Category: अमेरिका

  • अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

    अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

    काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ ।अधिकारीहरुका अनुसार उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा भूकम्पको केन्द्र थियो । फर्नडेल, हम्बोल्ट काउन्टीको एक सानो शहर हो ।

    यो ओरेगन सीमाबाट करिब २०९ किलोमिटर टाढा पर्दछ । यसैगरी सान फ्रान्सिस्कोबाट ४१८ किलोमिटर टाढा पर्दछ । भूकम्प आएलगत्तै ५३ लाख जनामा सुनामीको चेतावनी जारी गरिएको थियो । तर पछि उक्त चेतावनी हटाइएको बीबीसीले जनाएको छ ।

    स्थानीय अधिकारीहरुका अनुसार भूकम्पबाट मानवीय क्षति वा कुनै ठूलो भौतिक क्षतिको सूचना प्राप्त भएको छैन । हम्बोल्ट काउन्टीको शेरिफ कार्यालयका अनुसार भूकम्प आएको केही समयसम्म विद्युत् आपूर्ति बन्द भएको थियो ।

  • अमेरिकाले विद्यार्थी भिसा आवेदन अप्रिलबाट खोल्दै

    अमेरिकाले विद्यार्थी भिसा आवेदन अप्रिलबाट खोल्दै

    काठमाडौं । अमेरिकामा अध्ययन गर्न चाहेन नेपाली विद्यार्थीका लागि नयाँ भिसा आवेदन सन् २०२५ अप्रिलदेखि खुल्‍ने भएको छ । अमेरिकी दूतावास काठमाडौंले सन् २०२५को अप्रिल, मे, जुन र जुलाई महिनाका लागि विद्यार्थी भिसा आवेदनको मिति घोषणा गर्न लागेको जानकारी दिएको हो । दूतावासले सामाजिक सञ्‍जालमार्फत सूचना जारी गर्दै आफ्नो स्थान सुरक्षित गर्न नेपाली विद्यार्थीहरूलाई अपिलसमेत गरेको छ ।

    सूचना अनुसार अप्रिल महिना २०२५ का आवेदन २२ जनवरी बिहान ८ बजे खुल्नेछ भने मे २०२५ का आवेदन १३ मार्च बिहान ८ बजे खुल्नेछ जनाइएको छ । यस्तै जुन २०२५ का आवेदन १७ अप्रिल बिहान ८ बजे खुल्नेछ भने जुलाई २०२५ का आवेदन १५ मे बिहान ८ बजे खुल्ने दूतावाले सूचनामा उल्लेख गरेको छ ।

  • अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै

    अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै

    काठमाडौं । अमेरिकाका सहायक विदेशमन्त्री नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । अमेरिकी विदेश मन्त्रालयले जनाए अनुसार अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउन लागेका छन् । मङ्गलबारदेखि साताव्यापी दक्षिण एसिया भ्रमणमा निस्किएका लु अर्को साता नेपाल आइपुग्ने जनाइएको छ ।

    नेपाल भ्रमणका क्रममा उनले शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने कार्यसूची छ । भेटवार्ताका क्रममा सहायक विदेशमन्त्री लुले नेपालको वातावरण संरक्षण, महिला सशक्तीकरण र दिगो विकासका लागि सहयोगलाई अगाडि बढाउने विषयमा छलफल गर्ने विदेश मन्त्रालयले स्पष्ट पारेको छ । अमेरिका–नेपाल सम्बन्धलाई भविष्यमा थप मजबुत बनाउन नेपालका युवा नेतृत्वसँग पनि परामर्श गर्नेछन् ।

  • अमेरिकी राष्ट्रपति बाइडेनले छोरालाई कुन मुद्दामा दिएका हुन आममाफी ?

    अमेरिकी राष्ट्रपति बाइडेनले छोरालाई कुन मुद्दामा दिएका हुन आममाफी ?

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले दुईवटा फौजदारी मुद्दामा सजाय खेपिरहेका आफ्ना छोरा हन्टरलाई औपचारिक माफी दिएका छन् । बाइडेनले एक विज्ञप्ति जारी गर्दै आफ्ना छोरालाई एक्ल्याइएको दाबी गरेका छन् । राष्ट्रपति बाइडेनले आफ्ना छोरा हन्टरविरुद्धका मुद्दालाई उनले न्यायको पतनको संज्ञा दिएका छन् । जसका कारण आफूले माफी दिनुपर्ने अवस्था उत्पन्न भएको बाइडेनको दाबी छ ।

    ‘मैले राष्ट्रपति कार्यालय सम्हालेको दिनदेखि नै न्याय मन्त्रालयको निर्णय प्रक्रियामा कुनै दखल पुर्‍याउँदिनँ भनेको थिएँ र मेरो छोराको अलग्गै रूपमा र अनुचित रूपमा अभियोजन भइरहँदासमेत मैले आफ्नो वचन कायम राखेँ,। उनले भनेका छन् । बाइडेनले यसअघि आफ्नो छोरालाई माफी नदिने वा उनको सजाय पनि कम नगर्ने बताएका थिए । तर आफ्नो कार्यकालको अन्तिममा उनले छोरालाई पूर्ण र निसर्त क्षमादान जारी गरेका हुन् ।

    गत सेप्टेम्बरमा ह्वाइटहाउसका प्रेस सेक्रेटरीले राष्ट्रपति बाइडेनले आफ्ना छोरालाई क्षमादान नदिने जनाएका थिए । आइतबार बाइडेनले राजनीतिले न्याय प्रणालीलाई संक्रमित पारेको र त्यसले न्यायको गर्भपात गराएको दाबी गरेका हुन् । ‘अब यसलाई थप ढिलो गर्नुको कुनै अर्थ नभएकाले यो निर्णय गरेको हुँ, बाइडेनले भनेका छन्, एक बुवा र एक राष्ट्रपतिले यो निर्णय किन गरे भन्ने अमेरिकीहरूले बुझ्छन् भन्ने मलाई विश्वास छ ।’

    हन्टर बाइडेन गत सेप्टेम्बरमा कर मामिलामा दोषी ठहर भएका थिए । त्यसको सजाय तोक्न भने बाँकी रहेको थियो । उक्त मुद्दामा उनलाई १७ वर्ष सम्मको जेल सजाय हुन सक्ने बताइएको थियो । त्यस्तै, उनी गत जून महिनामा गैरकानुनी रूपमा बन्दुक किनेको र आफूले लागूऔषध प्रयोग गरेको विषयमा झुटो बोलेकोमा दोषी ठहर भएका थिए । हन्टर कुनै पनि अपराधमा दोषी ठहर भएका बहालवाला राष्ट्रपतिको पहिलो सन्तान हुन् । यसमा उनलाई २५ वर्षसम्मको सजाय हुन सक्ने बताइएको थियो । ती मुद्दाको सजाय तोक्ने दिन डिसेम्बर १२ र १६ का लागि तय गरिएको थियो ।

    अमेरिकाको राष्ट्रपतिको पदभार आगामी जनवरी २० देखि डोनाल्ड ट्रम्पले सम्हाल्दैछन् । त्यसअघिसम्म बाइडेन पदमा रहनेछन् । आफैसमेत दोषी ठहर डोनाल्ड ट्रम्पले हन्टरलाई दिइएको क्षमादान न्यायको दुरूपयोग र पतन भएको प्रतिक्रया दिएका छन् । हन्टरले दुर्व्यसनीका आफ्ना अँध्यारा दिनमा आफूले गरेको गल्तीलाई राजनीतिक खेलमा आफ्नो परिवारलाई ‘सार्वजनिक रूपमा शोषण र अपमानित गर्न प्रयोग गरिएको दाबी गरेका छन् । मलाई आज दिइएको क्षमादानलाई मैले कहिल्यै हलुका रूपमा लिनेछैन । मैले मेरो जीवन बिरामी र पीडामा रहेकालाई सहयोगमा समर्पित गर्नेछु, ५४ वर्षीय हन्टरले भनेका छन् ।

  • ट्रम्पविरुद्धको एक फौजदारी मुद्दा खारेज

    ट्रम्पविरुद्धको एक फौजदारी मुद्दा खारेज

    काठमाडौं । अमेरिकामा एकजना न्यायाधीशले राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले सन् २०२० को निर्वाचनमा आफू पराजित भएपछि नतिजा उल्टाउने प्रयास गरेको आरोप लगाइएको एक फौजदारी मुद्दा खारेज गरेका छन् । न्याय मन्त्रालयको नीतिले बहालवाला राष्ट्रपतिलाई अभियोजन चलाउन रोकेकाले विशेष अभियोजनकर्ता ज्याक स्मिथले यसअघि आफैले अघि सारेको उक्त अभियोग फिर्ता गर्न अनुरोध गरेको समाचार सार्वजनिक भएको छ ।

    न्यायाधीशले बिना पूर्वाग्रह उक्त अभियोग खारेज गरेको बताएका छन् । अभियोगहरू ट्रम्पले आफ्नो दोस्रो कार्यकाल पूरा गरेसँगै पुनः दायर हुन सक्छन्। ट्रम्पले ह्वाइटहाउस छाडेपछि गोप्य दस्ताबेजहरूलाई राम्रोसँग नसम्हालेको आरोपविरुद्धको मुद्दा समेत अगाडि नबढाउने स्मिथले बताए।

