Category: अमेरिका

  • ट्रम्पविरुद्ध कुन अभियोगमा पर्यो पुनः मुद्दा ?

    ट्रम्पविरुद्ध कुन अभियोगमा पर्यो पुनः मुद्दा ?

    काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को निर्वाचनमा हस्तक्षेप गर्न खोजेको विषयमा नयाँ अभियोगसहित मुद्दा दायर गरिएको छ । जो बाइडेन सँग पराजित भएपछि ट्रम्पले मतपरिणाम प्रभावित पार्न खोजेको आरोप खेपेका हुन् । अमेरिकी सर्वोच्च अदालतले गत महिना राष्ट्रपतिहरूले आफ्नो पदीय हैसियतमा गर्ने कामकारबाहीमा उन्मुक्ति पाउने आदेश दिएको थियो ।

    तर अभियोजनकर्ताहरूले ट्रम्पविरुद्ध संशोधित अभियोगपत्रसहित फेरि मुद्दा दायर गरेका हुन् । संशोधित अभियोगपत्रमा पनि यसअघिकै चारवटा आपराधिक अभियोग उल्लेख छन् । तर अहिले भने ट्रम्पलाई पदासीन राष्ट्रपति नभई उम्मेदवारका रूपमा मात्र प्रस्तुत गरिएको बीबीसीले जनाएको छ ।

    अमेरिकी न्याय मन्त्रालयका विशेष अभियोजनकर्ता ज्याक स्मिथले ट्रम्पविरुद्ध लगाइएका चार अभियोगमा अमेरिकालाई धोका दिने षड्यन्त्र गरेको, सरकारी प्रक्रियामा अवरोधको षड्यन्त्र गरेको, सरकारी प्रक्रिया अवरोध गर्ने प्रयास गरेको र अधिकारविरुद्ध षड्यन्त्र गरेको आरोप लगाइएको हो ।

    ट्रम्पले भने २०२० को निर्वाचनमा हस्तक्षेप गरेको आरोप अस्वीकार गर्दै आएका छन् । निर्वाचनमा मतदाताको नाममा व्यापक धाँधली भएको बताउँदै आएका ट्रम्पले त्यसबारे कुनै प्रमाण भने देखाएका छैनन् । ट्रम्पका वकिल टोड ब्लान्चले मुद्दा दायर गरिएको विषयमा ट्रम्पको चुनावी अभियानसँग कुरा गर्न भनेका बीबीसीले जनाएको छ । तर चुनावी अभियानले कुनै उत्तर नदिएको जनाइएको छ ।

    ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ’मा आफूविरुद्धको नयाँ मुद्दालाई ‘मरेकालाई जिउँदो बनाउने प्रयास’ गरेको उल्लेख गरेका छन् । अमेरिकीको ध्यान निर्वाचनबाट मोड्नका लागि यस्तो गरिएको उनको दाबी छ । सीएनएनका अनुसार नयाँ अभियोगपत्र ३६ पृष्ठको छ । यसअघिको अभियोजनपत्र ४५ पृष्ठको थियो ।

    नयाँ अभियोगपत्रमा ट्रम्पले एक नागरिकका रूपमा निर्वाचनको परिणाम प्रभावित गर्ने प्रयास गरेको दाबी गरिएको छ । ‘निर्वाचन परिणामको प्रमाणीकरण वा प्रक्रियागत कार्यमा प्रतिवादीको कुनै आधिकारिक भूमिका नदेखिएको भए पनि ट्रम्पको आफू निर्वाचित हुने व्यक्तिगत स्वार्थ थियो,’ अभियोग पत्रमा उल्लेख गरिएको छ ।

  • अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या

    अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या

    काठमाडौं । अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । उनका अनुसार छातीमा गोली लागेको पाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    मृतक एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका आएको जानकारी प्राप्त भएको छ । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । अपार्टमेण्टका कर्मचारीहरुका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो । त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो ।

    मुनाका साथीहरुका अनुसार उनको फोन दुई दिनदेखि स्वीच्डअफ थियो । तर उनको फोन भने फेला परेको छैन । नेपालमा रहेका उनका परिवारका सदस्यलाई घटनाका बारेमा खबर गरिसकिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष गौतमले बताएका छन् । हालैमात्र दीपक वलीको पनि गोलीबाट मृत्यु भएको थियो ।
    अनलाइनखबरबाट साभार

  • इजरायल र हिज्बुल्लाहबीच घमासान युद्ध सुरु

    इजरायल र हिज्बुल्लाहबीच घमासान युद्ध सुरु

    काठमाडौं । इजरेली सेनाले आफूमाथि हुनसक्ने ठूलो स्तरको हमलाको प्रतिरक्षामा लेबननका विभिन्न ठाउँमा हिज्बुल्लाहको निशानामा आक्रमण गरेको जनाएको छ। इजरेलले दक्षिण लेबननका ४० वटा त्यस्ता प्रक्षेपणस्थलहरूलाई निशाना बनाउन आफूले करिब १०० वटा विमानहरू प्रयोग गरेको जनाएको छ। उसले ‘उत्तरी र मध्य इजरेललाई निशाना बनाउने उद्देश्य लिएका हजारौँ हिज्बुल्लाह रकेट लन्चरहरूलाई ध्वस्त बनाइदिएको’ बताएको छ।

    हिज्बुल्लाहले आफ्ना एक कमान्डरको हत्याको बदलामा पहिलो चरणमा गरिएको कारबाहीमा इजरेलतर्फ ३ सय भन्दा बढी रकेट प्रहार गरेको जनाएको छ।
    उसले अहिलेका लागि उसको कारबाही सम्पन्न भएको जनाएको छ। लेबननको स्वास्थ्य मन्त्रालयले तीनजना मारिएको जनाएको छ। संयुक्त राज्य अमेरिकाले प्रतिरक्षाका लागि इजरेलले चालेको कदमप्रति समर्थन जनाएको छ।


    आईडीएफका प्रवक्ता ड्यान्यल हेगारीले भने, “आत्मरक्षाका लागि ती जोखिमहरू हटाउन आईडीएफले आतङ्कवादी निशानाहरूमा आक्रमण गरिरहेको छ।”
    इजरेलले लेबननका सर्वसाधारणहरूलाई इरानको समर्थन पाएको सिया मुसलमान समूहलाई हिज्बुल्लाह रहेका ठाउँ छाड्न आफूले चेतावनी दिएको जनाएको छ।

    त्यस लगत्तै हिज्बुल्लाहले आफूले अघिल्लो महिना समूहका वरिष्ठ सैन्य कमान्डरको हत्या गरिएको बदलामा इजरेलमा ठूलो स्तरको ड्रोन हमला गरेको जनाएको थियो। आइतवार बिहानै उत्तरी इजरेलमा रकेट आइरहेको जनाउ दिने चेतावनीका साइरनहरू बजेका थिए। इजरेलमा ४८ घण्टे सङ्कटकाल घोषणा गरिएको छ।

    तेलअबिबस्थित विमानस्थल केही समयका लागि बन्द भए पनि फेरि सञ्चालनमा आएको छ। हिज्बुल्लाहले इजरेलको उत्तरतर्फ रहेका सैन्य निशानाहरूलाई केन्द्रित गरेर ३२० वटा रकेट प्रहार गरेको जनाएको छ। उसले यसलाई इजरेलमाथिको ‘पहिलो चरण’ को आक्रमण भनेको छ।

    हिज्बुल्लाहले दक्षिण लेबननको खियाममा आफ्ना एकजना लडाकुको मृत्यु भएको पुष्टि गरेको छ। उक्त समूहले ती व्यक्तिको कुन अवस्थामा मृत्यु भएको खुलाइएको छैन। तर लेबननको स्वास्थ्य मन्त्रालयले उक्त सहरमा इजरेलले गरेको आक्रमणमा एउटा कार परेको र त्यसमा एक जना व्यक्तिको मृत्यु भएको जनाएको थियो।

    हिज्बुल्लाहले लेबनन र दक्षिणको प्रतिरक्षामा आफ्नो राष्ट्रिय र जिहादी दायित्व पुरा गर्ने क्रममा ती व्यक्ति मारिएको जनाएको थियो। लेबननको मन्त्रालयले तीनजनाले इजरेली आक्रमणमा ज्यान गुमाएको बताएको छ। हिज्बुल्लाहले आजका लागि योजना गरिएको इजरेलमाथिको हमला ‘सम्पन्न भएको र सफल भएको’ पनि उल्लेख गरेको छ।

    आईडीएफले एउटा विज्ञप्तिमा हिज्बुल्लाहले ‘१५० भन्दा बढी रकेट लेबननबाट इजरेली भूमिमा प्रहार गरेको’ जनाएको छ। उसले तीनलाई विफल बनाउन ुआइरन डोमु क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पनि प्रयोग गरिएको जनाएको छ। इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सुरक्षा क्याबिनेटको आपत्कालीन बैठक डाकिरहेको जनाएका छन्।

