काठमाडौं । अमेरिकी बजारमा नेपालको साहसिक पर्यटन गन्तव्यको प्रचार प्रसार गरिएको छ । अमेरिका कोलोराडोस्थित डेन्भरमा भएको ’ट्राभल एन्ड एडभेन्चर शो–२०२५’ मा नेपाल पर्यटन बोर्डले नेपाललाई विश्वमै ‘साहसिक पर्यटन राजधानी’ का रूपमा प्रस्तुत गरेको हो । ८–९ मार्चमा सम्पन्न एडभेन्चर शोमा पर्यटन बोर्डले विशेष कार्यक्रम आयोजना गर्दै नेपाललाई साहसिक र सुरक्षित पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरेको हो ।
कार्यक्रममा बोर्डले सहभागी पर्यटन व्यवसायीमध्येबाट लक्की ड्रमार्फत एक जनालाई सगरमाथा आधार शिविरसम्मको पदयात्रा निःशुल्क गराउने भएको छ । उक्त लक्की ड्र अमेरिकी पर्यटन व्यवसायी उपला सेफर्टले जितेकी छिन् । उनले मार्चदेखि मेसम्म नेपाल भ्रमण गरिसक्नुपर्ने छ । नेपाल भ्रमणका क्रममा लाग्ने खर्च बोर्डले बेहोर्ने छ ।
यसले अमेरिकी बजारमा नेपालको पर्यटन प्रवर्द्धन र प्रचारका लागि थप मद्दत पुग्ने बोर्डको विश्वास छ । एडभेन्चर शोको आधिकारिक वेबसाइटमा नेपाललाई साहसिक यात्राको राजधानीका रूपमा उल्लेख गरिएको छ ।
‘विश्वका ८ हजारभन्दा अग्ला १४ वटा शिखरमध्ये ८ वटा नेपालमै पर्छन् । यसकारण पनि नेपाल पर्वतारोहीका लागि उत्कृष्ट गन्तव्य हो,’ उक्त वेबसाइटमा छ, ‘अद्भूत प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता र समृद्ध सांस्कृतिक धरोहरले नेपाललाई साहसिक यात्रा गर्नेका लागि अनुपम अनुभव प्रदान गर्दछ ।’
नेपाल पदयात्रा बाहेक पर्वतारोहण, र्याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्प, जिप–लाइनिङ, जंगल सफारीजस्ता साहसिक पर्यटन गतिविधिले पनि संसारमा चिनिएको उक्त वेबसाइटमा उल्लेख छ ।
कोरोना महामारीपछि नेपालमा पर्यटक भित्र्याउन पर्यटन बोर्डले संसारका विभिन्न देशमा पर्यटन प्रवर्द्धन, प्रचार र पर्यटन गतिविधिमा तीव्रता दिइरहेको छ ।
एड्भेन्चर शोमा नेपालका ९ निजी पर्यटन व्यवसायीको सहभागिता थियो । नेपालले आयोजना गरेको विशेष कार्यक्रममा ५५ अमेरिकी टुर अपरेटर कम्पनीका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले फ्रान्सेली नागरिकहरूलाई नेपाल भ्रमणका लागि आग्रह गरेका छन्। फ्रान्सको पेरिसस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्तरुपमा पेरिसमा आयोजना गरेको ‘नेपाल इभिनिङ’ कार्यक्रममा मन्त्री पाण्डेले फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्। मन्त्री पाण्डेले भने, ‘नेपाल भ्रमण गर्न सबै फ्रान्सेली नागरिकहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं । नेपाललाई आफ्नो यात्रा सूचीमा समावेश गर्न अनुरोध गर्दछौं ।’
मन्त्री पाण्डेले नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक खेलकुद तथा आध्यात्मको अनुपम संगम रहेको उल्लेख गर्दै नेपाल भ्रमण गर्ने पर्यटकका लागि अविस्मरणीय अनुभव हुने विश्वास व्यक्त गरे। उनले नेपाल सरकारद्वारा पर्यटन प्रवर्द्धनका लागि अवलम्बन गरिएका नीति तथा कार्यक्रमहरूको जानकारी गराउँदै नेपाल सुरक्षित र आकर्षक गन्तव्य रहेको जानकारी गराए।
फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले नेपाल–फ्रान्स सम्बन्धको ऐतिहासिक भएको भन्दै नेपाल भ्रमण गर्ने फ्रान्सेली नागरिकहरूको अनुभव सधैं सकारात्मक रहनेमा विश्वास व्यक्त गरे। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपकराज जोशीले नेपालको पर्यटन प्रवर्द्धनका लागि चालेका पहलमाथि प्रकाश पार्दै नेपाल भ्रमण गर्ने पर्यटकका लागि आकर्षक प्याकेजहरू उपलब्ध रहेको जानकारी दिए।
कार्यक्रममा प्रसिद्ध फ्रान्सेली पर्वतारोही स्वर्गीय मौरिस हर्जोगकी पत्नी एलिजाबेथ हर्जोगलाई सम्मान प्रदान गरिएको थियो । सम्मान ग्रहणपछि हर्जोगले नेपालसँगको आफ्नो विशेष सम्बन्धबारे चर्चा गर्दै नेपाल भ्रमणका सुखद अनुभवहरू अभिव्यक्त गरे। कार्यक्रममा करिब ६० जना पर्यटन व्यवसायी, संस्कृतिप्रेमी तथा नेपालप्रति रुचि राख्ने व्यक्तिहरूको सहभागिता थियो ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा ९ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति रिपोर्टअनुसार साउनदेखि माघ मसान्तसम्म ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यो रेमिट्यान्स रकम ७.३ प्रतिशत बढेको हो ।
अमेरिकी डलरमा भने ५.३ प्रतिशत मात्रै रेमिट्यान्स वृद्धि भएको छ । माघ महिनामा मात्रै १ खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ छ ।
पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो ।
काठमाडौं । समुद्री आँधीले निम्त्याएको उच्च वर्षाका कारण अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा एक जनाको शब भेटिएको र १३ जना सैनिकहरू घाइते भएको अधिकारीहरूले बताएका छन्। अल्फ्रेड नाम दिइएको आँधीका कारण तीन लाखभन्दा धेरै घरधुरी बिद्युत् विहीन भएका छन्। आँधी मत्थर भएर अहिले वर्षामा परिणत भएको छ।
तर आँधी जमिनमा आइपुग्न बाँकी रहेका कारण स्थानीय प्रशासनले यसको खतरा अझै नटरेको बताएका छन्। उक्त आँधी जमिनमा बज्रनुअघि नै रूख र बिजुलीका प्रसारण लाइनहरू ढलेका थिए। होचा क्षेत्रमा सडक डुबानमा परेका छन्। प्रहरीले एक जना ६१ वर्षका पुरुषको शब बाढीमा भेटिएको बताएको छ। ती व्यक्ति बाढीमा कार बगेर हराइरहेका पुरुष भएको अनुमान गरिएका छन्।
उद्धारका लागि गइरहेका सैनिकहरू सवार एउटा ट्रक चिप्लिएर पल्टिएको र अर्को ट्रक त्यही पल्टिएको ट्रकमा गएर ठोक्किँदा १३ जना सैनिक घाइते भएको अधिकारीहरूले बताएका छन्। अल्फ्रेड आँधीले नेपालीहरूको समेत उल्लेख्य बसोबास रहेको ब्रिसबेनमा असर पुर्याउने पूर्वानुमान गरिएका छन्। शनिवारबाट आँधीको प्रभाव त्यसभन्दा भित्री क्षेत्रहरूमा पर्ने आकलन गरिएको छ।
आँधीको बाटोमा पर्ने स्थानहरूबाट दशौँ हजार मानिसहरूलाई उद्धार गरेर अन्यत्रै सारिएको छ। बाँकी मानिसहरूलाई पनि घर बाहिर ननिस्कन भनिएको छ। क्विन्स्ल्यान्ड र उत्तरी न्यू साउथ वेल्सका करिब ४० लाख मानिसहरू आँधीको जोखिममा छन्। दुवै क्षेत्रमा मौसमका दर्जनौँ चेतावनीहरू जारी गरिएका छन्।
केही क्षेत्रका बासिन्दाहरू कैयौँ दिनसम्म बिजुलीबिनै बस्नुपर्ने अवस्था देखिएपछि आपत्कालीन सेवाले ऊर्जा कम्पनीहरूसँग समाधानका लागि काम गरिरहेको जनाएको छ। ऊर्जा वितरक कम्पनी इनर्जेक्सले उत्तरपूर्वी क्विन्स्ल्यान्ड क्षेत्रमा २,८७,००० उपभोक्ताहरू बिजुलीविहीन भएको बताएको छ। अर्को कम्पनी इसेन्सिअल इनर्जीले न्यू साउथ वेल्सका ४२००० घरहरूमा बिजुली बन्द भएको बताएको छ।
क्विन्सल्यान्डको राजधानी ब्रिसबेनका बासिन्दा शुक्रवार राती ठूलो आँधी र वर्षाको त्रासबीच सुतेका थिए। शनिवार बिहान मात्रै उनीहरूले आँधी कमजोर भएको थाहा पाए। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनेजीले गोल्ड कोस्ट भनिने तटीय क्षेत्रमा ूसबैभन्दा खराब अवस्था आउन बाँकी नै रहेकोू बताएका छन्।
केही दिनयता खराब मौसमी अवस्था सामना गरिरहेको उक्त क्षेत्रमा अझै पनि अवस्था चरम रहेको बताइएको छ। उक्त क्षेत्रमा मुसलधारे वर्षा र तीव्र गतिको हुरी चलिरहेको छ। बिजुलीका प्रसारण लाइनहरू ढलेका छन् र सयौँ रूखहरू बगैँचा, पार्क र मुख्य सडकहरूमा ढलेका छन्। उक्त क्षेत्रमा ठूलो मात्रामा भग्नावशेषहरू देखिएका छन्। आपत्कालिन सेवाहरूले जोखिममा रहेका क्षेत्रहरूलाई वर्गीकरण गरेर काम गरिरहेका छन्। यो आपत्काल अझै टरिसकेको छैन, न्यू साउथ वेल्स राज्यका प्रधानमन्त्री क्रिस मिन्जले भने। बीबीसीबाट
