Category: फिचर

  • कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    पाटन (ललितपुर), १ चैतः नेपाली कांग्रेसले समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले निर्वाचन आयोगको बन्दसूचीमा समावेश भएका नाममध्येबाट आदिवासी जनजाति र खसआर्यतर्फ छ–छ, थारुमा एक, दलित र मधेसीमा तीन–तीन र मुस्लिममा एक जनाको नाम आयोगमा पठाउने निर्णय भएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।


    “हाम्रो पार्टीले प्राप्त गरेको २० सिटका आधारमा नाम टुङ्ग्याएका छौँ, राष्ट्रियसभा र प्रतिनिधिसभामा गरी हाम्रो सिट ६२ रहेको छ, जसअनुसार २१ जना महिला अनिवार्य छ । यस आधारमा हाल १५ जना महिलासहित नामावली पठाएका छौँ । क्लस्टरमा तलमाथि परेमा आयोगले भनेअनुसार गर्नेछौँ,” उनले भने ।


    पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा भएको बैठकमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेसहितको सहभागिता रहेको थियो । बेठकमा सहमहामन्त्रीहरू बहादुरसिंह लामा, कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, उदयशम्शेर राणा र प्रकाश रसाइली स्नेही र सदस्यहरु ओमकारप्रसाद श्रेष्ठ, अमृत अर्याल, डा गोपाल दहित, राजेन्द्रकुमार केसी र प्रवक्ता चालिसेले आआफ्नो धारणा राखेका थिए ।

  • राष्ट्रियसभा सदस्यका लागि गृहमन्त्री अर्यालको नाम सिफारिस

    राष्ट्रियसभा सदस्यका लागि गृहमन्त्री अर्यालको नाम सिफारिस

    काठमाडौँ, १ चैतः नेपाल सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । राष्ट्रियसभामा हाल रिक्त एक विज्ञ सदस्यमा उहाँको नाम सिफारिस भएको हो ।

    स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रिय सभामा तीन जनालाई मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिबाट मनोनीत गर्ने संवैधानिक प्रावधान छ । सङ्घीय संसद्मा माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्यको कार्यकाल ६ वर्षको रहने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभाको एक तिहाइ सदस्यको गत माघ ११ गते निर्वाचन भएको थियो ।

  • राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठ

    राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठ

    काठमाडौँ, १ चैतः राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन् । उनी प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा रहेर काम गरिरहेका थिए । प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई आगामी पाँच वर्षका लागि उक्त पदमा मनोनयन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनित गरिएको हो ।

    राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ मा कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था रहेको छ । सिन्धुलीका श्रेष्ठले समाजशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । उनी कानुन व्यवसायी हुन् ।

  • प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    काठमाडौँ, १ चैतः नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ । सभापति थापा, पार्टी उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत सहभागी टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरेको हो ।

    गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उक्त भेटमा प्रधानमन्त्री कार्कीले विभिन्न भूमिकामा रहेर निर्वाचन सफल बनाउन कांग्रेसले निर्वाह गरेको सहयोगी भूमिकाप्रति आभार व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचनमा पराजित हुँदैमा विचलित नहुन कांग्रेस नेताहरूलाई आग्रह गरेकी थिइन् ।

  • नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

    नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

    काठमाडौँ, १ चैतः कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले आज विज्ञप्तिमार्फत अनुरोध गर्दै मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने कुवेतमा बसोबास गर्ने नेपालीलाई ‘अनलाइन’ मार्फत साउदी भिसाका लागि आवेदन दिन सकिने जनाएको हो।

    दूतावासले भनेको छ, “मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने नेपाली नागरिकले अनलाइनमार्फत साउदी भिसाका लागि आवेदन दिन सकिन्छ । भिसा प्राप्त भएपश्चात् सडकमार्गबाट साउदी प्रवेश गरी साउदीको विमानस्थल हुँदै नेपाल जान सकिने भएकाले भिसाका लागि अनलाइनमार्फत आवेदन दिनुहुन अनुरोध छ ।”

  • साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, मातृका बने सांसद

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, मातृका बने सांसद

    काठमाडौँ, १ चैत । सर्वोच्च अदालतले धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले आज आयोगको उम्मेदवार खारेज गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । साहले आयोगको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध उम्मेदवारी कायम गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । अदालतको आदेशसँगै अब निर्वाचन आयोगको निर्णय सदर भएको छ। यससँगै मातृका यादव सांसद बनेका छन् ।

  • लामिछानेको रिटमा सोमबार सुनुवाइ हुने

    लामिछानेको रिटमा सोमबार सुनुवाइ हुने

    काठमाडौँ, १ चैतः सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर सोमबार सुनुवाइ गर्ने भएको छ ।

    न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज हेर्दाहेर्दैमा राखेर सोमबार सुनुवाइ हुने भएको हो । यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न आजका लागि पेस गर्न आदेश दिएको थियो ।

    महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्नुभएको थियो । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

  • आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

    आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

    रासस
    भोजपुर, १ चैतः टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले घोषणा गरेको घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यभित्र परेको मुन्दुम पदमार्गको यात्राका क्रममा भेटिने यो पोखरी प्राकृतिक सौन्दर्यका कारण पर्यटकमाझ लोकप्रिय बन्दै गएको हो ।

    समुद्री सतहबाट करिब दुई हजार ५०० मिटर उचाइमा रहेको यो पोखरी घाँसेमैदानको बीचमा अवस्थित छ । वरिपरि फैलिएको हरियाली, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ । बाह्रै महिना पानीले भरिएको रहने यस पोखरीको मनमोहक दृश्यले पदयात्रामा निस्कने पर्यटकलाई विशेष आनन्द दिने गर्छ ।

    मुन्दुम पदमार्गमा पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि मलुवा पोखरी विश्रामस्थलका रूपमा पनि परिचित बन्दै गएको छ । पदमार्गको यात्रामा निस्केका पर्यटक यहाँ पुगेर केही समय विश्राम गर्ने, फोटो खिच्ने र प्राकृतिक दृश्यावलोकन गर्ने गर्दछन् । पर्यटकको आकर्षण बढाउन पोखरीमा माछाका भुरासमेत हालिएको छ । पोखरी वरिपरि फैलिएको घाँसेमैदान र सुन्दर वातावरणले यस क्षेत्रलाई अझ आकर्षक बनाएको छ । वसन्तयाममा वरिपरि फुल्ने गुराँस तथा अन्य वनस्पतिले यस क्षेत्रको सौन्दर्यलाई थप मनमोहक बनाउने गरेको स्थानीयवासी बताउँछन् ।

    पर्यटन प्रवर्द्धनलाई ध्यानमा राख्दै गाउँपालिकाले पोखरी क्षेत्रको संरक्षण तथा व्यवस्थापनमा ध्यान दिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । उनका अनुसार मुन्दुम पदमार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढेसँगै यस क्षेत्रको महत्व पनि बढ्दै गएको छ । स्थानीय तहले पदमार्गको प्रचारप्रसारसँगै मलुवा पोखरी क्षेत्रलाई थप व्यवस्थित बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ । प्राकृतिक सुन्दरता, शान्त वातावरण र मुन्दुम पदमार्गसँगको सम्बन्धका कारण मलुवा पोखरी पछिल्लो समय जिल्लाको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

