Category: फिचर

  • भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

    भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

    काठमाडौँ, ७ चैतः काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

    बागमती प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उहाँहरूको उपचारका क्रममा गएराति राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । बसचालक दोलखा घर भई कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए ।

  • निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना

    निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना

    काठमाडौँ, ७ चैतः प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन अध्ययन प्रतिवेदनले निर्वाचनअघि र निर्वाचनपछि ३५० उल्लङ्घनका घटना दर्ता भएको देखाएको छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान नेपाल (सिजप०) ले आफ्ना सदस्य संस्थाबाट गरिएको स्थलगत अवलोकन, प्रादेशिक सञ्जालबाट प्राप्त प्रतिवेदन, सञ्चारमाध्यमको निगरानी तथा ‘डिजिटल प्लेटफर्म’को अनुगमनका आधारमा निर्वाचनअघि बालबालिकासम्बन्धी २८६ घटना दर्ता भएका जनाएको छ । निर्वाचनपछि १९ घटना भएका प्रतिवेदनमा उल्लेख छ ।

    निर्वाचन प्रचारका क्रममा रौतहटको ईशनाथ नगरपालिका–४ मठियाटोलमा गत माघ २२ गते एकजना ४ वर्षीय बालिकाको गाडी ठक्करबाट मृत्यु भएको थियो। धनुषा जिल्ला मिथिला नगरपालिका–९ मा २०८२ फागुन १९ गते पुलमाथि राखिएको शङ्कास्पद वस्तु विस्फोट हुँदा १५ वर्षीया बालिका आशा भुजेल र आठ वर्षीय बालक सुशील माझी घाइते भएका थिए । पाँचथरको फिदिम र कास्कीको अन्नपूर्ण गाउँपालिकाको विद्यालयमा निर्वाचनअघि सुरक्षा निकायले हतियार सहित प्रवेश गरेको घटना पनि दर्ता भएको थियो ।

    अध्ययनले निर्वाचनपूर्व राजनीतिक प्रचारप्रसारमा बालबालिकालाई झण्डा र चिह्न बोकेर जुलुस तथा आमसभामा सहभागी गराउने, राजनीतिक नाराहरू लगाउने, प्रचार सामग्री वितरण गर्ने, राजनीतिक पोशाक लगाउने, गीत तथा नृत्य कार्यक्रममा भाग लिन लगाउने जस्ता गतिविधिहरू गरिएको थियो । कतिपय घटनामा बालबालिकामार्फत प्रचार भिडियो र सामाजिक सञ्जाल सामग्री निर्माण गरी मत माग्ने वा विशेष दलको समर्थन गर्ने सन्देश सम्प्रेषण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

    विद्यालय पोशाकमै विद्यार्थीहरूलाई जुलुसमा सहभागी गराउने, राजनीतिक नेताहरूले विद्यालय भ्रमण गर्ने, विद्यालय नजिक चुनावी कार्यक्रम सञ्चालन हुने र बस प्रयोग हुने जस्ता गतिविधिले विद्यालयलाई बालमैत्री र राजनीतिक रूपमा तटस्थ स्थान बनाउन चुनौती पु–याएको अध्ययनले देखाएको छ । अभियानका अध्यक्ष तिलोत्तम पौडेलका अनुसार यस्ता क्रियाकलापले निर्वाचन आचारसंहिताको प्रत्यक्ष उल्लङ्घन गरेका छन् ।

    अभिभावकले बालबालिकामार्फत मत माग्ने भिडियो बनाउने, सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूले बालबालिकालाई राजनीतिक सामग्रीमा प्रयोग गर्ने, बालबालिकाले राजनीतिक सन्देश दोहो¥याउने वा प्रतिस्पर्धी दलको आलोचना गर्ने र भिडियो सामग्रीबाट आर्थिक लाभ उठाउने जस्ता गतिविधिले बालबालिकालाई जोखिममा राखेको प्रतिवेदनले औँल्याएको छ ।

    महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दुर्गाप्रसाद चालिसेले चुनावमा मतदान अधिकृत रूपमा भूमिका निभाउँदै गर्दा बालबालिकाको दुरुपयोगको अवस्था कम गर्न सकिएको बताउँदै सरोकारवाला निकायको सहकार्य र खबरदारीका कारण यो सम्भव भएको बताउनुभयो । राष्ट्रिय बाल अधिकार परिषद्का कार्यक्रम संयोजक श्रीराम अधिकारीले बालबालिकाको दुरुपयोग रोक्न कानुनी रुपमा नै कडा व्यवस्था ल्याउनुपर्ने बताउनुभयो ।

    राष्ट्रिय माव अधिकार आयोगका खिमानन्द बस्यालले विगतको निर्वाचनको तुलनामा यसपालीको निर्वाचनको समयमा बालबालिकाको दुरुपयोग केही कम भए पनि सुधारका धेरै काम बाँकी रहेको बताउनुभयो । निर्वाचन आयोगले केही उल्लङ्घनको सम्बन्धमा कारबाही गरेको थियो। श्रम संस्कृति पार्टीलाई दफा १३ को उपदफा ९१० को खण्ड ९घ० उल्लङ्घन गरेकोमा रु २५ हजार जरिवाना गरेको छ । जाजरकोट क्षेत्र नं १ का उम्मेदवार शक्तिबहादुर बस्नेतलाई पनि समान प्रावधान उल्लङ्घन गरेकोमा रु २५ हजार जरिवाना गरिएको आयोगले जनाएको छ ।

    निर्वाचनअघिको तुलनामा मतदानको दिन बालबालिकासम्बन्धी प्रत्यक्ष उल्लङ्घनका घटना न्यून देखिएका थिए । मतदान केन्द्रको रूपमा विद्यालय भवनको व्यापक प्रयोगसम्बन्धी संरचनात्मक चुनौती देखा परेको छ । देशभरका १० हजार ९६७ मतदानस्थलमध्ये करिब ९ हजार ४५० विद्यालयमा स्थापना गरिएको थियो ।

    अध्ययनले राजनीतिक दल, राज्य निकाय, समुदाय र परिवार सबैको जिम्मेवार भूमिका आवश्यक रहेको सुझाएको छ। राजनीतिक दललाई चुनावी अभियान, जुलुस, प्रचार सामग्री तथा डिजिटल सामग्रीमा बालबालिकालाई प्रयोग नगर्न, बालअधिकारको सम्मान गर्दै बालमैत्री चुनावी अभ्यास अपनाउन र विद्यालय तथा बालबालिका केन्द्रित स्थानमा चुनावी गतिविधि नगर्न सिफारिस गरिएको छ ।

    प्रतिवेदनले निर्वाचन आयोगलाई बालबालिकाको प्रयोग निषेध गर्ने आचारसंहिताको प्रभावकारी अनुगमन, मतदाता शिक्षा कार्यक्रममा बालअधिकार सचेतना समावेश, सरकार र नीति निर्मातालाई कानुनी प्रावधान सुदृढ गर्ने, डिजिटल माध्यममा बालबालिकाको राजनीतिक प्रयोग रोक्न निर्देशिका बनाउन सुझाव दिएको छ ।

    अभियानले सुरक्षा निकाय, परिवार, विद्यालय र समुदायलाई आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेको छ। अध्ययन सन् ५० जिल्लाका १०७ सदस्य संस्था, सातवटै प्रदेशका प्रदेश समिति, सामुदायिक रेडियो प्रसारक सङ्घ, बालबालिका क्षेत्रका विभिन्न सञ्जाल र नागरिक समाजको सहकार्यमा गरिएको थियो । अध्ययनका निम्ति अन्तरराष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनबाट प्राविधिक सहयोग प्राप्त भएको थियो ।

  • भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    रुकुम पूर्व, ७ चैत्र (रासस) । रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधनसहित यात्रुहरू अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

    अहिले सो खण्डमा काठमाडौँबाट छुटेका रात्रिबसहरू फसेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक केशवराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार लुकुम–पातिहाल्ना क्षेत्रमा ७ वटा बस, एउटा जिप र ५ वटा मोटरसाइकल फसेका छन् भने २५० जनाभन्दा बढी यात्रुहरू अलपत्र परेका छन् ।

    अहिले पनि निरन्तर वर्षा र हिमपात भइरहेका कारण सडक सञ्चालनमा चुनौती देखिएको छ । यस क्षेत्रमा अहिले फोन सेवा पनि अवरुद्ध हँुदा थप समस्या भएको छ । यद्यपि यात्रुहरूको उद्धारको लागि स्थानीय तहसँग समन्वय भइरहेको उपरीक्षक ज्ञवालीले बताए ।

  • ढोरपाटनमा भारी हिमपात

    ढोरपाटनमा भारी हिमपात

    ढोरपाटन (बागलुङ), ७ चैतः नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य हिउँले ढाकिएको हो । हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय धनबहादुर विकले जानकारी दिए । हिमपातले गर्दा वस्तुभाउलाई घाँस दाना हाल्नसमेत गाह्रो भएको स्थानीय विकले बताए ।


    केही दिन अगाडिदेखि सामान्य वर्षा भएको उनको भनाइ छ । अहिले पनि निरन्तर हिमपात भइरहेको भन्दै स्थानीयलाई हिँडडुल गर्नसमेत समस्या भएको उनले बताए । आलु रोप्नका लागि अधिकांश स्थानीय बोबाङ, अधिकारीचौरलगायतका क्षेत्रबाट ढोरपाटन उक्लिए पनि हिमपातले गर्दा प्रभावित बनेको विकको भनाइ छ ।

