Category: फिचर

  • जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    काठमाडौँ, ६ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ ।
    जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्पवमा रहेको वर्गीकरण सहजीकरण समितिले गत मङ्सिर ५ र १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण भइसकेको छ ।

    जिल्ला प्रशासन कार्यालयले ती दिनमा विविध कारणले वर्गीकरण लागि उपस्थित हुन नसकनी छुट भएका घाइतेको अन्तिम वर्गीकरण यही चैत २० गते शुक्रबार हुने सूचनामा उल्लेख छ । त्यस दिन जिल्ला प्रशासन कार्यालय काठमाडौँको सभाहलमा आफूले उपचार एवं परीक्षण गरेका कागजात र जेनजी घाइते परिचयपत्रसहित उपस्थित हुन सो आन्दोलनका घाइतेलाई आग्रह गरिएको छ ।

  • नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    त्रिवेणी (नवलपरासी), ६ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु साझेदारी वन उपभोक्ता समूहले जैविक मल उत्पादन सुरु गरेको छ । गण्डकी प्रदेशकै एकमात्र साझेदारी वनका रूपमा परिचित उक्त वन कावासोती नगरपालिका–१४ मा अवस्थित रहेको छ । वन क्षेत्रमा उपयोगविहीन रूपमा खेर गइरहेका झाडी तथा पातपतिङ्गरलाई व्यवस्थापन गर्दै त्यसबाट जैविक मल उत्पादन थालिएको हो ।

    वनमा रहेका झाडी, पातपतिङ्गर तथा अन्य जैविक पदार्थ सङ्कलन गरी त्यसको प्रयोगबाट मल उत्पादन गरिएको मध्यविन्दु साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष भगवान खनालले जानकारी दिनुभयो । उहाँका अनुसार यस अभियानले वन व्यवस्थापनलाई व्यवस्थित बनाउनेमात्र नभई डढेलो नियन्त्रणमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । विशेषगरी गर्मीयाममा हुने डढेलो न्यूनीकरणमा यस्तो कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ ।

    अध्यक्ष खनालले भने, “वनमा खेर गइरहेका झाडीको सदुपयोग हुने, डढेलोको जोखिम घट्ने र कृषिमा रासायनिक मलको प्रयोगलाई प्रतिस्थापन गर्दै उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वासका साथ यो योजना सुरु गरिएको हो ।” अध्यक्ष खनालका अनुसार यसले वातावरण संरक्षणसँगै दिगो कृषिमा समेत टेवा पुर्याउनेछ । साथै, स्थानीय किसानलाई सस्तो तथा गुणस्तरीय मल उपलब्ध गराउने लक्ष्य पनि राखिएको छ । रासायनिक मलको बढ्दो प्रयोगले माटोको गुणस्तर ह्रास हुँदै गएको अवस्थामा वनले उत्पादन गरेको जैविक मलले दिगो रूपमा कृषि उत्पादन वृद्धिका लागि सहयोग पुग्ने विश्वास रहेको अध्यक्ष खनालले बताए ।


    वनबाट सङ्कलन गरिएका झाडीलाई मसिनो गरी काटी त्यसमा गाईभैँसीको गोबर, खरानी, रातो माटोलगायत आवश्यक तत्व मिसाएर प्राविधिकको निगरानीमा मल तयार पारिने गरिएको छ । मध्यविन्दु जैविक मल उत्पादन कार्यक्रमका संयोजक धनेश्वर कुँवरले मल उत्पादन प्रक्रिया वैज्ञानिक ढङ्गले अगाडि बढाइएको बताए । उनका अनुसार मलको गुणस्तर कायम राख्न नियमित परीक्षण र अनुगमनसमेत गरिनेछ ।

    साझेदारी वनको स्वरोजगार कार्यक्रमअन्तर्गत आवश्यक जनशक्ति वन उपभोक्ताबाटै व्यवस्थापन गरिएको छ । यस कार्यक्रममार्फत झाडी सङ्कलनदेखि मल प्रशोधन र तयारीसम्मको सम्पूर्ण प्रक्रियामा स्थानीय उपभोक्तालाई रोजगारी उपलब्ध गराइएको संयोजक कुँवरले बताए । यसले ग्रामीण क्षेत्रमा आयआर्जनको अवसर बढाउने अपेक्षा गरिएको छ ।

    हाल पहिलो चरणमा मल उत्पादन प्रक्रिया जारी रहेको छ । करिब एक सय दिनमा मल तयार हुने र त्यसपछि लागत विश्लेषण गरी उचित मूल्य निर्धारण गरेर बिक्रीवितरण गरिने योजना रहेको संयोजक कुँवरले बताए । आगामी दिनमा उत्पादन विस्तार गरी अन्य स्थानमा पनि आपूर्ति गर्ने तयारी गरिएको छ ।

    यस पहलले वन संरक्षण, वातावरणीय सन्तुलन, रोजगारी सृजना तथा कृषि उत्पादन वृद्धिमा बहुआयामिक लाभ पुर्याउने विश्वास गरिएको मध्यविन्दु साझेदारी वनका अध्यक्ष खनालले बताए । सरकारी तह तथा सरोकारवाला निकायले समेत यस्ता कार्यक्रमलाई प्रोत्साहन गरेमा दिगो विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अध्यक्ष खनालले बताए ।

  • दुई फर्मलाई विभागको जरिवाना

    दुई फर्मलाई विभागको जरिवाना

    काठमाडौँ, ६ चैत : कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुईवटा फर्मलाई जरिवाना गरेको छ ।
    स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौँ महानगरपालिका सिनामङ्गलमा रहेको जमकटेल फर्मालाई रु दुई लाख पाँच हजार जरिवाना गरेको छ ।

    त्यसैगरी, भक्तपुरको सल्लाघारीमा अवस्थित ख्वप हार्डवेयरलाई रु २० हजार जरिवाना गरेको छ । ती दुवै फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिमको कसुरमा कारबाही गरिएको हो । यस्तै, विभागले थप ११ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा नियमित रूपमा बजार अनुमगन गर्दै आएको छ ।

  • अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न अनुदान दिँदै महानगर

    अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न अनुदान दिँदै महानगर

    काठमाडौँ, ६ चैत । काठमाडौँ महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान प्रदान गर्ने भएको छ । यसका लागि कामपाले प्रसूति तथा स्त्रीरोग अस्पतालबीच सहकार्य सम्झौता गरेको छ । कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा कापमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीबीच अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    सम्झौताबमोजिम अस्पतालबाट उत्पादित हानिकारक फोहरसँगै महानगरपालिकाले सञ्चालन गरेका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट उत्पादित हानिकारक फोहरको पनि यही प्लान्टबाट व्यवस्थापन हुनेछ । सम्झौताअनुसार कामपाले प्रदान गर्ने अनुदान रकम अस्पतालले उपकरण खरिद र फोहर व्यवस्थापनस्थलमा ट्रस निर्माणकार्यका लागि खर्च गर्न पाउने बताइएको छ । उक्त सम्झौता चालु आर्थिक वर्षको असार १५ गतेसम्म मान्य हुनेछ ।

    सम्झौतापछि कार्यवाहक प्रमुख डङ्गोलले, काठमाडौँमा हानिकारक फोहर व्यवस्थापन प्लान्ट सञ्चालन गर्ने स्थान अभाव रहेको उल्लेख गर्दै उपलब्ध स्थानमा मापदण्डबमोजिमका प्रशोधन प्लान्ट सञ्चालन गरेर समस्यामा निकास दिनुपर्ने अवस्था रहेको बताइन् । सम्झौताबाट अस्पताल र महानगरपालिका दुवैलाई लाभ उनको भनाइ थियो ।

  • नैनीतालका नेपाली मजदुर भन्छन्, ‘नयाँ सरकारबाट स्वेदशमै रोजगारीको आशा राखेका छौँ’

    नैनीतालका नेपाली मजदुर भन्छन्, ‘नयाँ सरकारबाट स्वेदशमै रोजगारीको आशा राखेका छौँ’

    शेरबहादुर सिंह–रासस
    नैनीताल (भारत), ५ चैतः दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ५२ वर्षीय भवानीप्रसाद रेग्मी बुधबार भारतको उत्तराखण्ड राज्यको पर्यटकीय नगरी नैनीतालमा भारी बोक्दै गरेको अवस्थामा भेटिनुभयो । तीन दशकदेखि नैनीतालमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आउनु भएका रेग्मीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट बन्ने सरकारले मजदुर वर्गको उत्थान गर्ला कि भन्ने अपेक्षा गर्नुभएको रहेछ ।

    “हुनेखानेका लागि नैनीताल पर्यटकीय गन्तव्य हो, यहाँ गर्मी छल्न धेरै ठाउँका मानिस आउने गर्छन्,” रेग्मीले भन्नुभयो, “हामी जस्ता गरिबको गुजारा गर्ने ठाउँ पनि नैनीताल नै हो । जेनजी आन्दोलनपछि मुलुकमा सुशासनका लागि भएको परिर्वतनले देशभित्र रोजगारीका अवसर प्राप्त हुने आशा गरेको छु ।” दिनभरी भारी बोकेर साँझ सात सय भारतीय रुपैयाँ ज्याला पाउने गरेको उहाँले बताउनुभयो ।