    ट्रम्पले ज्यानुअरी २० तारिखबाट नयाँ राष्ट्रपतिको पद सम्हाल्दैछन्। उनले ती दुवै सङ्घीय मुद्दामा आफू निर्दोष रहेको बताएका छन्। “न्याय मन्त्रालय लामो समयदेखि अमेरिकाको संविधानले बहालवाला राष्ट्रपतिलाई सङ्घीय अभियोग दायर गर्न र मुद्दा चलाउन रोक्न गरेको व्यवस्थामा अडिग छ,” सो निर्वाचनसम्बन्धी अभियोगमा स्मिथले थप लेखेका छन्। “यस नतिजा प्रतिवादीविरुद्धको मुद्दाको योग्यता वा शक्तिमा आधारित छैन,” आफ्नो छ पृष्ठ लामो मिसिलमा उनले उल्लेख गरेका छन्। यसअघि ह्वाइटहाउसबाट बाहिरिएसँगै ट्रम्पले अभूतपूर्व कानुनी चुनौतीहरू सामना गरेका थिए।

    स्टोर्मी ड्यान्यल्स नामक एक पोर्न स्टारलाई रकम दिएको मुद्दामा फौजदारी मुद्दा खेप्ने र पछि दोषी ठहर हुने पहिलो पूर्वअमेरिकी राष्ट्रपति ठहरिएका थिए।
    यस वर्षको सुरुमा उनले दुई सङ्घीय मुद्दा र अन्यसँग सम्बन्धित १०० फौजदारी आरोपहरू सामना गरे। त्यसपछि सर्वोच्च अदालतले यस गर्मी याममा उनले राष्ट्रपतिका रूपमा लिएका आधिकारिक कार्यहरू को लागि मुद्दा चलाउन नसकिने निर्णय गर्‍यो र त्यसको केही केही महिनापछि ट्रम्पले चुनाव जिते। अहिले लगभग सबै अभियोगहरू फिर्ता लिइएको छ। जोर्जा राज्यको अभियोजन हालका लागि रोकिएको छ।

    बीबीसीको सहयोगमा

  • टेस्लाका मालिक मस्क मानव इतिहासकै सर्वाधिक धनी व्यक्ति

    टेस्लाका मालिक मस्क मानव इतिहासकै सर्वाधिक धनी व्यक्ति

    काठमाडौं । टेस्ला, एक्स तथा स्पेस एक्सलगायतका कम्पनीका मालिक एलन मस्क विश्वमा सबैभन्दा धनी व्यक्ति हुन् । उनको पुनरागमन यसमा मात्र सिमित छैन, उनी मानव इतिहासकै सर्वाधिक धनी व्यक्ति बन्न सफल भएका छन् । फोर्ब्सका अनुसार तीन खर्ब ३४ अर्ब ३० करोड कूल सम्पत्तिसहित मस्कले इतिहास रचेका छन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयी भएसँगै उनका कट्टर समर्थक तथा सहयोगी बनेका मस्कको विद्युतीय कार कम्पनी टेस्लालगायतको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको हो ।


    फोर्ब्सका अनुसार नोभेम्बर २२ शुक्रबार बजार बन्द हुने बेलासम्म मस्कको कूल सम्पत्ति ३ खर्ब २१ अर्ब ७० करोड डलर पुगेको थियो । टेस्ला कम्पनीको शेयर मूल्यमा ३.८ प्रतिशतले वृद्धि भई पछिल्लो साढे तिन वर्षयताकै उच्च पुगेको छ । यसको मूल्य प्रतिशेयर ३५२ डलर नाघेको छ । मस्कको सम्पत्ति एकैदिन ७ अर्ब डलर बढेको छ ।

    विश्वका धनाढ्यको सूचीमा पहिलो स्थानमा पुनः उक्लिएका मस्कको सम्पत्ति अहिले दोस्रो स्थानमा रहेका ओरेकल कम्पनीका अध्यक्ष ल्यारी इलिसनको भन्दा ८० अर्ब डलर धेरै छ । मस्कको कूल सम्पत्तिमध्ये अधिकांश हिस्सा उनको १३ प्रतिशत शेयर रहेको टेस्ला कम्पनीबाट प्राप्त भएको हो ।

    अहिले मस्कको एआई कम्पनी एक्स एआईको मूल्य ५० अर्ब डलर पुगिसकेको छ र त्यसले पनि उनको सम्पत्ति बढाउन सहयोग गरेको छ । त्यस्तै दुई खर्ब १० अर्ब डलरको अन्तरिक्ष कम्पनी स्पेस एक्सको बजार पुँजीकरणले पनि मस्कको अर्बौं डलरको सम्पत्तिमा महत्वपूर्ण हिस्सा ओगटेको छ । स्पेस एक्समा मस्कको शेयरहिसा ४२ प्रतिशत रहेको छ । अमेरिकामा पछिल्लोपटक राष्ट्रपतिको चुनाव हुने दिनकोभन्दा अहिले मस्कको सम्पत्ति ७० अर्ब डलरले बढी छ ।

    त्यसयता टेस्लाको ४० प्रतिशतले बढेको छ । आगामी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एलन मस्कको निकट सम्बन्धले गर्दा लगानीकर्ताहरुको मनोबल बढेको छ । वालस्ट्रिट जर्नलका अनुसार आगामी ट्रम्प प्रशासनले टेस्लालगायतका कम्पनीलाई फाइदा पुग्नेगरी नीति अख्तियार गर्नेछ ।

  • अमेरिकी खर्बपति व्यवसायी मस्क र प्रधानमन्त्री ओलीबीच भर्चुअल वार्ता

    अमेरिकी खर्बपति व्यवसायी मस्क र प्रधानमन्त्री ओलीबीच भर्चुअल वार्ता

    काठमाडौं । अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कुराकानी गरेका छन् । शुक्रबार साँझ प्रधानमन्त्री ओलीले माइक्रोसफ्ट टिम्समार्फत सामाजिक सञ्जाल एक्सका मालिक समेत रहेका मस्कसँग कुराकानी गरेको स्वयमः प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका छन् । के विषयमा कुराकानी भइरहेको छ भन्ने विषयमा खुलाइएको छैन ।

    स्पेश एक्सका कम्पनीका मालिक समेत रहेका मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्न इच्छा देखाएकाछन् । सोही बारे कुराकारी भएको अनुमान गरिएको छ । अमेरिकामा हालै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई अमेरिकाको डिपार्टमेन्ट अफ गर्भर्मेन्ट एफिसियन्सीमा नियुक्त गर्ने घोषणा गरेका छन् ।

  • भारतीय अर्बपति अडानीविरुद्ध अमेरिकामा कस्तो मुद्दा दायर भयो ?

    भारतीय अर्बपति अडानीविरुद्ध अमेरिकामा कस्तो मुद्दा दायर भयो ?

    काठमाडौं । भारतीय अर्बपति तथा अडानी ग्रुपका मालिक गौतम अडानीलाई घुस तथा धोखाधडीको योजनामा संलग्न रहेको अभियोगमा अमेरिकामा मुद्दा दायर भएको छ । अडानीविरुद्ध २५ करोड अमेरिकी डलर बराबरको घुस दिने योजना बनाएको र अमेरिकामा रकम उठाउने क्रममा उक्त मामिला लुकाएको आरोप छ । उनीमाथि न्यूयोर्कमा अभियोगपत्र दर्ता गरिएको छ ।

    उनी र उनका भतिज सागर अडानीसहितका ७ जनामाथि सौर्य उर्जा प्लान्ट परियोजना निर्माणको ठेक्का हात पार्न भारतका सरकारी अधिकारीलाई घुस दिन सहमति जनाएको अभियोग लगाइएको हो । नवीकरणीय उर्जासम्बन्धी अडानीको कम्पनीले उक्त परियोजनाबाट २० वर्षको अवधिमा २ अर्ब अमेरिकी डलरभन्दा बढी नाफा कमाउने अपेक्षा गरिएको थियो ।

    अडानी र उनको अडानी ग्रीन इनर्जी कम्पनीका पूर्वप्रमुख कार्यकारी अधिकृत विनित जैन मिलेर भ्रष्टाचारका कुरा गोप्य राख्दै अमेरिकी फर्म लगायतका लगानीकर्ताबाट ३ अर्ब डलर लगानी उठाएको समेत अभियोगपत्रमा उल्लेख छ । अडानीको कम्पनीका कार्यकारीहरूले आफ्नो समूहका घुसविरोधी नीति तथा घुससम्बन्धी अनुसन्धानका प्रतिवेदनका नक्कली कागजात पेस गरेर अमेरिकीसहित विभिन्न फर्मबाट ३ अर्ब डलर बराबरको कर्जा र बन्डहरू उठाएको अभियोजनकर्ताहरूको दाबी छ । यसबारे अडानी समूहले भने हालसम्म कुनै टिप्पणी नगरेको बीबीसीले जनाएको छ ।

    ६२ वर्षे अडानीले बन्दरगाह र विमानस्थल निर्माण तथा सञ्चालनदेखि नवीकरणीय ऊर्जाको विस्तारसम्म व्यापार– व्यवसायको साम्राज्य खडा गरेका छन् । विभिन्न कम्पनीहरूलाई संलग्न गरी अमेरिकामा चलिरहेको अडानी ग्रीन एनर्जी सन् २०२३ देखि शंकाको घेरामा रहँदै आएको छ । अमेरिकाले सन् २०२२ देखि अडानीको कम्पनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

    अडानी समूहले जालसाजी गरेको आरोप लगाउँदै न्यूयोर्कस्थित उच्च प्रतिष्ठित कम्पनी हिन्डेनबर्ग रिसर्चले प्रतिवेदन सार्वजनिक गरेपछि समूहमाथि शंका उत्पन्न भएको थियो । प्रतिवेदनमा गरिएका दाबीहरूलाई अडानीले अस्वीकार गरेका थिए ।