न्युयोर्कको वुड्साईडस्थित काठमाडौं फ्युसन रेस्टुरेन्टमा बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले जिबनाथ कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमिति अध्यक्ष: जिबनाथ कँडेल बरिष्ठ उपाध्यक्ष: बिमल हमाल उपाध्यक्ष: सुजन बस्याल महिला उपाध्यक्ष: माया देबी पुन मगर महासचिव: जीवनदास सुनार सचिव : नवराज सापकोटा सचिव : अशोक खड्का कोषाध्यक्ष: बिशाल निउरे सह कोषाध्यक्ष: प्रभा रिजाल सापकोटा युथ् कोर्डिनेटर: प्रेम भट्टराई सदस्यहरु: हरी आचार्य, गगन थापा र कृष्ण बोहोरा
बागलुङ सेवा समाजका केन्द्रीय अध्यक्ष सकस जिसीको अध्यक्षतामा सम्पन्न अधिवेशनको कार्यक्रम सञ्चालन संस्थाका निवर्तमान सचिव दिपु श्रीष मगरले गरेको थियो ।
न्युयोर्कबासी बाग्लुङगेहरुको बाक्लो उपस्थिति रहेको अधिवेशनमा बागलुङ सेवा समाज अमेरिका महाधिबेशन समायोजन समितिका अध्यक्ष गौरिश्वर शर्माले प्रवासमा पनि बागलुङ सेवा समाजले जिल्लावासीका लागि निरन्तर काम गरिरहेको बताउँदै निर्वाचित नयाँ कार्यसमितिले ऐतिहासिक काम गर्न सकोस् भनि शुभेक्षा व्यक्त गरे ।
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूचीसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्ने क्रममा उनले यस्तो माग गरेका हुन् । एनजीओ तथा आइएनजीओमार्फत आएको रकम दुरुपयोग गरिएको भनदै उनले् मुलुककै बदनाम गरिएको उल्लेख गरे ।
‘एनजीओ र आइएनजीओका नाममा आएका रकमहरू कति छन् । त्यो रकम दुरुपयोग गरियो भनेर सारा नेपाललाई नै बद्नाम गर्ने काम गरेको छ सरकारले भएको के हो श्वेतपत्रको रुपमा जारी गरोस्,’ उनले भने । उनले अमेरिकाले गैरकानूनी रुपमा बसेका गैरआवासीय नागरिक फिर्ता पठाउने क्रममा अमानवीय व्यवहार गरेको समेत बताए ।
काठमाडौं । पोर्चुगलमा पहिलोपटक स्थापना गरिएको नेपाली राजदूतावासले आगामी मार्च तेस्रो सातादेखि औपचारिक रुपमा कन्सुलर सेवा सुरू गर्ने तयारी गरेको छ । दूतावासका अनुसार दुई हप्ताभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी नयाँ भवनको व्यवस्थापनसमेत टुंगो लाग्नेछ ।
लिस्बनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामबाबु नेपालका अनुसार पोर्चुगलस्थित परराष्ट्र मन्त्रालयमा औपचारिक काम सुरुका लागि सहप्रमाणीकरणको प्रक्रिया अघि बढिसकेको छ । उनले भने ‘स्वीकृति प्राप्त हुनेबित्तिकै आफ्नै मातहतबाट सेवा सुरु गर्छौं । मार्च दोस्रो सातासम्म सबै प्रक्रिया पूरा हुने अपेक्षा राखेका छौं, कम्तीमा मार्च २० बाट सेवा दिन सक्नेछौं ।’
राजदूतावास भवन भाडामा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कार्यवाहक राजदूतसमेत रहेका नेपालले भने, ‘हामीले भारत, पाकिस्तान, बंगलादेशको दूतावास नजिकै सुविधाजनक स्थान खोजेका छौं।हालसम्म सम्झौतामा हस्ताक्षर भइसकेको छैन, तर प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’
पोर्चुगलमा रहेका नेपालीहरूका लागि आफ्नै दूतावासबाट सेवा लिन आतुर रहेका छन् । हालसम्म नेपालीहरूले पेरिसस्थित नेपाली दूतावासको भर पर्नु परेको थियो । नेपालले भने, ‘कागजात प्रमाणीकरणदेखि राहदानी सेवासम्म हामी लिस्बन दूतावासमार्फत प्रक्रिया अघि बढाउनेछौं । नेपाली समुदायलाई सेवा दिने हाम्रो प्राथमिकता हुनेछ।’
नेपाल सरकारले स्थापना गरेको पोर्चुगलस्थित नेपाली दूतावास सबैभन्दा नयाँ हो । दूतावासमा राजदूतसहित चार जनाको दरबन्दी छ । दूतावासका अनुसार नेपाली राजदूत प्रकाशमणि पौडेल एक साताभित्रै लिस्बन आइपुग्नेछन् । उनले पहिलो राजदूतको रुपमा दूतावासको औपचारिक कार्यभार सम्हाल्नेछन्।
काठमाडौं । अस्ट्रेलियामा नेपाली फिल्म अवार्ड आयोजना हुने भएको छ । डि व्वाइज इन्टरटेन्मेन्ट नामक संस्थाले मे २८ जुन १ सम्म अस्ट्रेलियामा ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना गर्न लागेको जनाएको छ । नेपाली फिल्म र पर्यटन प्रवर्धन उद्देश्यसहित अवार्ड आयोजना गर्न लागिएको डि व्वाइज इन्टरटेन्मेन्टका प्रमुख गणेश मल्लले बताए ।
पछिल्लो समय नेपाली फिल्मको बजार अस्ट्रेलियामा राम्रो हुँदै गएको छ । अस्ट्रेलियामा नियमित रूपमा अधिकांश नेपाली फिल्म प्रदर्शन हुँँदैआएको छ । ठुलो फिल्मले करोडभन्दा बढीको व्यापार अस्ट्रेलियामा मात्र गर्ने गरेको छ। यसले नेपाली फिल्मको बजारलाई राम्रो प्रवर्धन गरेको छ । फिल्ममार्फत पर्यटन र नेपाली फिल्मका दर्शकमा पनि प्रवर्धन हुँदै आएको छ ।
काठमाडौं । थाइल्यान्डको बैङ्ककस्थित नेपाली दूतावासले म्यान्मार पुगेर अलपत्र परेका दुई नेपाली युवाको उद्धार गरी स्वदेश फिर्ता पठाएको छ । अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्यान्ड सरकारको सहयोगमा म्यान्मारको मेवाडीबाट उद्धार गरेर स्वदेश फिर्ता पठाएको हो । ती युवा बैङ्ककमा आकर्षक रोजगारी र कमाइ हुने प्रलोभनमा परेर तीन महिनापहिला त्यहाँ पुगेको पाइएको छ ।
“उद्धार गरिएको युवालाई म्यान्मारको मेवाडीबाट थाइल्यान्ड ल्याई नेपाल फर्काइएको छ,” बैङ्ककस्थित नेपाली दूतावासको विज्ञप्तिमा उल्लेख छ । यसअघि फागुन ९ गते पाँच नेपालीलाई सोही ठाउँबाट उद्धार गरी स्वदेश फर्काएको पनि सोही विज्ञप्तिमार्फत जानकारी गराएको छ । दूतावासले विज्ञप्तिमार्फत वैदेशिक रोजगारीका लागि जाँदा सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र जान अनुरोध गरेको छ ।
सामाजिक सञ्जालको आकर्षक कमाइ हुने विज्ञापनलाई विश्वास गरेर कम्बोडिया लाओस, म्यान्मार र थाइल्यान्डलगायत देशमा श्रम स्वीकृति नलिई आएका धेरै नेपाली नागरिक अलपत्र पर्ने समस्या बढेको भन्दै दूतावासले भ्रामक सूचनाप्रति सचेत हुन आग्रह गरेको हो ।
सूचनामा भनिएको छ, “ती देशका ठाउँ ठाउँमा नेपाली अलपत्र परेका गुनासा धेरै आएका छन् । उहाँहरूको उद्धारका लागि कठिनाइ भएको छ । केही सम्बन्धित देशका सरकारसँग श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा आउनु पर्छ ।” दूतावासका अनुसार ती देशमा अलपत्र पर्ने नेपाली नागरिक सामाजिक सञ्जालको आकर्षक रोजगारी विज्ञापनका आधारमा लाखौँ खर्चेर भ्रमण भिसामा आएका धेरै छन् ।
साथै दूतावासले विज्ञप्तिमार्फत रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्मरकम्पनीररोजगारदाताबारे पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा ती फर्मरकम्पनीररोजगारदाताको वेबसाइट चेकजाँच गर्न आग्रह गरेको छ ।
अनलाइन जुवा, कलसेन्टर–फ्रड, क्रिप्टो–करेन्सी ठगीलगायतमा संलग्न शङ्कास्पद आइटी फर्मले यी देशमा रोजगारीका अवसरको प्रलोभन देखाई युवालाई ठगी गरिरहेको र पीडितलाई गैरकानुनी रूपमा बैङ्कक हुँदै कम्बोडिया, लाओस र म्यान्मार लगी बन्दी बनाएर काम गर्न लगाउने गरेको हुँदा त्यस्तो प्रलोभनमा नपर्नसमेत दूतावासले आग्रह गरेको छ ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले धनी आप्रवासीहरूले अमेरिकामा बसोबास गर्न पाउने नयाँ योजना सार्वजनिक गरेका छन्। उनका अनुसार ५० लाख डलर खर्च गर्ने आप्रवासीहरूले गोल्ड कार्ड पाउने छन् र यसले उनीहरूलाई अमेरिकी नागरिकता पनि पाउने मार्ग खोल्ने छ। वर्तमान विनिमय दरअनुसार त्यो भनेको झन्डै ७० करोड नेपाली रुपैयाँ हुन आउँछ। यस योजनामार्फत् अमेरिकामा रोजगारदाताहरू भित्र्याई सार्वजनिक ऋण कम गर्न सकिने उनको तर्क छ।
