Category: फिचर

  • चैत्र शुक्ल पक्षः आज चैते दसैंको घटस्थापना

    चैत्र शुक्ल पक्षः आज चैते दसैंको घटस्थापना

    काठमाडौँ, ५ चैतः चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिनुभयो । आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको पनि उनले बताए ।

    यस अवसरमा देशभरका देवी मन्दिर एवं शक्तिपीठमा पनि पूजाआराधना एवं उपासनाका लागि भक्तजनको लाम लाग्ने गर्छ । शास्त्रीय नियमअनुसार वर्षमा चारवटा नवरात्र पर्ने गरेका छन् । आषाढ शुक्ल पक्ष, आश्विन शुक्ल पक्ष, पौष शुक्ल पक्ष र माघ शुक्ल पक्ष गरी वर्षमा चार नवरात्र मनाउने गरिएको हो । नेपाली परम्परामा आषाढ र पौष शुक्ल पक्षको नवरात्रलाई लुप्त नवरात्र पनि भनिन्छ ।

  • कांग्रेस सभापति थापाले बुझाए राजीनामा

    कांग्रेस सभापति थापाले बुझाए राजीनामा

    ५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यसअघि काठमाडौं ४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही ४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरे । रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।

    चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए । थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ । केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ ।

  • मध्यपूर्व तनावले विश्व बजार प्रभावित

    मध्यपूर्व तनावले विश्व बजार प्रभावित

    पेरिस, ५ चैत (रासस–एएफपी) । मध्यपूर्वमा जारी युद्धले अब प्रत्यक्ष रूपमा विश्व अर्थतन्त्रमा असर पार्न थालेको छ, जसले ऊर्जा बजारदेखि वित्तीय नीतिसम्म दबाब सिर्जना गरेको छ । तेल आपूर्ति, मूल्य अस्थिरता र अन्तर्राष्ट्रिय व्यापार मार्गमा अवरोधका कारण विश्वभर आर्थिक अनिश्चितता बढ्दै गएको देखिएको छ । बुधबार तेल बजारमा उतारचढाव देखियो ।

    इरानले तेल उत्पादक छिमेकी देशहरूलाई लक्षित गरी आक्रमण गरेपछि अघिल्लो दिन बढेको मूल्य घट्दै वेस्ट टेक्सास इन्टरमिडियेट करिब ९३ डलर आसपास झर्दा तीन प्रतिशतभन्दा बढी घट्यो भने ब्रेन्ट कच्चा तेल पनि दुई प्रतिशतभन्दा बढीले ओरालो लाग्यो । यद्यपि विश्लेषकहरूले होर्मुज जलडमरूमध्यमा थप तनाव बढे विश्व ऊर्जा लागत तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिएका छन्, किनकि यही मार्गबाट विश्वको करिब पाँचौँ हिस्सा तेल र ग्यास आपूर्ति हुन्छ ।

    ऊर्जा आपूर्तिमा जोखिम बढेपछि वैकल्पिक व्यवस्थातर्फ देशहरू अग्रसर भएका छन् । दक्षिण कोरियाले होर्मुज मार्ग प्रयोग नगरी संयुक्त अरब इमिरेट्सबाट थप एक करोड ८० लाख ब्यारेल तेल ल्याउने निर्णय गरेको छ । राष्ट्रपति कार्यालयका प्रमुखले विविध आपूर्ति च्यानल प्रयोग गरिने जानकारी दिनुभएको छ, यद्यपि मार्गबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन । दक्षिण कोरियाको करिब ७० प्रतिशत तेल आयात सामान्यतया यही जलडमरूमध्य हुँदै आउने गर्दछ ।

    इरानले पनि जलमार्ग नियन्त्रणलाई कडाइ गर्दै मित्र राष्ट्रका जहाजहरूलाई मात्र प्राथमिकता दिइरहेको सङ्केत देखिएको छ । इराकले आफ्ना केही तेल ट्याङ्करहरू होर्मुज हुँदै पठाउन इरानसँग समन्वय गरिरहेको जनाएको छ । यसैबीच इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर घालीबाफले यो जलडमरूमध्य अब पहिलेको जस्तो सामान्य अवस्थामा फर्किन नसक्ने चेतावनी दिएका छन् ।


    युद्धको प्रभावबारे इरानी विदेशमन्त्री अब्बास अराघचीले विश्वव्यापी असर पर्ने स्पष्ट पारे । उनका अनुसार सुरु भएको प्रतिक्रिया लहरले सबै मुलुक र वर्गलाई प्रभावित पार्नेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सहयोगी राष्ट्रहरूले अपेक्षित साथ नदिएको गुनासो गर्दै अब अमेरिकी सेनालाई थप सैन्य सहयोग आवश्यक नरहेको बताएका छन् । होर्मुज जलडमरूमध्यमा तेल ढुवानी सुरक्षित गर्न युद्धपोत पठाउने प्रस्ताव धेरै देशहरूले अस्वीकार गरेका छन् ।

    फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले स्थिति शान्त भएपछि मात्र सहयोग गर्न सकिने सङ्केत गरेका छन् । युद्धको असर युरोपसम्म पुगेको छ । जर्मनीले ऊर्जा कम्पनीहरूले सङ्कटको फाइदा उठाएर पेट्रोलियम मूल्य कृत्रिम रूपमा बढाएको हुनसक्ने आशङ्कामा निगरानी कडा गर्ने जनाएको छ । युरोपकै ठूलो अर्थतन्त्र जर्मनीमा लगानीकर्ताको मनोबल करिब एक वर्षयताकै न्यून स्तरमा झरेको सर्वेक्षणले देखाएको छ ।

    संयुक्त अरब इमिरेट्सको फुजैराह तेल परिसरमा भएको ड्रोन आक्रमणले आपूर्ति संरचनामा थप जोखिम देखाएको छ । उक्त क्षेत्रमा आगलागी भए पनि मानवीय क्षति नभएको जनाइएको छ, तर केही समयका लागि तेल लोडिङ प्रभावित भएको बताइएको छ । यो सुविधा होर्मुज मार्गलाई बाइपास गर्ने महत्त्वपूर्ण केन्द्र मानिन्छ ।

    इन्धन मूल्यको चापले मौद्रिक नीतिमा पनि असर पारेको छ । अस्ट्रेलियाको केन्द्रीय बैंकले उच्च इन्धन मूल्यलाई ध्यानमा राख्दै आफ्नो ब्याजदर ०.२५ प्रतिशतले बढाएर ४.१० प्रतिशत पुर्‍याएको छ । यसले युद्धका कारण उत्पन्न महँगी दबाबलाई नियन्त्रण गर्ने प्रयास झल्काउँछ । एसियामा भने प्रत्यक्ष प्रभाव झन् स्पष्ट देखिएको छ । थाइल्यान्डमा पेट्रोल अभाव र मूल्य वृद्धिको डरले राजधानी बैङ्ककदेखि चियाङ राईसम्म सवारी चालकहरू लामबद्ध भएका छन् । सरकारले डिजेल मूल्यमा सीमा तोके पनि आगामी दिनमा मूल्य तीव्र रूपमा बढ्ने चिन्ता बढिरहेको छ ।

    हवाई क्षेत्रमा पनि असर पर्न थालेको छ । जेट इन्धन महँगिएसँगै एयरलाइन्सहरू दबाबमा परेका छन् । केही अमेरिकी कम्पनीहरूले चुनौती बढ्ने बताएका छन् भने स्क्यान्डिनेभियन एयरलाइन्स एसएएसले अप्रिलमा कम्तीमा एक हजार उडान रद्द गर्ने निर्णय गरेको छ । समग्रमा, मध्यपूर्वको युद्धले अब केवल सैन्य द्वन्द्वमा सीमित नरही विश्व अर्थतन्त्रलाई गहिरो रूपमा प्रभावित पार्ने चरणमा प्रवेश गरेको देखिएको छ ।

  • आगामी महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

    आगामी महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

    काठमाडौँ, ५ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत ६ गते शुक्रबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ती जारी गरी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ६ गते शुक्रबार बस्न लागेको जानकारी दिए ।
    उक्त बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्नेछ ।

    बैठकमा निर्वाचनको समीक्षा र आगामी दिनमा पार्टीले अपनाउने रणनीति र आगामी महाधिवेशनबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । उक्त बैठकमा उपस्थिती हुनका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवम् प्रदेश सभापतिलाई निर्देशानुसार अनुरोध गरेको छ ।

  • डेङ्गु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न निर्देशन

    डेङ्गु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न निर्देशन

    काठमाडौँ, ५ चैत । सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले डेङ्गु सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहलाई सचेतना कार्यक्रम गर्न निर्देशन दिइएको बताए ।
    “सचेतना कार्यक्रमले डेङ्गु सङ्क्रमण घट्दै गएको पाइएको छ,” उनले भने, “गर्मी सुरुसँगै डेङ्गु सङ्क्रमण जोखिम रहेका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेका छौँ ।”

    पाँच गुणाले घट्यो सङ्क्रमण

    महाशाखाका अनुसार अघिल्ला वर्षको तुलनामा गतवर्ष डेङ्गु सङ्क्रमण पाँच गुणा घटेको पाइएको छ । सन् २०२४ को अनुपातमा सन् २०२५ मा पाँच गुणा डेङ्गु सङ्क्रमण घटेको छ । सन् २०२४ मा ४१ हजार ८६५ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो भने सन् २०२५ मा त्यसको करिब पाँच गुणा कम आठ हजार ५७६ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो ।

