गर्दै ब्राजिलला२ खेलमा फर्काउने संकेत देखाएका थिए । तर म्याक एलिस्टरले ३७औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमै ३–१ को अग्रता दिलाए । दोस्रो हाफमा अर्जेटिनाले एक गोल थप्यो । अर्जेन्टिनाका लागि सिमीओनीले ७४औं मिनेटमा गोल गरे ।

    ब्राजिलमाथि जितपछि अर्जेन्टिना दक्षिण अमेरिकी छनोटमा १४ खेलबाट ३१ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट २१ अंक रहेको ब्राजिल चौथो स्थानमा छ । १४ खेलबाटै २३ अंकसहित इक्वेडर दोस्रो र २१ अंक जोडेको उरुग्वे तेस्रो स्थानमा छ । यस्तै पाराग्वेको पनि समान २१ अंक छ र अंकतालिकामा पाँचौ स्थानमा छ ।

    कोलम्बिया २० अंकसहित छैटौं स्थानमा छ । दक्षिण अमेरिकी छनोटबाट शीर्ष ६ स्थानमा रहने टोली सिधै विश्वकपमा छनोट हुनेछ भने सातौं स्थानमा रहने टिमले अन्तरमहादेशिय प्लेअफ खेल्नेछ । छनोट अन्तर्गत उरुग्वे र बोलिभिया तथा इक्वेडर र चिलीले गोलरहित बराबरी खेलेका थिए । यस्तै कोलम्बिया र पाराग्वेले २(२ को बराबरी खेल्दा भेनेजुएलालेल पेरुलाई १० ले हरायो ।

  • अमेरिकाको दावि : रुस र युक्रेन युद्धविरामका लागि सहमत

    अमेरिकाको दावि : रुस र युक्रेन युद्धविरामका लागि सहमत

    काठमाडौं । रुस र युक्रेन ब्ल्याक सीमा युद्धविराम गर्न सहमत भएको अमेरिकाले दावि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा यो सम्भव भएको समेत ह्वाइट हाउसको दावि छ । तीन वर्षभन्दा अगाडिदेखि रुस र युक्रेनबीच जारी लडाइँ ३० दिनसम्म रोक्ने सहमति भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार दुई देशबीच ऊर्जा संरचनामा आक्रमण नगर्ने सहमति जुटेको छ ।

    ट्रम्पले युद्धविरामका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरिसकेका छन् । युद्धविरामको कार्यान्वयन र त्यसको निगरानी कसरी गरिन्छ भन्ने अझै स्पष्ट सार्वजनिक भएको छैन् । युद्धविराममा सहमति जुट्नुअघि साउदी अरबमा १२ घण्टासम्म गोप्य वार्ता भएको थियो । त्यसपछि ट्रम्पले रुसी र युक्रेनी राष्ट्रपतिसँग टेलिफोन वार्ता गरेका थिए ।

    रुसी उपविदेशमन्त्री ग्रिगोरी करासिनले युद्धविराममा सहमति भएको पुष्टि गर्दै भनेका छन्, ‘अमेरिका–रुसबीच कुराकानी कठिन थियो तर रचनात्मक भयो ।’
    युद्धविराम सम्झौतामा पुगेवाफत् रुसले व्यापारिक दृष्टिकोणबाट आफूलाई केही फाइदा हुने सर्तमा अमेरिकालाई सहमत समेत गराएको छ । बीबीसीका अनुसार अमेरिकाले रुसलाई कृषि र मल निर्यातका लागि विश्वबजारमा पुनः पहुँच पुर्‍याउने मद्दत गर्ने छ । साथै समुद्री बीमा लागत घटाउन र वित्तीय लेन–देनमा सुविधा दिने विषयमा पनि सकारात्मक छलफल भएको छ ।

  • अमेरिकामा अर्को गोली काण्ड, कम्तिमा तीन जना मारिए

    अमेरिकामा अर्को गोली काण्ड, कम्तिमा तीन जना मारिए

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् । लास क्रुसेस प्रहरीको फेसबुक पोस्ट अनुसार, स्थानीय समय अनुसार राति १० बजेतिर भएको सशस्त्र आक्रमणमा दुई १९ वर्षीय र एक १६ वर्षीय किशोरको मृत्यु भएको छ । पीडितहरूको पहिचान अज्ञात छ । प्रहरीका अनुसार घाइते व्यक्तिहरू १६ देखि ३६ वर्ष उमेरका छन् ।

    आक्रमणको सम्बन्धमा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन, तर प्रहरीले सक्रिय रूपमा धेरै सुरागहरू खोजिरहेको छ ।“लस क्रुसेसका प्रहरी प्रमुख जेरेमी स्टोरीले एक पत्रकार सम्मेलनमा यङ्ग पार्कमा एउटा ‘अवैध कार शो’ मा दुई समूहबीचको झगडा गोलीबारीमा परिणत भएको बताए ।

    घटनास्थलबाट प्रहरीले पेस्तोल बरामद गरेको उनले बताए । लस क्रुसेस फायर चीफ माइकल डेनियलले एक पत्रकार सम्मेलनमा सात घाइतेहरूलाई स्थानीय अस्पतालबाट थप उपचारका लागि एल पासो लगिएको बताए । चार जना बिरामी उपचार गरेर डिस्चार्ज भइसकेका छन् । अन्य चार जनाको अवस्था भने अज्ञात छ । रासस

  • इजरायलद्धारा लेवनानमा पुनः आक्रमण

    इजरायलद्धारा लेवनानमा पुनः आक्रमण

    काठमाडौं । इजरायलले दक्षिणी लेबनानस्थित हेजबुल्लाहको निशानामा आक्रमण सुरू गरेको जनाएको छ । गत नोभेम्बरमा युद्धविराम सम्झौता लागू भएयता पहिलो पटक लेबनानबाट आफ्नो क्षेत्रमा क्षेप्यास्त्र रकेट प्रहार भएपछि आक्रमण सुरू गरेको इजरायलको दावि छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली रक्षा बल (आईडीएफ) लाई ‘लेबनानमा दर्जनौं आतंकवादी निशानाविरुद्ध बलपूर्वक कारबाही गर्न’ निर्देशन दिएको बताएका छन् । आईडीएफले शनिबार बिहान इजरायली सहर मेतुलामा तीनवटा रकेट निष्क्रिय पारेको जनाएको छ । ती घटनामा कोही पनि घाइते नभएका आईडीएफले जनाएको छ ।

    तर कुनै पनि समूहले क्षेप्यास्त्र प्रहार गरेको स्वीकार गरेका छैनन् । र, लेबनानका प्रधानमन्त्रीले आफ्नो देशलाई ‘नयाँ युद्धमा’ तान्न खोजिएको भन्दै चेतावनी दिएका बीबीसीले जनाएको छ । युद्धविराम सम्झौताले इरान समर्थित लेबनानी सशस्त्र समूह हेजबुल्लाहसँगको १४ महिना लामो युद्ध समाप्त भएको थियो ।

    लेबनानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेना युनिफिलले ‘हिंसाको सम्भावित वृद्धिबाट चिन्तित’ भएको जनाएको छ । युनिफिलले इजरायल र लेबनान दुवैलाई ‘आफ्ना प्रतिबद्धताहरू पालना गर्न’ आग्रह गरेको छ । लेबनानका स्थानीय रिपोर्टहरूले देशका दक्षिणी स्थानहरूमा तोपहरू प्रहार भएको जनाएका छन् ।

    बीबीसीका अनुसार पछिल्ला केही दिन यता इजरायलले हेजबुल्लाहको निशाना भनेर दाबी गर्ने स्थानमा हवाई आक्रमण गरेको छ र समूहलाई पुनस्निर्माण हुनबाट रोक्न आक्रमणहरू जारी राख्ने संकेत गरेको छ । त्यसका साथै, इजरायली सेनाले अझै पनि दक्षिणी लेबनानका पाँच स्थान नियन्त्रणमै राखिरहेको छ । लेबनानी सरकारले उक्त कार्य देशको सार्वभौमिमकता र युद्धविराम सम्झौताको उल्लंघन भएको जनाएको छ । युद्धविराम सम्झौताअनुसार ती क्षेत्रबाट इजरायली सेना फिर्ता हुनपर्ने थियो ।

    तर इजरायलले ती क्षेत्रमा लेबनानी सेना पूर्ण रूपमा तैनाथ नगरिएकाले सीमावर्ती क्षेत्रका आफ्ना समुदायको सुरक्षाका लागि सेना खटाउनु परेको जनाएको छ । इजरायलमा शनिबार भएको क्षेप्यास्त्र आक्रमणले लेबनानी सरकार थप दबाबमा पर्ने देखिएको छ । इजरायलले लेबनानी सेनाको सीमावर्ती क्षेत्रहरूमा पूर्ण नियन्त्रण छैन भन्ने प्रमाणको रूपमा प्रयोग गर्ने देखिएको छ । इजरायलको निरन्तर आक्रमणका बावजुद हिजबुल्लाहले भने कुनै प्रतिक्रिया जनाएको छैन । यो समूहले युद्धबाट प्रभावित आफ्ना समुदायहरूलाई आर्थिक सहयोग प्रदान गर्ने र विपक्षीहरूबाट निशस्त्रीकरण गर्न दबाब दिने ठूलो चुनौतीको सामना गरिरहेको छ ।

  • एमसीसीलाई निरन्तरता दिने तयारी

    एमसीसीलाई निरन्तरता दिने तयारी

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको सरकारले एमसीसी नेपाल कम्प्याक्ट सम्झौता अन्तर्गतका केही कार्यक्रम अघि बढाउन अनुमति दिएको बताइएको छ । तर उक्त अनुमतिले ट्रम्प प्रशासनले नेपालले अमेरिकाबाट कम्प्याक्ट अन्तर्गत पाएको अनुदानको समीक्षाबाट निस्कने कुनै निश्चित परिणामप्रति सङ्केत नगर्ने एमसीए नेपालले आफ्नो वेबसाइटमार्फत जनाएको छ।

    फेब्रुअरीमा अमेरिकी सरकारले एमसीसी अन्तर्गत नेपालले पाएको अनुदान अन्तर्गतका भुक्तानी समीक्षाका लागि ९० दिनका स्थगित गरिएको जानकारी नेपाल सरकारलाई दिएको थियो। कतिपयले उक्त स्थगनले नेपालले प्राप्त गरेको हालसम्मकै सर्वाधिक ठूलो वैदेशिक सहयोगको भविष्यमाथि प्रश्न उठाएको टिप्पणी गरेका थिए।

    अघिल्लो हप्ता एमसीए नेपालसँग सम्बन्धित कतिपय खरिदका बोलपत्र उक्त बोर्डले सार्वजनिक गरेको थियो। त्यसको तीन दिनपछि एमसीसी कम्प्याक्टको कार्यान्वयन गर्ने जिम्मेवारी पाएको एमसीएका नेपालले अमेरिकाले एमसीसी नेपाल कम्याक्ट अन्तर्गतका केही कार्यहरू अघि बढाउन अनुमति प्रदान गरेको बताएको हो।

    एमसीए नेपालको शुक्रवार जारी विज्ञप्तिमा लेखिएको छ, ‘अगाडि बढाउन अनुमति दिइएका कार्यहरूमा महत्त्वपूर्ण खरिद कार्यहरू र कार्यालय सञ्चालनसम्बन्धी आवश्यक कार्यहरू पर्छन्। एमसिए–नेपाल कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको छ भने पारदर्शिताप्रति प्रतिबद्ध रहेको छ।’

    एमसीए नेपालले थपेको छ, ‘एमसिए–नेपाल अमेरिकी सरकारको वैदेशिक सहायतासम्बन्धी समीक्षाबारे अद्यावधिक विवरणको प्रतीक्षा गर्दै आफूबाट हुनुपर्ने कामहरू भएको सुनिश्चित गर्न नेपाल सरकार र मिलेनियम च्यालेञ्ज कर्पोरेसनसँग निकटतापूर्वक समन्वय गरिरहेको छ।’ अघिल्लो हप्ता अर्थ मन्त्रालयका प्रवक्ताले अमेरिकाबाट एमसीसी अन्तर्गतका भुक्तानी खुलाइएकोबारे थप पत्राचारहरू सरकारलाई नभएको बताएका थिए।

    यसअघि फेब्रुएरी २४ मा एमसीसीले नेपाललाई विद्युत् र सडक पूर्वाधारका लागि घोषणा गरिएको अनुदान अस्थायी रूपमा स्थगित गरिएको नेपाल सरकारलाई जानकारी गराएको थियो। नेपालको अर्थ मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ज्यानुअरी २० मा जारी गरेको कार्यकारी आदेश अन्तर्गत ९० दिन वैदेशिक सहयोग रोक्का गर्ने निर्णय अन्तर्गत नेपाल कम्प्याक्टका लागि भुक्तानी रोकिएको जानकारी गराएको उल्लेख गरेको थियो।

