Category: अमेरिका

  • बागलुङको छूर्पी अमेरिका निर्यात

    बागलुङको छूर्पी अमेरिका निर्यात

    काठमाडौं । पछिल्लो समय बागलुङमा उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत संकलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौं हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत दूध संकलन, प्रशोधन र बजारीकरण हुने गरेको छ । वार्षिक रु आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी संघले आर्थिक वर्ष २०८०र८१ मा मात्रै रु। ३८ लाख ५४ हजार चार सय १० को छुर्पी अमेरिका निर्यात गरेको हो ।

    दुग्ध सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमकाअनुसार सहकारीबाट उत्पादित दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवामध्ये छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ । ‘दूध, तथा अन्य उत्पादनहरु बागलुङमै खपत भइरहेको हुन्छ, तर छुर्पीको बजार अन्तर्राष्ट्रियस्तरमा छ’, गौतमले भने । दुग्ध उत्पादक सहकारी संघमा एक हजार पाँच सय किसान आबद्ध छन् । संघले किसानबाट संकलित दूधसहित अन्य सात प्रकारका दुग्धजन्य परिकार उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ । संघले बागलुङ जिल्ला दूधमा आत्मनिर्भर बनाएको छ ।

    सहकारीले गत आवमा रु सात करोड ८३ लाखको दूध, एक करोडको दही, २० लाखको घ्यू, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गरेको जनाएको छ । हाल सहकारी संघले छुर्पी प्रतिकिलो रु एक हजार दुई सयमा बिक्री गर्दै आएको छ । सहकारीमा आबद्ध किसानले सहकारीमा आवद्ध भएपछि दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन् ।

    सहकारी संघमा १६ कर्मचारीले संकलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको सहकारीका लेखापाल गणेश खड्काले बताए।

    कृषकले उत्पादन गर्ने, सहकारीले संकलन गर्ने र सहकारी संघले दूध प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री गरेर सहकारीको असल अभ्यास गरेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहकारी अभियन्ता रामबहादुर जिसीको भनाइ छ । दैनिक यहाँका काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका किसानले उत्पादन गरेको दूध खरिद गरी १४ वटा सहकारीमार्फत संघले बजारीकरण गर्दै आएको छ ।
    राससको सहयोगमा

  • नेपाल र अमेरिकाबीच तेस्रो टी-२० खेल जारी

    नेपाल र अमेरिकाबीच तेस्रो टी-२० खेल जारी

    काठमाडौं । तेस्रो तथा अन्तिम टी–२० आई खेलमा नेपाललाई अमेरिकाले १५७ रनको लक्ष्य दिएको छ । डालासमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो । अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे ।

    अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एक–एक विकेट लिए । यसअघि भएका दुवै खेल नेपालले जितेको थियो । पहिलो खेलमा १७ रनले विजयी भएको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको हो ।

  • अमेरिकामाथि नेपालको रोमाञ्चक जित

    अमेरिकामाथि नेपालको रोमाञ्चक जित

    काठमाडौं । नेपालले अमेरिकामाथि रोमान्चक जित निकालेको छ । यससँगै नेपालले टी–२० आई सिरिज समेत जितेको छ । पहिलो खेल सहजै जितेको नेपाललले दोस्रो खेलमा भने संघर्ष गर्नु परेको छ । सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको थियो । नेपालले टस जितेर ब्याट रोजेको थियो ।

    नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य पछ्याएको थियो । उक्त रन पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । अन्तिम ओभरमा जितका लागि नेपाललाई ७ रन आवश्यक थियो । तर, सोमपाल कामीले दुई विकेट झार्दै सो रन बन्नबाट बचाए ।

    सुपर ओभरको बलिङमा समेत सोमपाल नै आए । उनले २ रन दिएर २ विकेट झारेसँगै नेपालले सहज लक्ष्य पायो । उक्त लक्ष्य कुशल भुर्तेल र कप्तान रोहित पौडेलले २ बल बाँकी छँदै पुरा गरे । यसअघि कुशल भुर्तेलको ९२ रनको सहायतामा नेपालले प्रतिस्पर्धी स्कोर बनाउन सक्यो ।

  • दोस्रो टी-२० खेलमा नेपाल र अमेरिका भिड्दै

    दोस्रो टी-२० खेलमा नेपाल र अमेरिका भिड्दै

    काठमाडौं । दोस्रो टी–२० मा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ। कुशल भुर्तेलको अर्धशतकमा नेपालले छ विकेटको क्षतिमा १७० रन जोड्यो।
    अमेरिकाको टेक्ससस्थित डलासको ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कुशलले ९२ रन जोडे। उनले ५४ बलमा सात चौका र छ छक्का प्रहार गरे।

    नेपालका ओपनर अनिल साहले ३१ बलमा २५ रन जोड्दा अर्का ओपनर आसिफ शेख एक रनमै आउट भएका थिए। गुल्सन झाले १२ बलमा १९ रन बनाए। कप्तान रोहित पौडेल १४ बलमा १८ रन जोडेर आउट भए। दिपेन्द्र सिंह ऐरी दुई रन र आरिफ शेख एक रनमै पेभिलियन फर्के।

    करण केसीले एक बल खेल्दा छक्का प्रहार गरेका थिए। यो समाचार तयार पार्दासम्म अमेरिकाले १ विकेटको क्षतिमा ८७ रन बटुलेर संतोषजनक स्थितिमा खेलिरहेको छ । सिरिजको पहिलो खेलमा नेपालले जित निकालेको थियो। अब दुई टोलीबीच भोलि तेस्रो खेल हुनेछ।

  • सन्दीपले पाए अमेरिकाको भिसा, आजै जाने

    सन्दीपले पाए अमेरिकाको भिसा, आजै जाने

    काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार काठमाडौँस्थित अमेरिकी दूतावासले भिसा उपलब्ध गराएको हो । क्यानले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपले भिसा पाएको जानकारी गराएको हो ।

    प्रवक्ता छुम्बी लामाका अनुसार सन्दीप शुक्रबार साँझ नै अमेरिका प्रस्थान गर्नेगरी तयारी सुरु भएको छ । भिसा पाएसँगै सन्दीप अमेरिकामा हुने आईसीसी विश्वकप क्रिकेट लिग २ खेल्न अमेरिका जाने बाटो खुलेको छ । भिसा नपाएकै कारण उनी क्यानडाबाट नेपाल फर्किएका थिए ।

  • टी-२० सिरिज : नेपालले अमेरिकालाई हरायो

    टी-२० सिरिज : नेपालले अमेरिकालाई हरायो

    काठमाडौं । नेपालले पहिलो टी–२० आई खेलमा घरेलु टोली अमेरिकालाई हराएको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका १४७ रनमै समेटियो । अमेरिकाका शायन जहानगिरले ६० रनको अविजित पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।

    अमेरिकाका लागि शायनले अविवित ६० रन बनाउँदा आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनांक पटेल र आरोन जोन्सले तीनरतीन र सैतेजा मुक्कामल्ला २ रन बनाए । हरमीत सिंह दीपेन्द्रसिंहबाट शून्य रनमै एलबीडब्ल्यु आउट भए ।

    नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ३, करण केसी, रिजन ढकाल र गुल्शन झाले एक–एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले १ छक्का र चार चौकाको मद्दतमा ४९ रनको योगदान गरे ।

    नेपालका दीपेन्द्रसिंह ऐरीले १ छक्का र २ चौकासहित २८, ओपनर अनिल शाह र आसिफ शेखले समान २७–२७, गुल्शन झाले ११, कुशल भुर्तेलले १० र सोमपाल कामीले २ रन जोडे । करन केसी र आरिफ शेख शून्य रनमा आउट भए । अमेरिकाका हरम्रीत सिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । जसदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर २ तथा अली खान र नोष्थुश केंजिगेले समान एक–एक विकेट लिए ।

  • हमासका नेता मारिँदा अमेरिकी राष्ट्रपति खुसी

    हमासका नेता मारिँदा अमेरिकी राष्ट्रपति खुसी

    काठमाडौं । इजरायली कारबाहीमा हमास प्रमुख याह्या सिनवार मारिएका छन् । यस घटनालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वकै लागि राम्रो दिनको रूपमा टिप्पणी गरेका छन् । ‘इजरायली अधिकारीहरूले मेरो राष्ट्रिय सुरक्षा टोलीलाई हमास नेता याह्या सिनवार गाजामा उनीहरूको एउटा अपरेशनको एक हिस्साको रूपमा मारिएको जानकारी दिएका छन्’ बाइडेनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘डीएनए परीक्षणले पनि हमास नेताको मृत्यु भएको पुष्टि गरेको छ। इजरायल, अमेरिका र सम्पूर्ण विश्वका लागि यो राम्रो दिन हो।’

    अमेरिकी राष्ट्रपति बाइडेनले सिनवारको निन्दा गर्दै भने, ‘हमास नेताका रूपमा याह्या सिनवार हजारौं इजरायली, प्यालेस्टिनी, अमेरिकी र ३० भन्दा बढी देशका नागरिकको मृत्युका लागि जिम्मेवार थिए।’ बाइडेनले अक्टोबर ७ मा इजरायलमा हमासको हमलाको मुख्य योजनाकार याह्या सिनवार रहेको पनि बताएका छन् ।

    ‘सिनवार ती सबै लक्ष्यहरू प्राप्त गर्नमा एक अपार बाधा थिए। त्यो बाधा अब रहेन। तर अझै धेरै काम बाँकी छ’ बाइडनले विज्ञप्तिमा भनेका छन्, ‘म छिट्टै प्रधानमन्त्री नेतन्याहू र अन्य इजरायली नेताहरूसँग कुरा गर्नेछु र उनीहरूलाई बधाई दिनेछु ।’

    उनले अगाडि थपेका छन्, ‘बन्धकहरूलाई उनीहरूका परिवारहरूमा फर्काउने मार्गका बारेमा छलफल गर्नेछु र यस युद्धलाई एक पटक र सबैका लागि समाप्त गर्नेछु, जसले निर्दोष मानिसहरूलाई धेरै विनाश गरेको छ ।’ उपराष्ट्रपति कमला ह्यारिसले सिनवारको मृत्युको स्वागत गर्दै यसलाई ‘अन्ततः गाजामा युद्ध समाप्त गर्ने’ अवसरका रूपमा चित्रित गरेकी छन् ।

    ‘न्याय भएको छ’ ह्यारिसले सञ्चारकर्मीहरूसँग भनिन्, ‘सिनवार हजारौं निर्दोष मानिसहरूको हत्याका जिम्मेवार थिए, जसमा अक्टोबर ७ का पीडितहरू र गाजामा मारिएका बन्धकहरू पनि थिए।’ उनले सिनवारको मृत्युले हमासका पीडितहरूका परिवारले राहतको भावना महसुस गरिरहेको टिप्पणी गरिन् ।

    बिहीबार राति इजरायलले हमासका नेता याह्या सिनवार आफ्नो आक्रमणमा मारिएको जानकारी दिएको थियो । इजरायली विदेशमन्त्री काट्जले विहीबार गाजामा इजरायली सेनाले गरेको कारबाहीमा सिनवार मारिएको बताएका छन् । उनले सिनवारलाई गत अक्टोबर ७ मा भएको आक्रमणको मुख्य योजनाकार भएको बताए ।

    जुलाईमा हमास नेता इस्माइल हानियाको मृत्युपछि याह्या सिनवार हमासको नेता बनेका थिए । इजरायली कारबाहीका क्रममा तेहरानमा इस्माइल हानिया मारिएका थिए । गाजामा हमासको राजनीतिक शाखाका नेता याह्या सिनवार इजरायलको मोस्ट वान्टेड व्यक्तिहरूमध्ये एक थिए।

  • कमला ह्यारिसको मेडिकल रिपोर्ट सार्वजनिक, ट्रम्प माथि दवाव

    कमला ह्यारिसको मेडिकल रिपोर्ट सार्वजनिक, ट्रम्प माथि दवाव

    काठमाडौं । अमेरिकी राष्ट्रपति पदकी डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेकी छन् जसले उनको स्वास्थ्य “एकदम राम्रो” र राष्ट्रपति पदका लागि उपयुक्त रहेको देखाएको छ। आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेपछि भूतपूर्व राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पमाथि ह्यारिसले स्वास्थ्यलाई लिएर उनी अपारदर्शी भएको आरोप लगाएकी छन्। ट्रम्पले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण अहिलेसम्म सार्वजनिक गरेका छैनन्।

    बहालवाला उपराष्ट्रपति समेत रहेकी ह्यारिसले आफ्ना “रिपब्लिकन प्रतिद्वन्द्वीले उनी राष्ट्रपति हुनका निम्ति स्वास्थ्यको हिसाबले उपयुक्त रहे वा नरहेको कुरा अमेरिकी जनताले थाहा पाऊन् भन्ने नचाहेको” दाबी समेत गरेकी छन्। ट्रम्पको स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक नगरेको उनको चुनावी अभियान समूहले उनको स्वास्थ्य “एकदम ठीक” रहेको भनेर चिकित्सकले जानकारी गराएको प्रतिक्रिया दिएको छ।

    अभियान समूहले रिपब्लिकन उम्मेदवार “अति व्यस्त तथा चुनावी प्रचारप्रसारमा सक्रिय” रहेका बताउँदै ह्यारिससँग “ट्रम्पको जस्तो इच्छाशक्ति नरहेको” दाबी गरेको छ। ह्वाइट हाउसले राष्ट्रपतिको पद सम्हाल्न उपराष्ट्रपति ह्यारिसको “शारीरिक र मानसिक स्वास्थ्य उपयुक्त रहेको” भन्ने स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेपछि दुई पक्षबीच आरोपप्रत्यारोप शुरू भएको हो।

    विगत तीन वर्षदेखि ह्यारिसका फिजिसियन रहेका अमेरिकी कर्नेल डा. जोशुआ सिमोन्सका अनुसार गत एप्रिलमा हेर्दा उनको स्वास्थ्य अवस्था “सामान्य” देखिएको थियो। ह्यारिसले स्वस्थकर र सक्रिय जीवनशैली अपनाउँदै आएकी पनि सिमोन्सले बताएका थिए। ह्यारिसको स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरिएपछि उनको चुनावी अभियान समूहका प्रवक्ताले सामाजिक सञ्जालमा लेखेका छन्स् “अब तपाईँको पालो, डोनल्ड ट्रम्प।”