    शाखा प्रमुख डा दाहालले सरकारको डेङ्गु सङ्क्रमणविरुद्ध सञ्चालन गरेको अभियानले गर्दा घटेको बताए । “डेङ्गु सङ्क्रमण फैलिन नदिनका लागि डेङ्गु सार्ने लामखु्ट्टेको लार्भा नष्ट गर्ने अभियानमा सबैका सहयोगभयो”, उहाँले भन्नुभयो, “जसले गर्दा डेङ्गु सङ्क्रमण सार्ने लामखुट्टे फैलिन पाएन र डङ्गु सङ्क्रमण कम भयो ।”

    सरकारले प्रत्येक शुक्रबार सरकारी कार्यालयमा डेङ्गु सङ्क्रमण सार्ने लार्भा खोज र नष्ट गरे अभियान सञ्चालन गरेको थियो । शाखाका प्रमुख डा दाहालले समुदायको पहलमा नै डेङ्गु सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न सकिएको बताए । उनले प्रत्येक वर्ष डेङ्गु सङ्क्रमण कम हुँदै गएको बताए ।

    उनका अनुसार सन् २०२३ मा ५२ हजार ७९० जना, सन् २०२२ मा ५४ हजार ७८४ जनामा डङ्गु सङ्क्रमण देखिएको थियो । यस्तै गत असारदेखि भदौसम्म एक हजार युवा परिचालन गरेर डङ्गु सार्ने लामखुट्टे नियन्त्रण र जनस्तरमा सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।

    यसवर्ष पनि गर्मीयाम सुरुसँगै डङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेको उनले बताए । पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर मानिसलाई टोकेपछि डेङ्गु रोग लाग्दछ ।

  • मध्यपूर्व तनाव चर्किँदै, असर विश्वभर फैलिने सङ्केत

    मध्यपूर्व तनाव चर्किँदै, असर विश्वभर फैलिने सङ्केत

    पेरिस, ४ चैत (रासस–एएफपी) । मध्यपूर्वमा जारी युद्धले अब क्षेत्रीय सीमाभन्दा बाहिर प्रभाव पार्ने स्पष्ट सङ्केत देखिएको छ । इजरायल र इरानबीचको प्रत्यक्ष–अप्रत्यक्ष सैन्य टकरावसँगै खाडी क्षेत्र, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र ऊर्जा सुरक्षासमेत प्रभावित हुने अवस्था देखिँदै गएको छ । इजरायली सेनाले बुधबार दक्षिणी लेबनानका चार सहरका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै इरान समर्थित हिजबुल्लाहविरुद्ध लक्षित आक्रमण हुने चेतावनी दिएको छ ।

    यसअघि नै निकासी चेतावनीपछि मध्य बेरुतमा आक्रमण भएको राज्य सञ्चारमाध्यमहरूले जनाएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बिना चेतावनी भएका दुई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । इजरायलले आफ्नो भूमितर्फ भएका रकेट प्रहारको जवाफस्वरूप टायर आसपासका क्षेत्रमा हिजबुल्लाहका लक्ष्यमा निरन्तर आक्रमण गरिरहेको जनाएको छ ।

    यता, इरानले युद्धको असर विश्वव्यापी हुने चेतावनी दिएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै विश्वव्यापी प्रतिक्रिया सुरु भइसकेको र यसले सबै वर्गलाई असर गर्ने बताए । उनले उक्त अभिव्यक्तिसँगै अमेरिकी राष्ट्रिय आतङ्कवाद विरोधी केन्द्रका निर्देशक जोसेफ केन्टको राजीनामापत्रसमेत साझा गरेका छन् । ट्रम्प प्रशासनद्वारा नियुक्त केन्टले इरानविरुद्धको युद्धलाई समर्थन गर्न नसक्ने भन्दै आफ्नो पद त्यागेको घोषणा गरेका छन् ।
    इरानी सैन्य नेतृत्वले पनि कडा प्रतिक्रिया जनाउँदै सुरक्षा प्रमुख अली लारिजानीको हत्याको ‘निर्णायक र खेदजनक बदला’ लिने चेतावनी दिएको छ । इरानको रिभोलुसनरी गार्ड्सले मध्य इजरायलमा मिसाइल प्रहार गरेको दाबी गर्दै लारिजानीसहित मारिएकाहरूको बदला लिने प्रतिबद्धता व्यक्त गरेको छ । हमासले पनि इरानप्रति ऐक्यबद्धता जनाउँदै यो द्वन्द्वले सम्पूर्ण क्षेत्रको सुरक्षा र स्थिरता जोखिममा पार्ने उल्लेख गरेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले लारिजानीको मृत्यु पुष्टि गरिसकेको छ ।

    खाडी क्षेत्रमा पनि सुरक्षा चुनौती तीव्र बनेको छ । संयुक्त अरब इमिरेट्समा अस्ट्रेलियाली सैन्य मुख्यालय नजिक इरानी प्रक्षेप्य खसेको जानकारी सार्वजनिक भएको छ । साउदी अरेबियाले प्रिन्स सुल्तान एयर बेस नजिक ब्यालेस्टिक मिसाइल रोकेको जनाएको छ भने आठवटा ड्रोनसमेत निष्क्रिय पारेको छ । कुवेत र कतारले पनि रकेट तथा ड्रोन आक्रमणहरू विफल पारेका छन् । यसैबीच, अमेरिकी सेनाले होर्मुज जलडमरूमध्य नजिक इरानी क्षेप्यास्त्र केन्द्रहरूमा शक्तिशाली ‘बङ्कर बस्टर’ बम प्रयोग गरी आक्रमण गरेको जनाएको छ । यो क्षेत्र विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त संवेदनशील मानिन्छ, जसले द्वन्द्वको आर्थिक प्रभावलाई अझ गम्भीर बनाएको छ ।

    इजरायलतर्फ पनि क्षति बढ्दो छ । तेल अभिव नजिक इरानबाट प्रहार गरिएको मिसाइल आक्रमणमा थप दुई जनाको मृत्यु भएको छ, जससँगै यस प्रकारका आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । उता बगदादस्थित अमेरिकी दूतावासमा ड्रोन र रकेट आक्रमण हुँदा परिसरभित्र आगलागी भएको बताइएको छ । युद्धले अन्तर्राष्ट्रिय आयाम लिँदै जाँदा युक्रेनले पनि आफ्नो भूमिका देखाएको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार इरानद्वारा डिजाइन गरिएका ड्रोनविरुद्ध सहयोग गर्न २०० भन्दा बढी युक्रेनी विशेषज्ञहरू मध्यपूर्वका विभिन्न देशमा परिचालन गरिएका छन् ।

    इरानभित्र भने सरकारले राष्ट्रव्यापी र्‍याली आह्वान गरेपछि विभिन्न सहरहरूमा ठूलो भीड जम्मा भएको छ । फारसी नयाँ वर्ष ‘नौरोज’ को अवसरमा हुने यस्ता जमघटलाई सरकारले आन्तरिक एकता प्रदर्शनका रूपमा उपयोग गर्न खोजेको देखिन्छ । अन्तर्राष्ट्रिय राजनीतिक मतभेद पनि सतहमा आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा सहयोग नगरेको भन्दै नाटो र बेलायतको आलोचना गरेका छन् । बेलायती प्रधानमन्त्री किर स्टार्मरप्रति निराशा व्यक्त गर्दै उहाँले सहयोगको आवश्यकता नरहेकोसमेत उल्लेख गरेका छन् ।


    यसबीच लेबनानमा मानवीय क्षति बढिरहेको छ । दक्षिणी क्षेत्रमा इजरायली आक्रमणमा तीन सैनिक मारिएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ देखि सुरु भएको द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ९१२ पुगेको छ । यो अघिल्लो दिन ८८६ थियो । समग्रमा, घटनाक्रमहरूले युद्धको दायरा फराकिलो हुँदै गएको र यसको प्रभाव विश्वव्यापी बन्ने सङ्केत प्रष्ट रूपमा देखिएको छ ।

  • प्रधानसेनापति सिग्देलले गरे पूर्वसेनापतिहरुसँग छलफल

    प्रधानसेनापति सिग्देलले गरे पूर्वसेनापतिहरुसँग छलफल

    काठमाडौँ, ५ चैतः प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग छलफल गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा पूर्व प्रधानसेनापतिहरू प्यारजङग थापा, गौरवशम्शेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मासँग उनले मङ्गलबार छलफल र अन्तरक्रिया गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाले हालै सम्पन्न निर्वाचनमा सफल सुृरक्षा व्यवस्थापन गरेको थियो ।

  • राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

    राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

    रासस
    काठमाडौँ, ४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहको अवलोकन गरेका छन् । सो अवसरमा नेपाली सेनाको टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।

    समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगण, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारी सहभागी थिए । त्यस अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गरे । समारोहमा घोडा दौड, घोडा जम्प, चार्जर घोडा दौड, घोडाको ऐतिहासिक प्रयोग, घोडचढीबाट हमला, फायर जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएका थिए ।

    घोडाले गर्ने सामान ओसारपसार, यात्राको साधन, कृषि, शिकार, लडाइँ, उत्सव, खेलका झलक पनि कार्यक्रममा देखाइएका थिए । त्यस अवसरमा कुकुरबाट पनि विभिन्न कला प्रदर्शन गराइएका थिए । प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गरे । प्रत्येक वर्ष चैत्र कृष्ण औँसी तिथिमा काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमसहित मनाउने गरिन्छ ।