    नेतन्याहूको कार्यालयले प्रधानमन्त्री र रक्षामन्त्री योआभ गालान्टले तेलअबिबमा रहेको आईडीएफको सैन्य शिविर परिस्थितिलाई ‘व्यवस्थापन’ गरिरहेको जनाएका छन्। सामाजिक सञ्जाल एक्समा इजरेली विदेश मन्त्रालयले इरानको नेतृत्वमा रहेको ‘सैतानहरूको समूह’ बाट आफ्नो ‘नागरिक र भूगोलको रक्षा गर्नका लागि’ कदम चालिरहेको जनाएको छ। बीबीसी

  • अमेरिकामा तीन सातादेखि हराइरहेकी ममताका आफ्नै पतिले हत्या गरेको पुष्टी

    अमेरिकामा तीन सातादेखि हराइरहेकी ममताका आफ्नै पतिले हत्या गरेको पुष्टी

    काठमाडौं । तीन सातादेखि अमेरिकामा हराइरहेकी ममता काफ्लेका पति नरेश भट्टले नै हत्या गरी शव लुकाएको खुलेको छ । भट्टले जुलाई ३० मा ममताको घरकै मुख्य बेडरुममा हत्या गरी शव लुकाएको देखिएको सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले त्यहाँको अदालतमा बुझाएको कागजपत्रबाट यसको पुष्टि भएको बताइएको छ ।

    मनासस प्रहरीले नरेशलाई बिहीबार शव लुकाएको आरोपमा पक्राउ गरेको छ । पक्राउपछि प्रहरीले शुक्रबार बिहान भट्टलाई अदालतमा पेस गरेको थियो । प्रिन्स विलियम काउन्टी जुभेनाइल एन्ड डोमेस्टिक रिलेसन कोर्टको रेकर्डअनुसार उनलाई शुक्रबार बिहान ८ः३१ बजे अदालतमा पेस गरिएको थियो ।

    उक्त घटनालाई लिएर अब अर्को सुनुवाइ २४ अक्टोबरमा हुँदैछ । अनुसन्धानका क्रममा ममताको हत्यासँग जोडिएका पर्याप्त डिजिटल र फोरेन्सिक प्रमाण बरामद भएको प्रहरीको दाबी छ । मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले बुधबार स्थानीयको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै पति भट्टले अनुसन्धानमा समन्वय नगरेको आरोप लगाएका थिए । बुधबार बेलुकीदेखि नै भट्टको घरलाई घेराबन्दी गर्दै प्रहरीले १२ घण्टा खानतलासी गरेको थियो ।

    प्रहरीले अदालतमा पेस गरेको कागजपत्रमा काफ्लेको हत्या घरभित्रै भएको र शवलाई घिसारेर घरबाट निकालिएको प्रमाण भेटिएको उल्लेख छ । काफ्लेकी एक वर्षीया छोरीलाई हेरचाह गृह लगिएको छ । ममता गत साउन १६ देखि हराएकी हुन् । उनी अगस्ट २ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि सहकर्मीले अवस्था बुझिदिनका लागि स्थानीय प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीले ममता सार्वजनिक स्थानमा पछिल्लो पटक जुलाई २८ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको जनाएको छ । जुलाई २८ मै ममताले आफ्ना साथीसँग कुरा गरेको पाइएको छ भने जुलाई ३१ मा श्रीमतीलाई अन्तिम पटक देखेको भट्टले प्रहरीलाई बयान दिएका थिए ।

  • स्वतन्त्र उम्मेदवार केनेडीले लिए उम्मेदवारी फिर्ताः ट्रम्पलाई समर्थन

    स्वतन्त्र उम्मेदवार केनेडीले लिए उम्मेदवारी फिर्ताः ट्रम्पलाई समर्थन

    काठमाडौं । अमेरिकाको राष्ट्रपतिका लागि स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले उम्मेदवारी फिर्ता लिएका छन्। शुक्रबार अमेरिकाको एरिजोनामा आयोजित चुनावी र्‍यालीमा एउटै मञ्च साझा गर्दै केनेडीले ट्रम्पलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।

    उनी अमेरिकी सिनेटर रोबर्ट एफ केनेडीका छोरा र पूर्वराष्ट्रपति जोन एफ केनेडीका भतिजा हुन्। उनी डेमोक्र्याटिककै पूर्वनेता समेत हुन्। विचारमा मतभेद भएपछि उनले पार्टी छाडेका थिए। पार्टी छाड्नका लागि प्रेरित गरेका कुराहरूकै कारण ट्रम्पलाई समर्थन गर्न बाध्य पारेको केनेडीले बताएका छन्।

    डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले यसअघि केनेडीको समर्थकबाट पनि भोट प्राप्त हुने गरी पहल गर्ने बताएकी थिइन्। शुक्रबार नै सिकागोमा भएको चुनावी सम्बोधनमा ह्यारिसले राष्ट्रपतिको उम्मेदवारी स्वीकार गर्दै ट्रम्पलाई मतदान नगर्न अपील गरेकी थिइन्। ह्यारिसलाई पूर्वराष्ट्रपति बाराक ओबामा लगायतको समर्थन छ।

  • इजरायलले गाजाका विद्यालयमा आक्रमण गर्दा कम्तिमा १२ जना मारिए

    इजरायलले गाजाका विद्यालयमा आक्रमण गर्दा कम्तिमा १२ जना मारिए


    काठमाडौं । गाजाको नागरिक सुरक्षा विभागले मङ्गलबार आश्रय शिविरको रुपमा प्रयोग भइरहेको एक विद्यालयमा इजरायली आक्रमण हुदाँ कम्तिमा १२ जनाको मृत्यु भएको बताएको छ । इजरायली सेनाले भने हामासको कमाण्ड सेन्टरमा आक्रमण गरेको बताएको छ ।

    “हाम्रो टोलीले गाजा सहरको पश्चिममा इजरायली सेनाले बम प्रहार गरेको मुस्तफा हाफिज विद्यालयबाट १ जनाको शव फेला पारेका छौँ”, विभागका प्रवक्ता महमुद बस्सालले बताए । गाजापट्टीमा जारी इजरायल–हमास युद्धकाबीच हजारौं विस्थापित प्यालेस्टिनी नागरिकले विद्यालयमा शरण लिइरहेको उनले बताए । इजरायली सेनाले भने हमासले विद्यालयलाई ‘कमाण्ड–एन्ड–कन्ट्रोल’को रुपमा प्रयोग गरिरहेको र कमाण्ड सेन्टर लक्षित आक्रमण गरेको बताएको छ ।

    “हमास लडाकु समुहले इजरायली सेना र इजरायल राज्यमाथि आक्रमणको योजना बनाउन र कार्यान्वयन गर्न विद्यालयलाई कमाण्ड–एन्ड–कन्ट्रोल सेन्टरको रुपमा प्रयोग गरिरहेका थिए”, सेनाले एक विज्ञप्तिमार्फत जनाएको छ । इजरायली सेनाले विद्यालयभित्र सक्रिय रहेका आतङ्ककारीहरूमाथि सटीक आक्रमण गरेको बताएको छ । एएफपीले प्रसारण गरेको तस्बिरहरूमा विद्यालय भग्नावशेषमा परिणत भएको र आक्रमणपछि विस्थापित प्यालेस्टिनी पुरुष र महिलाहरु बच्चा बोकेर उक्त स्थानबाट भागिरहेको देखाइएको छ ।

    हालैका हप्ताहरूमा इजरायली सेनाले हमासले कमाण्ड सेन्टरको रुपमा प्रयोग गरिरहेको बताउँदै गाजाभरका धेरै विद्यालयहरूमा आक्रमण गरेको छ । रासस-एएफपी

  • बाइडेनविरुद्ध महाअभियोग मुद्दा दर्ता

    बाइडेनविरुद्ध महाअभियोग मुद्दा दर्ता


    वासिङ्टन । काङ्ग्रेसका रिपब्लिकनहरूले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । रिपब्लिकनहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको प्रयोग गर्दै राजनीतिक हमला सुरु गरेका छन् । 

    रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका तीन शक्तिशाली समितिको प्रतिवेदनमा बाइडेनमाथि उहाँका छोरा हन्टरको विदेशी व्यापार मामिलासँग जोडिएको भ्रष्टाचारको आरोप लगाइएको छ । 