    रेग्मी एक उदाहरण मात्र हुन् । उहाँजस्ता धेरै नेपाली मजदुर लामो समयदेखि नैनीतालमा ज्यालादारी गर्दै आएका छन् । उनीहरु अब गठन हुने सरकारले देशमै रोजगारी दिने आशामा छन् । “युवाले देश चलाउने खबरले खुसी छौँ र युवा पुस्ताले देशभित्रै काम गर्ने वातावरण पाउन् भन्ने आशा छ”, दैलेखका ६५ वर्षीय बमबहादुर ठकुरीले भन्नुभयो, “देशभित्र स्मृद्धिको वातावरण बनाउन सबै पार्टी एकजुट हुनुपर्छ ।” विगत बीस वर्षदेखि नैनीतालमा काम गर्दै आउनु भएका ठकुरीले यहाँको आम्दानीले घरखर्च चलिरहेको बताउनुभयो । “नैनीताल आउजाउ गर्न थालेको बीस वर्ष भयो”, उहाँले भन्नुभयो, “नैनीताल क्षेत्रमा मात्रै एक हजार बढी नेपाली ज्याला मजदुरी गर्छन् ।”

    त्यसैगरी कालीकोटको नरहरिनाथ गाउँपालिकाका ७५ वर्षीय पदमबहादुर विष्ट दैनिकजसो नैनीतालमा फलफूल र तरकारीका भारी बोक्नुहुन्छ । विष्ट पहिलो पटक ज्याला मजदुरी गर्न २०५२ सालमा नैनीताल आउनु भएको थियो । हाल उहाँ कान्छो छोरासहित नैनीतालमा मजदुरी गर्नुहुन्छ ।

    “नेपालमा पनि सामाजिक सुरक्षा भत्ता पाउँछु”, विष्टले भन्नुभयो, “तर त्यही भत्ताले मात्र घर चलाउन पुग्दैन । फलफूलको भारी बोकेर यहाँ पनि दैनिक एक हजार जति कमाइरहेको छु ।” उहाँले वृद्धावस्थामा घर छाडेर ज्यालादारीमा परदेश आउनु आफ्नो रहर नभएर बाध्यता भएको बताउनुभयो । नैनीतालको तल्ली र मल्लीताल क्षेत्रमा सामग्री ढुवानीमा ठूला सवारी साधन प्रयोग हुँदैनन् । तोकिएको स्थानमा सामग्री ढुवानी भए पनि ताल वरपरको क्षेत्रमा निर्माण सामग्रीदेखि खाद्यान्न ढुवानीका अधिकांश काम नेपाली मजदुरले गर्छन् ।

    कालीकोट पलाँता गाउँपालिकाका ३० वर्षीय जयबहादुर बुढा मल्ली तालमा नाङ्लो र डोरी लिएर काम खोज्दै हिँडेको अवस्थामा भेटिनुभयो । “कहिलेकाहीँ त ढुवानीका लागि सामान पाउन पनि गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “महिनामा २०र२२ हजार कमाइ हुन्छ ।” उहाँले पनि नयाँ बन्ने सरकारले युवाहरुलाई स्वदेशमै रोजगारीको वातावरण बनाइदिनुपर्ने माग गर्नुभयो ।

    यहाँ बाध्यताले मजदुरी गर्न आउने अधिकांशलाई थाहा छ, युवाशक्ति श्रम गर्न भारतलगायत तेस्रो मुलुकमा गएर आफ्नो देशको विकास हुदैन । तर के गर्ने जिविकाका लागि भएपनि देश छोड्नै पर्ने बाध्यताले उनीहरु बर्षौँदेखि दोस्रो या तेस्रो मुलुकमा पसिना बगाउन बाध्य छन् । उनीहरु सबैको एउटै आवाज छ, “मुलुकको अवस्था परिर्वतनका लागि राज्यले मुलुकभित्रै युवा जनशक्तिलाई रोजगार दिन सक्नुपर्छ ।”

  • बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

    बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

    मधु शाही–रासस
    काठमाडौँ, ५ चैतः जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उहाँका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस्ताव गर्दै आफन्त र गाउँलेले दबाब दिन्थे । रुबी सानै भए पनि विद्रोही स्वभावकी हुनुहुन्थ्यो । बालविवाह गरेर छोरीहरुले भोगेका पीडा उहाँले प्रत्यक्ष देख्नुभएको थियो । त्यसमा पनि चर्को दाइजो प्रथाको सिकार भएका परिवारको अवस्था देख्दा उहाँलाई छटपटी हुन्थ्यो । तर, समाज उस्तै छ । रुबी हुर्किँर्दै गर्दा बिहेका त्यस्ता प्रस्ताव धेरै आए । यद्यपि रुबीले आमाबुबा समक्ष आफ्नो अडान राखिरहनुभयो, “पहिले देशको सेवा गर्छु, अनि मात्र बिहे ।” धेरै पटकको प्रतिवादपछि रुबी बालविवाहबाट जोगिनुभयो । सिभिल इञ्जिनियरिङमा अध्ययनरत २५ वर्षिया रुबी हालै समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ ।

    उहाँ श्रम संस्कृति पार्टीबाट निर्वाचित हुनुभएको हो । निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्र लिएपछि उहाँले भावुक हुँदै भन्नुभयो, “मधेसको बालविवाह र दाइजोप्रथा जस्ता कुसंस्कार हटाउनुछ ।” उहाँका अनुसार मधेसमा अधिकांश छोरीहरुको १६ वर्ष नपुग्दै बिहे गरिदिने चलन छ । छोराहरु रुँदै मजदुरीका लागि विदेशिन बाध्य छन् । रुबीका बुवा पनि दश वर्षदेखि मजदुरीका लागि साउदीमा हुनुहुन्छ । अब पहिलो काम उहाँ बुबालाई घर फर्काउन चाहनुहुन्छ । “स्वदेशमै रोजगार भए कसलाई विदेशिन मन लाग्छ र रु”, उहाँले भन्नुभयो, “स्वदेशमै रोजगार भए, बुबा विदेशिनु पर्थेन । मेरो बुबा जस्ता धेरै नेपाली विदेशमा छन् । उनीहरुलाई स्वदेशमै फर्काउन चाहन्छु ।” कुमारीको अर्को मुद्दा स्वदेशमै युवा रोजगार सिर्जना गर्न आवाज उठाउने रहेको छ ।

    संसद्मा सप्तरङ्गी उपस्थीति

    समानुपातिक तर्फ प्रमाणपत्र लिन आउनेमा मधेश प्रदेशकी इञ्जिनियरिङ अध्ययनरत विद्यार्थी रुबीसँगै, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठदेखि नायिका रिमा विश्वकर्मा समेतको उपस्थिति थियो । समाजको पिँधमा परेका मुस्लिम समुदायका महिलाका अनुहार पनि सांसदका रुपमा देखिएका छन् । टाउकोमा रुमाल बेरेर काखीमा बच्चा च्यापेर समानुपातिक प्रतिनिधि सदस्यको प्रमाणपत्र बुझ्न आउनुभएकी चितवनकी समिना मियाँले भन्नुभयो, “मुस्लिम महिला लजालु स्वभावका छन्, उनीहरुलाई समाजको मूल प्रवाहमा ल्याउन शिक्षा र स्वास्थ्यमा जोड दिनु आवश्यक ठानेकी छु ।”

    भरतपुर महानगरपालिका–१ की मियाँ रास्वपाको संस्थापक सदस्य हुनुहुन्छ । नर्सिङ पेसामा आबद्ध उहाँले रुपान्तरणका लागि राजनीतिक चेत आवश्यक भएकाले आफुले परिवार, पेसासँगै संसद्मा पुग्न जरुरी ठानेको बताउनुभयो ।

    त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीबाट समानुपातिक प्रतिनिधि सदस्य हुनुभएकी दाङ, घोराहीकी ५० वर्षीया भीमकुमारी बुढामगर जनयुद्धकालदेखि राजनीतिक रुपमा सक्रिय हुनुहुन्थ्यो । उहाँ पहिलो पटक सांसद हुनुभएको हो । मगर पहिरनमा सजिएर प्रमाणपत्र बुझ्दै गर्दा उहाँले गणतन्त्र ल्याउनुमा जसरी आफूले योगदान दिएको हो त्यही ऊर्जा र उत्साह अझै कायम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “युवाको बाहुल्यता छ, विश्वास छ राम्रै काम गर्छन् ।”

    नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को तर्फबाट समानुपातिक प्रतिनिधिसभा सदस्य हुनुभएकी पद्माकुमारी अर्यालले संसद्मा आफूले जनता र राष्ट्रयका पक्षमा हुने सरकारको कार्यको समर्थन गर्दै विपरीत कार्यको विरोध गर्ने बताउनुभयो । रास्वपाका समानुपातिक प्रतिनिधि सदस्य प्रकाशचन्द्र दर्जीले रास्वपाले घोषणा पत्रमा दलित समुदायमाथि राज्यले गरेको अन्यायको माफी माग्ने वाचा पूरा गर्ने बताउनुभयो ।