    किंवदन्तीअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।

    साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रहेको जनाइएको छ ।

  • लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन शिलान्यास

    लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन शिलान्यास

    काठमाडौँ, ४ चैतः नेपाल विद्युत् प्राधिकरणले जर्मनी सरकारको सहकार्यमा लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन परियोजनाको शिलान्यास गरेको छ ।
    आज तनहुँको दमौली सबस्टेसनमा भएको कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य, नेपालका लागि जर्मन राजदूत उडो भोल्ज, केएफडब्लु विकास बैंकका बङ्गलादेश तथा नेपाल निर्देशक माइकल सुम्सरलगायतका प्रतिनिधिको सहभागिता थियो ।

    जर्मनी सरकारको केएफडब्लु विकास बैंकमार्फत सह–वित्तपोषित यस परियोजनाअन्तर्गत करिब ४५ किलोमिटर लामो २२० केभी डबल–सर्किट प्रसारण लाइन निर्माण तथा लेखनाथ र दमौलीमा आधुनिक ‘ग्यास–इन्सुलेटेड सबस्टेसन’ स्थापना गरिने यहाँस्थित जर्मनी दूतावासले जनाएको छ ।

    करिब एक हजार मेगावाट प्रसारण क्षमता भएको यस परियोजनाले क्षेत्रीय विद्युत् सञ्जाललाई सुदृढ बनाउने र तनहुँ जलविद्युत् आयोजनालगायतका जलविद्युत् परियोजनाबाट उत्पादित विद्युत्को प्रभावकारी प्रसारण सुनिश्चित गर्नेछ । साथै, ग्रिडको भरपर्दोपन बढाउँदै नवीकरणीय ऊर्जाको समावेशलाई प्रोत्साहन गर्दै नेपालको दिगो आर्थिक विकास र ऊर्जा सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउनेछ ।

    जर्मन राजदूत भोल्जले भने, “नेपालको बढ्दो ऊर्जा आवश्यकतालाई पूरा गर्न विश्वसनीय प्रसारण पूर्वाधारको विस्तार अत्यन्त आवश्यक छ । नेपालसँग सहकार्य गर्दै यसको विद्युत् सञ्जाल सुदृढ गर्न र यसको विशाल नवीकरणीय ऊर्जा सम्भावनालाई उपयोग गर्न पाउँदा जर्मनी सरकार गर्व गर्छ । यस्ता परियोजनाले स्वच्छ ऊर्जा घरपरिवार, व्यवसाय र उद्योगसम्म पु¥याउँदै दिगो आर्थिक वृद्धिमा योगदान पु¥याउँन सहयोग विश्वास लिएको छु ।”

    उक्त परियोजनाले नेपाल–जर्मनीबीचको उन्नत ऊर्जा सहकार्यलाई पनि प्रतिविम्बित गर्दछ । जर्मन वित्तीय सहकार्यले दशकौँदेखि नेपालको ऊर्जा क्षेत्रमा योगदान गर्दै आएको छ, जसको सुरुवात तल्लो र मध्यमस्र्याङ्दी जलविद्युत् परियोजनाबाट भएको थियो । नेपालको विद्युत् प्रणाली विस्तारसँगै सहकार्य प्रसारण पूर्वाधार सुदृढीकरणतर्फ केन्द्रित हुँदै चिलिमे–त्रिशूली प्रसारण लाइन तथा राष्ट्रिय भार प्रशारण केन्द्रमा सहयोग प्रदान गरिएको छ ।

    साथै, घरेलु सौर्यप्रणाली, सौर्य सिँचाइदेखि ग्रिडमा जडित सौर्य परियोजनासम्म सहयोग गर्दै नेपालमा करिब ५५ मेगावाट सौर्य ऊर्जा उत्पादन क्षमतामा योगदान पु¥याइएको छ । आगामी दिनमा जर्मन वित्तीय सहकार्यले विद्युत् वितरण प्रणाली सुदृढीकरणमा अझ ध्यान केन्द्रित गर्नेछ, जसले उपभोक्ता र व्यवसायलाई भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

    यी भौतिक पूर्वाधार लगानीसँगै ‘जिआइजेड’मार्फत सञ्चालन हुने जर्मन प्राविधिक सहकार्यले नीति, प्रणाली तथा दक्षता विकासमा सहयोग गर्दै विद्युत् पूर्वाधार विस्तारको प्रत्यक्ष लाभ जनतालाई पुग्ने सुनिश्चित गर्दछ । गण्डकी प्रदेशमा यसले पोखरा महानगरपालिकालाई पाँच वर्षीय नगर ऊर्जा योजना निर्माणमा सहयोग पु¥याएको छ, जसले ऊर्जा दक्षता र स्वच्छ ऊर्जाको प्रयोगलाई मार्गदर्शन गर्नेछ । साथै, पोखरा र दमौलीमा दुई वटा विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ स्थापना तथा बागलुङका दुई साना जलविद्युत् आयोजनालाई राष्ट्रिय ग्रिडमा समाहित गर्न सहयोग गर्नेछ ।

    लेखनाथ–दमौली प्रसारण लाइनजस्ता पूर्वाधारले विद्युतीय सवारी तथा अन्य न्यून–कार्बन प्रविधिहरूको प्रयोग बढाउन आधार तयार पार्दै नेपाललाई आयातित जीवास्म इन्धनमा निर्भरता घटाउने लक्ष्यमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

  • केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

    केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

    काठमाडौँ, ४ चैतः जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना अधिकारी बैकुण्ठ रेग्मीले जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा कैदीबन्दी अझै फरार रहेको जानकारी दिए । “भदौ २४ गते बिहानसम्म केन्द्रीय कारागारमा तीन हजार ८८० कैदीबन्दी थिए, जेनजी आन्दोलनका क्रममा तीन हजार ५१७ कैदीबन्दी भागेका थिए ।

    तीमध्ये अधिकाशं कैदीबन्दी फिर्ता भए, हाल एक हजार २०० कैदीबन्दी अझै फरार छन्,”उनले भने । हाल केन्द्रीय कारागारमा तीन हजार ३१३ कैदीबन्दी छन् । जसमध्ये एक हजार ९२० कैदी, एक हजार ४९३ थुनुवा छन् । केन्द्रीय जेलमा एक हजार ७४९, भद्र जेलमा एक हजार २५० र महिला जेलमा ३१४ कैदीबन्दी रहेको सूचना अधिकारी रेग्मीले बताए । केन्द्रीय कारागारमा जेनजी आन्दोलनका क्रममा सामान्य क्षति भएको थियो । कारागारभित्र रहेका पाँचवटै भवन सुरक्षित भएकाले पुनः कैदीबन्दीलाई फर्काउन सहज भएको कारागार प्रशासनले जनाएको छ ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचनः समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

    प्रतिनिधिसभा सदस्य निर्वाचनः समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

    काठमाडौँ, ४ चैत । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ । आयोगले बिहीबार बिहान ११ः३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने गरी तयारी गरेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए ।


    समानुपातिक सांसदलाई प्रमाणपत्र दिएर राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएपछि आयोगले बिहीबार बेलुकी ५ः३० बजे आयोगको केन्द्रीय कार्यालयस्थित मिडिया सेन्टरको हलमा पत्रकार सम्मेलनको आयोजनासमेत गरेको छ । आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने जनाइएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठनका लागि एकल रूपमा स्पष्ट बहुमत प्राप्त गरेको छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका कुल १८२ सांसद निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार नै प्रमाणपत्र प्रदान गर्ने तयारी पूरा भएको पनि उनले सुनाए । कान्तिपथस्थित बहादुर भवनमा रहेको केन्द्रीय कार्यालयमा बिहीबार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिने कार्यक्रम तय गरिएको आयोगले जनाएको छ । कानुनमा तोकिएको ‘क्लस्टर’ अनुसार समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र वितरण गर्ने गरी तयारी पूरा भएको हो ।

    समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिवादी)बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार–चार जना सांसद निर्वाचित भएको आयोगले सोमबार नै घोषणा गरिसकेको छ ।


    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ रास्वपा १२५, कांग्रेस १८, एमाले नौ, नेकपा आठ, श्रम संस्कृति पार्टी तीन, राप्रपा र स्वतन्त्र एकरएक स्थानमा निर्वाचित भएका छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी प्रतिनिधिसभामा कुल २७५ जना सांसद निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ ।

  • बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

    बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

    केदार मगर–रासस
    खोटाङ, ४ चैतः केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट पाँच यात्रु लिएर आज दिउँसो १२ बजेर २ मिनेट जाँदा खार्तम्छास्थित बालाबेँसी आइपुगेको हेलिकप्टर अवतरणको क्रममा भित्तामा ठोक्किएको थियो । चालकसहित छ जना सवार एयर डाइनेष्टीको नाइन एन–एएफक्यू नम्बरको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार ललितपुर निवासी ६५ वर्षीय काजीबहादुर राई घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए । दुर्घटनामा परेका काजीबहादुरको दाहिने खुट्टा र आँखामा चोट लागेको जनाइएको छ ।

    घाइते काजीबहादुर र चालक सविन थापालाई एयर डाइनेष्टी कम्पनीकै नाइन–एनएएनए नम्बरको अर्को हेलिकोप्टरबाट १२ः ३५ बजे नै उपचारका लागि काठमाडौँ पठाइएको छ । खार्तम्छाका वडाध्यक्ष मिलन राईका अनुसार काजीबहादुरलाई दुर्घटनाग्रस्त हेलिकप्टरले थिचिरहेको अवस्थामा उद्धार गरिएको हो । सो हेलिकप्टरमा एक महिनाअघि बेलायतमा निधन भएकी बालाबेँसी निवासी ७७ वर्षीया मनलक्ष्मी राईको शव अन्त्येष्टि गर्न मृतकका आफन्तहरु आएका थिए । मृतकका श्रीमान् ८२ वर्षीय डाकमणि राई, छोरा ५३ वर्षीय बालकुमार राई, छोरी ४७ वर्षीया लक्ष्मी राई, आफन्त ४० वर्षीया समला राई र ललितपुर घर भएका घाइते काजीबहादुर हेलिकोप्टरमा सवार रहेको प्रहरीले जनाएको छ ।