    न्यायिक समितिका प्रमुख जिम जोर्डनले छानबिनले बाइडेनले ‘बाइडेन परिवार र बाइडेन व्यापार सहयोगीहरूको निजी वित्तीय लाभका लागि आफ्नो सार्वजनिक पदको दुरुपयोग गरेको’ भन्ने ‘निष्कर्ष’ देखाएको बताए ।

    यद्यपि बाइडेनले आफ्नो छोरालाई फाइदा पुर्याउन आफ्नो पदको प्रयोग गरेको वा हन्टरको व्यवसायमा बाइडेन संलग्न रहेको भन्ने कुनै प्रत्यक्ष प्रमाण रिपब्लिकनहरूले दिएका छैनन् । 

    बाबु र छोराबीचको सम्बन्धका बारेमा अनुमान र सङ्केतका आधारमा बनाइएको प्रतिवेदनमा बलियो प्रकारको परिस्थितिजन्य कुनै प्रमाण थिएन । प्रतिवेदनमा लगाइएको आरोपहरू बाराक ओबामाको उपराष्ट्रपतिका रूपमा सेवा गरेपछि बाइडेन कार्यालयबाट बाहिरिएपछको अवधिसँग सम्बन्धित थिए । 

    सेवानिवृत्त हुनुअघि डेमोक्रेटिक कन्भेन्सनमा भाषण दिन र उपराष्ट्रपति कमला ह्यारिसलाई राजनीतिक मशाल सुम्पिन तयार बाइडेनले युक्रेन र चीनलगायत आफ्नो छोराका व्यावसायिक उद्यमहरूमा सहयोग गरेको आरोपलाई बारम्बार अस्वीकार गरेका छन् ।

    रिपब्लिकनहरूले वर्षौंदेखि राष्ट्रपति बाइडेनलाई शर्मनाक बनाउने प्रयासमा हन्टर बाइडेनको विदेशी सम्बन्ध र अराजक निजी जीवनलाई लागुपदार्थको दुर्व्यसनीबाट सुधार भएको व्यक्तिका रूपमा प्रयोग गरेका छन् । रासस, एएफपी  

  • ट्रम्पको चुनावी अभियानमा इरानले आक्रमण गरेको पुष्टि

    ट्रम्पको चुनावी अभियानमा इरानले आक्रमण गरेको पुष्टि

    काठमाडौं । अमेरिकाको कट्टर विरोधी इरानले राष्ट्रपति पदको निर्वाचन अभियान ह्याक गरेको पुष्टि भएको छ । एक हप्ता अघि नै डोनाल्ड ट्रम्पका अभियन्ताले साइबर महला भएको बताए पनि सरकारी अधिकारीहरुबाट पुष्टि भएको थिएन ।

    तर अमेरिकाको संघीय अनुसन्धान व्युरो (एफबीआई)ले पनि त्यसको पुष्टि गरेको बीबीसीले जनाएको छ । एफबीआई र अन्य संघीय एजेन्सीहरुले संयुक्त विज्ञप्ति जारी गरेर भनेका छन्, ‘इरानले हाम्रो लोकतान्त्रिक संस्थानहरुमा मतभेद र अविश्वास सिर्जना गर्न अमेरिकी चुनावमा हस्तक्षेप गर्ने निर्णय गरेको छ ।’

    यसै महिनाको सुरुवातमा ट्रम्पका अभियन्ताहरुले चुनाव प्रचार अभियानको वेबसाइट ह्याक गरेर गोप्य दस्तावेज लिक गर्ने र फैलाउने काममा इरानका व्यक्तिहरुको संलग्नता भएको आरोप लगाएका थिए । तर इरानले त्यसको खण्डन गरेको थियो ।

    विश्वको दिग्गज आईटी कम्पनी माइक्रोसफ्टले हप्ता दिन अगाडि अमेरिकी राष्ट्रपति निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले इरानले अनलाइन गतिविधिहरुमाथि तीव्रता दिएको सुनसनीपूर्ण खुलासा गरेको थियो । माइक्रोसफ्टले भनेको थियो– इमेल फिसिङ्ग मार्फत् राष्ट्रपति चुनावको प्रचार अभियानलाई निशाना बनाइँदै छ ।

  • विपद् प्रतिकार्यका लागि अमेरिकाले नेपाललाई हेलिकप्टर दिने

    विपद् प्रतिकार्यका लागि अमेरिकाले नेपाललाई हेलिकप्टर दिने

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले विपद् प्रतिकार्यका लागि नेपाली सेनालाई हेलिकोप्टर खरिदमा सहयोग गर्ने भएको छ । अमेरिकी उप–विदेशमन्त्री रिचार्ड बर्माले नेपाल भ्रमणका क्रममा नेपाली सेनालाई हेलिकोप्टर खरिदका लागि अमेरिका सहयोग गर्न तयार रहेको बताएको नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा गएका बेला नेपाली सेनाले दुई वटा हेलिकोप्टर खरिदका लागि सहयोग गर्न आग्रह गरेको थियो । यसपटक उपविदेश मन्त्रीको भ्रमणका बेला त्यो प्रस्तावमा अमेरिका सहमत भएको उनले बताएका हुन् । सैनिक स्रोतका अनुसार, अमेरिकाले वैदेशिक सहायता शीर्षकमा यो सहयोग गर्न लागेको हो । रिचार्डले नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवासहित विपक्षी दलका नेताहरुसँग समेत भेट गरेका थिए ।

    उनले नेपाल भ्रमणका क्रममा एमसीसी परियोजनाको उपलब्धिबारे एनसीसी परियोजना कार्यान्वयन गर्ने नेपालस्थित कार्यालयका अधिकारीहरुसँग समेत छलफल गरेका थिए । एमसीसीमा भएको छोटो बैठकमा परियोजनाको प्रगति र चुनौतीका विषयमा छलफल गरेका थिए ।

  • संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेकोमा अमेरिकाको बधाई

    संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेकोमा अमेरिकाको बधाई

    काठमाडौं । नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेको भन्दै संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । माओवादी सशस्त्र युद्ध क्रममा निरुपण हुन बाँकी युद्धकालीन घटनाका लागि आयोग बनाउनेबारे दलहरुले न्याय निरुपण प्रक्रियामा सहमति गर्दै केही दिनअघि संसद्‌बाट विधेयक समेत पारित भएको पृष्ठभूमिमा अमेरिकाको बधाई नेपाललाई प्राप्त भएको हो ।

    नेपाल भ्रमण क्रममा अमेरिकाका व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा शुक्रबार दिउँसो भेट्दै बधाई ज्ञापन गरेका हुन् ।

    ‘बर्माले नेपाली राजनीतिक नेतृत्वले संक्रमणकालीन न्याय टुंगो पुग्न लागेकामा बधाई दिनुभयो, उहाँले पीडितहरुको लागि वास्तविक पहल भएको अपेक्षा समेत राख्नुभएको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो । उपमन्त्री बर्माले नेपाल र अमेरिकाबीच ७७ वर्षदेखिको सम्बन्धको सम्झना गर्दै नेपालको विकासमा आफ्नो देश साझेदार हुन पाएकोमा खुसी समेत व्यक्त गरेका थिए ।

    प्रधानमन्त्री ओलीले नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि आभार व्यक्त गरे । ओलीले सन् २०२६ भित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेको र राजनीतिक सहमतिका आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषय टुङ्गो लाग्ने क्रममा रहेको जानकारी गराएको उनको सचिवालयले बतायो । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, पराराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

  • युक्रेनलाई ५१ डलर चन्दा दिँदा १२ वर्ष जेल सजाय

    युक्रेनलाई ५१ डलर चन्दा दिँदा १२ वर्ष जेल सजाय

    काठमाडौं । रुसको एक अदालतले युक्रेनलाई चन्दा सहयोग गर्ने एक महिलालाई १२ वर्षको जेल सजाय तोकेको छ । अदालतले ३३ वर्षीया केसेनिया करेलिनालाई देशद्रोहको आरोपमा दोषी ठहर गरेको हो । अमेरिका र रुसको दोहोरो नागरिकता भएकी करेलिनाले युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ अमेरिकी डलर सहयोग गरेकी थिइन् ।

    पछिल्लो समय अमेरिकाको लस एन्जलस बस्दै आएकी करेलिनालाई पारिवारिक भ्रमणका क्रममा गत जनवरीमा यकातेरिनबर्गबाट पक्राउ गरिएको थियो । त्यसलगत्तै रुसी अभियोजनकर्ताले उनलाई १५ वर्षको जेल सजाय दिइनुपर्ने मागसहित मुद्दा दायर गरेका थिए ।

    मुद्दाको सुनुवाइका क्रममा करेलिनाका वकिल मिखाइल मुसाइलोभले रुस–युक्रेन युद्धबाट पीडित भएका दुवै पक्षलाई सहयोग गरिने विश्वासमा उनले उक्त रकम सहयोग गरेको बताएका थिए । रुसी सञ्चार माध्यमसँग कुरा गर्दै उनले अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने जनाएका छन् ।

    सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेसँगै रुसले युद्धको आलोचना गर्ने र रुसी सेनाको बदनाम गर्नेहरूलाई कारबाही गर्ने कानुन ल्याएको थियो ।

  • अमेरिकी उपराज्यमन्त्री बर्मा नेपाल भ्रमणमा आउँदै

    अमेरिकी उपराज्यमन्त्री बर्मा नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । अमेरिकाको व्यवस्थापन र स्रोत सम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर. बर्माले नेपाल र भारतको भ्रमण गर्ने भएका छन् । उनी शुक्रबार नेपाल भ्रमणमा आउन लागेका हुन् । अमेरिकी विदेश मन्त्रालयको प्रवक्ताद्वारा बिहीबार जारी गरेको वक्तव्यअनुसार बर्माले भदौ १ देखि ६ गतेसम्म नेपाल र भारतको भ्रमण गर्न लागेका हुन् । उनी पहिला नेपाल आएर भारत भ्रमणमा निस्कने छन् । उक्त अवसरमा दुवै देशको समृद्ध, सुरक्षित र बलियो रुपमा दृढ रुपमा भविष्यलाई अगाडि बढाउन र सहयोग गर्न अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बर्मा आउन लागेका हुन् ।

    नेपालमा प्रतिनिधिमण्डलले आर्थिक विकास, महिला सशक्तिकरण, उर्जा र जनताबीचको सम्बन्धमा साझा प्राथमिकताका बारेमा छलफल गर्न उच्च सरकारी अधिकारी, विकास व्यवसायी र व्यवसायी नेताहरूसाग भेट गर्ने वक्तव्यमा उल्लेख छ । बर्मासँग राष्ट्रपति जो बाइडेनका अन्तर्राष्ट्रिय जलवायु नीतिका वरिष्ठ सल्लाहकार जोन पोडेस्टा र अमेरिकी ऊर्जा विभागका उपमन्त्री डेभिड टर्कले भारत भ्रमण गर्ने बताइएको छ ।

  • जब अमेरिकी सैनिकले चीनलाई सैन्य सूचना बिक्रि गरेको स्वीकार गरे

    जब अमेरिकी सैनिकले चीनलाई सैन्य सूचना बिक्रि गरेको स्वीकार गरे

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको सेनामा कार्यरत एक विश्लेषकले गोप्य सैन्य सूचनाहरू चीनलाई बिक्री गरेको दोष स्वीकार गरेको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ। सङ्घीय जाँच ब्यूरो एफबीआई र अमेरिकी सेनाको प्रतिगुप्तचरी निकायले गरेको एउटा अनुसन्धानपछि सार्जन्ट कोर्बेन शूल्ट्स गत मार्च महिनामा पक्राउ परेका थिए। सुरक्षासम्बन्धी दर्जनौँ संवेदनशील जानकारीका लागि उनले ४२,००० अमेरिकी डलर लिएको आरोप उनीमाथि लागेको थियो।


    अधिकारीहरूका अनुसार गोप्य सूचना बेच्ने आपराधिक षड्यन्त्र जुन २०२२ मा सुरु भई उनी पक्राउ नपर्दासम्म चलिरहेको थियो। आगामी ज्यानुअरीमा उनलाई सजाय सुनाइने छ। अदालतमा प्रस्तुत दस्ताबेजहरूका अनुसार निकै गोप्य सूचनामा पहुँच भएका शूल्ट्सले हङ्‌कङमा बस्ने भन्ठानिएका एक व्यक्तिसँग मिलेर डेटा सङ्कलन गर्ने षड्यन्त्र बनाएका थिए। ती दोस्रा व्यक्तिले शूल्ट्सलाई क्षेप्यास्त्र प्रतिरक्षा र एकठाउँबाट अर्को ठाउँमा लैजान मिल्ने आर्टिलरी प्रणालीबारे संवेदनशील जानकारी भेला पार्न अह्राएको अदालतमा पेस गरिएका दस्ताबेजमा भनिएको छ।

    शूल्ट्सले अमेरिकी लडाकु विमान, सैन्य रणनीति र युक्रेनमा जारी युद्धका आधारमा ताइवानको सन्दर्भमा अमेरिकी सेनाले बनाएको प्रतिरक्षात्मक रणनीतिबारे पनि सूचना सङ्कलन गरेका थिए। संयुक्त राज्य अमेरिकाभन्दा बाहिर बस्ने कुनै व्यक्तिलाई देशको प्रतिरक्षासम्बन्धी सूचना पठाएर प्रतिवादीले हाम्रो सेनाले उनीप्रति राखेको विश्वासको फाइदा उठाउँदै हाम्रो राष्ट्रिय सुरक्षालाई गम्भीर जोखिममा पारे, अमेरिकी न्याय मन्त्रालयको राष्ट्रिय सुरक्षा विभागका सहायक महान्यायाधिवक्ता म्याथ्यू ओल्सनले भने।

    शूल्ट्सले आफूविरुद्ध लागेका सबै अभियोग मङ्गलवार स्वीकार गरेका हुन्। उनीविरुद्ध रक्षासम्बन्धी सूचना प्राप्त गर्ने र खुलाउने षड्यन्त्र गरेको र सार्वजनिक पदमा रहेर घुस लिएको अभियोगहरू पनि थिए। अभियोगपत्रमा शूल्ट्सले हङ्‌कङमा बस्ने भन्ठानिएका व्यक्तिलाई पठाएका सन्देशहरू विस्तारपूर्वक समाविष्ट छन्। ती दोस्रा व्यक्तिलाई षड्यन्त्रकारी ए भनिएको छ।

    एउटा सन्देशमा शूल्ट्सले आफू जेसन बोर्न बन्न पाए हुन्थ्यो भनेका छन्। जेसन बोर्न काल्पनिक जासुस हुन्। थप पैसा पाउने आश्वासन पाएपछि शूल्ट्सले अर्को सन्देशमा भनेका थिए, त्यो सत्य होस्, मैले आफ्नो अर्को बीएमडब्ल्यू फिर्ता ल्याउनु छ । एफबीआई र अमेरिकी सेनाको ुकाउन्टरइन्टेलिजन्स कम्यान्डुले उक्त घटनाबारे अनुसन्धान जारी राखेको छ।
    बीबीसीको सहयोगमा

  • नेपथ्यको सुरमा झुल्दै अमेरिका

    नेपथ्यको सुरमा झुल्दै अमेरिका

    काठमाडौं । अमेरिका भ्रमणमा रहेको लोकरक ब्यान्ड ‘नेपथ्य’ ले क्यालिफोर्निया राज्यमा आफ्नो दोस्रो प्रस्तुति दिएको छ । ब्यान्ड सानफ्रान्सिस्कोको प्रसिद्ध ‘वारफिल्ड हल’ मा दोस्रो पटक प्रस्तुत भएको हो । ‘नेपथ्य’ ले आठ वर्षअघि उक्त हलमा प्रस्तुति दिएको थियो । गायक अमृत गुरुङले ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट प्रस्तुति सुरु गरेका थिए ।

    कार्यक्रममा ‘भेडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते सुरती’ हुँदै अगाडि बढेको कार्यक्रम ‘मै नाचे छमछमी’, ‘रेशम’, ‘तालको पानी’ हुँदै अन्त्यमा ‘रातो र चन्द्रसूर्जे’ गीतसँगै सकिएको थियो । कार्यक्रममा ब्यान्डका स्थापनाकालदेखि हालसम्मका नयाँ–पुराना गरी १७ वटा गीत प्रस्तुत गरिएका थिए ।

    कार्यक्रममा अमृतले दर्शकहरूलाई नेपाली भाषा र पहिचान जोगाएर बस्न आग्रहसमेत गरेका थिए । ‘विश्वकै अग्ला सांगीतिक हस्तीहरू उभिएको यसै मञ्चमा दोस्रो पटक भव्य र सभ्य दर्शकका अघि पाइला राख्न पाउँदा अनुगृहीत महसुस गरिरहेको छु,’ उनले भने, ‘म यो आर्जनलाई तमाम नेपाली संगीतप्रेमीहरूप्रति समर्पित गर्न चाहन्छु ।’

    कार्यक्रममा उपस्थित दर्शकहरू प्रस्तुत गीतसँगै निकै झुमेका थिए । गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

    ‘नेपथ्य’ को तेस्रो प्रस्तुति ओहायो राज्यको राजधानी कोलम्बसस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यु’ मा अगस्ट १७ मा हुँदै छ । त्यसपछि क्रमशः डालस, न्युयोर्क, मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसबर्गमा कार्यक्रम हुने जनाइएको छ ।

  • २०२८ को ओलम्पिक अमेरिकाले आयोजना गर्ने, कस्तो रह्यो पेरिस ओलम्पिक ?