    उक्त प्रतिवेदन सार्वजनिक भएसँगै अडानी ग्रुपको सेयर र अन्य कारोबारमा ठूलो गिरावट आएको थियो । हिन्डेनबर्गले सार्वजनिक गरेको रिपोर्टको जवाफमा अडानी ग्रुपले ४ सय १३ पेजको खण्डन प्रकाशन गरेको थियो । त्यसपछि दुई पक्षबबीच वाकयुद्ध नै चलेको थियो । खण्डनमा अडानी समूहले हिन्डेनबर्गलाई ‘म्याड्स अफ म्यानह्याटन’ भन्दै कम्पनीको रिपोर्टलाई ‘भारत, यसको स्वतन्त्रता, अखण्डता एवं आर्थिक वृद्धि तथा महत्त्वाकांक्षा माथिको नियोजित आक्रमण’ भनेको थियो ।

    कतिपयले भारतको आर्थिक वृद्धिको ‘मोदी मोडल’ को अडानीले प्रतिनिधित्व गरेका र हिन्डेनबर्गको प्रतिवेदनले ‘कुलीन वर्ग र पक्षपाती लोकतान्त्रिक शक्तिबीचको साँठगाँठलाई नाफामा बदल्ने अडानी ग्रुपको अभियानमा धक्का पुर्‍याएको’ बताएका थिए । अडानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगी हुन् । लामो समयदेखि मोदीसँगको राजनीतिक सम्बन्धबाट अडानीले फाइदा लिएको भारतका विपक्षी राजनीतिज्ञहरूको आरोप छ । तर ती आरोपलाई उनले खण्डन गर्दै आएका छन् ।

    अडानीले एकपटक अपहरणमा परी फिरौती तिरेर बाँचेको बताउने गरेका छन् । त्यसका साथै, सन् २००८ नोभेम्बर २६ को ताज आक्रमणमा पर्दा बेसमेन्टमा लुकेर बाँच्न सफल भएको उनको दाबी छ । अडानीले गत साता सामाजिक सञ्जालमार्फत नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका थिए । त्यस्तै, उनले अमेरिकामा १० अर्ब डलर बराबरको लगानी गर्ने वाचासमेत गरेका थिए ।

  • इजरायली प्रधानमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

    इजरायली प्रधानमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

    काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायल र हमासका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) का न्यायाधीशहरूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्व रक्षामन्त्री योभ गालान्तका साथै हमासका सैन्य कमाण्डरका लागि गिरफ्तारी वारेन्ट जारी गरेका हो । आईसीसीको अधिकार क्षेत्रमाथि इजरायलको चुनौतीलाई खारेज गर्दै नेतन्याहू र गालन्टलाई वारेन्ट जारी गरेको आईसीसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    त्यस्तै हमासका नेता मोहम्मद देइफका लागि पनि वारन्ट जारी गरिएको छ । यद्यपि इजरायली सेनाले जुलाईमा गाजामा गरेको हवाई आक्रमणमा उनको मृत्यु भइसकेको छ । योसँगै आईसीसीका १२४ सदस्य राष्ट्रहरूले यो निर्णय बारे आफ्नो सहमति–असहमति जाहेर गर्नेछन् । हमासका नेता देइफको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका थिए । उनलाई दक्षिणी इजरायलमा आक्रमणको नेतृत्व गरेको र १ हजार २०० मानिसको हत्या गर्नुका साथै २५१ जनालाई बन्धक बनाएर गाजा लगाएको आरोप लगाउने गरिन्छ ।

    यसको जवाफमा इजरायलले हमासलाई नष्ट गर्न भन्दै सैन्य अभियान सुरु गरेको छ भने यसक्रममा कम्तिमा ४४ हजार मानिस मारिएको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । हमास नेताहरूलाई मानवता विरुद्धका अपराध र युद्ध अपराधहरूको आरोप छ भने इजरायलका नेताहरूलाई नागरिकहरूमाथि जानबुझी आक्रमण गर्ने लगायतका आरोप लाग्ने गरेको छ ।

  • अमेरिकाले युक्रेनलाई बारुदी सुरुङ उपलब्ध गराउने

    अमेरिकाले युक्रेनलाई बारुदी सुरुङ उपलब्ध गराउने

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई बारुदी सुरुङहरू उपलब्ध गराउन सहमत भएका छन् । किभलाई अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएको केही दिनभित्र बाइडेन बारुदी सुरुङ दिन सहमत भएका हुन् । युक्रेनले मंगलबार मात्रै रुसी भूमिमा अमेरिकामा निर्मित लामो दूरीको क्षेप्यास्त्र प्रयोग गरेको थियो । रुसी अधिकारीहरूका अनुसार युक्रेनले अमेरिकामा निर्मित पाँचवटा क्षेप्यास्त्र प्रहार गरेको थियो । तीमध्ये चारवटालाई रुसी प्रतिरक्षा प्रणालीले निस्तेज पारेको रुसले जनाएको छ ।

    बाइडनले गत सातामात्रै युक्रेनलाई दिएका लामो दूरीका क्षेप्यास्त्र रुसमा प्रहार गर्ने अनुमति दिएका थिए । बाइडेन प्रशासनले युक्रेनलाई आर्मी ट्याक्टिकल मिसाइल सिस्टम ९एटीएसीएमएस० प्रयोग गर्न युक्रेनलाई अनुमति दिएको हो । अमेरिकामा निर्मित एटीएसीएमएस करिब ३ सय किलोमिटरको दूरीमा मार हान्न सक्ने क्षमताका हुन् । एटीएसीएमएससँगै अमेरिकाले युक्रेनलाई लकहीड मार्टिन बलिस्टिक क्षेप्यास्त्र पनि उपलब्ध गराएको छ ।

    त्यसअघि अमेरिकाले त्यस्ता क्षेप्यास्त्र युक्रेनी क्षेत्रमा मात्र प्रयोग गर्नुपर्ने बताउँदै आएको थियो । राष्ट्रपति बाइडेनले रुस(युक्रेन युद्ध थप चर्कने भन्दै युक्रेनलाई त्यस्ता अस्त्र प्रयोगको अनुमति दिन अस्विकार गर्दै आएका थिए । तर सत्तामा रहने समय करिब दुई महिना मात्र बाँकी रहेको अवस्थामा बाइडेनले आफ्नो पूर्ववत् नीति परिवर्तन गर्दै हतियार प्रयोगको अनुमति दिएका हुन् ।

    आगामी जनवरीमा सत्ताबाट बाहिरिन लागेका बाइडनका पछिल्ला निर्णयले रुस(युक्रेन युद्ध थप चर्कने देखिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले दिएका हतियार प्रयोगलाई युक्रेन युद्धमा उत्तर एट्लान्टिक सन्धी संगठन ९नेटो० को संलग्नताकै रूपमा हेर्ने बताएका थिए ।

    आधुनिक युद्धपोत र लडाकु विमानहरू युक्रेनलाई उपलब्ध गराउने कुरालाई रुस र नेटोबीचको युद्धका रूपमा हेर्ने चेतावनी दिँदै आएको छ । यसअघि पुटिनले अमेरिकाले युक्रेनलाई लामो दूरीका हतियार प्रयोग गर्न अनुमति दिएको खण्डमा रुसले परमाणु हतियार प्रयोग गर्ने चेतावनी समेत दिएका थिए ।


    आगामी जनवरी २० देखि अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न लागेका डोनाल्ड ट्रम्पले भने युक्रेनलाई दिँदै आएको सैन्य लगायतका सहयोग रोक्ने बताउँदै आएका छन् । उनले आफ्नो चुनावी अभियानका क्रममा रुस(युक्रेन युद्ध २४ घण्टाभित्र रोक्ने बताएका थिए ।

  • युक्रेनस्थित अमेरिकी दूतावासमा आक्रमणको चेतावनी

    युक्रेनस्थित अमेरिकी दूतावासमा आक्रमणको चेतावनी

    काठमाडौं । युक्रेनले पहिलो पटक रुसमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार गरेपछि रुसले जवाफ दिने वाचा गरेसँगै किएभस्थित अमेरिकी दूतावासले बुधबार हवाई आक्रमणको चेतावनी दिएको छ । दूतावासले नोभेम्बर २० मा हवाई आक्रमणको विशेष सूचना प्राप्त गरेको उल्लेख गर्दै सावधानीका साथ दूतावास बन्द गर्ने र कर्मचारीलाई सुरक्षित ठाउँमा आश्रय लिन निर्देशन दिएको वेबसाइटमार्फत बताएको छ । “अमेरिकी दूतावासले अमेरिकी नागरिकहरूलाई हवाई सतर्कता घोषणा भएको खण्डमा तत्काल आश्रय लिन तयार रहन सिफारिस गर्दछ”, दूतावासले भनेको छ ।

    युक्रेनले करिब तीन वर्षको युद्धमा पहिलो पटक लामो दूरीको अमेरिकी क्षेप्यास्त्र आफ्नो क्षेत्रमा प्रयोग गरेपछि रुसले मङ्गलबार यसको जवाफ दिने चेतावनी दिएको थियो । एक वरिष्ठ युक्रेनी अधिकारीका अनुसार मङ्गलबार रुसको ब्रायन्स्क क्षेत्रमा भएको आक्रमण “एटिएसिएमस क्षेप्यास्त्रद्वारा गरिएको थियो । यो अमेरिकी सेनाको सामरिक क्षेप्यास्त्र प्रणालीसँग सम्बन्धित रहेको ती अधिकारीले बताए ।