    लामो समयदेखि दलित मुद्दाका विषयलाई लिएर आन्दोलन गरिरहनुभएका नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट समानुपातिक सांसद बन्नुभएका गणेश विश्वकर्माले संविधानमा उल्लेखित दलित अधिकारका कानुन निर्माणमा आफ्नो निरन्तर प्रयास हुने बताउनुभयो । रास्वपाका तर्फबाट समानुपातिक सांसद बन्नुभएकी सीता वादीले संसद्मा वादी समुदायको प्रतिनिधित्व गर्दै हुनुहुन्छ । “वादी समुदायको बास छैन, गाँस पनि छैन”, उहाँले भन्नुभयो, “संसद्मा वादीको आवाज सुनाउछु जस्ताको तस्तै र उनीहरुको जीवनस्तर उकास्ने प्रयास गर्नेछु ।”

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदलाई आज प्रमाणपत्र वितरण गरिएको हो । निर्वाचन आयोगले केन्द्रीय कार्यालय बहादुर भवनमा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराले टीका एवं फूलमालाले स्वागत गर्नुभएको थियो ।

  • शुक्रबारदेखि तीन दिन भारी वर्षा–हुरीको सम्भावना

    शुक्रबारदेखि तीन दिन भारी वर्षा–हुरीको सम्भावना

    काठमाडौं, ५ चैतः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र हुरीको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै जोखिम न्यूनीकरणका लागि सचेत रहन आग्रह गरको हो । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको उल्लेख गरेको छ । साथै, दाङ, नेपालगञ्ज र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा तीव्र गतिमा हुरी चल्ने पनि अनुमान गरिएको छ ।

    विभागले शनिबारसम्म विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा ११९ किलोमिटर प्रतिघण्टासम्मको तीव्र हुरी चल्ने सम्भावना रहेको जनाएको छ । हुरीका कारण रूख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको पनि बताइएको छ ।

    प्राधिकरणका उपसचिव रामबहादुर केसीले प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न, घरको इन्धन बन्द गर्न, सुरक्षित स्थानमा बस्न र सवारी साधन सञ्चालन नगर्न विशेष सतर्कता अपनाउन आग्रह गरे । साथै, कमजोर संरचना र विद्युत् तारहरूमा जोखिम हुनसक्ने भएकाले विद्युत् उपकरण नचलाउन समेत उनको अनुरोध छ । विभाग मौसमसम्बन्धी नियमित पूर्वानुमान र सतर्कता जारी गर्दै आएको छ र सबैमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

  • अध्यागमनले भिजिट भिसामा आएका खेलाडीलाई प्रतिवन्ध लगाएपछि एन्फाद्वारा सञ्चालित खेल स्थगित

    अध्यागमनले भिजिट भिसामा आएका खेलाडीलाई प्रतिवन्ध लगाएपछि एन्फाद्वारा सञ्चालित खेल स्थगित

    काठमाडौँ, ५ चैतः राजधानीमा जारी सहिद स्मारक महिला लिग र पुरुषतर्फको राष्ट्रिय लिग फुटबल प्रतियोगिता स्थगित भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्राविधिक कारण देखाउँदै अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि स्थगित गरेको एन्फाद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

    अध्यागमन विभागले आजै एन्फालाई कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउँदा कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन आग्रह गरेको थियो । विभागले श्रम स्वीकृतिविना विदेशी खेलाडीलाई राष्ट्रिय लिगमा खेलाएको उजुरीका आधारमा आजैदेखि छानबिन अगाडि बढाउने जनाएको थियो ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च

    प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च

    काठमाडौँ, ५ चैतः गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता रु २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र प्रतिवेदनसहितको निर्वाचन परिणाम राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइसकेपछि आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन खर्चलाई मितव्ययी बनाउन आयोगबाट यसअघि खरिद भएका सामग्री प्रयोगको नीति लिइएको जानकारी दिए ।
    निर्वाचन सामग्री खरिदमा सरकारको स्वमित्वमा रहेका सङ्गठित संस्थासँग सम्झौता गरी खरिद गरिएको पनि उनले सुनाए । पचास प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका निर्वाचन सामग्री प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाटै खरिद गरिएको थियो । तेह्र प्रकारका सामग्री आयोगबाट खरिद भई जिल्लागत रूपमा ढुवानी गरिएको थियो ।

    निर्वाचन प्रयोजनका लागि आयोगबाट रु सात अर्ब ८१ करोड पाँच लाख ७६ हजार माग गरिएकोमध्ये अर्थ मन्त्रालयबाट रु छ अर्ब ७६ करोड ६६ लाख ९० हजारको स्रोत सहमति प्राप्त भएको थियो । प्राप्त रकममध्ये हालसम्म रु तीन अर्ब ५४ करोड २८ लाख ७९६ खर्च भएको छ । खर्चको दायित्व सिर्जना भएकोमध्ये केही रकम भुक्तानी गर्न बाँकी रहेको जानकारी आयोगले गराएको छ ।

    निर्वाचनमा स्वदेशी र विदेशी पर्यवेक्षकले पर्यवेक्षण गर्ने व्यवस्था मिलाइएकामा अन्तरराष्ट्रिय पर्यवेक्षणतर्फ २२ वटा कूटनीतिक निकायका १६४ जना प्रतिनिधि र तीन वटा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूले पर्यवेक्षण गरेका थिए । राष्ट्रियतर्फ ३५ वटा गैरसरकारी संस्थाले पर्यवेक्षण गरेका थिए । विशिष्ट परिस्थितिमा घोषणा भएको प्रतिनिधिमूलक लोकतन्त्रको यस अभ्यासमा सहभागी भई आफ्नो मताधिकारमार्फत प्रतिनिधि चुन्ने, कानुन निर्माण र राज्य सञ्चालन प्रक्रियामा संलग्न हुने एवं सरकार निर्माण तथा शासन सञ्चालनमा सहभागी हुने प्रक्रियालाई पूर्णता दिएकामा सम्पूर्ण मतदाताहरुमा आयोग धन्यवादसहित आभार प्रकट गरेको छ ।

    निर्वाचन सम्पन्न गराउने कार्यमा संलग्न भई आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत, सबै सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तरराष्ट्रिय समुदाय, सञ्चारमाध्यम एवं सञ्चारकर्मी सबैप्रति पनि आयोगले धन्यवाद प्रकट गरेको छ ।

  • संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

    संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

    काठमाडौँ, ५ चैतः गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन बुझाएको छ । निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै मुलुक नयाँ सरकार गठनको प्रक्रियामा अघि बढेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी कुल २७५ सदस्यीय प्रतिनिधिसभामा करिब दुई तिहाइ (१८२ सांसद) सांसद राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका छन् ।
    रास्वपाबाट प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सांसद निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट २५, नेपाली कम्युनिष्ट पार्टीबाट १७, श्रम संस्कृति पार्टीबाट सात र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पाँच तथा एक स्वतन्त्र सांसद निर्वाचित भएका छन् । नेपालको संविधानको धारा, ७६ मा मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्था छ । धारा, ७६ को उपधारा (१) मा ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ,’ भन्ने उल्लेख छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा होमिएको थियो । प्रधानमन्त्रीमा नियुक्त हुन प्रतिनिधिसभा सदस्य र संसदीय दलको नेता हुनुपर्ने संवैधानिक बाध्यता छ । वरिष्ठ नेता शाहलाई संसदीय दलको नेताका अघि सार्ने रास्वपाको तयारी छ । रास्वपा एक्लैका तर्फबाट संसद्मा झन्डै दुई तिहाइ सांसद रहेकाले संविधानको धारा, ७६ (१) अनुसार संसदीय दलको नेता प्रधानमन्त्रीमा नियुक्त हुने कानुनविद्को भनाइ छ ।

    प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिने र ज्येष्ठ सदस्यले सांसदहरुलाई शपथ गराउने कानुनी व्यवस्था छ । “सांसदको शपथपछि संसदीय दलको नेता चयन हुने र त्यसपछि संसद्मा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीका रुपमा नियुक्त गर्ने संवैधानिक व्यवस्था हो”, संवैधानिक कानुनका ज्ञाता डा खिमलाल देवकोटाले रासससँग भने, “त्यसपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नुहुन्छ ।”

    नेपालको संविधान जारी भएपछि पहिलोपटक धारा ७६ को उपधारा (१) अन्तर्गत एकल बमुहमत प्राप्त दलको संसदीय दलको नेता प्रधानमन्त्री नियुक्ति हुन लागेको हो । “एकै दलको बहुमत नआएको अवस्थामा धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको संयुक्त सरकार गठन हुने प्रयोजनका लागि राष्ट्रपतिले आह्वान गर्ने हो”, डा देवकोटाले भने, “अहिले त्यो अवस्थामा जानु परेन, राष्ट्रपतिले ७६ ९१० अनुसार बहुमत प्राप्त संसदीय दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने हो ।”