    “चैत महिनामा कहिलेकाहीँ मात्रै हिउँ पर्थ्यो, यसपालि गर्मी बढ्न लाग्दा हिउँ पर्‍यो, यतिबेला ढोरपाटनवासीलाई आलु रोप्ने चटारो थियो तर हिउँ पर्दा काम प्रभावित भयो”, विकले भने, “अलिअलि वर्षा त चाहिएको थियो, तर हिउँ परेर दैनिकीनै कष्टकर बनाइ दियो ।” स्थानीय तुलराम पुनले हिमपातको कारण अत्यधिक चिसो बढेको बताए । रातिदेखि परेको भमरी हिमपात अहिले बाहिर निस्किएर हिँडडुल गर्न र पशुचौपायालाई घाँस दाना खुवाउन पनि समस्या भएको उनको भनाइ छ ।

  • कीर्तिमानी दरमा पुग्यो डलरको मूल्य

    कीर्तिमानी दरमा पुग्यो डलरको मूल्य

    काठमाडौँ, ७ चैतः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । जुन नयाँ कीर्तिमान हो । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिड एकको खरिददर २०० रुपैयाँ ३८ पैसा र बिक्रीदर १०१ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाइक एकको खरिददर १९० रुपैयाँ १ पैसा र बिक्रीदर १९० रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

    यस्तै अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ १ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४० रुपैयाँ १ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीवर ४१ रुपैयाँ ११ पैसा कायम भएको छ ।

    केन्द्रीय बैड्ङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४० रुपैयाँ ९१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नो रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैया ७ पैसा र बिक्रीदर १६ रुपैयाँ १४ पैसा र डेनिस कोनर एकको खरिददर २३ रुपैयाँ १७ पैसा र बिक्रीदर २३ रुपैयाँ २६ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हडकड डलर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४८८ रुपैयाँ ६ पैसा र बिक्रीदर ४९० रुपैयाँ २ पैसा, बहराइन दिनार एकको खरिददर ३९६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३८८ रुपैयाँ ६८ पैसा र विक्रिदर ३९० रुपैयाँ २३ पैसा रहेको छ ।

    भारतीय रुपैयां एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि सशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैडकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैड्डकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ : राष्ट्रपति

    सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ : राष्ट्रपति

    काठमाडौँ, ७ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताएका छन् । इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले ईद (ईद उल फित्र) पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।

    सन्देशमा भनिएकोे छ, “यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवम् भाइचाराको भावनाका साथै बृहत राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।” ईद (ईद–उल–फित्र) पर्व मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आशीर्वाद लिने र दिने गरिन्छ । सो अवसरमा मिष्टान्न परिकार खाने र खुवाउने परम्परा रहीआएको छ।

  • आज ईद उल फित्र पर्व मनाइँदै

    आज ईद उल फित्र पर्व मनाइँदै

    काठमाडौँ, ७ चैतः अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ ।

    खुसीपूर्वक दान गरेर दीन दुःखी एवम् गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने मुस्लिम धर्मावलम्बी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले राससलाई जानकारी दिए । शनिबार बिहान नेपाली जामे मस्जिद घन्टाघरमा विशेष नमाज पाठ गरिनेछ । त्यसपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम सुरु हुन्छ । यो पर्वको अर्को उल्लेखनीय पक्ष दीन दुःखी र गरीबलाई दान दिनु हो । यसैगरी घण्टाघरमै रहेको काश्मि मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा पनि विशेष कार्यक्रमका साथ नमाज पाठ गरिन्छ ।

    यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको वचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको पनि उनले बताए । यसरी दान गरिएको नगद वा जिन्सी दीन दुःखी एवम् गरीबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीन दुःखी र गरीबलाई नै दिइन्छ ।

    आजभन्दा एक महिना अघिदेखि मुस्लिम समुदायको एक महिना लामो ब्रत (रोजा) सुरु भएको थियो । एक वर्षभित्र गरेका पाप कटाउन यो ब्रत गरिने उनले बताए । एक महिनासम्म सूर्योदयदेखि सूर्यास्त नहुने बेलासम्म ब्रत गरेर साँझ चन्द्रमाको पूजा गरिएको थियो । यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाइ साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् । यस अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

  • बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    लन्डन, ७ चैत (रासस–सिन्ह्वा) । बेलायतमा बेरोजगारी दर पछिल्ला पाँच वर्षकै उच्च स्तरमा पुगेको छ। सन् २०२५ नोभेम्बरदेखि सन् २०२६ जनवरीसम्मको अवधिमा बेरोजगारी दर ५ दशमलव २ प्रतिशत पुगेको तथ्यांक सार्वजनिक भएको छ, जसले श्रम बजारमा दबाब बढ्दै गएको संकेत गर्दछ। विशेषगरी १८ देखि २४ वर्ष उमेर समूहका युवामा बेरोजगारी दर १४ प्रतिशत पुगेकाले समग्र बेरोजगारी बढ्न मुख्य भूमिका खेलेको देखिन्छ।

    यसले युवा रोजगारीको अवस्था चिन्ताजनक रहेको देखाउँछ। यसै अवधिमा कर्मचारीहरूको औसत आम्दानी (बोनससहित) ३ दशमलव ९ प्रतिशतले बढे पनि मुद्रास्फीति समायोजन गर्दा वास्तविक आम्दानी वृद्धि मात्र शून्य दशमलव ७ प्रतिशत रहेको छ। साथै, नियमित तलब वृद्धि दर पनि पछिल्ला पाँच वर्षकै न्यून स्तरमा झरेको छ, जसले नागरिकको क्रयशक्ति कमजोर हुँदै गएको संकेत गर्छ।
    रोजगारीको अवस्थालाई हेर्दा, एक वर्षमा तलब पाउने कर्मचारीको संख्या करिब १ लाख ९ हजारले घटेको छ भने पछिल्लो त्रैमासिक अवधिमा मात्रै ३१ हजारले कमी आएको छ।

    यसले रोजगारका अवसरहरू घट्दै गएको देखाउँछ। विशेषज्ञहरूका अनुसार श्रम लागत वृद्धि, कृत्रिम बुद्धिमत्ताजस्ता प्रविधिको तीव्र विस्तार तथा मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जिएको आर्थिक अनिश्चितताले श्रम बजारमा थप असर पार्न सक्छ। यही कारणले चालु वर्षभर बेरोजगारी दर बढेर ५ दशमलव ५ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

  • बाजुरामा भारी वर्षा, उच्च लेकाली भेगमा हिमपात

    बाजुरामा भारी वर्षा, उच्च लेकाली भेगमा हिमपात

    बाजुरा, ६ चैतः लगातारको मौसम बदलीसँगै आज बिहानदेखि बाजुरामा वर्षा हुन थालेको छ । मौसममा आएको परिवर्तनपछि बिहानैदेखि निरन्तर रूपमा वर्षा भइरहेको छ । वर्षासँगै यहाँका उच्च लेकाली भेगमा हिमपात सुरु भएको छ । मौसम विभागका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना छ । हिमपात भएपछि बडिमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र बस्तीमा हिमपात भएको निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले राससलाई जानकारी दिए ।


    उनका अनुसार हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अम्लिस, दहकोट, बुढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहलगायत क्षेत्रका स्थानीय बढी प्रभावित बनेका छन् । आज यहाँका डाँडा सेताम्मे भएका छन् । हिमपातसँगै चिसो बढेपछि वृद्धवृद्धा, बालबालिका र दीर्घरोगी बढी प्रभावित भएका बताउँदै आवश्यक सर्तकता अपनाउन उनले सबैमा आग्रह गरे । बाक्लो हिमपातले बडीमालिका, पोरखेलेक, कालाजग्रा, बुढीनन्दा, रानीसैनलगायत अग्ला डाँडा सेताम्मे बनेका छन् ।

    यहाँका लेकाली भेगमा अहिले पनि हिमपात र भारी वर्षा भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी पुडासैनीले जानकारी दिए । उनका अनुसार जिल्लामा भारी वर्षा भइरहेकाले बाढीपहिरो र भूक्षयको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसधारणलाई आग्रह गरिएको हो । मौसम विभागले वर्षासँगै हुरीबतासको सम्भावना रहेकाले सर्तकता अपनाउन अनुरोध गरे ।

    लगातार वर्षा भएपछि चैते धानका लागि सिँचाइको व्यवस्था सहज भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गहुँको बाली पसाउने, ओसर, स्याउलगायत फलफूल पलाउने बेलामा वर्षा हुनु किसानका लागि उयपुक्त भएको कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले बताए । “गहुँको बाला लाग्ने बेला भएको छ । फलफूलका बिरुवा फुल्ने बेलामा आएको वर्षाले राहत दिएको छ । चैते धान लगाउन पनि सिँचाइको रूपमा वर्षाले काम गरेको छ”, उनले भने । आज बिहानदेखि निरन्तर वर्षा भएपछि जिल्लामा चिसो बढेको छ । चिसोका कारण बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी बढी प्रभावित बनेका छन् । चिसो बढेकाले न्यायो कपडा र घरबाहिर ननिस्कन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

    वन्यजन्तुको चोरीसिकारीको सम्भावना बढ्यो

    वर्षासँगै हिमपात भएपछि वन्यजन्तुको चोरीसिकारीको सम्भावना बढेको छ । हिमपातका कारण चिसोबाट बच्न वन्यजन्तु बेँसी झर्ने भएकाले त्यसको सिकारी गर्ने सम्भावना बढेको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाका उच्च हिमाली भेगमा हिमपात भएपछि जङ्गली जनावर घोरल, रतुवालगायत विभिन्न प्रजातिका जनावर न्यानो खोज्दै बेँसीतर्फ आउने भएका सोही मौकामा चोरीसिकारीको सम्भावना बढेको हो ।