यस योजनाबाट अति राम्रा मानिसहरू अमेरिका भित्रिने उनले बताएका थिए र यसबारे थप स्पष्टीकरण सोध्दा उनले तिनमा रुसी धनाढ्यहरू पनि पर्न सक्ने बताए। अर्थात् क्रेम्लिनसँगको सम्बन्धका कारण पश्चिमाहरूको आर्थिक प्रतिबन्धमा परेका रुसीहरूले पनि यसबाट फाइदा लिन सक्ने छन्। गरिब आप्रवासीहरूलाई देश निकाला गर्ने उनको राष्ट्रपतिकालको एक मुख्य नीति बनेको छ। ट्रम्पले निर्वाचन अभियानताका नै आप्रवासनबारे कठोर नीति लिने बताउँदै आएका छन्।
दोस्रो कार्यकालको आरम्भमै उनले विभिन्न कार्यकारी आदेशहरू जारी गरेर आप्रवासनलाई नियन्त्रण गर्ने कदम चाले। जन्मका आधारमा नागरिकताको हक को परिभाषा परिवर्तन गर्नेदेखि सीमाबाट हुने गैरकानुनी प्रवेशलाई रोक्न मेक्सिकोसँगको सीमामा राष्ट्रिय सङ्कटकाल घोषणा गर्ने विषय त्यसमा समेटिएका छन्।
उनको प्रशासनले सीबीपी वन नामक एप रद्द गरेपछि केही घण्टाअघि नै हजारौँ विदेशीहरूका आप्रवासनसम्बन्धी कामका लागि सरकारी अधिकारीसँग भेटका लागि समय निर्धारण गरिएकाहरूको तालिका पनि रद्द भएको थियो। उक्त एप सीमा प्रवेशबिन्दुमा उपस्थितिको समय लिनका लागि प्रयोग गर्ने गरिन्थ्यो। आफ्नो शपथग्रहणपछिको मन्तव्यमा ट्रम्पले अमेरिकामा हुने सबै गैरकानुनी प्रवेश रोकिने भन्दै दशौँ लाख अपराधी विदेशीलाई देशनिकाला गरिने बताएका थिए।
ूट्रम्पले आवश्यक कागजात नभएका विदेशी आप्रवासीहरूलाई राख्न क्युबास्थित कुख्यात अमेरिकी सैनिक बन्दीकेन्द्र ग्वान्टनामो बे मा हिरासत केन्द्र बनाइने पनि बताएका छन्। ट्रम्पले त्यहाँ ३० हजार गैरकानुनी आप्रवासीहरू राख्ने मिल्ने स्थान बनाइने बताएका हुन्। उनले क्युबास्थित अमेरिकी जलसेनाको आधार शिविर रहेको उक्त स्थानमा त्यहाँ रहेको उच्च सुरक्षायुक्त सैनिक जेलभन्दा अलग्गै त्यस्तो नयाँ आप्रवासी हिरासत केन्द्र बनाइने र त्यसमा अमेरिकी जनताका लागि खतरा बनेका सबैभन्दा खराब अपराधी गैरकानुनी आप्रवासीहरूलाई राखिने बताएका छन्।
अमेरिकी भूमिमा जन्मेका शिशुहरू स्वतः त्यहाँको नागरिक हुने व्यवस्था अन्त्य गर्ने गरी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको कार्यकारी आदेश विवादमा परेको छ। सिआटलका एक सङ्घीय न्यायाधीशले उक्त आदेशको कार्यान्वयनमा अस्थायी रोक लगाइदिएका थिए। यूएस डिस्ट्रिक्ट कोर्टका न्यायाधीश जोन कफ्नरले उक्त आदेश स्पष्ट रूपले असंवैधानिक रहेको बताउँदै दुई साताका लागि त्यो कार्यान्वयन गर्नमा तत्काल रोक लगाएका थिए। उक्त निर्णय फेब्रुअरी १९ देखि जन्मिने शिशुहरूका हकमा लागु हुने अमेरिकी न्याय मन्त्रालयले पेस गरेको कानुनी दस्ताबेजमा उल्लेख थियो।
काठमाडौं । भारतीय सेनाका ६ जना भूतपूर्व स्थल सेनाध्यक्षहरु नेपाल भ्रमणमा आएका छन् । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि पर्व तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन उनीहरु मङ्गलबार काठमाडौँ आएका हुन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाका मानार्थ महारथीबाट सम्मानित समेत हुनुभएका भारतीय पूर्वस्थल सेनाध्यक्षहरु जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, डा. विजय कुमार सिंह, दलवीर सिंह सुहाग, डा. मनोज मुकुन्द नरवणे, र मनोज पाण्डे नेपाल आइपुगेका हुन् ।
उनीहरु बुधबार विहान पशुपतिनाथ मन्दिरमा दर्शन गरी नेपाली सेनाले काठमाडौँको टुडिँखेलस्थित सैनिक मञ्चमा आयोजना गरेको २६२ औँ वार्षिक उत्सव विशेष समारोहमा सहभागि हुने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा उहाँहरुले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा सदैव प्रतिबद्ध रही आएको बताएकी छिन् । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रलाई आज जेनेभामा सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले सीमित स्रोत साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्द्धनका क्षेत्रमा नेपाल विश्वकै अग्रपंक्तिको राष्ट्रका रुपमा रहँदै आएको बताएकी हुन् ।
‘नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका अधिकारहरूलाई मौलिक अधिकारका रुपमा समेटेको छ । नेपाल सरकार लोकतान्त्रिक मूल्य मान्यता, कानूनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रुपमा प्रतिबद्ध रही आएको छ, परराष्ट्रमन्त्री राणाले भनिन् ।
नेपालमा हाल लोकतन्त्र र मानवअधिकारका लागि लामो समयदेखि सङ्घर्ष गर्दै आएका राजनीतिक दलहरुको सरकार रहेकाले पनि नेपाल सरकार प्रजातन्त्र र मानवअधिकारको रक्षा तथा प्रवर्द्धनप्रति थप प्रतिबद्ध रहेको उनले बताइन् । नेपालले दशवर्षे सशस्त्र द्वन्द्वको समाधानका लागि अपनाएको शान्ति प्रक्रियाको मोडल विश्वमै उदाहरणीय रहेको उल्लेख गर्दै उनले शान्ति प्रक्रियाका बाँकी कामलाई छिट्टै टुङ्ग्याउने गरी संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर तदारुकताका साथ काम गरिरहेको जानकारी गराइन् ।
नेपालको संविधानले सङ्घीय र प्रादेशिक संसदमा महिलाको एक तिहाई र स्थानीय सरकारमा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको तथा अल्पसङ्ख्यकहरुको मानवअधिकारको व्यवस्था र रक्षाप्रति प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारिन् । नेपाल सरकार सदैव राष्ट्रिय मानवअधिकार आयोगको स्वतन्त्रताका पक्षमा रही आएकाले ‘गानरी’ प्रमाणीकरणमा स्थापनादेखि नै नेपालको आयोग ‘ए ग्रेड’ मा रहँदै आएको उल्लेख गर्दै उनले नेपाल प्रेस स्वतन्त्रताको सुनिश्चितताको पक्षमा रही आएको बताइन् । जलवायु परिवर्तनले नेपाललाई परेको असर, नेपालको अवस्था र जलवायु न्यायका विषयमा नेपालले अन्तरराष्ट्रिय मञ्चहरुमा वकालत गरिरहेको बताउँदै परराष्ट्रमन्त्री राणाले नेपालले आगामी मे महिनामा काठमाडौँमा ‘सगरमाथा संवाद’ कार्यक्रमको आयोजना गरेको जानकारी गराइन् ।
जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यु मुख्य शीर्षक रहेको सो संवादमार्फत् अन्तरराष्ट्रिय समुदायलाई यस महत्त्वपूर्ण पहलमा सामेल गराउने प्रयास नेपालले गरेको उनको भनाइ थियो । नेपालले मानवअधिकारका क्षेत्रमा व्यक्त गर्दै आएको यही प्रतिबद्धताका साथ यस परिषद्को आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएको जानकारी दिँदै उनले संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरुसँग नेपाललाई समर्थन गर्न आह्वान पनि गरिन् ।
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्वीट्जरल्यान्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबिच सोमबार जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री डा. देउवा र स्वीस विदेशमन्त्रीबिच साइडलाइन भेटवार्ता भएको हो ।
भेटका अवसरमा उनीहरुबिच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो । सो भेटका अवसरमा मन्त्री डा. देउवाले नेपालको आर्थिक सामाजिक क्षेत्रका साथै नेपालको शान्ति प्रक्रियामा स्वीस् सरकारको सहयोग र सदभावका लागि धन्यवाद ज्ञापन गरिन् । मन्त्री डा. देउवाले नेपाल संयुक्त राष्ट्रसङ्घको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषदको सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषदको सदस्य एवम् सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषदको अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि स्वीस् सरकारलाई पनि आग्रह गरिन् ।
