Category: फिचर

  • सुदूरपश्चिममा ४१ हजार मत बदर

    सुदूरपश्चिममा ४१ हजार मत बदर

    महेन्द्रनगर, २८ फागुनः यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ४१ हजार ६२४ मत बदर भएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार यहाँका १६ वटै निर्वाचन क्षेत्रमा गरी कुल खसेको मतको ४.७१ प्रतिशत मत बदर भएको छ ।

    प्रदेश निर्वाचन कार्यालय धनगढीका सूचना अधिकारी दिलीप भाटले १७ लाख २९ हजार ४५० मतदाता रहेको सुदूरपश्चिममा आठ लाख ८४ १७७ मत खसेको थियो । जसमा ४१ हजार ६२४ मत बदर भएको छ । पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलाली क्षेत्र नं १ मा ५९ हजार ३११ मत खसेकामा तीन हजार २५८ मत बदर भएको छ ।

    त्यसैगरी, कैलाली–२ मा ५६ हजार ९६७ मत खसेकामा दुई हजार ६४६ मत बदर भएको सूचना अधिकारी भाटले बताउनुभयो । त्यसैगरी, ६० हजार ३३२ मत खसेको कैलाली–३ मा दुई हजार ९१३ मत बदर भएको छ भने कैलाली–४ मा दुई हजार ९०७ मत बदर भएको छ । यहाँ कुल ६३ हजार ११७ मत खसेको थियो । कैलाली–५ मा ६६ हजार २९५ मत खसेकामा दुई हजार ८०७ मत बदर भएको छ ।

    त्यसैगरी, तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा ६१ हजार ३६७ मत खसेकामा तीन हजार २३४ बदर भएको छ भने यहाँको निर्वाचन क्षेत्र नं २ मा तीन हजार ४३० मत बदर भएको छ । यहाँ कुल ६६ हजार ५४ मत खसेको थियो । त्यसैगरी, कञ्चनपुर–३ मा ५८ हजार ५४३ मत खसेकामा तीन हजार ३९९ मत बदर भएको छ ।

    त्यसैगरी, दुईवटा निर्वाचन क्षेत्र रहेको अछाममा निर्वाचन क्षेत्र नं १ मा एक हजार ११९ मत बदर भएको छ । यहाँ कुल ३२ हजार २४३ मत खसेको थियो भने अछाम–२ मा ३२ हजार ६५० मत खसेकामा एक हजार ५३१ मत बदर भएको छ । एउटा निर्वाचन क्षेत्र रहेको बाजुरामा कुल ४५ हजार ६६९ मत खसेकामा एक हजार २०० मत बदर भएको छ भने डोटीमा ५२ हजार ९०६ मत खसेकामा दुई हजार ४६९ मत बदर भएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

    दार्चुलामा एक हजार ६०८ मत बदर भएको छ । यहाँ कुल ५० हजार ९३० मत खसेको थियो भने बैतडीमा ७२ हजार ३०८ मत खसेको थियो । यहाँ चार हजार १२६ मत बदर भएको छ । यसैगरी, डडेल्धुरामा २६ हजार २११ मत खसेकामा दुई हजार २५ मत बदर भएको छ ।

    सुदूरपश्चिममा ५१.१२ प्रतिशत मतदान भएकामा ९५.२९ प्रतिशत सदर र ४.७१ प्रतिशत मत बदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । यहाँ १६ सिटमध्ये कैलालीका पाँच, कञ्चनपुरका तीन, बैतडी र डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका थिए भने डोटी, अछाम–१ र बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए भने बझाङ, दार्चुला र अछाम–२ मा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएका थिए ।

  • कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

    कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

    मोरङ, २८ फागुनः कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले दिएको जानकारीअनुसार उक्त निर्वाचनमा प्रदेशका १४ जिल्लाको २८ निर्वाचन क्षेत्रमा २० लाख ८४ हजार २१९ मत खसेको मध्ये १९ लाख ५३ हजार ३७२ मत सदर भएको थियो । निर्वाचनमा ताप्लेजुङमा दुई हजार ६८६, पाँचथरमा तीन हजार ८९७, इलाम–१ मा चार हजार ५६६, इलाम–२ तीन हजार ८९५, झापा–१ चार हजार २६९, झापा–२ चार हजार ४६९, झापा–३ पाँच हजार ६२९, झापा–४ चार हजार ७६८ र झापा– ५ चार हजार २१९ मत बदर भएको छ ।

    यसैगरी, सङ्खुवासभामा तीन हजार ७८०, तेह्रथुममा एक हजार ९०९, भोजपुरमा तीन हजार ८७१ र धनकुटामा चार हजार ८८३ मत बदर भएको छ । यसैगरी, मोरङ–१ मा चार हजार ८३७, मोरङ–२ मा छ हजार ५०, मोरङ–३ मा छ हजार ८२७, मोरङ–४ मा पाँच हजार २५६, मोरङ–५ मा सात हजार ८८९ र मोरङ–६ मा पाँच हजार ६४४ मत बदर भएको कार्यालयले जनाएको छ ।

    यसैगरी, सुनसरी–१ मा चार हजार ४८९, सुनसरी–२ मा छ हजार २२९, सुनसरी–३ मा पाँच हजार ६११, सुनसरी–४ मा छ हजार ६७४, सोलुखुम्बुमा एक हजार ९९०, खोटाङमा तीन हजार ९२८, ओखलढुङ्गामा तीन हजार ३५६, उदयपुर–१ मा पाँच हजार ५४७ र उदयपुर–२ मा तीन हजार ६७३ मत बदर भएको छ । सबैभन्दा बढी मत बदर मोरङको क्षेत्र नं ५ मा १० दशमलव ०६ र सबै कम झापा क्षेत्र नं ५ मा तीन दशमलव ९६ प्रतिशत रहेको छ ।

  • सुध्रिएन त्रिभुवन विमानस्थल : ‘फस्ट लुक्स’मै गलत ‘इम्प्रेसन’ !

    सुध्रिएन त्रिभुवन विमानस्थल : ‘फस्ट लुक्स’मै गलत ‘इम्प्रेसन’ !


    सेरिका थापा
    काठमाडौं
    ३० वैशाख २०८२ का दिन अघिल्लो संसद्को एक बैठकमा स्वतन्त्र सांसद अमरेश सिंहले प्रश्न उठाए । उनले भने, ‘मुलुकमा चलिरहेको एउटा मात्र अन्तर्राष्ट्रिय काठमाडौं विमानस्थल छ, त्यसलाई पनि अस्तव्यस्त राखेर अन्तर्राष्ट्रिय बेइज्जत नगरौं ।’ धेरै नागरिकको ‘कम्प्लेन’ आएपछि आफू स्वयम् उपस्थित भएर देखेका बेथितिबारे सिंहले संसद्मा प्रश्न उठाएको उनले स्पष्ट पारेका थिए । उनले भनेका थिए, ‘त्यहाँभित्रको सबै फोटो र भिडियो खिचेर मैले ल्याएको छु, विमानस्थलमा अस्तव्यस्तताको पराकाष्ट छ ।’


    उनले तत्कालीन सरकारका मन्त्री, प्रधानमन्त्रीलाई भनेका थिए, ‘एक पटक आम नागरिक भएर त्रिभुवन विमानस्थल हुँदै यात्रा गर्नुहोस्, कति बेथिति छ, आफैं पत्ता लगाउनु हुन्छ । सिंहले उठाएका मुख्य समस्या थिए, साँघुरो स्थानमा एकै पटक ८÷९ वटा जहाजको प्रस्थान तालिका र यात्रुको चेक–इन, यात्रुको अधिक भिड, चुस्त व्यवस्थापन नहुनु, आगमनका दौरानसमेत लगेज कलेक्सनमा लामो समय लाग्नु र सानो ठाउँमा एकसाथ धेरै यात्रु थुप्रिंदा हुने भिडभाड ।


    सिंहले झण्डै एक वर्षअगाडि संसद्मा उठाएका यी समस्या आज पनि त्रिभुवन विमानस्थल भएर यात्रा गर्ने हरेक अन्तर्राष्ट्रिय उडानका यात्रुका साझा भोगाइ हुन् । अमेरिकाबाट हालै नेपाल आएका एक गैरआवासीय नेपालीले भने, ‘विमानस्थल व्यवस्थापनमा यति धेरै लापरबाही गरिएको छ कि स–साना चिजमा पनि जिम्मेवारी लिएका निकायले ध्यान दिएका छैनन् ।’ कम्पनीमा स्लट म्यानेजमेन्ट मात्र पनि विमानस्थलको क्षमता अनुकूल बनाउने हो भने विमानस्थलमा धेरै समस्या समाधान हुने थिए । तर, कुनै समयमा अत्यधिक भिडभाड हुने र कुनै समय कम मात्र उडान\अवतरण हुने गरी व्यवस्थापनले विमान कम्पनीहरुलाई स्लट दिँदा त्यसको मारमा यात्रु परेका छन् । त्यति मात्र होइन, मुलुक चिनाउने पहिलो नजरमै गलत ‘इम्प्रेसन’ पर्ने अवस्था रहेको उनले सुनाए । ‘हामी त यो देश यस्तै हो भनेर चित्त बुझाउँछौं’, उनी भन्छन्, ‘विदेशीले त हामीलाई हेर्ने नजर राम्रो बनाऔं न ।’


    नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबारे सरकारले गठन गरेको एक उच्चस्तरीय आयोगले नै गम्भीर चिन्ता व्यक्त गरेको छ । वर्तमान पर्यटनमन्त्री अनिलकुमार सिन्हाले नेतृत्व गरेको नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवम् सुझाव आयोगले गत कात्तिकमा सरकारलाई बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘नेपालजस्तो पर्यटकीय मुलुकमा पर्यटकले भोगेका नकारात्मक अनुभवले मुलुकको अन्तर्राष्ट्रिय छवि प्रभावित भएको छ ।’


    नेपाल नागरिक उड्डयन प्राधिकरणले हरेक अन्तर्राष्ट्रिय टिकटबाट ‘एयरपोर्ट ट्याक्स’का नाममा ३ हजार रुपैयाँ असुल गर्छ । यो रकम विमानस्थल र प्राधिकरणको चालु खर्च (कर्मचारीलाई तलब भत्तासहित)मा प्रयोग हुन्छ । त्यति ठूलो रकम असुल गरेपछि विमानस्थल प्रशासनको दायित्व यात्रुलाई सहज सेवा दिनु पनि हो । तर, त्रिभुवन विमानस्थल निरन्तर प्रयोग गर्ने यात्रुले यस्तो अनुभूति गर्दैनन् ।
    प्राधिकरणका अधिकारीहरु भने विमानस्थल अहिले उच्चतम क्षमतामा चलिरहेका कारण चाहेरसमेत कमजोरी हुने स्वीकार गर्छन् । यसको समाधानका लागि त्रिभुवन विमानस्थलको गुरुयोजनाअनुसार कामले तीव्रता पाउनुपर्ने प्राधिकरणका एक अधिकारीले बताए । गुरुयोजनाअनुसार विद्यमान अन्तर्राष्ट्रिय टर्मिनल आन्तरिक टर्मिनलमा रुपान्तरण हुनेछ । अन्तर्राष्ट्रिय उडानका यात्रु व्यवस्थापनका लागि नयाँ टर्मिनल भवनको योजना छ ।