    हाल ७८ वर्षमा रहेका ट्रम्पको उमेर र मानसिक स्वास्थ्यलाई लिएर डेमोक्र्याटहरूले निशाना बनाउँदै आएका छन्। चुनावी प्रतिस्पर्धाबाट बाहिरिनुअघि राष्ट्रपति जो बाइडनबारे रिपब्लिकनहरूले पनि सोही प्रकृतिको आलोचना गर्दै आएका थिए। राष्ट्रिय जनमत सर्वेक्षणहरूले ह्यारिस ट्रम्पभन्दा झिनो मत अन्तरले अगाडि रहेको देखाएका छन्। नयाँ राष्ट्रपति चयनका लागि अमेरिकामा आउँदो महिनामा निर्वाचन हुँदै छ।

    लगभग २४ करोड अमेरिकी यस पटकको राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न योग्य छन्। तर सम्भवतः उनीहरूमध्ये तुलनात्मक रूपमा सानो सङ्ख्याले आउँदो राष्ट्रपति को बन्ने छ भन्ने प्रश्नको जबाफ निर्धारण गर्ने छ। औँलामा गन्न सकिने राज्यहरूमा मात्रै डेमोक्र्याट् उम्मेदवार ह्यारिस वा रिपब्लिकन ट्रम्पमध्ये जसले पनि जित हासिल गर्न सक्ने स्थिति रहेको विशेषज्ञहरूको विश्वास छ। तीमध्ये एरिजोना, जोर्जा, मिशिगन, नभाडा, नर्थ क्यारलाइना, पेन्सिल्भेनिया र विस्कन्सिन त्यस्ता राज्य हुन् जसले ह्वाइट हाउसको चाबी आफूसँग राखेका हुन सक्छन्।

  • अमेरिकाको कोलोराडोमा सुन खानीमा फसे १० मजदुर

    अमेरिकाको कोलोराडोमा सुन खानीमा फसे १० मजदुर

    काठमाडौं । अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा खराबीका कारण कम्तीमा १० जना व्यक्ति एक हजार फिट (३०५ मिटर) जमिनमुनि फसेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

    कोलोराडोको क्रिपल क्रिकको मोली क्याथलीन सुन खानीमा उपकरणमा खराबी भएको थियो । स्थानीय समाचार अनुसार खानीबाट ११ जनालाई उद्धार गरिएको र बाँकीको उद्धार भइरहेको छ । खानी क्रिप्पल क्रिक, कोलोराडो नजिकैको पर्यटकीय गन्तव्य हो । रासस

  • फ्लोरिडामा आँधीका कारण कम्तिमा १६ जनाको मृत्यु

    फ्लोरिडामा आँधीका कारण कम्तिमा १६ जनाको मृत्यु

    काठमाडौं । अमेरिकाको फ्लोरिडामा मिल्टन आँधीका कारण १६ जनाको मृत्यु भएको पुष्टि भएको छ। उद्धारकार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने ठानिएको छ। बीस लाख घर तथा व्यवसायहरू अझै विद्युत्‌विहीन छन्। बाढीग्रस्त क्षेत्रबाट हजारौँको उद्धार गरिएको छ। अधिकारीहरूले आउँदा दिनमा पनि बाढी आउने सम्भावना रहेको चेतावनी दिएका छन्। फ्लोरिडाको पश्चिम केन्द्रीय तटमा अवस्थित पिनेलस काउन्टी उद्धारकार्य चलिराखेको स्थानमध्येको हो।

    अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार त्यहाँको एउटा आवासीय भवनको दोस्रो तलाको बार्दलीसम्म पानी भरिएको थियो। उक्त भवनबाट फसेका ४३० जनालाई बाढीबाट उद्धार गरिएको थियो। आँधी आउनुअघि पिनेलस काउन्टीसहित तटीय क्षेत्रका मानिसहरूलाई अन्यत्र जान भनिएको थियो। उक्त आँधी फ्लोरिडामा बज्रिँदा रातिको समय थियो। बिहीवार लिइएका तस्बिरहरूले उक्त आँधीको व्यापक प्रभाव र यसले पुर्‍याएको क्षतिलाई दर्साउँछन्। उद्धारकर्मीहरूले शुक्रवार पनि खोजी कार्य जारी राखेका छन्। सरसफाइ कार्यका निम्ति हप्तौँ वा महिनौँ लाग्न सक्ने बताइएको छ।

    फ्लोरिडाबाट पूर्वतिर सर्दै एट्लान्टिक महासागर पुग्दा उक्त आँधीको गति तीव्र गतिमा कमजोर भइरहेको छ। ट्रपिकल चक्रवातका सबै विशेषताहरू गुमाएको यसलाई अहिले ‘पोस्ट’ ट्रपिकल मिल्टन भनिएको छ। शुक्रबार विशेष गरी फ्लोरिडाको पूर्वी तटमा अलिअलि हावा चल्नेछ, तर दिउँसो कमजोर हुने बताइएको छ। आगामी केही दिन राज्यका अधिकांश भाग सुक्खा रहने छन्, तर शुक्रबार पूर्वी र दक्षिणी फ्लोरिडामा पानी पर्ने सम्भावना छ। तीमध्ये केही ठाउँमा चट्याङसहित ठूलो वर्षा हुन सक्ने ठानिएको छ।
    बीबीसी

  • विनासकारी मिल्टन आँधी अमेरिकाको फ्लोरिडामा, हजारौं विस्थापित

    विनासकारी मिल्टन आँधी अमेरिकाको फ्लोरिडामा, हजारौं विस्थापित

    काठमाडौं । विनाशकारी’ आँधी मिल्टन अमेरिकाको फ्लोरिडा पुगेसँगै हजारौं मानिसलाई विष्थापित बनाएको छ । बुधबार साँझ बस्ती नजिकै आँधी आइपुग्ने सम्भावनालाई मध्यनजर गर्दै अमेरिकी अधिकारीहरूले बासिन्दाहरूलाई भाग्न वा मृत्युको जोखिम मोल्न आग्रह गरेका थिए । बीबीसीका अनुसार सरकारले सुरक्षा तयारी तीव्र बनाइरहेको छ । आँधी सारासोटा हुँदै फ्लोरिडातिर सरिरहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

    आधीलाई ध्यानमा राख्दै फ्लोरिडाको प्रशासनले तटीय क्षेत्रहरू खाली गर्न आदेश दिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ । फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसका अनुसार मानिस निकाल्ने समय अब सकिएको छ र लाखौं मानिस पहिले नै आफ्नो घर छोडेर भागेका छन् ।

