Category: फिचर

  • इरान युद्धका विषयलाई लिएर ट्रम्पका उच्च सहयोगीद्वारा राजीनामा

    इरान युद्धका विषयलाई लिएर ट्रम्पका उच्च सहयोगीद्वारा राजीनामा

    वासिङ्टन, ४ चैत (रासस–एएफपी) । ट्रम्प प्रशासनको आतङ्कवादविरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धको विषय र प्रक्रियाप्रति विमति राख्दै आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् जारी गरेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान परिवर्तन गर्न पनि आग्रह गरे । केन्द्रका निर्देशक केन्टले आफ्नो एक्स अकाउन्टमा पोस्ट गरेको पत्रमा इरान अमेरिकाका लागि तत्काल खतरा नभएको बताएका छन् । उनले ट्रम्प प्रशासनले इजरायल र उसको शक्तिशाली अमेरिकी लबीको दबाबमा यो युद्ध सुरु गरेको दाबी गरे ।


    अमेरिकी विशेष बल र सीआईएका अनुभवी व्यक्ति ४५ वर्षीय केन्टले स्वदेश तथा विदेशमा रहेर मातृभूमिको पक्षमा लामो समय योगदान पु¥याएका थिए ।
    उनकी पत्नी शैनन केन्टले पनि अमेरिकी नौसेनामा ‘क्रिप्टोलोजिक टेक्निसियन’ का रूपमा काम गरेकी थिइन् । सन् २०१९ मा सिरियामा भएको आत्मघाती आक्रमणमा श्रीमती केन्ट मारिएकी थिइन् । जो केन्टले आफ्नो पत्रमा भनेका छन्, “सन् २०२५ को जुनसम्ममा ट्रम्पले मध्यपूर्वमा युद्धले अमेरिकालाई हाम्रा देशभक्तहरूको बहुमूल्य जीवनबाट वञ्चित गरेको र हाम्रो राष्ट्रको सम्पत्ति र समृद्धिलाई कम गरेको कुरा बुझ्नुभएको छ ।”

    “उच्च पदस्थ इजरायली अधिकारी र प्रभावशाली अमेरिकी पत्रकारहरूले ‘गलत सूचना’ फैलाएको र यसले ट्रम्पलाई आफ्नो ‘अमेरिका फस्र्ट’ प्लेटफर्मलाई कमजोर बनाएको पनि बताएका छन । पत्रमा अगाडि लेखिएको छ, “इरान अमेरिकाका लागि ठूलो खतरा छ भन्ने तपाइँलाई विश्वास दिलाउन यसको प्रयोग गरिएको थियो । यो झूट थियो।”

    लामो समयदेखि ट्रम्पका समर्थक रहेका केन्ट गत वर्ष जुलाईदेखि अमेरिकी आतङ्कवादविरोधी केन्द्रको निर्देशकको रूपमा नियुक्त भएका थिए ।
    यसअघि केन्ट अमेरिकी सेनासँग ११ पटक विदेशमा तैनाथ भइसकेका छन् । यसमा इराकमा अमेरिकी सैन्य विशेष बलको तैनाथी पनि समावेश छ। अमेरिकी गुप्तचर निकाय सिआइएमा पनि काम गरेको अनुभवी केन्टले श्रीमतीको मृत्युपछि सरकारी जागिर छाडेका थिए । आफ्नो पत्रमा केन्टले आफ्नो सैन्य सेवा र आफ्नी पत्नीको मृत्युलाई उद्धृत गर्दै भनेका छन्, “उहाँ अर्को पुस्तालाई युद्धमा लड्न र मर्न पठाउन समर्थन गर्न सक्नुहुन्न जसले अमेरिकी जनताको हित गर्दैन र अमेरिकी जीवनको लागतलाई न्यायोचित ठहराउँदैन ।”

    राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका धेरै वरिष्ठ अधिकारीहरूले राजीनामा दिएका छन्, जसमा सेक्युरिटिज र एक्सचेन्ज कमिशन प्रवर्तन निर्देशक मार्गरेट रायन र केनेडी सेन्टरका अध्यक्ष रिक ग्रेनेल समावेश छन्। यद्यपि, राष्ट्रपतिको दोस्रो कार्यकालमा अफिसरको आवागमनको दर उनको पहिलो कार्यकाल सन् २०१७ देखि सन् २०२१ को तुलनामा धेरै कम छ।

  • तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब पुग्यो

    तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब पुग्यो

    काठमाडौँ, ४ चैतः चालु आर्थिक वर्ष २०८२–८३ को सुरुमा कुल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा रु २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । पछिल्लो आठ महिनामा मात्र रु दुई खर्ब चार अर्ब २४ करोड सरकारी ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो अवधिसम्ममा सरकारले रु १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख आन्तरिक र रु १५ खर्ब ३० अर्ब १८ करोड बाह्य ऋण तिर्न बाँकी रहेको छ । कुल सार्वजनिक ऋणमा फागुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव १६ र आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ८४ प्रतिशत रहेको छ । हालसम्मको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४७ दशमलव १३ प्रतिशत हुन आउँछ ।

    सरकारले चालु आर्थिक वर्षका लागि रु पाँच खर्ब ५९ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा फागुन मसान्तसम्ममा रु दुई खर्ब ९५ अर्ब १९ करोड ऋण उठाइसकेको छ । जुन वार्षिक लक्ष्यको ५० दशमलव ४४ प्रतिशत हो । चालु आर्थिक वर्षका लागि आन्तरिकतर्फ रु तीन खर्ब ६२ अर्ब ऋण उठाउने लक्ष्य रहेकामा हालसम्म ६७ दशमलव ३१ प्रतिशत अर्थात् रु दुई खर्ब ४३ अर्ब ६६ करोड बराबर उठिसकेको छ ।

    त्यस्तै, बाह्यतर्फ रु दुई खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख ऋण उठाउने लक्ष्य रहेकामा फागुन मसान्तसम्ममा २४ दशमलव ३१ प्रतिशत अर्थात् रु ५६ अर्ब ८० करोड मात्रै उठेको छ । त्यस्तै, सरकारी ऋणको साँवा–ब्याज तिर्नका लागि यस वर्ष सरकारले रु चार खर्ब ११ अर्ब एक करोड विनियोजन गरेकामा फागुन मसान्तसम्ममा रु दुई खर्ब ४२ अर्ब २६ करोड भुक्तानी भइसकेको छ । यो वार्षिक विनियोजनका आधारमा ५८ दशमलव ९४ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादनको आधारमा माघ मसान्तसम्मको कुल ऋण सेवा खर्च तीन दशमलव ९७ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

  • यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

    यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

    काठमाडौँ, ४ चैतः गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको आदेश तथा फैसला कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ । अयोगका अध्यक्ष दीपक सुवेदीसहित पदाधिकारीको टोलीले मन्त्री अर्याललाई प्रतिवेदन बुझाएको हो । त्यस अवसरमा गृहमन्त्री अर्यालले छिट्टै प्रतिवेदन कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।

    विसं २०८२ मङ्सिर २२ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार यातायात क्षेत्रसम्बन्धी राय सुझावसहितको प्रतिवेदन पेस गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरिएको थियो । आयोगको सदस्यमा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य छन् । कार्यादेशबमोजिम २०८२ पुस १६ गतेदेखि काम गर्न सुरु गरेको आयोगले एक महिनाको कार्यादेशसहित कार्य सुभारम्भ गरे पनि अध्ययन अनुसन्धानका लागि थप एक महिना म्याद थपिएको थियो ।

    सर्वोच्च अदालतबाट विसं २०६१ को रिट नं ३४०२ लगायत रिट तथा मुद्दामा जारी आदेश तथा फैसलाको संस्था दर्ता ऐन तथा नियमावलीबमोजिम नीतिगत र कानुनी व्यवस्था, यसअघि यातायात क्षेत्रमा हुनुपर्ने सुधारका सम्बन्धमा पेस भएका प्रतिवेदन तथा यातायात क्षेत्रमा सवारीसाधनको प्राविधिक गुणस्तर, सार्वजनिक सवारीसाधन चलाउन हुनुपर्ने सडकको न्यूनतम मापदण्ड बनाउने विषयमा आदेश भएको थियो ।

    यीलगायत अदालतको आदेशअुनसार प्रदूषणको अवस्था, रुट परमिट, यातायातका साधन र व्यवसायीको यातायात सञ्चालन विधि, सवारी तथा यातायात सञ्चालन र पारदर्शिता, सुरक्षा, क्षतिपूर्ति, दुर्घटनामा दायित्व निर्धाणका विषय, सिन्डिकेट, कार्टेलिङलगायत सम्बन्धमा जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन पेस गर्ने जाँचबुझ आयोगको कार्यादेश तोकिएको थियो ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र दिइने