उनले आगामी मे महिनामा नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य थिम बनाएर मुख्य शीर्षकमा सगरमाथा संवाद कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय समुदायलाई सामेल गराउने प्रयास गरेकाले त्यसमा सहभागिताका लागि स्वीस् सरकारलाई पनि आमन्त्रण गरिन् ।
सो अवसरमा मन्त्री डा. देउवाले नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुने चरणमा रहेकाले आवश्यक सहयोगसहित दिगो विकास लक्ष्य हासिल गर्नका लागि नेपाललाई पर्नसक्ने आवश्यक सहयोगका लागि स्वीस् सरकारलाई पनि आग्रह गरिन् ।
मन्त्री डा. देउवाले जलवायु परिवर्तनले नेपालमा परेको असरबारे नेपालले आन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायका लागि वकालत गरिरहेकाले त्यसमा स्वीस् सरकारको सहयोगका लागि पनि अपिल गरिन् । सो भेटवार्तामा संयुक्त राष्ट्रसङ्घका लागि जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलगायत पनि उपस्थित थिए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदानप्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का टोलीले सोमबार शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री ओलीसँग महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६२ औँ वार्षिक उत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने उक्त युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन आएको टोलीले प्रधानमन्त्री निवास, बालुवाटारमा भेट गरेको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले युुवा आदानप्रदानका कार्यक्रमद्वारा नेपाली सेनाले मित्र राष्ट्रका सेनासँगको आपसी सम्बन्धलाई बलियो बनाउनाका साथै क्याडेटबिच सीप, संस्कृति र परम्पराको आदानप्रदान गर्ने सुनौलो अवसर सृजना गर्दै आएको बताए । उनले यस्ता कार्यक्रमले आपसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थहरूको अझ बढी बुुझाइ र कदर सृजना गर्ने भएकाले आपसी सम्बन्धलाई अझ सुमधुर बनाइ सम्पूूर्ण संसार एक समुदाय हो भन्ने सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले अध्ययन, अवलोकन र जीवनका वास्तविकताहरू अनुुभव गरेर सिक्ने प्रक्रिया निरन्तर चलिरहने भएकाले यस मञ्चमार्फत एक ऊर्जावान, भविष्यका एक सम्मानित र गतिशील युवा बन्न सहभागीलाई प्रेरणा मिलोस् भनी कामना गरे ।
कार्यक्रमअन्तर्गत विभिन्न देशका युवाहरूलाई एकत्रित गरेर उनीहरुलाई वफादार, अनुशासित, जिम्मेवार, भविष्यका असरदार नेतृत्वकर्ता र असल नागरिकका रूपमा रूपान्तरण गर्ने काम गरिन्छ । एनसिसीले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्त गुणहरू विकास तथा प्रवर्धन समेत गर्दै आएको छ ।
उक्त ३४ सदस्यीय भ्रमण टोली नेपाली सेनाको निमन्त्रणामा यही फागुन ९ गते नेपाल आएको हो । भेटका अवसरमा नेपालको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकाल, भारतको एनसिसीका महानिर्देशक गुरवीर पाल सिंह, भूूटान स्काउट एसोसिएसनका निर्देशक साङ्गे चोदेन, माल्दिभ्सका प्रतिनिधिमण्डलका प्रमुख रिफान अलीलगायत सहभागी थिए ।
काठमाडौं । गैरकानुनी रुपमा नेपाल बस्दै आएका सात बंगलादेशी नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ओभर स्टेको रुपमा बस्दै आएका उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा २६ वर्षीय एमडी एटिकुल इस्लाम, ४० वर्षीय एमडी आलम मोल्ला, ३७ वर्षीय एमडी जहन्जिर आलम, ३६ वर्षीय एमडी अमिनुल होकु, ३९ वर्षीय एमडी अमदुल अहांक, २८ वर्षीय एमडी नसिर उद्धिन र ४६ वर्षीय एमडी मोसारी हुसेन होलादर छन् । उनीहरूलाई ठमेल र गौशालाबाट पक्राउ गरेर अध्यागमन कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडमा रहेको नेपालीहरूको साझा संस्था “केप कड नेपाली समाज” ले सधैंझै विभिन्न नेपाली मौलिक चाडपर्वहरू मनाउने क्रममा यस वर्षको लोसार पर्व (लोसार नंयावर्ष २१५२- सर्पवर्ष) समाजका अध्यक्ष केबी राईको अध्यक्षता र छेजी शेर्पा-एन्ड्रूको संयोजकत्वमा फेब्रुअरी महिनाको १६ तारीख, आइतबारका दिन Hyannis स्थित Cape Cod Irish Village को सभाकक्षमा भब्यताका साथ सम्पन्न गरिएको थियो।
समाजका महासचिव, इच्छा खड्का र सचिव सरस्वती खनालद्वारा संयुक्त रूपमा संचालित उक्त कार्यक्रममा अमेरिकाको न्यूयोर्क र कनेक्टिकट राज्यबाट शेर्पा समुदायका अतिथिहरूको पनि उल्लेख्य उपस्थित रहेको थियो।
समाजका वरिष्ठ उपाध्यक्ष बिष्णु मान प्रधानले कार्यक्रममा उपस्थिति सबैलाई स्वागत गर्नुको साथै लोसार वर्ष २१५२ को हार्दिक मंगलमय शुभकामना पनि ब्यक्त गर्नुभएको थियो। केप कड नेपाली समाज द्रुत गतिमा अगाडी बढिरहेको र बर्ष दिन भित्रमा धेरै नेपाली चाडपर्वहरू मनाउने कार्यक्रम गरिसकेको र आगामी दिनहरूमा पनि मनाउदै जाने कुरा प्रधानले बताउनु भयो। उहॉंले नेपाली समुदायका सबै लाई संस्थामा आबद्ध भई साथ र सहयोगका लागि पनि आवहान गर्नु भएको थियो ।
यसैगरि “लोसार साँझ”कार्यक्रमका संयोजक छेजी शेर्पा-एन्ड्रूले न्यूयोर्क तथा कनेक्टिकट राज्यबाट आउनूभएका सम्पूर्ण अतिथिहरूलाई खादा लगाएर स्वागत गर्नुको साथै लोसार पर्वको बारेमा प्रष्ट पार्दै यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने समाजका सबै पदाधिकारीहरू लगायत सम्पूर्ण अतिथिहरू साथै समुदायका सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरूलाई धन्यवाद दिदै सबैमा लोसार वर्ष २१५२ को शुभकामना पनि ब्यक्त गर्नुभएको थियो।
समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार हरि राईले पनि उपस्थित सबैलाई लोसार पर्वको शुभकामना दिंनुको साथै सांगितिक प्रस्तुति दिएर कार्यक्रमलाई थप हौसला प्रदान गर्नुभएको थियो।
संखुवासभा शेर्पा समाज अमेरिकाको अध्यक्ष, ओंग्चु शेर्पा, कनेक्टिकट शेर्पा सोसाइटीका अध्यक्ष, सोनाम छिरिंग शेर्पाले पनि केप कडमा आएर लोसार मनाउन पाउदा ख़ुशी लागेको ब्यक्त गर्दै सबैमा लोसार पर्वको शुभकामना दिनुभएको थियो। कार्यक्रममा GBNC का अध्यक्ष सन्दीप भट्टराईको पनि उपस्थिति रहेको थियो।
नेपाली संस्कृति झल्किने विभिन्न मौलिक भेषभुषामा सजिएका केप कडका स्थानीय बाल कलाकारहरू, मिंग्मा लाह्मु शेर्पा, डिचेन डोल्मा शेर्पा, पासंग डोल्मा शेर्पा, फुर्वा शेर्पा र जिग्मे शेर्पा द्वारा स्वागत नाच प्रस्तुत गरि “लोसार विशेष सांस्कृतिक कार्यक्रम” को शुरुवात गरिएको थियो।