    आफन्तका अनुसार मृतक मनलक्ष्मीको शव भने गाडीमार्फत भोलि बिहीबार बालाबेँसी आइपुग्ने व्यवस्था मिलाइएको थियो । हेलिकप्टर दुर्घटनामा परेका आफन्त भने सकुशल रहेको वडाध्यक्ष राईले जानकारी दिए । दुर्घटनालगत्तै चालकले इञ्जिन अफ गरेपछि थप क्षति हुन नपाएको हेलिकोप्टरमा सवार बालकुमार राईले बताए ।
    “घटना सम्झिँदा सपनाजस्तो लाग्छ । सबैको होस् उडिसकेको थियो । म अगाडिको सिटमा बसेको थिएँ”, उनले भने, “यस्तो दुर्घटना हुँदा पनि बाँच्न सकियो । चालकले तत्कालै इञ्जिन अफ गर्नुभयो । चलिरहेको इञ्जिन अफ भएपछि थप क्षति हुनबाट जोगियौँ ।” एयर डाइनेष्टी कम्पनीका क्याप्टेन सविनसँग सात वर्षको कार्यअनुभव र कूल एक हजार १०५ घण्टा हेलिकप्टर उडाएको रेकर्ड रहेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । उडानका क्रममा कुनै प्राविधिक समस्या आएको हो वा अन्य कारण, त्यसबारे कम्पनीले अहिले केही खुलाएको छैन ।

    एयर डाइनेष्टीका प्रवक्ता एवम् वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले जारी गरेको विज्ञप्तिमा घटनाको यथार्थ कारण पत्ता लगाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको उल्लेख छ । बारीको डिलमा अवतरण गरिएको हेलिकप्टर पुनः उठाएर बारीको बीचमा लैजान खोज्दा पछाडिको भाग पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टरको पङ्खा र पुच्छर टुक्रिएको अवस्थामा बारीको कुनामा थुप्रिएको छ । बालाबेँसीमा भएको हेलिकप्टर दुर्घटनाको अनुसन्धान तथा सर्जमिन गर्न अर्को हेलिकप्टरमा काठमाडौँबाट विज्ञ टोली आएर अनुसन्धानपछि फर्किएको स्थानीयले बताएका छन् ।

  • प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

    प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

    काठमाडौँ, ४ चैतः प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजाअर्चना गरेकी छिन् । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथको दर्शन गरी पूजाअर्चना गरेकी हुन् । सो अवसरमा प्रधानमन्त्रीले मुलुकलाई शान्ति र स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ, सहयोग प्राप्त भएकोमा कृतज्ञता व्यक्त गरिन् ।

    यसैगरी उनले आगामी दिनमा देश थप उन्नतिको मार्गतर्फ अग्रसर होस् र सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी कामना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायतको उपस्थिति थियो ।

  • निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    काठमाडौँ, ४ चैतः प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरूलाई निर्वाचन सफल पार्न सहयोगी भूमिका निर्वाह गरेकामा धन्यवाद दिएकी छिन् । नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरू आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका थिए । उनीहरुबीच हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । उनले निर्वाचनमा विजय हुनुभएका नेताहरूलाई बधाई पनि दिनुभएको प्रेस सल्लाहकार रावलले बताए ।


    प्रधानमन्त्री कार्कीले भनिन्, “तपाईंहरूले निर्वाचनमा भाग लिनुभयो, यो निर्वाचनको पक्षमा सकारात्मक वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका निर्वाह गर्नुभयो । यसका निम्ति सबैलाई धन्यवाद छ । निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना छ ।”


    भेटका क्रममा नेकपाका संयोजक दाहालले भने, “यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान सक्ने सम्भावना थियो । यसमा जुन साहस र मेहनतका साथ तपाईंले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ ।” सुरुकै दिनदेखि आफू र आफ्नो पार्टी निर्वाचनको पक्षमा उभिएको पनि उनले स्मरण गरे । अस्तव्यस्त अवस्थामा रहेको मुलुकलाई सम्हालेर छ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको छवि, इमान र दृढताका कारण सम्पन्न भएको उनीहरुको भनाइ छ । प्रधानमन्त्री कार्कीले यसअघि प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरूलाई यसैगरी धन्यवाद दिएकी थिइन् ।

  • देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

    देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

    ललितपुर, ४ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिएका छन् । रास्वपाद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा सभापति लामिछानेले सार्वजनिक रूपमा जथाभावी अभिव्यक्ति दिने र प्राप्त अभिमतलाई मनोरञ्जनका रूपमा लिने छुट कसैलाई नरहेको स्पष्ट गरे ।

    “सञ्चारमाध्यममा विचार गरेर बोल्नुस् । बोल्दाखेरी वैदेशिक सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्नेसमेत सोचेर जिम्मेवार भएर बोल्नुस् । नागरिकसँगको सम्पर्कलाई बलियो बनाउनुस्”, उनले भने, “हामीले नागरिकसँग गरेका करारपत्रलाई राम्रोसँग पढ्नुहोला । हामीमाथि देश बनाउने, देशमा परिवर्तन गर्ने जिम्मेवारी छ । जनताले दिएको अभिमतको पूर्णसम्मान गर्दै सकारात्मक परिवर्तनका पक्षमा लाग्नुछ ।”

  • रास्वपा अभिमुखीकरणमा रविको परिपक्क भाषण, कसलाई के भने ?

    रास्वपा अभिमुखीकरणमा रविको परिपक्क भाषण, कसलाई के भने ?

    पाटन (ललितपुर), ४ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रास्वपाको योजना समग्र देशको विकास गर्नु रहेको बताएका छन् । रास्वपाद्वारा ललितपुरमा नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको समापन समारोहलाई आज सम्बोधन गर्दै उनले सांसदले आफ्नो क्षेत्रको विकास गरेर मात्रै देशले न्याय नपाउने भएकाले समग्र मुलुकको विकासमा केन्द्रित हुन सबैलाई निर्देशन दिए ।

    सभापति लामिछानेले जनताले दिएको जिम्मेवारी आफूहरूको काँधमा आइपुगेको भन्दै जिम्मेवार भई जनहितमा काम गर्न सबैलाई आग्रह गरे । “संसद्को लोगो लगाएपछि पनि महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्छ, पारदर्शिता राजनीतिको महत्त्वपूर्ण पक्ष हो । सांसद निर्वाचित भएको व्यक्तिको जनतासँग सधैँ असल सम्बन्ध हुनुपर्छ, जनतासँग सुमधुर सम्बन्ध भएको नेतृत्व बन्नुस्, पाँच वर्ष जनताले आत्मसात् गर्नसक्ने, तपाईंको सम्बन्धले हरेक दिन उत्सव मनाउन सक्ने बनाउनुपर्छ”, उनले भने ।


    रास्वपालाई जनाताले कानुन बनाउने जिम्मेवारी दिएका भन्दै सभापति लामिछानेले कानुन निर्माताका रूपमा गहन जिम्मेवारी छन् भन्ने सबैले बुझ्नुपर्ने धारणा राखे । उनले भने, “बाहना बनाउन नपाउने गरी जनताले जिम्मेवारी दिएका छन्, पुराना राजनीतिक दललाई जनताले ३६ वर्ष कुरेँ, हामीलाई ३६ महिना पनि कुर्दैनन् । हामीले आफूलाई केन्द्रमा राखेर हैन, जनता र देशलाई केन्द्रमा राखेर काम गर्नुपर्छ ।”

    सभापति लामिछानेले पार्टी जन्मेदेखि मुद्दा चलेको स्मरण गर्दै आफूहरूले संरक्षण गर्दै यहाँसम्म पुगेकाले आगामी दिनमा यसलाई थप मजबुत बनाउने जिम्मेवारी हाम्रै रहेको धारणा राखे । उनले भने, “नागरिकको चेतनामाथि विश्वास गरेर हामी अगाडि बढ्छौँ । विचौलियासँग बसेर चिया खानु अगाडि सहिदको बलिदानलाई सम्झिनु होला ।”

    यो सामान्य निर्वाचनबाट आएको जनमत नभएको भन्दै सभापति लामिछानेले विशेष परिस्थििमा जनतालाई रास्वपालाई विश्वास गरेकाले जिम्मेवारीबोध भई काम गर्न सबैलाई आग्रह गरे । “वैदेशिक सम्बन्धमा आँच आउने खालका सार्वजनिक अभिव्यक्ति नदिनुहोला, प्रभावकारी रूपमा सांसदको जिम्मेवारी निर्वाह गर्नुहोला । मत दिएका जनताको चुलो बल्ने व्यवस्था मिलाउनु होला, सरकारी अस्पतालमा उपचार गराउनु होला, सादगी जीवनशैली अपनाउनुहोला”, उनले भने ।


    सभापति लामिछानेले पार्टीले उठाएको ‘राइट टु रिकल’को व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिँदै अनुशासित भएर स्वतन्त्रताको उपयोग गर्न सबैलाई मार्गनिर्देश गरे । “तपाईंको माध्यमबाट तपाईंको क्षेत्रका जनताले सुख पाउनुपर्छ । तपाईं अध्ययनशील हुनुपर्छ, नागरिकसँग सधैँसँगै हुनुपर्छ । संसद् चलेको समयबाहेक तपाईँ नागरिकसँग हुनुपर्छ । पार्टीले ज्ञान सीप र क्षमता हेरेर मन्त्री बनाउँछ”, उनले भने । उनले देशको सबैभन्दा ठूलो समस्या सामाजिक न्याय भएकाले त्यसका लागि पैरवी गर्नुपर्नेमा जोड दिए ।


