Category: फिचर

  • काठमाडौंमा वर्षा, घट्दैछ वायु प्रदूषण

    काठमाडौंमा वर्षा, घट्दैछ वायु प्रदूषण

    काठमाडौँ, २९ फागुनः केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क १७८ हाराहारीमा रहेकामा आज मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क १४९ कायम भएको एयर क्वालिटी इन्डेक्स (एक्युआइ)को तथ्याङ्कले देखाएको छ ।

    बिहीबार मध्याह्नसम्म काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज सोही समयमा बाह्रौँ स्थानमा झरेको छ । केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको थियो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले बिहीबार भएको वर्षाका कारण आज वायु प्रदूषण पनि कम भएको जानकारी दिए ।


    “वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न मद्दत गर्ने र हावाले धुलो तथा प्रदूषणका कण उठाएर लैजाँदा प्रदूषण कम हुन्छ”, उनले भने, “दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिएका छौँ ।” वातावरणविद् भुषण तुलाधरले समयमै पूर्वतयारी, पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण तथा सवारीसाधनको धुवाँ परीक्षण र मापदण्डको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको सुझाव दिनुभयो ।

    जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जिव अधिकारीले बिहीबारदेखि नै मौसममा सुधार आएको र वर्षा भएसँगै वायुमा रहेको प्रदूषण हटाउन मद्दत गरेको जानकारी दिए । उनका अनुसार विगत २४ घण्टामा सबैभन्दा धेरै वर्षा वाग्मती प्रदेशको चितवनको नारायणी फिल्ड कार्यालयमा रहेको मौसम मापन केन्द्रमा १२६।२ मिलिमिटर मापन भएको छ ।

    त्यस्तै गण्डकी प्रदेशको लमजुङ घरेढुङ्गा केन्द्रमा १०२.२ मिलिमीटर र गोरखाको बारपाक केन्द्रमा ९० मिलिमीटर वर्षा मापन गरिएको छ । साथै कोशी प्रदेशको उदयपुर कटारीमा ९८.४ मिलिमीटर तथा झापाको चन्द्रगढी विमानस्थल केन्द्रमा ९६.४ मिलिमीटर वर्षा मापन गरिएको थियो ।

    एक्युआइको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ । एक सय एकदेखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्न सक्छ । एक सय ५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

  • ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

    ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

    मकवानपुर, २९ फागुनः हेटौँडा– नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनबाट हेटौँडातर्फ आइरहेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ गइरहेको ट्रक एकापसमा ठोक्किँदा कन्टेनर चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका गोविन्द चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई हेटौँडास्थित चुरेहिल अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए ।

  • स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकियो

    स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकियो

    त्रिशूली (नुवाकोट), २९ फागुनः स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहर फाल्न नदिएका हुन् ।
    विगतका सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने अडानका साथ काठमाडौँबाट फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको स्थानीय निरञ्जन सञ्जेलले राससलाई जानकारी दिए ।

    उनले भने, “पटक–पटक भएका उधारो सहमतिले हामी पीडित भएका छौँ । हाम्रा माग पूरा नहुञ्जेल अवरोध जारी रहन्छ ।” यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहर विसर्जनको अवरोध हटेको थियो ।

    नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३ र ४ वडाका प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडीलाई गन्तव्यमा जान दिएका छैनन् । ककनी र बेलकोटगढी तथा धुनीबेँसीका स्थानीय जनप्रतिनिधि र दलका नेताले पनि उनीहरूलाई साथ दिएका छन् ।

  • झापामा हावाहुरीपछि रुखले किचेर किशोरीको मृत्यु

    झापामा हावाहुरीपछि रुखले किचेर किशोरीको मृत्यु

    झापा, २९ फागुनः गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेका बेला उहाँलाई रुखले किचेको हो ।

  • पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि

    पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि

    काठमाडौँ, २९ फागुनः सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ । निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइएको हो । विशेष उद्धार उडानको सो विमानमार्फत काठमाडौँ विमानस्थलमा अलपत्र परेका २६० जना यात्रीलाई दुबई विमानस्थलसम्म पुर्याइएको थियो ।

    आज पनि यहाँबाट २६७ जना यात्री लिएर निगमको विमान दुबई प्रस्थान गर्ने र त्यहाँबाट १६४ जना नेपालीलाई स्वदेश ल्याइने प्रवक्ता पुनले राससलाई जानकारी दिए । यही फागुन १६ गतेदेखि पश्चिम एसियाको आकाशमा उडान निषेध भएपछि उद्धार उडान थालिएको हो । अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमा हवाई आक्रमण गरेपछि पश्चिम एसियाली मुलुकमा उडान बन्द भएको हो ।

  • एमाले अध्यक्ष ओलीलाई पितृशोक

    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    काठमाडौँ, २९ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको हो । दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।

  • बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

    बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

    काठमाडौँ, २८ फागुनः देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई हेर्दा स्थानमा सामान्य उतारचढाव मात्रै देखिएको छ । विभागले सार्वजनिक गरेको विवरणअनुसार तराई तथा मधेसका धेरैजसो सहरमा तापक्रम क्रमशः बढ्दै गएको छ । राजधानीमा फागुन २६ गते अधिकतम तापक्रम २०–२२ डिग्री सेल्सियस रहेकोमा शनिबार बढेर २४ डिग्री पुगेको थियो ।

    आज मध्यान्हसम्म भने २५.४ डिग्री सेल्सियस पुगेको छ । आज रातिको न्यूनतम तापक्रम भने १५–१७ डिग्रीकै हाराहारीमा रहने अनुमान गरिएको छ । यसैगरी मध्यान्हसम्म सबैभन्दा बढी सिराहा र बाँकेको अधिकतम तापक्रम ३१ दशमलव १ डिग्री सेल्सियस पुगेको छ । सो समयमा मनाङ हुम्दे विमानस्थलको अधिकतम तापक्रम भने ३.२ डिग्री सेल्सियस रहेको छ । आज विराटनगरमा ३१–३३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । त्यस्तै नेपालगञ्जमा भने ३०–३२ डिग्री सेल्सियस आसपास रहने अनुमान गरिएको छ ।

    गण्डकी प्रदेशको पोखरामा आज २६–२८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । हिमाली क्षेत्रतर्फ जुम्लामा २३–२५ डिग्री सेल्सियससम्म पुग्ने देखिएको छ भने जोमसोममा पनि १७–१९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । समग्रमा आगामी तीन दिनमा देशका अधिकांश सहरमा दिउँसोको तापक्रम क्रमशः बढ्ने तथा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज देशका अधिकांश स्थानमा मौसम सफा रहेको छ । “हावाको आद्र्रता बढेसँगै तापक्रममा पनि वृद्धि भएको छ । आगामी दिनहरूमा देशभर क्रमशः तापक्रम बढ्दै जाने सम्भावना रहेको छ,” उनले भने ।

  • चुनावलगत्तै अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

    चुनावलगत्तै अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

    काठमाडौँ, २८ फागुन । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिबीच समसामयिक आर्थिक विषयमा छलफल भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डे तथा नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खेमराज भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

    अर्थमन्त्री खनालले आफ्नो कार्यकालमा निजी क्षेत्रबाट प्राप्त सहयोग र पृष्ठपोषणप्रति आभार व्यक्त गरे । उनले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका कारण बिग्रिएको व्यावसायिक वातावरण र निजी क्षेत्रको मनोबल उठाउनु प्रारम्भिक चुनौती रहेको उल्लेख गर्दै साझा प्रयासबाट अहिले व्यावसायिक वातावरणमा सुधार आएको जानकारी दिए ।


    अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार छलफलमा समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने, घरेलु उद्योग संरक्षण गर्दै निर्यात प्रवद्र्धन गर्ने, पुँजी बजारलाई पारदर्शी बनाउने तथा आर्थिक सुशासन कायम गर्ने विषयमा सुझाव आदानप्रदान भएको थियो ।

    अर्थमन्त्री खनालले विभिन्न क्षेत्रबाट आएका सुझावअनुसार केही विषय सम्बोधन गरिएको तथा नीतिगत जटिलताका कारण आफ्नो कार्यकालमा बाँकी काम आगामी अर्थमन्त्रीलाई हस्तान्तरण गरिने जानकारी दिए । छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिले अर्थमन्त्री खनालले निजी क्षेत्रका मुद्दा सम्बोधन गर्न देखाएको चासोप्रति धन्यवाद व्यक्त गरेका थिए । उनीहरूले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनको परिणामबाट सकारात्मक अपेक्षा व्यक्त गरे ।

    निजी क्षेत्रले मूल्यअभिवृद्धि कर (भ्याट)मा बहुदर प्रणाली लागू गर्नुपर्ने, कच्चा पदार्थ र तयारी वस्तुको आयात करबीच कम्तीमा दुई तहको अन्तर राख्नुपर्ने, निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने, नियमनकारी निकायको प्रभावकारिता परीक्षण गर्नुपर्ने तथा अन्तःशुल्कका उच्च दर घटाउनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो ।

  • मतदानपछि मतदाता भारत फर्किन थाले

    मतदानपछि मतदाता भारत फर्किन थाले

    सुदूरपश्चिम, २८ फागुनः निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिए लगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै भारत फर्किन थालेका छन् । केही दिनदेखि नेपाल–भारतको त्रिनगर सीमा नाका हुँदै उनीहरु भारततिर फर्किन थालेका हुन् । रोजगारीका साथै उपचार, व्यापार तथा अन्य व्यक्तिगत कामका लागि दैनिक सयौँ नेपाली उक्त नाका हुँदै भारत जाने–आउने गर्छन् । त्रिनगर सीमा नाकामा भेटिनुभएका कञ्चनपुरका पदम पन्तले मतदान गरेर आफू फेरि भारततिर जान लागेको बताए ।


    उनले भने, “दुई महिनाअघि मतदान गर्न नेपाल आएको हुँ । अहिले फेरि काममा फर्किन थालेको छुँ ।” खुला सीमा नाका कारण आवतजावत सहज भए पनि कतिपयका लागि भने आवश्यक कागजातको अभावले समस्या सिर्जना भएको छ । त्रिनगर नाकामै भेटिएकी अछामकी कल्सु साउदले उपचारका लागि भारत जान लागेको बताइन् । उनले भनिन्, “मतदान गरेपछि नेपालमै स्वास्थ्य जाँच गरौँ भन्ने सोचेकी थिएँ । तर अहिले नियमित चेकअपका लागि फेरि भारत जान लागेकी हुँ ।”

    सुदूरपश्चिमका धेरै बिरामी उपचारका लागि भारतीय अस्पताल धाउँछन् । नेपाल–भारतबीचको खुला सिमाना रहेकोले दुई देशका नागरिकले धेरै ठाउँमा सहज रूपमा आवतजावत गर्न पाउने व्यवस्था छ । सुदूरपश्चिमका नागरिक दैनिक रोजगारी, व्यापार, शिक्षा र उपचारका लागि भारत जाने गर्छन् । बिहान नेपालबाट भारत काममा जाने र साँझ फर्किने व्यक्ति धेरै भेटिने गरेका छन् ।

    नेपालमा निर्वाचन हुने जानकारी पाएपछि केही समयका लागि भारतलगायत विभिन्न देशमा काम गर्ने नेपाली मतदानका लागि घर फर्किएका थिए । निर्वाचन सम्पन्न भएपछि भने पुनःकामका लागि विदेश फर्किने क्रम देखिएको हो । विशेषगरी युवा तथा श्रमिक वर्गका नागरिक झोला बोकेर भारत जाने दृश्य सामान्य बनेको छ ।

    सदियौँदेखि सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्यस्थल भारत बनेको छ । सुरक्षा गार्ड, निर्माण क्षेत्र, होटल, उद्योग, कृषि तथा अन्य दैनिक ज्यालादारी काममा नेपालीले काम गर्ने गर्छन् । नेपालमा कामको अवसर कम हुनु र कमाइ पर्याप्त नहुनु भारत जाने प्रमुख कारण हो । रोजगारी मात्र नभएर स्वास्थ्य उपचारका लागि भारत जाने नेपालीको सङ्ख्या ठूलो छ । सुदूरपश्चिमका धेरै जिल्लामा विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र ठूला अस्पतालको अभाव छ । जटिल रोग लागेका बिरामी प्रायः भारतका अस्पतालमा भर पर्ने गरेका छन् ।

    धनगढी, महेन्द्रनगरलगायत सीमावर्ती क्षेत्रबाट भारतका बरेली, हल्द्वानी, देहरादून, लखनउ, भोजीपुरा र दिल्लीसम्म उपचारका लागि बिरामी जाने गर्दछन् । खुला सिमाना भए पनि पछिल्लो समय सीमा पार गर्दा आवश्यक कागजातमा कडाइ गरेको छ । नागरिकता, मतदाता परिचयपत्र वा अन्य पहिचान कागजात नहुँदा कतिपय नागरिक सीमामै रोकिने गरेका छन् ।

  • ग्यासको हाहाकार अब नेपालमा पनि, प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

    ग्यासको हाहाकार अब नेपालमा पनि, प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

    काठमाडौँ, २८ फागुनः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले आज विज्ञप्ति जारी गरी हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइ आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि निगमले शुक्रबारदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय भएको जनाएको छ ।

    आम उपभोक्ता वर्गले सोहीअनुसार एलपी ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ । निगमले निगमले नियमित रुपमा माग अनुरूप नै एलपी ग्यासको आयात तथा वितरण गरिरहेको भए पनि विगत दुई÷तीन महिनादेखि काठमाडौँ उपत्यकामा ग्यासको माग उच्च देखिएको र यसैबीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको प्रष्ट पारेको छ ।

  • समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक

    समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक

    काठमाडौँ, २८ फागुनः निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण गरी सार्वजनिक गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न गरी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० (२) अनुसार सम्बन्धित दलहरुले प्राप्त गरेको कूल सदर मत सङ्ख्याका आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम तोकिएको थ्रेसहोल्ड (तीन प्रतिशत) पार गर्ने देहायका ६ दलबाट निम्नानुसारको सङ्ख्यामा उम्मेदवार निर्वाचित हुने गरी दलले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण भएको जनाएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेसले २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)ले १६, नेपाली कम्युनिष्ट पार्टीले नौ तथा श्रम संस्कृति पार्टीले र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार÷चार सिट प्राप्त गरेका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न भई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० अनुसार आयोगको आजको निर्णय बमोजिम सिट बाँडफाँटसमेत गरिएको हो ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा कूल एक करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका र त्यसमध्ये एक करोड ५ लाख ५९ हजार १७ ९९४।५५५० मत सदर भएको छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ लाख ८० हजार ६१७ जनाले मतदान गरेकामा एक करोड ८ लाख ३५ हजार २५ सदर भएको छ ।