  • घुमाउनेमा पुल नबन्दा सास्ती

    घुमाउनेमा पुल नबन्दा सास्ती

    दमौली (तनहुँ), १ चैतः प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको खहरेलगायत आसपासका स्थानीयले ‘नो भोट’ को चेतावनी दिए । तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र हुँदा यस ठाउँका स्थानीयवासीले मत नै नहाल्ने चेतावनी दिएका थिए । घुमाउनेमा पुल नबन्दा यस भेगका जनताले सास्ती खेपिरहेको र पटकपटक मन्त्री, सांसद, सडक डिभिजनमा ध्यानाकर्षण र सरोकारवाला निकाय घेराउसमेत गरेका थिए ।

    सोहीबमोजिम हजारौँ जनता मतदानमै सहभागी नहुने चेतावनीपछि तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवारले पुल निर्माणस्थलमै पुगेर जसरी पनि पुल बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरे । सबै उम्मेदवारले पुल निर्माणलाई प्राथमिकता दिने हस्ताक्षरसहितको प्रतिबद्धता व्यक्त गरेपछि स्थानीय मतदानमा सहभागी भए । निर्वाचनको परिणाम सार्वजनिक भइसकेको छ भने यस क्षेत्रबाट रास्वपा उपसभापति डा स्वर्णिम वाग्ले विजयी भए । अब बन्ने सरकारले घुमाउनेमा पुल निर्माणलाई सुरु गर्नेमा यहाँका स्थानीयवासी आशावादी छन् । चाँडै पुल निर्माणले गति लिनेमा आफूहरू आशावादी रहेको पुल निर्माण सङ्घर्ष समितिका संयोजक सिद्धान्त थापामगरले बताए ।


    उनले भने, “नयाँ सरकार गठन हुँदैछ । अब यो बेला पनि पुल बनेन भने अरु बेला बन्न सक्दैन । हामी पुल निर्माण हुनेमा आशावादी छौँ ।” घुमाउने पुल निर्माणका लागि सम्झौता भएको १२ वर्ष बितिसक्यो । सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो । घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिलरमात्र ठडिएको छ । मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलोपटक २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो ।

    बारम्बारको म्याद थप र डिजाइन परिवर्तनपछि २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा करिब ३६ प्रतिशतमात्र काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ । उक्त पुल निर्माणका लागि २०८३ असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।

    गण्डकी प्रदेशको राजधानी पोखरा र चितवनबीचको कम दूरीमा सजिलै आवतजावत गर्न सकिने तनहुँ जिल्ला सदरमुकाम दमौलीस्थित व्यास नगरपालिका–१ निर्मलनगरबाट सुरु हुने बुद्धसिं मोटरमार्ग सेती र मादी नदीको किनारा हुँदै क्रमशः व्यास–१३ र १४, बन्दिपुर–६, आँबुखैरेनी–५ हुँदै जाने र उक्त सडकलाई मुग्लिन–नारायणगढ सडकमा जोड्ने घुमाउने घाटमा पुल निर्माण थालिएको थियो । तनहुँको कछार मानिने देवघाट गाउँपालिकाअन्तर्गत वडा नं २, ३ र ४ का जनतासमेत लाभान्वित हुने यस सडक पृथ्वी राजमार्गको मुग्लिन सडक खण्डभन्दा करिब २३ किमी कम दूरी पर्दछ ।

    गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्नपश्चात पोखरा र दमौलीलाई नारायणगढ आवतजावत गर्न हाल सञ्चालन भइरहेको मुग्लिङ नारायणगढ सडकभन्दा २३ किलोमिटर छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ । उक्त पुल १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । सम्झौता भएको बेला पुलको लागत रु नौ करोड ५६ लाख थियो ।

  • रुस भन्छ : इरानलाई आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार छ

    रुस भन्छ : इरानलाई आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार छ

    मस्को, १ चैत,(रासस–एएफपी) । इरानसँग आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार रहेको संयुक्त राष्ट्रसङ्घका लागि रुसी स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले बताएका छन् । नेबेन्जियाले शुक्रबार सञ्चारकर्मीसँग भने, “इरान एक स्वतन्त्र राष्ट्र भएको नाताले उसँग आफ्नो सुरक्षा सुनिश्चित गर्ने र नागरिक तथा नागरिक पूर्वाधारमाथिको आक्रमणलाई स्वीकार नगर्ने अधिकार छ ।”

    बुधबार संयुक्त राष्ट्र सुरक्षा परिषदमा पारित हुन असफल भएको मध्यपूर्वमा जारी सैन्य द्वन्द्वलाई सम्बोधन गर्ने रुस प्रायोजित प्रस्तावको उल्लेख गर्दै रुसी कूटनीतिज्ञले समाचार संस्था आरटीसँग भने, “अहिले मध्यपूर्वको स्थिति वास्तवमै भयावह छ र हामी कूटनीतिक समाधानका लागि आह्वान गर्दछौँ । हाम्रो प्रस्तावको पक्षमा मतदान नगरेर उनीहरूले लिएको अडान उनीहरूको इरान, इरानी नागरिक भूगोलको लागि अन्तरराष्ट्रिय कानुनद्वारा प्रदत्त अधिकार र जिम्मेवारी हो।”

    सैन्य कारबाही तत्काल रोक्न सबै पक्षलाई आग्रह गर्ने मस्यौदा प्रस्तावलाई पक्षमा चार, विपक्षमा दुई र नौ अनुपस्थित मतले अस्वीकृत भएको थियो । रुस, चीन, पाकिस्तान र सोमालियाले पक्षमा मतदान गरेका थिए भने अमेरिका र लाटभियाले विपक्षमा मतदान गरेका थिए । इरानविरुद्ध अमेरिका–इजरायलले गरेको व्यापक हवाई आक्रमण र गोलाबारी असफल भएको नेबेन्ज्याले बताए । उनले भने, “हामीलाई थाहा छैन के हुन्छ । आक्रमण असफल भएको छ । उनीहरूले इरानी शासनलाई पतन गराउने उद्देश्यले गरेको आक्रमणमा अमेरिकीहरूको अनुमान अनुरुप इरानी जनताले विद्यमान् इरानी सत्ताविरूद्ध विद्रोह गरेनन् ।

  • इजरायली आक्रमणमा मार्च २ पछि २६ जना स्वास्थ्यकर्मीको मृत्यु भएको लेबनानद्वारा पुष्टि

    इजरायली आक्रमणमा मार्च २ पछि २६ जना स्वास्थ्यकर्मीको मृत्यु भएको लेबनानद्वारा पुष्टि

    बेरुत, १ चैत, (रासस–एएफपी) । इजरायल र हेजबुल्लाहबीच द्वन्द्व सुरु भएयता इजरायली आक्रमणमा २६ जना प्यारामेडिक्स (स्वास्थ्यकर्मी)को मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ। लेबनानी अधिकारीहरूले दक्षिणी शहर बुर्ज कलवियाको एक स्वास्थ्य केन्द्रमा काम गर्ने १२ जना चिकित्सक र नर्सहरूको मृत्यु भएको बताएका छन्।

    सावानेह शहरमा भएको अर्को आक्रमणपछि हेजबुल्लाहसँग सम्बन्धित दुई स्वास्थ्यकर्मी र एक सहयोगीको मृत्यु भएको थियो। इजरायली सेनाले शनिबार हेजबुल्लाहले सैन्य गतिविधिका लागि एम्बुलेन्स प्रयोग गरेको आरोप लगाएपछि लेबनानी मन्त्रालयले इजरायलले बारम्बार ‘एम्बुलेन्स कर्मचारीहरूलाई निशाना बनाएको’ आरोप लगाएको हो ।