    यसअघि राष्ट्रपति जो बाइडेनले जनतालाई यो शताब्दीकै सबैभन्दा विनाशकारी आँधी हुने चेतावनी दिएका थिए। उनले आँधीबाट जनतालाई बचाउने सरकारको प्रयासको विरूद्ध डोनाल्ड ट्रम्पको कथित प्रचारको आलोचना गरेका थिए । राष्ट्रपति बाइडेनले यो श्रेणी ५ को आँधी शताब्दीमा राज्यमा आइपररेको सबैभन्दा भीषण प्राकृतिक विपत्ति हुनसक्ने चेतावनी दिएका छन् । सम्भावित प्रभावितलाई आग्रह गर्दै बाइडेनले मंगलबार नै भनेका थिए, ‘यो जीवन र मृत्युको कुरा हो, अतिशयोक्ति होइन ।’

    राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले हेलेन आँधीपछिको आपत्कालीन प्रतिक्रियाबारे निराशाको फाइदा उठाएका छन् । उनले विपद् रकम आप्रवासीहरूमा खर्च गरिएको झुटो दाबी गर्दै गलत सूचना फैलाएर यसलाई बढावा दिएका हुन् । बाइडेनले ट्रम्पको टिप्पणीलाई ‘गैरअमेरिकी’ भनेर आलोचना गरेका छन् भने उपराष्ट्रपति कमला ह्यारिसले सङ्घीय प्रतिक्रियामा गलत सूचनाको खतराबारे चेतावनी दिए ।

  • अमेरिकामा शक्तिशाली आँधी–तुफानको आतंक

    अमेरिकामा शक्तिशाली आँधी–तुफानको आतंक

    काठमाडौं । अमेरिकाको फ्लोरिडासहितका क्षेत्रमा मिल्टन नाम दिइएको तुफानले आतंक फैलिएको छ । फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढ्दा मिल्टन तुफान अझै शक्तिशाली बनेको छ । यसलाई अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान भनेका छन् । स्थानीयले पनि यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन् ।

    सम्भवतः यो शताब्दीकै शक्तिशाली तुफान हुनसक्ने अनुमान छ । यसको सबैभन्दा बढी प्रभाव पर्ने फ्लोरिडामा आपतकाल घोषणा गर्न ह्वाइहाउसले अनुमति दिइसकेको छ । मौसम प्रतिकूल हुने संकेत पाएपछि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानहरु रद्द गरिएको छ । बुधबारका लागि निर्धारित १ हजार ५०० उडानहरु रद्द भएको बीबीसीले जनाएको छ ।

    ह्वाइटहाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि जर्मनी र अंगोलाको पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन् । राष्ट्रपति बाइडेनले प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् । बाइडनले भनेका छन्, ‘यो जीवन र मृत्युको सवाल हो । यो फ्लोरिडामा एक शताब्दीकै सबैभन्दा भयंकर तुफान हुनसक्छ । ईश्वरसँग प्रार्थना गर्दछु कि त्यस्तो चाहिँ नहोस् तर अहिलेसम्म त त्यस्तै लागिरहेको छ ।’

    नेशनल हरिकेन सेन्टरका अनुसार मिल्टन तुफानको केन्द्र टाम्पा खाडीबाट १ हजार ३१० किलोमिटर पश्चिम–दक्षिणपश्चिम क्षेत्रमा छ । र, १३० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढेको छ । यो तुफान बुधबार बेलुका टाम्पा खाडी क्षेत्रको जमिनमा बज्रिने र मध्य फ्लोरिडा हुँदै एटलान्टिक महासागरतर्फ अघि बढ्ने अनुमान गरिएको छ । यसको बाटो पर्ने क्षेत्रमा विनाश गर्ने अनुमानमा सयौं व्यक्तिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

    अमेरिकी मौसमविदहरुका अनुसार मिल्टन तुफानको सबैभन्दा बढी असर फ्लोरिडामा पर्ने छ । त्यसैले फ्लोरिडा प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ । यसले फ्लोरिडाको बाक्लो बस्ती भएको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याउनसक्ने र १० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान छ ।

    प्रभावित क्षेत्रका बासिन्दाले झ्याल बाहिरबाट काठका फल्याक ठोकेर बन्द गरेका छन् । यो तुफानका कारण समुद्रमा १० देखि १५ फिट अग्लो छाल उठ्ने अनुमान छ । साथै १२७ देखि २५४ मिलिमिटर प्रतिघण्टा वर्षा हुने पूर्वानुमान पनि गरिएको छ । यो वर्षाका कारण बाढी आउने चेतावनी जारी गरिएको छ ।

    अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीका तुफानविज्ञ फिल क्लोटजब्याकका अनुसार सेप्टेम्बर महिनापछि एटलान्टिक महासागरमा तीनपटक तुफान आइसकेको छ । अगष्ट र सेप्टेम्बर गरी चार पटक तुफान आइसकेको छ । केही दिन अघिमात्रै हेलेन तुफानले अमेरिकामा विध्वंश मच्चाएको थियो । हेलेन तुफानमा परी मृत्यु हुनेको संख्या १३० पुगिसकेको छ ।

  • यस वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई अमेरिकी वैज्ञानिकलाई

    यस वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई अमेरिकी वैज्ञानिकलाई

    काठमाडौं । यस वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा भएको छ । यो पुरस्कार दुई अमेरिकी वैज्ञानिक भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले संयुक्त रूपमा पाउने भएका छन् । नोबेल पुरस्कार समितिले ‘माइक्रोआरएनए’ पत्ता लगाउने दुई जना अनुसन्धानकर्तालाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

    माइक्रोआरएनएले जिनहरूको गतिविधि नियमन गर्छ । मानव जातिमा विभिन्न माइक्रोआरएनएका लागि एक हजार वटाभन्दा धेरै जिन भएको पत्ता लागिसकेको नोबेल समितिले जनाएको छ । जटिल संरचना भएका जीवहरूको उद्विकास माइक्रोआरएनएले गर्नै जिन रेगुलेशन विधिका कारण सम्भव भएको ठानिन्छ ।

    अध्ययनहरूले माइक्रोआरएनए नहुँदा कोष र तन्तुको विकास सामान्य रूपमा हुन नसक्ने देखाएका छन् । विजेताले संयुक्त रूपमा एक करोड १० लाख स्विडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नेछन् ।

  • अभ्यास खेलमा नेपालको लगातार दोसो जित

    अभ्यास खेलमा नेपालको लगातार दोसो जित

    काठमाडौं । तीव्र गतिका बलर करण केसीको पाँच विकेट र कुशल भुर्तेलको अर्धशतकमा नेपालले तेस्रो अभ्यास खेलमा क्यानडाको हाइप्रोफोमेन्स (एचपी) लाई १० रनले हराएको छ । योसँगै तीन खेलको अभ्यास खेल नेपालले २–१ ले जितेको छ । १८८ रनको लक्ष्य पछ्याएको क्यानडा ४४.५ ओभरमा १७७ रनमा अल आउट भयो । क्यानडाका अली नदिमले ११६ बलमा ७ चौका र ३ छक्कासहित ८५ रनको योगदान दिए । नेपालका करण केसीले ९.५ ओभरमा ५५ रन खर्चेर ५ विकेट लिए । सागर ढकालले २, आरिफ शेख, रिजन ढकाल र ललितनारायण राजवंशीले १–१ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४८.३ ओभरमा १८७ रनमा अल आउट भयो । नेपालका कुशल भुर्तेलले तल्लोक्रममा ७० बलमा ५ चौकासहित सर्वाधिक ५२ रन बनाए । आरिफ शेखले ३९ बलमा ३ चौका र २ छक्कासहित ४० रन जोडे । आसिफ शेख ७, अनिल कुमार साह ६, देव खनाल डक, भीम सार्की ७, दीपेन्द्रसिंह ऐरी ४, अर्जुन साउद १७, कुशल मल्ल ८ र सोमपाल कामी २७ रनमा आउट भए ।