    वन्जयजन्तु तथा जङ्गली जनावरको चोरीसिकारी नगर्न डिभिजन वन कार्यालयले सबैलाई आग्रह गरेको छ । जङ्गली जनावरको चोरीसिकारी भएमा वन ऐनअनुसार कानुनी कारबाही गरिने डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवासचन्द्र अयडीले जानकारी दिए । वन्यजन्तुको चोरीसिकारी रोक्न सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

  • बागमती र मधेस प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुद्वारा एमाले अध्यक्ष ओलीलाई समवेदना व्यक्त

    बागमती र मधेस प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुद्वारा एमाले अध्यक्ष ओलीलाई समवेदना व्यक्त

    भक्तपुर, ६ चैत । वागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँसहित मन्त्रीहरूको टोलीले पितृशोकमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गरेका छन् । भक्तपुरस्थित अध्यक्ष ओली निवास गुण्डु पुगेर मुख्यमन्त्री बानियाँ, स्वास्थ्यमन्त्री किरण थापा, भौतिक पूर्वाधारमन्त्री, अर्थमन्त्रीलगायतले एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त गरेका हुन् ।

    उनीहरुले ओलीका दिवङ्गत पिता मोहनप्रसाद ओलीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे । त्यसैगरी मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले पनि ओली निवास गुण्डु पुगेर उनलाई समवेदना व्यक्त गर्नुका साथै अध्यक्ष ओलीका पिताप्रति श्रद्धाञ्जली व्यक्त गरे । त्यसैगरी नेकपाका नेता एवं पूर्वमन्त्रीहरू लीलामणि पोखरेल र शशि श्रेष्ठ, प्रतिनिधिसभा सदस्यमा भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित रास्वपा नेता राजीव खत्रीले पनि आज गुण्डु पुगेर ओलीलाई समवेदना व्यक्त गरे । ठमेल पर्यटन परिषदका अध्यक्ष ध्रुव अधिकारीलगायत विभिन्न दलका नेता तथा व्यवसायीहरुले ओली निवास पुगेर समवेदना व्यक्त गरे ।

  • संयोजक दाहाललाई प्रतिवेदन हस्तान्तरण

    संयोजक दाहाललाई प्रतिवेदन हस्तान्तरण

    काठमाडौँ, ६ चैत । नेपाली कम्युनिष्ट पार्टी निकट वाम बुद्धिजीवी एवं पेसाकर्मी निर्वाचन परिचालन मूल समितिले प्रतिनिधिसभा निर्वाचनको समीक्षा तथा सुझावसहितको प्रतिवेदन पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा समितिका संयोजक विष्णुपुकार श्रेष्ठले सो प्रतिवेदन संयोजक दाहाललाई बुझाएका हुन् । सो अवसरमा पार्टीका संयोजक दाहालले बुद्धिजीवी एवं पेसाकर्मीको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निर्वाचन अगाडि र पछाडिका राजनीतिक परिस्थितिका बारेमा आफ्ना धारणा राखे ।


    उनले पार्टीलाई अब विचाराधारात्मक हिसाबले धारिलो बनाउँदै सङ्गठनलाई व्यवस्थित गरेर जनसरोकारका सवालमा परिचालन गर्न बुद्धिजीवीहरूबाट प्राप्त समीक्षा तथा सुझाव महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । संयोजक दाहालले प्रतिवेदनलाई अध्ययन गरी पार्टीले जनसङ्घर्षलाई आधारभूत तहबाट अगाडि बढाउने बताए ।

    विभिन्न १५ वटा घटक बुद्धिजीवी एवं पेसाकर्मीलाई समेटेर गठन गरिएको समितिमा देशभरका बुद्धिजीवी, प्राध्यापक, शिक्षक, स्वास्थ्यकर्मी, ट्रेड युनियन महासङ्घ, इन्जिनियरिङ एसोसिएसन, कानुन व्यवसायी सङ्गठनका केन्द्र, प्रदेश, जिल्ला तथा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरू समावेश गरिएको थियो । सो अवसरमा पार्टीका नेता नन्दकिशोर पुन, देवप्रसाद गुरुङ सहभागी थिए ।

  • युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ

    युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ

    अबु धाबी, ६ चैत (रासस–एएफपी) । मध्यपूर्व युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको अबु धाबी प्रहरीले शुक्रबार जनाएको छ। खाडी देशहरूले इस्लामिक गणतन्त्रमा अमेरिका र इजरायलको आक्रमणपछि सुरु भएको द्वन्द्वको क्रममा इरानले गरेको आक्रमणसँग सम्बन्धित फुटेज र पोष्टहरूमा कडाइ गरिरहेका बेला उनीहरू पक्राउ परेका हुन्।

    “अबु धाबी प्रहरीले इरानी आक्रमणस्थल र घटनाहरूको भिडियो खिचेको र सामाजिक सञ्जालमार्फत गलत जानकारी प्रसारित गरेका विभिन्न देशका १०९ व्यक्तिहरूलाई पक्राउ गरेको घोषणा गरेको छ,” अबु धाबी प्रहरीले एक्समा जारी एक विज्ञप्तिमा उल्लेख गरेको छ।

    “यस्ता कार्यहरूले जनमत भड्काउन र समुदायका सदस्यहरूमा अफवाह फैलाउन सक्छ,” विज्ञप्तिमा भनिएको छ। युएईका महान्यायाधिवक्ताले गलत सूचना प्रकाशित गरेको, युद्धसँग सम्बन्धित घटनाहरूको भिडियो खिचेको वा फुटेज प्रकाशित गरेको वा ‘शत्रुतापूर्ण राज्य र यसको राजनीतिक र सैन्य नेतृत्व’ को महिमामण्डन गरेको आरोपमा अहिलेसम्म ३५ जनालाई पक्राउ गर्न आदेश दिएका छन् ।


    इरानले अमेरिकी सम्पत्तिका साथै तेल र ग्यास सुविधा, विमानस्थल र आवासीय क्षेत्रलगायत नागरिक पूर्वाधारमाथि पनि आक्रमण गरिरहेको बेला खाडीभर पनि यस्तै उपायहरू अपनाइएको छ । कतारमा अधिकारीहरूले युद्धको समयमा ‘भ्रामक सूचना’ र तस्बिरहरू साझा गरेको आरोपमा ३०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेका छन् । बहराइन र कुवेतले पनि यस्तै कदम चालेका छन् । अमेरिका–इजरायल सैन्य अभियानको जवाफमा इरानले गरेको आक्रमणबाट खाडी क्षेत्र प्रभावित भएको छ ।

  • पूर्वी नेपालमा वर्षा सुरु

    पूर्वी नेपालमा वर्षा सुरु

    काठमाडौँ, ६ चैत । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बदली भई पश्चिम नेपालबाट सुरु भएको वर्षा अहिले पूर्वी नेपाल पुगेको छ ।
    जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विनु महर्जनले अहिले पूर्वी नेपालका विभिन्न क्षेत्रमा वर्षा भइरहेको जानकारी दिए । अहिले देशभर नै मौसम बदली रहेको अन्य क्षेत्रमा हल्का वर्षा भइरहेकामा नेपालको मध्य क्षेत्रभन्दा पूर्वका विभिन्न जिल्लामा वर्षा भइरहेको उनले बताए ।


    वर्षामापन केन्द्रमा आज साँझ भएको रेकर्डअनुसार पछिल्लो तीन घण्टामा सिरहामा ३२.२, उदयपुरमा २४.८, मोरङमा २१.८, सिन्धुपाल्चोकमा २०.२, खोटाङमा ११.२ मिलीमिटर वर्षा भएको छ । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही जिल्लामा हल्कामात्रै वर्षा भएको छ । साँझ उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने भारी हिमपात भएको छ । अहिले वर्षा पूर्वकेन्द्रित रहेको छ ।

    पछिल्लो २४ घण्टामा सबैभन्दा बढी मकवानपुरमा ४६.४ मिलीमिटर वर्षा भएको छ । त्यसपछि काठमाडौँमा ४५.२ र दाङमा ४२.६ मिलीमिटर वर्षा भएको छ । यो भारी वर्षाको नजिक हो । विभागको मौसम पूर्वानुमान महाशाखाले साँझ जारी गरेको बुलेटिनअनुसार आज राति देशभर अधिकांश बादल लाग्ने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन–चट्याङ–असिना–हुरीबताससहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । यस्तै, कोसी, मधेस र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको जनाइएको छ ।

    त्यसैगरी, शनिबार देशभर अधिकांश बादल लाग्ने र कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन–चट्याङ–असिनाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ । शनिबार रातिदेखि भने विस्तारै मौसम खुल्दै जाने जनाइएको छ ।

  • चट्याङ लागेर गुल्मीका छ जना घाइते

    चट्याङ लागेर गुल्मीका छ जना घाइते

    गुल्मी, ६ चैतः वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ जना घाइते भएका छन् । जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङमा आज दिउँसो करिब २ः३० बजे परेको चट्याङबाट स्थानीय ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीया विष्णु खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

    घाइतेहरूको छाती, नाक र आँखामा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरूको मुसिकोट नगरपालिका वामिटक्सारस्थित स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइपुर्‍याइएको उनले बताए ।