    २०२८ को ओलम्पिक अमेरिकाले आयोजना गर्ने, कस्तो रह्यो पेरिस ओलम्पिक ?

    काठमाडौं । ३४ औं ग्रीष्मकालीन ओलम्पिक अमेरिकाले आयोजना गर्ने भएको छ । पेरिस ओलम्पिकको समापनसँगै आगामी ओलम्पिकको आयोजनाको तयारीमा अमेरिका जुटेको हो । यस ओलम्पिकमा अमेरिका र चीनले समान ४० स्वर्ण जिते पनि रजत र कांस्यका आधारमा अमेरिका पहिलो स्थानमा रह्यो । कुल अमेरिकाले १२६ र चीनले ९१ पदक जिते । पेरिसमा ९१ राष्ट्रले कुनै न कुनै पदक जितेका छन् ।

    समापन समारोह संगीतमय रह्यो र त्यसमा रेड हड चिल्ली पेपर्स, बिली एलिस, स्नुप डग र डाक्टर ड्रेले आ–आफ्नो प्रस्तुति दिए । यस्तै फ्रान्सेली इतिहास, कला र संस्कृति झल्किने विभिन्न प्रस्तुति पनि प्रदर्शन पनि समापन समारोहमा राखिएको थियो ।त्यस अवसरमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखले ३३ औं गृष्मकालीन ओलम्पिक सनसनीपूर्ण ढंगले सफल रहेको दाबी गरे । उनले ओलम्पिक इतिहासमा नयाँ युगको सुरुआत भएको पनि दाबी गरे ।

    अर्को संस्करणको ओलम्पिक अमेरिकाको लस एन्जलसमा सन् २०२८ मा हुनेछ । अमेरिकाले १९९६ को एटलान्टापछि पहिलो पटक ओलिम्पक आयोजना गर्न लागेको हो । अब पारा ओलम्पिक अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म पेरिसमै आयोजना हुनेछ ।

  • खाडी मुलुकबाट धेरै नेपाली हुन्छन् डिपोट, अमेरिकाबाट कति ?

    खाडी मुलुकबाट धेरै नेपाली हुन्छन् डिपोट, अमेरिकाबाट कति ?

    पछिल्लो तीन वर्षमा चार हजार नेपाली विदेशबाट फर्काइएको तथ्यांक सार्वजनिक भएको छ । वैदेशिक रोजगार, अध्ययन लगायत विभिन्न कामका लागि विदेश पुगेका नेपालीमध्ये सन् २०२१ देखि २०२४ अगस्टसम्म तीन हजार ९३७ जनालाई नेपाल फिर्ता पठाइएको छ ।

    अध्यागमन विभागका अनुसार अध्यागमनबाट प्रवेश अस्वीकार हुनु वा गैरकानुनी क्रियाकलापका कारण नेपालीलाई यतै फर्काउने गरिएको छ । हरेक वर्ष विदेशबाट फर्काइने नेपालीहरुको संख्या बढिरहेको पाइएको छ । सन् २०२१ मा ८७९ नेपाली फर्काइएका थिए । सन् २०२२ मा १ हजार १६६ जना फर्काइएको तथ्यांक छ । सन् २०२३ मा १ हजार ४४२ र २०२४ को सात महिनामा ४८९ जना नेपालीहरु फर्काइएका छन् ।


    पछिल्लो तीन वर्षमा नेपालको प्रमुख श्रम गन्तव्य युएईबाट ७९९, साउदी अरेबियाबाट ५०३, मलेसियाबाट ३८९, कतारबाट १८० जना स्वदेश फर्काइएका छन् । टर्कीबाट २५७, जापानबाट १८०, दक्षिण कोरियाबाट १४९, युक्रेनबाट १२४, रसियाबाट १०७, रोमनियाबाट ९४, अमेरिकाबाट ९३, क्रोएसियाबाट ७८ र साइप्रसबाट ८९ जना नेपाली फर्काइएका छन् ।

  • रुसको भू-भागमै छिरेर युक्रेनले थाल्यो आक्रमण

    रुसको भू-भागमै छिरेर युक्रेनले थाल्यो आक्रमण

    काठमाडौं । रुसी आक्रमणविरुद्ध प्रत्याक्रमण गरिरहेको युक्रेनी सेना रुसी भूभागमा ३० किलोमिटर भित्रसम्म प्रवेश गरेको छ। रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरे यता युक्रेनी सेना रुसी भूभागमा सबैभन्दा भित्रसम्म पुगेको यो पहिलो घटना हो। रुसको रक्षा मन्त्रालयले आफ्नो फौज र युक्रेनी सेनाबीच टोल्पिनो र ओब्बेस्चे कोलोडेज् गाउँमा लडाइँ भइरहेको जनाएको छ। रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेना प्रवेश गरेको छैटौँ दिन सीमाभन्दा ३० किलोमिटर भित्रसम्मका गाउँ पुगेको हो।

    रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिआ जाखारोभाले “रुसको शान्त जनसङ्ख्यालाई धम्की दिएको” आरोप किएभमाथि लगाएकी छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो फौजबाट युक्रेनी भूभागमा आक्रमण भएको स्वीकार गरेका छन्। एक सम्बोधनका क्रममा जेलेन्स्कीले रुसले कुर्स्क क्षेत्रबाट यो बर्खा याममा मात्रै २,००० आक्रमण आफ्नो देशतर्फ गरेको बताए।

    ूतोप, मोर्टार, ड्रोन र क्षेप्यास्त्र आक्रमण पनि भएको अभिलेख हामीले राखेका छौँ। यी प्रत्येक यस्ता आक्रमणले जवाफ पाउँछन्,ू किएभबाट देशवासीलाई सम्बोधन गर्दै जेलेन्स्कीले भने। एक जना युक्रेनी वरिष्ठ अधिकारीले हजारौँ सैनिकहरू उक्त कारबाहीमा संलग्न भएको एएफपी समाचार संस्थालाई बताएका छन्।

    युक्रेन समर्थित एउटा समूहले पनि छिटपुट आक्रमण गर्दै आएको कुर्स्क क्षेत्रमा किएभले सबैभन्दा ठूलो योजनाबद्ध आक्रमण गरेको हो। उनीहरूतर्फ सकेसम्म धेरै क्षति पुर्‍याएर अस्थिर अवस्था सिर्जना गर्दै रुसले आफ्नै सीमाको रक्षा गर्न नसक्ने बनाउनु हो,” ती अधिकारीले भने।

    रुसको रक्षा मन्त्रालयले आफ्नो फौजले “बख्तरबन्द गाडीसहित रुसको भित्री भागमा प्रवेश गर्न खोज्ने विपक्षीका घुम्ती समूहको प्रयास असफल बनाइदिएको” बताएको छ। तर रुसले सीमाभन्दा २५ र ३० किलोमिटर दूरीमा रहेका टोल्पिनो र ओब्बेस्चे कोलोडेज् गाउँमा लडाइँ भइरहेको जानकारी दिने क्रममा किएभका फौज कुर्स्क सीमाको भित्री भागमा प्रवेश गरेको स्वीकार गरेको छ।
    बीबीसी

  • पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका प्रथम, चीन अन्तिम दिन पछि पर्यो

    पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका प्रथम, चीन अन्तिम दिन पछि पर्यो

    काठमाडौं । पेरिस ओलम्पिक २०२४ चीनलाई पछि पार्दै अमेरिका प्रथम बनेको छ । दुई सातासम्म चलेको ओलम्पिकमा अमेरिका र चीन को अगाडि रहने भन्ने प्रतिस्पर्धा चलिरहेको थियो । अन्तिम दिन अमेरिकाले बाजी मार्न सफल भयो । पेरिस ओलम्पिकको अन्तिम दिन अमेरिकाले महिला बास्केटबलमा रोमाञ्चक स्वर्ण जितेपछिपछि पदक तालिकामा चीनलाई पछि पारेको हो । रोमाञ्चक खेलमा अमेरिकाले आयोजक फ्रामन्सलाई ६७–६६ ले पराजित गरेको थियो ।

    अमेरिका र चीनले समान ४० स्वर्ण जितेको थियो । तर रजत पदक धेरै जितेको आधारमा अमेरिका पहिलो बनेको हो । अमेरिकाले ४० स्वर्ण ४४ रजत र ४२ कांस्य सहित १२६ पदक जित्यो । चीन ४० स्वर्ण २७ रजत र २४ कांस्यसहित ९१ पदक जितेर दोस्रो भयो । अर्को एसियाली राष्ट्र जापान तेस्रो भयो ।