    रुसी विदेशमन्त्री सर्गेई लाभरोभले आक्रमणले पश्चिमी देशहरूले द्वन्द्व ‘तीव्र’ पार्न चाहेको देखाएको बताउनुभयो । “हामी यसलाई रुस विरुद्धको पश्चिमी युद्धको गुणात्मकरुपमा नयाँ चरणको रूपमा लिनेछौँ र हामी सोही अनुरूप प्रतिक्रिया दिनेछौँ”, ब्राजिलमा भएको जी–२० शिखर सम्मेलनमा आयोजित पत्रकार सम्मेलनमा लाभरोभले भने । वासिङ्टनले यस हप्ता युक्रेनलाई रुसभित्रका सैन्य लक्ष्यहरूमा एटिएसिएमएस प्रयोग गर्न स्वीकृति दिएको पुष्टि गरेको छ । यो युक्रेनको लामो समयदेखिको माग थियो । रासस र एएफपी

  • ट्रम्पको घोषणा : गैरकानूनी आप्रवासी निकाल्न सेना प्रयोग, आपतकाल लगाइदै

    ट्रम्पको घोषणा : गैरकानूनी आप्रवासी निकाल्न सेना प्रयोग, आपतकाल लगाइदै

    काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेना प्रयोगको घोषणा गरेका छन् । राष्ट्रपति जो बाइडनको प्रशासनकालमा गैरकानुनी रूपमा आप्रवासीको संख्या बढेपछि ट्रम्पले कागजातविहीन लाखौं आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिको जोडिएको सिमानालाई व्यवस्थित बनाउने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
    ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक कन्जरभेटिभ कार्यकर्ताको हालैको पोस्टलाई पुनः पोस्ट गरेका छन् । त्यसमा लेखेका छन्, ‘नवनिर्वाचित राष्ट्रपति राष्ट्रिय आपतकाल घोषणा गर्न तयार हुनुहुन्छ र सामूहिक निर्वासन कार्यक्रम अघि बढाउन तयार हुनुहुन्छ ।’ पुनः पोस्ट गरेसँगै ट्रम्पले उक्त कुरा ‘साँचो’ भएको उल्लेख गरेका छन् ।

    गत नोभेम्बर ५ मा डेमोक्र्याटिक उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा पुनः निर्वाचित भएका थिए । उनले अध्यागमन र भन्सार प्रवर्तनका पूर्वकार्यवाहक प्रमुख टम होमनलाई आफ्नो ‘सीमा जार’ को रूपमा नामकरण गर्दै आप्रवासनबारे कट्टरपन्थी सोच राख्ने सदस्यहरूको एक क्याबिनेट घोषणा गरेका छन् । गत जुलाईमा रिपब्लिकन नेसनल कन्भेन्सनमा उपस्थित भएर उनले समर्थकहरूलाई भनेका थिए, ‘मैले लाखौं अवैध आप्रवासीलाई एउटा सन्देश दिन चाहन्छु कि जो बाइडनले भित्राएका उनीहरूलाई फिर्ता पठाइनेछ ।’

    अधिकारीहरूका अनुसार संयुक्त राज्य अमेरिकामा करिब एक करोड १० लाख मानिस गैरकानुनी रूपमा बसिरहेका छन् । ट्रम्पको निर्वासन योजनाले करिब दुई करोड परिवारमा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ । अमेरिकी सरकारले मेक्सिकोसँगको दक्षिणी सीमा व्यवस्थापनका लागि वर्षौंदेखि संघर्ष गरिरहेको बेला ट्रम्पले आप्रवासीहरूले अमेरिकीहरूलाई बलात्कार र हत्या गर्ने गरेको आरोप लगाएका छन् ।

    आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले पटक–पटक गैरकानुनी आप्रवासीविरुद्ध आवाज उठाएका थिए । ट्रम्पले आफ्नो आप्रवासन कारबाहीको बारेमा विस्तृत विवरण दिएका छैनन् । तर आफ्नो चुनावी अभियानको क्रममा बारम्बार निर्वासनलाई गति दिन ‘एलियन एनिमिज एक्ट १७९८’ लागू गर्ने बताएका थिए ।

  • ट्रम्पको जितपछि बिटक्वाइनको मूल्यले निरन्तर छुँदैछ आकास

    ट्रम्पको जितपछि बिटक्वाइनको मूल्यले निरन्तर छुँदैछ आकास

    काठमाडौं । विश्वको सबैभन्दा पुरानो र ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च ९० हजार अमेरिकी डलरभन्दा माथि पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसलाई बिटक्वाइनको ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएयता बिटक्वाइन मात्रै होइन, डजक्वाइन, इथेरियमलगायत क्रिप्टोकरेन्सीको मूल्यले समेत आकास छोएको देखिन्छ ।


    क्रिप्टोकरेन्सीको यस्तो चामत्कारिक वृद्धिका पछाडि पछिल्लो अमेरिकी राजनीतिक र आर्थिक घटनाक्रमहरूले भूमिका खेलेका छन् । विशेषगरी ट्रम्पको जित र इलन मस्कको समर्थनले बिटक्वाइनसहितका क्रिप्टो मुद्राको मूल्य अकासिएका हुन् । ट्रम्पले क्रिप्टोकरेन्सीमैत्री नीति अपनाउने र अमेरिकालाई ‘पृथ्वीकै क्रिप्टोकरेन्सीको राजधानी’ बनाउने वाचा गर्दै आएका छन् । कुनै बेला क्रिप्टोप्रति शंकालु ट्रम्प अहिले आफैं यसका लगानीकर्ता बनेका छन् । उनले चुनावी अभियानका बेला क्रिप्टोमा चन्दा स्विकारेका थिए ।

    टेस्ला र स्पेस एक्सका प्रमुख कार्यकारी अधिकृत इलन मस्कले पनि बिटक्वाइनको सार्वजनिक समर्थन गर्दै आएका छन् । टेस्लाले बिटक्वाइनमा गरेको ठूलो लगानीले बजारमा सकारात्मक प्रभाव पार्ने गरेको छ । मस्कका ट्विट र सार्वजनिक अभिव्यक्ति पनि प्रायः बिटक्वाइनको मूल्यमा तात्कालिक वृद्धिको कारण बन्ने गरेका छन् ।

    विश्वका सयभन्दा धेरै देशले बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीहरूमा सीमित मात्रामा कारोबार गर्न दिएका छन् भने अन्यले पूर्ण रूपमा यसलाई प्रतिबन्ध लगाएका छन् । अमेरिका, क्यानडा, युरोपेली संघ, सिंगापुर, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत देशमा क्रिप्टोकरेन्सीले कानुनी मान्यता पाएका छन् । चीन, पाकिस्तान, साउदी अरेबिया र ट्युनिसियाले क्रिप्टोमा कारोबार गर्न नपाउने गरी कडा प्रतिबन्ध लगाएका छन् । नेपालमा पनि क्रिप्टोकरेन्सी प्रतिबन्धित छ ।

    अलजजिराको विश्लेषणअनुसार पछिल्ला चार वर्षमा बिटक्वाइनको मूल्य उल्लेख्य रूपमा फेरबदल हुँदै आएको छ । आर्थिक गतिविधि, बजारको मनोविज्ञान र नियमनका कारण बिटक्वाइनको मूल्य कहिले माथि त कहिले स्वाट्टै तल झर्ने गरेको छ । सन् २०२० को मार्चमा विश्व बजार कोभिड महामारीसँग जुधिरहेका बेला बिटक्वानको मूल्य ५ हजार डलरमा झरेको थियो । त्यसको केही समयपछि सन् २०२१ को नोभेम्बरमा बिटक्वाइन त्यो बेलासम्मको सबैभन्दा उच्च मूल्य ६९ हजार डलरमा पुगेको थियो ।

  • रुसमा लामो दूरीका मिसाइल हान्न युक्रेनले अमेरिकाबाट पायो अनुमति

    रुसमा लामो दूरीका मिसाइल हान्न युक्रेनले अमेरिकाबाट पायो अनुमति

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले पद छाड्नुभन्दा अगाडि युक्रेनलाई लामो दुरीको मिसाइल उपयोग गरी रुसमा आक्रमण गर्न अनुमति दिएका छन् ।
    रुसले आइतबार युक्रेनको राजधानी किभमा हालसम्मकै भयानक हवाई हमला गरेपछि बाइडेनले युक्रेनलाई पनि लामो दुरीको मिसाइल प्रयोग गर्न अनुमति दिएका हुन् । यी मिसाइलको आपूर्ति अमेरिकाले नै गरेको थियो । आइतबार रुसले युक्रेनमा ६० भन्दा बढी मिसाइल र एक सयभन्दा बढी ड्रोन प्रहार गरेको थियो । हमला बढेपछि स्थानीयले ज्यान जोगाउन बंकरको सहारा लिएका थिए ।

    रुस र युक्रेनबीचको युद्ध ३३ महिनादेखि जारी छ । यसबीचमा हजारौंको ज्यान गएको छ भने लाखौं घरबारविहीन भएका छन् । यी दुई देशबीचको टकरावका बीच अमेरिकाले ठूलो निर्णय लिएको हो । अमेरिकी राष्ट्रपति बाइडेनले १९ जनवरी २०२४ देखि कार्यकाल पूरा गर्नुअघि युक्रेनलाई रुसमाथि हमला गर्न लामो दुरीका मिसाइलको प्रयोग गर्न अनुमति दिएका हुन् ।