    उक्त घटनामा स्थानीय विष्णु खड्काको एक र बाली विकका दुई गरी तीन वटा बाख्रासमेत मरेका छन् । घटनापछि प्रहरी चौकी पौँदीअमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो । आजै दिउँसो मालिका गाउँपालिका–३ ह्वाङ्दीमा परेको चट्याङमा ६४ वर्षीय नारायण थापासहित उनका नातिनी तीन वर्षीया आस्मा गिरी र छ वर्षीया आशिका गिरीसमेत घाइते भएका सूचना अधिकारी सारुले जानकारी दिए । उनका अनुसार घाइतेहरू स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि घर फर्किसकेका छन् ।

    उक्त घटनामा स्थानीय गोकर्ण थापाकोे एउटा बोकासमेत जलेर मरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी अर्खाबाङबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो । दुवै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • देशको सामाजिक–आर्थिक विकासमा गैरआवासीय नेपालीले योगदान पुर्‍याउनुपर्छ : मन्त्री शर्मा

    देशको सामाजिक–आर्थिक विकासमा गैरआवासीय नेपालीले योगदान पुर्‍याउनुपर्छ : मन्त्री शर्मा

    काठमाडौँ, ६ चैत । परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपालीलाई देशको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउन आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयमा गैरआवासीय नेपाली सङ्घको नवनिर्वाचित टोलीसँगको भेटमा उहाँले एनआरएनएका पहलमा मन्त्रालयको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । संसद्का नव निर्वाचित सदस्यहरूसँग समन्वय गर्न सुझाव दिँदै उनले आगामी सरकार यसप्रति सकारात्मक रहनेमा विश्वास प्रकट गरे ।

    मन्त्री शर्माले उक्त टोलीलाई बधाई दिँदै सङ्घ एकताबद्ध रहँदै १२औँ अन्तरराष्ट्रिय महासभा तथा विश्व सम्मेलन २०८२ सफलतापूर्वक सम्पन्न गरेकामा खुसी व्यक्त गरे । परराष्ट्र सचिव अमृतबहादुर राईले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । एनआरएनए सरकारको विश्वासिलो साझेदार रहेकाले आगामी दिनमा सहकार्य गर्ने बताउँदै उहाँले नेपाली डायस्पोरा विश्वभर विस्तार हुँदै गएकामा खुशी व्यक्त गरे ।

    नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको मुद्दा छिट्टै समाधान हुने विश्वास व्यक्त गर्दै विश्वभर रहेका नेपाली डायस्पोराको हित प्रवर्द्धनमा सङ्घ र सरकारबीचको सहकार्यलाई अझ सुदृढ बनाउनेमा जोड दिए । उनले सङ्घभित्र एकता कायम गर्न सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

  • दाउन्नेमा राति मालवाहक सवारी सञ्चालनमा रोक

    दाउन्नेमा राति मालवाहक सवारी सञ्चालनमा रोक

    त्रिवेणी (नवलपरासी), ६ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा तीन दिनसम्म राति ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार चैत ८ गतेसम्म वर्षाको सम्भावना रहेको उद्धृत गर्दै नारायणगढ–बुटवल सडक योजनाले आज एक सूचना जारी गरेको हो । सो सूचनामा पानी पर्दा यातायात सञ्चालनमा समस्या हुने हुँदा रातिको समयमा ठूला मालवाहक सवारी सञ्चालन गरेमा थप समस्या निम्तिन सक्ने उल्लेख गरिएको छ ।

    सो सूचनाअनुसार यही चैत ८ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको हो । छोटा तथा लामो दुरीका यात्रुवाहक बस र अत्यावश्यक सवारी साधनलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिने बताइएको छ । सडक योजनाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरेको छ । आज दिउँसोदेखि भएको वर्षाले उक्त सडक खण्डमा चिप्लो हुँदा सवारीको जाम लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी अनिल पण्डितले जानकारी दिए ।

  • हुरीबताससहित वर्षा : मकवानपुरमा सबैभन्दा बढी, वर्षा उत्तरपूर्वतिर सर्दै

    हुरीबताससहित वर्षा : मकवानपुरमा सबैभन्दा बढी, वर्षा उत्तरपूर्वतिर सर्दै

    काठमाडौँ, ६ चैतः जल तथा मौसम विज्ञान विभागले हाल सातै प्रदेशका विभिन्न जिल्लामा हुरीबतास, असिनासहितको वर्षा भइरहेको जनाएको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण हुरीसहितको वर्षा भइरहेको हो । विभागका मौसमविद् मौसमविद् हरिप्रसाद दाहालका अनुसार देशका विभिन्न स्थानमा हुरीबताससहित वर्षा भइरहेको छ भने मकवानपुरको गढी क्षेत्रमा सर्वाधिक वर्षा मापन गरिएको छ । उनले मकवानपुर गढीमा ४४ दशमलवव दुई२ मिलीमिटर वर्षा भएको जानकारी दिए ।


    त्यस्तै काठमाडौँको बबरमहल क्षेत्रमा सात दशमलव आठ मिलीमिटर तथा कीर्तिपुरमा १६ दशमलव आठ मिलीमिटर वर्षा मापन गरिएको मौसमविद् दाहालले बताए । हाल भइरहेको वर्षा प्रणाली पश्चिमबाट विस्तारै उत्तरपूर्वतर्फ सर्दै गएको उनले बताए । उनले आगामी करिब तीन घण्टासम्म हुरीबताससहित वर्षा जारी रहने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरे ।


    विभागका अनुसार हुरीबताससहितको वर्षाले यातायात, सञ्चार तथा विद्युत् सेवा प्रभावित भएका छन् । विभागले अत्यावश्यकबाहेकका आवागमन नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । आज राति र भोलिसम्म मधेस प्रदेशलगायत कोसी, बागमती, लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागमा हुरीबतास चल्ने सम्भावना रहेको विभागले जनाएको छ ।

    कमजोर अवस्थामा रहेका रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा साथै हवाई तथा सडक यातायात पनि प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागको अनुरोध छ ।

  • हुरीका कारण चितवनमा केरामा मात्र ४ करोड माथिको क्षति

    हुरीका कारण चितवनमा केरामा मात्र ४ करोड माथिको क्षति

    चितवन, ६ चैतः हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत २ गतेको हुरीले रु चार करोडभन्दा बढीको केरामा क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनका प्रमुख महेश रेग्मीका अनुसार बुधबार र बिहीबार दुई दिनसम्म केराखेतीमा क्षति पुगेका क्षेत्रहरुको अनुगमन गरिएको छ ।

    सो क्रममा २० वटा फार्ममा अनुगमन गरिएको उनले बताए । हुरीले भरतपुर महानगरपालिकाको वडा नं ७ र २३, रत्ननगर नगरपालिका ५, १२ र १४, खैरहनी नगरपालिकाको वडा नं १३, कालिकाको वडा नं २ देखि ५ सम्मका क्षेत्रमा बढी क्षति पु¥याएको छ । रेग्मीका अनुसार बगानमा एक प्रतिशतदेखि ८८ प्रतिशतसम्म क्षति भएको देखिएको छ ।

    उनले भने, “एउटा फार्ममा ८८ प्रतिशत क्षति भएको पायौँ । सबैको अवस्था त्यस्तो छैन ।” हुरीले मालभोग केरामा ठूलो क्षति पुगेको छ । मालभोग केरामा ७८ प्रतिशत र जीनाइन केरामा २२ प्रतिशत क्षति भएको उनले जानकारी दिए । समग्रमा ४३ दशमलव ३५ प्रतिशत केरामा क्षति भएको उनले बताए । कार्यालयमा एक हजार ८०० हेक्टरमा लगाइएको केरा सूचीकृत गरिएको छ ।

    केरा सुपरजोन चितवनका संयोजक विष्णुहरिले भने, “केराखेतीको बिमा सुरु हुने समय ढिलो हुने भएकाले पनि किसान मर्कामा परेका छन् ।” किसानले क्षतिपूर्तिसमेत पाउन कठिन हुँदा अझै समस्या हुने गरेको उनले बताए । उनका अनुसार गत वर्षको क्षतिपूर्ति रकम अहिलेसम्म किसानले पाउन सकेका छैनन् । अहिलेको क्षतिपूर्ति त कहिले पाउने हो थाहा नभएको उनले बताए । अहिलेसम्म जिल्लामा केराखेती गरेका किसानले रु चार करोडको क्षतिपूर्ति माग गर्दै बिमा कम्पनीमा निवेदन बुझाएको उनले बताए । थप निवेदन आउने क्रममा रहेको र कतिपयले बिमा नगरेकाले यकीन तथ्याङ्क आउन समय लाग्ने बताए ।

    चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतो यही चैत २ गते आएको हुरीका कारण जिल्लामा लगाइएको मालभोग केरामा ठूलो क्षति पुगेको छ । अहिले जिल्लामा दुई हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती हुँदै आएको छ । केरा सुपरजोनका रुपमा जिल्लामा काम हुँदै आएको बताउँदै उनले हुरीका कारण कति क्षत्रफलमा लगाइएको केरामा क्षति भयो भन्ने विषयमा सङ्घले तथ्याङ्क सङ्कलन गरिरहेको बताए ।


    केरामा हावाका कारण भएको क्षतिले केरा उत्पादक किसान चिन्तित भएको उनको भनाइ छ । गत वर्षमा वैशाखको अन्तिमतिर आउने हुरी यस वर्ष चाँडो आउँदा किसानले ठूलो क्षति बेहोर्नु परेको उनले बताए । उनले भने, “केरा उत्पादन गर्ने किसानले बिमा गरेका छन् । तर बिमाबाट पाउने रकम ढिलो हुँदा अझै किसान निरास बन्दै गएका छन् ।” रत्ननगर नगरपालिका–११ निवासी कृषक बाबुराम भट्टले लगाएको छ बिघा केरामा क्षति पुगेको छ । जग्गा भाडामा लिएर केराखेती गर्दै आएका भट्ट चैत सुरु भएसँगै हुरीका कारण क्षति बेहोर्नु परेको बताउँछन् ।