    एमसीसी अन्तर्गत विद्युत् प्रसारण लाइनको निर्माण र सडकको स्तरोन्नतिका लागि नेपाललाई अमेरिकाले ५५० मिलिअन अमेरिकी डलर अनुदान दिने प्रतिवद्धता जनाएको थियो। ती परियोजनामा नेपाल सरकारले १९७ मिलिअन अमेरिकी डलर लगानी गर्ने निर्णय गरेको छ। नेपालको इतिहासमा प्राप्त भएको अहिलेसम्मकै ठूलो उक्त वैदेशिक अनुदान अमेरिकी सामरिक रणनीतिको हिस्सा भएको भन्दै त्यसको पक्ष र विपक्षमा आवाजहरू उठेका थिए। सन् २०१७ मा नेपाल र अमेरिकाले हस्ताक्षर गरेको एमसीसी कम्प्याक्टलाई नेपालको प्रतिनिधिसभाले सन् २०२२ मा अनुमोदन गरेको थियो।

  • ५ लाख भन्दा बढी आप्रवासीको अस्थायी बसोबास मान्यता खारेज गर्दै अमेरिका, देश छाड्न चेतावनी

    ५ लाख भन्दा बढी आप्रवासीको अस्थायी बसोबास मान्यता खारेज गर्दै अमेरिका, देश छाड्न चेतावनी

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले क्युबा, हेइटी, निकारागुआ र भेनेजुएलाका पाँच लाखभन्दा बढी आप्रवासीहरूको अमेरिकामा बसोबास गर्न पाउने अस्थायी कानुनी मान्यता खारेज गर्ने बताएको छ। अमेरिकी सङ्घीय सरकारले जारी गरेको एउटा सूचनाअनुसार ती आप्रवासीहरूलाई आगामी एप्रिल २४ मा उनीहरूको बसोबास अनुमतिपत्र रद्द हुनुअघि नै देश छाड्न चेतावनी दिइएको छ। ट्रम्पका पूर्वर्ती जो बाइडनका पालाको एउटा आप्रवासन योजनाअन्तर्गत ती देशहरूबाट ५ लाख ३० हजार मानिसहरूलाई अमेरिका प्रवेश गर्न दिइएको थियो।


    उनीहरूलाई कानुनी रूपमा अमेरिका बसाइसराइका निम्ति बाटो खोल्ने उद्देश्यले बसोबास अनुमति दिइएको थियो। उक्त कार्यक्रमलाई सीएचएनभी भनिन्छ र त्यसमा ुस्पोन्सरशीपु प्रक्रियाका माध्यमबाट मानिसहरूलाई अमेरिकामा बसोबास गर्न दिइएको थियो। ट्रम्पले कार्यभार सम्हालेपछि त्यो कार्यक्रमलाई रद्द गरिदिएका छन्। ती आप्रवासीमध्ये कतिले अन्तरिम परिस्थितिमा अमेरिकामा बस्नका लागि कानुनी बसोबासको अनुमति लिने सक्छन् वा सक्दैनन् भन्ने स्पष्ट छैन। बाइडनका पालामा सन् २०२२ मा उक्त कार्यक्रम सुरु भएको थियो।

    अन्य देशहरूमा विस्तार गर्नुअघि सुरुमा भेनेजुएलाका नागरिकका लागि त्यो लागु भएको थियो। उक्त कार्यक्रम अन्तर्गत आप्रवासी र उनीहरूका नजिकका पारिवारिक सदस्यलाई अमेरिकी स्पोन्सर भए दुई वर्षका लागि अमेरिकामा बस्ने अस्थायी आप्रवासन सुविधा दिइएको थियो। त्यसलाई परोल भनेर चिनिन्छ।
    बाइडन प्रशासनले सीएचएनभीले अमेरिकाको दक्षिणी सिमानाबाट हुने अवैध सीमा आगमनलाई रोक्न र देशमा प्रवेश गर्नेहरूको उपयुक्त जाँचमा सहयोग पुर्‍याउने तर्क गरेको थियो।

    डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले शुक्रवार पहिलेको प्रशासन आफ्नो उक्त लक्ष्य प्राप्तिमा असफल भएको जनाएको छ। उसले जारी गरेको विज्ञप्तिमा बाइडनका अधिकारीहरूले उनीहरू आप्रवासीेलाई अमेरिकी रोजगारीका निम्ति प्रतिस्पर्धाको अवसर दिए र अमेरिकी कामदार कटौती गरे र झूटा विवरण पेस गरिएको थाहा हुँदाहुँदै सरकारी कर्मचारीहरूलाई उक्त कार्यक्रमको जबरजस्ती प्रवर्द्धन गर्न लगाए अनि त्यसपछि उत्पन्न अराजकता र अपराधका लागि संसद्‌मा रिपब्लिकनलाई दोष दिए, भनिएको छ।

    यद्यपि फेडरल रजिस्टरमा जारी भएको ३५ पृष्ठको सूचनामा अमेरिकामा सीएचएनभीअन्तर्गत आएका र रहेका केहीलाई उनीहरूको मूल्याङ्कनका आधारमा बस्न अनुमति दिन सकिने उल्लेख छ। योसँगै ट्रम्पले रुसले आक्रमण गरेपछि युक्रेनबाट भागेर अमेरिका पुगेका २ लाख ४० हजार युक्रेनी नागरिकको बसोबासको अस्थायी कानुनी मान्यतालाई रद्द गर्ने कि नगर्ने भनेर पनि विचार गरिरहेको जनाइएको छ।
    बीबीसी

  • रुस र अमेरिकाबीच पुनः वार्ता हुँदै

    रुस र अमेरिकाबीच पुनः वार्ता हुँदै

    काठमाडौं । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले बिहीबार युक्रेनका बारेमा रसिया–अमेरिकाको अर्को चरणको वार्ता साउदी अरबको रियादमा हुने जानकारी दिएका छन् । उशाकोभले रुसी प्रतिनिधिमण्डलको नेतृत्व रुसको माथिल्लो सदनमा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी समितिका अध्यक्ष ग्रिगोरी कारासिन र रुसको संघीय सुरक्षा सेवाका प्रमुखका सल्लाहकार सर्गेई बेसेडाले गर्ने बताए ।

    उशाकोभले बुधबार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जसँग फोनमा कुराकानी भएको जानकारी दिए । कुराकानीको क्रममा उनीहरुले विज्ञ समूहहरूको बैठक आयोजना गर्ने विषयमा छलफल गरे जसको मुख्य उद्देश्य ब्ल्याक सी इनिसिएटिभको सम्भावित कार्यान्वयनका सम्भावनाहरू खोज्नु थियो ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्ल्याक सी नेभिगेसनको सुरक्षा सम्बन्धी सम्झौताको विशेष विवरणमा थप काम गर्न वार्ता सुरु गर्न सहमत भएको क्रेमलिनले उल्लेख गरे । रासस,सिन्ह्वा