    सङ्घीय संसद् सचिवालयले यही चैत १२ गते नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गरेको छ । संसद् सचिवालयले आजै छवटा राजनीतिक दलका प्रतिनिधिसँग अनौपचारिक छलफल गर्दैछ । छलफलमा सांसदको शपथ, अभिमुखीकरण, संसदीय दलका बारेमा कुराकानी हुनेछ । निर्वाचनको नतिजा प्रकाशन भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले प्रतिवेदन पेस गर्ने व्यवस्था छ । आयोगले आज समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।

    निर्वाचन सम्पन्न भएको ३० दिनभित्र राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुपर्ने कानुनी व्यवस्था रहेको डा देवकोटाले बताए । संविधानको धारा, ९३ (१) मा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको एक महिनाभित्र राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । उपधारा (१)मा लेखिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नेछ ।

    त्यसपछि यस संविधानबमोजिम राष्ट्रपतिले समयसमयमा दुबै वा कुनै सदनको अधिवेशन आह्वान गर्नेछ ।” संसद्को पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने र सात दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ । अबको संसद् बैठक सिंहदरबास्थित निर्माणाधीन नयाँ संसद् भवनमा बस्नेछ ।

  • राप्रपा संसदीय दलको नेतामा शाही चयन

    राप्रपा संसदीय दलको नेतामा शाही चयन

    काठमाडौँ, ५ चैतः राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको आज बसेको बैठकले शाहीलाई दलको नेता बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा उनी जुम्लाबाट निर्वाचित भएका थिए । उक्त बैठकमा पार्टीको प्रमुख सचेतकमा खुश्बु ओलीलाई चयन गरिएको छ ।

    दलका नेता शाहीले ओलीलाई प्रमुख सचेतकमा चयन गर्नुभएको पार्टीका महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए । पार्टीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ एक तथा समानुपातिकतर्फ चार सिट गरी कूल पाँच सिट प्राप्त गरेको थियो ।

  • विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

    विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

    काठमाडौँ, ५ चैतः नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८ हजार ९०० सहित तीन जना नेपाली नागरिकलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ नार्गाजुन नगरपालिका–१ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ की ३८ वर्षीया सङ्गीता लामा तथा सिन्धुपाल्चोक लिशङ्खुपाखर गाउँपालिका–७ का ४७ वर्षीय विनोद लामा रहेका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।


    उनले भने, “आज चाइना साउथेनको उडान नम्बर सिजेड ६०६८ द्वारा काठमाडौँबाट चीनको ग्वाङझाउ जान लागेका निज यात्रुलाई विमानस्थलको अन्तरराष्ट्रिय प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा शरीर खानतलासी एवं ब्यागेज स्क्रिनिङ गर्ने क्रममा निजहरुले अमेरिकी डलरहरु बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेलापरी पक्राउ गरिएको हो ।”

    प्रहरीले अनिताका साथबाट अमेरिकी डलर १०० दरको १०० थान गरी १० हजार, सङ्गीता लामाको साथबाट अमेरिकी डलर एक सय दरको १०० थान गरी १० हजार तथा विनोद लामाका साथबाट अमेरिकी डलर एक सय दरको ८९ थान आठ हजार ९०० गरी कुल अमेरिकी डलर २८ हजार ९०० बरामद गरिएको जनाएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर बुझाइएको प्रवक्ता सिलवालले बताए ।

  • लामिछानेको रिटमा महान्यायाधिवक्ताको संशोधित निर्णय झिकाउन आदेश

    लामिछानेको रिटमा महान्यायाधिवक्ताको संशोधित निर्णय झिकाउन आदेश

    काठमाडौँ, ५ चैतः सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको छ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज उक्त आदेश गरेको हो । उक्त विवादमा आइतबारदेखि सुनुवाइ सुरू भएको थियोे ।

    आदेशमा भनिएको छ, “महान्यायाधिवक्ताको लिखित जवाफ साथ पेस भएको नदेखिँदा सो त्रुटि सच्च्याइएको भनिएको मिति २०८२÷१०÷०२ को टिप्पणी आदेशको प्रतिलिपि र सोसँग सम्बद्ध अन्य प्रमाण भए सोसमेत प्रत्यर्थी महान्यायाधिवक्ताको कार्यालयबाट झिकाइ यस अदालतबाट मिति २०८२÷११÷२७ मा भएको आदेशबमोजिम हुनेगरी मिति २०८२÷१२÷०९÷२ मा हेर्न नमिल्ने न्यायाधीशरहित इजलाससमक्ष लगाउका मुद्दासमेत साथै राखी नियमानुसार गर्नु ।”

    यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले सो निवेदनलाई नियमित सुनुवाइका गर्न यही चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो । महान्यायाधिवक्ता सविता भण्डारी बरालले रविविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् । सो निर्णयविरूद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो ।

  • प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

    प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

    जुम्ला, ५ चैतः प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन गरेकी छिन् । मुगुस्थित रारा तालको भ्रमण सकाएर नेपाली सेनाको हेलिकप्टरमार्फत जुम्ला आ्रएकी प्रधानमन्त्री कार्कीले कर्णाली प्राविधिक शिक्षालय भौतिक संरचनादेखि शिक्षालयको अवस्थाबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान चन्दननाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । कर्णाली प्राविधिक शिक्षालयका निमित्त कार्यालय प्रमुख मुक्ति भण्डारीले शिक्षालयका समस्यालाई प्रधानमन्त्री कार्कीसमक्ष राखिएको बताए ।

  • पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

    पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

    गण्डकी, ५ चैतः पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था ९ना० को आयोजनामा ‘एक्युरेसी’ विधामा सुरु गरिएको सो प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी ६६ खेलाडी सहभागी छन् ।

    प्रतियोगिता यही चैत ७ गतेसम्म सञ्चालन हुने संस्थाका अध्यक्ष अनिल केसीले जानकारी दिए । सहभागी खेलाडीलाई पोखराको सराङकोटबाट उडान भरेर फेवाताल किनार खपोैदीमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ । यस अघि कोभिड–१९ महामारी र नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७८ सालमा देशभर सोलो उडानमा रोक लगाएका कारण २०औँ संस्करणको प्रतियोगिता हुन सकेको थिएन ।

    पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा प्याराग्लाइडिङका खेलाडी निशिम थापाको दुर्घटनामा निधन भएपछि प्राधिकरणले सोलो उडान रोक लगाउँदा प्रतियोगिता रोकिएको थियो । यस अघि प्याराग्लाइडिङ प्रतिको बढ्दो आकर्षणसँगै नेपालले १८औँ एसियाली खेलकुदमा सो खेलमा रजत पदक जितेको थियो । नेपाल च्याम्पियनसिपको निरन्तरताका कारणले नै देशले खेलकुदमा उक्त उपलब्धी हासिल गरेको र प्रतियोगिताले मनोरञ्जनात्मक एवं साहसिक हवाई खेलकुदको माध्यमबाट नेपालको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याएको अध्यक्ष केसीको भनाइ छ ।

    “खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्दै राज्ज्यको आर्थिक समृद्धिमा टेवा पुर्याउन तथा नेपाली प्याराग्लाइडिङ खेलाडीको क्षमता अभिवृद्धि गर्नु प्रतियोगिताको प्रमुख उद्देश्य हो । अहिलेको विषम् परिस्थितिमा देशको पर्यटन क्षेत्रलाई यस प्रतियोगिताले केही हदसम्म माथि उठाउन सक्ने विश्वास लिएका छौँ”, उनले भने ।
    प्रतियोगितामा पुरुषतर्फको एक्युरेसी विधामा च्याम्पियन हुनेले रु एक लाख ५० हजार, द्वितीयले रु एक लाख र तृतीय हुनेले रु ५० हजार पुरस्कार पाउने छन् । महिलातर्फ च्याम्पियनले रु ७५ हजार, द्वितीयले रु ५० हजार र तृतीयले रु २५ हजार तथा टिम स्पर्धामा पहिलो हुनेले रु ७५ हजार, द्वितीयले रु ५० हजार र तृतीयले रु २५ हजार पुरस्कार पाउने छन् ।

    यसैबीच प्रतियोगिताको उद्घाटन गर्र्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्यका रुपमा विश्वमाझ परिचित बनेको बताए । कतिपय विदेशी पर्यटक प्याराग्लाइडिङकै लागि पोखरा आउने गरेकाले यो केवल खेल मात्र नभएर पोखराको पहिचान जस्तै बनिसकेको उनले भने ।
    प्रतियोगिताका प्राविधिक निर्देशक योगेश भट्टराईका अनुसार हवाइ खेलकुदको अन्तरराष्ट्रिय संस्थाको मापदण्डअनुसार हुने यस प्रतियोगिताका खेलाडीले प्राप्त गर्ने नम्बरले अन्य खेलका लागि अन्तरराष्ट्रिय मान्यता पाउनेछन् । प्रतियोगितामा नेपाल, भारत, चीन, फ्रान्स, कोरिया, स्पेनलगायत देशका खेलाडी सहभागी भएका छन् ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र

    प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र

    काठमाडौँ, ५ चैतः गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन आयोगले आज केन्द्रीय कार्यालय बहादुर भवनमा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराले टीका एवं फूलमालाले स्वागत गरेका थिए ।