  • इरानमा आक्रमण गर्न खटिएका छन् अमेरिकाका ५० हजार सैनिक

    इरानमा आक्रमण गर्न खटिएका छन् अमेरिकाका ५० हजार सैनिक

    वासिङटन, १ चैत, (रासस–सिन्ह्वा) । पेन्टागनका एक वरिष्ठ अधिकारीले शुक्रबार बताए अनुसार, इरानमाथि सैन्य हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्न छन् । पेन्टागनका प्रेस सचिव किंग्स्ली विल्सनले भने, “यी बलहरूले हवाई र समुद्री क्षेत्रमा नियन्त्रण स्थापना गरेका छन् र हजारौं चिन्हित इरानी लक्ष्यमा आक्रमण गरेका छन्, जसले सञ्चालनात्मक प्रभुत्व देखाउँछ ।” अमेरिकी सेन्ट्रल कमाण्डले बिहीबार लगभग ६ हजार लक्ष्यमा हमला गरिएको, ६० भन्दा बढी जहाज र ३० मिनेलयर नष्ट भएको जानकारी दिएको छ ।


    यस अपरेशनमा प्रयोग हुने हतियारहरूमा लडाकू जहाज, ड्रोन, मिसाइल रक्षा प्रणाली, युद्धपोत, ड्रोनविरुद्धका उपकरण, इन्धन आपूर्ति गर्ने विमान र कार्गो विमानहरू समावेश छन् । पेन्टागनले अर्को विवरण अनुसार, ट्रिपोली नामक एक उभयचर हमला जहाज र लगभग दुई हजार ५०० मरीनलाई मध्यपूर्वमा तैनाथ गरिरहेको छ ।


    सेन्ट्रल कमाण्डले शुक्रबार पश्चिम इराकमा बिहीबार दुर्घटनाग्रस्त भएको अमेरिकी इन्धन आपूर्ति विमानमा रहेका सबै ६ चालक दलका सदस्यको मृत्यु भएको पुष्टि गरेको छ । यसले संयुक्त अमेरिकी–इजरायली इरानमाथि फेब्रुअरी २८ देखि सुरु गरेका आक्रमणमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या कम्तीमा १३ पुगेको जनाएको छ । इरानका संयुक्त राष्ट्रस्थित स्थायी प्रतिनिधि अमीर सईद इरावानीका अनुसार, हमलामा एक हजार ३०० भन्दा बढी नागरिकको मृत्यु भएको र ९ हजार ६६९ नागरिक स्थल नष्ट भएका छन् ।

  • अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    सुगुरथला (म्याग्दी), १ चैत स् बाइस दशमलव पाँच मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकेर केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो ।

    आयोजनाका प्रमुख शिवसागर यादवले गत फागुन २९ गते साँझ ६ः०० बजेदेखि परीक्षणका लागि केन्द्रीय लाइनमा पठाउन थालिएको जानकारी दिए । “नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा पाँच दिनसम्म गरिएको परीक्षण सफल भएपछि केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो”, उनले भने, “परीक्षण सफल भएपछि १५ दिनपछि व्यावसायिक उत्पादन सुरु हुन्छ ।”

    हालको सुक्खायाममा १३।८६ मेगावाट विद्युत् उत्पादन भएको आयोजना प्रमुख यादवले बताए । बाँध, विद्युत्गृह, पाइप लाइन, प्रसारण लाइन र विद्युत्गृहका उपकरण जडानका साथै आन्तरिक परीक्षण सकेर परीक्षण उत्पादन थालिएको हो । विसं २०८० मा उक्त आयोजना निर्माण सुरु भएको थियो । आयोजना निर्माणस्थल भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ ।

    सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), दुई हजार ९०० मिटर मुख्य पाइप लाइन र ३०० मिटर सर्च साफ्ट पाइप लाइन जडान, फेदीमा विद्युत्गृह निर्माण भएको छ । दुईवटा युनिट ९टर्वाइन० रहेको विद्युत्गृह परिसरमा स्वीचयार्ड निर्माण भएको इन्जिनियर सञ्जीव न्यौपानेले बताए ।


    यो आयोजना रन अफ द रिभर प्रकृतिको हो । फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर छ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ । बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गरेर तिल्केनीचौर हँुदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराइएको छ । फेदीदेखि तिल्केनीचौरसम्म प्रसारण लाइनको दूरी २३.५ किलोमिटर छ ।

    रु पाँच अर्ब १४ करोड लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स, माछापुच्छ्रे र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । प्रवर्द्धकको १० प्रतिशत लगानी रहने आयोजनाको २० प्रतिशत लगानी सेयर जारी गरेर सर्वसाधारणमार्फत जुटाइनेछ । बेनीदेखि आयोजना निर्माणस्थल जोड्ने सडक गत वैशाख–जेठमा स्तरोन्नतिका कारण र बर्खामा मलाङको पहिरोका कारण अवरुद्ध हुँदा विद्युत्गृह, प्रसारण लाइन र स्वीचयार्डका उपकरण ढुवानीमा समस्या भएको थियो ।

    राहुघाट र सहायक नदीहरूमा यसअघि तीनवटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । तुँदी पावरले प्रवर्द्धन गरेको ३५.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र त्यसको क्यासकेडका रूपमा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् ।


    राहुघाटको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले गत भदौदेखि व्यावसायिक उत्पादन थालेको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

  • डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    काठमाडौँ, १ चैत । ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ नाराका साथ आजदेखि ‘वन डढेलो व्यवस्थापन सप्ताह’ सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति, २०६७ अनुसार प्रत्येक वर्ष चैत १ देखि ७ गतेसम्म ‘वन डढेलो व्यवस्थापन सप्ताह’ मनाइँदै आएको छ । वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गरी सप्ताह मनाउन लागिएको हो ।

    सो अवसारमा वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि अत्यन्त महत्त्वपूर्ण हुने बताउँदै सप्ताहका अवसरमा सबै डिभिजन वन कार्यालय, वन उपभोक्ता समूह, विकास तथा संरक्षण साझेदार संस्था तथा सम्बन्धित सरोकारवाला निकायलाई आआफ्नो कार्यक्षेत्रमा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेका छन् ।


    मन्त्रालयका अनुसार सप्ताहका अवसरमा जनचेतना अभिवृद्धि कार्यक्रम, समुदाय तथा विद्यालयस्तरीय अभिमुखीकरण, प्रचारप्रसार अभियान, स्थानीय सञ्चारमाध्यमबाट सूचना प्रवाह, जोखिमयुक्त क्षेत्रहरूको अनुगमन, वन क्षेत्रमा अग्निरेखा निर्माण, सरसफाइ तथा अन्य उपयुक्त डढेलो व्यवस्थापनसम्बन्धी गतिविधि सञ्चालन गरिनेछ । वन तथा भूसंरक्षण विभागका महानिर्देशक धिरेन्द्रकुमार प्रधानले डढेलो देशका सबै प्रदेशमा फैलिएको देखिएको बताए । उनका अनुसार विशेषगरी सुदूरपश्चिम, बागमती र कर्णाली प्रदेशमा डढेलोको जोखिम बढी देखिएको छ ।

    डढेलोको भौगोलिक वितरणले तराई–चुरे तथा मध्यपहाडी वन क्षेत्रमा जोखिम उच्च रहेको सङ्केत गरेको उनले बताए । उनका अनुसार नेपालमा सुक्खायाम सुरु भएसँगै विशेषगरी फागुनदेखि जेठसम्म वन क्षेत्रमा डढेलो लाग्ने जोखिम उच्च रहने गरेको छ । डढेलोका कारण वन स्रोत, जैविक विविधता, वातावरणीय सन्तुलन, जलस्रोत, मानव स्वास्थ्य तथा जनधनमा गम्भीर नकारात्मक प्रभाव पर्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि समयमै प्रभावकारी पूर्वतयारी, समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेको विभागले जनाएको छ ।

  • सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    मलङ्गवा ९सर्लाही०, १ चैतः लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । विराटनगरबाट काठमाडौँतर्फ गइरहेको लुप०३–००१ख ०४३० नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्र२–०३–०१५प ३३९६ नम्बरको मोटरसाइकललाई शनिबार साँझ करिब ७ः३५ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१ छप्कैया घर भई हाल सर्लाहीको लालबन्दी –१ नवलपुर बस्दै आएका ३५ वर्षीय सुनिल महतो गम्भीर घाइते भएका थिए ।

    प्रहरीले घाइते महतोलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएकामा उपचारकै क्रममा शनिबार राति ९ः०० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए । दुर्घटनामा संलग्न बस र बसचालक दाङ जिल्ला तुलसीपुर नगरपालिका–९ निवासी ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखेको छ ।

  • चितवनमा तोरी उत्पादन घट्यो

    चितवनमा तोरी उत्पादन घट्यो

    चितवन, १ चैत । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ । कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्ष प्रतिहेक्टर १.३१ मेट्रिक टन उत्पादकत्व रहेकामा यस वर्ष १.०१ मा झरेको छ । गत वर्ष जिल्लामा १८ हजार ५६५ मेट्रिक टन तोरी उत्पादन भएकामा यस वर्ष १४ हजार ३१५ मेट्रिक टन उत्पादन भएको छ ।

    जिल्लामा १४ हजार १७३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदै आइएको छ । उनका अनुसार तोरी उत्पादनमा कमी आउनु बेमौसमी पानी पर्नु प्रमुख कारण हो । यससँगै किसानले दोस्रोपटक तोरी लगाउनुपर्ने बाध्यता आएको थियो । फूल फुल्ने समयमा हुस्सु लाग्नु र तुसारोका कारण पनि तोरीको उत्पादन घटेको हो ।

    चितवनलाई तोरी उत्पादनका लागि महत्त्वपूर्ण जिल्लाका रूपमा लिइँदै आएको छ । नगदे बालीमा पछिल्ला वर्षहरूमा किसानको आकर्षण बढेसँगै तोरी लगाउने किसान पनि बढेका हुन् । विशेषगरी जङ्गली जनावरले तोरीमा क्षति नपुर्याउने भएकाले यसतर्फ किसानको आकर्षण बढेको उनको भनाइ छ ।

  • फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फुङ्लिङ (ताप्लेजुङ), १ चैत । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा भक्तजनले पाथीभरामा रु ३१ लाख १० हजार भेटी चढाएका छन् । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गर्ने गरेका छन् । सङ्कलित भेटीलाई सुरक्षित रूपमा पोकामा लाहाछाप लगाई मन्दिर परिसरबाट फेदीसम्म ल्याइन्छ ।

    फेदीमा करिब एक सातासम्म सङ्कलन भएको भेटीलाई त्यसपछि सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा ल्याइन्छ । कार्यालयमा दैनिक रूपमा प्रहरी तथा सिसीटिभीको निगरानीमा भेटी गणना गरी बैंकमा जम्मा गर्ने व्यवस्था गरिएको समितिले जनाएको छ । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार फागुनमा १८ हजार ६५२ जना भक्तजन दर्शनका लागि पाथीभरा मन्दिर पुगेका छन् । प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको पाथीभरामा वर्षभरि देश तथा विदेशबाट हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् ।

  • नेपालमा एघार महिनामा ६ हजार विपद्का घटना

    नेपालमा एघार महिनामा ६ हजार विपद्का घटना

    काठमाडौँ, १ चैतः गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ । विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार ८१४ घाइते भएका छन् । विपदका कारण १२ हजार ४५८ घरपरिवार प्रभावित भएको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ । प्राधिकरणको विवरणअनुसार सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । तीन हजार ३३९ आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ ।

    सो अवधिमा बाढीका तीन सय १८, पहिरो पाँच सय ९०, भारी वर्षा चार सय २९, चट्याङ तीन सय ६७, सर्पदंश पाँच सय ९२, डढेलो दुई सय ४६ वटा घटना भएका छन् । त्यस्तै, हावाहुरीका दुई सय ९२, जनावर आक्रमण चार सय ८८, लेक लागेका एक सय १९ घटना भए । हिमपहिरोका पाँच, भूकम्प सात, डुङ्गा पल्टेर दुईवटा घटना घटेका छन् । त्यसैगरी, फागुन २९ गते बिहानदेखि ३० गते बिहानसम्म कुल २९ विपद्का घटना भएका प्राधिकरणले जनाएको छ ।

  • लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ, १ चैत । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।

  • रात्री बसमा ढुंगा खसेको स्थान तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    रात्री बसमा ढुंगा खसेको स्थान तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    भरतपुर (चितवन), १ चैत स् नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त स्थान स्पष्ट देख्न सक्नेगरी दुईवटा फ्लड लाइट जडान गरिएको हो । सडक डिभिजन भरतपुरका सबइन्जिनियर हरिकुमार श्रेष्ठका अनुसार शनिबार उक्त ठाउँमा विद्युत् प्राधिकरणसँगको समन्वयमा दुईवटा फ्लड लाइट जडान गरिएको छ । तुइन खोला क्षेत्रमा पहिरो र ढुङ्गा खस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै रातको समयमा पनि स्पष्ट देखिनेगरी फ्लड लाइट जडान गरिएको श्रेष्ठले बताए ।

    लाइट जडानपछि पहिरो झरेको र ढुङ्गा खसेको सहजै देख्न सकिनेछ । यो सडकखण्डमा ‘ओभरटेक’ नगरी संयमित भइ यात्रा गर्न चालक एवं यात्रीलाई आग्रहसमेत गरिएको श्रेष्ठले बताए । शुक्रबार मात्र काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको रात्रिबसको क्याबिनमा ढुङ्गा बजारिएको थियो । यद्यपि चालकको होसियारीले दुर्घटना टरेको थियो । तुइन खोलामा गत वर्षायाममा निरन्तर पहिरो जाँदा पटकपटक सडक अवरुद्ध भएको थियो ।

  • इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

    इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

    दुबई, १ चैत, (रासस–एएफपी) । इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार ड्रोन हमला गरेको छ। यो हमला अमेरिकाले इरानको खार्ग द्वीपमा भीषण हमला गरेलगत्तै भएको हो । यूएईका अधिकारीहरूले फुजाइरामा लागेको आगो निभाउने कार्य भइरहेको जनाएका छन्। उनीहरूले हवाई प्रतिरोध प्रणालीले नष्ट गरेको ड्रोन खस्दा आगलागी भएको बताएका छन्। उक्त बन्दरगाह यूएईका निम्ति अत्यन्त महत्त्वपूर्ण स्थान हो भने मध्येपूर्वकै सबैभन्दा विशाल तेलभण्डार केन्द्रहरूमध्ये एक हो।