  • अमेरिकी कानून नमाने देश निकाला गर्ने नेपालस्थित अमेरिकी दूतावासको चेतावनी

    अमेरिकी कानून नमाने देश निकाला गर्ने नेपालस्थित अमेरिकी दूतावासको चेतावनी

    काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकाको भिसावाहक नेपालीलाई अमेरिकी कानुन र आप्रवासन नियम उल्लंघन गरेको पाइए देशबाटै निकाल्ने चेतावनी दिएको छ। दूतावासले बुधबार सामाजिक सञ्जालमार्फत अमेरिकाको कानुन उल्लंघन गरेको पाइए त्यस्ता व्यक्तिको भिसा रद्द गरी देशबाटै निष्कासन गर्ने चेतावनी दिएको हो।

    नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, ‘अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसावाहकहरूको जाँच गर्छौं। उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौँ।’

    राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीतिसम्बन्धी कार्यकारी आदेश जारी गरेयता अवैध रूपमा अमेरिकामा बसेका नागरिक निकाल्ने क्रममा नेपालीहरू पनि धमाधम फिर्ता भइरहेका छन्।

  • अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच तनावका बीच पुनः लामो वार्ता

    अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच तनावका बीच पुनः लामो वार्ता

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच लामो वार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ह्वाइट हाउसमा चर्काचर्कीपछि पहिलो पटक ट्रम्प र जेलेन्स्कीबीच लामो फोनवार्ता भएको समाचारमा उल्लेख छ । बुधबार उनीहरूले करिब एक घन्टा वार्ता गरे । राष्ट्रपति ट्रम्पले मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ९० मिनेट टेलिफोन वार्ता गरेका थिए ।

    जेलेन्स्कीसँग यसैबारे कुराकारी भएको बताइएको छ । उता, कुराकानीको विस्तृत विवरण ह्वाइट हाउसबाट सार्वजनिक भइसकेको छैन । दुवै राष्ट्रपतिहरूले कुराकानी सकारात्मक र सौहार्दपूर्ण भएको बताएका छन्। जेलेन्स्कीले टेलिफोन वार्ताअघि पुटिनसँगको कुराकानीबारे ट्रम्पले आफूलाई ब्रिफिङ गर्ने विश्वास व्यक्त गरेका थिए।

    फेब्रुअरी २८ मा खनिज सम्झौतामा हस्ताक्षर गर्न ह्वाइट हाउस पुगेका जेलेन्स्की त्यहाँ ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सबीच चर्काचर्की गरेर फर्किएका थिए। त्यतिबेला खनिज सम्झौतामा हस्ताक्षरको कार्यक्रम स्थगित गरी जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिरिन निर्देशन दिइएको थियो। त्यसयता ट्रम्प र जेलेन्स्कीबीच संवाद भएको थिएन। सार्वजनिक कार्यक्रमहरूमार्फत उनीहरूले छिट्टै नै सकारात्मक वार्ता हुने बताउँदै आएका थिए।

    ट्रम्प र जेलेन्स्कीको व्यक्तिगत संवाद रोकिए पनि साउदी अरबमा अमेरिकी अधिकारीहरूले युक्रेनी अधिकारीहरूसँग वार्ता गरेका थिए। त्यही वार्तामा युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्ने ट्रम्पको प्रस्तावलाई युक्रेनले स्वीकार गरेको थियो। युक्रेनले स्वीकार गरेपछि ट्रम्पले पुटिनलाई मनाउन मंगलाबार लामो फोनवार्ता गरेका थिए।

    २ घन्टा लामो संवादपछि पनि पुटिनले ३० दिनको युद्धविराम गर्न तयार नभएको बरू युक्रेनी उर्जा पूर्वाधारमा आक्रमण रोक्न सकिने जबाफ ट्रम्पलाई दिएका थिए। पुटिनले ३० दिनसम्म युद्धविराम गरे युक्रेनले हतियार जम्मा गर्ने र थप सहायता जुटाएर पछि युद्धविरामका लागि आफ्ना मागहरू बढाउन सक्ने चुनौती रहेको बताएका थिए। जेलेन्स्कीले ऊर्जा पूर्वाधारहरूमा रूसले आक्रमण नगर्ने प्रतिबद्धतालाई पनि सकारात्मक रूपमा लिएको बताएका थिए।

  • अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच ९० मिनेट वार्ता

    अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच ९० मिनेट वार्ता

    ६ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच ९० मिनेट भन्दा लामो वार्ता भएको छ । उनीहरुबीच युद्ध रोक्नेबारे टेलिफोन वार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी राष्ट्रपति कार्यालयले वार्ताको पुष्टी गरेको छ । उनीहरुले ९० मिनेटसम्म कुराकानी गरेका थिए ।

    दुई नेताबीच युक्रेनी भूमीमा रहेका ऊर्जा केन्द्रहरुमा कम्तिमा ३० दिन आक्रमण नगर्ने सहमति समेत भएको बताइएको छ । ट्रम्पको यो सुझावमा पुटिनले सहमति जनाएको ह्वाइट हाउसले जनाएको छ । १९ मार्चका दिन रुस र युक्रेनबीच १७५ जना युद्धबन्दी आदान प्रदान गर्ने सहमति समेत भएको छ । साथै गम्भीर रुपले घाइते २३ युक्रेनी सैनिक समेत रुसले युक्रेनलाई फिर्ता गर्ने भएको छ । उनीहरुको अहिले रुसमै उपचार भइरहेको छ ।

  • इजरायलले गाजामा गर्यो पुनः भीषण आक्रमण, कम्तिमा ४ सय मारिए

    इजरायलले गाजामा गर्यो पुनः भीषण आक्रमण, कम्तिमा ४ सय मारिए

    काठमाडौं । इजराइलले गाजामा गरेको भीषण आक्रमणमा कम्तिमा ४ सय मारिएका छन् । मंगलबार इजराइली सेनाले सो आक्रमण गरेको हो । गाजामा युद्धविराम सुरू भएको माघ ५ गते यताकै ठूलो आक्रमण हो। इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले युद्धविराम लम्ब्याउन अस्वीकार गरेका कारण आफूले आक्रमण गर्न निर्देशन दिएको बताएका छन् ।

    उनले गाजाका नागरिकलाई सुरक्षित स्थानमा जान पनि निर्देशन दिएका छन्। इजराइलले हमासविरूद्ध अझै सशक्त ढंगले आक्रमण गर्नेछ। अब युद्धविराम र शान्तिको वार्ता सामान्य अवस्थामा होइन आक्रमणकै बीच हुनेछ, सैनिक आधार शिविरबाट नेतन्याहुले भने। हमासले इजराइली प्रहारको महुसस गरिसकेको पनि नेतन्याहुले बताएका छन्। यो त केबल सुरूवात मात्रै हो, उनले भने।

    अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इजराइलले गाजाको उत्तरदेखि दक्षिणसम्मका घरहरू र पाल टाँगिएका शिविरहरूमा आक्रमण गरेको थियो। प्रत्यक्षदर्शीहरूले मंगलबार राति इजरायली विमानले गाजा शहरमा मिसाइल प्रहार गरेको बताएका छन्। इजराइल र हमासबीच माघ ५ गते तीन चरणको युद्धविराम हुनेगरी गजामा पहिलो चरणको युद्धविराम घोषणा भएको थियो।