    “सामाजिक न्याय नभएको समाज मानिस बस्ने समाज हैन, एउटा चुनावबाट अर्को चुनाव हैन एउटा पुस्ताबाट अर्को पुस्ताका लागि हामी लडेका हाँै”, सभापति लामिछानेले भने, “वर्तमान व्यवस्था र संविधानप्रति हामी प्रतिबद्ध छौँ । हामी विजयी हुनु भनेको जिम्मेवार हुनु हो, त्यसैले अनुशासित भएर आआफ्नो जिम्मेवारी निर्वाह गर्नेछौँ ।”

    सभापति लामिछानेले अब सुशासनको क्षेत्रमा नयाँ मानक कायम हुने विश्वास व्यक्त गरे । उनले पार्टीबाट निर्वाचित सांसदहरूलाई देशको संविधान, संसद्को नियमावली र पार्टीको विधानअनुसार मुलुक र जनताप्रति इमानदार भएर काम गर्न आग्रह गरे । “नेपाल लगानीका लागि सुरक्षित देश हो भनेर अन्तरराष्ट्रिय समुदायलाई आश्वस्त पार्न चाहन्छौँ”, उनले भने ।

  • इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा

    इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा

    रियाद, ४ चैत (रासस–क्युएनए) । युक्रेनले इरानी आक्रमणको बिरूद्ध खाडी सहयोग परिषद (जीसीसी)राज्यहरूको समर्थन गर्ने पुष्टि गरेको छ । यसै बीच खाडी मुलुकहरू विरुद्धको इरानी सैन्य कारबाहीलाई तत्काल रोक्न र सबै प्रकारका आक्रमणको अन्त्यको आवश्यकतामा युक्रेनले जोड दिएको छ । जिसिसीका महासचिव जसिम मोहम्मद अल बुदैवीले युक्रेनका विदेश मामिला मन्त्री एन्ड्री सिबिहासँग गरेको फोन वार्ताको माध्यामबाट यो समर्थन पुष्टि भएको जनाइएको छ ।

    यसै बीच जीसीसी राज्यहरूले र जोर्डनको हाशेमाइट राज्यमा इरानी आक्रमणको निन्दा गर्ने ऐतिहासिक संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव २८१७ लाई प्रायोजन र समर्थन गर्न युक्रेनको प्रयासको प्रशंसासमेत गरेका छन् । यस अवसरमा साझा हितका लागि जीसीसी–युक्रेनी सम्बन्धलाई सुदृढ पार्ने तरिकाहरूबारे पनि छलफल भएको जनाइएको छ ।

  • मध्यपूर्वमा दशौँ लाख मानिस भोकमरीको जोखिममा : संयुक्त राष्ट्रसङ्घ

    मध्यपूर्वमा दशौँ लाख मानिस भोकमरीको जोखिममा : संयुक्त राष्ट्रसङ्घ

    जेनेभा, ४ चैत (रासस–एएफपी) । संयुक्त राष्ट्रसङ्घले मङ्गलबार चेतावनी दिएको छ कि यदि मध्यपूर्व युद्ध जुनसम्म जारी रह्यो भने थप चार करोड ५० लाख मानिसले भोकमरीको सामना गर्न सक्छन् । युद्धको तेस्रो हप्तासम्ममा सयौँको मृत्यु भएको छ र इरानले इजरायल र खाडी राष्ट्रहरू विरुद्ध प्रतिशोधात्मक आक्रमण गरेपछि इजरायलले लेबनानमा हेजबुल्लाहसँग पनि लडिरहेको छ।

    “यदि मध्यपूर्व द्वन्द्व जुनसम्म जारी रह्यो भने, थप चार करोड ५० लाख जनसङ्ख्या महँगी वृद्धिका कारण तीव्र भोकमरीतर्फ धकेलिनेछ,“ संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमका उपकार्यकारी निर्देशक कार्ल स्काउले जेनेभामा एक पत्रकार सम्मेलनमा भने । “यसले विश्वव्यापी भोकमरीको स्तरलाई अहिलेसम्मकै उच्च स्तरमा पुर्याउनेछ र यो एक भयानक सम्भावना हो,” उनले भने, “यसपहिले नै तीन करोड १९ लाख मानिसहरू तीव्ररूपमा खाद्य असुरक्षाको शिकार भइरहेका छन् ।”

    स्काउले भने, “डब्ल्यूएफपीले फेब्रुअरी २८ मा युद्ध सुरु हुनु अघि नै ‘व्यापक खाद्य सङ्कट’ को सामना गरिरहेको थियो । चरम मौसमी घटना, द्वन्द्व र भोकमरीको घोषणा भइरहेका कारण उनले भने, “भोकमरी अहिलेजस्तो गम्भीर कहिल्यै भएको थिएन।” उनले मध्यपूर्व युद्धका कारण डब्लुएफपीको कार्यलाई ‘धेरै खर्चिलो’ बनाइरहेको बताए । स्काउले भने, “विशेष गरी बढ्दो इन्धनको मूल्य र लामो मार्गको कारण संस्थाले आपूर्ति श्रृङ्खलाको अवरोधको सामना गर्न कोशिस गरिरहेको छ तर यसको सञ्चालन लागत बढेको छ ।

  • मध्यपूर्वमा द्वन्द्व चर्किँदै, लाखौँ मानिस विस्थापित

    मध्यपूर्वमा द्वन्द्व चर्किँदै, लाखौँ मानिस विस्थापित

    संयुक्त राष्ट्रसङ्घ, ४ चैत (रासस–सिन्ह्वा) । मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नागरिक र पूर्वाधारमाथि गम्भीर असर परिरहेको भन्दै संयुक्त राष्ट्रसंघले मानवीय सङ्कट झन् गहिरिँदै गएको चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालयले इरान र लेबनानमा स्वास्थ्य सेवा पूर्वाधारमा ठूलो क्षति पुगेको जनाएको छ । इरानी रेड क्रिसेन्ट सोसाइटीका अनुसार इरानमा २३० भन्दा बढी स्वास्थ्य संस्था र ३० भन्दा बढी एम्बुलेन्स तथा स्वास्थ्य सेवा सवारी साधन क्षतिग्रस्त वा नष्ट भएका छन् । साथै केही स्वास्थ्यकर्मीको मृत्यु र घाइते भएको पनि जनाइएको छ ।

    यसैबीच, लेबनानमा दुई साताको अवधिमा स्वास्थ्य सेवामाथि २८ वटा आक्रमण भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । ती घटनामा कम्तीमा ३० जनाको मृत्यु र ३५ जना घाइते भएका छन् । संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायहरूले प्रभावित नागरिकलाई सहायता उपलब्ध गराइरहेका छन् । विश्व खाद्य कार्यक्रम, शरणार्थीसम्बन्धी एजेन्सी र बाल कोषलगायत संस्थाले ८ लाखभन्दा बढी तातो खाना वितरण गरेका छन् । साथै कम्बल, म्याट्रेस, सुत्ने म्याट र अन्य आश्रय सामग्री पनि वितरण गरिएको छ ।

    लेबनानको दक्षिणी क्षेत्रमा ठूलो सङ्ख्यामा मानिस विस्थापित भइरहेका छन् । सरकारी तथ्याङ्कअनुसार ८ लाख ३० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्, जसमा करिब २ लाख ९० हजार बालबालिका छन् । गाजामा पनि मानवीय अवस्था अत्यन्तै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । धुलोको आँधीका कारण सयौँ आश्रयस्थलमा क्षति पुगेको छ भने हजारौँ मानिस खुला आकाशमुनि बस्न बाध्य छन् ।

    खाद्य आपूर्ति अवरुद्ध हुँदा गाजामा धेरै परिवारले खाना पकाउन फोहोर जलाउन बाध्य भएको विश्व खाद्य कार्यक्रमले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घले गाजामा नियमित रूपमा खाना पकाउने ग्यास र अन्य आवश्यक सामग्री प्रवेश गर्न दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

  • काबुलको सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

    काबुलको सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

    जेनेभा, ४ चैत (रासस–एएफपी) । अफगान सरकारले काबुलको एक सुधार गृहमा पाकिस्तानले गरेको आक्रमणमा सयौं व्यक्तिको मृत्यु भएको बताएपछि संयुक्त राष्ट्रसङ्घले मङ्गलबार छिटो र स्वतन्त्र छानबिनको माग गरेको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयका प्रवक्ता थमिन अल–खितानले जेनेभामा पत्रकारहरूसँग भने, “हिजो राति काबुलको सुधार केन्द्रमा भएको त्रासदीपूर्ण विस्फोटको तत्काल स्वतन्त्र र पारदर्शी ढङ्गले अनुसन्धान गरिनुपर्छ ।”

    उनले जिम्मेवारहरूलाई ‘अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप जवाफदेही’ बनाउन आह्वान गरे र कुनै पनि अनुसन्धानको नतिजा ‘सार्वजनिक गरिनुपर्ने’ मा जोड दिए । उनले भने, “पीडित र उनीहरूका परिवारलाई परिपूरणको अधिकार छ ।” अफगानिस्तानको राजधानी काबुलमा रहेको लागूऔषध सुधार केन्द्रमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी कम्तीमा ४०० जनाको मृत्यु भएको अफगान सरकारले मङ्गलबार जनाएको छ ।