    माछा बजार जस्तै प्रस्थान परिसर
    त्रिभुवन विमानस्थलको प्रस्थान परिसर पुग्दा स्थानीय माछा बजारकै झल्को दिन्छ । एक यात्रुलाई बिदाइ गर्न १०÷१५ जनासम्म परिवारका सदस्य पुग्ने फेसन नै बनेको छ । यो भिडले एकातर्फ त्रिभुवन विमानस्थलको प्रस्थानतर्फ आम यात्रुको आवागमनमा असहजता मात्र उत्पन्न गरेको छैन, मुलुकको छविमा समेत नकारात्मक असर परिरहेको छ । हरेक दिन प्रस्थान परिसरको बाहिर भाग भरिभराउ हुन्छ । जहाँ बस्ने पर्याप्त संरचना छैनन् ।

    file


    यात्रु र उनीहरुलाई बिदाइका लागि आउने मानिसहरुको भिडले पर्यटकबीच नेपालको छवि नराम्रो बनिरहेको छ । यस समस्याको समाधानका लागि कार्यालयले पटक–पटक सूचना नै निकालेर नियन्त्रणको प्रयास गरेको त्रिभुवन विमानस्थल कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए । ‘यो कानूनका दफा देखाएर वा प्रहरी लगाएर गर्नुभन्दा पनि यात्रु र आफन्त स्वयम् सचेत भएमा समाधान हुने विषय हो,’ उनले भने, ‘त्यसकारण बिदाइमा धेरै यात्रु नआउन, खादा–माला लगाएर प्रस्थान कक्षमा नआउन सचेत गराउने काम गरिरहेका छौं ।’ एक त भिडभाड, अर्कोतर्फ थोरै मात्र इन्ट्री गेटमा हुने लामो लाइनले त्रिभुवन विमानस्थलको दरिद्रता झल्काइरहेको छ ।

    बोर्डिङ पास लिएपछि ब्यागेज क्लियर नभएसम्म कुर्नुपर्ने बाध्यता
    त्रिभुवन विमानस्थलमा बोर्डिङ पास लिएर ब्यागेज बुझाएपछि यात्रुलाई अध्यागमन कक्षतर्फ गइहाल्न अनुमति दिइँदैन । बरु साँघुरो क्षेत्रमा कोचाकोच गरेर भए पनि यात्रुले ब्यागेज क्लियर नहुन्जेल कुरिरहनुपर्छ । त्यसपछि मात्र इमिग्रेसनतर्फ प्रस्थानको अनुमति दिने गरिन्छ । यसले विमानस्थलको बोर्डिङ पास लिने क्षेत्रमै अनावश्यक भिडभाड बढाउँछ । नेपाल वायुसेवा निगमका एक उच्च अधिकारीका अनुसार यस्तो समस्या धेरै वायुसेवा कम्पनीको उडान एकै पटक हुने गरी तोकिएको समयमा अधिक देखिन्छ । इमिग्रेसन क्षेत्र तुलनात्मक रुपमा सुधार भएको छ । अहिले काउन्टरहरुसमेत बढाइएका छन् । तर, इमिग्रेसनका कतिपय प्रशासकीय समस्या भने अझै पनि प्रश्नकै घेरामा छन् ।

    उपकरण बिग्रन्छन्, बनाइँदैन
    त्रिभुवन विमानस्थलको इमिग्रेसन रहेको तलामा उक्लिसकेपछि कारणवश यात्रु तथा कर्मचारी तल झर्नुप¥यो भने अहिले तल झर्ने लिफ्टले काम गर्दैन । त्रिभुवन विमानस्थलमै काम गर्ने एक कर्मचारीका अनुसार यो लिफ्ट बिग्रिएर चल्न छाडेको ५÷६ महिना नै भइसक्यो । व्यवस्थापनले ध्यान दिन सकेको छैन । ‘अन्तर्राष्ट्रिय विमानस्थल त नाम मात्रको जस्तै छ,’ उनी भन्छन्, ‘हाम्रोमा बरु नयाँ सामान छिटो खरिद गरिन्छ, बिग्रिएको बनाउन धेरै समय लगाउने प्रवृत्ति छ ।’

    सुरक्षा जाँचमा सधैं प्रश्न
    सिन्हाको संयोजकत्वमा गठित उच्चस्तरीय अध्ययन आयोगले बुझाएको प्रतिवेदनले नेपालका विमानस्थलभित्र हरेक यात्रुलाई हातले छामछुम पार्दै गरिने जाँचमा प्रश्न उठाएको छ । हालै अमेरिकाबाट नेपाल आएका एक गैरआवासीय नेपालीले पटक–पटक आफूले सुरक्षा जाँचमा लापरबाही हुने गरेको अनुभव सुनाए ।
    ‘प्रहरीले अलि हट्टाकट्टा, सुकिलो–मुकिलो यात्रुको तुलनामा झुत्रो–झाम्रो देखिने यात्रुलाई बढी नै दुःख दिने गरेको अनुभव मैले धेरै पटक गरेको छु,’ उनले भने । अध्यागमन पार भई जहाजमा चढ्नुअगाडि प्रहरीले गर्ने सुरक्षामा हुने यस्तो लापरबाहीले सुकिलामुकिलाको भेषमा गलत गतिविधि हुँदैन भनेर कसरी विश्वास गर्नु ? उनी प्रश्न उठाउँछन् । यसको साटो सुरक्षा जाँचलाई प्रविधियुक्त बनाउनुपर्ने सुझाव उच्चस्तरीय आयोगले नै दिएको छ ।

    व्यवस्थापनमा सकस
    त्रिभुवन विमानस्थलमा जहाजको उडान÷अवतरणका लागि समय उपलब्ध गराउने काम नेपाल नागरिक उड्डयन प्राधिकरणको मुख्यालयबाट हुन्छ । तर, विमानस्थलभित्र व्यवस्थापनको काम भने विमानस्थल कार्यालयले गर्नुपर्छ । यी दुई निकायबीच नै समन्वय नभएको अनुभूति यात्रुले गर्छन् । त्रिभुवन विमानस्थलमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अत्यधिक भिड हुने गरी उडान\अवतरणको तालिका दिइएको छ ।

    बिहान र साँझको समयमा तुलनात्मक रुपमा कम उडान\अवतरण हुने गरी स्लट राखिएको छ । राति ८ देखि ११ बजे भने अत्यधिक भिड हुने गरी समय राखिएको छ । प्राधिकरणका अधिकारीहरु काठमाडौं विमानस्थल अन्तर्राष्ट्रिय मात्र नभएर आन्तरिक विमानस्थलसमेत भएको भन्दै यी दुबै उडानलाई सहज व्यवस्थापन गर्ने गरी स्लट दिने गरिएको बताउँछन् । यहाँ आन्तरिक र बाह्य दुबै उडानका जहाजले एउटै धावनमार्ग प्रयोग गर्नुपर्छ । जसले गर्दा पिक आवरमा आकाशमा लामो समय जहाज होल्ड गराइन्छ ।


    एउटै समयमा अधिक भिड हुने गरी दिइएको उडान स्लटको असर प्रस्थानतर्फ वेटिङ एरियामा अझ स्पष्ट देखिन्छ । एकै पटक धेरै भिड हुने क्षेत्रमा यात्रुले यत्रतत्र छाड्ने चिया, कफीका कप, बस्ने कुर्सीमा दाग र शौचालयमा फोहोर पनि सोही समयमा देखिन्छ । केही समयमा सफा गरिए पनि जब यात्रु र पर्यटकले आफ्नो अगाडि ती वस्तु देख्छ, त्यसरी नै विमानस्थलको छवि निरन्तर खराब बनिरहेको छ । अहिले विमानस्थलको शौचालयमा तुलनात्मक रुपमा कम प्रश्न उठ्ने गरी व्यवस्थापन मिलाइएको छ । तर, शौचालयमा आवश्यक सामानको अभाव भने यात्रुले स्पष्ट अनुभव गर्छन् ।

    सार्वजनिक यातायात जस्तै नेवानिका बस
    आगमनतर्फ त्रिभुवन विमानस्थलमा एरोब्रिज सुविधा छैन । सोहीकारण ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी लिएको नेपाल एयरलाइन्सले आफ्ना बसमार्फत यात्रुलाई आगमनतर्फको अध्यागमन कक्षतर्फ लैजान्छ । सो क्रममा यात्रुले काठमाडौंका सार्वजनिक बसको जस्तै अनुभव पर्यटक र हवाई यात्रुले गर्छन् । ‘कम्तीमा एउटा बसमा जति सिट छन् वा सहजै उभिन सकिन्छ, त्यति मात्र राख्न सके इज्जत हुन्थ्यो नि’, पंक्तिकारसँग जोडिएका ती गैरआवासीय नेपालीले भने, ‘खचाखच यात्रु राख्दा ब्याग बोकेका यात्रुलाई निकै असहज हुने गरेको छ ।’

    घडीहरुले दिँदैनन् सही समय
    विमानस्थलभित्रको बेथिति र लापरबाही कतिसम्म छ भने भित्तामा विभिन्न मुलुकको यथार्थ समय देखाउन राखिएका घडीहरुले नै सही समय बताउँदैनन् । कतिपय घडी बिग्रिएर नचलेको र कतिपय बत्तीले सही समय देखाउन नसकेको पंक्तिकार स्वयम्ले भोगेको यथार्थ हो । जसको प्रमाणका लागि तस्वीरसमेत लिइएको छ । कार्यालयका एक कर्मचारी विमानस्थलभित्र यस्ता सूक्ष्म निगरानी गरेर चुस्त राख्नुपर्छ भन्ने चेत कसैलाई पनि छैन । बरु लामो समय मर्मत नगरी नयाँ खरिदमा प्रोत्साहन गरिन्छ । सोहीकारण नेपालमा खरिद जहिले पनि विवादित बन्छ ।