    जापानले २० स्वर्ण १२ रजत र १३ कांस्यसहित ४५ पदक जित्यो । अष्ट्रेलिया १८ स्वर्ण १९ रजत र १६ कांस्य ५३ पदक जोडेर चौथो भयो । आयोजक फ्रान्स पाँचौ स्थानमा रह्यो । फ्रान्सले १६ स्वर्ण २६ रजत र २२ कांस्यसहित ६४ पदक जित्यो । पेरिस ओलम्पिकमा २०६ राष्ट्र सहभागी भएकोमा ९१ राष्ट्रले पदक जितेका थिए ।

  • अमेरिकी डलरको मूल्यमा आज पनि नयाँ रेकर्ड

    अमेरिकी डलरको मूल्यमा आज पनि नयाँ रेकर्ड

    काठमाडौं । उच्च मूल्यमा पुगेको अमेरिकी डलरले दैनिक नयाँ नयाँ रेकर्ड कायम गर्दैछ । मंगलबार अमेरिकी डलरको भाउ १५ पैसा वृद्धि भएको छ । अमेरिका, भारतसहितका मुलुकको स्टक मार्केटमा गिरावट आउँदा डलरको माग बढेको बताइएको छ । डलरको मूल्य उच्च दरले बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ ४६ पैसा र खरिददर मूल्य १३३ रुपैयाँ ८६ पैसा तोकेको छ । एक युरोको बिक्रीदर मूल्य १४७ रुपैयाँ २१ पैसा छ भने खरिदर मूल्य १४६ रुपैयाँ ५६ पैसा छ ।

    एक साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ८२ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ६६ पैसा छ । कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ८७ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ७० पैसा तोकिएको छ ।

    एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ६१ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ४४ पैसा तोकिएको छ । एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य ३० रुपैयाँ ३९ पैसा तथा खरिददर मूल्य ३० रुपैयाँ २५ पैसा छ ।

  • अमेरिका, जापान, भारतसहितका ठूला स्टक बजारमा किन गयो पहिरो ?

    अमेरिका, जापान, भारतसहितका ठूला स्टक बजारमा किन गयो पहिरो ?

    काठमाडौं । भारत, अमेरिका, जापानसहित शक्तिशाली स्टक बजारमा ठूलो गिरावट आएको छ ।शुक्रबार र सोमबार ती बजार ठूलो दरमा घटेका छन् । अमेरिकाको रोजगारी सम्बन्धी एक रिपोर्टले मन्दीको त्रास देखाएपछि अमेरिका सहित भारत तथा जापानको सेयर बजार बढी प्रभावित भएको उल्लेख गरेको छ ।

    अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने तयारी गरिरहँदा पनि स्टक बजारमा उच्च गिरावट देखिएको छ । अमेरिकामा रोजगार वृद्धिदर अपेक्षाभन्दा न्यून भएपछि त्यसले थप मन्दीको संकेत जनाएको भन्दै विश्लेषण भइरहेको छ ।

    सोमबार भारतीय बजारको बीएसई सेन्सेक्स २.७१ प्रतिशत अर्थात् २२२२ अंक घटेको छ । सो गिरावटपछि बीएसई सेन्सेक्स ७८७५९ मा झरेको छ । त्यस्तै ५० ठूला कम्पनीको सूचक निफ्टी ५० पनि २.६८ प्रतिशत घटेको छ । ६६२ अंक घटेर निफ्टी ५० सूचक २४०५५ मा झरेको छ ।

    अमेरिकी डो जोन्स शुक्रबार ३.३ प्रतिशत घटेको छ । १२७४ अंक घटेर डो जोन्स ३९६०० सय नजिक झरेको छ । सोमबार पनि कारोबार भइरहँदा यो घट्ने क्रममा निरन्तरता देखिएको छ । कारोबार भइरहँदा नेपाली समयअनुसार साँझ ६ः४० बजे यो सूचक ३ प्रतिशत घटेर ३८६४८ मा छ ।

    त्यस्तै एस एन्ड पी–५०० फ्युचर पनि शुक्रबार ४.६ प्रतिशत घट्यो । सोमबार पनि यो घट्ने क्रममा निरन्तरता देखिएको छ । कारोबार भइरहँदा नेपाली समय अनुसार साँझ ६ः४० मा यो सूचक ४.१ प्रतिशत घटेर ५१४९ मा झरेको छ ।

    नास्डाक १०० फ्युचर शुक्रबार ६ प्रतिशत घट्यो । सोमबार पनि कारोबार भइरहँदा यस सूचकमा गिरावट जारी छ । नेपाली समय अनुसार साँझ ६ः४० सम्म कारोबार भइरहँदा यो सूचक ५.९८ प्रतिशत झरेर १७४४७ अंकमा झरेको छ । जापानी स्टक मार्केट निक्की सोमबार १२।७९ प्रतिशत घटेर ३१४५८ मा कायम भएको छ ।

  • अमेरिकाले आफ्ना नागरिकलाई भन्यो : तत्काल लेबनान छाड्नु

    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो : तत्काल लेबनान छाड्नु


    काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनेको छ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको हो।

    बीबीसीका अनुसार यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि आफ्ना नागरिकलाई लेबनान छान्न भनेका थिए । उनले यस क्षेत्रको अवस्था तीव्र गतिमा बिग्रन सक्ने बताएका चेतावनी दिएका थिए ।

    यता जोर्डनका विदेशमन्त्रीले पनि चेतावनी जारी गर्दै आफ्ना नागरिकहरूलाई तुरुन्त लेबनान छाड्न आग्रह गरेका छन्

    तेहरानमा बुधबार हमास नेता इस्माइल हानियाको मृत्यु भएपछि इरानले इजरायलविरुद्ध बदला लिने बताएसँगै मध्यपूर्वमा तनाव बढ्ने सम्भावना बढेको हो ।

    इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रलाई मारेको दाबी गरेको केही घण्टापछि हानियाको मृत्युको आएको थियो ।

    बीबीसीका अनुसार यही घटनाक्रमको बीचमा आइतबार राति हिजबुल्लाहले उत्तरी इजरायलको बेइट हिलेल क्षेत्रमा धेरै रकेट प्रहार गरेको छ।

    सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा एयर डिफेन्स सिस्टमले क्षेप्यास्त्रलाई नष्ट गरेको देख्न सकिन्छ । रकेट प्रहारबाट भएका क्षतिबारे कुनै विवरण आएको छैन ।

    सम्भावित घटनाक्रमको अनुमान गर्दै कैयौं एयरलाइनहरूले उडान रोकेका छन् । उडानमा रहेकाहरूको पनि टिकट पूर्ण रूपमा बिक्री भइसकेको छ ।

  • पेरिस ओलम्पिक : पदक तालिकामा चीनको अग्रता, अमेरिका चौथो

    पेरिस ओलम्पिक : पदक तालिकामा चीनको अग्रता, अमेरिका चौथो

    काठमाडौं । फ्रान्सको पेरिसमा जारी ओलम्पिकको पदक तालिकामा चीनले अग्रता कायम गरेको छ । उसले १३ स्वर्ण जितेको छ । कुल ३१ पदक जितेको चीन पहिलो स्थानमा छ । समान ११ स्वर्ण पदक जितेका फ्रान्स र अष्ट्रेलिया क्रमशः दोस्रो र तेस्रो स्थानमा छन । आयोजक फ्रान्सले ३६ पदक जितेको छ । चौथो स्थानमा रहेको अमेरिकाले ९ स्वर्ण जितेको छ ।

    अमेरिकाले सर्वाधिक ४३ पदक जिते पनि उसको रजत पदक अधिक रहँदा चौथो स्थानमा रहेको हो । ग्रेट ब्रिटेन पाँचौं स्थानमा छ । जापान छैठौं, कोरिया सातौं र इटाली आठौं स्थानमा छ । अहिलेसम्म ७० भन्दा धेरै मुलुकले पदक भित्राएका छन् । दक्षिण मुलुकमध्ये भारतले तीन काष्य पदक जित्नु नै सफलता मानिएको छ ।

  • कमला ह्यारिस डेमोक्रेटिक पार्टीको आधिकारिक उम्मेदवार

    कमला ह्यारिस डेमोक्रेटिक पार्टीको आधिकारिक उम्मेदवार

    काठमाडौं । अमेरिकाको डेमोक्रेटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवार चयन गरेको छ । यसअघि पार्टीका नेताहरुले समर्थन गर्दै आएकामा डेमोक्रेटिक नेसन कमिटी (डीएनसी) ले औपचारिक रुपमा आउँदो चुनावका लागि दलको तर्फबाट उम्मेदवार चयन गरेको बीबीसीले जनाएको छ ।