    साथै पानीजहाजहरूमा इन्धन भर्नका निम्ति पनि यो महत्त्वपूर्ण स्थल हो। फुजाइरा बन्दरगाह ओमानको खाडीमा पर्छ । त्यहाँ पुग्न पानीजहाजहरूलाई जलक्षेत्रमा युद्ध सुरु भएको दुई सातायता पानीजहाजको आवतजावत लगभग बन्द रहेको हर्मुज स्ट्रेट पार गर्नुपर्दैन । ड्रोन हमलापछि अनलाइन माध्यममा देखिएका फुटेजमा यूएईको पूर्वी तटमा रहेको उक्त पूर्वाधार परिसरबाट बाक्लो धुवाँको मुस्लो उडिरहेको देखिएको थियो।

    फुजाइरा बन्दरगाहमा ड्रोन हमला त्यतिखेर भएको छ जतिखेर इरानी रिभोलूशनरी गाड्र्स कोर (आईआरजीसी)ले अमेरिकाले उसको खार्ग द्वीपमा हमला गरेका कारण अब यूएईका बन्दरगाह तथा अमेरिकी सैन्य ठेगानाहरू आफ्नो निम्ति वैध निसाना बनेको जनाएको छ। तेहरानको तेल उद्योग तथा समग्र अर्थतन्त्रका निम्ति खार्ग द्वीपको महत्त्व निकै रहेको मानिन्छ।

    यसैबीच, इरानी सेनाको खताम मुख्यालयका एक प्रवक्ता कर्णेल इब्राहिम जुल्फीगरीले यूएईका बन्दरगाहमा रहेका अमेरिकी क्षेप्यास्त्र तथा अमेरिकी सैनिक ‘लुक्ने स्थल’हरूमा आक्रमण गर्ने इरानको वैध अधिकार भएको बताएका छन् । उनले हानिबाट जोगिन यूएईका सहरहरू खाली गर्न मुस्लिमहरूलाई आह्वान गरेका छन् ।
    यसअघि अर्को खाडी देश कतारमा अमेरिकी व्यापारिक स्वार्थ जोडिएका कतिपय ठाउँहरू खाली गर्न अधिकारीहरूले आदेश दिएका थिए । इरानले तिनलाई वैध निसाना भनेपछि मानिसहरूलाई त्यहाँबाट अन्यत्र जान अधिकारीहरूले भनेका छन्। गुगल तथा ‘अमेरिकन एक्सप्रेस’जस्ता अमेरिकी कम्पनीहरूको कार्यालय रहेको राजधानी दोहाको केन्द्रमा रहेको मुशेइरेब डिस्ट्रिक्टमा मानिसहरूलाई फोनमार्फत् ती ठाउँ छाड्न सावधान गराइएका सन्देश जारी गरिएका छन्।

  • बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण

    बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण

    बग्दाद, १ चैत, (रासस–एएफपी) । इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा स्रोतहरूले बताएका छन् । बग्दादमा इरान समर्थित शक्तिशाली समूह काताइब हेजबुल्लाहलाई लक्षित गरी दुई वटा आक्रमणमा एक कमान्डरसहित यसका तीन सदस्यको मृत्यु भएको केही समयपछि दूतावासमा आक्रमण भएको थियो। लामो समयदेखि अमेरिका र इरानबीचको छद्म युद्धको मैदान रहेको इराकलाई फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि मध्यपूर्व युद्धमा तानेको थियो।

    शनिबार बिहान विस्फोटको आवाज आएलगत्तै अमेरिकी कुटनीतिक नियोगमाथि कालो धुवाँको मुस्लो उठेको एएफपीका एक पत्रकारले बताएका छन् ।
    दुई सुरक्षा अधिकारीहरूले एएफपीलाई बताएअनुसार दूतावास परिसरमा ड्रोनद्वारा आक्रमण भएको थियो। घटनाबारे अमेरिकी दूतावासले कुनै प्रतिक्रिया जनाएको छैन । युद्ध सुरु भएयता बग्दादस्थित अमेरिकी दूतावासमाथि दोस्रो पटक आक्रमण भएको छ ।

    तेहरान समर्थित धेरै सशस्त्र समूहहरूलाई वाशिङ्गटनले ‘आतङ्कवादी सङ्गठन’ को रूपमा घोषणा गरेको छ । इराकमा इस्लामिक प्रतिरोध भनेर चिनिने इरान सहयोगी अभियान अन्तर्गत विभिन्न गठबन्धन गरिएको छ । इराक र यस क्षेत्रमा अमेरिकी आधारशिविरहरूमा दैनिक ड्रोन र रकेट आक्रमणको दाबी ती सङ्गठनहरूले गर्ने गरेका छन् ।

    युद्ध सुरु भएदेखि इराकमा ती समूहका सदस्यहरूलाई लक्षित गरी गरिएका धेरै आक्रमणहरूमा अमेरिका र इजरायलमाथि आरोप लगाइएको छ। पहिलो आक्रमण इरान समर्थित धेरै समूहहरूको उपस्थिति रहेको अरासतको छिमेकमा रहेको एक घरमा भएको थियो। त्यसको दुई घण्टापछि नहरावान जिल्लामा एउटा गाडीमा दोस्रो आक्रमण भएको थियो । सुरक्षा स्रोतहरूले सुरुमा दुई समूहका सदस्यहरू मारिएको बताएका थिए ।

    इरान समर्थक स्रोतले एएफपीलाई बताएअनुसार पछि घरमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको पुष्टि भएको छ । कमाण्डर अबु अली अल–अमिरीसहित तीन लडाकुका लागि काताइब हेजबुल्लाहले बग्दादमा अन्त्येष्टि जुलुस निकालेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त समूहका उच्च नेता अहमद अल–हमिदावी उक्त समूहको घरमा भएको आक्रमणमा घाइते भएका बताइएको छ। इरान समर्थक स्रोतले उक्त आक्रमण ‘लक्षित हत्याको प्रयास’ भएको बताएको छ।

    अरासत जिल्लाका एक बासिन्दाले एएफपीसँग भने, “काताइब हेजबुल्लाहले कब्जा गरेको निकै साधारण देखिने घरबारे छिमेकमा कसैलाई पनि थाहा थिएन।” कुनै पनि स्रोतले इरान समर्थक गुटमाथि भएको आक्रमणमा कसको हात रहेको भन्ने कुरा बताएको छैन र कतैब हेजबुल्लाह समूहले भने यस विषयमा कुनै टिप्पणी गरेको छैन।

  • नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

    नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

    काठमाडौँ, ३० फागुनः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा नेपालमा लगानीको वातावरण अनुकूल बनेको भन्दै जलविद्युत्, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा लगानी बढाउन आह्वान गरिएको छ । आज यहाँ कार्यक्रममा सहभागी उद्यमी तथा विज्ञहरूले नीतिगत स्थायित्व, विश्वासको वातावरण र संस्थागत संयन्त्र निर्माण गर्न सके प्रवासी नेपालीको लगानी बढ्न सक्ने धारणा राखेका छन् ।

    लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको विश्वस्त आधार बनाउँदै सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राखे । विगतमा अस्थिर सरकारका कारण नीतिगत एकरुपतामा केही समस्या रहे पनि अब करिब दुई तिहाइसहितको सरकार आउन लागेकाले लगानीकर्तामा आत्मविश्वास जगाउन सबै एकजुट हुनुपर्ने भन्दै लगानी सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको बताए ।


    नेपाल राष्ट्र बैङ्क अनुसन्धान विभागका कार्यकारी निर्देशक रामशरण खरेलले विदेशमा रहेका करिब ८० लाख नेपालीलाई नेपालको दीर्घकालीन आर्थिक विकासमा जोड्ने विषयमा सोच्नुपर्ने बताए । उनले लगानीका लागि सुरक्षित वातावरण, बजार र विश्वासको आधार तयार गर्नुपर्नेमा जोड दिए ।