    प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र दिइने

    काठमाडौँ, ३ चैतः गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार प्रमाणपत्र प्रदान गरिने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले कानुनमा तोकिएको ‘क्लस्टर’ अनुसार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गर्नेगरी तयारी सुरु भएको जानकारी दिए ।

    आयोगले सोमबार सार्वजिनक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट चार\चार जना सांसद निर्वाचित भएका छन् ।


    बिहीबार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि सोही दिन प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाइने सहायक प्रवक्ता जिसीले बताए । राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ ९१० अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने जनाइएको छ ।

  • आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

    आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

    दाङ, ३ चैत । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर छिटोछरितो, सहज, सुलभ, न्यायोचित तरिकाले न्यायसम्पादन गर्न निर्देशन दिएका छन् । उच्च अदालत तुलसीपुरको आज अवलोकन तथा निरीक्षणपश्चात् उपस्थित न्यायाधीश, कानुन व्यवसायी तथा कर्मचारीलाई निर्देशन दिँदै उनले जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए । प्रधानन्यायाधीश राउतले भने, “हामी खरानी भएको ठाउँबाट उठेर काम गरिरहेका छौँ । अब हामी सबै बदलिएर एउटा अठोटका साथ अपेक्षाकृत काम गर्न लाग्नुपर्ने छ ।”

    उनले जेनजी आन्दोलनका क्रममा जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि अस्थायी रूपमा निर्माण गरिएको उच्च अदालतको कार्यालय भवन, इजलाश कक्षलगायत संरचनाको निरीक्षण तथा अवलोकन गरे । त्यस अवसरमा प्रधानन्यायाशीध राउतले आगामी आर्थिक वर्षमा कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन हुने बताए ।

    उनले नवयुवाको आन्दोलनका क्रममा अदालत भवन, सवारीसाधनलगायत सम्पूर्ण संरचना ध्वस्त भए पनि अभिलेख जोगिएकामा खुसी व्यक्त गर्दै अब संरचना निर्माणलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाए । कार्यक्रममा उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश राजेश्वर तिवारीले अदालतको भवन जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि कार्यालय परिसरको गाडी ग्यारेजमा अस्थायी इजलाश निर्माणगरी न्यायसम्पान भइरहेको जानकारी दिए ।

    कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्का, वरिष्ठ अधिवक्ता डिल्लीराज धिताललगायत वक्ताहरूले विषम परिस्थितिमा अदालतले न्यायसम्पादन गरिरहेको भन्दै प्रशंसा गरे ।

  • दोहोरो नागरिकता लिने व्यक्ति नियन्त्रणमा

    दोहोरो नागरिकता लिने व्यक्ति नियन्त्रणमा

    गण्डकी, ३ चैतः जिल्ला प्रशासन कार्यालय कास्कीले दोहोरो नागरिकता लिने एक जनालाई नियन्त्रणमा लिएको छ । तत्कालीन रूकुमबाट पहिलो २०४७ फागुन २९ मा नेपाली नागरिकताको प्रमाणपत्र लिएका जितबहादुर पुनका छोरा हीराधन पुनलाई नियन्त्रणमा लिइएको हो ।

    कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले निजले आफ्नो वास्तविक नाम थर, जन्म मिति, जन्म स्थान, स्थायी ठेगाना र बाबुको नाम थर समेतको विवरण फरक पारी जिल्ला प्रशासन कार्यालय, कास्कीबाट २०५८ वैशाख २० मा पुनःनेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जानकारी दिए । उनकाअनुसार निज व्यक्तिलाई नियन्त्रणमा लिई दोहोरो नेपाली नागरिकता लिएको विषयमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।

  • प्रधानमन्त्री सुशीला कार्कीद्वारा शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा एमालेप्रति आभार प्रकट

    प्रधानमन्त्री सुशीला कार्कीद्वारा शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा एमालेप्रति आभार प्रकट

    काठमाडौँ, ३ चैतः प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकामा नेकपा (एमाले)लाई धन्यवाद दिएकी छिन् । प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई आज बालुवाटार आमन्त्रण गरेकी थिइन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए ।


    प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै धन्यवाद दिइन् । उनले भनिन्, “यो कठिन अवस्थालाई शान्तिपूर्ण रूपमा निकास दिने एकमात्र विकल्प निर्वाचन नै थियो । राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर यहाँहरूले जुन सहयोगी भूमिका खेलिदिनुभयो र निर्वाचनमा सक्रिय सहभागिता जनाइदिनुभयो, यसका लागि धन्यवाद दिन चाहन्छु ।”

    उनले निर्वाचनमा जित–हार भइरहने भएकाले एकपल्टको जनादेशबाट विचलित नहुन भन्दै एमाले नेतृत्वलाई सान्त्वना पनि दिइन् । प्रधानमन्त्री कार्कीले भनिन्, “एकैपटकको जनमतले सधैँका लागि पार्टीहरूको हैसियत निर्धारण गर्दैन । भारतमा अटलविहारी बाजपेयी र इन्दिरा गान्धीका पालामा उहाँहरूका पार्टीले बेहोरेको उतारचढाव पनि देखेकै छौँ । राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस् ।”

    एमाले नेताहरूले पनि सबै पक्षको चित्त बुझाउँदै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्की र उनको नेतृत्वको सरकारलाई बधाई दिए । मुलुकलाई कठिन घडीमा नेतृत्व प्रदान गरी सर्वस्वीकार्य, शान्तिपूर्ण र लोकतान्त्रिक निकास दिएकामा धन्यवाद पनि दिए । उनीहरुले यस पटकको निर्वाचनमा प्रशासनको निष्पक्षता रहेको भन्दै सरकारको प्रशंसा पनि गरे । साथै यसपालिका चुनावी अभियान विगतभन्दा बढी स्वस्थ, शान्तिपूर्ण र कम खर्चिलो भएको अनुभव पनि सुनाए ।

  • तलव नलिने सुदन गुरुङको घोषणा

    तलव नलिने सुदन गुरुङको घोषणा

    ललितपुर, गोदावरी ३ चैत । गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदन गुरुङले आफू राजनीतिमा सुविधा र स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पु¥याउन आएको बताएका छन् ।

    ललितपुरमा आज आयोजित रास्वपाको नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा गुरुङले सरकारी गाडी प्रयोग नगर्ने र सांसदको तलब व्यक्तिगत खर्चमा नलगाई जेन्जी आन्दोलनमा घाइतेहरूका लागि स्वास्थ्य शिक्षा तथा रोजगारजमा खर्च गर्ने बताए ।

    आन्दोलनमा उठेका मुद्दालाई संसद्मा पु¥याउने, महिला सशक्तीकरण, आधुनिक कृषि, दहेज–घरेलु हिंसाविरुद्ध कडा कानुन र सामाजिक न्यायका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सेवा, त्याग र उत्तरदायित्वका साथ जनताको पक्षमा उभिने स्पष्ट गरे ।

  • क्यासिनोहरूमा जुवा खेल्ने खेलाउने कार्यमा संलग्न १४ नेपाली पक्राउ

    क्यासिनोहरूमा जुवा खेल्ने खेलाउने कार्यमा संलग्न १४ नेपाली पक्राउ

    काठमाडौँ, २ चैतः प्रहरीले क्यासिनोहरूमा हारजित हुने गरी जुवा खेल्ने खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १४ जना नेपाली नागरिकलाई पक्राउ गरि आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यकामा रहेका क्यासिनोहरूमा नेपाली नागरिकहरूले हारजित हुने गरी जुवा खेल्ने खेलाउने कार्यहरू गरिरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।


    उनले भने, “काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित रहेको लेमन ट्री होटलभित्र रहेको ग्राउन्ड क्यासिनोबाट १३ जना र काठमाडौँ महानगरपालिका–१४ सोल्टीमोडस्थित रहेको क्यासिनो महजोङबाट एक जना समेत गरी जम्मा १४ जनालाई पक्राउ गरिएको हो ।”

    पक्राउ परेकाहरूको साथबाट प्रहरीले नगद रु एक लाख ९० हजार, विभिन्न कम्पनीको मोबाइल १४ थान, नक्कली भारतीय आधार कार्ड मिलन प्रधान नाम गरेको एक थान, सवारी चालक अनुमति पत्र दुई थान, नक्कली भारतीय भोटर कार्ड एक थान, सिसी क्यामेराको डिभिआर तीन थान तथा नेपाली खेलाडीले विभिन्न मितिमा नेपाली नगद साटेको ईन्ट्री बुक एक थान बरामद गरेको प्रवक्ता भट्टराईले बताए ।