  • इजरायलको दावि : हिज्बुल्लाहका दर्जनौं नेता मारिए

    इजरायलको दावि : हिज्बुल्लाहका दर्जनौं नेता मारिए

    काठमाडौं । इजरायलले दक्षिणी लेबनानमा दर्जनौं नेता तथा लडाकु मारिएको दावि गरेको छ । इजरायलले अहिले स्थलमार्गबाट लेबनानमा आक्रमण गरिरहेको छ । स्थल अभियान जारी राख्ने बताएको इजरायलले दर्जनौं लडाकु र नेता मारेको दावि गरेको हो ।

    इजराइली सेनाले हिज्बुल्लाहको गोप्य हतियार भन्डारको समेत नष्ट गरेको जनाएको छ । इजरायली सेनाले इजरायली सीमानामा रहेको लडाकुको टनेल समेत ध्वस्त बनाएको दावि गरेको छ । इजरायलको आक्रमणबाट लेबनानमा अहिलेसम्म १२ सय भन्दा धेरै मानिस मारिएका छन् । मारिनेमा सर्वसाधारण धेरै छन् ।

  • मेक्सिकन प्रहरीले ग्वाटेमालामा गोली हानेको ट्रकमा ११ जना नेपाली रहेको पुष्टी

    मेक्सिकन प्रहरीले ग्वाटेमालामा गोली हानेको ट्रकमा ११ जना नेपाली रहेको पुष्टी

    काठमाडौं । मेक्सिकोग्वाटेमाला सीमा नजिक मेक्सिकोको सीमा बलले गोली हानेको ट्रकमा ११ जना नेपाली रहेको पुष्टि भएको छ । ती मध्ये ३ जनाको घाइते अवस्थामा उपचार भइरहेको छ । ११ जनानै मेक्सिको अध्यागमनको हिरासतमा रहेको बासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ । घटनामा कुनै पनि नेपालीको मृत्यु भएको छैन । दूतावास सम्बन्धित मेक्सिकन अधिकारीहरूसँग सम्पर्कमा छ र थप सान्दर्भिक जानकारी उपलब्ध हुनेवित्तिकै घटनाको बारेमा थप अपडेट गर्नेछ, दूतावासको प्रेसनोटमा छ ।

    नेपालीसहित ३३ आप्रवासी चढेको ट्रकमा मेक्सिकन सेनाले गोली हानेको थियोे ।उक्त घटनामा ६ जनाको ज्यान गएको थियो । मंगलबार साँझ ग्वाटेमालासँगको सीमाबाट करिब ४० किलोमिटर उत्तरमा भएको घटनामा थप १० घाइते भएको मेक्सिकोको रक्षा मन्त्रालयले जनाएको छ । ट्रकमा नेपालसहित भारत, पाकिस्तान, इजिप्ट, क्यूबा र अरबी नागरिक सवार थिए । मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार आक्रमणमा मारिएकामध्ये ४ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा ज्यान गएको हो ।

    सैनिकहरू सीमा गस्तीमा रहेका बेला आप्रवासी चढेको गाडीबाट विस्फोटको आवाज सुनेपछि सेनाले गोली चलाएको जनाएको छ । समाचार संस्था रोयटर्सले भने अधिकारीहरूलाई उद्धृत गर्दै मेक्सिको–ग्वाटेमाला सीमाक्षेत्रको दक्षिण चियापास राज्यको हुइस्टलामा सैनिकहरूले आप्रवासी सवार ट्रकलाई चेकपोष्टमा रोक्न खोजेको तर नरोकिएपछि गोली चलाएको जनाएको छ । गोली चलाउने सैनिकहरूलाई निलम्बन गरिएको जनाइएको छ ।

    अवैध बाटो (डकं रुट) हुँदै अमेरिका प्रवेश गर्नेहरूले मेक्सिको–ग्वाटेमाला सीमाक्षेत्रको दक्षिण चियापाको रुट प्रयोग गर्दै आउने गरेका छन् । मानव तस्कहरूले नेपाललगायत मुलुकका युवाबाट ठूलो रकम लिएर जोखिमपूर्ण यात्रा गराउँदै उक्त बाटोबाट अवैध रूपमा अमेरिका छिराउने गरेका छन् ।


    पछिल्लो समय मेक्सिकोले त्यसरी प्रवेश गर्नेहरूमाथि कडा कारबाही गर्न थालेको छ । अमेरिकाले सीमामा हुने त्यस किसिमका गतिविधि रोक्न मेक्सिको सरकारलाई चेतावनी दिँदै आएको छ । अमेरिकी दबाबका कारण मेक्सिकोले सीमाक्षेत्रमा कडाई गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

  • डिभी खुल्यो, नेपालीले आजैबाट भर्न पाउने

    डिभी खुल्यो, नेपालीले आजैबाट भर्न पाउने

    काठमाडौं । अमेरिकाको २०२६ डाइभसिर्टी भिसा खोलेको छ । अमेरिकाले नेपालीहरुलाई स्थायी बसोबासका लागि लैजाने एक विधि डाइभर्सिटी भिसाको २०२६ कार्यक्रम बुधबार राति ९ : ४५ मा बाट भर्न सकिन्छ । डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ ।

    एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एक भन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन्। डीभीको फारम बुधबार रातिदेखि ५ नोभेम्बरसम्म भर्न सकिनेछ । डीभीका लागि निःशुल्क रूपमा आवेदन दिन सकिन्छ।

  • अमेरिकामा भीषण आँधी, कम्तिमा ३० जनाको मृत्यु

    अमेरिकामा भीषण आँधी, कम्तिमा ३० जनाको मृत्यु

    काठमाडौं । अमेरिकाको नर्थ क्यारोलाइनमा आँधीका कारण ३० जनाले ज्यान गुमाएका छन् । सीएनएनका अनुसार ‘हेलेन’ आँधीका कारण विभिन्न पाँच राज्यमा ज्यान गुमाउनेको संख्या १ सय ५ पुगेको छ । सीबीएसका अनुसार अधिकारीहरूले आँधीका कारण ज्यान गुमाउनेको संख्या बढ्ने अनुमान गरेका छन् ।

    यसअघि फ्लोरिडा र जर्जिया राज्यमा व्यापक क्षति पुर्‍याएको आँधीका कारण आइतबार नर्थ क्यारोलाइनाको बनकम्ब काउन्टी प्रभावित बनेको हो । ‘हामीसँग निकै भयावह क्षति छ,’ काउन्टीका आपत्कालीन अधिकारी रायन कोलले बीबीसीसँग भनेका छन्, ‘यो हामीले अहिलसम्म नदेखेको सबैभन्दा भयानक प्राकृतिक प्रकोप हो ।’