    सोमबार राति गाँजा, ‘एम्फेटामाइन’ र अन्य लागूपदार्थको लत लागेका देशभरका मानिसहरूलाई उपचार गर्न प्रयोग गरिने सुधार गृहका भवनहरू भत्किँदा सयौँ घाइते भएको बताइएको छ । मृतकको सङ्ख्याको तत्काल स्वतन्त्र प्रमाणीकरण हुन सकेको छैन, तर एएफपीका पत्रकारहरूले सोमबार राति घटनास्थलबाट कम्तीमा ३० जनाको शव र मङ्गलबार ६५ भन्दा बढीलाई निकालिएको देखेको बताएका थिए।

    –युद्धविरामको माग–

    तालिबान सरकारले जानाजानी सर्वसाधारणलाई निशाना बनाएको आरोप पाकिस्तानमाथि लगाएको छ तर पाकिस्तानले यसलाई अस्वीकार गरेको छ। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले आफ्नो सरकारले जानाजानी काबुलको सुधार गृहलाई निशाना बनाएको दाबी ‘पूर्णतया आधारहीन’ भएको बताए ।
    दुई पक्ष महिनौँदेखि द्वन्द्वमा छन् । इस्लामाबादले आफ्नो भूमिमा घातक सीमापार आक्रमण गरेका इस्लामिक अतिवादीहरूलाई आश्रय दिएको काबुलमाथि आरोप लगाएको छ । गत महिनाको अन्त्यमा द्वन्द्व बढेपछि अल–खितानले भन्नुभयो, “आक्रमणमा १०४ बालबालिका र ५९ महिलासहित २८९ अफगान नागरिक हताहत भएका छन् भने दशौँ हजार विस्थापित भएका छन्।” हताहत भएका भनिएका अधिकांशको मृत्यु भएको अफगानी सञ्चारमाध्यमले जनाएका छन् ।

    अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोग (युनामा) ले सुधार गृहमा आक्रमण हुनुअघि फेब्रुअरी २६ देखि सोमबारसम्म अफगानिस्तानमा कम्तीमा ७६ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि भएको मङ्गलबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले पनि ‘तत्काल युद्धविराम’ गर्न आह्वान गरेका छन् । अल–खितानले भने, “अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत नागरिक र गैर–सैनिक वस्तुहरूको कडाईका साथ संरक्षण गरिन्छ।”

    “युद्धको कानूनले स्पष्ट रूपमा कुनै पनि आक्रमणको भिन्नता, समानुपातिक र सावधानीको आधारभूत सिद्धान्तहरूको पालना गर्नुपर्दछ,” उनले भने, “अन्तर्राष्ट्रिय मानवीय कानूनले चिकित्सा सुविधाहरूको लागि विशिष्ट र अधिक सुरक्षा प्रदान गर्दछ।” यसैबीच, विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेहब्रेयससले एक्समा भनेका छन्, “फेब्रुअरीको अन्त्यदेखि बढ्दो शत्रुताको कारण ‘अफगानिस्तानमा कम्तिमा छ स्वास्थ्य निकायहरू प्रभावित भएका छन्।”

    उनले भने, “संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य निकायले यस्ता घटनाको पुष्टि गर्न काम गरिरहेको छ ।” टेड्रोसले भने, “म सबै पक्षलाई तनाव कम गर्न र शान्ति र स्वास्थ्यलाई प्राथमिकता दिन आग्रह गर्दछु ।”

  • खोटाङमा हेलिकप्टर दुर्घटना, एक घाइते

    खोटाङमा हेलिकप्टर दुर्घटना, एक घाइते

    ४ चैत, काठमाडौं । खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट खोटाङ पुगेको हेलिकप्टर दुर्घटनामा परेको हो । ९ एन -एएफक्यु हेलिकप्टर बिहान ११ बजे काठमाडौंबाट उडेको थियो । हेलिकप्टर खोटाङमा बारीको पाटोमा अवतरण गर्दागर्दै दुर्घटनामा परेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनामा एक यात्रु घाइते भएका छन् । पाइलट सहित ६ यात्रु हेलिकप्टरमा सवार थिए ।

  • अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान

    अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान

    बेइजिङ, ४ चैत (रासस–सिन्ह्वा) । चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन संयमता अपनाउन, र जति सक्दोे छिटो वार्ता को माध्यमबाट युद्धविराम गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मङ्गलबार आह्वान गरेका छन् । हालैको अफगानिस्तान–पाकिस्तान द्वन्द्वका बारेमा पत्रकारहरुसँगको साक्षातकारको क्रममा उनले यस्तो बताएका हुन् ।

    अफगानिस्तान र पाकिस्तान छिमेकीहरु एक अर्काबाट टाढा रहन नसकिने उल्लेख गर्दै लिनले उनीहरूका समस्या समाधानका लागि संवाद र परामर्श एक मात्र प्रभावकारी उपाय भएको बताए । चीनले अफगानिस्तान र पाकिस्तानलाई चिनियाँ कर्मचारी, परियोजना र संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको समेत लिनले पुष्टि गरे । चीनले तनाव कम गर्न र अफगानिस्तान र पाकिस्तान बीचको सम्बन्ध सुधार गर्न रचनात्मक भूमिका खेल्ने पनि उनले बताए ।

  • कफीको सुगन्धमा बुनिएका युवाका सपना

    कफीको सुगन्धमा बुनिएका युवाका सपना

    शङ्कर श्रेष्ठ–रासस
    मलेखु (धादिङ), ४ चैतः चितवनका प्रविन प्रजाको हातमा अहिले कफीको कप मात्र छैन, एउटा सुनौलो भविष्यको खाका पनि छ । कफीको हरेक ‘शट’ मिलाउँदै गर्दा उहाँले आफ्नै कफी सप सञ्चालन गर्ने योजना बुनिरहेका छन् । धादिङका रोशन बरुवालको सोच अलि फरक छ । उनी यो सीपलाई परदेश जाने बलियो आधार र त्यहाँबाट फर्केर स्वदेशमै लगानी गर्ने पुँजी जुटाउने माध्यम बनाउन चाहन्छन् । विपना पोखरेल भने आफ्नै देशको माटोमा कफीको सुगन्ध फैलाउँदै व्यावसायिक बन्ने अठोटमा छिन् ।


    यो दृश्य, धादिङको नीलकण्ठ नगरपालिका–८ रामकोटस्थित आरोहण शिक्षालयको हो । जहाँ बागमती प्रदेशका २० युवा बारिष्टा अर्थात कफी बनाउने तालिममा व्यस्त हुनुहुन्छ । ‘सीप सिकौं, आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय गजुरी, धादिङको आयोजनामा यो सीपमूलक कार्यक्रम सञ्चालन भइरहेको हो ।

    तालिममा सहभागी युवामा देखिएको उत्साहले सीपप्रतिको बढ्दो आकर्षणलाई पुष्टि गर्छ । चितवनका प्रजा भन्छन्, “कफी बनाउनु एउटा आधुनिक कला रहेछ, अब म यही सीपलाई व्यवसायमा बदलेर आफ्नै खुट्टामा उभिन चाहन्छु ।” धादिङको नीलकण्ठ नगरपालिका–३ का बरुवालका लागि यो तालिम वैदेशिक रोजगारीमा जानुअघिको पूर्वतयारी हो । “बाहिर गएर राम्रो कमाउने र पछि नेपालमै फर्केर व्यवसाय गर्ने मेरो धोको छ”, तालिमको सैद्धान्तिक कक्षामा उनले भने ।


    सहभागीमध्येकी विपना पोखरेल भने सीप सिकेर स्तरीय कफी सप खोल्ने र अरूलाई रोजगारी दिने सोचमा छिन् । आफ्नो उद्देश्य स्पष्ट पार्दै उनी भन्छिन्,
    “हातमा सीप र लगानी गर्ने वातावरण भए आफ्नै गाउँ ठाउँ र आफ्नै देशमा काम गरेर आफू पनि स्वरोजगार बन्न सकिन्छ र अरूलाई रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । म यही लक्ष्यका साथ कफी बनाउने कला सिकिरहेकी छु ।”

    युवा बेरोजगार बस्नु नपरोस् र उनीहरुमा प्राविधिक दक्षता आओस् भन्ने उद्देश्यले वारिष्टा तालिम चलाइएको हो । यसले राज्यको लगानीलाई उत्पादनमूलक बनाउनेछ । दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्नेछ । तालिमले समाजमा पार्ने दीर्घकालीन प्रभावबारे उल्लेख गर्दै सामाजिक विकास कार्यालय गजुरीका प्रमुख रमेश घिमिरे भन्छन्, सीपमूलक कार्यक्रमले युवालाई केवल श्रम बजारमा मात्र पठाउँदैन, युवामा आत्मविश्वास भर्दै स्वरोजगारीको ढोका खोल्नेछ ।”

    स्थानीयस्तरमै सीपमूलक तालिम प्रदान गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण छ । बेरोजगारी समस्या समाधान गर्न र युवालाई उत्पादनसँग जोड्न मद्दत पुगेको नीलकण्ठ नगरपालिका–८ का वडाध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताए । सिकेको सीपलाई खेर जान नदिई व्यावसायिक रूपमा अघि बढ्न प्रोत्साहन हुने खालका थप कार्यक्रम ल्याउने उनको भनाइ छ ।

    आरोहण शिक्षालय सञ्चालन भइरहेको बारिष्टा तालिम ३९० घण्टा कार्य अवधिको हो । यस अवधिमा सहभागीले कफीको छनोट, रोस्टिङदेखि विभिन्न प्रकारका कफी बनाउने र ग्राहकसँग गरिने व्यवहारसम्बन्धी व्यावहारिक र व्यावसायिक ज्ञान सिकिरहेका छन् । नेपालको वर्तमान परिवेशमा काठमाडौँ वा पोखरा जस्ता ठूला सहरमा पुगेर व्यावसायिक बारिष्टा तालिम लिन सामान्यतया रु १५ हजारदेखि रु ३० हजारसम्म शुल्क तिर्नुपर्छ भने एड्भान्स कोर्सका लागि रु ९० हजारसम्म खर्च गर्नुपर्छ ।