    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा अब राजनीतिक स्थिरताको वातावरण बनेकाले प्रवासी नेपालीसँग सहकार्य गरेर नीतिगत सुधारमार्फत लगानी भित्र्याउन निजी क्षेत्र तयार रहेको बताए । नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्रलाई १०० बिलियन डलरको बनाउन एनआरएनको लगानी महत्वपूर्ण हुने धारणा राखे ।


    चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले नीतिगत स्थायित्व, लगानी र विश्वासमा जोड दिँदै गैरआवासीय लगानीका लागि संस्थागत संयन्त्र आवश्यक भएको धारणा राखे । एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले भावी पुस्ताको भविष्यलाई ध्यानमा राख्दै नेपालमा लगानी गर्न आग्रह गरे । यसैबीच, सम्मेलनअन्तर्गत आयोजित ‘दोस्रो पुस्ताका युवा र सांस्कृतिक उत्तरदायित्व’ सत्रमा वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले संस्कृतिको संरक्षण पुस्तान्तरणबाट हुने भन्दै प्रवासमा रहेका नेपालीका सन्ततिलाई संस्कृति र भाषासँग जोड्नुपर्ने बताए ।


    संस्कृतिविद् प्राडा वीणा पौडेलले भाषा, कला र चाडपर्वमार्फत संस्कृति जोगाउन सकिने उल्लेख गरिन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले प्रवासमा रहेका दोस्रो पुस्तालाई नेपालसँग जोड्न सांस्कृतिक पर्यटन प्रवर्द्धन आवश्यक रहेको बताए । एनआरएनएका उपाध्यक्ष डा हेमराज शर्माले युवालाई नेपालसँग जोड्न भाषा शिक्षा, सांस्कृतिक कार्यक्रम र खेलकुदजस्ता गतिविधि उपयोगी हुने धारणा राखे ।


    कार्यक्रममा विभिन्न वक्ताले प्रवासी नेपालीको लगानी, सीप र ज्ञानलाई नेपालको आर्थिक विकाससँग जोड्न नीतिगत सुधार र सहकार्य आवश्यक रहेकामा जोड दिएका थिए ।

  • ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

    ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

    काठमाडौँ, ३० फागुनः नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ । निगमले ग्यास उद्योगी तथा एलपी ग्यासका बिक्रेताहरूलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर एलपी ग्यासको बिक्रीवितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो ।

    निगमले आज विज्ञप्ति जारी गर्दै हाल मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको भए पनि निगमले नियमित रूपमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यास आपूर्ति गरी बिक्रीवितरणको व्यवस्था मिलाइरहेको जनाएको छ ।

    निगमले भनेको छ, “निगमले मुलुकभरिका ग्यास उद्योगीलाई आ-आफ्नो उद्योगबाट बिक्रेतालाई बिक्री गर्ने परिमाण, ठेगाना र सम्पर्क नम्बरसहित हरेक दिन बिहान १०ः०० बजेभित्र सार्वजनिक गरी निगमलाई जानकारी गराउन पुनःअनुरोध गर्दछ । साथै सम्बन्धित उद्योगका बिक्रेताले उपभोक्तालाई बिक्री गरेको नाम, सम्पर्क नं र परिमाणसहितको विवरण राखी सम्बन्धित उद्योगमार्फत हरेक दिन निगमलाई जानकारी गराउन हुन अनुरोध छ ।”

    निगमले हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आमउपभोक्ताको मागबमोजिम ग्यास पाउन सक्ने अवस्थाको सहजीकरणका लागि मिति शुक्रबारदेखि लागू हुनेगरी अर्को निर्णय नभएसम्म सम्पूर्ण ग्यास उद्योगले सिलिन्डरमा सात दशमलव एक किलो एलपी ग्यास भरी प्रतिसिलिन्डर आधा मूल्य रु ९५५ मा बजारीकरण गर्ने–गराउने व्यवस्था मिलाइएको पनि जनाएको छ ।

  • मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

    मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

    गोरखा, ३० फागुनः यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । सहिद लखन गाउँपालिका–३ कान्टारमा बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस आज साँझ दुर्घटना हुँदा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । उनकाअनुसार मृत्यु हुनेमा सबै भारतीय नागरिक छन् । माइक्रोमा १३ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको जानकारी दिँदै प्रहरी उपरीक्षक विकले घाइते तथा मृतकको पूर्ण विवरण आउन बाँकी रहेको बताए ।

  • एमालेले छान्यो समानुपातिक सांसद, को को हुने भए माननीय ?

    एमालेले छान्यो समानुपातिक सांसद, को को हुने भए माननीय ?

    काठमाडौँ, ३० फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समानुपातिकतर्फ १६ जना सांसद चयन गरेको छ । आज भएको एमालेको केन्द्रीय सचिवालय बैठकले आदिवासी जनजातिबाट भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्यलाई चयन गरेको छ । उपमहासचिव लेखराज भट्टका अनुसार खस आर्यतर्फ पद््मा अर्याल, टुकाभद्र हमाल, यशुदा कुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कँडेललाई चयन गरिएको छ ।

    यसैगरी, थारु समुदायबाट कृपाराम राना, दलित समुदायबाट विष्णुमाया विक र नीता घतानी तथा मधेसी समुदायबाट रिङ्ला यादव, यशोधा कुमारी यादव र चन्द्रेश्वर मण्डल छनोट हुनुभएको छ । मुस्लिम समुदायबाट साजिदा सिद्दीकीलाई चयन गरिएको छ । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त शोक सन्तप्त परिवारजनमा समावेदना प्रकट गरेको छ ।

  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

    काठमाडौँ, ३० फागुनः नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार मध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने विषयमा बैठकमा छलफल हुने जानकारी दिए । बैठक चैत १ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । कांग्रेसले उक्त बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ ।

  • ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

    ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

    काठमाडौँ, ३० फागुनः काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही गरिने जनाएको छ । ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरूमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरले निगरानी संयन्त्र सक्रिय बनाएको कामपाका प्रशासन विभागका प्रमुख महेश काफ्लेले जानकारी दिए ।


    काफ्लेले भने, “ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य बढी लिने तथा सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गर्नेमाथि कारबाही गर्नेछौँ । नेपाल आयल निगमले ग्यासको मूल्य आधा सिलिन्डर रु ९५५ तोकेको छ । यही मूल्यमा खरिदबिक्री गर्न व्यवसायी र उपभोक्तामा हाम्रो अनुरोध छ ।” ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले बढी भण्डारण गर्ने गरेकाले पनि बजारमा अभाव देखिएको उनको भनाइ छ ।

    यसरी ग्यास सञ्चिति गर्न थालियो भने माग र आपूर्तिको चक्रमा असर पुग्छ । यसकारण उपभोक्ताले पनि जिम्मेवारपूर्वक ग्यास माग गर्नुपर्छ”, काफ्लेले भने, “सहज जनजीविकाका लागि उपभोक्ता, उद्योग तथा वाणिज्य क्षेत्र र सरकार सबैको समान दायित्व छ । आआफ्ना दायित्व सबैले पूरा गनुपर्छ ।”