    ४२ दिनपछि मध्यस्तकर्ताहरुले दोस्रो चरणको युद्धविरामका लागि सहमति जुटाउन नसकेपछि अमेरिकी अधिकारीहरूको प्रस्तावमा इजराइल गाजामा थप ४२ दिनको पहिलो चरणकै युद्धविराम अवधि बढाउन सहमति भएको थियो। तर हमासले भने दोस्रो चरणको युद्धविराम हुनुपर्ने माग राख्दै पहिलो चरणकै युद्धविराम लम्ब्याउने प्रस्तावालाई नकारिदिएको थियो।

  • जारी भएका भिसा पनि रद्द गर्ने अमेरिकाको चेतावनी

    जारी भएका भिसा पनि रद्द गर्ने अमेरिकाको चेतावनी

    काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले यसअघि जारी गरिएका भिसामाथि पनि छानबिन गरिने बताएको छ । मन्त्रालयले विगतमा जारी गरिएका भिसामाथिको अनुसन्धानको क्रममा अमेरिकी कानुन र आप्रवासन नियम पालना नगरिएको भेटे भिसा रद्द गरेर देश निकाला गर्ने चेतावनी दिएको हो । सोमबार अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको एक सन्देशमा भिसा धारकहरूले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरेको सुनिश्चित गर्न निरन्तर जाँच गरिने र यदि उनीहरूले उल्लंघन गरेमा भिसा रद्द गरी देश निकाला गरिने उल्लेख छ।

    मन्त्रालयले आफ्नो आधिकारिक एक्स ह्यान्डलबाट जारी गरेको सन्देशमा भनिएको छ, ‘अमेरिकी भिसा स्क्रिनिङ भिसा जारी भएपछि रोकिँदैन। हामी भिसा धारकहरूले सबै अमेरिकी कानून र आप्रवासन नियमहरू पालना गरेको सुनिश्चित गर्न निरन्तर जाँच गर्छौं – र यदि उनीहरूले पालना नगरेको भेटिएमा हामी उनीहरूको भिसा रद्द गरी देश निकाला गर्नेछौं ।’

    आप्रवासीमाथि कडाइ गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले आप्रवासीहरूले अमेरिकी कानुन र आप्रवासन नियमहरूको पालना गर्न बाध्य बनाउने नीति लिएको छ । यसले अमेरिकामा भिसा दुरुपयोग गर्ने वा गैरकानुनी गतिविधिमा संलग्न हुनेहरूलाई पनि सचेत गराएको छ। यसअघि ट्रम्प प्रशासनले ग्रीन कार्ड पाएका आप्रवासीहरूले पनि सधैं अमेरिका बस्न नपाउने पनि हुनसक्ने बताएको थियो ।

  • गाजामा युद्धविरामका लागि भएको वार्ता विफल भएको प्यालेष्टाइनको दावि

    गाजामा युद्धविरामका लागि भएको वार्ता विफल भएको प्यालेष्टाइनको दावि

    काठमाडौं । गाजामा युद्धविरामका लागि कतारमा भइरहेको वार्ता विफल भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्। इजरायल र हमासबीच जारी लडाइँ रोक्न मध्यस्थता गरिएको भए पनि दुई पक्षबीच ठूलो मतभिन्नता रहेको बीबीसीले लेखेको छ । संयुक्त राज्य अमेरिकाले हमासलाई अव्यावहारिक मागहरू राखेको आरोप लगाएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गाजा युद्धविरामका लागि एउटा प्रस्ताव अघि सारेका थिए। उक्त प्रस्तावमा जारी युद्धविरामको पहिलो चरण एप्रिल महिनाको बीचसम्म लम्ब्याउने उल्लेख छ।

    यसअघि ट्रम्पले अमेरिका गाजा स्ट्रिप आफ्नो अधीनमा लिन र त्यहाँ बसोबास गरिरहेका प्यालेस्टिनीहरूलाई अन्य क्षेत्रमा स्थायी पुनर्वास गराउन इच्छुक रहेको बताएका थिए। इजरायलले दोस्रो चरणमा गाजाबाट आफ्नो फौज फिर्ता गर्ने यसअघिको सम्झौता कार्यान्वयन गर्न विलम्ब गरेको छ। उसले गाजामा जाने सहायता र विद्युत् आपूर्ति पनि काटिदिएको छ।

    हमास लडाकु समूहले बन्धक बनाएका मानिसहरूलाई यथाशीघ्र मुक्त गरिनुपर्ने इजरायलको अडान छ। हमासको नियन्त्रणमा रहेकामध्ये अझै २४ जना जीवित रहेको ठानिएको छ। उक्त लडाकु समूहले बन्धक बनाएका अन्य ३५ जना मारिएको ठानिएको छ। जीवित रहेकामध्ये र इजरायली दोहोरो नागरिकता भएका २१ वर्षे सैनिक एडन एलेक्जेन्डर पनि रहेको बताइएको छ। हमासको नियन्त्रणमै रहेका अन्य चार अमेरिकी नागरिकको मृत्यु भइसकेको विवरण आएका छन्।

    सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणका क्रममा इजरायलमा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थी विपिन जोशीलाई पनि हमासले नियन्त्रणमा लिएको ठानिएको छ। यद्यपि उनको अवस्था अज्ञात छ। पहिलो चरणको युद्धविरामका क्रममा रिहाइ गर्नेहरूको सूचीमा जोशीको नाम समावेश नभएपछि नेपाली अधिकारीहरूले दोस्रो चरणको युद्धविराममा उनलाई रिहा गराउने पहल भइरहेको बताउँदै आएका थिए। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टसँग जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका थिए।

  • आइएस नेता मारिएको अमेरिकाको दावि

    आइएस नेता मारिएको अमेरिकाको दावि

    काठमाडौं । अमेरिकी सेनाले इराकको अल-अनबर क्षेत्रमा खुफिया अपरेशन सञ्चालन गरेको एयर स्ट्राइकमा आईएसआईएस नेता अबू खदीजा मारिएको दावि गरेको छ । अमेरिकी सेनाको अपरेशनले आईएसआईएसको नेतृत्व तहमा ठूलो धक्का पुर्‍याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । दुवैले लगाएको आत्मघाती ज्याकेट पहिरिएका भए पनि ती विस्फोट नभएको अवस्थामा फेला परेका थिए।