यसैगरि कार्यक्रममा स्थानीय कलाकारहरूको विभिन्न समुहले सामूहिक रूपमा प्रस्तुत गरिएका नेपाली समुदायको विभिन्न मौलिक भेषभुषा, परम्परा र सांस्कृतिलाइ प्रतिबिम्बित गर्ने शेर्पा नाच, तिब्बतियन नाच, तामागं नाच र गुरुंग नाचहरूको प्रस्तुतिले लोसार सांझको विशेष रौनकता बढाएको थियो। लोसार विशेष सांस्कृतिक कार्यक्रमलाई सफल पार्न विशेष भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण स्थानीय कलाकारहरू, के. ओंगछु शेर्पा, निमा शेर्पा, सुस्मा क्षेत्री-शेर्पा, छेजी शेर्पा-एन्ड्रू, प्रमिला धमला बन्जारा, पेमा खंगदु शेर्पा, खगेन्द्र राई, डोमा शेर्पा, रिन्जिंग डिक्की लामा, रविना गुरूगं, निशा लामा, झरना अन्डरउड साथै बाल कलाकारहरू डिचेन डोल्मा लामा, मिंग्मा लाह्मु शेर्पा, रिसिका शाहको अथक मेहनत र कला-कौशलता अत्यंतै प्रशंसनीय रह्यो। उक्त सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरिएका प्रायः सबै नाचहरूको कोरियोग्राफ़ी यसै केप कड नेपाली समाजका आजीवन सदस्य रवीना गुरूंगले गर्नुभएको थियो। त्यसैगरि कार्यक्रममा उपस्थित अतिथिद्वय लाक्पा शेर्पा र साँगे शेर्पाले पनि नेपाली मौलिक गीतहरू गाएर कार्यक्रमलाई थप मनोरंजन प्रदान गर्नुभयो।
स्थानीय दिदीबहिनी तथा दाजुभाईहरूले रविना गुरुंगको अगुवाईमा लोसार विशेष पूजा तथा अन्य सजावट सामाग्रीहरू ल्याई कार्यक्रम गर्ने सभाकक्षलाई सजाएर आकर्षक बनाएका थिए। त्यसैगरि छेछे गर्ने सामाग्रीहरू ( छ्यागं, ‘साम्पा’ जौ को पीठो र चामल) सबैको सहजताको लागि प्रवेशद्वार नजीकै राखिएको थियो भने पर्व विशेष परिकारहरूः खाप्से, ढेसे, नुन घ्यु हालेको चिया (Suchiya) र फलफुलहरूको पनि ब्यवस्था गरेका थिए।जस्ले कार्यक्रम स्थल लोसारमय बनेको थियो। यसरी लोसार विशेष पुजा सामाग्री र परिकारहरू बनाई ल्याउनेहरूमा कार्यक्रम संयोजक छेजी शेर्पा, समाजका सदस्यहरू रवीना गुरूंग, रिन्जिंग लामा, मिंग्मा शेर्पा, डोमा शेर्पा, ओंग्चु शेर्पा, लाक्पा नोर्वु शेर्पा, प्रमिला धमला बन्जारा लगायत सम्पूर्ण स्थानीय कलाकारहरूको योगदान अत्यन्तै सह्रानीय र प्रशंसनीय थियो।
कार्यक्रमको समापन सत्रमा “लोसार साँझ” लाई सफल बनाउन आर्थिक तथा जिन्सी सामाग्री उपलब्ध गराई सहयोग पुर्याउनुहुने सम्पूर्ण प्रायोजकहरू (Old Barn Liquors store- woodshole Falmouth, Lobo Pizza- E. Falmouth, Pizza Boy- Wareham, Ocen Street Market- Hyannis, ध्रुव थापा, दिपेन सिन्हा, कुमार तामाङ, टिका खतिवडा लाई समाजका अध्यक्ष केबी राईले खादा लगाई दिएर सम्मान गर्नुभयो। केप कड नेपाली समाजका आजीवन सदस्यता लिनुभएका नंया सदस्यहरू डा. सरिता बज्राचार्य, प्रदीप बज्राचार्य, लाक्पा नोर्वु शेर्पा र नवागं शेर्पा लाई पनि समाजका अध्यक्ष राईले खादा तथा प्रमाणपत्र प्रदान गरि सम्मान गर्नु भएको थियो। त्यसै गरि लोसार साँझ सांस्कृतिक कार्यक्रमलाई सफल बनाउन सहभागी सम्पूर्ण कलाकारहरूलाई पनि समाजका अध्यक्ष राई र बरिष्ठ उपाध्यक्ष प्रधानले खादा तथा प्रशंसापत्र प्रदान गरि सम्मान गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति, केबी राईले उपस्थित सबैलाई लोसार नंयावर्ष २१५२ शुभकामना ब्यक्त गर्नुको साथै कार्यक्रमलाई सफल बनाउनको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो अमुल्य समय, श्रोत, श्रम साथै बिचारहरू प्रदान गर्नुहुने समाजका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू, स्थानीय कलाकारहरू, प्रायोजकहरू, खाना आपूर्ति तथा ब्यवस्थापन गर्ने हिमालयन ब्रिष्ट्रो, कार्यक्रमको लागि हल उपलब्ध गराउने होटल ब्यवस्थापन टिम, म्यूजिक ब्यवस्थापनमा सहयोग गर्ने DJ, साथै खराब मौसमको बाबजुद पनि केप कड भन्दा बाहिरबाट यस कार्यक्रममा आउनुभएका सम्पूर्ण अतिथिहरूलाई समाजको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। अन्त्यमा स-साना नानीहरू (मिली तामांग र अभिश्री खतिवडा) लाई राफल चिट्ठा तान्न लगाई १२ वर्ष मुनीका बच्चाहरूको समुहबाट १ जना र १२ वर्ष भन्दा माथिका उमेर समुहबाट १ जना गरि जम्मा २ जना विजेताहरू छनौट गरिएको थियो । जसमा, विजेताहरू क्रमशः जिग्मे शेर्पा र गुन्जा शाहलाई समाजका अध्यक्ष केबी राईले राफल पुरस्कार प्रदान गर्नु भएको थियो ।
उक्त कार्यक्रमका आर्थिक प्रायोजक समितिमा संयोजक विमल खड्का र सदस्यहरूमा केवी राई, हर्कुलस कन्द्ङवा र ध्रुव थापा थिए। खाना ब्यबस्थापन को संयोजन तथा फोटोग्राफी उपाध्यक्ष कुवेर विन्दुकारले गरेका थिए।कार्यक्रम हलको ब्यबस्थापन कार्यकारी सदस्य ज्योती केसीको संयोजनमा ईच्छा खड्का, कृष्ण तिमलसिना, विष्णु मान प्रधान, कुमार तामाङ, अजय खतिवडा थिए भने सहभागीको दर्तामा कोषाध्यक्ष विमल खड्का, कार्यकारी सदस्य अजय खतिवडा र सदस्य टिका खतिवडाले गरेका थिए र स्वयंसेवकको रूपमा कुमुदा पोख्रेल, प्रमीला धमला बन्जारा, समीर ओझा, खगेन्द्र राई र सिताराम राईले कार्यक्रममा सहयोग पुर्याएका थिए।
प्रतिकुल मौसमको बावजूद पनि केप कड तथा वरिपरि विभिन्न क्षेत्रहरूबाट धेरै समुदायहरूको सहभागिता रहेको उक्त कार्यक्रममा २०० जना भन्दा बढीको उपस्थिति रहेको थियो।
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन् । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शनिबार जेनेभा प्रस्थान गरेकी हुन् । मन्त्री राणालाई शनिबार साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरे ।
यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने उक्त उच्चस्तरीय सत्रलाई मन्त्री डा देउवाले यही १२ गते सम्बोधन गर्नेछिन् । भ्रमणका क्रममा उनले विभिन्न देशका आफ्ना समकक्षीहरूका साथै संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । परराष्ट्रमन्त्री राणा शनिबार जेनेभा जाने
भ्रमणका क्रममा मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ सम्मको कार्यकालका लागि नेपालले दिएको उम्मेदवारीका पक्षमा समर्थनका लागि पहल गर्नेछिन् । मन्त्री डा देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपाली नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित हुनेछिन् । उनी यही फागुन १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
काठमाडौं । अमेरिकी गृह सुरक्षा विभागले अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गर्ने निर्णय गरेको छ । यस निर्णयले करिब आठ लाख ५० हजार आप्रवासी प्रभावित हुने नेपालको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ । ट्रम्प प्रशासनले हाल कायम नेपाललगायत १७ देशका आप्रवासीको टिपीएस खारेज गर्ने निर्णय गरेको हो । यसले टिपीएस वाहक प्रभावित हुने भएको हो । उनीहरू अब अवैध हुनेछन् । टीपीएस वाहकलाई अमेरिकाभर काम गर्ने अनुमति प्राप्त हुन्छ । ट्रम्प प्रशासनको टीपीएस खारेजीको निर्णयसँगै ती आप्रवासीहरू या त आफै स्वदेश फर्कनुपर्छ वा अमेरिकाले अवैध आप्रवासीसरह व्यवहार गरेर जवर्जस्ती स्वदेश फर्काउँछ ।
टीपीएस वाहकले अमेरिकी अध्यागमन विभागसमक्ष आफ्नो स्थितिका बारेमा प्रत्येक वर्षजस्तो पुनः दर्ता गर्नुपर्ने हुन्छ । तर सो विभागले हाल पुनः दर्ताको प्रक्रियासमेत रोकेको समाचारमा उल्लेख छ । विगतका सरकार टीपीएस वाहकहरूप्रति नरम बनेका थिए । प्राकृतिक विपत्ति, सशस्त्र द्वन्द्व र महामारी जस्ता कारणले आफ्नो देशबाट भागेर आएका वा ल्याइएका आप्रवासीहरूलाई अमेरिकाले अस्थायी रूपमा काम गर्ने गरी अनुमति टीपीएस दिने गरेको छ ।
राष्ट्रपति जर्ज डब्लु वुसको कार्यकालमा सन् १९९० मा इमिग्रेसन याक्टका रूपमा यो कानुन ल्याइएको हो । हाल विश्वका १७ देशका नागरिकलाई अमेरिकाले टीपीएस सुविधा दिएको र उनीहरू वर्षौवर्षदेखि काम गर्दै आएका थिए । तर ट्रम्प प्रशासनले यी सबै देशको सुविधा खारेज गरेको छ । हाल अमेरिकामा सर्वाधिक हैटीका नागरिकहरू टीपीएस वाहक छन् । सन् २०१० मा हैटीमा गएको महाभूकम्पपछि अमेरिकाले हैटीका जनतालाई अमेरिकामा काम गर्ने गरी अस्थायी कामदार अनुमति दिएको थियो ।