    ब्यागेज क्लेममा सास्ती, भन्सार जाँचपास प्रक्रियामा प्रश्न
    त्रिभुवन विमानस्थलभित्र आगमनतर्फ यात्रुले अर्को महाभारत भोग्नुपर्ने स्थान ब्यागेज क्लेम कक्षसमेत हो । अहिले कन्भेयर बेल्टमा पर्याप्त लगानी गरिएका कारण बेल्ट नघुम्ने समस्या छैन । तर, साँघुरो स्थान, एकसाथ धेरै यात्रु व्यवस्थापन गर्दा आफ्नो ब्यागेज लिनसमेत यात्रुले झन्झटको सामना गर्नुपर्छ । अर्कोतर्फ टुटफुट र चोरीको समस्यासमेत विमानस्थलभित्रका निरन्तर समस्या हुन् । सिन्हा आयोगले ब्यागेज क्लेम र भन्सार क्लियर गर्ने प्रक्रियामा रहेको त्रुटिलाई गम्भीर रुपमा उठाएको छ ।


    ‘आगमन कक्षमा हुने भन्सार निरीक्षण प्रक्रिया निकै असहज र अपनाइएका तरिका कतिपय अनावश्यक हुनुका साथै पर्यटकका लागि अस्वाभाविक रुपमा झन्झटिलो रहेको छ,’ आयोगले भनेको छ । राजस्व असुलीलाई मात्र लक्षित गरी अपनाइएको यस्तो तरिका अन्तर्राष्ट्रिय रुपमा स्वीकार्य सुरक्षा मापदण्डअनुरुप नभएको आयोगको निष्कर्ष छ । अझ नेपालजस्तो पर्यटकीय मुलुकमा पर्यटकले भोगेका नकारात्मक अनुभवले मुलुकको अन्तर्राष्ट्रिय छवि प्रभावित भएको आयोगले जनाएको छ ।


    एकातर्फ राजस्व चुहावट नियन्त्रणका लागि भन्दै पर्यटक र यात्रुलाई सास्ती दिने र अर्कातर्फ संस्थागत हुँदै गएको संगठित अपराध नियन्त्रण तथा निवारणमा उल्लेख्य भूमिका नदेखिनुको कारणमा समेत आयोगले प्रश्न गरेको छ । ‘सामान्य यात्रुले आवागमनमा ब्यागेज क्लेम गर्दा सामानको सुरक्षा र टुटफुटमा कसैले पनि कारक तत्व पहिचान गरेको, गर्ने प्रयत्न गरेको वा जिम्मेवारी दिने गरेको समेत नदेखिएका सन्दर्भमा विशेष निगरानीको आवश्यकता देखिएको छ,’ आयोगले भनेको छ ।

    निजी र एयरपोर्ट ट्याक्सीको दादागिरी, निरीह प्रहरी
    त्रिभुवन विमानस्थलभित्रको पार्किङमा यात्रु नपुग्दै खोसाखोस गर्न आउने ट्याक्सी चालक, विमानस्थलभित्रका हरियो नम्बर प्लेटवाला ट्याक्सीको दादागिरी अर्को समस्या हो । जसमा नेपाल प्रहरी निरीह भएर बस्छ । बरु यात्रुलाई सकेसम्म कसरी धपाउने भन्नेमा प्रहरीको ध्यान हुन्छ । विमानस्थलभित्र यात्रुको सुविधाका लागि पूर्वमन्त्री प्रेम आलेले सटल बसको व्यवस्था गरेका थिए । अहिले यो सटल बस त चल्छ । तर, ब्यागेजसहित यात्रा गर्ने यात्रुका लागि सहज छैन । सोहीकारण मुस्किलले १ किलोमिटर यात्रा गर्नसमेत ट्याक्सीले ५\६ सय भाडा असुल गर्छन् । यसबारे सिन्हा आयोगले समेत गम्भीर प्रश्न उठाएको छ ।


    प्रतिवेदनअनुसार आगमन भवनबाट बाहिर निस्कनासाथ निजी सुरक्षाकर्मीले यात्रुलाई लिन आउने सवारीसाधन चढ्न नदिने र नेपाल प्रहरी मूकदर्शक बन्ने गरेको समेत आयोगले उल्लेख गरेको छ । सबै यात्रुलाई पार्किङ क्षेत्रमा जानै पर्ने गरी व्यवस्था मिलाइएको र यसो गर्नुका पछाडि हरेक सवारीसाधनबाट पार्किङ शुल्क असुल गर्ने नियत राखिएको समेत आयोगले बताएको छ ।


    पार्किङ क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति नहुने र परिचय नखुल्ने निजी सुरक्षाकर्मी र भाडाका सवारीचालकले यात्रुलाई नकारात्मक व्यवहार गरिरहेको तर्फ समेत आयोगले प्रश्न उठाएको छ । ‘यस्तो व्यवहारले स्वदेशी वा विदेशी यात्रुलाई असुरक्षित महसुुस गराउनु अन्तर्राष्ट्रिय विमानस्थलका लागि स्वीकार्य नदेखिएकाले विमानस्थल सुरक्षामा यो विषयले पनि प्रश्नचिह्न लगाएको छ,’ आयोगले भनेको छ । विमानस्थल सुरक्षामा खटिएका सुरक्षाकर्मीको कार्यशैली सुरक्षा संयन्त्रको परम्परागत अभ्यासमा आधारित रहेको र यसले यात्रुलाई असहज महसुस गराएको समेत आयोगको भनाइ छ ।


    ‘सुरक्षा अंगहरु व्यवहारमा आफ्नै तालुकदार संगठनको नियम र कार्य निर्देशिकाका आधारमा सञ्चालित छन्, यी निकायले प्रवाह गरिरहेको सुरक्षा सेवालाई नागरिक सेवामा रहेको नियामक निकायले सुपरीवेक्षण वा नियमन गर्न सक्ने परिकल्पना गरिएको छैन,’ आयोगले भनेको छ । धेरै देशमा विमानस्थल सुरक्षामा सोही विषयमा विशेषज्ञता हासिल गरेका सुरक्षा दस्ता खटाउने गरिन्छ । नेपालमा समेत यस्तो दस्ताको माग उठे पनि सरकारले ठोस निर्णय लिन सकेको छैन । सोहीकारण विमानस्थलमा सुरक्षाकर्मीको व्यवहारलाई लिएर बेलाबेला यात्रुले प्रश्न उठाउने गरेका छन् । विमानस्थलको बाहिरी सुरक्षामा अहिले नेपाली सेना र यात्रु जाँच र ल्याण्डसाइड एरियामा खटिएको छ । भन्सारमा सशस्त्र प्रहरी खटिएको छ ।

    उच्चस्तरीय अध्ययन एवम् सुझाव समितिले काठमाडौं विमानस्थलमा देखेका मुख्य बेथिति
    १. विमानस्थलमा खटिएका सुरक्षा संयन्त्र परम्परागत छन् ।
    २. प्रस्थान हलसँगै राखिएका एक्स–रे मेसिन र यात्रु स्क्रिनिङ बुथले अन्तर्राष्ट्रिय विमानस्थलको झल्को दिँदैन ।
    ३. सशस्त्र प्रहरीको उपस्थिति कम हुँदा सुरक्षा चुनौती ।
    ४. आगमन कक्षामा हुने भन्सार निरीक्षणको प्रक्रिया असहज र अपनाइएका तरिका अनावश्यक ।
    ५. हरेक यात्रुलाई हातले छामछुम पार्ने तरिका भन्सार सुरक्षा प्रक्रियामा अमिल्दो ।
    ६. पर्यटकले भोगेका नकारात्मक अनुभवले मुलुकको अन्तर्राष्ट्रिय छवि प्रभावित ।
    ७. सामान टुटफुट र सुरक्षामा विशेष निगरानीको अभाव ।
    ८. आवागमन भवनबाट बाहिर निजी सुरक्षाकर्मीले व्यक्तिगत सवारी साधन ल्याउन नदिने, जसको मूकदर्शक नेपाल प्रहरी बन्ने ।
    ९. सबै यात्रु पार्किङमै पुग्नुपर्ने, ताकि निजी सवारी साधनबाट पार्किङ शुल्क असुल गर्न पाइयोस् ।
    १०. ट्याक्सी चालकको व्यवहारले यात्रु र पर्यटकले असुरक्षित महसुस गर्नु ।

  • मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

    मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

    काठमाडौँ, २८ फागुनः नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव १६ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार गत माघ महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति दुई दशमलव ५० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ६६ प्रतिशत रहेको छ । चालु आर्थिक वर्ष २०८२–८३ को सात महिनाको औसत मुद्रास्फीति भने एक दशमलव ९२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति चार दशमलव ८६ प्रतिशत रहेको थियो ।

    केन्द्रीय बैंकका अनुसार गत माघ महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११ दशमलव ६३ प्रतिशत, घ्यू तथा तेलको सात दशमलव ६१ प्रतिशत र फलफूलको सात दशमलव ४१ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव १९, खाद्य तथा खाद्यजन्य पदार्थको दुई दशमलव ९७ र मरमसलाको दुई दशमलव ६१ प्रतिशतले घटेको छ ।

    गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २१ दशमलव ९८, शिक्षाको सात दशमलव ४६, कपडाजन्य तथा जुत्ताचप्पलको पाँच दशमलव २८, सुर्तीजन्य पदार्थको चार दशमलव १५ र मदिराजन्य पेयपदार्थको तीन दशमलव ८५ प्रतिशतले बढेको छ । सञ्चार उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव ०८ प्रतिशतले घटेको छ । त्यस्तै गत माघ महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क दुई दशमलव ५२ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क तीन दशमलव ५१ प्रतिशतले बढेको छ ।

    प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ५३, मधेस प्रदेशको पाँच दशमलव १४, बागमती प्रदेशको तीन दशमलव १०, गण्डकी प्रदेशको दुई दशमलव ४२, लुम्बिनी प्रदेशको तीन दशमलव २९, कर्णाली प्रदेशको एक दशमलव ६२ र सुदूरपश्चिम प्रदेशको एक दशमलव ६४ प्रतिशत रहेको छ । त्यस्तै, काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ४८ प्रतिशत, तराईको तीन दशमलव ६६ प्रतिशत, पहाडको दुई दशमलव ६८ प्रतिशत र हिमालको दुई दशमलव ५८ प्रतिशत रहेको छ ।

  • सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    काठमाडौँ, २७ फागुन । चालु आर्थिक वर्ष २०८२–८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९ दशमलव ८ प्रतिशतले वृद्धि भई रु १२ खर्ब ६१ अर्ब एक करोड पुगेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आव २०८२र८३ को सात महिना ९२०८२ माघसम्म० को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको देखिएको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात दशमलव प्रतिशतले बढेको थियो । गत माघ महिनामामा मात्र रु एक खर्ब ९८ अर्ब आठ करोड बराबर विप्रेषण भित्रिएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ३७ अर्ब ५० करोड रहेको थियो ।