    अमेरिकी सेनाले खदीजाको सवारीलाई लक्षित गरेर आक्रमण गरेको थियो। अपरेशनमा इराकी सेनासँग संयुक्त रूपमा अमेरिकी सेनाले भाग लिएको थियो।हमलापछि अधिकारी घटनास्थल पुगेका थिए, जहाँ आत्मघाती ज्याकेट लगाएका दुवै मानिसको शव फेला परेका थिए। सेनाले खदीजाको डीएनए परीक्षण गरेर पहिचान पुष्टि गरेको छ। अबू खदीजाको वास्तविक नाम अब्दुल्ला मक्की मुस्लीह अल–रिफाइ हो। अबू खदीजाको वास्तविक नाम अब्दुल्ला मक्की मुस्लीह अल(रिफाइ थियो । उनी सन् २००९ मा अल-कायदासँग आबद्ध भएका थिए । सन् २०११ मा जेलबाट भागेपछि २०१४ मा आईएसआईएसमा सामेल भए।

    त्यसपछि उनी शीर्ष तहमा पुगेपछि इराक र सिरियामा संगठन विस्तार गरे। सन् २०१९ मा अबू बकर अल-बग्दादीको मृत्युपछि आईएसआईएको प्रमुख बने।
    उनी आईएसआईएको ग्लोबल अपरेसन, योजना, र वित्तीय व्यवस्थापनका प्रमुख व्यक्ति थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खदीजाको मृत्युलाई महत्वपूर्ण विजय भनेका छन् । ‘आईएसआईएसको भगौडा नेता मारिएको छ। हाम्रा बहादुर सैनिकहरूले लामो समयदेखि उसको खोजी गरिरहेका थिए, अन्ततः उसको अन्त्य भयो,’ उनले भने ।

    इराकका प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले पनि यो कारबाहीलाई ठूलो सफलता भनेका छन् । ‘अबू खदीजा इराक र संसारका सबैभन्दा खतरनाक आतंककारीहरूमध्ये एक थियो। हाम्रो सेनाले उसको अन्त्य गरिदिएको छ,’ उनले भने । खदीजा आईएसआईएसको ग्लोबल अपरेसन, योजना तथा वित्तीय व्यवस्थापनमा प्रमुख भूमिकामा थिए। अमेरिकी सेनाका अनुसार, उनी आईएसआईएस संगठनका सबैभन्दा प्रभावशाली सदस्यमध्ये एक थिए।

    इराकमा अहिले पनि २,५०० अमेरिकी सैनिक तैनाथ छन्। आईएसआईएको गतिविधिलाई नियन्त्रण गर्न इराक र अमेरिका मिलेर अपरेशन सञ्चालन गरिरहेका छन्। सन् २०१७ मा इराक र २०१९ मा सिरियामा आईएसआईएसलाई ठूलो धक्का दिइएको थियो, तर संगठनका केही सदस्यहरू अझै सक्रिय छन्। अमेरिकी सेनाले सेप्टेम्बर २०२४ मा सिरियामा आईएसआईएस र अल-कायदासम्बद्ध समूहहरू विरुद्ध कारबाही गरेको थियो।

  • यमनमा अमेरिकाको आक्रमण, ९ लडाकु मारिए

    यमनमा अमेरिकाको आक्रमण, ९ लडाकु मारिए

    काठमाडौं । अमेरिकाले यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध आक्रमण गरेको खबर सार्वजनिक भएको छ । सो क्रममा ९ जना मारिएका छन् । हुथी विद्रोहीले लाल सागर क्षेत्रको बन्दरगाहमा आक्रमण गरेपछि त्यसको बदलास्वरुप अमेरिकाले एयर स्ट्राइक गरेको समाचारमा उल्लेख छ । हुथी विद्रोहीहरुले सन् २०२३ को नोभेम्बरदेखि शिपिङलाई लक्षित गरी १०० बढी हमला गरेका छन् । हालै हुथी विद्रोहीहरुले आक्रमण गरी दुई जहाज समुद्रमा डुबाइदिएका थिए । एउटालाई कब्जा गरेका थिए । करिब चार जनाको मृत्यु भएको थियो । हुथीको आक्रमणबाट ढुवानी कम्पनीहरुलाई दक्षिण अफ्रिकाको आसपास हुँदै लामो र महँगो यात्रा गर्नुपरेको थियो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै हुथी र उसको मुख्य समर्थक इरानलाई आक्रमण नरोके गम्भीर क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका थिए ।
    त्यसपछि शनिबार अमेरिकी सेनाले यमनको सना क्षेत्रमा हवाई आक्रमण गरेको हो । हुथीले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार अमेरिकाको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ भने थप नौ जना घाइते भएका छन् ।

    युएस सेन्ट्रल कमाण्डले सोसल मिडियामा लेखेको छ ‘अमेरिकी हितको रक्षा गर्न, दुश्मनलाई रोक्न र जहाजलाई स्वतन्त्रपूर्वक ढुवानीको वातावरण मिलाउन यमनमा इरान समर्थित हुथीको अखाडामा सटिक हमला सहित सैन्य अपरेसन सुरु गरिएको छ ।’ समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी सेनाले यमनको सनास्थित हुथी विद्रोही बसेको एक भवनमा आक्रमण गरेको थियो । स्थानीय अब्दुल्ला याहियाले आक्रमण डरलाग्दो भएको बताएका छन् । ठूलो विष्फोटको आवाज आएको र भूकम्प आएजसरी जमिन हल्लिएको उनको भनाइ छ ।

  • सुनीता र बुचलाई अन्तरिक्षबाट पृथ्वीमा ल्याउन पठाइयो रकेट

    सुनीता र बुचलाई अन्तरिक्षबाट पृथ्वीमा ल्याउन पठाइयो रकेट

    २ चैत, काठमाडौं । स्पेसएक्सले अन्तरिक्षयात्री सुनीता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट पृथ्वीमा ल्याउनका लागि नयाँ दलका साथ इन्टरनेशनल स्पेस स्टेशनतर्फ रकेट लञ्च गरेको छ । दुवै अन्तरिक्षयात्री ८ दिनका लागि मात्र इन्टरनेशनल स्पेस स्टेशन गएका थिए । तर स्पेसक्राफ्टमा प्राविधिक त्रुटि आएपछि उनीहरु पछिल्लो ९ महिनादेखि अन्तरिक्षमै थिए । नयाँ दल स्पेस स्टेशनमा पुगेको दुई दिनपछि अन्तरिक्षयात्री पृथ्वीतर्फ आउनेछन् ।

    नासाका कमर्शियल क्रू प्रोग्राम म्यानेजर स्टीभ स्टिचले यस मिसनलाई लिएर आफूहरु उत्साहित रहेको बताए । उनले भने, ‘बुच र सुनीताले धेरै राम्रो काम गरेका छन् । अब उनीहरुलाई फिर्ता ल्याउन हामी उत्सुक छौ ।’ सुनीता र बुच ४ जुन २०२४ मा परीक्षण मिसनका लागि बोइङको स्टारलाइनर अन्तरिक्ष यानबाट अन्तरिक्षमा गएका थिए ।