    आयोगका सचिव एवं समानुपातिक प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले प्रमाणपत्र वितरण गर्नुभएको हो । समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिवादी) बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार÷चारजना सांसद निर्वाचित भएको आयोगले चैत २ गते सोमबार नै घोषणा गरिसकेको थियो ।

    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ रास्वपा १२५, कांग्रेस १८, एमाले ९, नेकपा ८, श्रम संस्कृति पार्टी ३, राप्रपा र स्वतन्त्र १\१ स्थानमा निर्वाचित भएका छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी प्रतिनिधिसभामा कुल २७५ जना सांसद निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ ।

  • कम्बोडियाबाट २० नेपालीको उद्धार

    कम्बोडियाबाट २० नेपालीको उद्धार

    काठमाडौँ, ५ चैतः कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी उनीहरुलाई आज स्वदेश फर्काइएको हो । विभिन्न व्यक्तिको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका ‘अनलाइन स्क्यामिङ’ केन्द्र र क्यासिनोहरूमा अनलाइन ठगीमा परेका उनीहरुलाई अन्य गैरकानुनी काममासमेत लगाइएको थियो ।

    कम्बोडियामा नेपाली नागरिकहरु अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिना भिसा वा भिसा–अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ । स्क्यामिङ केन्द्रहरूमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ केन्द्रबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनी धेरैको गुनासो आएको दूतावासले जनाएको छ ।

    त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदूतावास बैंककले उद्धार गर्न बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ । कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा एक हजार ९७७, सन् २०२३ मा दुई हजार ९४०, सन् २०२४ मा छ हजार ४०४ तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपाली कम्बोडिया गएको देखिन्छ ।

    नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकमा भ्रमणको बहानामा वैदेशिक रोजगारीमा नआउन पनि राजदूतावासले सबैमा अनुरोध गरेको छ ।

  • ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

    ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

    कैलाली, ५ चैत्र (रासस) । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा गोरुगाडामा सवार एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय कलसु चौधरी र उहाँकी ७० वर्षीया श्रीमती सेतानु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार ना.६ख७७८ नम्बरको ट्रकले गोरुगाडालाई पछाडिबाट ठक्कर दिँदा ती दम्पती गम्भीर घाइते भएका थिए ।

    घाइते दम्पतीलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएकामा उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकले ठक्कर दिँदा गोरुगाडा तान्ने दुवै गोरुको पनि मृत्यु भएको प्रनाउ तिमिल्सिनाले बताए । ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • दक्षिण कोरियामा रोजगारी वृद्वि

    दक्षिण कोरियामा रोजगारी वृद्वि

    सियोल, ५ चैत (रासस–सिन्ह्वा) । पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि भएको आधिकारीक तथ्याङ्कले बुधवार देखाएको छ ।
    तथ्याङ्क मन्त्रालयको तथ्याङ्क अनुसार १५ वर्ष वा सो भन्दा बढी उमेरका बेरोजगारको सङ्ख्या दुई लाख ३४ हजार अथवा ०.८ प्रतिशतले बढेर फेब्रुअरीमा दुई करोड ८४ लाख १३ हजार पुगेको छ । यो गत वर्षको सेप्टेम्बर पछि सबै भन्दा तीव्र गतिमा भएको विस्तार हो भने गत वर्षको जनवरी देखि लगातार १४ औँ महिनामा हाल सम्म वृद्धि जारी रहेको जनाइएको छ ।

    समग्र रोजगारी वृद्धिमा ६० वर्ष वा सोभन्दा बढी उमेर समूहको रोजगारीको संख्या वार्षिक आधारमा फेब्रुअरीमा दुई लाख ८७ हजारले बढेको छ भने ३० र ५० वर्ष उमेर समूहको क्रमशः ८६ हजार र ६ हजारले बढेको जनाइएको छ । यद्दपी २० वर्ष उमेर समूहका मानिसहरूको रोजगारीमा एक लाख ६३ हजारको सङ्ख्यामा गिरावट आएको छ भने ४० वर्ष उमेर समूहका मानिसहरूको रोजगारी अपरिवर्तित रहेको जनाइएको छ ।

  • इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

    इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

    मस्को, ५ चैत (रासस–एएफपी) । रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल हमला’ भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ।
    रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले साप्ताहिक ब्रिफिङमा भनेकी छिन्, “हामी बुशहर आणविक ऊर्जा संयन्त्रको भित्री घेरामा गरिएको गैरजिम्मेवार, पूर्ण रूपमा अस्वीकार्य क्षेप्यास्त्र आक्रमणको कडा निन्दा गर्दछौँ ।” उनले थपिन्, “रूसले संयुक्त राज्य अमेरिका र इजरायललाई प्लान्टमा अझै पनि काम गरिरहेका रूसी नागरिकहरूको ‘जीवनलाई जोखिम सिर्जना हुने कार्य“ नगर्न चेतावनी दिएको थियो । मस्कोले बुशहर आणविक ऊर्जा संयन्त्रको निर्माण गर्न मद्दत गरेको थियो।

  • राष्ट्रपति ट्रम्पद्वारा ऊर्जा खर्च कम गर्न सामुद्रिक पारवाहन कानुन अस्थायी रूपमा खारेज

    राष्ट्रपति ट्रम्पद्वारा ऊर्जा खर्च कम गर्न सामुद्रिक पारवाहन कानुन अस्थायी रूपमा खारेज

    वासिङ्टन, ५ चैत (रासस–एएफपी) । इरानमाथि अमेरिका–इजरायल आक्रमणका कारण मध्यपूर्व युद्धमा फसेपछि बढेको ऊर्जा लागत कम गर्न सदियौँ पुरानो समुद्री ढुवानी कानुनलाई अस्थायी रूपमा खारेज गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बताएका छन् । राष्ट्रपति ट्रम्पले ६० दिनका लागि जोन्स एक्ट छुट जारी गर्ने कदम अघि बढाएपछि यस अवधिमा अमेरिकी बन्दरगाह भएर कार्गो ओसारपसार गर्ने विदेशी ध्वजाबाहक जहाजहरूमा लगाइएको प्रतिबन्ध हटाउनेछ।

    सन् १९२० को कानुनको उद्देश्य अमेरिकी जहाज निर्माणलाई बढावा दिनु रहेको बताइएको छ । यसले स्वतन्त्र व्यापारमा बाधा पुर्याउने र उपभोक्ताहरूको लागि लागत बढाउने आलोचकहरूले तर्क गरेका छन् । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले फेब्रुअरी २८ मा इरानविरुद्ध अमेरिका–इजरायलले संयुक्त रूपमा गरेको आक्रमणलाई सङ्केत गर्दैएक विज्ञप्तिमा भनेकी छिन्, “अमेरिकी सेनाले ‘अपरेसन एपिक फ्युरी’को लक्ष्य मा अघि बढिरहेकाले तेल बजारमा छोटो अवधिको अवरोधलाई कम गर्ने दिशामा ट्रम्पको पछिल्लो कदम आएको हो।”

    “यो कार्यले तेल, प्राकृतिक ग्यास, मल र कोइलाजस्ता महत्त्वपूर्ण स्रोतहरूलाई साठी दिनसम्म अमेरिकी बन्दरगाहहरूमा स्वतन्त्र रूपमा प्रवाह गर्न अनुमति दिनेछ,” लेविटले थपिन् । उनले ट्रम्प प्रशासन ‘आफ्नो महत्वपूर्ण आपूर्ति श्रृङ्खला’लाई बलियो बनाउन जारी राख्न प्रतिबद्ध रहेको बताइन् ।
    ‘ट्रिपल ए’ मोटर समूहको तथ्याङ्क अनुसार युद्ध सुरु भएयता अमेरिकी पेट्रोलको मूल्य २७ प्रतिशतभन्दा बढीले बढेको छ ।

  • एक लाख १९ हजार सिरियाली नागरिक लेबनानबाट स्वदेश फिर्ता

    एक लाख १९ हजार सिरियाली नागरिक लेबनानबाट स्वदेश फिर्ता

    बेरुत, लेबनान, ५ चैत (रासस–एएफपी) । इजरायल र हेजबुल्लाहबीच पछिल्लो युद्ध सुरु भएयता छिमेकी देश लेबनानबाट करिब एक लाख २० हजार सिरियाली नागरिक स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसङ्घीय निकायको विस्थापन लेखाजोखा तथ्याङ्कका अनुसार, मार्च १७ सम्म एक लाख २५ हजार ७८४ व्यक्ति इजरायल र लेबनानबीच युद्ध सुरु भएदेखि सिरिया प्रवेश गरेका छन्, जसमध्ये लगभग एक लाख १९ हजार सिरियाली हुन्।

    सन् २०११ देखि सुरु भएको गृहयुद्धबाट भागेका करिब १० लाख सिरियालीहरूको आश्रय रहेको लेबनान तेहरान समर्थित लडाकू समूह हेजबुल्लाहले यही मार्च २ मा सुरू भएको अमेरिका–इजरायली हमलाको बदला लिन इजरायलविरूद्धको आक्रमणमा संलग्न भएको थियो । इजरायलले लेबनानमा तीव्र आक्रमण र दक्षिणी क्षेत्रमा स्थलगत कारबाहीको साथ प्रतिक्रिया दिएको छ । इजरायली स्वास्थ्य मन्त्रालयले मङ्गलबार चार सिरियाली मारिएको बताएको छ।