    आफूले लगाएको केरा उत्पादन लिने समयमा हुरीले ढलाए पछि अहिले केरा बगान सरसफाइका लागि मजदुर लगाएर काम गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ । उनले लगाएको केरा अधिकांश ढलेको अवस्थामा पुगेको छ । प्रतिहेक्टर मालभोग २४ टन र जी नाइन ५५ टन उत्पादन हुँदै आएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा व्यावसायिक रुपमा ७०० किसानले केराखेती गर्दै आएका छन् ।

  • प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

    प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

    जनकपुरधाम, ६ चैतः प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना गरेकी छिन् । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आएकी प्रधानमन्त्री कार्कीले प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेकी हुन् । त्यसअवसरमा मन्दिरका महन्थ रामतपेश्वर दास तथा उत्तराधिकारी महन्थ रामरोशन दासले स्वागत गर्नुका साथै पुष्पमाला तथा प्रसाद प्रदान गरे । मन्दिरका पुजारीबाट स्वस्तिवाचनसमेत गरिएको थियो । पूजा आराधनापश्चात् प्रधाममन्त्री कार्कीले मन्दिरको परिक्रमा गरी अवलोकनका साथै आवश्यक जानकारी लिएकी थिइन् ।

    पूजापछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले जनकपुरधाममा आफ्नो विशुद्द धार्मिक यात्रा भएको बताइन् । प्रधानमन्त्री कार्कीले जनकपुरधाम नेपालको धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल भएको बताइन् । उनले जनकपुरधामसहित देशभरका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । प्रधानमन्त्री कार्कीले जनकपुरधामलाई अन्तरराष्ट्रियस्तरको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरिन् ।

    उनले अन्तरिम सरकार जनताको अपेक्षाअनुसार सुशासन, विकास र स्थायित्वका लागि केन्द्रित रहेको बताउँदै सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् । यसअघि जनकपुरधाम जनकपुरविमानस्थलमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, प्रमुख सचिवसहित मधेस प्रदेश तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा धनुषाका प्रमुख जिल्ला अधिकारी पे्रमप्रसाद लुइँटेललगायतले स्वागत गरे ।

  • काठमाडौँमा अपरान्हबाट हुरीबताससहित वर्षा जारी

    काठमाडौँमा अपरान्हबाट हुरीबताससहित वर्षा जारी

    काठमाडौँ, ६ चैत । काठमाडौँमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ । जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले हुरीबतास चलिरहेको छ । विभागको मौसमविद् बिभूति पोखरेलले हुरीबतास अझै तीव्र हुनसक्ने सम्भावना रहेको बताए ।

    हुरी बतासहितको वर्षाका कारण सडक किनाराका रुख ढल्ने, बिजुली तथा टेलिफोनका पोल लड्ने, तार चुँडिने तथा जस्तापाताले बनेका छाना उड्ने जोखिम रहेको विभागले जनाएको छ । यस्तो अवस्थामा जोखिमयुक्त यात्रा नगर्न र हुरीबतास नरोकिँदासम्म सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई विभागले आग्रह गरेको छ । विद्यालय बस छुट्ने समय भएकाले विद्यार्थीको सुरक्षामा विशेष ध्यान दिन अभिभावक तथा सम्बन्धित निकायलाई पनि आग्रह गरिएको छ ।

  • होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो

    होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो

    दुबई, ६ चैत (रासस–एएफपी) । मध्यपूर्वमा जारी युद्धका कारण रणनीतिक स्ट्रेट अफ होर्मुज अवरुद्ध भएपछि खाडी मुलुकहरूमा खाद्य आपूर्ति प्रणालीमा गम्भीर दबाब परेको छ । यसको प्रत्यक्ष असर उपभोक्ता मूल्यमा देखिन थालेको छ । बजारमा वस्तुको अभाव नभए पनि मूल्य तीव्र रूपमा बढ्न थालेपछि दैनिक जीवनयापन महँगिएको छ ।

    बहराइनका एक उपभोक्ता महमुद अलीले सुपरमार्केटमा सामान सहजै पाइए पनि पछिल्ला दिनहरूमा केही खाद्य वस्तुको मूल्य उल्लेखनीय रूपमा बढेको बताए । उनका अनुसार विशेष गरी मासुको मूल्य झन्डै दोब्बर भएको छ । खाडीका अधिकांश देशहरूजस्तै बहराइन पनि खाद्य आपूर्तिका लागि आयातमा निर्भर रहेकाले आपूर्ति मार्गमा आएको अवरोधले सीधै मूल्यमा असर पारेको हो ।

    फेब्रुअरी २८ मा इरानविरुद्ध सुरु भएको इजरायल–अमेरिका आक्रमणपछि क्षेत्रीय द्वन्द्व चर्किँदा होर्मुज जलडमरू हुँदै हुने ढुवानी लगभग ठप्प भएको छ । यसले संयुक्त अरब इमिरेट्स, कतार, कुवेत र बहराइनका प्रमुख बन्दरगाहहरूमा कार्गो प्रशोधन या त स्थगित भएको छ वा उल्लेखनीय रूपमा घटाइएको छ । अर्थशास्त्री फ्रेडरिक स्नाइडरका अनुसार निरन्तर ड्रोन र क्षेप्यास्त्र आक्रमणका कारण हवाई ढुवानी पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।

    यस अवस्थाले खाडीका प्रमुख समुद्री प्रवेशद्वारहरू प्रभावहीन बनेका छन् । अबु धाबीका बन्दरगाह, दुबईको जेबेल अली र साउदी अरबको दम्माम जस्ता केन्द्रहरूमा आवागमन अवरुद्धजस्तै भएको छ भने जहाजहरू ओमान तथा स्ट्रेटको दक्षिणतर्फका वैकल्पिक बन्दरगाहतर्फ मोडिएका छन् । साउदी अरेबियाले भने खुला हवाई क्षेत्र र लाल सागरका बन्दरगाहमार्फत आफूलाई वैकल्पिक आपूर्ति केन्द्रका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ ।

    ट्राफिक अवरोध समाधान गर्न साउदी अरबले पूर्वी बन्दरगाहबाट डाइभर्ट गरिएका कार्गो व्यवस्थापनका लागि नयाँ रसद मार्ग र सञ्चालन कोरिडोर थप्ने पहल सुरु गरेको जनाएको छ । कतारतर्फ जाने सीमाक्षेत्रमा भारी ट्रकहरूको आवागमन बढेको देखिएको छ, जसले भूमि मार्गको प्रयोग बढ्दै गएको सङ्केत गर्छ । यद्यपि, सिरिया वा जोर्डन हुँदै भूमध्यसागर जोड्ने स्थलमार्गहरू सीमित, महँगा र अपर्याप्त भएको विज्ञहरूको भनाइ छ ।

    विशेष गरी ताजा खाद्य सामग्रीहरू सबैभन्दा बढी प्रभावित भएका छन्, किनकि ती प्रायः एसियाबाट आयात गरिन्छन् र लामो समयसम्म भण्डारण गर्न सकिँदैन । यस्तो अवस्थामा खाडी मुलुकहरूको तयारी फरक–फरक देखिएको छ । साउदी अरेबियासँग लाल सागरमार्फत वैकल्पिक पहुँच छ भने संयुक्त अरब इमिरेट्सले चारदेखि छ महिनासम्म पुग्ने भण्डार रहेको जनाएको छ । सन् २०१७ को नाकाबन्दीपछि कतारले पनि रणनीतिक भण्डारणमा उल्लेखनीय लगानी गरेको थियो ।

    तर बहराइन र कुवेतजस्ता देशहरूले भने प्रत्यक्ष प्रभाव महसुस गर्न थालेका छन् । कुवेतमा प्रारम्भिक दिनमै सुपरमार्केटहरूमा भीड बढेपछि सरकारले केही आधारभूत वस्तुको मूल्य नियन्त्रण र अनुदानित मासु आयात स्थगित गर्ने कदम चालेको थियो । कुवेती अधिकारीका अनुसार समग्र मूल्य स्थिर देखिए पनि मासु र माछाको मूल्य ३० प्रतिशतभन्दा बढीले बढेको छ, जसको कारण माछा मार्ने गतिविधि रोकिनु र इरान, भारत तथा पाकिस्तानबाट आयात अवरुद्ध हुनु हो ।

    निजी क्षेत्रले पनि आपूर्ति व्यवस्थापन गर्न प्रयास गरिरहेको छ । लुलु रिटेल चेनले गैर–नाशवान वस्तुहरूको चारदेखि छ महिनासम्म पुग्ने भण्डार राखेको र ताजा खाद्य सामग्री ल्याउन विशेष उडान सञ्चालन गरिरहेको जनाएको छ । कम्पनीका अनुसार हालसम्म ३७ वटा चार्टर्ड उडानमार्फत छ हजार टनभन्दा बढी ताजा सामग्री आयात गरिएको छ र यसबाट उत्पन्न अतिरिक्त लागत तत्काल उपभोक्तामा नथोपारिएको बताइएको छ ।

    विश्लेषक स्नाइडरका अनुसार अहिले मूल्य वृद्धि नियन्त्रणमै देखिए पनि युद्ध लामो समयसम्म जारी रहे आयातित खाद्य सामग्रीको मूल्य अझ बढ्ने ठोस जोखिम रहेको छ । त्यसैले होर्मुज अवरोध केवल सामरिक सङ्कट मात्र नभई खाडी क्षेत्रका लागि खाद्य सुरक्षासँग जोडिएको दीर्घकालीन चुनौतीका रूपमा उभिएको देखिएको छ ।

  • होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेट

    होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेट

    वासिङ्टन, ६ चैत (रासस–एपी) । मध्यपूर्वमा चर्किएको युद्ध र रणनीतिक स्ट्रेट अफ होर्मुजको सुरक्षालाई लिएर बढ्दो अन्तर्राष्ट्रिय दबाबका बीच जापानका प्रधानमन्त्री साने ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भएको भेटलाई उच्च जोखिमयुक्त कूटनीतिक संवादका रूपमा देखिएको छ । विश्व ऊर्जा आपूर्तिको मुख्य नाडी मानिने जलमार्गको सुरक्षामा सहयोग जुटाउने प्रयास असफल भइरहेका बेला यो भेटले अमेरिका–जापान सम्बन्धको संवेदनशील पक्ष उजागर गरेको छ ।

    यसअघि सामान्य द्विपक्षीय समन्वय र सम्बन्ध सुदृढीकरणमा केन्द्रित हुने अपेक्षा गरिएको भेट, इरानसँगको युद्ध र त्यसले सिर्जना गरेको सुरक्षा सङ्कटका कारण जटिल बनेको हो । ट्रम्पले जापानसहित आफ्ना सहयोगी राष्ट्रहरूले होर्मुज जलडमरूको सुरक्षामा अपेक्षित सहयोग नगरेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै आएका छन् । सहयोग नपाएपछि उहाँले अमेरिका आफैँ सक्षम रहेको प्रतिक्रिया दिएका थिए ।


    प्रधानमन्त्री ताकाइचीले पनि वासिङ्टन प्रस्थानअघि ट्रम्पसँगको भेट ‘धेरै गाह्रो’ हुने स्वीकार गरेका थिए । जापानले अमेरिकी–इजरायली सैन्य अभियानमा आफ्ना युद्धपोत पठाउने प्रस्ताव अस्वीकार गरिसकेको छ । यसले दुई देशबीचको सुरक्षा समन्वयमा तनाव बढाएको छ । एसिया समूहका अध्यक्ष तथा पूर्व अमेरिकी कूटनीतिज्ञ कर्ट क्याम्पबेलका अनुसार ट्रम्पले ताकाइचीमाथि उच्च स्तरको दबाब दिने सम्भावना रहेको छ, र यस्तो संवेदनशील भेट दुर्लभ मानिन्छ ।

    क्याम्पबेलका अनुसार ताकाइचीले जापानलाई मध्यपूर्वको अमेरिकी योजनाको साझेदारका रूपमा प्रस्तुत गर्ने सन्तुलित उपाय खोज्ने प्रयास गरेकी छिन् । यसले ताइवानलगायत क्षेत्रीय विषयहरूमा जापानका चासोहरू अमेरिकासमक्ष संयमित र प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
    तर जापानको संवैधानिक सीमाले यस्तो सहयोगमा जटिलता थपेको छ ।

    दोस्रो विश्वयुद्धपछिको संविधानले आफ्नो भूभागको रक्षा बाहेक सैन्य शक्ति प्रयोगमा प्रतिबन्ध लगाएको छ, जसका कारण जापानको सेना ‘आत्मरक्षा बल’ का रूपमा सीमित छ । यद्यपि, विश्लेषकहरूका अनुसार जापानले समुद्री माइन हटाउने कार्य वा सीमित नौसैनिक उपस्थिति जस्ता सहयोग गर्न सक्ने सम्भावना भने रहन्छ । तर अमेरिकी सैन्य अभियानमा प्रत्यक्ष संलग्न हुन ‘सामूहिक आत्मरक्षा’ को प्रावधान सक्रिय गर्नुपर्ने हुन्छ । यो राजनीतिक रूपमा अत्यन्त संवेदनशील विषय हो ।

    ताकाइचीले यस भेटलाई इन्डो–प्यासिफिक क्षेत्रमा व्यापार, सुरक्षा र रणनीतिक सहकार्यमा केन्द्रित गर्ने योजना बनाएकी छिन् । अक्टोबरमा टोकियोमा ट्रम्पसँग पहिलो पटक भेट गरेकी ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री हुनुका साथै पूर्वप्रधानमन्त्री सिन्जो आबेका निकट सहयोगीका रूपमा चिनिन्छन् । उनी ताइवानप्रति स्पष्ट समर्थन जनाउने नेताका रूपमा चिनिन्छन् । जसले चीनसँगको सम्बन्धमा संवेदनशीलता थपेको मानिन्छ ।

    भेटअघि जापानी अधिकारीहरूले अमेरिका–जापान सम्बन्धलाई थप सुदृढ पार्ने, ऊर्जा, महत्त्वपूर्ण खनिज र क्षेत्रीय सुरक्षामा सहकार्य बढाउने विषयमा छलफल हुने बताएका थिए । तर होर्मुज जलडमरूको सुरक्षामा सहयोग गर्ने विषयले ती एजेन्डालाई ओझेलमा पार्ने देखिएको छ । इरान युद्धका कारण उत्पन्न वैश्विक प्रभावहरूले पनि ताकाइचीलाई कठिन स्थितिमा राखेको छ । जापानले चीनलाई उदाउँदो सुरक्षा चुनौतीका रूपमा हेर्दै पूर्वी चीन सागर आसपास आफ्नो सुरक्षा तयारी क्रमशः सुदृढ गर्दै आएको छ । तर अमेरिकाले जापानमा तैनाथ केही सैनिकलाई मध्यपूर्वतर्फ सार्दा पूर्वी एसियामा शक्ति सन्तुलन कमजोर हुने चिन्ता बढेको छ ।

    विशेष गरी चीनले ताइवान वरिपरि अभ्यासहरू बढाएको परिस्थितिमा ताकाइचीले ट्रम्पसँग सैनिक स्थानान्तरणको विषय सूक्ष्म ढङ्गले उठाउने सम्भावना छ । विश्लेषक क्रिस्टोफर जोनस्टोनका अनुसार यस्तो अवस्थाले अमेरिका फेरि मध्यपूर्वमै अल्झिने र पूर्वी एसियामा प्रतिरोध क्षमतामा कमी आउने जोखिम बढाएको छ । यसरी, होर्मुजको सुरक्षा, इरान युद्धको प्रभाव र चीनसँगको रणनीतिक प्रतिस्पर्धा एकैसाथ जोडिँदा ट्रम्प–ताकाइची भेट केवल द्विपक्षीय वार्तामा सीमित नरही व्यापक भू–राजनीतिक सन्तुलनको परीक्षणका रूपमा उभिएको छ ।

  • पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

    पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

    तेहरान, ६ चैत (रासस–एएफपी) । इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः आक्रमण गरिएमा ’शून्य संयम’ अपनाउने बताएका छन् । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा गरेको एक पोस्टमा अराघचीले भने, ‘संयमको एक मात्र कारण’ शुभेच्छुकहरूबाट तनाव कम गर्न गरिएको अनुरोध हो । “यो युद्धको कुनै पनि अवस्थामा हुने अन्त्यले हाम्रा नागरिक बस्तीहरूमा भएको क्षतिलाई सम्बोधन गर्नुपर्दछ,“ उनले भने ।


    बुधबार इजरायलले दोहासँग साझेदारी गरेको खाडीमा रहेको इरानको ‘साउथ पार्स’ अपतटीय प्राकृतिक ग्यास क्षेत्रमा आक्रमण सुरु गरेको छ । यसको केहस् समयपछि कतारले इरानद्वारा आफ्नो तरलीकृत प्राकृतिक ग्यास प्रशोधन केन्द्रमा निशाना बनाएको र आक्रमणका कारण केन्द्रमा आगलागी र व्यापक क्षति भएको जनाएको छ। जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशलमा भनेका छन्, “संयुक्त राज्य अमेरिका इजरायली आक्रमणको बारेमा अनभिज्ञ छ, न त कतार यसमा संलग्न छ ।”

    उनले भने, “यदि इरानले कतारमा फेरि आक्रमण गर्यो भने, अमेरिकी सेनाले इरानको साउथ पार्स ग्यास फिल्डको ‘सम्पूर्ण विस्फोट’ गर्नेछ।” यो घटनाक्रमको विकास फेब्रुअरी २८ देखि इरानमा सुरु भएको अमेरिका–इजरायल संयुक्त आक्रमणपछि बढेको तनावको बीचमा आएको हो । आक्रमणको बदलामा इरान र उसका क्षेत्रीय सहयोगीहरूले मध्यपूर्वमा इजरायल र अमेरिकी चासाका क्षेत्रमाथि आक्रमण गरेका छन् । यद्यपि आक्रमणबाट स्वभाविक रूपमा इरानले बढी क्षति व्यहोरेको छ ।

  • मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

    मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

    जेनेभा, ६ चैत (रासस–एएफपी) । मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा निम्त्याएको विश्व व्यापार संगठन प्रमुखले बिहीबार चेतावनी दिँदै विश्वव्यापी आपूर्ति श्रृंखलाहरू खुला राख्न अपिल गरेका छन् । मध्य पूर्व द्वन्द्वका कारण उच्च ऊर्जा लागतले आपूर्ति घटाउँछ, रासायनिक मलको लागत बढाउँछ र अन्ततः यसले विश्वव्यापी खाद्य सुरक्षालाई खतरामा पार्छ,” न्गोजी ओकोन्जो–इवेलाले जेनेभामा पत्रकारहरूसँग भने ।