  • २४ घण्टामा विपद्मा परी तीन जनाको मृत्यु

    २४ घण्टामा विपद्मा परी तीन जनाको मृत्यु

    काठमाडौँ, ३ चैत । मौसम बदलीसँगै पछिल्लो २४ घण्टामा भएको विपद्जन्य घटना (हावाहुरी र चट्याङ)का कारण तीन जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहुरी चट्याङ र असिनापानीले ३० जिल्ला प्रभावित भएकामा तीन जनाको मृत्यु भएको हो । चट्याङ लागेर एक र हावाहुरीबाट दुई जनाको मृत्यु भएको हो । कुल ४१ वटा विपद्जन्य घटनामध्ये चट्याङबाट तीन र हावाहुरीबाट दुईजना घाइते भएका छन् ।

    प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार हावाहुरीका मात्रै १७ र चट्याङका पाँच घटना भएका थिए । ती घटनामा छ पशु चौपाय मरेका छन् भने नौ लाख बढीको क्षति भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । नेपालमा पछिल्लो एक सातादेखि मौसम बदली भई हावाहुरी, चट्याङ र असिनापानी परिरहेको छ । मौसम विज्ञान विभागले यो क्रम अझै केही दिन जारी रहने जनाएको छ ।

  • चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

    चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

    काठमाडौँ, ३ चैत । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको सफलताप्रति चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)ले बधाई तथा शुभकामना व्यक्त गरेको छ । सिपीसीको अन्तरराष्ट्रिय विभागले पठाएको उक्त बधाई सन्देशमा दुई पार्टीबीचको बढ्दो सम्बन्धप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा हुने सहकार्यबाट सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरिएको छ । रास्वपाका अन्तरराष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालले पार्टीलाई प्राप्त पत्रबारे जानकारी दिएका थिए ।


    उनका अनुसार पत्रमार्फत सिपीसीले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा व्यक्त गरिएको छ । सो पत्रमा दुई देशबीचको राजनीतिक आपसी विश्वासलाई थप मजबुत बनाउँदै दुवै देश र जनताको हितमा ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ ।

    सिपीसीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ तथा द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सहकार्य गर्न तत्परता देखाएकोे रास्वपाका नेता खनालले जानकारी दिए । रास्वपाले नेपालको स्वतन्त्र परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहँदै छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने जनाएको छ।

  • नेपाली मूलका नागरिकलाई नेपाली पहिचान दिन माग

    नेपाली मूलका नागरिकलाई नेपाली पहिचान दिन माग

    काठमाडौँ, ३ चैत । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)ले विश्वभरका नेपाली मूलका नेपालीलाई नेपालसँग जोड्न र नेपालीको पहिचानसहितको परिचयपत्रको व्यवस्था गर्न माग गरेको छ । परराष्ट्रमन्त्री बालानन्द शर्मालाई आज भेटेर एएनओको प्रतिनिधिमण्डलले सो माग गरेको हो । एएनओका अन्तरराष्ट्रिय अध्यक्ष डिल्ली अधिकारी, उपाध्याक्ष सुशील पन्त, महासचिव चूडामणि भट्टराई, नेपाल च्याप्टरका अध्यक्ष कृष्णप्रसाद सापकोटा लगायतको प्रतिनिधिमण्डलले मन्त्री शर्मालाई उक्त मागपत्र बुझाएको हो ।

    सो पत्रमा पुस्तौँदेखि विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिकलाई परिचय पत्रको व्यवस्था गर्न एवं त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन कक्षमा ‘नेपाली ओरिजन’ का लागि छुट्टै डेस्क राख्न पनि माग गरिएको छ । साथै पूर्वी नेपालका विभिन्न शिविरमा बाँकी रहेका झण्डै सात हजारको सङ्ख्याका भुटानी शरणार्थीको मानवअधिकारको रक्षा गरी मानवीय दृष्टिकोणबाट उचित व्यवस्थापन गर्न माग गरिएको एएनओले विज्ञप्तिमार्फत जनाएको छ ।

    त्यस अवसरमा मन्त्री शर्माले एएनओका मागहरु नेपालकै पहिचानको विस्तारलाई सघाउने प्रकृतिका रहेकाले यसलाई नेपाल सरकारले गम्भीर रुपमा लिने धारणा राखे । उनले आफू सैनिक सेवामा रहँदा पुस्तौँअघि बाहिरिएका नेपाली मूलका मानिसहरु भेट्ने अवसर पाएको अनुभव सुनाउँदै उहाँहरुलाई पुख्र्यौली देशसँग जोड्ने सार्थक अभियान अघि बढ्ने विश्वास व्यक्त गरे ।


    एएनओका अन्तरराष्ट्रिय अध्यक्ष अधिकारीले विश्वमा रहेका नेपाली जातिका नागरिकप्रति नेपाल सरकार सहयोगी बनेमा उनीहरुको ज्ञान, सीप र ठूलोमात्रामा लगानी नेपालमा भित्र्याउन सकिने बताए । एएनओका उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त र महासचिव चूडामणि भट्टराईले नेपालीमन र नेपालीपनलाई जोड्दै एएनओ अघि बढेको जानकारी दिँदै सरकारले यस विषयलाई राष्ट्रहितका पक्षमा विचार गर्न आग्रह गरे ।

  • रसुवामा वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

    रसुवामा वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

    रसुवा, ३ चैत । लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको छ । निकुञ्ज प्रशासनका अनुसार सबैभन्दा बढी क्षति बँदेल ९जङ्गली सुँगुर०बाट भएको छ । चालुआवको हालसम्म वन्यजन्तुबाट एक सय ५७ जना प्रभावित भएका छन् । रेन्जर रूपेश लामाका अनुसार प्रभावितमध्ये बाँदरबाट ३४, बँदेलबाट एक सय ११, चितुवाबाट ११ र भालुबाट एक जना प्रभावित भएका छन् ।

    चितुवाको आक्रमणबाट पशुधनतर्फ करिब रु तीन लाख ७० हजारबराबरका बाख्रा–भेडा नोक्सान भएको पनि निकुञ्जले जनाएको छ । वन्यजन्तुबाट हुने क्षतिसम्बन्धी राहत निर्देशिका, २०८० बमोजिम राहत उपलब्ध गराइँदै आएको छ । सोही निर्देशिकाअनुसार मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि हालसम्म रु १४ लाख ९९ हजार ४०० राहत वितरण गरिएको छ ।

    केही किसानको मागअनुसार राहत रकम अपुगका कारण भुक्तानी गर्न बाँकी रहेको रेञ्जर लामाले जानकारी दिनुभयो । स्थानीय अगुवा किसान साधुराम पौडेलका अनुसार रसुवाको उत्तरी क्षेत्रमा भालु र बँदेलको समस्या बढी देखिएको छ भने दक्षिणी क्षेत्रमा बाँदरले बालीमा धेरै क्षति पुर्याउने गरेका छन् ।

    वन्यजन्तुले बाली वा पशुधनमा क्षति पुर्याएमा राहत प्राप्त गर्न कृषि तथा पशु सेवा कार्यालयको सिफारिस, प्रहरी प्रतिवेदन, स्थलगत मुचुल्का, निकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको सिफारिस, निकुञ्ज प्राविधिकको निरीक्षण प्रतिवेदनलगायतका कागजात आवश्यक पर्ने निकुञ्जले जनाएको छ ।

    पशुधन क्षति भएको अवस्थामा घटनास्थलको फोटो, मुचुल्का, प्रहरी प्रतिवेदन तथा स्वीकृत चिकित्सकबाट गरिएको पोष्टमार्टम प्रतिवेदनसमेत पेस गर्नुपर्ने निर्देशिकाले उल्लेख गरेको बताइएको छ ।

    त्यसैगरी वन्यजन्तुको आक्रमणबाट मानिस घाइते भएमा सरकारी अस्पतालको बिलबमोजिम उपचार खर्च उपलब्ध गराइने व्यवस्था रहेको छ । निकुञ्ज प्रशासनले जङ्गल क्षेत्रमा घाँस काट्न वा आवतजावत गर्दा एक्लै नजान, सम्भव भएसम्म साथी लिएर सावधानीपूर्वक हिँडडुल गर्न स्थानीयवासीलाई आग्रह गरेको छ ।

  • पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

    गण्डकी, ३ चैत । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भएको छ । पोखरा आउने पर्यटकलाई पोखरासहित समग्र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यबारे जानकारीसँगै उनीहरूको यात्रामा सहजीकरण गर्ने उद्देश्यका साथ पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सूचना केन्द्र सञ्चालन गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।