  • अमेरिकामा नेपाली इन्जिनियरलाई सामान ढुवानी गर्ने ड्रोनको पेटेन्ट

    अमेरिकामा नेपाली इन्जिनियरलाई सामान ढुवानी गर्ने ड्रोनको पेटेन्ट

    २ चैत, काठमाडौं । नेपाली युवा एयरोस्पेस इन्जिनियर सुशान्त खड्काले सामान डेलिभरी गर्ने ड्रोन र प्रक्रियाको विकास गरेका छन् । खड्काले आविष्कार गरेको प्रविधिलाई स्मार्ट हवाई रिसेप्शन (सार) प्रणाली र भिटोल ड्रोन नामाकरण गरिएको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ । हाल अमेरिकी सेनाको परियोजनामा कार्यरत खड्काले आफ्नो आविष्कारको लागि अमेरिकी सरकारबाट पेटेन्ट राइट प्राप्त गरेका छन् ।

    उनको यो प्रविधिले ड्रोनमार्फत सामान ढुवानीलाई सुरक्षित, तीव्र, र स्वचालित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। उपभोक्ताले आकाशबाट सिधै घर, अफिस वा अस्पतालमा सामान प्राप्त गर्न सक्नेछन्। यो प्रविधिको विकासपछि खराब मौसममा बाहिर ननिस्केर पनि सामान प्राप्त गर्न सकिनेछ, चोरीको जोखिम हट्नेछ, र कुर्नुपर्ने झन्झट अन्त्य हुनेछ।

    सार प्रणालीले ड्रोनलाई वायुविशेष नियन्त्रण प्रणालीमार्फत भवन भित्र स्वचालित रूपमा पुर्‍याउन मद्दत गर्छ। यो प्रविधि अस्पताल, ठूला आवासीय क्षेत्र, व्यापारिक प्रतिष्ठान, तथा साधारण उपभोक्ताका लागि अत्यन्त उपयोगी हुनेछ। ड्रोन डेलिभरी प्रणाली अन्तर्गत ड्रोनले उडेर तोकिएको स्थानमा रहेको युनिटमा सामान राख्छ। अंग प्रत्यारोपणका लागि मानव अंग, रगत र महत्वपूर्ण औषधिहरू सिधै अपरेटिङ कक्षमा पुर्‍याउन सकिनेछ।

    उनका अनुसार व्यावसायिक प्रतिष्ठान, गोदाम र कारखानामा मानिसको हस्तक्षेप बिना सुविधाजनक तरिकाबाट स्वचालित डेलिभरी हुनेछ। स्मार्ट सिटीमा ट्राफिक जाम र ढिलाइ बिना निर्बाध सामान ढुवानी हुनेछ। ‘‘हाम्रो प्रविधि केवल सामान ढुवानीको सुविधा मात्र होइन, यो स्वायत्त स्मार्ट सिटीको आधारभूत पूर्वाधार हो, जसले वायुविशेष नियन्त्रण प्रणालीमार्फत भवनहरूभित्र ड्रोन डेलिभरीलाई सहज बनाउँछ’’, उनले भने । ई–कमर्स, अस्पताल, तथा रसद कम्पनीहरू ड्रोन प्रविधिमा तीव्र रूपमा लागिपरेका बेला, खड्काको पेटेन्ट प्रणालीले हवाई डेलिभरीलाई सर्वसुलभ बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।

  • जब अमेरिकामा जहाजमा लाग्यो आगो

    जब अमेरिकामा जहाजमा लाग्यो आगो

    काठमाडौं । अमेरिकामा जहाज डाइभर्ट गरेर अवतरण गरिएको केही बेरमै आगलागी भएको छ। बिहीबार साँझ अमेरिकन एयरलाइन्सको जहाज डाइभर्ट गरी कोलोराडो राज्यको डेनभर विमानस्थलमा अवतरण गरेको केही बेरमै जहाजको इन्जिनमा आगो बलेको थियो। अमेरिकी एयरलाइन्सको फ्लाइट ४०१२ को बोइङ ७३७–८०० जहाज कोलोराडो स्प्रिङ विमानस्थलबाट डालासको फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको थियो।

    उडानको क्रममै इन्जिनमा खराबी देखिएपछि जहाजलाई डाइभर्ट गरी डेनभर विमानस्थलमा अवतरण गराइएको थियो। अवतरण गरेपछि यात्रु ओर्लिन नपाउँदै विमानको इन्जिनमा आगलागी भएको थियो भने भित्री भागहरुबाट पनि धुवाँको मुस्लो छुटेको थियो। धुवाँको मुस्लोले विमानस्थल नै ढाकेको थियो। यात्रुहरू झ्यालबाट निस्किएर विमानको पखेटामा लहरै बसेका थिए भनेर अमेरिकी मिडिया सिएनएनले समाचार लेखेको छ।

    सिएनएनले नै सार्वजनिक गरेको भिडिओमा यात्रुहरू विमानको पखेटामा उभिइरहेको देखिन्छ। उनीहरू पखेटामा उभिरहँदा जहाजबाट धुवाँको मुस्लो र आगोको लप्का छुटिरहेको थियो। विमानस्थलमा खटिएका सुरक्षाकर्मीहरूले भर्‍याङ प्रयोग गरी जहाजको पंखामा रहेका यात्रुहरूलाई झारेका थिए।
    जहाजमा चालक दलका ६ सदस्यसहित १७२ जना यात्रु रहेको सिएनएनको समाचारमा उल्लेख छ।

    विमानस्थलमा खटिएका सुरक्षाकर्मी र अग्नी नियन्त्रकहरूको सक्रियताका कारण समयमै आगो निभाइएकाले मानवीय क्षति हुन नपाएको बताइएको छ। अमेरिकामा २०२५ को जनवरी यता साना ठूला गरी बिहीबारको सहित पाँच वटा जहाज दुर्घटना भएका छन्। यसअघि जनवरी २९ मा वाशिङ्टनमा सेनाको जहाज यात्रुवाह विमानसँग ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो। फिलाडेल्फियामा एउटा मेडिकल विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो।

  • यूरोपेली मदिरामा २ सय प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    यूरोपेली मदिरामा २ सय प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली देशहरूबाट अमेरिका भित्रने मदिरामा २ सय प्रतिशत भन्सार कर लगाउने चेतावनी दिएका छन् । युरोपेली संघले ह्विस्कीमा घोषणा गरेको ५० प्रतिशत भन्सार कर नहटाए २ सय प्रतिशत कर लगाउने बताएका हुन् । दोस्रो कार्यकाल सुरू गरेसँगै राष्ट्रपति ट्रम्पले विभिन्न देशबाट अमेरिका भित्रने सामानमा कर वृद्धि गरेका छन् ।