    गत माघ मसान्तसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई आठ अर्ब ८६ करोड पुगेको छ । यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु १३ खर्ब ८४ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु नौ खर्ब ८६ अर्ब ३४ करोड रहेको थियो । त्यस्तै, यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ४५ हजार १५३ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख २७ हजार ४२४ रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • ‘पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’

    ‘पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’

    काठमाडौँ, २७ फागुनः परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा देखिएको तनावले खाडी मुलुकमा कार्यरत श्रमिकलाई तत्कालै उद्धार गरिहाल्नुपर्ने स्थिति नरहेको बताएका छन् । परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले युद्ध विस्तारै शान्त हुँदै आएको ‘ब्रिफिङ’ गर्दै केही हवाई ट्रान्जिटमा रहेका नेपाली नागरिकबाहेक श्रमिकलाई तत्कालै उद्धार गर्नुपर्ने स्थीति नरहेको जानकारी दिए । “हामीले सम्बन्धित दूतावासमार्फत नियोगमा बुझेअनुसार तत्कालै नेपाली नागरिकलाई उद्धार गरिहाल्नुपर्ने अवस्था छैन । हामी चिन्तित हुनुपर्ने स्थीति छैन”, मन्त्री शर्माले भने, “तर, ट्रान्जिटमा परेकाहरूको हकमा उद्धार काम भइरहेको छ ।”

    नेपाल सरकारले ‘इमर्जेन्सी रेस्क्यु’ टिमलाई बलियो बनाउने तयारीमा रहेको र भविष्यमा तत्काल उद्धार गर्ने पस्थिति आए तयारी रहने मन्त्री शर्माले जानकारी दिए । मन्त्रालयले प्राप्त गरेको सूचनाअनुसार अनलाइन फर्ममार्फत असुरक्षित भएको महसुस गर्नेमा पाँच हजार जना छन् । त्यस्तै, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले युद्धग्रस्त क्षेत्रमा कार्यरत नेपाली श्रमिक अहिलेसम्म सुरक्षित रहेको बताए । दुबईमा कार्यरत एक जना नेपालीको मृत्यु भए पनि अहिलेसम्म त्यस्तो जोखिम पूर्ण अवस्थामा श्रमिक नरहेको उनले बताए ।


    युद्धको बाछिटाले १५ जना श्रमिक सामान्य घाइते भएको र अहिले १४ जना उपचारपछि निको भएर काममा फर्किएको उनले जानकारी दिए । उनका अनुसार दैनिक दुई÷तीन पटक फोन सम्पर्कमार्फत सम्बन्धित नियोगमा नेपाली नागरिकको अवस्थाबारे तथ्याङ्क र सूचना सङ्कलन गर्दै आएको पनि उनले बताए । “हाम्रा श्रमिक हालसम्म सुरक्षित छन्”, उनले भने, ‘नेपाल फर्किन चाहनेहरूलाई उद्धार गर्दैछौँ ।”

    त्यस्तै, बहराइनमा युद्ध प्रभावित दुई हजार ६०० जना सेल्टरमा छन् जसमध्ये, चार नेपालीसमेत सुरक्षित रहेको मन्त्रालयको आजको ब्रिफिङमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा मन्त्रालयले १२ दिनदेखि इजराइल अमेरिका र इरानबीचको युद्धको प्रभावले असुरक्षित महसुस गरेका नेपाली नागरिकलाई सुरक्षाको मनोभाव बढाउनसमेत आवश्यक रहेको सचिव राईले बताए। मन्त्रालयको तथ्याङ्कअनुसार खाडी मुलुकमा १७ लाख २९ जना नेपाली श्रमिक कार्यरत छन् ।

  • बलात्कारपछि हत्या घटना : दोषीलाई कारबाही माग गर्दे माइतीघर मण्डलामा प्रदर्शन

    बलात्कारपछि हत्या घटना : दोषीलाई कारबाही माग गर्दे माइतीघर मण्डलामा प्रदर्शन

    काठमाडौँ, २७ फागुनः गत शनिबार वीरेन्द्रनगर–४ सहिदपार्क नजिकैको जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिका इनिषा विकको बलात्कारपछि हत्या घटनाका दोषीलाई कारबाहीको माग गर्दै दलित युवाले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले ‘जस्टिस् फर इनिषा विक’, ‘दलितमाथि बलात्कार र हिंसा बन्द गर’, ‘महिला अधिकार सुनिश्चित गर’ ‘वि वान्ट जस्टिस्’ र ‘महिला शोषणविरुद्ध एक हौँ’ लेखिएका ‘प्ले कार्ड’ बोकेका थिए ।

    गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिषा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, सहिदपार्क नजिकैको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँमा पु¥याएकामा चिकित्सकले मृत घोषणा गरेको थियो ।

    मृतकका आफन्तहरूले सामूहिक बलात्कार गरेको भन्दै २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले इनिषाको बलात्कारपछि मृत्यु भएको पुष्टि भएको जनाइएको छ । सो घटनामा सुर्खेत प्रहरीले चार जनालाई पक्राउसमेत गरेको जनाएको छ ।

  • समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

    समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

    काठमाडौँ, २७ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक दलले ल्याउनुपर्ने न्यूनतम मतको सीमा) भन्दा कम मत प्राप्त गरेका छन् । फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिह्नसहित कूल ५७ दलले भाग लिएकामा छ दलले संसद्मा प्रवेश पाउने अवस्था देखिँदा ५१ दलले न्यूनतम मत सीमा कटाएका छैनन् ।

    समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खसेको मतमध्ये कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गरेका दललाई मात्रै सिट बाँडफाँट गरिने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । सम्पूर्ण देशलार्ई एक निर्वाचन क्षेत्र मानी दललाई मत दिने र प्रत्येक दलले प्राप्त गरेको कुल मत सङ्ख्याको अनुपातमा त्यस्तो दलको तर्पmबाट प्रतिनिधित्व गर्ने उम्मेदवार प्रतिनिधिसभाको सदस्यमा निर्वाचित हुने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।


    उनका अनुसार समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ सदर मत गणना भएकामा राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३९ हजार २३५ सहित अग्रता हासिल गरेको छ । नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १४ लाख चार हजार ८५४, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आठ लाख पाँच हजार ७७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ६४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार ४७२ मत हासिल गरेका छन् । यी बाहेकअन्य दलले थ्रेस होल्ड कटाउन नसकेका उनले बताए ।


    न्यूनतम मत सीमा नकटाउने दलमा जनमत समाजवादी पार्टी (जसपा) नेपालको एक लाख ७४ हजार ३१७, राष्ट्रिय परिवर्तन पार्टीको एक लाख ७१ हजार ५०१, जनमत पार्टीले ७९ हजार, एकल चिह्न चकिया (जाँतो, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादाी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल)ले ६१ हजार ६७७, नेपाल मजदुर किसान पार्टीले ४२ हजार २४६, राष्ट्र निर्माण दल नेपालले ३८ हजार ९३३, राष्ट्रिय जनमोर्चाले २९ हजार ४४२, एकल चिह्न बस (नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनता संरक्षण पार्टी)ले २८ हजार १७८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६१७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले २३ हजार ८५१, मङ्गोल नेशनल अर्गनाइजेशनले २० हजार ८०६, एक चिह्न मोबाइल (आम जनता पार्टी, जनादेश पार्टी नेपाल)ले १३ हजार ४४५ मत प्राप्त गरेका आयोगका सहप्रवक्ता जिसीले जानकारी दिए ।


    त्यसैगरी राष्ट्रिय मुक्ति आन्दोलन नेपालले १० हजार ६९५, संयुक्त नागरिक पार्टीको ९८०, स्वाभिमान पार्टीको आठ हजार १३२, राष्ट्रिय जनमुक्ति पार्टीको सात हजार २०७, नेपाल जनता पार्टीको सात हजार १५३, राष्ट्रिय एकता दलको सात हजार ५०, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेलिनवादी)ले छ हजार १६२, राष्ट्रिय गौरव पार्टीले पाँच हजार २४१, नेशनल रिपब्लिक नेपालले पाँच हजार १५७, नेपालका लागि नेपाली पार्टीले पाँच हजार सात, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले चार हजार ८२३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले चार हजार ६६८, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले चार हजार ५०८, राष्ट्रिय ऊर्जा पार्टी नेपालले चार हजार ३१२, समाजवादी पार्टी नेपालको चार हजार २४८, गतिशील लोकतान्त्रिक पार्टीले चार हजार २४८ प्राप्त गरेका छन् ।

    नेपाल लोकतान्त्रिक पार्टीले चार हजार १००, नेपाल मातृभूमि पार्टीले दुई हजार ९७२, राष्ट्रिय जनता पार्टी नेपालको दुई हजार ९२५, बहुजन शक्ति पार्टी नेपालको दुई हजार २६६, नेपाल जनमुक्ति पार्टीले दुई हजार १६२, जनअधिकार पार्टीले दुई हजार १०५, नेपाल सद्भावना पार्टीले दुई हजार १५ मत प्राप्त गरेका आयोगका सहप्रवक्ता जिसीले जानकारी दिए ।

    पिपुल फष्ट पार्टी, नेपाली कांग्रेस (बिपी), नागरिक शक्ति नेपाल, नेपाल जनश्रमदान संस्कृति पार्टी, नेपाली जनता दल, समावेशी समाजवादी पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, एकल चिह्न जगर भएको सिंह (सचेत नेपाली पार्टी, नागरिक सर्वोच्चता पार्टी नेपाल) र जनप्रिय लोकतान्त्रिक पार्टीले दुई हजारभन्दा कम मत प्राप्त गरेका उनले बताए ।


    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुन्छ । निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू नहुने आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था रहेको आयोगका सहप्रवक्ता जिसीले जानकारी दिए ।


    उनका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गर्नेछन् ।

  • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै, यस्तो छ प्रक्रिया

    प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै, यस्तो छ प्रक्रिया

    काठमाडौँ, २७ फागुनः यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी गर्न थालिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । नेपालको संविधानको धारा ९३ मा संसद् अधिवेशनको आह्वान र अन्त्यको व्यवस्था उल्लेख छ । उक्त प्रावधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ ।

    संविधानमा ३० दिनभित्र भनिए पनि सचिवालयले भने बैठक आह्वानका लागि विगतदेखि एक वा दुई हप्ताभन्दा ढिला नगरेको सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई जानकारी दिए । “सचिवालयले नवनिर्वाचित सांसदहरूलाई काठमाडौँ आउनका लागि करिब १० दिनको समय दिएर संसद् बैठकका लागि सूचना आह्वान गर्छ । यहीबीचमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनुहुन्छ र उहाँले अरु सांसदलाई शपथ गराउनुहुन्छ”, उनले भने ।


    सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले सभामुखको भूमिका निर्वाह गर्ने कानुनी प्रावधान रहेको प्रवक्ता गिरीले जानकारी दिए । “संसद्को पहिलो बैठकले सभामुखको निर्वाचन घोषणा गर्छ, साथै सभामुखको अनुपस्थितिमा भूमिका निर्वाह गर्नका लागि प्रत्येक दलबाट तीन जनाका दरले सांसदको नाम मागेर अनुमोदन गरिन्छ । त्यसपछि बस्ने पहिलो बैठकमा अध्यादेश छन् भने पेस गरिन्छन्”, उनले भने ।

    हलको भने अभाव
    निर्माणाधीन संसद् भवनको निर्माण सम्पन्न भइनसकेकाले अबको प्रतिनिधिसभाको केही समयसम्म अर्को प्रयोजनका लागि निर्मित हलमा बस्ने तयारी भइरहेको प्रवक्ता गिरीले जानकारी दिए । “प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि निर्माणाधीन भवनको बीचमा रहेको उक्त हलमा बैठक तयारीका लागि आवश्यक प्राविधिक व्यवस्थापन काम भइरहेको छ”, उनले भने ।


    सहरी विकास मन्त्रालय र निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेञ्चरबीच विसं २०७६ असोज १६ गते भएको सम्झौताअनुसार सङ्घीय संसद् भवन तीन वर्षभित्र अर्थात् २०७९ असोज १५ गतेसम्म निर्माण भइसक्नुपर्ने थियो । कोरोना महामारीलगायत विभिन्न कारण देखाउँदै हालसम्म उक्त भवन निर्माण सम्पन्न हुन सकेको छैन ।

    एक सय ५१ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको परियोजनाअन्तर्गत प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत १२ भवन हुनेछन् । संसद् भवनभित्र मुख्य भवन आठ वटा हुनेछन् । भवनभित्र ३५० सिट क्षमताको संयुक्त लबी हुनेछ भने सानाठूला गरी १० वटा संसदीय दलका कार्यालय हुनेछन् । यसका चार अतिरिक्त अतिरिक्त विशिष्ट कक्ष, दुई संसद् सचिवालय भवन, संसद् लाइब्रेरी, दुईवटा क्यान्टिन क्रमशः १०० र ३०० जना अट्ने क्षमताका र ३९० वटा गाडी पार्किङ क्षमता हुनेछ ।

  • वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    काठमाडौँ, २७ फागुनः प्रहरी प्रधान कार्यालयले काठमाडौँलगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले प्रदूषण बढेकाले आज सार्वजनिक सूचना जारी गरेर आफ्नो स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र सर्तकता अपनाउन अनुरोध गरिएको जानकारी दिए ।


    उनका अनुसार नेपाल प्रहरीले नागकिरमा छ बुँदे अनुरोध जारी गर्दै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन आग्रह गरेको छ । त्यस्तै सकेसम्म समूहमा मिलेर वा एकापसलाई ‘लिफ्ट’ दिएर सवारीसाधनको कम प्रयोग गर्न, आफ्नो वरिपरि आगो लगाएर फोहर नजलाउन, वायु प्रदूषणको स्तर उच्च भएको बेला घर बाहिरको गतिविधि नगर्न प्रहरीले अनुरोध गरेको छ ।

    विशेषतः बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासमा समस्या भएकाहरुले थप सावधानी अपनाउन अनुरोध गर्दै प्रहरीले नियमित मास्कको अनिवार्य प्रयोग गर्न पनि भनेको छ । श्वासप्रश्वाससम्बन्धी कुनै समस्या आएमा तत्काल नजिकैको अस्पताल, स्वास्थ्य केन्द्र वा चिकित्सकसँग सम्पर्क गर्न अनुरोध गरेको पनि प्रवक्ता काफ्लेले बताए । मौसममा आएको बदलीसँगै नेपालमा पनि प्रदूषणको मात्रा बढिरहेको छ । उपत्यकालगायत सहरी क्षेत्रमा बढी प्रभाव देखिएको छ । यो समयमा स्वास्थ्यको विशेष ख्याल गर्न स्वास्थ्य मन्त्रालयले सबैमा अनुरोध पनि गरिसकेको छ ।

  • सभापति लामिछानेको चुनावी खर्च नौ लाख ८९ हजार

    सभापति लामिछानेको चुनावी खर्च नौ लाख ८९ हजार

    चितवन, २७ फागुनः चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले निर्वाचन खर्च विवरण पेस गरेका छन् । उनी रास्वपा सभापति समेत हुन् । निर्वाचन आयोगमा पेस गरिएको विवरणअनुसार रु नौ लाख ८९ हजार ९८७ खर्च भएको उल्लेख छ ।

    आयोगमा पेस गरिएको पत्रमा मनोनयन दर्ता खर्च रु १० हजार, नमूना मतपत्र सामग्री छपाइमा रु ६८ हजार १६१, यातायात तथा इन्धन खर्च रु दुई लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्च रु १४ हजार २००, वडास्तरीय प्रचारप्रसार रु ४६ हजार, प्रचारप्रसारका लागि झण्डा र ब्याच खरिद रु एक लाख १२ हजार भएको जनाइएको छ ।

    यसैगरी प्रचारप्रसारका लागि ब्यानर र ‘स्टिकर’ खरिद रु ५५ हजार, खाद्यान्न तथा रासन खरिद रु एक लाख ९६ हजार, हवाई खर्च रु १३ हजार ६२६ र गोष्ठी भेलामा रु एक लाख ८० हजार खर्च भएको जनाइएको छ । सो पार्टीको भरतपुर महानगर सभापति सीता ज्ञवालीले खर्च विवरण मङ्गलबार निर्वाचन आयोगमा पेस गरेका हुन् ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

    प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

    काठमाडौँ, २७ फागुन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।
    पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको उहाँले बताउनुभयो ।

    समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य पनि सुरु भएको आयोगले जनाएको छ । केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने जनाइएको छ । यसैबीच आज बिहान ११ बजेसम्मको समानुपातिक निर्वाचन तर्फ एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ ।

    गणना भएको मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार दुई सय ३५ सहित अग्रता कायम गरेको छ । नेपाली काँग्रेसले १७ लाख ४९ हजार पाँच सय ८३, नेकपा (एमाले) ले १४ लाख ४८ हजार आठ सय ५४, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख पाँच हजार सात सय ७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार छ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार चार सय ७२ मत हासिल गरेका छन् । अन्य दल थ्रेसहाल्ड कटाउने स्थितिमा देखिएका छैनन् ।

  • वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकद्धारा ७ अर्ब ७ करोड २० लाख ऋण स्वीकृत

    वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकद्धारा ७ अर्ब ७ करोड २० लाख ऋण स्वीकृत

    काठमाडौँ, २७ फागुनः विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति रु सात अर्ब सात करोड २० लाख ऋण अनुमोदन गरेको छ । वायु प्रदूषणको जोखिम उच्च जोखिम भएका काठमाडौँ उपत्यकाका साथै तराइका केही भागमा ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रजेक्ट’ सञ्चालन गर्न उक्त रकम अनुमोदन गरिएको वाशिङ्टनडिसीस्थित विश्व बैंकको प्रधान कार्यालयले जनाएको छ ।

    परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक र व्यावसायिक उद्यमलाई धुँवारहित बनाइने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभाग र वन तथा वातावरण मन्त्रालयका साथै वातावरण विभागमार्फत परियोजना कार्यान्वयन गरिने बैंकले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

  • फक्सवागनद्वारा पचास हजार रोजगारी कटौती गर्ने घोषणा

    फक्सवागनद्वारा पचास हजार रोजगारी कटौती गर्ने घोषणा

    जर्मनी, २७ फागुन (रासस–एएफपी) । जर्मनीको मोटर कम्पनी ‘फक्सवागन’ले मङ्गलबार कम्पनीले सन् २०३० सम्म जर्मनीमा करिब पचास हजार रोजगारी कटौती गर्ने योजना बनाएको घोषणा गरेको छ । फक्सवागनका प्रमुखले भने, “सन् २०३० सम्म जर्मनीमा भोल्क्सवैगन समूहभित्र कुल करिब पचास हजार रोजगारी कटौती हुनेछन् । यसअघि सन् २०२४ को अन्त्यमा पैंतीस हजार रोजगारी घटाउने सहमति भइसकेको थियो । अबको कटौती उच्च स्तरका ब्राण्ड र सफ्टवेयर कम्पनीमा हुनेछ ।”
    कम्पनीले यस निर्णयलाई चीनमा कडा प्रतिस्पर्धा, युरोपमा स्थिर माग र विद्युतीय सवारी साधनमा उच्च लगानी लागत जस्ता चुनौतीहरूको सामना गर्दै उठाइएको बताएको छ । फक्सवागन लामो समयदेखि चीनको बजारमा अग्रणी रहँदै आएको भए पनि स्थानीय प्रतिस्पर्धीहरूले कम्पनीको बिक्रीमा दबाब पारेका छन् ।

    प्रमुखले पत्रकार सम्मेलनमा थपे, “स्थानीय कम्पनीहरूले युरोपियन बजारमा प्रवेश गरेर मूल्य प्रतिस्पर्धा बढाउने प्रयास गरिरहेका छन् । यसले हामीमाथि दबाब बढाउनेछ। हामीले लागत घटाउने उपायमा अझ गहन प्रयास गर्न आवश्यक छ ।” विशेषज्ञहरूले फक्सवागनको यो कदमलाई सस्तो र स्थिर उत्पादन लागत कायम राख्दै कम्पनीको दीगो सञ्चालन सुनिश्चित गर्ने रणनीतिको रूपमा विश्लेषण गरेका छन् । यो निर्णयले कर्मचारी, सङ्घसंस्था र बजारमा ठूलो असर पार्ने अपेक्षा गरिएको छ । कम्पनीले यस कटौतीबाट वर्षेनी ठूलो आर्थिक बचत हुने योजना बनाएको छ ।

  • युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव : पुटिन

    युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव : पुटिन

    मस्को, २७ फागुन (रासस–सिन्ह्वा) । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरूले सहकार्यका लागि स्पष्ट र सकारात्मक सङ्केत दिएमा रूस तेल तथा प्राकृतिक ग्यास आपूर्तिमा सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले दीर्घकालीन, स्थिर र राजनीतिक दबाबबाट मुक्त सहकार्य भएमा दुवै पक्षका लागि लाभदायी हुने धारणा व्यक्त गरे ।