    “आपूर्तिमा लामो समयसम्म अवरोधले खाद्य प्रणालीमा तरङ्ग ल्याउन सक्छ, जसले किसानहरूलाई मलको प्रयोग कम गर्न र कम परिणम दिने गहन बालीहरू रोप्न प्रेरित गर्दछ,“ उनले भने । “विश्वव्यापी खाद्य व्यापार मार्गहरू खुला गर्नु र आपूर्तिलाई पूर्वानुमानयोग्य बनाउनु आवश्यक छ, जसले खाद्य आपूर्तिलाई सबैभन्दा बढी आवश्यक भएको ठाउँमा प्रवाह गर्न अनुमति दिन्छ।

  • श्रीलङ्कन एयरलाइन्स’ले १७ करोड ५० लाख डलरको ऋणपत्र नवीकरण

    श्रीलङ्कन एयरलाइन्स’ले १७ करोड ५० लाख डलरको ऋणपत्र नवीकरण

    कोलम्बो, ६ चैत (रासस–एएफपी) । ऋणमा डुबेको राष्ट्रिय ध्वजावाहक (श्रीलङ्कन एयरलाइन्स_ले उसका ऋणदाताहरूले १७ करोड ५० लाख डलरको ऋणपत्रमा मूल्यमा १६ प्रतिशत कटौती स्वीकार गर्न सहमत भएका बिहीबार घोषणा गरेको छ । ऋणदाताहरूले ऋणपत्रमा मूल्यमा १६ प्रतिशत कटौती स्वीकार गर्न सहमत भएका छन्, जसले देशको ऋणपत्र पुनर्संरचनालाई पूरा गरेको छ। देशले आफ्नो ४६ अर्ब डलर बाह्य ऋण तिर्न नसकेपछि राज्यको स्वामित्वमा रहेको ‘श्रीलंकन एयरलाइन्स’ले पनि आफ्नो १७ करोड ५० लाख डलरको सन् २०२४ मा परिपक्व हुने ऋणपत्र तिर्न सकेको थिएन ।

    सरकार र श्रलिङ्कन एअरलाइन्सले एक संयुक्त विज्ञप्ति जारी गरी भनेका छन्, “बाँकी रकमको ९७ प्रतिशत प्रतिनिधित्व गर्ने ऋणपत्रधारकहरूले १६ प्रतिशत ऋणपत्र मूल्यमा कटौती स्वीकार गर्न सहमत भएका छन् ।” पत्रमा अन्तर्राष्ट्रिय ऋणपत्रधारकहरूलाई या त तत्काल नगद भुक्तानी प्रस्ताव गरिएको छ वा चार प्रतिशत कुपन भएको नयाँ ऋणपत्र प्रस्ताव गरिएको छ र यो सन् २०२८ मा परिपक्व हुनेछ।

    सहमतिपछि एयरलाइन्सका अध्यक्ष सरथ गानेगोडाले भने, “सम्झौता पूरा हुनु एक महत्वपूर्ण कदम हो, जसले हामीलाई नयाँ आशावादका साथ कम्पनीको भविष्यमा ध्यान केन्द्रित गर्न अनुमति दिन्छ।” श्रीलङ्काले गत वर्षको सुरुमा निजी र आधिकारिक ऋणदाताहरूसँग आफ्नो ऋण पुनर्संरचना पूरा गरिसकेको थियो किनकि देश सन् २०२२ मा सबैभन्दा खराब आर्थिक मन्दीबाट बाहिर आएको थियो।

    अत्यावश्यक खाद्यान्न, इन्धन र औषधिका लागि समेत विदेशी मुद्राको अभाव भएपछि उसले अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० बाट २।९ अर्ब डलरको बेलआउट ऋण प्राप्त गरेको थियो । अभावलाई लिएर महिनौँसम्म सडक प्रदर्शनका कारण कुव्यवस्थापन र भ्रष्टाचारको आरोप खेपिरहेका तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे अपदस्थ हुनुभएको थियो ।

    आईएमएफले सरकारले श्रीलङ्काली एयरलाइन्सलाई राष्ट्रिय ‘ब्यालेन्स शीट’मा बोझ नपरोस् भन्ने कुरा सुनिश्चित गर्न आवश्यक थियो, तर यसलाई बेच्ने प्रयासहरू अहिलेसम्म खरीददारलाई आकर्षित गर्न असफल भएका छन्। गत वर्षको मार्चको अन्त्यसम्ममा करिब ५९६ अर्ब रुपैयाँ (१.९ अर्ब अमेरिकी डलर) घाटामा रहेको उक्त ध्वजाबाहक कम्पनीको ठूलो ऋण रहेको छ ।

  • ‘शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको’

    ‘शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको’

    बेइजिङ, ६ चैत (रासस–एएफपी) । चीनका विदेशमन्त्रीले बिहीबार आफ्ना बेलायती समकक्षीलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने जिम्मेवारी चीन र बेलायतको भएको बताएका छन् । उनले मध्यपूर्वमा युद्धविरामको आह्वान गरे । बेइजिङ इरानको साझेदार हो, जसलाई गत महिनादेखि अमेरिका–इजरायली आक्रमणको निशाना बनाइएको छ, तर उसले अमेरिकी सैन्य अखडाहरू रहेका खाडी राष्ट्रहरूविरुद्ध तेहरानले गरेको आक्रमणको पनि आलोचना गर्दै आएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले बेलायती विदेशमन्त्री यवेट्टे कुपरलाई आफूहरूले शान्तिका लागि निरन्तर कदम चाल्नुपर्ने बताए ।

    ‘अन्तर्राष्ट्रिय व्यवस्थामा थप क्षति र विश्व शान्तिको जगको क्षय हुनबाट रोक्न’ आफुहरू मिलेर काम गर्नुपर्छ,” वाङले कूपरसँग भने । वाङले भने, “लामो द्वन्द्वले कोही विजेता हुन सक्दैन ।” युद्ध सुरु भएयता बेलायतको पहिलो मन्त्रीस्तरीय भ्रमणका क्रममा कुपरले गत साता साउदी अरबको भ्रमण गरेका थिए ।
    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले द्वन्द्वमा बेलायतको समर्थन नरहेको भन्दै प्रधानमन्त्री केइर स्टार्मरसँग दुःखेसो पोखेका थिए ।

    बेलायतका विदेशमन्त्री कपुरले सोमबार बेलायतले आफू र आफ्ना सहयोगीहरूको रक्षाका लागि आवश्यक कदम चालेको तर बृहत् युद्धमा नतानिने बताएका थिए । स्टार्मरले भने, “बेलायतले ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्नको लागि ‘व्यावहारिक’ योजनाको लागि सहयोगीहरूसँग काम गरिरहेको छ, तर त्यहाँ नेटो मिशनको प्रयोगलाई अस्वीकार गरे । बेइजिङले बिहीबार इरानका राष्ट्रिय सुरक्षा प्रमुख अलि लारीजानीको इजरायली हवाई आक्रमणमा भएको घटनाको निन्दा गरेको छ ।

  • हराएको अन्तरिक्ष यानसँग युरोपेली अन्तरिक्ष निकाय पुनः जोडियो

    हराएको अन्तरिक्ष यानसँग युरोपेली अन्तरिक्ष निकाय पुनः जोडियो

    पेरिस, ६ चैत (रासस–एएफपी) । युरोपेली अन्तरिक्ष निकायले एक महिना अघि उपग्रहसँग सम्पर्क गुमाएपछि आफ्नो प्रोबा–३ मिशनको हिस्सा रहेको अन्तरिक्ष यानसँग पुनः सञ्चार स्थापित गरेको बिहीबार घोषणा गरेको छ । सन् २०२४ मा दुई वर्षे मिसनमा प्रक्षेपण गरिएको प्रोबा–३ ले पृथ्वीबाट ६० हजार किलोमिटर भन्दा माथि सूर्यग्रहण अनुकरण गर्न सटीक गठनमा उड्ने दुई अन्तरिक्ष यानहरू प्रयोग गर्दछ । वैज्ञानिकहरुले कोरोना भनिने सूर्यको बाहिरी वातावरणको दुर्लभ झलक पाउनका लागि यो मिसनलाई प्रयोग गरेका हुन् ।

    एउटा स्याटेलाइटमा १.४ मिटर -पाँच फिट_ को शील्ड छ, जसले सूर्यको प्रकाशलाई रोक्न चन्द्रमाको भूमिका खेल्छ, जबकि अर्कोले छायाँबाट कोरोनालाई अवलोकन गर्दछ। तर फेब्रुअरी १४ मा कोरोनाग्राफ उपकरण भएको दोस्रो अन्तरिक्ष यानमा समस्या आयो र यान हरायो । समस्यापछि अन्तरिक्ष यानले आफ्नो अभिमुखीकरण गुमायो, जसका कारण यसको सौर्य प्यानल सूर्यबाट टाढा भयो र ब्याट्रीहरू चार्ज हुन सकेनन् ।

    त्यसपछि अन्तरिक्ष यान ‘सर्भाइभल मोड’मा प्रवेश गर्यो र चुपचाप अन्तरिक्षमा तैरिरहेको छ। बिहीबार राति “केही चमत्कार भयो किनकि हामी अन्तरिक्ष यानसँग पुनः जोडियौँ,” इएसएका निर्देशक जोसेफ एस्चबाकरले बिहीबार भने । उनले इएसए परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भने, “अर्को अन्तरिक्ष यानले आफ्नो हराएको जुम्ल्याहालाई ‘अवलोकन गर्दै पछ्याइरहेको थियो ।