    भर्चुअल मतदानमा उपराष्ट्रपति ह्यारिसले पार्टीको तर्फबाट उम्मेदवारी प्राप्त गर्न आवश्यक सीमा पार गरेपछि डीएनसीले औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो । ह्यारिस अमेरिकामा मुख्य दलको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बन्ने पहिलो अश्वेत र पहिलो दक्षिण एसियाली मुलकी महिला बन्नुभएको छ ।

    आउँदो नोभेम्बरमा हुने चुनावमा पूर्व राष्ट्रपती डोनाल्ड ट्रम्पलाई पराजित गर्न सकेमा उहाँ अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नुहुनेछ । यसैबीच ह्यारिस उम्मेदवार बनेपछि उहाँको चुनावी प्रचारका लागि चन्दा दिने क्रम पनि बढेको छ ।

    अहिलेसम्म ट्रम्पको चुनावी अभियान बैंक खातामा ३२ करोड ७० लाख अमेरिकी डलर चन्दा जम्मा हुँदा ह्यारिसको चुनावी अभियान खातामा ५४ करोड डलर जम्मा भएको छ । जसमध्ये १२ करोड राष्ट्रपति बाइडेनले उम्मेदवार त्याग्नु अघिको हो भने बाँकी बाइडेनले प्रतिस्पर्धा छाडेपछिको हो ।

  • काठमाडौंबाट पोखरा उडेको जहाजमा प्राविधिक समस्या, काठमाडौं फर्काइयो

    काठमाडौंबाट पोखरा उडेको जहाजमा प्राविधिक समस्या, काठमाडौं फर्काइयो


    काठमाडौं । काठमाडौंबाट पोखरा उडेको बुद्धको जहाजमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं फर्काइएको छ । उडान नं. ६५५, कल साईन ९-एएमडिमा प्राविधिक समस्या देखिएको बुद्धले जनाएको छ ।

    जहाजलाई पुनः काठमाडौं सुरक्षित अवतरण गरिएको छ । सो जहाजका यात्रुलाई अर्को जहाजबाट पोखरा पठाइएको कम्पनीले उल्लेख गरेको छ ।

  • एक महिनामा साढे ६४ हजार पर्यटक, अमेरिकी दोस्रोमा

    एक महिनामा साढे ६४ हजार पर्यटक, अमेरिकी दोस्रोमा

    काठमाडौं । २०२४ को जुलाई महिनामा ६४ हजार ५९९ पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार जुलाईमा ६४ हजार ५९९ पर्यटक भित्रिएका हुन्।

    जुलाईमा सबैभन्दा बढी २१ हजार ४९१ भारतीय पर्यटक भित्रिएका छन्। त्यस्तै, अमेरिकाबाट ७ हजार ८४६, चीनबाट ६ हजार ८१९ पर्यटक आएका छन्।
    त्यस्तै, बेलायबाट ३ हजार ८०६, बंगलादेशबाट ३ हजार ४७०, अष्ट्रेलियाबाट एक हजार ९०१ र साउथ कोरियाबाट एक हजार ५३७ पर्यटक भित्रिएका छन्। यस वर्ष ७ महिनामा ६ लाख ४७ हजार जना पर्यटक नेपाल आएको तथ्यांकमा देखिएको छ ।

  • हमासका प्रमुख नेताको इरानमा हत्या, मध्यपूर्वमा तनावको डर

    हमासका प्रमुख नेताको इरानमा हत्या, मध्यपूर्वमा तनावको डर

    काठमाडौं । प्यालेस्टाइन विद्रोही समूह हमासका प्रमुख नेता इस्माइल हानियाको इरानको राजधानी तेहरानमा हत्या भएको छ । यसले मध्यपूर्वमा तनावको डर मडारिएको अन्तर्राष्ट्रिय समुदायले जनाएका छन् । मध्यपूर्वका धेरैजसो देशले यो हत्याले तनाव झनै बढ्ने चेतावनी दिएका छन् ।

    इजरायली सेनाले पछिल्लो समय हमासका नेतालाई लक्षित गरी आक्रमण गरिरहेको छ । हानियाको हत्या पनि इजरायलले नै गरेको हुनसक्ने शङ्का छ । इजरायलले भने औपचारिक प्रतिक्रिया दिएको छैन । हानियाका छोरा र नातिनातिनीलाई पनि इजरायलले यसअघि मारेको छ ।


    बीबीसीका अनुसार इजरायलले हमासका नेता हानियालाई यसअघि नै हत्या गर्न खोजेको थियो तर उनी कतारमा रहेकाले त्यहाँ हत्या गर्न सम्भव थिएन । त्यसैले हिजो इरानमा रहेको मौकामा मिसाइल प्रहार गरेर हत्या भएको हुन सक्ने जनाइएको छ । पटक–पटक इरानमा आक्रमण गर्दै विभिन्न व्यक्तिको हत्या गरेर इजरायलले आफूविरुद्ध लाग्नेहरू कतै पनि सुरक्षित छैनन् भन्ने सन्देश दिएको खबरमा उल्लेख छ ।

    हानिया इजरायलसँगको युद्धविराम र बन्धक रिहाइको वार्तामा संलग्न थिए, उनै हानियाको हत्या भएकाले अब इजरायल र हमासबीच वार्ता कसरी हुन्छ भनेर कतारले प्रश्न सोधेको छ । जोर्डनले हमासका नेताको हत्यालाई कडा शब्दमा निन्दा गर्दै यो घटनाले मध्यपूर्वमा थप तनाव र अराजकता निम्त्याउने बताएको छ । लेबनानले पनि घटनाको निन्दा गर्दै यसको परिणाम राम्रो नहुने चेतावनी दिएको छ ।

    यस्तै आज मात्रै शपथ लिएका इरानका राष्ट्रपति मसूद पेजेस्कीयनले हानियाको हत्या गर्नेहरू पछुताउनुपर्ने चेतावनी दिएका छन् । उनले हानियाको रगतलाई कहिल्यै खेर जान नदिने पनि बताए । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामिनीले पनि हानियाको हत्याको बदला लिनु तेहरानको कर्तव्य भएको बताए ।

  • पेरिस ओलम्पिकमा जापानको अग्रता कायमै, अमेरिका छैटौं स्थानमा

    पेरिस ओलम्पिकमा जापानको अग्रता कायमै, अमेरिका छैटौं स्थानमा

    काठमाडौं । पेरिस ओलम्पिकको पदक तालिकामा मंगलबार जापानले अग्रता कायम गर्न सफल भएको छ । जापानले मंगलबारसम्म सर्वाधिक ७ स्वर्ण जितेको छ । यस्तै २ रजत र ४ कांस्य पनि जितेको जापानले कुल १३ पदक जितेको छ । जापानलाई एसियाको अर्को मुलुक चीन र अष्ट्रेलियाले पछ्याइरहेका छन् । चीनले ६ स्वर्ण, ६ रजत र २ कांस्य गरी १४ पदक जितेको छ । अष्ट्रेलियाले ६ स्वर्ण, चार रजत र एक कांस्यसहित ११ पदक जितेको छ ।

    आयोजक फ्रान्सले पनि ५ स्वर्ण जित्दा ४ रजत र एक कांस्य गरी ११ पदक जितेको छ । पाँचौ स्थानमा रहेको दक्षिण कोरियाले ५ स्वर्ण, ५ रजत र ३ कांस्य गरी ११ पदक जितेको छ । ओलम्पिकको सबैभन्दा सफल राष्ट्र अमेरिका भने छैटौं स्थानमा छ ।

    अमेरिकाले ४ स्वर्ण, ११ रजत र १ कांस्यसहित २६ पदक जितेको छ । यस्तै बेलायत ४ स्वर्ण ५ रजत र ३ कांस्यसहित १२ पदक जोडेर सातौं स्थानमा छ । इटली ३ स्वर्ण जितेर आठौं स्थानमा छ भने क्यानडा र हङकङ समान २ स्वर्ण जितेर क्रमशस् नवौँ र दशौँ स्थानमा छ ।

    विश्वका २०६ राष्ट्रको सहभागी पेरिस ओलम्पिकमा अहिलेसम्म ४३ राष्ट्रले कम्तीमा एक पदक जितेका छन् । पदक तालिकामा एसियाली राष्ट्रहरु अघि रहँदा दक्षिण एसियाका राष्ट्रहरुको भने कमजोर प्रदर्शन जारी छ । भारतले दुई कांस्य जित्नु बाहेक अन्य दक्षिण एसियाली राष्ट्रले पदक जित्न सकेका छैनन् ।