    पर्यटकको सहजीकरणका लागि केन्द्रमा पर्यटन बोर्डबाट कर्मचारीसँगै दुई जना पर्यटक प्रहरी रहने उनले बताए । पर्यटन राजधानी पोखरा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक पर्यटकीय गन्तव्य हो । केन्द्र सञ्चालनसँगै यहाँ आउने पर्यटकहरू लाभान्वित बन्ने विश्वास लिइएको छ ।

  • इरानको सैन्य र राजनीतिक क्षमता प्रभावित भएको इजरायली दावी

    इरानको सैन्य र राजनीतिक क्षमता प्रभावित भएको इजरायली दावी

    जेरुसलेम, ३ चैत (रासस–सिन्ह्वा) । इजरायली सेनाले सोमबार तेहरानको मेहराबाद विमानस्थलमा इरानका शीर्ष नेतृत्व प्रयोग गर्ने विमान नष्ट गरेको घोषणा गरेको छ । इजरायलका अनुसार यस आक्रमणले तेहरान र यसको क्षेत्रीय सहयोगीहरूबीच समन्वयमा बाधा पुर्याउने अपेक्षा गरिएको छ।

    सेनाले दिएको विज्ञप्तिमा सो विमान वरिष्ठ राजनीतिक र सैन्य नेताहरूले घरेलु तथा अन्तर्राष्ट्रिय यात्राका लागि प्रयोग गर्दै आएका थिए। सेनाले विमान नष्ट हुँदा इरानी नेतृत्व र क्षेत्रीय सहयोगी समूहहरूबीच सञ्चारमा अवरोध आउने भनेको छ, तेहरानको सैन्य सुदृढीकरण ढिलो हुनेछ, र क्षतिग्रस्त क्षमताहरू पुनःस्थापना गर्ने क्षमता सीमित हुनेछ।

    उक्त विमान एअरबस ४४०को रूपमा पहिचान गरिएको छ, जुन पूर्व राष्ट्रपति मासूद पेझेस्कियन र अघिल्ला समयमा सुप्रीम लिडर अली खमेनेई लगायत वरिष्ठ नेताहरूलाई विदेश यात्रा गर्न प्रयोग गरिएको थियो। इरानी अधिकारीहरूले आक्रमणको तत्काल पुष्टि गरेका छैनन्। मेहराबाद विमानस्थल पश्चिमी तेहरानमा अवस्थित छ र राजधानीको पुरानो विमानस्थलमध्ये एक हो। तेहरानको इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलले अधिकांश लामो दूरीका उडानहरू संचालन गरेको भए पनि, मेहराबाद अझै देशको व्यस्त घरेलु विमानस्थल हो र यहाँ इरानी वायु सेना सहितका सैन्य सुविधा पनि रहेको छ।

    सोमबार इजरायली सेनाले तेहरान, शिराज र टाबरिज शहरमा पनि लक्षित आक्रमण गरेको बताएको छ। यसरी, अमेरिकासँगको संयुक्त अभियान इरानविरुद्ध १७औं दिनमा प्रवेश गरेको छ।

  • हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

    हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

    उदयपुर (गाईघाट), ३ चैत स् उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार सोमबार साँझ आएको हुरीबाट कटारी–८ थलियाटारका ४९ वर्षीया मीनामाया तामाङको कुटमेरो रुखको हाँगाले लागेर मृत्यु भएको छ । यस्तै कटारी–५ तीनकुने चोक स्थत राधाकृष्ण मन्दिर नजिकै हुरीबतासका कारण सखुवाको रुख ढलेर लाग्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ ।

    हुरीबतासकै कारण घाइते हुनेहरुमा कटारी–८ की स्थानीय २० वर्षीय कमलाकुमारी पुलामीमगर, कटारी–५ का मृतक चौधरीका नातिनी पाँच वर्षीय बिनिशा, सोही वडाका २७ वर्षीय युवराज कार्की, प्रेमचन्द्र दनुवार, लीलबहादुर दनुवार र १६ वर्षीय अस्मिता परियार रहेका छन् । घाइतेमध्ये दुई जनालाई विराटनगरस्थित नोबेल अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ । कटारी–५ का ४६ वर्षीय लीलबहादुर दनुवार र अर्का २० वर्षीय कमलाकुमारी पुलामी मगरलाई विटाटनगर रिफर गरिएको प्रहरीले बताएको छ । अन्य चार जनाको सोमबार साँझ नै कटारी अस्पतालमा सामान्य उपचारपछि ‘डिस्चार्ज’ गरिएको प्रहरीले जनाएको छ ।

    शव परीक्षणका लागि कटारी अस्पतालमा ल्याइएको र अहिले परीक्षणको तयारी गरिएको सूचना अधिकारी थापाले बताए । हुरीबतास र वर्षाको कारण कटारीको पहाडी क्षेत्रमा घरका छाना उडाएको र सामान्य क्षति भएको विवरणहरू प्राप्त भइरहेको प्रहरीले जनाएको छ।

  • मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

    मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

    म्याग्दी, ३ चैत । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा विनाश निम्त्याउने गरेको छ । डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत वसन्तकेशव अधिकारीले ९६ प्रतिशत ढडेलोको कारण मानवीय लापरवाही भएको पाइएको बताए ।

    “घाँस पलाउने बाहना, अवैध सिकार र आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो”, उनले भने, “खोरीया फडानी गरी खेती गर्न, हिंस्रक वन्यजन्तु धपाउन, वन्यजन्तुको सिकार, वन अपराध लुकाउन, वन कर्मचारी वा छिमेकी वन उपभोक्ता समूहसँगको रिसइवीका कारण डढेलो लगाउने गरेको पाइएको छ ।”

    फागुन, चैत, वैशाख र जेठमा बढी डढेलो लाग्ने गरेको छ । रुख बिरुवा, जडीबुटी, वन्यजन्तु र पन्छीको वासस्थान डढेलोबाट नष्ट हुने गरेको छ । डढेलो निभाउने क्रममा विगतका वर्षमा मानवीय क्षति भएको थियो । म्याग्दी डढेलोको जोखिमका हिसाबले नेपालका ७७ जिल्लामध्ये ३०औँ स्थानमा छ ।


    आर्थिक वर्ष २०७९÷८० मा १०२ ठाउँमा ७९० हेक्टर, २०८०÷८१ मा १४५ स्थानमा ८९० हेक्टर र २०८१÷८२ मा ११५ स्थानमा ८०५ हेक्टर वन डढेलोले क्षति गरेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । गोठालाले राम्रो घाँस पलाउँछ भनेर जङ्गल र भिरमा आगो लगाउने चलन छ । सिकारीले वन्यजन्तु र पन्छीलाई भगाउन डढेलो लगाउँछन् । चालु आर्थिक वर्षमा डढेलोको क्षतिको विवरण सङ्कलन गर्न थालिएको वन अधिकृत चन्द्रमणि सापकोटाले बताए ।


    जिल्लास्तरमा डढेलो रोकथाम तथा नियन्त्रण कार्ययोजना बनाएर सुरक्षा निकाय, प्रशासन, स्थानीय तह र सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गरिएको उनले बताए । डढेलो लाग्न नदिन प्रतिकारात्मक र लागेको डढेलो नियन्त्रणमा लिन नियन्त्रणत्मक रणनीति बनाइएको छ । सम्भव भएको ठाउँमा मानवीय र भौतिक सम्पत्ति जोगाउने रणनीति लिइएको छ ।

    वन उपभोक्ता र विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रमका साथै सुरक्षा निकायलाई डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री उपलब्ध गराएको वन अधिकृत शान्तिकुमारी शाहीले बताए । उनका अनुसार डढेलो नियन्त्रणका लागि पानी सङ्कलन र वन्यजन्तुलाई पानीका लागि मानव बस्तीमा आउन नपरोस् भनेर यस वर्ष छवटा सामुदायिक वनमा पोखरी निर्माणको तयारी भएको छ । जिल्लामा दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । ३६.७६ प्रतिशत वन, १.८५ प्रतिशत झाडी र २१.२७ प्रतिशत चरन क्षेत्र छ । तीन सय ११ वटा सामुदायिक वन उपभोक्ता समूह छन् ।

  • रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण

    रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण

    काठमाडौँ, ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण आजदेखि सुरुआत गर्दैछ ।
    दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको छ । रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई सो अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन छबुँदे निर्देशन जारी गर्दै आह्वान गरेका छन् ।

  • चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

    चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

    काठमाडौँ, ३ चैतः कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययन थालेको हो । अध्ययनका क्रममा धानको उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको विश्लेषण गरी उत्पादनलागत आधारमा न्यूनतम समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ । विभागको टोलीले स्थलगत अध्ययन गरेपछि निर्धारण गरिने वैज्ञानिक मूल्य कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सिफारिस गरेर पठाइने विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए ।