    खाने–बस्ने खर्च जोड्दा सामान्य परिवारका युवालाई सीप सिक्न नै चुनौतीपूर्ण बन्ने गर्दछ । तर, निशुल्क तालिमले सहभागी युवाको हौसला बढाएको देखिन्छ । तालिम संयोजक शोभा डङ्गोल भन्छन्, “ठूला सहरमा पुगेर हजारौँ खर्च गरी सिक्नुपर्ने यो सीपलाई हामीले गाउँघरमै निःशुल्क उपलब्ध गराउँदा विपन्न र जेहेन्दार युवाको पहुँच पुगेको छ ।”

    तालिम सुरु भएको दिनदेखि नै देखिएको उत्साहले भोलिका दिनमा सहभागी सफल उद्यमी वा दक्ष बारिष्टाको पहिचान बनाउने निश्चित छ । बागमती प्रदेश सरकारको यो प्रयासले युवालाई विदेशपलायन हुनबाट रोक्न र स्वदेशमै अवसर सिर्जना गर्न कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।

  • भोजपुरमा रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    भोजपुरमा रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    रासस
    भोजपुर, ४ चैतः भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यमका रूपमा अपनाएका छन् । यहाँका किसानले रुद्राक्ष बिक्रीबाट लाखौँ आम्दानी गर्दै आएका छन् । रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईंका अनुसार भोजपुरमा रुद्राक्ष कारोबारबाट वार्षिक रु एक अर्बको हाराहारीमा रकम भित्रिने गरेको छ । राम्रो गुणस्तर, आकार र दुर्लभ मुख भएका रुद्राक्षको मूल्य अत्यधिक हुने भएकाले किसानले यसबाट पर्याप्त आर्थिक लाभ लिनसक्ने अवस्था रहेको उनको भनाइ छ ।

    अध्यक्ष चापागाईंका अनुसार राम्रो आकारको २१ मुखे रुद्राक्षको एउटै दाना प्रतिगोटा रु ५५ लाखदेखि रु ६० लाखसम्ममा बिक्री हुने गर्दछ । रुद्राक्षमा देखिने प्राकृतिक धर्सा वा रेखाका आधारमा यसको ‘मुख’ निर्धारण गरिन्छ । सामान्यतया आठदेखि २९ मुखसम्मका दानालाई मुखदार रुद्राक्ष मानिन्छ । व्यापारीका अनुसार रुद्राक्षको मुखको सङ्ख्या जति धेरै हुन्छ, त्यति नै दुर्लभ र मूल्यवान मानिने भएकाले यसको बजार मूल्य सोहीअनुसार उच्च हुने गर्दछ ।

    दिङ्ला क्षेत्रमा यस वर्ष एउटा २९ मुखे रुद्राक्षसमेत फलेको अध्यक्ष चापागाईंले जानकारी दिए । २९ मुखे रुद्राक्ष दुर्लभ मानिने भएकाले यसको मूल्य निकै महँगो हुने गर्दछ । धार्मिक तथा आध्यात्मिक महत्वका कारण यस्ता दुर्लभ रुद्राक्षको माग स्वदेशमा मात्र नभई विदेशमा उच्च रहेको छ । दिङ्लाका एक किसानले रुद्राक्षबाट वार्षिक रूपमा न्यूनतम रु एक लाखदेखि अधिकतम रु ५० लाखसम्म आम्दानी गर्ने गरेको उनले बताए । गत वर्ष मात्र भोजपुरबाट करिब २१ लाख किलो रुद्राक्ष बिक्री भएको तथ्याङ्क रहेको अध्यक्ष चापागाईंले बताए ।


    “करिब ६ लाख किलो रुद्राक्ष चीनतर्फ निर्यात भएको थियो । बाँकी भारतमा निर्यात गरिएको तथ्याङ्क छ”, उनले भने । रुद्राक्षको मूल्य निर्धारण यसको मुख, तौल, आकार, गुणस्तर र दुर्लभताको आधारमा हुने गर्दछ । राम्रो आकार, स्पष्ट मुख र कम दोष भएका दानाको मूल्य बजारमा धेरै हुने गर्दछ । भोजपुरमा करिब ३० हजारदेखि ४० हजार किसान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुद्राक्ष खेतीमा आबद्ध रहेको रुद्राक्ष व्यवसायी सङ्घले जनाएको छ ।

    दिङ्ला क्षेत्रका किसानले उत्पादन गरेको रुद्राक्ष खरिद गर्न चीनका व्यापारी घर–घरमासमेत आउने गरेका छन् । यो क्षेत्रमा रुद्राक्ष अत्याधिक उत्पादन हुने भए पनि यसको प्रमुख प्रारम्भिक बजार भने सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार रहेको छ । यहाँका किसानले उत्पादन गरेको रुद्राक्ष ती बजारमा लगेर बिक्री गर्ने गरेका छन् । खाँदबारीबाट भने रुद्राक्ष तराईका विभिन्न जिल्ला, काठमाडौँ तथा चीन र भारतसम्म निर्यात हुने गरेको छ । पछिल्लो समय युरोप, अमेरिकालगायतका मुलुकमासमेत नेपाली रुद्राक्षको माग बढ्दै गएको व्यापारीहरू बताउँछन् ।

    इतिहासका अनुसार भोजपुरमा रुद्राक्ष खेतीको सुरुवात धेरै पुरानो मानिन्छ । विसं १९३२ भन्दा अघि भारतको काशीबाट ल्याएर बालागुरु षडानन्द अधिकारीले दिङ्ला क्षेत्रमा रुद्राक्षको बिरुवा रोपेको पाइएको छ । त्यसपछि यहाँ क्रमशः यसको विस्तार हुँदै गएको स्थानीय बताउँछन् । अहिले भोजपुरको दिङ्ला क्षेत्र नेपालकै प्रमुख रुद्राक्ष उत्पादन केन्द्रका रूपमा चिनिन्छ ।

    रुद्राक्षले धार्मिक तथा आध्यात्मिक रूपमा पनि विशेष महत्व राख्छ । हिन्दू धर्मावलम्बीले रुद्राक्षलाई भगवान् शिवसँग सम्बन्धित पवित्र वस्तुका रूपमा लिने गर्छन् । त्यसैले पूजा, जपमाला तथा विभिन्न धार्मिक अनुष्ठानमा यसको प्रयोग हुने गर्दछ । सामान्यतया कालो रङको रुद्राक्षलाई सबैभन्दा राम्रो मानिन्छ । जुन रुद्राक्षमा प्वाल नपारीकन नै धागो छिराउन सकिन्छ । प्राकृतिक रूपमा बनेका यस्ता दाना दुर्लभ हुने भएकाले यसको मूल्य धेरै हुने गर्दछ ।

    भोजपुरको षडानन्द नगरपालिकाअन्तर्गत नेपालेडाँडा, कुदाकाउले, देउराली, मुलपानी, केउरेनीपानी लगायतका स्थानमा रुद्राक्ष खेती व्यापक रूपमा हुँदै आएको छ । यसबाहेक जिल्लाका अन्य विभिन्न स्थानमा पनि यसको उत्पादन बढ्दै गएको छ । यद्यपि किसानले रुद्राक्ष खेतीसँगै समस्या पनि भोगिरहेका छन् । विशेष गरी राम्रो दाना चोरी हुने, रुद्राक्षका बोट काटिदिने जस्ता समस्या बढ्दै गएको किसानको गुनासो छ । यसको संरक्षण तथा व्यवस्थित बजार व्यवस्थापन गर्न सकेमा रुद्राक्ष खेती अझ बढी लाभदायक बन्न सक्ने स्थानीयको भनाइ छ । उचित संरक्षण, बजार व्यवस्थापन र प्रवर्द्धन गर्न सकेमा रुद्राक्षले भोजपुरका किसानको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने छ ।

  • यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, ४ चैतः नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५० पैसा र बिक्रीदर १४८ रुपैयाँ १० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४२ पैसा र बिक्रीदर २१ रुपैयाँ ५० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ २८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३६ पैसा र बिक्रीदर ४० रुपैयाँ ५२ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ १६ पैसा र बिक्रीदर ४० रुपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ०९ रुपैयाँ ९३ पैसा , स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५ रुपैयाँ ९० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ७७ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३९० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३९२ रुपैयाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर ३८३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • तीन फर्ममाथि जरिवाना

    तीन फर्ममाथि जरिवाना

    काठमाडौँ, ४ चैतः खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन कम्पनीलाई जरिवाना गरेको छ ।

    विभागले स्थलगत अनुमगनको क्रममा कानुन विपरितका गतिविधि गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–७ चांगाथलीस्थित एकताग्राम स्टोरलाई रु २० हजार जरिवाना गरेको छ । यस्तै किराना घर टे«ड एण्ड सप्लायर्स काठमाडौँ बबरमहल र गणपति टे«ड सप्लायर्स बबरहललाई समान रु पाँच हजार जरिवाना गरेको छ ।

    विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको स्पष्ट पारेको छ । विभागले थप १९ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । पछिल्ला दिनमा विभागले गैरकानुनी कारोबार नियन्त्रण गर्नका लागि निरन्तर विभागले अनुमगन गरिरहेको छ ।