नेस्नल इमिग्रेसन फर्मका अनुसार, अमेरिकामा भेनेजुएलाका तीन लाख ५० हजार टीपीएस वाहक छन् । उनीहरूको आगामी अप्रिलमा म्याद भुक्तान हुनेछ । अमेरिकामा तेस्रो धेरै टीपीएस वाहक सङ्ख्या होण्डुरसको रहेको छ । होण्डुरसका ५४ हजार मानिसले टीपीएस लिएका छन् भने चौथो स्थान युक्रेनको छ । युक्रेनका करिब ५० हजार मानिसले टीपीएस लिएका छन् । पाँचौँ स्थानमा अफगानिस्तान रहेको छ ।
यहाँका करिब आठ हजार दुई सयले टीपीएस सुविधा पाएका छन् भने यो सुविधा पाउनेमा नेपाल छैटौँ स्थानमा रहेको छ । नेपालका सात हजार आठ सय जनाले यो सुविधा लिएका छन् । त्यस्तै सिरिया तीन हजार आठ सय, क्यामरुन तीन हजार दुई सय, निकारागुवा दुई हजार नौ सय, वर्मा दुई हजार तीन सय, यमन एक हजार आठ सय, सुडान, समालिया, साउथ सुडान, इथियोपिया आदि देशका आप्रवासीहरूले पनि टीपीएस सुविधा लिएका छन् । र, यिनीहरूको बसोबासको सङ्ख्याको दृष्टिकोणले अमेरिकाका विभिन्न राज्यमध्ये सर्वाधिक फ्लोरिडा, टेक्सस, न्यु योर्क र क्यालिफोर्नियामा रहेका छन् ।
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन स्विट्जरल्याल्डको जेनेभा जाने भएकी छन् । उनी शनिबार प्रस्थान गर्ने सचिवालयले जानकारी दिएको छ । उक्त उच्चस्तरीय सत्र यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने तय छ । मन्त्री डा राणाले फागुन १२ गते उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनी विभिन्न देशका आफ्ना समकक्षीसँगै संयुक्त राष्ट्रसंघीय निकाय र अन्तरराष्ट्रिय संगठनका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग समेत भेटवार्ता गर्ने बताइएको छ ।
परराष्ट्र डा राणाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ को कार्यकालका लागि नेपालको उम्मेदवारीमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूबाट समर्थन जुटाउने बताइएको छ । उनले परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् । परराष्ट्रमन्त्री राणा फागुन १६ गते स्वदेश फर्कने कार्यक्रम भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ । उनको शव गतराति १२ बजे रुपन्देहीको सिद्धार्थननगर नगरपालिका ८ स्थित बैंकरोड कोलोनीमा ल्याइएको थियो ।
त्यसपछि स्वर्गद्वारी घाटमा लगेर अन्त्येष्टि गरिसक्दा आज विहीबार बिहान चार बजेको थियो । प्रकृतिको शव ओडिसाबाट गोरखपुरसम्म हवाईजहाजमा र गोरखपुरबाट घरसम्म गाडीमा ल्याइएको थियो । ओडिसाको राजधानी भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको कलेजमा बी–टेक अध्ययन गरिरहेकी प्रकृति गत आइतबार होस्टलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा नेपाली विद्यार्थीको रहस्यमय मृत्युको घटनामा न्याय दिलाउन नेपाल सरकारले कुटनीतिक प्रयास जारी राखेको छ । नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत भेटिएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबाट पीडित नेपाली विद्यार्थीको न्यायका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पहल गरिरहेकी छन् ।
मन्त्री राणाले सामाजिक सञ्जालमार्फत् यसबीच ओडिसा सरकारका अधिकारीहरूसँग निरन्तर संवाद गरिरहेको जनाएकी छन् । राणाले ओडिसा सरकारका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग टेलिफोन संवाद गरी दोषीलाई कडा कारबाही तथा त्यहाँ रहेका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित पठनपाठनको वातावरण बनाउन आग्रह गरेकी छन् ।
‘भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा हामीले निरन्तर फलो अप गरिरहेका छौं । आज पनि मैले ओडिसाका हायर एजुकेशन मिनिस्टर सूर्यवंशी सुरजसँग फोनमा कुराकानी गरेकी छु,’ डा। राणाले भनेकी छन्, ‘उहाँसँग मैले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरें ।’
ओडिसाका मुख्यमन्त्री माझीले पनि न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत् मुख्यमन्त्रीको कार्यालयले मुख्यमन्त्री माझीले नेपाली अधिकारीहरूसँग पनि कुराकानी गरेको र प्रकृति लम्सालको मृत्युको घटनामा न्याय दिलाउन पहल गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरेको छ ।
मुख्यमन्त्रीको कार्यालयले नेपालका परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले उच्च शिक्षामन्त्री सूर्यवंशी सरजसँग पनि यस विषयमा कुराकानी गरेको जनाएको छ । ‘मुख्यमन्त्रीले नेपाली काउन्सिलरहरू सञ्जीवदास शर्मा र नवीनराज अधिकारीसँग कुराकानी गर्दै मृतक विद्यार्थीको घटनामा न्याय दिने आश्वासन दिनुभएको छ । साथै, उनले क्याम्पसमा शान्ति र सामान्यता पुनर्स्थापित गर्ने आश्वासन पनि दिँदै मुख्यमन्त्रीले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्केर आफ्नो पढाइ सुचारु गर्न आग्रह गर्नुभएको छ,’ मुख्यमन्त्रीको कार्यालयले भनेको छ ।
परराष्ट्रमन्त्री राणाले यस घटनालाई ओडीसा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको जानकारी आफूलाई गराइएको बताएकी छन् । साथै, उनले त्यहाँ रहेका नेपाली विद्यार्थी र अभिभावकहरूलाई आवश्यक पर्ने परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरूलाई होस्टलमा फर्काएर पठन पाठनको व्यवस्था मिलाइएको जानकारी आफूलाई दिइएको बताएकी छन् ।
‘यस्तै कलेजमा विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको जानकारी पनि मन्त्री सुरजले दिनुभएको छ,’ राणाले भनेकी छन्, ‘कुराकानीका क्रममा मन्त्री सुरजले नेपालसँगको महत्वपूर्ण सम्बन्धलाई आगामी दिनमा पनि अहिलेजस्तै सुमधुर बनाउँदै लगिने बताउनुभएको थियो । यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन् ।’
काठमाडौं । विराटनगरको रानी नाका हुँदै भारत ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत ७५ जना विद्यार्थी घर फर्किएका छन् । नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि विश्वविद्यालयले दुर्व्यवहार गर्दै निकोलका मध्ये ७५ जना बुधबार विराटनगर नाका हुँदै घर फर्किएका हुन् । मंगलबार तीन जना फर्किएका थिए । मंगलबार राति पूर्वीनाका काँकडभिट्टा नाका हुँदै १६ र वीरगञ्ज नाकाबाट ९५ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए ।
जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार विराटनगरको रानी नाका हुँदै बुधबार मोरङका ३६, सप्तरीका १६, सुनसरीका ११, काठमाडौँ र सिरहाका ३–३ जना, सर्लाही र जनकपुरका २–२ जना तथा ललितपुर र उदयपुरका १–१ जना विद्यार्थी नेपाल फर्किएका हुन् ।
शंकास्पद अवस्थामा मृत भेटिएकी लम्सालको न्यायका लागि आवाज उठाउँदा कलेज प्रशासनले विद्यार्थीलाई दुर्व्यवहार गर्दै कलेजबाट निकालेको थियो । विद्यार्थीमाथि दुर्व्यवहार भएको विषयले नेपाल र भारतमा चर्को विरोध भएपछि कलेज प्रशासनले सार्वजनिक रूपमा माफी मागेको थियो । आइतबार भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।
काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भमा नेपाली कांग्रेसका नेताहरु जाने र फर्केने क्रम जारी छ । कांग्रेस महामन्त्री गगन थापा महाकुम्भ मेलामा सहभागी भएर फर्किएका छन् भने सभापति शेरबहादुर देउवा जाने तयारीमा छन् । देउवा महाकुम्भ मेलामा सहभागी हुनुका साथै इन्डिया फाउन्डेसनले आयोजना गर्ने दुई दिने समिटमा समेत भाग लिनेछन् ।