    उल्लिखित सिट सङ्ख्याअनुसार ऐनको दफा ६० (४), प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४१ तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३५ बमोजिम तीन दिनभित्र उम्मेदवारको नाम छनोट गरी आयोगसमक्ष पेस गर्न सम्बन्धित राजनीतिक दललाई आजै पत्राचार गरिएको आयोगले जनाएको छ ।

  • निर्वाचन प्रहरीको देशैभरी गरियो बिदाइ

    निर्वाचन प्रहरीको देशैभरी गरियो बिदाइ

    काठमाडौँ, २८ फागनुः यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा खटिएका निर्वाचन प्रहरीको आज औपचारिक रुपमा बिदाइ गरिएको छ । प्रहरी वृत्त गौशाला, काठमाडौँद्वारा आज आयोजना गरिएको एक कार्यक्रमबीच औपचारिक रुपमा निर्वाचन प्रहरीको बिदाइ गरिएको हो ।

    जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले निर्वाचन प्रहरीलाई प्रमाणपत्र प्रदान गर्दै बिदाइ गरे । प्रहरी वरिष्ठ उपरीक्षक थापाले निर्वाचन अवधिभरि निर्वाचन प्रहरीले गरेका काम सम्झन योग्य रहेका बताए । उनले भने, “निर्वाचन प्रहरीले निर्वाचन अवधिभरि गरेका काम सम्झन योग्य छन् । भविष्यमा तपाईहरुबाट यस्तै सहयोगको अपेक्षा गर्दछु ।”

    निर्वाचन अवधिभर निर्वाचन प्रहरीहरूले देखाएको अनुशासन, इमान्दारिता र समर्पण सराहनीय रहेको प्रहरी वरिष्ठ उपरीक्षक थापाले बताए । उनले निर्वाचन जस्तो संवेदनशील र महत्वपूर्ण प्रक्रियालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्वाचन प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । प्रहरी वृत्त गौशालाका प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रकाश सिरमलले निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरी कर्मचारीले अत्यन्त जिम्मेवार ढङ्गले आफ्नो कर्तव्य निर्वाह गरेको बताए ।

    उनले निर्वाचन अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिन सबैले सक्रियता र सजगता अपनाएको उल्लेख गरे । नायब उपरीक्षक सिरमलले निर्वाचन प्रहरीले भविष्यमा पनि समाज र राष्ट्रका लागि सकारात्मक काम गर्दै जाने विश्वास व्यक्त गरे । उनले भने, “निर्वाचन सुरक्षामा तपाईहरूले देखाएको सक्रियता र जिम्मेवारी सराहनीय छ । आगामी दिनमा अनुशासन र प्रतिबद्धताका साथ काम गर्दै प्रहरी सङ्गठनलाई सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।”

    निर्वाचनको समयमा मतदान केन्द्रको सुरक्षा, मतदाता व्यवस्थापन, भीड नियन्त्रण, तथा सम्भावित विवाद समाधान जस्ता कार्यमा निर्वाचन प्रहरीले सक्रिय भूमिका निर्वाह गरेका थिए । यही फागुन २१ गते सम्पन्न निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    म्याग्दी, २८ फागुनः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना, विद्युत्गृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । आयोजना प्रमुख शिवसागर यादवले भौतिक संरचना निर्माण सम्पन्न गरी परीक्षण उत्पादन थालिएको जानकारी दिए । “बाँध, विद्युत्गृह, पाइपलाइन, प्रसारणलाइन र विद्युत्गृहका उपकरण जडानका साथै आन्तरिक परीक्षण सकिएको छ,” उनले भने, “नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा परीक्षण उत्पादनमा जुटेका छौँ ।”

    विसं २०७८ मा उक्त आयोजना निर्माण सुरु भएको थियो । आयोजना निर्माणस्थल भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ । सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), दुई हजार ९०० मिटर मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान, फेदीमा विद्युत्गृह निर्माण गरिएको छ । विद्युत्गृह परिसरमा ‘स्वीचयार्ड’ निर्माण गरिएको छ ।

    यो आयोजना ‘रन अफ द रिभर’ प्रकृतिको हो । फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर पाँच किलोमिटर लामो १३२ केभी क्षमताको प्रशारण लाइन निर्माण गरिएको छ । बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गरेर तिल्केनीचौर हुँदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा आवद्ध गराइएको छ ।

    देव ऊर्जा कन्ट्रक्सन सिभिल, हाइड्रोमेकानिकल र बिएफएल बेङ्गलोर इलेक्ट्रोमेकानिकल ठेकेदार हुन् । रु तीन अर्ब लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स र माछापुच्छ्रे बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । प्रवर्द्धकको १० प्रतिशत लगानी रहने आयोजनाको २० प्रतिशत लगानी शेयर जारी गरेर सर्वसाधारणमार्फत जुटाइनेछ् ।

    राहुघाट र सहायक नदीमा यसअघि तीन वटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । तुँदी पावरले प्रवद्र्धन गरेको ३५ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला– राहुघाट– मङ्गले र त्यसको क्यासकेडको रुपमा ४८ दशमलब पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् ।

    राहुघाटको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१ दशमलब तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले गत भदौदेखि व्यावसायिक उत्पादन थालेको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

  • चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

    चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

    चितवन, २८ फागुनः जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय जना अझै फर्किएका छैनन् । ती मध्ये ११ जना भारतीय नागरिक छन् । यस कारागारबाट भदौ २४ गते चार जना नाबालकसहित ७४३ जना कैदीबन्दी भागेका थिए । ती मध्ये ६४३ जना फर्किसकेका छन् । कतिपय आफैँ फर्किएका हुन् भने केहीलाई प्रहरीले पक्राउ गरी ल्याएको हो । कार्यालय प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार गम्भीर प्रकृतिका कैदीबन्दीसमेत फरार हुँदा समुदायमा आपाराधिक घटना हुनसक्ने चिन्ता छ ।

    कारागार कार्यालयले गत असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो । कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुन अनुसार कारबाही गरिने जनाएको थियो । फरार कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यत्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने छ । हाल कारागारमा ३८ जना महिलासहित ६८५ जना कैदीबन्दी छन् ।

  • मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल र्याली

    मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल र्याली

    लुम्बिनी, २८ फागुन । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल र्याली गरिएको छ । ‘सबैका लागि मिर्गौला स्वास्थ्य’ नारासहित वर्षमा एक पटक मिर्गौला जाँचौँ, आफनो मिर्गौला बचाऔँ भन्ने अभियानका साथ साइकल (याली तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो । केन डाईबेटिज एण्ड थाइरोइड सेन्टर, नेपाल सोसाईटी अफ नेफ्रोलोजी, बुटवल युनाइटेड साइक्लिङ क्लब, लायन्स क्लब अफ बटौलीको संयुक्त आयोजनामा सम्पन्न साइकल (याली कालिका मानविज्ञान विद्यालयबाट सुरु भएको थियो । (याली बुटवल नगर परिक्रमा गरी रामनगर हुँदै तिलोत्तमा नगरपालिकाको बनबाटिका जानकीनगरस्थित केन सेन्टरमा पुगेर समापन भएको थियो ।