    सोमबार आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति पुटिनले युरोपेली कम्पनीहरू र ऊर्जा खरिदकर्ताहरूले दीर्घकालीन तथा दिगो सहकार्यतर्फ अग्रसर भए रूस त्यसका लागि खुला रहेको उल्लेख गरे । उनले रूसले विगतमा पनि ऊर्जा आपूर्ति सम्बन्धी सहकार्य अस्वीकार नगरेको र भविष्यमा पनि पारस्परिक हितका आधारमा सहकार्य जारी राख्न इच्छुक रहेको बताए ।


    उनको यो अभिव्यक्ति हाल मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र त्यसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा देखिएको तीव्र वृद्धिका बीच आएको हो । विश्लेषकहरूका अनुसार यस प्रकारका क्षेत्रीय द्वन्द्वले विश्व ऊर्जा बजारमा अस्थिरता बढाउने सम्भावना रहन्छ, जसको प्रभाव विभिन्न क्षेत्रीय अर्थतन्त्रहरूमा देखिन सक्छ । राष्ट्रपति पुटिनले युरोपेली सङ्घले आगामी अप्रिलदेखि रूसबाट ऊर्जा स्रोत खरिदमा थप प्रतिबन्ध लगाउने योजना बनाएको जानकारी पनि दिए । उनका अनुसार युरोपेली सङ्घले सन् २०२७ सम्म रूसबाट हुने ऊर्जा आयात पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य लिएको बताइएको छ ।

    यस परिप्रेक्ष्यमा रूस सरकारले युरोपतर्फको ऊर्जा आपूर्तिसम्बन्धी नीति तथा सम्भावनाबारे अध्ययन गर्न सम्बन्धित निकायलाई जिम्मेवारी दिएको पुटिनले बताए । उनले रूसले आफ्ना ऊर्जा निर्यातलाई अन्य आकर्षक बजारतर्फ विस्तार गर्दै नयाँ साझेदारीहरू सुदृढ गर्न आवश्यक रहेको पनि उल्लेख गरे ।


    उनका अनुसार रूस अझै पनि विश्वसनीय ऊर्जा आपूर्तिकर्ता राष्ट्रका रूपमा रहेको छ र विश्वासिलो साझेदार देशहरूसँग तेल तथा ग्यास आपूर्ति सम्बन्धी सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता राख्दछ । उहाँले एशिया–प्रशान्त क्षेत्रका देश तथा पूर्वी युरोपका केही देशहरूसँग ऊर्जा सहकार्य जारी रहेको जानकारी पनि दिए ।

  • अन्तर्राष्ट्रिय कच्चा तेल महँगिँदा श्रीलङ्काले बढायो पेट्रोल र डिजेलको मूल्य

    अन्तर्राष्ट्रिय कच्चा तेल महँगिँदा श्रीलङ्काले बढायो पेट्रोल र डिजेलको मूल्य

    कोलम्बो, २७ फागुन (रासस–सिन्ह्वा) । मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उतारचढाव भइरहेको अवस्थाबीच श्रीलंकाले देशभर लागू हुने गरी इन्धनको खुद्रा मूल्य वृद्धि गरेको छ । सरकारी स्वामित्वको सिलोन पेट्रोलियम निगमका अनुसार सोमबार मध्यरातदेखि लागू हुने गरी इन्धनको नयाँ मूल्य निर्धारण गरिएको हो ।

    नयाँ समायोजनअनुसार अटो डिजेलको मूल्य प्रतिलिटर २२ रुपैयाँले बढेर ३०३ रुपैयाँ पुगेको छ । त्यस्तै सुपर डिजेलको मूल्य २४ रुपैयाँले वृद्धि भई प्रतिलिटर ३५३ रुपैयाँ कायम गरिएको छ। पेट्रोलतर्फ ९२ अक्तेन पेट्रोलको मूल्य २४ रुपैयाँले बढेर प्रतिलिटर ३१७ रुपैयाँ पुगेको छ भने ९५ अक्तेन पेट्रोलको मूल्य २५ रुपैयाँले वृद्धि भई प्रतिलिटर ३६५ रुपैयाँ निर्धारण गरिएको छ । यसका साथै मट्टीतेलको मूल्य पनि प्रतिलिटर १३ रुपैयाँले बढाएर १९५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

    सिलोन पेट्रोलियम निगमका अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको अनिश्चितता तथा निरन्तर उतारचढावका कारण आन्तरिक बजारमा मूल्य समायोजन गर्नुपरेको हो । मध्यपूर्वमा जारी द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्ति शृङ्खलामा प्रभाव पारेकाले धेरै देशहरूमा इन्धन मूल्यमा दबाब बढिरहेको बताइएको छ ।

    निगमले देशको ऊर्जा आवश्यकतालाई ध्यानमा राख्दै आगामी महिनाहरूका लागि पर्याप्त इन्धन आपूर्ति सुनिश्चित गर्न विभिन्न कदमहरू चालिएको जनाएको छ । राष्ट्रिय आवश्यकताअनुसार आगामी साउन महिनासम्म पुग्ने इन्धन आपूर्तिका लागि आवश्यक अर्डरहरू दिइसकिएको छ । साथै सरकारले दीर्घकालीन आपूर्ति सुनिश्चित गर्नका लागि अन्तर्राष्ट्रिय टेन्डर प्रक्रियामार्फत इन्धन खरिद गर्ने व्यवस्था पनि मिलाएको छ ।

    यसैबीच सिलोन पेट्रोलियम निगमका प्रबन्ध निर्देशक मयुरा नेथ्थिकुमारागेले आइतबार दिएको जानकारीअनुसार हालको खपत दर कायम रहेमा देशमा उपलब्ध इन्धन भण्डार अप्रिल महिनाको अन्त्यसम्मका लागि पर्याप्त रहने अनुमान गरिएको बताए । उनले आपूर्ति व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन निरन्तर निगरानी र योजना बनाइरहेको पनि बताए ।

  • राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    काठमाडौँ, २७ फागुनः संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५मा यो दिवस मनाइने छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार उक्त प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएकोे छ ।

    राजदूत थापाका अनुसार उक्त प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवद्र्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ । उक्त प्रस्ताव पारित गर्ने प्रक्रियामा सहयोग र समर्थन गर्ने राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै राजदूत थापाले यो नेपालका लागि महत्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताए ।

  • मध्यपूर्व युद्धः लेबनानमा सात लाख मानिस विस्थापित

    मध्यपूर्व युद्धः लेबनानमा सात लाख मानिस विस्थापित

    जेनेभा, २६ फागुन (राससएएफपी) । इजरायली हवाई हमलाका कारण लेबनानमा करिब सात लाख मानिसहरू एक हप्ताभित्र आफ्नो घर छोड्न बाध्य भएका छन् । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका प्रतिनिधि करोलिना लिन्डहोम बिलिङले भने, “जीवनहरू ठूलो मात्रामा प्रभावित भएका छन् । धेरै परिवारहरू केही मिनेटमै गाउँ छोड्न बाध्य भएका थिए ।” करिब एक लाख बीस हजार मानिसहरू सरकारद्वारा तोकिएका सामूहिक शरणस्थलमा बसिरहेका छन्, जबकि अरू आफन्त तथा साथीहरूसँग बसिरहेका छन् वा सुरक्षित बसोबास खोजिरहेका छन् ।

    लेबनान यस युद्धमा तब प्रवेश ग¥यो, जब इरान समर्थित हिजÞबुल्लाहले इजरायलमाथि हमला ग¥यो, जुन अमेरिकी–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइको हत्या पछि भएको थियो । लेबनानका अधिकारीहरूले मार्च २ देखि भएको हमलामा कम्तीमा चार सय ६६ मानिसको मृत्यु र एक हजार तीन सय १३ घाइते भएको जानकारी दिएका छन्, जसमा ८४ बालबालिकाहरू पनि छन् ।

    धेरै विस्थापित मानिसहरू बीरुत, माउन्ट लेबनान, उत्तर जिल्ला, बेक्का उपत्यका र छिमेकी सिरियामा सुरक्षित स्थान खोजिरहेका छन् । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले भनेको छ, “द्रुत र निरन्तर अन्तर्राष्ट्रिय सहयोग अत्यावश्यक छ, ताकि लेबनन सरकारले उत्पन्न आवश्यकतामा सहयोग पाउन सकोस् । हरेक दिन जारी रहँदा सयौं हजार नागरिकहरू अझ बढी पीडा भोगिरहेका छन् र लेबनन तथा क्षेत्र अझ अस्थिर हुँदैछ ।”

  • रिजउड नेपाली समाजलाई ९ लाख अमेरिकी डलर अनुदान

    रिजउड नेपाली समाजलाई ९ लाख अमेरिकी डलर अनुदान

    न्यूयोर्क । रिजउड नेपाली समाज (आरएनएस)ले न्यूयोर्कको रिजउडस्थित नेपाली सामुदायिक तथा सांस्कृतिक केन्द्रको मर्मत तथा विस्तारका लागि ९ लाख अमेरिकी डलरबराबरको संयुक्त राज्य अमेरिकाको संघीय अनुदान प्राप्त गरेको औपचारिक घोषणा गरेको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिद्वारा हस्ताक्षरित आर्थिक वर्ष सन् २०२६ को संघीय बजेट प्याकेजअन्तर्गत सहयोग प्राप्त भएको हो । यो अनुदान यातायात, आवास तथा शहरी विकास विनियोजन प्रक्रियाअन्तर्गत सुरक्षित गरिएको हो । यस ऐतिहासिक उपलब्धि न्यूयोर्कबाट निर्वाचित अमेरिकी सिनेटर चक शुमरको नेतृत्व र पहल महत्वपूर्ण रहेको समाजले उल्लेख गरेको छ ।


    नेपाली सामुदायिक तथा सांस्कृतिक केन्द्र सांस्कृतिक सम्पदा संरक्षण, भाषा तथा परम्पराको प्रवद्र्धन, युवा नेतृत्व विकास, ज्येष्ठ नागरिक सेवा, अन्तरपुस्ते संवाद तथा सामुदायिक सशक्तीकरणको प्रमुख केन्द्रका रुपमा स्थापित हुँदै आएको छ । प्रस्तावित मर्मत तथा विस्तार योजनाले केन्द्रको भौतिक क्षमता वृद्धि, पहुँच योग्यता र सुरक्षा सुधार गर्नुका साथै भावी पुस्ताका लागि नेपाली कला, संस्कृति र परम्पराको संरक्षण सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।