उनले आगामी शुक्रबार र शनिबार ‘कुम्भ ग्लोबल समिट अन डेभलप्मेन्ट एन्ड सस्टेइनबेलिटी’ विषयमा बोल्नेछन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी हुने समिटमा अन्य देशका वक्ताहरु समेत छन् । देउवापक्षीय एक नेताका अनुसार भारत भ्रमणका क्रममा देउवाको दलका नेताहरुसँग संवाद हुने कार्यक्रम तय भएको छैन ।
यसअघि कांग्रेस महामन्त्री थापा साथै प्रवक्ता डा. प्रकाशशरण महत, नेता अर्जुनरसिंह केसी, केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी लगायतका नेताहरु महाकुम्भमा पुगेर फर्केका छन् । महामन्त्री थापा मंगलबार राति भैरहवा आइपुगेर बुधबार पाल्पाको पार्टी कार्यक्रममा सहभागी हुन पुगेका छन् । थापा, महत र केसी परिवारका अन्य सदस्यहरु सहित प्रयागराज पुगेका थिए ।
पुस २९ मा औपचारिक रूपमा सुरु भएको महाकुम्भ ४५ दिनपछि आगामी बुधबार सकिँदैछ । कुम्भमेला हरेक १२ वर्षमा हुन्छ भने महाकुम्भ १४४ वर्षमा एक पटक आउँछ । कुम्भमेला प्रयागराज, हरिद्वार, उज्जैन र नासिकमा हुन्छ भने महाकुम्भ प्रयागराजमा हुने गर्छ । त्रिवेणी संगममा स्नान गर्दा आत्मिक शुद्धता हुने धार्मिक मान्यताले दशनार्थीहरु प्रयागराज पुग्ने गरेका छन् । प्रयागराज पुग्ने नेपालका नेताहरुले पनि महाकुम्भको अवसरमा गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भुत आध्यात्मिक शान्तिको अनुभूति भएको प्रतिक्रिया दिएका छन् ।
काठमाडौं । आठौं ‘इण्डियन ओसन कन्फ्रेन्स’ तथा द्विपक्षीय बैठकहरूमा सहभागी हुन ओमान भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको उपस्थितिमा मङ्गलबार ओमानलगायत खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग छलफल गरेकी छन् । ओमानस्थित नेपाली राजदूतावासले परिषद्स्थित नेपाली नियोगका राजदूत, कार्यवाहक महावाणिज्यदूत, नियोग उपप्रमुख, श्रम काउन्सेलर तथा श्रम सहचारीलगायत नियोगमा कार्यरत पदाधिकारी तथा कर्मचारीको सहभागितामा ‘भर्चुअल’ बैठक गरेको हो ।
उक्त बैठकमा महिला घरेलु कामदारलगायत नेपाली श्रमिकको उद्धार, सहायता, स्वदेश फिर्ती, बिमा तथा क्षतिपूर्ति, आश्रयस्थल व्यवस्थापन, शव व्यवस्थापनलगायत श्रमिकसँग सम्बन्धित समस्या एवं समाधानका उपाय, प्रभावकारी सेवा प्रवाहमा देखिएका चुनौती र समाधानका उपायबारे छलफल भएको थियो ।
उक्त दूतावासका अनुसार बैठकमा आर्थिक, सांस्कृतिक तथा सार्वजनिक कूटनीतिका विविध आयाम, व्यापार, लगानी, पर्यटन, संस्कृति, भाषा, वेशभूषा, तथा रोजगार प्रवर्द्धन, जनस्तरको सम्बन्ध विस्तार, नेपाली समुदाय तथा सामाजिक सङ्घसंस्थासँगको सहकार्य तथा नेपाली नियोगमा उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापन तथा उपयोगलगायत विषयमा विस्तृत रूपमा छलफल भएको थियो ।
छलफलका क्रममा प्राप्त सुझावलाई समावेश गरी उठान भएका विषयउपर परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायबाट उपयुक्त निर्णयका लागि सिफारिस गर्ने निर्णय भएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । परराष्ट्रमन्त्री देउवाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित, भरपर्दो बनाउने सरकारको नीति बताउँदै यो महत्त्वपूर्ण उद्देश्य हासिल गर्न विदेशस्थित नेपाली नियोगहरूको प्रमुख भूमिका हुने भएकाले लागि सबैले तदारूकताका साथ कार्यसम्पादन गर्न निर्देशन दिइन् ।
विदेशमा कार्यरत नेपाली श्रमिकका समस्या पहिचान गरी समाधानका उपाय अवलम्बन गर्न सरोकार भएका सबै निकाय सक्रिय हुनुपर्ने र दीर्घकालीन रूपमा समस्या समाधान गरी यस क्षेत्रलाई आकर्षक बनाउनुपर्नेमा उनले जोड दिइन् । दूतावासका अनुसार परराष्ट्रमन्त्रीले ‘डिजिटल’ सुशासन कायम गर्ने सरकारको नीतिबमोजिम मागपत्र प्रमाणीकरणलगायत नियोगको सेवा प्रवाहलाई मितव्ययी, सरल, पारदर्शी, प्रभावकारी तथा सूचना प्रविधिमैत्री बनाउन निर्देशन दिइन् ।
नेपालको समग्र विकासका लागि आर्थिक कूटनीति प्रवर्द्धनमा नियोगहरुले विशेष सक्रियता देखाउन तथा सम्बन्धित मन्त्रालयले आवश्यक सहजीकरण गर्न अपरिहार्य रहेको बताउँदै यस सम्बन्धमा कुनै व्यवधान देखिएमा बाधा अड्काउ फुकाउन परराष्ट्र मन्त्रालय तत्पर रहेको उनको भनाइ छ ।
बैठकपश्चात् परराष्ट्रमन्त्री देउवाले ओमानस्थित नेपाली सङ्घसंस्थाका प्रतिनिधि, राजदूतावासका स्वयंसेवक तथा नेपाली समुदायका अगुवाहरुसँग अन्तरक्रिया गरिन् । यस क्रममा उठेका प्रश्नहरूको जवाफ दिंदै उनले सबैलाई इमान्दारीपूर्वक काम गरी नेपालको छवि अभिवृद्धि गर्न आह्वान गरिन् ।
सरकारले नेपाली श्रमिकहरुको हकहित र सेवासुविधाको सुरक्षा एवं प्रवर्द्धनका लागि आवश्यक नीतिगत, संस्थागत तथा कानुनी संरचना निर्माण तथा नियमित परिमार्जन गरिरहेको जानकारी पनि उनले दिइन् ।
परराष्ट्रमन्त्री देउवा तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा राजदूत डोरनाथ अर्यालले रात्रिभोजको आयोजना गरेका थिए । परराष्ट्रमन्त्री तथा उनको प्रतिनिधिमण्डल ओमानको भ्रमण सम्पन्न आज स्वदेश फर्कने कार्यक्रम छ । रासस
काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)का विद्यार्थीलाई कलेजमा फर्कन नियन्त्रण कक्ष सञ्चालन गरिएको जानकारी गराएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन र आफ्नो कक्षा पुनः सुचारु गर्न अपिल गरेको छ । ‘केआईआईटीलले ‘अनिश्चितकालीन’ आदेश फिर्ता लिएको छ र नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन र आफ्नो कक्षा पुनः सुचारु गर्न अपील गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ यसले नेपाली विद्यार्थीहरूको स्वदेश फर्कन सहज बनाउन क्याम्पसमा २४ः७ समर्पित नियन्त्रण कक्ष पनि स्थापना गरेको छ ।’
ओडिसास्थित प्रहरीले यस मुद्दामा वस्तुनिष्ठ, निष्पक्ष र न्यायपूर्ण अनुसन्धानको आश्वासन दिएको पनि दूतावासले जनाएको छ । घटनाको छानबिनका लागि गृह विभागका अतिरिक्त मुख्य सचिवको नेतृत्वमा उच्चस्तरीय तथ्य खोजी समिति गठन भएको र समितिको निष्कर्षको आधारमा उपयुक्त कानुनी र प्रशासनिक कारबाही हुने दूतावासले बताएको छ । सरकारले नेपाली विद्यार्थीहरू सहित सबै विद्यार्थीहरूको सुरक्षा, मर्यादा र कल्याण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको दूतावासले जनाएको छ । भारत सरकारले भारतमा रहेका नेपाली विद्यार्थीहरूको कल्याण सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्ने दूतावासले बताएको छ ।
काठमाडौं । कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि सिर्जित परिस्थितिबारे छानबिन गर्न ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । ओडिसा प्रदेश सरकारको सूचना तथा जनसम्पर्क विभागले प्रेस विज्ञप्ति जारी गर्दै छानबिन समिति गठन गरिएको उल्लेख गरेको छ ।
समितिमा गृह विभागबाट अतिरिक्त मुख्य सचिव, महिला तथा बालविकास विभागबाट प्रमुख सचिव र उच्च शिक्षा विभागबाट आयुक्त सहसचिव सदस्य रहने भनिएको छ । ‘कलेजमा प्रदर्शन गरिएका विद्यार्थीमाथि बल प्रयोग र दुर्व्यवहारका घटनाहरु बाहिर आएका छन्, त्यसमाथि अनुसन्धान भइरहेको छ र कानुन अनुसार कारबाही पनि हुनेछ’ विभागका निर्देशकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसबारे कलेजलाई पनि जानकारी गराइएको छ र उच्च स्तरीय समितिको निष्कर्षका आधारमा कलेजमाथि उपयुक्त कानूनी र प्रशासनिक कारबाही गरिनेछ ।’