    रुस र युक्रेनबीच युद्ध सुरु भएपछि बाइडेन प्रशासनले लिएको यो निर्णयलाई चासोका साथ हेरिएको छ । कतिपयले यसलाई अमेरिकी नीतिमा आएको फेरबदलको रुपमा समेत हेरेका छन् । तर यस विषयमा ह्वाइटहाउसबाट विस्तृतमा कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

    अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भने रुस–युक्रेन युद्ध समाप्त गर्नका लागि हरसम्भव कोसिस गर्ने बताएका थिए । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले दुई दिनअघि मात्रै एक रेडियो अन्तर्वार्तामा रुससँगको युद्ध कूटनीतिक माध्यमबाट अन्त्य गर्न चाहेको र ट्रम्पले त्यसमा सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।

    समाचार एजेन्सी एपीका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमणका लागि उत्तर कोरियाको समेत समर्थन पाएका छन् । उत्तर कोरियाले रुसमा आफ्ना हजारौं सैनिक पठाएको छ । यससँगै युक्रेनमा रुसले अझै घातक आक्रमण गर्नसक्ने अनुमान छ ।

  • ट्रम्पको सञ्चार सचिवमा २७ वर्षीया लेविट

    ट्रम्पको सञ्चार सचिवमा २७ वर्षीया लेविट

    काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले २७ वर्षीया क्यारोलिन लेविटलाई ह्वाइट हाउसको सञ्चार सचिव (प्रेस सेक्रेटरी) नियुक्त गरेका छन् । क्यारोलिन यो पद सम्हाल्ने सबैभन्दा कम उमेरकी हुन् । यसअघि सन् १९६९ मा राष्ट्रपति रिचर्ड नेक्सनले २९ वर्षीय रोनाल्ड जिग्लरलाई प्रेस सेक्रेटरी बनाएका थिए । क्यारोलिन हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा ट्रम्पको चुनावी अभियानको प्रेस सेक्रेटरी थिइन् । साथै ट्रम्पको अघिल्लो कार्यकालमा उनले राष्ट्रपतिको सहायक प्रेस सेक्रेटरीको जिम्मेवारी निर्वाह गरेकी थिइन् ।

    क्यारोलिनलाई प्रेस सेक्रेटरीलाई चयन गर्दै ट्रम्पले भनेका छन्, ‘क्यारोलिन लेविटले मेरो ऐतिहासिक चुनावी अभियानमा धेरै राम्रो काम गरिन् । अब उनी ह्वाइट हाउस प्रेस सचिवको रूपमा मसँगै काम गर्नेछिन् ।’ उनले अगाडि थपेका छन्, ‘क्यारोलिन एक स्मार्ट र प्रभावशाली प्रसारक प्रमाणित भएकी छन् । उनले अमेरिकी नागरिकसम्म हाम्रो सन्देश पुर्‍याउन उनले मद्दत गर्नेछिन् भन्ने मलाई पूरै विश्वास छ ।’

    अमेरिकाको न्यू ह्यामसायरकी क्यारोलिनले ह्वाइटहाउसमा इन्टर्नसीप गरिसकेकी छन् । ट्रम्पले सन् २०२० मा चुनाव हारेपछि उनले रिपब्लिकन नेता एलिस स्टेफनिकको सञ्चार निर्देशक बनिन् । स्टेफनिककलाई ट्रम्पले संयुक्त राष्ट्रसंघको राजदूत बनाएका छन् । क्यारोलिनले न्यू ह्याम्पसायरमा सन् २०२२ मा हाउस अफ रिप्रिजेन्टेटिभको चुनावमा पराजित भएकी थिइन् ।

    ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले दैनिक रूपमा त्यहाँ पत्रकारका लागि प्रेस ब्रिफिङ गर्नुपर्ने हुन्छ । साथै, राष्ट्रपति र मन्त्रिपरिषद्को कामकाज बारे जानकारी दिनुपर्छ । राष्ट्रपतिको दैनिक कार्यतालिका र विदेश यात्रा बारे जानकारी दिनुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा राष्ट्रपति कार्यालयको अडान बारे प्रस्ट पार्नुपर्नेहुन्छ ।

  • ट्रम्पले इलोन मस्कसहित को-कसलाई दिए महत्वपूर्ण जिम्मेवारी ?

    ट्रम्पले इलोन मस्कसहित को-कसलाई दिए महत्वपूर्ण जिम्मेवारी ?

    काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले अर्बपति इलोन मस्क र रिपब्लिकन पार्टी नेता विवेक रामास्वामीलाई सरकारको बजेट कटौती गर्ने र प्रभावकारिता हेर्ने नयाँ निकायको महत्वपूर्ण जिम्मा दिएका छन्। उनीहरूलाई संयुक्त राज्य अमेरिका स्थापनाको २५०औँ वार्षिक समारोहअघि नियम कटौती गर्ने र सरकारी खर्च घटाउने जिम्मेवारी दिइएको सञ्चारमाध्यमले जनाएका छन् । जुलाई २०२६ सम्मको समयसीमा पाएका उनीहरूको कार्यकाल त्यसपछि के हुन्छ प्रष्ट छैन।

    ट्रम्पले फक्स न्यूजका प्रस्तोता पिट हेग्सेथलाई आफ्नो प्रशासनको भावी रक्षा मन्त्रीमा मनोनयन गरेका छन्। विगतमा अमेरिकी न्याश्नल गार्डमा सेवा गरेका उनी अफगानिस्तान र इराकमा पनि खटिएका थिए। उनले अरू पद पाउन सक्ने विवरण आएका थिए। ट्रम्पले अमेरिकी गुप्तचर निकाय सीआईएको प्रमुखमा जन र्‍याट्क्लिफ र चीनका कटु आलोचक रहेका फ्लोरिडाका सांसद माइक वाल्सलाई राष्ट्रिय सुरक्षा सल्लाहकार मनोनयन गरेका छन्।

    उनले क्रिस्टी नोमलाई आन्तरिक सुरक्षा हेर्ने डिपार्टमन्ट अफ होमल्यान्ड सेक्युरिटी प्रमुख नियुक्त गर्ने निर्णय पनि गरेका छन्। ट्रम्पले आर्कान्सा राज्यका पूर्वगभर्नर माइक हकबीलाई इजरेलका लागि अमेरिकी राजदूत र व्यापारी स्टीभन विट्कोफलाई मध्यपूर्वका लागि विशेष दूत बनाउने निर्णय गरेका छन्। यसअघि उनले न्यूयोर्कबाट सांसद निर्वाचित एलिज स्टिफ्यानिकलाई संयुक्त राष्ट्रसङ्घमा अमेरिकी दूत छानेका थिए।

    मस्कले ट्रम्पको अभियानमा २० करोड अमेरिकी डलर चन्दा दिएका विवरण आएको छ। उनी ट्रम्पको चुनावी अभियानका एक मुख्य सहयोगी थिए। रामास्वामी रिपब्लिकन प्राइमरीमा ट्रम्पसँग पराजित भएका थिए। तर त्यसपछि उनले ट्रम्पलाई समर्थन गरे। भारतीय मूलका यी अर्बपतिले अमेरिकी सङ्घीय जाँच ब्यूरो एफबीआई खारेज गर्नेसहित कतिपय क्रान्तिकारी ‍परिवर्तन गर्नुपर्ने बताउँदै आएका छन्।

  • ट्रम्पको सजाय सम्बन्धी फैसला तत्कालका लागि स्थगित

    ट्रम्पको सजाय सम्बन्धी फैसला तत्कालका लागि स्थगित

    काठमाडौं । डोनाल्ड ट्रम्पको न्युयोर्क फौजदारी मुद्दाका न्यायाधीशले अमेरिकी राष्ट्रपति–निर्वाचितको सजायलाई सम्भावित रूपमा खारेज गर्ने निर्णय नोभेम्बर १९ सम्म स्थगन गरेको अदालतले मङ्गलबार जनाएको छ । सन् २०१६ को चुनावअघि एक पोर्न स्टारसँगको कथित यौन सम्बन्धलाई लुकाउन ट्रम्पले व्यापारिक रेकर्डहरू कपटपूर्ण तरिकाले हेरफेर गरेको जुरीले पत्ता लगाएपछि उनलाई मे महिनामा ३४ वटा फौजदारी अभियोगमा दोषी ठहर गरिएको थियो ।

    न्यायाधीश जुआन मर्चनले उच्च अदालतको राष्ट्रपतिको उन्मुक्तिसम्बन्धी हालैको फैसलाको आधारमा मुद्दा खारेज गर्ने निर्णय गरेकोमा ट्रम्पलाई नोभेम्बर २६ मा राहत मिल्नेछ । उक्त ऐतिहासिक फैसलामा उच्च अदालतले ६–३ को बहुमतले राष्ट्रपतिहरूले कार्यालयको दायरामा रहँदा गरेका कामहरूका लागि व्यापक छुट पाउने निर्णय गरेको थियो ।

    चुनावअघि ट्रम्पका वकिलहरूले उच्च अदालतको निर्णयका आधारमा मुद्दा खारेज गर्न माग गरेका थिए । यसलाई अभियोजकहरूले दृढतापूर्वक अस्वीकार गरेका छन् । यदि न्यायाधीश मर्चनले त्यस आधारमा मुद्दा खारेज गरे भने ७८ वर्षीय ट्रम्पलाई कुनै सजाय हुनेछैन ।

    यदि उनले त्यसो गरेनन् भने ट्रम्पको कानुनी टोलीले लगभग निश्चित रूपमा कुनै पनि सजायको विरोध गर्न वा ढिलाइ गर्न खोज्छ । यसले जनवरी २० मा शपथ लिएपछि ट्रम्पको कमान्डर–इन–चिफको भूमिकामा हस्तक्षेप गर्ने कुरामा जोड दिन्छ ।