    सिरिया अहिलेसम्म क्षेत्रीय युद्धबाट बाहिर रहेको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायका अनुसार सन् २०२४ मा इरान र हेजबुल्लाहको समर्थनमा रहेका बशर अल–असदको पतनपछि गत वर्ष पाँच लाखभन्दा बढी सिरियालीहरू लेबनानबाट फर्किएका थिए ।

  • खोप कार्यक्रम गलत सूचनाको मारमा : डब्ल्युएचओ

    खोप कार्यक्रम गलत सूचनाको मारमा : डब्ल्युएचओ

    जेनेभा, ५ चैत (रासस–एएफपी) । बढ्दो गलत सूचना र अनुसन्धान कोषको लागि अनिश्चित पाइपलाइनले खोप कार्यक्रमहरूलाई चुनौती दिइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का खोप विज्ञहरूले बुधबार बताएका छन् । मध्यपूर्वमा युद्धले पोलियो विरुद्धको लडाईमा बाधा पुर्याउने देखिएको डब्ल्युएचओको खोप विशेषज्ञहरूको रणनीतिक सल्लाहकार समूह (एसएजिई) ले जनाएको छ। समूहले गत हप्ता आफ्नो द्विवार्षिक बैठक आयोजना गरेको थियो भने कोभिड–१९ खोपको सिफारिसहरू, टाइफाइड खोपको मात्रा तालिका र नियमित खोपमा मुखबाट दिइने पोलियो खोपको मात्रामा ध्यान केन्द्रित गरिएको थियो।

    “भविष्यका लागि उदीयमान चुनौतीहरूमा खोप अनुसन्धान र विकासको लागि अनिश्चित कोष र गलत एवं विकृत सूचना रहेका देखिएको छ, जसले खोपमा जनताको विश्वास घटाउँछ,” एसएजिईले बताएको छ । “विश्वासको रक्षा गर्नु र गलत सूचनाको सामना गर्नु सङ्गठनको सन् २०२६ मा प्रमुख लक्ष्य हुनेछ,” समूहले बताएको छ।

    डब्ल्यूएचओका खोप प्रमुख केट ओब्रायनले यस वर्ष खास खोप कार्यक्रमहरूको तैनाथीकोे लागि संसाधनहरू लक्षित गरिने बताए । “हामी सङ्क्रामक रोगहरू र खोप कार्यक्रमहरूका लागि साँच्चिकै गहिरो परिवर्तनशील संसारमा छौँ”, उनले भने, “द्वन्द्व, आर्थिक चुनौती र स्वास्थ्य बजेटमा कटौती भइरहेको छ।” खोपमाथिको विश्वास गलत सूचनाका कारण खतरामा परेको उनले बताए ।


    अमेरिकी स्वास्थ्य प्रमुख रोबर्ट एफ केनेडी जुनियरले लामो समयदेखि खोप विरोधी बयानबाजी र खोप तथा अटिजमसँग सम्बन्धित गलत दाबीहरूविरूद्ध आवाज उठाउँदै आएका छन् । डब्ल्यूएचओले डिसेम्बरमा जारी गरिएका सबै उपलब्ध प्रमाणहरूको समीक्षाले संयुक्त राज्य अमेरिका र बाहिर प्रचार भइरहेको सिद्धान्तको विपरीत खोप र अटिजमबीच कुनै सम्बन्ध छैन भनेर पुष्टि गरेको थियो ।

    “खोपहरूले अटिजम निम्त्याउँदैन र यसले कहिल्यै अटिजम निम्त्याएको छैन,” ओब्रायनले जोड दिए । उनले विगत ५० वर्षमा खोपले १५ करोड ४० लाखको ज्यान बचाएको र खोपमार्फत ३० भन्दा बढी रोगबाट बच्न सकिने बताए । उनले भने, “जोखिम पछाडि हट्ने वा देशहरूले आफ्नो कार्यक्रममा रहेका सबै खोपहरू किन्न नसक्ने भनी निर्णय गर्ने पनि गरेका छन् ।”

    – सङ्कट र प्रतिक्रिया चक्र –

    समूहले पाकिस्तान र अफगानिस्तानमा ‘वाइल्ड पोलियो भाइरस’को जारी प्रचार र धेरै अफ्रिकी देशहरूमा खोप–व्युत्पन्न टाइप–२ पोलियो भाइरसको लगातार पत्ता लागेकोप्रति चिन्ता व्यक्त गर्यो, जुन खुवाइने पोलियो खोपहरूमा निहित कमजोर जीवित पोलियो भाइरससँग सम्बन्धित एक स्ट्रेन हो। “मध्य पूर्वमा द्वन्द्वले पोलियो भाइरसको थप फैलावटलाई निम्त्याउन सक्छ, जसले त्यसपछि त्यो उन्मूलन लक्ष्यमा पुग्नको लागि बोझ बढाउनेछ,” एसएजिईका अध्यक्ष एन्थोनी स्कटले पत्रकारहरूसँग बताए ।
    ओब्रायनले थपे, “युद्धको माध्यमबाट जीवन नष्ट गर्न दिनहुँ अर्बौँ र अरब डलर खर्च भइरहेको छ ।” उनले सोधे, “के हामीले केमा लगानी गरिरहेका छौं भन्ने बारेमा विश्वको प्राथमिकता सिधा छ ?” कोभिड खोपको सन्दर्भमा एसएजिईले भनेको छ, “देशहरूले गम्भीर रोगको उच्च जोखिममा रहेका समूहहरूका लागि वर्षमा दुई पटक नियमित खोपको बारेमा विचार गर्नुपर्दछ, किनकि छ महिनाभन्दा बढी सुरक्षा स्तर घट्दै गएको छ।”

    ओब्रायनले भने, “कोभिड–१९ खोपको बजार सीमित सङ्ख्यामा निर्माता र प्रकारहरूमा खुम्चिएको र एमआरएनए खोपहरू प्रमुख रूपमा रहेका छन्।”
    उनले कोभिड खोपमा थप लगानीको लागि आह्वान गरे । एक प्राथमिकता कोभिड–१९ भन्दा बढी समाधान गर्ने स्वास्थ्य सेवा र वृद्धहरूमा दोहो¥याइएको खोपको बोझ कम गर्न लामो समयसम्म टिक्ने इन्जेक्सन र प्यान–कोरोनाभाइरस खोपहरू विकास गर्नु हो । “तर अनुसन्धान र विकास कोषले प्रमुख प्रकोपहरू पछ्याउँछ, जसको अर्थ ‘हामी सँधै सङ्कट र प्रतिक्रियाको चक्र’मा छौँ,” उनले भने । एसएजिईका कार्यकारी सचिव एनेलिस वाइल्डर–स्मिथले भने, “हामीलाई वास्तवमै कोभिड खोपहरू चाहिन्छ जसले हल्का रोगमा ठूलो प्रभाव पार्दछ र भाइरसको प्रसारण कम गर्दछ।”

  • इरानी गुप्तचर निकायका प्रमुखको कारबाहीमा मृत्यु भएको इजरायलको दावी

    इरानी गुप्तचर निकायका प्रमुखको कारबाहीमा मृत्यु भएको इजरायलको दावी

    जेरुसलेम, ५ चैत (रासस–एएफपी) । इरानका अर्का वरिष्ठ अधिकारी गुप्तचर मन्त्री इस्माइल खतिबको अमेरिकी–इजरायली कारबाहीमा मृत्यु भएको इजरायलले बुधबार जानकारी गराएको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियनले खतिबमाथिको कारबाहीलाई ‘कायरतापूर्ण हत्या’ को संज्ञा दिएका छन् ।
    फेब्रुअरी २८ मा अमेरिका र इजरायली सेनाले इरानमा आक्रमण गरी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको हत्या गरेपछि मध्यपूर्वमा युद्ध सुरु भएको थियो ।

    इरानी सुरक्षा प्रमुख अली लारीजानी इजरायली आक्रमणमा मारिएको पुष्टि भएको भोलिपल्ट खतिबको मृत्युको खबर आएको हो। इजरायलका रक्षामन्त्री इजरायली काट्जले खतिबको मृत्युको प्ुष्टि गर्दै भने, “प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र मैले आइडिएफलाई कुनै पनि वरिष्ठ इरानी अधिकारीलाई थप स्वीकृतिको आवश्यकता बिना मार्नसक्ने आदेश दिएका छौँ, जसका लागि गुप्तचर र परिचालन सर्कल बन्द गरिएको छ ।

    “हामी तिनीहरूलाई असफल पार्न र ती सबैविरूद्ध हमला जारी राख्नेछौँ।” इजरायलले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीलाई पनि खोज्ने वाचा गरेको छ, उनी आफ्ना पिताको उत्तराधिकारी बनेपछि सार्वजनिक रूपमा देखा परेका छैनन् ।

  • लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

    लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

    काठमाडौँ, ५ चैतः नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापा, बारा, महोत्तरी, चितवन र कञ्चनपुरबाट उनीहरू गत मङ्गलबार र बुधबार पक्राउ परेका हुन् । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिदबिक्री गर्न पाइने औषधिसहित एक जना, भद्रपुर नगरपालिका–६ बाट खैरो हेरोइनसहित सात जना, बाराको जितपुरसिमरा उपमहानगरपालिका–३ लल्का पुल नजिकबाट नौ किलो गाँजासहित दुई जना, महोत्तरीको बर्दिबास नगरपालिका–३ बाट खैरो हेरोइनसहित चार जना र कञ्चनपुरको बेलौरी नगरपालिका–१० घाँटबाट एक जनालाई पक्राउ गरिएको हो ।

  • कैलालीमा श्रीमतीमाथि गोली प्रहारपछि आत्महत्याको प्रयास

    कैलालीमा श्रीमतीमाथि गोली प्रहारपछि आत्महत्याको प्रयास

    सुदूरपश्चिम, ५ चैतः कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिता मगरको गोली हानी हत्या गरेपछि आफैँमाथि गोली प्रहार गरेका छन् । गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको छ । घाइते रामबहादुरलाई बेहोस अवस्थामा सेती प्रादेशिक अस्पताल धनगढी पु¥याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।


    बुधबार अपराह्न गाउँ नजिकैको जङ्गलमा बाख्रा चराइरहेका बेला श्रीमती सञ्जितासँग रामबहादुरले विवाद गरी आफ्नो साथमा रहेको भरुवा बन्दुकले प्रहार गरेको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता तिमिल्सिनाले जानकारी दिए । उनले भने, “गए राति स्थानीयवासीले जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ, घटना भएको समय यकिन भइसकेको छैन”, मृतक महिलाका माइती पक्ष आएपछि मात्र शव उठाउने तयारी भइरहेको छ ।

  • म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दी, ५ चैतः रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकामा निर्माण भएको राहुघाट–मङ्गले–चिमखोला र अपर राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी तुँदी पावर कम्पनीको करिब रु ४० लाख सहयोगमा कोर्ट निर्माण भएको हो ।

    आयोजनाले प्रभावित क्षेत्रको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उपलब्ध गराएको रु २५ लाखबाट रायखोरमा पक्की कोर्ट निर्माण र कोटगाउँको खेलमैदान पुनर्निर्माण गरिएको रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिए । रायखोरको खेलमैदान ढलान गरेर पक्की बनाउन रु २५ लाख र कोटगाउँको खेलमैदान पुनर्निर्माणका लागि रु १४ लाख ३९ हजार सहयोग गरिएको थियो ।

  • मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    सिबी अधिकारी–रासस
    काठमाडौँ, ५ चैतः गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स ब्यानर’मा केही तस्बिरहरू झुन्डिएका छन् । ढोकाबाट भित्र पस्ने जो–कोहीको नजर सिधै तिनै भित्तामा ठाकिन्छन् । ती तस्बिरमा ४५ अनुहारहरू छन् । निर्जीव तस्बिर भए पनि तिनका आँखामा हेर्दा अधुरा सपना र परिवर्तनको आह्वान गरिरहेको आभाष हुन्छ । अनि जिज्ञाशा उब्जिन्छ—यी तस्बिर गृह मन्त्रालयको ढोकैमा किन रु एकछिन अडिएपछि यो प्रश्नको उत्तर भेटिन्छ । ती तस्बिर त तिनै योद्धाहरूका हुन्, जसले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सुशासन र परिवर्तनका आह्वान गर्दा जीवन अर्पण गरेका थिए ।

    यहाँका अनुहारहरू केवल तस्बिर मात्रै होइनन्, यी त आशा, विद्रोह र बलिदानका साक्षी हुन् । भित्तामा टाँसिएका यी तस्बिरलाई नियाल्नुभयो भने अझै पनि ठूलो आवाजमा केही भनिरहेका जस्तो लाग्छ—हामीले दिएको बलिदानलाई बिर्सिनु त हुने छैन । बाहिर हालैको जेनजी आन्दोलनमा सहिद भएकाहरू र भित्र गृहमन्त्री ओमप्रकाश अर्यालको टेबल अगाडि राष्ट्र निर्माता पृथ्वीनारायण शाह तस्बिर । यसले इतिहास र वर्तमान एउटै कोठामा भेटिएजस्तो लाग्छ ।

    गृहमन्त्री अर्याल भन्छन्, “यी दुवै तस्बिरले नेपालको इतिहास बोक्छन् । कार्यालयमा छिर्दै गर्दा जेनजी आन्दोलनका सहिदहरूका तस्बिरले सुशासनको आह्वान सम्झाउँछ, जसले हामीमाथि भरोसा गरेर आफ्नो जीवन अर्पण गरे । यस्तै, टेबल अगाडि राष्ट्र निर्माताको तस्बिरले पनि हामी यहाँ हुनुको अर्थबोध गराउँछ ।”
    बाहिर सडकमा जीवन सामान्यजस्तै चलिरहेको छ, तर देश भने परिवर्तनको नयाँ मोडमा उभिएको छ । जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारले निर्वाचन सम्पन्न गरिसकेको छ । अब नयाँ सरकार बन्ने तयारी हुँदैछ, जसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने स्पष्ट जनमत छ ।

    मन्त्री अर्याल हरेक पटक ती तस्बिरहरूतर्फ फर्केर हेर्दा अझै पनि आफूलाई हरेर केही जवाफ माग्दै गरेको र केही प्रतिबद्धता खोज्दै गरेको अनुभूति हुने गरेको बताउँछन् । “के हामीले उनीहरूको सपना पूरा गर्न सक्छौँ ? यो प्रश्न म आफैँलाई र अरु सबैलाई हो”, उनी भन्छन् । यो प्रश्नको उत्तर सजिलो छैन, तर एउटा कुरा स्पष्ट छ—गृह मन्त्रालयको भित्तामा झुन्डिएका ती तस्बिरहरू केवल सम्झना होइनन्, चेतावनी पनि हुन् । ती तस्बिरमार्फत सहिदहरूले हरेक दिन सरकार र नागरिकलाई सम्झाइरहन्छन्—सुशासन केवल शब्दमा होइन, जिम्मेवारीमा झल्कनुपर्छ ।

    जेनजी–जनआन्दोलनका क्रममा शहादत प्राप्त गरेका व्यक्तिहरूलाई सरकारले सहिद घोषणा गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ कात्तिक १७ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सहिद घोषणा गरेबमोजिम यहाँ गृह मन्त्रालयमा सुशासन योद्धा र अमर प्रहरीहरूको तस्बिरसहितको विवरण राखिएको छ । यसमा ४५ जना सहिदको तस्बिर, नाम ठेगानासहितको विवरण छ ।

    मन्त्रालयको प्रवेशद्वार नजिकै सहिदको तस्बिर, गृहमन्त्रीको कार्यकक्षमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र उनका गुरु गोरखनाथको तस्बिर पनि छ । यसले पुर्खाप्रतिको सच्चा सम्मान, सहिदको स्मरण र गुरुप्रतिको सत्कार झल्केको छ । जेनजी योद्धा र अमर प्रहरीका तस्बिर गृह मन्त्रालय मात्रै हैन सिंहदरबारको दक्षिण प्रवेशद्वार तथा विभिन्न मन्त्रालय र देशभरका सिडिओ कार्यालयमा पनि राखिएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, विभिन्न सडक चोक र महत्त्वपूर्ण सार्वजनिक स्थानमा पनि यी तस्बिर राखिएका छन् । यो मुलुकमा भ्रष्टाचार नियन्त्रण, बेथितिको अन्त्यसहित परिवर्तनको मागसहित जेनजी युवाले गरेको बलिदानी र त्यस क्रममा सहादत प्राप्त गरेका राष्ट्रसेवक अमर प्रहरीको बलिदानीको चीरस्मरणका लागि राष्ट्रका तर्फबाट गरिएको सम्मान हो ।

    जेनजी आन्दोलनपछि गठित नागरिक सरकारको प्रमुख कार्यभार फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नु थियो, जुन कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भइसकेको छ । निर्वाचनपछि मुलुक नयाँ सरकार निर्माणको चरणमा प्रवेश गर्दैछ । निर्वाचनको सबै नतिजा आएसँगै राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवारको सिट बाँडफाँड पनि मिलाएर निर्वाचन आयोगलाई बुझाइसकेका छन् । निर्वाचनबाट झण्डै दुई तिहाइ सांसदसहित रास्वपाले नयाँ सरकारको नेतृत्व गर्र्दैछ ।