    स्थलगत अध्ययन प्रक्रियाले किसानद्वारा उत्पादित धानको सही मूल्य सुनिश्चित गर्न सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । मन्त्रालयले उत्पादन लागत, ढुवानी खर्च, बजार मूल्य तथा अन्य सान्दर्भिक आधार समेटेर प्रतिक्विन्टल मूल्य प्रस्ताव गर्ने विभागका महानिर्देशक सञ्जेलले बताए । “उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस हुन्छ । त्यसपछि मन्त्रिपरिषद्बाट निर्णय भएपछि सार्वजनिक गरिनेछ । सोही आधारमा धानको चिस्यान मापदण्डसमेत मूल्याङ्कन गरिनेछ”, विभागका महानिर्देशक प्रकाश सञ्जेलले भने ।


    धानको १८ प्रतिशतसम्म चिस्यान भएमा तोकिएको मूल्य लागू हुने जनाउँदै उनले १८ प्रतिशतभन्दा बढी चिस्यान भएमा तौल घटाउने नियम लागू गरिने उल्लेख गरे । उनका अनुसार सम्पूर्ण प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद् बैठकले मूल्य तोक्नेछ । यसरी तोकिएको मूल्य आधिकारिक रूपमा सार्वजनिक गरिने विभागका महानिर्देशक सञ्जेलले जानकारी दिए ।


    सरकारले तोकेको मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत धान खरिद हुने जनाएको छ । सरकारले गत वर्ष प्रतिक्विन्टल दुई हजार ८०० समर्थन मूल्य तोकेको थियो ।

  • समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

    समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

    काठमाडौँ, ३ चैतः निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यही चैत ५ गते बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ ।

    राजनीतिक दलकोतर्फबाट छनोट भई पेस भएका उम्मेदवारको विवरण आयोगले सार्वजनिक गर्दै निर्वाचित भएको घोषणा गरेको छ । आयोगले राजनीतिक दलकोतर्फबाट निर्वाचित हुनुभएका प्रतिनिधिसभा सदस्यलाई सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र, दुईप्रति पासपोर्ट साइजको फोटोसहितको विवरण आज उपलब्ध गराइदिन आग्रह गरेको छ ।

    गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न छ राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नौ, श्रम संस्कृति पार्टीले चार र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार सिट पाएका छन् ।

    कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेपछि यसपटकको निर्वाचन प्रक्रियाले पूर्णता पाउनेछ ।

  • सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु

    सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु

    कर्णाली, ३ चैतः सुर्खेतमा गत फागुनमा ७६ वटा सवारीसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा एक महिलासहित चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयले सोमबार सार्वजनिक तथ्याङ्कअनुसार फागुनमा भएका सवारी दुर्घटना हुनुमा मानवीय त्रुटि प्रमुख कारण देखाइएको छ । करिब ८० प्रतिशत मानवीय त्रुटि र बाँकी यान्त्रिक खराबीका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख रोहीतकुमारी शाहीले जानकारी दिए ।


    उनका अनुसार सबैभन्दा बढी मोटरसाइकल ४८, टेम्पो १०, मिनिबस सात, बस पाँच, जीप÷कार चार र ट्र्याक्टर दुई वटा दुर्घटना भएका छन् । चौँतिस टा सवारी दुर्घटना तीव्र गतिका कारण हुने गरेका कार्यालय प्रमुख शाहीले उल्लेख गरे । मादक पदार्थ सेवनबाट तीन, चालकको असक्षमताबाट तीन, चढ्दा\ओर्लंदा एक र ब्रेक फेल भएर आठ दुर्घटना भएको उनले बताए ।


    फागुनमा ट्राफिक तथा जनपद प्रहरीले ६४० जाँच गर्दा ४०२ लाई कारबाही गरेको जनाउँदै त्यसबाट रु तीन लाख ९१ हजार ५०० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख शाहीले बताए । त्यस्तै, ट्राफिक प्रहरी एक्लैले जाँच गर्दा २३५ कारबाही परेका छन् । त्यसबाट रु एक लाख ९२ हजार ५०० राजस्व सङ्कलन गरिएको उनको भनाइ छ ।

    त्यसैगरी, चालकसँग एक मिनेट कार्यक्रमबाट छ हजार ६६३, पैदल यात्रु लक्षित कार्यक्रमबाट ५१६, सङ्घसंस्था लक्षित सचेतना कार्यक्रमबाट एक हजार ७५४ र सवारी चलाउने चालक सचेतना कार्यक्रमबाट १२८ गरी कुल १८ हजार ५४३ जना लाभान्वित भएको जनाइएको छ । ट्राफिक नियम पालनासम्बन्धी सचेतनामूलक कार्यक्रम तीव्रताका साथ अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

  • ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध

    ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध

    काठमाडौँ, ३ चैतः अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको तपाईंसँग कुनै सूचना वा जानकारी भने तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबैमा अनुरोध गरेको छ । पछिल्ला दिनमा खाना पकाउने ग्यासमा कालोबजारी बढेको, अत्यधिक मात्रामा लुकाइएको, बढी मूल्य लिएर बिक्रीवितरण गरेको पाइएपछि विभागले आमउपभोक्तालाई निःशुल्क रूपमा उक्त टेलिफोन नम्बरमा फोन गरी सूचना दिन आग्रह गरेको हो ।

    नेपाल आयल निगमले आधा सिलिण्डर मात्रै ग्यास बिक्री गर्नेगरी आवश्यक व्यवस्था मिलाए पनि बजारमा ग्यासको अभाव कायम छ । विभागले अनुचित व्यापारिक क्रियाकलाप सञ्चालन भएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । विभागले सञ्चालनमा रहनेगरी निःशुल्क रूपमा टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको र देशभरका जुनसुकै स्थानबाट सम्पर्क गर्न सकिने जनाएको छ । पछिल्ला दिनमा विभागले देशभर स्थलगत अनुमगन तथा निरीक्षण गर्दै आएको छ । अनुमगनका क्रममा कैफियत फेला पर्नेबित्तिकै उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको विभागले प्रष्ट पारेको छ ।

    ग्यासको माग उच्च रहेको विषम अवस्थामा आपूर्ति प्रणालीमा सहजता ल्याउन, कृत्रिम अभावलगायत गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न विभाग सक्रिय रहेको जनाइएको छ । विभागले सबै ग्यास उत्पादक उद्योग र वितरक सबैमा कानुनअनुसार व्यापार व्यवसाय गर्न तथा कुनै पनि गैरकानुनी क्रियाकलाप नगर्न सचेत गराएको छ । सोमबार मात्रै विभागले ग्यास लुकाइएको पाइएपछि श्रीराम ग्यास उद्योगलाई रु तीन लाख जरिवाना गरेको छ । सो उद्योगको ललितपुर हरिसिद्धिमा रहेको गोदाममा लुकाएर राखेको १४ दशमलव दुई किलोग्राम तौलका छ हजार ३७७ सिलिण्डर फेला परेको विभागले जनाएको छ ।

  • भक्तपुरमा हुरीले दुई घरमा क्षति

    भक्तपुरमा हुरीले दुई घरमा क्षति

    भक्तपुर, ३ चैतः सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका २ दुवाकोट त्रिपुराटोलस्थित ठकुरी टोलमा रहेको दुई घर भत्किएर क्षति पुगेको छ । सोमबार आएको हुरीले रामहरि बस्नेतको एकतले कच्ची घरको जस्ताको छाना तथा फलामको बिमसमेत उडाउनुका साथै घर पूर्ण रूपमा क्षतिग्रत भएको हो । उक्त घरको छानो उडाएर नजिकै रहेको ११ हजार भोल्टेजको थ्रीफेज तारमा अड्किँदा त्यसको भार थाम्न नसरी ट्रान्सफर्मर रहेको दुई वटा सिमेन्टको खम्बासमेत भाँच्चिएर थलेको छ । उक्त खम्बा ढल्दा नजिकैको सुशीला खड्काको घरमा पनि क्षति पुगेको स्थानीय विकास प्रहरले जानकारी दिए ।


    हुरीले घर नजिकै रहेको अर्को पनि विद्युत्को खम्बा ढलेपछि सडक अवरुद्ध बनेको उल्लेख गर्दै उनले सोही कारणले आवतजावत रोकिएको बताए । उनले हुरीका कारण दुई वटा घर पूर्ण रूपमा क्षति भएको जानकारी दिए । हुरीपछि चाँगुनारायण नगर विपद् समितिले नगर प्रहरीमार्फत त्रिपालको व्यवस्था गरी घरलाई छोपेको छ ।