    अमेरिकी राज्य फ्लोरिडाको बिग बेन्डबाट शुक्रबार सुरू भएको शक्तिशाली ‘हेलेन’ आँधी जर्जिया, साउथ–नर्थ क्यारोलाइना र टेनेसी पुगेको हो । अमेरिकी सञ्चार माध्यमहरूका अनुसार आँधीले सबैभन्दा मानवीय क्षति साउथ–नर्थ क्यारोलाइनामा पुर्‍याएको छ । नर्थ क्यारोलिनाका अधिकारीहरूले आइतबार मात्रै ३० जनाको ज्यान गएको पुष्टि गरेका छन् ।

    राज्यका अधिकांश स्थानमा विद्युत आपूर्ति बन्द भएको छ भने मोबाइल सेवा अवरुद्ध भएको जनाइएको छ । आँधीका कारण कैयौं रूख सडकमा ढलेका छन् भने राजमार्गहरू बन्द भएका छन् । दर्जनौं घरहरू पूर्ण रूपमा ध्वस्त भएका र सयौं मानिसहरू सम्पर्कबिहीन भएका जनाइएको छ ।

    ‘आँधीले निकै ठूलो विनाश ल्याएको छ,’ नर्थ क्यारोलाइनका गभर्नर रोय कुपरले बीबीसीसँग भनेका छन् । अमेरिकी रेड क्रसले दक्षिण–पूर्वी राज्यहरूमा विस्थापितका लागि १ सय ४० भन्दा बढी आश्रय स्थलहरूको व्यवस्था गरेको छ । ती स्थानमा हाल २ हजार जनाभन्दा बढीले आश्रय लिइरहेका जनाइएको छ ।

    अधिकारीहरूले उत्तरी क्यारोलाइनमा उद्धार कार्य जारी रहेको जनाएका छन् । बन्द सडकका कारण पुग्न नसकिने प्रभावित क्षेत्रहरूमा खाद्यान्न र पानी लगायतका सामग्रीहरू हेलिकोप्टरबाट पुर्‍याइएको उनीहरूको भनाइ छ । ‘मानिसहरू मद्दतको तीव्र पर्खाइमा छन् । हामी उद्धार तथा राहतका लागि प्रयास गरिरहेका छौं,’ भर्नर कूपरले भनेका छन् ।

    नर्थ क्यारोलाइनबाट नेशनल गार्डले १ सय १९ जनाको उद्धार गरेको मेजर जर्नेल टोड हन्टले बताएका छन् । आँधीका कारण अमेरिकाभर ९५ अर्बदेखि १ खर्ब १० अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको अनुमान गरिएको छ ।

    आँधीका कारण फ्लोरिडा र जर्जियासहित ६ राज्यमा संघीय आपतकाल घोषणा गरिएको छ । आँधीबाट सबैभन्दा बढी प्रभावित जर्जिया र नर्थ क्यारोलाइना नोभेम्बरको राष्ट्रपति चुनावमा निर्णायक हुने अपेक्षा गरिएका राज्यहरू हुन् । ह्वाइटहाउसले उपराष्ट्रपति कमला ह्यारिसले आँधी प्रभावित क्षेत्रको भ्रमण गर्ने जनाएको छ । आगामी राष्ट्रपतीय चुनावमा रिपब्लिकन दलका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी अभियानले सोमबार जर्जियाको भाल्डोस्टाको भ्रमण गर्ने बताएको छ ।

    Agency

  • अमेरिका भ्रमण पुरा गरी प्रधानमन्त्री स्वदेश फर्किदैं

    अमेरिका भ्रमण पुरा गरी प्रधानमन्त्री स्वदेश फर्किदैं

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन् । उनी आज अपराह्न चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ४ गते न्युयोर्क गएका थिए । त्यहाँ पुगेलगत्तै विभिन्न छलफलमा भाग लिएका ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा उनले साइडलाइन वार्तासमेत गरेका थिए । मुलुकमा बाढी पहिरोले आक्रान्त पार्दा मुलुक बाहिर हुँदा भ्रमण नछोट्याएको भन्दै प्रधानमन्त्रीको व्यापक आलोचना भइरहेको छ ।

  • इजरायलको दावि : हिज्बुल्लाहका नेता हसन मारिए

    इजरायलको दावि : हिज्बुल्लाहका नेता हसन मारिए

    काठमाडौं । हिज्बुल्लाहका नेता हसन नस्रल्लाह आफ्नो सैन्य कारबाहीमा मारिएको इजरेली सेनाले दावि गरेको छ । हिज्बुल्लाहले पनि आफ्ना नेता मारिएको पुष्टि गर्दै त्यसको बदला लिने चेतावनी दिएको छ। इजरेल डिफेन्स फोर्सले नस्रल्लाहसहित इरान समर्थित लडाकु समूहका अरू वरिष्ठ नेताहरू मारिएको जनाएको हो। मारिनेमा हिज्बुल्लाहको दक्षिणी मोर्चाका कमान्डर पनि रहेको इजरेली सेनाको एउटा विज्ञप्तिमा जनाइएको छ।

    आफ्नो लडाकु विमानले लेबननको “बेइरुत स्थित दहियाको एक आवासीय भवनमुनि भूमिगत” स्थानमा रहेको हिज्बुल्लाहको मध्य मुख्यालयमा गरेको “प्रहार”मा उनी मारिएको इजरेली सेनाको दाबी छ। उक्त सशस्त्र समूहको पकड क्षेत्र मानिने दक्षिणी बेइरुतको दहियाबाट हिज्बुल्लाहका उच्च नेतृत्वले सङ्गठन चलाइरहेको इजरेली दाबी रहँदै आएको थियो।

    यसअघि बेइरुतमा पछिल्लो इजरेली आक्रमणको निसानामा नस्रल्लाह रहेको अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमले जनाएका थिए।
    इजरेलको सेनाले हिजबुल्लाह मुख्यालयमा “निकै सटिक” आक्रमण गरेको यसअघि बताएको थियो तर उसले नस्रल्लाहलाई लक्षित गरिएको थियो कि थिएन भन्ने जनाएको थिएन। दक्षिण बेइरुतमा नयाँ आक्रमणहरू पनि भइरहेका छन्।

    बीबीसीका एकजना संवाददाताले कम्तीमा सातवटा विस्फोटनको चर्को आवाज सुनेको र आकाशमा धुवाँको मुस्लो गएको देखेको जनाएकी छन्। इजरेली रक्षा फौज आईडीएफले शनिवार सबेरै लेबननबाट प्रहार गरिएका १० वटा रकेट देखेको बताएको छ। इजरेलको माथिल्लो गलिली क्षेत्रमा बिहानै साइरनहरू बजेका थिए। केही रकेटहरू निष्क्रिय पारिएको विज्ञप्तिमा उल्लेख छ तर कुनै क्षति पुगेको वा घाइते भएको भन्ने उल्लेख गरिएको छैन।

    विज्ञप्तिमा भनिएको छ, आईडीएफले लेबननस्थित हिज्बुल्लाहको सैन्य क्षमता र संरचनामा निरन्तर प्रहार गरेको र संरचनाहरूमा क्षति पुर्‍याएको छ। लेबननका अधिकारीहरूले यसअघिको हवाई कारबाहीमा परेर छ जना मारिएको र ९१ जना घाइते भएको बताएका छन्। स्थानीय अधिकारीहरूले लेबननमा सोमवारयता भएको आक्रमणमा करिब ८०० जनाको ज्यान गएको बताएका छन्।