    कार्यक्रममा नेपाल सोसाईटी अफ नेफ्रोलोजीका अध्यक्ष डा शक्ति बस्नेतले विश्व परिवेशमानै मिर्गौला समस्या हुने सङ्ख्या बढ्दो रहेको बताए । ‘विश्वमा ७८ करोड जनसङ्ख्या मिर्गौलाको समस्या भएका व्यक्ति छन्”, उनले भने, “नेपालका कुल जनसंख्यामध्ये १० प्रतिशतमा कुनै न कुनै किसिमको मिर्गौलाको समस्या छ ।” केन सेन्टरका अध्यक्ष दिनेश कक्षपतीले आफनै परिवारमा मिर्गौला रोगबाट परेको समस्याको बताए । उनले आफनो क्षेत्रबाट थोरै भएपनि सचेतना जगाउने अभियानमा सबैको हातेमालो जरुरी रहेको बताए । पछिल्लो समयमा केनमा उपचार गर्न आउने मधुमेहका बिरामीहरुमध्ये करीब चार सय बढीको मिर्गौला बचाउन सफल भएको उनले बताए ।

  • शान्ति सैनिकको सुरक्षामा नेपालको जोड

    शान्ति सैनिकको सुरक्षामा नेपालको जोड

    काठमाडौँ, २८ फागुनः पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले शान्ति सैनिकको सुरक्षामा जोड दिएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार लेबननमा कार्यरत संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजको सुरक्षा सुनिश्चित हुनुपर्नेमा नेपालले जोड दिएको हो । हालै दक्षिणी लेवनानमा भएको आक्रमण तीन जना शान्ति सैनिक घाइते भएको घटनालाई लिएर राष्ट्रसङ्घका सदस्य मुलुकसँगै नेपालले उनीहरूप्रति दृढ समर्थन जनाउँदै सुरक्षामा जोड दिएको हो ।

    नेपालले शान्तिसैनिक कहिल्यै आक्रमणको लक्ष्य हुनु हुँदैन भनेको छ । साथै सरकारले संयुक्त राष्ट्रका कर्मचारीहरूविरुद्ध भएका आक्रमणहरूको कडा निन्दा गरेको छ भने घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ । नेपालसहित विश्वसमुदायले सम्बद्ध सबै पक्षलाई अधिकतम संयमित हुन, अन्तरराष्ट्रिय कानुनको सम्मान गर्न तथा सम्बन्धित सुरक्षा परिषद् प्रस्तावनाहरूको पूर्ण रूपमा कार्यान्वयन गर्न आह्वान पनि गरेको छ ।

  • इरान–अमेरिका युद्ध : तेल बजारमा तनाव

    इरान–अमेरिका युद्ध : तेल बजारमा तनाव

    तेहरान, २८ फागुन (रासस–एएफपी) । मध्यपूर्वमा जारी युद्धका बीच इरानले बुधबार इजरायल र खाडी क्षेत्रका लक्ष्यहरूतर्फ नयाँ आक्रमण सुरु गरेको छ । साउदी अरबको तेल क्षेत्रसमेत लक्षित भएको बताइँदै गर्दा विश्व ऊर्जा बजारमा उत्पन्न अस्थिरता नियन्त्रण गर्न ठूलो परिमाणमा तेल भण्डार सार्वजनिक गर्ने प्रस्तावसम्बन्धी खबरहरूले बजारलाई केही हदसम्म शान्त बनाउने प्रयास भइरहेको छ । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको युद्ध अहिले क्षेत्रभर फैलिएको छ । यसको प्रभाव ऊर्जा बजारदेखि दैनिक जनजीवनसम्म पुगेको छ । कतिपय स्थानमा इन्धनको राशनिङ सुरु भएको छ भने विद्यालयहरू समेत बन्द भएका छन् ।

    युद्धको आर्थिक असर, विशेषगरी ऊर्जा आपूर्तिको अवस्थाबारे छलफल गर्न जी–७ देशका नेताहरू बुधबार भिडियो सम्मेलनमार्फत बैठक बस्ने तयारीमा छन् । यसैबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले इतिहासकै ठूलो परिमाणमा तेल भण्डार सार्वजनिक गर्ने प्रस्तावबारे निर्णय गर्ने सम्भावना रहेको वाल स्ट्रिट जर्नलले जनाएको छ । संयुक्त राज्य अमेरिकाले मङ्गलबार होर्मुज जलडमरूमध्यमा बारुदी सुरुङ बिछ्याउन सक्ने क्षमता राख्ने इरानका जहाजमाथि प्रहार गरेको जनाएको छ । अमेरिकी सेनाले सार्वजनिक गरेको भिडियोमा इरानी डुङ्गाहरू ध्वस्त पारिएको देखिएको बताइएको छ । अमेरिकाका अनुसार विश्वको झण्डै पाँचौँ भाग तेल ओसारपसार हुने यस जलमार्ग नजिकै १६ वटा माइन बिछ्याउने जहाज नष्ट गरिएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै यदि जलडमरूमध्यमा सुरुङ राखिएको पुष्टि भए र त्यसलाई तुरुन्त हटाइएन भने इरानले ‘पहिले कहिल्यै नदेखिएको स्तरको सैन्य परिणाम’ भोग्नुपर्ने बताए । अमेरिकी निर्वाचन नजिकिँदै गर्दा बढ्दो तेल मूल्यले ट्रम्पमाथि राजनीतिक दबाब पनि बढाइरहेको छ । मङ्गलबार कच्चा तेलको मूल्य करिब पाँच प्रतिशत बढे पनि भण्डार सार्वजनिक गर्ने सम्भावनाको खबरपछि बुधबार केही घटेको छ ।

    ट्रम्पले अमेरिकी सेनाले जलडमरूमध्य हुँदै जाने तेल ट्याङ्करलाई सुरक्षा दिन सक्ने बताएका थिए । तर अमेरिकी प्रशासनले ऊर्जा मन्त्रीले यस्तो सुरक्षा व्यवस्था घोषणा गरेको भनी सामाजिक सञ्जालमा फैलिएको पोस्ट असत्य भएको स्वीकार गरेको छ । युद्धको जोखिम समुद्री यातायातमा पनि देखिएको छ । बेलायतको समुद्री सुरक्षा एजेन्सीका अनुसार बुधबार बिहान संयुक्त अरब इमिरेट्सको तट नजिक एउटा कन्टेनर जहाजलाई ‘अज्ञात प्रक्षेप्य’ ले प्रहार गरेको छ । यसले क्षेत्रीय जलमार्ग अझै असुरक्षित रहेको सङ्केत गरेको छ ।

    यद्यपि ट्रम्पले सोमबार युद्ध छोटो रहने दाबी गरेका थिए । तर अमेरिकी रक्षामन्त्री पीट हेग्सेथले तेहरानमा अभूतपूर्व गोलीबारी हुन सक्ने चेतावनी दिएका थिए । यसैबीच इरानले युद्धविरामको कुनै सङ्केत नदिएको स्पष्ट पारेको छ । इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जाल एक्समा लेख्दै इरान युद्धविराम खोजिरहेको छैन भन्दै आक्रमणकारीलाई सजाय दिनुपर्ने धारणा व्यक्त गरे ।


    इरानी सेनाले इजरायलका सहरहरूतर्फ क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । जेरुसेलममा हवाई हमलाको साइरन र विस्फोटको आवाज सुनिएको एएफपीका पत्रकारहरूले बताएका छन् । आपतकालीन सेवाहरूले तत्काल ठूलो क्षतिको विवरण सार्वजनिक नगरे पनि तेल अभिवमा केही मानिस घाइते भएको स्थानीय टेलिभिजनले जनाएको छ ।

    इरानको रिभोलुसनरी गार्ड्सले बहराइन र इराकी कुर्दिस्तानतर्फ पनि आक्रमण गरेको दाबी गरेको छ । कुवेतस्थित अमेरिकी सैन्य अड्डा समेत लक्षित गरिएको इरानी मिडियाले जनाएको छ, यद्यपि कुवेतले आठ वटा ड्रोन खसालेको मात्र पुष्टि गरेको छ । साउदी अरबले पनि शायबाह तेल क्षेत्रतर्फ आएका ड्रोन र ब्यालेस्टिक मिसाइलहरू अवरोध गरिएको जनाएको छ ।

    फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेको आक्रमणपछि यो युद्ध सुरु भएको थियो । त्यसपछि उहाँका छोरा मोजताबा खामेनीलाई उत्तराधिकारीको रूपमा नाम दिइएको छ, तर उनी अझै सार्वजनिक रूपमा देखिएका छैनन् । तेहरानमा बम विस्फोटको त्रास अझै कायम छ । त्यहाँकी एक महिलाले बम आक्रमणले सामान्य आवासीय भवनलाई लक्षित नगरे पनि विस्फोटको आवाजले अत्यन्त डर पैदा गरेको बताइन् ।


    इरानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च ८ सम्म युद्धमा एक हजार २०० भन्दा बढी मानिस मारिएका छन् भने १० हजारभन्दा बढी नागरिक घाइते भएका छन् । पेन्टागनका अनुसार सात अमेरिकी सैनिकको मृत्यु भएको छ र करिब १४० जना घाइते भएका छन् । द्वन्द्व क्षेत्रीय सीमाभन्दा बाहिर पनि फैलिएको छ । श्रीलङ्काको समुद्रमा अमेरिकी सेनाले इरानी जहाजमाथि टार्पिडो प्रहार गरेको बताइएको छ भने अस्ट्रेलियाले इरानी महिला फुटबल टोलीका थप दुई सदस्यलाई शरण दिएको जनाएको छ ।

    इराक र लेबनान पनि यस युद्धका प्रोक्सी मोर्चा बनेका छन् । इराकमा इरानसँग सम्बन्धित समूहले मङ्गलबार अमेरिकी आक्रमणमा आफ्ना पाँच लडाकू मारिएको बताएको छ । लेबनानमा इरान समर्थित हिजबुल्लाहलाई लक्षित इजरायली हवाई र स्थल आक्रमणपछि सयौँ मानिस मारिएका छन् र लाखौँ विस्थापित भएका छन् । बेरुतको दक्षिणी क्षेत्रमा बुधबार नयाँ इजरायली आक्रमण भएको खबर आएको छ । दक्षिणी सहर कानामा थप पाँच जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राज्य सञ्चारमाध्यमका अनुसार मध्य बेरुतको एउटा क्षेत्रमा पनि आक्रमण भएको छ ।

    यसअघि इरानले संयुक्त राष्ट्रसङ्घमा दिएको उजुरीमा मध्य बेरुतको समुद्री किनारस्थित होटलमा भएको आक्रमणमा आफ्ना चार कूटनीतिज्ञ मारिएको जनाएको थियो । इजरायलले भने त्यहाँ इरानको रिभोलुसनरी गाड्र्सका प्रमुख कमान्डरहरू लक्षित गरिएको दाबी गरेको छ । युद्धको असर विश्वभर महसुस हुन थालेको छ ।

    संयुक्त राष्ट्र व्यापार तथा विकास एजेन्सीले इन्धन र खाद्यान्नको मूल्य बढ्दै जाँदा विश्वका कमजोर समुदाय सबैभन्दा बढी प्रभावित हुने चेतावनी दिएको छ । इजिप्टमा सरकारले इन्धनको मूल्य करिब ३० प्रतिशत बढाएपछि सर्वसाधारण चिन्तित भएका छन् । कायरोको बजारमा भेटिएकी छ सन्तानकी आमा ओम मोहम्मदले पहिले नै जीवन धान्न गाह्रो भएको भन्दै अब मानिसहरूले कसरी व्यवस्थापन गर्ने भन्नेबारे आफू चिन्तित रहेको बताइन् ।

  • इथियोपियामा बाढीका कारण ४८ जनाको मृत्यु

    इथियोपियामा बाढीका कारण ४८ जनाको मृत्यु

    नैरोबी, २८ फागुन (रासस–एएफपी) । दक्षिणी इथियोपियाको गामो क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको प्रहरीले बुधबार पुष्टि गरेको छ। दक्षिण इथियोपिया क्षेत्रीय राज्य प्रहरी आयोगले एक विज्ञप्तिमा जारी गरी भनेको छ, “गामो अञ्चलका तीन जिल्लामा आएको प्राकृतिक विपत्तिबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । प्रहरीका अनुसार बाढीमा परी कम्तीमा ९५ जना बेपत्ता भएका छन् भने उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ । पूर्वी अफ्रिकामा पछिल्ला केही दिन यता ठूलो बाढी आएको छ ।

    राजधानी नैरोबी र अन्य क्षेत्रमा शुक्रबार परेको मुसलधारे वर्षाका कारण छिमेकी केन्यामा दर्जनौँको मृत्यु भएको छ । धेरै अध्ययनहरूले विगत २० वर्षमा पूर्वी अफ्रिकामा अत्यधिक बर्षा र लामो खडेरी बढ्दो आवृत्तिलाई पछ्याइरहेको देखिन्छ । मानव–सञ्चालित जलवायु परिवर्तनले मुसलधारे वर्षाजस्ता गम्भीर मौसमी घटनाहरूको सम्भावना, लम्बाइ र गम्भीरता बढाइरहेको वैज्ञानिकहरूले लामो समयदेखि चेतावनी दिँदै आएका छन् ।

  • ‘स्ट्रेट अफ हर्मुज’बाट आउने मानवीय सहायता अवरोध नगर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

    ‘स्ट्रेट अफ हर्मुज’बाट आउने मानवीय सहायता अवरोध नगर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

    जेनेभा, २८ फागुन (रासस–एएफपी) । मध्यपूर्व युद्धले मानवीय सहायता आपूर्ति गर्ने मार्गहरूलाई असर गरिरहेको भन्दै संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले बुधबार मानवीय सहायता आपूर्तिहरू ढुवानी ‘छूट’ गर्न आग्रह गरेका छन् । मध्य पूर्वमा युद्धले हर्मुजको स्ट्रेट प्रभावकारी रूपमा बन्द गरेको छ, इन्धन आपूर्ति अवरोधले मालभाडाको दरहरू बढाइरहेको छ ।

    संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख टम फ्लेचरले बढ्दो युद्ध र स्ट्रेट अफ हर्मुजमा परेको प्रभावले हाम्रो मानवीय सहायताका लागि हुने आपूर्तिमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । यसले तत्काल खासगरी उप–सहारा अफ्रिकाका प्रमुख आवश्यकता भएका क्षेत्रहरूको आपूर्तिमा असर परेको छ।

    “द्वन्द्वको थप वृद्धिले अन्य आपूर्ति मार्गहरूलाई पनि क्षति पुर्याएको छ,“ उनले जेनेभामा पत्रकारहरूसँग भने । “युद्धले मूल्य बढाउँछ र अधिक मानिसहरूलाई सामानहरूको थप आवश्यकतातर्फ धकेल्छ,”उनले भने । उनले अगाडी भने, “त्यसैले हामी सबै पक्षहरूलाई हाम्रो मानवीय सहायता बोक्ने यातायातको लागि ‘स्ट्रेट अफ हर्मुज’सहित ती मार्गहरू सुरक्षित गर्न प्रयास गर्न अपील गर्दछौँ । हामी राजनीतिको आधारमा नभई आवश्यकताको आधारमा जोसुकै, जहाँसुकै, पुग्न सक्छौँ।”