    पेट्रोल पम्पहरूले पनि आफूसँग मौज्दात इन्धन भएर पनि छैन भनी सवारीसाधनलाई उपलब्ध नगराउने सूचना पाइएको जनाउँदै उहाँले यसमा महानगरले निगरानी थालेको बताए । ग्यास र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरपालिकाका ‘हटलाइन नम्बर’ ११८० मा टिपाउन सकिने व्यवस्था मिलाइएको छ । यसरी प्राप्त विवरणका आधारमा कामपाले निगरानी गर्नेछ । ग्यास बिक्रेता महासङ्घ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार भारतबाट आउने ग्यास अहिलेसम्म नियमित छ । उहाँले सञ्चितिका लागि माग नगर्न उपभोक्तासँग आग्रह गरे ।

  • एनआरएनएको १२औ अधिवेशन सुरु

    एनआरएनएको १२औ अधिवेशन सुरु

    काठमाडौं, ३० फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औ ग्लोबल कन्फ्रेन्स र इन्टरनेसनल कन्फ्रेन्स (विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन) सुरु भएको छ । काठमाडौंस्थित सोल्टी होटलमा परराष्ट्र मन्त्री बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पानसमा दिप प्रज्वलित गरेर अधिवेशनको उद्घाटन गरे । अधिवेशनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री शर्माले गैरआवासीय नेपालीको अनुभव, सीप, अन्तर्राष्ट्रिय सम्पर्क नेपालको विकास र रुपान्तरणका लागि महत्त्वपूर्ण बताए । यसले औद्योगिक विकास, रोजगारी सिर्जनामा योगदान पुर्याउने उनको भनाइ थियो ।


    नेपालको संविधान र कानुनमा गैरआवासीय नेपालीलाई राष्ट्रको साझेदारको रुपमा स्वीकार गरिएको भन्दै उनले लगानी, सांस्कृतिक जिम्मेवारी बढाउनुपर्ने बताए । अन्तर्राष्ट्रिय सम्बन्धका आयाममा नयाँ चुनौतीहरु सिर्जना भएको बेला गैरआवासीय नेपाली संघले लगानी र प्रविधिको प्रभाव बढाउने, ज्ञान र पुँजीको दायरा बढाउने दायित्व भएको उनको भनाइ थियो । मन्त्री शर्माले प्रवासमा रहेर नेपाली सांस्कृतिक दूतको रुपमा रही नेपाली माटोमा योगदान पुर्याएको भन्दै प्रशंसा गरे । गैरआवासीय नेपालीले नेपालको आर्थिक विकास र समृद्धि ल्याउन महत्तवपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।


    मन्त्री शर्माले मध्यपूर्वमा देखिएको संकटमा परेका नेपालीको सुरक्षामा सरकार सजग रहेको बताए । ुपछिल्ला दिनमा देखिएको घटनाले नेपालीको सुरक्षाप्रति देखिएको चिन्ताप्रति नेपाल सरकार सजग छ । मध्यपूर्वमा कार्यरत नेपालीको सुरक्षाप्रति चासो बढेको छ । विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा, हित र सहायतालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक कार्यहरु अगाडि बढाइरहेको छ । खाडीमा देखिएका समस्या सम्बोधनका लागि इमरजेन्सी कन्ट्रोल रुम सञ्चालनमा ल्याएको छ । मन्त्रालयले श्रमिक र परिवारबीच सेतुको काम गर्नेछ । कुनै घटना घटेमा नेपाली नियोग तथा नेपालीस्थित सम्पर्क गर्ने व्यवस्था मिलाइएको छ, उनले भने ।


    दिर्घकालीन लगानी, उत्साहमुखी उद्योग, नवप्रवर्तन, ज्ञानमा आधारित अर्थतन्त्रका लागि सरकार, निजी क्षेत्र र गैरआवासीय सहकार्य जरुरी भएको भन्दै उनले यसका लागि नीतिगत सुधार र पारस्परिक विश्वास आवश्यक भइसकेको बताए । यसका लागि मन्त्रालयमा समन्वय महाशाखा स्थापना गरी नीतिगत कार्यगत सुधार अगाडि बढाइएको बताए । यसअन्तर्गत गैरआवासीय नेपाली ऐन ०६४ र आवश्यक अन्य कानुन सुधार गर्न अन्तर निकाय समन्वय भइरहेको बताए । आगामी दिनमा प्रवासमा रहेका एकीकृत तथ्यांक प्रणालीलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउँदै लगिने उनले प्रतिबद्धता जनाए ।

    उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै कार्यकारी अध्यक्ष महेशकुमार श्रेष्ठले प्रवासमा रहेका नेपालीको मनमा मातृभूमिका लागि केही गरौ भन्ने भावना रहेको बताए । उनले संघभित्रको विवाद अन्त्य गर्दै एकता स्थापित भएको र समृद्ध नेपालको अभियानमा गैरआवासीय नेपालीको योगदान रहने बताए । आपसी विवादले नागरिकता, श्रमिकको विषय र मतदानको मुद्दा औझेलमा परेको भन्दै उनले एनआरएनएको विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनले संघको भावी दिशा निर्धारण र विगतको समीक्षा गर्ने बताए ।

    विश्वभरका नेपाली एकताबद्ध छन् भन्ने सन्देश दिने र आउने कार्यसमितिले यसमा भूमिका खेल्ने भन्दै अध्यक्ष श्रेष्ठले संघभित्र विवादको कारको रुपमा रहेको निर्वाचन प्रणाली, डेलिगेट्स प्रणालीमा व्यापक परिमार्जन गरेर सबैलाई मतदानको अधिकार सुनिश्चित गरिने बताए । गैरआवासीय लगानीलाई वैदेशिक लगानीभन्दा फरक लिनुपर्ने र विदेशमा रहेका नेपालीको पुँजी, सीप, ज्ञान सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

    संस्थापक अध्यक्ष उपेन्द्र महतोले संघको एकताप्रति हर्ष व्यक्त गरे । व्यक्तिगत सफलताको जुनसुकै उचाइमा पुगे पनि देश बनेन् भने त्यसको अर्थ छैन भन्देर नेपालका लागि नेपाली नाराका साथ गैरआवासीय नेपाली अभियान सुरु गरिएको बताए । नेपालीको क्षमता सबै हिसाबले अब्बल रहेको भन्दै मात्र संकल्पको अभाव रहेको बताए । संकल्प गर्यो भने धेरै समृद्ध हुनसक्ने उनको भनाइ थियो । देश अफ्ठेरो परेको, नियम कानुन अफ्ठेरो भएको बेला लडेर नेपाल बनाउने संकल्प लिनुपर्नेमा उनले जोड दिए । भिसा, काम गर्ने भिसाको समस्या देखिएको भन्दै पहिला देश बनाउनुपर्ने बताए । ‘जबसम्म आफ्नो देश बनाउँदैनौ तबसम्म जुनसुकै देशमा बसे पनि विदेशी नै हुन्छौ त्यसैले जुनसुकै देशमा बसे पनि आफ्नो देश बनाउन लागौं,’ उनले भने ।


    गैरआवासीय नेपाली ८० लाख नेपालीको अभियान भन्दै सय दुई जनाबीच मनमुटाव हुँदैमा अन्य नेपालीलाई ठेस नपुर्याउन अपिल गरे । ८० लाख नेपालीले आफ्नो क्षमताअनुसार जुन योगदान गरेको छ उनीहरुलाई उत्साहित बनाइदिन संघलाई अपिल गरे । जबसम्म गैरआवासीय नेपालीको लगानी आउँदैन अरु विदेशीको लगानी नआउने बताए । देशभित्रका उद्योगी संघसंस्थाले एनआरएनएसँग समन्वय गर्न छोडेको भन्दै मनमुटावले कसैलाई फाइदा नपुर्याएको उनको भनाइ थियो । उनले ८० लाख प्रवासीकै प्रतिनिधित्व गर्नेगरी काम गर्न संघलाई अनुरोध गरे । ‘सबै मिलेर अगाडि बढौं । देशलाई समृद्ध बनाउ,’ उनले भने ।