    “मुद्दाका पक्षहरूको संयुक्त आवेदनमा नोभेम्बर १९ सम्मको वर्तमान समयावधि स्थगन गर्ने अनुरोध स्वीकृत गरिएको छ”, अदालतले मुद्दामा पक्षहरूलाई इमेलमा लेखेको पत्रमा भनिएको छ । रासस-एएफपी

  • ट्रम्पले गरे अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकारमा माइक वाल्ट्जलाई नियुक्त

    ट्रम्पले गरे अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकारमा माइक वाल्ट्जलाई नियुक्त

    काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा माइक वाल्ट्जलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चारमाध्यमले जनाएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्पले चीनको कट्टर आलोचक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने जानकारी आफू निकटकालाई गराइसकेका छन् । वाल्ट्ज फ्लोरिडाका जनप्रतिनिधि हुन् । उनी सेवानिवृत्त सैनिक अधिकृत हुन् । एसिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो गतिविधिको उनले खुलेर आलोचना गर्छन् ।


    समाचार एजेन्सी एपीका अनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार शक्तिशाली र महत्वपूर्ण पद हो तर यसमा नियुक्तिका लागि सिनेटको मन्जुरी आवश्यकता पर्दैन । ट्रम्पले थप दुई पदमा पनि महत्वपूर्ण नियुक्ति गरेका छन् । बीबीसीका अनुसार ६२ वर्षीय टोम होमन सीमा प्रमुखमा नियुक्त भएका छन् । होमनले ट्रम्पको पहिलो कार्यकालमा इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट विभागको कार्यकारी निर्देशक थिए ।

    यसैगरी न्यूयोर्ककी ४० वर्षीया एलिस स्टेफेनिकलाई ट्रम्पले संयुक्त राष्ट्रसंघको राजदूत नियुक्त गरेको न्यूयोर्क पोष्टले जनाएको छ । एलिस स्टेफेनिक सन् २०१४ मा रिपब्लिकन पार्टीबाट कान्छी सांसद चुनिएकी थिइन् ।

  • अरब देशले गरे इजरायलको निन्दा

    अरब देशले गरे इजरायलको निन्दा

    काठमाडौं । अरब र इस्लामिक देशहरुले गाजा र लेबनानमा इजरायलको ‘नरसंहार’बारे निन्दा गरेका छन् । साउदी अरबको रियादमा सोमबार सम्पन्न अरब र इस्लामिक देशहरुको आपतकालीन शिखर सम्मेलनमा सहभागीहरुले इजरायलको निन्दा गर्दै आक्रमण रोक्नुपर्नेमा जोड दिए । उनीहरुले मध्यपूर्वमा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायलाई पहल गर्न आह्वान समेत गरेका छन् ।

    सम्मेलनमा युएईसहित इराक, सिरिया, इजिप्ट, जोर्डन, कतार र पाकिस्तान लगायत देशका सरकार र राष्ट्रप्रमुख सहभागि थिए । सम्मेलनलाई सुरुमा सम्बोधन गर्दै साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले इजरायलको अत्याचारको सीमा नाघेको भन्दै निन्दा गरे र तुरुन्त युद्धविराम गर्न आग्रह गरे । साथै उनले इरानमाथिको इरानको सम्प्रभुताको सम्मान गर्न पनि अपिल गरे ।

    उनले संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनलाई पूर्णरुपमा स्वतन्त्र राज्यको मान्यता दिनुपर्ने भनाइ दोहोर्‍याएका थिए । गत सेप्टेम्बरमा पनि उनले प्यालेस्टाइनलाई स्वतन्त्र राज्य नबनेसम्म साउदी अरबले इजरायललाई पनि मान्यता नदिने बताए । सम्मेलनमा प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासले गाजा क्षेत्रमा प्यालेस्टाइनको अभिन्न अंग भएको बताए । उनले संयुक्त राष्ट्रसंघले त्यसलाई एक राष्ट्रको रुपमा मान्यता दिन र पूर्ण सदस्यताको मन्जुरी दिन आह्वान पनि गरे ।

    इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसीले पनि प्यालेस्टिनी क्षेत्र र लेबनानमा इजरायलले गरेको आक्रमणको निन्दा गरे । उनले लेबनानलाई ‘भाइ’ भनेर सम्बोधन गर्दै त्यहाँका नागरिकलाई आवश्यक सबै सहयोग गर्ने बताए । शिखर सम्मेलनपछि पत्रकार सम्मेलनमा अरब लिगका महासचिव अहमद अबुल घितले संयुक्त राष्ट्रसंघले इजरायलको सदस्यता निलम्बन गर्नुपर्ने बताएका थिए ।

    गत आइतबार मात्रै हमासले अरब र इस्लामिक देशहरुको गठबन्धन बनाउन अपिल गरेको थियो ताकि प्यालेस्टिनी नागरिकको सबै अधिकारको रक्षा गर्न सकियोस् । साथै हमासले अरब देशहरुले इजरायलका राजदूतहरुलाई देश निकाला गर्नुपर्ने धारणा समेत राखेको थियो ।

  • अमेरिकी निर्वाचत राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपतिबीच के भयो कुराकानी ?

    अमेरिकी निर्वाचत राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपतिबीच के भयो कुराकानी ?

    काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरी युक्रेनमा युद्ध नबढाउन आग्रह गरेका छन् । द वासिङ्टन पोस्टमा प्रकाशित समाचारका अनुसार आफ्नो चुनावी विजयको केही दिनपछि ट्रम्पले बिहीबार फ्लोरिडाको मार–ए–लागो स्टेटबाट फोनमार्फत कुराकानी गर्दै उक्त कुरा राखेका हुन्।

    ट्रम्पका सञ्चार निर्देशक स्टिभन चेउङले एएफपीलाई लिखित विज्ञप्तिमा भनेका छन्, “हामी राष्ट्रपति ट्रम्प र अन्य विश्व नेताहरूबीचको निजी फोन वार्तामा टिप्पणी गर्दैनौं ।” ट्रम्पले पुटिनलाई युरोपमा अमेरिकाको ठूलो सैन्य उपस्थितिको सम्झना गराएकाको नाम नछाप्ने आधारमा कुरा गरेको फोनवार्तासँग परिचित धेरै व्यक्तिलाई उद्धृत गर्दै पोस्टले बताएको छ । उनीहरूका अनुसार ट्रम्पले ‘चाँडै युक्रेन युद्धको समाधान’ बारे थप कुराकानी गर्न चासो समेत व्यक्त गरेका थिए ।

    रुसी सरकारले ट्रम्पको फिर्तीमा सतर्क तर प्रायः सकारात्मक प्रतिक्रिया दिएको छ । ‘सकारात्मक संकेत देखिएको छ, कम्तीमा उहाँले टकरावको नभई शान्तिको कुरा गरिरहनुभएको छ’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पनि केही दिनअघि ट्रम्पसँग कुरा गरेका थिए ।

  • अमेरिका र चीनका लागि नेपाली राजदूत नियुक्त

    अमेरिका र चीनका लागि नेपाली राजदूत नियुक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि नेपाली राजदूत नियुक्त गरेका छन् । पौडेलले आइतबार अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी र चीनको राजदूतमा कृष्णप्रसाद ओलीलाई नियुक्त गरेका हुन् ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा रेग्मी र ओलीलाई राजदूतमा नियुक्त गरिएको हो । उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गरेका हुन् । दुवै नेपालका लागि सम्बन्धित मुलुकमा आवासीय राजदूत हुन् ।

  • अमेरिकामा बसेका आप्रवासी फिर्ता पठाउने योजना कार्यान्वयन गर्ने ट्रम्पको अडान

    अमेरिकामा बसेका आप्रवासी फिर्ता पठाउने योजना कार्यान्वयन गर्ने ट्रम्पको अडान

    काठमाडौं । अमेरिकामा भर्खरै सम्पन्न चुनावबाट राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ठूलो संख्यामा आप्रवासी अमेरिकाबाट फिर्ता पठाउने योजनामा जोड दिएका छन् । सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावपछि दिएको पहिलो अन्तर्वार्तामा ट्रम्पले जुनसुकै मूल्य चुक्ता गर्नुपरे पनि ठूलो मात्रामा निर्वासनको योजना अगाडि बढाउने बताएका हुन् ।

    एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा उनले सीमा बलियो र शक्तिशाली बनाउँदै आप्रवासी फर्काउन पहिलो प्राथमिकता दिने बताए । उनले अगाडि भने, ‘प्रशासनसँग ठूलो मात्रामा आप्रवासीलाई निर्वासन गर्ने योजनाको विकल्पै छैन ।’ चुनावी अभियानको क्रममा ट्रम्पले लाखौं अवैध आप्रवासीहरूलाई देशबाट निकाल्ने घोषणा गरेका थिए । उनले राज्यका सबै तहका निकायहरू परिचालन गरेर अवैध आप्रवासीहरूलाई पक्रने, जेलमा राख्ने र देशबाट निकाल्ने ‘मास डिपोर्टेसन प्लान्स’ अगाडि सारेका थिए ।

    ट्रम्पले आफ्नो आप्रवासन नीतिकै कारण चुनावमा विजयी भएको उल्लेख गरे । उनले यो चुनावमा आफ्ना अभियानले धेरै थरीका मतदातालाई आकर्षित गरेको बताए । उनले सीमालाई बलियो र शक्तिशाली बनाउने र सँगसँगै अमेरिकामा मानिसहरू आइरहने वातावरण पनि बनाउने बताए ।

    ‘तपाईंलाई थाहा छ कि म त्यस्तो व्यक्ति होइन जसले तपाईं अमेरिका आउन सक्नुहुन्न भनोस्, हामी मानिसहरू यहाँ आऊन् भन्ने चाहन्छौं,’ उनले भने, ‘जब मानिसहरूले हत्या र हत्याका घटनाहरू गरेका छन्, जब लागूऔषध मालिकहरूले देशहरू ध्वस्त बनाएका छन्, अब तिनीहरू ती देशहरूमा फर्कनेछन् किनकि उनीहरू यहाँ बस्ने छैनन्।’ चुनावपछि उपराष्ट्रपति कमला ह्यारिस र राष्ट्रपति जो बाइडेनसँग भएका टेलिफोन संवादहरू दुईतर्फी रूपमै सम्मानजनक भएको उनले जानकारी गराए ।

  • हारपछि कमला ह्यारिसले के भनिन् ?