    रिजउड नेपाली समाजका लागि ९ लाख अमेरिकी डलर संघीय अनुदान उपलब्ध गराउन पाउँदा गर्व महसुस भएको सिनेटर शुमरले बताएका छन् । उनका अनुसार यस्ता परियोजनाहरुले बढ्दो नेपाली–अमेरिकी समुदाय र नयाँ आप्रवासी नेपालीहरुका लागि अत्यावश्यक सेवाहरु उपलब्ध गराउनेछन् । ‘यो नेपाली समुदायहरुको पहिलो संघीय अनुदान हो, जसले क्विन्सस्थित नेपाली सामुदायिक तथा सांस्कृतिक केन्द्रको मर्मत तथा विस्तारमा महत्वपूर्ण योगदान पु¥याउनेछ’, सिनेटर शुमरले भनेका छन्– ‘यस्ता पहलहरुले न्यूयोर्कवासीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ । हाम्रो समुदायलाई अझ सुदृढ बनाउन र आवश्यक स्रोतसाधन उपलब्ध गराउन मेरो निरन्तर प्रयास रहनेछ ।’


    रिजउड नेपाली समाजले सिनेटर शुमरप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । नेपाली–अमेरिकी समुदायको योगदानलाई संघीय तहमा मान्यता दिलाउन सिनेटर शुमरले निर्वाह गरेको भूमिकाको समाजले उच्च प्रशंसा गरेको छ ।
    रिजउड नेपाली समाजका सरकार सम्बन्ध तथा अनुदान समितिका संयोजक अमित प्रताप शाहले यो संघीय अनुदान पूर्वाधार विकासको रकम मात्र नभई यो हाम्रो समुदायको पहिचान, साझेदारी र अवसरको मान्यता भएको बताएका छन् । ‘यो उपलब्धिले हाम्रो दीर्घकालीन सामूहिक प्रयासको परिणाम हो । नेपाली–अमेरिकी पहिचानको संरक्षण, सांस्कृतिक सम्पदाको जगेर्ना, एकीकरण सुदृढीकरण तथा संस्थागत विकास र सामुदायिक सशक्तीकरणका लागि आगामी दिनमा निरन्तर सहकार्यको अपेक्षा गर्दछौं,’ शाहले भने ।


    यो संघीय अनुदान सामुदायिक तथा सांस्कृतिक केन्द्रको मर्मत तथा विस्तारका लागि मात्र रहेको समाजका अध्यक्ष राजेश भट्टले स्पष्ट पारेका छन् । ‘परियोजनामुखी अनुदान भएकाले भवन खरिद तथा विकाससँग सम्बन्धित करिब १० लाख अमेरिकी डलर बराबरको बाँकी ऋण दायित्व यसमा समेटिएको छैन’, उनले भनेका छन्– ‘त्यसैले हाम्रो संस्थाको दीर्घकालीन स्थायित्वका लागि समुदायको निरन्तर सहयोग अपरिहार्य छ ।’ समाजले यस अनुदानको जिम्मेवार रुपमा उपयोग गर्दै सांस्कृतिक गौरव, सम्पदा संरक्षण, सामाजिक एकीकरण, आर्थिक सशक्तीकरण तथा संस्थागत स्थायित्व प्रवद्र्धन गर्न दीर्घकालीन कार्यक्रमहरु अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

  • एनआरएनएको १२औं बृहत एकता अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन कार्यतालिका सार्वजनिक

    एनआरएनएको १२औं बृहत एकता अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन कार्यतालिका सार्वजनिक

    न्यूयोर्क । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले १२औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । एनआरएनएले दुई वर्षे कार्यकालका लागि ७४ जना पदाधिकारी चयन गर्न निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । निर्वाचन यही फागुन ३० देखि चैत १ सम्ममा सम्पन्न गर्ने जनाएको छ । यसअघि निर्वाचन समितिको माघ २९ को निर्णयअनुसार कार्यतालिका तोकिएको हो ।


    निर्वाचन समितिको कार्यालयका अनुसार २० पदका लागि ७४ जना पदाधिकारीहरु निर्वाचित हुनेछन् । जसअन्तर्गत अध्यक्ष १, उपाध्यक्ष ६, महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव २, सचिव ६, महिला सचिव १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष ३ र महिला सहकोषाध्यक्ष १ पद रहेका छन् ।


    त्यसैगरी महिला संयोजक १, युवा संयोजक १, क्षेत्रीय संयोजक ६ (प्रत्येक क्षेत्रमा १ जना, क्षेत्रीय उपसंयोजक १७ (अफ्रिका क्षेत्र २ र अन्य क्षेत्र ३ का दरले), क्षेत्रीय महिला संयोजक ६ (प्रत्येक क्षेत्रमा १ जना), क्षेत्रीय महिला उपसंयोजक ६ (प्रत्येक क्षेत्रमा १ जना), क्षेत्रीय युवा संयोजक ६ (प्रत्येक क्षेत्रमा १ जना), क्षेत्रीय युवा उपसंयोजक ६ (प्रत्येक क्षेत्रमा १ जना) र दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजक १ रहने निर्वाचन समितिको कार्यालयले जनाएको छ ।


    एनआरएनएको १२औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन १४–१६ मार्च, २०२६ मा काठमाडौंमा आयोजना हुनेछ। यस निर्वाचनले संघको आगामी दुई वर्षे कार्यकालका लागि नेतृत्व चयन गर्नेछ ।

  • सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौँ, २७ फागुनःजापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ । सचिवालय र जापान सरकार बीच सार्क–जापान विशेष कोषअन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्न जापानले उक्त रकम प्रदान गर्न लागेको हो । सार्क सचिवालयका अनुसार उक्त सहयोगसम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ ।

    सचिवालयमा आयोजित कार्यक्रममा सार्कका महासचिव गोलाम सरवर र नेपालका लागि जापानका राजदूत माएदा तोरुले उक्त सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको सार्क सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उक्त कार्यक्रमले जापान र सार्क मुुलुकबीचको मैत्री, सहकार्य तथा आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

  • यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, २७ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ १७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।


    अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ २८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ २७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ७४ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ३३ पैसा र बिक्रीदर २१ रुपैयाँ ४२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३९ रुपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ११ पैसा र बिक्रीदर ४० रुपैयाँ २७ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४० रुपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १० रुपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६ रुपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २२ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४८० रुपैयाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३८० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ३१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

    पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

    पर्वत, २७ फागुनस् पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको सङ्क्रमण बढेको छ । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि किसान तथा बङ्गुरपालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । पर्वतमा अहिलेसम्म उक्त रोगको सङ्क्रमणका कारण ४६ वटा बङ्गुर मरिसकेका छन् ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका क्षेत्रमा पालिएका केही बङ्गुरमा ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भाग निलो हुने, खाना नखाने र अचानक मृत्यु हुने जस्ता लक्षण देखिएपछि परीक्षण गरिएको थियो । नमूना सङ्कलन गरी गरिएको ¥यापिड किट परीक्षणमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको कार्यालयले जनाएको छ ।

    थप पुष्टि गर्न नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, पोखरा पठाइएको कार्यालय प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिए । कार्यालयले रोगको शङ्का देखिएको क्षेत्रमा अनुगमन बढाएको छ । साथै रोग फैलिन नदिन किसानलाई बङ्गुर पालनस्थल सफा राख्ने, फार्ममा नियमित रूपमा चुन, ब्लिचिङ पाउडर, फर्मालिनलगायतका औषधि प्रयोग गरी निसङ्क्रमण गर्ने, बिरामी बङ्गुरलाई छुट्टै राख्ने र फार्ममा जैविक सुरक्षा अपनाउन आग्रह गरिएको उनले बताए ।


    शङ्कास्पद अवस्थामा बङ्गुरको नमूना प्रयोगशालामा परीक्षण गराउन, मरेका बङ्गुरलाई गहिरो खाडल खनेर गाड्न वा जलाउन, घरपालुवा बङ्गुरलाई जङ्गली बङ्गुरसँग सम्पर्क हुन नदिन तथा होटल वा भान्साबाट निस्कने फोहर खुवाउन नहुने उनले बताए । पर्वतका विभिन्न पालिकामा गरी ४० भन्दा बढी व्यावसायिक बङ्गुर फार्म रहेका छन् । अहिले सदरमुकाम आसपास यो रोग पुष्टि भएको र आवश्यक सतर्कता नपनाएमा अन्य क्षेत्रमा सङ्क्रमण बढ्ने खतरा रहेकोले कृषकहरुलाई सचेत हुन आग्रह गरिएको छ ।

  • समानुपातिकतर्फ एक करोड छ लाख ८३ हजार मत गणना, कुन पार्टीलाई कति मत ?

    समानुपातिकतर्फ एक करोड छ लाख ८३ हजार मत गणना, कुन पार्टीलाई कति मत ?

    काठमाडौँ, २७ फागुनः समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड छ लाख ७९ हजार ३६२ मत गणना भएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको राति १२ः०० बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १४ हजार १८५ मत प्राप्त गरेको छ ।

    नेपाली काग्रेसले १७ लाख ३८ हजार ९८, नेकपा ९एमाले०ले १४ लाख ४३ हजार ८६४, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ९६ हजार ६३२, श्रम संस्कृति पार्टीले तीन लाख ७६ हजार ७००, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २८ हजार ७३० मत प्राप्त गरेको छ । जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार २०३, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७० हजार ८३२ ,जनमत पार्टीले ७८ हजार ७९४ प्राप्त गरेको छ । मतगणना जारी छ ।

  • कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो

    कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो

    भेरीगङ्गा (सुर्खेत), २६ फागुनः प्रत्यक्षतर्फ पाँच सिटका साथ कर्णालीमा पहिलो बनेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पनि पहिलो स्थान कायम राखेको छ । प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशले उपलब्ध गराएको समानुपातिकतर्फको अन्तिम परिणाममा नेपाली कांग्रेसले एक लाख ४१ हजार २३३ मत प्राप्त गरेको छ । कर्णालीभर प्रत्यक्षमा एक सिट मात्रै जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ एक लाख ३३ हजार ७४९ मतसहित दोस्रो स्थान हासिल गरेको छ ।

    यसैगरी नेकपा (एमाले)ले एक लाख २० हजार ८६३ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा एक लाख सात हजार १०१ मत ल्याएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ हजार ७५५ मत ल्याउँदा प्रगतिशील लोकतान्त्रिक पार्टीले आठ हजार ५३७ मत ल्याएको छ । नेपाल मजदुर किसान पार्टीले पाँच हजार १३० मत प्राप्त गरेको छ । कर्णालीबाट श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ चार हजार ६७५ मत प्राप्त गरेको छ ।