    कार्यकारी अध्यक्ष डा. बद्री केसीले फुटदेखि एकतासम्मको यात्रामा आफू नै नेतृत्वमा रहेको भन्दै अझै एकता सुदृढ बनाइने बताए । उनले कार्यव्यवस्थाले पूर्वअध्यक्षहरु सहभागी हुन नसकेको तर उनीहरुको समर्थन रहेको बताए । एकजना पनि गैरआवासीय नेपाली आफ्नो मताधिकारबाट वञ्चित हुन नहुने गरी काम गरिने र काम गर्न चाहनेलाई जिम्मेवारी दिएर पठाउने प्रतिबद्धता जनाए ।

    प्रधानमन्त्रीको हातबाट गैरआवासी नेपाली नागरिकता लिएको तर आज त्यो कार्यान्वयन नहुने अवस्था रहेको भन्दै उनले गैरआवासीय ऐन, अन्य ऐन परिमार्जन गर्नुपर्ने बताए । पुरानो नागरिकता पनि निष्क्रिय भएको र नयाँ गैरआवासीय नागरिकताले काम नगरेको भन्दै छिटो कानुनी जटिलता हटाउन सरकारलाई अनुरोध गरे । आउने सरकारले सय दिनभित्र गैरआवासीय ऐन संसदमा पुर्याएर कार्यान्वयन ल्याउन उनले माग गरे । पीएनओ नेपालीहरुले भाषा, संस्कृति जोगाएर राखेको भन्दै आउने सरकारले उनीहरुलाई नेपालीको पहिचान र गैरआवासीय प्रमाणपत्र दिन माग गरे । उनले लगानीसम्बन्धी कानुनहरु पनि परिमार्जन गरेर सहजीकरण गर्न र गैरआवासीय नेपालीको लगानी सहजै भित्र्याउने वातावरण बनाउन पनि माग गरे ।


    एनआरएन डेभलपमेन्ट फण्डमा सहयोग जुटे पछि सरकारको असहयोगले सुरुवात गर्न नसकेको बताए । आगामी सम्मेलनमा उद्द्घाटन गर्नेगरी वातावरण बनाइदिन उनले अनुरोध गरे । गैरआवासीय नेपालीले आफ्नो खर्चमा विदेशमा नेपालको पर्यटन र संस्कृति विस्तार गरिरहेको भन्दै सरकारले सहयोग नगरेको गुनासो गरे । विदेशमा नेपाली दूतावासमा कर्मचारी नै पर्याप्त नहुँदा पासपोर्ट समयमा पाउन समस्या भएको, क्याम्पेन गरेर पासपोर्ट दिनुपर्ने अवस्था रहेको भन्दै कमर्चारीहरु बढाउन माग गरे । कोभिडको बेलामा पनि गैरआवासीय नेपालीहरुले ज्यान जोखिममा राखेर भोलियन्टर परिचालन गरेको स्मरण गर्दै अहिले मध्यपूर्वमा गहिरिएको संकटमा नेपालीको सुरक्षाका लागि सरकारसँग सहकार्य गर्न संघ तयार गरेको बताए ।


    पूवर्अध्यक्ष विनोद कुँवरले एकता महाधिवेशनले पूर्णता दिएको र आउने कार्यसमिति अझै एकतालाई पूर्णता दिने बताए । ८० लाख गैरआवासीय नेपाली बाहिर बसिरहँदा नेपालको विकासको चिन्ता रहेको बताए ।
    पहिलो महिला अध्यक्ष रबिना थापाले असहमति भए पनि सहमतिमा जानु संस्थाको उद्देश्य भएको बताउँदै छुटेका साथीहरुलाई जोड्नुपर्ने बताइन् । प्रवासी नेपालीको ज्ञान, सीप, पुँजी, विज्ञतालाई नेपालमा ल्याएर कसरी देश समृद्ध बनाउनुपर्छ भनेर लाग्नुपर्ने र यसका लागि प्रवासी नेपालीबीच एकता जरुरी रहेको उनको भनाइ थियो ।

    प्रवासी नेपालीको विज्ञतालाई प्रयोग गर्न एनआरएनएले नयाँ सरकारसँग समन्वय गर्नुपर्ने उनले बताइन् । हरेक नेपाली प्रवास गइरहेको, परराष्ट्र मन्त्रालयले विदेश मामिला हेर्ने भएकाले अब एनआरएनए मन्त्रालय राख्नुपर्ने माग अघि सारिन् ।
    पूर्वअध्यक्ष आरके शर्माले गैरआवासीय नेपाली नागरिकताको साथसाथै श्रमिक नेपालीको सामूहिक लगानीबाट समृद्धिको अभियान अगाडि बढाउन जरुरी रहेको बताए । अधिवेशन हुँदै गर्दा केही व्यक्ति छुटेको भन्दै नयाँ कार्यसमितिले समेट्नुपर्ने बताए । मध्यपूर्वमा संकट चुलिरहेको भन्दै यो कुरालाई सरकारले ध्यान दिनुपर्ने बताए ।


    पूर्वअध्यक्ष जीवा लामिछानेले नागरिकता, लगानीलगायत थुप्रै मुद्दाहरु निर्णायक तहमा पुग्दा विभाजनले एनआरएनए अभियान पछाडि परेको बताए । ‘आज खुसी लागेको छ कि आज सबै साथीहरुले रियलाइजेस गर्नुभएको छ । टुट फुटबाट कसैलाई फाइदा छैन जुट्नुपर्छ भन्ने ठाउँमा पुग्नुभएको छ । हामी एक भयौ भने मात्र योगदान गर्न सक्छौं । एजेण्डा स्थापित गर्न सक्छौं,’ उनले भने ।


    पूर्वअध्यक्ष भवन भट्टले एकता अधिवेशन खुसीको कुरा भएको बताए । प्रवासी नेपालीबाट लगानी ल्याउने मेकानिजम बनाएमा सहजै ९० राष्ट्रबाट लगानी भित्रिने भन्दै उनले हाइड्रो, एग्रिकल्चर, टुरिजम र आइटीमा केन्द्रित गर्नुपर्ने बताए । नयाँ आउने सरकारले यो कुरामा ध्यान दिने उनले अपेक्षा गरे ।


    भीम उदासले संघको एकतामा नेपालको समृद्धिलाई जोड्नुपर्ने र त्यसमा एनआरएनएले भूमिका खेल्नुपर्ने बताए । डायस्पोराको सहयोगले भारत र चीन उकासिएको भन्दै आउने नेपाल सरकारले वातावरण बनाएर आह्वान गर्नुपर्ने, विकासमा साझेदार बनाउनुपर्ने बताए ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

    काठमाडौँ, ३० फागुनः यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै निर्वाचन प्रणलीमा उक्त परिमाणमा मद बदर भएको हो । उनका अनुसार विसं २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मत प्रतिशत ५.०६ प्रतिशत थियो भने २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मतको प्रतिशत ५.१८ प्रतिशत थियो ।

    विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा सदस्य निर्वाचनमा ४.९६ प्रतिशत मत बदर भएको थियो । यसैगरी २०६४ साल चैत २८ गते सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा भने ५.१५ प्रतिशत मत बदर भएको थियो । आयोगका अनुसार विगतका पाँच वटा निर्वाचनको तुलनामा यसपटक औसतमा कम मत बदर भएको छ ।