    हुरी रोकिएपछि त्रिपुरा नगर टोल सुधार समितिका पूर्वअध्यक्ष उपेन्द्र ढकाल, समितिका अध्यक्ष श्याम थापासहितको टोली, चाँगुनारायण नगर प्रहरी, प्रहरी प्रभाग दुवाकोटको टोलीले उद्धार गरी घरलाई सुरक्षित राख्ने प्रयास गरिएको वडा नं २ का वडाध्यक्ष सोम प्रधानले बताए । घटनास्थलमा पुगेका उनले क्षतिको विवरण सङ्कलन गरी पीडित परिवारलाई नगरपालिकामार्फत क्षतिपूर्तिको व्यवस्था गरिने उल्लेख गरे ।

  • होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    तेहरान, ३ चैत (रासस–एएफपी) । इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द गरेपछि विश्व ऊर्जा बजारमा तीव्र दबाब देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार नाटोका साझेदार राष्ट्रहरू तथा चीनलाई उक्त जलमार्ग पुनः सञ्चालनमा ल्याउन सहयोग गर्न आग्रह गरेका छन् । अमेरिका–इजरायलसँग जारी युद्धको प्रतिउत्तरस्वरूप इरानले खाडी क्षेत्रको यो प्रमुख जलमार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य एकाएक ४० देखि ५० प्रतिशतसम्म उक्लिएको छ । युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा कच्चा तेलको मूल्य सोमबार करिब १०० डलर आसपास पुगेको देखिएको छ । इजरायलले इरानभित्र अझै पनि ‘हजारौँ लक्ष्य’ रहेको दाबी गर्दै दैनिक रूपमा नयाँ लक्ष्य पहिचान गरिरहेको जनाएको छ ।

    ट्रम्पले संयुक्त राज्य अमेरिका इरानसँग वार्तामा रहेको भए पनि तेहरान तत्काल युद्ध अन्त्य गर्ने सहमतिमा पुग्ने अवस्थामा नदेखिएको बताए । “मलाई लाग्दैन उनीहरू अहिले तयार छन्, तर उनीहरू निकै नजिक आइपुगेका छन्”, उनले भने । यसअघि इरानका विदेशमन्त्रीले भने वासिङ्टनसँग कुनै पनि प्रकारको वार्ता अस्वीकार गरिएको बताएका थिए ।
    अमेरिकी राष्ट्रपतिले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतजस्ता देशहरूलाई स्ट्रेट अफ होर्मुज हुँदै जाने तेल ट्याङ्करहरूको सुरक्षाका लागि नौसैनिक जहाज पठाउन आग्रह गरेका छन् । फाइनान्सियल टाइम्ससँग कुरा गर्दै उहाँले स्ट्रेट अफ होर्मुजबाट लाभ लिने देशहरूले त्यस क्षेत्रमा कुनै अप्रिय घटना हुन नदिन सहयोग गर्नु उचित हुने बताए । संयुक्त राज्य अमेरिकाको तुलनामा युरोपेली देशहरू र चीन खाडी क्षेत्रबाट आउने तेलमा धेरै निर्भर रहेका छन् ।

    बेइजिङले स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनका प्रयासमा सहयोग नगरे चिनियाँ राष्ट्रपति सी जिनपिङसँग यस महिनाको अन्त्यमा हुने तय गरिएको शिखर सम्मेलन स्थगित हुन सक्ने चेतावनी पनि ट्रम्पले दिएका छन् । उनले आफ्नो आग्रह अस्वीकार भएमा त्यसले नाटोको भविष्यका लागि पनि नकारात्मक प्रभाव पार्न सक्ने बताए । तर जापान र अस्ट्रेलियाले भने अहिलेका लागि सैनिक तैनाथ गर्ने योजना नभएको स्पष्ट पारेका छन् ।

    यसैबीच इरानले अन्य देशहरूलाई मध्यपूर्वमा फैलिएको युद्धमा प्रत्यक्ष रूपमा संलग्न नहुन चेतावनी दिएको छ । फ्रान्सका विदेशमन्त्री जिन–नोएल बारोटसँगको टेलिफोन संवादमा इरानका विदेशमन्त्री अब्बास अराघचीले द्वन्द्वलाई थप विस्तार गर्ने कुनै पनि कदमबाट टाढा रहन आग्रह गरेका छन् । उनले क्षेत्रीय सुरक्षाका नाममा अमेरिकी सैन्य उपस्थितिले समस्या समाधान गर्नुको सट्टा तनाव बढाइरहेको आरोप लगाए । छिमेकी देशहरूलाई ‘विदेशी आक्रमणकारीलाई बाहिर निकाल्न’ आह्वान गरे ।
    युद्धसँगै इरानले अमेरिकी सेना रहेको मध्यपूर्वका विभिन्न स्थानमा आक्रमण तीव्र बनाएको छ । इटालीको सेनाले कुवेतस्थित अली अल सलेम एयरबेसमा भएको ड्रोन आक्रमणमा इटालीको मानवरहित विमान नष्ट भएको तर मानवीय क्षति नभएको जनाएको छ । इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले घटनालाई कम महत्त्व दिँदै आफ्नो देश कसैसँग युद्धमा नरहेको स्पष्ट पारे ।
    इराकी अधिकारीहरूका अनुसार बगदाद अन्तर्राष्ट्रिय विमानस्थलस्थित अमेरिकी कूटनीतिक सुविधा नजिकै रकेट प्रहार हुँदा पाँच जना घाइते भएका छन् । उता इरानको रिभोलुसनरी गार्ड्सले हालसम्म अमेरिका र इजरायलसँग सम्बन्धित लक्ष्यहरूतर्फ करिब ७०० मिसाइल र तीन हजार ६०० ड्रोन प्रहार गरिएको दाबी गरेको छ ।

    साउदी अरेबियाले पनि सोमबार मध्यरातयता ६० भन्दा बढी ड्रोन रोकेको जनाएको छ । दुबई विमानस्थल नजिक ड्रोनसँग सम्बन्धित घटनापछि आगलागी हुँदा केही समयका लागि उडान स्थगित गर्नुपरेको थियो । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले भने इराकको कुर्दिस्तान क्षेत्रमा इरानी डिजाइनको ड्रोन आक्रमणमा फ्रान्सेली सैनिक मारिएपछि फ्रान्सका हितमाथि भएको आक्रमण अस्वीकार्य भएको बताएका छन् ।
    यसबीच द्वन्द्व लेबनानसम्म फैलिएको देखिएको छ । इजरायलले बेरुतको दक्षिणी उपनगरहरूमा नयाँ हवाई आक्रमण सुरु गरेको जनाएको छ । ऊर्जा बजारमा भने आपूर्ति सङ्कट टार्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट करिब ४० करोड ब्यारेल तेल बजारमा पठाउन सुरु गर्ने निर्णय गरेको जनाएको छ । एसिया–ओसिनिया क्षेत्रका देशहरूले तत्काल भण्डार उपलब्ध गराउनेछन् भने युरोप र अमेरिकाले आगामी हप्तामा त्यसलाई पछ्याउने अपेक्षा गरिएको छ ।

    मध्यपूर्वबाट आउने तेलमा ९५ प्रतिशत निर्भर रहेको जापानले आफ्नो सरकारी राजपत्रमार्फत देशको तेल भण्डार स्तर घट्दै गएको सूचना जारी गरेको छ । यस कदमले भण्डार व्यवस्थापकहरूलाई केही तेल बजारमा छोड्न बाध्य पार्नेछ । स्ट्रेट अफ होर्मुज बन्द भएपछि विश्वका विभिन्न देशमा त्यसको प्रभाव देखिन थालेको छ । अस्ट्रेलियाका अधिकारीहरूले मूल्य वृद्धि र हडबडाहटमा किनमेल नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । भारतमा भने आयात अवरोधका कारण रेस्टुरेन्टहरूले खाना पकाउने ग्यास बचत गर्न मेनु परिवर्तन गर्न थालेका छन् ।

    सिड्नी नजिकै बस्ने ल्यान्डस्केपर एम्मा फुटर्लेबले इन्धन महँगिएपछि आफ्नो बजेटमा दबाब परेको बताए । “यसले हाम्रो खर्चमा सीधा असर गरेको छ”, उहाँले भने ।
    उता तेहरानमा भने युद्ध सुरु भएको केही दिनपछि जीवन क्रमशः सामान्य बन्न थालेको देखिएको छ । गत हप्ताको तुलनामा सहरमा यातायात चहलपहल बढेको छ र केही क्याफे तथा रेस्टुरेन्ट पुनः सञ्चालनमा आएका छन् । फारसी नयाँ वर्ष नौरुज नजिकिँदै गर्दा लोकप्रिय ताजरिश बजारका धेरै स्टलहरू खुल्न थालेका छन् । नगद निकाल्न एटीएमहरूमा लामो लाइन देखिएको छ भने देशकै ठूलो बैंक मेलीको अनलाइन सेवा केही दिनदेखि अवरुद्ध भएको जनाइएको छ ।