  • बैंकिङ कसुरमा प्रभु बैंकका उच्च अधिकारी पक्राउ

    बैंकिङ कसुरमा प्रभु बैंकका उच्च अधिकारी पक्राउ

    काठमाडौँ, ४ चैतः नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख दिनेश डङ्गोललाई पक्राउ गरेको छ । ब्यूरोले प्रतिवादी अशोक शेरचन समेत माथि अनुसन्धान भइरहेको बेला थप तथ्य प्राप्त भएपछि डङ्गोललाई पक्राउ गरेको हो ।

    सो बैंकको महत्वपूर्ण विभागमा कार्यरत डङ्गोलले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरित कार्य गरेको तथा प्रभु म्यानेजमेन्ट प्रालि समेतमा प्रवाह ऋणमा कर्जा दुरुपयोग गरेको पाइएको छ । आरोपी डङ्गोलमाथि जिल्ला अदालत काठमाडौँबाट अनुमति लिई थप अनुसन्धान भइरहेको ब्यूरोका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिए ।

  • केरा खेतीको बिमा नहुँदा किसान मारमा

    केरा खेतीको बिमा नहुँदा किसान मारमा

    रासस
    चन्द्रपुर (रौतहट), ४ चैतः केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्रकोपबाट मारमा परेका हुन् । सोमबार साँझ आएको भीषण हावाहुरीका कारण चन्द्रपुर नगरपालिकामा अत्यधिक क्षति पुगेको छ । विशेष गरी चन्द्रपुर–३ मा लगाइएको करिब रु डेढ करोड बराबरको केरा खेती पूर्ण रूपमा नष्ट हुँदा किसान आर्थिक मारमा परेका छन् ।

    चन्द्रपुर–१ को पौराई, चन्द्रपुर–२ को जुडिबेला, वार्ड नं ३ को गैडाटार, वार्ड नं ४ को चन्द्रनिगाहपुरलगायत गाउँमा हावाहुरीले केराखेतीमा पूर्ण रुपमा क्षति पु¥याएको छ । चन्द्रपुर–३ को गैँडाटार गाउँ केरा उत्पादनको मुख्य क्षेत्रका रूपमा परिचित छ । यहाँका अधिकांश किसानले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् ।

    सोमबार आएको हावाहुरीले हजारौँ बोट केरा ढल्दा वर्षभरिको मेहनत एकैछिनमा नष्ट भएको स्थानीय कृषक दीपक गौतमले बताउनुभयो । लगानी, श्रम र समय सबै गुम्दा किसान आर्थिक रूपमा धरासायी हुने अवस्थामा पुगेका छन् । केरा खेती गर्ने किसानले बर्सेनि प्राकृतिक विपत्तिको सामना गर्नुपरेको छ ।

    हावाहुरी, रोग र कहिलेकाही जङ्गली जनावरको आक्रमणले केरा खेती नष्ट हुने गरेको तर बिमा नहुँदा सबै क्षति किसानले बेहोर्नुपरेको गौतम बताउँछन् । यस क्षेत्रमा व्यावसायिक रुपमा केरा खेती गर्ने किसान बढेपछि केरा खेतीको बिमा गर्न पटकपटक चन्द्रपुर नगरपालिकामा आवाज उठाउँदा सुनवाइ नभएको उनले बताए ।


    बिमाका लागि चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्ले तथा विभिन्न बिमा कम्पनीलाई आग्रह गर्दा बेवास्ता गरेको कृषक गौतमको गुनासो छ । उहाँले करिब ७ बिघा जमिनमा केरा खेती गर्दै आएका छन् । रौतहटमा करिब चार सय बिघाभन्दा बढी जमिनमा केरा खेति भएको र हावाहुरीबाट रु तीन करोडभन्दा बढीको क्षति पुगेको छ ।

    यस्तै चन्द्रपुर–३ का अर्का किसान रमेश घिमिरेले केरा खेतीको बिमा भएमा किसानको लगानी सुरक्षित हुने बताए । यहाँ बिमा नहुँदा किसान मारमा परेको उनले बताए । अहिलेको समयमा हरेक बालीको बिमा अपरिहार्य भएको घिमिरेले बताए । बिमा कम्पनीले जोखिम बढी हुने भन्दै केरा खेतीको बिमा गर्न आनाकानी गर्दै आएको उनको गुनासो छ । यसले हरेक वर्ष प्राकृतिक प्रकोप आउँदा किसान थप समस्यामा पर्ने गरेका छन् ।

    चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले कृषकको बाली बिमाका लागि नगरपालिका सबै किसिमको सहयोग गर्न तयार रहेको बताए । बालीका लागी बिमा अति आवश्यक भएकाले बिमाका लागि कुनै पनि किसिमको सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।

  • अर्जेन्टिना विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरियो

    अर्जेन्टिना विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरियो

    ब्युनस आयर्स, अर्जेन्टिना, (रासस–एएफपी) । अर्जेन्टिनाले मङ्गलबार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)बाट औपचारिक रूपमा आफ्नो सदस्यता फिर्ता लिएको छ । अजेन्टिनाका विदेशमन्त्रीले संयुक्त राज्य अमेरिकालाई पछ्याउँदै अर्जेन्टिनाले पनि आफ्नो डब्ल्युएचओ सदस्यता परित्याग गरेको छ । अमेरिकाले यस वर्षको सुरुमा यही कदम चालेको थियो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निकट सहयोगी राष्ट्रपति ज्याभियर माइलीको सरकारले कोभिड–१९ को महामारी नियन्त्रणमा विश्व स्वास्थ्य सङ्गठनको आलोचना गर्दै एक वर्षअघि संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य संस्था छोड्ने घोषणा गरेको थियो ।

    अर्जेन्टिनाको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय सन्धिले तोकेको समयसीमाभित्र फिर्ताको प्रक्रिया पूरा भएको जनाएको छ । “अर्जेन्टिनाले आफ्नो सार्वभौमिकता र स्वास्थ्य नीतिहरूको बारेमा निर्णय गर्ने क्षमतालाई पूर्ण रूपमा संरक्षण गर्दै द्विपक्षीय सम्झौताहरू र क्षेत्रीय मञ्चहरू मार्फत स्वास्थ्यमा अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिने कार्यलाई जारी राख्नेछ,” विदेश मन्त्री पाब्लो क्विर्नोले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
    गत वर्ष अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनका सिफारिसहरू विज्ञानमा आधारित नभएर राजनीतिक स्वार्थमा आधारित भएकाले प्रभावकारी नभएको घोषणा गरेको थियो । ट्रम्पले ह्वाइट हाउसमा फर्केपछि बहुराष्ट्रिय समूहबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेको एक वर्षपछि अमेरिकाले जनवरीमा डब्लुएचओबाट बाहिरिने औपचारिक घोषणा गरेको थियो।

    विश्व स्वास्थ्य सङ्गठनले बिफर उन्मूलन र पोलियो, एचआईभी, इबोला र क्षयरोगलगायतका रोग र जनस्वास्थ्यसम्बन्धी खतराहरूको सामना गर्न विशेष भूमिका खेलेको छ । गत जनवरीमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेहब्रेयससले यस कदमप्रति गहिरो खेद व्यक्त गर्दै यसले संयुक्त राज्य अमेरिका र बाँकी विश्वलाई असुरक्षित बनाउने बताएका थिए ।

  • अहिलेको अवस्थामा ‘स्ट्रेट अफ हर्मुज’ मा जहाजलाई सुरक्षा दिन असम्भव : फ्रान्स

    अहिलेको अवस्थामा ‘स्ट्रेट अफ हर्मुज’ मा जहाजलाई सुरक्षा दिन असम्भव : फ्रान्स

    पेरिस, ४ चैत (रासस–एएफपी) । फ्रान्सले वर्तमान् स्थिति ‘शान्त’ भएपछि मात्र ‘स्ट्रेट अफ हर्मुज’बाट जहाजहरूलाई सुरक्षा दिन मद्दत गर्न तयार रहेको बताएको छ। अहिलेको अशान्त अवस्थामा इन्धन लगायतका सामग्री ढुवानी गर्ने जहाजहरूलाई सुरक्षा दिन असम्भव रहेको फ्रान्सका राष्ट्रपति राष्ट्रपति इम्यानुएल म्याक्रोँले मङ्गलबार बताएका छन् । उनले भने, “फ्रान्सले अहिलेको स्थिति ‘शान्त’ भएपछि मात्र ‘स्ट्रेट अफ हर्मुज’बाट जहाजहरूलाई सुरक्षा गर्न मद्दत गर्न तयार छ ।”

    इरानले बन्द गरेको जलमार्ग सुरक्षित गर्न सघाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मागपछि राष्ट्रपति म्याक्रोँले भने, “हामी द्वन्द्वको पक्षहरू होइनौँ, त्यसैले फ्रान्सले वर्तमान अवस्थामा ‘स्ट्रेट अफ हर्मुज’लाई मुक्त गर्ने वा खोल्ने अभियानमा कहिल्यै भाग लिने छैन ।”

    “यद्यपि, हामी विश्वस्त छौं कि एक पटक स्थिति शान्त भएपछि हामी अन्य राष्ट्रहरूसँगै सुरक्षा निगरानी प्रणालीको जिम्मेवारी लिन तयार छौँ।” अमेरिका र इजरायलको इरानी भूमिमा भएको आक्रमणपछि इरानले विश्वको करिब २० प्रतिशत इन्धनको आपूर्ति हुने नाका ‘स्ट्रेट अफ हर्मुज’ लाई बन्द गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्ति राष्ट्रहरूलाई उक्त नाकाबाट जहाजहरूलाई आवागमन गर्न सुरक्षा दिन सहयोग गर्न आग्रह गरेका थिए ।