    गृहमन्त्री अर्याल गृह मन्त्रालयलगायत विभिन्न निकायमा राखिएका जेनजी योद्धा र अमर प्रहरीको तस्बिरले उनीहरूको बलिदानको उच्च कदर गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि सधैँ झक्झक्याइ रहने बताउँछन् । “जेनजी युवाहरूको ऐतिहासिक आन्दोलनले मुलुक नयाँ चरणमा प्रवेश गरेको छ । निर्वाचन सम्पन्न भएर सुशासन र आर्थिक समृद्धिको यात्रा तय गर्ने आधार बनेको छ । अब यो प्रक्रिया र परिवर्तनको आकाङ्क्षाबाट अलमल गर्ने छुट कसैलाई छैन । जेनजीको भावनाअनुरुप देश विकास र सुशासनसहितको समृद्धिको यात्रामा अगाडि बढ्नुको विकल्प छैन । यो कुरा सहिदहरूका यी तस्बिरले हरेक दिन सम्झाइरहने छ”, उनी भन्छन् ।
    जेनजी आन्दोलनको रापमा देशमा ७६ जनाको मृत्यु भयो । सयौँ घाइते भए । त्यसको केही दिनपछि अर्थात् नागरिक सरकार बन्यो । विसं २०८२ असोज ३० गते अर्यालले गृहमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए । यसबीचमा जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग सरकारले १० बुँदे सम्झौता गरेको थियो । अब त्यो सम्झौता कार्यान्वयन गर्ने जिम्मेवारी पनि नयाँ सरकारको काँधमा आउँदैछ । त्यसमा जेनजी पुस्ताले मागेका सुशासन, पारदर्शी राज्य प्रणाली र भ्रष्टाचारको अन्त्य गर्दै देश निर्माणका आकाङ्क्षा जोडिएका छन् ।

    गृहमन्त्री अर्यालले नागरिक सरकारले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर नयाँ मानकहरू स्थापित गरेको बताए । “निर्वाचनमार्फत राजनीतिक सुशासनको नयाँ मानक स्थापित गरका छौँ । आगामी सरकारले यी मानकहरूका साथै नवयुवाको चाहनाअनुसार अरु थुप्रै दायित्व निर्वाह गर्नुपर्नेछ । त्यसमा सबैको सकारात्मक पहलकदमी रहनुपर्छ”, उनको भनाइ छ,“यो बीचमा थुप्रै चुनौती थिए, तर हामी सुबैको प्रयास र संयमले कानुनी राज्यको बहाली गरी संविधानमा पुगेको क्षतिलाई निर्वाचनमार्फत परिपूरण गरेका छौँ । विगतको निर्वाचनभन्दा गुणस्तरीय निर्वाचन गरेर सहज रूपमा सत्ता हस्तान्तरणको बाटो बनेको छ ।यसलाई सम्हालेर अगाडि बढ्नुपर्छ ।”

  • बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    कञ्चनपुर, ५ चैतः यहाँ जिल्लाको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको जीविका परम्परागत बाख्रापालनमै निर्भर रहेको छ । बस्तीका नौ परिवारले बाख्रापालनलाई मुख्य पेसा बनाएर घरायसी खर्च धान्दै आएका छन् । कृषियोग्य जमिन कम भएको र वैकल्पिक आम्दानीको अभावका कारण यहाँका बासिन्दा बाख्रापालनमै आश्रित भएका हुन् ।

    स्थानीय साइमले धामीले आफूलगायत यहाँका धेरैजसो परिवारले बाख्रापालनबाटै जीविको चलाइरहेको बताए । उनले हाल ४० वटा बाख्रा पाल्दै आएका छन् । धामीका अनुसार उनले वर्षमा छ देखि १० वटासम्म खसी बिक्री गर्दै आएका छन् । “खसी बेचेर आएको पैसाले घरको नुन, तेल, लत्ताकपडा र अन्नपानीको जोहो मिलाउने गर्छौं”, उनले भने ।


    यहाँ जिउँदो खसी प्रतिकिलो करिब रु ५०० का दरले बिक्री हुने गरेको छ । धारापानी बस्ती खोला नजिकै रहेकाले अधिक बलौटे र ढुङ्गे माटोका कारण उब्जनी राम्रो हुँदैन । त्यसमाथि बाँदरले अन्नबाली सखाप पार्ने समस्या पनि छ । “अन्नबाली लगाउँदा बाँदरले नोक्सान गरिदिन्छन्, त्यसैले हाम्रो लागि बाख्रापालन नै एक मात्र भरपर्दो आम्दानीको स्रोत बनेको छ”, धामीले थपे, “बाख्रापालनबाट वार्षिक रु ५० हजारदेखि रु एक लाखसम्म आम्दानी हुने गरे पनि त्यो रकमले घरधन्दा चलाउन मात्र ठिक्क हुने गरेको छ ।”

    यहाँ वन क्षेत्र प्रशस्त भएकाले बाख्रा चराउन समस्या छैन । स्थानीय बालाराम गौतमले २४ वटा बाख्रा पालिरहेको बताए । बाख्रापालन आम्दानीको मुख्य स्रोत भए पनि त्यसको व्यवसायीकरणमा भने समस्या रहेको बताए । “यहाँ बाख्रा बिरामी भए उपचार पाइँदैन, कतिपय अवस्थामा उपचार नपाएर खोर नै रित्तो हुने गरेको छ”, उनले गुनासो गरे । “परम्परागत तरिकाले गोठमा राखेर बाख्रापालन गर्दै आएका छौँ । उन्नत जातका बाख्रापालन गरे उत्पादन र आम्दानी दुवै बढ्ने सुनिए पनि हामीले त्यसअनुसार गर्न सकेका छैनौँ ।”

    उनका अनुसार आवश्यक ज्ञान, सीप र लगानी भए बाख्रापालनलाई गुजारामुखीभन्दा पनि बलियो आम्दानीको स्रोत बनाउन सकिने गौतमको बुझाइ छ । “हामीसँग खरी जातका बाख्रा छन्, तौल कम हुने भएकाले मूल्य पनि कम पाइन्छ” उनले भने, “दुई दशकभन्दा बढी समयदेखि बाख्रापालन गर्दै आए पनि आधुनिक प्रविधि र तालिमको अभावले अपेक्षित प्रगति गर्न सकिएको छैन । सरकारबाट तालिम र अनुदानको व्यवस्था भए हामीलाई धेरै सहज हुन्थ्यो ।”

    बस्तीका अन्य किसानहरू पनि उस्तै समस्याबाट जुझिरहेका छन् । साइमले र बालारामजस्तै सुरेन्द्र महराले ४०, मूल्याल साहुले ३५ र मोहन महराले १७ वटा बाख्रापालन गर्दै आएका छन् । उहाँ सबैको जीविका यसै व्यवसायमा निर्भर छ । पछिल्लो समय चितुवाको आक्रमणले किसानहरू थप समस्यामा परेका छन् । सुरेन्द्र महराका अनुसार दैनिकजसो चितुवाले बाख्रा मार्ने गरेको छ । वनमा चराउन पठाएका बाख्रामध्ये दिनमै दुईदेखि चार वटासम्म चितुवाले मारेर खाने गरेको उनले दुःखेसो पोखे । “चितुवाले बाख्रा नखाएको दिन नै हुँदैन । रातदिन भोक–निन्द्रा नभनी बाख्राको स्याहारसुसारमा लागेका छौँ, तर चितुवाले यसरी नोक्सान गर्दा निकै पीडा भएको छ । यस समस्याका कारण बाख्रापालन व्यवसाय विस्तार गर्नसमेत कठिन भएको छ”, महराले भने ।


    स्थानीय मोहन महराका अनुसार वन क्षेत्र नजिकै भएकाले चितुवाको जोखिम उच्च रहेको छ । बाख्रा चराउन पठाउँदा सुरक्षा व्यवस्था नहुँदा किसान सधैँ त्रासमा बस्न बाध्य छन् । “पशु स्वास्थ्य सेवा, तालिम, उन्नत जातका बाख्रा, गोठ सुधार र बिमा जस्ता सुविधाको अभावले पछाडि परेका छौँ”, उनले भने, “सरकारी तथा गैरसरकारी निकायबाट आवश्यक सहयोग प्राप्त भए बाख्रापालन व्यवसायलाई व्यवस्थित र लाभदायक बनाउन सकिन्छ ।”

    धारापानी बस्तीका बासिन्दाले बाख्रापालनलाई दिगो र सुरक्षित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । पशु उपचार सेवा विस्तार, तालिमको व्यवस्था, अनुदान कार्यक्रम र वन्यजन्तु नियन्त्रणका उपाय तत्काल लागू गर्न यस क्षेत्रका बासिन्दाले माग गरेका छन् ।

  • पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    भोजपुर, ५ चैतः भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
    यही चैत २ गते बेलुका आएको हावाहुरीबाट प्रभावित घरपरिवारको स्थलगत अनुगमनपछि गाउँपालिकाले प्रतिपरिवार रु २० हजारका दरले राहत वितरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । उनका अनुसार प्रभावित परिवारको अवस्थालाई दृष्टिगत गर्दै स्थलगत निरीक्षणपछि प्रतिपरिवार रु २० हजारका दरले राहत प्रदान गर्ने निर्णय गरिएको हो ।

    “प्राकृतिक विपत्तिका कारण समस्यामा परेका नागरिकलाई तत्काल सहयोग पु¥याउनु हाम्रो दायित्व हो”, अध्यक्ष राईले भने, “क्षतिको विवरण सङ्कलनसँगै राहत वितरणलाई तीव्रता दिइएको छ ।” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हावाहुरीका कारण नौ परिवारका घरमा क्षति पुगेको बताए । ती सबै परिवारलाई राहत उपलब्ध गराइने उनले जानकारी दिए । हावाहुरीका कारण कच्ची तथा टिनका छाना भएका घरहरू बढी प्रभावित भएका छन् ।