    नेपालबाट पेरिसमा विभिन्न ६ खेलका ७ खेलाडीको सहभागिता रहेकोमा ५ खेलाडीको चुनौती समाप्त भइसकेको छ । ब्याडमिन्टनका प्रिन्सले समूह चरणको अन्तिम खेल आज खेल्दैछन् । यस्तै एथ्लेटिक्स महिला म्याराथनमा सन्तोषी श्रेष्ठले अन्तिम दिन अर्थात ११ अगष्टमा प्रतिस्पर्धा गर्नेछिन् ।

  • ८० लाख तिरेर अमेरिका पुगेका रुकुमका ओलीको गोली हानी हत्या

    ८० लाख तिरेर अमेरिका पुगेका रुकुमका ओलीको गोली हानी हत्या

    काठमाडौं । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय दीपक ओलीको अमेरिकामा हत्या भएको छ । अमेरिकाको टेक्सासमा आइतबार बिहान बन्धुकधारी लुटेरा समूहको आक्रमणबाट ओलीको हत्या भएको हो । मृतकका माइला बुवा खिमबहादुर ओलीले दीपक काम गर्ने टेक्सासको वेको सिटी नजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा गोली हानेर हत्या गरिएको खबर पाएको जानकारी दिएका छन् । टेक्सास मै रहेका सेजे गाउँका विवेक ओली मार्फत घरमा खबर आएको उनको भनाई छ ।


    आइतबार बिहान करिब ५ बजेतिर बन्दुकधारी लुटेराहरूले गोली प्रहार गरेर हत्या गरेको र शव पोस्ट मार्टमको लागि अस्पताल लगिएको बुझिएको माइला बुवा खिमबहादुरले जानकारी दिए । उनले गोली लागेर दीपकको घटनास्थलमै मृत्यु भएको उल्लेख गरे । दीपकको हत्याको खबरपछि गाउँ नै शोकाकुल बनेको छ ।


    दीपकको घरमा बुवा, आमा, श्रीमती, छोरी र दुई भाइ छन् । एक बहिनीको विवाह भइसकेको छ भने एक भाइ दिनेश वैदेशिक रोजगारीको सिलसिलामा कोरिया छन् । कान्छो भाइ जनक अध्ययनको क्रममा काठमाडौँमा छन् । मृतककी २६ वर्षीया श्रीमती विमला बुढाथोकी ओली ५ वर्षीया छोरी पढाउन दाङको तुलसीपुर बस्छन् ।


    खिमबहादुरका अनुसार दीपक एक वर्षअघि मात्र अमेरिका पुगेका हुन् । सन् २०२३ को जुलाई महिनामा अमेरिका पुग्नुभएका दीपक अवैध बाटो हुँदै अमेरिका पुगेका हुन् । दीपकले २०७९ मङ्सिरमा घर छोडेका थिए । अमेरिका पुग्ने क्रममा बाटोमै करिब डेढ वर्ष र ८० लाख रुपियाँ खर्च भएको खिमबहादुरले जानकारी दिए । गोरखापत्रको सहयोगमा

  • अमेरिका भ्रमण छोट्याएर फर्किए इजरायली प्रधानमन्त्री, अबको लडाई लेवनानमा ?

    अमेरिका भ्रमण छोट्याएर फर्किए इजरायली प्रधानमन्त्री, अबको लडाई लेवनानमा ?

    काठमाडौं । इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहु अमेरिका भ्रमण बीचमै छाडेर स्वदेश फर्किएका छन् । इजरायलको नियन्त्रणमा रहेको गोलान ह्वाइट्समा रकेट आक्रमण भएसँगै उनी अमेरिकाबाट इजरायल फर्किएको बीबीसीले जनाएको छ । उनले स्वदेश फर्किनासाथ् आफ्नो सुरक्षा क्याविनेटको बैठक राखेका छन् । यस बैठकले लेवनानको चरमपन्थी संगठन हिज्बुल्लाह विरुद्ध कारवाहीलाई स्वीकृति दिएको छ ।

    यसले अब इजरायलको लडाई लेवनानतर्फ केन्द्रित हुने देखिएको छ । उता, अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिंकनले समेत गोलन ह्वाइटमा हिज्बुल्लाहले रकेट आक्रमण गरेको पुष्टी गरेका छन् । शनिबार भएको यो आक्रमणमा १२ जनाको मृत्यु भएको छ । मारिनेमा अधिकांश बच्चा छन् । आक्रमण लगत्तै प्रधानमन्त्री नेतान्याहूले हिज्बुल्लाहले यसको ठूलो मूल्य चूकाउनु पर्ने चेतावनी दिएका थिए ।

  • अमेरिकी राष्ट्रपति निर्वाचन : एक सय दिने दौड सुरु

    अमेरिकी राष्ट्रपति निर्वाचन : एक सय दिने दौड सुरु

    काठमाडौं । अमेरिकी निर्वाचनको एक सय दिने दौड आइतबार सुरु भएको छ । यो निर्वाचन हत्या प्रयास र राष्ट्रपति जो बाइडेनको आश्चर्यजनक निकासले परिवर्तन गरेको अभियानको अन्तिम काम थियो । बाइडेनको उम्मेदवारीलाई लिएर हप्तौँको आन्तरिक कलह र निराशापछि डेमोक्रेटहरू उपराष्ट्रपति कमला ह्यारिस पछाडि एकजुट भएका छन् । यो नोभेम्बर ५ को दौडमा मौलिक रूपमा आकार दिँदै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराउने सम्भावना बनिरहेको थियो ।

    ह्यारिसको उम्मेदवारीले स्पष्ट रूपमा डेमोक्रेटिक अभियानलाई पुनः बलियो बनाएको छ । अभियानले आइतबार २० करोड डलर सङ्कलन गरेको बताएको छ । वाल स्ट्रिट जर्नलको नयाँ सर्वेक्षणअनुसार ह्यारिसले काला, ल्याटिनी र युवा मतदाताको बढ्दो समर्थनका साथ ट्रम्पसँग बाइडेनको छ अङ्कको घाटालाई दुई अङ्कमा मात्र सीमित गरेकी छिन् ।

    तर जर्नल सर्वेक्षण गर्ने रिपब्लिकन सर्वेक्षणकर्ता डेभिड लीले डेमोक्रेटहरूलाई दौडको चक्करमा नपर्न चेतावनी दिएका छन् । “सन् २०२० को निर्वाचनको तुलनामा डोनाल्ड ट्रम्प यो निर्वाचनमा धेरै राम्रो स्थितिमा छन्,”, उनले भने ।

    राष्ट्रिय स्तरमा दौड अत्यन्त सुस्त हुँदा राष्ट्रपतिका लागि इलेक्टोरेल कलेज प्रणालीको गणितलाई हेर्दा अझै पनि ट्रम्पलाई फाइदा छ । सन् २०१६ को निर्वाचनमा हिलारी क्लिन्टनमाथि मुलुकभर ३० लाख मतपत्रले देशव्यापी लोकप्रिय मत गुमाए पनि ट्रम्प विजयी भए । “हामी यो दौडमा पछि छौँ”, शनिबार कोष सङ्कलन कार्यक्रममा ह्यारिसले स्वीकार गर्दै भने, “तर जन–सञ्चालित अभियान हो र हामीसँग गति छ ।”

    अगस्टको मध्यमा डेमोक्रेटिक सम्मेलनले ह्यारिसको उम्मेदवारीको उल्लासपूर्ण उत्सवका साथ उक्त गतिलाई जारी राख्ने प्रयास गर्नेछ । जुन २७ मा बाइडेनको निराशाजनक बहसले उनको पार्टीभित्र चिन्ता र घबराहटको वातावरण देखाइरहेको थियो ।

    पेन्सिलभेनियामा एक चुनावी अभियानमा ट्रम्पको असफल हत्या प्रयासको केही दिनपछि रिपब्लिकन राष्ट्रिय सम्मेलनमा ७८ वर्षीय ट्रम्पका पछाडि एकताको निर्दोष प्रदर्शन देखिएको थियो । अवज्ञाको सुरुआती प्रदर्शनपछि बाइडेन अपरिहार्यताअघि झुके र गत साता चुनावी दौडबाट बाहिरिए । उन्साठ्ठी वर्षकी युवा ह्यारिसले आफ्नो टोपी रिङमा फ्याँकिन र दुई अलोकप्रिय, वृद्ध, सेता पुरुष उम्मेदवारहरूबीच बासी प्रतिस्पर्धालाई गतिशील र अप्रत्याशित प्रदर्शनमा परिणत गरिन् ।


    नोभेम्बर ५ को अन्तिम परिणाम सम्भवतः युद्धको मैदानमा करिब एक लाख स्वतन्त्र, अनिर्णित मतदाताहरूले निर्धारण गर्नेछन् । उनीहरूका अनुसार दुर्व अभियान आगामी तीन महिनामा व्यापक रूपमा लक्षित हुनेछन् । रासस, एएफपी