    हारपछि कमला ह्यारिसले के भनिन् ?

    काठमाडौं । अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित उपराष्ट्रपति कमला ह्यारिसले हार स्वीकार गरेकी छन् । वासिङ्टनमा समर्थकलाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


    ‘म यो निर्वाचन परिणामलाई स्वीकार गर्छु, तर निर्वाचनका क्रममा अभियानलाई प्रभावित पार्न गरिएको भड्किलो दुस्प्रचारलाई कहिल्यै स्वीकार गर्ने छैन,’ सम्बोधनका क्रममा उनले भनिन्, ‘मलाई थाहा छ, धेरै अमेरिकीहरूले हामी अँध्यारो समयमा प्रवेश गर्न लागेको महसुस गरेका छन् ।’ रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प मंगलबार भएको चुनावबाट अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

    उनले कुल ५ सय ३८ इलेक्टोरल मतमध्ये २ सय ९५ मत प्राप्त गरिसकेका छन् । डेमोक्रेटिक पार्टीकी उम्मेदवार ह्यारिसले २२६ इलेक्टोरल मत प्राप्त गरेकी छन् । अझै दुई राज्यको नतिजा सार्वजनिक हुन बाँकी छ । दुई उम्मेदवारबीच सातवटा ‘स्विङ स्टेट्स’मा निकै प्रतिस्पर्धा हुने ठानिएको थियो । पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभादा राज्यले समग्र चुनावी नतिजा निर्धारण गर्ने सर्वेक्षणहरूले देखाएका थिए । तर नतिजा भने ट्रम्पको पक्षमा आएको छ ।

    ट्रम्पले परम्परागत ‘रेड स्टेट’ मा आफ्नो पकड अझ बलियो मात्र बनाएका छैनन्, डेमोक्रेटिक पार्टीको गढ मानिएका ‘ब्लु स्टेट’ मा पनि मत बढाएका छन् । डिसेम्बर १७ मा इलेक्टोरल कलेज बैठकले ट्रम्पलाई औपचारिक रूपमा राष्ट्रपतिमा निर्वाचित गरेपछि उनले आगामी जनवरी २० बाट उनले उनले राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् ।

  • ट्रम्पको जितमा चीनले के भन्यो ?

    ट्रम्पको जितमा चीनले के भन्यो ?

    काठमाडौं । पुनः एक पटक अमेरिकाको राष्ट्रपति बनेकोमा डोनाल्ड ट्रम्पलाई चीन सरकारले बधाई दिएको छ । चीनको विदेश मंत्रालयले आधिकारिक ‘एक्स’ अकाउन्टमा बुधवार एक पोस्ट राखेको छ ।

    जसमा अमेरिकी जनताको छनोटको सम्मान गर्दै डोनाल्ड ट्रम्पलाई बधाई दिएको उल्लेख छ । अमेरिकाबारे चीनको नीति निरन्तर रहने समेत विदेश मन्त्रालयले उल्लेख गरेको छ । आपसी सम्मान, शांतिपूर्ण सह–अस्तित्व र दुबै मुलुकको फाइदाको सिद्धान्तलाई निरन्तरता दिइने सन्देशमा उल्लेख छ ।

  • ट्रम्पको विजयसँगै नयाँ उचाईमा अमेरिकी डलर

    ट्रम्पको विजयसँगै नयाँ उचाईमा अमेरिकी डलर

    काठमाडौं । अमेरिकी राष्ट्रपतिको प्रतिस्पर्धामा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अमेरिकी डलरको भाउले नयाँ कीर्तिमान बनाएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम भएको छ ।

    अमेरिकी डलरको यो मूल्य हालसम्मकै उच्च हो । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ८६ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९७ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय ८७ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३ पैसा र बिक्रीदर आठ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ५२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • ट्रम्पमाथि लागेका मुद्दा अब के हुन्छन् ?

    ट्रम्पमाथि लागेका मुद्दा अब के हुन्छन् ?

    काठमाडौं । हप्तौँका चुनावी अभियान र दौडधूपपछि रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित भएका छन्। उनी कानुनी रूपमा दोषी हुने पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुन्। ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्दै गर्दा उनीविरुद्धका कैयौँ आपराधिक मुद्दा विचाराधीन छन्। दर्जनौँ आपराधिक मुद्दा कायम रहँदा देशको सर्वोच्च पदमा उनी विराजमान हुने अवस्था बनेकाले अमेरिका अनेकौँ नसुल्झिएका मामिला कायम रहेको देश बन्न पुगेको छ। ट्रम्पले ह्वाइट हाउसमा पाइला राख्दै गर्दा उनीविरुद्धका चार कानुनी मुद्दा के होलान् भन्ने धेरैको चासो छ।

    डोनल्ड ट्रम्प न्यूयोर्क राज्यमा व्यावसायिक अभिलेखहरू किर्ते गरेका ३४ वटा कसुरमा दोषी ठहर भएका भइसकेका छन्। गत मेमा न्यूयोर्कको एक अदालतले उनलाई एक पूर्वुपोर्नस्टारुलाई चुप बस्नका लागि पैसा दिएको अभियोगमा दोषी पाएको थियो। न्यूयोर्कका न्यायाधीश जुआन मर्चनले गत सेप्टेम्बरबाट उनको सजाय तोक्ने मितिलाई चुनावपछि अर्थात् नोभेम्बर २६ का लागि सारेका थिए।
    ब्रूक्लिनका पूर्वअभियोजनकर्ता जुली र्‍यान्डल्म्यानले ट्रम्पले चुनाव जितेमा पनि न्यायाधीश मर्चनले सजाय सुनाउन सक्ने बताइन्।

    कानुनविद्हरू पहिलो पटक अपराध गरेको एकजना व्यक्तिका रूपमा ट्रम्पलाई जेल सजाय हुन सक्छ भन्ने विषय अविश्वसनीय रहेको बताउँछन्। र्‍यान्डल्म्यानका अनुसार यदि त्यस्तो भएमा पनि उनका वकिलहरूले त्यसविरुद्ध तत्कालै पुनरावेदन गर्ने छन्। उनीहरूले ट्रम्पलाई जेलमा राखियो भने उनले राष्ट्रपतिका रूपमा गर्नुपर्ने कामहरू गर्न पाउने छैनन् भन्ने तर्क गर्ने छन्। ती कारणहरूले मुद्दा विचाराधीन रहँदा उनी स्वतन्त्र नै रहने छन्।

    ूयस्तो अवस्थामा पुनरावेदनको प्रक्रिया वर्षौँसम्म चल्न सक्छ, उनले भनिन्। विशेष अनुसन्धानकर्ता ज्याक स्मिथले सन् २०२० को निर्वाचनमा जो बाइडनको जितलाई उल्ट्याउने प्रयास गरेको भन्दै उनीविरुद्ध आपराधिक मामिलामा मुद्दा दायर गरेका थिए। ट्रम्पले आफू उक्त मामिलामा दोषी नभएको बताएका छन्। गत ग्रीष्मकालमा सर्वोच्च अदालतले ट्रम्पले पदमा रहँदा गरेका निर्णयहरूमा उनीमाथि लाग्न सक्ने आपराधिक अभियोगहरूमा आंशिक रूपमा छुट पाउने आदेश दिएसँगै उक्त मामिला अहिले कानुनी अनिश्चिततामा फसेको छ।

    त्यसपछि स्मिथले पुनः मुद्दा दायर गरेका छन्। त्यसमा उनले चुनावी मतपरिणामलाई उल्ट्याउने कोसिस ट्रम्पको आधिकारिक कामभित्र नपर्ने दाबी गरेका छन्। भूतपूर्व सङ्घीय अभियोजनकर्ता निअमा रहमानीले ट्रम्पले चुनाव जितेपछि यो मामिलामा उनीमाथि लागेको आपराधिक आरोप सकिने बताए।

    ूपदासीन राष्ट्रपतिमाथि मुद्दा चलाउन सकिँदैन भन्ने स्थापित भएकाले चुनावमा धाँधली गरेको आरोपमा डीसी जिल्ला अदालतमा उनीमाथि रहेको मुद्दा खारेज हुने छ,ू उनले भने। यदि स्मिथले उक्त मुद्दालाई खारेज गर्न मानेनन् भने ट्रम्पले उनलाई हटाउन सक्छन् र त्यस्तो उनले पहिले नै भनिसकेका छन्। म उनलाई दुई सेकन्डमा हटाइदिन्छु, गत अक्टोबरमा दिएको एउटा रेडिओ अन्तर्वार्तामा उनले भनेका थिए। ट्रम्पले ह्वाइट हाउस छाडेपछि गोप्य दस्तावेजहरूको गलत प्रयोग गरेको आरोपमा ट्रम्पविरुद्ध मुद्दाको पनि स्मिथले नै नेतृत्व गरिरहेका छन्। उक्त आरोपलाई पनि ट्रम्पले अस्वीकार गरेका छन्।

    उनीमाथि फ्लोरिडास्थित घरमा संवेदनशील कागजातहरू भण्डारण गरेको र कागजातहरू पुनःप्राप्त गर्ने कार्यमा न्याय मन्त्रालयलाई अवरोध गरेको आरोप लगाइएको छ।
    बीबीसी

  • कसरी सम्भव भयो ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन ?