    इजरेली सेनाको हवाई आक्रमणमा दक्षिण लेबननमा रहेका हिज्बुल्लाहका कमान्डरहरू मोहम्मद अलि इस्मेल र उनका सहयोगी हुसेन अहमन इसमेल मारिएको बताइएको छ। इजरेलमाथि भएका अनेकौँ आक्रमणमा अलि इसमेल जिम्मेवार रहेको भन्दै इजरेलले, इजरेली भूभागतर्फ रकेट प्रहार गर्नेदेखि बुधवार जमिनबाट भएको क्षेप्यास्त्र आक्रमणमा पनि उनी जिम्मेवार रहेको बताएको छ।
    बीबीसी

  • संयुक्त राष्ट्रसंघीय महासभामा प्रधानमन्त्रीको सम्बोधन, कुन विषयलाई दिए प्राथमिकता ?

    संयुक्त राष्ट्रसंघीय महासभामा प्रधानमन्त्रीको सम्बोधन, कुन विषयलाई दिए प्राथमिकता ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन् । महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५ः३० बजे महासभामा सम्बोधन गरेका हुन् ।


    उनले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरे । सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट हालै पारित गराएको महासभालाई अवगत गराए ।

    “दुई ठूला राजनीतिक दलको सहकार्यमा बनेको वर्तमान सरकार नेपाली जनताको समावेशी र समतामूलक समृद्धिका लागि आर्थिक रुपान्तरणलाई अघि बढाउँदै स्थायित्व कायम गर्न कटिबद्ध छ”, प्रधानमन्त्री ओलीले भने, “सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने गहिरो विश्वासका साथ हामीले हाम्रो विदेश नीति सञ्चालन गरिरहेका छौँ । पारस्परिक सम्मान, सार्वभौम समानता, क्षेत्रीय अखण्डता, एकार्काको आन्तरिक मामिलामा अहस्तक्षेप र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा रहेर नजिकका छिमेकी र अन्य मुलुकसँगको घनिष्ठ, सौहार्दपूर्ण र रचनात्मक सम्बन्धलाई थप सुदृढ गर्न नेपाल प्रतिबद्ध छ ।”

    इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दुई मुलुकबीचको शान्तिपूर्ण संवादबाट समाधान हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए । प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्रमा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने तर सन् २०३० भित्रमा दिगो विकास लक्ष्य हासिल गर्न २४ बिलियन अमेरिकी डलरको आर्थिक खाडल रहेको बताए । उनले विश्वका विकसित मुलुकको कार्बन उत्सर्जनबाट नेपाल प्रभावित हुनु परेको र जलवायु न्यायको लाभ नेपालले पाउनुपर्ने माग गरे ।

  • अमेरिकी प्रथम महिलाद्धारा आयोजित समारोहमा शाक्य सहभागी

    अमेरिकी प्रथम महिलाद्धारा आयोजित समारोहमा शाक्य सहभागी

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला पनि सहभागी भएकी छिन् । अमेरिकी राष्ट्रपति जो वाइडेन पत्नी डा जिल वाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य सहभागी भएकी हुन् । न्युयोर्कको म्यानहाटनसिटीमा आयोजित कार्यक्रममा महासभामा भाग लिन अमेरिकामा रहेका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखका प्रथम महिलाको सहभागिता रहेको थियो ।

  • परराष्ट्र मन्त्री देउबा र स्पेनका प्रधानमन्त्रीबीच भेट

    परराष्ट्र मन्त्री देउबा र स्पेनका प्रधानमन्त्रीबीच भेट

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकामा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेकी छिन् । त्यस अवसरमा उनीहरुबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको थियो । नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । रासस

  • प्रधानमन्त्रीको आह्वान : हिमाल देखि समुन्द्रसम्म बचाउने योजना आवश्यक

    प्रधानमन्त्रीको आह्वान : हिमाल देखि समुन्द्रसम्म बचाउने योजना आवश्यक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन् ।
    संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी कार्बन उत्सर्जनका कारण नेपालका हिमालहरू पग्लिएको बताए । समुद्री सतह वृद्धिका कारणबारे चर्चा गर्दै उनले एसियाका दुई तिहाइ हिमालहरू पग्लिएसँगै कम्तीमा १० वटा नदी प्रणाली सुख्खा हुन पुगेकाले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना अपरिहार्य रहेको बताए ।

    प्रधानमन्त्री ओलीले हिमालयहरू प्राकृतिक ‘रिचार्ज सिस्टम’ भएकाले यिनलाई पग्लिन र समुद्रको तापक्रम बढ्न नदिन विश्वव्यापी साझा प्रयास हुनुपर्नेमा जोड दिए । ‘हानिकारक कण र प्रदूषण प्रवाह नियन्त्रणमा हातेमालो गर्दै जलवायु न्यायको नीति कार्यान्वयन गर्न लागौँ । उत्सर्जनकर्ता मुलुकले प्रभावित मुलुकलाई उचित क्षतिपूर्ति दिनुपर्ने कुरामा हामी सबैको साझा मत हुनुपर्छ’, उनले भने, ‘आगामी वर्ष यस सवालमा उल्लेखित चुनौती सामना गर्ने विषयमा हिमाली र टापुजन्य मुलुकको बेग्लै बैठक राख्न म राष्ट्रसङ्घलाई आग्रह गर्दछु ।’

    यसैबीच प्रधानमन्त्री ओलीले आजै राष्ट्रसङ्घको जलवायु परिवर्तनबाट असुरक्षित फोरमको बैठकलाई सम्बोधन गरे । उक्त बैठकमा जलवायु न्यायको आवाज उठाउँदै उनले विकसित मुलुकले पेरिस सम्झौताबमोजिम जलवायु वित्त कोषमा अतिरिक्त बजेट विनियोजन गर्नुपर्ने माग गरे । प्रधानमन्त्री ओलीले नेपालमा हुने सगरमाथा संवादमा सहभागी हुन फोरमका सदस्य राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई निमन्त्रणा पनि दिएका छन् ।

  • प्रधानमन्त्री ओली र कुवेती राजकुमारबीच भेट

    प्रधानमन्त्री ओली र कुवेती राजकुमारबीच भेट

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच आज भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रसङ्घका लागि कुवेतको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो । भेटमा द्धीपक्षीय हितमा कुरा भएको बताइएको छ ।

  • भूटान र नेपालका प्रधानमन्त्री बीच अमेरिकामा भेटवार्ता, के भयो कुराकानी ?