विज्ञप्तिमा प्रदेश सरकार विद्यार्थीहरूको सुरक्षा, सम्मान र कल्याणका लागि सुनिश्चित गर्नका लागि प्रतिबद्ध छ । ‘ओडिसा सरकारले सबैलाई न्यायका लागि आवश्यक कदमहरु चाल्नेछ’, विज्ञप्तिमा भनिएको छ । आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।
उनले आफूमाथि सोही कलेजमा अध्ययनरत एक विद्यार्थी मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (आईआरओ) मा दुई पटक निवेदन दिएकी थिइन् । तर, कलेजले गम्भीरता देखाएको थिएन । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए ।
तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो । कलेजका सुरक्षा गार्ड र बाउन्सरहरूले विद्यार्थीलाई कुटपिट गरेको र लखेटेको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो । उक्त विषयमा मंगलबार दिउँसो ओडिसाको विधानसभामा पनि कुरा उठेको थियो ।
काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली विद्यार्थीलाई छात्रावास (होस्टल) र कक्षा सञ्चालनको व्यवस्था मिलाउने बताएको छ । नयाँ दिल्लस्थित नेपाली राजदूतावासका अनुसार, सो संस्थाका रजिस्ट्रार लगायतका प्रतिनिधिले नेपाली विद्यार्थीका लागि छात्रावास र कक्षा सञ्चालनको व्यवस्था मिलाउने जानकारी गराएका छन् ।
दूतावासले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्दै सोही संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन आग्रह गरिएको जानकारी गराएको छ । ‘हाम्रो अनुरोध बमोजिम उक्त शैक्षिक संस्थाले सोही अनुसार विद्यार्थीलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरूका लागि कक्षा सञ्चालनको व्यवस्थापन गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । उक्त प्रकरणमा न्याय माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूलाई कलेज प्रशासनले दमन गरेको थियो । उक्त कलेजमा लगभग १५ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । उक्त घटनामा निष्पक्ष छानबिन गर्न पनि दूतावासले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी-टेक पढिरहेकी नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएपछि कलेजले घटनाको ढाकछोप गर्न खोजेको छ । छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु र त्यसअघि उनले निरन्तर भोगिरहेको दुर्व्यवहारबारे केआईआईटीले विज्ञप्ति जारी गरेर भनेको छ, ‘ हाम्रो प्रशासनले नेपाली विद्यार्थीको मृत्युको घटनालाई लिएर १० घण्टादेखि शान्तिपूर्वक धेरै पटक परामर्श गर्न खोज्यो, शान्तिपुर्वक सम्झाउन खोज्यो । तर नेपाली विद्यार्थीहरूले कानुनलाई उल्लंघन गर्दै कलेजमा तनाव सिर्जना खोजे। उनीहरूले सार्वजनिक सडकमा पनि १ घण्टा अवरूद्ध गरेर थप तनाव दिए ।’
यतिमात्रै होइन कलेजले मृत्युको घटनालाई सहज र पूर्वाग्रहरहीत तरिकाले अनुसन्धानलाई निरन्तरता दिन नेपाली विद्यार्थीलाई घर जान सल्लाह दिएको बताएको छ । ‘ घटनाको बारेमा निष्पक्ष भएर छानबिन नहुँदासम्मका लागि हामीले नेपाली विद्यार्थीलाई तत्काल स्थानीयहरूको सहयोगमा घर जान सल्लाह दिएका हौं।’
यसका साथै कलेजले विद्यार्थीहरूको एकेडेमिक कक्षा चाँडै सञ्चालन हुने र यसमा विशेष ध्यान दिइने पनि बताएको छ । यसका लागि कलेजले होस्टेलमा बसेका र अस्थायी रुपमा निकालिएका विद्यार्थीहरूको निलम्बन फिर्ता लिएको जनाएको छ । ‘कलेजले चाँडै विद्यार्थीहरूको कक्षा सञ्चालन गर्नेछ र होस्टेलबाट निकालिएका विद्यार्थीहरूको निलम्बन फिर्ता गरिएको छ । यसअघि गरिएको कारबाही केवल शान्ति र न्यायका लागि लिइएको थियो ।’
काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै नेपाली विद्यार्थीले प्रदर्शन गरेका छन् । उनीहरुमाथि कलेज प्रशासनले दमन गरेको छ । कलेजको होस्टलमा मृत फेला परेकी बुटवलकी प्रकृति लम्सालबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेका नेपालीमाथि कलेजले निकाला समेत गरेको छ ।
यो कलेजमा करिब १५ सय नेपाली विद्यार्थी अध्ययतरत् रहेको बताइएको छ । लम्सालले कलेजमा पढ्ने एक युवकले आफूलाई लामो समयदेखि दुर्व्यवहार गर्दै आएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर (आईआरओ) लाई निवेदन पनि दिएकी थिइन् । तर, प्रशासनले गम्भीरतापूर्वक लिएको थिएन ।
आइतबार उनी कलेजको होस्टलभित्र मृत अवस्थामा फेला परेपछि विद्यार्थीहरुले कलेजविरुद्ध प्रदर्शन थालेका थिए । कलेजले उनले आत्महत्या गरेको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ । यद्यपि, मृत्युको यकिन कारण पोष्टमार्टम जाँचपछि मात्र थाहा हुनेछ । शवलाई पोष्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको छ । ‘सामाजिक सञ्जालमा प्रदर्शन गर्ने विद्यार्थीहरुमाथि दमन गरिएको भिडियोहरु भाइरल भइरहेका छन् ।
काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् एक जना नेपाली विद्यार्थी होस्टलमा मृत अवस्थामा भेटिएसँगै तनाव बढेको छ । ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी हुन् । कलेजले उनले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको छ । ‘उनी केआईआईटीमै अध्ययनरत एक विद्यार्थीसँग प्रेम सम्बन्धमा थिइन् भन्ने शंका छ’, समाचारमा विज्ञप्ति उल्लेख गर्दै भनिएको छ, ‘त्यहीसँग सम्बन्धित केही कारणले आत्महत्या गरेको हुनसक्छ ।’
कलेजले उनी मृत भेटिएलगत्तै प्रहरीलाई खबर गरिएको भनेको छ । तर, ओडिसाको पत्रिका संवादको अंग्रेजी संस्करणले भने उनी आफ्नो पुरुष साथीबाट दुर्व्यवहारमा परेको उल्लेख गर्दै मृत्युको यकिन कारण खुलिनसकेको उल्लेख गरेको छ । यही बीचमा सामाजिक सञ्जाल एक्समा एउटा थ्रेड भाइरल भएको छ, जसमा उनलाई एक जना व्यक्तिले दुर्व्यवहार गरेर शहर छाडेर भाग्न लागेको भनिएको छ ।
‘उनले आफूलाई जोगाउन खोजेकी थिइन्, केही महिना पहिले उनी सहयोग माग्दै कलेजका अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर (आईआरओ) लाई भेट्न पनि पुगेकी थिइन्’, थ्रेडमा भनिएको छ, ‘उनले त्यहाँ दुर्व्यवहारबारे खबर गरेकी थिइन्, मानसिक दुर्व्यवहार र सहन नसकिने दुःखहरुबारे ।’
तर, कलेजले केही नगरेका कारणले यस्तो घटना भएको त्यसमा उल्लेख गरिएको छ । ‘एउटा जिन्दगी एक व्यक्तिको टक्सिसिटीले गरेर मात्र सकिएन, कलेजको लापरबाहीले पनि सकियो’, उनले भनेका छन्, ‘अहिले जिम्मेवारी लिन छाडेर कलेजले घटनालाई ट्वीस्ट गर्न खोजिरहेको छ । सत्यलाई छोपेर आफ्नो साख मात्र जोगाउन खोजिरहेको छ ।’
अहिले प्रदर्शन गर्न खोज्ने विद्यार्थीहरुलाई समेत सुरक्षागार्ड र होस्टलका वार्डेनहरु प्रयोग गरेर दबाउन खोजिएको भनिएको छ । प्रदर्शन बढ्दै गएपछि कलेजमा प्रहरी परिचालन गरेर स्थितिलाई साम्य पारिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । लम्सालको शवलाई पोष्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको छ । यो घटनापछि कलेजमा पढिरहेका नेपाली विद्यार्थीहरुसँग प्रशासनले छलफल गरेको छ । र, उनीहरुलाई परिस्थिति सामान्य नभएसम्म बिदा बस्न भनेको छ ।