    “केही सूर्यको प्रकाश वास्तवमा सौर्य प्यानलमा ठोकिइरहेको पाउँदा हराएको अन्तरिक्ष यान ‘अनियन्त्रित गतिमा खसिरहेको’ थियो,” स्पेनका इएसए टोलीलाई उद्धृत गर्दै एशबाकरले वर्णन गरे । उनीहरूले यो सानो मात्राको शक्ति प्रयोग गरेर सम्बन्ध पुनः स्थापित गर्ने मौका लिए र अहिले यो पुनः मिसनसँग जोडिएको छ। अन्तरिक्ष यानको सौर्य प्यानलले अहिले सूर्यको प्रकाशबाट यसलाई आफ्नो ब्याट्री चार्ज गरिरहेको छ।

    इएसए विशेषज्ञहरूले उपकरणहरू फेरि स्विच गर्नेछन् र कति क्षति भएको छ भनेर पत्ता लगाउन परीक्षणहरू गर्नेछन्। “कोरोनाग्राफबाट फिर्ता भएको भेटिनु अचम्मको समाचार र ठूलो राहत हो ” प्रोबा–३ मिशनका प्रबन्धक डेमियन गालानोले एक विज्ञप्तिमा भनेका छन् । नाङ्गो आँखा र टेलिस्कोपबाट अदृश्य सूर्यको कोरोना, जुन कैयौँ लाख किलोमिटर बाक्लो छ र अहिले पनि यसबारे थोरै ज्ञान मिलेको छ । यो सामान्यतया सूर्यबाट आउने चम्किलो प्रकाशले लुकेको हुन्छ। इएसएका अनुसार पृथ्वीमा पूर्ण सूर्य ग्रहण केही मिनेटको लागि मात्र रहन्छ र एक शताब्दीमा लगभग ६० पटक मात्र लाग्छ । प्रोबा–३ दुई वर्षमा हप्तामा १० देखि १२ घण्टा यसको अवलोकन गर्न सफल भएको छ ।

  • पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ, ६ चैतःहाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    महाशाखाका अनुसार दिउँसो देशका अधिकांश स्थानमा बदली हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुने सम्भावना छ ।

    त्यसैगरी, आज राति देशका अधिकांश स्थानमा बदली रहनेछ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण, कृषिमा संलग्न हुने किसानका साथै ती भेगमा यात्रा गर्ने र यातायातका साधन सञ्चालनमा संलग्न सबैलाई महाशाखाले सावधानी अपनाएर आफ्ना नियमित गतिविधि सञ्चालन गर्न अनुरोध पनि गरेको छ ।

  • ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    भोजपुर, ६ चैत । ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण प्रणाली सञ्चालन गर्न सहज भएएको छ । केही वर्षअघिसम्म विद्युत् अभावका कारण आधुनिक शिक्षण सामग्री प्रयोग गर्न नसकेका विद्यालय अहिले कम्प्युटर, प्रोजेक्टर तथा इन्टरनेटको प्रयोग गर्दै शिक्षण–सिकाइ प्रक्रिया सञ्चालन गर्न थालेका छन् ।

    जिल्लाका दुर्गम बस्तीमा विद्युत् सेवा पुगेपछि विद्यालयले डिजिटल माध्यमबाट पठनपाठन गराउन थालेका हुन् । यसले शिक्षकलाई विषयवस्तु स्पष्ट ढङ्गले प्रस्तुत गर्न र विद्यार्थीलाई पनि बुझ्न सजिलो हुने यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले बताए । ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले शैक्षिक गतिविधि सञ्चालनमा सहयोग पुगेको उनको भनाइ छ । इन्टरनेट सुविधा पुगेपछि सिकाइलाई अझ सहज बनाएको उनले जानकारी दिए ।

    “ग्रामीण क्षेत्रमा विद्युत् सेवा विस्तारले शैक्षिक गतिविधि सञ्चालनमा सहज भएको छ”, उनले भने, “विद्युतीय सामग्रीको प्रयोग गरेर शिक्षण–सिकाइलाई प्रभावकारी र प्रविधिमैत्री बनाउन सकिएको छ ।” विद्युत् विस्तारसँगै धेरै विद्यालयमा कम्प्युटर प्रयोग बढेको छ भने केही विद्यालयले प्रोजेक्टरमार्फत भिडियो तथा प्रस्तुतिका माध्यमबाट कक्षा सञ्चालन गर्न थालेका छन् । प्रविधिको प्रयोगले विद्यार्थीको सिकाइप्रति रुचि बढेको शिक्षकहरूको अनुभव छ ।

    ग्रामीण क्षेत्रका विद्यालयमा पहिलेदेखि नै पाठ्यपुस्तकमा आधारित परम्परागत शिक्षण पद्धति बढी प्रयोग हुने गरेको थियो । तर अहिले विद्युत् सुविधा पुगेपछि डिजिटल सामग्री, शैक्षिक भिडियो, प्रस्तुतिकरण तथा अनलाइन स्रोतहरूको प्रयोग बढ्दै गएको छ । यसले शिक्षणलाई प्रभावकारी र विद्यार्थीकेन्द्रित बनाउन सहयोग पुगेको सरोकारवालाको भनाइ छ ।

    विद्यार्थीले पनि प्रविधिको प्रयोगबाट पढाइलाई थप रोचक र बुझ्न सजिलो भएको बताएका छन् । पहिले पुस्तकमा मात्र सीमित जानकारी अहिले भिडियो, तस्बिर तथा प्रस्तुतिकरणमार्फत बुझ्न पाउँदा सिकाइ प्रक्रिया प्रभावकारी बनेको उनीहरूको भनाइ छ । यद्यपि जिल्लाका सबै विद्यालयमा अझै समान रूपमा प्रविधिमैत्री शिक्षण प्रणाली लागू हुनसकेको छैन ।

    केही दुर्गम क्षेत्रका विद्यालयमा इन्टरनेट पहुँच र आवश्यक उपकरणको अभाव अझै चुनौतीका रूपमा रहेको शिक्षा क्षेत्रका सरोकारवाला बताउँछन् । स्थानीय तह तथा सरोकारवाला निकायले विद्यालयमा आवश्यक उपकरण उपलब्ध गराउने र शिक्षकलाई प्रविधि प्रयोगसम्बन्धी तालिम प्रदान गर्ने कामलाई प्राथमिकता दिएका छन् ।

    विद्युत् विस्तारसँगै प्रविधिको पहुँच बढ्दै जाँदा ग्रामीण क्षेत्रका विद्यार्थीलाई पनि आधुनिक शिक्षण प्रणालीमार्फत गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर विस्तार हुँदै गएको देखिन्छ ।

  • खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    खोटाङ, ६ चैत । खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार जोड्ने सडकमा कालोपत्रको काम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको रु ३० करोड बजेटमा कालोपत्रको काम सुरु गरिएको हो । भौतिक पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का आह्वान गरिएकामा युएसजी–रक्तकन्या–हिमशृङ्खला जेभी काठमाडौँले रु १७ करोड ३० लाख ८२ हजार बजेटमा सम्झौता गरेर कालोपत्रको काम सुरु गरेको जनाइएको छ ।

    सम्झौताअनुसार बिहीबारदेखि ठिक दुई वर्षभित्र सडक कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिए ।
    ठेकेदार कम्पनीसँगको सम्झौताअनुसार आहालेदेखि याम्खासम्म ८.२ किलोमिटर सडक कालोपत्र गरिने जनाइएको छ । उक्त सडकले खानीडाँडा हुँदै खोटाङ जिल्लाको दक्षिणी भेगसँग सिधा सम्पर्क स्थापित गर्नेछ भने स्थानीय बासिन्दालाई आवतजावतमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

    कोशी प्रदेश सरकारका निर्वतमान भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भुपेन्द्र राईले बिहीबार उक्त सडकको शिलान्यास गरे । उनले खोटाङमा विकास निर्माणका काममा ढिलासुस्ती र अलमल्याउने प्रवृत्ति स्वीकार्य नहुने बताए ।
    पूर्वाधार विकास कार्यालय तथा निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिनुहुँदै मन्त्री राईले नागरिकलाई समेत योजना कार्यान्वयनमा निगरानी गर्न आग्रह गरे ।

    मन्त्री राईका अनुसार उक्त सडक खोटाङ जिल्लाको भित्री भूभागमा प्रवेश गर्ने दोस्रो कालोपत्र कार्य सुरु भएको सडक हो । यसअघि रसुवा–पाँचधारे सडकमा कालोपत्र कार्य सुरु भइसकेको छ भने, खानीडाँडादेखि थामखर्क विमानस्थल जोड्ने अर्को सडकको बोलपत्र प्रक्रियासमेत अघि बढिरहेको छ । ठेकेदार कम्पनीका साइड इन्चार्ज गोविन्द लामिछानेका अनुसार सडक कटिङ, नाली निर्माण, रिटेनिङ पर्खाल, जाली, पाइप तथा कल्भर्ट, सडक ढलान र अस्फाल्ट कालोपत्र यस योजनाका मुख्य काम हो ।

    प्राकृतिक प्रकोप नआएमा आगामी असारअघि नै कालोपत्र सुरु गर्ने योजना रहेको लामिछानेले बताए । खोटाङमा पूर्वाधार विकासमा ढिलाइ हुँदै आएको भन्दै यसपटक योजना समयमै सम्पन्न हुने अपेक्षा स्थानीयवासीले गरेका छन् । सडक कालोपत्र सम्पन्न भएपछि यातायात सहज हुनुका साथै समय र खर्चसमेत बचत हुने अपेक्षा गरिएको छ । दिक्तेल–खानीडाँडा–याम्खा–पञ्चमी सडक कालोपत्र सम्पन्न भएपछि जिल्लाको समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।