    भूटान र नेपालका प्रधानमन्त्री बीच अमेरिकामा भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौं । नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र मित्रराष्ट्र भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच भेटवार्ता भएको हो । उनीहरुको भेट राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भएको थियो ।

    भेटमा सहभागी प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार दुई देशबीच दुईपक्षीय र बहुपक्षीय मञ्चहरुमा सहकार्यका साथ अघि बढ्ने विषयमा कुराकानी भएको थियो ।

    नेपाल हाल अल्पविकसित मुलुकको अध्यक्षसमेत रहेको अवस्थामा भूटानका प्रधानमन्त्री तोग्बेले गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीका कारण नेपालसँगको आत्मीय सम्बन्ध रहेको उल्लेख गरेका थिए । उनले नेपालले भूटानका लागि देखाएको सद्भावप्रति आभार व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले दुई देशबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि नेपालबाट आवश्यक सहजीकरण हुने बताए ।

  • प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच न्यूयोर्कमा भेट

    प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच न्यूयोर्कमा भेट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता भएको छ । ओली र मोदीबीच नेपाली समय अनुसार सोमबार बिहान ४ बजे भेट भएको हो । भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीट गरेर जानकारी दिएका छन् । उनले भेट फलदायी भएको उल्लेख गरेका छन् । भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, भारतीय समकक्षी एस जयशंकर प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल र दुवै देशका परराष्ट्र सचिवहरु सेवा लम्साल र विक्रम मिश्री पनि सहभागी थिए ।

    परराष्ट्रका प्रवक्ता अमृत राई र न्युयोर्कस्थित राष्ट्र संघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा पनि सहभागी थिए । भेटमा दुई देशका बीचमा देखिएका कतिपय अष्पष्टताहरुलाई कुटनीतिक संयन्त्र बनाएर समाधान गर्ने सहमति भएको छ । यसअघि नै बनेको इपिजी नै सक्रिय गराउने वा नयाँ संयन्त्र बनाउने भन्नेबारे स्पष्ट हुन सकेको छैन । प्रधानमन्त्री ओलीले भुटानका प्रधानमन्त्री छिरिङ्ग तोग्बे, कतारका राजकुमार शेख सबाह लगायतसँग पनि साइडलाइन भेटवार्ता गरेका छन् ।

  • अमेरिकामा रहेका नेपालीबाटै विरोधको पूर्वसूचना पाएपछि प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको स्वागतमा आयोजित कार्यक्रम स्थगित

    अमेरिकामा रहेका नेपालीबाटै विरोधको पूर्वसूचना पाएपछि प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको स्वागतमा आयोजित कार्यक्रम स्थगित

    काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री आरजु राणाको स्वागतमा त्यहाँका नेपाली समुदाय आयोजना गर्ने भनिएको स्वागत कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ । नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजनामा आइतबार स्वागत तथा अन्तरक्रिया कार्यक्रम गर्ने तयारी थियो । त्यसका लागि प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको तस्वीर अंकित ब्यानरसहित मञ्च समेत तयार पारिसकिएको थियो ।

    तर सुरक्षा संवेदनशीलता र साइडलाइन भेटवार्ताको व्यस्ततालाई कारण देखाउँदै कार्यक्रम स्थगित गरिएको छ । नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले जारी गरेको सूचनामा लेखिएको छ, ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूको संयुक्त राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने वृहत कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ ।’

    न्यूयोर्कमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पहिचानवादी संघ संगठनहरुले कार्यक्रम स्थलमै विरोध प्रदर्शन गर्ने तयारी गरेको सूचना पाएपछि कार्यक्रम स्थगित गरिएको बताइएको छ । उनीहरुले कार्यक्रममा सहभागी भएर कालो झण्डा देखाउन सामाजिक सन्जालमार्फत् आह्वान गरेका थिए । त्यसपछि स्थानीय सुरक्षाकर्मीहरुले भीभीआईपीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी कार्यक्रम स्थगित गर्न सुझाव दिएको बताइएको छ ।

  • अमेरिकामा सामुहिक गोलीबारी, कम्तिमा चार जना मारिए, १८घाइते

    अमेरिकामा सामुहिक गोलीबारी, कम्तिमा चार जना मारिए, १८घाइते

    काठमाडौं । अलाबामाको बर्मिङ्घमस्थित एक लोकप्रिय नाइट लाइफ क्षेत्रमा भएको सामूहिक गोलीबारीमा चार जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।
    धेरै पीडित क्रसफायरमा परेको प्रहरीले आइतबार बिहान जानकारी दिएको छ । हालसम्म कसैलाई तत्काल पक्राउ गरिएको छैन र प्रहरीले जनतासँग जानकारी मागेको छ ।

    गोलीबारी शनिबार राति ११ बजेपछि सहरको फाइभ पोइन्ट्स साउथ मनोरञ्जन जिल्लामा भएको अधिकारी ट्रुमन फिट्जगेराल्डले एक इमेलमा जानकारी दिनुभयो । घटनास्थलमा पुगेका अधिकारीहरूले फुटपाथमा गोली लागेर घाइते भएका दुई पुरुष र एक महिला फेला पारेका थिए । उनीहरूलाई त्यहीँ मृत घोषित गरियो । फिट्जगेराल्डका अनुसार अर्का एक पुरुष गोली पीडितलाई अस्पतालमा मृत घोषित गरियो ।

    “प्रारम्भिक अनुसन्धानले धेरै शङ्कास्पदहरूले सार्वजनिक क्षेत्रमा बाहिर रहेको ठूलो समूहमाथि गोली चलाएको देखाएको छ”, उनले भने । “अनुसन्धानकर्ताहरूले धेरै पीडित क्रसफायरमा पर्नेगरी भएको गोलीबारी आकस्मिक नभएको र एक अलग घटनाबाट उत्पन्न भएको विश्वास गरेका छन् ।” घाइतेहरू अस्पतालहरूमा देखिन थालेको उनले बताए । आइतबार बिहानसम्म प्रहरीले १८ अन्य पीडित पहिचान गरेको थियो । केहीको अवस्था जीवन–जोखिमपूर्ण रहेको थियो ।

    फिट्जगेराल्डका अनुसार तत्काल कसैलाई पक्राउ गरिएको छैन । अनुसन्धानकर्ताहरूले अझै पनि लक्षित व्यक्तिहरू निर्धारण गरेका छैनन् । कुनै पनि जानकारी भएमा अधिकारीहरूलाई सम्पर्क गर्न अनुरोध गरिएको छ र पुरस्कारको सम्भावना रहेको प्रहरीले बताएको छ । फाइभ पोइन्ट्स साउथ क्षेत्रमा मनोरञ्जन स्थल, रेस्टुरेन्ट र बारहरू छन् र त्यहाँ शनिबार राति प्रायः भीड हुन्छ ।

  • क्यानडाबाट न्यूयोर्क पुगिन् परराष्ट्र मन्त्री

    क्यानडाबाट न्यूयोर्क पुगिन् परराष्ट्र मन्त्री

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन परराष्ट्रमन्त्री आरजु राणा देउवा शनिबार न्यूयोर्क पुगेकी छन्। स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट उनी न्यूयोर्क आएकी हुन्। मन्त्री राणालाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल, नियोगका कर्मचारी तथा स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए।

    क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी भएर उनी न्यूयोर्क आएकी हुन्। मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्ने राष्ट्रसङ्घका विभिन्न फोरममा सहभागिता हुनेछिन्। उनले मन्त्रीस्तरीय बैठकहरूमा सहभागिता जनाउने तथा विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिएको छ।