    यसअघि उनले अमेरिकामा प्रवेश गर्ने सबै स्टील र अल्मुनियममा २५ प्रतिशत भन्सार कर बढाएका थिए । त्यसको जवाफमा युरोपेली संघले १ अप्रिलदेखि लागू हुने गरी २८ अर्ब डलर बराबरका डुंगा, बर्बन ह्विस्की र मोटरसाइकल लगायतका अमेरिकी सामानमा कर बढाउने घोषणा गरिसकेको छ । त्यसको प्रतिक्रियामा ट्रम्पले युरोपेली मदिरामा २ सय प्रतिशत कर लगाउने चेतावनी दिएका हुन् ।

    युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लियनले ट्रम्प प्रशासनले चालेका कदमको ‘बलियो तर समानुपातिक’ जवाफ दिने बताएकी छन् । तर उनले युरोपेली संघ अमेरिकासँग ‘अर्थपूर्ण संवादमा संलग्न हुन तयार’ रहेको बताएकी छन् । ‘आयात शुल्क व्यवसायका लागि खराब छन् र उपभोक्ताहरूका लागि पनि खराब छन्,’ उनले भनेकी छन् ।

    आर्थिक अवरोधले रोजगारीलाई खतरामा पार्ने र मूल्यवृद्धि हुने उनको भनाइ छ । ‘कसैलाई पनि यसको आवश्यकता छैन, युरोपेली संघका लागि होस् वा अमेरिकाका लागि,’ उनले भनिन् । ट्रम्पले विदेशी सामानमा आयात शुल्क बढाउँदा अमेरिकी उत्पादनलाई बढावा मिल्ने र रोजगारी सुरक्षित हुने बताउँदै आएका छन् । तर आलोचकहरूले भने ट्रम्पका कदमले अमेरिकी उपभोक्ताहरू मूल्यवृद्धिको मारमा पर्ने बताएका छन् ।

  • अमेरिकामा नेपाललाई ‘साहसिक पर्यटन राजधानी’ का रूपमा प्रवर्द्धन

    अमेरिकामा नेपाललाई ‘साहसिक पर्यटन राजधानी’ का रूपमा प्रवर्द्धन

    काठमाडौं । अमेरिकी बजारमा नेपालको साहसिक पर्यटन गन्तव्यको प्रचार प्रसार गरिएको छ । अमेरिका कोलोराडोस्थित डेन्भरमा भएको ’ट्राभल एन्ड एडभेन्चर शो–२०२५’ मा नेपाल पर्यटन बोर्डले नेपाललाई विश्‍वमै ‘साहसिक पर्यटन राजधानी’ का रूपमा प्रस्तुत गरेको हो । ८–९ मार्चमा सम्पन्‍न एडभेन्चर शोमा पर्यटन बोर्डले विशेष कार्यक्रम आयोजना गर्दै नेपाललाई साहसिक र सुरक्षित पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरेको हो ।

    कार्यक्रममा बोर्डले सहभागी पर्यटन व्यवसायीमध्येबाट लक्की ड्रमार्फत एक जनालाई सगरमाथा आधार शिविरसम्मको पदयात्रा निःशुल्क गराउने भएको छ । उक्त लक्की ड्र अमेरिकी पर्यटन व्यवसायी उपला सेफर्टले जितेकी छिन् । उनले मार्चदेखि मेसम्म नेपाल भ्रमण गरिसक्नुपर्ने छ । नेपाल भ्रमणका क्रममा लाग्‍ने खर्च बोर्डले बेहोर्ने छ ।

    यसले अमेरिकी बजारमा नेपालको पर्यटन प्रवर्द्धन र प्रचारका लागि थप मद्दत पुग्‍ने बोर्डको विश्वास छ । एडभेन्चर शोको आधिकारिक वेबसाइटमा नेपाललाई साहसिक यात्राको राजधानीका रूपमा उल्लेख गरिएको छ ।

    ‘विश्‍वका ८ हजारभन्दा अग्ला १४ वटा शिखरमध्ये ८ वटा नेपालमै पर्छन् । यसकारण पनि नेपाल पर्वतारोहीका लागि उत्कृष्ट गन्तव्य हो,’ उक्त वेबसाइटमा छ, ‘अद्भूत प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता र समृद्ध सांस्कृतिक धरोहरले नेपाललाई साहसिक यात्रा गर्नेका लागि अनुपम अनुभव प्रदान गर्दछ ।’

    नेपाल पदयात्रा बाहेक पर्वतारोहण, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्प, जिप–लाइनिङ, जंगल सफारीजस्ता साहसिक पर्यटन गतिविधिले पनि संसारमा चिनिएको उक्त वेबसाइटमा उल्लेख छ ।

    कोरोना महामारीपछि नेपालमा पर्यटक भित्र्याउन पर्यटन बोर्डले संसारका विभिन्‍न देशमा पर्यटन प्रवर्द्धन, प्रचार र पर्यटन गतिविधिमा तीव्रता दिइरहेको छ ।

    एड्भेन्चर शोमा नेपालका ९ निजी पर्यटन व्यवसायीको सहभागिता थियो । नेपालले आयोजना गरेको विशेष कार्यक्रममा ५५ अमेरिकी टुर अपरेटर कम्पनीका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

  • अमेरिकी शिक्षा विभागले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

    अमेरिकी शिक्षा विभागले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

    काठमाडौं । अमेरिकाको शिक्षा विभागले ठूलो संख्यामा कर्मचारी कटौती गर्ने योजना बनाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यस योजना अन्तर्गत करिब आधा कर्मचारी हट्ने भएका छन् । करिब २ हजार १०० कर्मचारी प्रभावित हुने र उनीहरुलाई २१ मार्चदेखि बिदामा पठाइने समाचारमा उल्लेख छ ।

    बीबीसीका अनुसार ट्रम्प प्रशासनले संघीय कर्मचारीको सङ्ख्या घटाउने नीति अघि बढाएको छ, जसको उद्देश्य सरकारी खर्च कटौती गर्नु हो । हाल अमेरिकी शिक्षा विभागमा ४ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । उनीहरूका लागि वार्षिक बजेट करिब २३८ अर्ब डलर खर्च भइरहेको छ ।

    सन् १९७९ मा स्थापित यो विभागले सार्वजनिक विद्यालयहरूलाई कोष वितरण, विद्यार्थीलाई शैक्षिक कर्जा र आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । तर, अमेरिकामा विद्यालयको सञ्चालन र पाठ्यक्रम निर्धारणको जिम्मा प्रदेश र स्थानीय सरकारको हुन्छ । संघीय शिक्षा विभागबाट विद्यालयहरूले जम्मा १३ प्रतिशत मात्र कोष प्राप्त गर्छन् ।