    कसरी सम्भव भयो ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन ?

    काठमाडौं । डोनल्ड ट्रम्पले फेरि निर्वाचन जितेर देखाइदिएका छन्। आठ वर्षअघि हिलरी क्लिन्टनलाई अनपेक्षित रूपमा पराजित गरेको र चार वर्षअघि उनलाई जो बाइडनले विस्थापित गरेकोमा पूर्वराष्ट्रपति ट्रम्प पुनः ह्वाइट हाउस फर्कने निश्चित भएको छ।

    ब्याटलग्राउन्ड स्टेट्स भनिने महत्त्वपूर्ण राज्यहरूमा प्राप्त ठूलो विजय र लगभग अमेरिकाभरि नै पहिलेको दाँजोमा उनलाई प्राप्त सुधारिएको मत सङ्ख्याको आडमा उनले आफूलाई शासन गर्न “अभूतपूर्व र बलियो म्यान्डेट” प्राप्त भएको बताए । फ्लोरिडाको वेस्ट पाम बीचमा आयोजित एउटा र्‍यालीलाई सम्बोधन गर्दै उनले भने,”यो वास्तवमा नै अमेरिकाका लागि सुनौलो युग हुनेछ।”

    यदि कङ्ग्रेस पूर्णतया रिपब्लिकन नियन्त्रणमा आएमा नयाँ राष्ट्रपतिलाई विगत चार वर्षमा डेमोक्र्याटिक शासनअन्तर्गत लागु गरिएका थुप्रै कार्यक्रमहरूलाई उल्टाउने र तिनका बदलामा कन्जरभेटिभ कानुनहरू लागु गर्ने मौका प्राप्त हुने छ। तिनमा कर नीति, सरकारी खर्च र व्यापार तथा आप्रवाससम्बन्धी मुद्दाहरू पर्दछन्। त्यसो भएमा उनलाई अमेरिकी सरकारमा दिगो छाप छाड्ने मौका पनि मिल्ने छ।

    उनको विजय एक त्यस्तो व्यक्तिको उल्लेखनीय पुनरागमन हो जो सन् २०२१ को ज्यानुअरी ६ मा संसद् भवनमा भएको दङ्गाको घटनाका माझ राष्ट्रपतिको पदबाट बिदा भएका थिए र उनको प्रतिष्ठा छियाछिया भएको थियो। डेमोक्र्याटहरू र केही रिपब्लिकनहरूले गरेका चर्को आलोचनापछि उनले थालेको चार वर्ष लामो राजनीतिक पुनरागमनको यात्राले अन्ततस् उनलाई अमेरिकी राजनीतिको सर्वोच्च पदमा पुर्‍याउने भएको छ।

    यस क्रममा उनीविरुद्ध सङ्घीय र राज्यका अदालतहरूमा मुद्दाहरू दायर भए। उनलाई कतिपय फौजदारी अभियोगहरूमा दोषी ठहर गरियो। एउटा यौन हमलासँग सम्बन्धित मुद्दामा पनि उनलाई एउटा देवानी अदालतले जिम्मेवार ठहर गरेको थियो। अर्को अदालतले उनको व्यापार साम्राज्यमाथि ठूलो जरिवाना पनि लगायो।

    यी सबैका माझ उनले राजनीतिक उद्देश्यको यात्रालाई रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनको उम्मेदवारी हासिल गर्ने बिन्दुसम्म पुर्याएका थिए।
    ट्रम्पले र्‍यालीहरूमा गर्ने भाषण बेलाबेला विषयवस्तुबाट विचलित र जथाभावी रुखो सुनिन्थ्यो। तर उनले आफूवरपर दक्ष तथा व्यावसायिक सहयोगीहरू राखे। वैचारिक मतसर्वेक्षणहरूका अनुसार अमेरिकीहरूले निर्वाचनमा ट्रम्पमाथि खास गरी दुईवटा विषयमा भरोसा गरेको हुन सक्ने देखाएका छन् – आप्रवासनको मुद्दा र अर्थतन्त्र। अनि उनको निर्वाचन अभियानले प्रचारप्रसारका समयमा यिनै विषय निरन्तर उठाइरहेको थियो।

    निर्वाचन प्रचार सुरु भएपछि बाइडनको साटो कमला ह्यारिस मैदानमा आएपछि ट्रम्पको टोली थोरै अनिश्चयमा परेको देखियो। तर चाँडै नै पूर्वराष्ट्रपति सम्हालिए अनि शासनमा रहेकाहरूको विरोधमा रहेको जनमतको बलमा अघि बढे। अब उनीसँग शासन चलाउन चार वर्ष छ – यसपालि उनको पछाडि अझ परिष्कृत राजनीतिक सङ्गठन पनि छ जो उनका चुनावी वाचाहरूलाई कार्यान्वयन गर्न तत्पर देखिन्छ।

    प्रारम्भिक मतदान अनुमान, एक्जिट पोलहरू, को प्रक्षेपणलाई पछिल्ला मतगणना परिणामअनुसार अद्यावधिक र मिलान गर्ने कार्यहरू जारी रहँदा ट्रम्पले परम्परागत रूपमा डेमोक्र्याट गठबन्धनहरूको कब्जा रहेको मानिने युवा, हिस्पानिक र अश्वेत वर्णका मतदाताहरूलाई आकर्षित गर्न सकेको देखिएको छ।
    बीबीसी

  • प्रधानमन्त्रीले दिए ट्रम्पलाई बधाई

    प्रधानमन्त्रीले दिए ट्रम्पलाई बधाई

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । ट्रम्प निर्वाचित भएको घोषणा भएपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिंदै कार्यकाल सफलताको शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीले ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा बधाई दिंदै लेखेका छन्, ‘राष्ट्रपतिमा पुनरागमन अमेरिकी इतहासको एक ऐतिहासिक अध्याय हो । हामी तपाईं नेतृत्वमा द्धिपक्ष सम्बन्ध थप प्रगाढ बनाउने र आपसी सहयोगको बढावा दिने विश्वास व्यक्त गर्दछौं ।’ रिपब्लिकन उम्मेदवार ट्रम्पले डेमोक्रेट्सकी कमला ह्यारिसलाई पराजित गर्दै बुधबार ४७औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ट्रम्पलाई राष्ट्रपति रामचन्द्र पौडेलले पनि बुधबार नै बधाई तथा शुभकामना व्यक्त गरिसकेका छन् ।

  • अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ’ :  ट्रम्प

    अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ’ : ट्रम्प

    काठमाडौं । फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पले उनीहरूले भविष्यमा आजको दिनलाई फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्त्वपूर्ण दिनमध्ये एक मान्ने’ बताए।

    “अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,” उनले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुनर्स्थापित भएको तर्फ इँगित गर्दै भने।

    अब सीमा व्यवस्थापन गर्ने, देशलाई (विभाजनको पीडाबाट) अघि बढाउने बताए।

    उनले आफ्नी श्रीमति मेलानियाका साथै परिवारका सदस्यहरूलाई धन्यवाद दिएका छन्।

    उनले समर्थकहरूलाई गरेको सम्बोधनलाई आफ्नो विजय भाषणको रूपमा प्रयोग गरेका छन्।

    मतपरिणामको आधिकारिक घोषणा भइसकेको छैन तर निर्वाचन परिणामका प्रक्षेपणहरूले ट्रम्प जितको नजिक पुगेको जनाइरहेका छन्।


    डोनल्ड ट्रम्पले फ्लोरिडामा भेला भएका आफ्ना समर्थकहरूलाई सम्बोधन गर्न थालेका छन्।

    त्यसअघि उनका छोरा एरिकले ट्रम्पको यो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

    भाषण गर्न मञ्चमा जाँदा ट्रम्पसँग उनकी पत्नी मेलानिया र उनको निर्वाचन अभियानका कर्मचारीहरू पनि छन्।

    ट्रम्पले आफ्नो विजयलाई “भव्य” भनेका छन्।

    उनले सीमासम्बन्धी विषय समाधान गर्ने घोषणा पनि गरे।

  • फक्सको घोषणा : ट्रम्प विजयी

    फक्सको घोषणा : ट्रम्प विजयी

    अमेरिकी समाचार संस्था फक्स न्युजले अमेरिकी निर्वाचनबाट डोनाल्ड ट्रम्प राष्ट्रपति पदमा विजयी भएको घोषणा गरेको छ । यद्यपि धेरै स्थानको मतगणना जारी छ । ट्रम्पको निर्वाचन अभियानको मुख्यालयमा कार्यकर्ता र समर्थकको भिड लागेको छ । मत गणनाको रुझान विजयका लागि आवश्यक २७० इलेक्टोरल कलेज मत को नजिकै पुग्ने देखिएको छ । ट्रम्पले फ्लोरिडामा सम्बोधनको तयारी गरेका छन् । ह्यारिसले भने अहिलेसम्म सम्बोधन गर्ने खबर सार्वजनिक भएको छैन ।