    राजधानी बाहिरका क्षेत्रहरूमा पनि समान अवस्था देखिएको छ । क्यास्पियन सागर किनारको मजन्दरान प्रान्तस्थित टोनेकाबोन सहरका ४९ वर्षीय अलीले पसलहरू खुला र भीडभाड रहेको बताए । यद्यपि मूल्य बढेको अनुभव भइरहेको उनको भनाइ छ । उनका अनुसार मुख्य चोक भने हरेक रात बन्द गरिन्छ र सरकारी प्रदर्शनहरू आयोजना भइरहेका छन् । बाह्य इन्टरनेट सेवा बन्द भएकाले देशभित्रको इन्ट्रानेट मात्रै चलिरहेको बताइएको छ । इरानी स्वास्थ्य मन्त्रालयका अनुसार अमेरिका र इजरायलका आक्रमणबाट हालसम्म एक हजार २०० भन्दा बढी मानिसको मृत्यु भएको छ, यद्यपि यो तथ्याङ्क स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीले इरानभित्र करिब ३२ लाख मानिस विस्थापित भएको जनाएको छ ।

  • यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

    यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

    दुबई, ३ चैत (रासस–सिन्ह्वा) । इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण फेब्रुअरी २८ यता संयुक्त अरब इमिरेट्स (यूएई) मा कम्तीमा ७ जनाको मृत्यु भएको यूएई रक्षा मन्त्रालयले सोमबार जनाएको छ। मारिनेहरूमा २ जना सैनिक र ५ जना सर्वसाधारण रहेका छन् भने विभिन्न देशका १४५ जना घाइते भएका छन्।

    मन्त्रालयका अनुसार सो अवधिमा यूएई सुरक्षाबलले इरानबाट प्रक्षेपण गरिएका ३०४ वटा ब्यालिस्टिक मिसाइल, १५ वटा क्रुज मिसाइल र एक हजार ६२७ वटा ड्रोन अवरोध गरी नष्ट गरेका छन्। सोमबार भएको आक्रमणमा ६ वटा ब्यालिस्टिक मिसाइल र २१ वटा ड्रोन प्रयोग गरिएको थियो, जसले अबुधाबी, दुबई, फुजैराह र उम्म अल क्वैन क्षेत्रमा क्षति पुर्‍याएको बताइएको छ। अबुधाबीको अल बह्याह क्षेत्रमा मिसाइल लागेर एक नागरिक सवारी साधन नष्ट हुँदा एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण हुँदा इन्धन ट्याङ्कमा आगलागी भएको र केही समय उडान सेवा रोकिएको थियो। फुजैराह तेल उद्योग क्षेत्रमा पनि आगलागी भएको भए पनि त्यहाँ कुनै मानवीय क्षति भएको छैन। यूएई रक्षा मन्त्रालयले सम्भावित थप आक्रमणलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको जनाएको छ।

  • लामिछानेको रिट हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने

    लामिछानेको रिट हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने

    लामिछानेको रिट ‘’ मा मङ्गलबार सुनुवाइ हुने
    काठमाडौँ, ३ चैत । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा मङ्गलबार सुनुवाइ गर्ने भएको छ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको थियोे । सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

    यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न यही चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो । महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

  • निर्माण सामग्रीको मूल्य स्थिर नहुँदासम्म ‘कन्स्ट्रक्सन होलिडे’ घोषणाको माग

    निर्माण सामग्रीको मूल्य स्थिर नहुँदासम्म ‘कन्स्ट्रक्सन होलिडे’ घोषणाको माग

    काठमाडौँ, ३ चैतः नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्रीमा मूल्य स्थिर नहुँदासम्म ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न सरकारसँग आग्रह गरेको छ । मध्यपूर्व र पश्चिम एसियामा देखिएको युद्धका कारण देखाउँदै निर्माण उद्योगमा अत्यधिक प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेललगायतका इन्धन सामग्रीहरूमा भएको भारी मूल्यवृद्धिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासङ्घले यस्तो माग अगाडि सारेको हो ।

    महासङ्घका महासचिव रोशन दाहालद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ,“धमाधम निर्माण कार्य हुने सिजनमा इन्धनलगायत सामग्रीहरूमा भएको भारी मूल्यवृद्धिले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार पर्नुका साथै पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिने निश्चित छ । त्यसैले मूल्यवृद्धि स्थिर नभएसम्म सम्पूर्ण आयोजनाको निर्माण कार्य हाललाई स्थगित गर्न महासङ्घ बाध्य हुने व्यहोरासमेत अवगत गराउँदछौँ ।”

    एकातिर बजारमा निर्माण सामग्रीको मूल्यवृद्धि हुने र अर्कोतर्फ राष्ट्रबैंकबाट जारी हुने मूल्य सूचकाङ्क वास्तविक नहुने भएकाले मूल्य स्थिर नहुँदासम्मको लागि सरकारको तर्फबाट नै ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न महासङ्घले अनुरोध गरेको हो । इन्धन सामग्रीहरूमा भएको भारी मूल्यवृद्धिबाहेक हालै निर्वाचनको मौका पारेर नेपालमा सीमित आयातकर्ताहरूले ‘कार्टेलिङ’ गर्दै सडक निर्माणमा प्रयोग हुने बिटुमिनको पनि कृत्रिम अभाव सिर्जना गरी आर्थिक समस्यामा पारेको महासङ्घको दाबी छ ।

    सडक कालोपत्र सुरु भएपछि बिटुमिनको अभाव हुँदा कालोपत्र गर्न ठिक्क पारिएको सडकमा थप क्षति हुने सम्भावना प्रबल भएको र ‘बुकिङ’ गर्दाको मूल्यभन्दा हाल प्रतिलिटर रु ४० सम्म मूल्यवृद्धि हुँदा निर्माण व्यवसायीहरू दोहोरो पीडामा परेका महासङ्घको धारणा छ ।

    पछिल्लो समय भारतले बिटुमिनको निर्यात बन्द गरेका कारण मुलुकको निर्माण उद्योग थप प्रताडित भएको विज्ञप्तिमा उल्लेख छ । “निर्वाचनकै माहोलबीच सीमित उद्योगीहरूले फलामे डन्डी र सिमेन्टमा पनि मूल्यवृद्धि गर्दा सरकारी पूर्वाधार मात्र होइन निजी क्षेत्रको पूर्वाधारमा पनि ठूलो आर्थिक भार थपिएको छ”, विज्ञप्तिमा भनिएको छ,“हाल फलामे डन्डी प्रतिकेजी रु ८५ बाट रु १०० र सिमेण्टमा प्रतिबोरा रु ५० सम्म मूल्यवृद्धि भएको छ । सीमित उद्योगीहरूले मूल्यवृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेकाले भुक्तानी अभावलगायतका कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप समस्याग्रस्त भएको छ ।”

    सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार प्रत्येक आयोजनामा मूल्यवृद्धि भएअनुरुप मूल्य समायोजनको व्यवस्था गर्न महासङ्घले विज्ञप्तिमार्फत सरकारका सम्बन्धित निकायसमक्ष माग गरेको छ ।

  • सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

    सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

    रासस
    भैरहवा (रुपन्देही), ३ चैत । बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाही सुनिने गहिरो स्वरले यहाँको प्रकृतिलाई अझै जीवन्त बनाइदिन्छ । त्यो स्वर हो । प्रेम, निष्ठा र शान्तिको प्रतीक मानिने लोपोन्मुख पन्छी सारसको । विश्वकै प्राचीन चरामध्ये एक मानिने सारसका लागि लुम्बिनी क्षेत्र अहिले सुरक्षित बासस्थान मात्र होइन, प्रजननका लागि उपयुक्त स्थलका रूपमा परिचित हुँदै गएको छ । स्थानीय बासिन्दाको सचेतना, लुम्बिनी सांस्कृतिक नगरपालिकाको सक्रियता र स्थानीय क्लबको सहकार्यले यहाँ सारस संरक्षण अभियानलाई नयाँ उचाइ दिएको छ ।