    “हामी अहिले गम्भीर खतराको क्षणमा बाँचिरहेका छौँ,“ फ्लेचरले भने । “हामी यी सङ्कटहरू द्रुत रूपमा बढिरहेको र खतरनाक तरिकामा बढ्दो टकराइरहेको देखिरहेका छौँ,” उनले भने । “पछिल्ला दुई हप्ताको लडाइँले ‘हामी क्रूरता, दण्डहीनता र उदासीनताबीच बाँचिरहेका छौँ’ भन्ने थप पुष्टि गरेको छ,” उनले भने, “युद्धको सबैभन्दा खराब ज्यादतीलाई रोक्नको लागि नियममा आधारित अस्थायी ढाँचा नष्ठ हुँदैछ।” उनले थपे, “मानवीय चातुर्यलाई व्यापक रूपमा मार्ने अझ डरलाग्दो उपायहरू अवलम्बन भइरहेका छन् । नागरिकहरू अझ बढी घृणित हिंसाको सिकार भइरहेका छन्।”

  • अमेरिकाले दक्षिण कोरियाबाट ‘थाड एन्टी मिसाइल सिस्टम’को केही भाग मध्यपूर्वमा सार्ने

    अमेरिकाले दक्षिण कोरियाबाट ‘थाड एन्टी मिसाइल सिस्टम’को केही भाग मध्यपूर्वमा सार्ने

    सियोल, २८ फागुन (रासस–योन्हाप) । संयुक्त राज्य अमेरिकाले ‘टर्मिनल हाइ अल्टिच्युड एरिया डिफेन्स ९थाड०’ नामक क्षेप्यास्त्र विरोधी प्रणालीको केही भाग दक्षिण कोरियाबाट मध्यपूर्वतर्फ सार्ने प्रयास गरिरहेको दुई अमेरिकी अधिकारीलाई उद्धृत गर्दै वासिङ्टन पोस्टले जनाएको छ ।

    दक्षिण कोरियामा तैनाथ अमेरिकी सेनाले मध्यपूर्वमा युद्ध चर्किरहेका बेला थाड क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका केही भागहरू बाहिर पठाएको समाचार सार्वजनिक भइरहेका बेला यो रिपोर्ट आएको हो । रिपोर्ट अनुसार पेन्टागनले थाडको केही भाग दक्षिण कोरियाबाट मध्यपूर्वमा सार्नेछ ।

    उत्तर कोरियाको क्षेप्यास्त्र खतराको सामना गर्न थाडलाई दक्षिण कोरियामा तैनाथ गरिएको थियो । अमेरिकी सेना कोरियाको स्वामित्वमा रहेको सैन्य सम्पत्तिको सम्भावित स्थानान्तरणले उत्तर कोरियाविरुद्धको प्रतिरोधात्मक अवस्थालाई असर नगर्ने राष्ट्रपति ली जे म्युङले बसधबारको मन्त्रिपरिषद्को बैठकमा बताएका थिए ।

  • इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको भनाइ

    इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको भनाइ

    वासिङ्टन, २८ फागुन (रासस–योन्हाप) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानसँगको युद्ध ‘चाँडै’ अन्त्य हुने बताएका छन् । ‘अपरेसन एपिक फ्युरी’ नाम दिइएको अमेरिकी–इजरायली संयुक्त सैन्य अभियानले इरानको मिसाइल क्षमता र नौसेनालाई नष्ट गर्न र आणविक हतियारको कुनै पनि मार्ग तोड्न आफ्नो युद्धको १२ औँ दिनमा प्रवेश गरिसकेपछि एक्सियोससँगको करिब पाँच मिनेट लामो संक्षिप्त फोन संवादमा ट्रम्पले उक्त टिप्पणी गरेका हुन् । “कुनै पनि बेला म यो अन्त्य गर्न चाहन्छु, यो छिट्टै अन्त्य हुनेछ,” ट्रम्पले भने ।


    एक्समा पोस्ट गरिएको एक भिडियोमा अमेरिकी केन्द्रीय कमान्डका नेता एडमिरल ब्राड कूपरले भने, “अमेरिकी सेनाले फेब्रुअरी २८ मा तेहरान विरुद्ध अभियान सुरु गरेदेखि इरानमा पाँचहजार ५०० भन्दा बढी लक्ष्यहरूमा आक्रमण गरेको छ, जसमा ६० भन्दा बढी जहाजहरू पनि रहेका छन् ।

    अन्तर्वार्ताका क्रममा ट्रम्पले युद्ध ‘राम्रोसँग चलिरहेको’ बताएका थिए । उनले भने, “हामी समय तालिकाभन्दा धेरै अगाडि छौँ । सोचेको मूल छ हप्ताको अवधि भन्दापनि छोटो समयमा भन्दा हामीले बढी क्षति गरेका छौँ।” इरानले ४७ वर्षसम्मको मृत्यु र विनाशको मूल्य अहिले चुकाइरहेको पनि राष्ट्रपति ट्रम्पले बताए । “यो भुक्तानी हो। तिनीहरू त्यति सजिलै बाहिर निस्कने छैनन्,” उनले भने ।

  • इरानी विद्यालयमा ‘गलत निशाना’ का कारण’ टोमाहक क्षेप्यास्त्रले लागेको अमेरिकी भनाइ

    इरानी विद्यालयमा ‘गलत निशाना’ का कारण’ टोमाहक क्षेप्यास्त्रले लागेको अमेरिकी भनाइ

    वासिङ्टन, २८ फागुन (रासस–एएफपी) । इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक क्षेप्यास्त्र खसेको र यसमा अमेरिका जिम्मेवार रहेको द न्यूयोर्क टाइम्सले अमेरिकी अधिकारीलाई उद्धृत गरी बुधबार रिपोर्ट गरेको छ । टाइम्सले २८ फेब्रुअरीमा भएको आक्रमणको अनुसन्धान जारी रहेको तर यसको लागि अमेरिका जिम्मेवार रहेको प्रारम्भिक निष्कर्ष आएको जनाएको हो । “अमेरिकी सेनाले नजिकैको इरानी बेसमा आक्रमण गर्ने क्रममा पुरानो तथ्याङ्क प्रयोग गरेर लक्ष्य समन्वय तय गरिएको कारण विद्यालय भवनमा परेको हो,” रिपोर्टमा अमेरिकी अधिकारीहरूको भनाइलाई आधार बनाउँदै लेखिएको छ।

    यसै हप्ताको सुरुमा विद्यालयका आक्रमणमा इरान नै जिम्मेवार हुन सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए । तर पछि अनुसन्धानले जे कुरा प्रकट गरे पनि आफूले सहने बताएका थिए । अमेरिका–इजरायलले संयुक्तरूपमा सुरू गरेको सुरुवाती आक्रमणमा इरानको दक्षिणी शहर मिनाबको प्राथमिक विद्यालयमा लागेको थियो । उक्त घटनामा परी १५० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ ।

  • दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    गलेश्वर (म्याग्दी), २८ फागुनः वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि उत्पादनको क्षेत्र भनेर चिनिने बागलुङको कुडुले गाउँ । म्याग्दी र बागलुङको साँध बनेर बगेको ढोडेनी खोलाका वारि र पारि पर्ने यी दुवै गाउँ पर्यटकीय गाउँ हुन् । यी दुवै गाउँलाई जोड्ने ढोडेनी खोला माथि बनेको ३८८ मिटर लामो झोलुङ्गे पुल स्थानीयको सुविधाको माध्यम त बनेको छ नै पर्यटकीय आकर्षणको केन्द्र समेत बन्दै गएको छ ।