    कर्णालीभर ९० उम्मेदवारको जमानत जफत

    प्रदेश निर्वाचन कार्यालय कर्णालीका अनुसार प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलबाट र स्वतन्त्र उम्मेदवारी दिएका ९० जनाको जमानत जफत भएको छ ।
    प्रदेशभर जम्मा १३८ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये ९० जनाको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लालबहादुर गुरुङले जानकारी दिए । जसअन्तर्गत सुर्खेतका क्षेत्र नम्बर १ मा १३ उम्मेदवारमध्ये १० जनाको जमानत जफत भएको छ भने क्षेत्र नम्बर २ मा १७ उम्मेदवार रहेकामा १४ उम्मेदवारको जमानत जफत भएको छ । यस्तै, दैलेख क्षेत्र नम्बर ६ जना तथा क्षेत्र नम्बर २ मा सात जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

    यस्तै, जाजरकोटका आठ, सल्यानमा १०, रुकुम पश्चिममा नौ, कालीकोटमा छ, जुम्लामा छ, मुगुमा चार, डोल्पामा ६ जना र हुम्लामा चार उम्मेदवारको जमानत जफत भएको छ । छत्तीस उम्मेदवारले १०० मतसमेत ल्याउन सकेनन् । कर्णाली प्रदेशका १० जिल्लामा बदर मतको सङ्ख्या धेरै छ । दश जिल्लाको प्रत्यक्ष र समानुपातिक बदर मत ४३ हजार ५०० रहेको छ ।

  • डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठत न्यायाधीश मल्ल

    डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठत न्यायाधीश मल्ल

    काठमाडौँ, २६ फागुनः सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर, त्रास र धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताएकी छिन् । सर्वोच्च अदालतले आज अन्तरराष्ट्रिय महिला दिवस तथा न्यायाधीश महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठतम् न्यायाधीश मल्लले न्याय सम्पादन डर र त्रासमा हुन नसक्ने बताइन् । “कुनै पनि डर, धम्कीबाट न्याय सम्पादन हुन सक्दैन, न्याय सम्पादन डराएर धम्काएर हुन सक्दैन”, उनले भनिन्, “सुशासन वास्तवमा न्यायालयको आत्मा हो, संवैधानिक लोकतन्त्रको अभ्यास गर्ने निकाय हो, संविधानले सरकारको सीमाहरूको पनि निर्धारण गर्छ, सुशासन स्थापना गर्न न्यायिक स्वतन्त्रता, निष्पक्षता र निडरताबाट मात्र सम्भव छ ।”

    वरिष्ठतम् न्यायाधीश मल्लले संविधानले नै स्वतन्त्र न्यायापालिकाको परिकल्पना गरेको हुनाले न्यायिक स्वतन्त्रता कुनै पनि हालतमा सम्झौता हुन नसक्ने उल्लेख गर्दै थपिन्, “कुनै भीडबाट धम्क्याएर न्याय दिन सकिँदैन ।” उनले महिला अघि बढे मात्रै राष्ट्र अघि बढ्ने उल्लेख गर्दै राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा खाडल अझै भएको र अझै पनि महिलाले अन्यायको फरक महसुुस भएको हुनाले महिला दिवस मनाउनपर्ने आवश्यकता भएको बताइन् ।
    वरिष्ठतम् न्यायाधीश मल्लले हरेक क्षेत्रमा अर्थपूर्ण महिला सहभागिता जरुरी भएको विगतको तुलनामा समाज बदलिएको उल्लेख गर्दै महिलाहरूले अझै धेरै गर्नसक्ने धारणा राखिन् । सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदीले अहिले पनि पाइला–पाइलामा क्षमताको परीक्षा दिनुपर्ने अवस्था भएकाले महिलाले एकअर्काको क्षमतामा विश्वास गर्दै परिणामुखी तरिकाले काम गर्नुपर्र्र्नेमा जोड दिइन् । महान्यायाधिवक्ता सविता भण्डारी बरालले महिलाले नेतृत्व क्षमता बढाएर न्यायको क्षेत्रमा न्याय, समानता, सहभागिता र समावेशीताको क्षेत्रमा काम गर्नुपर्ने बताइन् । नेपाल बार एसोसिएनका उपाध्यक्ष सरस्वती श्रेष्ठले महिला सशक्तीकरण, सहभागिता अझै धेरै आवश्यता भएको र महिलाले गर्न सक्छन भन्ने धेरै पुष्टि हुँदै आएको धारणा राखिन् ।

  • मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह

    मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह

    काठमाडौँ, २६ फागुनः काठमाडौँ उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु र हावा नचल्नुका कारण मौसम धुम्मिदा प्रदूषण बढेको भन्दै वायु प्रदूषणको समयमा अनावश्यक बाहिर ननिस्कन र माक्सको प्रयोग गर्न आग्रह गरे । “केही समययता उपत्यकालगायत मुलुकको अधिकांश स्थानमा मौसम सफा हुन सकेको छैन, घाम लागेको छैन र वर्षा पनि हुन सकेको छैन । हावा पनि चलेको छैन”, उनले भने, “मौसम सफा भएसँगै प्रदूषण कम हुने छ, वायु प्रदूषण बढ्दा आवश्यक सतर्कता अपनाउन जरुरी छ ।”

    जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले आजदेखि नै मौसममा सुधार आउने र तुवालो हटेर जाने बताए । मौसम सफा भएपछि मात्रै वायु प्रदूषण पनि कम हुने वातावरण विभागले जनाएको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार आज ४ः०० बजेसम्म काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकाङ्क १७४ पुगेको छ । यससँगै काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ ।

    वातावरणविद् भुषण तुलाधारले प्रदूषण नियन्त्रणका लागि समयमै पूर्वतयारी आवश्यक रहेको र व्यापक जनचेतना जरुरी रहेको बताए । एक्युआईको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ । एक सय एकदेखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्न सक्छ । १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

  • प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा इजरायलको बधाई

    प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा इजरायलको बधाई

    काठमाडौँ, २६ फागुन । इजरायलले नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ । नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले आज दिउँसो यहाँ ‘नयाँ पश्चिम एसियामा नव प्रभात’ विषयमा पत्रकार सम्मेलन गरेर नेपालसँगको द्विपक्षीय मैत्री र सहकार्य अझ सुदृढ बनाउने इजरायलको इच्छा व्यक्त गरे । साथै उनले सम्पन्न निर्वाचनलाई लोकतन्त्र सुदृढ पार्ने महत्वपूर्ण कदमका रूपमा वर्णन गरे ।


    इजरायली राजदूतले इजरायल पश्चिम एसियामा शान्ति चाहने र सम्पूर्ण क्षेत्रको शान्ति र प्रगतिका लागि आफ्ना सबै छिमेकी देशसँग वार्ता गर्न तयार रहेको बताए । उनले आफ्नो देशलाई हिज्बोल्लाह र हमासजस्ता कट्टरपन्थी समूहहरूले बारम्बार आक्रमण गरेका तथा ती समूहलाई इरानले वित्तीय तथा अन्य सहयोग गरेको आरोप लगाए ।

    इजरायलले ती अतिवादी समूहका कारण आफ्नो अस्तित्व सङ्कटका परेकाले आत्मरक्षाका निम्ति प्रतिकार गर्दै आएको स्पष्ट पार्दै उनले जारी हवाई हमलामा इजरायलले इरानी नागरिकलाई लक्षित गर्न नचाहेको बताए । उनले भने, “संयुक्त राज्य अमेरिका र इजरायलद्वारा गरिएका हवाई आक्रमण इरानको आणविक खतरालाई निष्प्रभावी बनाउने उद्देश्य हो । यो पश्चिम एसिया मात्र नभई विश्वव्यापी सुरक्षासँग जोडिएको विषय हो ।”

  • मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

    मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

    काठमाडौँ, १६ फागुनः हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूला सहरका अतिरिक्त तराईका अधिकांश स्थानमा ‘पिएम’ (प्रदूषणका मसिना कणहरु) दुई दशमलव पाँच पुगेको जनाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायु प्रदूषणका असरबाट जोगिन आम नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ ।

    विभागले आज एक अपिलमार्फत वायु प्रदूषण बढी भएको समयमा घरबाहिर निस्किँदा मास्कको प्रयोग गर्न, आफ्ना सवारीसाधनको नियमित मर्मतसम्भार गर्न र फोहोर तथा बालीनालीका अवशेषहरु नजलाउने र जलाउने प्रवृत्ति सबैको पहलमा रोक्न अनुरोध गरेको छ । त्यसैगरी, वन–जङ्गलमा डढेलो नलगाउने र लागिहालेमा तत्काल निभाउने प्रयास गर्न, निर्माण गतिविधिहरु गर्दा धुलो–धुवाँ नउड्ने व्यवस्था गर्न, उद्योग कलकारखाना सञ्चालन गर्दा सरकारले तोकेका मापदण्ड पूर्ण रुपमा पालना गरी सञ्चालन गर्न विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सबैमा अनुरोध गरे ।
    वायु प्रदूषण न्यूनीकरणका लागि जिम्मेवार सबै निकाय र आम नागरिकको सहकार्य र सकारात्मक प्रयास भएमा मात्र प्रदूषण न्यूनीकरण गर्न सम्भव र सहज हुने भएकाले त्यसका लागि सबैमा अनुरोध गरिएको उनले बताए । प्रदूषण बिहान–बेलुका समयमा उच्च हुने गरेको छ । चिसोका कारण विभिन्न स्रोतबाट उत्सर्जन भएको प्रदूषण छरिएर जान नसक्ने तथा विगत लामो समयदेखि वर्षा नभएका कारण यो याममा वायु प्रदूषण हुने गरेको विभागको भनाइ छ ।

  • रुकुम पश्चिममा दुई किशोरीको शव फेला, एक किशोरी बेपत्ता

    रुकुम पश्चिममा दुई किशोरीको शव फेला, एक किशोरी बेपत्ता

    त्रिवेणी (रुकुम पश्चिम), २६ फागुनः रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ ।
    उनीहरुसँगै गएकी एक किशोरी भने बेपत्ता भएकी छन् । बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओलीको शव भाग्ले नजिकै सानीभेरी नदी किनारामा फेला परेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।

    उनका अनुसार १२ वर्षीया सपना ओलीको खोजी भइरहेको छ । उर्मिला र कल्पनाको ५०० मिटर दूरीको अन्तरमा शव फेला परेको हो । उनीहरु हिजो छिमेकीको विवाहमा गएका थिए । घर फर्किने क्रममा नदीले बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनास्थलमा प्रहरी निरीक्षक पुनसहितको प्रहरी टोली र अस्थायी प्रहरी पोष्ट छिनखेतबाट प्रहरी टोली पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पुनले जानकारी दिए ।