    प्रकृतिको काखमा सुरक्षित महसुस गरेका सारस यतिबेला लुम्बिनी वरिपरि ढुक्क भएर सन्तान वृद्धिमा लागेका छन् । सिमसार क्षेत्रमा मानव चहलपहल कम हुने भएकाले यी स्थान सारसको रोजाइमा पर्ने गरेका छन् । प्रजननको समयमा जोडीमा बस्ने सारसले एक प्रजनन अवधिमा प्रायः दुई वटा अण्डा पार्ने गर्छ । वर्षा ऋतुको समयमा करिब ३० देखि ३२ दिनसम्म ओथारो बसेपछि चल्ला कोरलिन्छन् । चल्ला पाँचदेखि छ महिनासम्म माउसँगै बस्ने गर्छन् । यही अवधिमा आमा–बुबाले आहारा खोज्ने र जीवनयापन गर्ने तरिका सिकाउँछन् ।

    सारस संरक्षणकर्मी अर्जुन कुर्मीका अनुसार सारसका बच्चा दैनिक करिब एक इन्चको दरले हुर्कने गर्छन् । “बच्चा केही हुर्किएपछि सारसको जोडीले नाचेर आफ्नो व्यवहार देखाउँछन् । त्यो नृत्य चल्लालाई सिकाउँछन्”, उनी भन्छन् । सारसको जीवनचक्रमा रोचक पक्ष छन् । ओथारो बसेको समयमा भाले सारसले टाढाबाट आहारा खोजेर ल्याउने गर्छ । बच्चा निस्केपछि आहारा खोज्न धेरै टाढा जान नपरोस् भनेर उसले नजिकको आहारा टिप्न छाड्ने गरेको बताइन्छ । गङ्गटो, भ्यागुता, माछा र केही विशेष घाँसका जरा सारसका प्रिय आहार हुन् ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका हुँदै मर्चवार क्षेत्रसम्म अहिले सारसको प्रजनन गतिविधि देखिन थालेको छ । संरक्षणकर्मी कुर्मीका अनुसार अहिले नेपालमा ७०० जति सारस रहेका छन् । यीमध्ये लुम्बिनी आसपासमा मात्रै करिब ८० प्रतिशतभन्दा बढी जोडी सारस रहेका छन् । लोपोन्मुख मानिने यस पन्छीको संरक्षणमा अहिले स्थानीय बासिन्दा सक्रिय रूपमा जुटेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई ‘नगर पन्छी’ घोषणा गरेर संरक्षण अभियानलाई संस्थागत रूप दिएको छ ।

    लुम्बिनी विकास कोषले सारसका लागि उपयुक्त क्षेत्र छुट्याएको छ । विश्व शान्ति स्तूपको उत्तरतर्फको भागलाई सारस संरक्षण क्षेत्र तोकिएको छ, जहाँ अहिले धेरै जोडी सारस देख्न सकिन्छ । यसबाहेक मर्चवार र लुम्बिनीको सीमा क्षेत्र भइ, बभनी, अजमा लगायतका क्षेत्रमा ठूलो समूहमा सारसहरू रमाइरहेका हुन्छन् । सारस संरक्षणलाई पर्यटनसँग जोड्ने प्रयास भइरहेको छ । पर्यटकको बसाइ अवधि लम्ब्याउने उद्देश्यले शान्ति स्तूप परिसरमा करिब दुई किलोमिटर पैदलमार्ग निर्माण गर्ने तथा चरा अध्ययन गर्न चाहने का लागि वातावरणीय सिकाइ केन्द्र स्थापना गर्ने योजना लुम्बिनी विकास कोषले अघि सारेको छ ।

    चराविद्का अनुसार विश्वमा पाइने १५ प्रजातिका सारसमध्ये नेपालमा चार प्रजाति भेटिन्छन् । लक्ष्मण सारस, कर्याङ–कुरुङ सारस, कालो टाउके सारस र सारस । अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को रातो सूचीमा संवेदनशील प्रजातिका रूपमा राखिएका कालो टाउके सारस र सारस विश्वमै दुर्लभ पन्छी मानिन्छन् । सारस नेपालको पश्चिम तराईमा वर्षभरि पाइने रैथाने पन्छी हो । विगतमा यसको अण्डा र मासुको अवैध सिकार हुने गरेको भए पनि अहिले स्थानीयको सचेतनाले यस्तो गतिविधि धेरै हदसम्म नियन्त्रणमा आएको संरक्षणकर्मी कुर्मी बताउँछन् ।

    लुम्बिनी क्षेत्र सारस मात्र होइन, अन्य धेरै पन्छीको आश्रयस्थल हो । यहाँ कोइली, भद्राई, कालो चिबे, मधुमक्षी खाने चराहरू, विभिन्न प्रजातिका बकुल्ला, भुडीफोर, घोगीफोर, हरिहाँस, बिजुलगैरे र सानो जलेवालगायत गरी २२२ भन्दा बढी प्रजातिका चरा पाइन्छन् । संरक्षणकर्मी धर्मेन्द्र पालका अनुसार सारससहितका चरा अवलोकनलाई व्यवस्थित गर्दै यस क्षेत्रलाई पर्यापर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिन्छ ।

    सारसको संरक्षणसँगै लुम्बिनी अब गौतम बुद्धका अनुयायीहरूको आध्यात्मिक गन्तव्य मात्र नभई चराविद्, अनुसन्धानकर्ता र चरा अवलोकनकर्ताका लागि पनि आकर्षक अध्ययनस्थल बन्ने सम्भावना बढेको छ । शान्तिको भूमि लुम्बिनीमा सारसको मुक्त उडानले यहाँको प्राकृतिक सौन्दर्यलाई मात्र होइन, संरक्षणप्रतिको मानवीय संवेदनालाई झन् उजागर गरिरहेको छ ।

  • निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

    निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

    काँक्रेविहार (सुर्खेत), ३ चैत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका–८ गङ्गटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाका अनुसार आइतबार बेलुका ५ बजेतिर प्रहरीलाई सिकार खेल्न गएहरूका बेपत्ता भएको खबर प्राप्त भएको थियो । अहिले प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको कमाण्डमा चार जनाको प्रहरी टोली खोजी कार्यमा खटिएको छ भने जिल्ला प्रहरी कार्यालय बर्दियालाई जानकारी गराइएको सुर्खेत प्रहरीले जनाएको छ ।

  • काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

    काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

    काठमाडौँ, २ चैतः काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका लागि महानगरपालिकाले १० वडाबाट छुट्टै सुक्खा फोहर व्यवस्थापनको कार्य सुरु गर्न थालेको छ । यसरी सुक्खा फोहर व्यवस्थापनको कार्य सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट ल्यान्डफिल साइटमा दैनिक करिब ३.१९ मेट्रिक टन कम फोहर व्यवस्थापन हुन थालेको महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले जानकारी दिइन् ।

    महानगरपालिकाले ३२ वटै वडाबाट घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न आफ्नो भौगोलिक क्षेत्रलाई सात क्षेत्रमा वर्गीकरण गरेर छुट्टाछुट्टै प्रतिस्पर्धाबाट करसहित वार्षिक रु ६ करोड आठ लाख ७२ हजारमा आय ठेक्का लगाएको उनले बताइन् ।


    अहिले महानगरपालिका–७, १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ वडाबाट सुक्खा फोहर व्यवस्थापनको कार्य सुरु गरिएको छ । हरेक क्षेत्रमा एक–एकवटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहर व्यवस्थापन केन्द्रसमेत राखिएको छ । आय ठेक्का कार्यविधि २०७९ बमोजिम प्रतिस्पर्धीमध्येबाट क्षेत्र नं १ का लागि नेप्सेम्याक सेवा प्रालि छानिएको छ ।

    यस क्षेत्रमा वडा नम्बर २, ३, ४, ५ र ७ पर्छन् । क्षेत्र नम्बर २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रालि छनोटमा परेको छ । यसमा वडा नम्बर १, ११, २८, २९ र ३० पर्छन् । क्षेत्र नम्बर ३ मा क्रियटिभ सरसफाइ प्रालिले वार्षिक रु ५५ लाख ३५ हजार ८९१ आय ठेक्का कबोल गरेको छ । यस क्षेत्रमा वडा नम्बर ६, ८ र ९ पर्छन् ।

    क्षेत्र नम्बर ४ मा मेची पोली इन्डष्ट्रीले रु एक करोड १५ लाख चार हजार ४०४ कबोल गरेको छ । यसमा वडा नम्बर १६, १७ र २६ पर्छन् । वडा नम्बर १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ मा तोकिएको छ । क्षेत्रका लागि नेपाल ऊर्जा विकास कम्पनीले जिम्मा लिएको छ । वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ । यस क्षेत्रमा पोली वेस्ट म्यानेजमेन्टले जिम्मा पाएको छ ।