    म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर र छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ३८८ मिटर लम्बाइ तथा १७० मिटर उचाइ भएको यो झोलुङ्गे पुलमा रमाई प्राकृतिक दृश्यावलोकन गर्न म्याग्दीको रत्नेचौर र बागलुङको पञ्चकोट तथा कुडुलेस्थित शालग्राम सङ्ग्रहालय अवलोकनका लागि आएका पर्यटकहरू आउने गरेका रत्नेचौरका सुशीला भण्डारीले बताइन् ।


    तीन वर्षअघि २०७९ सालमा सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले ढोडेनी खोलामाथि रु तीन करोड ५० लाखको लागतमा निर्माण गरेको यो पुलले दुई जिल्ला जोड्नाका साथै कृषि उपजको बिक्री र पर्यटन विकासमा पनि महत्वपूर्ण सहयोग पुगेको बेनी नगरपालिका–१ का वडाअध्यक्ष टेकबहादुर थापाले बताए ।


    “पहिला पहिला कुडुले पुग्न एक डेढ घण्टा हिँड्नु पथ्र्यो । पुल बनेपछि डेढ घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ,” वडाअध्यक्ष थापाले भने, “पुलले सुविधा मात्रै दिएको छैन, रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजारीकरण गर्न र बागलुङको पञ्चकोट, कुडुलेको शालग्राम सङ्ग्रहालयको अवलोकनका लागि आएका धार्मिक पर्यटक र रत्नेचौरको भाइरल रोड, तोरीबारी र ज्यामरुककोटमा आएका पर्यटकहरू समेत पुलमा पुगेर रमाउँदै म्याग्दी, बागलुङ र पर्वतका प्राकृतिक सौन्दर्यको अवलोकन गर्न पाएका छन् ।”

    बेनी–बागलुङ सडक खण्डको पूर्वतर्फ रत्नेचौरस्थित श्रीलक्ष्मीहरि मन्दिर नजिकै निर्माण भएको यो पुलले अर्जम, रत्नेचौर, ज्यामरुककोट, फापरखेत, खबरा, फेदी, कुडुले, बान्द्रे, भान्सालगायतका गाउँका बासिन्दाले उत्पादन गरेका कृषि उपजको बजारीकरण र आर्थिक कारोबारमा पनि सुविधा पुगेको रत्नेचौरका मेखबहादुर बोगटीले बताए ।


    “पुलकै कारण बागलुङ आएका पर्यटकहरू रत्नेचौरको खेलमैदान, श्रीलक्ष्मीहरि मन्दिर र धवलागिरि क्षेत्रकै सबैभन्दा ठूलो मानवनिर्मित बुढोपोखरीको पर्यटन विकासमा सहयोग पुगेको छ ।” म्याग्दीमा तीन सय मिटरभन्दा लामा तीनवटा पुल निर्माण भएका छन् । यसअघि उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेग र बादुक जोड्ने ३६५ दशमलव ८० मिटर लामो र १४८ मिटर अग्लो झोलुङ्गे पुल निर्माण भएको थियो । त्यसैगरी, पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि गाउँपालिका–६ रिख जोड्ने ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।

  • बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

    बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

    कर्णाली, २८ फागुनः गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कारबाही गर्न माग गरेका छन् । वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा बस्दै आएकी १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटना अमानवीय र निन्दनीय भएकाले यस घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको उक्त विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्ति भनिएको छ, “महिला तथा बालिकामाथि हुने यौन हिंसा कुनै पनि बहानामा सह्य हुन सक्दैन । सुरक्षित, सभ्य र न्यायपूर्ण समाज निर्माणका लागि राज्यका निकाय, नागरिक समाज र आम नागरिक सबैको साझा प्रतिबद्धता र सक्रिय भूमिका आवश्यक रहेको छ । महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा अपराधको घटनाहरू रोकथामका लागि प्रभावकारी सुरक्षा व्यवस्था, निगरानी तथा सचेतनामूलक कार्यक्रमहरूलाई थप सुदृढीकरण बनाउन पनि सम्बन्धित पक्षहरूलाई ध्यानाकर्षण गर्दछौँ ।”

    मानवअधिकार रक्षक सञ्जाल कर्णाली र सुर्खेत, इन्सेक, दलित गैसस महासङ्घ, नवज्योति केन्द्र, एड्भोकेसी फोरम, सिएमसी, महिला मानवअधिकार रक्षक सञ्जाल, आवाज, दलित सेवा सङ्घ, दलित महिला सङ्घ, वाम, सोसेक र मानवअधिकारका लागि महिला एकल महिला समह सुर्खेतले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै सत्य तथ्य छानबिन गरी पीडित परिवारलाई उचित न्याय दिनसमेत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

    कर्णाली प्रदेश सरकार मुख्यमन्त्री यामलाल कँडेलले सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत पीडित परिवारलाई भेटेर घटनाको निष्पक्ष र कानुनी ढङ्गले छानबिन अनुसन्धान हुने तथा कानुनअनुसार न्याय सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको बताउनुभएको छ । सरकारका तर्फबाट यस घटनाको सत्यतथ्य बाहिर ल्याउने र कानुनअनुसार कारबाही गर्ने प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अगाडि बढाउने भदै पीडित परिवारले न्याय पाउनेमा प्रदेश सरकार प्रतिबद्ध रहेको जनाउनुभएको छ ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार पीडित पक्षले फागुन २४ गते उजुरी दिएका आधारमा प्रहरीले वीरेन्द्रनगरबाट चार जनालाई मङ्गलबार पक्राउ गरी अनुसन्धान थालिएको छ । उक्त घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका चार जनामाथि जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

    प्रहरीका अनुसार हालसम्म परिवारजनले बालिकाको शव बुझेका छैनन् । पीडित परिवारले दिएको जाहेरीका आधारमा शवपरीक्षणका लागि थप अनुसन्धान गर्न भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शवपरीक्षण गरी त्यसको प्रतिवेदन दिएको छ । सो प्रतिवेदनअनुसार जबर्जस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ ।

    गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा बस्दै आएकी १६ वर्षीया इनिशा उषा बालवाटिका स्कुल सुर्खेतमा ११ कक्षामा अध्ययनरत थिइन् । परिवारका अनुसार उनी शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । तर बिहान ९ः०० बजेतिर स्थानीयले जनजागरण सामुदायिक वनमा अचेत अवस्था भेटिएकी थिइन् । उनलाई प्रहरीले प्रदेश अस्पताल सुर्खेत कालागाउँ पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकका आफन्तले यही फागुन २५ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिएका थिए ।

  • पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    काठमाडौँ, २८ फागुनः परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो बैठक बुधबार परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको छ । बैठकमा पश्चिम एसियाली मुलुकमा रहेका नेपाली नागरिकको सुरक्षा र हित संरक्षणका खातिर सरकारका तर्फबाट हालसम्म भएका प्रयास तथा प्रगतिबारे समीक्षा भएको थियो ।

    परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा नेपालीको सुरक्षा सुनिश्चित गर्न आवश्यक समन्वय र पहललाई निरन्तरता दिने, हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गर्ने, आपत्कालीन नियन्त्रणकक्ष नेपालका नियोगसँग सम्पर्कमा आएकाहरूलाई सहयोग गर्ने निर्णय भएको छ ।

    यही फागुन २१ गते अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त रूपमा हवाई हमला गरेपछि पश्चिम एसियाली मुलुकमा तनाव बढेको छ । रोजगारीका सिलसिलामा ती मुलुकमा धेरै नेपाली छन् ।

  • पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

    पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

    काठमाडौँ, २८ फागुनः जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा साधारणतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल रहने अनुमान गरिएको छ । कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानहरू, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भाग तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बादल रहनेछ भने बाँकी भागमा आंशिक बादल रहनेछ । कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

  • लागुऔषधसहित विभिन्न स्थानबाट तेह्र जना पक्राउ

    लागुऔषधसहित विभिन्न स्थानबाट तेह्र जना पक्राउ

    काठमाडौँ, २८ फागुनः देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झापा, रुपन्देही, सुनसरी र कञ्चनपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो । अभियुक्तहरुबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि प्रहरीले बरामद गरेको छ ।

  • अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

    अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

    काठमाडौँ, २८ फागुन : पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हालैको आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई ज्ञापन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वयलाई दिनुभएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले उक्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गरेका छन् ।

    सन्देशमा उनले पाकिस्तान र नेपालबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको उल्लेख गरेको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।

  • मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

    मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

    भोजपुर, २८ फागुनः टेम्केमैयुङ गाउँपालिकाले प्रकृति र संस्कृतिलाई आधार बनाएर मुन्दुम पदमार्गको समग्र विकासमा जोड दिएको छ । प्राकृतिक सुन्दरता, जैविक विविधता र किराँत समुदायको मौलिक परम्परालाई एकैसाथ प्रवद्र्धन गर्दै पदमार्गलाई विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा अघि बढाइएको हो ।गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार संस्कृति र प्रकृतिको संरक्षण गर्दै पदमार्गको विकास भइरहेको छ । वन क्षेत्रमा जैविक विविधता जोगाउँदै पर्यावरणमैत्री पर्यटन विकास गर्ने नीति अवलम्बन गरिएको उनले बताए ।


    “प्रकृतिको संरक्षण नगरी पर्यटन सम्भव हुँदैन,” अध्यक्ष बस्नेतले भने, “यसैले संस्कृतिको संरक्षण र प्रवद्र्धनलाईसँगै अघि बढाएका छौँ ।” पदमार्ग क्षेत्रमा किराँत राई समुदायको संस्कार, संस्कृति र ‘मुन्दुम’ परम्परासँग सम्बन्धित संरचना, सांस्कृतिक प्रतीक र धार्मिक स्थलहरू अवलोकन गर्न सकिन्छ । ठूला घाँसे मैदान, चौँरी र भेडीगोठ, स्थानीय बस्तीको जीवनशैली तथा मौलिक परिकारले पर्यटकलाई थप आकर्षित गर्ने गरेका छन् ।

    यहाँबाट सगरमाथा, मकालु, कञ्चनजङ्घालगायत हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यो पदमार्ग पर्न थालेको छ । पछिल्लो समय पदमार्ग आसपास विश्रामस्थल, धारा, सूचना बोर्ड तथा पर्यटन सूचना केन्द्रजस्ता पूर्वाधार निर्माण गरिएका छन् ।

    गाउँपालिकाले स्थानीय समुदायलाई पर्यटनसँग जोडेर आयआर्जन वृद्धि गर्ने लक्ष्यसमेत लिएको छ । घरबास सञ्चालन, स्थानीय उत्पादनको बजारीकरण र सांस्कृतिक कार्यक्रममार्फत पर्यटकलाई मौलिक अनुभव प्रदान गर्ने प्रयास भइरहेको जनाइएको छ । प्रकृति संरक्षण, सांस्कृतिक पहिचानको प्रवद्र्धन र दिगो पर्यटन विकासलाई सँगसँगै अघि बढाउँदै मुन्दुम पदमार्ग पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।

  • मस्र्याङ्दी जलविद्युत्को मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

    मस्र्याङ्दी जलविद्युत्को मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

    तनहुँ, २७ फागुनः आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य सुरु गरिएको छ । विगत २१ दिनदेखि प्लान्ट पूर्ण रूपमा बन्द (सटडाउन) गरी थालिएका जटिल प्राविधिक तथा सिभिल संरचनाका कार्य निर्धारित समयमै सम्पन्न गरी केन्द्रले पुनः विद्युत् उत्पादन सुरु गरेको हो ।

    नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विद्युत् केन्द्रहरूमध्ये क्षमताका हिसाबले तेस्रो र वार्षिक उत्पादनका दृष्टिले दोस्रो ठूलो मानिने यस केन्द्रले गत आर्थिक वर्षमा ४५१ दशमलव सात गिगावाट प्रति घण्टा विद्युत् उत्पादन गरेको थियो । चालु आर्थिक वर्ष २०८२\८३ को माघ मसान्तसम्म २९३ दशमलव पाँच गिगावाट घण्टा उत्पादन गरिसकेको यस केन्द्रको दिगो सञ्चालनका लागि फागुन २ गतेदेखि प्लान्ट बन्द गरी मर्मत कार्य अगाडि बढाइएको थियो ।

    यस पटकको सटडाउनका क्रममा वर्षौंदेखि थाती रहेका र निकै चुनौतीपूर्ण मानिएका कार्य सम्पन्न गरिएको केन्द्र प्रमुख कपिलदेव मानजनले जानकारी दिए । उनका अनुसार विशेषगरी बाँध क्षेत्रको माथिल्लो तटीय क्षेत्र र डिसेन्डर नजिकैको कटानले जोखिममा परेको संरचनाको संरक्षण कार्य पूरा गरिनाका साथै विगत १४ वर्षदेखि सञ्चालनमा आउन नसकेको र सुरुङमा बालुवा छिर्न नदिन महत्वपूर्ण मानिने ‘अन्डर स्लुइस गेट’ को क्षतिग्रस्त संरचनाको मर्मत गरी यसलाई सञ्चालन योग्य बनाइएको छ ।

    मुख्य इन्टेक नजिकै रहेको कम्पनसेटिङ पोखरीमा वर्षौंदेखि थुप्रिएको बालुवा निकाल्ने कार्य पनि यसै अवधिमा सम्पन्न भएको केन्द्र प्रमुख मानजनले बताए । “लामो समयदेखि रोकिएका ठेक्का सम्झौताका कार्यहरू र मेकानिकल मर्मतलाई उच्च प्राथमिकता दिएर सम्पन्न गरिएको छ,” उनले भने, “विद्युत् गृहको युनिट नम्बर ३ को ओभरहलिङ कार्यमा केन्द्रकै कर्मचारी र अन्य जलविद्युत् केन्द्रका प्राविधिकहरूलाई संलग्न गराइएको थियो ।”

    बाँध क्षेत्रमा भइरहेको सिभिल मर्मतका लागि तीन सिफ्टमा २४सै घण्टा जनशक्ति परिचालन गरिएको थियो । केन्द्र प्रमुख मानजनले भने, “खोलाको बहाव न्यूनतम रहेको समयमा उत्पादनमा कम असर पर्ने गरी यो मर्मतको योजना बनाइएको थियो ।”

    तालुक कार्यालय, विभाग र निर्देशनालयको विशेष समन्वय र उच्च व्यवस्थापनको सहयोगका कारण वर्षौंदेखि रोकिएका महत्वपूर्ण सिभिल कार्यहरू यस पटक सम्पन्न गर्न सफल भएका छौँ । प्लान्ट सटडाउनकै अवधिमा विद्युत् गृहमा एलटी टाइप ब्रेकर बदलीलगायतका अन्य आवश्यक इलेक्ट्रिकल र मेकानिकल मर्मतका कार्य समेत सम्पन्न भएका छन् । यस मर्मतसँगै केन्द्रको उत्पादन क्षमतामा सुधार आउने र प्राविधिक जोखिम कम हुने केन्द्रले जनाएको छ ।